Category: कलाप्रेस

  • ‘मायाबी’ को ट्रेलर रिलिज गर्दै दिवाकरले सुनाए पीडादायी अनुभव, थामिएनन् दीपिकाका आँसु

    ‘मायाबी’ को ट्रेलर रिलिज गर्दै दिवाकरले सुनाए पीडादायी अनुभव, थामिएनन् दीपिकाका आँसु

    काठमाडाैं । रोमान्टिक लभस्टोरीमा आधारित चलचित्र ‘मायाबी’ को ट्रेलर रिलिज कार्यक्रममा नायिका दीपिका प्रसाईं भावविह्वल बनेकी छन् । श्रीमान निर्देशक दिवाकार भट्टराईले सुटिङको पीडादायी अनुभवहरु शेयर गर्दा उनले आँसु थाम्न सकिनन् ।

    दिवाकर र दीपिका १० महिनाको छोरालाई साथ लिएर आज मायाबीको ट्रेलर रिलिज कार्यक्रममा पुगेका थिए । ट्रेलर रिलिजपछिको प्रेसमिटमा दिवकारले भावुक अभिव्यक्तिहरु दिए ।

    एउटा हातमा बच्चा च्यापेर उनले चलचित्र निर्माणका लागि गरेको संघर्ष सुनाइरहँदा सबैको अनुहारमा गाम्भीर्यता छाएको थियो । दीपिकाले श्रीमानबाट बच्चा लिन खोज्दा बच्चा आमासित जान नमानेपछि भने केहीबेर हाँसो छायो ।

    दिवाकर र दीपिकाले २०७६ वैशाख २४ गते विवाह गरेका थिए । विवाहको चार वर्षपछि गत चैतमा उनीहरुलाई पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको हो । दीपिकाले गर्भवती अवस्थामै मुस्ताङसम्म पुगेर यो चलचित्रको सुटिङ गरेकी थिइन् ।

    दिवाकरका अनुसार सुटिङका लागि पोखरा गएको भोलिपल्ट उनीहरुले आफूहरु बुवाआमा बन्न लागेको थाहा पाए । त्यसबेला डाक्टरहरुले दीपिकाका लागि आगामी तीन महिना संवेदनशील हुने बताएका थिए । तर, सबै मुस्ताङ जान सबै तयारी भइसकेकाले काठमाडौं फर्किन सम्भव भएन ।

    आफ्नो प्यासनका लागि श्रीमतीको स्वास्थ्य र जीवनमाथि नै जोखिम मोलेको दिवाकरले पत्रकार सम्मेलनमा बताए ।

    उनले भने, ‘आफ्नो हसबेन्डको इच्छा र प्यासेनका लागि उनले आफ्नो करिअरमात्र होइन, जीवन नै दाउमा लगाइन् ।’

    श्रीमानले यसो भनिरहँदा दीपिका भक्कानिएकी थिइन् । उनल सुँक्क–सुँक्क गरिरहँदा छेउमा उभिएका पल शाहले सान्त्वना दिन खोजे । तर निरन्तर रोइरहेपछि उनले दिवाकरको आडमा रहेका कलाकार समिम खानलाई आफूतिर बोलाएर दिपिकालाई दिवाकरको आडमा पठाए । दिपिकाले फेरि पनि बच्चा लिन खोजिन्, तर बच्चाले बाबु छोडेनन् ।

    कार्यक्रममा दिवाकरले पत्नीको निकै प्रशंसा गरे । उनले भने, ‘धेरैले मलाई यतिका वर्ष चलचित्रमा लागेर के पाइस भनेर सोध्छन् । मैले पाएको सबैभन्दा ठूलो उपहार नै दीपिका हुन् । योभन्दा ठूलो उपहार के हुन्छ ?’

    दिवाकारले मायाबी सुटिङमा भोगेको अनुभव यस्तो छः

    म ‘गिल्टी’ फिल गर्छु हरेक टाइम । पोखरा गएको भोलिपल्ट थाहा भयो दीपिकाको पेटमा बच्चा छ भन्ने । डाक्टरले मलाई भनेका थिए– ३ महिना टफ टाइम हुन्छ भनेर । मैले बाहिर आएर दीपिकालाई भनेँ– या त हामी जोमसोम सुटिङ गर्न जानुपर्छ या त मैले फेवातालमा हाम्फाल्नुपर्छ । म कति पागल भएको रहेछु फिल्मका लागि ।

    यो यो फिल्म बनाउँदाको पीडा नेक्स्ट लेभलको छ । तर दीपिकाले मलाई सँधै सपोर्ट गरिन् । फिल्मप्रति मेरो पागलपन थियो । उनलाई त्यत्रो सोख थिएन । तर मेरो प्यासनका लागि उनले सबै त्याग गरिन् । म बाटोभरि भगवानलाई भगवानलाई पुकारिरहन्थेँ– एट लिस्ट मलाई जोमसोमसम्म पुर्याइदेउ भनेर । ३ महिनाको बच्चा पेटमा लिएर उनी घोडा चढेकी थिइन् ।

    आज मेरो हातमा बच्चा छ, तर सायद मसित केही नहुन सक्थ्यो । ममा पागलपन यति धेरै थियो कि परिवार र चलचित्रमा मैले चलचित्र रोजेँ । मैले थोरै हरेश खाएको भए पनि यो सिनेमा बन्दैन थ्यो ।

    मलाई अगाडि पछाडिबाट सबैले सपोर्ट गरेका छन् । फिल्ममा यो कम्प्रोमाइज पक्कै देख्नुहुन्न । फिल्म स्ट्रङ बनाएको छु । धेरै ठाउँमा दर्शक हाँस्नु हुन्छ, धेरै ठाउँमा रुनुहुन्छ ।

    सुटिङ गरेको हरेक रात मलाई आजको रात त कट्यो भोलि के हुन्छ भन्ने लाग्थ्यो । उनको शरीर फुलिरहेको थियो । करिश्मा (श्रेष्ठ), पलहरुले हरेक दिन मेरै रुममा आएर उनलाई मसाज गरिदिन्थे । हामीलाई चाहीँ बच्चा हुर्किएर पेट ठूलो देखिने चिन्ता थियो । खोइ कसरी सुटिङ गरियो, अहिले सम्झिँदा अत्याश लाग्छ ।

  • चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक, एक्सन अवतारमा विपिन कार्की

    चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक, एक्सन अवतारमा विपिन कार्की

    काठमाडौं । अभिनेता विपिन कार्की स्टारर चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

    पोस्टरमा विपिन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार उनी बदलाको भावमा छन् । गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले पोस्टरलाई आकर्षक देखाएको छ।

    प्राय सामाजिक चरित्रमा देखिँदै आएका कार्की यो चलचित्रमा भने एक्सन रोलमा छन्। यस अघि उनी ७ वर्ष अगाडी चलचित्र ‘नाका’ मा एक्सन भूमिकामा देखिएका थिए ।

    पोस्टरमा ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले स्लोगन राखिएको छ। ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशन गरिरहेका छन् । चलचित्र यहीँ चैत २९ गते बाट रिलिज हुनेछ । चलचित्रमा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देवलगायत कलाकारको अभिनय रहेको छ ।

    मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भइरहेको यो चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।

  • ‘रंगी’को प्रिमियरमा हिरोइनभन्दा हट देखिइन् करिश्मा ! चलचित्रले पायो व्यापक प्रशंसा

    ‘रंगी’को प्रिमियरमा हिरोइनभन्दा हट देखिइन् करिश्मा ! चलचित्रले पायो व्यापक प्रशंसा

    काठमाडौं । नायक सलोन बस्नेतले निर्माण र अभिनय गरेको चलचित्र ‘रंगी’ को हिजो प्रिमियर शो आयोजना गरिएको छ । प्रिमियर शोमा उपस्थित पाहुनाहरूले चलचित्रको हृदयदेखि प्रशंसा गरे ।

    ‘बाबु र छोरी’ को मार्मिक कथामा उनिएको ‘रंगी’ गीतहरू पहिल्यै हिट छन् । ट्रेलरले पनि चलचित्रप्रति निकै अपेक्षा जगाएको थियो । र, अपेक्षा गरिएजस्तै चलचित्र मार्मिक र हृदयस्पर्शी रहेको प्रतिक्रिया प्रिमियर हेर्नेहरूले दिए । चलचित्र हेर्दा आँशु थाम्न गाह्रो भएको उनीहरूको अनुभूति थियो । बाल कलाकार आयूषी ढकालको अभिनयको सबैले प्रशंसा गरे ।

    प्रिमियरमा धेरैको नजर चाहिँ करिश्मा केसीमाथि पर्‍यो । उनी सलोनकी पत्नी र चलचित्रकी निर्मात्री हुन् । करिश्मा निकै सजिएर गएकी थिइन् । कतिले नायिका नम्रता श्रेष्ठभन्दा निर्मात्री करिश्मा हट देखिएको टिप्पणी समेत गरे । त्यसो त नम्रता पनि कम सुन्दर देखिएकी थिइनन् ।

    अरू चलचित्रको प्रिमियरमा नायक र नायिकाहरू जोडी बाँधेर हात समाउँदै हिँडेको देखिन्थ्यो । तर, ‘रंगी’ को प्रिमियरमा फरक दृश्य देखियो नायक सलोन बस्नेतले बाल कलाकार आयूषीलाई लिएर हिँडिरहेका थिए ।

    नायिका नम्रता भने प्राय निर्मात्री करिश्मासँग देखिइन् । उनीहरूको केमेस्ट्री खुबै मिलेको थियो । गेटअप पनि मिल्दोजुल्दो थियो ।

    चलचित्रको प्रियमरमा केही कलाकारहरू पनि देखिए । अभिनेत्री पूजा चन्द, दिपाश्री निरौलादेखि नायक सलिनमान बानिया लगायत सलोनको निम्तो मान्न पुगेका थिए । सलोनको परिवारका सदस्यहरूमध्ये अष्ट्रेलियामा रहेका बुवा र बहिनी प्रिमियरमा अनुपस्थित रहे । सलोनकी आमा, काका, फुपूहरू हलमा देखिए ।

  • एलिनाले ठग आरोप लगाएका बराइलीले राजबल्लभलाई भिडिओ कल गरेपछि…

    एलिनाले ठग आरोप लगाएका बराइलीले राजबल्लभलाई भिडिओ कल गरेपछि…

    काठमाडौं । गायिका एलिना चौहानको नाममा ठगी गरेको आरोप लागेका दीपक बराइली नामका व्यक्तिले अभिनेता राजबल्लभ कोइरालालाई पनि हैरानीमा पारेका छन् । राजवल्लभ आफैँले सार्वजनिक गरेको घटना विवरण रोचक छ ।

    केही दिनअगाडि बराइलीले ‘एक्टर’ अभिनेतालाई तारन्तर म्यासेन्जरमा फोन गरे । केही पर्‍यो कि भनेर अभिनेताले फोन रिसिभ गरे । बराइलीले ‘चलचित्रको शुभकामना दिनलाई हो भन्दै एक छिन भिडिओमा आउन आग्रह गरे । अभिनेताले त्यो पनि मानेर भिडिओ बटन छ्यास्स अन गरे । बराइलीले दारी मुसार्दै हाइ भने । अभिनेता पनि मुस्काइदिए ।

    बराइलीको साइडमा एक युवती पनि थिइन् । उनले ती युवतीलाई पनि हेल्लो भन्न लगाए । राजवल्लभले पनि उनको मन राख्नलाई ‘हेल्लो’ भनिदिए । त्यसपछि लामो कुरा नगरीकन आफू व्यस्त रहेको बताएर फोन काटेको राजवल्लभ बताउँछन् ।

    त्यसको एक छिनमा बराइलीले आफ्नो टिकटकमा राजवल्लभसँगको कुराकानीको भिडिओ राख्न भ्याइसकेका थिए ।

    ‘आयो तिम्रो याद आयो…’ बोलको गीत पृष्ठभूमिमा राखेर बनाएको भिडिओमा उनले लेखेका छन्, ‘धेरै समयपछिको कुराकानी मेरो मित्र एक्टर राजबल्लभ कोइरालासँग । न्यू मुभी एक्टरका लागि धेरै धेरै शुभकामना । कमब्याक राम्रो होस ।’

    यही भिडिओलाई उनले आफ्नो फेसबुक स्टोरीमा पनि राजवल्लभलाई ट्याग गरेर पोस्ट गरे । सबैलाई लाग्यो, उनीहरू अन्तरंग मित्र रहेछन् । राजबल्लभले खासै वास्ता गरेनन् ।

    तर, जब एलिना चौहानले बराइलीको कर्तुत बाहिर ल्याउँदै फोटो समेत सार्वजनिक गरिन्, राजबल्लभ झस्किए । धेरैले उनलाई सो भिडिओमा ट्याग र मेन्सन गर्न थाले । त्यसपछि उनी मुख खोल्न बाध्य भएका छन् ।

    राजवल्लभले आज स्टाटस लेख्दै भनेका छन्, ‘मेरो अनुमतिबिना पुरा कल रेकर्ड गरेर त्यसैको स्क्रिन सट लिएर फोटो राखेको रहेछ । के भन्ने । त्यति बेला, सामान्य लाग्यो । यसरी धेरैले माया र सद्भाव देखाउन फोटोहरू वर्षौँदेखि पोस्ट गर्नु भएको छ । तर केही दिन यता, केही पोस्टमा फलानो, (विवादित मान्छे) तपाईँको साथी हो भनेर मलाई ट्याग गरे पछि यो स्टयाट्स लेख्न बाध्य भए । होइन ।। मेरो साथी होइन, अनि भेटेको सम्झना पनि छैन ।

    फोटोको भरमा, फेसबुकमा शुभकामना सन्देशको भरमा, कसैले सम्बन्ध मापन गरी हाल्नु हुँदैन । एउटै क्षेत्रका केही व्यक्तिहरू विभिन्न प्रसङ्ग अनुसार फेसबुकमा प्रविधिले जोडिएका छन् भन्दैमा वास्तवमै साथी हुन् भन्न सकिन्न । उसो त अहिलेका राष्ट्रपतिसँग पनि मेरो फोटो छ ।’

  • ‘एक्टर’का निर्माता भन्छन्- चलचित्र सोचे जस्तो चलेन, तर कुनै हालतमा लगानी उठाउँछु

    ‘एक्टर’का निर्माता भन्छन्- चलचित्र सोचे जस्तो चलेन, तर कुनै हालतमा लगानी उठाउँछु

    काठमाडौं । अहिले हलहरूमा चलचित्र ‘एक्टरः टेक वन’ दोस्रो हप्तामा चलिरहेको छ । प्रदर्शन अगाडि चलचित्रले कानूनी अड्चन झेल्नुपर्‍यो । हलमा फ्लप भइसकेको चलचित्र ‘एक्टर’ का निर्माता सम्राट थापाले नाम कपी गरिएको भन्दै काठमाडौं जिल्ला अदालतमा उजुरी दिए ।

    थापाको उजुरीउपर अदालतले फैसला गर्दै माघ २२ गतेसम्मलाई चलचित्रको प्रदर्शन रोक्न अल्पकालीन आदेश दियो । यसपछि माघ १६ गते शहीद दिवसबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रदर्शन अनिश्चित बन्यो ।

    प्रदीप खड्का स्टारर यस चलचित्रले टिजर, ट्रेलरबाट राम्रो हाइप बटुले पनि निर्धारित मितिमा प्रदर्शन हुन नपाएपछि बुकिङहरू पनि क्यान्सिल भए । तीन करोड लगानी जोखिममा पर्ने देखियो ।

    दुई दिनपछि थापा र ‘एक्टरः टेक वन’को टीमबीच सहमति भयो । थापाले मुद्दा फिर्ता लिने भए । मुद्दा फिर्ता लिने सम्झौता भए पनि हलहरूले बिहानैदेखि चलचित्र चलाउन सकेनन् । प्रक्रियागत रुपले मुद्दा फिर्ता लिएपछि मात्रै चलचित्र चलाउन सकिन्थ्यो । त्यसैले दिउँसो १ बजेबाट मात्रै हलहरूले शो खुलाए ।

    यी तमाम झमेलाका कारण आफूले करोडौं क्षति व्यहोर्नुपरेको निर्माता थमनकुमार भण्डारीको दाबी छ । आफूले तीन दिनमा दुई करोड ग्रस कलेक्सन बराबरको आर्थिक क्षति व्यहोरेको आँकलन उनले सुनाए ।

    अहिले पनि चलचित्र हलमा लागिरहे पनि अपेक्षित व्यापार गरिरहेको छैन । अहिलेसम्म ६० हजारमाथि टिकट बिक्री भएको चलचित्रको अनुमानित ग्रस कलेक्सन दुई करोड हाराहारीमात्रै हो । लाइफटाइम कलेक्सन तीन करोड हाराहारी हुनसक्ने भण्डारीको विश्वास छ ।

    उनले सात वर्षअघि नै ‘पण्डित बाजेको लौरी’ चलचित्र निर्माण गरिसकेका थिए । यो चलचित्रबाट पनि भण्डारीले आर्थिक क्षति व्यहोरेका थिए । अहिले तीनकुनेबाट शंखमूल जाने बाटोमा ‘मकै घर’ नामक रेस्टुरेन्ट चलाइरहेका उनी रोजगारीको सिलसिलामा एक दशक विदेश बसेर फर्किएका हुन् । उनै थमनकुमार भण्डारीसँग ‘एक्टरः टेक वन’को विषयमा विस्तृतमा कुराकानी गरेका छौं ।

    इमानदार भएर भन्दा ‘एक्टरः टेक वन’को बक्स अफिस रिपोर्टबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

    म सन्तुष्ट छैन । जसरी कलेक्सन हुन्छ भनेर सोचेको थिएँ, त्यसरी भएन, तर आशा नै मार्ने गरी निराश हुने खालको कलेक्सन पनि छैन ।

    चलचित्रले कति व्यापार गर्ला भन्ने अपेक्षा थियो ?

    नेपालकै बक्स अफिसबाट लगानी रिकभर हुन्छ भन्ने सोचेको थिएँ । अनि थप पैसा पनि आउला भन्ने सोचेको थिएँ । डिजिटल र ओभरसिजबाट आएको पैसा पूरा मुनाफा हुन्छ भन्ने सोच थियो । त्यो सोच चाहिँ पूरा भएन ।

    कति लगानीमा बनाइएको चलचित्र हो ‘एक्टरः टेक वन’ ?

    तीन करोडभन्दा माथि गएको छैन । घरेलु बक्स अफिसबाटै लगानी उठाउन त सात करोड चानचुन ग्रस गर्नुपर्छ ।

    प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी जस्ता कलाकार भएकाले चलचित्रले त राम्रै हाइप लिएको थियो नि हैन ?

    हामीलाई समस्या भएको १६, १७ र १८ गते हो । कानूनी अड्चन झेल्नुपरेपछि कतिपय ठाउँका दर्शकले त ‘तिम्रो चलचित्र लाग्यो र’ भनेर पनि सोधे । हाम्रो व्यापारमा असर गरेको मेकिङले होइन, चलचित्रको कथाले पनि होइन । हाम्रो चलचित्रले राम्रो व्यापार नगर्नुको पछाडि त्यो तीन दिन नै हो । चलचित्रको प्रदर्शन रोकियो भनेर समाचार यसरी भाइरल भए कि कुरै नगरौं, तर चलचित्र प्रदर्शन भए भन्ने कुरा धेरै दर्शकसम्मै पुग्न सकेन ।

    तपाईंको आँकलनमा तीन दिनको क्षति कति जति होला ?

    दुई करोड क्षति भयो । दुई दिनपछि पनि दिउँसो १ बजेबाट मात्रै एकदमै अलमलका बीच चलचित्र हलमा लाग्यो ।

    केको आधारमा दुई करोड ?

    बुकिङको आधारमा हो । १६ गते बिहानको बुकिङ एकदमै राम्रो थियो । करिब करिब सबै शो हाउसफुल थिए । त्यसैका आधारमा दुई करोड क्षतिको आँँकलन हो ।

    यदि मेरो नाममा कपीराइटमा समस्या थियो भने विकास बोर्डले मलाई रोक्नुपर्ने हो, तर रोकेन । हलमा लाग्नेवेला विवाद सृजना गरियो । सेन्सर पासको सर्टिफिकेट दिनुअघि सेन्सरमा बस्ने विज्ञहरूले केही भन्नुभएन । उहाँहरूले अघिल्लो ‘एक्टर’लाई पनि सेन्सर पास गर्नुभएको हो ।

    स्टार भनिएका कलाकारलाई चलचित्रमा लिँदाका फाइदा र बेफाइदा चाहिँ के रहेछ ?

    स्टार त हामीले मानिदिने हो । मेरो चलचित्रमा सानो पात्र पनि स्टार हो । चलचित्रलाई नेतृत्व गरेर लाने पात्र पनि स्टार हो ।

    प्रदीप खड्काको स्टारडमले बक्स अफिसमा काम गर्‍यो कि गरेन ?

    उसको स्टारडमलाई सुरुको तीन दिन रोकियो । खुट्टा तानियो । यहाँ राजनीति भयो । मैले निर्वाध रुपमा चलचित्र चलाउन पाइनँ भने मेरो स्टारले कसरी स्टारडमको औरा देखाउन पाउँछ ! उसले आफ्नो औरा देखाउने मौकै पाएन ।

    एक जनाले मुद्दा हाल्नुभयो । त्यसबाहेक थप के राजनीति भयो ?

    चलचित्र बनाउँदा एउटा प्रक्रिया हुन्छ । हामी प्रक्रियाबाटै गएका हुन्छौं । पहिले योजना बनाइन्छ । अनि दर्ता गरिन्छ । त्यसपछि सुटमा गइन्छ । सम्पादन गरिन्छ । पोस्टको काम गरिन्छ । सेन्सर गरिन्छ । अनि हलमा लगिन्छ ।

    यदि मेरो नाममा कपीराइटमा समस्या थियो भने विकास बोर्डले मलाई रोक्नुपर्ने हो, तर रोकेन । हलमा लाग्नेवेला विवाद सृजना गरियो । सेन्सर पासको सर्टिफिकेट दिनुअघि सेन्सरमा बस्ने विज्ञहरूले केही भन्नुभएन । उहाँहरूले अघिल्लो ‘एक्टर’लाई पनि सेन्सर पास गर्नुभएको हो । अनि हाम्रो चलचित्र हेरेपछि सेन्सर पास गर्न मिल्दैन, करेक्सन गरेर आउनुस् भनिदिएको भए पनि त हुन्थ्यो ।

    अब चलचित्र १६ गतेबाट लाग्दैछ । १४ गते प्रिमियर हुँदैछ । विकास बोर्डको वकिलले भन्नुभयो, ‘तपार्ईं चलचित्र रिलिज गर्नतिर लाग्नुस् । यो समस्या हाम्रो हो ।’ अनि हामीले विश्वास गर्ने त विकास बोर्डलाई हो । नत्र त म पनि वकिल राख्थेँ होला । प्रतिवाद गर्थें होला । मलाई त्यो मौका नै दिइएन । ल ठीकै छ, चलचित्रको एउटा शब्द उहाँको नामसँग मिल्यो होला, तर प्रदर्शन नै रोक्ने काम पनि अदालतले गर्नुहुन्नथ्यो ।

    पछि चलचित्र चलाउने सहमति हुँदा पैसामा पुगेर सम्झौता भएको भन्ने गसिप पनि आए । तपाईंहरूले सहमति गर्दा पैसाको लेनदेन भएको हो ?

    त्यो भएको हो । त्यो लेभलको बार्गेनिङ प्वाइन्ट भएको हो । उहाँले मेरो चलचित्र डुब्यो भनेर छाडिदिनु भएको चाहिँ होइन । अन्तिम समयमा आएर ब्ल्याकमेलिङ भएको हो । हामीलाई त जसरी पनि चलचित्र हलमा लगाउनै थियो । हामी त्यसवेला विक्षिप्तै थियौं । तनाव थियो । करोडौं रुपैयाँ लगाएर चलचित्र बनाएको हो नि ! चलचित्रलाई हलमा लगाउन जुन हदसम्म पुगेर भए पनि सम्झौता गर्न तयार थियौं ।

    यो चलचित्रमा तीन करोड लगानी गर्न के कारणले तयार हुनुभयो ?

    मेरो चलचित्र राम्रो थियो, राम्रो छ । चलचित्र राम्रो भएरै मैले लगानी गरेको हुँ । मेरो चलचित्र सबै दर्शकको मनमा बस्नुपर्छ भन्ने छैन, तर धेरै दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । अहिलेसम्म ६० हजारमाथि दर्शकले हेरिसक्नुभएको छ । अधिकांश दर्शक युवा हुनुहुन्छ । सबैले फरक लाग्यो, राम्रो लाग्यो भन्नुभएको छ । सृजना भनेको व्यापारमात्रै होइन, सन्तुष्टि पनि हो ।

    अन्तिम समयमा आएर ब्ल्याकमेलिङ भएको हो । हामीलाई त जसरी पनि चलचित्र हलमा लगाउनै थियो । हामी त्यसवेला विक्षिप्तै थियौं । तनाव थियो । करोडौं रुपैयाँ लगाएर चलचित्र बनाएको हो नि !

    लगानीकै कोणबाट त मुनाफा पनि खोजिन्छ नि !

    चलचित्र कला पनि हो, व्यापार पनि हो । मेरो फिल्मलाई डिजिटल राइटस्, ओभरसिज राइटस्बाट राम्रो रकम आएको छ । १० जना दर्शकमध्ये ८ जनाले राम्रो भनी दिनुभएको छ । निर्माताको रुपमा सन्तुष्ट छु । ‘पण्डित बाजेको लौरी’ले मलाई यहाँसम्म ल्याएको हो । नत्र त म नेपालमै हुने थिएन ।

    बक्स अफिसमा असफल भएको ‘पण्डित बाजेको लौरी’ले तपाईंलाई के दियो ?

    मलाई समाज दियो । काठमाडौंमा स्थापित गरिदियो । त्यो चलचित्र थिएन भने म विदेशमा हुन्थेँ होला । तर, त्यो चलचित्रमा पनि म घाटामा गएको थिएँ ।

    अघिल्लै चलचित्रमा घाटा खाइसकेपछि पनि फेरि किन बनाउनुभयो ?

    धेरै पैसा भएर मैले चलचित्र बनाएको होइन । प्यासनले गर्दा बनाएको हो ।

    अनि चलचित्रमा डुबिरहेको पैसा कहिले रिकभर गर्ने त ?

    रिकभर भइरहेकै छ । म त चिया बेच्ने मान्छे हो । मकैको रोटा बेच्ने मान्छे हो । यसले मेरो दैनिकी चलाएको छ । यो ठाउँलाई साथीभाइसित गफ गर्ने जंक्सन बनाएको छ । जंक्सनसँगै टीम बनाएको छ । टीम भनेको ऊर्जा हो । सृजनशीलता पनि हो ।

    ‘एक्टर: टेक वन’को तीन करोडको आर्थिक समीकरण चाहिँ कसरी मिल्छ त अब ?

    अहिले हामी दोस्रो हप्तामा छौं । जापानको पाँचवटा शो सकाएर प्रदीप नेपाल फर्किएको छ । अब अमेरिका र अस्ट्रेलिया जाँदैछ । प्रदीप स्टारमात्रै होइन, स्टारभन्दा माथि हो । उसले चलचित्रलाई कसरी लिन्छ, कसरी ह्यान्डिल गर्छ, मलाई थाहा छ । उसले लगानीलाई रिकभर गर्न कसरी सहयोग गर्छ, मैले देखेको छु । ऊ अहिले पनि दर्शकलाई चलचित्र हेर्न आह्वान गरिरहेको छ । चलचित्र हलमा लगाएर, दुई दिनको बिजनेसपछि अन्त कतै जाने कलाकार स्टार हुन सक्दैन । मेरो स्टार अन्तिम समयसम्म मसँगै हुनुपर्छ ।

    लगानीको रिकभरी चाहिँ कसरी गर्ने त ?

    यसका धेरै वटा पाटा छन् । मैले कुनै पनि हालतमा लगानी रिकभर गर्छु । त्यो रिकभरी मलाई हिजो समस्यामा पार्ने मान्छेबाट पो गर्छु कि ! मलाई फसाउने मान्छेबाट पो गर्छु कि !

  • ‘जात्रा’ बनाउँदा जात्रै भयाे

    ‘जात्रा’ बनाउँदा जात्रै भयाे

    काठमाडौं । दश वर्ष अगाडिको एक दिन प्रदीप भट्टराईलाई सिङ्गे लामाले प्रेम दर्शाए, ‘कस्ता कस्ता मान्छेले त फिल्म बनाइसके प्रदीप सर, तपाईं नबनाउने ?’

    भट्टराईले लामाको सवाललाई उस्तो गम्भीर रुपमा लिएनन् । लिऊन् पनि कसरी ? भट्टराईले लामामा पैसा लगानी गर्नसक्ने तागत देखेका थिएनन् । आर्ट डाइरेक्टरसँग लाखौं हुन्छ भन्ने कल्पना गरून् पनि कसरी !

    मह सञ्चारमा लामो समयदेखि आर्ट डाइरेक्टर थिए लामा । चिफ असिस्टेन्ट डाइरेटर थिए भट्टराई । दुवैले एक-अर्काको नरनाडी राम्रैसँग छामिसकेका थिए ।

    १६-१७ वर्ष त मह जोडीसँगै बिताइसकेका थिए भट्टराईले । भट्टराईले राम्रो फिल्म बनाउन सक्ने छनक चाहिँ देखाइसकेका थिए । लामालाई पनि विश्वास थियो, ‘प्रदीपले फिल्म बनाउन सक्छन् ।’

    ‘हरिबहादुर मदनबहादुर’, ‘आमा’, ‘सृष्टि’ जस्ता नामी टेलिसिरियलमा असिस्ट गरिसकेका थिए । बितेको डेढ दशकमा भट्टराईले बोकिहिँडेको एउटा भ्रमको निवारण पनि भइसकेको थियो ।

    सुरुवाती चरणमा उनी सोच्थे, ‘यिनीहरुले भन्दा त मै राम्रो गरेर देखाइदिन्छु । फिल्म कसरी बनाउनुपर्छ, यिनीहरुलाई के थाहा छ र !’

    विस्तारै समय बित्दै गयो । सृजनात्मकताको गहिराइभित्र घुस्दै घुस्दै गए । जति जति घुस्दै गए, उति उति उनलाई डर लाग्दै गयो । जति गहिराइमा पुग्थे, सृजनाको उति ठूलो क्यानभास फेला पार्थे । ती क्यानभासले थरीथरीका सृजनात्मक रङ्गहरु माग्थे । एउटा मान्छेसँग सातै रङ्गको इन्द्रेणी कहाँ हुन्छ र !

    अनि पो थाहा पाए, ‘एउटा असल सृजना बन्न सयौंथरी मान्छेका सयौंथरी रङ्ग चाहिन्छ ।’ विस्तारै आफैंले आफैंलाई सम्झाउँदै गए, ‘मेरो सोच गलत रहेछ, मैले अझै सिक्नुपर्ने रहेछ ।’

    तर भट्टराई सामुन्ने जहिल्यै एउटा प्रश्न उभिइरहन्थ्यो, फिल्म निर्देशन गर्नलाई कतिञ्जेल सिकिरहने त ? यसको ठ्याक्कै चित्तबुझ्दो जवाफ उनीसित थिएन । फिल्म निर्देशन गर्ने चाहनालाई आफ्नै मनको कुनाभित्र थुनिरहेका थिए ।

    लामाले त्यही मनमा ढकढकाइदिएका थिए । कतै सपना मारिसके कि भनेर उनलाई चिमोटिरहन्थे लामा । जहिल्यै सोध्थे, ‘तपाईं फिल्म नबनाउने प्रदीप सर ?’

    प्रदीप सोच्थे, ‘अलि दह्रो मान्छेले भनेको भए पनि हुन्थ्यो । बिचरा सिङ्गे दाइ ! माया त गर्छन् नि, मायाले मात्रै फिल्म बन्दैन ।’

    लामासँग पनि आँट र हिम्मतबाहेक केही थिएन । लामासँग पनि भट्टराईमाथिको भरोसा र विश्वासबाहेक केही थिएन । तैपनि सोध्न छाड्दैनथे, सोधिरहन्थे ।

    लगातार सोधिरहेपछि भट्टराईले प्रतिप्रश्न गरे, ‘ल दाइ भन्नु न त, कसरी बनाउने ?’

    ‘यसो गरौं न मसँग दुईतीन लाख छ । कोटेश्वरमा मैले रासन पसल चिनेको छ । सुटिङभरिका लागि त्यहाँबाट रासन ल्याउँला । गाडी पनि खोजौंला । क्यामेरा छँदैछ’, लामाले आत्मविश्वासका साथ भने, ‘थप १०-१५ लाख हाल्ने एउटा निर्माता खोजौं । फिल्म बनिहाल्छ नि !’

    लामाको तर्कले प्रदीपलाई हल्का आँट आयो । ऊसँग पहिल्यैदेखि दुईतीन वटा आइडिया ब्याकअपमा थियो । तीमध्ये एक आइडियामा स्क्रिप्ट लेख्न थाले ।

    ‘स्क्रिप्ट त झुरै लेख्नुभएछ’

    स्क्रिप्ट लेखिसके । अनि स्क्रिप्ट सुनाउन बसे । सुन्नेहरु तिनै थिए, जो डेढदुई दशकमा कमाएको ज्ञान, सीप, अनुभव र पैसा खन्याउन तयार थिए । प्रोडक्सन म्यानेजर यादव पौडेल स्रोताको रुपमा हाजिर थिए । कथा सुनिसकेपछि पौडेलले भने, ‘ल म पनि पैसा हाल्छु । मसँग पाँचसात लाख रुपैयाँ छ ।’

    पौडेल पनि थपिएपछि भट्टराईमा आत्मविश्वास पलायो, ‘अब फिल्म बन्ने भयो ।’

    कलाकार पनि फाइनल भयो, विपीन कार्की, रवीन्द्रमानसिंह बानियाँ, सारुक ताम्राकार, अभय बराल र विक्रम थारु । फिल्म पाँच जना हिरोको कथामा आधारित थियो । कथा राम्रो लागेपछि बानियाँले रहर देखाए, ‘म त निर्माता पनि हुन पाए हुन्थ्यो ।’

    अनि रवीन्द्र पनि निर्माताको सूचीमा थपिए ।

    फिल्मको नाम रह्यो, ‘जात्रा ।’

    कथा सुनेर मान्छे पेट मिचीमची हाँस्थे । कथा सुनेरै रुन्थे पनि । भटटराईलाई लागिरहेथ्यो, फिल्म त बब्बालै बन्छ । प्रि-प्रोडक्सनको वेला बानियाँले भट्टराईलाई खुसुक्क भने, ‘मनोज पण्डितलाई एक पटक स्क्रिप्ट पढ्न दिम न त !’

    प्रदीपको पण्डितसँग चिनापर्ची थिएन । तैपनि भनिदिए, ‘हुन्छ, दिउँ न त ।’

    पण्डितले स्क्रिप्ट लिए ।

    केही दिनपछि बानियाँले भट्टराईलाई खाना खाने गरी आउन अनुरोध गरे । थप भने, ‘मनोजजीले भेट्न खोजेका छन् ।’

    बानियाँको घरमा मिटिङ हुने भयो । भट्टराई फुरुङ्ग भए । सोचे, पक्कै गजब लेख्नुभएछ भन्लान् । तीनै जना भेला भए । सलाद खाए । पण्डितले सोधे, ‘अनि खाना खाएर कुरा गर्ने कि अहिले नै गर्ने ?’

    मनमनै फुरुङ्ग भएका भट्टराईले भने, ‘अहिले नै गरौं न । राम्रो कुरामा किन ढिला गर्ने !’

    पण्डितले भने, ‘तपाईंले लामो समय मह सञ्चारमा काम गर्नुभएको रहेछ, तर स्क्रिप्ट चाहिँ झुर लेख्नुभएछ ।’

    अब ‘जात्रा’ हुन्छ

    बीसौं मान्छेले राम्रो भनेको स्क्रिप्टलाई पण्डितले झुर भनिदिए । अघिसम्म उत्साहित भइरहेका भट्टराईको मन मरिचभन्दा सानो बनेर चाउरियो । अनुहारमा छरपस्टिएको खुसीको आभा फुंग उड्यो । मौसम बदली भए जस्तो अचानक अनुहार कालोमैलो भयो । किन झुर ? के कारणले झुर ? कसरी झुर ?

    पण्डितले केही प्रश्न गरे । भट्टराईले उत्तर दिए ।

    तैपनि यति राम्रो चिज कसरी गलत हुन्छ ? भट्टराईको पारो तात्यो । बानियाँले खुसुक्क फकाए, ‘अहिले यिनको कुरा सुनेर स्क्रिप्ट करेक्सन गरौं । राम्रो भएन भने हाम्रो पुरानै छँदैछ नि ।’

    भट्टराई स्क्रिप्ट करेक्सन गर्न तयार भए । करेक्सन गरेर पण्डितलाई देखाए । पण्डितले झनै बिगारिदिन्थे । बनाउने, बिगार्ने क्रम निरन्तर जसो चलेपछि भट्टराई निराश भए, ‘यसरी त हुँदैन ।’ पण्डित चाहिँ निरन्तर भनिरहे, ‘यो त जात्रा नै भएन ।’

    कसरी ‘जात्रा’ भएन त ? कारण नभनिदिने । खाली ‘यो भएन, त्यो भएन’ मात्रै भनिरहने । भट्टराईलई रिस उठ्यो, ‘यस्तो त जसले पनि भन्छ नि !’

    रिस नै उठे पनि पण्डितबाट केही न केही सिकिरहेका थिए । केही जानकारी लिइरहेका थिए । अति भएपछि भट्टराईले आफूसँग भएको अर्को एउटा कथा पण्डितलाई सुनाए–

    असनको एउटा ठाउँमा तीन जना पसले छन् । पसलेहरुको व्यापार राम्रै चलिरहेको थियो, तर भुईंचालोले बिथोल्यो । भुईंचालोपछि मान्छेहरु गल्लीमा छिर्नै छाडे । पहिलेदेखि नै दैनिकी चलाउन गाह्रो भइरहेका केटाहरुलाई गाह्रो भयो । उनीहरुसँग सबथोक छ, तर पैसा छैन । अलिकति पैसा भए हुन्थ्यो भन्ने कल्पना गरेरै दिन कटाउँछन् । अनि पैसामात्रै सोचिरहेका केटाहरुले अचानक दश किलो सुन भेट्टाए भने हुन्छ ?

    जब कथा सुनाइसके, पण्डितले टेबल ड्यांग ठटाए । उत्साहित हुँदै बोले, ‘अब जात्रा हुन्छ ।’

    पण्डित र भट्टराईले सल्लाह गरे– सुनलाई चलाउन गाह्रो हुन्छ, सुनको ठाउँमा पैसा राख्नुपर्छ ।

    भट्टराई स्क्रिप्ट लेख्न बसे । १७ दिनमा स्क्रिप्ट फाइनल गरे । यति थोरै दिनमा कसरी स्क्रिप्ट फाइनल भयो त ?

    नयाँ बानेश्वर चोकको उमोजा कफी सपमा हट लेमनको चुस्की लिँदै निर्देशक भट्टराई बोले, ‘१७ दिनमा कसरी लेख्न सकेँ हुँला भन्ने मलाई नै लागेको थियो । यसो विचार गर्दा त्यो १७ दिनमा लेखेको कथा मसँगको २५ औं वर्षको अनुभव थियो । १७ दिनमा फल झरेकोमात्रै रहेछ । मभित्र त्यो फलको विरुवा उम्रेर, हुर्किएर, फुलेर, चिचिला लागेर, छिप्पिएर बसेको रहेछ । किनभने जात्राका ती पात्र मैसँग जोडिएका पात्र थिए । अभावका बीच हुर्किएका, बाँचेका अनि अभावसँगै सपना देखेका पात्रहरु मसँगै २५ वर्षदेखि यात्रामा थिए ।’

    ‘यो त डकुमेन्ट्री फिल्म जस्तो भयो’

    ‘जात्रा’को नयाँ कथालाई लिएर निर्माताहरु ठीकै सन्तुष्ट थिए । भन्थे, ‘पहिलेको जस्तो त छैन, तर राम्रै छ ।’

    फिल्मको सुटिङ सुरु भयो ।

    अभिनेता कार्की पहिलो पटक लिड रोलमा थिए । यसअघि कार्कीको ‘विन्दु’ र ‘भस्मे डन’ पात्र हिट थियो । ‘जात्रा’मा भने फणिन्द्र नामक पात्र धेरै नै सुस्त थियो । अरुले बोलेको पनि राम्रोसँग सुन्दैन । हिँड्दा पनि विस्तारै हिँड्छ । लुसुक्क आउँछ । ‘हजुर बुवा’ भन्छ ।

    पात्र देखेर निर्माताहरु डराए, ‘यस्तो पात्रले फिल्म हुन्छ त ? रिसुट गर्नुपर्छ कि क्या हो प्रदीप सर, पात्रलाई अलि उज्यालो बनाउनुपर्छ ।’

    तीनचार दिन सुटिङ भइसकेको थियो । भट्टराईले भने, ‘तपाईंहरुलाई स्क्रिप्ट सुन्दा रमाइलो लागेको हो त ! पात्र सुस्त भएर फिल्म सुस्त हुँदैन । फिल्मको गति भनेको त्यसको स्क्रिनप्लेले निर्धारण गर्ने हो ।’

    सँगै भट्टराईले एक उदाहरण पनि दिए, ‘मानौं, अँध्यारो कोठाभित्र खुट्टा भएको र नभएको मान्छे राखौं । अनि सर्प छाडिदिऊँ । बत्ती बालिदिऊँ । दुवैले एकै पटक सर्प देख्छन् । त्यसपछि को छिटो दौडन्छ ? बराबर नै दौडन्छन् नि !’

    भट्टराईले सम्झाए, ‘पात्रलाई समस्याहरुले दौडाउने हो ।’

    निर्माताहरु कन्भिन्स भए । सुटिङ सकियो । सम्पादनको काम भयो । सम्पादन हेरेर बानियाँ त कन्भिन्स भए । लामा र पौडेल कन्भिन्स हुन सकेनन् । सुटिङ सेटमै सुटिङ हेर्न आउनेहरुले पनि ‘के गर्‍या’ भन्थे । पोस्ट प्रोडक्सनमा काम गर्दा प्राविधिकहरुले ‘डकुमेन्ट्री फिल्म जस्तो’ भन्थे ।

    यतिसम्म आइपुग्नलाई भट्टराई स्वयंले श्रीमतीको गहना राखेर पैसा चलाइसकेका थिए । थोरैथोरै पैसा खोजखाज गरेर, सबै मिलाएर बनाएका थिए । एडिटमा आइपुग्दा पनि पैसा सकियो । फिल्म बेचौं पनि बिक्दैन । डिजिटल राइटस्, ओभरसिज राइटस् पनि कसैले लिँदैनन् ।

    बानियाँले भट्टराईलाई सल्लाह दिए, ‘एक पटक निश्चल बस्नेत र प्रचण्डमान श्रेष्ठलाई ट्रेलर काट्न लगाऔं ।’

    बस्नेत र श्रेष्ठ आए । दुवै फिल्म क्षेत्रका स्थापित मान्छे । के भन्ने हुन् भन्ने भय भट्टराईलाई थियो । उनीहरुले फिल्म हेरे । साँझको ७-८ बजेको थियो । बस्नेतले भने, ‘भोलि फेरि एक पटक हेरौं । अनि काट्न बसौंला ।’

    उनीहरु गए । भट्टराई बानेश्वर बस्थे, बाइकमा सरर कोठा आए । कोठा आएपछि फेसबुक खोलेर हेरे, बस्नेतले एउटा स्टाटस पोस्ट गरेका रैछन्, ‘अबको वर्षको ब्लकबस्टर फिल्म जात्रा आयो ।’

    ‘मलाई त एकदमै खुसी लाग्यो । म त नयाँ मान्छे ! उद्योगमा पहिचान बनाइसकेको मान्छेले रफ फिल्म हेरेर त्यसरी लेख्दा त..,’ भट्टराई नोस्टालजिक हुन्छन्, ‘त्यसपछि ओभरसिज लिने मान्छे पनि आए । डिजिटल राइटस् लिने मान्छे पनि आए । एउटा मान्छेको स्टाटसले त्यति धेरै फरक पार्दोरहेछ । निश्चलहरुको छाती देखेर कस्तो अचम्म लाग्यो ।’

    पहिलो र अन्तिम घमण्ड

    भट्टराईसँग न बजारको ज्ञान थियो न त केही कुराको जानकारी थियो । फिल्म लेख्न सक्थे । बनाउन सक्थे । ‘जात्रा’का पात्रहरु आफ्नो जीवनसँगै जोडिएकाले अलिकति भए पनि आत्मविश्वासी चाहिँ थिए ।

    फिल्म ७७ लाखमा सकियो ।

    हुँदाहुँदा रिलिजको मिति पनि आयो । शुक्रबारबाट फिल्म लाग्दै थियो । मंगलबार जय नेपाल हलमा प्रिमियर भयो । प्रिमियरमा भए जति मान्छे आए ।

    भट्टराई सम्झन्छन्, ‘मान्छेहरु हाँसेर हल फुट्ला जस्तो भएको छ । फिल्म हेरिसकेपछि कसैले फेसबुकमा लेखेका छन् । रिभ्यु आएका छन् । समाचार आएका छन् । माहोल नै बेग्लै बन्यो ।’

    फिल्मको बुकिङ पनि खुल्यो, तर टिकेट काट्ने मान्छे छैनन् । अब भोलि त आउलान्, तर भोलि पनि आएनन् । शुक्रबार बिहानसम्मै मान्छेले टिकट काटेनन् । भट्टराईले त्यही वेला थाहा पाए, ‘सेलिब्रेटीले लेखेको कुरासँग दर्शकको खासै कनेक्सन नहुँदो रहेछ ।’

    शुक्रबार हलमा कतै ३२ जना, कतै ३५, कतै १४ त कतै १५ जना । शो पनि ठीकैमात्र पाएको थियो । शुक्रबार दिनभरि ठीकैमात्र चल्यो । भट्टराई सुनाउँछन्, ‘बनाउन नहुने फिल्म बनाइएछ, हामी गलत रहेछौं भन्ने सोचेँ ।’

    तर फिल्मले शनिबारबाट पिकअप लियो । दर्शकको माउथ पब्लिसिटी राम्रो भएपछि शनिबारबाट हलहरु भरिन थाले । शो थपिन थाले । टिकट पाइएन भन्न थाले । अनि फिल्म चल्न थाल्यो ।

    ‘अनि फिल्म चल्न थालेपछि चाहिँ के लाग्यो ?’, मैले सोधेँ ।

    ‘मसँग एउटा आक्रोश रहेछ । धेरै मान्छेले नपत्याएको, सिनेमा भएन भनेको आक्रोश मभित्र रहेछ । त्यसको पाँच दिनपछि स्टाटस नै लेखेँ ।’

    भट्टराईले फेसबुकमा स्टाटस लेखे, ‘जात्रालाई दर्शकले एकदमै मन पराउनुभएको छ । म एकदमै खुसी छु । दर्शकहरु पनि एकदमै खुसी हुनुहुन्छ, तर चलचित्रका केही पण्डितहरुलाई चाहिँ यो कुरा पचेको छैन ।’

    भट्टराई सुनाउँछन्, ‘मैले सफ्ट भाषामा लेखेँ । लेखिसकेपछि कमेन्टहरु हुरुरु आउन थाले । लाइट आउन थाले । मलाई मन पराउनेहरुले ‘ठीक हो दाइ, अगाडि बढ्नु दाइ’ भनेका छन् । कसैले ‘फिल्म राम्रो भयो, लेखाइ राम्रो भएन’ भनेका छन् । कसैले ‘फिल्म चलिहाल्यो, खुसी हुनुस्’ लेखेका छन् । कतिपयले इनबक्समा ‘स्टाटस डिलेट गर्नुस्’ भनेर सुझाव दिएका छन् । विवादमा कहिल्यै नपरेको मान्छे विवादमा परेँ । दीपकराज गिरी दाइ आएर दर्शकले नै प्रुभ गरिसक्यो, यो लेख्नुको अर्थ छैन भन्नुभयो । उहाँलाई पनि गाली नै आएको छ । म त डरले लगलग काँपेँ । स्टाटस लेखेको एक घण्टा पनि भएको थिएन, हजार लाइक आइसक्यो । कमेन्ट कति हो कति ! जिन्दगीमा त्यत्रा लाइक कमेन्ट नआउने मान्छे म त ! लगभग एक घण्टापछि मैले स्टाटस डिलेट गरेँ ।’

    भट्टराई थप भन्छन्, ‘पछि ठण्डा दिमागले सोचेँ, मेरो त घमण्ड बढेको रहेछ । नलेख्नुपर्ने कुरा लेखेको रहेछु । मैले जिन्दगीमा कामको लागि घमण्ड गरेको त्यो नै पहिलो र अन्तिम थियो । त्यस दिनदेखि मैले कामलाई लिएर कहिल्यै घमण्ड गरिनँ । कसैलाई देखाउनुपर्छ भनेर काम पनि गरिनँ ।’

    ‘हरेक फिल्म बनाउँदा ५ किलो घटेको हुन्छु’

    ‘जात्रा’पछि भट्टराईले ‘शत्रु गते’ निर्देशन गरे । बक्स अफिसमा फिल्मले राम्रो कमाइ गर्‍यो । यो फिल्म चाहिँ भट्टराईलाई कस्तो लाग्छ ?

    उनी हाकाहाकी भन्छन्, ‘क्रिटिकल्ली कमजोर फिल्म हो, तर जुन उद्देश्यका लागि बनाएका थियौं, त्यसमा सफल भयौं । दर्शकलाई मनोरञ्जन दिँदै पैसा कमाउँछ भन्ने मूल उद्देश्य थियो ।’

    यसपछि ‘जात्रैजात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ बनाए भट्टराईले । ‘महाजात्रा’ त पैसै कमाउनलाई बनाइएको आरोपसमेत लाग्यो । यसमा भट्टराई स्पष्ट छन्, ‘फिल्मले पैसा कमाउनु राम्रो हो । कञ्चटमा बन्दुक तेर्साएर पैसा झार्न खोजेको होइन नि त ! दर्शकले सिफारिसको आधारमा फिल्म हेर्ने हो, तर पैसा कमाउने ध्याउन्नमा कलालाई मार्नु चाहिँ हुँदैन ।’

    जे होस्, भट्टराईले बनाएका फिल्महरुलाई दर्शकले रुचाइरहेका छन् । बक्स अफिसमा सफल पनि भएका छन् । अब त ‘जात्रा’मा जस्तो निर्माता पाउन पनि उनलाई गाह्रो छैन । यद्यपि पातलो मात्रामा फिल्म बनाउँछन् किन ?

    भट्टराई सुनाउँछन्, ‘फिल्मको लेखन एकदमै गाह्रो हुन्छ । हरेक फिल्म बनाउँदा म पाँच केजी घटेको हुन्छु । आफूलाई चित्त नबुझेसम्म फिल्ममा काम नगरुँ भन्ने लाग्छ । मेरा लागि स्क्रिप्ट लेख्ने मान्छे भइदिए वर्षको दुइटा फिल्म बनाउँथे । यहाँ फिल्म बनाउन गाह्रो छैन, लेख्नै गाह्रो छ ।’

    अन्तिममा, मान्छेहरु नाम र दामको पछाडि दौडिरहेका भेटिन्छन् । तपाईं त दुवै चिज कमाइसकेको मान्छे । यी नाम र दाम भनेको चाहिँ के रहेछ ?

    भट्टराई भन्छन्, ‘नाम कमाउनु, दाम कमाउनु आफैंमा गलत चिज होइन, तर यी चिजमा जब तपाईंले मजा लिन सुरु गर्नुहुन्छ, तब यो नशा बनेर जान्छ । जब आफ्नो नामको चर्चा परिचर्चामा मजा लिन थालिन्छ, तब त्यसको नशा लाग्न सुरु गर्छ । संसार त अनित्य छ । अहिले भएको कुरा एकैछिनपछि हुँदैन । अघिल्लो सास र पछिल्लो सासमै धेरै फरक हुन्छ ।

    तपाईं अहिले सफल हुनुहुन्छ होला, तर त्यो सफलता तपाईंको खुबीले मात्रै प्राप्त भएको होइन । तपाईंसँग जोडिएका हजारौं मान्छेको कारणले तपाईंको सफलता देखिएको हो । मन्दिरका जगमा हालिएका इँटा, माटाहरुले गर्दा गजुरलाई अडाउने काम गरिरहेको हुन्छ । इँटा, माटा थिएनन् भने त्यो गजुर नदेखिन सक्छ । त्यसैले म यही हो, मलाई कसैले चलाउन सक्दैन भनेर जब घमण्ड र भ्रम पालेर बस्छौं, त्यो एकैछिनमा टुट्छ । अनि त्यो भ्रममा मजा लिन थाल्यौं भने भोलि त्यसैले हामीलाई गाह्रो बनाउँछ ।

    मलाई चाहिँ पहिल्यैदेखि नामको पछाडि भाग्दिनँ भन्ने लाग्थ्यो । मैले कामले गर्दा माया पाएँ होला । मैले मायालाई मायाकै ठाउँमा राखेको छु । त्यो मायालाई मैले घमण्डको रुपमा लिएँ भने त मायाले एकदमै धेरै दुःख दिन्छ ।’

  • एडल्ट ड्रामा ‘दुःखी आत्मा’लाई ‘पीजी’ सर्टिफिकेट, कुनै दृश्य भएन काँटछाँट

    एडल्ट ड्रामा ‘दुःखी आत्मा’लाई ‘पीजी’ सर्टिफिकेट, कुनै दृश्य भएन काँटछाँट

    काठमाडौं । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘दुःखी आत्मा’लाई चलचित्र जाँचपास समितिले ‘पीजी’ सर्टिफिकेट दिएको छ ।

    यो फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो । तर, आज मात्र फिल्मको सेन्सर पास भएको छ ।

    फिल्मका निर्देशक दीपेन्द्र लामाका अनुसार, यो फिल्मको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन । तर, सेन्सरका सदस्यहरुबाट फिल्मको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिएको निर्माणपक्षले बताएको छ ।

    अब, यो फिल्म हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ । निर्देशक लामाले भने, ‘हाम्रो फिल्मको कथावस्तु नयाँ छ । बजारमा विभिन्न अड्कलबाजी गरिएतापनि यो फ्यामिली फिल्म हो । यसैले, हरेक वर्गका दर्शकले ढुक्कसँग फिल्म हेर्न सक्नुहुनेछ ।’

    दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्धि तामाङ लगायतको अभिनय छ । हिमाल कडरिया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुदिप ढकाल हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।

    फागुनको २ गते प्रेम दिवसको अवसर पारेर यो फिल्म रिलिजमा आउँदैछ ।

     

     

  • ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक

    ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक

    काठमाडाैं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ ।

    सिनेमाको सार्वजनिक टिजर मिलनको कवितामा सिनेमाका मुख्य पात्र प्रकास सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा देख्न सकिन्छ ।

    सिनेमाको निर्माण टिमले यो टिजरलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको छ । सिनेमाको यसअघि सार्वजनिक गीत ‘साँझ पर्यो झमक्क’ले दर्शकमाझ राम्रो हाइप बनाएको छ ।

    त्यसैले सिनेमाको आज सार्वजनिक टिजर मिलनको कविताले पनि सिनेमाप्रति दर्शकको चासो बढाउने विश्वास निर्माण टिमलाई छ । यो सिनेमा आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुँदैछ ।

    सिनेमामा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

    गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो ।

    गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ ।

    सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

    सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।

  • एलिनालाई रचना र समीक्षाको हौसला, कसले के लेखे ?

    एलिनालाई रचना र समीक्षाको हौसला, कसले के लेखे ?

    काठमाडौं । गायिका एलिना चौहानको डिभोर्सलाई लिएर उनका दुई समकालीन गायिकाहरु रचना रिमाल र समीक्षा अधिकारीले प्रतिक्रिया दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत उनीहरुले एलिनालाई हौसला र सहानुभूतिसमेत दिएका छन् । एलिनालाई अब मुखबाट मात्र होइन मनबाटै हाँसेको देख्न पाउने रचनाको आशा छ ।

    उनले लेखेकी छन्, ‘अन्ततः आज तपाईंले एकदम ठूलो आँट र मनले यो निर्णय लिनुभएको छ । दिदी, अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ । अरु खुशी आउँदै, जाँदै गर्छन्, तर मनको खुशी आफैंले स्थापित गर्ने हो । म तपाईंको शुभचिन्तक हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । आई लभ यु मेरी दिदी ।’

    समीक्षाले पनि डिभोर्सको निर्णय लिएर एलिनाले आफूलाई सक्षम र साहसी नारी सावित गरेको बताएकी छन् ।

    ‘हिजो मलाई अन्यायका विरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो । आज हिंसा र यातनाविरुद्ध जीवनको सारथीबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक सावित गरिदिनुभएको छ । सलाम छ । बहिनीका रुपमा म सधैँ तपाईंको साथमा रहिरहनेछु ।’

  • डिभोर्सपछि पूर्वपतिलाई एलिनाको सम्बोधन- मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिलाई छोडेकी छु

    डिभोर्सपछि पूर्वपतिलाई एलिनाको सम्बोधन- मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिलाई छोडेकी छु

    काठमाडौं । श्रीमानसँग कानूनीरुपमा पारपाचुके गरेपश्चात गायिका एलिना चौहानले फेसबुकमा मार्मिक स्टाटस लेखेकी छन् । यो सम्बन्धविच्छेद रहरले नभइ बाध्यताले गर्नुपरेको उनको भनाइ छ ।

    एलिनाले भनेकी छन्, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पुर्णविराम लागेको छ । यो रहरले होईन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ । आजदेखी स्वतन्त्र भएर कानुनीरुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ । पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।’

     

  • अन्ततः श्रीमानसँग अलग भइन् एलिना, विवाहकाे ९ महिनामै सम्बन्धविच्छेद

    अन्ततः श्रीमानसँग अलग भइन् एलिना, विवाहकाे ९ महिनामै सम्बन्धविच्छेद

    काठमाडौं । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।

    एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक यातनाको हिसाब आजबाट समाप्त भएको छ । आजदेखी मेरी बहिनी र विष्णु सापकोटाको सम्बन्ध कानूनी रुपमा समाप्त भइसकेको छ ।’

    एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन् । त्यही भएर डिभोर्स प्रक्रिया छिटो भएको हो । हाल अष्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए ।

     

  • ‘लाज शरणम’ मा समावेश बालेनको र्‍याप २० घण्टाभित्रै १ नम्बर ट्रेन्डिङमा

    ‘लाज शरणम’ मा समावेश बालेनको र्‍याप २० घण्टाभित्रै १ नम्बर ट्रेन्डिङमा

    काठमाडौं । प्रदर्शोन्मुख चलचित्र ‘लाज शरणम’ मा समावेश गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको र्‍यापले युट्युब ट्रेन्डिङको शीर्ष स्थान कब्जा गरेको छ ।

    रिलिज भएको २० घण्टाभित्रै सो र्‍याप संगीत विधाको ट्रेन्डिङमा नेपालमा पहिलो नम्बरमा उक्लिएको हो ।

    ‘नेपाल हाँसेको’ बोलको र्‍याप बालेनकै युट्युब च्यानलबाट हिजो अपलोड गरिएको थियो । यो समाचार लेख्दासम्म यसलाई ८ लाख ५६ हजार पटक हेरिएको छ भने ११ हजार ५ सय प्रतिक्रिया आएका छन् । धेरैले लामो समयपछि बालेनको र्‍याप सुन्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

    नयाँ र्‍याप अपलोडसँगै बालेनको युट्युब च्यानलमा सब्सक्राइबर्स ह्वात्तै बढेका छन् । गीत अपलोड हुनु अगाडि साढे पाँच लाख जति सब्सक्राइबर्स थिए । यो संख्या अहिले साढे ८ लाख कटिसकेको छ ।

  • महाकुम्भमा भाइरल बनेकी मोनालिसा नेपाल आउँदै

    महाकुम्भमा भाइरल बनेकी मोनालिसा नेपाल आउँदै

    जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित महाकुम्भमा रुद्राक्ष माला बेच्दाबेच्दै भाइरल भएकी मोनालिसा नेपाल आउने भएकी छन् ।

    रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा मोनालिसा पनि आउन लागेकी हुन् । महोत्सवमा सांस्कृतिक कार्यक्रमका लागि निर्देशक सनोज मिश्रा र मोनालिसा आउने निश्चित भएको हो ।

    मिश्रा र मोनालिसाले मधानी महोत्सवमा आउन लागेको भिडिओ बनाएकी छन्, जुन भिडिओ संघीय सांसद प्रभु साहले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

    सांसद साहकी श्रीमती रिना मौलापुर नगरपालिकाकी नगरप्रमुख हुन् । उनले हरेक वर्ष महाशिवरात्रिको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएकी छन् ।

    सांसद साहले ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र एवं नायिका मोनालिसाको आगमनले महोत्सवको आकर्षण थप बढाउने विश्वास व्यक्त गरेका छन् ।

    महोत्सव फाल्गुन ११ देखि १५ गतेसम्म चल्नेछ । फाल्गुन १४ मा मधानी सांस्कृतिक कार्यक्रम आयोजना हुने र सो कार्यक्रममा मोनालिसा सहभागी हुनेछिन् ।

  • भक्तराज विश्वकर्माको स्वरमा ‘सारा दिन अरूलाई दिएँ’ सार्वजनिक

    भक्तराज विश्वकर्माको स्वरमा ‘सारा दिन अरूलाई दिएँ’ सार्वजनिक

    काठमाडौं । सन्तोष श्रेष्ठको संगीत तथा गायक भक्तराज विश्वकर्माको स्वरमा ‘सारा दिन अरूलाई दिएँ’ बोलको गीत’ सार्वजनिक गरिएको छ । निर्भिीकजंग रायमाझीको शब्द रचना रहेको गीतको लिरिकल-भिडियो सार्वजनिक गरिएको हो ।

    गीतकार निर्भीकका अनुसार यो गीत नारायणगोपाल तथा कवि ईश्वर वल्लभप्रति समर्पित गरिएको छ । ‘थाहै नपाई नारायणगोपालको गीत गुनगुनाउँदै जाँदा यो शैलीको गीत रचना हुन पुग्यो । त्यसैले नेपाली सुगम सङ्गीतका दुई महारथीलाई सम्झेर यो गीत समर्पित गरेका छौं’, उनले भने ।

    गीतको एरेन्ज राजु कार्कीले गरेका छन् । मिक्सिङ, मास्टरिङ प्रकाश मिश्रको रहेको छ । अकस्टिक स्टुडियो काठमाडौं र जी-म्युजिक स्टुडियो यूकेमा रेकर्ड गरिएको गीत संगीतकार श्रेष्ठको यूट्युब च्यानल ‘गोल्डेन क्रियसन्स’बाट रिलिज गरिएको हो ।

  • बालेन शाहको स्वरमा चलचित्र ‘लाज शरणम्’को प्रोमोसन गीत सार्वजनिक (भिडिओसहित)

    बालेन शाहको स्वरमा चलचित्र ‘लाज शरणम्’को प्रोमोसन गीत सार्वजनिक (भिडिओसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर रहेको र्‍याप गीत ‘लाज शरणम्’ टीमले आज सार्वजनिक गरेको छ । ‘नेपाल हाँसेको’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ ।

    गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुषी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ ।

    मेयर भएपछि बालेनले गाएको गीत सार्वजनिक भएको यो पहिलो पटक हो । यो गीतले ‘लाज शरणम्’को हाइप थप बढाउने निर्माण पक्षको दाबी छ ।

    फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा‘’ बोलको गीत सार्वजनिक गरेको थियो ।

    चलचित्र हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’को टीमले बनाएको हो । ‘लाज शरणम्’मा सीताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । चलचित्रलाई सीतारामका भाइ कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

    चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

    जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सृजना खड्का सहनिर्माता रहेका छन् ।

  • ‘लाज शरणम्’ मा बालेनको र्‍याप, रिलिजअगाडि नै कसरी भयो लिक ? (लिरिक्ससहित)

    ‘लाज शरणम्’ मा बालेनको र्‍याप, रिलिजअगाडि नै कसरी भयो लिक ? (लिरिक्ससहित)

    काठमाडौं । ‘सक्किगोनी’ टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम’ मा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको र्‍याप हेर्न पाइने भएको छ । बालेनले कुनै पनि चलचित्रका लागि पहिलो पटक स्वर दिएका हुन् ।

    निर्माण पक्षले आज दिउँसो उक्त र्‍याप युट्युबमा रिलिजको तयारी गरेको छ । बालेन आफैँले लेखेको यो र्‍याप नयाँ भने होइन । उनले केही वर्ष अगाडि नै लेखेर रेकर्डसमेत गराएका थिए ।

    सन् २०१५ मा नै बालेनको आफ्नै युट्युब च्यानलबाट अडियो रिलिज गरिएको थियो । भिडिओ भने बनेको थिएन । यसले अहिलेसम्म ३ लाख ८३ हजार भ्यूज पाएको छ ।

    बालेनले यही र्‍याप ‘लाज शरणम’ मा प्रयोग गर्न अनुमति दिएका हुन् । अहिले यो र्‍यापलाई फेरी नयाँ रेकर्ड गराएर चलचित्रमा राखिएको हो । चलचित्र स्रोतका अनुसार र्‍यापमा बालेन स्वयम् देखिने भने छैनन् ।

    बालेनको यो र्‍याप निर्माण पक्षले सार्वजनिक गर्नु अगाडि नै भाइरल भइसकेको छ । धेरैले युट्युबबाट अडियो डाउनलोड गरेर टिकटकमा हालिरहेका छन् । यद्यपि, लाज शरणमका लागि बनाइएको भिडिओ भने लिक भएको छैन ।

    यस्तो छ बालेनको र्‍यापको लिरिक्स:

    कोरस:

    म नेपाल हाँसेको हेर्न चाहन्छु,
    नेपालीको मन नाचेको हेर्न चाहन्छु
    नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु

    बालेन

    अत्याचार, आक्रमण, अपराध, असमझदारी…
    विकल्पविहीन, विदेशी बैंक भन्छ भिकारी…
    शिकारी नेता, अभिनेता, धन्छ क्रान्तिकारी…
    बिगारी केटा÷केटी, भोको पेट रेटी, सिपाही…
    अविवाहित चेलीबेटी, बोकी पेट खेपी पिटायी
    बिताई रात, कुटायी घात खाएर, शरीर बिकाइ
    देशको माटो नै मिठाइ ठानी मैदान त्यो युद्धको…
    गिद्ध थ्यो जो, देशको लागि भक्त झैँ प्रसिद्ध भो…
    निःशब्द भो, अवशेष बाँकी चोखो बोली जोसित थ्यो…
    सिरजफ्त भो, देशव्यापी–आत्म–घाती– जो पवित्र थ्यो…
    आफ्नो प्राणको आहुती, आफ्नो ज्यानको विभूति
    ल्याई हिँडेको शहिदको केवल नामावली विभूषित
    कुण्ठित पिडामा डुबेकी आमालाई के काम विदुषी
    गरिबलाई दुई छाक नै खुशी, सरिफलाई चाहिन्छ कुर्सी…
    आमाकै साडी बेचेर, धनाढ्य सँगै छ पूँजी
    गोजीभरी भारु भराऊ भरेर भारतीको रोजी

    कोरस

    म नेपाल हाँसेको हेर्न चाहन्छु,
    नेपालीको मन नाचेको हेर्न चाहन्छु
    नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु

    बालेन

    देश एउटा सुन्दर बगैँचा होस, रंगीचंगी फूलहरू
    हरेकलाई समान गलैँचा होस आदर हरेक मूलहरू
    अनुकूल प्रतिकुलहरू चिन्ता गर्ने भावना होस
    सामूहिक खुशी बिनाको के फाइदा त्यो चाहनाको
    औचित्य के त्यो कामनाको, एउटा हाँसो फुट्नलाई
    उद्देश्य लेउ एक होऊ हरेक हातहरू जुट्नलाई
    गरेर अब देखाऊ, कालो अतीतलाई मेटाऊ
    पालो हाम्रो हो भेटाऊ, कल्पना गर शान्तिको।
    सपना देख्नेकै पुरा हुन्छ, जागृति नै क्रान्ति हो
    बिपनामा बाटो खुल्ला हुन्छ आकृतिको सालिकको
    न सोच्नु तिमी मालिक हौ र मिहिनेत गर्ने नोक्कर हो
    तिमीले ठोक्कर खाने छौ, मानव मानवता बेगरको…
    एकपटक कारण बनी हेर अरुको सानो हाँसो को
    उसको मुस्कानमा रमाइ हेर निस्वार्थ प्रेम साँचो हो
    यो खाँचो हो मायाको पुरा भए नेपाल हाँस्ने छ
    एक आपस मर्म बुझिदिए हरेक क्षणमा बाँच्ने छौँ

    कोरस

    म नेपाल हाँसेको हेर्न चाहन्छु,
    नेपालीको मन नाचेको हेर्न चाहन्छु
    नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु

  • आँचल शर्मा र खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने

    आँचल शर्मा र खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने

    काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन ।

    ई प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरूका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ ।

    सिनेमालाई प्रशन्न पौडेल र विकास पौडेल (चितवन) ले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् ।

    आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

    को हुन नव निर्देशक एकता पौडेल ?

    एकता पौडेल दिवङ्गत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन् ।

    आमसञ्चारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा सिनेमाहरू बनाएकी छन् ।

  • ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ नयाँ भर्जनमा, रचनाको स्वरमा राजेश हमालको नाँच

    ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ नयाँ भर्जनमा, रचनाको स्वरमा राजेश हमालको नाँच

    काठ्माडौं । चलचित्र ‘दैव संजोग’मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैतको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’मा यो गीतलाई समावेश गरिएको हो ।

    यो गीतको पुरानो भर्जनमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् ।

    यो गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

    यो चलचित्रका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताएका छन् ।

    यो गीतमा चलचित्रका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन् ।

    नायक राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ ।

    यो चलचित्रमा नायक हमाल र खनालले ३२ बर्षपछि सहकार्य गर्दैछन् भने यो पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू फिल्म हो । यही चलचित्रबाट नायक हमाल ८ वर्षपछि पर्दामा फर्किँदैछन् ।

     

  • युवामैत्री लोक दोहोरी प्रतियोगिताको उपाधि जित्दै कर्णालीले पायो एक लाख

    युवामैत्री लोक दोहोरी प्रतियोगिताको उपाधि जित्दै कर्णालीले पायो एक लाख

    काठमाडौं । राष्ट्रिय युवा मैत्री लोक दोहोरी प्रतियोगिता २०८१ को उपाधि तारा थापा र सुमन खड्का (कर्णाली टिम) ले हात पारेको छ । १२ टिम मध्ये प्रथम हुँदै कर्णालीले एक लाख नगद पुरस्कार जितेको हो । सरकारी स्तरबाट आयोजना गरिएको यो ठुलो धनराशिको लोक दोहोरी प्रतियोगितामा हो ।

    राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालको आयोजना तथा सांस्कृतिक समाज नेपालको सहकार्यमा भएको दुई दिने प्रतियोगितामा पृतम पोखरेल र सबिता परियार (जनकपुर)ले दोस्रो स्थान हासिल गर्दै ३० हजार नगद प्राप्त गरेको छ ।

    त्यसैगरी नारायणी टिमका घनश्याम परियार र जमुना विश्वकर्मा र राप्ती टिमका प्रकाश दुरा र आशा केसी ले तृतीय स्थान हासिल गरेका थिए ।

    पर्यटन बोर्ड भृकुटीमण्डपको हलमा आयोजित कार्यक्रममा उत्कृष्ट गायक/गायिका, अनुशासित गायक/गायिका र नव गायक/गायिका विधामा पनि सम्मान गरिएको थियो ।

    बद्री पराजुली, सिता थापा, चन्द्र शर्मा, सरोज विरही कार्की र वैकुण्ठ महत लगायतको निर्णायक मण्डल टोली रहेको थियो । अन्य निर्णायक समितिमा रिदम कँडेल, बबिता श्रेष्ठ मलेकु, कृष्ण काफ्ले पदम रोकाया, सीमा थापा र शान्ति कुमारी शाही रहेका थिए ।

    देशमा विकराल बन्दै गएको बेरोजगारीको अवस्था, युवा पलायनले निम्त्याएको समस्या, सम्भावना र संवृद्धिका विषयमा कला संस्कृति मार्फत उजागर गर्ने उद्देश्यले लोक दोहोरी प्रतियोगिता आयोजन गरिएको थियो ।

    प्रतियोगिताको उद्घाटन २५ गते राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गरेका थिए भने, समापन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा गरिएको थियो ।

    समापन समारोहमा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालको अहिलेसम्मकै सबैभन्दा राम्रो र सृजनशील कार्यक्रम आयोजना गरेको बताएका थिए । यस्ता कार्यक्रमहरूबाट कला र संस्कृतिको संरक्षण गर्न सकिने उनको भनाइ थियो ।

    कार्यक्रमको संयोजन सुस्मा शाही ठकुरीले गरेकी थिइन । कार्यक्रम विष्णुमाया पौडेल र अमृत खातीले सञ्चालन गरेका थिए । सांस्कृतिक समाज नेपालका अध्यक्ष समेत रहेका राष्ट्रिय युवा परिषद् अन्तर्गत कला, साहित्य सञ्जालका अध्यक्ष रामप्रसाद अवस्थीले संस्कृतिको माध्यमबाट संवृद्धिको सन्देश दिन प्रतियोगिता सफल भएको बताए ।

    कार्यक्रममा वरिष्ठ लोक गायक बमबहादुर कार्की र वरिष्ठ लोक गायिका चन्द्रकला साह लाई विशिष्ट सम्मान अर्पण गरिएको थियो ।

  • ‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ले युट्युबमा पायो १० करोड भ्यूज, शान्तिश्री हर्षित

    ‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ले युट्युबमा पायो १० करोड भ्यूज, शान्तिश्री हर्षित

    काठमाडौं । चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको ‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ गीत युट्युबमा १०-१० करोडभन्दा बढी पटक हेरिएका छन् । दुई गीत एक दिनको फरकमा १०-१० करोडभन्दा बढी पटक हेरिएपछि यसकी गायिका शान्तिश्री हर्षित छिन् ।

    ‘अरेली काँडैले’ १० करोड पटक हेरिने पहिलो लोकगीत बनेको छ । उक्त गीत गायिका शान्तिश्रीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

    यस्तै उनले विभिन्न नेपाली चलचित्रका लागि गीत गाए पनि १० करोड पटक युट्युबमा हेरिने ‘रुकुम मैकोट’ पहिलो गीत बनेको छ । गीतमा शान्तिश्रीलाई एसडी योगीले साथ दिएका छन् । उक्त गीत नेपाली चलचित्र ‘खुस्मा’को हो । गीतमा नायक धिरज मगर र नायिका उपासनासिंह ठकुरीको अभिनय रहेको छ ।

    दुई वटा गीत एक दिनको फरकमा युट्युवमा १०-१० कराेड पटक हेरिने सूचीमा प्रवेश गरेपछि गायिका शान्तिश्रीले सामाजिक सञ्जाल फेसबुकबाट खुसी व्यक्त गरेकी छन् ।

    शान्तिश्रीले लेखेकी छन्, ‘यो मेरो लागि निकै खुसीको कुरा हो । आदरणीय दर्शक स्रोताको अगाध माया पाएका कैयौँ गीतमा मेरो स्वर मिसिएका छन् । यो अर्थमा म अलि भाग्यमानी नै हुँ जस्तो पनि लाग्छ । कर्म र भाग्यको संयोग कहीँ न कहीँ राम्रै मिलेको छ जस्तो पनि लाग्छ । मैले गाएका केही चलचित्रका गीत पनि बजारमा निकै मन पराइएका छन्, तर ‘रुकुम मैकोट’ मेरो आवाजद्वारा १० करोड पुग्ने पहिलो गीत बनेको छ ।’

    ‘अरेली काँडैले’ गीतका सङ्गीतकार गायक एवं सर्जक खेम सेन्चुरी हुन् । शब्द नेत्र अर्यालको हो । यस्तै श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतका रेकर्डिस्ट गोविन्द अनेक र कमल थापा हुन् ।

    यस्तै गीतको म्युजिक भिडिओको निर्देशन सुनिल बिकले गरेका हुन् । नृत्य निर्देशन गम्भीर विष्ट रहेको उक्त गीतमा प्रकाश सपूत रअञ्जली अधिकारीको अभिनय रहेको छ । म्यूजिक भिडियोको सम्पादक मिलन विश्वकर्माको रहेको छ ।

    गायिका शान्तिश्रीले यो सफलता आफ्नोमात्रै नभएर धेरैको साथ, सहयोग र समर्थनले हासिल भएको बताएकी छन् ।

    उनले लेखेकी छन्, ‘एउटा काम सफल हुन पर्दामा देखिने र पर्दा पछाडिका कैयौं नाम हुन्छन् । ती नामप्रति मेरो सधैँ सम्मान र अन्तर्आत्माबाटै कृतज्ञ छु । यो खुसी यहाँ जोडिनुभएका हरेक नामसँग साट्न चाहन्छु । यति छोटो समयमा यति धेरै हेर्नुहुने, सुन्नुहुने र हरेक चाडवाडमा नाच्नुहुने आदरणीय भगवानरुपी दर्शक-स्रोताज्यूको यो प्रेमप्रति सधैँ नतमस्तक छु ।’