Category: कलाप्रेस

  • नेपाली चलचित्रहरु उतारेर हलहरुमा ‘पुष्पा २’ लाई एकलाैटी शाे

    नेपाली चलचित्रहरु उतारेर हलहरुमा ‘पुष्पा २’ लाई एकलाैटी शाे

    काठमाडौं । बिहीबार प्रदर्शनमा आउन लागेको दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ ले नेपालका हलहरु कब्जा गरेको छ । हल सञ्चालकहरुले दर्शकको रोजाइमा परिरहेका नेपाली चलचित्रहरु उतारेर ‘पुष्पा २’ लाई ऐतिहासिक संख्यामा शो दिएका छन् ।

    दशैंयता नेपाली चलचित्रहरुले हलहरुमा उच्च व्यापार गरिरहेका थिए । ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’, हुँदै ‘पूर्णबहादुरको सारंगी’ सम्म आइपुग्दा हलहरुले करोडौंको बिजनेस गरेका छन् । अहिले पनि हलमा ‘पूर्णबहादुरको सारंगी’सँगै ‘ह्रस्व-दीर्घ’ र ‘तेल भिसा’ चलिरहेका थिए, तर हलहरुले भोलिबाट यी तीनवटै नेपाली चलचित्रलाई नगण्य शोमा खुम्च्याइदिएका छन् । ह्रस्व-दीर्घ त लगभग खाली भएको छ ।

    देशभरका १६६ हलमा ‘पुष्पा २’ ले ५९१ शो पाएको छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यस चलचित्रलाई काठमाडौंभित्र मात्रै ८१ शो दिएको छ । बिहान ४ः३० देखि राति १२ बजेसम्मको शो दिइएको छ । ‘पुष्पा २’ ले नेपालमा ३ करोडको ओपनिङ गर्ने प्रक्षेपण गर्दै हल सञ्चालकहरुले नेपाली चलचित्रहरुलाई पाखा लगाइदिएका हुन् ।

    ‘पुष्पा २’ कै कारण ५० करोडको माइलस्टोनतर्फ अग्रसर भएको ‘पूर्णबहादुरको सारंगी’ को यात्रा अवरुद्ध बनेको छ ।
    क्यूएफएक्सले बिहीबारका लागि ‘पूर्णबहादुरको सारंगी’लाई जम्मा १० शो दिएको छ भने आईएनआईले जम्मा ३ शो दिएको छ ।

    उच्च प्रशंसा पाइरहेको चलचित्र ‘तेल भिसा’ लाई क्यूएफएक्सले बिहीबारका लागि जम्मा ४ शो दिएको छ । ‘ह्रश्व-दीर्घ’ लाई क्यूएफएक्सले भोलिका लागि कुनै शो उपलब्ध गराएको छैन ।

    भोलिबाट कुनै शो उपलब्ध नगराउनुको कारण के हो आफूहरुलाई थाहा नभएको बताउँछन् ‘ह्रश्व-दीर्घ’ का कलाकार हरिहर अधिकारी ।

    उनी भन्छन्, ‘खै, हाम्रो चलचित्र राम्रै चलिरहेको छ । हामी नयाँ मान्छे, के कसो हो केही थाहा छैन । प्राविधिक कुरा पनि थाहा छैन । कमन सेन्सले भन्दा राम्रै चलिरहेको हाम्रो चलचित्र हलबाटै चाहिँ पूर्ण रुपमा नउतारिदिनु पर्ने हो । चलचित्रले व्यापार नै नगरेको भए अर्कै कुरा ।’

    भित्री कुरा केही थाहा नभएकाले अनभिज्ञ भएर बसिरहेको अधिकारीले बताए । वितरक पनि नेपाल बाहिर भएकाले अहिले गर्न सकिने केही नभएको र भोलिबाट शो राखिदेलान् कि भन्ने आशमा रहेको उनको भनाइ छ । गत कात्तिक ३० गतेबाट प्रदर्शन आएको ‘ह्रश्व-दीर्घ’ले नौ करोडमाथि ग्रस गरिसकेको निर्माताको दाबी छ । यो चलचित्र ६ करोड लागतमा बनेको हो ।

    बिहीबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउन लागेको दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ले भने रेकर्ड नै रेकर्ड राखेको छ । स्याकनिल्क डटकमका अनुसार यस चलचित्रले एडभान्स बुकिङमा ‘बाहुबली २’ र ‘केजीएफ २’लाई पछाडि छाडेको छ । विश्वव्यापी रुपमा सय करोडको एड्भान्स बुकिङ हुने पहिलो भारतीय चलचित्रको समेत रेकर्ड बनाएको छ । ट्रेड एनालिस्ट रमेश बालाले ‘पुष्पा २’ले विश्वव्यापी रुपमा २५० देखि २७५ करोड भारुको ओपनिङ गर्ने बताएका छन् ।

  • ‘पूर्णबहादुरको सारंगी’बाट मात्रै हल सञ्चालकको पोल्टामा १९ करोड २७ लाख, ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’बाट कति कमाए ?

    ‘पूर्णबहादुरको सारंगी’बाट मात्रै हल सञ्चालकको पोल्टामा १९ करोड २७ लाख, ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’बाट कति कमाए ?

    काठमाडौं । गत कात्तिक १५ गतेबाट प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले ४७ करोडको व्यापार गरिसकेको छ । यो चलचित्र ५० करोडको माइलस्टोनतर्फ अग्रसर छ । यद्यपि बिहीबारबाट प्रदर्शनमा आउन लागेको ‘पुष्पा २’को आक्रामक ओपनिङले ‘पूर्णबहादुरको सारंगी’लाई असर गर्ने देखिन्छ ।

    ‘पूर्णबहादुरको सारंगी’ले ४७ करोड कमाउँदा हल सञ्चालकको हातमा मात्रै १९ करोड २७ लाख परेको छ । ४७ करोड ग्रस कलेक्सनमा १३ प्रतिशत भ्याट र ५ प्रतिशत स्थानीय वा मनोरञ्जन कर गरेर १८ प्रतिशत कर राज्यलाई बुझाउनुपर्छ ।

    ४७ करोडको १८ प्रतिशत भनेको ८ करोड ४६ लाख हो । यसपछि बचेको रकम निर्माता र हल सञ्चालाकले आधाआधा बाँड्छन् । यसमा थप निर्माताले वितरकलाई सम्झौताअनुसार कमिसन पनि बुझाउनुपर्ने हुन्छ । त्यसैले निर्माताले हल सञ्चालकले भन्दा थोरै कमाउँछन् ।

    ‘पूर्णबहादुरको सारंगी’बाट मात्रै होइन, दशैंमा प्रदर्शन भएका नेपाली चलचित्र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’बाट पनि हल सञ्चालकले करोडौं कमाएका छन् । ‘छक्कापञ्जा ५’को १८ करोड र ‘१२ गाउँ’को २२ करोड जोड्दा ४० करोड हुन आउँछ । निर्माताले पाउने प्रतिशत र कर कटाउँदा हल सञ्चालकको हातमा १६ करोड ४० लाख परेको छ ।

    दशैं र तिहारमा प्रदर्शन भएका यी तीन चलचित्रबाट मात्रै हल सञ्चालकले ३५ करोड ६७ लाख कमाएका छन् । यसमा ‘ज्वाइँ साब’को पाँच करोड हाराहारी, ‘भुलभुलैया ३’ र ‘सिंघम अगेन’ दुवैको १० करोड हाराहारी ग्रसबाट पनि हल सञ्चालकलाई करोडौं आम्दानी भएको देखिन्छ ।

    नेपाली चलचित्र ‘ह्रश्व-दीर्घ’ र ‘तेलभिसा’ले गरेको कारोबारबाट पनि हल सञ्चालकलाई फाइदै हुने देखिन्छ । प्रदर्शनमा आउन लागेको दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’बाट त हल सञ्चालकहरु मालामाल हुने देखिन्छ ।

    हल सञ्चालकको उल्लेखित आन्दानीमा करोडौं थप आम्दानी चाहिँ हलमा बज्ने विज्ञापन र हलको क्यान्टिनमा बेचिने खानेकुराबाट प्राप्त हुने मुनाफा हो । यस हिसाबले दशैंतिहारयता मात्रै हलहरुले चलचित्रबाहेक अन्य स्रोतहरुबाट पनि थप करोडौं आम्दानी गरेको देखिन्छ ।

    नेपालमा १९८ वटा हल सञ्चालनमा रहेको बताइन्छ, तर चलचित्र विकास बोर्डले १६६ हलमा मात्रै चलचित्र चलाउन दिनु भनेर हालै सूचना जारी गरेको छ ।

  • नीर शाहलाई बिजुलीमाया बनः श्रेष्ठ संगीत पुरस्कार

    नीर शाहलाई बिजुलीमाया बनः श्रेष्ठ संगीत पुरस्कार

    काठमाडौं । वरिष्ठ कलाकार नीर शाहलाई यस वर्षको ‘बिजुलीमाया बनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुरस्कारबारे जानकारी दिएको हो ।

    व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालदेखि पुरस्कार रकमको प्रयोजन गर्दै आएका छन् । यस पटकको पुरस्कार शाहलाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जनकारी दिए ।

    कलाकार शाह २०३२ सालदेखि चलचित्र निर्माण, निर्देशन एवं अभिनयमा सक्रिय छन् । साथै गीत लेखनमा पनि सक्रिय छन् ।
    आगामी माघ १५ गते हेटौंडामा एक विशेष समारोहका बीच शाहलाई पुरस्कार प्रदान गरिने बताइएको छ ।

    २०६४ सालमा दिवंगत संगीतकार अम्बर गुरुङलाई पुरस्कृत गरेर सुरु भएको यस पुरस्कारबाट क्रमशः प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान र राजेन्द्र थापा पुरस्कृत भइसकेका छन् ।

  • युट्युब ट्रेण्डिङमा एसियन पप शैलीका गीतहरू : जोन राई, एकदेव लिम्बुदेखि सुशान्त केसीसम्म

    युट्युब ट्रेण्डिङमा एसियन पप शैलीका गीतहरू : जोन राई, एकदेव लिम्बुदेखि सुशान्त केसीसम्म

    काठमाडौं । युट्युबको म्युजिक ट्रेण्डिङमा पछिल्ला छिमलका गायकहरुका गीतहरुको वर्चश्व रहेको छ । जोन राई, स्वप्निल शर्मा, एकदेव लिम्बु, सुशान्त केसी, उर्गेन दोङ लगायत गायकका एसियन पप शैलीका गीतहरु युट्युब ट्रेण्डिङमा छन् ।

    ३६ लाखले हेरेको जोन र स्वप्निलका ‘बादल सरी’ पहिलो नम्बरमा छ । त्यस्तै एकदेवको ‘झिमझिमाउने आँखा’ १९ लाख भ्युज सहित दोस्रो नम्बरमा छ भने सुशान्तको ‘बार्दली’ दुई करोड २० लाख भ्युजसहित तेस्रो नम्बरमा छ । यी शीर्ष तीन गीतका गायकहरु युवापुस्तामा माझ लोकप्रिय छन् । उनीहरुका गीत करोडौंले सुनेका छन् ।

    सन् २००० बाट सुरु भएको एसियन पप जनरा अहिले संसारभर फैलिइरहेको छ । इलेक्ट्रिोनिक म्युजिक र हिप हपको संयोजन गरेर बनाइने यस्ता गीतहरु जेन–जेड र जेन–अल्फा पुस्तामाझ अत्यधिक लोकप्रिय छन् । चौथो नम्बरमा एक भोजपुरी गीत छ भने पाँचौ नम्बरमा उर्गेनको ‘हबिबी’ छ ।

  • ‘पूर्णबहादुरको सारङ्गी’ले गर्‍यो पौने ४७ करोडको व्यापार, ५० करोडको ‘माइलस्टोन’ छुन सक्ला ?

    ‘पूर्णबहादुरको सारङ्गी’ले गर्‍यो पौने ४७ करोडको व्यापार, ५० करोडको ‘माइलस्टोन’ छुन सक्ला ?

    काठमाडौं । गत कात्तिक १५ बाट प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ले ३१ दिनमा ४६ करोड ७९ लाखको कारोबार गरेको छ । ५० करोडको ऐतिहासिक बक्स अफिस रेकर्डको बाटोमा हिँडेको यो चलचित्र अहिले पनि हलहरुबाट हट्न मानिरहेको छैन ।

    ‘पूर्णबहादुरको सारंगी’पछि दुई नेपाली चलचित्र ‘ह्रश्व-दीर्घ’ र ‘तेल भिसा’ प्रदर्शन भए, तर यी चलचित्रले पनि ‘पूर्णबहादुरको सारंगी’ लाई विस्थापित गर्न सकेनन् ।

    चलचित्रले ५० करोडको रेकर्ड राख्ला त भन्ने प्रश्नमा निर्माता विनोद पौडेलले भने, ‘यो चाहिँ अब भारतीय चलचित्र ‘पुष्पा २’ मा भर पर्छ । हलहरुले यही रफ्तारमा शोहरु दिइराखे र चलचित्रले दैनिक २०-२५ लाखको कारोबार गरिराख्यो भने असम्भव होइन ।’

    ‘पुष्पा २’ को एक शोले लगभग ४ घण्टा समय खाइदिनेछ । यस दक्षिण भारतीय चलचित्रको रन टाइम नै सवा ३ घण्टा छ । यही कारण ५० करोड हिर्काउने कुरा ‘पूर्णबहादुरको सारंगी’का लागि चुनौतीपूर्ण देखिन्छ ।

    आफूहरु भने ५० करोड नै पुग्नुपर्छ भनेर नलागेको निर्माता पौडेल बताउँछन् । चलचित्रले आजसम्म जति दर्शकको माया पायो, त्यो नै काफी रहेको उनको भनाइ छ । यसले विदेशमा लाइफटाइम कलेक्सन २५ करोड हाराहारी गर्ने उनले बताए ।
    चलचित्रको कथा अपुरो भएकाले यसको सिक्वेल पनि बन्ने पौडेलको जानकारी दिए ।

    ‘यसको कथा अपुरो छ । बाटुलीको संघर्ष हेर्नै बाँकी छ नि त ! दर्शकले पनि बाटुलीको कथा किन देखाएन भन्छन् ? हामीले त्यसलाई लुकाएकै हो’, पौडेलले भने, ‘सबै कुराहरु मिल्नुपर्‍यो, टीमले सरसहयोग गर्‍यो भने नमिल्ने भन्ने होइन । भोलि प्रकाश सपूतजीले मान्नुभएन भने त सिक्वेल बन्दैन नि ! अन्य कलाकारले पनि मान्दिनु भएन भने बन्दैन । हामी यो कथालाई ३-४ भनेर लैजादैनौं । पार्ट एक र पार्ट दुई कथा हामीसँग छ ।’

    पौडेलले कलाकारले नमानेको खण्डमा सिक्वेल बन्दैन भन्नुका पछाडि चाहिँ सपूत नै कारक हुन् । यो चलचित्र प्रदर्शनको क्रममा सपूतले आफ्नो चलचित्र ‘वसन्त’भन्दा अगाडि प्रदर्शनमा नल्याउने भन्ने सम्झौता तोडेको भन्दै स्टाटस नै लेखेका थिए । साथै यस्ता गैरव्यवसायिक टीमसँग फेरि काम गर्न नपरोस् भनेर घोषणासमेत गरेका थिए भने चलचित्रको प्रमोसनमा पनि हिँडेका थिएनन् ।

    यद्यपि चलचित्रलाई दर्शकले औधी रुचाउन थालेपछि भने सपूत हल भिजिटमा निस्केका थिए ।

  • डा. देवी क्षेत्रीको उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ विमोचन

    डा. देवी क्षेत्रीको उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ विमोचन

    इलाम । डा. देवी क्षेत्री दुलालद्वारा रचित ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ विमोचन गरिएको छ ।

    नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालको प्रमुख आतिथ्यमा बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठानले उपन्यास विमोचन गरेको हो ।

    प्रमुख अतिथि प्राज्ञ डा. कौशिला रिसाललगायत प्रा.डा.गोविन्दराज भट्टराई, पूर्व मन्त्री सोमनाथ बास्तोला, पूर्व सांसद अगम बान्तवा र उपप्राध्यापक युद्धप्रसाद वैद्यले संयुक्त रूपमा उक्त उपन्यासको विमोचन गरेका थिए ।

    उक्त विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिसालले ‘कर्णेल गजराजसिंह थापा’ जस्तो ऐतिहासिक र जीवनीपरक उपन्यास सिर्जना गरेकामा उपन्यासकार दुलाललाई बधाई ज्ञापन गर्दै नयाँ पुस्ताले अग्रज पुस्ताका महत्त्वपूर्ण योगदानबाट अभिप्रेरणा लिँदै लक्ष्य भेदनमा पुग्नुपर्ने बताइन् ।

    प्रमुख अतिथि रिसालले आफू प्रज्ञाप्रतिष्ठानको सामाजिशास्त्र विभागको नेतृत्वमा रहेकाले सामाजिक शास्त्रसम्बन्धी यस्ता खोज तथा अनुसन्धानमूलक सामग्रीहरूको प्रवर्द्धन गर्दै स्रष्टालाई निरन्तर प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रमुख वक्ता प्रा.डा. गोविन्दराज भट्टराईले पुस्तकमा थापाको ऐतिहासिक योगदानलाई अभिलेखीकरण गरिएको र नेपालको पहिलो उद्योग इलामको चिया कारखाना भएको तथ्य समेत उजागर गरेका थिए । यस्तै युद्धप्रसाद वैद्यले पनि पुस्तक र इलामको इतिहासबारे आफ्नो भनाइ राखेका थिए ।

    उपन्यास सर्जक डा. देवी क्षेत्री दुलालले आफूले यो पुस्तक निकै लामो समयको खोज अनुसन्धान गरेर मात्रै तयार पारेको बताएका थिए ।

    विसं १९२० मा कर्णेल थापाले नै इलाममा चिया खेतीको सुरुवात गरेका थिए । कर्णेल गजराज सिंह थापाले इलामको चियाखेतीको सुरुवात र बिस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको चर्चा हुँदै आएको छ ।

    बिस १९३५ मा इलाममा चियाउद्योग स्थापना गरी थापाले पूर्वी क्षेत्रलाई कृषिमार्फत आर्थिक क्रान्तिमा जोडेको विषय उपन्यासमा उल्लेख गरिएको छ।

  • रचना रिमाल र दीपकको स्वर रहेको ‘रातो घोडा सेतो घोडा’ को भिडिओ रिलिज

    रचना रिमाल र दीपकको स्वर रहेको ‘रातो घोडा सेतो घोडा’ को भिडिओ रिलिज

    काठमाडौं । दीपक भुजेल र रचना रिमालको युगल स्वर रहेको ‘रातो घोडा सेतो घोडा’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ ।

    म्युजिक भिडिओमा एक जोडीको रोमान्टिक प्रेम कहानीको अभिनय देख्न सकिन्छ । डीपी खनालको शब्द शृजना रहेको गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ ।

    गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् । भिडिओमा गायक दीपकसँगै अस्मिता जुरेलीको अभिनय छ । राजीव समरको कोरियोग्राफी रहेको रातो घोडा सेतो घोडाको म्युजिक भिडिओ दीपक भुजेलकै युट्यूवबाट सार्वजनिक गरिएको हो ।

  • ‘हिरामण्डी’ बाट मनिषा कोइरालाले जितिन् उत्कृष्ट अभिनेत्रीको फिल्म फेयर अवार्ड

    ‘हिरामण्डी’ बाट मनिषा कोइरालाले जितिन् उत्कृष्ट अभिनेत्रीको फिल्म फेयर अवार्ड

    काठमाडौं । नेपालकी अभिनेत्री मनिषा कोइरालाले वेब सिरिज ‘हिरामण्डी’ बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । फिल्मफेयर ओटिटी अवार्डको पाँचौं संस्करणमा उनी उत्कृष्ट ठहरिएकी हुन् ।

    हिजो भएको अवार्ड समारोहमा २९ वटा विधामा पुरस्कार वितरण गरिएको थियो । सबैभन्दा बढी १६ विधामा ‘हिरामण्डी’ मनोनयनमा परेको थियो । यस्तै, ‘गन्स एन्ड गुलाब्स’ १२ वटा र ‘काला पानी’ ८ विधामा मनोनीत भएका थिए ।

    सर्वोत्कृष्ट सिरिजको अवार्ड ‘द रेल्वे मेन’ लाई प्राप्त भएको छ । सर्वोत्कृष्ट निर्देशकको अवार्ड भने ‘कालापानी’ बाट समीर सक्सेना र अमित गोलानीले पाएका छन् । ‘गन्स एन्स गुलाब्स’ का राजकुमार राव कमेडीतर्फ सर्वोत्कृष्ट अभिनेता ठहरिँदा ड्रामातर्फ ‘द तेल्गी स्टोरी’ बाट गगन देभले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाए ।

    यस्तै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड ड्रामातर्फ मनिषाले पाउँदा कमेडीमा ‘गुल्लाक सिजन ४’ बाट गीताञ्जली कुलकर्नीलाई दिइयो ।

  • बद्री पङ्गेनीकी छोरी बिहानी: राजनीतिमा रमाउँदै, बुबाकै गीतबाट मोडलिङमा जमाउँदै

    बद्री पङ्गेनीकी छोरी बिहानी: राजनीतिमा रमाउँदै, बुबाकै गीतबाट मोडलिङमा जमाउँदै

    काठमाडौं । गायक बद्री पंगेनीको हिन्दू र मुस्लिमबिचको प्रेम सम्बन्ध गाँसिएको म्युजिक भिडियो ‘कन्या राशी’ सार्वजनिक भएको छ । नारायण ज्ञवालीको शब्द रहेको गीतमा पंगेनी र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।

    राजनीतिमा सक्रिय रहेकी गायक बद्री पंगेनीकी छोरी बिहानीले ‘कन्या राशी’बाट अभिनय सुरु गरेकी छन् । बीएएलएलबी अध्ययनरत बिहानीले सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुकी केन्द्रीय सदस्य पनि हुन् ।

    प्रशान्त मगरको नृत्य निर्देशन रहेको गीतको भिडियोमा बिहानीसँगै अशोक पंगेनी, हमिद मियाँ, भवानी पंगेनी, श्याम पटेलको नृत्य तथा अभिनय रहेको छ ।

    गीतको भिडियोमा हिन्दू समुदायको युवती र मुसलमान समुदायको युवकबीचको प्रेम सम्बन्धलाई देखाइएको छ । यसअघि सामाजिक र राजनीतिक सन्देश दिने गीत प्रस्तुत गर्दै आएका पंगेनीले यस पटक भने फरक समुदायका केटाकेटीबिचको प्रेम सम्बन्धलाई समेटेर नयाँ गीत ल्याएका हुन् । उक्त गीतको भिडियोमा गायक पंगेनीले आफ्नै छोरी बिहानीलाई अभिनय गराएका छन् ।

    गीतको भिडियोको निर्देशन र गीतमा संगीत पनि गायक पंगेनीले नै गरेका छन् । गीत पंगेनीकै युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको हो ।

    गीतबारे गायक पंगेनीले नेपाल प्रेससँग प्रतिक्रिया दिँदै भने, ‘मैले नेपालमा एकदमै धार्मिक सहिष्णुता पाउँछु । नेपालमा अहिलेसम्म मुस्लिम र हिन्दूबिचमा सामाजिक सद्भाव एकदमै लोभलाग्दो छ । त्यसैलाई देखेर यो गीत फुरेको हो । मेरै दिदीबहिनीको पनि मुस्लिमसँग विवाह भएको छ ।’

    छोरीलाई भिडियोमा खेलाउन बल गरेको कि छोरीले नै रहर गरेको भन्ने प्रश्नमा उनले भने, ‘छोरी नै खेल्ने भन्ने थिएन, एउटा रहरमात्रै पूरा गर्छु भन्यो । छोरीले नृत्य गर्छ भन्ने पनि थाहा थिएन । सुटिङमा त राम्रै नृत्य ग¥यो । पछि अलिकति नृत्य गर्ने खालकै बनाउन पाए हुन्थ्यो जस्तो पनि लाग्यो ।’

    बिहानीले पनि उक्त गीत आफूलाई धेरै मनपरेकाले रहर नै गरेर खेलेको नेपाल प्रेससँग बताइन् । उनले भनिन्, ‘यो गीत मलाई धेरै मन परेको हो । रहर पहिलेदेखि थियो । म्युजिक भिडियोमा खेल्ने रहन अब यसै गीतमा नै पूरा गर्नुपर्छ भनेर गरिहालें । करियर नै त त्यतातिर सोचेको छैन ।’

    गीत सार्वजनिक भइसकेपछि कस्ता प्रतिक्रिया आएका छन् भन्ने प्रश्नमा उनले भनिन्, ‘धेरैले राम्रो प्रतिक्रिया दिनुभएको छ । मलाई एक हिसाबले राम्रै गरेको रहेछु भन्ने महसुस भएको छ । हामीले सोचेका थिएनौं भन्ने खालको प्रतिक्रिया पनि आएको छ ।’

  • वैवाहिक सम्बन्धकाे आत्मसमीक्षा गर्न सिकाउने ‘ढुकढुकी ७२ मेगाहर्ज’

    वैवाहिक सम्बन्धकाे आत्मसमीक्षा गर्न सिकाउने ‘ढुकढुकी ७२ मेगाहर्ज’

    काठमाडौं । मण्डला थिएटर थापागाउँमा प्रदर्शनरत नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ले भन्छ- औसत ३०० ग्राम रहने मान्छेको मुटुको सूक्ष्म र मधुर आवाज नै जीवनको सबैभन्दा ठूलो आवाज हो । यो आवाज सम्बन्धसँग जोडिएको आवाज हो । यो मधुर आवाज प्रेम र स्नेह, त्याग र समर्पणसँग जोडिएको आवाज हो । त्यसैले त यो हर्ज नभएर मेगाहर्ज हो ।

    केदार श्रेष्ठ निर्देशित यस नाटकले संवेदना र सहअस्तित्वको वकालत गर्छ । विवाह भन्ने संस्थाकै आवश्यकता छैन भनेर छिटफुट बहस सुरु भएको वेला यो नाटकले भने विवाहपछि सम्बन्धलाई कसरी सुमधुर बनाउने भनेर तपाईंलाई सिकाउँछ । सम्बन्धमा एकै सिक्काका दुई पाटा हुनलाई कति सहज र कति असहज झेल्नुपर्छ ? तपाईंलाई यस नाटकले सिकाउँछ । एकै रथका दुई पांग्रा हुनलाई दुवै पांग्रा कसरी गुड्नुपर्छ ? यो नाटकले सिकाउँछ ।

    समाज, आफन्त र परिवारको कथित इज्जतका खातिर वैवाहिक सम्बन्धलाई जबरजस्ती टिकाइरहेकाहरुलाई यस नाटकले सम्बन्ध कसरी सुमधुर बनाउने भनेर सिकाउँछ । नाटकले भन्छ- सम्बन्ध भनेको सम्बन्ध जस्तै सुमधुर हुनुपर्छ । एक-अर्काको अस्तित्वलाई स्वीकार गरिनुपर्छ । एक-अर्काको निर्णयलाई सम्मान गरिनुपर्छ । एक-अर्काको आत्मसम्मानमा ठेस पुर्‍याउनुहुन्न । जबरजस्ती लतारेर सम्बन्धलाई अगाडि बढाउनुहुन्न ।

    ०००

    नाटकमा कार्म र मेनुका प्रधानले श्रीमानश्रीमतीको भूमिका निर्वाह गरेका छन् । दुवैले एक-अर्कालाई गर्ने सम्बोधन हो, ‘माया’ । श्रीमती सात महिने गर्भवती छिन् । स्कुलको शिक्षिका हुन् । श्रीमान चित्रकार हुन् । उनी अमूर्त चित्रहरु बनाउँछन् । उनीहरुको जीवन एक-अर्काले दिएको सम्मानसहितको प्रेमले सुगन्धित छ । उनीहरुको सम्बन्ध भावनात्मक न्यानोपनले पुलकित छ ।

    यहीवेला दुवैको अग्निपरीक्षा सुरु हुन्छ, जब डाक्टरले कि आमामात्रै बाँच्छे कि त बच्चामात्रै बाँच्छ भन्छ । यसपछि श्रीमानले के निर्णय लिन्छन् त ? उसको निर्णयले ढुकढुकी बढाइदिन्छ । डाक्टरको भनाइपछि मुस्कुराउने श्रीमानको मुस्कानले मुटु निचोरिदिन्छ ।

    मुटु झनै त्यसवेला निचोरिन्छ, जब थाहा हुन्छ कि यो कुरा श्रीमतीलाई पहिल्यै थाहा थियो । यसवेला दर्शकले महसुस गर्छन्, एक पाउ मुटुको ढुक् ढुक् साँच्चै जीवनको सबैभन्दा विशाल आवाज हो ।

    ०००

    पंक्तिकारलाई एक पटक कलाकार दीपकराज गिरीले भनेका थिए, ‘नेपाली समाजको मनोविज्ञान बुझ्न धेरै टाढा जानुपर्दैन, युट्युबका ट्रेन्डिङहरु हेरे पुग्छ । घर झगडाहरु ट्रेन्डिङमा आइरहेका हुन्छन् ।’

    युट्युबमात्रै होइन, अदालत छिर्ने हो भने पनि बैंकिङ कसुरपछि सबैभन्दा सेलिब्रेटी मुद्दा हो, सम्बन्धविच्छेद । दैनिक सयौंको संख्यामा सम्बन्धविच्छेदका मुद्दा दर्ता भइरहेका हुन्छन् । विच्छेद भइरहेका हुन्छन् । नाबालक बालबच्चाहरु कि बाउबाट टाढा भइरहेका हुन्छन् कि त आमाबाट ।

    नेपाली समाज किन यस्तो जटिल बनेर गइरहेको छ ? छुट्टै समाजशास्त्रीय अध्ययन चाहिएला, तर यही समाजभित्रको सम्बन्धहरुलाई कसरी सुमधुर बनाउने ? यसका लागि चाहिँ नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ हेर्न जाँदा हुन्छ । सम्बन्धमा एक-अर्काको आत्मसम्मान कति महत्वपूर्ण हुन्छ, त्यसका लागि यो नाटक हेर्न जाँदा हुन्छ ।

    नाटकले भन्छ- हामी प्रायः आफ्नै दृष्टिकोणबाट मात्रै हरेक कुरालाई हेर्छौं । अरुको दृष्टिकोणबाट हेर्न बिर्सिदिन्छौं । नाटकको सुरुमै श्रीमतीले श्रीमानलाई अरुको दृष्टिकोणबाट पनि हेर्ने गर्नुपर्छ कहिलेकाहीँ भनेर भन्छे, तर जब उनी नै जीवनको कठिन निर्णय लिनुपर्ने अवस्थामा पुग्छिन्, अब आफ्नै दृष्टिकोणबाट हेर्न सुरु गर्छिन् ।

    श्रीमानले बच्चाको साटो श्रीमतीलाई रोज्ने मनस्थिति बनाउँछन् । श्रीमतीले भने आफ्नो साटो बच्चालाई रोज्ने मनस्थिति बनाउँछिन् । मुटु निचोरेर आमा र बच्चामध्ये एउटामात्रै रोज्नुपर्ने अवस्थामा आउँदा श्रीमानका लागि श्रीमती जति महत्वपूर्ण हुन्छ, श्रीमतीका लागि बच्चा त्यति नै महत्वपूर्ण हुन्छ ।

    यस्तो अवस्थामा श्रीमान र श्रीमतीले कस्ता कस्ता निर्णय लेलान् त ? कथा कसरी अगाडि बढ्ला त ? यो थाहा पाउन यही आइतबारसम्म मात्रै नाटकका सीमित शोहरु बाँकी रहेका छन् ।

    ०००

    पछिल्लो समय रङ्गमञ्चमा राजनीतिक मुद्दा केन्द्रित नाटकहरुको बाढी नै आएको वेला ‘ढुकढुकी ७२ मेगाहर्ज’ले मानवीय संवेग र सहअस्तित्वको मुद्दा लिएर आएको छ । पूर्ण राजनीतिक भइसकेको महिलाको मुद्दा, आदिवासी जनजातिका मुद्दा केन्द्रित नाटकहरुले रङ्गमञ्चहरु भरिएका थिए । यहीवेला सम्बन्धको कथा बोकेर यो नाटक मञ्चन भइरहेको छ । ठूल्ठूला मुद्दामा अलमलिँदा हामी आफैंले बिर्सेको आफ्नै प्रमुख मुद्दाको सुन्दर उठान यस नाटकले गरेको छ ।

    नाटकले बहस, विमर्श गर्नलाई धेरै नै स्पेश दिएको छ, तर अनेक खाले बहस र विमर्श गर्नलाई होइन, म आफूले आफ्नै सम्बन्धलाई चाहिँ कसरी ट्रिट गरिरहेको छु भनेर महसुस गर्न यो नाटक हेर्नुपर्छ ।

    ‘कतै मैले आफ्नो पार्टनरको अस्तित्वलाई कुल्चेर त हिँडेको छैन’ भनेर आत्मसमीक्षा गर्नलाई पनि यो नाटक हेर्नुपर्छ । ‘प्रेमको नाममा मैले प्रेम नै गरिरहेको छु या अरु केही’ भनेर थाहा पाउन पनि यो नाटक हेर्नुपर्छ । अनि मेनुका प्रधान र कार्मको अभिनयको परख गर्न पनि यो नाटक हेर्नुपर्छ ।

    नाटकको सबैभन्दा सुन्दर पक्ष हो, सेट डिजाइन । ठूलो रुखको छहारीमुनि कथा भनिएको छ । रुखलाई गर्भवती महिलाको बिम्बका रुपमा प्रयोग गरिएको छ । र, रुखको हागाबिँगा परपरसम्म फैलिएका छन् । तिनै हाँगाबिँगाको छहारीमुनि श्रीमानले पेन्टिङ बनाइरहेका छन् । यही रुखको छहारीमुनि तेस्रो प्रमुख पात्र पेटको बच्चाको भविष्यको रेखा कोरिँदैछ ।

    अर्को बलियो पक्ष चाहिँ संवाद हो । नाटकमा कलाकारहरुले एकदमै काव्यिक संवादहरु बोल्छन् । सुन्दा मीठा लाग्ने संवाद यस्ता काव्यिक संवाद घरभित्र सायद बोलिँदैन होला । यद्यपि निर्देशकले यसमा निर्देशकीय लिबर्टी लिएका पनि होलान् ।

    संवादको ब्याकग्राउन्ड स्कोर नाटकको बलियो पक्ष हो । स्मारिका फुँयालको गायनले नाटकको मर्मलाई बलियो गरी पक्रिएको छ । प्रकाश संयोजन पनि राम्रो छ । विशेष गरेर पहेंलो प्रकाशले खुब ध्यान खिच्छ । पहेंलो प्रकाशको अर्थ हो, जीवन छ पनि छैन पनि, मृत्यु छ पनि छैन पनि । अस्पतालमै गम्भीर बिरामीलाई रातो बत्तीमुनि राख्छन् । सामान्य बिरामीलाई हरियो बत्तीमुनि राख्छन् । र, पहेंलो बत्तीमुनि कस्ता बिरामी राख्छन्, तपाईंहरुलाई थाहै छ ।

    अनि नाटकको अन्त्यमा हर्ट मोनिटरमा हरिया रेखाहरु चलमलाउँछन् । हरियो रेखाको संकेत त तपाईंहरु बुझिहाल्नुहुन्छ ।

  • ‘मिस प्लानेट’ मा नेपालकी अनिषाले जितिन ‘मिस ह्यूमानिटी’ को टाइटल

    ‘मिस प्लानेट’ मा नेपालकी अनिषाले जितिन ‘मिस ह्यूमानिटी’ को टाइटल

    काठमाडौं । कम्बोडियामा आयोजित मिस प्लानेट प्रतियोगितामा नेपालकी सुन्दरी अनिषा पराजुलीले ‘मिस ह्युमानिटी’ को टाइटल जितेकी छन् । मिस प्लानेटको चौंथो संस्करणमा यूएईले उपाधि जित्दा नेपालले पहिलोपटक कुनै पनि विधामा जित हासिल गरेको हो ।

    वीर नर्सिङ क्यान्पसमा मास्टर्स अध्ययनरत अनिशा मनोचिकित्सक नर्स हुन् । केही समयअघि काठमाडौंमा भएको नर्सहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’ मा उनी फर्स्ट रनअरअप बनेकी थिइन् ।

    सोही सफलतापछि उनी नेपालको प्रतिनिधित्व गर्दै कम्बोडिया पुगेकी हुन् । मिस प्लानेटको थिम यस वर्ष ‘विकास सँगसँगै मानसिक स्वास्थ्य सचेतना’ रहेको थियो ।

    प्रतियोगितामा अनिषा टप २० सम्म पुगेकी थिइन् । प्रतियोगितामा मिस प्लानेट इन्टरनेटसनल यूएई र मिस एन्जल प्लानेट इन्टरनेसनलको उपाधि मिस इन्डोनेसियाले पाएकी छन् । दुवै विधाको बराबरी महत्व हुने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा आयोजक राष्ट्र मिस कम्बोडियाकी सुन्दरीले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएकी थिइन् । उनको स्थानमा मिस कम्बोडियामा रनरअप भएकी सुन्दरीलाई स्थान दिइएको थियो । उनी टप २० मा अटाउन सकिनन् ।

  • ‘बुलाकी’ ले पायो उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार

    ‘बुलाकी’ ले पायो उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार

    काठमाडौं । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

    आज राष्ट्रपति निवासमा आयोजित विशेष समारोहमा चलचित्रलाई सो अवार्ड प्रदान गरियो ।

    राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहको आयोजना गरिएको थियो । २०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकीलाई जुरीले सर्वोत्कृष्ट ठहर गरेको हो ।

    सर्वोत्कृष्ट निर्देशकहको अवार्ड भने ‘दिमाग खराब’ का लागि निश्चल बस्नेतले पाएका छन् । सोही चलचित्रबाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् ।

    स्वस्तिमाले अर्को चलचित्र ‘टुल्की’ बाट निर्णायक समिति प्रोत्साहन पुरस्कार पनि प्राप्त गरिन् । उत्कृष्ट अभिनेताको पुरस्कार भने ‘प्रसाद २’ बाट विपिन कार्कीलाई प्रदान गरिएको छ ।

    अन्य पुरस्कृतहरुको सूची यसप्रकार छः

    उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा)

    उत्कृष्ट छायाकारः शिव ढकाल (बुलाकी)

    उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी)

    उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बु भाषा)

    निर्णायक समिति प्रोत्साहन पुरस्कारः

    व्यावसायिक चलचित्रः जारी (वि.सं. २०८०)

    विशेष योगदान सम्म्मानः

    तैयव शाहः कलाकार

    कृष्णप्रसाद रायमाझीः प्रदर्शक

    नारायण प्रधानः द्वन्द्व निर्देशक

    विद्या कार्कीः कलाकार

    नरेन्द्र महर्जनः प्रदर्शक

    नन्दकिशोर प्रसाद श्रीवास्तवः कलाकार/निर्माता

    भोजबहादुर गुरुङः निर्देशक रनिर्माता

    अमुल कार्की ढलीः संगीत संयोजक

    ध्रुबकुमार श्रेष्ठः प्रदर्शक

    बुद्धि तामांगः कलाकार

    सबिता गुरुङः कलाकार

    विशेष चलचित्र पुरस्कारः सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

    चलचित्र दीर्घ साधना सम्मानः

    चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’ की अभिनेत्री)

     

  • ‘पूर्णबहादुरको सारङ्गी’ पछि ‘लाज शरणम्’मा देखिदै विजय बराल, छायांकन सुरू

    ‘पूर्णबहादुरको सारङ्गी’ पछि ‘लाज शरणम्’मा देखिदै विजय बराल, छायांकन सुरू

    काठमाडौं । पूर्णबहादुरको सारङ्गीबाट चर्चामा आएका विजय बरालले ‘लाज शरणम्’ को दोश्रो सुटिङ सेड्यूलको छायांकन सुरु गरेका छन् । मंगलबारबाट बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन् ।

    दशैं अघि डोल्पा सुटिङ सकेको सिनेमाले काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरु गरेको हो । हालसम्म सिनेमाको ९५ प्रतिशत छायांकन सकिएको जानकारी निर्माणपक्षले दिएको छ ।

    सिनेमाको निर्माण टिमले छायांकनमा निस्कनु अगावै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो । विजयको यो ‘पूर्णबहादुर सारङ्गी’को रिलिज पश्चात प्रदर्शनमा आउने पहिलो सिनेमा हुनेछ ।

    सिनेमामा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ)लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

    जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह(निर्माताको रुपमा रहेका छन् ।

  • कार्टुनबाटै संसद हल्लाउन सफल वात्स्यायन

    कार्टुनबाटै संसद हल्लाउन सफल वात्स्यायन

    पोखरा । ‘राम्रो गर्नुभयो ! बाँच्नुपरेको भए आत्महत्या गर्नुहुन्थ्यो ।’

    शहीद दिवसको दिन माला लगाइरहेको एउटा सालिक छ । सालिकमा लेखिएको छ, ‘अमर शहीद’ । शहीदको सामुन्ने एक आमनागरिक घुँडा टेकेर बसेका छन् । हात जोडेर श्रद्धा प्रकट गरिरहेका छन् । उल्लेखित वाक्य ती व्यक्तिले शहीदको सालिकलाई भनिरहेका छन् ।

    शहीद दिवसको छेको पारेर दुर्गा बराल (वात्स्यायन) सृजित यो कार्टुन २०७५ सालमा कान्तिपुर कोसेलीमा छापिएको थियो । कार्टुनलाई लिएर वात्स्यायन भन्छन्, ‘जो परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिए र शहादत प्राप्त गरे । उनीहरु बाँचेका भए यो समयमा कति दुःखी हुन्थे होलान् ?’

    यो कार्टुनको सन्दर्भ स्रोत भने भूपि शेरचनको कविता रहेको वात्स्यायन बताउँछन् ।

    मैले पिएकोमा रिसाएका साथीहरु
    पिएर त हेर पिउन झन गाह्रो छ
    मरेर शहीद हुनेहरु
    जिएर त हेर जिउन झन गाह्रो छ ।

    ०००

    धेरै पहिले एक दिन वात्स्यायनलाई काठमाडौं पोस्टका सम्पादक प्रतीक प्रधानले रातितिर फोन गरे, ‘दुर्गाजी, तपाईंले चोटिलो कार्टुन बनाएर पठाइदिनुपर्‍यो ।’

    बरालले भने, ‘यति राति भन्नुभयो । सोच्ने समय नै भएन ।’

    प्रधानले थपे, ‘जति सक्नुहुन्छ, त्यति बनाउनुस् । अलि पन्चिङ टाइपको ।’

    मुलुक २०६२/६३ को दोस्रो जनआन्दोलनको संघारमा थियो । राजतन्त्र नै फाल्नुपर्छ भनेर जनता जागेका थिए । यही वेला गिरिजाप्रसाद कोइराला भने ‘बेबी किङ, बेबी किङ भन्दै हिँडिरहेका थिए । जबकि तत्कालीन राजा ज्ञानेन्द्रलाई नै गिरिजाको यो प्रस्ताव मञ्जुर थिएन । ज्ञानेन्द्रले सत्ता नै हातमा लिएका थिए ।

    यही सन्दर्भलाई केन्द्रमा राखेर वात्स्यायनले कार्टुन बनाए । कार्टुनमा मरेको घोडा जस्तो बनाएर संवैधानिक राजतन्त्रलाई फोहोरको थुप्रोमा फालिएको थियो । त्यही थुप्रोबाट गिरिजा मरेको घोडाको लास काँधमा बोकेर निस्किरहेका थिए ।

    ‘देशभर गणतन्त्रको माग भइरहेको थियो । राजालाई नै संवैधानिक राजतन्त्र नचाहिने भनेर सत्ता हातमा लिएको थियो । अनि गिरिजालाई चाहिँ मरेको राजतन्त्र बोकेर किन हिँड्नुपर्‍यो भनेर कार्टुन बनाएँ’, वात्स्यायन सुनाउँछन्, ‘पछि २०६२/६३ को जनआन्दोलनमा यो कार्टुन जुलुसमा हातहातमा थियो । त्यो क्षण कम कलाकारको भाग्य हुन्छ ।’

    ०००

    बहुदल आएपछि वात्स्यायनको अर्को चर्चित कार्टुन छ । उक्त कार्टुनलाई लिएर संसदमै कुरा चलेको थियो । त्यसवेला एमालेले तत्कालीन प्रधानमन्त्री गिरिजाविरुद्ध अविश्वासको प्रस्ताव संसदमा लगेको थियो । उक्त प्रस्ताव असफल भएको थियो ।

    अनि वात्सायानले एक कार्टुन बनाए । कार्टुनमा एमाले संसदीय दलका नेता मनमोहन अधिकारीले अविश्वासको प्रस्तावको तरबार बोकेका थिए, तर तरबारको टुप्पो भने भाँचिएको थियो ।

    गोरखापत्रमा प्रकाशित त्यस कार्टुनलाई लिएर एमालेले संसदमै कुरा उठायो । जनताको करले चलेको संस्थामार्फत प्रतिपक्षी आवाजलाई दबाउन खोजिएको भन्दै एमालेले विरोध गरेर संसद नै चल्न दिएन । वात्स्यायन सम्झिन्छन्, ‘त्यसवेला एमालेले तत्कालीन सञ्चारमन्त्री जेपी गुप्ताले स्पष्टीकरण नै दिनुपर्छ भनेर कुरा उठाएको थियो । संसद नै चल्न दिएको थिएन ।’

    वात्स्यायनको ६ दशक लामो कार्टुनकारिता

    २०१९/२० सालमा वात्स्यायन (८१) कला पढ्ने सोच बनाएर काठमाडौं छिरेका थिए । ललितकला क्याम्पसमा पढ्ने सोच थियो उनको, तर पढाइ चित्त बुझेन । ललितकला क्याम्पस उनलाई साँघुरो लाग्यो । यहीवेला त्रिपुरेश्वरमा एक जर्मनले घरेलु शिल्प कला डिजाइन पढाउँदो रहेछ । त्यहाँ सिक्नेलाई अलिअलि भत्ता पनि दिँदोरहेछ । भत्ताकै लोभमा तीन महिना डिजाइन सिके ।

    ‘तर मैले काठमाडौंमा कला पढ्ने ठाउँ भेटिनँ । एक पटक दिल्लीमा गएर कोसिस गर्छु भन्ने लाग्यो । ठूलो सपना बोकेर आएकाले खुम्चन मन लागेन’, वात्स्यायन सुनाउँछन्, ‘म घर आउँछु, मलाई पैसा पठाइदेऊ भनेर घरमा झूट बोलें । घरबाट डेढ सय पठाइदियो ।’

    उक्त पैसा बोकेर वात्स्यायन दिल्लीतिर लागे । दिल्ली, ठाउँ नै विशाल । चिनेजानेको कोही छैन । केही भेउ पाएको छैन । यसो बजार डुल्ने क्रममा पेन्टिङको साइनबोर्ड देखे । त्यहाँ गएर भने, ‘मलाई काम दिनुस् । खर्च चाहिएको छ ।’ उनले आफू नेपालबाट पढ्न भनेर आएको बताए ।

    अनि बोर्ड लेख्ने काम पनि पाए ।

    साहुजीले बोर्ड लेख्न लगाए । वात्स्यायन सुनाउँछन्, ‘इनामेल नै नचलाएको मान्छे, साइनबोर्ड लेख्न एकदमै ढिला गरें ।’

    साहुजीले भने, ‘तिमी सक्दैनौं । यहाँ त छिटो-छिटो गर्नुपर्छ । बरु ड्रइङ गर्न जान्छौ ?’

    साहुजीले स्कुलको कामको ठेक्का लिएका रहेछन् । हात धुनुपर्छ, दाँत माझ्नुपर्छ भन्ने सन्देश बोकेका ड्रइङहरु बनाउनुपर्ने रहेछ । ड्रइङको काममा वात्स्यायनले आफूलाई प्रमाणित गरे । साहुजी दंग पर्‍यो । १० दिन जति काम गरे । सँगै कला पढ्ने कलेज पनि खोजिरहे, तर भेउ पाएनन् ।

    साहुजीले भने, ‘भारत धेरै ठूलो देश छ । यहाँ बसेर प्रतिस्पर्धा गर्न गाह्रो छ । मेरो विचारमा तिमी आफ्नै देश जाऊ, त्यहाँ नै सजिलो हुन्छ । बाटो खर्च म दिन्छु ।’

    वात्स्यायनले पनि सोचे- कुरा त ठीक हो ।

    यसपछि वात्स्यायन काठमाडौं नै फर्किए, तर काठमाडौंमा कहाँ बस्ने, के खाने ? अलमलमा थिए उनी । संयोगले यही वेला असन, किलागलमा साथी रामकुमार श्रेष्ठ भेटिए । श्रेष्ठले भने, ‘काम नपाएसम्म मसँगै बस । काम खोज्न म सघाउँला ।’

    यही क्रममा वात्स्यायनको शालिकराम नामक पोखरेली युवासित भेट भयो । ती युवा ‘नयाँ सन्देश’ साप्ताहिकमा विज्ञापन उठाउने काम गर्थे । उनलाई सम्पादक रमेशनाथ पाण्डेले भनेका रहेछन्, ‘पत्रिकामा कार्टुन लेख्ने कोही साथी छ भने भेटाइदेऊ ।’

    वात्स्यायनको पाण्डेसँग भेट भयो । हप्ताको एउटा कार्टुन बनाउनुपर्ने, पारिश्रमिक पाउने सर्तमा काम सुरु गरे ।

    ‘कार्टुन भनेको के हो थाहा नै थिएन । मलाई रमेशनाथले विदेशी पत्रिकाहरु देखायो, कार्टुनहरु देखायो । न्युरोडको अमेरिकन लाइब्रेरीमा गएर आफैंले अध्ययन गरें । सिकें । बनाएँ’, वात्स्यायन भन्छन्, ‘तर मैले पैसा कहिल्यै पाइनँ । पैसा नभएपछि बिहान बेलुकाको दालभातमै समस्या आयो ।’

    वात्स्यायन भरपर्दो जागिरको खोजीमा जनक शिक्षा सामग्री लिमिटेड पुगे २०२२ सालमा । ६ महिना ज्यालादारीमा काम गरे । यसपछि अस्थायी नियुक्ति पाए । ६ महिनापछि स्थायी भए । अफिसको तर्फबाट जापान गएर तीन महिनाको ट्रेनिङ पनि गरे ।

    अलि पछि अफिसले सिनियर पोस्टमा स्थायी दरबन्दीको लागि जागिर खुलायो । योग्यता नपुगेकाले उनले दरखास्त हाल्न पाएनन् । ‘नयाँ हाकिम आयो । मैले विचार गरें, यहाँ बसेर जिन्दगी त यत्तिकै जान्छ । यसपछि राजीनामा दिएर पोखरा आएँ’, २०२६ सालमा पोखरा नै फर्किएका वात्स्यायन सुनाउँछन् ।

    पोखराबाट फैलिएको वात्स्यायनको सृजनात्मक सुवास

    २०३० सालतिर पोखरामा वात्स्यायनको स्टुडियो थियो । बजारमा घर भाडामा लिएर पेन्टिङ बनाउँथे । उनको स्टुडियोकै अगाडि थियो साहित्यकार विजय बजिमयको घर । बजिमयको घरमा साहित्यकार, लेखक, कलाकारहरु आइरहन्थे ।

    एक दिन बजिमयले वात्स्यायनलाई घरमा बोलाए । त्यहाँ सरुभक्त, कवि तीर्थ श्रेष्ठलगायत पनि थिए । त्यही वात्स्यायनको साहित्यकारहरुसित परिचय भयो । यो परिचयले वात्स्यायनलाई पोखरेली युवा सांस्कृतिक परिवारसँग जोड्यो । कालान्तरमा यस संस्थाको दोस्रो अध्यक्ष पनि बने ।

    सँगै सरुभक्तलगायतसँग सृजनात्मक सहकार्य पनि गरे । सरुभक्तसँगै प्रकट पंगेनी, विनोद गौचन, उषा शेरचन, विक्रम गुरुङ, नवराज कार्की, अर्जुनजंग शाहीसित पनि सहकार्य गरे । सरुभक्तका नाटकहरुमा सेट डिजाइन गरिदिए । कलाकारहरुको मेकअप गरिदिए । वात्स्यायनले नाटकको स्टेज डिजाइनको मोडेल नै तयार पारिदिन्थे । अनि थप अनुरोध गर्थे, ‘तपाईं त कलाकार, मेकअप पनि गरिदिनुपर्‍यो ।’

    यही समयदेखि वात्स्यायनको सृजनाले उडान भर्न सुरु गर्‍यो । पोखराबाटै उनका कार्टुनहरु जनताको घरदैलोमा पुगे । पेन्टिङहरु भटाभट बिक्री भए । काठमाडौं गए पनि, काठमाडौं साँघुरो लागेर दिल्ली गए पनि चाहिने त सृजना थियो । सृजनाको महक थियो । सृजनाको त्यही महक चाहिँ पोखरा फर्किएपछि त्यहीबाटै देशभर फैलाए । र, सृजनाको सुवास फैलाउन काठमाडौंमै बस्नुपर्छ भन्ने न्यारेटिभ भत्काए ।

    बालकृष्ण समले वात्स्यायनमा देखेका साल्भाडोर डाली

    पोखरा आएपछि केही समय कार्टुनकारितामा ब्रेक लागे पनि अलि पछि ‘राष्ट्र पुकार’ साप्ताहिकमा कार्टुन बनाउन थाले । काठमाडौंबाट निस्कने यो साप्ताहिककै कार्टुनहरुले वात्स्यायनलाई चर्चित बनायो ।

    २०३५ सालमा काठमाडौंमा उनले एक कला प्रदर्शनी गरे । उनका ३५ वटा जति सर्रियलिस्टक पेन्टिङ थिए । अर्थात् स्वप्निल पेन्टिङहरु । जहाँ यथार्थ छ, यथार्थ छैन पनि । यथार्थ र काल्पनिकताको सम्मिश्रण । वात्स्यायन प्रसिद्ध फ्रेन्च कलाकार साल्भाडोर डालीका आर्टहरुबाट प्रभावित हुनुको परिणाम थिए उनका सर्रियलिस्टिक पेन्टिङहरु, तर ठ्याक्कै डालीको कपी चाहिँ गरेका थिएनन् ।

    उनको पेन्टिङ प्रदर्शनीमा बालकृष्ण सम आए । प्रसिद्ध नाटककार सम आफैंमा चित्रकार पनि थिए । उनले पेन्टिङहरु अवलोकन गरेपछि लेखे, ‘दुर्गा बरालजीका चित्रहरु देख्दा मलाई साल्भाडोर डालीको सम्झना आयो । बरालजीलाई सफलताको कामना गर्छु ।’

    तपाईं कार्टुनिस्ट कि पेन्टर ?

    ‘धेरैले कार्टुन आर्टभन्दा तलको विधा हो भन्छन्, तर उपयोगिताको हिसाबले समाज परिवर्तनमा कार्टुनले जति भूमिका खेल्छ, आर्टले उति खेल्दैन’, वात्स्यायन भन्छन्, ‘आर्ट त एलिटहरुको समूह हो । यसले आमजनतासँग कम सरोकार राख्छ । कार्टुन त सीधै आमजनतासँग सरोकार राखेर संवाद गर्छ ।’

    वात्स्यायन थप भन्छन्, ‘मलाई कार्टुनिस्ट भएकोमा पछुतो छैन, खुसी छु । किनभने अलिकति भए पनि जनताको कुरा कार्टुनबाटै प्रस्तुत गरें । मलाई आर्ट पनि मनपर्छ, तर आर्टमा म पूरै होमिन पाएन । अर्को कुरा, जति आम्दानी कार्टुनबाट गरें, यसको तुलनामा पेन्टिङबाट नगण्य छ । पेन्टिङले मलाई जीविकामा सहयोग गरेन । कार्टुनले चाहिँ जीविकामा पनि सहयोग गर्‍यो, जनमानसमा पनि मलाई पुर्‍यायो ।’

    नयाँ पुस्ताका कार्टुनिस्टहरु कस्ता लाग्छन् ?

    पछिल्लो समय रविन सायमी, अविन, राजेश केसीहरुले सक्रिय रुपमा कार्टुनहरु बनाइरहेका छन् । सँगै रवि मिश्र, रवीन्द्र मानन्धरहरुले पनि बनाइरहेका छन् । यी कार्टुनिस्टहरुको जीविका नै कार्टुनले चलाइरहेको छ ।

    वात्स्यायन नयाँ पुस्ताका कार्टुनिस्टहरुका कार्टुनहरुसँग परिचित छन् । उनीहरुका कार्टुनहरु हेरिरहन्छन् । वात्स्यायन भन्छन्, ‘यो उमेरमा जे गरिरहेका छन्, राम्रै गरिरहेका छन् । अझै राम्रो गर्न थप अध्ययन बाँकी छ जस्तो लाग्छ । उनीहरु प्रविधिमा राम्रा छन् । प्रविधिले सजिलो बनाउँछ । काम पनि छिटो हुन्छ, तर कार्टुनमा प्रविधिमात्रै महत्वपूर्ण हुन्न । कार्टुनमा महत्वपूर्ण त अभिव्यक्ति हो, कन्सेप्ट हो । ड्रइङमा जतिसुकै राम्रो भए पनि विषयवस्तु कमजोर छ भने त्यो कार्टुन राम्रो हुँदैन ।’

  • सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा गीत सार्वजनिक (भिडिओ)

    सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा गीत सार्वजनिक (भिडिओ)

    काठमाडौं । सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा सन्देशमुलक गीत सार्वजनिक गरिएको छ । गीतमा सामाजिक सुरक्षा कोषको महत्व र यसका फाइदाहरु विषयमा जानकारी दिइएको छ । उक्त गीत महिलाको निम्ति महिला मञ्च नेपालको युट्युब च्यानल वुफोवन (WOFOWON) मा सार्वजनिक गरिएको हो ।

    गीतमा सामाजिक सुरक्षा कोषकी उप निर्देशक सुशिला पौडेल, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी अध्यक्ष श्यामकुमारी शाह र वरिष्ठ लोक तथा दोहोरी गायिका शिला आले लगाएत अन्य कलाकारहरुको उपस्थिति रहेको छ । गितमा वोफोवन सांस्कृतिक समूहका कलाकारहरुले आवाज दिएका छन् ।

    समाजका ज्वलन्त सामाजिक सवाल र असंगठित क्षेत्रका श्रमिकका सवालमा केन्द्रित भई तयार गरिएको गितलाई महिलाको निम्ति महिला मञ्च नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

    भिडिओः

    महिलाको निम्ति महिला मञ्च नेपाल मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेण्ट, खाजाघर तथा स्पा÷मसाज पार्लर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (मिति २०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो ।

    यो संस्था मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथा सुनिश्चिताको लागि अभियानरत छ । महिला श्रमिकहरुको कामको सम्मान साथै कार्यरत क्षेत्रमा हिंसामुक्त, सुरक्षित र मर्यादित काम गर्ने वातावरण हुनु पर्दछ भन्ने उद्देश्य र मान्यताका साथ आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।

    मनोरन्जन तथा सत्कार क्षेत्र असंगठित क्षेत्र अन्र्तगतको श्रममा पर्दछ । यस क्षेत्रका श्रमिकको श्रमको सरक्षा, सम्मान र मान्यता अझै स्थापित हुन सकेको छैन । श्रम ऐनको प्रभावकारी कार्यन्वयनको अभावले गर्दा असंगठित क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा आबद्धता चुनौतीपूर्ण छ । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन, श्रमिकहरूले न्यूनतम पारिश्रमिकको २०.३७ प्रतिशत योगदान गर्नुपर्छ, जसमा ११ प्रतिशत श्रमिक र ९.३७ प्रतिशत सरकारको योगदान हुन्छ ।

    सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सो बमोजिम २०६७ साल चैत्र ७ गते भएको हो। यस कोषले स्थापनाकाल देखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐन बमोजिम कार्य गर्दै आएको छ ।

    ऐनको प्रस्तावनामा उल्लेखित श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु यस कोषका उद्देश्य हुन् । सामाजिक सुरक्षा कोष दिवस नेपाल सरकारले सामाजिक सुरक्षा ऐन जारी भएपश्चात प्रत्येक वर्ष मंसिर ११ गते मनाउने गर्दछ ।

     

     

  • ‘ह्रस्वदीर्घ’ ले २१ करोड कमाउने नीता ढुंगानाको आँकलन ! ३ करोड भारुमा ओटीटी राइट्स बेचेको दाबी

    ‘ह्रस्वदीर्घ’ ले २१ करोड कमाउने नीता ढुंगानाको आँकलन ! ३ करोड भारुमा ओटीटी राइट्स बेचेको दाबी

    काठमाडौं । यतिबेला नेपाली बक्स अफिसमा तीन चलचित्रको रसाकस्सी छ । तिहार अगाडि नै रिलिज भएको ‘पूर्णबहादुरको सारंगी’ हलबाट उत्रिन मानिरहेको छैन भने त्यसपछि आएका ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ पनि हलहरूमा राम्रै हिस्सा ओगटिरहेका छन् ।

    यी तीनमध्ये सबैभन्दा महंगो बजेटको चलचित्र हो ह्रस्वदीर्घ । यो चलचित्र करिब ६ करोड लगानीमा बनेको निर्माण पक्षको दावी छ । यति ठूलो लगानी रिकभर गर्न चलचित्रले बक्स अफिसमा लामै यात्रा गर्नुपर्ने हुन्छ । तर, निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले केही दिनअघि स्टाटस लेख्दै चलचित्रको लगानी सुरक्षित भइसकेको दावी गरिन् । धेरैले उनको दाबीलाई पत्यार गर्न नसकिरहेका बेला नीताले थप अगाडि बढेर आफ्नो चलचित्रले २१ करोड रूपैयाँ कमाउने आँकलन सार्वजनिकरूपमै गरेकी छन् ।

    चलचित्रले नेपालमा रिलिजको ९ दिनसम्ममा ६ करोड ६९ लाख ग्रस कलेक्सन गरेको छ । २ दिनको ग्रस कलेक्सन भने सार्वजनिक गरिएको छैन । निर्माण पक्षले सार्वजनिक गरेको ग्रस कलेक्सनको अंकमा पनि कतिपयले आशंका गरिरहेका छन् । यदि त्यो रिपोर्ट यथार्थ हो भने पनि निर्माताको गोजीमा करिब तीन करोड मात्रै आउन सक्छ । भने, चलचित्रको लगानी सुरक्षित कसरी भयो त ?

    यसबारे नेपाल प्रेससँग कुरा गर्दै नीता भन्छिन्, ‘मैले २१ करोडको आँकलन भनेको हो, २१ करोड कलेक्सन भएको भनेको छैन । ओभरसिज, ओटीटी, साउथको थियटर यताउता जोडेर त्यतिको अनुमान लगाएकी हुँ ।’

    नीताको दावीअनुसार भारतमा ओटिटीबाट चलचित्रले ३ करोड भारु कमाएको छ, जसको नेपाली रकम हुन आउँछ ४ करोड ८० लाखभन्दा बढी । चलचित्रको डिजिटल राइट्स ओएसआर डिजिटललाई ६० लाखमा बेचेको उनले बताइन् । ओभरसिज राईट्सबारे भने आफूलाई ठ्याक्कै याद नभएको उनी बताउँछिन् ।

    साउथ इन्डियन चलचित्र ‘पुष्पा २’ को रिलिजपछि आफ्नो चलचित्र साउथका थियटरहरुमा पनि लगाउने उनको योजना छ ।

    नीता भन्छिन्, ‘सम्भवत अंग्रेजी नयाँ वर्षमा साउथका थिएटरमा हाम्रो चलचित्र रिलिज गर्नेछौं । साउथको थिएटर, नेपाल र बाहिरको डिजिटल राइट्स, नेपालको बक्स अफिस कलेक्सन र ओटीटी गरेर मैले २१ करोडको अनुमान लगाएकी हुँ ।’

  • सार्थक, सुगन्धित ‘तेल भिसा’

    सार्थक, सुगन्धित ‘तेल भिसा’

    १३ वर्षअघि रिलिज भएको चलचित्र ‘ब्रेक फेल’ मार्फत एउटा सम्भावना बोकेको निर्देशकका रुपमा उदाएका थिए शंकर घिमिरे । कमेडी जनरामा बनेको सो चलचित्र सिर्जनात्मक हिसाबले अब्बल हुँदाहुँदै पनि बक्स अफिसमा फेल भइदियो, जसले गर्दा घिमिरेको निर्देशन यात्रामा पनि ब्रेक लाग्यो । दिक्क मान्दै उनी अभिनेत्री पत्नी ऋचा घिमिरेलाई च्यापेर अमेरिका भासिए ।

    अमेरिकामा घरजमपछि घिमिरे दम्पतीले तीन सन्तानहरु त्यतै जन्म दिएर हुर्काइसकेका छन् । यसर्थ अमेरिकामा सन्तान जन्माउने र हुर्काउने प्रक्रियामा उनीहरु भुक्तभोगी हुन् । अहिले यही विषयलाई केन्द्रमा शंकरले नयाँ चलचित्रको निर्देशक गरेका छन्, जसको नाम हो ‘तेल भिसा’ । गत शुक्रबार रिलिज भएको यो चलचित्र विषय र प्रस्तुतीकरणको हिसाबले.उत्कृष्ट छ । १३ वर्षपछि चलचित्रमा कमब्याक गरिरहँदा घिमिरेले आफ्नो निर्देशकीय दक्षताको पुनपुष्टि गरेका छन् ।

    ‘तेल भिसा’ नाम आफैंमा घतलाग्दो छ, जसले विदेशमा रहेकी छोरी–बुहारी सुत्केरी भएपश्चात स्याहार्नका लागि नेपालबाट बुबाआमा जाने उपक्रमलाई हल्का व्यंग्यात्मकरुपमा ईंगित गर्छ । यो चलचित्रको कथा लाखौं नेपालीहरुलाई रिलेट हुने छ । विदेशमा सेटल भएर बसेका परिवार, छोराछोरी विदेश पठाएका बुवाआमा तथा विदेश जाने सपना बुनिरहेका युवायुवती सबैलाई यो चलचित्र सिफारिस गर्न सकिन्छ ।

    अमेरिकामा हुनेवाला नाति/नातिनीलाई तेल लगाउन गएकी एक अवोध नेपाली आमाले त्यहाँको नियम–कानून र परिपाठ नजान्दा खेप्नु परेको भुक्तमानलाई यस चलचित्रले गज्जबसँग वर्णन गरेको छ । सुन्दा साधारण तर असाध्यै संवेदनशील विषयलाई निकै कौशलतापूर्वक चलचित्रको माध्यमबाट उठान गरेका छन् निर्देशक घिमिरेले । धेरै कुरा आफैंले भोगेकाले पनि होला उनको काममा निखार देखिन्छ । यो चलचित्र हेरेपछि यति चाहिँ भन्न कर लाग्छ कि उनी नेपाली चलचित्र उद्योगलाई चाहिने प्रतिभा हुन् ।

    यो भन्दा अगाडि सायदै कुनै चलचित्रले विदेशमा नेपाली परिवारको दैनिकी र सुखदुःखलाई यति मिहिनरुपमा पर्दामा उतारेका थिए । अमेरिकामा नेपाली चलचित्र सुटिङ गर्नु आर्थिक र प्राविधिक दुवै दृष्टिकोणबाट चुनौतीपूर्ण काम हो । चलचित्रमा अमेरिकाको कोर्ट रुमदेखि कारागारसम्मका दृष्यहरु खिच्न निर्माण टीमलाई पक्कै सहज भएन होला । तर, पनि सम्भव भएसम्म जीवन्त देखाउन खोजिएको छ । यो प्रयासका लागि निर्माताहरु शिवराज कार्की, रविन पाण्डे र युवराज कार्की पनि धन्यवादका पात्र छन् ।

    चलचित्रको कथातिर जाउँ ।

    अमेरिकामा बस्ने नेपाली दम्पती गौरव अधिकारी (विपिन कार्की) र बन्दना अधिकारी (वर्षा राउत) पहिलो सन्तानको प्रतीक्षामा छन् । गौरवले आफ्नो हुनेवाला सन्तान स्याहार्नलाई नेपालमा रहेका बुवा–आमा सूर्यबहादुर (विपिन कार्की) र राधा (पूजा चन्द) लाई अमेरिका बोलाउँछन् । दुवैको भिसा लागिसकेको छ । तर, उड्ने अघिल्लो रात सूर्यबहादुरको पासपोर्ट मुसाले टोकिदिएपछि उनी एयरपोर्टबाट फर्किनुपर्छ । राधा एक्लै अमेरिका उड्छिन् ।

    दुई–चार शब्द अंग्रेजी सिकेर गोराको देशमा पुगेकी राधा त्यहाँका तौरतरिका नजान्दा अनेक उल्झनमा फसिरहन्छिन् । बारम्बार बुहारीबाट टोकसो सहनुपर्छ । बन्दनाको बेबी सावर समारोहमा राधाले झुक्किएर ‘जेन्डर रिभिल’ गर्ने बेलुन फुटाइदिन्छिन् । यसले सासु र बुहारीबीच ठूलै तनाव सिर्जना गर्छ । जसोतसो छोराले दुवैलाई समन्वय गरेर राख्छन् ।

    कथामा मथिंगल हल्लाउने ट्विस्ट त्यतिबेला आउँछ, जब अञ्जानमा गरेको एउटा ‘गल्ती’ का कारण राधालाई अमेरिकी प्रहरीले पक्राउ गर्छ । नातिसँग रमाउँदै दिनचर्या व्यतित गरिरहेकी राधा अचानक हिरासतको चिसो छिँडीमा पुग्छिन् ।

    यति कथा चलचित्रको सार्वजनिक ट्रेलरबाटै लगभग खुलेको छ । राधा पक्राउ पर्नुको कारण तथा यसको पटाक्षप कसरी हुन्छ भन्ने हेर्न चाहिँ हलसम्म पुग्नुपर्ने छ । जे होस्, कथाको अन्तर्य रोचक छ ।

    चलचित्रमा धेरै दृष्यहरुले हृदयलाई छुन्छन् । आँखा रसाउँछन् । ‘पूर्णबहादुरको सारंगी’ जस्तो सुरुदेखि अन्त्यसम्म दुखैदुःखले भरिएको चलचित्र भने होइन यो । यसमा हाँसो र आँशु सरोबर छन् । चलचित्रको क्लाइमेक्स सार्थक छ । दर्शकहरु सुखानुभूति लिएर हलबाट निस्किनेछन्, जुन पाटोमा ‘पूर्णबहादुरको सारंगी’ चुकेको थियो ।

    सासु–बुहारीको सम्वन्धलाई चलचित्रमा महत्व दिइएको छ । सासु र बुहारीबीच नोकझोक र झगडा नेपाली चलचित्रमा नयाँ होइन । तर, ‘तेल भिसा’ फरक र यथार्थपरक ढंगले यसलाई पेश गरिएको छ । परम्परागत चलचित्रमा सासु वा बुहारीमध्ये एकलाई ‘भिलेन’ बनाइएको हुन्छ । ‘तेल भिसा’ ले भने खुलेर कसैको पनि साइड लिएको छैन । हुन त बुहारीलाई अलिकति छुच्ची देखाइएको हुँदा दर्शकको सहानुभूति सासुतर्फ जान्छ, तर अन्त्यमा बुहारीलाई नै सही ठहर्याएर सन्तुलन मिलाइएको छ ।

    अभिनयको कुरा गर्दा कथाको केन्द्रमा रहेकी पूजा चन्दले बाजी मारेकी छन् । अमेरिका पलायन भएकी पूजा झण्डै दुई दशकदेखि नेपाली चलचित्रबाट टाढा थिइन् । यो अवधिमा उनी मिडियाबाट पनि टाढै रहिन् । एकाएक चलचित्रको पर्दामा उनको दमदार कमब्याक भएको छ । उनले धक फुकाएर अभिनय गरेकी छन् ।

    अभिनेता विपिन कार्कीको भर्सटालिटी यो चलचित्रमा पनि देखिन्छ । बाबु र छोराको दोहोरो भूमिकालाई उनले सहजतापूर्वक निभाएका छन् । चलचित्रमा बाबु र छोरा बन्ने कलाकार एकै हुन भन्ने महसुस नै हुँदैन, जुन विपिनको सफलता हो । तथापि बाबुको भूमिकामा उनको संवाद सम्प्रेषण अलिकति आर्टिफिसियल लाग्छ, जसमा उनले अझै मिहिनेत गर्न सक्थे ।

    छुच्ची बुहारीको भूमिका वर्षा राउत गज्जबसँग फिट भएकी छन् । यस्तो लाग्छ कि यो भूमिका वर्षाकै लागि लेखिएको थियो । उनको अभिनय पनि उत्कृष्ट छ । दुईजिउकी महिलाको हाउभाउ उनले सर्लक्क उतारेकी छन्, जसको श्रेय निर्देशक घिमिरेलाई पनि दिनै पर्छ ।

    चलचित्रमा अर्को प्रभावशाली भूमिकामा छिन् ऋचा घिमिरे । अन्तिममा उनी नै कथाको ‘हिरो’ बन्छिन् । ऋचाले पनि लामो समयपछि चलचित्रमा कमब्याक गरेकी हुन् । वकिलको भूमिकामा उनी खुलेकी छन् र अभिनयमा पनि आत्मविश्वास देखाएकी छन् ।

    बुद्धि तामाङको भूमिका र अभिनयमा खासै नयाँपन छैन । अन्य कलाकारहरुले आ–आफ्नो भूमिकामा न्याय गरेका छन् ।

    चलचत्रिको कथा सरल र टमक्क मिलेको छ । पटकथा पनि चुस्त नै छ । यद्यपि, प्रश्न उठाउने एकाध ठाउँहरु नभएका होइनन् । आफ्नो मान्छेको मुद्दा नलिने अडान लिएकी अन्नपूर्णले अचानक निर्णय बदल्नुमा विश्वसनीय कारण दिन सकिएको छैन । कानूनभन्दा संस्कृति ठूलो हुँदैन भन्दाभन्दै पनि न्यायाधीशले किन संस्कृतिको पक्ष लिएर फैसला सुनाइन् भन्ने चित्तबुझ्दो आधार दिइएको छैन । कथा–पटकथाको तुलनामा संवाद अलि फितलो लाग्छ । कमेडी पन्चहरु अलि धेरै हुनुपथ्र्यो । क्लाइमेक्सको अदालती दृष्यमा अंग्रेजी संवादहरु प्रयोग गर्ने बाध्यता परेको छ, जसले गर्दा दर्शकले सबटाइटलतिर ध्यान दिनुपर्ने हुन्छ । अंग्रेजी संवादहरु त्यति परिस्कृत छैनन् ।

    चलचित्रको संगीत पक्ष अब्बल नै छ । ‘टुकुन मुकुन’ र ‘कति रमाइलो’ बोलका दुई गीत कर्णप्रिय र जिभ्रोमा झुण्डिइहाल्ने खालका छन् । ‘कति रमाइलो’ गीतमा अमेरिकामा रहेका थुप्रै नेपाली दिग्गज कलाकारहरुलाई एकसाथ देख्न पाउँदा दर्शक आल्हादित हुनेछन् । अन्य प्राविधिक पक्षमा खासै खोट लगाउने ठाउँ छैन ।

    समग्रमा सुगन्धमय छ ‘तेल भिसा’ । सबैभन्दा बलियो पाटो भनेको यसको विषयवस्तु नै हो । नेपाली चलचित्रमा विल्कुलै नयाँ तर सान्दर्भिक विषयको उठान गरिएको छ, जसले एकैपटक धेरै नेपालीहरुलाई छुन सक्छ । अमेरिकामा रहेका आप्रवासीहरुको सांस्कृतिक अधिकारको पक्षमा बलियो वकालत गरेको छ यस चलचित्रले । अमेरिकी नीति–निर्माताहरुसम्म यो चलचित्र पुग्नुपर्छ । यस्तै पृथक विषय र धारका चलचित्रहरुले नै नेपाली चलचित्र उद्याेगकाे शिर उँचाे गर्नेछन् ।

     

  • स्मिता दाहालले सार्वजनिक गरिन् प्रेमी, चाँडै लगनगाँठो कस्दै (तस्बिरहरू)

    स्मिता दाहालले सार्वजनिक गरिन् प्रेमी, चाँडै लगनगाँठो कस्दै (तस्बिरहरू)

    काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले आफ्नो प्रेमीसँग आउँदो २१ गते लगनगाँठो कस्न लागेको पारिवारिक स्रोतले बताएको छ ।

    स्मिताले श्रेष्ठ थरका युवासँग घरजम गर्न आँटेकी हुन् । हालैमात्र सामाजिक सञ्जालमार्फत उनले ‘प्रेमी’ सार्वजनिक गरेकी थिइन् । उनले सुरूमा साथी, त्यसपछि प्रेमी हुँदै अब सधैँका लागि आफ्नो हुन लागेको बताएकी छन् ।

    स्मिताले अंग्रेजीमा लेखेको स्टाटसको भाव छ, ‘कलेजका सीटहरूबाट एक अर्कालाई चियाउनेदेखि सधैँका लागि एकअर्काको हात समाउने योजनासम्मको यो यात्रा हाँसो, राति अबेरसम्म कुराकानी र हामीले मात्र बुझ्न सक्ने मौनताले जेलिएको छ । मेरो साथी, त्यसपछि प्रेम र अहिले सधैँका लागि । मलाई संसारकै भाग्यमानी हृदय बनाइदिएकोमा धन्यवाद छ । म सधैँका लागि तिम्रो हुन आतुर छु ।’

    स्मिता र उनका प्रेमी कलेजका सहपाठी हुन् । कलेज पढ्दादेखि नै उनीहरू प्रेममा थिए । श्रेष्ठ हाल स्नातकोत्तरको पढाइ सकेर पीएचडीको तयारीमा रहेका छन् । उनीहरूको ईंगेज्मेन्ट केही समयअगाडि भइसकेको पारिवारिक स्रोतले बताएको छ । उनीहरूले नर्लिङ रिसोर्टमा विवाह गर्न लागेका हुन् ।

    स्मिता पूर्वप्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगाकी पहिलो श्रीमानतर्फकी छोरी हुन् । उनी सानैदेखि सांगीतिक क्षेत्रमा सक्रिय छिन् ।

    ‘मायालु तिमी कता छौ’ बोलको गीतले उनलाई निकै चर्चा दिलाएको थियो ।

  • मनीषा राजवंशीले हात पारिन् ‘मिस हेरिटेज पेटाइट युनिभर्सको’ शीर्ष उपाधि

    मनीषा राजवंशीले हात पारिन् ‘मिस हेरिटेज पेटाइट युनिभर्सको’ शीर्ष उपाधि

    काठमाडौं । थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता मिस हेरिटेज पेटाइट युनिभर्सको शीर्ष उपाधि नेपालबाट प्रतिनिधित्व गरेकी मनीषा राजवंशीले हात पारेकी छिन ।

    उक्त प्रतियोगितामा ४३ देशका प्रतिनिधि प्रतिस्पर्धी थिए । झापा बाह्रदशी गाउँपालिका-६ की मनीषाले समाजशास्त्रमा एमए गरेकी छन् । शिक्षिकासमेत रहेकी उनी राजवंशी समुदायको बारेमा थेसिस पनि गरिरहेकी छिन् ।

    आफ्नो समुदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण केही राम्रो गर्ने सोचका साथ मोडलिङ सम्बन्धी प्रतियोगिता र ब्युटी प्याजेन्टहरूमा भाग लिने गरेको उनी बताउँछिन् ।

    उनले २०१८ मा मिस राजवंशी (दोस्रो रनर अप), २०१९ मा मिस ग्रेस काठमाडौं (दोस्रो रनर अप),सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी थिइन् । त्यस्तै २०२१ मा मिस डिभाको वीनर भएकी थिइन् ।

    मनीषासहित अन्य विधाका प्रतिस्पर्धीमा नेपालबाट प्रशंसा बुढाथोकी, वसन्त लामिछाने, सुश्मिता श्रेष्ठ र अलिशा लोले थाइल्याण्ड पुगेका थिए । अन्य विधामा पनि नेपालले धेरै उपाधि हात पार्न सफल भएको नेपालका इभेन्ट निर्देशक रमेश शाहीले बताए ।

  • कथा संग्रह ‘प्रच्छन्न इन्द्रिय’ बजारमा

    कथा संग्रह ‘प्रच्छन्न इन्द्रिय’ बजारमा

    काठमाडौं । लेखक तथा ज्यष्ठ नागरिक समाजका केन्द्रीय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथाकृति ‘प्रच्छन्न इन्द्रिय’ सार्वजनिक गरिएको छ ।

    संघीय राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे, समालोचक ज्ञानु अधिकारी तथा लेखक पाण्डेले पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् ।

    लेखक पाण्डेले पुस्तकमा आफ्नो समय र अनुभवअनुसारको समाज कथ्य रुपमा प्रस्तुत भएको बताए । उनका अनुसार हरेक कथाले सामाजिक परिवेशलाई चित्रण गरेको छ ।

    साहित्यकार डा. रवीन्द्र समीरले ६८ वर्षको उमेरमा पहिलो कथा संग्रह निकालेर लेखकले सबैलाई प्रेरणा दिएको बताउँदै हरेक कथामा लेखकले आफूले सुनेको, देखेको, भोगेको तथा अध्ययन गरेको विषयलाई जनजिब्रोको भाषामा लेखेको चर्चा गरे ।

    समीक्षक ज्ञानु अधिकारीले पाण्डेका कथामा अर्गानिक स्वाद रहेको तथा व्यंगात्मक चेत उत्कृष्ट रहेको बताइन् ।

    पुस्तक मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ ।