Category: कलाप्रेस

  • ५० लाख पारिश्रमिकबारे माग्ने बुढा- म यतिउति भनेर माग्दिनँ, निर्माताले माया गरेर दिएका हुन्

    ५० लाख पारिश्रमिकबारे माग्ने बुढा- म यतिउति भनेर माग्दिनँ, निर्माताले माया गरेर दिएका हुन्

    काठमाडौं । ‘माग्ने बुढा’ को उपनामले चर्चित अभिनेता केदारप्रसाद घिमिरे यतिबेला सिने नगरीमा हिट छन् । चलचित्रमा बढ्दो व्यस्ततासँगै उनले लिएको पारिश्रमिकबारे समेत चर्चा चुलिएको छ ।

    माग्ने बुढाले एउटै चलचित्रबाट ५० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिने गरेको आफैंले स्वीकारिसकेका छन् । उनलाई अहिले नेपालकै महँगा कलकार मान्न थालिएको छ । योभन्दा अघि नायक अनमोल केसीले उच्च पारिश्रमिकको रेकर्ड बनाएका थिए । अनमोललाई पनि माग्नेले पछि पारेको चर्चा चलिरहेको छ ।

    नेपाल प्रेसले यस विषयमा जिज्ञासा राख्दा घिमिरे खुलेर कुरा गर्न अन्कनाए । यद्यपि बजार हल्ला सत्य भएको छनक दिए ।

    उनी भन्छन्, ‘म धेरै पैसा कमाउँछु भनेर कलाकारितामा लागेको मान्छे होइन । जे-जस्तो अवस्था आए पनि कलाकारिता चाहिँ गर्छु भन्ने थियो, तर अहिले आएर यस्तो भयो । मलाई यो पारिश्रमिकबारे कुरा गर्नै मन लाग्दैन, तर के गर्नु ? अहिले जताततै यहीमात्र कुरा छ ।’

    पारिश्रमिक ५० लाखभन्दा माथि नै लिनुहुन्छ त भन्ने प्रश्नमा उनले जोडे, ‘मैले कहिल्यै यतिउति भनेर मागिनँ । राम्रो कथा आए बाहिरको ब्रान्डमा काम गर्छु भन्ने थियो । स्क्रिप्टहरु सुन्दा मनपर्‍यो । काम गर्छु भन्ने कुरा भएपछि निर्माताहरु आफैंले माया गरेर यति दिन्छु भन्नुभयो । मैले पनि हुन्छ भनें । त्यति हो ।’

    आफूलाई कलाकारको ‘मार्केट प्राइस’ कति हो भन्ने थाहा नै नभएको उनको दाबी छ ।

    ‘म त माग्ने न हो हजुर, खासमा लिनुपर्ने कति रहेछ ? उहाँहरुले जति दिन्छु भन्नुभयो, म त त्यसमा ओके भएँ’, उनले भने ।

    टेलिसिरियल हुँदै चलचित्रमा फड्को मारेका माग्ने बुढा ‘छक्कापञ्जा’ टीमका सदस्य हुन् । विगतमा ‘छक्कापञ्जा’ भन्दा बाहिरका चलचित्रमा उनी खासै देखिएनन्, तर अहिले भटाभट बाहिरका फिल्म साइन गरिरहेका छन् । छक्कापञ्जामा उनले लगानी पनि गर्दै आएका छन् । बाहिरका फिल्म भने पारिश्रमिकमा मात्रै काम गरिरहेको उनले बताए ।

    घिमिरे भन्छन्, ‘सेयरमा काम गर्दा मनमुटाव हुनसक्छ । मन नमिल्न सक्छ, झन्झट हुन्छ । त्यसैले सेयरमा काम नगरेको हो ।’

    उनले अहिलेसम्म ४ वटा बाहिरी ब्रान्डका चलचित्रमा साइन गरिसकेका छन् । चलचित्र ‘माग्ने राजा’ मा त उनी लिड रोलमै देखिने भएका छन् ।

    सहायक भूमिकामा रुचाइरहेका दर्शकले तपाईंलाई लिड रोलमा साथ दिन्छन् जस्तो लाग्छ त भन्ने प्रश्नमा उनी भन्छन्, ‘म त दर्शकहरुले मलाई लिड रोलमा झनै माया गर्नुहुन्छ भन्नेमा पूर्ण विश्वस्त छु । उहाँहरुले मेरो काम हेरेर हँसाउन अझै कम भयो भन्नुहुनेछ ।’

    केदारका अनुसार चलचित्र ‘माइतीघर’ उनको यो आर्थिक वर्षको लागि साइन गरेको अन्तिम चलचित्र हुनेछ ।

    ‘अफर त धेरै आइरहेका छन्, तर धेरै चलचित्र साइन गर्दा बिग्रेला भन्ने डर हुन्छ । एक त मलाई स्क्रिप्ट पनि मन पर्नुपर्छ । त्यसैले यो वर्षलाई यति नै ! धेरै चलचित्र गर्ने चक्करमा आफ्नो भएको नाम पनि फितलो हुनसक्छ । यो नामलाई जोगाइराख्न मेहनत गर्नुपर्छ । त्यसैले जति वटामा साइन गरें, त्यतिमै भरपुर मेहनत गर्छु’, उनले सुनाए ।

  • पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने

    पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने

    काठमाडौं । गत दसैँदेखि मङ्सिरसम्म नेपाली चलचित्र प्रदर्शनमा भिडभाड देखिए पनि चिसो बढेसँगै कमी आएको छ । विदेशी चलचित्रको प्रभाव, चिसो अत्यधिक भएकाले पुसमा कम नेपाली चलचित्र प्रदर्शन हुने गर्दछन् ।

    यसपटक पुस ५ गते ‘बम बहादुर’ र २६ गते ‘कार्साङ’ प्रदर्शन हुने घोषणा गरिएको छ । गतवर्ष विसं २०८० को पुसमा एक मात्र नेपाली चलचित्र प्रदर्शन हुँदा यसपटक दुई भएको छ । यसअघि सातामा दुईदेखि तीन चलचित्रसम्म प्रदर्शन गर्ने निर्माताले पुसलाई खासै रोजाइमा पारेका देखिँदैनन् ।

    आगामी पुस ५ मा प्रदर्शन तय गरिएको चलचित्र ‘बम बहादुर’ मा भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षको विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए । उनका अनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ ।

    “चलचित्रको विशेष प्रदर्शनी र सार्वजनिक गरिएका प्रचार सामग्रीले हामीलाई उत्साहित बनाएको छ । चलचित्रको मुख्य पात्र बम बहादुरको सङ्घर्षमय जीवनको कथा हो । कथावस्तुसँगै संवाद आकर्षक, मार्मिक र जीवन्त रहेको प्रतिक्रिया पाएका छौँ । सोही कारण हाम्रो चलचित्रको प्रचार दर्शकले गर्नेमा विश्वस्त छौँ”, निर्देशक राईले भने ।

    चलचित्रमा अभिनेता सौगात मल्ल, अभिनेत्री निशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतले अभिनय गरेका छन् ।

    यस्तै, माघे सङ्क्रान्तिलाई लक्षित गर्दै पुस २६ मा प्रदर्शन तय गरिएको चलचित्र ‘कार्साङ’ शेर्पा समुदायको कथामा आधारित रहेको निर्देशक यम शेर्पाले जानकारी दिए । उनले भने, “चलचित्रमा निकै कम स्थान पाएको शेर्पा समुदायको संस्कृति र कथालाई देखाउने कोसिस गरेका छौँ । यसको कथा गाउँले जीवन र परिवेशका भए पनि हामीले देखिरहेका भन्दा भिन्न छ, सोही कारण यसमा दर्शकले नयाँ स्वाद पाउनुहुनेछ ।”

    निर्देशक शेर्पा दर्शकलाई चलचित्र मन पर्नेमा विश्वस्त छन् । चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, वुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन्

    पुस जाडोको समय भएकाले विगतदेखि नेपाली चलचित्र प्रदर्शनका लागि रोजाइमा नपर्ने गरेको चलचित्र वितरणमा सक्रिय करण श्रेष्ठले बताए । “पुसमा ठूला विदेशी चलचित्र प्रदर्शन हुने गरेका छन् । नेपालमा जाडोको समयमा चलचित्र भवनसम्म दर्शक कम पुग्छन् भन्ने मान्यता छ, सोही कारण निर्माताले चलचित्र प्रदर्शनका लागि यो महिना रोजेको पाइँदैन”, उनले भने “विदेशी चलचित्रले भने यो समयमा बढी व्यापार गरिरहेका हुन्छन् ।”

     

  • अभिनेता नाजिर हुसेनको लेखनमा तयार भएको नाटक ‘हरि हजुरबा’ मञ्चन हुँदै

    अभिनेता नाजिर हुसेनको लेखनमा तयार भएको नाटक ‘हरि हजुरबा’ मञ्चन हुँदै

    काठमाडौं । यहीँ पुस ४ गते देखि थापागाउँस्थित मण्डला नाटक घरमा पुस नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा यो नाटक मञ्चन हुन लागेको हो ।

    नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको पनि अभिनय रहनेछ ।

    निर्मातामा अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ छन् । नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ ।

    चिठी पुर्‍याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ ।

    नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ । यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको छ ।

    आउँदो बिहीबारदेखि सुरू हुने नाटक पुस २८ गते (आइतबार) सम्म सोमबार बाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ । शनिवार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन् ।

    नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने ‘हरि हजुरबा’ टिमको अपेक्षा छ ।

  • ‘पुष्पा- २’का अभिनेता अल्लु अर्जुन पक्राउ

    ‘पुष्पा- २’का अभिनेता अल्लु अर्जुन पक्राउ

    भारत । तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन । डिसेम्बर ४ मा हैदराबादको एक हलमा चलचित्र ‘पुष्पा- २’ को प्रदर्शनको क्रममा चलेको भाग दौडको घटनालाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    अल्लु अर्जुनलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रवार हिरासतमा लिएको छ, जहाँ मुद्दा दर्ता गरिएको थियो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भाग दौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भएका थिए।

    उक्त घटनापछि प्रहरीले सोही थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो ।

    अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ ।

    हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी उपयुक्त अक्षांश यादवका अनुसार बीएनएस धारा १०५ (हत्या नभएको अपराधी हत्याको सजाय) र ११८ अन्तर्गत मुद्दा दायर गरिएको छ ।

    प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

  • चलचित्र बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

    चलचित्र बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

    काठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले वसन्ती, बलिदान, दक्षिणा, बसाइँ, वीर गणेशमानलगायतका चलचित्रलाई आगामी पुस्तासम्म पुर्याउन हालको प्रविधिमा रुपान्तरण गरी ‘अर्काइभ’ गरिने बताए ।

    “हामीले दर्शकले रुचाउनुका साथै विभिन्न कालखण्डलाई दर्शाउने चलचित्रलाई पुरानो प्रविधिबाट रुपान्तरण गरेर नयाँ प्रविधिमा ढाल्न चाहेका छौँ । यसको काम केही समयमा सुरू हुनेछ । यी चलचित्रलाई बोर्डको विशेष समारोहमासमेत देखाइने छ”, अध्यक्ष डिसीले भने ।

    यसअगाडि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’ र ‘शान्तिदीप’लाई ‘डिजिटाइजेसन’ गरिसकेको जनाएको छ । साथै ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सबटाइटल’ पनि गरिएको छ ।

    ‘रिस्टोरेसन’ गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत ‘ड्यामेज’लाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइने र त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिने बोर्डले जनाएको छ । पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका चलचित्रलाई ‘डिजिटाइजेसन’ गरिएको छ । ‘डिजिटाइजेसन’ पश्चात १६ एमएम र ३५ एमएमका ती चलचित्रलाई ‘टु के’ र ‘फोर के’ ढाँचामा हेर्न सकिने बताइएको छ ।

    अध्यक्ष डिसीले भने, ‘डिजिटाइजेसनसँगै ती चलचित्रको प्रिन्ट रिस्टोरेसन गरेर राखिएको छ । यसले ‘एट के’ वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिन्छ ।’ –रासस 

  • ‘मिसेस भोग नेपाल सीजन–२’ को अडिसन शनिबार हुने

    ‘मिसेस भोग नेपाल सीजन–२’ को अडिसन शनिबार हुने

    काठमाडौं । यही मंसिर २९ गते शनिवार ‘मिसेस भोग नेपाल सीजन–२’ को अडिसन हुने भएको छ । काठमाडौंको दरबारमार्गस्थित पेन्टहाउसमा उक्त अडिसन हुने भएको हो ।

    हाउस अफ फेसनले अघिल्लो अघिल्लो वर्षदेखि मिसेस भोग नेपाल आयोजना गर्न थालेको हो । सन् २०२४ को संस्करणमार्फत प्रारम्भ भएको यो प्रतियोगिताले महिला शक्तिकरण गर्ने मुख्य लक्ष्य लिएको छ ।

    आयोजक संस्थाकी प्रमुख ओसिमा बानुका अनुसार मिसेस भोग नेपालमा विवाहित, एकल महिला र एकल आमाहरुले सहभागिता जनाउन सक्नेछन् । यो प्रतियोगिता सहभागिा जनाउनका लागि उचाइ, तौला, रंग ता जातिको कुनै परिधि तोकिएको छैन ।

    शनिवार बिहान ९ बजेदेखि अडिसन कार्यक्रम प्रारम्भ हुने आयोजकले जनाएको छ । यसपटकको प्रतियागितामा गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा करिश्मा केसीले ब्राण्ड एड्भोकेटसको रुपमा सहभागिता जनाएका छन् ।

    मिसेस भोग नेपालको उपाधि जित्ने एक जना प्रतिभाशाली महिलाले नेपाललाई प्रतिनिधित्व गर्दै थाइल्याण्डमा आयोजना हुने मिसेस टुरिजम क्वीन इन्टरनेशनलमा सहभागिताको अवसर पाउने छिन् । यसबाहेक पाँच लाख रुपैयाँ बराबरको उपचार, मोडलिङ सम्झौता, विभिन्न ब्राण्डसंग आवद्ध हुने तथा अन्य अवसरहरु प्राप्त गर्नेछन् ।

  • ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक पौडेलले ‘कोसेढुंगा’ बनाउने

    ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक पौडेलले ‘कोसेढुंगा’ बनाउने

    काठमाडौं,  ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले नयाँ चलचित्र  ‘कोसेढुंगा’ बनाउने भएका छन् ।  सामाजिक कथामा आधारित यस चलचित्र केही समयमै सार्वजनिक कार्यक्रममार्फत घोषणा गरिने तयारी भइरहेको छ ।
    ‘कोसेढुंगा’मा  आर्यन सिग्देल, सुरक्षा पन्त, प्रवीण खतिवडा, मेनुका प्रधान, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकार राख्ने आन्तरिक तयारी गरिएको छ ।
    चलचित्रको एक्जेक्युटिभ निर्मातामा दिनेश खड्का छन् भने निर्मातामा प्रेविल कँडेल र हरि महत रहेका छन् ।
    ऐतिहासिक कमाई गरेको पूर्णबहादुरको सारङ्गीको निर्माता कम्पनी सेभेन सिज र विनोद पौडेल यस चलचित्रमा निर्माताको रूपमा छैनन् । चलचित्र नरदेवी फिल्म्सको ब्यानरमा निर्माण हुनेछ ।
  • ‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’

    ‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’

    काठमाडौं । नेपाली गीतसङ्गीतमा ‘र्‍याप’ को छुटै स्थान छ । भनिन्छ, र्‍यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्‍यापतर्फ पनि उत्तिकै आकर्षित छन् । पप विधाअन्तर्गत रहेको र्‍यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ । र्‍यापले आफ्नो भोगाई र समाजको देखाइलाई व्यक्त गर्ने गरेको छ ।

    पछिल्लो समय नेपाली र्‍याप र र्‍यापरको चर्चा राष्ट्रिय रूपमा मात्रै होइन अन्तर्राष्ट्रियस्तरमा पनि हुने गरेको छ । विदेशी र्‍यापरले नेपाली र्‍यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षण र यसको बजार पनि बढ्दै गएको बताइन्छ ।

    र्‍यापर गिरिस खतिवडा पछिल्लो समय र्‍यापको सुनौलो समय आएको बताउँछन् । “हामी कलाकारको लागि र्‍याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । र्‍यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्‍यापमार्फत पनि चिन्ने गरेको छु”, उनले भने ।

    खतिवडाले आफूले र्‍यापलाई मनको कुरा व्यक्त गर्ने माध्यमको रूपमा लिएको बताँछन् । अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम र्‍याप रहेको उनको बुझाइ छ ।

    अर्का र्‍यापर मानस घलेले नयाँ पुस्तामा र्‍यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुटै स्थान बनाउन सफल भएको बताए । “हामीले र्‍यापलाई नेपालभर प्रचार गर्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो श्रोता बन्नुभएको छ । हामीले रहरमा सुरू गरेको र्‍याप अहिले पेसा बनिसकेको छ । अहिले र्‍याप गायनबाटै जीविकोपार्जन गर्न सकिन्छ”, उनले भने ।

    र्‍यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौँ महानगरपालिकाले र्‍यापर बालेनलाई प्रमुखको रूपमा पाएको उनले बताए । पछिल्लो समय नवोदितसँगै पुराना र्‍यापरको माग स्टेज कार्यक्रममा पनि बढ्दै गएको छ । नेपाल मात्र नभई विदेशमा पनि उत्तिकै लोकप्रिय छन्, र्‍यापर ।

    यद्यपि र्‍यापलाई चाहिनेभन्दा बढी बद्नाम गर्नेको पनि कमि नरहेको र्‍यापर हाकिमले बताए । “र्‍याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हँुदैन, यसकारण पनि हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउछौँ तर यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गर्नुहुँदैन । र, जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्‍याप बनाउने गरेका छन्, ती चर्चाको लागि आएका र्‍यापर हुन् । किनकि र्‍यापमा बेदना, भोगाई र बुझाइ हुन्छ”, उनी भन्छन् ।

    र्‍यापरलाई सुरुआती समयमा आर्थिक कठिनाई र सामाजिक सद्भाव नभएका कारण ती पीडा र्‍यापमार्फत बाहिर आउने गरेको गयाक ब्रिजेश श्रेष्ठको बुझाइ छ । गीत रेकर्डिङ स्टुडियोसमेत सञ्चालन गरिरहनुभएका उहाँले नवोदितको पीडा राम्रोसँग बुझेको बताए ।

    “मसँग स्टुडियो भएकाले नयाँको पीडालाई नजिकबाट अनुभव गरेको छु । उनीहरूको रहरमा समाज र परिवार बाधक बन्ने गरेको सुनेको छु, किनकि र्‍यापलाई अहिले पनि रहरिया भन्ने गरिन्छ । त्यहीकारण मैले प्रतिभावान केहीलाई निःशुल्क रेकर्डिङ गरिदिने गरेको छु । यो पेसालाई सहजै स्वीकार नगरिएकै प्रभाव र्‍यापमा देखिएको पनि हुन् सक्छ”, गायक श्रेष्ठले भने ।

    उनी केही समय अगाडि गीतसङ्गीत छाडेर विदेश पनि जानुभएको थियो तर आफ्नो ‘प्यासन’ जीवित रहँदै नेपाल फर्किएर पुनःगीतसङ्गीतमा सक्रिय हुनुभएको छ । श्रेष्ठ गीतसङ्गीतलाई सबैले सुन्ने र हेर्ने बनाउनुपर्ने बताउँछन् ।

    हाल र्‍यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको विषय भए पनि र्‍यापरले परिवेश र भविष्य हेर्ने भन्दा पनि आफ्नो भावना व्यक्त गर्ने गरेको र्‍यापर खतिवडाको धारणा छ । “हामीले र्‍याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने नै होइन । र्‍यापले मलाई खुसी र सन्तुष्टी दिएको छ, त्यहि भएर म अहिलेसम्म सक्रिय छु”, उनले भने ।

    र्‍यापर घले हाल विभिन्न रियालिटी ‘सो’ हरू निर्माण भइरहेकाले पनि ¥यापमा भविष्य खोज्नेलाई सहज भएको बताउँछन् । “हाल आइरहेका विभिन्न कार्यक्रमले एउटा बाटो देखाएको छ तर मेहनतीचाहिँ हुनुपर्छ किनकि मेहनती नहुँदा त्यसको प्रतिफल पाउन सकिँदैन । अहिले सहजता बढेसँगै प्रतिष्पर्धा पनि बढेको छ । त्यसैले यसलाई नै पेसा बनाउन मेहनत आवश्यक छ”, उनले भने ।
    र्‍यापर हाकिमले ‘जी–बब’जस्ता र्‍यापर ‘रियालिटी शो’मार्फत नै आएको बताए । उहाँसहितको टिमले विभिन्न ‘सो’समेत गर्ने गरेको छ । र्‍यापलाई पेसा बनाउन सके यसमा राम्रो भविष्य उनले देखेका छन् ।

    “अहिले नेपाल मात्र नभई विदेशमा समेत कार्यक्रममा सहभागिता जनाउन सके र्‍यापरका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिले र्‍यापलाई लिएर सामाजिक धारणासमेत फेरिएको छ । म निकै खुसी छु”, र्‍यापर हाकिमले भने ।

    उनको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाई’ लगायतका गीत लोकप्रिय छ । ती गीतको समयमा यसलाई ‘प्यासन’को रूपमा हेरिएको उहाँले स्मरण गर्नुभयो । नयाँ पुस्ताको आगमन बढेसँगै केही अश्लीलता बढेकामा भने धेरैजसोको चिन्ता छ । “अहिले बढिरहेको लोकप्रियताले र्‍याप नबुझी आउनेलाई यहाँ टिक्न दिँदैन । यहाँ टिक्न र र्‍याप गाउन त लगाव चाहिन्छ, नत्र एउटा र्‍याप बनाउने र हराउने हुन्छ । यद्यपि आउँदो समय नेपाली र्‍यापका लागि राम्रो देखिएको छ”, र्‍यापर हाकिमले भने ।

    र्‍यापरद्वय खतिवडा र घलेको पनि यस्तै सल्लाह छ । उहाँहरू नवोदितका लागि यसै क्षेत्रमा राम्रो भविष्य देख्छन् ।

  • सञ्जय दत्तकी भान्जी स्मिता ! कतापट्टिको नाता ?

    सञ्जय दत्तकी भान्जी स्मिता ! कतापट्टिको नाता ?

    काठमाडौं । भारतीय अभिनेता सञ्जय दत्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको विहेमा पठाएको भिडिओ सन्देश अहिले चर्चामा छ ।

    स्मिताकी आमा तथा प्रचण्डकी छोरी गंगा दाहालले आफ्नो टिकटकमा उक्त भिडिओ सार्वजनिक गरेकी थिइन् ।
    सञ्जय दत्तले भिडिओमा आफू प्राविधिक कारणले स्मिताको विवाहमा आउन नपाएको बताएका छन् । चाँडै नेपाल आएर बरबधुलाई शुभकामना दिने इच्छासमेत व्यक्त गरेका छन् ।

    दत्तले मोबाइल स्क्रिनमा हेर्दै बोलेको हिन्दी सम्वादको नेपाली रुपान्तरण यस्तो छः

    ‘नमस्कार । जय भोलेनाथ हरहर महादेव । केही प्राविधिक कारणले गर्दा आज म तपाईंहरुसम्म आउन पाइन । तर, मेरी भाञ्जी स्मिता र सायुज्यलाई विवाहको हार्दिक शुभकामना छ । मेरी बहिनी गंगा र उनको परिवारलाई मेरो तर्फबाट शिवजीको धेरै धेरै आशिर्वाद । तपाईंहरुसित चाँडै भेट्नेछु । मेरो तर्फबाट धेरैधेरै शुभकामना । गंगा बहिनी, धेरै छिटो आएर भेट्नेछु र बच्चाहरुलाई आफ्नो आशिर्वाद दिनेछु । थ्यांक यु र चाँडै भेट्नेछौं । हरहर महादेव । जय भोलेनाथ ।’

    यो भिडिओ सन्देशले धेरैलाई आश्चर्यमा पनि पारेको छ । सञ्जय दत्तसँग गंगा र स्मिताको निकटताको विषयमा धेरै कमलाई थाहा थियो । सञ्जय दत्तले गंगालाई बहिनी र स्मितालाई भाञ्जीको नाता लगाउनुमा विभिन्न अड्कलवाजीहरु भइरहेका छन् ।

    गंगाका पहिलो श्रीमान (स्मिताका पिता) नारायणविक्रम प्रधान नेपाली मूलका भारतीय हुन् । गंगा र नारायणबाट एक सन्तानका रुपमा स्मिताको जन्म भएको हो ।

    स्मिताले आफनो नाममा पिताको नभएर मावली थर प्रयोग गर्ने गरेकी छिन् । उनले नागरिकता पनि स्मिता दाहाल कै नाममा निकालेको बताइन्छ ।

    प्रधानसँग सम्वन्ध टुटेपछि गंगाले जीवन आचार्यसँग दोस्रो विवाह गरिन् । जीवन आचार्य कोशी प्रदेशसभा सदस्य छन् ।

    पहिलो श्रीमान भारतीय भएकाले उनीतिरबाट सञ्जय दत्तसित कुनै साइनो जोडिएको हुन सक्ने आशंका कतिपयले गरिरहेका छन् । तर, पारिवारिक स्रोतका अनुसार उनीहरुबीच कुनै पनि नाता–सम्वन्ध छैन । सञ्जय दत्तले आत्मियता दर्शाउन गंगालाई बहिनी र स्मितालाई भाञ्जी भनेका हुन् ।

    प्रचण्ड प्रधानमन्त्री भएको बेला भारत भ्रमणमा जाँदा सँगै गएकी गंगाले सञ्जय दत्त लगायत केही कलाकारहरुसँग भेटेकी थिइन् । सो पश्चात उनीहरुको बेलाबखत कुराकानी हुने गरेको थियो । स्मिताले पनि भारत गएका बेला सञ्जयदत्तलाई भेटेको बुझिएको छ ।

    यही चिनापर्चीका आधारमा गंगाले सञ्जय दत्तलाई छोरीको विहेमा विद्युतीय माध्यमबाट निम्तो पठाएकी थिइन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि कलाकारहरु सुरेश ओबराय, कैलाश खेर लगायतलाई पनि निमन्त्रणा गरेकी थिइन् ।

    मोदीले पठाएको सन्देश गंगाले सार्वजनिक गरिसकेकी छन् । सुरेश ओबराय र कैलाश खेरले पनि शुभकामना सन्देश पठाएको बुझिएको छ । सुरेश र उनका छोरा विवेक ओबराय नेपाल भ्रमणमा आएका बेला खुमलटारस्थित निवासमा पुगेर प्रचण्ड परिवारलाई भेटेका थिए ।

  • सुदीप भूपाल सिंह निर्देशित ‘श्री बुकुरो’ घोषणा

    सुदीप भूपाल सिंह निर्देशित ‘श्री बुकुरो’ घोषणा

    काठमाडौं । सुदीप भूपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को औपचारिक घोषणा गरिएको छ ।

    छायांकन पुरा भएर हाल पोष्ट प्रोडक्सनमा रहेको सिनेमाको यतिबेला पोस्ट प्रोडक्सनमा रहेको सिनेमाको यही हप्ता टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सिंहले बताएका छन् ।

    फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

    सिनेमाको निर्माण टिमले मङ्गलवार सार्वजनिक गरेको स्केच पोस्टरमा आशीर्वादसहितका कलाकारहरू चित्रित छन् भने एउटा घर र मन्दिर पनि देख्न सकिन्छ ।

    ग्रामीण परिवेशको कथामा सिनेमा बनेको पोस्टरले बुझाउँछ । बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ । सिनेमाले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक पोस्टरबाट बुझ्न सकिन्छ ।

    यो सिनेमाबाट निर्देशक सुदीप भूपाल सिंह ७ वर्षपछि निर्देशनमा कमव्याक गर्न लागेका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।

    उनले निर्देशन गरेका दुवै सिनेमाले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएका थिए । पारिवारिक कथामा निर्माण भएको श्री बुकुरोले पनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्देशक सिंहलाई छ ।

    निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको सिनेमालाई सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन् । मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म छायांकन भएको सिनेमाको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ ।

  • ‘ढले ढले…’ गाउँदै स्टेजमा उफ्रिँदा शान्तारानीको चोलो फुस्किएपछि…

    ‘ढले ढले…’ गाउँदै स्टेजमा उफ्रिँदा शान्तारानीको चोलो फुस्किएपछि…

    काठमाडौं । गायिका शान्तारानी परियार आफ्नो भाइरल गीत ‘ढले ढले…’ गाउने क्रममा स्टेजमा लज्जित भएकी छन् । गीत गाएर नाच्दानाच्दै उनको चोली फुस्कियो ।

    नवलपरासीको सुनवलमा गत मंसिर १२ देखि २४ सम्म चलेको सुनवल महोत्सवमा प्रस्तुति दिन गएकी थिइन् शान्ता रानी । उनी आफ्नो स्टेज प्रस्तुतिमा ज्योती मगरकै शैलीमा उफ्रिपाफ्री गर्ने गर्छिन् । ढले ढले… गाउने क्रममा बुरुक–बुरुक उफ्रिँदा अचानक उनको चोलोको पछाडिको खिप फुस्किएको थियो ।

    गाउँदागाउँदै चोलो फुस्किएको थाहा पाएपछि शान्तारानीले आत्तिँदै जिभ्रो टोकिन् र स्टेजको ब्याक इन्डतर्फ दौडिइन् । धन्न लामो कपालले छोपिएर उनको ढाड उदांगो हुन पाएन ।

    स्टेजको सोफामा बसेकी एक महिला अतिथिले शान्तारानीको चोलोको खिप लगाइदिइन् । खिप लगाउने क्रममा पनि शान्तारानीले ‘ढले ढले…’ गीतलाई निरन्तरता दिइरहेकी थिइन्, तर उनी निकै नर्भस देखिन्थिन् ।

    चोलो ठीक भएपछि उनी फेरि अगाडि आइन् र फेरि बुरुक बुरुक उफ्रिन थालिन् ।

  • दीपेन्द्र लामाको ‘दुःखी आत्मा’मा श्रवण मुकारुङका १० कविता

    दीपेन्द्र लामाको ‘दुःखी आत्मा’मा श्रवण मुकारुङका १० कविता

    काठमाडौं । कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतीक्षित फिल्म ‘दुःखी आत्मा’ का लागि विभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् ।

    दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित ‘दुःखी आत्मा’ को पटकथाअनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र सिच्युसनअनुसार राखिएको बताइएको छ । चलचित्रका मुख्य कलाकार दयाहाङ राई कविकै भूमिकामा भएको बताइएको छ ।

    ‘माथि माथि शैलुङ्गेमा’, ‘तिमी तारेभीर’, ‘राई माइलाले गाउँ छोड्यो रे’ जस्ता बहुचर्चित गीतका रचनाकार मुकारुङले आफू ‘दुःखी आत्मा’मा फुलटाइमर कविका रुपमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरे ।

    उनले भने, ‘चलचित्रका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो । म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न आतुर छु ।’

    फिल्मको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरुको स्वभावबीच एकरुपता पाइएकाले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले प्रष्ट्याए ।

    उनले भने, ‘कवि मुकारुङका कविताले फिल्मको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो ।’

    मुकारुङका अधिकांश कविता ‘दुःखी आत्मा’ का प्रमुख अभिनेता दयाहाङ राईमाथि फिचरिङ गरिएको बताइएको छ ।

    क्लक वर्क क्रियसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदीप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा छन् ।

    आलोक शुक्लाले खिचेको फिल्म भ्यालेन्टाइन डेको अवसरमा फागुन २ मा प्रदर्शन हुँदैछ । फिल्मलाई आरआर फिल्मस्‌ले वितरण गर्दैछ । फिल्मको हाल सम्पादन कार्य भइरहेको छ ।

  • ‘१० लाख…’ भन्दै हुटिङ गर्ने दर्शकलाई समीक्षाले स्टेजबाटै थर्काइन्

    ‘१० लाख…’ भन्दै हुटिङ गर्ने दर्शकलाई समीक्षाले स्टेजबाटै थर्काइन्

    रुपन्देही । गायिका समीक्षा अधिकारी अहिले देश–विदेशका स्टेज कार्यक्रममा निकै डिमान्डेड छिन् । ‘बुझिन मैले बुझाइदेऊ कसैले…’ गीत भाइरल भएदेखि उनको व्यस्तता निकै चुलिएको छ ।

    गत शनिवार समीक्षा कपिलवस्तुको बाणगंगास्थित जितपुरमा आयोजित ‘कपिलवस्तु महोत्सव’ मा गीत गाउन पुगिन् । त्यहाँ उनको गीत सुन्न बाक्लै भीड जम्मा भएको थियो । तर, प्रस्तुति दिनुभन्दा अगाडि नै समीक्षालाई नमिठो झट्का लाग्यो, जब दर्शकदीर्घाबाट केही व्यक्तिले उनलाई होच्याउँदै होहल्ला गरे ।

    माइक समातेर गीत गाउन ठिक्क परेको बेला दर्शकदीर्घाबाट ‘१० लाख… १० लाख…’ को आवाज समीक्षाको कानामा ठोक्किएको थियो । यस्तो शब्दले उनको पारो तातिहाल्यो । उनले आफूलाई जवाफ दिनबाट रोक्न सकिनन् । हुटिङ गर्ने दर्शकतर्फ औँला उठाउँदै उनले कडा प्रतिवाद गरिन् ।

    ‘तपाईँको दिदी, तपाईँको आमा, तपाईँको बहिनी हो १० लाख ? आफ्नो दिदीबहिनीलाई भन्या हो ? गएर आफ्नो आमालाई भन्नु न जानु… सुन्नुभयो नि… ’ समीक्षाले चुनौती दिँदै भनिन् ।

    त्यसपछि दर्शकले उनको समर्थनमा हुटिङ गर्न थाले । समीक्षाले दर्शकलाई सम्बोधन गर्दै भनिन्, ‘ल ठीक छ, अब त्यस्ता झारपात कुरामा ध्यान दिनु हुँदैन है । कि कसो ? अगाडि बढ्नुपर्छ है… जिन्दगीमा दुखको दिन सबै जनाको आउँछ के… कसैको देखिन्छ, कसैको देखिँदैन… फरक यत्ति हो… मेरो मात्रै लाइफमा होइन, भोलि तपाईँको आफ्नो छोरो चेली बैनीलाई पर्न सक्छ । त्यो बेला थाहा हुन्छ तपाईँलाई । अहिले अरूलाई गिराउन त सजिलो छ नि… । फरक पर्दैन भाइ फरक पर्दैन‍… । तर फेरि मैले चैँ मनमा लिन्न है।… अब त्यस्ता कुरा छाडिदिऊँ…’

    यति भनेपछि उनी आफ्नो प्रस्तुतिमा अगाडि बढिन् ।

    उत्साहित मुद्रामा स्टेज चढ्दै गर्दा निकै समीक्षा सुरुमै यस्तो परिस्थिति झेल्नु पर्दा निराश बनेको सहभागीहरूले जनाएका छन् । उनी स्टेज चढेर हातमा माइक लिनेबित्तिकै युवाहरूको एक समूहले हुटिङ गरेको स्थानीय पत्रकार जानु पाण्डेले बताए ।

    सुरुमै आएको व्यवधान सामना गर्दै समीक्षाले आफ्नो प्रस्तुति दिइन् । उनले ‘सुर्ती माड्दै माड्दै’, ‘हावा चिसो चिसो’, ‘धनगढीको बसमा’, ‘नबोली नबोली तिमीसँग’… बोलका गीत गाएकी थिइन् । साथै आफ्नो नयाँ गीत ‘मेरो राशि तुला, उनको राशि कन्या’ को प्रचार पनि गरिन् ।

    ‘१० लाख’ को आरोप र सत्यता

    भनिरहनु नपर्ला, समीक्षामाथि ‘१० लाख’ भन्दै हुटिङ गर्नेहरू अभिनेता पल शाहका फ्यान थिए । उनीहरू समीक्षालाई अपमानित गर्ने योजनाका साथ नै आएको आयोजकको अनुमान छ ।

    समीक्षाले पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा हालेकी थिइन् । जिल्ला अदालत नवलपुरले २०७९ साल भदौमा पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । साथै, पलले समीक्षालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसलामा उल्लेख थियो ।

    समीक्षाले भने आफूलाई आर्थिक क्षतिपूर्ति नचाहिने बताएकी थिइन् । उनले सार्वजनिकरुपमा नै १० लाख रुपैयाँ नलिने घोषणा गरेकी थिइन् । तर पलका फ्यानहरुले भने अहिलेसम्म पनि उनलाई ‘१० लाख’ भन्दै होच्याउने गरेका छन् । सामाजिक सञ्जालमा पनि उनको पोस्टहरुमा यस्तो कमेन्ट आउने गरेका छन् ।

    समीक्षाले पछि पल शाहलाई लगाएको आरोप फिर्ता लिएर सजायबाट उन्मुक्ति दिइसकेकी छन् । उनले बयान फेरेपछि उच्च अदालतले पललाई सफाइ दिएको थियो ।

  • ‘पूर्णबहादुरकाे सारङ्गी’का निर्माता र वितरकबीच विवाद, पौडेल भन्छन्- प्रदर्शन नरोकिए कानूनी प्रक्रियामा जान्छु

    ‘पूर्णबहादुरकाे सारङ्गी’का निर्माता र वितरकबीच विवाद, पौडेल भन्छन्- प्रदर्शन नरोकिए कानूनी प्रक्रियामा जान्छु

    काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ लाई हलबाट उतार्ने विषयलाई लिएर निर्माता र वितरकबीच असमझदारी उत्पन्न भएको छ । भोलि सोमबारबाट कुनै पनि हलमा ‘पूर्णबहादुरको सारंगी’ नचलाउने निर्माताको घोषणालाई वितरकले अस्वीकार गरेका छन् ।

    दक्षिण भारतीय चलचित्र पुष्पा २ रिलिज भएपछि देशभरका हलहरुले नेपाली चलचित्रलाई दिएका शोहरु अधिकांश काटेका थिए । दर्शकले अत्यधिक रुचाएको पूर्णबहादुरको सारंगी पनि न्यून शोमा खुम्चिएको छ । यसबाट असन्तुष्ट बन्दै निर्माण कम्पनी सेभेन सिजले हलबाट आफ्नो चलचित्र उतार्ने घोषणा गरेको थियो । तर, यो निर्णयका बाबजुद पनि सो चलचित्र हलहरुमा प्रदर्शन जारी रहने देखिएको छ ।

    वितरकसँगको सम्झौतामा उल्लेखित शर्तका कारण निर्माण कम्पनीले चलचित्र उतार्न नसकेको हो । सम्झौता पत्रमा चलचित्र प्रदर्शन भएको दिनदेखि ६ महिनासम्म वितरण तथा प्रदर्शन अधिकार वितरकमा निहित हुने उल्लेख छ । समयावधि दुवै पक्षबीचको आपसी सहमतिमा थपघट गर्न सकिने पनि जनाइएको छ ।

    ‘पूर्णबहादुरको सारंगी’को एक वितरक कम्पनी टि–फोकका सञ्चालक प्रचण्डमान श्रेष्ठले एक पक्षको मात्रै निर्णयले चलचित्रको प्रदर्शन नरोकिने बताए । चलचित्रको प्रदर्शन रोक्नका लागि दुवै पक्षबीच छलफल हुनुपर्ने पहिलो सर्त भएको उनको भनाइ छ ।

    श्रेष्ठले भने, ‘आपसी छलफल गरेर प्रदर्शन रोक्ने भन्ने हुन्छ होला । अनि हामीले हलवालाहरुसँग पनि छलफल गर्नुपर्यो होला । सम्झौतामा के छ भन्ने पनि हेर्नुपर्यो ।’

    चलचित्र क्षेत्रलाई मर्यादित बनाउने जिम्मेवारी सबैको भएका कारण सबै पक्ष गम्भीर हुनुपर्ने उनी बताउँछन् ।

    श्रेष्ठले थपे, ‘हामीले सम्झौतालाई टेकेर अप्ठ्यारोमा पारेको होइन । तर, दुवै पक्षलाई चित्त बुझेन भने हटाउने हो । एक पक्षको मात्रै निर्णय लागु हुन सक्दैन ।’

    सेभेन सिजले चलचित्रको प्रदर्शन रोक्ने निर्णय गर्दै गर्दा आफूहरुसँग छलफल नभएकाले यस्तो जटिलता आएको उनले गुनासो गरे । यही विषयमा आज दुवै पक्ष छलफलमा बसेर निर्णय लिने श्रेष्ठले बताए ।
    निर्माता विनोद पौडेल भने आफ्नो चलचित्रको प्रदर्शन जारी राखिएमा कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।

    उनले नेपाल प्रेसलाई भने, ‘अब हामी कानूनी प्रक्रियामा जान्छौं । वितरकलाई वितरण गरेवापत् जम्मा पाँच प्रतिशत कमिसन दिएको हो । चलचित्रमा वितरकको एक रुपैयाँ पनि लगानी छैन । अनि हाम्रो चलचित्रको निर्णय गर्न हामीलाई नै नदिने ?’

    विश्वासका आधारमा सम्झौता गरेका कारण बुँदाबुँदा नपढेको पौडेलले बताए । अहिले हल संचालक र वितरक मिलेर आफुहरुको अनुमतिविना चलचित्रलाई हलमा चलाइरहेको उनको आरोप छ ।

    ‘पुष्पा २ का कारण हलले हाम्रो चलचित्रलाई कर्नरिङ गरेको छ । यहाँ पो वितरकले हलसँग छलफल गरेर शोहरु मिलाउने होला । उहाँहरुले आफ्नो काम चाहीँ नगर्ने’, पौडेलले दुखेसो पोखे, ‘वितरकलाई किन शो कम भयो भनेर सोध्दा अकुपेन्सी छैन भन्छ । अकुपेन्सी नभएको चलचित्र किन हलमा लगाउनुहुन्छ त ?’

    शुक्रबार र शनिबार दर्शक आउने समयमा चाहीँ हिन्दी चलचित्रलाई शो दिने, अनि मंगलबार, बुधबारजस्तो ५० प्रतिशत मात्रै कमाइ हुने दिनहरुमा नेपाली चलचित्रलाई शो दिनु एक खालको राजनीति नै भएको पौडेलले बताए ।

    उनले भने, ‘अफिस टाइमका दिन, पचास प्रतिशत टिकट सस्तो भएको दिन केही शो दिएर नेपाली चलचित्रलाई माया गर्यौं भन्न त मिलेन नि ! यो त नेपाली चलचित्रलाई युज एण्ड थ्रो टाइपको भयो ।’

    कानुनी अड्चनको विषयमा पौडेलले थप भने, ‘चलचित्रमा दुःख गरेर कमाएको पैसा हालेर चलचित्र बनाएको हो । तर, सम्झौतामा यत्रो ठूलो अधिकारको कुरा हाल्नुभएछ । मैले पनि चिनजानको मान्छे हो नि, ठिकै छ भनेर साइन गरिदिएँ । तर, अहिले आएर यस्तो अप्ठ्यारो पर्यो ।’

    हिन्दी चलचित्र वितरक र हल मालिकले नै किनेर ल्याएका कारण आफूहरुलाई कर्नरिङ गरिएको पौडेलको भनाइ छ । उनले थप भने, ‘यो वितरक र हलवालाको दादागिरी हो, अरु केही होइन । हामी कानुनी उपचारमा जान्छौं ।’

    गत कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको यस चलचित्रले अहिलेसम्म ४७ करोड हाराहारीको व्यापार गरेको छ । चलचित्र ५० करोडको माइलस्टोनतर्फ अग्रसर हुँदै गर्दा वितरक र निर्माताबीच लफडा भएको हो ।

  • ‘फातसुङ’का लेखक छुदेन काविमोको नयाँ उपन्यास ‘उरमाल’ आउँदै

    ‘फातसुङ’का लेखक छुदेन काविमोको नयाँ उपन्यास ‘उरमाल’ आउँदै

    काठमाडौं । पाँच वर्षअघिको चर्चित उपन्यास ‘फातसुङ’का लेखक छुदेन काविमोको नयाँ उपन्यास ‘उरमाल’ बजारमा आउने भएको छ ।

    उपन्यास यही माघको तेस्रो सातातिर बजार आउने लेखक काविमोले बताए । ‘उरमाल’को अर्थ चाहिँ चिया टिप्ने झोली हो ।

    यस पटक ‘उरमाल’मा चिया बगानको कथा टिपेको काविमो बताउँछन् । उनी भन्छन्, ‘संसारका अधिकांश मानिसहरूले जुन चिया पिएर दिनको सुरुवात गर्छन्, उरमाल त्यही चिया उमार्नेहरूको कथा हो ।’

    यसअघि काविमोले भारतीय नेपालीभाषीले गरेको गोर्खाल्याण्ड आन्दोलनको पेरिफेरिमा ‘फातसुङ’ लेखेका थिए ।

    उक्त उपन्यासलाई पाठकहरूले अत्यधिक रुचाएका थिए भने अंग्रेजी, बंगाली, हिन्दी र सिन्धी भाषामा पुस्तकको अनुवाद भइसकेको छ । साथै भारतीय लेखकहरूलाई दिइने प्रतिष्ठित अवार्ड ‘जेसिबी प्राइस इन लिट्रेचर’मा समेत सर्टलिस्टमा परेको थियो ।

  • धनगढीमा ‘दृश्यमा सुदूरपश्चिम’ सार्वजनिक

    धनगढीमा ‘दृश्यमा सुदूरपश्चिम’ सार्वजनिक

    कैलाली। सुदूरपश्चिम प्रदेशको धनगढीमा ‘दृश्यमा सुदूरपश्चिम’ विमोचन भएको छ । एभरेष्ट ग्यालरी टिमले सुदूरपश्चिम प्रदेशका कैलारी गाउँपालिका तथा जोरायल गाउँपालिका क्षेत्रमा छायांकन गरिएको दुईवटा भिडियो शुक्रबार सार्वजनिक गरिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भिडिओ सार्जनिक गरेका हुन्।

    समसामयिक कथालाई प्रस्तुत गरिएको ‘भुल्नै गाह्रो भो’ म्युजिक भिडियो एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक भएको हो । सनम कठायत र पवित्रा शाखीको मुख्य अभिनय रहेको भिडियोमा जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझाको पनि अभिनय छ ।

    भिडियोमा दिपक गीरीको छायांकन, अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन छ । सनम कठायतको कथा रहेको भिडियोमा विशाल सुनारको प्रस्तुति छ । गीतमा उमेश मुस्कान र अनु चौधरीको स्वर सजिएको छ ।

    समारोहमा एभरेष्ट साहित्य सम्मानबाट निर्मलकुमार भण्डारी, एभरेष्ट पर्यटन प्रवर्द्धन सम्मान खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकाया, एभरेष्ट देउडा रत्न सम्मान गायक भुवनप्रसाद दाहाल, एभरेष्ट पर्यटन सम्बर्द्धन सम्मान मायाप्रकाश भट्ट, पत्रकारिता सम्मान चित्राङ्ग थापा, युवा समाजसेवी सम्मान किरण मल्ल, शिक्षा तथा समाजसेवी सम्मान योगेन्द्र हमाल, कृषि उद्यमी सम्मान खड्क मल्ललाई प्रदान गरियो । साथै युवा पर्यटन प्रचारप्रसार सम्मानबाट भरतविक्रम शाह पनि सम्मानित भएका थिए ।

  • पल शाहले भनेः मेरो विहेको खबरले आफैँ चकित छु

    पल शाहले भनेः मेरो विहेको खबरले आफैँ चकित छु

    काठमाडौं । अभिनेता पल शाहले विवाह गर्न लागेको हल्ला यतिबेला सिने नगरीमा ब्याप्त छ । केहीले सञ्चारमाध्यमले माघमा उनको विहे हुन लागेको भनेर समाचार नै बनाएका छन् ।

    यस विषयमा मुख खोल्दै पलले समाचारको खण्डन गरेका छन् । बिहेको खबरले आफैं चकित परेको उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा पलले लेखेका छन्, ‘मेरो विहेको खबरले म आफैँ चकित छु । साथी भाईहरुले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।’

    चर्चित सिनेपत्रकार प्रकाश सुबेदीले आफ्नो कार्यक्रम रजतपटमा एमालेकी एक विद्यार्थी नेतृसँग पलले विवाह गर्न लागेको जानकारी आफूले पाएको बताएका थिए ।

    हिजो प्रसारित कार्यक्रममा उनले विहेको तयारी भित्रभित्रै जोडतोडले चलिरहेको पनि दावी गरेका छन् ।

  • पुष्पा २ : फाेगट कथामा भद्दा सिक्वेल

    पुष्पा २ : फाेगट कथामा भद्दा सिक्वेल

    दक्षिण भारतीय चलचित्र ‘पुष्पाः द रुल’ आजबाट विश्वव्यापी रुपमा प्रदर्शन भयो । चलचित्रले एडभान्स बुकिङदेखि बक्स अफिस कलेक्सनसम्म रेकर्ड नै रेकर्ड राखेको छ । विश्वव्यापी रुपमा पौने तीन सय करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण गरिएको यस चलचित्रले अग्रिम बुकिङमा ‘बाहुबली २’ र ‘केजीएफ २’ को रेकर्डलाई समेत तोड्यो ।

    ‘पुष्पा २’ यस वर्षकै बहुप्रतिक्षित चलचित्र बन्नुको मुख्य कारण हो पहिलो सिक्वेल’को क्रेज । तीन वर्षअघि प्रदर्शन भएको ‘पुष्पा’ले दर्शकको अत्यधिक माया पाएको थियो । बक्स अफिसमा ब्लकबस्टर सावित पनि भएको थियो । यो चलचित्र सफल हुनुको मुख्य कारण थियो, यसको विषयवस्तु । भुइँबाट उठेर एउटा आर्थिक उचाइ प्राप्त गरेको पुष्पाराजको संघर्षले धेरैलाई छोएको थियो ।

    एउटा आम मान्छे, त्यसमा पनि बाउको थर नपाएको सामान्य युवाले गरेको संघर्षलाई दर्शकले आफूसँग जोडेर हेरे । ती युवाले प्राप्त गरेको आर्थिक सफलता अहिलेको पूँजीवादी युगमा हरेक मान्छेको सपना हो । सँगै पुष्पाराजको भूमिका निभाएका अल्लु अर्जुनको स्टाइल, डाइलग डेलिभरीले पनि दर्शकलाई प्रभावित तुल्यायो ।

    पैसाका लागि पुष्पाराजले गरेको रक्तचन्दनको गैरकानूनी धन्दा र यसमा आउने अप्ठ्याराहरु अनि पुष्पाराजको उदय नै ‘पुष्पा’ फिल्मको केन्द्रीय विषयवस्तु थियो । पुष्पाराजलाई दर्शकले मन पराउनुमा यही विषयवस्तुभित्र आइपुग्ने पात्रहरु श्रीवल्ली, एसपी भवरसिंह शेखावत, मंगलम श्रीनु, केशव, एमपी नायडु लगायतको भूमिका पनि अहम् थियो । पुष्पाराजको बाल्यकाल, संघर्ष र अनि सफलता (आर्थिक) लाई दर्शकले रुचाएका कारण ‘पुष्पा २’ बहुप्रतिक्षित बनेको थियो ।

    तर, ‘पुष्पा २’ ले भने दर्शकलाई निराश बनाएको छ । ठूलो अपेक्षा बोकेर हलसम्म पुगेका दर्शकहरु दिक्क मानेर फर्किनेछन् ।

    फिल्मको पहिलो कमजोरी नै अनावश्यक तन्काइएको कथा र अपत्यारिलो पटकथा हो । रक्त चन्दनको पैसा उठाउन कन्टेनरभित्र ४० दिन बसेर जापान पुगेका पुष्पाराजको इन्ट्री फाइटबाट हुन्छ । ४० दिनसम्म कन्टेनरमा थुनिएको व्यक्ति जिउँदो मात्र निस्किँदैन, कन्टेनरभित्रको अँध्यारोमै उसले जापानिज भाषा सिकिसकेको हुन्छ ।

    अविश्वसनीय तरिकाले कथा भन्नु दक्षिण भारतीय चलचित्रको विशेषता नै हो । दक्षिण भारतीय चलचित्रमा गाडी उड्नु, हिरोले सयौं गुण्डाहरु चुट्नु, धमकेदार तोडफोड हुनु नौलो कुरा होइन । अधिकांश व्यवसायिक दक्षिण भारतीय चलचित्र ‘लार्जर द्यान लाइफ’ हुन्छन् । तर, जति नै ‘लार्जर द्यान लाइफ’ भए पनि दृश्यहरु त तर्कसंगत हुनुपर्यो नि ! बन्द अनि अँध्यारो कन्टेनरभित्र ४० दिनसम्म थुनिएको हिरो सद्दे निस्किनुको तर्कसंगत जवाफ चाहिएन ?

    त्यसपछि पनि कथा उही छ । रक्तचन्दनको तस्करहरुको नाइके छ पुष्पाराज । अनि पुष्पाको राजलाई साइको प्रहरी अफिसर शेखावतले रोक्न खोज्छ । यहाँ इगोको लडाइँ हुन्छ । पुष्पाराजलाई शेखावतले रोक्न सक्छ त ? ‘पुष्पा २’को केन्द्रीय कथा यही हो ।

    चलचित्रका पुष्पाराज स्मग्लर भएका कारण मुख्यमन्त्रीले ऊसँग फोटो खिचाउन मान्दैन । पुष्पाराजले श्रीवल्ली (रश्मिका मन्दना)लाई फोटो खिचाउने वचन दिएको हुन्छ । अनि त के ? ५०० करोडको जुगाड गरेर पुष्पाराजले सरकार नै बदलिदिन्छ, नायडु मुख्य मन्त्री बन्छ ।

    ‘पुष्पा २’को कथा यहीँ टुंगिदैन । पुष्पाको दाइ (जसले पुष्पालाई बाउको थर दिन मान्दैन)को छोरीलाई गुण्डाले उठाउँछ । गुण्डा चाहिँ नायडुलाई मुख्यमन्त्री बनाउने पार्टीको माथिल्लो तहको नेताको भतिजा हुन्छ । पुष्पाराज हेलिकोप्टरमा बहिनी बचाउन जान्छ । कथाको सार यस्तै नै हो ।

    यहाँ मुख्य समस्या भनेको तेस्रो सिक्वेलको लोभमा अनावश्यक कथा तन्काइनु हो । पुष्पाको अघिल्लो श्रंखलामा कहीँकतै सम्बन्ध नभएका पात्रलाई ल्याएर, भिलेन बनाएर, पुष्पाराजसँग फाइट खेलाएर तेस्रो सिक्वेलको ढोका खोल्न खोजिएको छ । पुष्पाराजकी बहिनी अपहरण गर्ने पात्रको ग्याङ र पुष्पाराजबीच जात्रामा बिनासित्ती फाइट खेलाइएको छ, जसको कुनै तुक छैन । दर्शकले सिठ्ठी बजाओस् भन्ने लोभमा खिचिएका यस्ता दृश्य वकबास छन् ।

    यस्ता दृश्य राखिनुको पछाडि दृश्य ब्राण्ड भएपछि जे देखाए पनि चल्छ भन्ने निर्देशक सुकुमारको मानसिकता बाहेक अर्थोक केही होइन । र यही मनोविज्ञानले प्रेरित भएर झण्डै साढे तीन घण्टासम्म कथा तन्काइनु दर्शकमाथिको अत्याचार हो ।

    हिरोले स्टाइल देखाएर, कडा आवाजमा डाइलगहरु बोलेर, शानदार फाइट खेलाएर मात्रै चलचित्र राम्रो बन्दैन । कथा जति अविश्वासनीय भए पनि विश्वासनीय तरीकाले भन्न जान्नु पर्दछ । ‘पुष्पा २’ यहाँनेर नराम्ररी चुकेको छ ।

    अल्लु अर्जुनको अभिनय सदावहार छ, उस्तो नयाँपन केही छैन । रश्मिका मन्दनाको भूमिका लामो नभए पनि अभिनय गज्जबको छ । अफिसर शेखावत (फहाद फसिल) को अभिनय पहिलो श्रंखलामा जति भव्य थियो, दास्रोमा त्यस्तो दमदार छैन । शेखावतको अभिनय एकदमै फितलो छ ।

    चलचित्रको मुख्य कमजोरी भनेकै पुष्पाराजमाथि मात्रै चलचित्र अत्यधिक केन्द्रित हुनु हो । अन्य पात्रहरु निर्माणमा राम्रोसँग मिहेनत नगरिँदा चलचित्र कमजोर बनेको छ । अघिल्लो सिक्वेलमा पो पुष्पाराज सामान्य मजदुरबाट तस्करहरुको नेता बन्दासम्मको यात्रा भएकाले दर्शकले रुचाए । ‘पुष्पा २’मा त पुष्पाराजको कुनै यात्रा नै छैन, यउताउता गरेर समय व्यतित गरिएको मात्रै छ ।

    एन्टागोनिस्ट जति बलियो भयो, प्रोटागोनिस्ट उत्ति नै प्रभावकारी भएर जाने हो । तर, ‘पुष्पा २’मा प्रोटागोनिस्टमाथि कथा बढी केन्द्रित छ । पटकथालाई अनावश्यक रुपमा बहकाउँदा, तेस्रो सिक्वेलको लोभ गर्दा चलचित्र अपेक्षित बन्न सकेन । चलचित्र खल्लो र औसतभन्दा कमजोर बनेको छ ।

    चलचित्रको सम्पादन र सिनेम्याटोग्राफी प्रशंसालायक छ । चलचित्रका नृत्यहरुको कोरियोग्राफी पनि गज्जब छ । दर्शकलाई मजा आउने भनेको चाहिँ पुष्पाराजले आफ्नो थर पाउँछ ।

    अघिल्लो सिक्वेलमा ‘झुकेगा नही’ भन्दा जति मजा आउँथ्यो, त्यति मजा ‘पुष्पा २’मा आउँदैन । खासमा ‘पुष्पा २’मा पुष्पाराजको कुनै संघर्ष नै छैन । धुमधडका फाइट, नृत्य, डाइलगले मात्रै चलचित्र राम्रो बन्न सक्दैन । कमजोर पटकथाको जगमा निर्माण भएको ‘पुष्पा २’ ले विष्फोटक ओपनिङ गरे पनि बक्स अफिसमा लामो यात्रा गर्नेमा सन्देह छ ।

     

  • डम्बर याक्सोको आमाको तिर्सना सार्वजनिक

    डम्बर याक्सोको आमाको तिर्सना सार्वजनिक

    काठमाडौं । आफूलाई जन्म दिने ममतामयी आमा गुमाउनुपर्दाको पीडालाई केन्द्रमा राखेर कवि तथा गीतकार डम्बर याक्सो लिम्बुले ‘आमाको तृष्णा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

    सेवा टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ योगेन मुकारुङले गरेका हुन् भने गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् । जीवन मुकारुङको निर्देशन तथा सम्पादन रहेको यस गीतको म्युजिक भिडियोको छायांकन पारस मुकारुङले गरेका हुन् ।

    याक्सोका दर्जन जति गीत सार्वजनिक भइसकेका छन् । उनको कवितासंग्ह ‘मेरा मनका अव्यक्त भावहरु’ केही महिना पहिलो सार्वजनिक भएको छ ।

  • गायक नरेश खातीको ‘तिम्लाई नै सताउने हो’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो)

    गायक नरेश खातीको ‘तिम्लाई नै सताउने हो’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो)

    काठमाडौं ।गायक एवम सर्जक नरेश खातीको ‘तिम्लाई नै सताउने हो’ गित सार्वजनिक भएको छ । खतीकै शब्द संगीत र स्वर रहेको गीतमा अनु चौधरीको साथ दिएकी छन् भने गायक एवम सर्जक खाती र चर्चित मोडल उषा उप्रेतीको अभिनय रहेको छ । लभ र रोमान्टिक म्यूजिक भिडियोको निर्देशन बिनोद भण्डारीले गरेका हुन् ।

    किशोर अवस्था र युवालाई लक्षित गरि रोमान्टिक लव समेटेर बनाइएको गितले दर्शकको मन जित्ने आशा राखिएको गायक एवम सर्जक खातीले बताए । मेक्सम नेरेस अफिसियल युट्युव च्यानलबाट बुधबार उक्त गीत सार्वजनिक भएको हो ।