Category: कलाप्रेस

  • ‘एक्टर टेक वान’को प्रदर्शनमा अवरोध हट्यो, दुई पक्षबीच सहमति 

    ‘एक्टर टेक वान’को प्रदर्शनमा अवरोध हट्यो, दुई पक्षबीच सहमति 

    काठमाडौं । ‘एक्टर टेक वान’काे रिलिजलाई लिएर उत्पन्न भएको विवादमा २ पक्षबीच सहमति जुटेको छ ।  सो चलचित्रविरुद्ध कपिराइटको मुद्दा हालेकाे ‘एक्टर’का निर्माता बिनासर्त मुद्दा फिर्ता लिन सहमति जनाएका छन् ।

    राजन काफ्ले निर्देशित ‘एक्टर टेक वान’ हिजो रिलिज गर्ने पूर्वतयारी थियो तर एकदिन अगाडि जिल्ला अदालतले चलचित्रको रिलिज रोक्न अल्पकालिन आदेश दिएको थियो ।

    अदालतको आदेशपछि हलहरुले ‘एक्टर टेक वान’को रिलिज रोकेका थिए । दुवै चलचित्रका निर्माण पक्षबीच भएको संवादपछि सहमति जुटेको हो ।

    एक्टर टेक वानका तर्फबाट निर्माताद्वय थमन भण्डारी र मोती कार्की तथा एक्टरका तर्फबाट मनोहरि थापा, सम्राट थापा र कानून व्यवसायी यज्ञमणि न्यौपाने छलफलमा बसेका थिए ।

    ‘एक्टर टेक वान’का निर्माता भण्डारीले यहि नाममा चलचित्र रिलिज गर्न सहमति जुटेको बताए । भोलि नै आफ्नो चलचित्र रिलिज हुने उनकाे भनाइ छ ।

    ‘हाम्रो चलचित्रमाथिको कपिराइट दाबी उहाँहरुले फिर्ता लिनुभएको छ । अब फिल्म रिलिज गर्न समस्या छैन’, उनले भने ।

  • यादव खरेलको ‘नोस्टाल्जिया’ : कसरी जन्मिए यी कालजयी गीत ?

    यादव खरेलको ‘नोस्टाल्जिया’ : कसरी जन्मिए यी कालजयी गीत ?

    काठमाडौं । सायद तपाईंले यो गीत सुन्नुभएको होला- ‘यस्तै रहेछ यहाँको चलन’

    त्यस्तै यी गीतहरु त झन् सुन्नुभएकै होला- ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले’, ‘गैह्री खेतको शिरै हान्यो वर्षायामको दरौंदीले’

    तपाईंले लोकगीत ‘बदाम सोलीमा’ र ‘रिडी, काली भेट हुने दोभानैमा’ पनि सुन्नुभएकै होला । ‘भैलेनी आए आँगन’मा त पक्कै नाच्नुभएकै होला । ननाचे पनि नाच्नेहरुलाई हेर्दै ताली त पड्काउनुभएकै होला । थोरै फिल्मी हुनुहुन्छ भने ‘तिमी आउँछौ भन्ने आशैआशमा’‘तिम्रो आँखाको सागरमा’ बोलका गीत पनि सुन्नुभएकै हुनसक्छ ।

    तपाईंको नोस्टालजिया बनेर बसेका यी गीतका सर्जक हुन् यादव खरेल । तपाईंको बाल्यकाल र युवाकालको कुनै न कुनै पलमा यी गीत बजेका हुन सक्छन् वा तपाईं फिल्मको पारखी हुनुहुन्छ भने खरेलका ‘आदिकवि भानुभक्त’, ‘प्रेमपिण्ड’, ‘लोभीपापी’, ‘चेलीबेटी’ जस्ता फिल्म त पक्कै हेर्नुभएकै होला ।

    ३५० बढी गीत, आधा दर्जन फिल्म

    अहिले त खरेल ८२ वर्षका भए । अचेल उनको देब्रे पाटोमा अलि समस्या देखिएको छ । फिजियोथेरापी गरिरहेका छन् । गर्धनको आफ्नै हड्डीले नशा च्यापेपछि हल्का समस्या आएको छ ।

    ‘यस्तो बिरामी पनि हुन्छ भनेर मलाई नै थाहा थिएन’, यादव सुनाउँछन् । यादवको आँखामा समस्या छैन । मेमोरीमा समस्या छैन । भेटघाट भइरहेका मान्छेलाई सजिलै चिन्छन् । उमेरका कारण धेरै पुराना कुरा चाहिँ अलि याद हुँदैन खरेललाई ।

    उनका धेरै साथी बितिसके । मृत्युको खबर सुनेर खरेल नोस्टालजिक हुन्छन् । ६०-६५ वर्षअघिका ती सुनौला दिनहरु सम्झिन्छन् । ‘क्या दिन थिए’, खरेल विगततिर बरालिन्छन्, ‘सृजनात्मक मान्छेहरुको नै बढीजसो संगत थियो । बालकृष्ण सम जस्ता सर्जकहरुसँग संगत हुन्थ्यो ।’

    खरेल बीबीसी नेपाली सेवाको पहिलो कर्मचारी हुन् । चलचित्र विकास बोर्डको पहिलो अध्यक्ष पनि । फिल्ममा डिप्लोमा गर्ने पहिलो नेपाली खरेलले आधा दर्जन बढी फिल्म बनाए । ३५० भन्दा बढी गीत लेखे । लघुकथा लेखे ।

    अहिले कुमारीगालस्थित घरमा श्रीमती र छोरासँग बसिरहेका छन् ।

    ६२-६३ वर्षअघिको त्यो गीत…

    माया फिर्ता लाँदैछु, आउँदिनँ म जाँदैछु

    यो गीत हो, २०१८/१९ सालतिरको । यो प्रसंग हो, आजभन्दा ६२-६३ वर्षअघिको । त्यसवेला खरेल १९-२० वर्षका लक्का जवान थिए । विवाह गरेका थिएनन् ।

    यो गीतमा पुराना स्रष्टा डिबी महेश ‘पाल्पाली’को स्वर छ । सँगै खरेलको अर्को गीत पनि पाल्पालीले गाएका छन्-

    जल्यो जल्यो तन जल्यो
    निर्मोहीको सम्झनामा आज मेरो मन जल्यो

    यो गीत खरेलको पहिलो रेकर्डेड गीत हो । गीत पनि डिस्कमा रेकर्ड भएको थियो । ग्रामोफोन जस्तो डिस्क फनन घुमेपछि बज्थ्यो । गीत रेकर्डका लागि कोलकाता पुग्नुपर्थ्याे ।

    त्यसवेला यस्तो वियोगान्त गीत लेख्नुको कारण खुलाउँछन् खरेल, ‘कतिपय कुरा अरुको देखेर, कतिपय कुरा पढेर, कतिपय कुरा कल्पना गरेर, कतिपय कुरा आफैं अनुभूत गरेर लेखिन्छ । यी गीत पनि मेरो अनुभूतिको सृजनात्मक अभिव्यक्ति थियो ।’

    यसपछि खरेलको गीत लेखनले रफ्तार लियो । यति धेरै गीत लेखे कि कतिपय गीतको त उनी स्वयंले हिसाब नै राख्न सकेनन् । केही वर्ष पहिला दिवंगत गायक पन्नाकाजीको छोराले एक गीत ल्याएर भने, ‘मेरो बुवाले गाउनुभएको तपाईंको गीत ।’

    सम्झनामा फत्तेमान र तारादेवी

    यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले
    कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले

    फत्तेमान राजभण्डारीको स्वर, नातिकाजीको संगीत रहेको यो गीत खरेलले २०२५/२६ सालतिर लेखेका थिए । गीत पनि त्यतिवेलै रेकर्ड भएको थियो ।

    त्यसवेला गीत रेकर्ड गर्नलाई रेडियो नेपालमा भ्वाइस टेस्ट पास गर्नुपर्थ्यो । त्यसवेलाको रेडियो नेपालको भवन अहिले त भत्किसक्यो । खरेल रेडियो नेपालमै काम गर्थे । बाल कार्यक्रम चलाउँथे । दिवंगत सर्जक श्यामदास वैष्णवसँगको सम्झना अहिले पनि ताजै छ । रेडियो नेपालमै थिए हरिप्रसाद रिमाल, जनार्दन समलगायत । खरेल सृजनशील मान्छेहरुको वरिपरि थिए ।

    रेडियो नेपालमा गीत रेकर्ड गराउनलाई पालो कुर्नुपर्थ्यो । अनि गीत चाहिँ कोलकातामा गएर रेकर्ड गर्नुपर्थ्यो । खर्च रेडियो नेपालले नै व्यहोर्थ्यो ।

    त्यसवेला खरेल धोबीधारा बस्थे । हिँड्दै रेडियो नेपाल जान्थे । अहिले जस्तो मानिसको भिड पनि थिएन । खरेलका अनुसार बाटाहरु प्रायः खाली हुन्थे ।

    ‘हिँड्दै अफिस जाँदा गीतको एक लाइन फुर्‍यो । अनि त्यसलाई बढाउँदै लगेँ । गीत तयार भयो’, खरेल कालजयी गीतको रचनागर्भ सम्झिन्छन्, ‘गीत बनेपछि रेडियो नेपालमा गएर नाीिकाजी दाइलाई देखाएँ । उहाँले कम्पोज गर्नुभयो । अनि पछि फत्तेमानले गाउने रहर गर्नुभयो ।’

    फत्तेमान खरेलभन्दा दुई-तीन वर्षले मात्रै जेठा थिए । त्यसवेला तारादेवी, कोइलीदेवीलगायत कलाकारहरु चर्चामा थिए । गीत गाउनेहरु नै सीमित हुन्थे । महिलाहरु त झनै एकदमै कम संख्यामा हुन्थे । तिनै केही महिलामा आउँथे तारादेवी, कोइलीदेवी ।

    तारादेवीले खरेलले लेखेको चर्चित गीत गाएकी थिइन्-

    नौसय खोला तरेर जाने, बिर्सने भयौ कि मलाई
    नफर्केसम्म पर्खेर बस्छु, सम्झनाको दियो जलाई

    अनि देविका बन्दनाले गाइन्-

    यस्तै रहेछ यहाँको चलन
    हार्नेको आँसु जित्नेको हाँसो
    मेरो छैन केही हजुरलाई गुनासो

    गायिका देविका बन्दनाको हिट गीतमध्ये एक हो यो । शम्भुजित बाँसकोटाले कम्पोज गरेको यो गीत खरेलले ३२ वर्षअघि लेखेका हुन् । त्यसवेला देविका बन्दना युवा गायिका थिइन् । यो गीत तयार भएपछि शम्भुजितले खरेललाई भने, ‘यो गीत देविकालाई गाउन दिन पाए हुन्थ्यो ।’

    खरेलले भने, ‘आवाज ठीक छ भने, गीतलाई पक्रन सक्छ भने देऊ न ।’

    देविकाको स्वरमा गीत रेकर्ड भएपछि खरेललाई लाग्यो, ‘स्वर त ठीक रै’छ ।’ देविकाले गीतमा पनि फिल दिएर गाएकी थिइन् । आशा भोस्ले, सुनिता पौडवाल, अल्का याग्निकहरुसँग सहकार्य गरिसकेका खरेललाई देविकाको स्वर पनि कम लागेन ।

    दिवंगत गायक योगेश वैद्यले एकदमै फिलमा गाउँथे । गाउन थालेपछि आँखा चिम्म गरेर, गीतमा डुबेर गाउँथे । फत्तेमानले पनि त्यसरी नै गाउँथे । खरेललाई यी गायकले गाउने तरिका गजब लाग्थ्यो । उनलाई देविकाको गायन पनि उस्तै गजब लाग्यो ।

    ०००

    लताले नभ्याएपछि आशा भोस्लेले गाइन्, ‘गैह्री खेतको शिरै हान्यो’

    ३२-३३ वर्षअघिको कुरा हो । खरेल एक जना चिनेको दाइको घरमा पाहुना बनेर बसे, दरौंदी खोला किनारमा । खोला उर्लिएर आइरहेको थियो । किनारलाई खोलाले ताछिरहेको थियो । खरेललाई झल्याँस्स क्लिक भयो, ‘हत्तेरिका, मान्छेको मन पनि खोलाले काटे जसरी नै काटिन्छ नि !’

    अनि लेखे-

    गैरी खेतको शिरै हान्यो वर्षायामको दरौंदीले
    नौनी जस्तो मेरो मन चिरा पार्‍यो उसको रुपको करौंतीले

    ‘सृजना कहाँबाट स्फुरन हुन्छ, थाहै हुन्न । कहाँबाट आउँछ, थाहै हुन्न’, खरेल सुनाउँछन्, ‘अनि मैले यो गीत प्रेमपिण्ड फिल्ममा राखेँ । किनभने फिल्ममा वियोग पनि छ नि त !’

    त्यसवेला नेपालमा वाद्यवादकहरु कम संख्यामा थिए । फिल्मको गीत भनेपछि वाद्यवादकहरु धेरै नै चाहिन्थ्यो । अनि शम्भुजितलाई साथ लिएर गीत रेकर्ड गराउन बम्बै गए खरेल ।

    खरेल र शम्भुजित लता मंगेशकरको स्वरमा गीत रेकर्ड गराउन चाहन्थे, तर लताको समय मिलेन । अनि दोस्रो छनोटमा परिन् आशा भोस्ले ।

    ‘हामीले फोन गरेर अनुरोध गर्‍यौं, उहाँले मान्नुभयो’, खरेल सम्झिन्छन्, ‘उहाँले तीन वा चार हजार भारुमात्रै लिनुभयो । हामीले त्यति पैसा दिँदा उहाँले बार्गेनिङ पनि गर्नुभएन । उहाँले नेपाली फिल्म भनेर कम पैसा लिनुभएको थियो ।’

    त्यही वर्ष आशा र उदितनारायणको स्वरमा अर्को गीत रेकर्ड भयो खरेलको-

    तिमी आउँछौ भन्ने आशैआशमा बाटोभरि आँखा बिछ्याइरहन्छु
    तिमी सागर भई जता बगे पनि म किनार भई पछ्याइरहन्छु

    ०००

    ‘रिडी, काली भेट हुने दोभानैमा’ र ‘बदाम सोलीमा’

    खरेलले लोक भाकामा पनि गीत लेखे । खरेलको दाबी छ, ‘लोकगीतमा कसैको कपीराइट हुँदैन । लोकगीत त समाजको गीत हो । मैले लोक संस्कृतिलाई लिएर पनि गीत लेख्नुपर्छ भनेर लेखेको हो ।’

    लोकगीतमै खरेल अभ्यस्त हुनुको कारण उनको हुर्काइ पनि हो । उनको घर काभ्रेको पाँचखाल हो । त्यहाँ अहिले पनि वेलावेलामा खरेल गएर बस्छन् । खरेलका बुवाको खेती सप्तरीमा पनि थियो । त्यहाँ पनि उनी जान्थे । मधेशलाई नजिकबाट बुझे । काठमाडौंमा हुर्किए, काठमाडौं पनि बुझे ।

    खरेल सुनाउँछन्, ‘यही कारण नै मैले लोक भाकामाथि काम गर्न सकेँ ।’

    खरेलको अर्को गीत छ-

    कसो कसो आँखा जुध्यो मनै घुम्यो फनन
    मेरो माया कति लाग्छ नढाँटेर भन न

    बदाम सोलीमा
    आएको ए हजुर रमझम टोलीमा

    खै त रोयल्टी ?

    खरेलका लागि गीत लेख्नु भनेको आकाशमा बिजुली चम्कनु जस्तै हो । केही चिजले छोएपछि त्यही चिजलाई पक्रिएर गीत तयार गर्छन् । गीत लेखनबारे खरेलको सीधा तर्क छ, ‘राम्रो गीत लेख्न जीवन, जगत र प्रकृतिलाई अनुभव गर्न सक्नुपर्‍यो । कल्पना शक्ति हुनुपर्‍यो । अरुको नक्कल गर्नुभएन । अनि अभिव्यक्ति चाहिँ सृजनात्मक हुनुपर्‍यो ।’

    खरेललाई गीत लेख्ने टेक्निक थाहा छ, तर उक्त गीतको रोयल्टी कसरी लिने, थाहा छैन । लामो समयदेखि स्रष्टाले रोयल्टी पाउनुपर्छ भनेर सङ्घर्ष गरिरहेका छन् । रोयल्टीकै लडाइँ लड्दालड्दै गायक प्रेमध्वज प्रधान बिते ।

    ‘यो उमेरमा हामीले त कति गर्नु र ! उमेर पनि धेरै भइसक्यो । हामीले रोयल्टीका लागि सङ्घर्ष गर्न स्रष्टाहरुलाई संगठित गर्‍यौं, सारा चिज गर्‍यौं । अहिलेको नयाँ पुस्ताले त्यसलाई हाँक्नुपर्‍यो । त्यो आन्दोलनमा मेरो साथ र समर्थन छ’, खरेल भन्छन्, ‘कतिपय स्रष्टा यही गीत-संगीतमा निर्भर छन्, उनीहरुको दाल-चामलको सवाल छ । रेडियो नेपालका गीतहरु कुनै निजी कम्पनीले लगेर बिक्री गरिरहेको छ । राज्य संवेदनशील छैन । यस्तो कुरामा त राज्यले समन्वय गरिदिनुपर्‍यो नि !’

  • आमा बनेपछि चिन्नै नसकिने गरी फेरिइन् दीपिका, गालाको डिम्पल गायब !

    आमा बनेपछि चिन्नै नसकिने गरी फेरिइन् दीपिका, गालाको डिम्पल गायब !

    काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको पछिल्लो रुप देखेर फ्यानहरु चकित परेका छन् । आमा बनेपश्चात उनको रुप रंग चिन्नै नसकिने गरी फेरिएको छ ।

    दीपिकाले गत वर्ष सेप्टेम्बर ८ मा पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन् । आमा बनेपछि लामो समय उनी लाइमलाइटबाट हराइन् ।

    केही दिनअघि उनी एक र्‍याम्पमा देखा पर्दा बिलकुलै नयाँ अन्दाजमा थिइन् । सब्यासाची ज्वैलरीको वार्षिकोत्सवमा दीपिकाले र्‍याम्प गरेकी हुन् ।

    तर, त्यहाँ उनको गेटहप र हाउभाउमा पुरानो छनक कतै पनि थिएन । हिँडाइ निकै सुस्त थियो । कालो फ्रेम भएको चश्मा लगाएर सेतो ट्रेन्च कोट, पाइन्ट र ज्वेलरीहरुमा प्रस्तुत भएकी उनी पुरानी अभिनेत्री रेखाजस्तै देखिइन् । मोटाएर उनको गालाको डिम्पल गायब भएको थियो ।

    र्‍याम्प गरिरहँदा रेखाको अनुहारमा मुस्कान पनि थिएन । उनी निकै सिरियस भावमा थिइन् । उनको यो लुकप्रति फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । कसैले प्रशंसा गरेका छन् त कसैले ट्रोल । दीपिकाको यो लुक हेर्दा उनी चाँडै फिल्ममा कमब्याक गर्छिन् जस्तो देखिँदैन ।

  • दुई दिनमै उत्रिएको थियो पत्रकार थापाको ‘एक्टर’, देशभरको कलेक्सन २८ हजार ८ सय

    दुई दिनमै उत्रिएको थियो पत्रकार थापाको ‘एक्टर’, देशभरको कलेक्सन २८ हजार ८ सय

    काठमाडौं । प्रतिक्षित चलचित्र ‘एक्टर टेक वान’ अदालतको आदेशका कारण आज प्रदर्शनमा आउन सकेन । यो चलचित्रले कपिराइट उल्लंघन गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको थियो ।

    यो मुद्दाले ‘एक्टर’ नामक अर्को चलचित्रलाई चर्चामा ल्याइदिएको छ, जुन हलमा आएको र गएको दर्शकले थाहै पाएका थिएनन् ।

    गत माघ ४ गते रिलिज गरिएको सो चलचित्र हलहरुमा पानी पनि भन्न नपाएर दुई दिनमै उत्रिएको थियो । अहिले देशका कुनै पनि हलमा एक्टर प्रदर्शनमा छैन ।

    ‘एक्टर’ को तर्फबाट सम्राट थापाले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएको भन्दै मुद्दा हालेका थिए ।

    उनले आफ्नो चलचित्र अहिले पनि हलहरुमा चलिरहेको र विदेशमा समेत चलाउने तयारी गरिएको दावी फिरादपत्रमा गरेका छन् ।

    हिजो बहसका क्रममा चलचित्र विकास बोर्डका वकिलले ‘एक्टर’ हलबाट उत्रिसकेको र ‘एक्टर टेक वान’ प्रदर्शनमा आउँदा त्यसलाई केही फरक नपर्ने तर्क गरेका थिए । तर, अदालतले निवेदकको पक्षमा निर्णय लियो ।

    विकास बोर्ड स्रोतका अनुसार ‘एक्टर’ सुपर फ्लप चलचित्र हो । यसले देशभरका हलबाट जम्माजम्मी २८ हजार ८ सय रुपैयाँ कलेक्सन गरेको रेकर्ड विकास बोर्डमा आएको छ । यो चलचित्र विदेशमा प्रदर्शन हुने पनि कुनै गुञ्जायस नभएको विकास बोर्ड स्रोत बताउँछ ।

    एक्टरमा पुराना दुई हिरो कृष्ण मल्ल र सरोज खनालले अभिनय गरेका थिए । अरु कलाकारहरु कोही पनि परिचित छैनन् । चलचित्र रिलिज अघि खासै प्रचारप्रसार पनि गरिएको थिएन । चलचित्रको ट्रेलरले युट्यूबमा चानचुन ६८ हजार भ्यूज पाएको छ ।

    मदन घिमिरेले निर्देशन गरेको ‘एक्टर’ को निर्माता पुराना पत्रकार मनोहरी थापा हुन् । पोस्टरमा नै ‘सिनियर टिभी जर्नालिस्ट’ भनेर लेखिएको छ । तर, मुद्दा भने सम्राट थापाले हालेका छन्, जो चलचित्रका कथाकार र संगीतकार मात्र हुन् ।

    मुद्दामा चलचित्र विकास बोर्ड र निर्माण कम्पनीलाई विपक्षी बनाइएको थियो । तर अदालतले बोर्डलाई मात्रै बहसमा बोलायो । ‘एक्टर टेक वान’ का निर्माताहरुलाई कुनै औपचारिक जानकारी गराइएको थिएन । उनीहरुले सबै कुरा मिडियाबाट मात्र थाहा पाएका थिए ।

    ‘एक्टर टेक वान’ भन्दा पहिले ‘एक्टर’ विकास बोर्डमा दर्ता भएको थियो । यी दुवै चलचित्रको नाम पछि फेरिएको हो । नाम जुधेपछि एक्टरका निर्माताले एक्टर टेक वानका निर्मातासँग आर्थिन लेनदेनका लागि प्रयास गरेका थिए ।

    तर, ‘टेक वान’ का निर्माताले कुनै भाउ दिएनन् । आफूहरुले बकाइदा चलचित्र विकास बोर्डबाट स्वीकृति पाएकाले कपिराइटको प्रश्नै नउठ्ने उनीहरुको बुझाइ थियो ।

  • अदालतको चिठी नआइकन हलहरुले रोके ‘एक्टर: टेक वान’, निर्माण पक्षले क्षतिपूर्ति माग्ने

    अदालतको चिठी नआइकन हलहरुले रोके ‘एक्टर: टेक वान’, निर्माण पक्षले क्षतिपूर्ति माग्ने

    काठमाडौ । आजबाट रिलिज हुने भनिएको चलचित्र ‘एक्टर टेक वान’ को प्रदर्शन हल सञ्चालकहरुले रोकेका छन् । जिल्ला अदालत काठमाडौंले हिजो चलचित्रको प्रदर्शन एक हप्ता रोक्न अल्पकालीन आदेश दिएको थियो ।

    अदालतको आदेश विपक्षीहरुसम्म पुगेको भने छैन । मिडियामा आएका समाचारहरुकै आधारमा हल सञ्चालकहरुले प्रदर्शन रोक्ने निर्णय लिएका हुन् । यसमा चलचित्रको निर्माण पक्ष सन्तुष्ट छैन ।

    निर्माता थमनकुमार भण्डारीले भने, ‘चलचित्र विकास बोर्डबाट स्वीकृति लिएर निर्माण भएको र सेन्सर बोर्डबाट पास भएको चलचित्रलाई हल सञ्चालकहरुले के आधारमा रोक्नुभयो भन्ने हामीले बुझेका छैनौं । अदालतको चिठी नआउँदासम्म प्रदर्शन रोक्न कुनै कानूनी रोकावट थिएन ।’

    आज र भोलि दुई दिन सार्वजनिक बिदाको अवसर पारेर रिलिज हुन लागेको चलचित्रलाई अदालतको आदेशले ठूलो धक्का लागेको छ । अहिलेसम्म निर्माणपक्षलाई मुद्दाको विषयमा कुनै निकायबाट औपचारिक जानकारी नै नआएको भण्डारी बताउँछन् । यसको जिम्मेवारी विकास बोर्ड लिनुपर्ने उनको भनाइ छ ।

    ‘हामीले कुनै पनि गल्ति गरेका छैनौं । स्वीकृति दिने विकास बोर्ड जिम्मेवार हो । हामीलाई ठूलो आर्थिक नोक्सानी भएको छ । विकास बोर्ड र हल सञ्चालकहरुसँग क्षतिपूर्ति माग्न बाध्य हुनेछौं,’ उनले भने ।

    यो विषयमा विकास बोर्डले कुनै औपचारिक धारणा बाहिर ल्याएको छैन । बोर्ड स्रोतले अदालतको आदेशमा बोर्डले औपचारिक टिप्पणी र आलोचना गर्न नमिल्ने बतायो । तर, यो प्रकरणमा बोर्डको पनि कुनै गल्ति नरहेको स्रोतको दावी छ ।

    ‘बोर्डले कानूनी व्यवस्था र चलिआएको चलनअनुसार नै स्वीकृति दिएको हो, त्यसैले बोर्ड जिम्मेवार छैन,’ स्रोतले भन्यो ।

    हलहरुले आज याे चलचित्र रिलिज गर्न कानूनी राेकावट नभएकाे पनि बाेर्डका एक अधिकारीले बताए ।

    उनले भने, ‘अदालतकाे चिठी सम्बन्धित पक्षलाई आएपछि मात्र आदेश कार्यान्वन हुने हाे । मिडियामा समाचार आएकाे आधारमा हुँदैन । अहिलेसम्म हामीलाई चिठी आएकाे छैन । हलहरुमा पनि गएकाे छैन । आज र भाेली सार्वजनिक बिदा भएकाले पर्सीमात्र आउला । चिठी नआउँदासम्म चलचित्र राेक्नुपर्ने अवस्था थिएन ।’

    अहिलेको अभ्यासमा कुनै पनि चलचित्रको नामको अगाडि वा पछाडि फुर्को जोडेर अर्को चलचित्र निर्माण गरिँदै आएको छ । उदाहरणका लागि ‘ए मेरो हजुर’ र ‘मेरो हजुर’ बेग्लाबेग्लै चलचित्र हुन् । यसरी नाम राख्न कपिराइट कानूनले पनि नरोक्ने बोर्ड स्रोतको दावी छ ।

    ‘एक्टर टेक वान’ चलचित्रलाई सुरुवातमा ‘आइ एम एक्टर’ नामबाट बोर्डमा दर्ता गरिएको थियो । पछि नाम परिवर्तन गरेर ‘आइएम एक्टर’ राखिएको हो । ‘आइ एम एक्टर’ नाम राख्दा बोर्ड अध्यक्ष भुवन केसी थिए । ‘एक्टर: टेक वान’ बनाउँदा बोर्डमा अध्यक्ष नरहेको भण्डारीले बताए ।

     

  • ‘जार’ अफिसियल रिलिज घोषणा, वैशाख २६ बाट दर्शकमाझ आउने

    ‘जार’ अफिसियल रिलिज घोषणा, वैशाख २६ बाट दर्शकमाझ आउने

    काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को अफिसियल रिलिज घोषणा गरिएको छ । निर्माण ब्यानर फेरी टेल पिक्चर्सले पोस्टर सार्वजनिक गर्दै ‘जार’लाई आगामी वैशाख २६ (मे ९) मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।

    यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार खरिद गरेको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा अनुबन्ध भएको छ । यसै साता वितरण कम्पनिहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो ।

    सार्वजनिक पोस्टरमा प्रमुख तीन पात्रलाई क्यारेक्टर लूक्समा देखाइएको छ । फिल्मको शीर्ष भूमिकामा अभिनेताद्वय सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् ।

    ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भइसकेका छन् ।

    नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गिताञ्जलीले अभिनय गरेकी छिन् ।

    फूर्वा छिरिङ लामाको निर्देशनमा तयार यो फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । अधिकांश कलाकार र सम्पूर्ण प्राविधिक टिम भारतबाट नै छन् ।

    होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । बजार प्रवर्द्धन प्रमुख त्रिलोचन पाण्डे छन् ।

    सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई फिल्मले बोल्नेछ । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ ।

    फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा यो फिल्म एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ ।

  • ‘एक्टर’ को प्रिमियरमा खुलेकी दिव्या, चार वर्ष अगाडि नै किनेर राखेकी थिइन् लुगा !

    ‘एक्टर’ को प्रिमियरमा खुलेकी दिव्या, चार वर्ष अगाडि नै किनेर राखेकी थिइन् लुगा !

    काठ्माडौं । कुनै पनि नव–कलाकारको लागि सबैभन्दा विशेष हुन्छ, उसको पहिलो फिल्म । त्यसमाथि वर्षौंदेखि सिनेक्षेत्रमै काम गर्छु भनेर लागि परेकाको लागि त झनै विशेष हुने नै भयो । सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको चलचित्र ‘एक्टरः टेक वन’ को ग्रान्ड प्रिमियरमा नव–नायिका दिव्या रायमाझीको उमंग पनि त्यस्तै थियो ।

    दिव्या कुनै समयका चर्चित अभिनेता दिलिप रायमाझीकी छोरी हुन् । अमेरिकामा बसोबास गर्दै आएकी उनले नेपालमा आएर ‘एक्टरः टेक वन’ बाट चलचित्रमा डेब्यू गर्दैछिन् ।

    तर, दुर्भाग्यवस भोलि हुने भनिएको चलचित्रको रिलिज रोकिएको छ । शहीद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवार रिलिज गर्न लागिएको थियो र हिजो प्रिमियर शोको आयोजना गरिएको थियो ।

    प्रिमियरमा सहभागीहरुले दिव्याको कामको खुलेर तारिफ गरे । साथै समारोहमा उनले लगाएको पोशाकको पनि चर्चा भयो । उनी कालो वान पिस लगाएर पुगेकी थिइन् ।

    आफ्नो पहिलो चलचित्रप्रतिको उत्साह व्यक्त गर्दै उनले पहिरनबारे पनि बोलिन् । दिव्याका अनुसार प्रिमियरमा उनले लगाएर आएको पहिरन ४ वर्षअघि नै किनेकी हुन् । आफ्नो पहिलो चलचित्रको प्रिमियरमा लगाउने भनेरै ४ वर्ष अगाडि यो लुगा किनेको र अहिलेसम्म नलगाइकन सम्हालेर राखेको दिव्याले बताइन् ।

    उनले भनिन्, ‘यो ड्रेस मैले ४ वर्ष अगाडी प्रिमियरमा लगाउँछु भनेर किनेको हो । आज लगाउन पाएँ । कोभिड र अन्य धेरै कारणले गर्दा ४ वर्ष अगाडि म फिल्म क्षेत्रमा आउन पाइनँ । ४ वर्ष अगाडिको सपना आज पुरा भएको छ । म धेरै खुसी छु । एकदमै उत्साहित छु ।’

    ‘जहिले दराज खोलेर हेर्दा यो ड्रेस देख्थेँ । ट्यागसहित नै राखेकी थिए । आज मात्र ट्याग झिकेर लगाएकी हुँ । यो मेरो लागि एकदमै इमोसनल क्षण थियो,’ उनले जोडिन् ।

    समारोहमा उनले आफ्नो परिवारलाई पनि मिस गरिन् । काम विशेषले दिव्याका परिवार छोरीको पहिलो चलचित्रको प्रिमियरमा उपस्थित हुन पाएनन् ।

    अमेरिकाको मेरिल्याण्डस्थित टाउसन विश्वविद्यालयमा अध्ययन सकेपछि दिव्या अहिले फिल्म क्षेत्रमा करिअर बनाउन नेपाल फर्किएकी हुन् । स्टार पिताको लिगेसीलाई पछ्याउँदै आएकी दिव्या थिएटरकी विद्यार्थी हुन् भने उनले निर्देशन पनि सिकेकी छन् ।

  • अदालतले किन दियो ‘एक्टर’ को रिलिज रोक्न आदेश ? निर्माता भन्छन्ः चरम अन्याय भयो

    अदालतले किन दियो ‘एक्टर’ को रिलिज रोक्न आदेश ? निर्माता भन्छन्ः चरम अन्याय भयो

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले २२ गतेसमम रिलिज रोक्न अल्पकालीन आदेश दिएपछि ‘एक्टर टेक वान’ को निर्माण पक्षलाई ठूलो झट्का लागिको छ ।

    सो चलचित्र भोलिबाट देशभरका हलहरुमा लगाउन निर्माण पक्षले सबै तयारी गरिसकेको थियो भने हिजो मात्रै प्रिमियर शो आयोजना गरिएको थियो ।

    भोलि र पर्सी सार्वजनिक विदा भएकाले त्यसको फाइदा उठाउने आशा निर्माताहरुले लिएका थिए । तर अदालतको आदेशपछि फिल्म चलाउन कानूनी व्यवधान उत्पन्न भएको छ ।

    चलचित्रका निर्माता थमनकुमार भण्डारीले अदालतको आदेशबारे मिडियाहरुबाट थाहा पाएको बताए । अदालतले आफूहरुलाई चलचित्रविरुद्ध मुद्दा परेकोबारे कुनै पनि जानकारी नगराएको र बहसमा पनि सहभागी नगराइएको उनको गुनासो छ ।

    ‘मैले न्याय प्रक्रिया नबुझेको हो कि के हो, यो आदेशबाट आश्चर्यमा परेको छु,’ उनले भने, ‘हामीमाथि चरम अन्याय भयो । हामीलाई कतैबाट औपचारिक जानकारी केही पनि आएको छैन । मुद्दा परेको पनि मिडियाबाटै थाहा पाएका हौं ।’

    आफूहरुले चलचित्रमा ५ करोड खर्च गरेको र सबै तयारी गरिसकेकाले रिलिज नरोकिने उनको दावी छ ।

    ‘हामीले चलचित्र विकास बोर्डमा रितपूर्वक दर्ता गरेर, सेन्सर बोर्डबाट पास भएर हलहरुमा लगाउन आँटेका हौं । कुनै कानून उल्लंघन गरेका छैनौं । हाम्रो अभिभावक भनेको विकास बोर्ड हो । बोर्डले औपचारिकरुपमा केही भन्यो भने छलफल गरौंला । नत्र रिलिज रोक्दैनौं,’ भण्डारीले थपे ।

    बौद्धिक चोरीको आरोप उनले अस्वीकार गरे । विकास बोर्डसँग छलफल गरेरै यो नाम राखेको उनको भनाइ छ ।

    ‘यसअघि पनि मिल्दोजुल्दो नाममा फिल्महरु बनिरहेका छन् । विकास बोर्डले एउटै नाम दर्ता गर्न नमिले पनि अगाडि वा पछाडि अर्को फुँदा राखेपछि फरक नपर्ने बतायो । त्यही भएर हामीले एक्टर– टेक वान राखेका हौं । एक्टर मात्रै हुन्थ्यो भने आरोप लगाउन सकिन्थ्यो । योभन्दा अगाडि पनि ‘मेरो हजुर’ र ‘ए मेरो हजुर’, ‘जय भोले’ र ‘भोले’, ‘परशुराम’ र जयपरशुराम’ छुट्टाछुट्टै बनेका छन् । हामीलाई मात्रै किन यसरी खोँचे थापियो बुझ्न सकिएको छैन,’ भण्डारीले भने ।

    के हो विवाद ?

    गत माघ १० गते ‘एक्टर’ नामकै चलचित्र रिलिज भएको थियो, जसको अंग्रेजी स्पेलिङ छ ACTOR। मदन घिमिरेले निर्देशन गरेको यस चलचित्रमा कृष्ण मल्ल, सरोज खनाल, प्रिन्स थापा, शिवानी गिरी लगायत कलाकारले अभिनय गरेका छन् । राम्ररी प्रचारप्रसार समेत नगरिएको यो चलचित्रले हलहरुमा खासै स्पेस पाएन । चलचित्र हलहरुबाट उत्रिसकेको छ ।

    भोलि रिलिज हुन लागेको चलचित्रको नाम हो– एक्टर टेक वान । अंग्रेजीमा Actor Take One लेख्ने गरिएको छ । प्राय कतै पनि नेपालीमा लेखेको देखिन्न ।

    नाम उस्तै र रिलिज पनि सँगसँगैजस्तो भएपछि अघिल्लो ‘एक्टर’ का निर्माता तथा कथाकार सम्राट थापाले अदालत गुहारेका हुन् । उनले चलचित्र विकास बोर्ड र दुई निर्माण कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा हालेका हुन् । आफ्नो चलचित्र अझै हलहरुमा प्रदर्शनरत रहेको र देशबाहिर पनि चलाउन लागिएको उनले फिरादपत्रमा दावी गरेका छन् ।

    थापाका अनुसार उनको चलचित्रले २०७६ साल माघ १८ गते चलचित्र विकास बोर्डबाट अनुमति पाएको थियो र गत माघ ४ गते प्रदर्शनमा आएको हो । यही नाममा माघ १६ गते अर्को चलचित्र रिलिज हुँदा आफ्नो मुद्दाको औचित्य सकिने भन्दै उनले त्योभन्दा अगाडि नै अन्तरिम आदेशको माग गरेका थिए । अदालतले अन्तरिम आदेश नदिए पनि ७ दिनका लागि अल्पकालीन आदेश दिएको छ ।

    ‘एक्टर टेक वान’ का अर्का निर्माता मोति कार्कीका अनुसार चलचित्रको नाम सुरुमा ‘आइ एम एक्टर’ राखिएको थियो । तर, कथा तयार भइसकेपछि यसको सिक्वेल पनि बन्न सक्ने भएकाले ‘एक्टर’ मात्रै राख्ने सल्लाह भयो । नाम संसोधन गर्न जाँदा एक्टर नाममा अर्को चलचित्र दर्ता भइसकेको रहेछ । त्यसपछि बोर्डसँग सल्लाह गरेर ‘एक्टर टेक वान’ राखिएको उनी बताउँछन् ।

    अदालतले प्रत्यार्थी झिकाउने आदेश पनि गरेको छ । अहिलेसम्म ‘एक्टर टेक वान’ को निर्माण पक्षलाई कुनै पत्राचार गरिएको थिएन । आज भएको बहसमा विकास बोर्डले मात्रै मुद्दाको प्रतिरक्षा गरेको थियो । अब २२ गतेको पेशीमा ‘एक्टर टेक वान’का तर्फबाट पनि बहस हुने छ । त्यसपछि आदेशलाई निरन्तरता दिने नदिने अदालतले निर्णय लिने छ ।

  • ‘एक्टर टेक वान’ को रिलिज २२ गतेसम्म रोक्न अदालतको अल्पकालीन आदेश

    ‘एक्टर टेक वान’ को रिलिज २२ गतेसम्म रोक्न अदालतको अल्पकालीन आदेश

    काठमाडौं । प्रदर्शोन्मुख चलचित्र ‘एक्टर टेक वान’ को रिलिज भोलि नहुने भएको छ । जिल्ला अदालत काठमाडौंले सो चलचित्रको रिलिज २२ माघसम्म रोक्न अल्पकालीन आदेश दिएको हो ।

    चलचित्रको रिलिज रोक्न माग गर्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो । रिट निवेदक सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोप लगाएका छन् ।

    अदालतले उनको माग बमोजिम तत्काल अन्तरिम आदेश नदिएर अल्पकालीन आदेश दिएको हो । अदालतले प्रत्यार्थी झिकाउन समेत भनेको छ ।

     

  • ‘दुःखी आत्मा’को ‘जुनी जुनीलाई’ रिलिज, जुनारमाथि दया र आँचलको रोमान्स

    ‘दुःखी आत्मा’को ‘जुनी जुनीलाई’ रिलिज, जुनारमाथि दया र आँचलको रोमान्स

    काठमाडौं । फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक गरिएको छ ।

    केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो कर्णप्रिय छ । उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन् ।

    सार्वजनिक गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । फिल्मका मुख्य कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई गीतको भिडियोमा फिचरिङ गरिएको छ ।

    भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा रामप्रसाद चौधरीको सम्पादन छ ।

    यो फिल्मको टिजर र ब्रेकअप कविता चर्चित भइसकेको छ । सामाजिक संजालमा ब्रेकअप कवितामा टिकटक बनाउनेहरुको संख्या लाख भन्दा माथि छ । अब, यो गीतले पनि दर्शकको ध्यान तान्ने आशा गरिएको छ ।

    फिल्मको टिजर सार्वजनिक भएसँगै ‘जुनार’ खुबै हिट छ । यसैले, कोरियोग्राफरले यो गीतमा जुनारको भरपुर प्रयोग गरेका छन् ।

    दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।

    यो फिल्ममा दया र आँचलको साथमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।

    क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्मले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ । फिल्मले रमाइलो तरिकाले गम्भीर विषयवस्तु उठान गरेको निर्माणपक्षको भनाई छ ।

     

     

  • चलचित्र ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर, सहिद दिवसका दिन रिलिज

    चलचित्र ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर, सहिद दिवसका दिन रिलिज

    काठमाडौं। चलचित्र ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । झन्डै सात सय जनाको उपस्थिति रहेको आयोजित प्रिमियर शोमा चलचित्रका सबै टिम उपस्थित थिए।

    अभिनेताद्वय प्रदीप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्रीद्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो ।

    सहिद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’को प्रिमियरको लागि यस चलचित्रका अभिनेता कोइराला अमेरिका देखि दुई दिनअघि मात्र नेपाल आएका थिए ।

    समारोहमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरू, विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति देखिएको थियो ।

    प्रिमियर हेरेपछि फर्किएका उपस्थितले चलचित्रको विषयवस्तु र प्रस्तुतिमा नयाँपन र कलाकारहरूको अभिनय पनि उत्कृष्ट रहेको भन्दै खुलेर प्रशंसा गरे। कार्यक्रममा चलचित्रका निर्देशक राजन भुसालको पनि राम्रै तारिफ भयो। यो चलचित्र भुसालको पहिलो निर्देशकीय चलचित्र हो ।

    निर्माण पक्षले पनि ‘एक्टर: टेक वन’ले नेपाली चलचित्र उद्योगमा फरक छाप छाड्ने र दर्शकको ठुलो साथ पाउने अपेक्षा गरेको बताए।

    चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

    अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

  • निफको राष्ट्रिय प्रतिस्पर्धाबाट ‘भुठान’ हट्यो, ‘सानो संसार’ को इन्ट्री

    निफको राष्ट्रिय प्रतिस्पर्धाबाट ‘भुठान’ हट्यो, ‘सानो संसार’ को इन्ट्री

    काठमाडौं । आगामी चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत चलचित्र ‘सानो संसार’ छानिएको छ ।

    आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले माघ २ गते ७० देशका ६०० भन्दा बढी चलचित्रबाट ४० देशका ८७ चलचित्र महोत्सवका लागि छानिएको सार्वजनिक गरेको थियो ।

    छानिएकामध्ये नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भुठान’का निर्माताहरुले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो चलचित्रलाई महोत्सवबाट हटाइएको थियो ।

    उक्त चलचित्रलाई हटाएपछि त्यसको सट्टामा अर्को चलचित्रलाई समावेश गर्न सकिने हुनाले इच्छुक चलचित्रकर्मीहरूलाई आवेदनको लागि आयोजकले सामाजिक सञ्जाल मार्फत आह्वान गरेको थियो ।

    त्यसपछि प्राप्त चलचित्रहरू मध्यबाट ‘सानो संसार’ छानिएको आयोजकले यही विज्ञप्ति मार्फत जनाएको छ ।

  • कमेडी दरबारबाट बाहिरिँदै विजय बराल ! चलचित्रमै केन्द्रित हुने

    कमेडी दरबारबाट बाहिरिँदै विजय बराल ! चलचित्रमै केन्द्रित हुने

    काठमाडौं । हास्यप्रधान टेलिभिजन शो ‘कमेडी दरबार’ बाट कलाकार विजय बराल बाहिरिने भएका छन् । कार्यक्रममा ‘जज’ को भूमिकामा रहेका उनले तीन एपिसोडपछि आफूले छोड्ने बताए ।

    बराल पछिल्लो समय चलचित्रमा निकै व्यस्त बनिरहेका छन् । ‘पूर्णबहादुरको सारंगी’ ब्लकबस्टर बनेसँगै उनको डिमान्ड आकाशिएको छ । बरालले ‘वरिष्ठ बलराम’ र ‘जनै हराएको बाहुन’ मा साइन गरिसकेका छन् । कबड्डी र जारीको सिक्वेलमा पनि उनी देखिने छन् । उनले अभिनय गरेको लज्जा शरणम फागुनमा प्रदर्शन हुँदैछ ।

    हिजो ‘पूर्णबहादुरको सारंगी’ को सक्सेस पार्टीमा बराल उपस्थित थिए । सोपश्चात सञ्चारकर्मी अनुप भट्टराईसँगको कुराकानीमा उनले आफू कमेडी दरबारबाट बाहिरिन लागेको जनाउ दिए ।

    बरालका अनुसार उनी अब कमेडी दरबारका तीन एपिसोडमा देखिनेछन् । बुधबार आफ्नो अन्तिम सुटिङ हुने उनले बताए ।

    बरालले भने, ‘बुधबार सुट भएपछि मैले लगभग भ्याउँदिन होला । अब सिनेमाबाट निस्किने चान्स कम हुन्छ । साथीहरूसँग समझदारी सल्लाहमा मिलाउँ भनेको छु ।’

  • ‘पूर्णबहादुरको सारंगी २’ घोषणामा निर्देशक पौडेलको असन्तुष्टि, कमाइ खाने भाँडो नबनाउन सुझाव

    ‘पूर्णबहादुरको सारंगी २’ घोषणामा निर्देशक पौडेलको असन्तुष्टि, कमाइ खाने भाँडो नबनाउन सुझाव

    काठमाडौं । ‘पूर्णबहादुरको सारंगी २’ का कथाकार तथा निर्देशक सरोज पौडेलले चलचित्रको सिक्वेल घोषणालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । आफूले लेखेको कथालाई अनावश्यकरूपमा तन्काएर कमाइ खाने भाँडा नबनाउन उनको सुझाव छ ।

    हिजोमात्रै ‘पूर्णबहादुरको सारंगी’ को सक्सेस पार्टीमा चलचित्रको दोस्रो भाग बन्ने घोषणा गरिएको थियो । उक्त कार्यक्रममा पौडेल पनि उपस्थित थिए ।

    उनले आफूसँग कुनै सल्लाह नगरी ‘पूर्णबहादुरको सारंगी २’ घोषणा गरिएको जनाउ दिएका छन् । साथै, चलचित्रको निर्देशन आफूले नगर्ने पनि प्रष्ट्याएका छन् ।

    ‘पूर्णबहादुरको सारंगी’ विशुद्ध आफ्नो आइडियामा बनेको पौडेलको भनाइ छ ।

    पौडेलले फेसबुकमा लेखेका छन्, ‘पूर्णबहादुरको सारंगी विशुद्ध मेरो स्टोरी, आइडिया र निर्देशनमा बनेको फिल्म थियो, जसलाई दर्शकहरूले अपार माया साथ दिएर ऐतिहासिक बनाइदिनु भएको छ । इतिहास घरीघरी कोर्न सम्भव हुँदैन, त्यही कारण मैले पूर्णबहादुरको सारंगीले कोरेको इतिहासलाई इतिहास नै बनाई सम्मानपूर्वक राखौं, यसलाई कमाइ खाने भाँडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफैँ भत्काउन हुँदैन भन्ने लागेर मैले यो फिल्म दोस्रो भागमा काम गर्दिनँ, सकेसम्म २/३/४/६ बनाउनतिर नलागेर आफ्ना कथाहरू फरक शैलीमा भन्नु पर्दछ, भन्ने मेरो मान्यतालाई नै निरन्तर दिँदैछु ।’

    उनी थप्छन्, ‘मेरो जानकारीबिना मैले सृजना गरेका पात्र र मेरो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस् । पूर्णबहादुरको सारंगी २, मैले काम नगरे पनि आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउनु होला । सारंगी १ ले स्थापित गरेको गरिमा जोगाउनु होला ।’

  • केटी हराएको सूचनाः बलियो मुद्दा, फितलो कथावाचन

    केटी हराएको सूचनाः बलियो मुद्दा, फितलो कथावाचन

    काठमाडौं । ‘मधेश’ को जनजीवन र त्यहाँका पात्रहरूलाई चित्रण गरेर नेपालमा कमै चलचित्रहरू बनेका छन् । बनेका चलचित्रहरूले पनि मधेशलाई न्याय नगरेको गुनासो बौद्धिक वृत्तबाट सुन्न पाइन्छ ।

    पछिल्लो समय मधेशमा नयाँ पुस्ताको उदय भइसकेको छ, जसले आफ्नो पहिचानका लागि कुनै पनि माध्यमबाट आवाज बुलन्द गर्न डराउँदैन । सडकमा टायर बालेर वा ढुंगा मुढा गरेर मात्र होइन, सामाजिक संजालमा ह्यासट्याग अभियान चलाएरै राज्यलाई झक्झक्याउने सामर्थ्य यो पुस्तासँग छ । यो पुस्ता शैक्षिक, सांस्कृतिक, सामाजिक र राजनीतिक रुपमा बहस गर्न तयार छ ।

    अहिले हलमा लागिरहेको ‘मिसिङ : केटी हराएको सूचना’ ले उठाएको विषय यही हो । निर्देशक दीपेन्द्र गौचनले यस चलचित्रमार्फत् मधेशलाई चिहाउन खोजेका छन् । मधेशलाई सहीरूपमा चित्रण गरेर त्यहाँका नागरिकको भावनालाई ओकेल्ने प्रयास चलचित्रमा गरिएको छ ।

    चलचित्रले मधेशप्रति सतही बुझाइ भएकी एक युवती सीता (जेस्सी) लाई मधेश पुर्‍याएको छ । अनि बताएको छ, ‘मधेश भनेको धेरैथोक हो । मधेशलाई नै टेकेपछि मात्रै मधेश बुझ्न सकिन्छ ।’

    प्राय नेपाली चलचित्रमा मधेशी पात्र र उसको लवजलाई कमेडी खुराकका लागि प्रयोग गरिएको हुन्छ । १२ वर्षअघि ‘होस्टेल रिर्टन्स’ मा नाजिर हुसेनले नै निभाएको मधेशी युवकको भूमिका हास्यप्रधान थियो । यस चलचित्रमा भने मधेशी पात्रको रूपमा रामले नेपाली पनि स्पष्ट बोल्छ, मैथली पनि स्पष्ट बोल्छ । यति मात्रै होइन, मुद्दाहरूमा समेत ऊ स्पष्ट छ ।

    चलचित्रको सुरूवात हुन्छ, अपहरणमा परेकी एक युवती (सीता) र अपरहणकारी युवक राम (र्‍याम्बो) बाट । अपहरणकारीले सीताको हातखुट्टा ह्वीलचेयरमा बाँधेर, आँखामा पट्टी बाँधेर मधेशमा पुर्‍याउँछ ।

    अपहरणको दृश्यसँगै अगाडि बढेको चलचित्रले सीता अपहरणमा पर्नुको कारणहरू खोतल्दै जान्छ । डेटिङ एपमार्फत् रामलाई भेटेकी सीता कसरी रातारात जनकपुर पुर्‍याइन्छे, रहस्य खुल्दै जान्छ । कथा एउटा बिन्दुमा पुगेपछि सीतामार्फत् गौचनले दर्शकलाई मधेश घुमाएका छन्, रामकी दिदीको पहेँलो कुर्ता लगाइदिएर । काठमाडौंबाट लगाएर गएको लुगा फुकाल्नु र मधेश घुम्न निस्कनुअघि मधेशी युवतीले लगाउने कुर्ता लगाउनुको प्रतिकात्मक अर्थ छ चलचित्रमा ।

    सीतालाई मधेशको पोखरी, आँपका रुख, सुन्दर फाँटहरूमा घुमाइएको छ । महिलाहरूले बनाएका सुन्दर मिथिला चित्रहरूमा पुर्‍याइउको छ । माटोले बनाइएका कलात्मक डिजाइनहरूमा पुर्‍याइएको छ । मधेशका रैथाने खानेकुराको स्वाद चखाइएको छ । मधेशको समाज, संस्कृति देखाइएको छ । अनि मधेशका मान्छेको मानवीयता, आतिथ्यता देखाइएको छ ।

    मधेश आन्दोलनको सन्दर्भ जोडिएको छ चलचित्रमा । पहाडी र मधेशी बीचमा आएको फाटोलाई देखाउन खोजिएको छ । पहिचानको लागि मधेशीले गरेको संघर्षलाई देखाउन खोजिएको छ । त्यसैले ‘मिसिङ : केटी हराएको सूचना’ मधेशको डकुमेन्टेसन पनि हो ।

    चलचित्रले मधेशप्रति सतही बुझाइ भएकी एक युवती सीता (जेस्सी) लाई मधेश पुर्‍याएको छ । अनि बताएको छ, ‘मधेश भनेको धेरैथोक हो । मधेशलाई नै टेकेपछि मात्रै मधेश बुझ्न सकिन्छ ।’

    तर, निर्देशक गौचन मधेश देखाउने ध्याउन्नमा कथा वाचनमा चुकेका छन् । मुद्दाले बाहेक कथा वाचनले दर्शकलाई छुँदैन । पहिलो हाफ त एकदमै स्लो छ । घरभित्र दुई पात्रहरूलाई घरि यता घरि उता गराइएको छ । न घटना केही घट्छ, न कुनै ट्वीस्ट आउँछ ।

    केटीको दाइ प्रहरी इन्स्पेक्टर छ, अनि बहिनी हराएकी छे । फेसबुकमा युवती हराएको भिडिओ भाइरल भइसकेको छ । त्यसरी सञ्जालमा केटी हराएको खबर फैलिँदा प्रहरीले घाम तापेर बस्दैन । फोनको लोकेसन ट्र्याक गर्न सक्छ । लोकेसन ट्र्याक गर्दै केटी भएको ठाउँमा आउन सक्छ । किनभने केटी अपहरण भएको घरमा पटकपटक फोन अन भएको छ । प्रहरीको कोणबाट पनि समानान्तररूपले कथा अगाडि बढाएको भए चलचित्र रोचक हुने थियो ।

    तर, निर्देशक गौचन भने केटा र केटीलाई घरभित्र अलमलाएर राखिरहन्छन् । पात्रहरूलाई बर्गर खुवाएर, फ्रेन्च फ्राइ खुवाएर, पालैपालो ह्वीलचेयरमा बाँधाबाँध गराएर चलचित्रको पहिलो भाग अल्मलिएको छ । घरमा घरिघरि हरर फिल्म महसुस गराउने ब्याकग्राउण्ड म्युजिक बज्छ, जसको कुनै अर्थ नै छैन ।

    सीतालाई मधेशको पोखरी, आँपका रुख, सुन्दर फाँटहरूमा घुमाइएको छ । महिलाहरूले बनाएका सुन्दर मिथिला चित्रहरूमा पुर्‍याइउको छ । माटोले बनाइएका कलात्मक डिजाइनहरूमा पुर्‍याइएको छ । मधेशका रैथाने खानेकुराको स्वाद चखाइएको छ । मधेशको समाज, संस्कृति देखाइएको छ । अनि मधेशका मान्छेको मानवीयता, आतिथ्यता देखाइएको छ ।

    चलचित्रको दोस्रो भाग भने गज्जब छ, पात्रहरू मधेशका गाउँ छिर्छन्, मुद्दामा छिर्छन्, मधेशको संस्कृतिमा छिर्छन्, मिथिला चित्रहरूमा छिर्छन् । चलचित्रको दोस्रो भाग दर्शकलाई बाँध्न सक्षम छ । चलचित्रको दोस्रो भाग दर्शकलाई बाँध्न सक्षम छ । चलचित्रको समाप्तीमा रेलबाट हाम फाल्दा रामलाई गोली लाग्छ । खासमा चलचित्र यहीँ सकिनुपर्ने हो, तर निर्देशक गौचनले ह्याप्पी इण्डिङ गराएका छन् ।

    चलचित्रको सबैभन्दा राम्रो पक्ष भनेको मधेशी पात्रलाई मुख्य भूमिकामा देखाइनु हो । प्राय नेपाली चलचित्रमा मधेशी पात्र र उसको लवजलाई कमेडी खुराकका लागि प्रयोग गरिएको हुन्छ । १२ वर्षअघि ‘होस्टेल रिर्टन्स’ मा नाजिर हुसेनले नै निभाएको मधेशी युवकको भूमिका हास्यप्रधान थियो । यस चलचित्रमा भने मधेशी पात्रको रूपमा रामले नेपाली पनि स्पष्ट बोल्छ, मैथली पनि स्पष्ट बोल्छ । यति मात्रै होइन, मुद्दाहरूमा समेत ऊ स्पष्ट छ ।

    नाजिरले रामको भूमिकामा राम्रो अभिनय गरेका छन् । सीताको भूमिकामा रहेकी श्रृष्टि श्रेष्ठले अभिनयमा परिस्कार गर्नुपर्ने देखिन्छ । कथा वाचनमा चुके पनि निर्देशक गौचनले मधेशको डकुमेन्टेसन राम्रैसँग गरेका छन् । सिनेम्याटोग्राफी पनि ठिकठिकै छ । चलचित्रमा एउटा सिन छ, जहाँ महिला विकास केन्द्रका महिलाहरू नाजिर र सीता पुग्दा पनि सारीको फेरले टाउको छोप्दैनन् । जब कि श्रीमान् बाहेक कोही पुरुष आउँदा महिलाले अनिवार्य रुपमा टाउको छोप्नुपर्छ । यसको मतलब हो, समय अनुसार बदलिँदै पनि गइरहेको छ मधेश ।

  • खेम सेञ्चुरीको दुखेसो- कामी, दमाई भनेर गाली आउँदा आफू मान्छे नै होइन कि जस्तो लाग्छ

    खेम सेञ्चुरीको दुखेसो- कामी, दमाई भनेर गाली आउँदा आफू मान्छे नै होइन कि जस्तो लाग्छ

    काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ पहिलोपटक कोच भएर आएका लोकगायक खेम सेञ्चुरी अहिले चर्चामा छन् । उनले खुट्टाले बजर थिचेको विषयमा निकै टिकाटिप्पणीहरु भए ।

    भ्वाइस अफ नेपालमा जजले बजर थिच्न खुट्टा प्रयोग गरेको यो पहिलो दृष्य थिएन । यसअघि प्रमोद खरेल, मिलन नेवार, जस्ता जजले पनि हातको साटो खुट्टाले थिचेका थिए । तर, उनीहरू यति विवादित बनेका थिएनन् । सेन्चुरी भने एक लोक संगीतकर्मी भएको उनलाई यस्तो उछृंखलता नसुहाउने कतिपयको धारणा छ । केहीले चाहीँ उनको जातलाई समेत जोडेर अवाञ्छित टिप्पणी गरेका छन् ।

    हिजो एक कार्यक्रममा गायक सेन्चुरीलाई विषयमा सोधियो । उनले नकारात्मक टिप्पणी गर्नेहरुप्रति निकै दुखेसो गरे । खासगरि आफ्नो जातलाई जोडिएको विषयमा उनी आक्रोशित सुनिए । यो समाज परिवर्तन नभएको र हुन पनि नसक्ने सेन्चुरीको भनाइ थियो ।

    भावुक मुद्रामा उनले भने, ‘कामी, दमाई, सार्की भनिदिँदा कहिलेकाहीँ त मलाई आफू मान्छे नै होइन कि भन्नेजस्तो फिल आउँछ ।’

    एउटा गीत रिलिज कार्यक्रममा उनी मोडल उषा पौडेल, सुनील बिकेलगायतसँग उभिएर पत्रकारको प्रश्न सामना गरिरहेका थिए । गीतको प्रसंगबाट बाहिर निस्किएर पत्रकारले भ्वाइस अफ नेपालको प्रसंग निकाले ।

    सुरूमा उनलाई सोधियो, ‘भ्वाइस अफ नेपालबाट निकै माया पाइरहनु भएको छ, कस्तो लागेको छ ?’

    सेन्चुरीले जवाफ दिए, ‘सबैलाई धन्यवाद भन्न चाहन्छु । एकदमै सकारात्मकरूपमा लिएको छु । (जज भएर जाँदा) एक खालको डर र नर्भस फिल त थियो । मलाई दर्शकले स्वीकार्ने हुन् कि होइनन् भन्ने थियो । एपिसोड बाहिर आएपछि केही पर्सेन्ट नकारात्मक तर अधिकांश सकारात्मक प्रतिक्रिया आएका छन् । नकारात्मक कमेन्ट लेख्ने पनि मेरै दर्शकहरू हुन् । म एकदमै खुशी र सकारात्मक छु ।

    – तपाईंले खुट्टाले बजर थिचेको विषयमा पनि कोही कोहीले आलोचना गरेका छन् । यसबारे के भन्न चाहनुहुन्छ ?

    किताब पढ्नुभन्दा अगाडि ढोगिन्छ । मन्दिर छिर्नुअगाडि जुत्ता फुकालिन्छ । कसैलाई खुट्टाले छोइयो भने ढोगिन्छ । हामी यही संस्कारबाट हुर्केका हौं । यही संस्कारको प्रमाण हो अहिले आइरहेका प्रतिक्रिया । यो स्वभाविकै हो जस्तो लाग्छ । जसले गुनासो गर्नुभएको छ, म के भन्न चाहन्छु भने मैले फम्र्याटभित्रै रहेर काम गरेको छु । सबै कुरालाई नकारात्मक लिनु पनि हुँदैन । केही कुरा हामीमा चेत पनि हुनुपर्छ । स्वीकार्नुपर्ने कुरा त स्वीकार्नुपर्‍यो नि ।

    – खुट्टाले नथिचेको भए हुन्थ्यो जस्तो महसुस भएको छैन ?

    कार्यक्रमको फर्म्याटअनुसार गएको हो । यसलाई कसैले पनि इस्यूको रूपमा नलिनुहोला । म त सबै पचाउन सक्छु केही भएन । तर, मेरो समुदायलाई गाली नगर्नुहोला । एउटाले कामी भन्दिँदा, एउटाले दमाई भन्दिँदा, एउटाले सार्की भन्दिँदा कहिलेकाहीँ त म मान्छे नै होइन कि जस्तो फिल हुन्छ के साथी हो । कहिलेकाहीँ मलाई उशा जीसँग उभिन अप्ठेरो लाग्छ । बद्रीजीहरूसँग उभिन अप्ठेरो लाग्छ । मेरो क्षेत्री-बाहुन, मगर साथीहरु छन् । कहिलेकाहीँ उनीहरुसँग बस्न पनि गाह्रो हुन्छ । तर, के गर्ने समाज यस्तै छ भन्ने पनि लाग्छ ।

    – हाम्रो सोच परिवर्तन हुन नसकेको हो ?

    खोइ कसरी छ भन्ने । यो गालीगलौज र कमेन्टले गर्दा त कहाँ छ र जस्तो लाग्छ । नसोध्नुस् सकेसम्म यस्तो प्रश्न । यो समाज परिवर्तन भएको छैन र हुँदैन । मैले बुझेअनुसार परिवर्तन हुँदैन । जबसम्म दिमागको चेत खुल्नेवाला छैन, केही हुनेवाला छैन । दिमागको चेत खुल्नेवाला पनि छैन । यो समाज कति अगाडि पुगिसकेको छ, तर पनि सोचको हिसाबले उही पछाडि नै छ ।

    – नकारात्मक कमेन्टले कत्तिको असर पुर्‍याउँछ ?

    ठिकै छ । अब बाँच्नु त पर्‍यो । कसैले नराम्रो भन्दैमा रोएर हिँड्न कुरा पनि भएन । यही होला हाम्रो कर्म । यही होला हाम्रो भाग्य । हाम्रो जन्म यही होला ।

  • ‘एक्टर’ कथा वाचनमा मात्र होइन, प्राविधिक रूपमा पनि बलियो छ: निर्देशक भुसाल

    ‘एक्टर’ कथा वाचनमा मात्र होइन, प्राविधिक रूपमा पनि बलियो छ: निर्देशक भुसाल

    काठमाडौं । माघ १६ गते रिलिज हुन लागेको चलचित्र ‘एक्टर: टेक वन’ ले नेपाली चलचित्र क्षेत्रमा एक फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी चलचित्रका निर्देशक राजन भुसालले गरेका छन् । भुसालले प्रविधि र कथालाई प्राथमिकतामा राख्दै यसलाई नेपाली चलचित्र उद्योगको विशेष बनाउन प्रयास गरेको बताए ।

    उनका अनुसार ‘एक्टरः टेक वन’लाई अन्तर्राष्ट्रियस्तरको प्राविधिक मापदण्डमा निर्माण गरिएको छ । चलचित्रलाई केवल कथा भन्ने माध्यमको रूपमा मात्र नहेरी प्राविधिक रूपमा पनि सशक्त बनाउने प्रयास गरिएको छ ।

    भुसाल भन्छन्, ‘चलचित्र भनेको कथा वाचनमात्र नभई प्राविधिक पक्षले पनि दर्शकलाई प्रभाव पार्न सक्नुपर्छ । यो चलचित्रले प्राविधिक रूपमा बलियो मान्यता कायम राख्नेछ ।’

    अभिनेता राजबल्लभ कोइरालाले करिब १० वर्षपछि यसै फिल्ममार्फत नेपाली चलचित्रमा पुनरागमन गर्दैछन् । यस चलचित्रमा उनको अभिनयलाई भुसालले खास उपलब्धिका रूपमा हेरेका छन् । केही समयदेखि नेपाली चलचित्र क्षेत्रमा नदेखिएका कोइरालाले ‘एक्टरः टेक वन’ मा अभिनय गर्नुलाई भुसालले दर्शकका लागि रोमाञ्चक पुनर्मिलनको अवसर मानेका छन् ।

    ‘राजबल्लभ कोइरालाले यसअघि पनि फर्कने प्रयास गर्नुभएको थियो, तर उहाँले आफूलाई उपयुक्त लाग्ने भूमिका र चलचित्रको पर्खाइ गर्नुभएको थियो । यो चलचित्रले उहाँलाई त्यो अवसर दिएको छ’, भुसालले भने ।

    चलचित्रको ट्रेलरमा अभिनेता प्रदीप खड्काको सङ्घर्ष र कलाकार बन्ने सपनाको चित्रण गरिएको छ । यद्यपि यो प्रस्तुतिले कलाकारिताप्रति गलत धारणा सिर्जना गर्नसक्ने प्रश्नलाई भुसालले खण्डन गरेका छन् ।

    ‘यो चलचित्रले कलाकारितालाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्न खोजेको हो । ‘ड्रामा थ्रिलर’ श्रेणीमा रहेको यो चलचित्रले कलाकारहरूको व्यक्तिगत वा पेसागत छवि बिगार्ने काम गर्नेछैन’, भुसालले प्रस्ट्याए ।

    चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्यदेव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूले अभिनय गरेका छन् । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

    अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता थमनकुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सहनिर्माता अनिश भुसाल रहेका छन् ।

  • विभिन्न देशमा ‘एक्टर: टेक वन’ को अन्तर्राष्ट्रिय अधिकार बिक्री, कहाँ-कहाँ लाग्दैछ चलचित्र ?

    विभिन्न देशमा ‘एक्टर: टेक वन’ को अन्तर्राष्ट्रिय अधिकार बिक्री, कहाँ-कहाँ लाग्दैछ चलचित्र ?

    काठमाडौं । यहीँ माघ १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा पनि रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेको विभिन्न देशहरूमा यो चलचित्र, केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिने भएको छ ।

    रिलिज मिति नजिकिएसंगै चलचित्रको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा र क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ ।

    यस्तै, पुरै युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर्ससँगको सहकार्यमा रिलिज गर्दैछ । अस्ट्रेलिया र न्यूजिल्यान्डमा भने गिरीश इभेन्ट एन्ड इन्टरटेनमेन्ट र इस्सा भाइव इभेन्टले रिलिज गर्दैछन।

    त्यस्तै, जापानमा सचिन आचार्यले विभिन्न कम्पनीहरूको सहकार्यमा रिलिज गर्दैछन् । जापान र अमेरिका रिलिजको लागि चलचित्रका अभिनेता प्रदिप खड्का आफैँ जाने भएका छन् । मध्यपूर्वका देशहरूमा पनि रिलिजको तयारीको अन्तिम चरणमा रहेको निर्माता थमन कुमार भण्डारीले बताएका छन।

    राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

    अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

  • ‘पारी त्यो डाँडामा’को नयाँ भर्सन आउने

    ‘पारी त्यो डाँडामा’को नयाँ भर्सन आउने

    काठमाडौं । २०७१ सालमा ‘लिरिकल’ भिडियो ‘जालमा’ पारी त्यो डाँडा’मा रिलिज भयो । जसै गीत रिलिज भयो गीतले लोकप्रियताका सारा सिमा नाघ्दै लोकप्रियताको कीर्तिमान बनायो । सामाजिक भिडियो सेयरिङ प्लेटफम यूट्यूबसँग विस्तारै अभ्यस्त हुन थालेका नेपाली प्रयोगकर्ताले यसको लोकप्रियतालाई भ्यूजको माध्यमबाट मानक बनाइदिए।

    यसरी भाइरल बनेको गीत डेब्यू निर्देशक प्रनव जोशी निर्देशित ‘रेशम फिलिलि’ सिनेमाको थियो । गीतको लोकप्रियताले सिनेमा दर्शका लागि सर्वाधिक प्रतिक्षित बन्यो । सिनेमा २०७२ सालको वैशाख ११ गते रिलिज भयो । सिनेमाले आक्रमक व्यापारको सुरुवात गर्‍यो तर शनिबारको भूकम्पले सिनेमाहलहरु अस्थायी रुपमा बन्द भएपछि सिनेमाले आफ्नो रफ्तारमा दौड पूरा गर्ननै पाएन ।

    यही सिनेमा रिलिजको झण्डै दशक पूरा गर्नै लाग्दा सिक्वलबाट फेरि दर्शकमाझ आउँदैछ । सिनेमा फागुन १४ गते रिलिज हुँदैछ ।

    रिलिज मिति नजिकिदैं गर्दा सिनेमाले आफ्नो प्रचारका लागि ‘जालमा’ गीतको सिक्वल ल्याउने तयारी गरेको छ, जसको छायाँकन यसै साता सकिएको छ। यसै साता रिलिज हुने यो ‘फेरि जालमा’ गीतको तस्विर निर्माण पक्षले सार्वजनिक गरेको छ ।

    सार्वजनिक तस्विरमा सिनेमाका मूल कलाकारहरु विनय श्रेष्ठ तथा सुपुष्पा भट्ट कडेल फिचर भएका छन् ।
    सो तस्विरमा उनीहरुलाई रोमान्टिक मुडमा दुई हात बाँधेर थरीथरीका रंगीन छाताहरुले साजइएको रुखाकृतिको अगाडि बसिरहेको देख्न सकिन्छ ।

    यो सिक्वल गीतमा ‘जालमा’को संगीत र गायन टोली एकसाथ फर्किएको छ। गीत कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको हो भने शब्द मानस राजले लेखेका हुन् । यस्तै गायनमा काली र सोमिया बराईली रहेका छन् । यस्तै गीतको भिडियालाई प्रदिप लामाले कोरियोग्राफी गरेका छन् ।

    सार्वजनिक भएपछि यो गीतले पहिलेको गीतले झैं लोकप्रियता बटुल्ने अनुमान निर्माण पक्षले गरेको छ । सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाका लेखक तथा निर्देशक निरोज महर्जन हुन् ।

    रौनक विक्रम कडेल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।

    सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।

    सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

  • चक्कु प्रहारको घटनाबारे सैफ अली खानको बयान- कोठामा थुनिएको आक्रमणकारी बेपत्ता भयो

    चक्कु प्रहारको घटनाबारे सैफ अली खानको बयान- कोठामा थुनिएको आक्रमणकारी बेपत्ता भयो

    काठमाडौं । आफूमाथि भएको आक्रमणको घटनामा बलिउड अभिनेता सैफ अली खानले प्रहरीमा बयान दिएका छन् । चोरी गर्न आएका व्यक्तिलाई आफूले नियन्त्रणमा लिँदा उनले चक्कु प्रहार गरेको सैफको भनाइ छ ।

    बान्द्रा प्रहरीले सैफको बयान दर्ता गरेको हो । यसअघि उनकी कामदार अरियामा फिलिप र पत्नी करिना कपुरको बयान प्रहरीले लिइसकेको छ । सैफको बयान सबैभन्दा प्रतीक्षित थियो ।

    सैफका अनुसार त्यस रात उनी करिनासँग सुतेका थिए भने उनको कान्छा छोरा जेह नानी (हेरचाह गर्ने सुसारे)सँग सुतेका थिए । राति अचानक चिच्याएको आवाज आएपछि आफूहरु उठेर जेहको कोठामा गएको उनले बताएका छन् ।

    सैफको बयानपछि केही नयाँ तथ्यहरु बाहिर आएका छन् । जस्तो कि यसअघि सैफलाई उनका जेठा छोरा इब्राहिमले अटो रिक्सामा हालेर अस्पताल लगेको बताइएको थियो, तर सैफलाई छोराले नभएर उनका म्यानेजरले अस्पताल लगेको पुष्टि भएको छ ।

    सैफको बयान यस्तो छ

    म र करिना हल्लाखल्ला सुनेर ब्युँझियौं । दुवै जना जेहको कोठामा जाँदा त्यहाँ लिमा (सुसारे)सँगै एक जना अपरिचित पुरुष बहस गरिरहेका थिए । ती पुरुषको हातमा चक्कु थियो । मैले उनलाई को हो र किन आएको भनेर सोधेँ । उसले केही बताएन । कोठाभित्र मेरो सानो छोरो सुतिरहेको थियो । त्यसैले उसलाई खतरा हुनसक्ने सोचेर मैले उक्त व्यक्तिलाई च्यापचुप समातेर आफ्नो नियन्त्रणमा लिएँ । त्यसले मबाट फुत्किने प्रयासमा मलाई पटक-पटक चक्कु हान्यो । मेरो पिठ्यूँ, हात र गर्दनमा चोट लाग्यो । म घायल भएँ । मैले घाइते अवस्थामै धक्का दिएर आक्रमणकारीलाई लडाएँ । त्यसपछि कोठाको धोका थुनेर हामी निस्कियौं । कर्मचारीले जेहलाई लिएर माथि तल्लामा गए ।

    हल्लाखल्ला सुनेर १२ औं तल्लाबाट अरु कर्मचारीहरु झरे, तर जेहको कोठा खोलेर हेर्दा त्यो व्यक्ति त्यहाँ थिएन । कर्मचारीले सबैतिर खोजे, तर ऊ कतै पनि भेटिएन । मलाई मेरो म्यानेजरले अटोरिक्सामा हालेर अस्पताल पुर्‍यायो ।

    यस घटनामा पक्राउ परेका आरोपी सरिफुल इस्लामलाई आज म्याद थपका लागि अदालत पेश गर्दैछ । केही मिडियाले प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको र फरेन्सिक रिपोर्टमा उनको अनुहार सीसीटीभी फुटेजमा देखिएको व्यक्तिसँग म्याच नभएको दाबी गरिरहेका छन् । स्मरणीय छ कि घटना भएको डेढ घन्टापछि मात्रै सैफलाई अस्पताल पुर्‍याइएको थियो ।