Category: कलाप्रेस

  • दुबई बस्ने एक नेपालीले ठगेको एलिनाको आरोप, सार्वजनिक गरिन् तस्बिर

    दुबई बस्ने एक नेपालीले ठगेको एलिनाको आरोप, सार्वजनिक गरिन् तस्बिर

    काठमाडौं । यतिबेला गायिका एलिना चौहान वैवाहिक जीवनमा आएको खटपटका कारण चर्चामा छिन् । अष्ट्रेलियाबाट फर्किएकी उनी मेला-महोत्सव व्यस्त छिन् । यही मेसोमा उनले दुबईमा रहेका एक नेपालीबाट ठगिएको भन्दै फोटोसमेत सार्वजनिक गरेकी छन् ।

    एक भिडिओ राख्दै उनले कार्यक्रमको नाममा ठगेको भन्दै दीपक बराइलीमाथि आरोप लगाएकी हुन् । उनले दीपकको तस्बिर पनि भिडिओमा राखेकी छन् । तर, कति ठगेको भन्नेबारे खुलाएकी छैनन् ।

    भिडिओमा एलिनाले भनेको कुरा यस्तो छ-

    एकजना दीपक बराइली भन्ने मान्छे हुनुहुन्छ । उहाँ दुबईमा बसेर ठग्ने काम गर्नु हुँदोरहेछ । उहाँले मलाई कार्यक्रमको आयोजक हुँ भनेर सम्पर्क गर्नुभयो । फेरि, उता मेन आयोजकलाई सम्पर्क गरेर म एलिनाको म्यानेजर हुँ भन्नुभयो ।

    त्यति भनेर उहाँले उता एलिनाको पेमेन्टको पैसा भनेर माग्नु भएछ । मेरो पेमेन्ट भनेर मागेको त्यो पैसा उहाँले आफैँ लग्नुभयो । त्यसरी उहाँले हामीलाई एकदम मज्जाले ठग्नुभयो । मैले उहाँलाई कति अनुरोध गरेँ । कहिलेकाँही मान्छेलाई आपतविपत पर्छ भन्ने सोचेर समय पनि दिएँ । तर, उहाँले एकपटक पनि म दोषी हुँ भन्ने महसुस गर्नु भएन ।

    पैसा दिने कुरा त परै जाओस्, उल्टै ठूला-ठूला कुरा गर्नुभयो । अब त्यति पैसाको लागी म केस गर्न सक्दिनँ । त्यसैले मैले यहाँ फोटो राखेको छु । उहाँको आफन्त वा चिनेको कसैले मेरो भिडिओ हेर्दै हुनुहुन्छ भने, यो भिडिओ उहाँसम्म पुर्‍याइदिनु होला ।

    अहिलेसम्म उक्त व्यक्तिले पैसा फिर्ता नगरेको एलिनाको भनाइ छ । उनले दीपकले धेरैलाई ठगिसकेको जिकिर गरेकी छिन् ।

  • एलिना चौहानलाई ऋचा शर्माको ढाडस- ‘प्रिय एलिना म तिम्रो साहसलाई सलाम गर्छु’

    एलिना चौहानलाई ऋचा शर्माको ढाडस- ‘प्रिय एलिना म तिम्रो साहसलाई सलाम गर्छु’

    काठमाडौं । अभिनेत्री ऋचा शर्माले गायिका एलिना चौहान साहसी महिला भएको भन्दै उनको आँटलाई सलाम गरेकी छन् । गायिका चौहान स्टेजमा गाउँदै गर्दा भक्कानिएको एक भिडियो क्लिप भाइरल भएपछि उक्त भिडियो फेसबुकमा पोस्ट गर्दै ऋचाले एलिनाको वैवाहिक सम्बन्ध र उनको संगीतको प्रशंसा गरेकी हुन् ।

    शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौ र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन । समाजले प्रश्न गर्‍यो होला, परिवारले चिन्ता व्यक्त गर्‍यो होला र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला । तर म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ ।

    साँच्चै, संगीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन चाहन्थ्यौ । कसैले तिम्रो पखेटा काटेर घरको सानो खाँबोमा बाँध्न खोज्यो, तर तिमी उड्न चाहन्थ्यौ । विवाह एउटा सम्बन्ध हो, बाँधिनु होइन । जब सम्बन्धले तिमीलाई साँघुरो बनाउँछ, तिम्रो सपनालाई थिच्छ, तब त्यसलाई निरन्तरता दिनुको कुनै अर्थ हुँदैन ।

    अभिनेत्री शर्माले गायिका चौहानको आटलाई सलाम गर्दै उनको निर्णयले अझ बलियो बनाउन र स्वर र संगीत संसारभरि गुञ्जिरहोस भन्दै शुभकामना पनि दिएकी छन् ।

    उनले लेखेकी छन्- ‘तिम्रो आँटलाई म सलाम गर्छु। धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सेर अरूको चाहनामा बाँच्न बाध्य हुन्छन् । तर तिमीले आफूलाई चुन्यौ, आफ्ना सपनालाई चुन्यौ। संगीत तिम्रो आत्मा हो, र तिमीले त्यसैलाई अँगाल्यौ । तिमीले जस्तो निर्णय लियौ, त्यसले तिमीलाई अझ बलियो बनाओस्। तिम्रो स्वर, तिम्रो संगीत संसारभरि गुन्जिरहोस्। यदि कहिल्यै थाक्यौ भने, सम्झनू तिमी एक यस्ती साहसी आत्मा हौ जसले परम्परागत सिमानाहरू तोडेर आफ्नो बाटो आफैँ कोरिन् । तिम्रो साथमा, ऋचा शर्मा ।’

  • ‘लाज शरणम्’को पहिलो गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक (भिडिओ)

    ‘लाज शरणम्’को पहिलो गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । हाँस्य टेलिश्रृंखला‘सक्क्गिोनी’ टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’को पहिलो गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ ।

    यो गीतलाई चलचित्रको प्रोमोसनल गीत भनिएको छ। शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना छ । गीतमा कृष्ण भारध्वजले संगीत भरेका छन् ।

    प्रोमोसनल गीत भएकाले सार्वजनिक गीतमा चलचित्रका सबै कलाकारहरुलाई देख्न सकिन्छ। निर्माण टिमले हाट बजारको सेटअपमा भिडियो खिचेका छन। गीतमा माला लिम्बूसँगै गजित विष्ट पनि छन। गजित गेष्ट अपिरियन्सको रुपमा गीतमा देखिएका हुन।

    चलचित्र ‘लाज शरणम्’ मा लेखक, कलाकारदेखि निर्देशकसम्म ‘सक्किगोनि’को टिम छ । चलचित्रको मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

    ‘चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

  • ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक (भिडिओ)

    ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक (भिडिओ)

    काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने सिनेमा ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ ।

    बिहीबार सार्वजनिक सिनेमाको १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ ।

    सिनेमाको टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ । सिनेमाको टिजरले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल देखिन्छ । रोचक ढंगले काटिएको टिजरले सिनेमाको कथावस्तु प्रकाश पार्छ ।

    सिनेमाको यसअघि सार्वजनिक पोस्टर तथा गीतले दर्शकमाझ सिनेमाप्रति अपेक्षा बढाइरहँदा टिजरले ‘फेरि रेशम फिलिली’ प्रतिको उत्साह अझै थपेको छ ।

    सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

    सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

    सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।

    सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् । यो वर्षकै प्रतिक्षित मध्यको एक सिनेमा हो ।

  • मानसिक स्वास्थ्य झैँ यौन स्वास्थ्यबारे पनि खुल्न जरुरी छ : दयाहाङ राई

    मानसिक स्वास्थ्य झैँ यौन स्वास्थ्यबारे पनि खुल्न जरुरी छ : दयाहाङ राई

    काठमाडौँ । निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘दुखी आत्मा’ यही फागुनको २ गते बाट देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रेम दिवसको मौका पारेर ‘भ्यालेन्टाइन डे’ बाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।

    भेटघाट कार्यक्रममा निर्देशक दिपेन्द्रसहित कलाकारद्वय दयाहाङ राई र आँचल शर्मा उपस्तिथ थिए ।

    कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र ‘दु:खी आत्मा’ मा आफ्नो पात्रको भूमिका चुनौतीपूर्ण भएको बताए । उनले भने, ‘मैले अनुभव पनि गर्न नपाएको पात्रको हो यो । चुनौती निकै थियो। यो एडल्ट भन्नेबित्तिकै अर्कै विषयको फिल्म होकी भन्ने खालको सोच आउँछ । यसमा पहिलो चुनौती भनेको मैले यो पात्रलाई न्याय दिन सक्दिन जस्तो लागेकै हो । आजको दिनसम्म हेर्दा पनि मैले जति गरे त्यो पर्याप्त भयो जस्तो लागेको छैन ।’

    उनले चलचित्रमा देखाइएको समस्या संसार भर ७० प्रतिशत मान्छेमा भएको बताउँदै यसबारे बहस हुन जरुरी भएको बताए ।

    ‘यौन स्वास्थयको विषयमा हामी कमै कुरा गर्छौ। मानसिक स्वास्थ्यको बिषयमा पनि हामी बल्ल खुल्न थालेका छौं । झन यौन त हाम्रो निजी कुरा हो त्यसैले गोप्य राख्छौ’, उनले जोडे, ‘तर यो चासोको बिषय भने हो । छलफल कोसँग गर्ने भन्ने आफ्नो ठाउँमा होला तर यो बिषयमा मानिसहरुलाई जानकारी हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

    उनले आफ्ना अरु चलचित्रहरु र ‘दुःखी आत्मा’ बिचको भिन्नता औल्याउँदै भने, ‘ मेरा पहिलाका चलचित्रहरु हेर्न स–परिवार जानुहुन्थ्यो । यसपटक अलग–अलग भएर जानुपर्छ । उहाँहरुको लागी यो निराशा होला । त यसबारे बुज्न जरुरी छ । परिवारसँग यसबारे हामी खुल्न सक्दैनौ । मलाई पनि यसबारे खासै ज्ञान थिएन । तर यो चलचित्र गरेपछि मैले पनि धेरै कुरा जान्ने मौका पाए ।’

    दयाले एउटा सुन्दर समाज हुनका लागि, स्वास्थ्य समाज हुनुपर्ने तर्क गर्दै सुनाए, ‘चलचित्रको टिजर आउँदा मेरो केही असहमति थियो । किनकी, यो चलचित्रले जे बिषयवस्तु उठान गरेको छ त्यो टिजरमा देखाइएको कुरा मात्र होइन ।’

    त्यस्तै, नायिका आँचल शर्माले पनि यो विषय एक गहन विषय भएको बताइन् । कार्यक्रममा बोल्दै उनले भनिन,‘जुन विषय चलचित्रमा उठाइएको छ, त्यो भनेको ४० वर्ष माथिका ७० प्रतिशत पुरुषमा देखा पर्ने कुरा हो, त्यो पनि खुलाएको डाटा मात्र । नखुलाउने त कति होलान। ४० कटेका मात्र होइन, २०–३० वर्ष कटेका पुरुषमा पनि यो समस्या देखिएको रहेछ। त्यसैले यस विषयमा खुल्न जरुरी छ ।’

    निर्देशक लामाले भने नेपाली सिने क्षेत्रमा ४० वर्षपछि मात्र यस्तो विषय उठाउन थालिएको सुनाए ।

    उनले भने, ‘बलिउडमा पहिलेदेखि नै राम्रै तरिकाले एडल्ड कथालाई उठाउने काम भइरहेको छ । तर नेपालमा ४० वर्ष भयो, बल्ल यो विषय उठान गरिएको छ। तर अहिले पनि यो विषय उठाउन त्यति सजिलो भने छैन ।’

    दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

     

  • निर्मला घिमिरे ‘निरु’ को नयाँ गीत ‘सलल बग्छ खोला यो’ को भिडिओ सार्वजनिक

    निर्मला घिमिरे ‘निरु’ को नयाँ गीत ‘सलल बग्छ खोला यो’ को भिडिओ सार्वजनिक

    काठमाडौं । निर्मला घिमिरे ‘निरु’ ले आफ्नो नयाँ ‘सलल बग्छ खोला यो’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरेकी छन् ।

    जीवन सुखदुःखको सँगालो भएको जीवन दर्शन व्याख्या गर्ने यो गीतलाई डाक्टर किरांतले लेखेका हुन् । शब्दसँगै गीतमा संगीत पनि उनले नै दिएका हुन् । सागर संसारको संगीत संयोजन रहेको गीतलाई बोधी एचडी यूट्यूव च्यानलमा रिलिज गरिएको छ ।

    यसैगरी गीतको भिडिओलाई गोपाल कटुवालले निर्देशन गरेका हुन् ।

    भिडिओमा समिता गिरी र भविष्य कार्कीले अभिनय गरेका छन् । शिव ढकालले छाँयाकन गरेको यस भिडिओलाई रामप्रसाद चौधरीले सम्पादन गरेका छन् ।

  • तस्बिरमा हेर्नुहोस् चलचित्र ‘ममी’को रेडकार्पेट प्रिमियर शो

    तस्बिरमा हेर्नुहोस् चलचित्र ‘ममी’को रेडकार्पेट प्रिमियर शो

    काठमाडौं । शुक्रवारदेखि प्रदर्शनमा आउने सिनेमा ‘ममी’को रेडकार्पेट प्रिमियर शोको आयोजना गरिएको छ । बुधवार साँझ क्यूएफएक्सको सिभिल हलमा अभिनेत्रीद्वय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती स्टारर सिनेमा ‘ममी’को प्रिमियर गरिएको हो ।

    सिनेमाको प्रिमियर शोमा प्रियंका र दीयासहित फिल्मका ‘कास्ट एन्ड क्रिउ’को सहभागि रहेको थियो । यस्तै, सिनेमा हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाला, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेतदेखि पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल जेनिशा मोक्तानसम्म पुगेका थिए ।

    फ्यामिली हरर जनरामा निर्माण भएको यो सिनेमा टिजर र ट्रेलर रिलिजदेखि नै चर्चामा छ । सिनेमाको प्रिमियर समारोहमा आकाशे नीलो पोशाकमा रगत लतपतिएको पहिरन किशोरीहरूले प्रस्तुत गरेका थिए । अभिनेत्री मास्के पोतेसहित सेतोकालो पहिरनमा प्रस्तुत थिइन् । प्रियंका भने कालो स्लिभलेस पहिरनमा उपस्थित थिइन् । प्रियंकासँगै उनकी आमा पनि प्रिमियर शोमा उपस्थित थिइन् ।

    अभिनेत्री तथा निर्देशक दीपात्री निरौलाले प्रिमियर शोपछि मिडियासँग प्रतिक्रिया दिँदै विषय वस्तु अनुसार उत्कृष्ट सिनेमा बनेको बताइन् । धेरैपछि नेपालमा एउटा उत्कृष्ट फ्यामिली हरर सिनेमा हेर्न पाएकाले सन्तुष्ट मिलेको भन्दै सबै दर्शकलाई ढुक्क भएर टिकट काटेर सिनेमा हेर्न अनुरोध गरिन् । यता अभिनेत्री केकी अधिकारीले पनि सिनेमा राम्रो बनेको भन्दै समर निरौला जस्ता नयाँ निर्माता तथा निर्देशकलाई नेपाली सिनेमा क्षेत्रमा स्वागत गर्नुपर्ने बताइन् ।

    अभिनेता सलोन बस्नेतले पनि सिनेमा राम्रो बनेकाले सवैलाई हेर्न आग्रह गरे । उनीसँगै प्रिमियरमा सहभागी अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठले पनि ‘ममी’ले तर्साउन र समाजमा घट्ने यस्ता घटनाको बारेमा सजग हुने सचेत गराएको बताइन् । यता अर्का अभिनेता सलिनमान बनियाँले पनि सिनेमाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए । आफूले नेपालमा उत्कृष्ट हरर सिनेमा हेर्न पाएको भन्दै खुशी व्यक्त गरे ।

    सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

    सिनेमाको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पार्श्व ध्वनिमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्वन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

    सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

  • सरकारी स्तरबाट ठूलो धनराशिको लोक दोहोरी प्रतियोगिता हुँदै

    सरकारी स्तरबाट ठूलो धनराशिको लोक दोहोरी प्रतियोगिता हुँदै

    कैलाली । राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालको आयोजना तथा संस्कृति समाज नेपालको सहकार्यमा भोलिदेखि सरकारी स्तरबाट ठूलो धनराशिको लोक दोहोरी प्रतियोगिता हुने भएको छ ।

    भोलि र पर्सि हुने दोहोरी प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमकाबीच नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा उद्घाटन गर्ने छन् ।

    राष्ट्रिय स्तरका लाइभ दोहोरीका प्रखर १२ समूहहरू बिच प्रतिस्पर्धा हुने छ। कोसी, सगरमाथा, जनकपुर,बागमती, नारायणी, गण्डकी, लुम्बिनी, धौलागिरि, राप्ती,भेरी, कर्णाली र सेती काली गरी १२ समूहमा विभाजन गरिएको टोलीलाई कार्यक्रम स्थलमा गोला प्रथा मार्फत समूह निर्धारण गरिने आयोजक राष्ट्रिय युवा परिषद् अन्तर्गत कला, साहित्य सञ्जालका अध्यक्षमा राम प्रसाद अवस्थीले जानकारी दिए ।

    देशमा विकराल बन्दै गएको बेरोजगारीको अवस्था, युवा पलायनले निम्त्याएको समस्या, मुलुकका समस्या,सम्भावना र संवृद्धिका विषयमा कला संस्कृति मार्फत उजागर गर्ने उद्देश्यले लोक दोहोरी प्रतियोगिता आयोजन गर्न लागिएको उनले बताए ।

    बद्री पराजुली, सिता थापा, चन्द्र शर्मा, लगायतको टोली निर्णायक मण्डलमा रहने छन् । प्रतियोगिताको विजेताले टोलीले नगद १ लाख पाउने छन् भने दोस्रो हुने टोलीले ५० हजार, तेस्रोले १५ हजार र सान्त्वना हुने समूहले १० हजार रकम पाउने आयोजकले जनाएको छ ।

    सरकारी स्तरबाट आयोजना गर्न लागिएको यो ठुलो राशिको प्रतियोगिता हो । सांस्कृतिक समाज नेपालका अध्यक्ष समेत रहेका राष्ट्रिय युवा परिषद् अन्तर्गत कला, साहित्य सञ्जालका अध्यक्ष अवस्थीले संस्कृतिका माध्यमबाट संवृद्धिको सन्देश दिन प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

  • काठमाडौंमा ‘नेपाल–भारत रङ्ग महोत्सव’

    काठमाडौंमा ‘नेपाल–भारत रङ्ग महोत्सव’

    काठमाडौं । काठमाडौँमा बुधबारदेखि नेपाल–भारत रङ्ग महोत्सव सुरु भएको छ । राष्ट्रिय नाचघर जमलमा सुरु भएको महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरे ।

    नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गरेको महोत्सव उद्घाटन समारोहमा मन्त्री पाण्डेले दुई देशको सहकार्यमा नाटक महोत्सव आयोजना हुनु खुसीको कुरा भएको भन्दै प्रशंसा गरे । उनले मन्त्रालयले कलासंस्कृतिको संरक्षणमा काम थालेको जानकारी गराउँदै यसरी कार्यक्रम गर्दा दुई देशको सम्बन्ध विस्तार हुनाका साथै आपसी अनुभव आदानप्रदान हुने पनि बताए ।

    प्रतिष्ठानकी कुलपति निशा शर्माले यसरी सहकार्यमा महोत्सव गर्दा कलासंस्कृति आदानप्रदान हुने बताइन् । उनले भनिन्, “नेपाल–भारत रङ्ग महोत्सवलाई एक अर्कासँग सिक्ने अवसरका रूपमा हेरिएको छ, एकअर्काको नाटक हेरेर त्यसबाट नयाँ सीप र कला सिक्न सकिन्छ, त्यो अवसर जुरेको छ ।”

    महोत्सवको उद्घाटनपछि सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन गरिएको थियो । यही ३० गतेसम्म चल्ने महोत्सवमा छ वटा नाटक प्रदर्शन गरिने प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिए । उनले जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने नाटकमध्ये तीनवटा नेपालका र तीनवटा भारतका प्रदर्शन हुने बताए । कुलपति शर्माका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा माघ १५ गते नै यस्तै महोत्सवसुरु भइसकेको र भारतका ११ सहरमा महोत्सव जारी छ ।

    भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव यहाँ पहिलो पटक भएको बताउँदै उनले यसपालि महोत्सवमा भारतको संस्कृति मन्त्रालयका निमित्त सचिवसहितका उच्चअधिकारीहरू पनि सहभागी भएको बताए ।

    महोत्सवअन्तर्गत बिहीबार नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुनेछ । महोत्सवअन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ प्रदर्शन हुनेछ ।

    यही माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुने जनाइएको छ ।

    कुलपति शर्माले महोत्सवमा सहभागी हुने नेपाल भारतका चर्चित नाटक केवल प्रस्तुति मात्र नभएर एकअर्काका परम्परा, मूल्य, मान्यता, संस्कृति र कथाहरुको साझा संवाद हुने र छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

    यहाँ प्रदर्शन हुने नेपाली नाटकहरुमध्ये ‘गच्छामी’ र ‘कथा कस्तुरी’ काठमाडौँमा प्रदर्शन भइसकेपछि नयाँ दिल्लीमा प्रदर्शन हुने छन्भने ‘जुन परीकथा मात्र होइन’ भारतको गोरखपुरमा प्रदर्शन भएपछि काठमाडौँमा प्रदर्शन हुनेछ ।

  • गर्भवती अवस्थामा मायावी गरेकी दीपिका- कि सन्तान कि त फिल्म रोज्नुपर्ने अवस्था थियो, निकै दुःख पाएँ

    गर्भवती अवस्थामा मायावी गरेकी दीपिका- कि सन्तान कि त फिल्म रोज्नुपर्ने अवस्था थियो, निकै दुःख पाएँ

    काठ्माडौं । महा-शिवरात्रीको अवसर पारी यहीँ फागुन १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र हो, ‘मायावी’ । निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बनेको यो चलचित्रमा नायक पल शाह र नायिका दीपिका प्रसाँइ फिचर्ड छन् ।

    चलचित्रको कथा पनि दिवाकरकै हो। लामो समयको मेहेनत भएकाले यो चलचित्र पल, दीपिका र दिवाकर तीनैजनाको लागि विशेष छ ।

    केही बर्षको अन्तरालपछि दीपिका यस चलचित्रमार्फत पर्दामा फर्किएकी हुन । त्यहीँ भएर पनि होला, उनको लागी यो चलचित्र झनै विशेष छ । उनले ‘मायावी’ आफ्नो सपना भएको बताएकी छिन् ।

    मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्, ‘यो प्रोजेक्ट ५ बर्ष अगाडि देखिको यात्रा हो । यहीँ प्रोजेक्ट सुरु भएपछि मलाई म गर्भवती भएको थाहा भयो। त्यो अवस्थामा मलाई कि त सन्तान, कि त फिल्म रोज्नुपर्ने अवस्था थियो ।’

    ‘तर, मैले भगवानको नाम पुकारेर दुबैलाई जिताउनुपर्छ भनेर अगाडि बढेँ । चलचित्रको छायांकनका क्रममा निकै दुख पनि पाए । तर, अहिले दर्शकको उत्साह देख्दा खुशी लाग्छ’, उनले जोडिन् ।

    दीपिकाले चलचित्र छायांकनको क्रममा आफूले एउटा कुरा गुमाउने अवस्था रहेको समेत बताइन् ।

    उनले भनिन्, ‘मैले निर्देशक दिवाकर भट्टराइलाई अब म यो फिल्म गर्न सक्दिनँ समेत भनेकी थिएँ । अन्य नायिका लिनुहोस् फिल्ममा पनि भनेँ । तर, मलाई उहाँले हरेक शब्दमा तिमी छौं, अरुलाई सोच्न सक्दिनँ भन्नुभयो । यसैले मैले यो फिल्म गर्नुपर्यो ।’

    दीपिकाका अनुसार ‘मायावी’ उनको दोस्रो सन्तान हो । मायावीलाई परिभाषित गर्दै उनी भन्छिन्, ‘मायावीको अर्थ सामान्य रुपमा मायाजाल बुझिन्छ । तर, यो चलचित्रमा भने मायावी भनेको आकर्षण हो भनेर देखाइएको छ । चलचित्रमा अनेकौं तरिकाले मायावी देख्न सकिन्छ ।’

    बाहिरी ब्यानरका र घरका चलचित्रहरुमा काम गर्न आफूलाई कुनै पनि समस्या नभएको बताउँदै दीपिकाले अब निरन्तर चलचित्र क्षेत्रमा काम गर्ने बताएकी छिन् । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको यो चलचित्रमा प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् ।

    दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतका कलाकारहरुको अभिनय छ ।

     

  • पहिलोपटक एडल्ट फिल्ममा आँचल, भन्छिन्- दया दाईले गर्दा सजिलो भयो

    पहिलोपटक एडल्ट फिल्ममा आँचल, भन्छिन्- दया दाईले गर्दा सजिलो भयो

    काठमाडौं । रिलिजको १० दिन अगाडि मात्र ट्रेलर सार्वजनिक गरिएको चलचित्र ‘दुःखी आत्मा’ यसको ‘एडल्ट’ विषयवस्तुका कारण चर्चामा छ । चलचित्रको ट्रेलरमा समावेश यौनजन्य र द्विअर्थी संवादलाई लिएर कलाकारहरु ट्रोल बनिरहेका छन् ।

    दिपेन्द्र लामा निर्देशित यस चलचित्रमा दयाहाङ राई र आँचल शर्माको जोडी छ । दयाहाङले यौन दुर्बलता भएको एक कविको भूमिका निकाएका छन् । उनीहरु दुवैले ‘एडल्ट’ फिल्ममा अभिनय गरेको पहिलोपटक हो । उनीहरुले यसअघि पनि केही चलचित्रमा स्क्रिन सेयर गरेका थिए, तर यस्तो ‘सेन्सुअल’ चरित्रमा देखिएका थिएनन् ।

    विवाहित अभिनेत्री आँचलले कसरी यस्तो चलचित्र खेल्न तयार भइन् भनेर पनि कतिपय दर्शक आश्चर्यमा परेका छन् । चलचित्रमा उनले निभाएको भूमिकामा मुलधारका नायिकाले सहजै हिम्मत जुटाउँदैनन् । अझ विवाहित नायिकाहरुका लागि यो झन् गाह्रो निर्णय हो ।

    यसै चलचित्र र पात्रलाई लिएर नायिका आँचल शर्मासँग गरिएको छोटो कुराकानी:

    -एडल्ट फिल्म खेल्न कसरी तयार हुनुभयो ? स्क्रिप्ट पढ्दा सुरुमा के सोच्नुभएको थियो ?

    मलाई यो चलचित्रको प्रस्ताव निर्देशक दिपेन्द्र लामा दाइमार्फत नै आएको थियो । सुरुमा कथा सुन्दा मलाई पनि डर लागेको थियो किनकी मेरो लागि पनि यो भिन्न जनरा हो । सुरुमा सुन्दा नै, म कहाँ गर्न सक्छु र यस्तो चलचित्र, वा अझ भनौँ मलाई सुहाउदैन भनेजस्तो लागेको थियो ।

    तर मलाई कन्टेन्ट भने मन पर्यो । यसमा मान्छेको समस्याबारे बोलिएको छ । त्यही समस्यालाई देखाउने क्रममा केही डाइलगहरु अलि सेन्सुयल टाइपको राख्नु परेको हो । तर समग्रमा चलचित्र सन्देशमुलक बनेको छ । कन्टेन्ट राम्रो भएकै कारण मैले चलचित्र साइन गरेको हो ।

    -साइन गर्नुअघि यसको विषयवस्तुबारे श्रीमानसँग शेयर गर्नुभयो कि भएन ?

    गरेँ । मैले सुनाएँ सबै । चलचित्रलाई लिएर उहाँ पनि धेरै उत्साहित हुनुहुन्थ्यो । पहिलोचोटि हो, प्रयास गर्दा हुन्छ भन्ने भयो । मेरै लागि पनि यो एउटा चुनौती थियो । गर्न सक्छु या सक्दिन भन्ने थियो । यो चलचित्र मैले मेरै लागी गरेको हो ।

    -ट्रेलरबाट कस्ता प्रतिक्रियाहरु पाइरहनुभएको छ ?

    अहिलेसम्म त मिक्स प्रतिक्रिया पाइरहेको छु । नयाँ कन्टेन्ट भएकाले एकैचोटि सबैलाई बुझ्न गाह्रो हुन्छ । स्वीकार्न पनि गाह्रो हुन्छ । तर ट्रेलर ट्रेन्डिङमा पुगिसकेको छ । सायद रुचाउनुहुन्छ होला । अहिले नै केही भन्न सकिदैन ।

    चलचित्र हेरेपछि मात्र दर्शकले कसरी लिनुहुन्छ भन्ने प्रष्ट हुनेछ । कथा थाहा हुन्छ नि त । अहिले त सानो–सानो क्लिप हेर्ने हो । त्यही भएर कसैले बुझ्नुहुन्छ, कसैले के होला भनेर दोधारमा पर्नुहुन्छ ।

    -यस्तो कन्टेन्ट नेपाली दर्शकले नपचाउने हुन् कि भन्ने डर कत्तिको छ ?

    सुरुमा चाहिँ थियो । मैले यस्तो चरित्र कहाँ गर्न सक्छु होला र भन्ने थियो । पछि बिस्तारै होइन, यो त सन्देश हो भन्ने लाग्यो । सुरुमा त दर्शकलाई पनि कस्तो चलचित्र होला भन्ने लाग्ला ।

    किनकी कथा नखुल्दासम्म दर्शकलाई थाहै हुन्न यो कस्तो चलचित्र हो भन्ने । त्यही भएर दर्शकलाई सुरुमा नराम्रो सोच आउनु स्वभाविकै हो । तर चलचित्र हेरेपछि थाहा हुन्छ । मेरो लागि पनि यो नयाँ चुनौती हो । नयाँ सिकाइ हो ।

    -एडल्टहरुलाई मात्र समेटेको चलचित्रले व्यवसायीक रुपमा सफलता कमाउन सक्ला ?

    यस्तो हो, केटा मान्छेको रोगको बारे हामीले कहिले कुरा गर्दैनौं । केटा मान्छेको पिडा हामी बुझ्न खोज्दैनौं । जुन विषय हामीले चलचित्रमा उठाएका छौं, त्यो भनेको ४० वर्ष माथिका ७० प्रतिशत पुरुषमा देखा पर्ने कुरा हो । त्यो पनि खुलाएको डाटा मात्र । नखुलाउने त कति होलान् ।

    ४० कटेका मात्र होइन, २०-३० वर्ष कटेका २०-३० प्रतिशत पुरुषमा पनि यो समस्या देखिएको रहेछ । यो समस्याबारे खुलेर कति बोल्न सक्नुहुन्न । लाज हुन्छ वा भन्यो भने बेइज्ज्त हुन्छ भन्ने सोच हुन्छ । त्यसैले यो व्यक्तिगत तर सन्देशमुलक कुरा हो । त्यही भएर पनि चलचित्र हेर्न आउनुहुन्छ भन्ने लाग्छ ।

    -यो फिल्मले तपाईंको इमेज बिगार्छ जस्तो लाग्दैन ?

    लाग्दैन । चलचित्रमा आँचल छैन, अनामिका छ, अनि पुरुषको समस्या छ । मैले कलाकार भएर एउटा पात्र निभाएर सन्देश छर्न खोजेको छु । बाँकी त दर्शकले कसरी लिनुहुन्छ भन्ने हो ।

    म एउटा कलाकार हो र मैले समयअनुसार जस्तो पनि पात्र निभाउनुपर्ने हुन्छ । आफुले गर्न सक्ने जति काम म गर्छु । सायद दर्शकले पनि व्यक्तिगत जिवन र व्यवसायिक जीवनलाई एउटै हिसावले लिनुहुन्न होला ।

    ट्रेलरले मान्छेमा कस्तो छाप छाड्यो त्यो मलाई थाहा भएन, तर चलचित्रमा अनामिका एउटा साघारण केटी हो । अहिलेको जमानाको खुला सोच भएको सामान्य पात्र हो । मेरो पात्रले महिलालाई हेर्ने दृष्टिकोण पनि बदल्न खोजेको छ ।

    हामी सामान्यतया खुला विचार भएर फ्याट्ट बोलिहाल्ने केटीहरुलाई अलि नराम्रो र चुप लाग्ने अनि थोरै बोल्नेलाई राम्रो भन्ने गर्छौं । होटलमा पस्ने बित्तिकै छोरी मान्छे खत्तम नै हुन्छन् भन्ने सोच कतिमा अझै पनि छ । यस्तै–यस्तै मान्छेको विचारहरु चिर्ने काम चलचित्रल गरेको छ । इमेज बिगार्ने भन्दा पनि मलाई लाग्छ, अनामिका पात्रले एउटा छुट्टै ग्राफ क्रियट गर्न सक्छ ।

    -द्विअर्थी र भल्गर डाइलगहरु पनि छन्, सुटिङ गर्न कत्तिको गाह्रो भयो ?

    दया दाई भएर काम गर्न सजिलो भयो, अरु भएको भए गाह्रो हुन्थ्यो होला । तर दया दाईको बानीव्यहोरा र उहाँको कामका कारण यो कन्सेप्टमा काम गर्न सजिलो भयो ।

  • चैत १ गते रिलिज हुने दीपक रौनियार निर्देशित ‘राजागंज’ टिजर रिलिज (भिडिओ)

    चैत १ गते रिलिज हुने दीपक रौनियार निर्देशित ‘राजागंज’ टिजर रिलिज (भिडिओ)

    काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’को टिजर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक टिजरले दर्शकमा उत्साह पैदा गराउने निर्माण पक्षले जनाएको छ ।

    सिनेमामा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । सिनेमामा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

    सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

    प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।

    आगामी चैत १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन्न ।

    सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

    सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

  • जल शाहकी छोरी कलिलैमा समाजसेवामा, अमेरिकाबाट आएर ५५ विद्यार्थीलाई गरिन् सहयोग

    जल शाहकी छोरी कलिलैमा समाजसेवामा, अमेरिकाबाट आएर ५५ विद्यार्थीलाई गरिन् सहयोग

    काठमाडौं । चर्चित अभिनेत्री जल शाहकी छोरी कलशले अमेरिकाबाट नेपाल आएर विपन्न विद्यार्थीलाई सहयोग वितरण गरेकी छन् ।

    १६ वर्षीया कलशले आफ्नो पकेट मनी र पार्टटाइम कामबाट संकलित रकममार्फत काभ्रेको चौंरी देउराली गाउँपालिकाका चार विद्यालयमा अध्ययनरत ५५ विद्यार्थीलाई सहयोग गरेकी हुन् । उनले जाडोका लत्ताकपडा, शैक्षिक सामग्री, स्यानिटरी प्याड, हर्लिक्ससहितका खाद्य सामग्री वितरण गरिन् ।

    दुई विद्यार्थी करिश्मा मगराती र युनिक कोइरालाको वार्षिक विद्यालय शुल्कस्वरूप जनही ३५ हजारका दरले ७० हजार रुपैयाँसमेत कलशले प्रदान गरेकी छन् ।

    सानैदेखि समाजसेवामा रुचि राख्ने कलशले ‘शिक्षा फाउन्डेशन’ सुरु गर्दै विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेकी हुन् । सहयोग कार्यक्रममा उनले भनिन्, ‘विद्यार्थीहरूलाई भेटेर सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछु, मलाई सबैले आशीर्वाद र हौसला दिनुहोला ।’

    अभिनेत्री जल शाहले पनि छोरीको समाजसेवाप्रति गर्व व्यक्त गर्दै कलशको इच्छालाई पूर्ण रूपमा साथ दिने बताइन् । उनका अनुसार आगामी दिनमा यो अभियानलाई अझ व्यापक बनाइनेछ ।

    कलशद्वारा प्रदान गरिएको सहयोग सामग्री पाउँदा विद्यार्थीहरू निकै खुसी भएका थिए । उनीहरूले गीत गाएर कार्यक्रमलाई थप रमाइलो बनाएका थिए ।

  • चलचित्र अध्ययन गर्न चाहने विद्यार्थीलाई विकास बोर्डद्वारा छात्रवृत्ति प्रदान

    चलचित्र अध्ययन गर्न चाहने विद्यार्थीलाई विकास बोर्डद्वारा छात्रवृत्ति प्रदान

    काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वतवृत्तिका लागि प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरेको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हो ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डस्सीले सम्बन्धित कलेजलाई छात्रवृत्तिवापतको रकम विद्यार्थीहरुमाझ हस्तान्तरण गरेका हुन । अध्यक्ष डीसीले माध्यमिक र स्नातक तहका विद्यार्थीहरुको छात्रवृत्तिवापतको रकम ओस्कार इन्टरनेशनल कलेजका संयोजक नवनिधि दहाल र नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीलाई हस्तान्तरण गरेका हुन् ।

    विद्यार्थीहरुलाई छात्रवृत्तिको कार्यक्रम २०६१ सालबाट सुरु भए पनि यस वर्षबाट अध्यक्ष दिनेश डीसीले माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले पनि छात्रवृत्ति पाउने व्यवस्था गरेका हुन ।

    यसअघि विद्यावारिधिमा दुई, स्नातकमा १० र सर्ट कोर्षमा २ जनालाई छात्रवृत्ति दिने गरिएको थियो । यस वर्षबाट विद्यावारिधितर्फ ३, स्नातकतर्फ १३ र माध्यमिकतर्फ ५ जनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ ।

  • अनेसास जर्मनीको साहित्यिक समारोह सम्पन्न

    अनेसास जर्मनीको साहित्यिक समारोह सम्पन्न

    काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीको फ्राङ्कफर्टमा पाँचौं साहित्यिक समारोह सम्पन्न गरेको छ ।

    वसन्त पञ्चमीको अवसर पारेर गत माघ २० गते आयोजना गरिएको समारोहको अध्यक्षता च्याप्टर अध्यक्ष सुजाता घिमिरेले गरेकी थिइन् भने जर्मनीलगायत युरोपका १० मुलुकका लागि नेपाली राजदूत डा. शैल रुपाखेती प्रमुख अतिथिको रूपमा थिए ।

    कार्यक्रममा बेल्जियम, नेदरल्याण्डलगायतका छिमेकी देशबाट समेत साहित्यकारहरूको सहभागिता रहेको थियो । विशेष वक्ताका रूपमा नियात्राकार जीवा लामिछाने तथा अनेसास अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा युरोप प्रतिनिधि डिल्ली अम्माईको सहभागिता थियो ।

    विमर्श, पुस्तक चर्चा, हाजिरी जवाफ र गिती प्रस्तुतिसमेत रहेको उक्त कार्यक्रममा जर्मनीबाट सागर फुयाल, लिलाराज कार्की, शिशिर परियार, मनोजकुमार यादव, सौरभ कारञ्जित, दिनेश प्रधान, यज्ञ अधिकारी, कृतन गौतम, सुमन सिम्खडा, हरि हुमागाईं, अजित खड्का,ईनेशराज सुवेदी, बाबुराम, मनोजबाबु पनेरु, कपिल अर्याल, लुकास लुईटेल, रविकिरण काफ्ले, सञ्जय पौडेल, विमल रानाभाट लगायत दर्जनौं कवि तथा साहित्यकारहरूले आफ्नो रचना वाचन गरेका थिए ।

    कार्यक्रममा हालसालै प्रकाशित खड्ग न्यौपानेको ‘जर्मनीःआप्रवासन र अनुभूति’ पुस्तकमाथि चर्चा गरिएको थियो। कार्यक्रममा लामो समयदेखि जर्मनीमा रही नेपाली साहित्य र समुदायप्रति योगदान पुर्याए बापत अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापालाई विशेष सम्मान गरिएको थियो भने कार्यक्रमलाई महत्वपूर्ण सहयोग गरे वापत एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्त तथा होटल ट्रिप ईनलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

    सयौंको संख्यामा नेपाली साहित्यप्रेमीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको संयोजक प्रतीक्षा पोखरेल रहेकी थिइन् भने कार्यक्रमको संचालन खड्ग न्यौपाने, गौरव तिवारी र सीमा ढुंगानाले गरेका थिए । कार्यक्रमको व्यवस्थापनमा निरज सोडारी र एलिजा हुमागाईंले सहयोग गरेका थिए ।

  • ‘कवि’ राजबल्लभ : छोरीलाई कवितोपहार !

    ‘कवि’ राजबल्लभ : छोरीलाई कवितोपहार !

    काठमाडाैं । ‘कविता लेखन तपाईंको रहर हो कि प्यासन ?’

    भर्खरै ‘औरा’ कविता संग्रह बजारमा ल्याएका कवि तथा कलाकार राजवल्लभ कोइरालालाई सोधियो । उनी फिस्स हाँसेर बोले, ‘सायद प्यासन हो । रहर गरेरमात्रै त कविता लेख्न गाह्रो छ ।’

    थपे, ‘जीवनलाई, जगतलाई, दिमागलाई, आत्मालाई, खुसीलाई, आँसुलाई, प्रेमलाई, सम्बन्धलाई कसरी सोच्दो रहेछु त ? त्यसैको प्रमाण हो औरा ।’

    पर्खी बसेँ

    दुई दशकअघि फर्कने हो भने राजबल्लभ रेडियो जक्की थिए ।

    पोखरा एफएममा कार्यक्रम चलाउँथे । आरजेको रुपमा भविष्यको बाटो पहिल्याउन खोजिरहेका थिए । यद्यपि उनलाई पोखराको रेडियो स्टेसन अलिकति सानो लागिरहेको थियो । उनलाई अझै ठूलो क्यानभास चाहिएको थियो, जहाँ उनको सप्तरंगी सपनाको इन्द्रेणी बनोस् । उनलाई अझै ठूलो आकाश चाहिएको थियो, जहाँ चम्किला तारा जस्ता उनका सपनाहरु सधैं झिलमिलाइरहोस् । उनलाई अझै ठूलो राजमार्ग चाहिएको थियो, जहाँ उनको सपनाको लरी निर्वाध रुपमा हुइँकियोस् ।

    एक दिनको कुरा हो ।

    अहिलेको ओस्कर कलेजमा चलचित्रको पढाइ सुरु हुँदै थियो । चलचित्रकर्मी नीर शाह कलेजको प्रचारका लागि पोखरा आइपुगे । चलचित्र किन पढ्ने ? सविस्तारमा बताए । चलचित्र पढेर के हुन्छ ? विस्तृतमा खुलाए । अनि त के चाहियो !

    राजबल्लभको सपनाको चङ्गाले पोखराको आकाश छाडेर काठमाडौंको आकाशमा कावा खान थाल्यो ।

    ओस्कार कलेजको पहिलो विद्यार्थी बनेर भर्ना भए । उनका साथीहरु थिए, ‘बुलबुल’ निर्देशक विनोद पौडेल । अहिलेका कलेजका प्रिन्सिपल रामराजा प्रसाद दाहाललगायत ।

    राजबल्लभले कलेज पढे । सँगै विज्ञापनहरु, म्युजिक भिडियोहरुमा पनि काम गरे । अनि २०६४ सालमा चलचित्रमा डेब्यु गरे, ‘पर्खी बसेँ’मार्फत । प्रेमकथामा आधारित यो चलचित्र ब्लकबस्टर बन्यो । म्युजिक भिडियोहरुमा रुमल्लिएका राजबल्लभ हजारौं दर्शकसम्म पुगे । यसपछि त के चाहियो ! उनको जीवनको कोर्स नै बदलियो ।

    केही समयअघिको आरजे स्टार बने । स्टार बनेपछि उनका सोचाइहरु बदलिए । भोगाइहरु बदलिए । बुझाइहरु बदलिए । ‘औरा’ तिनै बदलिएका सोचहरुको काव्यिक दस्तखत हो राजबल्लभको ।

    उनी थप बोल्छन्, ‘औरा मेरा भोगाई र संवेदनाहरुको संग्रहित अभिव्यक्ति हो ।’

    ‘सबै कुरा समय रहेछ’

    सन् २०१० को कुरा हो, चलचित्रको सुटिङका क्रममा उनी घाइते भए ।

    फाइटरको घुँडाले लागेर उनको देब्रेतिरको गालाको हड्डी भाँचियो । उनले म्याक्सिलो फेसियल सर्जरी गर्नुपर्‍याे । उनको गालामा अहिले पनि टाइटानियम छ ।

    ‘धन्न एउटा प्रविधिले गिँजाभित्रबाट सर्जरी गर्दोरहेछ । बाहिरबाट गरेको भए त म के हुन्थेँ होला’, राजबल्लभ नोस्टालजिक हुन्छन्, ‘अनुहार नै ड्यामेज भएपछि त म के हुने होला ! मानसिक रुपमा एकदमै गाह्रो भएको थियो । अलिकति पैसा कमाएको थिएँ, त्यो पनि सकियो । कति धेरै तनावमा गएको थिएँ ।’

    उपचारपछि पनि राजबल्लभले चलचित्रमा काम गरे । अलिपछि अमेरिकातिर हान्निए ।

    अनि लामो समयपछि कमब्याक गरे ‘एक्टर: टेक वन’ मार्फत । यो कमब्याकले उनलाई नोस्टाल्जिक बनाइरहेको छ । विगत सम्झाइरहेको छ । संघर्ष र सफलता सम्झाइरहेको छ । आरजेबाट हिरो हुनु, त्यो पनि कसैको पछाडि नदौडिकन, लगानी नगरिकन । ‘पर्खी बसेँ’ सफल हुनु सपना जस्तो लाग्छ । यो चलचित्र आफूले पाएको सबैभन्दा ठूलो उपहार लाग्छ उनलाई ।

    अहिलेको चल्तीका अभिनेता प्रदीप खड्कासँग कमब्याक गरेका राजबल्लभलाई प्रदीपको पुस्ताले पाएको सफलता, क्रेज देख्दा कस्तो लाग्छ ?

    ‘सबै कुरा समय रहेछ । युवा अवस्थामा हुँदाको हजुरबाको फोटो, बुवाको फोटो र हाम्रो फोटो हेर्दा के लाग्छ भने उमेर त त्यही हो, तर समय र अवस्थाले कत्ति धेरै फरक बनाउँदो रहेछ । कत्तिधेरै रुपान्तरण गर्दोरहेछ । प्रदीपहरुलाई हेर्दा उनीहरु अहिलेको समय सुहाउँदा छन्, हिजोको समय सुहाउँदो हामी थियौं’, उनी भन्छन्, ‘हिजोको समयको युवाको प्रतिनिधि भएर हामीले काम गरेका थियौं । स्रोतसाधनले जति भ्याउँथ्यो, गरेकै हो । दर्शकले माया गर्नुहुन्थ्यो । सबै कुरा समय रहेछ ।’

    कवितासँगको सत्संग

    राजबल्लभ सानैदेखि कविता लेख्थे ।

    विद्यालयमा हुने प्रतियोगिताहरुमा भाग लिइरहन्थे । जिल्लास्तरीय प्रतियोगितामा पनि भाग लिन्थे । अलि पछि रोबर्ट फ्रस्टदेखि सेक्सपियरसम्म, खलिल जिब्रानदेखि रुमीसम्म पढे । लेखनाथ पौड्यालदेखि भूपि शेरचनसम्म पढे, तर कविताप्रति राजबल्लभको आफ्नै खाले बुझाइ छ । उनको बुझाइले भन्छ, ‘कविता दृष्टिकोण हो । कहिलेकाहीँ दुई लाइनमात्रै पढेर हामी गहिरो सोचमा पुग्छौं । कविताले गहिराइ महसुस गराउनुपर्छ वा गहिराइ महसुस गर्ने वातावरण बनाइदिनुपर्छ ।’

    ‘कविताले मनलाई छुनुपर्छ’, राजबल्लभ थप बोल्छन्, ‘कविताको गहिराइ र प्रसंगले ल्याउने तरंग नै कविता हुन् जस्तो लाग्छ । जिन्दगी हात्ती हो भने हामी सिर्फ दृष्टिविहीन हौं । हामीले जिन्दगीलाई जति छोएका छौं, जति जिएका छौं, त्यहीअनुसार नै धारणा बनाउने हो । त्यो धारणाको काव्यिक अभिव्यक्ति नै कविता हो ।’

    दिमाग र शरीरलाई शीतलता प्रदान गर्ने सम्बन्धहरु

    राजबल्लभको कविता लेखनको प्रमुख स्रोतमध्ये एक स्रोत हो, नोस्टाल्जिया ।

    उनी अमेरिकाबाट जबजब काठमाडौं सम्झिन्छन्, तबतब यहाँको माहाेल सम्झेर नोस्टाल्जिक हुन्छन् । जबजब काठमाडौं सम्झिन्छन्, तबतब यहाँको माटो र हावाको सुवास सम्झेर नोस्टालजिक हुन्छन् । उनका लागि काठमाडौं घरको त्यो भर्‍याङ हो, जुन भर्‍याङमा बत्ती निभ्दा पनि अँध्यारोमा मज्जाले उकालो-ओरालो गर्न सकिन्छ ।

    उनी जबजब काठमाडौं सम्झिन्छन्, तबतब एक चिरपरिचित चेहरा उनको स्मृतिमा आइपुग्छ । त्यो चेहरा हो, आइसफल प्रोडक्सनका रामकृष्ण पोखरेलको । उनी राजबल्लभको चलचित्र पढ्दादेखिका साथी हुन् ।

    मान्छेले जहाँ गयो, त्यहाँ आफ्नो सर्कल बनाउँछ । जस्तो वातावरणमा पुग्यो, त्यस्तै वातावरणमा रमाउन थाल्छ । जस्तो खानेकुरा खान थाल्यो, त्यसकै स्वादमा अलमलिन थाल्छ, तर पृथ्वीको जुन कुनामा पुगे पनि उनी रामकृष्णलाई बिर्सन सक्दैनन् । यसको एउटा कारण हो, उनीहरुबीचको विश्वास ।

    ‘जिन्दगी र परिवारको बारेमा जुन साथीसँग निर्धक्क भएर आफू साँच्चिकै आफैं जस्तो हुन पाइन्छ, जुन साथीले आफूलाई जज गर्दैन, तिनै साथीसँग जहाँ पुगे पनि सम्बन्ध उस्तै हुने रैछ’, राजबल्लभ खुल्दै जान्छन्, ‘मैले धेरै साथी बनाइनँ । थोरै बनाएँ, तर जीवनभर काम लाग्ने साथी बनाएँ ।’

    पोखरामा छँदाका उनका साथीहरु गौतम उदास, सुधीर थापा, विनोद बानियाँहरुलाई अहिले पनि सम्झिरहन्छन् ।

    राजबल्लभ भन्छन्, ‘सम्बन्ध भनेको एउटा चिनारी हो । राम्रो सम्बन्धले दिमाग र शरीरलाई शीतलता प्रदान गर्छ । सकारात्मक ऊर्जा दिन्छ ।’

    छोरीका नाममा कविता संग्रह

    राजबल्लभले छोरीकै नाममा कविता संग्रह ल्याए, ‘औरा’ ।

    किन ?

    ‘हाम्रो जिन्दगी एउटा बिन्दुबाट सुरु हुन्छ । अनि जीवनको गोलाइमा सार्थकता पाउन अभिभावक हुनैपर्ने रहेछ । छोरी जन्मिएपछि मैले महसुस गरेको कुरा हो । संसारमा सबैभन्दा बढी माया त सन्तानलाई गरिने रहेछ’, राजबल्लभ सुनाउँछन्, ‘अनि मैले छोरीलाई उपहार दिनु थियो, ‘औरा’ त्यही उपहार हो । यद्यपि छोरी त बहानामात्रै हो, मलाई माया दिनुहुने पाठकहरुलाई शब्दहरुको गुच्छा बनाएर टक्राएको संग्रह हो यो ।’

    उनी थप बोल्छन्, ‘मैले भोगेको जीवनको दस्तावेज पनि हो यो किताब । म कस्तो सोच्दोरहेछु, त्यसको प्रमाण पनि हो ।’

    अनि भर्खरै पाँच वर्ष टेकेकी छोरीलाई राजबल्लभको सन्देश छ-

    ‘परिवार भनेको धेरै महत्वपूर्ण हुन्छ छोरी । राम्रा साथीहरुको पनि महत्व हुन्छ जिन्दगीमा । अनि जो साथीसँग हामी घुलमिल हुन्छौं, त्यो साथीले जिन्दगीमा प्रभाव पारेको हुन्छ । त्यसकारण जहिल्यै पनि असल साथीहरु र असल मान्छे आफ्नो वरिवरि राख्नू ।

    संसार प्राकृतिक हिसाबले धेरै सुन्दर छ, तर पनि जनावरहरुले संसारलाई डरलाग्दो बनाएको छैन, मानवले नै बनाएको छ । त्यसकारण ती खराब इनर्जी भएका मानवभन्दा पर रहनू । मुख्य कुरा भनेको असल हुनु, त्यो दयालुपन र करुणापन कहिल्यै पनि नगुमाउनू । त्यसलाई पैसा पर्दैन । दयालु हुनलाई, कसैसँग मीठो बोल्नलाई, कसैलाई राम्रो भन्नलाई आफूले धेरै खर्चिनु नै पर्दैन ।

    आफ्नो संघर्ष छँदैछ । अनि इटस् ओके टु बी फेल । कहिलेकाहीँ हामी असफल हुन्छौं । त्यो स्वाभाविक हो । प्राकृतिक हो । अनि जिन्दगीमा सबै चिज जित्नैपर्छ भन्ने पनि छैन । जिन्दगीमा सबै चिज हुनैपर्छ भन्ने पनि छैन । जिन्दगीमा सधैं फस्ट नै हुनुपर्छ भन्ने पनि छैन । अभ्यास हो जिन्दगी । जिन्दगीको ब्ल्यूप्रिन्ट लेखेको हुँदैन । जिन्दगीको स्क्रिप्ट फिल्मको जस्तो बनेको हुँदैन । सिक्दै जाने हो, गर्दै जाने हो । फेल पनि भइन्छ, तर आफ्नो फोकस कहिल्यै पनि नगुमाउनू । अनि म एकदमै माया गर्छु तिमीलाई ।’

  • ‘लाज शरणम्’मा पनि पाँडेकै भूमिकामा खेलेका अर्जुन भन्छन्- चार वर्षको मेहनतपछि यो चलचित्र बनेको हो

    ‘लाज शरणम्’मा पनि पाँडेकै भूमिकामा खेलेका अर्जुन भन्छन्- चार वर्षको मेहनतपछि यो चलचित्र बनेको हो

    काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो, ‘लाज शरणम्’। लामो समय सिरियलमै दर्शकलाई झुमाएपछि यतिबेला यो टिम चलचित्र निर्माण तर्फ लागेको छ जसको टिजर केही समय अघि सार्वजनिक भइसकेको छ। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ । राम्रै हाइप बटुलिरहेको सिरियल भएकाले र चलचित्रको टिजर पनि उत्साह जगाउने नै भएकाले, यो चलचित्रको यतिबेला बजारमा राम्रै चर्चा छ।

    चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) छन। धुर्मुस र विजय बरालको चरित्रले यो चलचित्र झनै रमाइलो भएको हुनसक्ने धेरैको अनुमान छ। चलचित्र यहीँ फागुन १४ गते बाट महाशिवरात्रिको अवसर पारी प्रदर्शनमा आउँदैछ। चलचित्रका कलाकार अर्जुन घिमिरे (पाँडे)का अनुसार चार वर्षको मेहनतपछि यो चलचित्र बनेको हो। चलचित्रको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनाउन निर्माण टिम कसिएको हो।

    ‘लाज शरणम्’ले कर्णालीका आम नागरिकको कथा भन्ने पाँडेको भनाइ छ। उनका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलवाड गर्ने उपल्लो वर्गको कथा ‘लाज शरणम्’मा देख्न पाइन्छ।

    पाँडेका अनुसार चलचित्र डार्क कमेडी फर्ममा बनेको छ। उनी भन्छन,‘डार्क ह्युमर कमेडी फर्ममा कसरी हसाउँदा–हसाउँदै गम्भीर कथा भन्न सकिन्छ भनेर हामीले यो चलचित्रमार्फत दर्शाउन खोजेका छौ। हामीले हाम्रो करियरको यो लामो समय टेलिचलचित्रमार्फत दर्शकलाई हसायौँ । अब चलचित्रमार्फत हसाउने प्रयास गर्दैछौँ ।’

    टेलिचलचित्रमा जस्तै चलचित्रमा पनि दर्शकको साथ रहनेमा आफूहरू ढुक्क रहेको उनी बताउँछन् । ‘सक्किगोनि’का अरु कलाकार फरक–फरक लुक्स र चरित्रमा देखिए पनि अर्जुन भने चलचित्र ‘लाज शरणम्’मा पनि पाँडेकै चरित्रमा देखिनेछन् । दर्शकले आफूलाई यही क्यारेक्टरमा मन पराइरहेकाले चलचित्रमा पनि यही पात्रमा राखिएको उनको भनाइ छ । उनका अनुसार चलचित्रमा उनी छोटो तर प्रभावकारी चरित्रमा छन।

    चलचित्रमा ‘अर्जुन घिमिरे (पाँडे) कलाकारसँगै कार्यकारी निर्माता पनि हुन् । कुमार कट्टेल (जिग्री) यसका लेखक तथा निर्देशक हुन् । पोस्टर र टिजर दुवै दर्शकले मन पराउँदा चलचित्रले पनि मन जित्नेमा निर्माणपक्ष ढुक्क छ ।

    ‘लाज शरणम्’मा सिताराम कट्टेल (धुर्मुस) र विजय बरालसँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अपर्ण थापा, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बू, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकार छन् ।

    जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् ।

  • जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि हुने (भिडिओ)

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि हुने (भिडिओ)

    काठमाडौं । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि जनकपुरमा आयोजना हुने भएको छ ।

    आयोजक संवाद फाउण्डेशनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरमा जनकपुर अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।

    नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रियकरण, बजार प्रवद्र्धन तथा सम्भावना र अवसरको खोजीसंगै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।

    पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मिथिलाको संस्कृति विश्वमाझ चिनाउनका लागि जनकपुर अन्तराष्ट्रिय चलचित्र महोत्सव महत्वपूर्ण हुने विश्वस व्यक्त गरे ।

    उनले महोत्सवमा मिथिलाका साथै नेपालमा निर्माण भएका सवै भाषभाषीका चलचित्रलाई पनि समावेश गर्न सुझाव दिए ।

    महोत्सवमा १ सय १४ भन्दा बढि देशका चलचित्रहरुले आवदेन दिएको र नेपाली पानोराममा नेपालबाट आवदेन आउने क्रम जारी रहेको संवाद फाउण्डेशनले जनाएको छ ।

  • अभिजितले गरे उदितनारायणको बचाउ, युवतीहरु नै क्रेजी भएको तर्क

    अभिजितले गरे उदितनारायणको बचाउ, युवतीहरु नै क्रेजी भएको तर्क

    काठमाडौं । किस स्क्यान्डलमा फँसेका गायक उदितनारायण झालाई समकालीन गायक अभिजित भट्टाचार्यले साथ दिएका छन् । उनले सो घटनामा उदितका फ्यानहरु नै जिम्मेवार रहेको औंल्याए ।

    उदितप्रति महिला फ्यानहरु क्रेजी हुने गरेको र पुरुष गायकहरुले यस्तो क्षण बारम्बार सामना गर्नुपर्ने अभिजितको तर्क छ ।

    ६६ वर्षीय गायकले न्यूज १८ लाई अन्तर्वार्ता दिँदै भने, ‘उदित एक सुपरस्टार गायक हुन् । हामी गायकहरुको जीवनमा यस्तो भई नै राख्छ । यदि हामीलाई कडा सुरक्षा दिइएन भने फ्यानहरुले लुगा पनि च्यातिदिन्छन् ।’

    अभिजितले उदितलाई रोमान्टिक गायकको संज्ञा पनि दिए । मानिसहरुले उदितको सफलतालाई ‘इन्जोइ’ गर्नुपर्ने उनको भनाइ छ ।

    ‘ऊ उदितनारायण हो । त्यहाँ केटीहरु उसको पछि लागेका थिए । उसले कसैलाई पनि आफूतिर तानेको होइन । उनीहरुले नै किस चाहेका हुन् । मलाई थाहा छ कि जति बेला पनि उदितले प्रस्तुति दिँदा उसकी पत्नीले स्टेजमा साथ दिइरहेकी हुन्छिन् । उसलाई आफ्नो सफलतामा रम्न दिनुस् । ऊ एउटा रोमान्टिक गायक हो’, अभिजितले थपे ।

    उनले आफ्नै एउटा घटना पनि शेयर गरे । साउथ अफ्रिकामा आयोजित एक कार्यक्रममा प्रस्तुति दिने क्रममा केही महिलाहरुले आफूलाई घेरेर किस खाएको उनले बताए ।

    अभिजितले थपे, ‘मसँग पनि यस्तो भएको थियो । जब म इन्डस्ट्रीमा नयाँ नयाँ थिएँ, साउथ अफ्रिकामा कन्सर्टका क्रममा तीनचार जना केटीहरुले घेरेर गालामा एकदम खतरनाक किस खाएका थिए । म स्टेजमा उक्लिनसमेत सकेको थिइनँ । त्यसबेला स्टेजमा लता मंगेसकर पनि हुनुहुन्थ्यो । मेरो गालामा लिपिस्टिकका डामहरु थिए ।’

    उदितनारायणले स्टेजमा गीत गाउने क्रममा फ्यान युवतीहरुलाई किस खाएको भिडिओले अहिले सामाजिक सञ्जाल तातिरहेको छ ।

  • यी युवकसित डेट गर्दैछिन् ‘सकम्बरी’, टिकटकमा प्रेम छताछुल्ल

    यी युवकसित डेट गर्दैछिन् ‘सकम्बरी’, टिकटकमा प्रेम छताछुल्ल

    काठमाडौं । मोडल कुसुम शर्मा उर्फ सकम्बरी केही दिनदेखि लगातार एक युवकसँगका रोमान्टिक भिडिओहरु टिकटकमा पोस्ट गरिरहेकी छन् । यी पोस्टहरु कुनै म्युजिक भिडिओसँग सम्बन्धित होइनन् ।

    कुसुमसँग अन्तरंग सम्बन्धमा देखिएका यी युवक हुन् विश्व अधिकारी । कुसुम र विश्वले डेट गरिरहेको टिकटक भिडिओहरुबाटै भेउ पाइन्छ ।

    विश्वले पनि आफ्नो टिकटक अकाउन्टमा कुसुमसँगका भिडिओहरु दनादन हालिरहेका छन् । ती भिडिओका क्याप्सनमा आपसी प्रेम सम्बन्धको खुला स्वीकारोक्ति गरिएको हुन्छ ।

    गत असोज २२ गते कुसुमको जन्मदिनमा इन्स्टाग्राममा विश्वले उनीसँगको तस्बिरसहित ‘ह्याप्पी बर्थ डे लभ’ लेखेका थिए । सोही पोस्टले उनीहरु अफेयरमा रहेको जनाउ मिलेको थियो । त्यसपश्चात टिकटकमा उनीहरु खुल्न थालेका हुन् ।

    कुसुमसँगको एउटा टिकटक भिडिओमा विश्वले लेखेका छन्, ‘टाढा रहेको प्रत्येक पल एक जुनीजस्तो लाग्छ । तिमीलाई फेरि भेट्ने प्रत्येक सेकेन्डहरु गनिरहेको छु ।’

    उक्त भिडिओमा कुसुमले जवाफ फर्काउँदै लेखेकी छन्, ‘आइ लभ यू गुडिया ।’ कुसुमका प्रेमी मोडलिङ वा चलचित्र क्षेत्रका होइनन् । कुसुमले आफ्नो प्रेमीका विषयमा सार्वजनिकरुपमा केही पनि बताएकी छैनन् । निकटस्थहरुका अनुसार उनीहरु नजिकिएको केही महिना भएको छ ।

    सुस्ताइरहेको करिअर

    प्रकाश सपुतको गीत ‘फुलमाया’ बाट उदाएकी मोडल हुन् कुसुम । उनको पहिलो म्युजिक भिडिओ नै ब्लकबस्टर भएको थियो । अहिलेसम्म यो म्युजिक भिडिओले ६ करोड ६० लाखभन्दा बढी भ्यूज पाइसकेको छ ।

    ‘सकम्बरी’ को भूमिकामा जबरजस्त छाप छोडेपछि उनी निकै डिमान्डेड बनिन् । ब्याक टु ब्याक भिडिओहरु गरिन् । यद्यपि, सकम्बरीको सफलता दोहोरिन सकेन । आजका दिनसम्म आइपुग्दा कुसुमको चर्चा सेलाएको छ । पहिलोजस्तो लाइमलाइटमा छैनन् । चलचित्रमा डेब्यू पनि गरिन्, तर सफल भइनन् । उनले अभिनय गरेको पहिलो चलचित्र फ्लप भएको थियो ।

    कुसुमको पारिवारिक पृष्ठभूमि पनि केही फरक छ । उनी बच्चै हुँदा बुबा र आमाको डिभोर्स भएको थियो । आमाले अर्को विवाह गरिन् र छोरीलाई आफैंसँग राखिन् । दोस्रो बुबाले कुसुमलाई आफ्नै छोरीसरह माया दिएर हुर्काएका थिए ।

    कुसुम पढाइले नर्स हुन् । कोरोनाकालमा आमा बिरामी हुँदा राम्ररी स्याहार्न नसकेपछि उनले नर्सिङ अध्ययन गरेकी थिइन् यद्यपि, सानैदेखि हिरोइन् बन्ने सपना थियो । त्यही सपना पछ्याउँदै काठमाडौं आइन् । प्रकाश सपुतका भाइ सुनील उनका साथी थिए । सुनीलमार्फत नै उनी प्रकाश सपुतसम्म पुगिन् । सपुतले उनलाई आफ्नो गीतबाट ब्रेक दिए ।

    कुसुम र सुनीलबीच अफेयरको चर्चासमेत चल्ने गरेको थियो । तर, दुवैले यसलाई नकार्दै आएका थिए । अहिले उनीहरुबीच दूरी बढेको छ ।