Category: कलाप्रेस

  • ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ गीतपछि सबै संगीतकारको रोजाइमा परेकी शर्मिला

    ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ गीतपछि सबै संगीतकारको रोजाइमा परेकी शर्मिला

    काठमाडौं ।

    छिटको सारी मखमली चोलीलाई
    कस्तो लाग्यो गाउँकी यो छोरीलाई
    भन्देउ सुटुक्क
    नबोली ओठले हाँस्देउ मुसुक्क

    ५० दशकको पुस्ताका धेरैको बाल्यकाल बनाएको छ यो गीतले । कतिपयलाई त यो गीतमा नाच्दाका स्टेपहरु अझै याद होलान् । पर्वहरुमा नछुट्ने यो गीत विद्यालयका कार्यक्रमहरुमा त छुट्दै छुट्दैन थिए । यही गीतसँगै हुर्किएको पुस्ता अहिले देश विदेशमा छन् । यो पुस्ता जहाँ जहाँ पुग्यो, त्यहाँ त्यहाँ गायिका शर्मिला बर्देवाको स्वर नोस्टालजिया बनेर पुग्यो । उनका गीतहरु जति पुराना हुँदै गए, उति दूरदूरसम्म फैलँदै गए ।

    तर गीतहरुलाई स्रोताको कानमा छाडेर शर्मिला भने २३ वर्ष अगाडि बेलायत हान्निइन् । परिवार र बालबच्चाका लागि विदेशिएकी शर्मिला बेलाबेलामा नेपाल आउँछिन् । गीतहरु रेकर्ड गर्छिन् । पुराना साथीभाइ भेट्छिन् । अनि फेरि बेलायत फर्किन्छिन् ।

    कर्णप्रिय गीतहरुको झंकार स्रोताहरुमा छाडेर विदेशिनुमा शर्मिलाको आफ्नै बाध्यता होलान् । राजनीतिक अस्थिरता, तत्कालीन गृहयुद्ध कारक होलान् । बेलायतबाट भर्खरै नेपाल आएकी शर्मिला सुनाउँछिन्, ‘त्यसवेलाको अवस्थै त्यस्तै प्रतिकूल थियो । विदेशिनुबाहेक विकल्प थिएन ।’

    विदेशिएर जहाँ पुगे पनि उनले नेपालीपन बिर्सिएकी छैनन् । बिर्सने कुरा पनि भएन । सँगै जन्मजात लिएर आएको फरासिलो स्वभाव पनि उस्तै छ । महत्वपूर्ण कुरा त उनको स्वर २३ वर्षअघिको जस्तै नै छ । त्यसैले त गफको क्रममा शर्मिला मुस्कुराउँदै आफ्ना पुराना गीत गुनगुनाउँछिन् । अनि फिस्स हाँसेर जिज्ञासा राख्छिन्, ‘मेरो स्वरमा त त्यस्तो बदलाव छैन नि ?’

    सायद उनले गाएर इंगित गर्न खोजेको कुरा हो, ‘हामीले त एक टेकमै गीत रेकर्ड गराइसक्नु पर्थ्यो ।’ अहिले त गीत रेकर्डको काममा प्रविधिले सहज बनाइदिएको छ । अनेक टेक लिन पाइन्छ । स्वर राम्रो भएन भने अटो ट्युनको सुविधा पनि छ ।

    गीत प्रशारणको पनि अनेक माध्यम छन् । त्यसवेला रेडियो नेपालबाहेक अर्को माध्यम थिएन । रेडियो नेपालमा पनि एक खालको मोनोपोली रहेको शर्मिलाको तीतो अनुभव छ । शर्मिला सुनाउँछिन्, ‘त्यहाँ गीत बज्दा ठूलो युद्ध जिते जस्तो हुन्थ्यो । अलि पछि एफएमहरु आएपछि भने गीतहरु प्रशारणका लागि सजिलो भयो ।’

    ०००

    धेरैले उदितनारायाण झाको स्वरमा सुनेको एउटा गीत छ-

    पूरा भयो सपना मेरो, तिमी नै हो जीवन मेरो
    आउ आउ अंगालोमा दुनियाँ सारा भुलेर

    ‘भन्नै सकिनँ’ नामक चलचित्रको यो गीतमा फिमेल भर्सनमा चाहिँ शर्मिलाको स्वर छ । आलोकश्रीको संगीत रहेको यो गीतका गीतकार हुन् राजेन्द्र शलभ । उनै राजेन्द्र चलचित्रका निर्देशक पनि थिए । यो चलचित्रमा शर्मिलाको चार वटा गीत थियो । एउटा गीत रामकृष्ण ढकालसँग, अर्को गीत यम बरालसँग र अर्को चाहिँ आनन्द कार्कीसँग ।

    त्योवेला चलचित्रमा मात्रै नभएर सिडी, क्यासेटमा बेच्न पनि गीत तयार गरिन्थे । यही प्रयोजनको लागि शर्मिलाको स्वरमा पनि ‘पूरा भयो सपना मेरो’ गीत रेकर्ड भएको थियो । शर्मिला सुनाउँछिन्, ‘चलचित्रमा चाहिँ कथाले नमागेर राख्नुभएन होला ।’

    यी सबै सन्दर्भ २०-२५ वर्ष अगाडिका हुन् ।

    ०००

    शर्मिलाको अर्को गीत छ- ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ ।

    ‘सगुन’ नामक चलचित्रको यो गीतको संगीतकार थिए सचिन सिंह । शर्मिलाले थुप्तेन भुटियासँग गाएकी थिइन् । गीत डोरेमी स्टुडियोमा रेकर्ड भएको थियो । शर्मिला सुनाउँछिन्, ‘गीत गाउने वेला कुन गीत हिट हुन्छ भन्ने थाहै हुन्नथ्यो ।’

    यही गीतले नै शर्मिलाको करियरमा पनि आगो लगायो । बजारमा नयाँ गायिका आएको छ भन्ने हल्ला चल्यो । शिव श्रेष्ठ र विपना थापा यस गीतको भिडियोमा खेलेकाले गीतले बजार पिट्यो । शर्मिला सुनाउँछिन्, ‘यसपछि त संगीतकारहरुले बोलाएर ब्याक टु ब्याक गाउन लगाउनुभयो ।’

    ०००

    शर्मिलाले गायिका बन्नेबारे सोचेकै थिइनन् । पारिवारिक माहोल पनि संगीतमय भएका कारण गाउन चाहिँ सिकिन् । रुपक शाहीसँग एउटा युगल गीत पनि गाएकी थिइन् । यही गीतमा संगीतकार सचिन सिंहले आलाप पनि गाइदिएका थिए ।

    ‘मेरो स्वर नयाँ स्वादको थियो । पिच पनि माथिसम्म जान्थ्यो । उहाँले त्यो नोट गर्नुभएको थियो होला’, सचिनले ‘दमकल बेलाइदेऊ’ गीत गाउन दिनुको कारण अनुमान गर्छन् उनी । दमकलमा आगो लगाएपछि त शर्मिलाले सिंगो चलचित्र क्षेत्रमा आगो लगाउन सुरु गरिन् । लगातार ३५–३६ चलचित्रमा गीत गाइन् । कुनैमा चार वटा, कुनैमा दुई, कुनैमा तीन त कुनैमा एउटा गीतमा शर्मिलाकै स्वर हुन्थ्यो ।

    लक्ष्मण शेषको संगीत रहेको ‘आँखैले हे¥यो लौन, मनैले बे¥यो’ भन्ने गीत यहीवेला चलेको थियो । शम्भुजीत बाँसकोटाको गीत पनि गाइन् । प्रकाश श्रेष्ठ, कुमार कान्छा, रामा मण्डल र राजेशपायल राईहरुसँग युगल गीत गाइन् । ‘म त आफूलाई फर्चुनेट गायिका हो जस्तो लाग्छ’, शर्मिला सुनाउँछिन् ।

    ०००

    जाउँ न हो डाइभर दाइ स्टेरिङ घुमाउँदै
    दुई दिने जिन्दगी पिरती लगाउँदै

    यो गीत शर्मिलाले दिवंगत खेमराज गुरुङसँग गाइन् । त्यसवेला प्रायः चलचित्रमा एउटा न एउटा गीत शर्मिलाको स्वरले सजिएको हुन्थ्यो । यही क्रममा उनले महेश खड्का, दिव्य खालिङका गीतहरु गाइन् ।

    शम्भुजीतसँग शर्मिलाको चर्चित सहकार्यमध्ये एक हो, ‘हेर हेर पूर्वबाट झुल्किएछ घाम’ । ‘मुस्कान’ नामक चलचित्रको यस गीतमा उनलाई यम बरालले साथ दिएका छन् ।

    ०००

    शर्मिलाका ममीतिरका हजुबा सेक्साफोनवादक थिए । सँगै सहनाई, बाँसुरी पनि उस्तै राम्रोसँग बजाउँथे । यही कारण उनी सानैदेखि संगीतमा आकर्षित थिइन् । उनले पनि सानैमा वाद्यवादन सिक्न खोजेकी थिइन्, तर हजुरबाले भने, ‘तिम्रो स्वर राम्रो छ । बाजातिर बढी ध्यान दिँदा गायनमा असर गर्नसक्छ ।’

    अनि बाजा छाडिन्, गीततिरै लागिन् । शर्मिलाको दाइ पनि संगीतमै थिए सुनिल बर्देवा । यही पारिवारिक माहोलका कारण शर्मिला संगीतको दुनियाँमा छिरिन् । गायनमार्फत सुमधुर स्वरको सुवास फैलाइन् । चलचित्रहरुमा गाउँदागाउँदै एल्बमहरु पनि निकालिन् । तिनै एल्बममध्ये एउटाको एक गीत चर्चित छ, ‘फूलको जवाफ पत्थरले दिनेलाई’ । आनन्द अधिकारीले लेखेको यो गीतमा आलोकश्रीको संगीत छ ।

    यसपछि भने उनी विदेशिइन् । अहिले त उनी विदेश गएको पनि २३ वर्ष भइसक्यो । यो २३ वर्षमा शर्मिलाले सधैं मिस गरिरहने कुरा भनेको संगीतको माहोल हो । भन्छिन्, ‘यहाँको सांगीतिक वातावरण सधैं मिस भइरहन्छ । एउटा गीत राम्रो बनाउन मरिमेट्थ्यौं । यही कुरा मिस हुन्छ ।’

  • मिस टिनको उपाधि जितिन् साराले

    मिस टिनको उपाधि जितिन् साराले

    काठमाडौं । यस वर्षको १९ औँ ‘मिस टिन’ नेपालको उपाधि सारा पाण्डेले जितेकी छन् ।

    काठमाडौँ जेसिजले गरेको मिस टिन प्रतियोगितामा नेपाल भ्वाइसको स्टुडियोमा आयोजित कार्यक्रममा उनले मिस टिन नेपालको उपाधि जितेकी हुन् ।

    मिस टिन विजेता काठमाडौंकी पाण्डेले ५० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । शिर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन् ।

    त्यसैगरी ‘फस्ट रनर अप’ कास्कीकी सुविका उपाध्याय र सेकेण्ड रनर अप काठमाडौँकी समृद्धि पोख्रेलले उपाधि हासिल गरेकी छन् ।

    त्यसैगरी ‘ब्युटी प्रपोजलको टाइटल’ भने प्राश्ना अधिरकारीले जितेकी छन् ।

    फस्ट रन अपले ३० हजार नगद र सेकेण्ड रनर अपले २० हजार नगर प्राप्त गरेकी छन् ।

    शिर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन् । मिस टिन इभेन्टको व्यवस्थापन ३६५ ले गरेको थियो ।

  • ‘ह्रस्वदीर्घ’ दोस्रो हप्तामा, निता भन्छिन्- हामी पूर्णरुपमा ‘सेफ’ भइसक्यौँ

    ‘ह्रस्वदीर्घ’ दोस्रो हप्तामा, निता भन्छिन्- हामी पूर्णरुपमा ‘सेफ’ भइसक्यौँ

    काठमाडौं । अभिनेत्री निता ढुंगानाले निर्माण गरेको चलचित्र ह्रस्वदीर्घ आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । महँगो बजेटमा बनेको चलचित्रले लगानी सुरक्षित गरिसकेको दाबी निताले गरेकी छन् ।

    पहिलो हप्तामा चलचित्रले ५ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । यो चलचित्र ६ करोडको लागतमा निर्माण भएको हो ।

    हलहरूको कलेक्सन हेर्दा लगानी उठाउन अझै लामो यात्रा गर्नुपर्ने देखिन्छ । तर, निताले चलचित्रबाट आफूहरू पूर्णरुपमा सुरक्षित भइसकेको बताएकी छन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै निताले भारतमा ओटीटी प्लेटफर्मममा चलचित्र विक्री गरिएको जानकारी दिएकी छन् । साथै, केही समयपछि भारतका हलहरूमा पनि रिलिज गर्ने र ओभरसिजको योजना पनि बनिरहेको उनको भनाइ छ ।

    ‘केही ठाउँमा हामी बक्स अफिस गर्दैछौं भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ । र, पूर्णरुपमा हामी सेभ भइसकेका छौँ,’ निताले लेखेकी छन् ।

    दर्शकहरूले आफूप्रति देखाएको माया र चिन्ताप्रति उनले आभार प्रकट गरेकी छन् ।

    ‘जति नै मान्छेले खुट्टा तान्ने कोसिस गरे पनि, जति नै अगाडि बढ्न नदिए पनि, मेरो दर्शकहरूले हामीलाई हात समातेर अगाडि बढाइदिनुभयो, हामीलाई भेट्दाखेरि अँगालो मारेर रुने, नानी तिमीलाई धेरै नराम्रो गरिरहेको छन् मान्छेले, किन यस्तो गरिरहेको छन् भनेर मनमा भएको कुरा भन्ने, बुढाबुढी आमाबुवा भेटेँ, भाइबहिनीहरू भेटेँ, हाम्रो चलचित्रको लागि रुने, मेरो लागि रुने, मैले भगवान् जस्तो दर्शक कहाँ भेटुँला र ?’ निताले लेखेकी छन् ।

  • सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्रको सूची : छक्कापञ्जा सिरिजको अधिपत्य

    सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्रको सूची : छक्कापञ्जा सिरिजको अधिपत्य

    काठमाडौं । गत कात्तिक १५ गते प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ अहिले ५० करोडको ‘माइलस्टोन’तर्फ अग्रसर छ । चलचित्रले समातिरहेको रफ्तारलाई हेर्दा ५० करोडको आँकडा सहजै छुने देखिन्छ । किनभने अहिले नै यो चलचित्रले ३५ करोडमाथिको ग्रस व्यापार गरिसकेको छ ।

    २०औं दिनमा आइपुग्दासम्म पनि हलहरुमा दर्शकको चाप यथावत नै छ । भविष्यमा आउने चलचित्रहरुलाई ‘पूर्णबहादुरको सारङ्गी’ को व्यापारिक रेकर्ड तोड्न निकै गाह्रो हुने देखिन्छ । अहिलेसम्म सबैभन्दा बढी कमाउने शीर्ष १० चलचित्रको रेकर्ड हेर्ने हो भने पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै अगाडि लम्किसकेको छ ।

    दशैंमा रिलिज भएका दुई चलचित्र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले पनि उधुम मच्चाएका थिए । ‘१२ गाउँ’ले २५ करोड ५० लाख ग्रस कलेक्सन गरेको निर्माताले दाबी गरेकोमा बोर्डको तथ्यांकअनुसार तीन दिन अगाडिसम्मको कलेक्सन १९ करोड ३७ लाख छ । यो तथ्यांकमा केही हलहरुको विवरण समावेश नरहेकाले कुल कलेक्सन अनुमानित २२ करोड हुनसक्ने बोर्ड सदस्य रवि अधिकारी बताउँछन् ।

    घरेलु बक्स अफिसका आधारमा टप १० नेपाली चलचित्र

    अधिकारीका अनुसार ‘छक्कापञ्जा ५’को बक्स अफिस कलेक्सन १४ करोड ८८ लाख छ । अधिकारीले भने, ‘यो हिसाबमा कतिपय हलहरुको कलेक्सन जोडिएको छैन । वास्तविक कलेक्सन योभन्दा बढी हुनसक्छ ।’

    वितरकहरुका अनुसार ‘१२ गाउँ’ को वास्तविक ग्रस कलेक्सन भने २२ करोड हो भने ‘छक्कापञ्जा ५’ को १८ करोड रहेको छ ।

    शीर्ष १० मा नअटाए पनि यही वर्ष प्रदर्शन भएको ‘बोक्सीको घर’ ले १२ करोडमाथिको व्यापार गरेको बक्स अफिस रेकर्ड विकास बोर्डसँग छ । यससँगै ‘ शत्रुगते’, ‘छ माया छपक्कै’,‘प्रेमगीत ३’, ‘महापुरुष’, ‘कबड्डी २’ लगायत चलचित्रले पनि निर्मातालाई मुनाफा दिएका छन्, तर यी सबै चलचित्रको बक्स अफिस कलेक्सन ७-८ करोडको हाराहारीमात्रै छ ।

    ‘अवतार : द वे अफ वाटर’, ‘पठान’, ‘जवान’, ‘केजीएफ २’ जस्ता विदेशी चलचित्रले पनि नेपाली बक्स अफिसबाट करोडौं पैसा लगेका छन् । यद्यपि यी चलचित्रले ‘कबड्डी’, ‘छक्कापञ्जा सिरिज’ कै तहको कलेक्सन भने गरेका छैनन् ।

    छक्कापञ्जाको दबदबा, ‘१२ गाउँ’ एक्लो एक्सन चलचित्र

    सबैभन्दा बढी कलेक्सन गर्ने चलचित्रहरुको सूचीमा सोसल ड्रामाहरुको हालीमुहाली देखिन्छ । चाहे ‘छक्कापञ्जा’ सिरिज होस् या ‘कबड्डी’ सिरिज । ‘जारी’ होस् या ‘महाजात्रा’, सोसल ड्रामाहरुको जगजगी देखिन्छ । यो सूचीमा ‘१२ गाउँ’ एक्लो एक्सन चलचित्र हो । छक्कापञ्जा सिरिजका ५ वटै चलचित्र टप १० भित्र अटाएका छन् ।

    सोसल ड्रामाको जगजगीको पछाडि नेपाली समाजको मनोविज्ञान कारक देख्छन् चलचित्र समीक्षक तथा लेखक सामिप्यराज तिमल्सेना । उनी भन्छन्, ‘हामी संयुक्त परिवारमा बाँच्छौं । त्यसैले परिवारमा कोही छुटिँदा रोनाधोना हुन्छ, जोडिँदा मजा आउँछ । हाम्रा हरेक कुरा सीधै गएर समाजसँग जोडिएको छ । कथामा यिनै कुरा आउँदा दर्शकले रुचाइदिन्छन् ।’

    कलाकार तथा निर्माता दीपकराज गिरी पनि हाम्रो सामाजिक संरचना नै भावनात्मक भएका कारण सामाजिक कथावस्तुमा निर्मित चलचित्रहरु दर्शकहरुले रुचाइरहेको बताउँछन् ।

    ‘यतिमात्रै नभएर हाम्रो सामाजिक अवस्था कमजोर छ, दैनिक छाक टार्न संघर्ष गर्नुपर्ने अवस्था छ । गरिबी छ, अभाव छ । यस्तो अवस्थाबाट गुज्रिरहेको व्यक्तिलाई जोगाउने समाजले हो । त्यही कारण पनि सोसल ड्रामाहरु दर्शकहरुले रुचाइरहेका छन्’, गिरीको भनाइ छ ।

    उनी थप भन्छन्, ‘हामीलाई फ्यान्टासीमा जान गाह्रो छ । किनभने हाम्रो समाज अहिले पनि न्यूनतम जीवन निर्वाहमा अलमलिएको छ । यही कारण दर्शकहरुले ‘कबड्डी’, ‘जारी’ जस्ता चलचित्रहरु मन पराएका हुन् । नेपाली दर्शकहरुले चलचित्रमा आफूलाई समेत खोजिरहेका छन् । यही कारण सोसल ड्रामाहरुलाई दर्शकले प्रेम दिइरहनुभएको हो ।’

    सूचीमा सोसल ड्रामाहरुकै दबदबा भए पनि असफलतामा पनि सोसल ड्रामाहरुकै रेकर्ड छ । सबैभन्दा बढी सोसल ड्रामाहरु नै बन्छन् । र सबैभन्दा असफल पनि यिनै चलचित्रहरु हुन्छन् । सफलताको रेट नै ५-६ प्रतिशतको हारहारीमा छ । धेरै निर्माता पुनः चलचित्र बनाउन नसक्ने गरी डुबेका छन् ।

    अवस्था किन यस्तो जर्जर छ त ? तिमल्सेनाको मत छ, ‘यस्तै चलचित्र चल्न थाले पनि यही चल्छ भनेर सबै यतैतिर लाग्छन्, तर सही इलेमेन्टसहित चलचित्र बनाउनुपर्‍यो नि ! कम्बिनेसन मिलाएर कथा भन्नेहरु सफल भएर गएका छन् । अर्ध बुझाइसहित बनाइएका चलचित्रहरु असफल भएका छन् ।’

    सूचीमै छैनन् अनमोल केसी, प्रदीप खड्काहरु

    सबैभन्दा बढी बक्स अफिस कलेक्सन गर्ने चलचित्रहरुको सूचीमा ‘व्यवसायिक हिरो’हरुकै चलचित्र परेका छैनन् । अनमोल केसी, प्रदीप खड्का जस्ता सिंगो चलचित्रको भविष्य नै काँधमा बोक्ने भनेर दाबी गरिएका कलाकारकै चलचित्र उत्कृष्टको सूचीभन्दा बाहिर छन् ।

    खड्काको ‘प्रेमगीत ३’ र अनमोलको ‘ए मेरो हजुर ४’लगायत लगानी सुरक्षित गर्न त सफल भए, तर निर्मातालाई ठूलो अनुपातमा मुनाफा खुवाउन भने सकेनन् । रङ्गमञ्चबाट आएका कलाकारहरु नै व्यवसायिक रुपमा पनि अगाडि छन् ।

    यद्यपि बक्स अफिसभन्दा गुणात्मक रुपमा राम्रो चलचित्रले इतिहास लेख्ने हो । ‘नुमाफुङ’, ‘साम्बाला’ जस्ता चलचित्रले नै बहस सृजना गर्ने तागत राख्छन्, तर बक्स अफिसकै बागडोर सम्हाल्न आइपुगेका भनिएका कलाकारलाई गाह्रो हुने देखिएको छ ।

    यसबारे तिमल्सेनाको प्रस्ट धारणा छ, ‘पदवी धारण गर्नुभएकाहरुलाई अप्ठेरो हुनुपर्ने हो पदवी लिन । अनमोललाई त मैले भनेको थिएँ, ‘मेगास्टार लेखिरहेका छौं, यस्तो चिजमा किन रहर गरेको ?’ उसले भन्यो, ‘होम ब्यानरमा राख्दिनँ, अरुले राख्छन्, उहाँहरुको व्यापारको कुरा हो, रिक्वेस्ट गर्दा पनि मान्नुहुन्न’, तर अनमोलले नै रिक्वेस्ट गर्दा कुन माइकालालले राख्दैन होला !’

    तिमल्सेना थप भन्छन्, ‘यस्ता ट्यागहरु टाउको बेच्ने तिकडम हो, तर यो तिकडम झुर हो । किनभने हाइरार्की हुनुहुन्न भनेर लडेको समाज हो हाम्रो । अनि कलाकार आफैंले हाइरार्की तयार गर्नु भनेको समाज नबुझेको हो । उहाँहरुको चलचित्र छनोटको तरिकामा नै आफूलाई गोरो, चिल्लोमात्रै सुहाउँछ भन्ने मनोविज्ञान छ । फरक कथा अरुले अफर पनि गर्दैनन् । अफर गर्दा पनि उहाँहरु खेल्नुहुन्न । खासमा उहाँहरु एकदमै असुरक्षित महसुस गरिरहेका कलाकार हुन् । चलचित्र कस्तो बनाउने भन्दा पनि अरुले नराम्रो भन्लान् कि भन्ने चिन्ता छ उहाँहरुलाई । कथा भन्ने तरिकामा उहाँहरु सहभागी नै हुनुहुन्न । अनि हल्लाखल्ला गरेर एकदुई दिन दर्शक आउने भए, आइरहँदैनन् । समाजको आत्मा नै नभएको कथामा मान्छेले मरिहत्ते गर्दैनन् ।’

    फरक विधाका प्रयोगहरु सधैं किनारामा

    अलिकति फरक विधामा निर्मित चलचित्रहरुले बक्स अफिसमा पानी भन्नै पाएका छैनन् । ‘चिसो एस्ट्रे’ जस्ता चलचित्रहरुलाई दर्शकले इग्नोर गरिदिए । ‘हल्कारा’ जस्ता थोरै फरक सामाजिक परिवेशमा बनाइएका चलचित्रहरु असफल भए ।

    हिजोदेखि नै नेपाली चलचित्रमा प्रयोग गर्न खोज्नेहरु डुबिरहेको स्थिति छ । ‘लुट’ एउटा दुर्लभ उदाहरण हो, जसले नेपाली चलचित्रको ट्रेन्ड नै बदलिदियो । यसका पछाडि ठूलो राजनीतिक परिवर्तन, जनतामा आएको जागरणलगायत कुराहरुको ठूलो भूमिका छ, तर यसपछि भने प्रयोग गर्न चाहनेहरु सिर्फ डुबिरहेका छन् ।

    आफ्ना चलचित्रहरुमार्फत् एक अर्बभन्दा बढी ग्रस कलेक्सन गरिसकेका गिरीलाई पनि फरक विधामा चलचित्र बनाउने आँट छैन । फरक विधामा जोखिम मोल्ने सम्भावना कति छ भनेर सोधिएको प्रश्नमा गिरीको जवाफ छ-

    ‘छक्कापञ्जा ५’मा पृथ्वीनारायण शाह र भ्रष्टाचार देखाउँदा पनि दर्शकले अलि चित्त नबुझेको बताउनुभयो । यो चलचित्रमा हामीले कमेडीको प्रयोग कम गरेर सामाजिक मुद्दालाई केन्द्रमा राखेका थियौं । यसमा पनि दर्शकको चित्त दुखाइ आयो ।

    युट्युबमा ट्रेन्डिङ हेर्ने हो भने अरु श्रीमती भगाएको, घर झगडा परेको जस्ता निकृष्ट विषयहरु हुन्छन् । यसले नै देखाउँछ, हाम्रो नेपाली समाज कहाँ छ भनेर । यस्तो सामाजिक मनोविज्ञानबाट माथि उठेर हामीले राम्रो चलचित्र बनाउन कोसिस गर्ने हो ।

    अनि हामीलाई नै चलचित्र बनाउन गाह्रो छ, फरक विधामा जोखिम मोल्दा झनै गाह्रो हुन्छ । फरक विधामा अलि खतरा छ । चलचित्र बनाएर निर्माताको करोडौं लगानी पनि जोगिनुप¥यो । फरक विधामा काम गर्ने हाम्रो सोचाइ भए पनि झ्याम्मै हात हाल्न सकिरहेका छैनौं । हामीले कथा भन्ने तरिकामा थोरैथोरै बदल्दै गएका छौं, तर फ्याट्टै जम्प गर्न चाहिँ गाह्रो छ ।

  • ‘मिस प्लानेट २०२४’ मा भाग लिन कम्बोडिया गइन् अनिसा

    ‘मिस प्लानेट २०२४’ मा भाग लिन कम्बोडिया गइन् अनिसा

    काठमाडौं । कम्बोडियामा हुन लागेको ‘मिस प्लानेट २०२४’ मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै अनिसा पराजुली त्यसतर्फ लागेकी छन् ।

    कम्बोडियामा १९-२७ नोभेम्बरसम्म यो प्रतियोगिता चल्दैछ । प्रतियोगिताका लागि अनिसाले बुद्धको थिममा ‘नेसनल कस्ट्युम’ बनाएकी छन् । कम्बोडिया बौद्ध धर्मावलम्वीको बाहुल्य देश भएकाले यो थिम अपनाएको उनले बताइन् ।

    ‘मिस प्लानेट’ को यो वर्षको थिम ‘दिगो विकास सँगसँगै मेन्टल हेल्थ अवारनेस’ रहेको छ । वीर नर्सिङ क्याम्पसमा मास्टर्स पढिरहेकी उनी मनोचिकित्सक नर्स हुन् । काठमाडौंमा केही दिनअघि भएको नर्सहरूको सौन्दर्य प्रतियोगितामा उनी ‘मिस नेपाल पिस’ को फस्ट रनरअप घोषित भएकी थिइन् ।

  • ‘ह्रस्व-दीर्घ’ भित्रका शुद्धाशुद्धी

    ‘ह्रस्व-दीर्घ’ भित्रका शुद्धाशुद्धी

    काठमाडौं । ‘ह्रस्व-दीर्घ’को कथा सरल छ, मेयर (विपना थापा)को छोरा हुन् हरि (हरिहर अधिकारी) । देवधाम चलाउने महामहन्त (प्रदीप रावत)की छोरी हुन् नारायणी (नीता ढुंगाना) । हरि र नारायणीको भेट यसरी हुन्छ कि चिप्लिएर लड्न लागेकी नारायणीलाई हरिले ‘हिरो स्टाइल’ मा समातेर जोगाउँछन् ।

    यहीवेला नारायणी र हरिको हात २४ घण्टासम्म टाँसिन्छ । यो २४ घण्टाभित्र धेरै घटना घट्छन् । नारायणी र हरि नजिक हुन्छन् । प्रेममा पर्छन् । मध्यान्तरमा दुवैको परिवारले थाहा पाउँछन् । अनि त के चाहियो ? नारायणी हरिको घरमा र हरि नारायणीको देवधाममा एक-एक महिना बस्नुपर्ने अवस्था आइदिन्छ ।

    महामहन्तलाई प्रभावित बनाउन खोज्दा एक महिनामा हरिले अनेक हण्डर खान्छ । यही बीचमा नारायणीको मामा (ब्रह्मानन्दन) आउँछन् । एक महिना सकिन्छ । हरि घर आउँछ । यहीवेला नारायाणीले आफ्नी बहिनी (गरिमा शर्मा)लाई मर्नुपर्ने अवस्था सृजना गरिदिने हरि हो भन्ने थाहा पाउँछिन् । तनाव सृजना हुन्छ । अनि मरिसकेकी बहिनीले कथामा ट्विस्ट ल्याउँछिन् ।

    बहिनीले के ट्विस्ट ल्याउँछिन् त ? यसका लागि भने हलमै गएर फिल्म हेर्नुपर्ने हुन्छ । यति ट्विस्टका लागि मात्रै होइन, अन्य धेरै कुराको स्वाद लिन ‘ह्रस्व-दीर्घ’ हलमा गएर हेर्दा हुन्छ । नीता र हरिहरको अभियन अनि केमेस्ट्रीको मजा लिन पनि यो चलचित्र हेर्नुपर्ने हुन्छ । खासगरी नीताको अभिनय प्रशंसायोग्य छ ।

    ‘गजनी’ जस्ता चलचित्रमा नेपाली दर्शकले आमीर खानसँग हेरेका रावतलाई नेपाली फिल्ममा हरिहर अधिकारीसँग हेर्नुको आनन्द बेग्लै छ । दक्षिण भारतीय चलचित्रहरुमा पेट मिचिमिची हसाउने ब्रह्मानन्दन, मोहम्मद अलीलाई ‘ह्रस्व-दीर्घ’मा हेर्दा बेग्लै मजा आउँछ । ‘पुष्पा’मा भिलेनको भूमिका निर्वाह गरेर नेपाली दर्शकको मनमा बसेका सुनिल वर्मालाई पनि ‘पुष्पा अवतार’मै देख्दा दर्शकलाई मजा नआउने कुरा भएन ।

    चलचित्रका दृश्यहरु सुन्दर छन् । खिचाइ राम्रै छ । कलाकारको अभिनय पनि ठीकठाक छ । पार्श्व धुन मीठो छ । गीत-संगीत चलचित्रलाई सुहाउँदो छ । सँगै पटकथामा राम्रोसँग मेहनत गरेको भए ‘ह्रस्व-दीर्घ’ ले अर्कै उचाइ लिने थियो । बक्स अफिसमा धमाका गर्न सक्ने थियो, तर औसत नेपाली चलचित्रको पटकथाले ‘ह्रस्व-दीर्घ’ को उच्च मेकिङलाई न्याय गर्न सकेको छैन ।

    चाहे ‘गजनी’ हेर्दा होस् या दक्षिण भारतीय चलचित्रहरु ! रावत, ब्रह्मानन्दन, सुनिल, मोहम्मदलगायत कलाकारको अब्बल अभिनय देख्न पाइन्छ । ब्रह्मानन्दनको कमेडी टाइमिङले त दर्शकलाई हायलकायल बनाउँछ ।

    दक्षिण भारतीय चलचित्रहरुमा देखिने ब्रह्मानन्दन उही हुन्, जो नेपाली चलचित्र ‘ह्रस्व-दीर्घ’मा पनि छन् । यद्यपि यहाँ ब्रह्मानन्दनलाई एकै कुराको कमी छ- उत्कृष्ट सिचुयसनसहितको कमेडी संवाद ! यति अब्बल कलाकारलाई ‘ह्रस्व-दीर्घ’मा खुराक पुगेको छैन ।

    अन्य दक्षिण भारतीय कलाकारहरु पनि त्यहाँका चलचित्रमा जति अब्बल लाग्थे, त्यति अब्बल नेपाली चलचित्रमा देखिएका छैनन् । भलै दक्षिण भारतीय चलचित्रको जस्तो बजेट नहोला, उनीहरुसँग जस्तो प्रविधि नहोला, तर नेपाली चलचित्र खेल्न तयार भइसकेपछि पटकथा अलि दमदार बनाएको भए उनीहरुको पूर्ण सदुपयोग हुन सक्थ्यो ।

    ‘ह्रस्व-दीर्घ’मा हामीलाई ‘पुष्पा’को भिलेन चाहिएको होइन, कलाकार सुनिल वर्मा चाहिएको हो । जति ठूला कलाकार, उति नै ज्यादा चुनौती महसुस गर्नुपर्थ्यो निर्देशक चन्द्र पन्तले । त्यति ठूला स्टारहरुको नेपालमा ठूलो फ्यान फलोइङ थियो, तर उनीहरुलाई प्रमोसनको लागिमात्रै ‘ह्रस्व-दीर्घ’मा ल्याइए जस्तै भयो । ब्रह्मानन्दनलगायत कलाकारलाई हिन्दी भाषामै बोल्न दिइनुले पनि खल्लो महसुस भएको छ ।

    अघिल्लो वर्ष प्रदर्शन भएको बलिउड चलचित्र ‘रक्की और रानीकी प्रेम कहानी’ सँगै ‘ह्रस्व-दीर्घ’को केन्द्रीय आइडिया मिल्छ । केटा केटीको घर जाने र केटी केटाको घर जाने ‘थिम’ मिल्नु संयोगमात्रै हुन सक्ला । किनभने आफूले यो चलचित्रको स्क्रिप्ट धेरै वर्ष अगाडि लेखेको हरिहर अधिकारीले बताइरहेका छन् ।

    क्लबमा बसेर नारायणीको कुरा गरेको, पैदल दौडेर लखेटिरहेका गुण्डाकै गतिमा बाइकमा भागेका हरि र नारायाणी अस्वाभाविक लाग्छन् । डुंगा खियाइरहेका सरोज खनालको बहानाले पानीलाई धन्न छुन्छ । तीनतीन जना मान्छे बोकेर डुंगा बहाना खियाउँदा अर्कै ऊर्जा लाग्छ । डुंगा चलिरहन्छ, तर सट भने एकै ठाउँको मात्रै छ । नारायणीकी बहिनी मरेकी छन्, नदी किनारमा लास भेटिन्छ, तर त्यहाँ प्रहरी छैन । चलचित्रको कथा यति अविश्वसनीय ढंगले अगाडि बढाइएको छ ।

    अन्तिममा जे जति कमजोरी भए पनि एकसाथ यति धेरै दक्षिण भारतीय कलाकारहरुलाई नेपाली चलचित्रमा अभिनय गराएर ‘ह्रस्व-दीर्घ’ले एउटा कीर्तिमान राखिसकेको छ । नीता ढुंगाना र हरिहर अधिकारीले साहस गरेकै हुन् । नत्र यति सानो बजारमा ६ करोड खन्याएर चलचित्र बनाउने आँट कमैले गर्न सक्छन् ।

  • ‘गजनी’का अभिनेता प्रदीप रावत ‘हृश्व दीर्घ’को प्रचार गर्न हल भिजिटमा

    ‘गजनी’का अभिनेता प्रदीप रावत ‘हृश्व दीर्घ’को प्रचार गर्न हल भिजिटमा

    काठमाडौं । गत शुत्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हृश्व दीर्घ’का भारतीय अभिनेता प्रदीप रावत हल भिजिटमा निस्किएका छन् । उनले आज बिग मुभिजमा दर्शकसँग साक्षत्कार गरेका छन् । आमिर खान स्टारर ‘गजनी’का भिलेन रावतले ‘हृश्व दीर्घ’मा देवधामको महामहन्तको भूमिका निर्वाह गरेका छन् ।

    श्रीमती कल्याणीसहित नेपाल आएका रावतले अन्य हलहरुमा गएर पनि दर्शकहरुसँग साक्षत्कार गर्ने निर्माण पक्षले बताएको छ ।

    नीता ढुंगाना र हरिहर अधिकारी स्टारर ‘हृश्व दीर्घ’मा रावतको अलवा ब्रह्मानन्दन, सुनिल वर्मा, मोहम्मद अलि लगायत दक्षिण भारतीय कलाकारको समेत अभिनय रहेको छ । ‘हृश्व दीर्घ’ले पहिलो दुई दिनमा सुखद ओपनिङ गर्दै दुई करोडको ग्रस कलेक्सन गरेको छ ।

    हेर्नुहोस्, तस्बिरहरुः

  • जन्मदिन पारेर रायन बस्यालले सार्वजनिक गरे शान्तिश्री परियारको स्वरमा रहेको कलियुगको राधाकृष्ण (भिडियो)

    जन्मदिन पारेर रायन बस्यालले सार्वजनिक गरे शान्तिश्री परियारको स्वरमा रहेको कलियुगको राधाकृष्ण (भिडियो)

    काठमाडौं । जब समाजलाई जात धर्म नै मिचेर माया गरेको कुरा थाहा भयो, गाउँलेले मुखिया डाक्छन् र राति समाज बस्छ ।

    समाजको बैठकमा मुखिया बैठक सुरु गर्दै भन्छन्ः ओहो पण्डितलाई जात र धर्मको विषयमा पढाउनुपर्यो कि कसो हो ?

    पण्डित जवाफ दिदैँ भन्छन्, ओहो के गल्ति गरेछु मैले त्यस्तो ? समाजमा बसेकी एक महिला प्रश्न गर्दै भन्छिन्ः धर्म नै मासेर माया गर्न त पाइएनन नी ?
    समाजमा बसेका सबै गाउँले हो, हो हमी मान्दैनौ भनेर मुखिया र ति महिलाको भनाईमा सहमति जनाउँछन् ।

    त्यसपछि पण्डित भन्छन्ः मान्दैनौ रे किन ? कुन धर्ममा लेखेको छ र धर्म छोडेर माया गर्नु हुदैँनन भनेर ? बाइबलमा, गितामा, कुराणमा कहाँ लेखेको छ र ? भगवान एउटै हुनुहुन्छ र भगवानले मान्छे बनाउनुभएको छ । हामी मान्छेले मान्छेलाई नै कसैलाई सानो र कसैलाई ठुलो अनि कसैलाई तल र कसैलाई माथी बनाउने अधिकार छैन हामीसँग । आफ्नो धर्मको पुजा गर्नुहोस्, अरुको धर्मको सम्मान गर्नुहोस् । हामीले माया गरेका छौ भने यो समाजमा बिहे गरेर बाच्न पाउनुपर्छ ।

    त्यसपछि मुखिया थप्दै भन्छन्ः जे होस्, यो गाउँमा मानिआएको परम्परा हो । यदि तिमीहरु विवाह नै गर्ने हो भने यो गाउँ छोडेर जानुपर्छ । मेरो निर्णय यहि हो । ल जाउँ गाउले हो । गाउँले सबै हो हो, यो गाउँ छोडेर जानैपर्छ भन्दै मुखियाको भनाईमा सहमति जनाउँछन् । त्यसपछि मुखियासहित सबै गाउँले उठेर जान्छन् । समाजका सबैले बिरोध गरेपछि चाहेर पनि कृष्णले केहि गर्न सक्दैनन् ।

    यो कुनै रामायणको कथा नभएर भर्खरै गायक एवम मोडल रायन बस्यालले जन्मदिनको अवसरमा सार्वजनिक गरेको म्यूजिक भिडियो भित्रको अन्तिमतिरको कथा हो । गीतलाई जातीय छुवाछुत मुक्त राष्ट्र नेपालमा अझै पनि जातीय विभेद कायमै रहेको विषयलाई समेटेको छ ।

    संविधानमा धर्म निरपेक्षता र जातीय विभेद गर्न नपाउने लेखिए पनि गाउँ गाउँमा अझै पनि जात र धर्मका कारण विभेद भइरहेको गीतमार्फत दर्शाउन खोजिएको छ । अझै पनि जातीय विभेद कायम रहेको मुलुकमा भित्र राधाकृष्ण जस्ता प्रेम समेत जन्मिरहेका गीतमा देखाइएको छ ।

    गायक एवम मोडल बस्यालले जन्मदिनको अवसर पारेर सार्वजनिक गरेको गीतमा गायक बस्याल र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको उक्त गीत कलियुगको राधाकृष्ण सोमबार सार्वजनिक भएको हो । उक्त गीतको समुह गायनमा आयुस केसी, आशा केसी मिलन विश्वकर्मा र रञ्जिता विश्वकर्माले साथ दिएका छन् । सुर्यकुमार परियारको शब्द रहेको उक्त गीतमा लय गायक बस्यालकै रहेको छ भने संगित संयोजक विस्वास नेपालको रहेको छ ।

    सञ्जय विश्वकर्मा नृत्य निर्देशक रहेको म्यूजिक भिडियोमा गायक बस्यालसँगै चर्चित मोडल सञ्चिता बोलाखे र निमिखा थापाको नृत्य तथा अभियन रहेको छ भने कथा तथा निर्देशन गायक बस्यालको नै रहेको छ ।

  • ५० करोडको ‘माइलस्टोन’तर्फ लम्किँदै ‘पूर्णबहादुरको सारंगी’, निर्माताको झाेलीमा कति ?

    ५० करोडको ‘माइलस्टोन’तर्फ लम्किँदै ‘पूर्णबहादुरको सारंगी’, निर्माताको झाेलीमा कति ?

    काठमाडौं । गत कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्स अफिसमा आफ्नो रफ्तारलाई कायमै राखेको छ । ३४ करोड ३६ लाखको ऐतिहासिक ग्रस कलेक्सन गरिसकेको यो चलचित्र तत्काल रोकिने छाँट छैन । निर्माता विनोद पौडेलका अनुसार हिजो र आजको कलेक्सन जोड्ने हो भने ३७ करोड पुगिसकेको छ ।

    अब भने चलचित्रको बक्स अफिस कलेक्सन सार्वजनिक नगर्ने पौडेलले बताए । उनले भने, ‘अब एकैपटक ५० करोड ग्रस गरेपछि हाल्ने हो ।’

    चलचित्रको व्यापारको रफ्तारलाई हेर्ने हो भने ५० करोडको ऐतिहासिक आँकडा छुनसक्ने देखिन्छ । १० करोडभन्दा माथिको ग्रस कलेक्सनलाई उत्साहजनक मान्ने गरिएको नेपाली चलचित्रहरुबीच ‘पूर्णबहादुरको सारंगी’ ले अभूतपुर्व यात्रा तय गर्दै नयाँ मानक स्थापित गरिरहेको छ ।

    अहिले निर्माण टीम उपत्यका बाहिरका हलहरुमा पुगिरहेका छन् । दमक, झुम्का, लालबन्दी, चितवन, हेटौंडा पुगिसकेको टोली दुई–तीन दिनपछि मात्रै काठमाडौं फर्कने योजनामा छ । हल भिजिटको अनुभव सुनाउँदै पौडेलले भने, ‘१८ औं, १९ औं दिनमा पनि जुन प्रकारले शो पाइरहेको छ, दर्शकहरुले हेरिरहनुभएको छ, त्यस हिसाबले ५० करोड क्लबमा छिर्न असम्भव चाहिँ छैन ।’

    यति मात्रै होइन, ‘पूर्णबहादुरको सारंगी’ले विदेशमा पनि दर्शकलाई आकर्षित गरिरहेको छ । पौडेलका अनुसार ५ दिन अगाडिको रिपोर्ट अनुसार विदेशमा २० करोडमाथि ग्रस गरिसकेको थियो । अहिले पनि विदेशमा चलचित्रको रफ्तार कम नभएको पौडेलले बताए । जापान र क्यानडाबाहेक सबै देशहरुमा आफ्नै कम्पनी सेभेज सीज इन्टरटेनमेन्टले वितरण गरिरहेको उनले जानकारी दियो ।

    ‘पूर्णबहादुरको सारंगी’ले यो रफ्तारमा बक्स अफिस कलेक्सन गर्छ भनेर आफूहरुले नसोचेको पौडेलले बताए । एक करोड ३० लाख बजेटमा बनेको यस चलचित्रको प्रमोसनमा १०/१५ लाख बजेट थपिएको पौडेलको दाबी छ ।

    उनले भने, ‘सुरुमा जुन प्रकारले शो पाएन, त्यसबेला त मार्केटिङकै मात्रै पैसा उठाइदिए हुन्थ्यो भन्ने लागेको थियो । दुई तीन दिनपछि ७ करोड चाहिँ हान्छ भन्ने लागेको थियो । तर, दर्शकले यति धेरै माया गरिदिनुभयोे, जुन हाम्रो कल्पनामा नै थिएन ।’

    पौडेल थप्छन्, ‘नेपालमा पनि चलचित्रको यति ठूलो मार्केट रहेछ भनेर छाती फुलाउन सकिने रहेछ । बुझेर लगानी गर्ने हो भने चलचित्रमा पैसा डुब्दैन ।’

    चोरीको आरोप लगाएर अनेक लफडामा पार्न खोजिए पनि चलचित्र राम्रो बनेका कारण व्यापारमा असर नगरेको पोडेलले बताए ।
    गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘हृश्व दीर्घ’ ले पनि ‘पूर्णबहादुरको सारंगी’ लाई ठूलो असर गरेको देखिँदैन । आउँदो हप्ता पनि त्यस्तो प्रतिक्षित चलचित्रहरु नभएका कारण यो चलचित्रको व्यापारिक आँकडा निरन्तर माथि जाने अवस्था छ ।

    धेरैलाई चासो हुन सक्छ, पूर्णबहादुरको सारंगीले यसरी उधुम मच्चाइरहँदा निर्माताको खल्तिमा कति रकम पर्यो होला त ?
    देशभित्रका हलहरुबाट भएको कलेक्सनको कुरा गरौं । अहिलेसम्मको ग्रस कलेक्सन ३७ करोड हो, जुन हल सञ्चालक र निर्माताले ५०/५० प्रतिशत बाँड्छन् ।

    यसो हुँदा निर्माताको भागमा साढे १८ करोड पर्छ । त्यसबाट १३ प्रतिशत भ्याट, ५ प्रतिशत स्थानीय कर (काठमाडौं उपत्यकामा मनोरन्जन कर), ५ देखि १० प्रतिशत वितरकलाई कमिसन काटिन्छ । यसरी हेर्दा ३७ करोड ग्रस कलेक्सनबाट पूर्णबहादुरको निर्माताको हातमा १४/१५ करोड नेट रकम हात परिसकेको छ ।

    विदेशको बक्स अफिससमेत २० करोडबाट उकालो लागिसकेको छ । यो पनि ऐतिहासिक हो । अहिलेसम्म कुनै पनि चलचित्रले विदेशबाट यति कलेक्सन गरेका थिएनन् । चलचित्रको डिजिटल राइटस् बिक्री गर्न बाँकी छ ।

    स्वदेश र विदेशको लाइफटाइम बक्स अफिस कलेक्सन र डिजिटल राइटस् जोड्दा निर्माताको झोलीमा भित्रिने रकमको एकिन हिसाब अहिल्यै निकाल्न सकिन्न । चलचित्र करिब पौडेलले भन्छन्, ‘विदेशमा र नेपालमा झण्डै उस्तै मार्केट रहेछ भन्ने कुरा हाम्रो चलचित्रले प्रमाणित गर्यो ।’

  • ‘ह्रस्व दीर्घ’ को सुखद ओपनिङका बीच हरिहर भन्छन्- हामीलाई असफल पार्न गिरोह नै लागेको छ

    ‘ह्रस्व दीर्घ’ को सुखद ओपनिङका बीच हरिहर भन्छन्- हामीलाई असफल पार्न गिरोह नै लागेको छ

    काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हृश्व दीर्घ’ ले सुखद ओपनिङ गरेको शुक्रबार र शनिबार उल्लेख्य संख्यामा दर्शक हलमा ओइरिए, तथापि फिल्मलाई पर्याप्त शो प्राप्त भएको छैन ।

    ‘पूर्णबहादुरको सारंगी’ ले हलहरुमा रजगज गरिरहेको चुनौतिपूर्ण समयमा ह्रस्व दीर्घ रिलिज भएको थियो । ६ करोडमा निर्माण भएको यो चलचित्रले लगानी उठाउन बक्स अफिसमा लामो यात्रा गर्नुपर्ने छ । पहिलो दुई दिनले राम्रो लक्षण देखाए तापनि यो साताभरिको व्यापारले चलचित्रको भविष्य निर्धारण गर्छ ।

    ह्रस्वदिर्घका निर्माता तथा अभिनेता हरिहर अधिकारीले चलचित्रले दर्शकहरुको बलियो साथ पाएको बताए । तर, केही व्यक्तिहरु आफ्नो चलचित्रलाई असफल बनाउन लागेको उनको गुनासो छ ।

    उनले नेपालप्रेसलाई भने, ‘दर्शकको यति राम्रो साथ दिइरहेका बेला असफल बनाउन गिरोह नै सक्रिय बनेको छ । मुख छाड्ने, जे मन लाग्यो त्यही भन्दिने गरिरहेका छन् । हामी अति नै गाह्रो अवस्थामा छौं । किन यस्तो भयो, कसरी यस्तो भयो अचम्म लागेको छ ।’

    यद्यपि, आफूले कसैलाई दोषारोपण नगर्ने अधिकारीले बताए ।

    उनले थप भने, ‘यसले गर्यो होला भन्ने शंका चाहीँ लागेको छ । तर, बोल्न सक्ने अवस्था छैन । प्रमाणाबिनै अरोप लगाउनु पनि भएन ।’

    दर्शकको चाप बढेपछि हलहरुले हिजो शनिबार केही शो थपिदिएको भए हुन्थ्यो भन्ने अधिकारीले महसुस गरेका छन् ।

    ‘दर्शकहरु टिकट नपाएर घर फर्किरहेको वेला, हिन्दी फिल्ममा दर्शक नआइरहेको बेला ‘ह्रश्व दीर्घ’ लाई एक–दुई शो मात्रै बढाइदिएको भए हुन्थ्यो भन्ने लागेको हो,’ उनले भने ।

    आजबाट भने १२÷१५ शो बढाइदिएको अधिकारीले बताए ।

    यसैबीच, ह्रस्व दिर्घको प्रचारका लागि गजनी फेम्ड प्रदीप रावत श्रीमतीसहित नेपाल आउँदै छन् । उनले भोलिबाट हल–हलमा गएर दर्शक भेट्ने योजना छ । समय मिलेमा उपत्यका बाहिरका हलहरुमा पनि रावत पुग्नेछन् ।

    रावतले एक भिडियो सन्देश पनि जारी गरेका छन् । उक्त भिडियो सन्देशमा उनले भनेका छन्, ‘भगवान पशुपतिनाथको कृपाले हाम्रो चलचित्रले सफलताको सिँढी चढिरहेको छ । तपाईहरुले माया र आशीर्वाद दिइरहनुभएको छ । यसले हाम्रो उत्साह दुई गुणा बढाएको छ ।’

     

  • पहिलोपटक एक्सन अवतारमा देखिँदै विपिन कार्की, ‘कर्मा’मा उपासना र मुकुन पनि अनुबन्धित

    पहिलोपटक एक्सन अवतारमा देखिँदै विपिन कार्की, ‘कर्मा’मा उपासना र मुकुन पनि अनुबन्धित

    काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’को मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्की अनुबन्धित भएका थिए।

    चलचित्रमा उपासना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन। विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।

    निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।

    विपिनले ‘कर्मा’का लागि ८ केजी तौल समेत बढाएका छन् । मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते रिलिज गर्ने टार्गेट राखेर काम अगाडि बढाइएको निर्देशक चौधरीले बताएका छन । यो चलचित्रको छायांकन दाङ र रुकुममा गरिनेछ ।

    आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी रहनेछ । चलचित्रमा विपिन, उपासना र मुकुनका अलवा अन्य कलाकारहरू छनोटको चरणमा छ ।

  • यी सिनेमा हलबाट आजदेखि चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ उतारिने

    यी सिनेमा हलबाट आजदेखि चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ उतारिने

    काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ देशभरकाे केही सिनेमा घरबाट उतारिने भएको छ ।

    कात्तिक १५ गते रिलिज भएको चलचित्र अहिले पनि देशभरका हलमा उच्च शो र हाउसफूल अकुपेन्सीसहित चलिरहेपनि केही हलहरुबाट भने उतारिने भएको हो ।

    सेभेन सिस सिनेमा परिवारले एक विज्ञप्ति जारी गर्दै आजबाट २० हलबाट चलचित्र उतारिने जानकारी दिएको छ ।

    केही सिनेमा घरहरूले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ हाउसफूल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माणपक्षलाई ग्रसकलेक्सन रकमको रिपोर्ट उपलब्ध गराएपनि निर्माण पक्ष उक्त रिपोर्टप्रति असहमत हुँदै उक्त हलबाट मंसिर १ गते (शनिबार)बाट नै सिनेमा उतार्ने निर्णय गरेको निर्माण पक्षले जनाएको छ।

    निर्माणपक्षले विभिन्न २० हलबाट सिनेमा उतार्ने निर्णयले दर्शकमा पर्न गएक असुविधाप्रति क्षमा मागेको छ ।साथै सिनेमा हेर्न इच्छुक दर्शकले नजिकैको अर्को हलमा गएर हेरिदिन पनि आग्रह गरेको छ ।

    सिनेमा उतारिने हलहरू निम्नानुसार छन्-
    १.अरुण हल, बिराटनगर
    २. निलम सिनेमाज, जनकपुर
    ३. विना हल, लालबन्दी
    ४. गोरखा हल, गोरखा
    ५.बर्दिवास हल, बर्दिवास
    ६.विराटचोक हल, मोरङ
    ७. सी। वी हल, इनरुवा
    ८. दीपक हल, बरहथवा
    ९. द्वारिका हल

    १०. हिमालय हल, विराटनगर

    ११. चरिकोट हल। दोलखा

    १२. एभरेष्ट हल। राजगढ

    १३. धनकुटा हल। धनकुटा

    १४. फिदिम हल। पाँचथर
    १५. त्रिशूली। नुवाकोट
    १६. इलाम हल। इलाम
    १७. लभ कुश हल महेन्द्रनगर
    १८.त्रिमुर्ती हल
    १९.गिरिराज हल। जनकपुर
    २०.पाथीभारा, दमक

  • माइपोखरीमा यस्तो अवस्थामा भेटिइन् इस्टु कार्की

    माइपोखरीमा यस्तो अवस्थामा भेटिइन् इस्टु कार्की

    काठमाडौं । कमेडी सिरियल ‘हल्का रमाइलो’ मा सोझी युवतीको भूमिका निभाउने इस्टु कार्की वास्तविक जीवनमा भने हट अवतारमा ढल्दै गएकी छन् । एक से एक ‘बोल्ड’ अभिनेत्रीहरुलाई पनि माथ खुवाउने उनको एउटा रुप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

    इस्टु हालै इलामको माइपोखरी भ्रमणमा गएकी थिइन् । त्यहाँ जाँदा उनले भ्लग बनाउन बिर्सिनन् । सो भ्लग उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी छन् । त्यसैभित्र उनको एउटा ‘उत्तेजक’ अवतार भेटिएको हो ।

    एउटा गेटअपमा उनी करिब–करिब अर्धनग्न देखिन्छिन् । वक्षस्थलको अधिकांश हिस्सा उनले एक्सपोज गरेकी छन् । त्यसमा नानाथरि कमेन्टहरु आइरहेका छन् । धेरैले गालीगलौज पनि गरेका छन् ।

    इस्टु यसरी बोल्ड पहिरनमा देखिएको यो पहिलोपटक भने होइन । उनले यसअघि पोस्ट गरेका फोटो भिडिओहरुमा पनि उनको सेक्सी अन्दाजमा प्रस्तुत भएकी छन् ।

    हल्का रमाइलोमा ‘बल्छी धुर्वे’ की प्रेमिका नेप्टीको भूमिकाले इस्टुलाई दर्शकमाझ चिनाएको हो । अहिले उनी आफ्नो युट्यूव च्यानलमा कमेडी भिडियोहरु बनाउने गर्छिन् । उनको युट्यूबमा ६ लाख ७७ हजार सब्सक्राइबर्स छन् । उनी विज्ञापनजन्य भिडिओहरु पनि बनाउँछिन् ।

  • दीपकराजको घोषणा- आइन्दा मलाई ‘महानायक’ सम्बोधन गर्नेलाई फेसबुकमा ब्लक गर्छु

    दीपकराजको घोषणा- आइन्दा मलाई ‘महानायक’ सम्बोधन गर्नेलाई फेसबुकमा ब्लक गर्छु

    काठमाडौं । चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी आफूलाई ‘महानायक’ भन्दै व्यंग्य गर्नेहरुविरुद्ध कठोर निर्णय लिएका छन् । उनले अब आइन्दा महानायक भन्नेहरूलाई सामाजिक सञ्जालबाट ब्लक गरिदिने घोषणा गरेका छन् ।

    आज बिहान दीपकराजले फेसबुकमा एउटा सामान्य स्टाटस लेखेका थिए । उनको स्टाटस थियो, ‘फेसबुकको पर्खाल आफ्नो विचार पोख्ने थलो हो , यहॉ आफूलाई के मन पर्छ त्यो लेख्ने हो दुनियॉलाई के मन पर्छ त्यो लेख्ने होइन शुभदिन ।।’

    यो स्टाटसमा केही व्यक्तिले ‘महानायक’ भन्दै घोचपेच गरेपछि दीपकराजको धैर्यता भंग भएको हो ।

    उनले आफ्नो स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्, ‘अर्को सानो जानकारी गराउँदैछु । आजबाट जस जस्ले मलाइ महानायक सम्बोधन गर्नु हुन्छ उहॉलाइ मेरो फेसबुकमा ब्लक गर्दैछु , यो पद न मैले कहिले दाबी गरेको थिएँ न गर्नेछु तर मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फ़ेसबुकमा जोडिन सक्दैन फरक विचार स्वागत, असभ्यता अस्वीकार शुभदिन !’

    दीपकराजकी सहकलाकार दीपाश्री निरौलाले एक अन्तर्वार्तामा राजेश हमालको महानायकत्वमाथि प्रश्न उठाएपछि विवाद उब्जिएको थियो । उक्त विवादले उग्ररूप लिँदै गएपछि दीपकराजले दीपाश्रीको बचाउमा मुख खोलेका थिए । त्यसपछि हमालका समर्थकले दीपकराजलाई होच्याएर ‘महानायक’ भन्ने गरेका हुन् ।

  • ‘पूर्णबहादुर’ को कब्जाबाट कति शो फुत्कायो ‘ह्रस्व दीर्घ’ ले ?

    ‘पूर्णबहादुर’ को कब्जाबाट कति शो फुत्कायो ‘ह्रस्व दीर्घ’ ले ?

    काठमाडौं । आउँदो कात्तिक ३० गते शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ को यतिबेला अनलाइन बुकिङ खुलिसकेको छ । देशभरका फिल्म हलहरुले यो चलचित्रको अग्रिम टिकट बिक्री थालेका छन् ।

    चलचित्र ‘पूर्णबहादुरको सारगीं’ ले बक्स अफिसमा सुनामी ल्याइरहेको बेलामा ‘ह्रस्व दीर्घ’ले देशभरबाट कति शो प्राप्त गर्‍याे त ? बिहीबारको तथ्यांकअनुसार निर्देशक चन्द्र पन्त निर्देशित चलचित्र ‘ह्रस्व दीर्घ’ले देशभरबाट १२८ शो पाएको छ ।

    चलचित्रको हाइप र बजेट अनुसार प्राप्त शो संख्या पर्याप्त होइन । तर, पूर्णबहादुरको सारंगीमा दर्शकको उछाल रहेका बेला हलहरुले ह्रस्व दिर्घलाई धेरै शो छुट्याउन सक्ने अवस्था पनि थिएन ।

    चलचित्रलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरबाट ४६ शो दिएको छ । यस्तै, वान सिनेमाजले ९ शो, एफ. क्युबले ५ शो, बिग मुभिजले ६ शो र इनि सिनेमाजले ८ शो दिएका छन् । हालसम्म चलचित्रको बुकिङ मध्यम छ ।

    यदि पहिलो दिनमा दर्शकको चाप देखिए पक्कै पनि हलहरुले शो थप्न सक्छन् । तर, ओपनिङ गतिलो भएन भने अहिले पाएको शो पनि गुमाउनुपर्ने अवस्था छ । चलचित्रको ट्रेलर र गीतहरुले राम्रो चर्चा पाइरहेकाले निर्माण पक्षले राम्रो ओपनिङको आशा राखेको छ । दक्षिण भारतका चर्चित कलाकारहरु भएकाले पनि यो चलचित्रप्रति दर्शकको चासो देखिन्छ ।

    ‘ह्रस्व दीर्घ’ मा नेपाली कलाकाहररु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ ।

    दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, प्रदीप रावत र सुनिल बर्मा पनि पर्दामा देखिने छन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद छ ।

    चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् भने चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका छन् । नीताकै लगानी रहेको यो चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । चलचित्रलाई मनोज राठी र उज्ज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

  • यसरी बन्यो ‘रैँया चाँदीको…’

    यसरी बन्यो ‘रैँया चाँदीको…’

    गण्डकी । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको।।।’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै रुचाएका छन् । यही कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक सुनिएको/हेरिएको छ । गायक आशिष अविरल र गायिका मेलिना राईद्वारा स्वरबद्ध उक्त गीतमा सङ्गीत पनि गायक अविरलकै रहेको छभने शब्द नवराज पन्तले लेखेका छन् ।

    ठेट शब्द, मौलिक भाका र गायकीका कारण उक्त गीत श्रोता/दर्शकको रोजाइमा पर्न सफल भएको हो । दर्शकको अपार साथसहित दोस्रो सातामा चलिरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’सँगै यस गीतले पनि चर्चा बटुलिरहेको छ ।

    गायक तथा सङ्गीतकार आशिष अविरलका अनुसार ‘रैँया चाँदीको।।।’ थेगो र भाका एक वर्षअघि नै तयार भइसकेको थियो । गीतकार नवराज पन्तले थेगो दिएपछि आफूले धुन भरेको अविरलले सुनाए ।

    “गीत ल्याउने भन्दाभन्दै झन्डै एक वर्ष बितिसकेको थियो, शब्दले पनि पूर्णता पाइसकेको थिएन”, उनले भने, “अहिले सोही गीत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश भयो, श्रोता÷दर्शकले पनि अत्यधिक रुचाइदिनुभएको छ ।” चलचित्र निर्माताले ३० को दशकमा प्रचलित भाखा र शैलीको गीत मागेपछि शब्द तथा सङ्गीतमा सामान्य परिमार्जनसहित उक्त गीत उपलब्ध गराइएको अविरलले बताए ।

    चलचित्रको विषय र कथानकसँग मिल्दोजुल्दो भावमा बनेकाले निर्माताले पनि एकैपटकमा उक्त गीतलाई स्वीकारेको उनको भनाइ छ । बागलुङे हुनुको नाताले गीतमा प्रयुक्त ‘रैँया चाँदीको, म त बागलुङे, मैँया मादीको…’ बोलको गीत गाउन पाउनु आफ्ना लागि विशेष रहेको अविरलले बताए । “यो गीत मेरो जिल्लावासीका लागि एउटा उपहारजस्तो पनि हुनपुग्यो, इतिहास बनाउन सफल चलचत्रिका लागि गीत गाउन र सङ्गीत दिन पाउनु मेरा लागि सौभाग्यको विषय हो”, उनले भने ।

    गीतकार पन्तका लागि पनि यो गीत उनको गीत लेखनको यात्रामा नयाँ मोड बन्न आइपुगेको छ । ‘सालको पातको टपरी।।।’ जस्तो सर्वाधिक सफल लोकदोहोरी गीत रचना गर्नुभएका पन्तको पहिलोपटक चलचित्रका लागि गीत लेख्नुभएको हो । ‘सेतो धर्ती’ उपन्यास पढ्दै गर्दा ‘रैँया चाँदीको।।।’ थेगो फुरेको गीतकार पन्तले बताए ।  “उपन्यासकी पात्र ताराले मादी खोलो तरेको प्रसङ्ग आउँदा एक्कासी मलाई यो गीतको शब्द फु¥यो, भोलिपल्ट घरमा गुन्गुनाउँदै थेगो तयार पारेँ”, उनले भने, “आशिष दाइले भाखा तयार गरिसकेपछि गीत सार्वजनिक गर्ने हाम्रो योजना थियो तर काम अगाडि बढ्न सकेको थिएन, अहिले अचानक चलचित्रका लागि गीत माग भएपछि गीतले पूर्णता पायो ।”

    गीतकार पन्तले थेगो परिवर्तन नगर्ने सर्तमा मात्र आफूले उक्त गीत चलचित्रका लागि उपलब्ध गराउन तयार भएको बताए । “चलचित्र निर्माताले पनि सहजै रुपमा हाम्रो आग्रहलाई स्वीकार गर्नुभयो, चलचत्रिको सार सुन्दै ३० को दशकको परिवेश झल्कने गरी रोधी बसेको शैलीमा शब्द लेखेँ, थेगो भने पुरानै कायम भयो”, उनले भने । ‘सुपरहिट’ चलचित्रमा गीतकारका रुपमा प्रस्तुत हुँदा आफूलाई भाग्यशाली सम्झेको उनले सुनाए ।

    हाल अमेरिकामा रहेका गीतकार पन्त डेढ दशकदेखि गीत लेखनमा सक्रिय हुनुहुन्छ । बागलुङका पन्तले लेखेका ‘सालको पातको टपरी।।।’, ‘डाँडै फर्के सल्लो।।।’, ‘मायालुको सहरमा।।।’लगायत गीत चर्चित छन् । लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमासमेत पन्तले शब्द लेख्नुभएको छ ।  नेपाली लोकजीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई सजीव ढङ्गले शब्दमा उतार्न उनी सिपालु छन् ।

  • हामी फरक स्वाद लिएर आएका छौं, ‘पूर्णबहादुरको सारंगी’ ले असर गर्दैनः हरिहर अधिकारी

    हामी फरक स्वाद लिएर आएका छौं, ‘पूर्णबहादुरको सारंगी’ ले असर गर्दैनः हरिहर अधिकारी

    काठमाडौं । आउँदो शुक्रबारबाट नीता ढुंगाना र हरिहर अधिकारी स्टारर चलचित्र ‘हृश्व दीर्घ’ प्रदर्शन हुँदैछ । चलचित्रमा ढुंगाना र अधिकारीको अलवा साउथ कलाकारहरू ब्रह्मानन्दन, प्रदीप रावत, सुनील बर्मा, मोहम्द अली छन् । नेपाली कलाकार विपना थापा, रेखा थापा पनि चलचित्रमा छन् ।

    चलचित्रको ट्रेलर, टिजरले दर्शकको राम्रो प्रतिक्रिया पनि पाइरहेको छ । केही हलहरूले बुकिङ पनि खुल्लाइसकेका छन् । फाट्टफुट्ट बुकिङहरू भइरहेको देखिन्छ पनि । तर, ६ करोड लगानीमा बनेको फिल्मलाई यति मात्रै बुकिङ काफी देखिँदैन । यदि बक्स अफिसबाटै लगानी उठाउने हो भने फिल्मले १५ करोडमाथिको ग्रस कलेक्सन गर्नुपर्छ ।

    ‘हृश्व दीर्घ’लाई अहिले मुख्य चुनौती भनेको हलहरूमा दर्शकको सुनामी ल्याइरहेको ‘पूर्णबहादुरको सारंगी’ हो । कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले रोकिने छाँट देखाएको छैन । बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । नेपाली चलचित्रको इतिहासकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने छाँट देखाइरहेको छ । यही चलचित्रले भारतीय चलचित्रहरूलाई पनि पाखा लगाइदियो ।

    ‘पूर्णबहादुरको सारंगी’कै कारण ‘हश्व दीर्घ’ सँगै प्रर्दर्शनमा आउन लागेको चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ पछि धकेलियो । यिनै विषयलाई लिएर हरिहर अधिकारीसँग गरिएको संक्षिप्त कुराकानी-

    -अहिले ‘पूर्णबहादुरको सारंगी’ले रोकिने छाँट देखाइरहेको छैन । यो तपाईंहरूका लागि चुनौती हो कि होइन ?

    यसरी बक्स अफिस चलायमान हुनु राम्रो हो नि ! नेपाली चलचित्रलाई दर्शकहरूले हेरिदिनु, माया गरिदिनु राम्रो हो । त्यसैले ‘पूर्णबहादुरको सारंगी’लाई लिएर हामीले चुनौती महसुस गरेका छैनौं । धेरै दर्शकहरूले यो फिल्म हेरिसक्नुभयो । उहाँहरूले हाम्रो चलचित्रको ट्रेलरलाई हलमा बजाउँदा राम्रो रेसपोन्स गरिरहनुभएको छ । राम्रो प्रतिक्रिया दिनुभएको छ । त्यसैले यो चलचित्र हाम्रा लागि चुनौती होइन ।

    -‘पूर्णबहादुरको सारंगी’को क्रेज घटिरहेकै छैन । यसले तपाईँहरूको चलचित्रको व्यापारलाई असर त गर्ला नि !

    हामीले ‘पूर्णबहादुरको सारंगी’ ले असर गर्ला भनेर सोचेकै छैनौं । हामीले थोरै शो पाएका छौं, त्यसको कारण बुझ्छौं । तर, त्यही शो दर्शकले हेरिदिनुभयो भने बिस्तारै शो बढ्छ भनेर अपेक्षित छौं । हल सञ्चालकहरूले दुवै फिल्मलाई राम्रोसँग म्यानेज गरिदिनुहुन्छ भन्ने लागेको छ ।

    हाम्रो चलचित्र दर्शकका लागि नयाँ स्वाद हो । यहाँ कमेडी छ, एक्सन छ, इमोसन छ । हामीले दर्शकलाई फरक स्वाद दिन चाहेका हौं । हाम्रा चलचित्र हेरिदिएपछि उहाँहरूले जे प्रतिक्रिया दिनुहुन्छ, त्यसलाई सहर्ष स्वीकार गर्छौं । उहाँहरूले मन पराउनुभयो भने चलचित्र अगाडि जाला, मन पराउनुभएन भने चलचित्र नचल्ला । आउँदो शुक्रबारबाट हाम्रो हातमा केही छैन, जे छ दर्शकको हातमा छ ।

    – महँगा विदेशी कलाकार राखेर चलचित्र बनाउँदा लगानी ठूलै भएको देखिन्छ । लगानी उठ्ला त ?

    हाम्रो लगानी पाँच, छ करोड आसपासमा छ । पहिला पनि नेपाली चलचित्र चार, साढे चार करोडमा बनेकै हुन् । हाम्रो डेढ दुई करोड अलि ज्यादा भएको हो । चलचित्रको लगानी उठाउने कुरा त डिजिटल प्ल्याटफर्म, ओटीटी, हिन्दी भाषाको रिलिजलगायत पनि भयो । यी कारणले हामी सुरक्षित हुन्छौं ।

    – नेपाली बक्स अफिसबाटै लगानी उठाउन सक्छ त ?

    यसमा हामी आत्मविस्वासी छौं । नीता र म निर्माणको क्षेत्रमा नयाँ हौं । तर, पहिलैदेखि चलचित्र खेलेकाले उसले उद्योग बुझेकी छ । मैलेभन्दा धेरै दर्शकको मनोविज्ञान बुझेकी छ । उसलाई आत्मविस्वास छ । एउटी नारीको आत्मविस्वासलाई सपोर्ट गरेर लगानी गरिएको चलचित्र हो । जी मुभीले पनि हाम्रो चलचित्र किन्ने भनिरहनुभएको छ । चलचित्रमा हामीले मिहेनत गरेका छौं । बाँकी दर्शकको हात भयो ।

    – तपाईं त ज्योतिष, ज्योतिष विज्ञानले चाहिँ के भन्छ ?

    अहिले यो शास्त्रलाई मान्छेहरूले अर्कै बनाइदिएको छ । शास्त्रले राम्रो दिनमा कामको सुरुवात गर्‍यौं भने त्यो काम सफल हुन्छ भन्छ । हामीले राम्रो दिनमा चलचित्रको सुरुवात गर्‍यौं । चलचित्र निर्माण गर्न दुई वर्ष लाग्यो । साउथ इण्डियन कलाकारलाई कन्भिन्स गर्न, नेपाल ल्याउन, भारतबाट क्यामेरा ल्याएर खिच्न धेरै नै गाह्रो थियो । तर, राम्रो दिनमा चलचित्रको सुरूवात भएको छ, राम्रै हुन्छ ।

    जितु नेपालले नभ्याउने भएपछि उसको ठाउँमा ब्रह्मानन्दनलाई ल्यायौं । धेरैले यो चलचित्र बन्दैन होला भनेका थिए । बीचमा रोकिन्छ होला भनेर शंका गरेका थिए । तर, हामी सफल भयौं । ज्योतिषशास्त्र यहीँ काम लाग्यो ।

    – यो चलचित्रको भविष्यबारे ज्योतिषशास्त्रले चाहिँ के भन्छ ?

    यो क्षेत्रमा म ११/१२ वर्षदेखि काम गरिरहेको छु । मैले के बुझेको छु भने राजनीतिको चाहिँ भविष्यवाणी गर्न सकिँदैन रहेछ । १० जना उम्मेदवार भिड्दा कि त १० जनाकै कुण्डली चाहियो । नत्र एकजनाको कुण्डली हेरेर भन्न सकिँदैन । एमबीबीएसमा नाम निस्कन्छ कि निस्कँदैन भनेर मकहाँ मान्छेहरू आउँछन् । तर, उसको कुण्डली राम्रो भए पनि ऊभन्दा राम्रो कुण्डली भएकाहरूले त्यस दिन जाँच दिइरहेका हुनसक्छन् ।

    त्यसैले यसमा लकले पनि काम गर्दोरहेछ । नीता कतिको लक्की रहिछे, म कतिको लक्की रहेछु, त्यो चलचित्र प्रदर्शन भएपछि नै थाहा होला । चलचित्रको पनि सबै टीमको कुण्डली मैले हेरेको छुइनँ । त्यसैले मनलाग्दी भविष्यवाणी गर्न मिल्दैन ।

    – ‘पूर्णबहादुरको सारंगी’को क्रेज नघटिरहेको अवस्थामा तपाईँको फिल्मको व्यापारलाई त असर गर्ला नि !

    दर्शकलाई मन परेमा चारवटै चलचित्र पनि चलिदिन्छ । दर्शकलाई मन परेन भने सोलो रिलिज हुँदा पनि चलचित्र चलिदिँदैन । दशैँमा ‘१२ गाउँ’ पनि चल्यो, ‘छक्का पन्जा ५’ पनि चल्यो । बजार त रहेछ नि ! त्यही बजारमा हामी जाँदैछौं । त्यसैले दर्शकलाई मन चाहिँ पर्नुपर्‍यो ।

    -‘हृश्व दीर्घ’चल्ने आत्मविस्वास चाहिँ कतिको छ ?

    हाम्रो चलचित्रको हिरो नै कथा हो । पुष्पाको भिलेनले हाम्रो फिल्म खेलिदिनुको कारण नै कथा मन पराएर हो । कथाले सबैलाई कन्भिन्स गरेको छ । अब दर्शकले पनि हेरिदिनुभयो भने यो चलचित्र चल्छ । पहिलो र दोस्रो दिन राम्रोसँग चल्यो भने चलचित्रले पिकअप लिन्छ ।

  • ‘ह्रस्व दीर्घ’को मर्मस्पर्शी गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक

    ‘ह्रस्व दीर्घ’को मर्मस्पर्शी गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक

    काठमाडौं । कार्तिक ३० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘ह्रस्व दीर्घ’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार रिलिज भएको ‘भगवान नै आमा हुन्’ बोलको गीत मर्मस्पर्शी सुनिन्छ । सार्वजनिक गीतमा आमाको महिमा वर्णन गरिएको छ ।

    सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्री उठेर नाचिस्यो गीत, टिजर र ट्रेलरले दर्शकमाझ उच्च हाइप बनाएको छ । मंगलबार सार्वजनिक मर्मस्पर्शी गीतले सिनेमाप्रति दर्शकको कौतुहल्ता अझै बढाउने देखिन्छ । सत्यराज आचार्यको गायन तथा बाबुल गिरीको शब्द रचना र संगीत छ ।

    सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री विपना थापालाई आमाको रुपमा चित्रित गरिएको छ । उनको अभिनय मनछुने लाग्छ । एक समयकी सफल अभिनेत्री विपनाले ‘ह्रस्व दीर्घ’बाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन् ।

    नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

    अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

    सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

    अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

  • ‘ज्वाइँ साब’ पछि ‘कार्साङ्’मा जितु नेपाल, क्यारेक्टर लुक्स सार्वजनिक

    ‘ज्वाइँ साब’ पछि ‘कार्साङ्’मा जितु नेपाल, क्यारेक्टर लुक्स सार्वजनिक

    काठमाडौं । ‘ज्वाइँ साब’ पछि कलाकार जितु नेपाल चलचित्र ‘कार्साङ्’ मा देखिने भएका छन्। ‘कार्साङ’ बाट उनको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले आज जितुको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।

    पोस्टरमा जितुले कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका छन् भने उनले घुँडामा झोला अड्याएका छन् र हातमा कचौरो बोकेका छन् । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् झैँ देखिन्छ ।

    पोस्टरमा ‘मकै त पिन्ने घट्टामा, पिरती बस्यो ठट्टामा’ लेखिएको छ । पोस्टरको यो स्टेटमेन्टले उनी कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । यसअघि दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरेको ‘कार्साङ’ले बिस्तारै प्रचार सुरु गरेको छ ।

    यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कार्साङ’ पुस २६ गते बाट प्रदर्शन हुँदैछ । शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको यो चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकान र निर्माण छ । चलचित्रको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

    यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार हुल्या इभेन्टसका सुमन पराजुली र सोमलाल थोकरले लिएका छन् भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

  • ‘सानो संसार’ का निर्माता अर्जुनकुमारको क्रन्दन : ‘स्क्याम’ गर्न नजानेर डुब्यौं

    ‘सानो संसार’ का निर्माता अर्जुनकुमारको क्रन्दन : ‘स्क्याम’ गर्न नजानेर डुब्यौं

    काठमाडौं । समीक्षकहरुबाट राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘सानो संसार’ अहिले देशभर दैनिक दुई शो चलिरहेको छ । एउटा शो सिटी स्क्वायर मलमा ५ः४५ को छ भने अर्को शो राइजिङ मलमा एक बजे छ ।

    यो चलचित्र दुईपटक रिलिज भयो । दसैं अगाडि सानो संसार रिलिज भएलगत्तै बाढीपहिरोको विपत्तिले गर्दा जनजीवन अस्तव्यस्त बन्यो निर्माताले चलचित्रलाई हलबाट उतार्ने निर्णय लिए । त्यसपछि कात्तिक ९ गतेबाट पुनः प्रदर्शनमा आए पनि चलचित्रले दर्शक तान्न सकेन ।

    चलचित्र हेरेका दर्शकले ‘सानो संसार’ लाई रुचाइरहेका छन् । तर, दर्शक हलसम्म नआइदिएपछि गर्ने के ? चलचित्रले पानी भन्न पाएन । हुँदाहुँदा अहिले २ शोमा खुम्चिएको छ । निर्माता अर्जुन कुमार फेसबुकमा दिनहुँ थप शोका लागि याचना गरिरहेका छन् । तर, ‘पूर्णबहादुरको सारंगीे’ मा सारा दर्शक झुम्मिएको बेला उनको याचना सुन्ने कसले ?

    चलचित्र चलाउनका लागि आफूहरुले फन्डा गर्न नजानेको निर्माता अर्जुन कुमारको विश्लेषण छ ।

    उनले दुखेसो पोखे, ‘हामीले स्क्याम गर्न जानेनौं । हल्ला गर्न जानेनौं । राम्रा कलाकार राखेर राम्रो फिल्म बनाउन सकिन्छ भनेर ठूला स्टारकास्ट खोजेनौं । तर, नेपाली दर्शकलाई त फन्डा गरिदिनुपर्ने रहेछ, स्क्याम गरिदिनुपर्ने रहेछ । दर्शकलाई झुक्याउन सकियो भने पनि फिल्म हलमा टिक्ने थियो होला । हामीलाई त चलचित्र क्षेत्रकै सपोर्ट छैन ।’

    ‘भाइरलहरुले के बोले, कसको घर झगडा भयो, कसले के भन्यो भन्नेतिर ध्यान हुने दर्शकलाई मेरो केही भन्नु छैन । नेपालीलाई त झुक्याउनैपर्ने रहेछ, स्क्याम गर्नैपर्ने रहेछ । हिजो प्रजातन्त्र, बहुदल भनेर झुक्याए । आज नयाँ पार्टी, वैकल्पिक भनेर झुक्याइरहेका छन् । हामीले यही झुक्याउने कला जानेनौं ।’

    सामाजिक सञ्जालमा त फिल्मको राम्रो प्रशंसा भइरहेको छ नि भन्ने प्रश्न उनले जवाफ दिए, ‘फेसबुकमा लेखेर मात्रै हुँदैन । दर्शकले टिकट काटिदिएर हेरिदियो भने पो हलहरुमा शो रहन्छ । अहिले जति पनि चलचित्र बनेका छन्, भिडाएर हेरौं न कसले राम्रो बनाएको रहेछ । म सबैलाई चुनौती दिन्छु ! तर, हल्ला गर्ने कला नभएपछि पछि परियो ।’

    अरु चलचित्रलाई आफूले सपोर्ट गरे पनि अरुबाट आफूले सपोर्ट नपाएको उनी बताउँछन् ।

    ‘अगाडि बाढीले दुःख दियो । अहिले हाम्रो पिकअप लिने बेला अर्को फिल्म आयो । हामीलाई जति शो छ, सबै हाउसफुल छ । अब कहाँ गएर कराउने ? कहाँ गएर रुने ?’

    ‘चपली हाइट’, ‘फाटेको जुत्ता’ जस्ता फिल्मका निर्माता समेत रहेका अर्जुन कुमार फिल्मको लगानी जसोतसो उठाउने बताउँछन् । डिजिटल राइटस्, विदेशको राइटस् लगायतबाट ७० लाखमा बनेको फिल्मको लगानी सुरक्षित हुने उनको भनाइ छ । हलहरुबाट भएको कलेक्सन सुनाउन उनले लाज माने ।