Category: कलाप्रेस

  • चलचित्र ‘गुन्युचोलो’ बाट आकाशले पाए पिजिए मार्क (प्रोडयुसर गिल्ड अफ अमेरिका) अवार्ड

    चलचित्र ‘गुन्युचोलो’ बाट आकाशले पाए पिजिए मार्क (प्रोडयुसर गिल्ड अफ अमेरिका) अवार्ड

    काठ्माडौं । समुन्द्र भट्ट निर्देशित चलचित्र ‘‘गुन्यो चोलो–कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’’ को निर्माण टीमलाई फेरि अर्को खुसीको खबर प्राप्त भएको छ । चलचित्रका निर्माता आकाश बुढाथोकीले अमेरिकाको पिजिए मार्क(प्रोडयुसर गिल्ड अफ अमेरिका) पाएका छन् ।

    आकाशले नेपालका ट्रान्सजेन्डरहरुको पहिचान र सामाजिक चुनौतिहरूको खोजी गर्ने प्रकारको नेपाली चलचित्र बनाएकोमा यो अर्वाड प्राप्त गरेका हुन् ।

    अमेरिकाको पिजिए मार्क(प्रोडयुसर गिल्ड अफ अमेरिका) एक प्रतिष्ठित प्रमाणीकरण हो जसले चलचित्र र टेलिभिजनको संसारका निर्माता वा सबैभन्दा प्रभावशाली र मनोरञ्जनात्मक उत्पादन उपलब्धिहरूलाई सम्मान गर्ने गर्दछ । र यो अर्वाड प्राप्त गर्ने लिस्टमा कमै नेपाली निर्माताहरु पर्ने गर्दछन् ।

    यो चलचित्र केही समय अघिमात्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा पनि छनोट भएको थियो ।

    अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ। जहाँ नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।

    चलचित्रमा समुन्द्र भट्टसँगै नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।

    चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले खरिद गरेको छ । यो चलचित्रलाई फेस्टिभल सर्किटपछि नेपालमा प्रदर्शन गरिने निर्देशक भट्टले जानकारी दिएकी छन् ।

    चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम हलिउड शैलीमा बाहिरै गरिएको छ । चलचित्रमा हलिउडकी भ्वाइस आर्टिस्ट लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन् ।

    नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको यो चलचित्रमा आकाश बुढाथोकी र भि भन्से जानुबोनको लगानी छ ।

    चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।

    आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना र विजय बस्यालको प्रोड्क्सन डिजाईन रहेको छ । चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा छन् भने राम भण्डारी चलचित्रका क्रिएटिभ हेड हुन् ।

  • वर्षा राउतका दुःख- खानाकुराले पेट फुलेको फोटोमा प्रेगनेन्ट भनेर बधाइ दिए (भिडिओ)

    वर्षा राउतका दुःख- खानाकुराले पेट फुलेको फोटोमा प्रेगनेन्ट भनेर बधाइ दिए (भिडिओ)

    काठमाडौं । अभिनेत्री वर्षा राउतले खाना धेरै खाएर पेट फुलेको फोटो देखिँदा पनि प्रेगनेन्ट भएको भन्दै आएका बधाइको ओइरोले आफू आजित भएको बताएकी छन् ।

    ‘तेल भिसा’ फिल्मको मिडियासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पेट नै अलिकति केही खाँदाखेरि नै पुक्क खुल्ने खालको भएको बताइन् ।

    राउतलाई पत्रकारले सोधेका थिए, ‘तेल भिसामा प्रेगनेन्ट हुनुहुनछ, अब रियलमा चाहिँ कहिले ?’ राउतले जवाफ फर्काइन्, ‘यो बच्चा कहिले भन्ने प्रश्न यति आइसक्यो कि अब मेरो बच्चा हुने वेला नि मलाई एक्साइटमेन्ट हुँदैन होला ।’

    सँगै उनले एक सन्दर्भमा पनि बताइन् । एकपटक एक इभेन्टमा गएर वर्षाले खानेकुरा धेरै खाइछिन् । खानेकुराले गर्दा पेट बढ्यो । अनि खानापछि खिचेको फोटोमा वर्षाको पेट पुक्क फुलेको देखियो । यसपछि उनी प्रेगनेन्ट भएको ठानेर दर्शकहरुले बधाइ दिन थाले ।

    उनलाई सुभेच्छुक र आफन्तहरुले पनि बधाइ दिन थाले । धेरै नै बधाइ आएपछि आफू प्रेगनेन्ट नभएको स्पष्टिकरण पनि दिइन् । कतिपयले भने मिडियाबाट हराइरहेका वेला चर्चाका लागि यसो गरिन् भनेर अनुमान समेत गरे । उक्त घटनापछि अहिले आफूलाई घरमा पनि राम्रोसँग खानेकुरा खान नदिने गरेको बताइन् ।

    मिडियासँगको अन्तरक्रिया कार्यक्रममा राउतको अलवा विपिन कार्की, ऋचा शर्मा, बुद्धि तामाङ लगायत कलाकारको उपस्थिति थियो । शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको ‘तेल भिसा’ आउँदो मंसिर ७ मा प्रदर्शन हुँदैछ ।

  • ‘पूर्णबहादुरको सारङ्गी’को निर्माण पक्षले वास्ता नगरेको भन्दै उपन्यासकार बस्यालले दिए कानूनी उपचार खोज्ने चेतावनी

    ‘पूर्णबहादुरको सारङ्गी’को निर्माण पक्षले वास्ता नगरेको भन्दै उपन्यासकार बस्यालले दिए कानूनी उपचार खोज्ने चेतावनी

    रुपन्देही । अहिले आमदर्शकको मन जितिरहेको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले आफ्नो उपन्यासको कथा चोरेको आरोप लगाएर चर्चामा आएका छन् डा. शिवशंकर बस्याल । आफूले लेखेको ‘संग्रामपुर’ उपन्यासका थुप्रै प्रसंगहरु ‘पूर्णबहादुरको सारङ्गी’मा कपी गरिएको उनको दाबी छ ।

    लेखक बस्यालले नेपाल प्रेससँग कुरा गर्दै चलचित्रमा देखाइएका पात्र, कथावस्तु र परिवेश अधिकांश मूल कथासँग मिल्नु स्वाभाविक हुन नसक्ने बताए । आफूले सन् २०२० मा प्रकाशित गरेको उपन्यासको आधारमा चलचित्र बनाइए पनि कुनै स्रोतसमेत नखुलाइएको र निर्मातालाई जानकारी दिँदासमेत वेवास्ता गरेको उनको गुनासो छ ।

    बस्यालले भने, ‘मैले कुनै नेपाली चलचित्रको विरोध गरेको होइन, तर मेरो उपन्यासलाई आधार बनाएर चलचित्र बनाउने अनि मैले प्रमाणसहित जानकारी दिँदा पनि कुनै प्रतिक्रियासमेत नदिने गर्दा मेरो मन दुःखेको छ ।’

    अब म काठमाडौं पुगेर पत्रकार सम्मेलन गरेर यो विषयलाई प्रष्ट पार्ने बस्यालले बताए ।

    ‘मेरो मेहनतको चोरी हुँदा उल्टै मलाई नै आरोप लगाएर बोल्नेहरुलाई मैले जवाफ दिनुपर्ने भयो, कानूनी उपचारमा जान्छु’, उनले भने, ‘मुद्दा मामिला गरेर नेपाली दर्शकको मन जितेको चलचित्र रोक्ने पक्षमा म थिइनँ, तर जानकारी गराउँदा पनि निर्माण पक्षबाट छलफलको वातावरण नबनाइएकाले चित्त दुःखेको हो ।’

    पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १२ भूमही बस्ने बस्यालले ३ वर्षको मेहनत गरेर सन् २०२० मा यो उपन्यास प्रकाशित गरेको बताए ।

    ‘चलचित्रले राम्रो प्रदर्शन गरिरहँदा मेरा कुराहरु तीतो लाग्नसक्छ, तर सबै प्रमाणसहित मैले यो बोलिरहेको छु । अदालतले त न्याय दिन्छ भन्ने आशा छ’, उनले भने ।

    ‘म निर्माण पक्षसँग कुरा गर्ने कोसिस गरिरहेको छु । केही यसै क्षेत्रका साथीहरुले पनि लबिङ गर्नुभएको छ । मैले कुनै रकम माग गरेर, यसलाई असफल बनाउँ भनेर, कसैले उचालेर यो गरेको छैन । सहज रुपमा निर्माण पक्ष नआएपछि कानूनी उपचारको विकल्प खोजेको हुँ’, उनले भने ।

  • ३२ वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

    ३२ वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

    काठमाडौं । २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा पर्‍यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो । कुन रोज्ने, कुन छोड्ने रु गीत छनोटमा उनी दुविधामा परे । तिनै रचना मध्ये, ‘हङकङ पोखरा निर्मोही आफ्नो को छ र ?’ बोलको गीतमा गायक श्रेष्ठको नजर पर्‍यो ।

    सोही गीत छनोट गरी गाए । जुन गीतले सोच्दै नसोचेको सफलता प्राप्त गर्‍यो । उक्त गीत हालसम्म पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छ । श्रेष्ठ भन्छन्, “ऊ बेला काँचै उमेरको थिएँ । विदेसिनु के हो थाहा थिएन । ख्यालख्यालैमा रोजेर गाएको गीत अहिलेसम्म सदावहार छ ।”

    श्रेष्ठले कन्दरा ब्यान्डका हरेक गीतमा यस्तै कथा र व्यथा समेटिएको बताए । नोस्टाल्जिक हुँदै उनले भने, “आफैँ विदेसिएपछि मात्रै यो गीतको मर्म महसुस गरेँ ।”

    युवा विदेसिनुको घाउ दिनानुदिन चर्कँदै छ । यस गीतको लोकप्रियता युवा माझ कति थियो भन्ने कुरा गत शनिबार मात्रै ठमेलस्थित एलओडी क्लबमा कन्दरा व्यान्डको कन्र्सटमा झल्कियो । ३२ वर्ष पुरानो यो ब्यान्डको ओझले दर्शक तानिएकै थिए । जब ‘हङकङ पोखरा…’ गीत गायक विवेक श्रेष्ठले गाउनुभयो । त्यसपछि दर्शकको उत्साहको सीमा रहेन । ‘वान्समोर’सँगै विवेकले त्यही गीत दोहो¥याएर गाउन बाध्य भए ।

    ‘विदेसिनु लेखियो कर्मैमा
    भाला रोपी नबोल मर्मैमा
    जीउ त हैन ढुङ्गाको छपनी
    आउँला माया नमरे म पनि
    हङकङ पोखरा निर्माही आफ्नो को छ र ?’

    गायक श्रेष्ठले युवाको मन छुने गीतमध्ये यो निकै रुचाईएको बताए । विभिन्न कन्सर्टहरुमा प्रायः यही गीतको फर्माइस हुन्छ । विदेशमा होस् या स्वेदशमा, हङकङ पोखरा रोजाइमा पर्छ । “यो गीत मनपराउनुको खासियत प्रष्ट छ”, श्रेष्ठ भन्छन्, “दिनप्रति दिन युवाहरु पलायन हुने क्रम बढ्दो छ । यो गीतमा आफ्नै कथा पाउँछन् । त्यसैले रुचाइएको हुनुपर्छ ।” हङकङ पोखराले समाजको जीवन्तता समेटे जस्तै कन्दरा ब्यान्डको इतिहास पनि रचेको छ ।

    सन् १९९० को प्रारम्भमा पोखरामा स्थापित कन्दरा ब्यान्डले निरन्तर पप र आधुनिक गीत सङ्गीतको फ्युजनमार्फत युवा माझ बेग्लै छाप छोड्न सफल भएको छ । वर्ष गाँठको अवसरमा ब्यान्डले पहिलो पटक काठमाडाँैमा कन्र्सट गरेको गायक श्रेष्ठले बताए ।

    “कन्दराका यस्ता अरु गीत पनि छन्, जुन सधैँ ताजा र जवान छन्”, उनले भने, “नेपाली माटोका सुगन्ध समेटिएका गीत भएकाले स्रोताले हामीलाई अझै उत्तिकै माया गरिरहेका छन् ।” यिनै कथा व्यथाको उत्सव मनाउन यति बेला कन्दरा व्याण्डले ३२ वर्षपछि वार्षिक उत्सव मनाएको श्रेष्ठले बताए ।

    कन्दराका गायक विवेक श्रेष्ठसहित गितारमा देव लामा, बेसिस्टमा पंकज झा, ड्रमरमा सुनिल थापा, मादलमा अविनाश गायक र किबोर्डमा नील घतानी मञ्चमा प्रस्तुत भएका थिए । कन्दराले ‘तगारोमा रुमाल राखी बाटो छेकिन उनले’, ‘तिमी परी’, ‘लेककी हे माया’, ‘विदेसिएर गइन् उनी’, ‘हङकङ पोखरा’ जस्ता चर्चित गीत प्रस्तुत गरेको थियो ।

    आफ्ना गीतसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेर लगायतका पाका पुस्ताका गीतसमेत प्रस्तुत गरेको थियो । वार्षिक उत्सव मनाउने क्रममा कन्दराले विश्वव्यापी अभियान स्वरुप “पहिले घर देश, अनि परदेश” साङ्गीतिक यात्रा सुरु गर्न लागेको हो । यो अभियान नेपाली सङ्गीतलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि प्रवर्द्धन गर्ने उद्देश्य रहेको गायक श्रेष्ठले बताए ।

    उनका अनुसार नेपाली संस्कृतिको गहिराइ देखाउने उद्देश्यका साथ यो भ्रमण सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोपमा सम्पन्न हुनेछन् ।

  • रविलाई भेट्न पोखरा पुगे दीपकराज, यस्तो छ ३० वर्ष पुरानो अन्तरसम्बन्धको ‘राज’

    रविलाई भेट्न पोखरा पुगे दीपकराज, यस्तो छ ३० वर्ष पुरानो अन्तरसम्बन्धको ‘राज’

    काठमाडौं । चलचित्र निर्माता तथा अभिनेता दीपकराज गिरीले आज पोखरा पुगेर प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेटे । काठमाडौंदेखि धाएर रविलाई भेट्न पोखरा पुग्नुमा उनीप्रतिको सहानुभूतिमात्र नभएर ३० वर्ष लामो व्यक्तिगत सम्बन्धको पृष्ठभूमि रहेको छ ।

    अर्का कलाकार निर्मल शर्मालाई साथ लिएर दीपकराज हिजो जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए । हिजै राति भेट्न प्रयास गरे पनि अनुमति नमिलेपछि आज बिहान भेटेको दीपकराजले बताए । भेटमा आफूले रविलाई पहिलेकै जस्तो आत्मविश्वासले भरिपूर्ण देखेको उनको भनाइ छ ।

    ‘उहाँको अनुहारमा कुनै पनि विरक्ति वा निराशाको भाव थिएन’, उनले भने, ‘तर नेपालमा प्रतिशोधको राजनीति सुरु भयो भन्ने कुराले अलिकति चिन्तित देखिनुहुन्थ्यो ।’

    हिरासत बसाइका विषयमा रविले कुनै पनि गुनासो नगरेको दीपकराजले बताए ।

    उनले भने, ‘प्रहरीको व्यवहारप्रति उहाँको कुनै पनि गुनासो छैन । गुनासो र आक्रोश केवल सरकारप्रति छ ।’

    ०००

    निरन्तर कलाकारितामा रमाइरहेका दीपकराज र पत्रकारिता हुँदै राजनीतिमा फड्को हानेका रवि लामिछाने कुनै बेला एउटै डुंगामा सयर गर्थे । २०५० सालतिरै उनीहरुको मित्रता टुसाएको थियो ।

    उनीहरुको पहिलो भेट र चिनाजानी रेडियो नेपालको क्यान्टिनमा भएको थियो । त्यसबेला दीपकराज रेडियोमा र रवि टेलिभिजनमा करिअर बनाउने चक्करमा थिए । उनीहरुको प्रतिभा पनि फरक-फरक थियो । दीपकराज अभिनयमा पोख्त, रवि उद्घोषणमा पारंगत । पछि उनीहरुसँगै जोडिन आइपुगे गायक रामकृष्ण ढकाल । सुमधुर गला पनि थपिएपछि एउटा त्रिवेणीको रचना भयो ।

    दीपकराज, रवि र रामकृष्णको त्रिवेणी राम्रै चम्किरहेको थियो । उनीहरु धेरै कार्यक्रमहरुमा सँगै हिँडे । स्टेज कार्यक्रममा रवि उद्घोषण गर्थे, रामकृष्ण गीत गाउँथे र दीपकराज हँसाउथे, तर रवि अमेरिका हानिएपछि यो सिलसिला भंग भयो ।

    कलाकारितालाई माया मार्दै रवि लामो समय अमेरिकामा बसे । दीपकराज भने कलाकारितामै दही जस्तो जमिरहे । दुरी बढेसँगै सम्बन्ध र सम्पर्क पनि पातलियो । एक पटक आफू अमेरिका जाँदा रविसँग भेट भएको र गाह्रोसाह्रो परेको बेला उनले सघाएको दीपकराज बताउँछन् ।

    रवि अमेरिकाबाट फर्किएपछि उनीहरुको दोस्ती फेरि बौरियो । हरेक पटक रवि समस्यामा पर्दा दीपकराजले साथ र समर्थन व्यक्त गरेका छन् । सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि पक्राउ पर्दा पनि दीपकराज उनलाई भेट्न चितवन पुगेका थिए ।

    रविले सुरु गरेको ग्यालेक्सी फोरके टीभीमा केही समय दीपकराजले पनि काम गरे । उनी ‘क्राइम पेट्रोल’ नामक कार्यक्रम चलाउँथे, तर धेरै समय त्यसमा टिकेनन् ।

    रवि राजनीतिमा फड्किएपछि पनि सम्बन्ध सुमधुर नै रह्यो । रविले दीपकराजलाई पनि राजनीतिमा तान्न खोजेका थिए, तर उनी तानिएनन् ।

    गत संसदीय चुनावमा रविले आफूलाई काठमाडौं ९ बाट रास्वपा उम्मेदवार बन्न अफरसमेत गरेको दीपकराजको भनाइ छ ।

    ‘हो, उहाँले मलाई आफ्नै क्षेत्रबाट चुनाव लड्न आग्रह गर्नुभएको थियो । म झण्डै हाम्फाल्न खोजेको पनि थिएँ, तर रोकिएँ’, उनले भने ।

    राजनीतिभन्दा कलाकारिताबाटै देशका लागि योगदान दिनसक्छु भनेर राजनीतिमा हाम्फाल्न नचाहेको उनी बताउँछन् ।

    दीपकराज एउटा सफल कलाकार भएकाले मात्र होइन, उनले राजनीति बुझेको र राजनीतिको अनुभव पनि भएको हुँदा रविले उनलाई चुनाव लड्न प्रस्ताव गरेका थिए ।

    उनी आफ्नो राजनीतिक अनुभव सुनाउँदै भन्छन्, ‘मैले पञ्चायतकालमै राजनीति गर्न थालेको हुँ, जतिबेला म स्कुल पढ्थें । २०४६ सालको आन्दोलनमा म प्रहरीको खोजी सूचीमै थिएँ । प्रजातन्त्र आएपछि विद्यार्थी राजनीतिमा लागें । एउटा पार्टीको विद्यार्थी संगठनको जिल्ला कमिटीमा थिएँ । कलेजमा राजनीतिशास्त्र नै पढें, तर विस्तारै राजनीतिप्रति वितृष्णा उब्जिन थाल्यो । राजनीतिमा लाग्दा म भीडमा हराउँछु भन्ने महसुस भयो । २०५२ सालपछि राजनीतिबाट सन्न्यास लिएर पूर्ण रुपले कलाकारितामा केन्द्रित भएँ । अहिले मेरो कुनै पनि दलमा राजनीतिक आवद्धता छैन ।’

    विगतमा कुन पार्टीबाट राजनीति गरेका थिए भन्ने उनले खुलाउन चाहेनन् ।

    ०००

    रवि यतिबेला सहकारी ठगीको आरोप झेलिरहेका छन् । यही आरोपमा उनी पक्राउ परेर हिरासत राखिएका हुन् । के दीपकराजलाई लाग्छ कि रविले सहकारी ठगी गरेकै हुन् ?

    उनी भन्छन्, ‘एस र नो’ मा त म जवाफ दिन सक्दिनँ, तर भविष्यमा देशको प्रधानमन्त्री नै बन्छु भन्ने महत्वाकांक्षा लिएको व्यक्तिले यति कच्चा खेल खेल्नुहोला जस्तो लाग्दैन ।’

    रविसँग उनको अहिले एउटा चित्त दुःखाइ भने छ ।

    ‘एउटा कुरामा मेरो मतभिन्नता रह्यो’, दीपकराज भन्छन्, ‘म रास्वपा अहिले सरकारमा नजाओस् भन्ने पक्षमा थिएँ । अहिले सशक्त प्रतिपक्षको रुपमा संसदमा प्रभावशाली भूमिका निभाउनुस्, लोकप्रियता बढाउनुस्, शक्ति सञ्चय गर्नुस् र अर्को चुनावपछि अझ बलियो भएर सत्तामा जानुस् भन्ने सुझाव दिँदै आएको हुँ, तर उहाँहरु अलिकति हतारिनुभयो । त्यसैको परिणति आज यो घटना भएको हो जस्तो लाग्छ ।’

    रवि दुई पटक गृहमन्त्री हुँदा आफू भेट्न नगएको उनी बताउँछन् ।

    ‘हो, उहाँले सिंहदरवारमा र निवासमा भेट्न बोलाउँदा पनि म गइनँ । पछि सरकारबाट हटेपछि चाहिँ भेटें’, दीपकराजले भने ।

    आज हिरासतमा भएको भेटमा पनि आफूले रविलाई यो कुरा सम्झाएको दीपकराजले बताए ।

    ‘हामीबीच खुलस्त कुराकानी भएको थियो । सत्तामा जानु नै तपाईंहरुको ठूलो कमजोरी भयो भनेर मैले प्रस्टसँग राखें’, उनले भने ।

    दीपकराजको आँखामा रविका कमजोरी के हुन् ?

    ‘हिजो पत्रकारिता गर्दाखेरि स्वच्छन्द रुपमा बोल्नुहुन्थ्यो, सबैलाई प्रश्न गर्नुहुन्थ्यो । नेता भएपछि हिजो बोलेका कुराहरुले लखेटिरहेका छन् । अरुलाई सोधेका प्रश्न आफैंतिर फर्किएका छन् । अहिले जवाफ दिने भूमिकामा हुनुहुन्छ, तर प्रश्नहरु सजिला छैनन्’, उनी भन्छन् ।

  • ‘कथा चोरी’ को आरोपपछि ‘पूर्णबहादुर’ का कथाकार-निर्देशक भन्छन्ः उपन्यासको नाम भर्खर सुन्दैछु

    ‘कथा चोरी’ को आरोपपछि ‘पूर्णबहादुर’ का कथाकार-निर्देशक भन्छन्ः उपन्यासको नाम भर्खर सुन्दैछु

    काठमाडौं । अहिले हलहरूमा हंगामा मच्चाइरहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ माथि एक उपन्यासकारले ‘कथा चोरी’ को आरोप लगाएपछि विवाद उब्जिएको छ ।

    चलचित्रका निर्देशक तथा कथाकार सरोज पौडेलले भने चर्चाका लागि अनावश्यक विवाद उब्जाउन खोजिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

    उपन्यासकार डा. शिवशंकर बस्यालले आफ्नो उपन्यास ‘सङ्ग्रामपूर’ को कथा ‘पूर्णबहादुरको सारंगी’ सँग मिल्दोजुल्दो भएको दाबी गरेका हुन् ।

    उनले मिल्दाजुल्दा भन्दै १० वटा प्रसङ्ग पनि उल्लेख गरेका छन् । यो संयोग नभई नियोजित नै भएको भएको उनको दाबी छ ।

    बस्यालले मिल्दोजुल्दो दाबी गरेका १० प्रसङ्ग :

    १. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूल पात्र हुन् । जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर !

    २. पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रूपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।

    ३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रूपमानसँग मिल्दा छन्।

    ४. आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटक पटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ ।

    ५. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।

    ६. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु ।

    ७. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।

    ८. संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।

    ९. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।

    १०. रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।

    बस्याल भन्छन्, ‘यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ । पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ्ग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छाया चित्रसँग मिल्छन् ।’

    उपन्यासकारको यो दाबीलाई पूर्णबहादुरका निर्देशक पौडेलले भने सिधै खारेज गरिदिएका छन् । एउटै समाजभित्रको कथा टिप्दा एकाध प्रसङ्ग मिल्न सक्ने भए पनि ‘कथा चोरी’ को आरोप नाजायज र फजुल रहेको उनले बताए ।

    आफूले अहिलेसम्म संग्रामपुर उपन्यास नपढेको मात्र नभएर नाम समेत नसुनेको पौडेलले प्रष्ट पारे ।

    ‘मैले आज भर्खर नाम सुनेको हो । किताब कतै पाइन्छ कि भनेर खोजी गरिरहेको छु । उहाँसँग भेट्नलाई पनि इच्छुक छु,’ पौडेलले भने ।

    ‘पूर्णबहादुरको सारंगी’ को कथा आफ्नो पिताको देहान्तपछि लेखेको र यो विसुद्धरुपमा आफ्नो मौलिक सिर्जना भएको उनको भनाइ छ ।

    ‘यो पूर्णरुपमा काल्पनिक कथा हो । कतैबाट पनि प्रभावित छैन । यदि मिल्न गएको खण्डमा त्यो संयोग हुने छ,’ पौडेलले भने ।

    सार्वजनिक गरिएका ९ वटा बुँदाकै आधारमा आफू कथा चोरीको आरोप नस्वीकार्ने उनको भनाइ छ । यदि साँच्चै चोरी गरिएको लाग्छ भने कानूनी उपचारको खोजी गर्न पनि पौडेलले चुनौती दिए ।

    ‘चोरी नै भएको थियो भने उहाँ कानूनी उपचारमा जानुहुन्थ्यो होला । अथवा मलाई भेटेर भन्नुहुन्थ्यो होला । सामाजिक सञ्जालमा लेख्नुको मतलव सिर्फ चर्चाका लागि हुन सक्छ । वा पूर्णबहादुरको सारंगीले दर्शकको अभूतपूर्व माया पाइरहँदा यसलाई कसरी तल झार्न सकिन्छ भनेर नियोजितरुपमा भ्रामक प्रचारबाजी गर्न खोजिएको पनि हुन सक्छ । यदि कानूनीरुपमा जानुभयो भने त्यसको सामना गर्न हामी तयार छौं,’ पौडेलले दृढतापूर्वक भने ।

    कथा चोरीजस्तो गम्भीर आरोप लगाएर आफूलाई र चलचित्रलाई बदनाम गर्न खोजिएकाले यसलाई कसरी प्रतिवाद गर्ने भनेर छलफल गरिरहेको उनले बताए ।

    चलचित्रका निर्माता विनोद पौडेलले पनि चोरी भएको लागेमा प्रतिलिपि ऐनमा जान सुझाव दिएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो फेसबुकमा रैला मच्चाएर पुस्तक बिकाउने फन्डा र चलचित्रलाई हानी पुर्‍याउने षड्यन्त्र हो । रेकर्ड मा रेकर्ड हुँदैछ, अब चलखेल सुरु हुँदैछ । तर हामीलाई दर्शक को साथ छ । बाँकी त हामी अरूलाई टेरिँदैन ।’

  • मार्दी हिमालको प्रचार गर्दै कोरियाली अभिनेत्री, छोरासहित गरिन् आरोहण

    मार्दी हिमालको प्रचार गर्दै कोरियाली अभिनेत्री, छोरासहित गरिन् आरोहण

    काठमाडौं । कोरियाली अभिनेत्री ली सि योङले ४ हजार मिटर अग्लो नेपालस्थित मार्दी हिमाल आरोहण गरेको समाचार कोरियाली सन्चारमाध्यमहरुले प्रमुखतासाथ प्रकाशन गरेका छन् ।

    ४२ वर्षीया अभिनेत्री योङले छोरासहित मार्दी हिमाल आरोहण गरेकी हुन् । नेपालमा मार्दी ट्रेक भनिए पनि कोरियालीहरुका अभिनेत्रीले गरेको आरोहणसँगै कोरियामा मार्दीको चर्चा बढेको छ ।

    उनले आफ्नो इन्स्टाग्राममा मार्दी हिमाल आरोहण गरेका तस्विर र भिडिओ पोस्ट गर्दै कोरियालीहरुलाई नेपाल भ्रमण गर्न भनेकी छन् । उनले हिउँ परिरहेको बेलाका भिडिओ समेत पोष्ट गरेकी छन् ।

    अभिनेत्री योङले भनेकी छन्–यद्यपी मैले लक्ष्य गरे अनुसार सुर्योदयको समयमा आरोहण गर्न सकिन तर म ४ हजार मिटरमाथिको भ्यूप्वाइन्टमा पुगेँ । हिमपात र वर्षाका कारण मौसम त्यति राम्रो थिएन तर त्यो चुचुरोबाट देखिएको सबै दृष्यहरु मेरा लागि उपहार थिए ।

    उनले आफ्नो ६ वर्षको छोरा जियोन ग्यूनसँगै गरिएको आरोहण ऐतिहासिक रहेको भन्दै यति राम्रो प्रकृति आफूले अहिलेसम्म नआएर मिस गरेको बताएकी छन् ।

    सन् २००८ मा अर्बान लिजेन्ट डेजाभु सिजन थ्री भन्ने नाटकबाट डेब्यु गरेकी कोरियाली अभिनेत्री योङ धेरै चर्चित फिल्महरुमा अभिनय गरेकी छन् । उनको मार्दी आरोहणको व्यवस्थापन सोरा एड्भेन्चर ट्रेक्स एण्ड एक्स्पिडिसनले गरेको थियो ।

    विश्व चर्चित अभिनेत्रीको हिमाल आरोहण सम्बन्धी समाचार कोरियाली सन्चारमाध्यममा छाइरहेका छन् । मार्दी हिमाल आरोहणका क्रममा उनलाई अल्टिच्युट सिकनेस भएको टाइम्स इण्डियाले उल्लेख गरेको छ ।

    स्वीट होम चलचित्रकी अभिनेत्री योङको छोरासहितको मार्दी आरोहणको समाचार अहिले अन्तर्राष्ट्रिय सन्चारमाध्यमका लागि मसला बनेको छ ।

     

  • विजय बरालको प्रशंसा गर्दै मुकुन भुसालले लेखे -तेरो उचाइ सगरमाथा झै उच्च भएकोमा म निकै खुसी छु

    विजय बरालको प्रशंसा गर्दै मुकुन भुसालले लेखे -तेरो उचाइ सगरमाथा झै उच्च भएकोमा म निकै खुसी छु

    काठमाडौं । अहिले सबै हलमा हाउस फुल मनाइरहेको नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीका कलाकार मुकुन भुसालले उक्त चलचित्रका मुख्य कलाकार विजय बरालको सामाजिक सञ्जालबाट प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत बरालको उचाइ सगरमाथा झै उच्च भएकोमा आफू निकै खुसी भएको बताएका छन् ।

    No description available.
    कलाकार भुसालले यो केबल बरालको अथक मेहनत र कलाकारितामा दिएको निरन्तरताको फल भएको उल्लेख गर्दै यो यात्रामा आफू जोडिन पाउनु आफ्नो सौभाग्य भएको भन्दै बराललाई आगामी दिनका लागि शुभकामना दिएका छन् ।

    उनले लेखेका छन्, ‘प्रिय पूर्णे, आजको दिनसम्म आइपुग्दा तेरो उचाइ सगरमाथा झै उच्च भएकोमा म तेरो लागि निकै खुसी छु यो केबल तेरो अथक मिहेनत र कलाकारितामा तैँले दिएको निरन्तरता को फल हो हिजो फलानाले फिल्म धान्छ र रु भन्नेले आज के पो भन्दै होलान् । आज म खुसी छु हामी खुसी छौ र तैँले थाहा नपाउने गरि ती हजारौँ खुसी छन्, जो कलाकारितामा भविष्य खोजिरहेका छन् ।

    तैँले यो पत्र पढ्न लगाउन्जेल चलचित्रले आफ्नै इतिहास भत्काएर आफ्नै नयाँ इतिहास बनाइसक्ने छ । यो यात्रा मा जोडिन पाउनु मेरो सौभाग्य हो तँलाई आगामी दिनको लागि उत्तरोत्तर प्रगतिको कामना र अन्त्यमा छोरोलाई मस्तै पढाएस् र फेरि पनि दुनियाँलाई सुनाइदे गरिबी हेपाइबाट छुटकारा पाउने एउटै विकल्प शिक्षा हो भनेर ।’
    तँलाई माया गर्ने बिरे ।

    भुसालको स्ट्याटसमा मुख्य कलाकार बरालले आफू स्ट्याटस पढेर सारै भावुक भएको प्रतिक्रिया दिएका छन् । उनले लेखका छन्, ‘म त साह्रै भाबुक भए नि दाजु मुकुन । हिजो डियर महेशले यसै गरि भाबुक बनायो । तपाईँले लेखेर यो पत्र पढिरहँदा म एकदमै सुरुवाती समय र अहिलेको अवस्था सम्झँदै छु । दाजुभाइ गज्जब दोस्ती भइयो । भोलि हामी ३ भाइ भेट्नेछौ । मज्जाले कुरा गर्नेछौ ।’

  • ‘केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन

    ‘केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन

    काठमाडौं । कार्तिक ३० गतेको रिलिज डेट स्थगित भएको फिल्म ‘केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन सुरु भएको छ ।

    बुधबारदेखि ललितपुरको चापागाउँ आसपास छायांकन भइरहेको गीतमा फिल्मका प्रमुख कलाकारद्वय नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय छ ।

    गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी छ । रोमान्टिक फ्लेभरको गीतको बिहीबारसम्म छायांकन हुनेछ ।

    गीतमा इन्दिरा जोशी र करण परियारको स्वर, करुण थापाको शब्द र संगीत छ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो ।

    फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

    नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

    फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन, अरुण रेग्मीको प्रोडक्सन र पब्लिसिटीमा सुरज धामी (सुरज फोटोग्राफी) छन् ।

    म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

  • ‘पूर्णबहादुरको सारंगी’ मा दर्शकको सुनामी : आठौं दिनमा २ करोड ८५ लाखको व्यापार

    ‘पूर्णबहादुरको सारंगी’ मा दर्शकको सुनामी : आठौं दिनमा २ करोड ८५ लाखको व्यापार

    काठमाडौं । सरोज पौडेल निर्देशित चलचित्र ‘पूर्णबहादुरको सारंगी’ मा अभुतपूर्वरुपमा दर्शक उर्लिएका छन् । प्रदर्शनको आठौं दिनमा चलचित्रले झण्डै तीन करोडको कीर्तिमानी व्यापार गरेको छ ।

    वितरक प्रचण्डमान श्रेष्ठका अनुसार हिजो एक दिनमै चलचित्रले २ करोड ८५ लाख ग्रस कलेक्सन गरेको हो ।

    अहिलेसम्म कुनै पनि नेपाली चलचित्रले आठौं दिन यति कमाएको आधिकारिक रेकर्ड छैन ।

    सातौं दिनसम्म पूर्णबहादुरको सारंगीले ८ करोड २५ लाख कलेक्सन गरेको थियो । यसमा हिजोको २ करोड ८५ लाख जोड्दा ११ करोड पुगेको छ । आजको कलेक्सन रिपोर्ट आइनसकेको श्रेष्ठले बताए ।

    ‘पूर्णबहादुरको सारंगी’ को कमाइको रफ्तार तत्काल घट्ने अवस्था देखिँदैन । आज चलचित्रका शो संख्या यथावत नै छ । अधिकांश शो यस चलचित्रले पाउँदा पनि दर्शकले टिकट पाउन मुस्किल छ । केही दिनपछिसम्मका शोहरु पनि सोल्ड आउट भइरहेका छन् ।

    दर्शकको यो चासो र वर्ड अफ माउथ हेर्दा पूर्णबहादुरको सारंगीले नेपाली चलचित्रका सबै व्यापारिक कीर्तिमानहरु भङ्ग गर्ने निश्चित देखिन्छ । सर्वकालीनरुपमा सर्वाधिक व्यापार गर्ने नेपाली चलचित्रको किर्तिमान ‘जारी’ को नाममा छ ।

  • ‘हरिबहादुरको जुत्ता’ मा स्वस्तिमा अनुबन्धित

    ‘हरिबहादुरको जुत्ता’ मा स्वस्तिमा अनुबन्धित

    काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आज उनीसँग निर्माण टीमले सम्झौता गरेको हो ।

    यो चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपुत मुख्य भूमिकामा छन् । चलचित्रको स्क्रिप्ट हरिवंशले नै लेखेका हुन् ।

    हरिवंशसँग म्युजिक भिडिओमा सहकार्य गर्दै आएका सरोज ओलीले ‘हरिबहादुरको जुत्ता’ निर्माण गर्नेछन् ।

     

  • पूर्णबहादुरको सारंगीले दर्शक कब्जा गरेपछि ‘केटी हराएको सूचना’ को रिलिज स्थगित

    पूर्णबहादुरको सारंगीले दर्शक कब्जा गरेपछि ‘केटी हराएको सूचना’ को रिलिज स्थगित

    काठमाडौं । आउँदो कात्तिक ३० गते रिलिज हुने भनिएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रर्दशन स्थगित गरिएको छ । देशभरका हलहरुमा ‘पूर्णबहादुरको सारंगी’ ले बलियो प्रभूत्व जमाएको हुँदा सो चलचित्र स्थगित गर्ने निर्णय निर्माण टिमले लिएको हो ।

    ट्राइसिटी पिक्चर्सले निकालेको सूचनामा पूर्णबहादुरले दर्शकबाट पाइरहेको मायाप्रति सद्भाव व्यक्त गरिएको छ ।

    ‘जुन तरिकाले पूर्णबहादुरको सारंगीले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ चलचित्र आउँदा चलचित्र घरहरुले नयाँ चलचित्रलाई समेत शो बाँडफाँड गर्नुपर्ने अवस्थाको सिर्जना हुने हुँदा दर्शकको साथ प्राप्त चलचित्र समेतलाई असर पर्ने सम्भावना रहने भएकाले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु हाम्रो दायित्व हो भन्ने मान्यता कायम राख्दै केटी हराएको सूचनाको प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौं’, सूचनामा भनिएको छ ।

    प्रदर्शनको अर्को मिति सार्वजनिक गरिने सूचनामा जनाइएको छ ।

     

  • लोकमणि पौडेलको उपन्यासमा आधारित चलचित्र ‘अग्निदहन’ को ट्रेलर सार्वजनिक

    लोकमणि पौडेलको उपन्यासमा आधारित चलचित्र ‘अग्निदहन’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । यही मसिर ७ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘अग्निदहन’ को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर यो चलचित्र तयार पारिएको हो ।

    २ मिनेट ३६ सेकेन्डको ट्रेलरमा नाँच्दै गरेकी एक महिला अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको अनेक मानसिक यातनालाई समेटिएको छ । समाजसेवीको भूमिका निभाएका पुरुष प्रकाश घिमिरेले ‘बोक्सी अन्धविश्वास हो’ भनिरहँदा समाजले धामीझाँक्री लगाउन भन्दै उनलाई दिइएको अनेक यातनालाई ट्रेलरमा स्थान दिइएको छ ।

    चलचित्रका निर्देशक घनश्याम लामिछाने हुन् । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको भनाइ छ ।

    चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा निर्मल लामिछाने र ताराबहादुर गुरुङको अभिनय छ ।

    राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन र शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।

    चलचित्रको विशिष्ट संरक्षक भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल हुन । डीसीएन वितरक रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर रहेको छ ।

    फिल्मको अन्तर्राष्ट्रिय बजार व्यवस्थापन कृश्मा सुवेदी (श्रीनुर) र वरुणकुमार आचार्यले गर्ने भएका छन् । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

    ट्रेलर सार्वजनिक भएसँगै चलचित्रले मोफसल प्रचारयात्रा पोखरा बाट सुरु गरेको छ ।

  • स्व. सुनिल बर्देवाप्रति समर्पित राजु लामा र द एन्जल्स ब्यान्डको नयाँ गीत ‘कति छन्’ सार्वजनिक

    स्व. सुनिल बर्देवाप्रति समर्पित राजु लामा र द एन्जल्स ब्यान्डको नयाँ गीत ‘कति छन्’ सार्वजनिक

    काठमाडौं। द एन्जल्स ब्यान्डले ‘कति छन्’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ । यस गीतमा ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन् ।

    यस गीतको संगीत र शब्द स्व. सुनिल बर्देवाले तयार पारेका थिए । गीतको भिडियोमा द एन्जल्स ब्यान्डका सदस्यहरूको प्रस्तुति रहेको छ, जसमा गायक राजु लामासँगै राजेश, विकास र ताशी रहेका छन् ।

    यो गीत आरएल डिजिटल रेकर्डिङ स्टुडियो बाल्टिमोर अमेरिकामा रेकर्ड गरिएको हो । भिडियो पनि अमेरिकामै तयार पारिएको हो । भिडियोको निर्देशन र छायांकन संगमले गरेका छन् । ग्राफिक्सको काम बालकृष्ण श्रेष्ठले गरेका छन् । गायक लामाले भिडियोको अवधारणा तयार पारेका हुन् ।

    यो गीत स्वर्गीय सुनिल बर्देवा (गुरु बा)लाई श्रद्धाञ्जलीस्वरूप समर्पित गरिएको गायक लामाले बताए ।

    बर्देवा नेपाली पप संगीतका चर्चित गायक, गीतकार, संगीत संयोजक र गितारवादक थिए, जसले गितारमा विशेष दक्षता हासिल गरेका थिए । उनका ‘गोरटो अनि उस्तै छ गली’ र ‘बिहानीमा’ जस्ता गीतहरू विशेष चर्चित छन् । बर्देवाको सन् २०१६ मा ४४ वर्षको उमेरमा निधन भएको थियो ।

  • भटाभट फिल्म साइन गर्दै माग्नेबुढा, ऋषि लामिछानेको नयाँ प्रोजेक्टमा जोडिए

    भटाभट फिल्म साइन गर्दै माग्नेबुढा, ऋषि लामिछानेको नयाँ प्रोजेक्टमा जोडिए

    काठमाडौं । चर्चित हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) केही समय छक्कापञ्जा बाहिरका ब्यानरमा व्यस्त हुने भएका छन् ।

    अनमोल केसी अभिनित जेरी अन टपमा अनुवन्धित भएको केही समयमै उनलाई निर्देशक ऋषी लामिछानेले आफ्नो नयाँ प्रोजेक्टमा भित्र्याएका छन् ।

    माग्नेबुढा र ऋषीबीच बिहीबार कागजी सम्झौता भएको हो । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । चलचित्रमा माग्नेबुढाको महत्वपूर्ण भूमिका रहने बताइएको छ । चलचित्रको निर्माता मुनाल घिमिरे रहेका छन् । अन्य कलाकारहरुको खोजी भइरहेको छ ।

    चलचित्रमा हाइ डिमान्ड भए तापनि माग्ने बुढाले छक्कापञ्जा ब्यानरबाहिर काम गर्न आनाकानी गर्दै आएका थिए । तर, अहिले उनले ब्याक टु ब्याक दुई फिल्म साइन गरेका छन् । यसबाट छक्कापञ्जा ब्यानरले उनलाई स्वतन्त्र छोडिदिएको बुझ्न सकिन्छ ।

  • सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नयाँ गीत ‘ए मायालु’ सार्वजनिक

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नयाँ गीत ‘ए मायालु’ सार्वजनिक

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा रचित नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ ।

    गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।

    त्यस्तै गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जीवन कुमार ज्ञवाली, शिब शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ । गीतलाई ओएस आर डिजिटल युटुब च्यानलले सार्वजनिक गरेको हो ।

     

  • ‘पूर्णबहादुरको सारंगी’ ले बनायो सर्वाधिक ‘शो’ को कीर्तिमान, दैनिक व्यापार डेढ करोडमाथि

    ‘पूर्णबहादुरको सारंगी’ ले बनायो सर्वाधिक ‘शो’ को कीर्तिमान, दैनिक व्यापार डेढ करोडमाथि

    काठमाडौं । सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारंगी’ले अहिलेसम्मकै सर्वाधिक ‘शो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । वितरकका अनुसार आज हलहरुले यस चलचित्रलाई ३८० भन्दा बढी शो दिएका छन् ।

    यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३३५ शो पाएर कीर्तिमान बनाएको थियो । तर, एक महिनाभित्रै उक्त रेकर्ड ब्रेक भएको हो । ‘बेहुली फ्रम मेघौली’ सोलो रिलिज भएकाले सुरुवातमै त्यति धेरै शो पाएको थियो । जबकि पूर्णबहादुरको सारंगीलाई सुरुमा हलवालाहरुले पत्याएका थिएनन् ।

    कात्तिक १५ बाट प्रदर्शन भएको यस चलचित्रलाई पहिलो दिन नेपालभरि जम्मा १०८ शो मात्र दिइयो । तिहारको अघिल्लो दिन शुक्रबार दुई भारतीय फिल्म रिलिज भएसँगै हलहरुले यस चलचित्रलाई जम्मा ५७ शोमा खुम्च्याइदिए । भारतीय चलचित्र ‘सिंघम अगेन’ लाई उनीहरुले १२१ शो र ‘भुलभुलैया ३’ लाई ८३ शो दिएका थिए ।

    तर, ‘पूर्णबहादुरको सारंगी’ले दर्शकको अभूतपूर्व माया र साथ पायो । माउथ पब्लिसिटी व्यापक भएपछि हल सञ्चालकहरुले यस फिल्मको शो थप्न वाध्य भए ।

    वितरक प्रचण्डमान श्रेष्ठका अनुसार ‘पूर्णबहादुरको सारंगी’ले आज ४०० भन्दा बढी शोहरु पाएको छ । उनले भने, ‘अष्टनारायण हल लगायत हलहरुले दिएको शोहरुको हिसाबकिताब राम्रोसँग आएको छैन । देशव्यापी रुपमा यो फिल्मले आज ४०० बढी शोहरु पाएको छ ।’

    चलचित्रले आधिकारिकरुपमा ३८० भन्दा बढी शो चलिरहेको बताएको छ ।

    शो बढेसँगै चलचित्रको व्यापारमा रफ्तारमा छ । पहिलो र दोस्रो दिन फिल्मले ठिकठिकैको व्यापार गरे पनि तेस्रो दिनबाट व्यापारको ग्राफ उकालो लागेको बितरक श्रेष्ठ बताउँछन् ।

    ‘तेस्रो दिनदेखि निरन्तर डेढ करोडभन्दा माथिको व्यापार भइरहेको छ । बक्स अफिसको रिपोर्ट आउन भने आइसकेको छैन ।’

    करिब डेढ करोड लागतमा बनेको फिल्मले अनुमानित ८.२५ करोडमाथिको व्यापार गरिसकेको छ । क्यूएफएक्सले चलचित्रलाई ‘सुपरहिट’ को श्रेणीमा राखिसकेको छ । अहिले पनि हलमा दर्शक खचाखच छन् । टिकट सहजै पाउने अवस्था छैन । दर्शकको डिमान्डका कारण कतिपय हलहरुले मध्यरातमा पनि फिल्म चलाएका छन् ।

    भोलि शुक्रबार कुनै पनि नेपाली र विदेशी चलचित्र नभएकाले दर्शकहरु पूर्णरुपमा ‘पूर्णबहादुरको सारंगी’ मै एकोहोरिने स्थिति छ । अहिलेको रफ्तार हेर्दा नेपाली चलचित्रको इतिहासमै सर्वाधिक कमाइको रेकर्ड पनि राख्न सक्छ ।

    सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा विजय बराल मुख्य भूमिकामा छन् । बरालको साथमा प्रकाश सपूत, अन्जना बराइली, भोलाराज सापकोटा, मुकुन भुसाल, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहेको छ ।

     

  • ‘पूर्णबहादुरको सारंगी’का निर्देशक- जसले यतिबिघ्न रुवाइरहेछन् दर्शक

    ‘पूर्णबहादुरको सारंगी’का निर्देशक- जसले यतिबिघ्न रुवाइरहेछन् दर्शक

    काठमाडौं । नेपाली चलचित्रको बजार यतिबेला ‘पूर्णबहादुरमय’ बनेको छ । हलभित्र दर्शक खचाखच छन् । टिकटको हाहाकार छ । फिल्म हेरेर हलबाट निस्किएका दर्शकहरु आँशु लुकाउन सकिरहेका छैनन् ।

    चलचित्र बजार मात्र होइन, सामाजिक सञ्जाल समेत पूर्णबहादुरमय छ । दर्शकहरुले फेसबुकमा चलचित्रको गुणगान गाइरहेका छन् । कोही फिल्मको टिकट नपाएको गुनासो पोखिरहेका छन् । नेपाली चलचित्रप्रति यसअघि कहिल्यै नदेखिएको क्रेज देखिएको छ ।

    चलचित्रले यसरी हंगामा मच्चाइरहँदा ‘पूर्णबहादुरको सारंगी’ निर्देशक सरोज पौडेल भने गुमनामजस्तै छन् । कलाकारहरु हलमा पुग्दा झुत्तिँदै फोटो÷सेल्फी खिच्न जाने दर्शकहरु निर्देशकलाई भने चिन्दैनन् । धेरैलाई यो चलचित्र कसले निर्देशन गरेका हुन् भन्ने पनि थाहा छैन । निर्देशकप्रति चासो राख्ने दर्शक निकै थोरै हुन्छन् ।

    कुनै पनि चलचित्र राम्रो बन्नुमा सबैभन्दा ठूलो हात लेखक र निर्देशककै हुन्छ । यदि स्क्रिप्ट राम्रो छैन, वा राम्रो भएर पनि निर्देशन कमजोर छ भने कलाकारले जति मिहिनेत गरे पनि गतिलो चलचित्र बन्न सक्दैन । त्यस हिसाबले ‘पूर्णबहादुरको सारंगी’ मा सबैभन्दा ठूलो देन निर्देशक पौडेलकै छ, जो चलचित्रका कथाकार पनि हुन् । चलचित्रले यसरी दर्शक रुवाउनुको मुख्य जस÷अपजस उनैलाई जान्छ ।

    लाइमलाइटमा नभए पनि ‘पूर्णबहादुरको सारंगी’ मार्फत जबरजस्त रुपमा उदाएका छन् निर्देशक पौडेल । कुनै ठूलो स्टार कास्टबिना सामान्य लगानी गरेर बनाएको चलचित्र स्क्रिप्ट र प्रस्तुतीकरणको बलमा ब्लकबस्टर बनेको छ । यस चलचित्रलाई हेपेर सुरुमा हलहरुले न्यून शो दिएका थिए । तर, दर्शक ओइरिन थालेपछि अहिले अधिकांश शोहरु यस चलचित्रले कब्जा गरेको छ । वर्ड अफ माउथ यति बलियो छ कि नेपाली चलचित्रका सबै व्यापारिक रेकर्डहरु तोड्यो भने आश्चर्य मान्नु पर्ने छैन ।

    ‘पूर्णबहादुरको सारंगी’ पौडेलले निर्देशन गरेको दोस्रो चलचित्र हो । यसअघि उनले ‘वेलकम टु हेम्जाकोट’ नामक चलचित्रको निर्देशन गरेका थिए । बैंगलोरमा चलचित्र निर्देशनको कोर्स गरेर फर्किएपछि उनले यो चलचित्रमा हात हालेका थिए । करिब दुई वर्ष अगाडि रिलिज भएको यो कमेडी मुभिले दर्शकलाई हलसम्म तान्न सकेन । चलचित्र आएको र गएको नै थाहा भएन । निर्माताको ७० लाख डुब्यो ।

    पहिलो चलचित्रमा धक्का खाए पनि पौडेलले हरेश भने खाएनन् । उनी केही समय कामविहीन भए, तर सोचविहीन भएनन् । योबीचमा उनले पारिवारिक वियोगको सामना गर्नुपर्यो । उनका पिताको देहान्त भयो । पिता गुमाउनुपर्दाको चोटले नै आफूलाई ‘पू्र्णबहादुरको सारंगी’ सम्म पुर्याएको बताउँछन् पौडेल ।

    ‘मेरो बुवाको १३ दिने काजक्रिया सकेपश्चात चलचित्रको स्क्रिप्ट लेख्न थालेको हुँ । बुवाको निधनपछि मेरो जीवनमा ठूलो रिक्तता पैदा भयो । एउटा परिवारभित्र ‘बुवा’ को हो र छोराछोरीका लागि उसले कस्ता सपनाहरु देखेको हुन्छ ? भन्ने भाव तरंगमा डुब्दै गर्दा म पूर्णबहादुर पात्रसम्म पुगेँ’, उनले सुनाए ।

    कथा लेख्न बस्दा उनले टाइटल ‘सारंगी’ मात्र राखेका थिए । मुख्य पात्रको नाम सुरुमै तय थियो– पूर्णबहादुर । यही नाम कसरी दिमागमा आयो त उनलाई ? कसैको वास्तविक जीवनमाथि आधारित पो हो कि ?

    ‘होइन,’ पौडेल भन्छन्, ‘पूर्णरुपमा काल्पनिक पात्र हो पूर्णबहादुर । एउटा ‘बुवा’ माथि कथा लेख्दै गर्दा मैले समाजको तल्लो तप्काको प्रतिनिधिपात्र खोजेँ । पूर्णबहादुर नाम अलिकति लाक्षणिकरुपमा राखेको हुँ । जसको जीवनमा सबै कुरा अपूर्ण छ, उसकै नाम पूर्णबहादुर ।’

    आफ्नो स्क्रिप्ट बोकेर उनी लगानीकर्ताको खोजी गर्न थाले । सेभेन सिज सिनेमाका विनोद पौडेल र प्याट्रिक सुवेदीसम्म पुगे । कथा सुन्नासाथ उनीहरु लोभिए । चलचित्रमा लगानी गर्न तयार भए । कलाकारको खोजी सुरु भयो । मुख्य पात्र कसलाई बनाउने ? सुरुमै नाम आयो– विजय बराल ।

    हुन त पौडेलले चलचित्रको स्क्रिप्ट लेख्दाखेरि विजय बराल उनको दिमागमा थिएनन् । बरु थिए विपिन कार्की ।

    उनी भन्छन्, ‘कथा लेख्ने बेला खासमा मैले विपिन कार्कीलाई बढी सोचिरहेको थिएँ । यो क्यारेक्टरमा उनी फिट हुन्छन् जस्तो लागेको थियो । तर, निर्माण कम्पनीमा छलफल गर्दा विजय बरालको नाम आयो । म पनि अचानक झल्यास्स झैं भएँ । एउटा दुःखी पात्रको क्यारेक्टरलाई उनले पूर्णरुपमा निभाउन सक्छन् भन्नेमा सबैजना सहमत भयौं ।’

    विजय बराललाई प्रस्ताव गरियो । सँधै हिरोको सहयाेगीको भूमिकामा सीमित रहेका विजय अचानक यति बलियो रोलमा अफर आउँदा सुरुमा त अक्मकिए । हुन्छ भन्न सकेनन् । ‘लिड रोल’ मा लोभिँदा भोलि चलचित्र चलेन भने आफ्नो करिअर के होला भन्ने सोचमा परेका थिए उनी । केही दिनसम्म सोचविचारपछि अन्ततः उनी जोखिम लिन तयार भए ।

    त्यसो त एउटा सहायक पात्रको रुपमा स्थापित कलाकारलाई नै मुख्य भूमिका दिँदा चलचित्रलाई पनि व्यवसायिक जोखिम हुन सक्थ्यो । यो विषयमा टीममा छलफल पनि भएको थियो ।

    पौडेल भन्छन्, ‘यो विषयमा पनि छलफल नभएको होइन । तर, उहाँको अभिनय क्षमतामा हामी ढुक्क थियौं । कन्टेन्ट हाम्रो बलियो छ र कथाले नै फिल्म उठाउँछ भन्ने भइसकेपछि हामीले ठूलो स्टारको खोजी गरेनौं । हामीले मेकिङ र कन्टेन्टमा विश्वास गरेका हौं ।’

    चलचित्र रिलिजपछि सबैभन्दा बढी विजय बरालले नै वाहवाही पाइरहेका छन् । उनको अभिनयको चौतर्फी तारिफ भएको छ । चलचित्रले उनको करिअरमा नयाँ टर्निङ प्वाइन्ट ल्याउने निश्चित छ । टर्निङ प्वाइन्ट निर्देशक पौडेलको करिअरमा पनि आउने नै छ । उनी स्क्रिप्ट बोकेर लगानीकर्ता खोज्न हिँड्नुपर्थ्याे  । अब लगानीकर्ता उनलाई खोज्दै आउने छन् ।

    ‘पूर्णबहादुरको सारंगी’ बक्स अफिसमा पैसा छापिरहेको छ । निर्माता मालामाल भएका छन् । निर्माताको गोजी भरिदिनु निर्देशकको लागि ठूलो आत्मसन्तुष्टिको विषय हो ।

    पौडेल भन्छन्, ‘एउटा नयाँ डाइरेक्टरप्रति विश्वास गरेर करोडौं लगानी गर्न जोकोही तयार हुँदैन । उहाँहरुले ममाथि रिस्क लिनुभएको हो । मैले सामान्य पारिश्रमिक लिएर काम गरेको हुँ । चलचित्रमा मेरो शेयर छैन, तर चलचित्रले पैसा कमाउँदा मलाई पनि त्यसले आनन्दित तुल्याएको छ ।’

    चलचित्रले जुन रेस्पोन्स पाइरहेको छ, त्यसबाट निर्माण टीम नै सुखद आश्चर्यमा परेको छ । दर्शकको यतिबिघ्न मायाको अपेक्षा नगरिएको निर्देशक पौडेल बताउँछन् ।

    ‘मिहिनेत गरेर राम्रो प्रोडक्ट दिएपछि त्यसबाट आशा त राखिएको हुन्छ । तर, चलचित्रले यो स्तरको सफलता पाउला, दर्शकले यति धेरै माया गर्लान् भन्ने चाहिँ हामीलाई पनि अनुमान थिएन’, उनले भने ।

    पौडेलले ‘वेलकम टु हेम्जाकोट’ को असफलताबाट पनि केही पाठ सिकेका थिए । चलचित्र राम्रो बनाएर मात्र हुँदैन, यसलाई बलियो ब्रान्डिङ र प्रमोसन आवश्यक हुन्छ भन्ने बुझेका थिए । निर्माणमा सेभेन सिजसँगै बाँसुरी फिल्म्स पनि जोडियो । एउटा स्थापित ब्यानर जोडिँदा चलचित्रलाई ठूलो प्लस प्वाइन्ट भयो ।

    पूर्णबहादुरको पोस्टर सार्वजनिक भएसँगै चलचित्रले चासो जगाउन थालिसकेको थियो । ‘काँधेकुरी’ गीत भाइरल भएपछि राम्रै हाइप बन्यो । तर पनि हलवालाहरुले पत्याएका थिएनन् । सुरुवातमा चलचित्रले निकै थोरै शो पाएको थियो । पहिलो दिन दर्शकहरु पनि खासै आएनन् । तर दोस्रो दिनबाट जबरजस्त पिकअप लियो । तेस्रो दिनबाट ‘वर्ड अफ माउथ’ ले चलचित्रलाई ह्वात्तै माथि लग्यो ।

    कति चलचित्रले सञ्चारमाध्यममा राम्रो समीक्षा पाउँछन्, तर हलहरुमा दर्शक तान्न सक्दैनन् । केही चलचित्रले राम्रो समीक्षा नपाए पनि दर्शक पाउँछन् । यस मामिलामा ‘पूर्णबहादुरको सारंगी’ भाग्यमानी रह्यो । मिडियामा आएका सकारात्मक समीक्षाले पनि चलचित्रलाई धेरै बल पुग्यो । तथापि कथावस्तुमा केही प्रश्नहरु उठाइएका छन् ।

    सबैभन्दा बढीले उठाएको प्रश्न हो, पूर्णबहादुरकी पत्नीको भूमिकालाई किन अपूर्ण छाडियो ? यस विषयमा निर्देशक पौडेलको आफ्नै प्रष्टीकरण छ । उनी कुनै पनि चलचित्र चलचित्रजस्तो नभएर जीवनजस्तो हुनुपर्ने आफ्नो मान्यता रहेको बताउँछन् ।

    ‘जसरी जीवनमा तपार्इंले चाहेका कुराहरु संयोग मिलेर आइदिँदैनन्, चलचित्रको कथावस्तु पनि त्यस्तै होस् भन्ने लाग्छ मलाई । हामीले जीवनमा जस्तै चलचित्रमा पूर्णता खोज्नु हुँदैन’, पौडेलले भने ।

    उनी थप्छन्, ‘कुनै महत्वपूर्ण पात्र बीचमै छुट्दा चलचित्रभरि दर्शकलाई कौतुहल भइराख्छ । चलचित्र हेरिसकेपछि पनि उसको विषयमा सोचिन्छ । त्यसैले हामीले जानेर नै उक्त पात्रलाई अलपत्र छोडिदिएका हौं । यद्यपि, दर्शकबाट यो क्यारेक्टर लामो हुनुपथ्र्यो भन्ने धेरै प्रतिक्रिया पाइरहेका छौं ।’

    चलचित्रको कथावस्तुमाथि नै अर्को जिज्ञासाः पूर्णबहादुरको मृत्युको विषयमा काठमाडौंमा भएको छोरालाई किन खबर भएन ?

    पौडेलले यस्तो तर्क दिए, ‘त्यो गाउँमा एउटा मात्रै पीसीओ फोन भर्खर आएको हुन्छ । पूर्णबहादुर छोरालाई फोन गर्न आउँदा पसलेले ‘फोन बिग्रेको एक हप्ता भइसक्यो पूर्णे, अझै एक हप्ता लाग्छ होला’ भनेको छ । चिठी पत्र पठाएर पुगेर छोरो आउञ्जेल घरमा लाश राख्न मिल्दैन ।

    धेरैको चासो छ– के पूर्णबहादुरको सारंगीको ‘पार्ट टु’ पनि आउँछ ?

    पौडेलले आफू चलचित्रको सिक्वेल पक्षधर नभएको बताए । एउटा चलचित्र आफैंमा पूर्ण हुनुपर्ने उनको मान्यता छ । तर, दर्शकको माग देख्दा उनी सोच्न बाध्य भएका छन् ।

    ‘म सिक्वेलको फ्यान त होइन । तर, धेरै हलमा पार्ट टु चाहिन्छ भनेर नाराजुलुसै गरेजस्तो देखियो । दर्शकको यो प्रेम देख्दा ल्याउनुपर्छ कि जस्तो पनि लाग्छ । तर, कम्पनीको कुरा हो । कम्पनीले सिक्वेल बनाउने निर्णय गर्यो भने मसित पनि कुरा गर्ला । म चाहिँ यसै भन्न सक्दिनँ ।’

    अन्तिममा सोधियोः

    चलचित्रका कलाकारहरुको वाहवाही छ । हलहरुमा दर्शकले कलाकारहरुलाई अंगालो मारेर रोएका छन् । तपाईं यो चलचित्रको मुख्य सर्जक ओझेलमा हुनुहुन्छ । यसले अलिकति खल्लो लागेको छैन ?

    पौडेलको जवाफः

    यो त मनको कुरा नै सोध्नुभयो जस्तो लाग्छ । त्यस्तो कहिलेकाहीँ फिल हुन्छ पनि । तर ठीक छ । आखिर पर्दामा त कलाकारै देखिने हो । दर्शकले चिन्ने पनि कलाकारलाई नै हो । शिक्षित वर्गले निर्देशक को हो भनेर खोज्छन् होला । तर, यस्ता दर्शक थोरै हुन्छन् । फेरि, म पुरानो मान्छे पनि होइन । बिस्तारै मेरो पनि नाम आउला भन्नेमा आशावादी छु । सबैकुरा एकैपटक प्राप्त हुँदैनन् पनि ।

     

  • ‘लाहुर’ जान हिँडेका प्रकाश, यसरी माेडियो बाटो

    ‘लाहुर’ जान हिँडेका प्रकाश, यसरी माेडियो बाटो

    म्याग्दी । २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए । गाउँमा खेतीकिसानी गर्ने उर्मीला र विदेश रहेका भक्तबहादुर दुतराजका पाँच छोराछोरी मध्ये दोस्रो सन्तान प्रकाश अर्मनबाट बेनी आउँदा आठ वर्षका  थिए।

    “परिवार ठूलो भएकाले बुवाको विदेशको कमाइ र आमाले ज्याला मजदुरी गर्दा समेत परिवार चल्न समस्या भएपछि मैले नौ देखि १२ कक्षा पढ्दा सम्म बेनीको एक कार्यालयमा मासिक रु। तीन हजार पाँच सय ज्यालामा साँझ÷बिहान सरसफाइको काम गरेको थिए,”उनले भने “१२ कक्षा पढ्दै गर्दा भाइ, बहिनीलाई मेरो जिम्मा लगाएर आमा पनि विदेश गएपछि ममाथि अझै जिम्मेवारी थपियो ।”

    सानै उमेरदेखि गीत रचना र गाउने गर्दै आएका प्रकाशले कक्षा १० पढ्दा साथीभाई र शुभेच्छुकहरुबाट सहयोग जुटाएर ‘सिमसिम प¥यो पानी।।।’ बोलको गित रेकर्ड गराएका थिए । बाध्यताले पढाईलाई भन्दा कमाईलाई प्राथमिकता दिनुपर्ने अवस्था आएपछि भाई बहिनीलाई गाउँ पठाएर वैदेशिक रोजगारको तयारीसँगै सांगितिक क्षेत्रमा अवसर खोज्न वि।स। २०७१ मा काठमाडौ छिरेका प्रकाशले दोहोरी साँझमा काम पाए ।

    “विदेशको चक्करमा काठमाडौ छिरेको म ज्यान पाल्नका लागि चार वर्ष छ महिना दोहोरी साँझमा काम गरे । दोहोरीसाँझ मेरा लागि गर्जो टार्ने थलो मात्र नभएर गित, संगित सिक्ने पाठशाला पनि भयो,” उनी भन्छन् “दोहोरीको तलब र स्रोता दर्शकको ‘टिप्स’बाट बचेको पैसाले आठ वटा गित बनाएपनि आर्थिक हिसाबले फाइदा भएन् ।”

    विदेशको प्रयासमा वि।स। २०७४–७५ को डेढ वर्ष सांगितिक क्षेत्रबाट टाढिएका प्रकाशले आफन्त, शुभचिन्तक र साथीभाईको आग्रहमा सामाजिक विषयबस्तुसँग जोडिएर ‘आरने’, ‘बैनी झ्यालैमा।।।’, चोली मैलो भो।।।, बोलको गित बनाए । आरनेले कृषि औजार निर्माण र मर्मतको काम गर्नेहरु, बैनी झ्यालैले प्रेम कथा र चोली मैलो भो स्कुले जिवनको झल्को दिने कथामा आधारित थियो ।

    सांगीतिक क्षेत्रबाट आर्थिक हिसाबले प्रगति गर्न नसकिने निष्कर्ष निकालेर विदेश जानका लागि बेनीको बैङ्कमा घरजग्गा धितो राखेर ऋण निकालेका प्रकाश २०७६ साल फागुनमा काठमाडौँ पुगेर आधा पैसा ‘एजेन्ट’लाई दिए । आधा पैसाले गाउँघरमा बुढापाकाबाट सुनेको यातायातको सुविधा नहुदाँ नुन लिन भोट र बटौली गएको कथामा आधारित भएर लेखेको ‘घर कता हो बैनिको, लौन सार्है मन प¥यो’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाउने प्रकाशको योजना थियो ।

    “अन्तिम भनेर ‘घर कता हो बैनीको’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाएर युट्युमा राखेर घर आएको बेला कोरोना महामारी फैलिएपछि ‘लकडाउन’ भयो,” प्रकाशले भने “गाउँमा आएको एक हप्तापछि इन्टरनेट भएको ठाउँमा गएर हेर्दा ‘युट्युव’मा राम्रो भ्युज र धेरैले ‘टिकटक’ बनाएको देखेपछि सुखीको सिमा रहेन् । विदेश जाने योजना सफल नहुँदा निराश बनेको थिए । गित चल्न थालेपछि कला क्षेत्रमै संघर्ष गर्ने निधो गरे ।”

    ‘युट्युव’मा हालसम्म चार करोड बीस लाख ५६ हजार भन्दा बढी पटक हेरिएको यो लोक दोहोरी गीतमा अभिनय समेत गरेका प्रकाशलाई स्वरमा शान्तिश्री परियारले साथ दिएका छन् । प्रकाशका ‘रिमै’, ‘रेशम’, ‘जुनमाया’, ‘मन भुल्छ’, ‘मै जाम्ला’को म्युजिक भिडियो ‘युट्युव’मा एक करोड पटक भन्दा धेरै हेरिएका छन् ।

    गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएर गाउँमा घर बनाएर राखेका प्रकाशले भाइबहिनीलाई पढाइमा सघाएका छन् । प्रकाशको परिचयसँगै सामाजिक र आर्थिक हैसियत फेरिएको छ । ‘युट्युव’ र स्वदेश तथा विदेशमा हुने ‘स्टेज’ कार्यक्रम उनको आम्दानीको स्रोत हो ।

    प्रकाशका गीतमा प्रयोग भएका शब्द र संगित मात्र होइन् नृत्य पनि मौलिक र मनछुने किसिमका छन् । उनी गीतको शब्द रचना, गायन, संगित, निर्देशन र अभिनय आफै गर्छन् ।  उनका म्युजिक भिडियोले मनोरञ्जनसँगै सन्देश पनि बोकेका छन्् । मीठास शब्द र संगितले भरिएको गीतको भिडियोमा मार्मिक र अर्थपूर्ण दृष्य र कथा समेटिएका छन् ।

    नेपालीपन भएका सिर्जना स्रोता–दर्शकले मन पराउने प्रकाशको अनुभव छ । “अहिलेका दर्शक हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन,” उनले भने “हरेक गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु ।”

    प्रकाश आफू हुर्केको गाउँ–समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्छन् । सोही कारण उनीका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ । अभाव, दुःख, विभेद, गाउँ–समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गरेको प्रकाशको भनाइ छ ।

    मनोरञ्जनको साथमा सन्देश 

    तयार पारेको गीतको विषयमा आफ्नो टिममा छलफल र उनीहरुको सल्लाह सुझाव अनुसार संगित र म्युजिक भिडियो बनाउदा सफलता मिलेको उनले अनुभव सुनाए । ‘करिम’ बोलको गितको म्युजिक भिडियोको कथा र केही दृष्यको विषयमा भएको बिवादलाई उनले कमजोरीबाट पाठ सिक्ने अवसरका रुपमा लिनुभएको छ । गीत सुन्दा र म्युजिक भिडियो हेर्दा स्रोता दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनुपर्ने हिसाबले काम गर्नुपर्ने प्रकाशको भनाइ छ ।

    युवा विदेशिदा रित्तिएका गाउँघरको परिवेशमा आधारित भएर २०७८ सालको दसैँको छेको पारेर दुतराजले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको ‘जाम भो माइली।।।’को म्युजिक भिडियो हालसम्म दुई करोड १८ लाख १७ हजार पटक हेरिएको छ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जीवन शैली झल्काउने दृष्य समावेश गरिएको प्रेम कहानीमा आधारित ‘रिमै’ले युट्युवमा सार्वजनिक भएको प्रकाशको सबैभन्दा धेरै ‘भ्युज’ पाएको छ ।  हालसम्म चार करोड ७७ लाख २९ हजार पटक हेरिएको रिमैको स्वरमा दुतराजलाई मेलिना राई र अभिनयमा केपीना गोतामेले साथ दिएको छ ।

    डेढ महिनाअघि प्रकाशले सार्वजनिक गरेको ‘रेशम’ गीतको म्युजिक भिडियोमा बर्खामा लेकका बुकीमा तीन÷चार महिना परिवारदेखि टाढा रहेर भेडा गोठमा बस्ने गोठालाको कथालाई प्रस्तुत गरेका छन् । रेशम गीतको भिडियो युट्युबमा राखेको दुई महिनाको अवधीमा एक करोड ३४ लाख ७२ हजार भन्दा बढी पटक हेरिएको छ । सिर्जनाले पाएको तारिफ, स्रोता दर्शकको हौसलाले प्रकाशले लाहुरे बन्ने योजनाबाट विश्राम लिए ।

    रासस

  • के अझै विदेशी फिल्मको मोहजालमा छन् हल सञ्चालक ? दीपकराज र निश्चलबीच आरोप-प्रत्यारोप

    के अझै विदेशी फिल्मको मोहजालमा छन् हल सञ्चालक ? दीपकराज र निश्चलबीच आरोप-प्रत्यारोप

    काठमाडौं । नेपाली चलचित्र उद्योगका दुई ‘पावरसेन्टर’ दीपकराज गिरी र निश्चल बस्नेत फेसबुकमा आमनेसामने भएका छन् । उनीहरुबीच विवादको विषय हो- नेपाली चलचित्रलाई प्रदर्शकहरूले पर्याप्त शो नदिनु ।

    नेपालका हल सञ्चालकहरूले विगतदेखि नै विदेशी चलचित्रप्रति मोह देखाएर स्वदेशी चलचित्रलाई हेपाहा व्यवहार गर्दै आएका छन् । उनीहरूको यस्तो प्रवृत्तिका कारण प्रत्येक पटक ठूला बजेटका भारतीय फिल्म रिलिज हुँदा नेपाली चलचित्र मारमा पर्ने गरेको पाइन्छ । थुप्रै चलचित्रकर्मीले यस विषयमा आवाज पनि उठाउने गरेका छन् । जसमध्ये अग्रपंतिमा पर्छन् निश्चल ।

    उनले आफ्नो अघिल्लो फिल्म ‘दिमाग खराब’ ले पर्याप्त शो नपाएको भन्दै हलबाटै उतार्ने निर्णय लिएका थिए । यस पटक ‘बेहुली फ्रम मेघौली’ मा पनि यस्तै भयो । राम्रो व्यापार गर्दा गर्दै थोरै शोमा खुम्चिएपछि उनले हलबाट उतारेर ओटीटीतर्फ लगाएका छन् ।

    अहिले घरेलु दर्शकमा नेपाली चलचित्रप्रति अभूतपूर्व क्रेज छ । तिहारअघि रिलिज भएको ‘पूर्णबहादुरको सारंगी’ ले दर्शकको भेल मात्र उरालेको छैन, सामाजिक सञ्जालमा समेत सर्वाधिक चर्चाको विषय बनिरहेको छ ।

    स्मरणीय छ कि यो चलचित्रलाई पनि रिलिज हुँदा प्रदर्शकहरूले थोरै शो दिएका थिए । दर्शकको उच्च माग भएपछि हलहरू शो थप्न बाध्य भए । यही विषयमा दीपकराज र निश्चल बस्नेतले फेसबुकमा एक अर्कालाई कटाक्ष हानेका हुन् ।

    दीपकराजले कसैलाई पनि ईंगित नगरीकन एउटा स्टाटस लेखेका थिए, जसले निश्चललाई क्रुद्ध तुल्यायो ।

    उनले लेखेका थिए, ‘प्राय हलहरूले शो दिएन भनेर हामी उफ्रिन्छौँ । तर हेरौँ त… नगण्य शोबाट सुरु भएको सारंगीले आफूलाई कहाँ पुर्‍यायो ? योभन्दा पहिले १२ गाउँ त्यस्तै । समस्या कहाँ रहेछ त ?’

    निश्चलले यो स्टाटस दीपकले आफूलाई नै टार्गेट गरेर लेखेको ठाने । उनी जवाफ नफर्काई बस्न सकेनन् । दीपकराजको नाम नलिईकन उनले कडा कटाक्ष हानेका छन् ।

    उनको स्टाटस यस्तो:

    कोही चलचित्रकर्मी जो आजकाल हल पनि चलाउँछन्। ले मौका पाएर ठूलो गफ छाडिहालेछन्, नेपाली चलचित्रले राम्रो गर्दै गएपछि शो बडेको बडै छ त भन्दै । हो हजुर हो । विदेशी फिल्म राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट शो दिन्छ नी त्यही दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ सुरुमै राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन ? सधैँ नेपाली फिल्मले चैँ प्रमाणित गरिरहनु पर्ने हो ? निर्माताले शो थपिदिनुन भनेर गुहार्नु पर्ने नै हो ? प्रस्ट छ । विदेशी फिल्मको शो घटाएर नेपाली फिल्मलाई दिएका छौँ भनेर भ्रम नछर्दा हुन्छ । नेपाली फिल्मले दर्शक खोजेको हो , हलसम्म आफ्नो बलबुताले ल्याएको हो । यो फिल्मले राम्रो दाम ल्याउँछ भनेर प्रमाणित गरेपछि मात्र शो थपिएको हो । विदेशी फिल्म पनि हात्ती आयो हात्ती आयो फुस्सा भएपछि शो घटाइएको हो !! कमसेकम चलचित्र बनाइरहेको व्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिएन । बोल्नभयो, ठिक गर्नुभयो । चिनियो ।

    निश्चलको यो स्टटासमा दीपकराजको जवाफ आएको छैन । आज उनले एक स्टाटस लेख्दै मौनता नै सबैभन्दा ठूलो जवाफ भएको बताएका छन् ।