Category: कलाप्रेस

  • कला, संस्कृति र विज्ञान प्रविधिसहित नेपाल–चीन मित्रता झल्काउने रंगीन वृत्तचित्र

    कला, संस्कृति र विज्ञान प्रविधिसहित नेपाल–चीन मित्रता झल्काउने रंगीन वृत्तचित्र

    काठमाडौं । नेपाल(चीनबीचको सांस्कृतिक, आर्थिक तथा अन्य प्राचीन मित्रताबारे नयाँ पुस्तामाझ जानकारी गराउने ध्येयले आइतबार राजधानी काठमाडौंस्थित दरबार हाइस्कूलमा केही छोटा तथा लामा भिडियोहरू प्रदर्शन गरिएको छ।

    चाइना मिडिया ग्रुपले उत्पादन गरेको सो वृत्तचित्रमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म विकास गर्ने ध्येय राखिएको सीएमजी नेपाली सेवाका भाषा विशेषज्ञ लक्ष्मी लम्सालले जानकारी दिए ।

    नेपालको एकसिंगे गैँडा र चीनको पाण्डा, नेपाल र चीनबीचको चिया संवाद, चीनको मोकाउ गुफा र नेपालको बौद्धनाथ, चीनको लसान बुद्ध र नेपालको लुम्बिनीका बुद्धबीचको सम्पर्क कुराकानी लगायतका वृत्तचित्रले विद्यार्थी तथा शिक्षकहरूमाझ ऐतिहासिक कालदेखिको नेपाल चीन मित्रताप्रति गहिरो छाप छोडेको छ।

    भिडियोहरूमा नेपाल र चिनियाँ सीमामा रहेका हिमालदेखि सिचाङ (तिब्बत)मा रहेका भिक्षुहरूको जीवनशैली, सीमा क्षेत्रमा व्यापार गर्ने नेपालीका कथाहरू पनि देख्न सकिन्छ ।

    कार्यक्रममा चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिभल गाला झल्किने भिडियो पनि देखाइयो । चीनमा यतिखेर सर्प वर्षको बिदा चलिरहेको छ।

    दरबार हाइस्कूल भवनमै रहेको संस्कृत माविका सहायक प्रधानाध्यापक निश्चल अधिकारीले भाषिक कठिनाइ हुने चीनसँग नेपालको सांस्कृतिक समानता चाहिँ अधिक रहेको देख्न पाउँदा अचम्म लागेको बताए।

    चीन चिन्न गाह्रो नरहेको तर नेपाली भाषामै बनाइएका वृत्तचित्रले सहजै चीन बुझिएको उनको प्रतिक्रिया थियो।

    कार्यक्रममा प्रस्तुत नव वर्ष गालाले सबैको ध्यानाकर्षण गरेको थियो। सन् १९८० को दशकदेखि नव वर्ष गाला चिनियाँ टेलिभिजनबाट अविच्छिन्न प्रसारण हुने र चिनियाँहरुमाझ चाड पर्वको रौनक दिलाउने कार्यक्रम बनेको मानिन्छ। चिनियाँ नव वर्षको बिदा हालै राष्ट्रसंघ अन्तर्गत युनेस्कोमा पनि सूचीकृत भएको छ।

  • ‘दुःखी आत्मा’काे ट्रेलर रिलिज (भिडिओ)

    ‘दुःखी आत्मा’काे ट्रेलर रिलिज (भिडिओ)

    काठमाडौं । टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल फिल्म ‘दुःखी आत्मा’को ट्रेलर निर्माण पक्षले सार्वजनिक गरेको छ । फिल्म रिलिजको १० दिन अगाडि मात्र ट्रेलर सार्वजनिक गरिएको हो ।

    ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’

    यो कविताले पनि फिल्मले कस्तो भन्न खोजेको हो वुझ्न सकिन्छ ।

    दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

    रामजी लामिछानेको कोरियोग्राफी रहेको यो फिल्ममा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।

    क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्म फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ ।

    सार्वजनिक ट्रेलरमा दया र आँचलको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ । ट्रेलरमा समावेश थुप्रै संवादले दर्शकको ध्यान खिच्ने देखिएको छ ।

  • प्रदर्शनरत चलचित्र ‘एक्टर : टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक

    प्रदर्शनरत चलचित्र ‘एक्टर : टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक

    काठमाडौं । प्रदर्शनरत चलचित्र ‘एक्टरः टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ । आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका छन् ।

    गीतको सङ्गीत रोहित शाक्यले तयार पारेका हुन भने कोरियोग्राफी किरण थापाले गरेका छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने सम्पादन निमेश श्रेष्ठले गरेका छन् । गीतमा एक कलाकारको सपना र त्यसको लागि गरेको सङ्घर्ष पछि प्राप्त सफलतालाई दर्साइएको छ, जसमा अभिनेता प्रदिप खड्काको सफलता देखाइएको छ ।

    यस चलचित्रमा प्रदिप सहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

    चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

     

  • सिलिगुडी पुगेर गीत गाउन नपाई फर्कियो सविन राईको टीम, भने- ‘स्क्याम’ मा परियो

    सिलिगुडी पुगेर गीत गाउन नपाई फर्कियो सविन राईको टीम, भने- ‘स्क्याम’ मा परियो

    काठमाडौं । सबै पूर्वतयारी सकेर अन्तिममा प्रस्तुतिको लागि तयार भएपछि एक्कासी कार्यक्रम रोकियो भने एउटा कलाकारलाई कस्तो लाग्ला ? समयमै पुगेर पनि प्रस्तुति दिन नपाएपछि गायक सविन राई र उनको व्याण्डलाई नरमाइलो लागेको छ ।

    ब्याण्डसहित सिलिगुडी सुक्ना कार्यक्रममा पुगेका गायक सविनको प्रस्तुति आयोजकको कारण रोकिएको छ ।

    सविनको टीमले सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै आफूहरू स्क्याममा परेको बताएका छन् । समयमै आउँदा आउँदै पनि आयोजकको बेवास्ताले प्रस्तुति दिन नपाएको उनीहरूको गुनासो छ ।

    सविनले भनेका छन, ‘हेलो सिलिगुडी ! हिजो फेब्रुअरी २ सुक्नाको शोका लागि हामी आएका थियौं । तर, हामी कुनै पनि कलाकारले प्रस्तुति दिन सकेनौं । यसका लागि हामी मनदेखि नै तपाईँहरूसँग क्षमा माग्छौ । आयोजकले नजानेको हो वा जानी जानी यस्तो गरेको हो । त्यो हामीलाई थाहा भएन । हामीले आयोजकलाई भेटेको पनि थिएन । अन्तिम समयसम्म पनि आयोजकले अनुहार नदेखाएपछि ठिक भएन जस्तो लागेर हामी अगाडि बढेनौं ।’

    आफूहरू ७ बजे प्रस्तुतिका लागि रेडी भइसकेको बताएका उनले आयोजक कसैले आएर ‘यो गर्नुपर्छ, यस्तो सेड्युल छ’ नभनेको उनको भनाइ छ ।

    भिडिओमा भनिएको छ, ‘९ बजेपछि भने फोन नै उठेन । ११ बजेसम्म हामीहरू तयारी अवस्थामा रहे पनि कसैले खबर गर्नु भएन ।’

    उनीहरूको साथमा स्वप्निल शर्मा पनि थिए ।

  • ‘हरिबहादुरको जुत्ता’ को शुभमुहूर्त सम्पन्न

    ‘हरिबहादुरको जुत्ता’ को शुभमुहूर्त सम्पन्न

    काठमाडौं । चर्चित हास्य-अभिनेता हरिवंश आचार्यको कथा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को शुभमुहूर्त सम्पन्न भएको छ ।

    सरस्वती पूजाको अवसर पारेर सूर्यविनायक मन्दिरमा स्क्रिप्ट र क्यामरा पूजा गर्दै चलचित्रको औपचारिक छायांकन सुरू गरिएको हो । दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने यस चलचित्रको मुहूर्त समारोहमा कलाकारहरू हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, निर्देशक खनाल, निर्माता सरोज ओली, मोहित आचार्यलगायत उपस्थित थिए । निर्देशक खनालसँग हरिवंशको यो पहिलो सहकार्य हो ।

    चलचित्रमा प्रकाश सपूत पनि मुख्य भूमिकामा छन् । तर, मुहूर्तमा भने उनी देखिएनन् । अभिनेता हरिवंश आचार्यले जन्मथलो काभ्रेको पनौतीस्थित शंखुबाट ‘हरिबहादुरको जुत्ता’ को छायांकन थालेका छन् ।

    निर्माण टीमका अनुसार ४५ दिनसम्म यो चलचित्रको छायांकन हुनेछ । चलचित्रमा हरिवंशसँगै प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, मुरलीधरको शीर्ष भूमिका हुनेछ । चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गर्दैछन् भने चलचित्र एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्नेछ ।

    चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

  • निफको निर्णायक मण्डलमा २ जना सदस्य थप

    निफको निर्णायक मण्डलमा २ जना सदस्य थप

    काठमाडौं । आगामी चैत ७-११ मा हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को निर्णायक मण्डलमा दुई सदस्य छनौट गरिएको छ ।

    छोटा चलचित्र तथा वृत्तचित्रतर्फ निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्तलाई निर्णायक समितिको सदस्य छनौट गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।

    महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको छ । महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि हुनेछ ।

    महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशीको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ ।

    एआई चलचित्रलाई पाँच सय डलर राशीको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०-५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

    महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूबिच छलफल तथा कार्यशाला पनि सञ्चालन हुनेछन् ।

  • ‘सिरियल किसर’ उदितनारायण ! प्रख्यात गायिकाहरुलाई पनि चुम्न बाँकी राखेनन्

    ‘सिरियल किसर’ उदितनारायण ! प्रख्यात गायिकाहरुलाई पनि चुम्न बाँकी राखेनन्

    काठमाडौं । बलिउडमा एक भलादमी र सरल स्वभावका गायकको रुपमा परिचित थिए उदितनारायण झा, तर भर्खरैको एउटा स्क्यान्डलले उनको यो छविमा गम्भीर क्षति पुगेको छ ।

    उदितले कन्सर्टमा गीत गाउने क्रममा फ्यानहरुलाई चुम्बन गरेको भिडिओ भाइरल भएसँगै उनी विवादित बनेका हुन् । यो स्क्यान्डलमा उनले दिएको प्रष्टीकरण झनै चित्तबुझ्दो छैन । उदितले गल्ती महसुस गर्नुको साटो आफ्नो बचाउ गर्न खोजेका छन् । यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

    एक अन्तर्वार्तामा उदित भन्छन्, ‘फ्यानहरु दिवाना हुन्छन् । हामीले उनीहरुलाई खुशी पार्नुपर्छ । अन्यथा हामी त्यस्तो खालका मान्छे होइनौं ।’

    उदितको यो प्रष्टीकरणमा थप आलोचना खेप्नु परिरहेको छ । यद्यपि कतिपय फ्यानहरु उनको बचाउमा पनि उभिएका छन् । सुरुमा युवतीले किस गरेको र उदितले जवाफमात्रै फर्काएको उनीहरुको भनाइ छ ।

    बलिउडमा लामो करिअर भए पनि उदित अहिलेसम्म यस्तो खाले विवादमा मुछिएका थिएनन्, तर उनले अरु युवतीलाई सार्वजनिक रुपमा चुम्बन गरेको भने यो पहिलो पटक होइन । उनले नाम चलेका गायिकाहरुलाई स्टेजमै चुम्बन गरेका छन् । ती पुराना भिडिओका फोटोहरुलाई जोडेर सामाजिक सञ्जालमा उनलाई ‘सिरियल किसर’ वा ‘उदित हासमी’ को उपमा दिन थालिएको छ ।

    एक पटक उदितले इन्डियन आइडलको मञ्चमा नै समकालीन गायिका अल्का याग्निकलाई किस गरेका थिए । स्टेजमा गीत गाइरहेकी अल्का अचानक उदितले आएर गाला चुमेपछि स्तब्ध बनेकी थिइन् । त्यसो त उदितले अल्कालाई विभिन्न स्टेज शोका क्रममा पनि कहिले हातमा त कहिले गालामा म्वाइ खाने गरेका छन् । अल्कासित उनी निकै फ्लर्ट पनि गर्छन् । आफ्नो गायन करिअरमा उदितले सबैभन्दा बढी गीत अल्कासँगै गाएका थिए । उनीहरुका सयौं गीत हिट छन् ।

    अर्को एक घटनामा उदितले नयाँ पुस्ताकी गायिका श्रेया घोषाललाई त्यस्तै हर्कत गरे । त्यो पनि एउटा अवार्ड समारोहमा, जहाँ बलिउडका दिग्गज हस्तीहरु थिए । श्रेयाले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी थिइन् । मञ्चमा अवार्ड दिन उभिएका थिए उदितनारायण र अभिनेत्री मलाइका अरोरा । श्रेया अवार्ड लिन आइन् । स्टेजमा उक्लेपछि उदितले उनलाई ‘हग’ गरे । त्यसपछि अचानक गालामा म्वाइ खाइदिए । भरिभरिभराउ हलमा सिनियर गायकले यसरी गाला चुमेपछि श्रेयाले अप्ठेरो मानेकी थिइन् ।

    उमेरले ६९ वर्षमा हिँडिरहेका छन् उदित । उनले दुई विवाह गरेका थिए । पहिलो विवाह रञ्जना झासित र दोस्रो दीपा गहतराजसित गरेका हुन् । उदितको गायन करिअरमा दीपाको ठूलो हात छ ।

    उदित नेपाली हुन्, तर भारतमा उनी आफूलाई नेपाली भनेर चिनाउन चाहँदैनन् । उनले आफू भारतको बिहारमा जन्मेको बताउने गरेका छन् । नेपालमा आउँदा भने उनी नेपाली नै हुँ भन्छन् ।

  • आमिर पुत्र जुनैदको स्वीकारोक्ति : पारिवारिक लिगेसीकै कारण चलचित्र पाइरहेको छु

    आमिर पुत्र जुनैदको स्वीकारोक्ति : पारिवारिक लिगेसीकै कारण चलचित्र पाइरहेको छु

    काठमाडौं । गत वर्ष नेटफ्लिक्समा सार्वजनिक चलचित्र ‘महाराज’बाट अभिनयमा डेब्यु गरेका आमिर खान पुत्र जुनैद खानले यस वर्ष ठूलो पर्दामा डेब्यु गर्दैछन् ।

    ‘लभ पाया’मार्फत् ठूलो पर्दामा आफूलाई परीक्षण लागेका उनले एक अन्तर्वार्तामा चलचित्र पाउनुको कारण खुलाउँदै भनेका छन्, ‘मैले मेरो परिवारको कारणले चलचित्रहरू पाइरहेको छु ।’

    जुनैदले रेडियो नशासँग कुरा गर्दै आफूले पाइरहेको प्रिभिलेजलाई स्वीकार गरेका हुन् ।

    उनले भनेका छन्, ‘यो पनि एक किसिमको प्रिभिलेज हो । कुनै पनि पब्लिक प्रोफाइलविनै मलाई निर्माताहरुले कास्ट गर्छन् । धेरै राम्रा अभिनेताहरूसँग मैले पाएको जस्तो सुविधा छैन ।’

    आमिरले जसरी नै जुनैदले सामाजिक सञ्जाल चलाउँदैनन् । र पनि उनलाई ‘महाराज’मा आमिरको छोरा भएकैले कास्ट गरिएको थियो ।

    खुसी कपुरको साथ यस वर्ष जुनैदको ‘लभयापा’ प्रदर्शन हुँदैछ । यो चलचित्र दुई अघि प्रदर्शन भएको तामिल चलचित्र ‘लभ टुडे’को हिन्दी रिमेक हो ।

  • सुशान्तले आनालाई टिकटकमा गरे अनफलो, सम्बन्धमा दरार कि पब्लिसिटी स्टन्ट ?

    सुशान्तले आनालाई टिकटकमा गरे अनफलो, सम्बन्धमा दरार कि पब्लिसिटी स्टन्ट ?

    काठमाडौं । गायक सुशान्त केसीले नायिका आना शर्मालाई टिकटकमा अनफलो गरेका छन् । उनको फलोइङ लिस्टमा एक जना आना मात्रै थिइन् ।

    सुशान्त र आनाबीच प्रेम सम्बन्ध रहेको विश्वास गरिन्छ । उनीहरुबीच ब्रेक अप भएको कुनै चर्चा छैन । तर, सुशान्तले अनफलो गर्दा सम्बन्ध सरल रेखामा बगिरहेको छैन कि भन्ने आशंका उब्जिएको छ । यद्यपि, सुशान्तले आफ्नो नयाँ गीतप्रति ध्यानाकर्षण गराउन ‘पब्लिसिटी स्टन्ट’ गरेको अनुमान पनि कतिपयले गरेका छन् ।

    अहिले सुशान्तको फलोइङ लिस्टमा शून्य अंक देखिन्छ । आनाको सुचीमा भने २४३ जना छन् । तर, उनले आफ्नो सुची गोप्य राखेकाले सुशान्तलाई फलो गरे÷नगरेको भन्ने खुल्दैन ।

    सुशान्तले आनालाई अनफलो गर्दा टिकटकमा सानोतिनो कम्पन नै आएको छ । सुशान्तका फ्यानहरूले आश्चर्य प्रकट गरिरहेका छन् । पछिल्लो समय सर्वाधिक फ्यान फलोइङ भएका गायकमा सुशान्त पर्छन् ।

    उनको पछिल्लो गीत ‘बार्दली’ भाइरल भएको थियो, जसमा आनाले पनि मोडलिङ गरेकी छन् । इन्स्टाग्राममा भने सुशान्त र आनाले अझै पनि एक-अर्कालाई फलो गरिरहेका छन् ।

  • एलिनापछि अरुणिमाको पालो ? फेसबुकबाट हटाइन् श्रीमानसँगका तस्बिर

    एलिनापछि अरुणिमाको पालो ? फेसबुकबाट हटाइन् श्रीमानसँगका तस्बिर

    काठमाडौं । पछिल्लो समय एकपछि अर्को महिला कलाकारको वैवाहिक जीवन भड्खालोमा परिरहेको छ । गायिका एलिना चौहानले विवाह गरेको ९ महिनामै श्रीमानसँग सम्वन्ध तोड्न लागेको समाचारबीच एक नायिकाले पनि यस्तै संकेत गरेकी छन् ।

    यी नायिका हुन् अमेरिका निवासी अरुणिमा लम्साल । उनले यसै वर्ष गरेको दोस्रो विवाह पनि धरापमा परेको गाईंगुईं सुन्न थालिएको छ । उनको सामाजिक सञ्जालबाट दोस्रो श्रीमानसँगका सबै तस्विरहरु गायब भएपछि चर्चा गर्माएको हो ।

    अरुणिमाले गत भदौ ३ गते सुनसरीका स्थानीय कांग्रेस नेता युवराज श्रेष्ठसँग काठमाडौंको राम मन्दिरमा लगनगाँठो कसेकी थिइन् । तर, विवाहको ६ महिना पनि नबित्दै उनीहरुको सम्वन्धमा दरार आएको स्रोतहरुको दावी छ । श्रीमानले आफूलाई चिट गरेको आरोप अरुणिमाले लगाउन थालेकी छन् ।

    विवाह गरेको भोलिपल्टै यो जोडी कुदेर प्रकाश सुबेदीको टेलिभिजन शोमा हाजिर हुन पुगेको थियो । सुबेदीलाई दिएको अन्तरवार्तामा दुवैले एक–अर्काको जोडदार प्रशंसा गरेका थिए । युवराजले आफू अब अमेरिका नै गएर पत्नीसँगै बस्ने आकांक्षा प्रस्तुत गरेका थिए । तर, अहिलेसम्म उनी नेपालमै छन् ।

    अरुणिमाले विवाहका तस्विर र भिडिओहरु प्रशस्तै संख्यामा आफ्नो फेसबुकमा राखेकी थिइन् । ती तस्वीर/भिडिओहरु अहिले देखिँदैनन् । बरु उनको पहिलो श्रीमान अमित अर्यालसँगको प्रशस्त तस्वीरहरु अझै पनि छन् । इन्स्टाग्राममा अरुणिमा र युवराजले एक–अर्कालाई फलो गरेको देखिँदैन ।

    विराटनगर घर भएका अमितसँग अरुणिमाको प्रेम विवाह भएको थियो । उनीहरुबाट एक हुर्किसकेकी छोरी छन् । विवाहको ६ वर्षपछि अरुणिमाले छोरी जन्माएकी थिइन् ।

    सन्तानप्राप्तिपछि यो जोडी अमेरिका भासियो । अमेरिका गएको केही समयमै उनीहरुको सम्वन्ध टुटेको खबर सार्वजनिक भएको थियो । त्यसको केही समयमा अमितले दोस्रो विवाह गरिसकेका छन् ।

    अरुणिमा र युवराजको भने मागी विवाह हो । अरुणिमा नेपाल घुम्न आएका बेला आफन्तबाट कुरा आएपछि उनीहरुको भेट भएको थियो । दुवैले एक अर्कालाई मन पराएका थिए ।

    चिनजान भएको १५ दिनभित्रै विवाह गरेको उनीहरुले अन्तरवार्तामा बताएका छन् । विवाह गरेको केही दिनमै अरुणिमा नियमित सेड्यूल अनुसार अमेरिका गइन् । उनी श्रीमानको घरमा अहिलेसम्म भित्रिएकी छैनन् । वैशाखमा श्रीमतीलाई घर भित्र्याउने युवराजले बताएका थिए ।

    विवाहपछि दुवैजना अमेरिका सेटल हुने योजना थियो । तर, अहिले अरुणिमा यो सम्वन्धलाई निरन्तरता दिन नसक्ने मनस्थितिमा पुगेको स्रोतहरुको दावी छ । उनले निकटस्थहरुसँग ‘युवराजबाट धोका पाएको’ बताउने गरेकी छन् ।

    युवराजको साइडबाट भने कुनै कुरा सुनिएको छैन । उनको फेसबुक प्रोफाइलमा अहिले पनि अरुणिमासँग विवाहकै फोटो देख्न सकिन्छ ।

  • उदितनारायणले महिला फ्यानलाई ओठमै किस गरेपछि भारतमा हंगामा

    उदितनारायणले महिला फ्यानलाई ओठमै किस गरेपछि भारतमा हंगामा

    काठमाडौं । भारतमा प्रख्यात नेपाली गायक उदितनारायण झा गम्भीर स्क्यान्डलमा फँसेका छन् । उनले स्टेजमा प्रस्तुति दिने क्रममा महिला फ्यानहरूलाई ओठमै किस गरेको भिडियो भाइरल भइरहेको छ ।

    यो भिडियो कहिलेको र कहाँको हो भन्ने खुलेको छैन । भिडियोमा उदितले एक कन्सर्टमा ‘टिपटिप वर्षा पानी…’ बोलको गीत गाइरहेको देखिन्छ । गाउने क्रममा उनले आफूसँग सेल्फी खिच्न चाहने युवतीहरूलाई नजिक बोलाउँछन् । एक युवतीले सेल्फी खिचेपश्चात उदितले उनलाई आफूतिर खिच्छन् र युवतीले उनलाई गालामा चुम्छिन् । लगत्तै उदितले ती युवतीलाई ओठमा दह्रो किस गर्छन् ।

    उदितले यसरी किस गर्दा युवती खुशीले रमाएको भिडिओमा देखिन्छ । साथै भिडले पनि हुटिङ गर्दै उनलाई उक्साएका छन् । उदितले अरू केही महिलालाई पनि यसरी तान्दै किस खाएको देखिन्छ ।

    यो घटनालाई लिएर सामाजिक सञ्जालमा भारतीयले उदितको चर्को आलोचना गरिरहेका छन् ।

    सुरूमा कतिपयले यो भिडिओ एआई निर्मित भएको आशंका गरेका थिए, तर उदित स्वयम्ले यो आफ्नै भएको पुष्टि गरेका छन् । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले यसलाई ठूलो इस्यु नबनाउन आग्रह गरे ।

    उनले भनेका छन्, ‘फ्यानहरू एकदम दिवाना हुन्छन् । हामी यस्तो खालका होइनौं । हामी भलाद्मी मान्छे हौं । केही व्यक्तिले आफ्नो प्रेम विभिन्न तरिकाले देखाउँछन् । यस्तो कुरालाई बढावा दिएर फाइदा छैन । यसमा ध्यान नदिँदा राम्रो हुन्छ ।’

  • एलिनाले भनिन्ः सहमतिमै डिभोर्स गर्न लागेका हौं, उहाँलाई गाली नगरिदिनुहोला (भिडिओ)

    एलिनाले भनिन्ः सहमतिमै डिभोर्स गर्न लागेका हौं, उहाँलाई गाली नगरिदिनुहोला (भिडिओ)

    काठमाडौं । आफ्नो डिभोर्सका विषयमा आएका समाचारलाई लिएर गायिका एलिना चौहानले मुख खोलेकी छन् । विष्णु सापकोटासँग हतारमा विवाहको निर्णय लिएको र अहिले सहमतिमै डिभोर्स गर्न आँटेको उनको प्रष्टोक्ति छ ।

    आज टिकटक लाइभमा आउँदै उनी पहिलोपटक श्रीमानसँगको सम्वन्धबारे खुलेकी हुन् । एलिनाले श्रीमानलाई गाली नगर्न सबैसँग आग्रहसमेत गरेकी छन् ।

    उनले भावुक मुद्रामा भनिन्, ‘आफूले माया गरेको मान्छेलाई अरुले गाली गर्दा आफूले गाली खाएको भन्दा बढी पीडा हुँदो रहेछ । भोलि उहाँलाई केही भइहाल्यो भने म सहन सक्दिनँ । त्यसैले उहाँलाई कसैले नराम्रो नभनिदिनुहोला । गाली नगरिदिनु होला । जति गाली गर्नु छ बरु मलाई नै गर्नुस ।’

    एलिनाको अभिव्यक्ति उनकै शब्दमाः
    आफ्नो व्यक्तिगत विषयमा त्यति बोल्न मन लाग्दैन । यो विषयमा म आज पहिलोपटक बोल्दैछु ।

    कुनै पनि बाबुआमाले मुटु फुटाएर कन्यादान गरेको छोरीको डिभोर्स कदापी चाहँदैनन् । झन् नेपालजस्तो देशमा त एउटा छोरीका लागि एकदमै अप्रिय हुन्छ । हामीले एकदम सोचेर लिएको डिसिजन हो । दुईजनाले सल्लाह गरेर परिवारबीच कुरा भएर डिसिजन लिएका छौं । अदालतको कुरा भित्रबाट कसरी बाहिर आयो भन्ने मलाई थाहा छैन ।

    कतिपय कुरा इच्छाभन्दा पनि आवश्यकता हुन्छ । मनमुटाब हुँदाहुँदै सम्वन्धलाई निरन्तरता दिँदा पछि दुर्घटना हुन सक्छ । हाम्रो प्रेम विवाह भएको हो । विहे गर्नु हतारको डिसिजन थियो । प्रेममा हुँदा पनि हामीबीच खटपट परिराख्थ्यो । मैले सोचेँ– विवाह गरेपछि सबै ठिक हुन्छ । उहाँले पनि यत्तिको केटीसँग जिन्दगी बिताउन सकिन्छ भन्ने सोच्नुभयो ।

    समय बित्दै जाँदा मैले सहन सकिनँ र उहाँले पनि सोचेजस्तो भएन । मैले उहाँको एक्सपेक्टेसन पूरा गर्न सकिनँ ।

    आफूले माया गरेका मान्छेलाई अरुले गाली गर्दा आफूलाई नै गाली खाएभन्दा बढी पिडा हुँदो रहेछ । अहिले मलाई साथ दिन्छु भन्ने सोचिरहनुभएको छ भने साथ दिनुस । तर उहाँलाई नराम्रो नभन्नुहोला । बरु मलाई गाली गर्नुस । जिन्दगीमा कस्तो कस्तो भोगियो । म त खरानी भइसकेको मान्छे, आगोसँग डर लाग्दैन । मेरो जिन्दगी बिगार्ने जिम्मेवार म आफैं हो । हामीले जानी–जानी बिहे गरेको हौं । उहाँले म कलाकार हो भन्ने थाहा भएरै, मेरो आनीबानी जानेरै विहे गर्नुभएको हो । पछि योभन्दा पनि नराम्रो सिचुयसन नआओस भनेर राम्ररी कुरा गरेर नै छुटेको हो ।

    दह्रो पनि कति हुनु । म के भइसकेँ समझमै आएको छैन । अनुभवबाट सिकेर नयाँ सुरुवात गर्न चाहन्छु । तपाईंहरुले सहयोग नगर्न नसके पनि वाधा नपुर्याउनुहोला । मेरो नम्बर छरपस्ट भएको छ । फोन आएको आएै छ ।

    हाम्रो जिन्दगीको डिसिजन लिने अधिकार छ हामीलाई छ । बाँच्ने अधिकार छ । भोलि उहाँलाई केही भइहाल्यो भने मलाई झन् गाह्रो हुन्छ, त्यसले मलाई बाँच्न दिँदैन । त्यसैले उहाँलाई नराम्रो नभन्नुहोला ।

    मेरोजस्ते आमाबाबु सबै छोरीहरुको होस । व्यक्तिगत कुरालाई मजाकको पात्र नबनाउनुहोला । कमाइ खानो भाँडो नबनाउनुहोला ।

  • एक्टर टेक वान– हेर्नलायक ‘सस्पेन्स थ्रिलर’

    एक्टर टेक वान– हेर्नलायक ‘सस्पेन्स थ्रिलर’

    एक महत्वाकांक्षी युवक छ, कुशल(प्रदीप खड्का) । उसले खोजिरहेको दुईथोक छ, पैसा र प्रसिद्धी । चलचित्रको ‘सुपरस्टार’ भएर नाम र दाम कमाउने अनि विलासी जीवन बाँच्ने युवकको जीवनमा आइपर्ने प्रतिकूलताहरुको सोलोडोलो कथा हो, ‘एक्टर: टेक वन’ ।

    ‘सुपरस्टार’ हुने भूत सवार भएको कुशलले रंगमन्चलाई महत्वकांक्षाको भर्याङ बनाउँछ । रंगकर्ममा सक्रिय प्रकृति (आना शर्मा)सँग उसको प्रेमसम्बन्ध हुन्छ । प्रकृतिकै जोडबलमा ऊ रंगमन्चमा छिरेको हुन्छ । तर, करछली गरेर एयरपोर्टबाट सुन भित्राउने गिरोहको नजरमा पर्छ, कुशल अनि उसको महत्वकांक्षा ।

    कुशललाई त्यही गिरोहले चलचित्रमा डेब्यु गराउने घोषणा गर्छ । ऊ चलचित्र खेल्न पाएर मख्खै पर्छं । भाडामा आमासँग बसिरहेको उसले अपार्टमेन्टको एड्भान्स बुझाउँछ । किस्ताबन्दीमा नयाँ गाडी लिन्छ । कहाँ सडकको कुशल कहाँ अपार्टमेन्टको एड्भान्स बुझाउने लेभलको बन्छ । स्कुटर चढ्ने कुशल गाडी चढ्न सुरु गर्छ ।

    सपना पूरा हुँदै गएको उन्मादमा लठ्ठ परेको कुशललाई थाहा हुँदैन, कसरी उसलाई फसाइँदैछ । चलचित्र बनाउने भनेर निर्देशक (दिव्यदेव)ले कसरी सुनको तस्करी गरिरहेको छ, उसलाई थाहै हुँदैन । अचानक प्रहरीले रेड हानेको केही समयपछि मात्रै थाहा पाउँछ, ‘चलचित्रको आवरणभित्र सुन तस्करी भइरहेको रहेछ ।’ कुशलको डेब्यु चलचित्रको निर्देशक(दिव्यदेव) हिरासतमा जाकिन्छ ।

    यसपछि हिरासतमा रहेका निर्देशकलाई छुटाउन कुशलले गर्ने प्रयत्नहरु नै चलचित्रको मूलकथा हो । निर्देशकलाई हिरासतबाट छुटाएर ‘हिरो’ बन्ने सपना देखेको ऊ विस्तारै सोच्दै नसोचेको समस्याहरुमा फस्दै जान्छ । प्रेरणा (दिव्य रायमाझी)लाई पट्याएर मुख्य तस्कर (राजबल्लभ कोइराला)सम्म पुगेर निर्देशकलाई छुटाउन कुशलले गर्ने कसरत वरिपरि चलचित्र घुमेको छ ।

    चलचित्रमा अभिनय गर्ने सपना देखेका कुशलले निर्देशकलाई हिरासतबाट छुटाउन वास्तविक जीवनमा अभिनय गर्नुपर्ने हुन्छ । त्यो अभिनयमा दुई प्रेमिका प्रकृति र प्रेरणाले ट्वीस्ट ल्याउँदै जान्छन् । ट्वीस्ट थाहा पाउन हलमै गएर चलचित्र हेर्नुपर्ने हुन्छ ।

    ‘एक्टर: टेक वन’लाई धानेकै ‘सरप्राइज ट्वीस्ट’ हरुले हो । दर्शकलाई ‘सरप्राइज सस्पेन्स’ पस्कँदै चलचित्र अगाडि बढ्छ । दर्शकलाई हलमा बाँधिरहने मुख्य तत्व नै ‘सरप्राइज सस्पेन्स’ हो ।

    यदि तपाईं थ्रिलर फिल्मको पारखी हुनुहुन्छ भने ‘एक्टर ः टेक वन’ हेर्दा हुन्छ । तर, चलचित्रको क्लाइमेक्स चाहीँ ‘प्रिडिक्टेबल’ छ । कुशलले ल्याउने क्लाइमेक्स नयाँ र सरप्राइज लाग्दैन । र पनि चलचित्र हेर्नलायक छ ।

    चलचित्रको सुन्दर पक्ष चाहीँ यसको सम्पादन हो । दर्शकलाई बोर नहुने गरी निमेष श्रेष्ठले चलचित्रको सम्पादन गरेका छन् । ब्याकग्राउण्ड म्युजिकले निराश बनाउँदैन । अनि प्रदीप खड्काको अभिनयले पनि दर्शकलाई थप उत्साहित बनाउँछ । खड्काले क्रमिक रुपमा अभिनयमा निखारता ल्याउँदै गएको प्रमाण पनि हो, ‘एक्टर ः टेक वन’ । चलचित्रमा खड्काले सामान्य युवकको अभिनयदेखि सांकेतिक भाषासमेत बोल्छन् । अप्ठ्यारोमा परेको पात्रदेखि कथाको क्लाइमेक्स आफ्नो हातमा लिने पात्रसम्मको अभिनय छ ।

    भनिन्छ, सपना देख्नलाई पनि आधार चाहिन्छ, जुम्लाको दुर्गम गाउँमा हुर्किएको बच्चाले रोबोटसँग खेल्ने सपना देख्न सक्दैन । किनभने उसले रोबोट नै देखेको हुँदैन । त्यस्तै चलचित्रमा कुशल त्यति धेरै महत्वकांक्षी हुनुमा केही न केही आधार निर्देशक राजन भुसालले देखाइदिएको भए कथा अझैं विश्वसनीय हुन्थ्यो । आमासित कोठा भाडामा बसिरहेका कुशल के कारणले त्यतिधेरै महत्वकांक्षी भयो ? केही न केही कारण देखाइदिएको भए गज्जब हुन्थ्यो ।

    आना शर्माको अभिनय ठिकठाक छ । चलचित्रमा रंगकर्मीकै भूमिकामा रहेकी उनको अभिनय निकै नै शशक्त हुनुपथ्र्यो, त्यो छैन । डेब्यु अभिनेत्री दिव्या रायमाझीको अभिनय राम्रो भए पनि भूमिका सिमित छ । स्कुल गएर बच्चाहरु खेलेको हेर्नु, गिटारिस्ट बनेका कुशललाई मन पराउनु, कुशलको प्रेममा पर्नु, च्याट गर्नु, गीतमा नाच्नु ! दिव्याले निर्वाह गरेको प्रेरणा नामक पात्रको आधारक्षेत्र यति मात्रै हो । एक शिक्षित युवतीसँग सपना पनि हुन्छ । भविष्य कस्तो बनाउने भनेर तयारी पनि गरिरहेको हुन्छ । ऊ यतिकै अलमलिएर बस्दैन । प्रेरणाको सपना वा महत्वकांक्षाको कुरै गरिएको छैन चलचित्रमा । खेलौना जस्तो क्युट मात्रै देखाइएको छ ।

    लामो समयपछि कमब्याक गरेका राजबल्लभ कोइरालाले मुख्य भिलेनको भूमिका निर्वाह गरेका छन् । तर, कोइरालाको भूमिका ठिकै छ । दुई युवा छोरीको पिता उनलाई यति धेरै युवा देखाइएको छ कि दर्शकलाई राजबल्लभको बुवाको अवतार अविश्वासनीय लाग्न सक्छ ।

    सुशीलले पवनको भूमिकालाई न्याय गरेका छन् । अनि निर्देशक भुसालले पवनमार्फत् काम गर्ने जुनुन भएका कलाकारलाई कसरी चलचित्र क्षेत्रबाट पन्छाइन्छ भनेर देखाएका छन् । राम्रा कलाकारहरुले काम नपाएको प्रसंगहरु बेलाबेला सुनिँदै आएको छ । वा राम्रा कलाकारलाई पन्छाएर आफ्नो मान्छेलाई चलचित्रमा खेलाइएका सन्दर्भहरु नयाँ होइनन् । निर्देशक भुसालले यही विषयलाई पवनमार्फत् उठाएका छन् ।

    चलचित्रको ओपनिङ पनि गज्जब छ । निर्देशककै भूमिकामा देखिएका निश्चल बस्नेतलाई पटकथाकारले कथा भन्न सुरु गरेपछि चलचित्रको सुरुवात हुन्छ । यसपछि कथाले दर्शकलाई सरप्राइज दिँदै जान्छ । ससपेन्सहरु बन्दै जान्छन्, ससपेन्सहरु खुल्दै जान्छन् । दर्शकलाई कुशल र ‘सरप्राइज ससपेन्स’हरुले बाँध्दै लैजान्छ । ‘एक्टर ः टेक वन’को बलियो पक्ष नै कथामा निहीत ट्वीस्टहरु हो ।

     

  • निश्चलको संशय: आर्थिक लेनदेनले जुटाएको सहमति हो भने धेरैलाई अप्ठ्यारो पर्नेछ

    निश्चलको संशय: आर्थिक लेनदेनले जुटाएको सहमति हो भने धेरैलाई अप्ठ्यारो पर्नेछ

    काठमाडौं । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘एक्टर: टेक वन’ र ‘एक्टर’ चलचित्रका निर्माताबीच भएको सहमतिलाई लिएर निर्देशक निश्चल बस्नेतले शंशय प्रकट गरेका छन् ।

    यदि आर्थिक लेनदेन भएपछि मात्रै अदालतमा पुगेको मुद्दालाई फिर्ता लिइएको हो भने भविष्यमा गलत नजिर बस्ने मात्रै नभएर धेरै चलचित्रकर्मीलाई अप्ठ्यारो पार्ने शंशय व्यक्त गरेका छन् ।

    उनले फेसबुकमा थप लेखेका छन्, ‘यदि सहमति मात्रै भएको हो भने दुःख दिन, रिलिज बिगार्नलाई यस्तो हर्कत भएको हुनसक्छ । यस्तो सब भइरहँदा पनि न निर्माता संघको धारणा आयो, न निर्देशक समाजको, न विकास बोर्डको । दुई फिल्मको इगोको लडाइँ मात्रै सम्झिएपछि कसको के लाग्छ रु फिल्म दर्ता प्रणालीमा ठूलो भ्वाङ रहेछ ।’

    उनले विकास बोर्डलाई इंगित गर्दै कपीराइटलाई व्यवस्थित गर्नुपर्छ भनेर कसैले सम्झाइदिन आग्रह समेत गरेका छन् ।

    ‘एक्टर :टेक वन’को कलाकार समेत रहेका उनले लेखेका छन्, ‘दुई पक्षबीच भएको सहमतिमा यो दुई दिनको छुट्टीको दिनमा भएको व्यापार घाटाको क्षतिपूर्तिको कुरा भयो कि भएन रु’

    ‘एक्टर: टेक वन’ले आफ्नो चलचित्र ‘एक्टर’को नाम कपी गरेको भन्दै निर्माता सम्राट थापाले काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । थापाको रिटउपर अदालतले फैसला गर्दै माघ २२ गतेसम्मलाई चलचित्रको प्रदर्शन रोक्नु भन्ने अल्पकालीन आदेश दिएको थियो ।

    उक्त आदेशपछि गत १६ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र रोकिएको थियो । तर, दुई दिनपछि दुई पक्षबीच आपसी सहमति भयो । थापाले अदालतबाट मुद्दा फिर्ता लिएपछि आजबाट देशव्यापी रुपमा चलचित्र प्रदर्शन भइरहेको छ ।

  • ‘एक्टर’ निर्माताले लिए मुद्दा फिर्ता, ‘एक्टर टेक वान’ आजबाट प्रदर्शनमा

    ‘एक्टर’ निर्माताले लिए मुद्दा फिर्ता, ‘एक्टर टेक वान’ आजबाट प्रदर्शनमा

    काठमाडौं । ‘एक्टर’ का निर्माताले ‘एक्टर टेक वान’ विरुद्ध हालेको कपिराइटको मुद्दा फिर्ता लिएका छन् । यससँगै ‘एक्टर टेक वान’को प्रदर्शनमा उत्पन्न अन्योल समाप्त भएको छ ।

    मुद्दा फिर्ता भएको पत्र जिल्ला अदालत काठमाडौंले हल व्यवसायीको संगठन नेपाल चलचित्र संघलाई आज पठाएको हो ।

    यसअघि भएको जिल्ला अदालतको आदेशलाई टेकेर हल व्यवसायीले एक्टर प्रदर्शन गर्न मानेका थिएनन् ।

    मुद्दा फिर्ता लिएपछि मात्रै चलचित्र प्रदर्शन गर्ने हल व्यवसायीको अडानका कारण आज बिहानको शो प्रभावित भयो । दिउँसोबाट चलचित्र प्रदर्शनमा आएको निर्माण पक्षले जानकारी दियो ।

  • मुद्दा फिर्तापछि मात्रै ‘एक्टर’ चलाउने हल सञ्चालकको अड्डी, भोलिको शो के हुन्छ ?

    मुद्दा फिर्तापछि मात्रै ‘एक्टर’ चलाउने हल सञ्चालकको अड्डी, भोलिको शो के हुन्छ ?

    काठमाडौं । अदालतको आदेशले रोकिएको चलचित्र ‘एक्टरः टेक वन’ भोलि बिहान रिलिज हुने विषयमा अन्योल देखिएको छ । हल सञ्चालकहरूले मुद्दा फिर्ताको प्रक्रिया पूरा भएपछि मात्रै फिल्म चलाउने अड्डी लिएका छन् ।

    हिजो रिलिज हुनुपर्ने यो चलचित्र अदालतको आदेशले रोकिएको थियो। कपिराइटको मुद्दा परेपछि जिल्ला अदालत काठमाडौंले २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन आदेश दिएको छ ।

    अदालतको पत्र सम्बन्धित निकायहरूमा नपुगिसकेको भए पनि हल सञ्चालकले मिडियामा आएका समाचारका आधारमा सो चलचित्रको प्रदर्शन रोकेका छन् ।

    यसैबीच आज कपिराइट मुद्दा हाल्ने ‘एक्टर’ निर्माता र ’एक्टर टेक वान’ का निर्माताबीच सहमति जुटेको छ । ‘एक्टर’का निर्माताले कविराइट दाबी छाडेर अदालतमा हालेको मुद्दा फिर्ता लिन सहमति जनाएका छन् ।

    आज सार्वजनिक बिदा भएकाले मुद्दा फिर्ताको प्रक्रिया भोलि अदालत खुलेपछि मात्रै हुने छ । प्रक्रियागत रुपले मुद्दा फिर्ता नलिएसम्म चलचित्र प्रदर्शन नगर्ने हल सञ्चालकले अडान लिएका हुन् ।

    हल सञ्चालकहरूको साझा संगठन चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले आफूहरुले कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै चलचित्र प्रदर्शन गर्ने बताए ।

    उनले नेपाल प्रेसलाई भने, ‘हामीले प्रक्रिया पूरा गरेर चलचित्र चलाउने हो । अदालतबाट मुद्दा फिर्ता लिएपछि मात्रै चलचित्र हलहरुमा लाग्नेछ ।’

    ‘एक्टर’ र ‘एक्टर टेक वन’का निर्माताबीच सहमति भएपछि आज प्रेसमिटको समेत आयोजना गरिएको थियो । प्रेसमिटमा भोलि बिहानैबाट चलचित्र रिलिज हुने बताइयो । तर कुनै पनि हलहरूले ‘एक्टर टेक वान’लाई बिहानको शो दिएका छैनन् । बिहानी शो खुलाएको क्युएफएक्सले पनि पछि हटाएको छ ।

    क्युएफएक्स लाबिम मलले बिहान नौ बजेको शोको बुकिङ खुल्ला गरेकोमा बेलुकी हटायो ।

    यसबारे महर्जनलाई बुझ्दा उनले भने, ‘यदि कुनै हलमा बिहानको शो छ भने हटाउन लगाउँछौं । सरकारी प्रक्रिया पूरा गरेर मुद्दा फिर्ता लिइसकेपछि मात्रै हलहरुमा शो उपलब्ध हुनेछ ।’

    हलहरूमा दिउँसोको शोको बुकिङ भने खुल्ला रहेको छ ।

    एक्टर टेक वानका निर्माता थमनकुमार भण्डारीले हलहरूले भोलि बिहानको शो रोक्न नमिल्ने बताए ।

    उनले भने, ‘हामीबीच सहमति भइसकेपछि मुद्दाको औचित्य नै समाप्त भइसकेको छ । हलहरूलाई कुनै निकायबाट पत्र गएको पनि छैन । कुनै हालतमा शो रोक्न मिल्दैन ।’

    ‘एक्टर टेक वन’ले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरेको भन्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाई सम्राट थापाले रिलिज रोक्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । उक्त रिट उपर अदालतले अल्पकालीन आदेश दिँदै २२ गतेसम्मलाई प्रदर्शन रोक्नु भनेको थियो ।

    ‘एक्टरः टेक वन’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझीलगायत कलाकारको अभिनय छ । रायमाझीको यो डेक्यु चलचित्र हो ।

  • ‘एक्टर टेक वान’को प्रेसमिटमा भक्कानिइन् दिव्या: यस्तो समस्या कसैलाई नपरोस ! (भिडिओ)

    ‘एक्टर टेक वान’को प्रेसमिटमा भक्कानिइन् दिव्या: यस्तो समस्या कसैलाई नपरोस ! (भिडिओ)

    काठमाडौं  । ‘एक्टर’ र ‘एक्टर टेक वन’का निर्माताबीच फिल्मको नामलाई लिएर चलिरहेको विवाद टुंगिएको छ । ‘एक्टर’का निर्माताले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने भएपछि भोलिबाट चलचित्र हलमा लाग्ने बाटो खुलेको छ ।

    ‘एक्टर टेक वन’ प्रदर्शनको बाटो खुलेसँगै चलचित्रको निर्माण टिमले प्रेसमिटको आयोजना गर्यो । निर्देशन राजन भुसाल, कलाकार प्रदीप खड्का, दिव्य रायमाझी लगायत कलाकार उपस्थित थिए । कार्यक्रममा अभिनेत्री रायमाझी त भावुक समेत भइन् । बोल्दाबोल्दै भक्कानिइन् ।

    उनलाई ‘पहिलो फिल्ममा नै यस्तो समस्या आइलाग्यो, कस्तो महसुस भइरहेको छ’ भनेर पत्रकारले सोधे । रायमाझीले माइक लिइन् र बोल्न सुरु गरिन्, ‘छोटो समयका लागि त यहाँ केही हुँदैन रैछ भन्ने लाग्यो । म त कहाँ आइपुगेँ जस्तो लाग्यो । त्यति धेरै सपना बोकेर आइपुगेकी थिएँ । त्यति धेरै अपेक्षा बोकेर आइपुगेकी थिएँ । त्यो सबै।।।। (एकछिन रोकिइन्) रिलिजको एक दिन अगाडि फिल्म नै रोकिने भन्दा चाहिँ एकदमै दुःख लाग्यो।।। ।’

    यसपछि उनी थप बोल्न सकिनन् । अभिनेता खड्का बोल्न थाले । केहीबेर सम्हालिएपछि रायमाझीले फेरि माइक समातिन् । अनि बोलिन्, ‘भर्खरै चलचित्र क्षेत्रमा आएकी थिएँ, तर त्यस्तो हुँदा के भनुँ भन्ने भइरहेको थियो । सपना पूरा हुँदैछ भन्ने लागेको थियो । प्रिमियरले एकदमै खुसी भएकी थिएँ । तर एक्कासी फिल्म रोकिएको न्युज थाहा पाएँ । अनि त के गरुँ, गरुँ भन्ने भयो । यस्तो समस्या नयाँ कलाकारले मात्रै होइन, कसैले पनि भोग्न नपरोस् ।’

    अभिनेता प्रदीप खड्काले भने ‘भोलिबाट फिल्म रिलिज हुँदैछ’ भन्ने जानकारीका लागि मात्रै कार्यक्रमको आयोजना गरिएको बताए । सँगै उनले भने, ‘बितेको एक दुई दिन एकदमै तनावग्रस्त रुपमा बित्यो । त्यसको कारण जेसुकै भए पनि यो देशमा गरिखान गाह्रै छ भन्ने कुराको ज्वलन्त उदाहरण सामना गरियो । जनतासँग भएको आवाज थियो, तर आवाज पनि उठाउन नमिल्ने अवस्था आयो ।’

    खड्काले जिल्ला अदालत काठमाडौंको फिल्म प्रदर्शन रोक्नुपर्ने अल्पकालीन आदेशलाई इंगित गर्दै भने, ‘कुनै निकायको विरुद्धमा बालेमा कारबाही भोग्न सकिने अवस्था थियो । अबका दिनमा यस्तो समस्या कसैले भोग्न नपरोस् ।’

  • लाज शरणम’को टिजर रिलिज, केन्द्रमा धुर्मुस र विजय बराल ?

    लाज शरणम’को टिजर रिलिज, केन्द्रमा धुर्मुस र विजय बराल ?

    काठमाडौं । शिवरात्रीको अवसर पारी यही फागुन १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘लाज शरणम’को टिजर सार्वजनिक भएको छ । करिब २ मिनेट लामो सार्वजनिक टिजरले चलचित्रको कथावस्तु र चरित्र चित्रणबारे बताएको छ ।

    उपल्लो डोल्पाको एक युवक विदेश जाने तयारीमा रहेको कथासहित सुरु भएको टिजरको केन्द्रमा सीताराम कट्टेल ‘धुर्मुस’ छन् । अभिनेता बिजय बरालको भुमिकालाई पनि टिजरमा रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

    धुर्मुस र विजय बरालसहित चलचित्रका सबै कलाकारको झलक टिजरमा देख्न पाइन्छ । त्यसपछि दृश्यमा कफिन देखाइएको छ र कफिनलाई केन्द्रमा राखेर कथा अघि बढईएको छ ।

    वैदेशिक रोजगार र युवाको श्रमशक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रलाई चर्चित टिभी श्रृंखला ‘सक्किगो नि’ निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो। फागुन १४ बाट यो चलचित्र नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

  • फेरि रेशम फिलिलिको ‘फेरि जालमा’ गीत सार्वजनिक

    फेरि रेशम फिलिलिको ‘फेरि जालमा’ गीत सार्वजनिक

    काठमाडौं । फाल्गुन १४ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘फेरि रेशम फिलिलिको ‘ को ‘ फेरि जालमा ‘ बोलको गीत सार्वजनिक भएको छ ।

    काठमाडौंमा आज एक समारोहमा गीत सार्वजनिक गरिएको हो । कालि प्रसाद बास्कोटा र सोमिया बराइलीको स्वर रहेको गीतमा शब्द मानस राजको रहेको छ भने सङ्गित रिकेश गुरुङकाे रहेको छ ।

    यो सिनेमालाई निरज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् । सिनेमामा विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

    यो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।

    सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

    सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

  • ब्राह्मण किशोरीको ‘किस सिन’ राखेपछि अनुराग कश्यप विवादमा, युट्युबबाट टिजर हटाउन माग

    ब्राह्मण किशोरीको ‘किस सिन’ राखेपछि अनुराग कश्यप विवादमा, युट्युबबाट टिजर हटाउन माग

    काठमाडौं। बलिउड निर्देशक अनुराग कश्यपको चलचित्र ‘ब्याड गर्ल’को टिजर विवादमा तानिएको छ । टिजरले ब्राह्मणहरूको बदनाम गरेको भन्दै चलचित्र र कश्यपको आलोचना सुरू भएको हो ।

    टिजर युट्युबबाट हटाउन माग भइरहेको यस चलचित्र एक ब्राह्मण किशोरीको कथामा आधरित छ । ती किशोरीले कलेजको एक युवकसँग डेट गर्न चाहन्छिन् ।

    तर, जब लिशोरसँग डेट गर्न सुरू गर्छिन्, तब उसलाई अपमानजनक व्यवहार गरिन्छ । यसपछि ती किशोरी विद्रोह गर्दै घरबाट टाढा जान्छिन् र आफ्नो जिन्दगी जिउँछिन् ।

    टिजरमा किशोरी र किशोरको किस सिन पनि देखाइएको छ ।

    चलचित्रलाई लिएर निर्माता मोहन जीले एक्समा लेखेका छन्, ‘ब्राह्मण किशोरीलाई त्यसरी देखाउनुको साटो आफ्नै जातको किशोरीमाथि चलचित्र बनाएर सबैभन्दा पहिला आफ्नै परिवारलाई देखाउनु ।’

    फरक स्वादको चलचित्रको पारखीका लागि यस वर्षको प्रतिक्षित चलचित्र ‘ब्याड गर्ल’को रिलिज डेट सार्वजनिक गरिएको छैन । तर, यो चलचित्रले रोटरढम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा टाइगर कम्पिटिसन विधामा प्रतिस्पर्धा गर्दैछ । चलचित्रको निर्देशन भने वर्षा भरतले गरेका हुन ।