Category: कलाप्रेस

  • ओलीको ‘बिग फ्यान हुँ’ भन्दै एमाले प्रवेश गरिन् मिसेस हेरिटेज इन्टरनेशनल विभा बस्नेत (भिडिओ)

    ओलीको ‘बिग फ्यान हुँ’ भन्दै एमाले प्रवेश गरिन् मिसेस हेरिटेज इन्टरनेशनल विभा बस्नेत (भिडिओ)

    काठमाडौं । गत महिनामात्र सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जितेर नेपालको कीर्तिमान कायम गरेकी विभा बस्नेत राजनीतिमा प्रवेश गरेकी छन् । आइतबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममार्फत उनी नेकपा एमालेमा प्रवेश गरेकी हुन् ।

    बस्नेतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोगो लगाइदिएर एमालेमा स्वागत गरेका हुन् । थाइल्याण्डमा सम्पन्न मिसेस हेरिटेज इन्टरनेशनलको प्रतियोगितामा नेपालको तर्फबाट भाग लिएकी बस्नेत संसारभरका प्रतिस्पर्धीलाई उछिनेर उपाधि जित्न सफल भएकी थिइन् ।

    पार्टी प्रवेश गर्दै उनले आफू अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बिग फ्यान’ भएकाले राजनीतिमार्फत सामाजिक काम गर्न एमाले प्रवेश गरेको बताइन् । यो सातौं संस्करणको उपाधी जित्ने उनी पहिलो नेपाली हुन् ।

    प्रतियोगितामा भारत, थाइल्याण्ड, बेलायत, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, न्युजिल्याण्ड, मेक्सिको, लाट्भिया, मलेसिया, सर्बियालगायत देशका सहभागी थिए ।

    मिसेस हेरिटेजकाे ताज पहिरिँदै बस्नेत ।

     

  • ‘ज्वाइँ साब’ पछि ‘कार्साङ्’ लिएर आउँदै जितु नेपाल, दर्शकसँग साक्षात्कार गर्न आतुर

    ‘ज्वाइँ साब’ पछि ‘कार्साङ्’ लिएर आउँदै जितु नेपाल, दर्शकसँग साक्षात्कार गर्न आतुर

    काठमाडौं । सानो पर्दाबाट हाँस्य- कलाकारको रूपमा उदाएका र कमेडी क्षेत्रमै आफ्नो छुट्टै छवि बनाएका जितु नेपाल उर्फ ‘मुन्द्रे’ अहिले ठूलो सिनेमाका हिरो भइसकेका छन्। सुरुवाती दिनहरुमा सहायक भूमिकामा देखिँदै आएका जितु अहिले चलचित्रमा लिड रोलमा देखिन थालेका छन्।

    पहिला उनी ‘छक्का पञ्जा’ टिमसँग आबद्ध थिए। लामो समय दिपक-दिपासँग सहकार्य गरेका जितु पछि केहि मनमुटावका कारण यो टिमबाट बाहिरिए। त्यतिबेला उनी चलचित्र ‘छक्का पञ्जा’ मा सहायक भूमिकामा देखिने गर्दथे।

    टिमबाट बाहिरिएसँगै जितुले अब के गर्लान भन्ने धेरैको मनमा थियो। सबैको कौतुहलतालाई चिर्दै उनले दर्शकमाँझ कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ ल्याए। सुरुवाती चरणमा ठिकै रहेको यो शोले लामो समय दर्शकलाई हसाइरहन सकेन।

    यो शो पछि जितुको करियरबारे धेरै टिकाटिप्पणीहरु भए। ‘छक्का पञ्जा’ टिमबाट बाहिरिनु उनलाई नफाफेको भन्दै धेरैले प्रतिक्रिया समेत दिए।

    आफ्नो करियरबारे प्रश्न उठिरहेको बेला जितु झन बलियो भएर फर्किए। सहायक भूमिका निभाइरहेका जितु लिड हिरो भएर दर्शकमाँझ देखिए। आफू लिड हिरो भएर खेलेको चलचित्र ‘ज्वाइँ साब’ लाई दर्शकले पनि रुचाए। ३ चलचित्र एकैपटक लाग्दा पनि जितु अभिनित चलचित्र ‘ज्वाइँ साब’ ले जितुलाई निराश बनाएन। अहिले उनको हातमा कामको कमी छैन।

    पहिलो चलचित्र ‘ज्वाइँ साब’ बाट राम्रो प्रतिक्रिया बटुलेका जितु यतिबेला आफ्नो अर्को चलचित्र ‘कार्साङ्’ मा व्यस्त छन्। चलचित्रको रिलिज मिति नजिकिएसँगै उनी पुन: एकपटक दर्शकसँग साक्षात्कार गर्न आतुर छन्।

    दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’मा जितु दयाहाङको साथीको भूमिकामा देखिएका छन्। चलचित्रमा जितु दलित समुदायको पात्रमा छन्।

    सदा झैं यो चलचित्रमा पनि जितुले दर्शकलाई हसाँउनेछन् । हसाउनेसँगै केही गम्भीर चरित्र पनि रहेको जितुले बताएका छन् । आफ्नै क्यारेक्टर रोलमा फर्कीएका जितुको यो चलचित्र ‘कार्साङ्’ प्रचारप्रसारमा व्यस्त छ।

    पूर्वी नेपालबाट प्रचार सुरु गरिएको यस चलचित्रका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल गरिसकेका छन् । आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र ‘कार्साङ्’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा सिनेमामा देख्न सकिने बताएका छन् ।

    यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको ‘कार्साङ्’ पुस २६ गतेबाट प्रदर्शनमा आउनेछ। शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकान छ। चलचित्रको निर्माता पनि उनी स्वयं हुन भने चलचित्रको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।

    चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टसका सुमन पराजुली र सोमलाल थोकरले लिएका छन भने देशभर वितरणको जिम्मा आरआर फिल्मसले लिएको छ ।

  • चलचित्र ‘कार्साङ’को ‘सात भन्ज्याङ’ गीत सार्वजनिक

    चलचित्र ‘कार्साङ’को ‘सात भन्ज्याङ’ गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ’को निर्माण पक्षले आज ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो । डीपी खनालको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत छ । स्वर एसडी योडी र रेश्मा पुन मगरको छ ।

    रिकेश गुरुङले एरेन्ज रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ ।

    गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ ।

    टिपिकल शब्द र भेषभुषाले गीतलाई जीवन्त बनाएको छ । यो गीतले सिनेमाको कथा भन्न सहयोग गर्ने निर्माण पक्षको दाबी छ ।

    पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो । चलचित्रले दर्शकलाई शेर्पा समुदायको कला, संस्कृति र जीवनशैली नजिकबाट अनुभव गराउने निर्माण पक्षको अपेक्षा छ ।

    ‘कार्साङ’मा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

  • विवेक रसाइलीको निर्देशन र मिरुना मगरको अभिनयमा ‘सानुमाया’ सार्वजनिक

    विवेक रसाइलीको निर्देशन र मिरुना मगरको अभिनयमा ‘सानुमाया’ सार्वजनिक

    काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको म्युजिक भिडियो ‘सानुमाया’ सार्वजनिक भएको छ।

    सार्वजनिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरेको छ।

    लेखक तथा निर्देशक विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बालाई फिर्चड गरिएको छ । भिडियोमा मिरुनाले र भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन्।

    उनको पात्रले आफ्नो प्रेम र करियरबीचको संघर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ।

    विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् । गीत भिजुअल आर्ट्स स्टुडियोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

  • चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त, २० गतेबाट फ्लोरमा जाने

    चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त, २० गतेबाट फ्लोरमा जाने

    काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै पौष २० गतेबाट फ्लोरमा जान लागेको जानकारी दिइएको हो ।

    सिनेमाका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका थिए । यो सिनेमामा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुँदैछ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

    बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ । सिनेमालाई हरि हुँमागाईले खिच्ने छन् ।

  • बुटवलमा एलिनालाई ‘वान्स मोर’ को हुटिङ

    बुटवलमा एलिनालाई ‘वान्स मोर’ को हुटिङ

    रुपन्देही । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच बहुचर्चित गायिका एलिना चौहानको दमदार प्रस्तुती रह्यो । क्रिसमसको बिदा पनि भएकाले बुधबार मेलामा दर्शक खचाखच भरिएका थिए । उद्घोषकले मञ्चमा एलिनाको नाम उच्चारण गरेसंगै दर्शक दीर्घाबाट हुटिङको वर्षा भयो । जब एलिनाले माइक समातेर शब्द उच्चारण गरिन्, दर्शकको हुटिङको माहौल अझै बढ्यो ।

    एलिनाले हजारौं दर्शकका बीच आफ्नो गायन करियर सुरु गर्दादेखिका पछिल्ला सबै गीत गाएर भरपुर मनोरञ्जन प्रदान गरिन् । एलिनाले गीत गाउँदा दर्शकले पनि संगसंगै गीत गाउदै हुटिङ गर्दै नाचेका थिए । बुटवलको मञ्चमा एलिनाले कट्टा हान्दिन्छु, धोकेवाज हौ तिमी, मिनरल वाटर, आइफोन हरायो लगायतका थुप्रै गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन गराएकी थिइन् । उनलाई दर्शकहरुले प्रस्तुतीसँगै वान्स मोर वान्स मोरको हुटिङ गरिरहेका देखिन्थे ।

    बुधबार एलिनसहित लोक तथा दोहोरी गायक कृष्ण रेउले, नारायण विपि परियार, सुशिला गौतम, धनबहादुर गुरुङ, शिला गुरुङ, तारा थापा, दिपा थापा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

    त्यस्तैगरी भोली बिहिबार लोक तथा दोहोरी गायक श्याम राना, सपना गाहा, विधान कार्की, सुनि तामी, निरु गुरुङ, हरि खत्री, हाँस्य कलाकार कमल गाउँले, डान्सर विना धिताल, शिल्पा मगर लगायतका कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले बताए ।

    बुधबार मेलामा ४० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको मेला कार्यसम्पादन समितिका सदस्य सचिव मुक्तिप्रसाद अधिकारीले दाबी गरे ।

    पुसको ३ गतेदेखि सुरु भएको औद्योगिक व्यापार मेला १८ गतेसम्म सञ्चालन हुने छ । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागी छन् ।

    मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक सांगीतिक कार्यक्रम भइरहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाईले जनाए ।

  • नेपाल आइपुगे सोनु निगम, बेलुका हायात मैदानमा प्रस्तुति दिने (भिडिओ)

    नेपाल आइपुगे सोनु निगम, बेलुका हायात मैदानमा प्रस्तुति दिने (भिडिओ)

    काठमाडौं । भारतका चर्चित गायक सोनु निगम नेपाल आइपुगेका छन् । बुधवार क्रिसमसको अवसरमा बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा आफ्नो सांगीतिक प्रस्तुति दिन निगम अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

    निगमको सांगीतिक समूहका सदस्यहरू भने बुधबार बिहानै तयारीका लागि आइसकेका छन् ।

    प्रशस्तै हिट नेपाली गीतसमेत गाइसकेका निगमलाई स्वागत गर्न आयोजक नेपाल टचका पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

    उनलाई स्वागत गर्न चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्री पनि विमानस्थल पुगेका थिए । उनलाई विमानस्थलमा सन्दीप र आयोजक टीमले नेपाली ढाका टोपी लगाएर स्वागत गरेका थिए ।

    नेपाल टेकेपछि निगमले आफ्नो प्रस्तुति दिन आफू उत्साहित रहेको प्रतिक्रिया दिए । निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् । झण्डै १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको कन्सर्टमा निगमले ३ घण्टा आफ्ना गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।

    कन्सर्टमा निगमले नेपाली चलचित्र ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधा दर्जन नेपाली गीत पनि गाउनेछन् ।

    कन्सर्टपछि निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले बिहीबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।

  • सेभेन सिज इन्टरनेसनलले किन्यो ‘लाज शरणम्’को इन्टरनेशनल राइट्स

    सेभेन सिज इन्टरनेसनलले किन्यो ‘लाज शरणम्’को इन्टरनेशनल राइट्स

    काठमाडौं । चर्चित सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको चलचित्र ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएको छ ।

    शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गते प्रदर्शन गर्ने तयारी रहेको यो चलचित्रको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो ।

    मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ । वितरक प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिएका छन । कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन् ।

    नेपालमा भने यो चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले जिम्मा लिएको छ । कुमार कट्टेल ‘जिग्री ब्रो’द्वारा निर्देशित यो चलचित्र चर्चित सिरियल ‘सक्किगो नि’ टिमको प्रयासमा बनेको हो । चलचित्रमा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगोनि टिमबाट र्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहेको छ ।

    नवीन श्रेष्ठ निर्माता रहेको चलचित्रमा राम नरेश शाह र श्रीजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रमा सुदीप बराल छायांकारका रुपमा रहेका छन् ।

  • सांगीतिक प्रस्तुति दिन सोनु निगम  बुधबार नेपाल आउँदै, तयारी तीव्र

    सांगीतिक प्रस्तुति दिन सोनु निगम बुधबार नेपाल आउँदै, तयारी तीव्र

    काठमाडौं । भारतका सर्वाधिक सफल तथा चर्चित गायक सोनु निगम बुधबार नेपाल आउने तयारीमा छन् । निगमले डिसेम्बर २५ मा आयोजना हुन लागेको भव्य सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन लागेका हुन् ।

    पुसको १० गते अर्थात् क्रिसमस डेको अवसर पारेर ‘सोनु निगम लाइभ इन नेपाल’ शीर्षकमा भव्य सांगीतिक कार्यक्रम आयोजना हुँदैछ । उक्त कन्सर्टलाई लिएर संगीत प्रेमी दर्शकहरुमा उत्साह देखिएको छ ।

    आयोजकका अनुसार, निगमको कन्सर्टका लागि ७० प्रतिशत टिकट विक्री भइसकेको छ । नेपाली टच अष्ट्रेलीयाका संस्थापक तथा संगीतकर्मी राज के गोस्वामीका अनुसार, कन्सर्टलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी राखिएको छैन ।

    बौद्धस्थित हायात होटलको खुला चौरमा यो कन्सर्टको आयोजना हुँदैछ । यसका लागि अहिले आयोजकले स्टेज बनाउने काम धमाधम गरिरहेको छ ।

    कार्यक्रममा दर्शकका लागि ४ बजे गेट खुला गरिनेछ । उक्त कार्यक्रममा सोनु निगमले ३ घण्टासम्म दर्शकलाई झुमाउने बताइएको छ ।

    सोनु निगम बुधबार मुम्बईबाट नेपाल आउनेछन् भने बिहिबार फर्किनेछन् । बुधबार राती १० बजे उनी स्टेज चढ्ने बताइएको छ । आयोजकले उक्त कन्सर्टमा १० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरेको बताइएको छ ।

  • बुटवलमा यसरी नचाइन् समीक्षा अधिकारीले

    बुटवलमा यसरी नचाइन् समीक्षा अधिकारीले

    रुपन्देही । केही दिनअघि कपिलवस्तुमा अपमान भोगेकी कलाकार समीक्षा अधिकारीले शुक्रबार बुटवलमा ठूलो सम्मान पाइन् । बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको व्यापार मेलाका लागि शुक्रबार नै काठमाण्डौंबाट भैरहवा हुँदै आएकी उनी आफ्नो प्रस्तुती सकेर शुक्रबार नै काठमाण्डौ फर्केकी छन् । आयोजकले शनिबारको सेडुअलमा उनलाई राख्न खोजेपनि उनी विदेशमा जानुपर्ने बताएकाले शुक्रबार नै बोलाएर प्रस्तुती राखेकी हुन् ।

    पुस ३ गतेबाट शुरु भएको मेलामा पहिलो चरणमा नै उनले प्रवेश पाएकाले उनका समर्थक शुक्रबार मेलामा पुगेका थिए । प्रायः शुक्रबार धेरै दर्शक नजाने भएपनि उनी आउने सूचना पाएपछि धेरै समर्थकहरु शुक्रबार मेला पुगेका थिए ।

    समीक्षाले ‘धनगढीको बसमा, आउँदा मलाई ल्याईदिनु चट्ट कालो चस्मा‘, ‘कस्तो जोडी जुराईदियौ धन्य प्रभु धन्य‘’ लगायतका गीत गाएकी थिएन् । समीक्षाले यी गीत गाइरहँदा दर्शक दीर्घाबाट पाएको साथले उनी थप हौसिएकी थिइन् ।

    औद्योगिक व्यापार मेला बुटवल २०८१ मा सांस्कृतिक संयोजक रहेका निर्मित कसजूले गायिक समीक्षाले शुक्रबार गाएका धेरै गीतले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको र राम्रो सम्मान पाएको बताए । उनका अनुसार शनिबार समीक्षा देश बाहिर जाने भएकाले शुक्रबार नै काठमाण्डौं फर्केकी हुन् । केही दिनअघि कपिलवस्तुको जितपुरमा आयोजित मेलामा गायिका समीक्षा अधिकारीको अपमान भएपछि यहाँका आयोजक र प्रहरी पहिलेबाटै सर्तकता अपनाएका थिए ।

    उनका अनुसार मेलामा समीक्षा आउने भएपछि दर्शकको पनि भीड बढेको थियो । समीक्षाले गीत गाइरहँदा दर्शक उनको गीतसंगै नाचेर, गाएर, हुटिङ गरेर साथ दिएका थिए ।

    मेलामा शुक्रबार समीक्षासहित लालमाया थापा, सम्झना रणपाल, श्रीकृष्ण अर्याल, भुवन अधिकारी मिसन मगरलगायतका कलाकारले प्रस्तुती राखेका थिए । पुसको १८ गतेसम्म चल्ने मेलामा भोलि शनिबार लोक तथा दोहोरी गायक पशुपति शर्मा, प्रचण्ड जिसी, चेतना थापा, रितु थापा, डान्सर परि क्षेत्री संगै स्थानीय अरोक्ष ब्राण्डको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक कसजुले जानकारी दिए ।

  • लगातार पाँच सिजनपछि ‘भ्वाइस अफ नेपाल’ बाट बाहिरिए काेच प्रमोद खरेल, राजेश पायल पनि विस्थापित

    लगातार पाँच सिजनपछि ‘भ्वाइस अफ नेपाल’ बाट बाहिरिए काेच प्रमोद खरेल, राजेश पायल पनि विस्थापित

    काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को पाँचाैं सिजनसम्म लगातार कोचको भूमिका निभाएका गायक प्रमोद खरेल उक्त रियालिटी शोबाट बाहिरिएका छन् । छैटौं सिजनमा उनीसँगै अर्का कोच राजेशपायल राईको पनि बहिर्गमन भएको छ ।

    खरेल भ्वाइस अफ नेपालको पहिलो सिजनदेखि नछुटेका एक मात्र कोच थिए । उनी सबैभन्दा सफल कोच पनि हुन् । राजेश पायल भने चौथो सिजनमा भित्रिएका थिए । उनले पाचौं सिजनमा पनि निरन्तरता पाए । तर, छैटौं सिजनमा बाहिरिएका छन् । भ्वाइस अफ नेपालको कोच छँदा नै उनी विभिन्न विवादमा मुछिएका थिए । अघिल्लो सिजनमा भित्रिएकी मिलन नेवारले पनि निरन्तरता पाउन सकिनन् ।

    निर्माण टिमले आज एक पत्रकार सम्मेलन गर्दै छैटौं सिजनबारे विभिन्न जानकारी दिएको हो । यसअघि दुईवटा सिजनमा कोच रहेर बाहिरिएका राजु लामाको रि–इन्ट्री भएको छ । यस्तै, पाँचौं सिजनमा कोच रहिसकेका उदय सोताङ दोहोरिएका छन् ।

    सिजन ६ मा नयाँ कोचका रुपमा गायिका मेलिना राईको प्रवेश भएको छ । उनी भ्वाइस किड्सकी कोच थिइन् । यस्तै, चर्चित लोक गायक खेम सेञ्चुरी पनि कोचका रुपमा अनुवन्धित भएका छन् । सेञ्चुरी द भ्वाइस अफ नेपालको कोचमा अनुवन्धित हुने पहिलो लोक स्रष्टा हुन् ।

    ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण पुष तेस्रो साताबाट सुरु हुने भएको छ । यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिव ५५ हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा प्रस्तुत भएका छन् ।

    अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएका छन् ।
    ‘यो पटक भ्वाइस अफ नेपालमा सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रबाट निकै राम्रो संख्यामा प्रतिभाहरु आउनुभएको छ, जुन हाम्रालागि निकै उत्साहजनक हो,’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने, ‘नयाँ कोच र प्रतिभाहरुको ट्युनिङ निकै राम्रो भएको छ ।’

    ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

    ‘पाँच सिजनसम्म दर्शकहरुले दिनुभएको माया र फिडब्याकलाई आत्मसात गर्दै हामीले नयाँ सिजन ल्याएका छौं’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने– ‘भ्वाइस अफ नेपालले अहिलेसम्म कम समेटेको लोकसंगीतलाई पनि समेटेर अझै बृहत दर्शकमाझ पुग्न कोसिस गरेका छौं ।

    कार्यक्रमको टाइटल स्पोन्सरमा क्लोज अप अनुवन्धित भएको छ भने को–स्पोन्सरका रुपमा सनफिस्ट फ्यान्टासी, र रोहोतो सनप्ले रहेका छन् ।

    हिमालय टेलिभिजनले विश्वका चर्चित रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार लगायतका रियालिटी शो प्रसारण गरिरहेको टेलिभिजनले निकट भविष्यमै बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ प्रसारण गर्दै छ ।

  • चैत्र २९ गते नेपाली नयाँ वर्षमा कृषाको ‘पिताम्बर’ रिलिज घोषणा

    चैत्र २९ गते नेपाली नयाँ वर्षमा कृषाको ‘पिताम्बर’ रिलिज घोषणा

    काठमाडाैं ।  कृषा चौलागाई निर्देशित सिनेमा ‘पिताम्बर’ले प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेको हो ।

    ‘पिताम्बर’को विभिन्न सेड्युलमा निर्देशक चौलागाईले ७० दिनमा छायांकन प्याकअप गरेकी थिइन् । ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक कृषाले बताउँदै आएकी छन् ।

    ‘पिताम्बर’को सार्वजनिक पोस्टर आकर्षक देखिएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई फिचर्ड छन् । रगताम्मे प्रदीपले प्रमुख स्थान पाएको पोस्टरमा आक्रामक शैलीमा बन्दुक चलाइरहेका सौगात देखिन्छन् ।

    दयाहाङको अनुहारमा भने रिस देखिन्छ । शुक्रबार सार्वजनिक पोस्टरले यो सिनेमा एक्सनप्रधान रहेको प्रष्ट भएको छ । पोस्टरले दर्शकलाई आकर्षित गर्नसक्ने देखिएको छ ।

    ‘पिताम्बर’स्टार कलाकारहरूको बलियो लाइनअप भएको सिनेमा हो । सिनेमामा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझि, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । ‘पिताम्बर’को पहिलो चरणको छायाँकन गतवर्षको चैत्रमा नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सुरु भएको थियो ।

    केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्धन्द्व निर्देशन रहेको सिनेमालाई निर्देशक कृषाले लार्ज स्केल बनाएकी छन् । सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ । यसअघि कृषाले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् । यो सिनेमाले दर्शक तथा समीक्षकबाट प्रसंशा पाएको थियो ।

  • दुर्गेशको गीत रिलिज अगाडि नै चर्चामा, समीक्षाले पनि बनाइन् टिकटक

    दुर्गेशको गीत रिलिज अगाडि नै चर्चामा, समीक्षाले पनि बनाइन् टिकटक

    काठमाडौं । गायक दुर्गेश थापाको एउटा गीतले रिलिज अगावै दर्शक/स्रोताको ध्यान तानिएको छ । गीतको सानो टुक्रामा हजारौंले टिकटक भिडिओ बनाइसकेका छन् ।

    ‘हाम्रो दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्‍यै’ बोलको गीतमा दुर्गेश र एलिना चौहानले स्वर दिएका छन् । थप एक गायिकाको पनि स्वर रहेको छ, जसको नाम ‘डिस्क्लोज’ गरिएको छैन । गीतको म्युजिक भिडिओ सुटिङ पनि हुन बाँकी छ । भिडिओमा हालै भाइरल मोडल इभा गिरीलाई अनुवन्धित गरिएको बुझिएको छ ।

    दुर्गेशले दुई दिनअघि सो गीतको सानो टुक्रा टिकटकमा हालेका थिए । अहिले त्यही टुक्रामा धेरैले टिकटक बनाइरहेका छन् । अहिलेसम्म ४ हजारभन्दा बढीले टिकटक बनाइसकेको दुर्गेशले जानकारी दिए ।

    यसमा टिकटक बनाउनेको सूचीमा गायिका एलिना चौहाना र समीक्षा अधिकारीसमेत छन् ।

    आफूले पनि गाएको हुँदा एलिनाले टिकटक बनाउनु त स्वभाविकै हो । तर, समीक्षाको टिकटकले भने धेरैको कौतुहल बढाएको छ । दुर्गेशले ‘डिस्क्लोज’ नगरेकी गायिका कतै उनी त होइनन् भन्ने पनि कतिपयले अनुमान लगाउन थालेका छन् ।

    पल शाह र समीक्षाबीचको काण्डमा दुर्गेश पनि मुछिएका थिए । समिक्षालाई उक्साएको भन्दै पलका फ्यानहरु दुर्गेशविरुद्ध खनिएका थिए । तर, दुर्गेशले प्रहरी र अदालतमा पलको विरुद्धमा कुनै बयान दिएनन् । हालै एक अन्तरवार्तामा पलले दुर्गेशसँग अहिले राम्रो सम्बन्ध रहेको बताएका छन् ।

     

  • गीतकार सुरेन्द्र राना- ‘रुकुम मैकोट’ले पुनः चर्चाको शिखरमा

    गीतकार सुरेन्द्र राना- ‘रुकुम मैकोट’ले पुनः चर्चाको शिखरमा

    काठमाडौं । ‘एउटा गीत चाहियो दाइ !’

    एक दिन ‘खुस्मा’ चलचित्रका निर्देशक अशोक थापा मगरले गीतकार सुरेन्द्र रानालाई फोन गरेर भने ।

    सिचुएसन के हो ? कुन सन्दर्भको कथामा गीत चाहिएको हो ? गीतमार्फत निर्देशकले अभिव्यक्त गर्न चाहेको कुरा के हो ? यी सवालको जवाफका लागि सुरेन्द्र र अशोक लगनखेलको एक कफीसपमा भेटे ।

    अशोकले कथा सुनाउँदै भने, ‘गीत रुकुम मैकोटमाथि चाहिएको हो ।’

    सुरेन्द्र गोर्खा लिगलिगकोटका हुन् । उनी रुकुम मैकोट पुगेका थिएनन् । मैकोट नाम सुनेका पनि थिएनन् । यसो सोचे, ‘रुकुमको मैकोट भनेपछि त्यहाँको पर्यटनलाई पनि सहयोग पुग्ने गरी गीत लेख्नुपर्‍यो ।’

    कफीसपमा अशोकले कथा सुनाउन सुरु गरे । कथा सुन्दासुन्दै सङ्लो पानीमा माछा खेले जसरी सुरेन्द्रको मनमा शब्दहरु खेल्न सुरु गरे । शब्दहरु छरिएर घरी यता, घरी उता गर्न सुरु गरे । सुरेन्द्रले छरिएका शब्दहरुलाई मिलाएर राख्न खोजे । तब कथा सुन्दासुन्दै हुक लाइन जन्मियो-

    रुकुम मैकोट, रुकुम मैकोट
    आँखा नि राम्रै हो, मनपर्‍यो नि ओठ

    अनि घर आएर गीतमा थप काम गरे । केटा र केटीले इशारामै सबै कुरो बोलेको भावका शब्दहरु तयार पार्न उनलाई चार दिन लाग्यो । चार दिनपछि उही कफीसपमा अशोक र सुरेन्द्रको भेट भयो । गीत पढेपछि अशोकले भने, ‘यो पूरा गीत छ । गज्जब भयो ।’

    गीत तयार भयो । एसडी योगीले गीतमा संगीत र स्वर भरे । सुरेन्द्रलाई अशोकले डमी सुनाए । सुरेन्द्रलाई पनि गीत मनपर्‍यो । स्वर पनि टिपिकल लाग्यो । गीत पनि सुन्दामै क्याच्ची बनेको थियो ।

    सुरेन्द्र र एसडीको बीचमा हुलाकी थिए अशोक । यही कारण नै सुरेन्द्र र संगीतकार एसडीको भेट अहिलेसम्म भएको छैन । चिनापर्ची पनि भएको छैन ।

    ‘यो गीतको एउटा शब्द पनि चेन्ज भएन । एक्युरेट फिट भयो । ठ्याक्कै ट्युनिङमा थियो’, एसडीसँग भेट नहुनुको कारणबारे सुरेन्द्र सुनाउँछन्, ‘संगीतकारसँग बस्नुपर्ने अवस्था नै आएन । त्यसैले उहाँसँग भेट नभएको होला ।’

    यो गीत यति धेरै लोकप्रिय होला भनेर सुरेन्द्रले सोचेकै थिएन, तर जे सोचेको थिएन, त्यही भइदियो । गीतले तीन महिनामा ७२ मिलियन अर्थत् ७ करोड २० लाख भ्युज पायो । युट्युब ट्रेन्डिङदेखि ग्लोबल ट्रेन्डिङसम्म पुग्यो । गीतको सरल शब्द र प्रेमिल भावले सबैलाई मोहित तुल्यायो ।

    ०००

    भारतीय गायक सोनु निगमले गाएको ‘विरहीको भाकाले’ गीत त पक्कै सुन्नु भएकै होला । ‘बादलपारि’ चलचित्रको यो गीतमा सुरेन्द्रकै कलमको निब तिखारिएको छ । यही चलचित्रको अर्को डान्सिङ गीत ‘कालो चस्मा लाऊ है मैंया विशालबजारको’मा तपाईं पक्कै नाचेकै हुनुपर्छ । यो गीत पनि सुरेन्द्रकै शब्दले सिंगारिएको छ ।

    रमेश उप्रेती र निरुता सिंह नाचेको ‘माइली’ चलचित्रको ‘जाऔं न ठमेलमा’देखि ‘कति आउली अग्ली भई नाच्नलाई गाह्रो भो’ गीतमा पनि सुरेन्द्रकै शब्द छ ।

    ‘जाऔं न ठमेलमा’को रोचक कुरा त के हो भने संगीतकार शम्भुजीत बाँसकोटाले स्वर भरेका छन् । संगीत त त्यसवेलाको अधिकांश चलचित्रमा शम्भुजीतकै हुने भयो । शम्भुजीतसँग सुरेन्द्रको चिनजान चाहिँ ‘मोहनी’ चलचित्रबाट भएको थियो । यो चलचित्रको हिट गीत ‘रसिलो अंगुर’मा यी दुई स्रष्टाले सहकार्य गरेका थिए । अनि ‘बादलपारि’को ‘कालो चस्मा लाऊ है माया’ गीतमा सहकार्य गरेका थिए ।

    सुरेन्द्रको अर्को गीत त तपाईंले पक्कै सुन्नुभएकै होला, ‘छिटको सारी मखमली चोलीलाई’ ।

    स्कुलका कार्यक्रमहरुमा अत्यधिक बज्ने यो गीत ‘आँखा लोभी मन पापी’ चलचित्रको हो । यस चलचित्रको पटकथा पनि सुरेन्द्रकै थियो । र, यही चलचित्रको गीत हो, ‘छिटको सारी मखमली चोलीलाई’ ।

    सुरेन्द्रका अनुसार यो गीत त्यस्तो धेरै अपेक्षा गरेर बनाइएको थिएन । उनले स्क्रिप्ट लेख्दै जाँदा कथाले गीत माग्यो, अनि गीत लेखेका थिए । यो चलचित्रका अन्य गीतहरुको तुलनामा हेंला गरिएको गीत थियो, तर त्यही हेंला गरिएको गीत सर्वाधिक चल्यो ।

    गीत यति धेरै चल्यो कि वरिष्ठ गायिका शर्मिला बर्देवाको केही मास्टरपिस गीतहरुको सूचीमा रहन पुग्यो ।

    ०००

    थामेर किन छोड्यौ हातहरु
    रोजेर किन तोड्यौ साथहरु
    छोडेर गयौ सारा यादहरु
    रोएर बिते मेरा रातहरु

    यो गीतको कथा चर्चित गायिका सुनिता सुब्बासँग गएर ठोक्किन्छ । आजभन्दा ४२ वर्षअघिको २०३९ सालको कुरा हो । सुनिताले भर्खरै एसएलसी दिएकी थिइन् । गायनमा भविष्य खोज्दै थिइन् ।

    रत्न रेकर्डिङ स्टुडियोले ‘खोजी प्रतिभाको’ भन्ने कार्यक्रम गर्थ्यो । सुनिताले यही प्रतियोगितामा भाग लिँदा सुरेन्द्रको यो गीत गाएकी थिइन् । यहाँ उनले दोस्रो पुरस्कार जितिन् । संगीतकार राम थापाले पनि पुरस्कार पाए । सुरेन्द्रले पुरस्कार पाए ।

    यो गीत चाहिँ सुरेन्द्रले योजना बनाएर लेखेको होइन ।

    संगीतकार राम थापाको डेरा बागबजारमा थियो । एक दिन सुरेन्द्र राम थापालाई भेट्न गएका थिए, तर राम थापा समयमा आएनन् । अनि सुरेन्द्रले त्यही कागजमा यो गीत लेखेर छाडेर गए ।

    ‘अनि दुई हप्तापछि जाँदा त गीतको ट्युनिङ भइसकेको रहेछ’, सुरेन्द्र नोस्टालजिक हुन्छन् ।

    यसवेला सुरेन्द्रको सुनितासँग चिनजान थिएन । पछि उनले ‘खोजी प्रतिभाको’मा भाग लिने भएपछि सुरेन्द्रको चिनजान भयो । सुरेन्द्र सुनाउँछन्, ‘सायद उसले पहिलो पटक यही गीतको कार्यक्रममा सारी लगाएकी थिई होलिन् । तत्कालीन युवराज ज्ञानेन्द्र शाहले पुरस्कार दिने भएकाले सारी लगाएर आउनुपर्ने बताएको थियो ।’

    सुरेन्द्रको अर्को गीत छ-

    यो मनको के भर हुन्छ
    बहकिने मात्रै डर हुन्छ
    जानी जानी पनि यहाँ
    भुल गर्ने रहर हुन्छ

    यो त्यही गीत हो, जुन गीतले रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा दिवंगत गायक अरुण थापालाई प्रथम बनायो । गीतकारमा सुरेन्द्र प्रथम भए । यो २०३७ सालको कुरा हो । अर्थात् आजभन्दा ४४ वर्षअगाडिको ।

    सुरेन्द्र भर्खरै स्नातक पढ्दै थिए । भोटेबहालमा डेरा बस्थे । लेखनमा सक्रिय थिए ।

    सुरुमा सुरेन्द्र गितार बजाउँथे । यही क्रममा संगीतकार राम थापासँग उनको भेट भयो । यसपछि सुरेन्द्रको बाक्लो भेट हुन थाल्यो थापासँग । यही क्रममा गायक अरुण थापा जोडिए ।

    अरुण थापाले सुरेन्द्रको गीत गाए- ‘यो मनको के भर हुन्छ’

    ‘त्यसवेला अरुण थापा युवा नै हुनुहुन्थ्यो । सायद मदिरा अलिअलि पिउनुहुन्थ्यो होला’, सुरेन्द्र अरुण थापालाई सम्झिँदै भन्छन्, ‘पछि उहाँको मृत्युु हुनु दुईतीन हप्ता अगाडि सिने साउन्ड रेकर्डिङ स्टुडियोमा हाम्रो भेट भएको थियो । त्यसवेला त उहाँ बिरामीले गर्दा नचिनिने भइसक्नु भएको थियो, एकदमै कालो हुनुभएको थियो ।’

    साढे चार दशकदेखि सक्रिय सुरेन्द्र अहिले पनि गीत लेखिरहेका छन् । भर्खरैमात्र ‘परालको आगो’ नामक चलचित्रको गीत लेखेर सकाए । रेडियो नेपालबाट ४०० पारिश्रमिक पाएका सुरेन्द्र अहिले १५-२० हजार पारिश्रमिक लिन्छन् ।

    सय बढी गीत लेखिसकेका सुरेन्द्र भन्छन्, ‘गीतमा थिम मुख्य कुरा हो । थिमअनुसार गीतका शब्दहरु फुर्ने हुन् ।’

  • विजय बराललाई प्रश्न- ‘पूर्णबहादुरको सारंगी’पछि पारिश्रमिक कति पुर्‍याउनुभयो ?

    विजय बराललाई प्रश्न- ‘पूर्णबहादुरको सारंगी’पछि पारिश्रमिक कति पुर्‍याउनुभयो ?

    काठमाडौं । यतिबेला सिने नगरीमा केही कुराले बजार तताइरहेको छ भने त्यो हो- कलाकारहरुको पारिश्रमिक । फलानो कलाकारको डिमान्ड यति, ढिस्काना कलाकार यतिविना काम नगर्ने, आदि इत्यादि । केही समय अगाडि फर्केर हेर्ने हो भने सिने क्षेत्रमा नायक अनमोल केसीमात्र एउटा त्यस्ता कलाकार थिए, जो एउटा चलचित्रमा काम गरेको ५० लाख पारिश्रमिक लिने गर्थे । अभिनयमा औसत केसीको स्टारडम र फ्यान क्रेज देखेरै निर्माताहरु उनमा पैसा खनाउन तयार हुन्थे । उनको राम्रो फ्यान फलोअर्सका कारण आफू डुबिँदैन भन्नेमा निर्माताहरु ढुक्क थिए ।

    तर ‘छड्के २.०‘ ले त्यो भ्रम पनि छरपस्ट बनाइदियो । चलचित्र चल्न स्टारडमले मात्र हुँदैन, राम्रो कथावस्तु पनि चाहिने रहेछ भन्ने यो चलचित्रले पुष्टि गरिदियो । दशौं चलचित्र सुपर फ्लप भए तापनि उनको पारिश्रमिक भने घटेन । अहिले पनि उनको पारिश्रमिक ५० लाख नै छ । लामो समय ५० लाख पारिश्रमिक लिने अभिनेताको रुपमा एकछत्र राज गर्दै आएका अनमोलको सो सूचीमा अहिले उनीमात्र छैनन् । अहिले सिने बजारमा उनलाई समेत पछि पार्ने अभिनेताको इन्ट्री भइसकेको छ ।

    चर्चाअनुसार पहिलो चलचित्रबाटै दर्शकको अविश्वसनीय माया र साथ पाएका विराज भट्टका छोरा समीर भट्टको पारिश्रमिक पनि झण्डै अनमोलको बराबर नै छ । पहिलो चलचित्रको सफलतापछि यतिबेला उनी सन्तोष सेनको चलचित्र ‘बलिदान’मा व्यस्त छन् ।

    त्यस्तै अर्का अभिनेता विपीन कार्की पनि ५० लाख पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन् । उनलाई चलचित्र ‘तेलभिसा’ मा ५० लाख दिइएको कुरा ऋचा घिमिरे स्वयंले एक टीभी अन्तर्वार्तामा बताएकी छन् ।

    त्यस्तै भर्खरैमात्र ‘छक्का पञ्जा’ टीमदेखि बाहिरको ब्रान्डमा पनि काम गर्ने निर्णय गरेका चर्चित हाँस्य अभिनेता केदारप्रसाद घिमिरे माग्ने बुढा पनि ५० लाखको सूचीमा अटाएका छन् । बुझिएअनुसार उनी ५० लाख घटीमा काम गर्दैनन् र उस्तै परे ६० लाखसम्म लिन्छन् ।

    यसरी कलाकारहरुको भटाभट पारिश्रमिक बढिरहँदा, भर्खरैमात्र ब्लकबस्टर भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का अभिनेता विजय बरालको पारिश्रमिक कति पुग्यो होला ? नेपाली बक्स अफिसको सबै रेकर्ड तोड्दै ‘अलटाइम रेकर्ड ब्रेकिङ’ घोषित भएको चलचित्रका सुपरहिट अभिनेताले आगामी चलचित्रहरुमा कति पारिश्रमिक डिमान्ड गर्छन् होला त ?

    नाटकबाट उदाएका विजय सधैं आफ्नो सहायक भूमिकाका कारण चिनिँदै आएका थिए । ‘पूर्णबहादुरको सारङ्गी’ विजयले लिड रोल निर्वाह गरेको पहिलो चलचित्र हो । पहिलो चलचित्रले नै उनलाई सुपरहिट बनाइदियो । उनको अभिनयको चौतर्फी चर्चा भयो । चलचित्रले अहिलेसम्म विश्वव्यापी रूपमा ७२ करोड ६० लाखको ग्रस कलेक्सन गरेको छ । पहिलो लिड रोल भएको चलचित्र नै ब्लकबस्टर भएका बराल यतिबेला स्क्रिप्ट पढ्नमा व्यस्त छन् ।

    मंगलबार राजधानीमा भएको ‘हरि हजुरबा’ नाटक मञ्चनपछि भएको प्रेस मिटमा बोल्दै उनले आफूले स्क्रिप्टसम्म पढ्न नभ्याएको बताएका छन् ।

    उनले भनेका छन्, ‘स्क्रिप्ट पढ्नै पाएको छैन । जसको पढिरहेको छु, उहाँहरुसँग कुरा भइरहेको छ ।’

    चलचित्रमा फड्को मारे पनि विजयले अहिलेसम्म नाटक भने छाडेका छैनन् । नाटकको पारिश्रमिक खुलाउँदै उनले सुनाए, ‘नाटकबाट एउटा सीमित पारिश्रमिक हुन्छ । धेरै हुँदैन । खाजा खाने पैसा आउँछ । धेरैमा २५ देखि ४० हजारसम्म आउला । त्यो हाम्रो चिया खर्च हो ।’

    ‘पूर्णबहादुरको सारङ्गी’पछि तपाईंको रेट ३० देखि ४० लाख पुग्यो रे भन्ने पत्रकारको प्रश्नमा उनले सुनाए, ‘चलचित्रको कुरामा मेरो पारिश्रमिक ३०-४० लाख भयो भन्ने हल्ला होला, तर यसबारे मैले अहिलेसम्म कहीँकतै केही बोलेको छैन । कसैले आफैं लेख्दिनुहुन्छ भने त्यो मायाले लेख्दिनु भएको हो । यो भनेको अहिले चलचित्रले यत्रो कमायो, विजयलाई अलिकति दिनुपर्छ भन्ने खालका आएका हल्लाहरु जस्तै हो ।’

    त्यसो भए अब चलचित्रमा तपाईंको डिमान्ड कति हो त भन्ने प्रश्नमा उनले थपे, ‘पहिला स्क्रिप्ट पढौं । डिमान्ड गर्ने त्यसपछिको कुरा हो । त्यही पनि मेरो धेरै डिमान्ड भन्ने कुरै छैन । ठिक्क मिलाएर लिने हो । इच्छा त हुन्छ, मेरो कामको यति पैसा आओस् भन्ने, तर ठ्याक्कै यति नै डिमान्ड भन्ने छैन ।’

  • ‘कमेडी दरवार’मा हमला भएपछि विच्किए ऋषि धमला, ‘काजु जोक्स’ मा लाग्यो कैंची

    ‘कमेडी दरवार’मा हमला भएपछि विच्किए ऋषि धमला, ‘काजु जोक्स’ मा लाग्यो कैंची

    काठमाडौं । आफूमाथि हुने जतिसुकै कडा व्यंग्य र ट्रोलहरूलाई सहजै पचाउन सक्ने व्यक्ति हुन् ऋषि धमला । ‘नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस्’ भन्ने सिद्धान्तबाट प्रेरित उनी सकारात्मक वा नकारात्मक जस्तो चर्चामा पनि रमाउन सक्छन् ।

    तर आफ्नो यो स्वभावविपरीत धमला हालै एक टेलिभिजन रियालिटी शोमा गरिएको व्यंग्य÷रोस्टलाई लिएर नराम्ररी बिच्किएका छन् । अन्ततः निर्माताले सुटिङ भएको कार्यक्रममा निकै काँटछाट गर्नुपरेको छ ।

    सन्दर्भ ‘कमेडी दरवार’को हो । पछिल्लो समय दर्शकले निकै रूचाइरहेको यो रियालिटी शोमा पाहुना बनेर गएका थिए ऋषि धमला र अर्का भाइरल पत्रकार प्रकाश सुवेदी । उनीहरू दुवै ‘कमेडी दरबार’का कमेडियनहरूको सर्वाधिक निशानामा पर्ने पात्रहरू हुन् । कार्यक्रममै पाहुना बनेर आएपछि कलाकारहरूले जमेर दुवैलाई रोस्ट गरे । बढी प्रहार चाहिँ धमलामाथि नै भयो ।

    ‘काजु काण्ड’ देखि ‘डोनाल टुम’ सम्मका प्रसंग जोडेर धमलाको उछितो काढिएको थियो । अतिथिको आसनमा रहेका धमला जोक नबुझेर हो वा चित्त नबुझेर, खुलेर हाँस्न सकिरहेका थिएनन् । प्रकाश सुवेदीले उनलाई सुझाव दिँदै भने, ‘तपाईं अलिकति गम्भीर देखिनुभयो, आफूमाथि रोस्ट हुँदा त मज्जाले हाँस्नुपर्छ ।’

    धमलाले जवाफ दिए, ‘खासमा म भित्रभित्र रमाइरहेको छु । म तपाईं जस्तो खुलेर हाँस्दिनँ क्या ।’

    बुधबार कार्यक्रमको सुटिङ सकिएपछि बाहिर सञ्चारकर्मीले उनलाई कस्तो लाग्यो भनेर सोधेका थिए । धमलाले आफूले व्यंग्यलाई सहज रुपमा लिने भन्दै ‘अझै नपुगेको’ प्रतिक्रिया दिए, तर उनको अनुहार उज्यालो थिएन ।

    यो एपिसोडको सुटिङ मंसिर १९ गते बुधबार भएको थियो भने अर्को शुक्रबार (मंसिर २८ गते) टेलिभिजन र युट्युबमा प्रशारण हुनुपर्ने थियो । कमेडी दरबारको प्रशारण प्राइम टीभीमा हुने गर्छ, जसका सञ्चालक धमला नै हुन् । युट्युबमा भने ओएसआर रियालिटीले हाल्छ ।

    कार्यक्रम प्रशारण हुनेभन्दा दुई दिन अगाडि अचानक प्राइम टीभीका केही कर्मचारी ‘कमेडी दरवार’को कार्यालयमा आए । उनीहरुले धमला अतिथि भएको एपिसोडमा काँटछाँट हुनुपर्ने माग गरे । कमेडियनहरुले धमलाको चरित्रहत्या हुने गरी रोस्ट गरेको उनीहरुको आरोप थियो । स्रोतका अनुसार उनीहरुले धमलामाथि गरिएका जोक्सका आधाभन्दा बढी अंश हटाउनुपर्ने माग राखेका थिए । निर्माण पक्षले भने यति धेरै काँटछाँट गर्न नसकिने बतायो । कुरा नमिलेर उनीहरु हिँडे ।

    भोलिपल्ट निर्माण समूहका व्यक्ति र ओएसआरका प्रतिनिधि प्राइम टीभीमा वार्ता गर्न गए । उनीहरुले धमलासित नै कुरा गरे । लामो गलफत्तिपछि धमलामाथिका ५-६ वटा व्यंग्यहरुमा कैंची लगाउने सहमति भयो । यही सहमतिअनुसार काँटछाट गरेर कार्यक्रम प्रशारण गरिएको हो । अहिलेसम्म यो एपिसोडले ८ लाख ६० हजार भ्युज कमाइसकेको छ । धमला रुष्ट भए पनि हेर्ने दर्शकहरुले मनोरञ्जन लिएका छन् । खासगरी सुन्दर खनाल र विकास अर्यालले दर्शकलाई पेट मिचिमिची हँसाउन सफल भए ।

    निर्माण टीमका एक सदस्यले भने, ‘कार्यक्रम १६ एपिसोडसम्म आइपुग्दा पहिलोपटक यस्तो लफडा भयो ।’

  • ‘माग्ने बुढा’ लाई ५० लाख पारिश्रमिक दिएका रोहित भन्छन्- उहाँको बजारमा छुट्टै हाइप छ

    ‘माग्ने बुढा’ लाई ५० लाख पारिश्रमिक दिएका रोहित भन्छन्- उहाँको बजारमा छुट्टै हाइप छ

    काठमाडौं । ‘छक्का पञ्जा’ भन्दा बाहिरका ब्रान्डमा धमाधम काम गरिरहेका हास्यकलाकार केदारप्रसाद घिमिरे उर्फ ‘माग्ने बुढा’ यतिबेला निकै व्यस्त छन् ।

    उनलाई चलचित्रमा खेलाउन निर्देशक तथा निर्माताको लाइन छ । तर केदारलाई चलचित्रमा लिन सजिलो भने छैन । उनले एउटै चलचित्रमा ५० लाख बढी पारिश्रमिक माग्ने गरेका छन् । पारिश्रमिक सुनेरै निर्माता–निर्देशक तर्सिन्छन् । तर, उनलाई यति रकम दिएरै खेलाउन चाहनेहरूको पनि कमी छैन ।

    केदारले अहिलेसम्म ४ वटा चलचित्रमा काम गर्ने पक्का भइसकेको छ । ‘जेरी अन टप’, ‘माग्नेराजा’, ‘कङ्गारु’ र ‘माइतीघर’ मा उनले साइन गरिसकेका छन् । यो आर्थिक वर्षमा अब थप चलचित्र साइन नगर्ने उनको भनाइ छ ।

    केदारले साइन गरेको सबैभन्दा पछिल्लो चलचित्र हो– माइतीघर । यस चलचित्रमा केदारबाहेक अरू पनि चल्तीका अनुहारहरू छन् । प्रकाश सपुत, उपासना सिंह ठकुरी र बुद्धि तामाङको फाइनल भइसकेको छ भने एक नायकको खोजीमा छन् निर्माता रोहित अधिकारी ।

    नेपाल प्रेससँग कुरा गर्दै अधिकारीले केदार घिमिरेलाई ५० लाख रुपैयाँमा अनुबन्धित गरेको पुष्टि गरे । यस चलचित्रमा अभिनय बाहेक स्क्रिप्ट र डाइलगमा पनि काम गर्ने अधिकारीको भनाइ छ ।

    केदारलाई महँगो रकम तिर्न तयार हुनुको कारणबारे रोहितले भने, ‘उहाँको बजारमा छुट्टै हाइप छ । त्यो हिसाबले उहाँले आफ्नो पारिश्रमिक तोक्न पाउनुहुन्छ । मैले पनि ५० भन्दा बढी लिनुहुन्छ भन्ने सुनेको हो । तर हाम्रो चाहिँ पहिलेदेखि नै राम्रो सम्बन्ध भएकाले ५० मा कुरा ओके भयो । अभिनयसँगै उहाँले यो चलचित्रमा आफ्नो डाइलगमा पनि काम गर्नुहुन्छ ।’

    उनले थपे, ‘उहाँलाई मनाउन पनि गाह्रै छ । स्क्रिप्ट मन परेन भने उहाँले काम गर्नुहुन्न । तर हाम्रोमा त्यस्तो गाह्रो भएन । किनकि यो चलचित्रबारे उहाँ आफैले प्रस्ताव अघि सार्नुभएको थियो । टिम नयाँ छ, त्यसैले निर्माताहरू पुरानो भए सजिलो अनि राम्रो हुन्थ्यो भनेर उहाँले पनि कुरा अघि बढाउनुभएको थियो । त्यसैले सजिलै भयो ।’

  • पुष्पन प्रधानको नयाँ गीतको भिडिओमा अञ्जना र नाजिर

    पुष्पन प्रधानको नयाँ गीतको भिडिओमा अञ्जना र नाजिर

    काठमाडौं । गायक पुष्पन प्रधानले नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका छन् । म्युजिक भिडिओमा ‘पूर्णबहादुरको सारंगी’की अभिनेत्री अञ्जना बराइली र अभिनेता नाजिर हुसेन फिचर्ड छन् ।

    उनको नयाँ गीत जी टू वान डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । गीतको भिडियोलाई जि टू वानका प्रमुखसमेत रहेका निर्देशक आशिफ शाहले निर्देशन गरेका हुन् ।

    ‘बन्धकी’ शीर्षक दिइएको गीतलाई रोमान्टिक जनरामा तयार गरिएको छ, जसमा शब्द, संगीत र गायन पुष्पनकै रहेको छ ।

  • कवि निर्भीकजंगको गीत ‘धमिलो रङ रानीपोखरीको’ सार्वजनिक

    कवि निर्भीकजंगको गीत ‘धमिलो रङ रानीपोखरीको’ सार्वजनिक

    काठमाडाैं ।  कवि निर्भीकजंग रायमाझीको शब्द रचना तथा सौरभ ढकालको स्वर र भविन्द्र कुँवरको संगीतमा ‘धमिलो रङ रानीपोखरीको’ बोलको गीत सार्वजनिक भएको छ ।

    गीतले विभिन्न ठाउँमा पोखरी, दरबार आदि बनाउँदा आम नागरिकले भोगेको दुःख तथा श्रमको मूल्यबारे बोलेको छ । ‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासंग्रहमा रहेको ‘रानीपोखरी’ शीर्षकको कवितालाई पुनर्लेखन गरी गीत बनाएको निर्भीकले बताए ।

    ‘संसारभरि नदी सभ्यता तथा पानीबारे गीत बनेका छन्,’ निर्भीकले भने, ‘पोखरी पनि नदी सभ्यताकै एक रूप हो । गीतमा काठमाडौंको मात्र नभई सबैठाउँको रानीपोखरी, ताल, कुवा आदिलाई प्रतीकात्मक रूपमा प्रयोग गर्न खोजेका छौं ।

    ‘हुरी स्टुडियो कुपण्डोलमा रेकर्ड गरिएको गीत निर्भीकजंग रायमाझी युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

  • शान्ति श्री परियार र भूषण खतिवडाको आवाजमा ‘माया बराबर’ सार्वजनिक

    शान्ति श्री परियार र भूषण खतिवडाको आवाजमा ‘माया बराबर’ सार्वजनिक

    काठमाडौँ । गायक भूषण खतिवडा र गायिका शान्ति श्री परियारको आवाजमा नयाँ गीत ‘माया बराबर’ सार्वजनिक गरिएको छ । गीतमा फिन्जु पाख्रिनको प्रेमिल शब्द रहेको छ भने गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ।

    ‘नेपमेलो’ युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । अभिनयसंगै गीतको भिडियोलाई लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् ।

    उत्सव दाहालको छायाङ्कनमा तयार पारिएल्ल भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ । गीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी, रत्न विकेको बाँसुरी, सञ्जीव बराइलीको गितार तथा श्यामस्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको छ ।