Category: कलाप्रेस

  • देशका १० शहरमा ‘दुखी आत्मा’को ‘जोक जात्रा’

    देशका १० शहरमा ‘दुखी आत्मा’को ‘जोक जात्रा’

    काठमाडौं । फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर र ब्रेकअप कविताले दर्शकको साथ पाइरहेको छ । ‘ब्रेकअप कविता’ले सामाजिक सञ्जालमा दर्शकको उच्च साथ पाइरहेको छ । यो कवितालाई दर्शकले निकै मन पराएपछि निर्माण पक्ष पनि उत्साहित छ ।

    अब, फिल्मको टिमले नाम चलेका केही कमेडियनहरुसँग सहकार्य गर्दै ‘जोक जात्रा’ कार्यक्रम आयोजना गर्ने भएको छ । यो टुर देशका विभिन्न १० शहरमा हुनेछ ।

    माघ ६ गते नेपालगञ्ज, माघ ८ गते बुटवल, माघको १० गते नवलपुर, माघको ११ गते चितवन, माघको १३ गते पोखरा, माघको १६ गते हेटौडा, माघको १७ गते दमक, माघको १९ गते बिर्तामोड, माघको २० गते इलाममा यो कार्यक्रम हुनेछ ।

    मोफसल टुर सकेपछि काठमाडौंमा यो कार्यक्रम आयोजना हुनेछ । यो टुरमा फिल्मका कलाकारहरू पनि सहभागी हुनेछन् । माघको ६ गतेबाट सुरु हुने कार्यक्रम माघको २१ गतेसम्म चल्नेछ । ‘जोक जात्रा: स्ट्यान्ड अफ कमेडी टुर’ नामक दिएर यो कमेडी शो आयोजना हुन लागेको हो ।

    यो कमेडी टुरमा ‘कमेडी च्याम्पियन सिजन ३’का विजेता सुनिल खड्का, कर्मा सिंह लामा, सन्देश देवकोटा, निश्चल अर्याल र प्रतीक कुमार अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । उनीहरू सबैले ‘कमेडी च्याम्पियन’मा आफ्ना प्रस्तुति प्रस्तुत गरिसकेका छन् ।

    दीपेन्द्र लामाको निर्देशनमा हिमाल कडरियाले निर्माण गरेको फिल्म ‘दुखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।

  • मौलिक नेपाली शो ‘सिङ्गिङ स्टार’ प्रशारण हुँदै

    मौलिक नेपाली शो ‘सिङ्गिङ स्टार’ प्रशारण हुँदै

    काठमाडौँ । गायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षित गर्दै निर्माण गरिएको गायन प्रतियोगितात्मक शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रशारण आउँदो हप्तादेखि सुरू हुने भएको छ ।

    ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुतिमा तयार भएको ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आउँदो हप्ता माघ १२ गते प्रत्येक हप्ताको शनिवार र आइतबार राति ९ः०० बजे प्राइमटाइम्स एचडी टिभीबाट प्रशारण हुँदैछ ।

    नेपालकै मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार गरिएको मौलिक नेपाली शोमा निर्णायकको भूमिकामा गायिका डा त्रिशला गुरुङ, सङ्गीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल रहेका छन् । सङ्गीतकार पोखरेलले यस प्रतियोगिताले सहभागी अन्तिम १४ मध्ये गायन क्षमता भएकाले अवसर दिने जानकारी दिए ।

    उनले भने,‘रियालिटी शोमा गायन क्षमता भएता पनि भोटिङका कारण प्रतियोगी बाहिरिनु पर्ने हुन्छ । तर, अन्तिम १४ मा रहेका प्रतियोगीको गायन क्षमता हेरेर भोटिङका कारण प्रतियोगिताबाट बाहिरिए पनि हामी गीत निकाल्ने अवसरको सिर्जना गर्नेछौँ । यसकारण पनि अन्य भन्दा यो प्रतियोगिता फरक छ ।’

    सङ्गीतकार पोखरेलले यस्ता मञ्चले नयाँ प्रतिभालाई अवसर सिर्जना गर्नेमा जोड दिए । कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशक प्रमोद कुमार भण्डारी र निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुङ्गाना, र नभराज चौलागाईं छन् । कार्यक्रमको सञ्चालन नम्रता श्रेष्ठ र विशाल पोखरेलले गर्नेछन् ।

    ‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली सङगीतप्रेमी दर्शकलाई मनोरञ्जन मात्र होइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभाशाली गायक र गायिका खोज्ने रहेको निर्देशक भण्डारीले बताए । उनले भने,‘यो कार्यक्रमले नेपाली सङ्गीतको मौलिकता झल्काउने छ र दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ।’

    नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको शो ‘सिङ्गिङ स्टार नेपाल’ कार्यक्रमको बजार व्यवस्थापन तपस्या क्रिएसन ले गरेको छ ।

  • ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक

    ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक गरिएको छ । माघ १६ मा प्रदर्शन हुने चलचित्रको राजधानीमा एक विशेष कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

    राजन भुसालद्वारा निर्देशित चलचित्रको ट्रेलरमा मुख्य भूमिका निभाउने प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई विशेष रूपमा फिचर गरिएको छ ।

    चलचित्रमा निश्चल बस्नेतको इन्ट्रीलाई ट्रेलरले सस्पेन्सपूर्ण बनाएको छ । चलचित्रमा प्रदीप, आना, दिव्या र राजबल्लभसँगै दिव्यदेव, उषा रजक, सुशील सिटौलालगायतको भूमिका रहेको छ ।

    राजनको डेब्यु निर्देशकीय यस चलचित्रबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदैछन् । त्यस्तै दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन् ।

    अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । थमनकुमार भण्डारीले निर्माण गरेको चलचित्रमा अनिश भुसाल सहनिर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसर छन् ।

    चलचित्रको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डीसीएनले लिएका छन् ।

  • कार्साङ: शेर्पा समुदायमाथि भद्दा मजाक

    कार्साङ: शेर्पा समुदायमाथि भद्दा मजाक

    पछिल्लो समय विभिन्न जनजातिको पहिचानमा आधरित चलचित्रहरु तीव्र रुपमा बनिरहेका छन् । विशेष गरेर दोस्रो जनआन्दोलनपछि उत्पीडित, सीमान्तकृत समुदायको सांस्कृतिक, राजनीतिक र सामाजिक पक्षहरुलाई केन्द्रमा राखेर बनाइएका चलचित्रहरु बनिरहेका छन् ।

    ती चलचित्रहरुले जनजातिको मुद्दालाई मात्रै मूलधारमा स्थापित गरिरहेका छैनन्, जनजाति कलाकारहरुलाई पनि स्थापित गरिरहेका छन् । त्यसैको एक उदाहरण हो, दयाहाङ राई । राईले प्रधान भूमिका पाउने प्रायः चलचित्रहरु आदिवासीहरुको जीवनशैली र गाउँले परिवेशमै निर्माण भएका हुन्छन् ।

    ‘जारी’, ‘गाउँ आएको बाटो’, ‘नांगो गाउँ’ लगायत जनजातिको मुद्दामा बनेकैले राईले मुख्य भूमिका पाएका हुन् भन्दा अन्य अर्थ नलाग्ला । हुन तः अभिनेता राईले अन्य कयौं चलचित्रमा सफल अभिनय गरिसकेका छन् । राईको प्रधान भूमिका भएको चलचित्र बजारमा आयो ‘कार्साङ !’

    पर्यटन, पैसा र प्रतिष्ठाका पछाडि दौडिरहेका शेर्पा समुदायमा छिरिङ रितार शेर्पासहित औंलामा गन्न सकिने बाहेक केहीले मात्र रंग क्षेत्रमा हात हालेका छन् । निर्देशनको भूमिकामा यसरी हाम फालेका एक पात्र हुन् ‘एम शेर्पा ।’

    विषयवस्तुको गहिराई, समाजको बारेमा अध्ययन र एउटा जातिमाथि विश्लेषण गरेर चलचित्र निर्माण गर्न खुट्टा टेक्दै गर्दा निर्देशक ‘एम’ले कति अध्ययन, चिन्तन, खोज गरे भन्ने कुरा चलिचत्र हेरेपछि थाहा हुन्छ । उनले ‘शेर्पा संस्कृतिमा आधारित’ भनेर चलचित्रको जति नै प्रचार गरे पनि एकदमै सतही ज्ञानको जगमा निर्माण भएको चलचित्र हो ‘कार्साङ’ ।

    शेर्पा समुदायः

    हिमाली भूगोलमा बसोबास गर्ने शेर्पा समुदाय १ लाख ३० हजारको हाराहारीमा छन् । नेपाल शेर्पा संघले २०७८ सालको जनगणनाअघि आक्रमक रुपमा विभिन्न अभियानहरु सञ्चालन गरेर यति जनसंख्या किटान भएको हो । संघले शेर्पाको जनसंख्या पाँच लाख छ भनी दाबी गरिराखेको छ ।

    २०६८ को जनगणनामा शेर्पाको जनसंख्या १ लाख १२ हजार थियो । यदि अभियान नचालेको भए ०७८ मा शेर्पाको जनसंख्या लाख भन्दा तल झथ्र्यो । ०६८ को जनगणनाबाट आएको विवरणलाई संघले मिथ्याङ्क नै घोषणा गरेर सचेतना अभियान चलाएको थियो ।

    यद्यपी, शेर्पा समुदाय अल्पसंख्यकमा गनिएको छ । थोरै जनसंख्या, पछाडि पारिएको जातिको रुपमा रहे पनि शेर्पा समुदायले विभिन्न चरणमा कार्साङसहित ४ वटा चलचित्र पाइसकेको छ । कयौं लघुचलचित्रहरु पनि शेर्पाको जीवनमाथि बनेका छन् । भाषिक, सांस्कृतिक रुपमा बनेका चलचित्रहरुमा ‘खाङरी’, ‘कुसुम’ र ‘टिन्छेनफामा’ हुन् । शेर्पा समुदायमै पनि अल्पसंख्यक बोन धर्मको प्रतिनिधित्व गर्ने गरी बनेको चलचित्र हो, ‘कार्साङ’ ।

    बोन धर्मको अवशेष र कार्साङ

    पूर्वी हिमाली आदिवासीहरु र शेर्पा समुदाय बोन धर्म मान्दथे । बोन धर्म क्रमशः लोप हुँदै गएपछि बौद्ध धर्मले स्वरुप लियो । अर्को अध्ययनले बौद्ध धर्मभित्रकै एउटा भाग नै बोन धर्म हो भनेर दाबी पनि गरेको छ ।

    बोन अनुष्ठानहरूमा देवता र आत्माहरूलाई बलिदान र मन्त्रहरू अर्पण गर्नु सामान्य हुन् भनि परिभाषित गरिएको छ । ध्यान गर्ने अभ्यास, दिव्य प्राणीहरूको कल्पना गर्ने र उनीहरूसँग कुराकानी गर्नु उदाहरणको रुपमा लिन सकिन्छ ।

    बोन धर्ममा रोगको निदान र उपचार गर्ने तरिकाहरू जस्तैः भविष्यवाणी, जडीबुटी र मन्त्र पठन पनि पर्दछन् । शामनहरूले शारीरिक रोगहरू बाहेक आध्यात्मिक सल्लाह र उपचार प्रदान गर्ने बोन धर्मभित्र प्रचलन छ । तान्त्रिक अनुष्ठानहरूमा मण्डलाहरू कोर्ने र मन्त्रहरू जप गरिन्छ ।

    जन्म, विवाह, अन्त्येष्टि लगायतमा बोनपो पुजारीहरूमार्फत कार्य सम्पन्न गर्ने, बोनपोहरूले रोग निको पार्ने, भविष्य बताउने, वास्तु बताउने वा शमनको रूपमा पनि काम गर्ने चलन कार्साङमा देखाइएको छ । त्यसलाई बोन धर्मको अवशेषको रुपमा लिन सकिन्छ । तथापी, बोन धर्मको अस्तित्व शेर्पा जातिमा मात्रै सिमित भने छैन ।

    कथासारः

    एउटा पारिवारिक कथाबाट शुरु हुने चलचित्रको नाम ‘कार्साङ’ सेतो बोकासँग गाँसेर राखिन्छ भन्ने कुनै पनि दर्शकले कल्पना पनि गरेको हुँदैन । मध्यान्तरमा चलचित्रको नाम घोषणा हुँदा बोका पात्रको नामबाट चलचित्रको सम्पूर्ण कथा अघि बढेको बल्ल थाहा हुन्छ ।

    एउटा किसानी परिवारले जीविकोपार्जनको प्रमुख माध्यम खेतीपाती र पशुपालनलाई बनाएको हुन्छ । त्यो परिवारभित्रकै प्रमुख व्यक्ति समाजको प्रतिष्ठित ‘नामी’ बोन्पो ‘झाँक्री’ पनि हुन्छ । त्यही झाँक्रीको भूमिकामा अभिनेता दयाहाङ राई छन् । दयाको परिवारका सदस्यमा श्रीमती र छोरा हुन्छन् । छोराको बाल्यकालदेखि कै साथी हुन्छ ‘कार्साङ’ अर्थात उही सेतो बोका !

    बोकाको बलि दिएर पूजा गर्नुपर्ने परम्पराले परिवारमा दबाब थपिन्छ । बोका पूजा नगरी विवाह, न्वारन लगायतका कुनै संस्कार हुँदैन । बोकाकै कारण सबै संस्कारिक कुराहरु रोकिन्छ । यता छोराको जिद्दीका कारणले बोकालाई बलि दिइँदैन । बोका लुकाइन्छ, छिपाइन्छ, अनेक तानाबाना बुनिन्छ । र, अन्ततः बोकालाई लिएर दयाको परिवार गाउँ छोडेर जान्छ ।

    आफ्नै हात जगन्नाथः

    शेर्पा समुदायको भनेर प्रचार गरिएको चलचित्रले उठान गर्न खोजेको विषय शेर्पा समुदायको जातीय, भाषिक, सांस्कृतिक उत्पीडनसँग जोडिएको हुनुपथ्र्यो । तर, सिन्धुपाल्चोकको बोन धर्म मान्ने समुदाय बसोवास गर्ने एक शेर्पा गाउँको रहनसहनमा मात्रै यो चलचित्र सीमित भएको छ ।

    शेर्पाको कथा नवितम् हुने भएकाले निर्देशकले ‘शेर्पा संस्कृतिमा आधारित’ भनेरै प्रचार गरे पनि चलचित्रले बाटो बिराएको छ । विश्वभर छरिएर रहेका र मूल प्रवाहीकरणमा रहेका शेर्पाको संस्कृतिलाई चटक्कै भुलेर सिमित गाउँलाई नै सिंगो शेर्पा समुदायको प्रतिनिधित्व गराए । यसबाट शान्तिका प्रतिक बुद्धका अनुयायी शेर्पा समुदाय स्तब्ध बनेको छ । कतिपय संघसंस्थाहरुले औपचारिक रुपमै चलचित्रको कथालाई लिएर विरोध जनाइरहेका छन् ।

    शेर्पा समुदायमा भाषा समानान्तर भए पनि प्रयोग गर्ने शैली (लवज) भूगोल अनुसार केही फरक छ । तर, चलचित्रमा प्रयोग भएका भाषाहरु खास शेर्पा भाषासँग मेल नै खाँदैनन् । भेगीय हिसाबले शेर्पा जातिले यर्सा क्षेत्रमा यस्ता भाषा प्रयोग गर्ने गरे पनि बहुसंख्याकले प्रयोग गरेको भेटिँदैन ।

    अर्कोतर्फ चलचित्रमा दर्शकलाई टिकाउनका लागि प्रयोग गरेका भ्लगर शब्दहरुले शेर्पाहरु छाडा बोल्छन्, उनीहरुको समाजमा छाडापन बढ्ता देखिन्छ भन्ने सन्देश गएको देखिन्छ ।

    बौद्धमार्गी शेर्पा र शान्तिको बाटो :

    जन्म, विवाह, मृत्यु वा कुनै पनि संस्कारमा शेर्पा जातिले खास मासुजन्य वस्तु सेवन गर्दैनन् । तर, पछिल्लो समय आधुनिकताले छोएसँगै बजारबाट मासुजन्य वस्तु ल्याएर प्रयोग गर्ने चलन बढ्दो छ । तैपनि कार्साङमा देखाएजस्तो पशु बली नै चढाउने र रक्तमुछेल नै बनाइ हाल्नुपर्ने खाले परम्परा भने छँदै छैन ।

    शेर्पाहरु विशेष गरी शाकाहारी बन्न रुचाउँछन् । मासुजन्य वस्तु सेवन गर्नु परे पनि शरीरको सम्पूर्ण अंग मृतप्रायः भएपछि मात्रै भोग गर्ने चलन छ । अर्थात, २४ घण्टासम्म मारिएका पशुहरुको शरीरका अन्य अंग, नशाहरु चलयमान हुन्छ भन्ने मान्यता छ ।

    शेर्पाहरुले आफ्नो घरमा काटमार गर्दैनन् । घरभित्र पशुजन्य बस्तुका रौं, भुत्ला र प्वाँखहरु जलाउँदैनन् । शेर्पाहरु विशेष गरी शान्ति प्रेमी, दयालु, लजालु र मनकारी हुने भएकाले पनि यस्तो अभ्यास गरेका हुन्छन् ।

    कार्साङले भुलेका पाटाहरु

    चलचित्रलाई शेर्पा जाति विशेष भनिसकेपछि त्यसमा बहुसंख्यक शेर्पाहरुले परम्परागत रुपमा अंगाल्दै आएका विषयलाई नै जोड दिनुपर्दथ्यो । जन्म, विवाह र मृत्यु जस्ता मूल विषयलाई एकिकृत गर्दै परिस्कृत ढंगले चलचित्र अघि बढ्नुपर्नेमा कार्साङ एउटा टोलमा सिमित देखियो ।

    शेर्पाहरुको पहिरन विश्वमा नै लोभलाग्दो छ भन्ने भाष्य निर्माण भइसकेको अवस्थामा चलचित्रमा जम्माजम्मी एक जना पात्रले मात्रै आङ्गी (महिलाले लगाउने विशेष प्रकारको लुगा, बख्खु) लगाएको देखिन्छ । मूल पूजारी, काका लगायत कोही कसैले पनि शेर्पाको पहिचान दिने पहिरन लगाएको देखिँदैन । शेर्पाहरुले परम्परागत रुपमा प्रयोग गर्ने लुगाफाटाहरु नदेखिनु र एक जनाले मात्रै बख्खु लगाएर चलचित्रको समय सकिनु चलचित्रको दुःख हो ।

    चलचित्रले शेर्पाको श्याब्रु, नादिङ, पेजाँङ (सुत्केरीका लागि औषधी) जन्मेपछि मिन्जाङ (न्वारान अर्थात जन्म), टिजाङ (सोधनी) लगायत प्याच्याङ, सुर्जाङ, दुर्जाङ, सिल्जाङ लगायतका विषयहरु भुलेको देखिन्छ । शेर्पाहरुको परम्परागत घरहरुको बनोट फरक तवरको छ । चलचित्रमा देखाएका दृश्यहरु शेर्पा बसोवास गर्ने थातथलोसँग अलिकति पनि मेल खाँदैनन् ।

    मातृसत्ता नै शान्तिको पर्यायः

    शेर्पा लगायत आदिवासी समुदाय विशेष गरी मातृसत्तालाई नै सम्मान गरिराखेका हुन्छन् । घरमूलि अर्थात् आमाको निर्देशन पालना गर्ने र आम नारीको सम्मान गर्ने संस्कार शेर्पाहरुमा कायमै छ । आमाहरु सहनशील र शान्तिप्रेमी हुने भएरै शेर्पाहरु बौद्धमार्गी भएका हुन् भन्दा अतिशयोक्ति हुँदैन ।

    ‘जहाँ नारी त्यहाँ शान्ति’ भने झैं शेर्पा परिवारमा झै–झगडा, कलह कमै हुन्छन् । तर, चलचित्र कार्साङमा सिंगै गाउँ नै घर झगडा र अशान्तिले प्रताडित भएको देखाइन्छ । जितु र दियाबीचको कयौं संवाद, दया र सिर्जनाको अँगेनु वरिपरिको झगडा त्यसका पर्याय हुन् । चलचित्रले समाजलाई रुपान्तरण र सिर्जनशील बनाउन योगदान गर्नुपर्ने हो तर यसखाले दृश्यले समाजलाई उँधोगतितिर उन्मूख गराउँदै अशान्ति र अराजकतालाई बढवा दिन खोजेको देखिन्छ ।

    पहिचानसँगै अब नाक जोगाऔं

    आङ्गी (बख्खु), कानमा हार लगायतका आभुषणहरु, दोचा लगाएर काँधमा काँध र हातमा हात मिलाएर एक तालले सुर मिलाउँदै नाचेर एकता र सद्भाव दर्शाउने श्याब्रु, शत्रुवर्ग विरुद्ध शासकीय दृष्टिले बाटो पहिल्याउने नृत्य जस्तै विभिन्न बैदिक मान्यता अनुसार वा कुनै पनि प्रकारका बाधा अड्चनविरुद्ध कलाको माध्यमबाट परास्त गर्दै पहिचान स्थापित गर्नुपर्छ भन्ने मान्यता बोक्ने शिलीमार्फत बोलिने हजार शब्दलाई नजरअन्दाज गरेर फगत प्रचारवाजीमा अगाडि बढेको छ चलचित्र ।

    चलचित्रले उठान गर्न खोजको विषयले खास निचोड नआउँदै पदीय दायित्वमा रहेकाहरुबीच नै लेनदेनका कुरा हुनु कदापी राम्रो होइन । नराम्राहरुकै बीचबाट राम्रो खोज्ने प्रयत्न हामीले गर्नै पर्छं । चलचित्र कार्साङलाई शेर्पाकै हो भन्ने दाबी, होइन भन्ने आरोप र हुँदै होइन भन्नेहरुबीच ठूलो मतान्तर हुँदै गएको देखिन्छ ।

    त्यस्तै, विषयको गहिराइमा नपुगी सतहीमा विश्लेषण गर्ने र समुदाय वा निर्धारित समाजलाई विभक्त बनाउने चेष्ट कदापी राम्रो होइन । चलचित्रको मुख पृष्ठको विषयमा निर्माताले माफीसहित सच्याउने काम गरेका छन् । व्यक्तिगत लेनदेन, साइनो सम्वन्धसँग सिंगो जातीको अस्तित्व र मान्यताहरुको लेनदेन गर्नु उचित हुँदैन । यसमा तत्कालै माफी माग्ने, दिने र दिलाउने हैसियतमा हामी कोही छैनौं । त्यसको ठेक्का पनि लिन सकिँदैन ।

    निचोड

    चलचित्रले एउटा बोन धर्म मान्ने गाउँको प्रतिनिधित्व गर्दछ भन्नेमा फरक मत रहेन । तर, चलचित्रको समग्र पाटोलाई नजरअन्दाज गरेर शेर्पाकै हो भनेर हवाला दिने र शेर्पाको हुँदै होइन भनेर झ्याली पिट्ने दुबै समाजका लागि घातक हुन् ।

    चलचित्रले आम शेर्पाको प्रतिनिधित्व गर्दैन । तथापी शेर्पा नाम जोडिएसँगै नयाँ शिराबाट बहस, विषय उठान गर्न सजिलो भएको छ । चलचित्रका कतिपय विषयहरु काल्पनिक नै हुन्छन् तर, कार्साङ चलचित्र निर्माण हुँदै गर्दा यसले भविष्यमा पार्न सक्ने प्रभाव र भावि पीढीलाई दिने सन्देशबारे अलिकति पनि ख्याल गरेको देखिएन । समाजको ऐनाको रुपमा हेरिने चलचित्रले एउटा जातिको अस्तित्वमाथि खेलवाड गर्नु भद्दा मजाक बाहेक अरु हुन सक्दैन ।

    कार्साङ चलचित्र निर्माणको परिकल्पना पूर्व शेर्पा समुदायका विज्ञ, संस्कृतिका जानकारहरुसँग र सिंगो समुदायमा व्यापक छलफल र बहस हुनुपर्दथ्यो । त्यसो हुन सकेको भए निर्माता समूह अहिलेको उल्झनमा फस्न पर्दैन थियो । चलचित्रमा अभिनेता राईसहित हास्यकलाकार जितु नेपाल, सिर्जना लिङ्लेखु, दिया मास्के, कर्मा शेर्पालगायतको अभिनय छ ।

    (लेखकः नेपाल शेर्पा संघका केन्द्रीय सचिव हुन् ।)

     

  • ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट

    ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट

    काठमाडौं । ‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए ।

    अध्यक्ष पाठकले निफमा ७० देशका छ सयभन्दा धेरै चलचित्रले प्रदर्शनीका लागि दिएको प्रस्तावमा निर्णायक समितिले उक्त चलचित्र छनोट गरेको जानकारी दिए । उनले भने, “यस अगाडिका शृङ्खलाभन्दा भव्य बनाउने किसिमले हामीले तयारी गरिरहेका छौँ । चलचित्र प्रेमी दर्शक आकर्षित हुनेगरी हामीले प्राप्तमध्येबाट चलचित्र छनोट गरेका छौँ । यो विश्वभरका चलचित्रकर्मी भेटघाट र छलफल चलचित्र आदानप्रदान गर्ने माध्यम बन्नेमा विश्वस्त छौँ ।”

    अध्यक्ष पाठकले निफमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वसँग छलफल गरिनुका साथै विभिन्न कार्यशाला पनि सञ्चालन हुने बताए । महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ । दुवैमा ‘फिचर’ र लघु चलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ  ।

    नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने ‘नेसनल पानोरमा’ मा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पूजार सार्की’, विनोद पौडेलको ‘भूठान’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छनोट भएका छन् ।

    नेपाली वृत्तचित्रको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ रहेको छ । यस संस्करणदेखि एआई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको महोत्सव निर्देशक पाठकले जानकारी दिए ।

    ‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एन्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ रहेको छ ।

    महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँचसय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । त्यसै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ ।

    नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०र५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

    महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

  • सैफ अलि खानमाथि आक्रमणको वृतान्त : मध्यरातमा हतियारसहित घरको बाह्रौं तल्लामा कसरी पुगे आक्रमणकारी ?

    सैफ अलि खानमाथि आक्रमणको वृतान्त : मध्यरातमा हतियारसहित घरको बाह्रौं तल्लामा कसरी पुगे आक्रमणकारी ?

    काठमाडौं । मुम्बइको बान्द्रा इलाकामा एउटा अपार्टमेन्ट छ, जसको नाम हो– सत गुरु शरण । यो अपार्टमेन्टभित्र अभिनेता सैफ अलि खान र उनकी पत्नी करिना कपुरका दुईवटा घर छन् ।

    बान्द्रामा अरु बलिउड हस्तिहरु पनि बसोबास गर्छन् । सत गुरु शरण अपार्टमेन्टबाट करिब पौने तीन किलोमिटरको दुरीमा छ, शाहरुख खानको ‘मन्नत’ । सलमान खानको घर ‘ग्यालेक्सी’ पनि साढे दुई किलोमिटर आसपासमै छ । तीन खान हिरोहरु लगभग तीन किलोमिटरको दायरामा बस्छन् ।

    दोस्रो छोराका रुपमा जहाँगिर अली खानको जन्म भएपछि सैफ र करिना सत गुरु शरण अपार्टमेन्टमा सरेका हुन् । त्योभन्दा अगाडि उनीहरु छोरा तैमुरसहित अर्को घरमा बस्थे, जुन अहिले भाडामा लगाइएको छ । करिब ५० करोड भएको यो घरबाट अहिले प्रत्येक महिना साढे तीन लाख भारु भाडा सैफले उठाउने गरेका छन् ।

    सतगुरु शरण अपार्टमेन्टमा कूल ११ परिवार बस्छन् । सैफबाहेक अरु सबै बिजनेसम्यान हुन् । आफ्नो घरको १२ औं तल्लामा सैफ, करिना, उनीहरुका दुई छोरा र चार स्टाफ बस्छन् । त्योभन्दा तल्लो फ्लोरमा सैफकी जेठी पत्नी अमृता सिंहका छोरा इब्राहिम र सारा अलि खान सुत्ने गरेका छन् ।

    १५ जनवरीको रात करिना कपुर नाइट आउट पार्टीमा थिइन् । उनीसँग दिदी करिश्मा कपुर, साथी रिया र अनिल कपुरकी छोरी सोनमलगायत थिए । त्यस रात करिना घर नफर्किने सुरले पार्टीमा गएकी थिइन् । करिश्मा र करिनाले इन्स्टाग्राममा पार्टीको फोटो पनि हालेका थिए ।

    सैफको फ्लोरमा कूल ६ जना सुतेका थिए । सैफ, जेठा छोरा, तैमुर, कान्छा छोरा जहाँगिर र तीन हाउस स्टाफ । उनीहरुमध्ये हाउस मेड इस्मा चार वर्ष पहिले बच्चाहरु हेर्न आएकी हुन् । उनी जहाँगिरलाई हेर्थिन् ।

    राति ११ बजे सबैजना सुतिसकेका थिए । आमा नभएकाले जहाँगिर र तैमुर सैफसँग सुते । हाउसमेडहरु पनि काम सकेर सुत्न गए । राति लगभग डेढदेखि २ बजेको बीचमा अचानक इस्मा सुतिरहेको कोठामा आवाज आयो । उनी ब्यँुझेर हेर्दा बाथरुमको ढोका खुल्ला थियो र बत्ति बलेको थियो । उनले उठेर हेरिन् । बाथरुमतिर जाँदा एक युवकसँग जम्काभेट भयो ।

    ती युवकको एउटा हातमा चक्कु र अर्कोमा ब्रेड थियो । इस्मा डराइन् । उनी कराउन लाग्दा युवकले चक्कु दुखाएर धम्क्याए । इस्माले के चाहियो भनेर उसले सोध्दा एक करोड माग्यो । इस्माले त्यहाँबाट भाग्ने प्रयास गर्दा युवकले उनलाई चक्कुले हान्यो र छेक्ने क्रममा हातमा चोट लाग्यो ।

    हल्लाखल्ला सुनेर सैफ ब्यूँझिए र उनी झडप भइरहेको ठाउँमा आए । युवकसँग कुरा गर्न खोज्दा युवकले उनलाई नै प्रहार गरे । सैफलाई ६ पटक चक्कु हानेर युवक त्यहाँबाट भागे ।

    त्यतिञ्जेलमा सुतेका सबैजना उठे । सैफ रगतले लत्पतिएका थिए । उनलाई लिफ्टबाट तल झारियो । घरमा कारहरु थिए, तर ड्राइभर थिएनन् । सैफ गाडी चलाउने हालतमा थिएनन् । छोरा इब्राहिमसँग लाइसेन्स थिएन । ड्राइभरलाई बोलाउन भन्दा अटोमा लैजान चाँडो हुने देखियो ।

    बाटोमा अटो रोकेर सैफ बसे र उनीसँग छोरा इब्राहिम बसे । दुई किलोमिटर दुरीमा रहेको लिलावति अस्पताल पुर्याइयो ।
    डाक्टरले प्रारम्भिक परीक्षण गर्दा ६ वटामध्ये मेरुदण्ड नजिक गरिएको प्रहार घातक देखियो । त्यहाँ चक्कुको टुक्रासमेत अड्केको थियो । तुरुन्त शल्यक्रिया गरी चक्कुको टुक्रा निकालिएको छ । सैफ अहिले खतरामुक्त छन् ।

    प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । सबैभन्दा पेचिलो प्रश्न आक्रामणकारी घरभित्र कसरी घुस्यो भन्ने नै हो । त्यति ठूलो अपार्टमेन्टमा अवश्य पनि सुरक्षा व्यवस्था कडा थियो । सैफको फ्ल्याटको मुख्य ढोका भित्रबाट बन्द थियो । यस्तोमा प्रहरीमा सुरुमा त हाउसमेड इस्मामाथि नै शंका गर्यो । कतै उनले मिलेमतोमा आक्रमणकारीलाई भित्र पस्न दिएकी हुन् कि भन्ने कोणबाट सोधपुछ गरियो । तर, इस्मा निर्दोष ठहरिइन् ।

    अपार्टमेन्टभित्र रहेका प्रत्येक घरमा बेग्लाबेग्लै लिफ्ट छन् । त्यसका अतिरिक्त घरको पछाडिपट्टि आपतकालीन रुपमा प्रयोग गरिने भर्याङ पनि छ । आक्रामणकारी यही भर्याङबाट उक्लिएको र ओर्लिएको प्रहरीले अनुमान गरेको छ । तर, फ्ल्याटको ढोका कसरी खुल्यो भन्ने प्रश्न अझै अनुत्तरित नै छ । ढोका फोडिएको नभएर सरक्क खुलेको देखिन्छ ।

    प्रहरीले यो घटना चोरी वा डकैतिकै सिलसिलामा भएको दाबी गरिरहेको छ । यद्यपि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । एकजना व्यक्ति सिसिटीभीमा पहिचान भएका छन् । तर घटनामा कतिजना संलग्न थिए भन्ने प्रष्ट भएको छैन । प्रहरीले सैफको बयान लिन बाँकी छ ।

    (भारतीय सञ्चारमाध्यमहरुको रिपोर्टमा आधारित)

  • एलिना चौहानको वैवाहिक जीवनमा तनाव, श्रीमानबाट हिंसा भोगेकी हुन् ?

    एलिना चौहानको वैवाहिक जीवनमा तनाव, श्रीमानबाट हिंसा भोगेकी हुन् ?

    काठमाडौं । गायिका एलिना चौहान आफ्नो वैवाहिक जीवनलाई लिएर फेरि एक पटक चर्चामा आएकी छन् । श्रीमान विष्णु सापकोटासँग उनको सम्बन्ध बिग्रेको र डिभोर्सकै नजिक पुगेको दाबी गरिएको छ ।

    लोकगायिका ज्योति मगरले तीन दिन अगाडि एउटा स्टाटस लेखेकी थिइन्, जसमा एक ‘गायिका बहिनी’ ले उनलाई आफ्नो श्रीमानबाट खेपेको हिंसाको कथा सुनाएको प्रसंग उल्लेख थियो ।

    ज्योतिले पछि डिलिट गरेको उक्त स्टाटसमा लेखिएको थियो, ‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् र बरर्र आँसु झारिन् । उनको रगताम्मे अनुहार, आँखा र मुखभरि निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी यस्तोसम्म भोगें मैले… उनलाई मैले स्ट्रङ होउ मुभ अन गर त भनें, तर मेरो मन अति नै भारी हुँदैछ । साँच्चिकै उनको पीडामा मलाई धोको फेरेर रुन मन लाग्दैछ । एउटा पब्लिक फिगरको त यो दुर्दशा छ, आममहिलाको हालत के होला ? जरुरत भएको खण्डमा उनलाई मेरो सहयोग चाहिएछ उनको भने मात्रै उनको अनुमतिमा नाम मेन्सन गर्नेछु । उनको फिलिङ्सको कदर गर्दै अहिलेलाई नाम गोप्य राखियो ।’

    ज्योतिले यसरी गोप्य राखेको नाम हिजो साँझ सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नो टेलिभिजन कार्यक्रममा छताछुल्ल पारिदिए । सुवेदीले एलिनाको वैवाहिक सम्बन्ध अब धेरै नटिक्ने भविष्यवाणीसमेत गरेका छन् । यसले एलिनाका फ्यानहरुलाई चिन्तामा पारेको छ ।

    एलिना र विष्णुको विवाह भएको एक वर्ष पनि बितेको छैन । केही समयको प्रेमपछि उनीहरुले यसै वर्ष वैशाखमा लगनगाँठो कसेका हुन् । अस्ट्रेलियामा बस्दै आएका विष्णुले विवाहपछि एलिनालाई पनि उतै लगेका थिए । उनी एलिनालाई पनि अस्ट्रेलियामै राख्न चाहन्थे, तर ३-४ महिना अस्ट्रेलिया बसेर एलिना नेपाल फर्किइन् । यस वर्षको तीज अगाडि नै नेपाल आएकी एलिना अहिलेसम्म यतै छिन् ।

    अस्ट्रेलियामै छँदा एलिनाले बनाएको एउटा टिकटक भिडिओले संशय पैदा गरेको थियो । भिडिओमा उनको अनुहारभरि निलडाम जस्तो देखिन्थ्यो र आँखामा आक्रोश थियो । विभिन्न अड्कलबाजी हुन थालेपछि उनले गीतको भावअनुसार भिडिओ बनाउन निलडामको मेकअप गरेको र आफू ठिकठाक रहेको प्रष्टीकरण दिइन् । यद्यपि उनी ठीकठाक थिइनन् ।

    नेपाल आएलगत्तै एलिना ‘शान्तिको खोजीमा’ ओसो तपोवनमा ध्यान गर्न पुगिन् । यसले पनि थप संशय पैदा भयो । ध्यानबाट निस्केपश्चात उनले आफ्नो सांगीतिक करिअरलाई निरन्तरता दिइरहेकी छन्, तर उनको अनुहार र हाउभाउमा पहिले जस्तो उमंग नरहेको धेरै महसुस गरेका छन् । यस्तो लाग्छ, मानौं चोट लुकाएर हाँसिरहेकी छन् ।

    यो बीचमा दिएका थुप्रै अन्तर्वार्ताहरुमा एलिनाले आफ्नो मनको व्यथा फुकाउन सकिनन्, तर उनको पछिल्ला गीत र टिकटक भिडिओहरुले हताश मनस्थितिको छनक मिलिरहेको थियो । अर्कोतर्फ श्रीमान विष्णुका टिकटक भिडिओहरुबाट पनि उनीहरुको सम्बन्ध सरल रेखामा नबगिरहेको प्रतित हुन्छ ।

    हिजोमात्रै एलिनाको नयाँ गीत युट्युबमा रिलिज भएको छ, जसको बोल रहेको छ- एक्लै पनि जिन्दगी चल्दो रहेछ । कतै यो गीतले एलिनाको आफ्नै जिन्दगीको कथा त बोलिरहेको छैन ?

  • युएईमा सिस्नुपानी नेपालको ‘दुई थोपा हाँसो’

    युएईमा सिस्नुपानी नेपालको ‘दुई थोपा हाँसो’

    काठमाडौं । सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० मा आफ्नो प्रस्तुति दिएको छ। युएईमा बस्ने नेपाली माझ ‘दुई थोपा हाँसो’ प्रस्तुति दिएको हो।

    नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गरेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन एवम् जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो।

    नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैर आवासीय नेपाली संघ युएइको आयोजनामा सिस्नुपानी नेपालका कलाकारहरूको प्रस्तुति रहेको थियो।

    युएईका लागि नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फाबाट जनवरी १० तारिखमा सुरु गरिएको थियो।

    यसै गरी क्लिन्को क्याम्प, सज्जा सारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ तारिखमा गरिएको थियो। जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो।

    कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट कार्यक्रम संयोजक तथा सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, गायक धीरेन्द्र प्रेमर्षि, कलाकार चक्र दवाडी र सरोज घिमिरेको उपस्थिति रहेको थियो। कलाकार मनोज गजुरेल र चक्र दवाडीले मदन भण्डारी र बीपी कोइरालाको भूमिका निर्वाह गरेका थिए।

    टंक आचार्यले आफ्नो र अध्यक्ष लक्ष्मण गाम्नागेको कविता सुनाएर परदेशिएका नेपालीलाई भावुक बनाएका थिए। धीरेन्द्र प्रेमर्षिको प्यारोडी गीतले सबैलाई रमाइलो प्रदान गरेको थियो भने सरोज घिमिरेले मन्तव्य दिएका थिए।

    राजदूतावासबाट प्रतिनिधित्व गर्दै दीपेन्द्र पौडेल र विकास भट्टराईले नेपालीले ध्यान दिनुपर्ने कुरामा चर्चा गरेका थिए।

    नेपाली रेमिट्यान्समा उल्लेख्य भूमिका निर्वाह गर्ने श्रमशील नेपालीका दुःखसुखमा ऊर्जा थप्ने उद्देश्यले सिस्नुपानी नेपालले विगत एघार वर्षदेखि यो कार्यक्रम दुई थोपा हाँसो गर्दै आएको छ। युएईमा भने यो चौथो संस्करण हो।

  • ‘सेतो सूर्य’ ले पहिल्याएका माओवादी विद्रोहका डाेबहरू

    ‘सेतो सूर्य’ ले पहिल्याएका माओवादी विद्रोहका डाेबहरू

    काठमाडौं । बहुविवाह गरेका पूर्वप्रधानपञ्च घरमै बित्छन् । उनका दुई छोरा छन् । जेठी श्रीमतीतिरको छोरो (दयाहाङ राई) माओवादी विद्रोही हो । माओवादीमा गएर ऊ अग्नी बनेको छ । कान्छी श्रीमतीतिरको छोरो सुरज (रवीन्द्रसिंह बानियाँ) पूर्वसैनिक हुन् । राजनीतिक र वैचारिक रुपले यी दुई दाजुभाइ अलगमात्रै छैनन्, उनीहरूबीच व्यक्तिगत तिक्तता पनि छ ।

    पूर्वप्रधानपन्चको लास घरबाट उठाएर घाटसम्म लानुपर्ने छ । तर, गाउँमा लास बोक्ने मान्छे छैनन् । गाउँमा वृद्धवृद्धा र बालबालिकाहरू मात्रै छन् । बोकेर लानुपर्ने छ दाजु र भाइले । तर, दाजु र भाइबीच अहम् हावी हुन्छ । आफ्नी छोरीलाई बाबुको नाम दिनका लागि जे पनि गर्न तयार दुर्गा (आशा मंग्राती) को विषयलाई लिएर दाजुभाइको पुरुष अहम्को टकराव हुन्छ ।

    दाजुभाइ बावुको लासलाई भुइँमा पसारेर कुटाकुटमा उत्रिन्छन् । भाइ चाहिँले लासलाई त्यहीँ अलपत्र छाडेर घर फिर्छ । दाजु चाहिँ मलामी खोज्न निस्कन्छ । यसपछि बावुको लासलाई घाट पुर्‍याएर कसरी जलाइन्छ त ? ‘सेतो सूर्य’ को कथासार यही हो ।

    यही कथामार्फत् निर्देशक दीपक रौनियारले माओवादी विद्रोहले बनाएको घाउका डोबहरुलाई छिचोल्ने प्रयास गरेका छन् । सरकार २०७२ सालको संविधान जारी गर्ने अन्तिम तयारीमा रहेको वेलाको कथा हो ‘सेतो सूर्य’ । संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएर जाने खबर रेडियोले फुकिरहेको हुन्छ ।

    चलचित्रमा दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, सुमी मल्ल, दिपक क्षेत्री, गणेश न्यौपाने, आशा मंग्राती, अमृत परियार, शारदा अधिकारी, प्रमोद अग्रहरी, देशभत्तल खनाल लगायत कलाकारको अभिनय छ ।

    तर, समाज भने जहाँको त्यहीँ छ । दलित, महिला, सीमान्तकृत, अल्पसंख्यकका लागि लडेका अग्नीको पेटमा गोलीले छेडेको दाग अझैँ ताजा छ । राजतन्त्र हटाएर गणतन्त्र ल्याउन बन्दुक उठाएको हात जस्ताको तस्तै छ । तर, राजावादी पार्टी राप्रपाको झण्डा ओढाइएको बाउको लास बोक्न अभिशप्त छ ।

    समाज रुपान्तरणका लागि लडेको थियो ऊ । अन्धविश्वास र विभेदलाई जरैदेखि उखेल्न लडेको थियो ऊ । तर, ससुराको लास दुर्गाले छोएको निहुँमा समाज भन्छ, ‘महिलाले छोयो, चोख्याउनुपर्छ ।’ भेदभाव गर्नुहुन्न भनेर लडेको थियो अग्नी । तर, ‘जनजातिले लास उठाउन मिल्दैन’ भनेर समाजले भन्दा ऊ चुप लाग्नुपर्छ । छोरीको बावु को हो भनेर भन्न नसकेकी दुर्गाले छोरीको जन्मदर्ताकै लागि कसैकी श्रीमती बन्न तयार छे ।

    कागजमा त संविधान आउने भयो, तर व्यवहारमा ? निर्देशक रौनियारले ‘सेतो सूर्य’ मार्फत् तेर्साएको प्रश्न नै यही हो । मुलुकमा लोकतान्त्रिक गणतन्त्र आयो, तर कसका लागि आयो त ? रौनियारले यसको सग्लो जवाफ चलचित्रमै दिएका छन् ।

    चलचित्रमा एक दृश्य छ, अग्नी मलामी खोज्दै पल्लो गाउँसम्म पुग्छ । जहाँ युद्धकालमा सँगै लडेका कमरेडको छोराको विवाह समारोह हुन्छ । अनि कमरेड चाहिँ हेलिकोप्टरमा आउँछ । अयोग्य लडाकु बनेका अग्नी वाल्ल परेर हेर्छ । गणतन्त्र कसका लागि आयो भनेर दर्शकलाई बताउन रौनियारले नेतालाई हेलिकोप्टर चढाएका छन् ।

    पूर्णरूपमा कोही पनि सही र असल हुन सक्दैन भनेर देखाउन फिल्ममेकरहरूले प्रायजसो यो कलर प्रयोग गर्ने गरेका छन् । रौनियारले पनि यही रङलाई प्राथमिकता दिएका छन् । बि-रोल सटहरूको अत्यधिक प्रयोग गरिएको छ ।

    अर्कातिर समाज जस्तो थियो, त्यस्तै छँदैछ । दुईचारवटा गफ ठोक्न बाहेक अग्नीको चेतना पनि जस्ताको तस्तै छ । पेटमा गोलीले बनाएको दागबाहेक अग्नीको बुझाइमा कुनै बदलाव आएको छैन ।

    त्यति धेरै युद्ध लडेर आएको अग्नी श्रीमती दुर्गाकी छोरी (सम्भवतः दुर्गा जनयुद्धमा बलात्कृत भएकी हुन सक्छिन्) लाई बावुको नाम दिन सक्दैन । दुर्गाले ‘बावुको नाम मात्रै देऊ’ भन्दा अग्नीको अहम्मा ठेस लाग्छ । जब कि दुर्गाले भोगेको तमाम दुःख र पीडा अग्नीलाई राम्रोसँग थाहा छ । अनि छोरीको जन्मदर्ताका लागि सुरजसँग दुर्गाले विवाह गर्न लागी भनेर अग्नी मुर्मुरिन्छ । महिला मुक्तिका लागि लडेको एक योद्धा त बदलिन सकेको छैन, अनि समाज त्यति सजिलै बदलिन्छ त ? रौनियारले चलचित्रमार्फत् सोधेको यक्ष प्रश्न हो यो ।

    चलचित्रमा ग्रे कलरलाई प्राथमिकताका साथ प्रयोग गरिएको छ । यो खैरो रङ सेतो-खैरो र कालो रङको मिश्रण हो । जीवनमा अँध्यारो र उज्यालो पाटो दुवै छ भनेर देखाउनका लागि फिल्ममेकरहरुले यो रङको प्रयोग गर्ने गर्छन् ।

    पूर्णरूपमा कोही पनि सही र असल हुन सक्दैन भनेर देखाउन फिल्ममेकरहरूले प्रायजसो यो कलर प्रयोग गर्ने गरेका छन् । रौनियारले पनि यही रङलाई प्राथमिकता दिएका छन् । बि-रोल सटहरूको अत्यधिक प्रयोग गरिएको छ ।

    समग्रमा ‘सेतो सूर्य’ अव्यवस्थित मुलुक, यथास्थितिमा रहेको समाज र फ्रस्टेड नागरिकहरूको कोलाज हो । चलचित्रले भन्छ, त्यति ठूलो ऐतिहासिक परिवर्तनपछि नेपाली समाज आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक रूपले जुन रूपमा गतिशील हुनुपर्थ्यो, भएन । बरु पछाडितिरै मात्रै धकेलिन खोज्यो ।

    अनि तीन दिनसम्म लासलाई बाटोमा अलपत्र बनाएर राखिनु चाहिँ अविश्वसनीय छ । जतिसुकै मलामी नपाए पनि तीन दिनसम्म गाउँमा लास हुकाउन तर्कसंगत देखिन्नँ ।

    चलचित्रको सबैभन्दा सुन्दर पक्ष भनेको बालबालिका हो । चलचित्रमा एउटा दृश्य छ, जहाँ अग्नी मलामी खोज्दै गइरहेको छ । प्रहरी चेकपोस्टमा पुग्न खोला तर्नुपर्ने हुन्छ । १२/१३ वर्षपछि गाउँ आएका अग्नीलाई त्यतिधेरै थाहा हुँदैन । ऊ पुरानो पुलतिरै अगाडि बढ्छ । तर, दुर्गाकी छोरीले उसलाई रोक्छे । पुरानो पुल भत्किसकेको र नयाँ पुल बनेको बताउँछे । यो गज्जबको दृश्य हो ।

    चलचित्रमा अर्को एउटा दृश्य छ, अग्नीले आफूले गल्ती गरेको रियलाइज गर्छ । अनि दुर्गाले बनाएको छोरीको जन्मदर्ताको कागजमा हस्ताक्षर गर्छ । तर, अग्नीले यस्तो वेला हस्ताक्षर गर्छ, जुनवेला दुर्गाले मनस्थिति बनाइसकेकी हुन्छे, ‘अब मलाई कुनै पुरुषको आवश्यकता छैन । म मेरी छोरीलाई आफ्नै तरीकाले हुर्काउँछु, पढाउँछु । मेरी छोरीलाई बाउको जरुरत छैन ।’ चलचित्रको सबैभन्दा सवल पाटो नै यही हो ।

    समाज रुपान्तरणका लागि लडेको थियो ऊ । अन्धविश्वास र विभेदलाई जरैदेखि उखेल्न लडेको थियो ऊ । तर, ससुराको लास दुर्गाले छोएको निहुँमा समाज भन्छ, ‘महिलाले छोयो, चोख्याउनुपर्छ ।’ भेदभाव गर्नुहुन्न भनेर लडेको थियो अग्नी । तर, ‘जनजातिले लास उठाउन मिल्दैन’ भनेर समाजले भन्दा ऊ चुप लाग्नुपर्छ ।

    अहिले पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ३ हजार दुई सय ८८ वटा उजुरी छन् । युद्धकालमा सत्ता पक्ष र विद्रोही पक्षद्वारा बलात्कृत र हिंसामा पारिएका महिला आन्दोलनमै छन् । युद्धमा घाइते भएकाहरुको अवस्था दयानीय छ । युद्ध लडेका जनमुक्ति सेनाहरू कोही यतै मजदुरी गरेर गुजारा चलाइरहेका छन् त कोही खाडी पसेका छन् । अनि ‘सेतो सूर्य’ ले देखाएजस्तो हेलिकप्टर चढ्ने ‘कमरेडहरु’ हाम्रै वरिपरि छन् ।

    ८ वर्षपछि पनि यो चलचित्र उत्तिकै सान्दर्भिक छ । भेनिस फिल्म फेस्टिभल, टोरोन्टो फिल्म फेस्टिबल, बुसान फिल्म फेस्टिबलजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यो चलचित्र अहिले युट्यूवमा सार्वजनिक भएको छ ।

    त्यस्तै २७ औं सिंगापुर इन्टरनेशनल फिल्म फेस्टिभलमा यस चलचित्रले ५५ हजार डलर सहित सर्वोत्कृष्ट अवार्ड जितेको थियो । फ्रिवर्ग इन्टरनेशनल फेस्टिभलमा चारवटा र भेनिस फिल्म फेस्टिभलमा एउटा अवार्ड जितेको थियो । पाम स्प्रिङ फिल्म फेस्टिभलमा पनि यसले अवार्ड जितेको थियो ।

    चलचित्रमा दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, सुमी मल्ल, दिपक क्षेत्री, गणेश न्यौपाने, आशा मंग्राती, अमृत परियार, शारदा अधिकारी, प्रमोद अग्रहरी, देशभत्तल खनाल लगायत कलाकारको अभिनय छ ।

  • लमजुङका डाक्टरसँग भोलि लगनगाँठो कस्दै मेलिना राई

    लमजुङका डाक्टरसँग भोलि लगनगाँठो कस्दै मेलिना राई

    काठमाडौं । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् ।

    स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् ।

    भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो ।

    केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।

  • बलिउड अभिनेता सैफ अलि खानमाथि छुरा प्रहार

    बलिउड अभिनेता सैफ अलि खानमाथि छुरा प्रहार

    काठमाडौं ।बलिउड अभिनेता सैफ अलि खानमाथि सांघातिक आक्रमण भएको छ ।

    बान्द्रास्थित उनको घरमा डकैतिका क्रममा चक्कु प्रहार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    खानको शरीरमा ६ पटक चक्कु प्रहार भएको थियो । एउटा प्रहार उनको स्पाइनल कर्ड नजिकै भएको बताइएको छ । उनलाई तत्कालै लिलावती अस्पताल पुर्याएको थियो ।

    अहिले उनको सर्जरी भइरहेको र अवस्था स्थिर रहेको जनाइएको छ ।

  • चलचित्र ‘लाज शरणम्’ले ल्यायो ‘स्टार स्किम अफर’, ५ जना विजेताले मोबाइल पुरस्कार पाउने

    चलचित्र ‘लाज शरणम्’ले ल्यायो ‘स्टार स्किम अफर’, ५ जना विजेताले मोबाइल पुरस्कार पाउने

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले चलचित्रको शीर्षकमा भिडियो प्रतियोगिता घोषणा गरेको छ ।

    ‘स्टार स्किम अफर’ नाम दिइएको यश प्रतियोगितामा सहभागीहरुले लोकपप सँगै आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागिताका लागि यी पाँच विधामध्ये कुनै पनि विधा छान्न सकिने बताइएको छ। सहभागीहरुले भिडियाे चलचित्र ‘लाज शरणम्’को इमेल laajsharanammoviefalgun14@gmail.com मा पठाउन सक्नेछन् ।

    प्रतियोगीहरुले तयार पारेका भिडियोहरु ‘लाज शरणम्’को आधिकारिक टिकटक अकाउन्टमा अपलोड गरिनेछ। निर्माण टिमले भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी ५ जना विजेतालाई आकर्षक मोबाईल पुरस्कार प्रदान गर्ने जनाएको छ। यो प्रतियोगिता माघ १ गतेदेखि १५ गते राति १२ बजेसम्म खुला रहनेछ।

    ‘लाज शरणम्’ले केही समयअघि मात्र आफ्नो चलचित्रको तीनवटा पोस्टर सार्वजनिक गरेको थियो। सक्किगोनी टिमले निर्माण गरेको यो चलचित्र फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ।

    चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन्। चलचित्रको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन्। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माता रहेको चलचित्रमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

  • म्युजिक भिडिओमा युवराज सफलको डेब्यू ! नम्रतासँग कति जम्यो केमेस्ट्री ?

    म्युजिक भिडिओमा युवराज सफलको डेब्यू ! नम्रतासँग कति जम्यो केमेस्ट्री ?

    काठमाडौं । चर्चित राजनीतिक अभियन्ता युवराज सफल म्युजिक भिडिओ मोडलको नयाँ अवतारमा देखा परेका छन् । उनले अभिनय गरेको पहिलो म्युजिक भिडिओ हिजो युट्यूवमा रिलिज भएको छ ।

    ‘म त ज्यूँदै मरेकी छु’ बोलको विरही गीतमा युवराज सफलले मोडलिङ गरेका हुन् । उनलाई अभिनेत्री नम्रता सापकोटाले साथ दिएकी छन् । श्रीमानबाट धोका पाएकी पत्नीको भूमिकामा नम्रता छिन् भने युवराज सफल उनलाई सहारा र सान्त्वना दिइरहेका देखिन्छन् । सफलको अभिनयमा भने कुनै दम छैन ।

    भिडिओको अन्त्यमा सफलको डाइलग छ, ‘अब म ज्वाईंलाई मुद्दा हाल्दिन्छु ।’

    गीतका शब्दहरु युवराज सफलले नै लेखेका हुन् । गीतमा गायिका निरा रानाभाटको एकल आवाज छ । संगीत कृष्ण भारद्वाजले दिएका हुन् भने एरेन्ज बाबुल गिरीले गरेका हुन् ।

    गीतको म्युजिक भिडिओ राहुल बराइलीले निर्देशन गरेका छन् । भिडिओमा अनुपजंग थापा र सजिना लामिछाने पनि देखिन्छन् ।

    गीत समग्रमा कर्णप्रिय नै छ । तर, भ्यूज गतिलो पाइरहेको छैन । कमेन्टमा धेरैले युवराज सफललाई ट्रोल गरेका छन् ।

  • ‘ताण्डवम्’ फागुन ९ बाट चलचित्र हलमा

    ‘ताण्डवम्’ फागुन ९ बाट चलचित्र हलमा

    काठमाडौं । जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्र ‘ताण्डवम्’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार पोस्टर सार्वजनिक गर्दै यो चलचित्र फागुन ९ गते प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

    सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरू क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराज प्रस्तुत छन् । यो चलचित्रबाट कलरिस्ट जुनिमले निर्देशनमा डेब्यु गर्दैछन् ।

    महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको चलचित्र नाम जस्तै धार्मिक कनेक्सन पनि रहेको निर्माण टीमले जनाएको छ ।

    आफ्नो पहिलो सन्तानको स्वागतको लागि तयारी गरिरहेको नवजोडीको जीवनमा हुने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

    चलचित्रको निर्मातामा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम छन् । हरि घले लामाले खिचेको चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोविद बज्रको ब्याकग्राउन्ड म्युजिक रहेको छ ।

    चलचित्रको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् । निर्देशक जुनिमले ‘पानीफोटो’, ‘पशुपतिप्रसाद २ः भष्मेडन’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’ लगायतका दर्जन बढी सिनेमामा कलरिस्टको रूपमा काम गरिसकेका छन् ।

  • ‘फेरि रेशम फिलिली’ को पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक

    ‘फेरि रेशम फिलिली’ को पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक

    काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा सिनेमामा समावेश पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको हो ।

    दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट लगायत फिचर्ड छन् ।

    यसअघि २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’ लोकप्रिय गीत ‘पारी त्यो डाँडा’ले दर्शकमाझ चर्चित बनेको थियो । सोही लेवलको चर्चा आज रिलिज भएको ‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्डैमा’ले पनि पाउने अपेक्षा छ । यो गीतले ‘पारी त्यो डाँडा’ जत्तिकै चर्चा पाउने नपाउने भन्ने प्रश्नको जवाफ गीत सार्वजनिक भएपछि स्पष्ट हुने दाबी निर्माता रौनक विक्रम कडेलको छ ।

    सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण सिनेमाका लेखक र निर्देशक निरोज महर्जन हुन् । रौनक विक्रम कडेल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । यो सिनेमाले गीत संगीतको माध्यमबाट दर्शकमाझ पुरानो ‘रेशम फिलिली’को जस्तो प्रभाव छोड्ने विश्वास निर्माण टिमको छ ।

    सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।

    सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

  • कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

    कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

    काठमाडौं । गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ ।

    एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिए । उनी निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ को गीत र श्रव्यदृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो समूहका कारण यसपटक सफल भए पनि आउँदा दिनमा एक विधाबाहेक अरुको जिम्मेवारी नलिने बताए ।

    उनले भने, “आफैँले सबै काम गर्दा गाह्रो नै हुनेरहेछ । विशेषतः निर्देशन र अभिनय एकैपटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ ।”

    यस विषयमा अभिनय र निर्देशनसँगै गरिरेका निश्चल बस्नेत, अर्पण थापालगायतसँग छलफल गरेको गायक सपूतले बताए । उनले गायनमै व्यस्त हुँदा चलचित्र निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पुर्याउने चाहना भएको बताए ।

    “भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ । मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो । त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्तरुप दिएको हुँ । यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो”, उनले भने । यो चलचित्रको कथामा आफ्नो बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पारे ।

    अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताए । उनले भने, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । यो चलचित्रमा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । यो मलाई वर्षौँसम्म सम्झिने पात्र बन्ने छ ।”

    सार्वजनिक गरिएको ‘साँझ पर्यो झमक्कै’ गीतमा शब्द, सङ्गीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिएका छन् । चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् ।

    आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

  • चलचित्र ‘बसन्त’को ‘साँझ पर्यो झमक्क’ गीत सार्वजनिक

    चलचित्र ‘बसन्त’को ‘साँझ पर्यो झमक्क’ गीत सार्वजनिक

    काठमाडौं । आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बसन्त’ को ‘साँझ पर्यो झमक्क’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार एक समारोह मा गित सार्वजनिक गरिएको हो ।

    गीतमा शब्द संगीत प्रकाश सपुतको रहेको छ भने स्वर शान्ति श्री परियार र प्रकाश सपुतको रहेको छ ।

    आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र मा निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफूले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको छ ।

    चलचित्र मा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ ।

    यो सोसल ड्रामा चलचित्र मा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्र ले भन्ने छ ।

    गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने चलचित्र को कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् ।

     

  • एलिस खनालको अभिनयमा ‘राहदानी’ म्यूजिक भिडियो रिलिज

    एलिस खनालको अभिनयमा ‘राहदानी’ म्यूजिक भिडियो रिलिज

    काठमाडौं । कलाकार एलिस खनालको अभिनयमा ‘राहदानी’ बोलको म्यूजिक भिडिओ रिलिज भएको छ ।

    गीतकार धनबीर थापाद्वारा रचना गरिएको उक्त गीतमा राजकुमार बगरको संगीत निर्देशन रहेको छ । गीतलाई बगरले नै रेकर्डिङ-मास्टरिङ गरेका छन् । कमल सौरागले यो गीतलाई संगीत संयोजन गरेका छन् ।

    यो गीतको म्युजिक भिडियोमा एलिस खनाल ,रोशनी कार्की बाल कलाकार दियन गौतम तथा एञ्जल खनालले अभिनय गरेका छन् । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा सुव्रत आचार्यको निर्देशन रहेको छ ।

    गीतकार बसन्त वित्यासी थापा यो गीत तथा भिडियोका निर्माता हुन् । यो भिडियो भकारी एमडिसीको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

     

  • सिनेमा ‘तेल भिसा’ले मनायाे प्रदशर्नको ५१ औँ दिन

    सिनेमा ‘तेल भिसा’ले मनायाे प्रदशर्नको ५१ औँ दिन

    काठमाडाैं । सिनेमा ‘तेस भिसा’ले प्रदशर्नको ५१ औँ दिन मनाएको छ । मंसिर ७ गतेबाट प्रदर्शनमा आएको सिनेमाले आज प्रदर्शनको ५१ औँ दिन मनाएको हो ।

    १२ वटा सिनेमा हलमा ‘तेल भिसा’ले ५१ औँ दिन मनाएको वितरक करण श्रेष्ठले जानकारी दिए । सिनेमाले प्रदर्शनको ५१ औं दिन मनाउँदै गर्दा सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले विभिन्न बाधा अड्चन छिचोल्दै यहाँसम्म पुग्दै गर्दा साथ दिने सम्पुर्ण दर्शक तथा शुभचिन्तकहरु प्रति आभार प्रकट गर्दै खुशी व्यक्त गरेका छन् ।

    दर्शक तथा समीक्षकबाट समेत राम्रो प्रतिक्रिया पाएको सिनेमा ुतेल भिसाुले क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयललगायत मल्टिप्लेक्समा ५१ औँ दिन मनाएको हो ।

    दक्षिण भारतीय सिनेमा पुष्पा २ का कारण न्युन शोमा खुम्चिएको सिनेमाले दर्शकको साथ पाएपछि पाचौँ हप्तामा पनि ुतेल भिसाुको शो थपिएको थियो । ‘तेल भिसा’को निर्देशक शंकर घिमिरे हुन् भने प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् ।

    सिनेमामा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । निर्देशक घिमिरेको नै लेखन रहेको सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

    वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ ।

    प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।

     

  • मकवानपुरको बज्रबाराहीमा ‘थाहा फिल्म फेस्टिभल’ हुने

    मकवानपुरको बज्रबाराहीमा ‘थाहा फिल्म फेस्टिभल’ हुने

    हेटौंडा । थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण यही पुस २८ गते मकवानपुरको थाहा नगरको बज्रबाराहीमा हुने भएको छ । माघ १ गतेसम्म चल्ने फेस्टिभलमा सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसहित २० वटा फिल्म प्रदर्शन गरिनेछ ।

    महोत्सवमा सहभागिताका लागि पेस भएका ४६ फिल्ममध्येबाट २० वटा छानिएको आयोजक थाहा कला केन्द्रका सानुबाबु मोक्तानले जानकारी दिए ।

    फेस्टिभलमा पखेटा, टुल्की, बाटो, लाखे, सतीदेवी, मोदीवेनीलगायतका फिचर फिल्म प्रदर्शन हुनेछन् । सर्ट फिल्मतर्फ बेली, अन्तर्वार्ता, द रोप अफ होप, निर्देश, दुई सय रुपैयाँ, खिललगायतका चलचित्र र डकुमेन्ट्रीतर्फ हिउँ चितुवा, गर्ल्स रिराइटिङ डेस्टिनी प्रदर्शन हुने उनले बताए ।

    थाहा नगरलाई नेपाली सिने क्षेत्रको हब बनाउने उद्देश्यसहित गत वर्ष ‘थाहा फिल्म फेस्टिभल’ सुरु गरिएको थियो । फेस्टिभलको माध्यमबाट थाहालाई चलचित्र छायांकनको हबको रुपमा विकास गरिनुका साथै थाहालाई फिल्म सिटीको रुपमा विकास गरिने अवधारणासहित कार्यक्रमको आयोजनालाई निरन्तरता दिइएको मोक्तानको भनाइ छ ।

    तीन दिनसम्म चल्ने फेस्टिभलमा देशका चर्चित चलचित्रकर्मी, फिल्म समीक्षकको सहभागिता हुने आयोजकले जनाएको छ ।
    काठमाडौं र हेटौंडा जस्ता शहरको नजिकै रहेर पनि थाहा नगरपालिकामा हालसम्म कुनै सिनेमा हल सञ्चालनमा छैन । त्यसकारण सहजै सिनेमा हेर्न नपाउने यहाँका दर्शकलाई लक्षित गरी महोत्सव आयोजना गरिएको फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशीले बताए ।

    फेस्टिभलको माध्यमले थाहा नगरमा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।