Category: कलाप्रेस

  • मह जोडीको अपिल- हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो, विश्वास नगर्नुहोला (भिडिओ)

    मह जोडीको अपिल- हामीविरुद्ध भ्रामक प्रचारबाजी भयो, विश्वास नगर्नुहोला (भिडिओ)

    काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारबाजीको खण्डन गरेका छन् ।

    दातृ निकायको सहयोगमा आफूहरूले बनाएका कार्यक्रमहरूमा कतै पनि हिन्दू धर्मलाई ठेस पुर्‍याउने काम नगरेको उनीहरूको प्रष्टीकरण छ ।

    मह जोडीले अमेरिकी सहयोग नियोग युएसएडबाट अनुदान लिएर हिन्दू धर्मविरुद्ध कार्यक्रमहरू बनाएको भन्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालमा व्यापक प्रचार गरिरहेका छन् । मदनकृष्ण र हरिवंश दुवैले एक ठाउँ बसेर आज यसको खण्डन गरेका हुन् ।

    आफूहरूले यूएसएडको पैसामा केही सचेतनामूलक कार्यक्रमहरू बनाएको भए पनि ती कार्यक्रममा कुनै धर्मको पक्षपोषण वा विरोध नभएको उनीहरूको भनाइ छ ।

    यस्तो छ मह जोडीको प्रष्टीकरण

    नमस्कार

    हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोध कामहरू गरे भनेर अनर्गल प्रचार भइरहेको छ । यसले हाम्रो चित्त दुखेको छ । हामी सबैलाई आफ्नो हितैषी सम्झिन्छौँ । हितैषीहरूबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ ।

    संसारमा राम्रा कुरा पनि छन् नराम्रा पनि छन् । हामीले राम्रा मात्रै छानेर काम गर्दै आएका छौँ । कुष्ठरोग, क्षयरोग, खोपका कुराहरू यी अधर्मका विषयहरू होइनन् । हाम्रो टेलिफिल्महरु हेरेर जाँच्नु भए हुन्छ । त्यसमा केही पनि नचाहिने कुरा छैनन् ।

    हामी अहले दुई फरक फरक चलचित्रको छायांकनमा छौँ । एउटा मदन दाइले खेल्नुभएको छ र एउटा मैले खेलेको छु । यो अनर्गल प्रचार आउनुभन्दा अगाडि नै हामीले भगवनको मन्दिरहरूमा पूजाआजा गरेर फिल्मको शुभारम्भ गरेका थियौँ ।

    यूएसएडको कुरा आउँदा हामीले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न खोपका सचेतनामूलक कार्यक्रम बनाएका छौँ । ती सबै कार्यक्रम युट्युबमा किताबजस्तै छर्लङ्ग राखेका छौँ । त्यो पल्टाएर हेर्नुभए हुन्छ । त्यहाँ कहीँ पनि हिन्दु, बौद्ध वा कुनै धर्मको विरोध गरेका छैनौँ । कुनै धर्मको प्रचार पनि गरेका छैनौँ ।

    २०५२ सालमा हामीले ‘पञ्चायतको सराद्धे’ भन्ने कार्यक्रममा पण्डित पात्रमाथि व्यंग्य गरेका छौँ । पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितको छोरा हुँ । व्यंग्य जसलाई पनि गर्न पाइन्छ । नेतालाई, पुलिसलाई, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यो टेलिचलचित्रको एउटा टुक्रा राखेर हामीले सनातन धर्मको विरोध गर्‍यौँ भन्नु कपोलकल्पित हो । हामी आफ्नो काममा निरन्तर लागिरहन्छौँ । यस्ता कुराहरुले हतोत्साहित हुँदैनौँ । नेपाली जनतालाई यस्ता भ्रामक कुराहरूमा विश्वास नगर्न हार्दिक अनुरोध गर्दछौँ ।

  • बाँदरलाई केरा खुवाउँदै एलिना लेख्छिन्- मलाई बर्बाद पारेर पनि चित्त बुझेको छैन कसैको !

    बाँदरलाई केरा खुवाउँदै एलिना लेख्छिन्- मलाई बर्बाद पारेर पनि चित्त बुझेको छैन कसैको !

    काठमाडौं । गायिका एलिना चौहान आफ्ना भावनाहरु पोख्न सबैभन्दा बढी टिकटक प्रयोग गर्छिन् । पछिल्लो समय उनको जीवनका हरेक आरोह अवरोह टिकटकमा प्रतिबिम्बित हुने गरेका छन् ।

    हालै मात्र श्रीमान विष्णु सापकोटासँग डिभोर्स गरेर एकल जीवनमा फर्किएकी छिन् एलिना । डिभोर्सपछि सांगीतिक क्षेत्रमा उनको व्यस्तता झन् बढिरहेको छ । उनी दिनदिनै स्टेज कार्यक्रमदेखि गीत रेकर्डिङ भ्याइहेकी हुन्छिन् ।

    यता, टिकटकमा पनि एलिनाको सक्रियता घटेको छैन । पछिल्ला दिनमा उनले टिकटकमार्फत आफ्नो दैनिकीहरु देखाइरहेकी हुन्छिन् । तर, उनले आज हालेको भिडिओमा लेखेका शब्दहरुले भने उनी सामान्य मनोदशामा फर्किन नसकेको संकेत गर्छ ।

    एलिनाले कतै जंगलछेउ सडकमा आफ्नो गाडी रोकेर बाँदरलाई केरा फ्याँकिरहेको भिडिओ हालेकी छन् । उक्त भिडिओको क्याप्सन भने यस्तो छः

    बर्बाद भएर पनि चित्त बुझाइराछु । म बर्बाद पारेर पनि चित्त बुझेको छैन कसैको । सकेको गर अझै के के बाँकी छ । कसैले नदेखे भगवान छन् । अरुलाई बदनाम गरेर कति इज्जत कमाउछौ हेरौला नि

    यी शब्दहरु कोप्रति लक्ष्यित हुन् भन्ने स्पष्ट छैन । कमेन्टमा धेरैले चाहिँ पूर्वपतिलाई नै हो कि भन्ने आशंका व्यक्त गरेका छन् ।

    एकजनाको प्रतिक्रिया यस्तो छः

    ‘गल्ती बुढाको भए पनि सासु-ससुरा नि खराब थिए त ? उनीहरुबाट सम्झाउन सकिदैनथ्यो र ? जो जस्तो भएपनि उसलाई छोड्दिनँ, तर सुधार्छु भनेर साथ दिनु नै माया हो । त्यो नै प्रेम हो ।’

    यो प्रतिक्रियामा एलिनाले जवाफ दिएकी छन्, ‘कसैको जिन्दगीमा घाँडो नबन्नु पनि माया नै होला ।’

    डिभोर्सपछि एलिनाका पूर्वपति विष्णु सापकोटाको तर्फबाट भने कुनै पनि सार्वजनिक प्रतिक्रिया आएको छैन ।

     

  • सेन्सर बोर्डप्रति तान्डवम् निर्देशकको असन्तुष्टि : कथाको मर्म मर्नेगरी काट्न भनियो

    सेन्सर बोर्डप्रति तान्डवम् निर्देशकको असन्तुष्टि : कथाको मर्म मर्नेगरी काट्न भनियो

    काठमाडौं । फागुन ९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ताण्डवम्’ लाई सेन्सरबोर्डले रोकेको छ । चलचित्रमा अत्याधिक हिंसात्मक दृश्य रहेकाले ती दृश्यलाई हटाएर ल्याउन भन्दै सेन्सर बोर्डले मंगलबार सेन्सर रोकेको हो ।

    सेन्सर रोकिएसँगै आज बुधबारलाई चलचित्रको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित गरिएको छ । चलचित्र हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काँटेर ल्याउन भनेको निर्देशक जुनिम गहतराजले जानकारी दिए ।

    गहतराजले भने, ‘केही दृश्यहरु अत्याधिक हिंसात्मक भयो भन्दै चलचित्र सेन्सरमा रोकिएको छ । अब, ती दृश्यहरु काँटेपछि सिनेमाको जुन मर्म छ त्यो मर्छ ।’

    दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले आग्रह गरे पनि सेन्सर बोर्डले अस्वीकार गरेको बताइएको छ । चलचित्रमा रहेको ६ मिनेट लामो हिंसात्मक दृश्यलाई ३ मिनेटमा घटाउन निर्देशन दिएको गहतराजले बताए ।

    तर, सेन्सर बोर्डले काट्न लगाएका सिनहरु काटेरै भए पनि तोकिएकै मितिमा चलचित्र चलाउने गहतराजले बताए । ‘आउँदो शुक्रबारबाटै चलचित्र प्रदर्शनमा त ल्याउनुपर्ला । रिभेन्ज स्टोरी हो, अब त्यति धेरै दृश्य काट्नु पर्दा समस्या आइपर्छ,’ गहतराजले निराश हुँदै भने, ‘सेन्सर बोर्डसँग विवाद गर्ने हाम्रो हैसियत नै छैन । काटेर भए पनि चलचित्र चलाउनैपर्यो नि ।’

    चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । चलचित्रले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

    चलचित्र फागुन ९ गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

  • ‘लाज शरणम्’ मुद्दामा निर्देशक समाजको आपत्ति- अदालतको आदेशले सर्जकलाई नराम्ररी झस्काएको छ

    ‘लाज शरणम्’ मुद्दामा निर्देशक समाजको आपत्ति- अदालतको आदेशले सर्जकलाई नराम्ररी झस्काएको छ

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को मुद्दालाई लिएर ‘नेपाल चलचित्र निर्देशक समाज’ले आपत्ति जनाएको छ।

    बुधबार सामाजिक संजालमा एक विज्ञप्ति जारी गर्दै चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले चलचित्र ‘लाज शरणम्’को प्रचार सामग्री रोक्न आदेश दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

    फाट्टफुट्ट आएका प्रचार सामग्रीको भरमा उच्च अदालत पाटनले चलचित्रमाथि अंकुश लगाउने आदेश दिएको आरोप विज्ञप्तिमा उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ,‘कुनै पनि व्यक्ति, समाज, समुदाय, संस्कार र संस्कृतिको मानमर्दन गर्ने चलचित्रहरु सेन्सर बोर्डले जाँच गर्नुपर्नेमा फाट्टफुट्ट आएका प्रचार सामग्रीको भरमा चलचित्रमाथि अंकुश लगाउने आदेश जारी हुँदा करोडौं लगानी जोखिममा परेको छ।’

    ‘चलचित्रको कथाले कुनै व्यक्ति वा समुदायको व्यक्तित्व, संस्कार र संस्कृतिलाई आघात पुर्यायो कि पुर्याएन भनेर जाँच गर्नलाई चलचित्र विकास बोर्ड र चलचित्र जाँच पास आदि निकाय अस्तित्वमा छन। चलचित्र जाँच पास समितिसँग त्यस्ता व्यक्ति वा समुदायको मानमर्दन गर्ने चलचित्र रोक्का गर्ने अधिकार निहित हुन्छ,’विज्ञप्तिमा लेखिएको छ।

    अदालतबाट आएको आदेशले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको पराजुलीको भनाइ छ। भने निदेर्शक समाजले ‘लाज शरणम्’ र यस्तै प्रकृतिका कानूनी लडाइँमा रहेका अन्य चलचित्रहरुको साथमा रहेको ऐकवद्धता जारी गर्दै चलचित्रसँग सम्बन्धित संघसंस्थालाई गोलबद्ध हुन आग्रह गरेको छ।

    यसका अलावा अध्यक्ष पराजुलीले भविष्यमा आउने सम्भावित चुनौतिहरुलाई मध्यनजर गरी परिपक्वताका साथ काम गर्न समेत आग्रह गरेको छ।

  • चलचित्रमा अदालती हस्तक्षेप, हुलिया मिल्दैमा प्रचारप्रसार रोक : लाज शरणम !

    चलचित्रमा अदालती हस्तक्षेप, हुलिया मिल्दैमा प्रचारप्रसार रोक : लाज शरणम !

    काठमाडौं । पाटन उच्च अदालतले हिजो एक अन्तरिम आदेश जारी गर्दै प्रदर्शनको संघारमा रहेको बहुप्रतिक्षित चलचित्र ‘लाज शरणम’ को प्रचारप्रसारमा रोक लगाइदियो । अदालतबाट नेपाली चलचित्रमाथि हस्तक्षेप भएको एक महिनाभित्र यो दोस्रो घटना हो ।

    यसअघि गत माघमा जिल्ला अदालत काठमाडौंले ‘एक्टर टेक वान’ को प्रदर्शन नै रोक्ने गरी आदेश दिएको थियो । सो आदेशका कारण निर्धारितभन्दा तीन दिन पछि चलचित्र रिलिज हुन सक्यो । यसबाट करोडौँ घाटा भएको गुनासो निर्माण पक्षले गर्दै आएको छ ।

    चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टीमले बनाएको ‘लाज शरणम’ को रिलिज डेट आउँदा फागुन १४ गतेलाई तोकिएको छ । चलचित्रका प्रमुख पात्र सिताराम कट्टेल धुर्मुसले निभाएको चरित्रमाथि आपत्ति जनाउँदै पूर्वमन्त्री मोहम्मद अफताब आलमले रिट हालेका थिए ।

    चलचित्रको पोस्टर र टिजरमा उक्त पात्रको हुलिया आफूसँग मेल खाएको भन्दै उनले प्रदर्शन रोक्न माग गरेका थिए । आफूसँग अनुमति नलिईकन आफ्नो चरित्र उतारिएको आलमको आरोप छ ।

    अदालतले चलचित्रको रिलिज रोक्न भनेको छैन । तर, चलचित्र सेन्सर पास नहुँदासम्म कुनै पनि माध्यमबाट प्रचारप्रसार नगर्न आदेशमा भनिएको छ ।
    अन्तरिम आदेशमा लेखिएको छ, ‘ चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ३, ८ (१) बमोजिम चलचित्र निर्माण तथा प्रदर्शनका लागि चलचित्रको स्क्रिप्ट चलचित्र विकास बोर्डको सिफारिसमा नेपाल सरकार सञ्चार मन्त्रालयमा रहेको केन्द्रीय चलचित्र जाँच समितिमा अनुमतिका लागि पेश भई ऐ. दफा ८ (३) बमोजिम निर्णय भइसकेको अवस्था देखिएन । निवेदकको संविधान÷कानून प्रदत्त हक–अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम’ नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यमहरूमा प्रचार–प्रसार र सो सम्बन्धी पोस्टरहरू प्रकाशन, प्रशारण नगर्नु नगराउनू…’

    उच्च अदालतका कामु मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश हेमन्त रावलको इजलासले निवेदकको पक्षमा अन्तरिम आदेश दिएको हो । सामाजिक सञ्जालमा थुप्रै चलचित्रकर्मीहरूले अदालतको यस्तो आदेशप्रति असन्तुष्टि पोखिरहेका छन् । अदालतको यो आदेशले चलचित्रको भविष्यमाथि नै प्रश्न उठेको छ ।

    निर्माण पक्षले अदालतको आदेशमा कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, आज हुने भनिएको ट्रेलर रिलिज स्वतः रोकिएको छ । अब छिटोभन्दा छिटो सेन्सर पास गर्ने तयारी निर्माण पक्षले गरेको छ । सकेसम्म भोलि नै चलचित्र विकास बोर्डबाट सिफारिस लिएर सेन्समा पठाइने चलचित्र सम्बद्ध स्रोतले बतायो ।

    ‘अन्तिमको एउटा स्याड गीतबाहेक सबै काम लगभग सकिएको छ,’ स्रोतले भन्यो, ‘आज सार्वजनिक बिदा भएकाले भोलि मात्र सेन्सर प्रक्रियामा लैजान्छौँ ।’

    चलचित्रको भविष्य अब सेन्सर बोर्डको हातमा पुगेको छ । हुन त सबै चलचित्र सेन्सर बोर्डबाटै पास हुनुपर्ने हो । तर, अदालतको आदेशका कारण यो चलचित्रप्रति बोर्डका सदस्यहरू बढी संवेदनशील बन्नेछन् । यद्यपि, सेन्सर बोर्डले कुनै किचलो नगर्नेमा चलचित्रको निर्माण पक्ष ढुक्क देखिन्छन् ।

    चलचित्रमा धुर्मुसको हुलिया अवश्य पनि मोहम्मद अफताब आलमसँग मिल्दोजुल्दो छ । तर, निर्माण स्रोतका अनुसार यो चरित्रसँग आफताबको कुनै पनि लेनादेना छैन । ‘हुलिया मात्रै मिलेको हो, चरित्र उनको होइन,’ स्रोतले भन्यो, ‘सेन्सरले औँला उठाउने ठाउँ छोडेका छैनौँ ।’

    समाचारहरूमा आए अनुसार चलचित्रमा धुर्मुसले एक भारतीय व्यापारीको भूमिका निभाएका छन् । यो एउटा हास्यप्रधान चरित्र हो ।

    नेपालमा कुनै पनि पब्लिक फिगरको हुलिया उतारेर अभिनय गर्ने सिलसिला पुरानो भइसकेको छ । हुलिया मात्र होइन, पात्रकै नक्कल गरिएका थुप्रै उदाहरण छन् । राजतन्त्र कालमै तत्कालीन राजा ज्ञानेन्द्रको नक्कल गरेर मनोज गजुरेल हिट भए ।

    उनले माओवादी अध्यक्ष प्रचण्डदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको नक्कल गर्दै आएका छन् । धुर्मुस स्वयम् पनि हालका प्रधानमन्त्री केपी शर्मा ओलीको अवतारमा देखिने गरेका थिए । कमेडियनहरुले अभिनेता राजेश हमालदेखि पत्रकार ऋषि धमलासम्मको हुलियासहित क्यारिकेचर गर्ने गरेका छन् ।

    मानिसहरूले जिउँदो ईट्टाभट्टामा हालेर मारेको अभियोगमा दोषी प्रमाण भएका आलम आजीवन जेल सजाय खेपिरहेका छन् । उनले वारेसमार्फत ‘लाज शरणम’ विरुद्ध मुद्दा हालेका थिए ।

    अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले आलमको पक्षबाट बहस गरेको बुझिएको छ । यस्तै जेपीटी क्रियसनको तर्फबाट टिकाराम भट्टराईले बहस गरेका थिए । चलचित्र विकास बोर्डले पनि ‘लाजशरणम’को प्रतिरक्षा गरेको थियो ।

  • सम्वन्धविच्छेदको मुद्दा टुंगिएपछि शिल्पा ओशोको शरणमा, यस्ताे पाइन् नयाँ नाम

    सम्वन्धविच्छेदको मुद्दा टुंगिएपछि शिल्पा ओशोको शरणमा, यस्ताे पाइन् नयाँ नाम

    काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ओशो सन्यासी बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेको अभिनेत्री तथा ओशोमार्गी सोधिता सिम्खडाले बताइन् ।

    शिल्पा ओशोमार्गी बनेको जानकारी दिँदै सोभिताले लेखेकी छन्, ‘शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुण ज्युको हातबाट ओशोको नवसन्यास दिक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु ।’

    शिल्पा ओशोमार्गी बनेको फोटो र भिडियो पनि सोभिताले सामाजिक सञ्जालमा लेखेकी छन् । साथै अबको अध्यत्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी भविष्य तर्फ डोर्याओस् भनेर कामना समेत गरेकी छन् ।

    चलचित्र ‘लज्जा’बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी शिल्पाले नौवटा चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको पछिल्लो चलचित्र ‘भिलेन’ सात वर्षअघि प्रदर्शन भएको थियो ।

    यो बीचमा चलचित्र नखेले पनि पूर्वपति छविराज ओझासँगको वैवाहिक सम्बन्धका कारण चर्चामा रहिन् ।

    एक महिनाअघि मात्रै शिल्पा र छविराजबीच कानुनी रुपमा सम्बन्ध विच्छेद भएको थियो । शिल्पाले छविराजबाट पाँच करोडको घर लिएको समाचारहरु बाहिरिका थिए । तर, शिल्पाले यो विषयलाई नकार्दै आएकी छन् ।

  • रंगकर्मी राई अभिनित ‘वर्णन’ म्यूजिक भिडिओ रिलिज

    रंगकर्मी राई अभिनित ‘वर्णन’ म्यूजिक भिडिओ रिलिज

    काठमाडौं । रंगकर्मी शान्त कुमार राई अभिनित वर्णन बोलको म्यूजिक भिडिओ सार्वजनिक भएको छ । हाल बेलायत निवासी राईलाई भिडियोमा मोडल बिमला खाजुम लिम्बुले साथ दिएकी छन् ।

    सुजन आङ्देम्बे लिम्बुको शब्द, संगित तथा स्वर रहेको गीत आइतबार युटुब च्यानल एसकेआर पिक्चरबाट सार्वजनिक भएको हो । गीतमा मायालु जोडीका प्रेम, रोमान्सका कथालाई प्रस्तुत गरिएको छ । भिडिओे मकवानपुरको कुलेखानी, चित्लाङ लगायत विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।

    इशाक जबेगुको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ। ओखलढुंगा वाक्साका राई हाल बेलायतमा बस्दै आएका छन् । बेलायतमा रहेर पनि आफ्नो कलाकारितालाई निरन्तरता दिईरहेका छन् । यस अघि पनि राईले केही गीतहरुको म्यूजिक भिडियो तथा छोटा सिनेमाहरुमा निर्देशन समेत गरेका छन् ।

    राईले यस अघि म पर्खि रहेछु गीतमा समेत अभिनय गरिसकेका छन् । कलाकारिता आफ्नो सपना रहेकोले यसलाई निरन्तरता दिदैं जाने राईको भनाई छ ।

  • `लाजशरणम´विरूद्ध आलमले थापे अड्काे, अदालतले दियाे यस्ताे आदेश

    `लाजशरणम´विरूद्ध आलमले थापे अड्काे, अदालतले दियाे यस्ताे आदेश

    काठमाडौं । प्रदर्शाेन्मुख चलचित्र ‘लाजशरणम’ सेन्सर पास हुनुअघि कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न अदालतले आदेश दिएको छ ।

    पूर्वमन्त्री मोहम्मद आफताब आलमले चलचित्रविरूद्ध हालेको रिटमा सो आदेश आएको हो ।

    चलचित्रमा सिताराम कट्टेल धुर्मुसले निभाएको भूमिका आफूसँग मिलेको भन्दै आलमले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । अदालतको आदेशले भोलि हुने भनिएको ट्रेलर रिलिज रोकिएको छ ।

    उच्च अदालतले मंगलबार छलफलका लागि दुई पक्षलाई बोलाएको थियो । आलमका वकिलहरुले धुर्मुसले निभाएको चरित्रमाथि आपत्ति जनाएका थिए । उनको गेटअप हुबहु आलमको जस्तै भएकाले यसबाट आलमको मानहानी हुने उनीहरुको तर्क थियो ।

    लाजशरणमको तर्फबाट बहस गरेका वकिलहरुले भने सो चरित्रको आलमसँग कुनै लेनादेना नभएको बताए । गेटअप मिल्दैमा मानहानी नहुने उनीहरुको तर्क थियो ।

  • प्रधानमन्त्रीलाई नीता ढुंगानाको खुलापत्र- बिन्ती छ, देशको इज्जत बचाइदिनुस्

    प्रधानमन्त्रीलाई नीता ढुंगानाको खुलापत्र- बिन्ती छ, देशको इज्जत बचाइदिनुस्

    काठमाडौं । नायिका नीता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै देशको इज्जत बचाइदिन अनुरोध गरेकी छन् । उनले आफ्ना सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै प्रधानमन्त्रीलाई नेपालको इज्जत जोगाइदिन र नेपाली जनताको भावना बुझिदिन अनुरोध गरेकी हुन् ।

    भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी)मा भएको प्रकृति लम्सालको घटना र सोही घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका प्रदर्शनरत नेपाली विद्यार्थीहरूमाथि गरिएको अत्याचारलाई मध्यनजर गर्दै नीताले खुलापत्र लेखेकी छन् ।

    पत्रमा उनले लेखेकी छन्, ‘प्रिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू । नमस्कार, म कलाकार नीता ढुंगाना । केही समय यतादेखि फोटो खिच्ने र फोटो खिचाउने कामबाहेक देशको उन्नति, प्रगति र देशमा के भइरहेको छ भन्ने हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौं । कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म आज दोधारमा छु ।’

    नीताले आफ्नो मनमा धेरै प्रश्नहरु गडिएर बसेको बताउँदै ओलीलाई प्रश्न गरेकी छन्, ‘ममात्र होइन, जसले तपाईँलाई राम्रो सोच्ने तपाईंका प्रिय जनता छन्, उनीहरूको मनमा पनि धेरै प्रश्न गडिएर बसेका होलान् । खै, त्यो जोश ? खै त्यो जाँगर ? खै देशप्रति केही गर्छु भन्ने भावना ? खोइ त्यो दृढता ? आज देखिएको छैन प्रधानमन्त्री ज्यू ।’

    नीताले पत्रमा राजनीतिका कुरा र नीतिबारे आफूहरुलाई थाहा नभएको पनि जनाएकी छन् । ‘हामीले देशको हित र नेपाली जनताको लागि तपाईँले बोलेका शब्दहरूमा विश्वास गर्ने हो । तपाईंले देखाएका सपनाहरूमा हामीले आफ्नो सपना देख्ने हो’, उनले भनेकी छन्, ‘तर यो विश्वास विश्वासमा मात्र सीमित रह्यो । सपनामा मात्र सीमित रह्यो । दुःख लाग्छ, हामीलाई प्रधानमन्त्री ज्यू !’

    उनले भारतको ओडिसामा घटेको प्रकृति लम्सालको केशले आफूलाई दुखी तुल्याएको पनि बताएकी छन् । उनी लेख्छिन्, ‘भर्खरैमात्र भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनुपर्‍यो । धेरै नेपाली विद्यार्थीलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ । उक्त विश्वविद्यालय व्यवस्थापन समितिको अध्यक्षले नेपाली चेलीको न्यायको मागको अपहेलना गर्दै प्रतिकार गर्ने क्रममा यस विद्यालयको बजेट जति तिमीहरुको देश नेपालको राष्ट्रिय बजेट पनि छैन भनेर नेपालको बेइज्जत गरेकी रहिछन् ।’

    उक्त विश्वविद्यालयले लगाएको आरोप यथार्थ भएको नीताको भनाइ छ । अन्तर्राष्ट्रिय मञ्चमा देशकै बेइज्जत भएको भन्दै उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै लेखेकी छन्, ‘कहिलेसम्म यस्तै बेइज्जत हामीले खेपिरहनु पर्ने हो ? नेपालको यो हालत कसले बनायो ? विगत केही वर्षदेखि नेपालको शासक तपाईंहरू काङ्ग्रेस, एमाले, माओवादी हो, अब यो बेइज्जतको जिम्मेवारी तपाईंहरूले लिनुपर्ने कि नपर्ने ? बिन्ती छ, नेपालको इज्जत जोगाइदिनुस् । बिन्ती छ, नेपाली जनताको भावना बुझिदिनुस् ।’

  • ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक

    ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक

    काठमाडौं । महाशिवरात्रीको दिन फागुन १४ गते रिलिज हुने चलचित्र ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट ७ सेकेन्ड लामो ट्रेलरमा चलचित्रका सबै पात्रलाई अटाइएको छ।

    चलचित्रमा अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

    चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ ।

    सुशन प्रजापतिको छायांकन र आकाश बरालको पटकथा रहेको चलचित्रमा नरेश किङ योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइबा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन छ ।

    सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनकविक्रम कँडेल निर्माता तथा सुरज बम ठकुरी कार्यकारी निर्माता र सहनिर्मातामा एनी थापा छन् । चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।

  • धुलिखेलमा आउटडोर स्टुडियो बनाइने- नगरपालिका र चलचित्र विकास बोर्डबीच जग्गा हस्तान्तरण सम्झौता

    धुलिखेलमा आउटडोर स्टुडियो बनाइने- नगरपालिका र चलचित्र विकास बोर्डबीच जग्गा हस्तान्तरण सम्झौता

    धुलिखेल । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्डका र धुलिखेल नगरपालिकाबीच १३ सय रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।

    नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच सम्झौता भएको हो । अध्यक्ष डीसीले धुलिखेलमा चलचित्र विकास बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे ।

    उनले भने, ‘यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ । यहाँ प्राकृतिक सुन्दरता र अत्यधुनिक प्रविधि संयोजन गरेर चलचित्र निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।’

    नगरपालिकाका मेयर श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि धुलिखेल नगरपालिकाले हरतरहले साथ दिने बताउँदै भने, ‘यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा उभ्याउनेछ । पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी सिर्जना गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्नेछ ।’

    उक्त सम्झौता कार्यक्रममा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा, उपमेयर निराजन जंगम, चलचित्र विकास बोर्ड सदस्य केवल पीडित तथा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्कालगायतको उपस्थिति थियो ।

    नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय चलचित्र निर्माता तथा निर्देशकहरूलाई समेत आकर्षित गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाइने बोर्डले जनाएको छ ।

  • कमेडी दरबारमा मनोज गजुरेलको इन्ट्री, होस्टमा विक्की र सजना

    कमेडी दरबारमा मनोज गजुरेलको इन्ट्री, होस्टमा विक्की र सजना

    काठमाडौं । चर्चित टीभी रियालिटी शो कमेडी दरबारमा प्रख्यात हास्यकलाकार मनोज गजुरेलको इन्ट्री भएको छ । विजय बराल बाहिरिएपछि गजुरेललाई ‘महाराज’ को भूमिकामा ल्याइएको हो ।

    यसैगरी कार्यक्रमको होस्ट पनि परिवर्तन भएको छ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठ बाहिरिएकी छन् । उनीसँग २६ एपिसोडसम्मको सम्झौता थियो ।

    अब कार्यक्रमको सञ्चालन विक्की अग्रवाल र सजना खनालले गर्नेछन् । विक्की कार्यक्रमका प्रोड्युसर पनि हुन् ।

    कमेडी दरबारको महारानीको भूमिकामा गौरी मल्लले निरन्तरता पाउनेछिन् । प्राइम टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रम अहिले निकै लोकप्रिय छ ।

  • कसरी जन्मियो ‘मयाली’ ? वसन्त थापा भन्छन्- बागलुङमा टिपेको भाका हो

    कसरी जन्मियो ‘मयाली’ ? वसन्त थापा भन्छन्- बागलुङमा टिपेको भाका हो

    काठमाडौं । हिजोआज सार्वजनिक भएका धेरैजसो गीत दर्शकले अत्यधिक रुचाइरहेका छन् । जुन संगीतकर्मी र संगीतप्रेमी सबैको लागी खुसीको खबर पनि हो । त्यसमा पनि आधुनिक गीतको तुलनामा मौलिक तथा लोकसंगीतका भाकामा बनाइएका गीत बढी चलेको पाइन्छ । केही दिनअघि मात्र शान्ती श्री परियारको गीत ‘अरेली काँडैले’ १० करोड भ्यूज पार गरेको छ । चलचित्र ‘खुस्मा’ को गीत ‘रुकुमैकोट’ ले पनि १० करोड भ्यूज पार गर्दै केहीसमय सामाजिक सञ्जाल ततायो ।

    यतिबेला सर्जक तथा गायक वसन्त थापाले निर्माण गरेको गीत ‘मयाली’ ले यतिबेला दर्शकलाई झुमाइरहेको छ । गीतलाई दर्शकको राम्रो साथ मिलिरहेको छ भने दुई हप्ताअघि मात्र रिलिज भएको यो गीतलाई ३९ लाख पटक हेरिएको र सुनिएको छ । यो गीतको कति टुक्काहरू सामाजिक संजालमा भाइरल छन । धेरैले यो गीतमा टिकटक बनाएर हालेका छन् । चलेका कलाकारहरू समेतले गीतको प्रशंसा गर्दै आफ्नो फेसबुक वालमा भिडिओ शेयर गरेको देखिन्छ ।

    गीतको शब्द तथा संगीत वसन्त थापाकै हो । गीतलाई एचबीएन किस्मतले एरेन्ज गरेका छन् । गायनमा थापालाई देवी घर्तीले साथ दिएकी छिन् । भिडिओमा वसन्त थापा स्वयं छन् । भिडिओमा उनको अपोजिटमा लक्ष्मी थापा मगरको अभिनय छ ।

    वसन्त थापा उनै सर्जक हुन, जसले दर्शकलाई हिट गीत ‘सालको पात टपरी’ दिएका थिए । यो गीतलाई अहिलेसम्म झण्डै ९९ मिलियन अर्थात ९ करोड ९५ लाख पटक हेरिएको छ । ९ लाख ७९ हजार सब्सक्राइबर भएका थापाले यो मात्र होइन, थुप्रै हिट गीतमार्फत दर्शकलाई झुमाइसकेका छन् । ‘बोकेझार’, ‘जाम सुस्तै’, संगीत रहेको ‘चौतारीको बर’ जस्ता गीतले दर्शकको मन जितेका छन् । उनै वसन्तले यसपालि आइरहेका भन्दा भिन्न गीत ‘मयाली’ ल्याएका हुन् । यो गीतले चर्चा पाइरहँदा कतिपयको ‘यो कस्तो खालको गीत हो’ भन्ने जिज्ञासा छ । फरक बिट सुनिएको यो गीत कहाँ को होला भन्ने धेरैमा कौतुहल छ । सुनेको र राम्रो लागेको भरमा गीतको टुक्कामा भिडिओ बनाए पनि यो गीतले कुन क्षेत्रलाई समावेश गर्छ भन्नेमा धेरै अनविज्ञ छन् ।

    थापाका अनुसार मयाली विशेषगरी मगर समुदायमा प्रचलित ‘मयाली भाका पच्चेबाजा’ को एकोहोरो बिट हो, जुन खण्डखण्डमा गाइन्छ । जसलाई थापाले खण्डखण्ड नगरी एउटा सिंगो गीत बनाएर दर्शकमाझ पेश गरे। यस्तै अन्य थुप्रै जिज्ञासाहरूलाई मध्यनजर गदै ‘मयाली’ गीतबारे सर्जक तथा गायक बसन्त थापासँग गरिएको संक्षिप्त कुराकानी-

    – मयालीको अर्थ के हो ?

    ‘मयाली’ भनेको मायालु, प्रेमिका वा आफूलाई माया गर्ने मान्छेलाई मायालु तरिकाले भन्ने शब्द हो। यो पश्चिमतिरको शब्द हो। अझ विस्तृत रूपमा भन्नुपर्दा, यो ढोरपाटन क्षेत्र वा भनौँ गण्डक क्षेत्र, त्यसमा पनि खासगरी बागलुङको पश्चिम भेग र म्याग्दीको केही क्षेत्रमा गाइने मौलिक भाका हो । यो एउटा पञ्चेबाजाको बिट हो । म आफैँ पनि बागलुङको हुँ । यो मायालु नै भनेको हो, उतातिर यसलाई मयाली भनेर उच्चारण गरिन्छ ।

    – यो गीत कसरी जन्मियो ?

    मैले पहिला एकचोटि त्यो भेगमा जाँदा, यो बाजाको बिट सुनेको थिएँ । यो धेरै वर्ष अगाडिको कुरा हो। त्यो बिट मलाई एकदमै धेरै मन परेको थियो । बिटले मेरो मन छोएको थियो । त्यहीँ बिट ‘मयाली’ भएर जन्म लिएको हो । यो गीतले मयालीको सम्पूर्ण परिचय भने बोल्दैन । केही संरचनाहरू मात्रै बोल्छ । यसको संरचना अर्कै छ । मयालीको मौलिक संरचना बुज्न र खण्डीकृत मयाली सुन्न बागलुङको पश्चिम क्षेत्रमै जानुपर्ने हुन्छ । यसबारे अध्ययन गर्नुपर्छ । मयाली अझै विशेष अनि मौलिक छ । मैले त्यसलाई सबै दर्शकले बुज्ने गरी अलिकति फ्युजन परिस्कृत गरेर ल्याएको हुँ । खासमा मयाली टुक्का-टुक्का बनाएर गाइन्छ । यसमा बाजाको एकोहोरो ताल हुन्छ । मैले चाहिँ मयाली भन्ने थेगो र बिट लिएर एउटा सिंगो गीत बनाएको हो । जे होस्, सबैले रुचाइदिनु भएको छ । खुसी छु ।

    – अरु गायक नलिएर किन आफैँले गाउनुभयो ?

    (हाँस्दै) मयाली गाउन त्यति सजिलो छैन । यसको लवज, संरचना र बिट लिन अलि गाह्रै भएकाले त्यहीँ परिवेशलाई बुजेको गायक-गायिकाले गाउँदा अलि उचित होला भनेर मैले नै गाएको हो । हुन त म, आफूलाई खासै गायक मान्दिनँ । तर, पनि आफूले गाउँदा ठिकठिकै लागेर गाएको हो ।

    – कस्ता प्रतिक्रियाहरू पाइरहनु भएको छ गीतबाट ?

    सबै खुसी हुनुहुन्छ । तारिफ गरिरहनुभएको छ । राम्रा प्रतिक्रियाहरू पाइरहेको छु । हामीले भिडिओमा त्यहीँका स्थानीय वासिन्दाहरूलाई राखेका छौं । कोरस डान्सरहरू सबै त्यहीँको हुनुहुन्छ । गीतको भिडिओमार्फत हेर्ने दर्शकलाई मयाली बिट र ढोरपाटन क्षेत्र कैद गर्न सजिलो भइरहेको छ । नयाँ र पुराना पुस्ता दुई किनारा भएका थिए भने मैले यो गीतमार्फत पुलको काम गरेजस्तो लाग्छ । नयाँ पुस्तालाई पनि यो बिट बारे थाहा पाउने अवसर मिलेको छ ।

    – भिडिओ सुट कहाँ भएको हो ? कत्तिको गाह्रो भयो सुटिङ गर्न ?

    यो ढोरपाटन क्षेत्रमा सुट भएको हो । त्यहीँ भेगमा सुट भएको हो, जहाँ मयाली चल्छ, जुन भेगमा ओर्जिनल मयाली पाइन्छ । यो गीतको भिडिओ सुट गर्न भने एकदमै जटिल भयो । एक त सुख्खा ठाउँ, त्यहीँ माथि धुलोसहितको हावा-हुरी चल्ने मौसम । एकदमै ठूलो हुरी चल्छ त्यहाँ त्यसैले गाह्रो भयो । दिनको ११ बजेदेखि १,२ बजेसम्म त हावाहुरी कति खेर रोकिन्छ भनेर पर्खिनु पर्थ्यो । बेलुका पनि उस्तै । तर, जस्तो भएपनि, ५ दिन लगाएर हामीले गीतको सुट सक्यौं ।

    –५ दिन एउटा गीतको लागि भनेको लामो समय हो । गीतमा कति खर्च भयो ?

    भिडिओको सबै काम सक्दा सम्म हाम्रो ७ लाखमाथि खर्च भयो । यातायातमा सबैभन्दा धेरै खर्च भयो । सबै टीमलाई त्यत्रो दिन खाना खुवाउनु पर्‍यो । सुतेको खर्च छुट्टै भयो । ४/५ दिन आफैले सबै बेहोर्नु पर्दा खर्च राम्रै हुन्छ । कोरसहरू चाहिँ त्यहीँ वोवाङकै हुनुहुन्थ्यो । उहाँहरूको पनि आफैं जिम्मेवारी लिएको हो ।

    – गीत बनाइरहँदा यसरी भाइरल होला भन्ने लागेको थियो ?

    मैले खासमा भाइरल हुन्छ भनेर यो गीत बनाएको हैन । चल्छुभन्दा पनि ढोरपाटनलाई देखाउँछु भन्ने थियो । मयाली बिटलाई दुनियाँमाझ चिनाउँछु भन्ने थियो । असाध्यै मिठो बिट भएकाले पर–परसम्म यो बिट पुग्नुपर्छ भन्ने मेरो धारणा थियो । सबैले मन पराउनुहुन्छ कि भन्ने चाहिँ मनमा थियो । नयाँ पुस्ताहरूले पनि राम्रो पाराले यो गीतलाई स्विकार्नुभएको छ । अहिले म एकदमै खुसी छु, मेरो जुन लक्ष्य थियो, त्यो पूरा भयो ।

    – तपाईँलाई के कारणले गीत यति धेरै चले जस्तो लाग्छ ?

    धेरै चिजहरू छन् । एक त मानव शरीर र आत्मालाई चाहिने भाइब्स छ । नृत्यको लागि पनि हामीले यसलाई मिठो तरिकाले प्रस्तुत गर्न सक्छौं । गीत नजानेरै आँखा चिम्म गरेर सुन्यौं भने पनि यसको रागले अध्यात्म र योग ध्यान तिर लान सक्छ । आत्म शान्ति महसुस गराउँछ यसले । त्यही भएर दर्शकले रुचाउनु भएको हो जस्तो लाग्छ ।

    – पछिल्लो समय तपाईंका गीतहरू अलि कम आएका थिए । किन होला ?

    कमभन्दा पनि मेरो ग्याप नै भएको हो । निरन्तरता त दिइरहेको थिएँ तर आफ्नै व्यक्तिगत कामहरूले गर्दा बीचमा केही ग्याप भयो । साथै, अब केही सिर्जना पस्किँदा राम्रै अध्ययन गरेर खोजमूलक कुरा नै प्रस्तुत गरौं भन्ने पनि थियो । त्यही भएर पनि केही ढिला भयो ।

    – अरेली काँडैले गीतले तपाईँको सालको पातको भ्यूजलाई टपेर १० करोड कटाएको छ । कस्तो लागेको छ ?

    राम्रो लागेको छ मलाई त । सधैँ एउटा मान्छेको सिर्जना त्यहीँ स्थानमा बसिरहन सक्दैन । सगरमाथामा पनि त सधैँ मान्छे बसिरहन सक्दैन । पुगेर फर्किने हो । गीतहरू पनि त्यस्तै हुन् । यात्रा हो, सिर्जना हुन् । समयअनुसारको सिर्जनाहरू जन्मिन्छन् । त्यो सिर्जनाले आफ्नै प्रकारको आकार लिन्छ । यो प्राकृतिक कुरा हो । यसमा दु:खी हुने कुरै हुँदैन ।

    मयाली गाउन त्यति सजिलो छैन । यसको लवज, संरचना र बिट लिन अलि गाह्रै भएकाले त्यहीँ परिवेशलाई बुजेको गायक-गायिकाले गाउँदा अलि उचित होला भनेर मैले नै गाएको हो । हुन त म, आफूलाई खासै गायक मान्दिनँ । तर, पनि आफूले गाउँदा ठिकठिकै लागेर गाएको हो ।

    –अहिले तपाईलाई लोकसंगीतमा विकृति बढिरहेको जस्तो लाग्छ ?

    विकृति त छ नि ! यो पनि प्राकृतिक नै हो । चामलमा बियाँ भएजस्तै हो यो पनि । समाजमा राम्रोमात्र भयो भने नराम्रो केलाई भन्ने ? अनि नराम्रो मात्र भयो भने राम्रो केलाई भन्नरु सामान्य नै हो यो पनि । यस्तो हुनुपर्छ ।

    – ठेट लोकगीतहरू अभाव भएका हुन् ?

    प्रस्तुतीकरण सबैको आ-आफ्नै हुन्छन् । कसैले मौलिक ढंगले त कसैले अरु नै ढंगले प्रस्तुत गर्छन् । आ-आफ्नो रुचि अनुसार प्रस्तुत हुने न हो । आफूले बुझेको समाज प्रस्तुत गर्ने हो । समाजप्रति कस्तो दृष्टिकोण छ, समाजको लबजहरू के हुन्, समाजको भेषभूषा के हो भन्ने कुरा पनि हो । मलाई के चाहिँ लाग्छ भने कहिलेकाहीँ प्रस्तुतिहरू प्रस्तुत गर्दा मान्छे नै नचिन्ने गरी मेकअप गर्न भने हुँदैन्। अहिले त देश-विदेशका मान्छेहरूले पनि हाम्रो संस्कृतिबारे अध्ययन गर्न थालेका छन् । त्यसैले पोलिस गर्दा ठिक्क तरिकाले र संरचनाको महत्तव नघट्ने गरी मेकअप गर्नुपर्छ जस्तो मलाई लाग्छ । त्यसैको प्रयास पनि हो मेरो यो ‘मयाली’।

    – अब तपाईँको अक्रो प्रोजेक्ट हेर्न फेरि दर्शकले कति कुर्नुपर्छ ?

    समय लाग्न सक्छ यसपालि पनि । केही खोजमूलक नै गरौं भन्नेछ । अहिले नै ठ्याक्कै यति भन्न सक्ने अवस्था छैन अहिले ।

  • ९ बर्षअघिकाे भारतीय फिल्म लगाउन `रंगी´ काे शाे कटौती , निर्माण पक्ष आक्रोशित

    ९ बर्षअघिकाे भारतीय फिल्म लगाउन `रंगी´ काे शाे कटौती , निर्माण पक्ष आक्रोशित

    काठमाडौं, क्युएफएक्स चेन अन्तर्गत लाबिम मलले दिइरहेको एक शो पनि हटाइदिएपछि नेपाली चलचित्र ‘रंगी’को टिम आक्रोशित बनेको छ । ‘रंगी’ गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो । तर, दोस्रो दिनबाट ‘रंगी’लाई हटाएर पुन रिलिज भएको नौ वर्षअघिको बलिउड चलचित्र ‘सनम तेरी कसम’लाई शो दिइएपछि निर्माण टिम आक्रोशित बनेको हो ।

    दर्शकको राम्रो उपस्थिति हुँदाहुँदै पनि उत्रिसकेको चलचित्र ल्याएर आफ्नो चलचित्रलाई हटाइँदा चित्त दुखेको निर्देशक सुरेश न्यौपानेले बताए । उनले नेपालप्रेसलाई भने, ‘उहाँहरुले राम्रो शो पनि दिनुभएको थिएन । बल्लतल्ल एउटा शो दिनुभएको थियो, त्यो पनि उत्रिसकेको चलचित्र ल्याएर कटौती गरिदिनुभयो । पाटनको केही संस्था र स्कुलले आइतबार चलचित्र हेर्न जान्छौं भन्नुभएको थियो, तर शो त क्यान्सिल गरिसकिएको रैछ ।’

    अकुपेन्सी नै नहुँदा शो कटौती गर्नु अलग कुरा हो तर, दर्शक आउँदा आउँदै पनि शो कटौती गरिनु दुःखलाग्दो भएको न्यौपानेको भनाइ छ । उनले दुखेसो पोखे, ‘रि रिलिज गरिएको चलचित्रलाई शो दिन उहाँहरुसँग समय हुने, तर चलिरहेको चलचित्रलाई शो दिन समय नहुने भन्ने त हुँदैन होला ।’

    अहिले हलहरुमा आठवटा चलचित्र प्रदर्शनरत छ । ‘दुखी आत्मा’, ‘रंगी’ गएको शुक्रबारबाट प्रदर्शनमा आयो । अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको ‘सारंग’ पनि केही शोहरु सहित हलमा टिकिरहेको छ । बलिउड फिल्म ‘छावा’, ‘देवा’ र ‘सनम तेरी कसम’सँगै हलिउड चलचित्र ‘क्याप्टेन अमेरिका ः ब्रेभ न्यु वल्र्ड’ प्रदर्शनरत छ ।

    चलचित्र विकासबोर्डको आधिकारिक तथ्यंक अनुसार नेपालमा जम्मा १६६ हल छन् । बिहान चार बजेबाट राति पौने १२ बजेसम्मको शो वितरण गर्दा पनि छ सय हाराहारी मात्रै हुन आउँछ । यति सानो घरेलु बजारमा नेपाली चलचित्र ठूला बजेटका विदेशी चलचित्रहरुको चेपुवामा पर्ने गरेका छन् ।

    कतिपय हल संचालकमाथि आरोप छ,– हल संचालककै लगानी भएका कम्पनीहरुले महँगो मूल्यमा विदेशी चलचित्र किनेर ल्याउँछन् । लगानी उठाउनलाई नेपाली चलचित्रलाई कम शो दिएर विदेशी चलचित्रलाई बढी शो दिन्छन् ।

    नौ वर्षअघि पुन प्रदर्शन भएको ‘सनम तेरी कसम’लाई शो दिएर ‘रंगी’लाई हटाइँदै गर्दा चलचित्रवृत्तमा चल्ने गरेका यस्ता गसिपहरुलाई बल दिएको छ । क्युएफएक्स चेन अन्तर्गत लाबिम मलले एउटा शो पनि कटौती गरेर शून्यमा झारेपछि चलचित्रको टिम आक्रोशित भएको छ ।

    शो कटौती गरेर शून्यमा झारिएपछि हिजो मिडियाकर्मीसँग चलचित्रको सिंगो टिमले आक्रोश पोख्यो । चलचित्रका निर्माता समेत रहेका मुख्य कलाकार सलोन बस्नेतले प्रश्न गरे, ‘क्युएफएक्समा मात्रै मेरो चलचित्रले शो किन पाउँदैन रु उहाँहरुलाई चित्त बुझाउन मैले के गर्नुपर्छ, मलाई थाहा छैन ।’

    निर्देशक न्यौपाने त भावुक नै बने । उनले शोका लागि आफू हलवालाहरुको मोजा धुन पनि तयार रहेको बताए । उनले भने, ‘हलवालाहरुको मोजा धुन परे पनि म तयार छु । तर, मेरो चलचित्रलाई शो देऊ न यार ।हामीले फागुन २ गते चलचित्र रिलिज हुँदैछ भनेर तीन महिनादेखि प्रचार गरेका थियौं । तर, उहाँहरु९क्युएफएक्स०को साइटमा तीन दिन अगाडि मात्रै हाम्रो पोस्टर राखियो । अब त अत्ति भयो ।’
    न्यौपानेले शोका लागि आफूले हलवालाको टाउको मालिस गर्न समेत तयार रहेको बताए । तर, आठ आठवटा चलचित्र हलमा भिडिरहँदा पनि ‘रंगी’ले सय हाराहारी शो पाएको चलचित्रका वितरक करण श्रेष्ठ क्रेजी बताउँछन् । चलचित्रको चाप अनुसार ‘रंगी’ले राम्रै शो पाएको क्रेजीको भनाइ छ ।

    हल संचालक संघका अध्यक्ष नरेन्द्र महर्जन भने शोहरुको बाँडफाँड र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा हल संचालक र वितरकबीच हुने आपसी समझदारीले निक्र्यौल गर्ने बताउँछन् । अनि चलचित्रले पाएको अकुपेन्सीले शोको निर्धारण गर्र्ने पनि उनले बताए ।

    महर्जनले भने, ‘कुनै पनि उत्पादनले सबैभन्दा पहिलो ग्राहककको विश्वास जित्नुपर्छ । हाम्रो काम त चलचित्र चलाइदिने हो । त्यो क्रममा कम शो दिइएको भन्न मिल्दैन ।’

    लाबिम मलले चलचित्र नै हटाएको भन्ने छ नि रु भन्ने प्रश्नमा महर्जनले भने, ‘चलचित्रको अन्तिम डेस्टिनेसन भनेको हल नै हो । घरेलु बक्स अफिस भएकाले सबैको गुनासाहरु आउँछन् । यस्ता कुरामा नेगोसियसन गर्दै अगाडि बढ्न सकिन्छ । यसमा वितरकले पनि फलोअप गर्नुपर्छ । ‘रंगी’ले पाएजति सबै शो मागेको पनि होइन । समन्वय गरेर मिलाउन सकिन्छ ।’

    वितरक क्रेजीका अनुसार आज मात्रै ‘रंगी’ले काठमाडौंमा ३३ शो पाएको छ । काठमाडौं बाहिर पनि यही संख्यामा पाएको छ । काठमाडौं भित्र र बाहिर गरी ६० भन्दा बढी शो पाइरहेको क्रेजीले नेपालप्रेसलाई बताए । उनले भने, ‘लाबिम मलमा पनि मैले कुरा गरिरहेको छु । उहाँहरु पनि सकरात्मक हुनुहुन्छ । छिट्टै नै शो थपिन्छ होला । छुट्टै खालको सकरात्मक माहौल बनिरहेको छ ।’

    क्रेजीका अनुसार अकुपेन्सी राम्रो नभएको खण्डमा चलचित्र फाल्ने अधिकार हलहरुलाई हुन्छ । तर, म त निर्माताको मान्छे हो, मैले निर्मातालाई साथ दिनुपर्छ । निर्माताले आफ्नो माग राख्न पाउँछ । त्यो हरेक निर्माताको अधिकारको कुरा हो । अब अकुपेन्सी बढ्दै गएपछि शो विस्तारै थपिँदै जान्छ ।’

    आजबाट हलमा अकुपेन्सी पनि बढ्दै गएको वितरक क्रेजीले बताए । अकुपेन्सी बढ्दै गएपछि स्वतः शोहरु पनि बढ्दै जाने क्रेजीको विश्वास छ । न्यौपाने निर्देशित ‘रंगी’मा बस्नेतको अलवा नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आयुषी ढकाल लगायत कलाकारको अभिनय रहेको छ । न्यौपानेका अनुसार एक करोड १५ देखि २० लाखमा चलचित्र निर्माण भएको हो ।

    अनि हलवालाले शो बाँडफाँडमा अन्याय गर्यो भनेर चलचित्र झिक्ने मनसायमा त तपाईंहरु हुनुहुन्न नि रु भन्ने प्रश्नमा न्यौपानेले भने, ‘त्यस्तो निर्णयमा पुगिसकेका छैनौं । हलबाट झिक्नलाई हामीले चलचित्र बनाएका होइनौं ।’

  • जितु नेपालकी आमाको निधन, पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै

    जितु नेपालकी आमाको निधन, पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै

    काठमाडौं । हास्यकलाकार जितु नेपाल (मुन्द्रे) लाई मातृशोक परेको छ ।

    जितुकी आमा योगमायाको ८९ वर्षको उमेरमा निधन भएको हो । उनी दमको रोगबाट ग्रसित थिइन् ।

    लोकन्थलीस्थित आफ्नै घरमा आज बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले बतायो । योगमायाका ६ छोरा र एक छोरी छन् ।

    अहिले पशुपति आर्यघाटमा योगमायाको अन्त्येष्टि भइरहेको छ । अन्त्येष्टिमा कलाकारहरू दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे माग्नेबुढा लगायत थुप्रै कलाकारहरू सहभागी भएका छन् ।

  • ‘दुःखी आत्मा’को सेन्सरः यूएईमा फेल, कतारमा पास

    ‘दुःखी आत्मा’को सेन्सरः यूएईमा फेल, कतारमा पास

    काठमाडौं । नेपालमा शुक्रबारदेखि रिलिज भएको फिल्म ‘दुःखी आत्मा’ यूएईको सेन्सरमा फेल भएको छ । यूएईमा दुई पटक सेन्सर गर्दा पनि पास नभएकाले फिल्म रिलिज हुन नसकेको निर्देशक तथा लेखक दीपेन्द्र लामाले जानकारी दिए ।

    पहिलो पटक फिल्मको सेन्सर फेल भएपछि केही दृश्य काँटछाँट गर्न लगाइएको थियो, तर दोस्रो पटक काँटछाँट गरेर सेन्सरमा लैजाँदा पनि फेल भएको निर्माण पक्षले बताएको छ ।

    मिडिया कन्टेन्टको सीमारेखाभित्र नपरेका कारण फिल्म यूएईमा पास हुन नसकेको बताइएको छ । यूएईमा ‘यूएई मिडिया काउन्सिलले’ फिल्म हेर्ने नियम छ ।

    यूएईमा फिल्म पास नभएपछि बहराइनमा पनि रिलिज नहुने भएको छ, कतारको सेन्सरबाट भने फिल्म पास भएको छ । विनाकाँटछाँट फिल्म कतारको सेन्सरबाट पास भएको निर्माण पक्षले जनाएको छ । कतारमा शुक्रबारबाटै फिल्म हलहरुमा लागिरहेको छ ।

    दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राईलगायतका कलाकारहरुले अभिनय गरेको फिल्म ‘इडी’ रोग लागेका पुरुषहरुको कथामा आधारित छ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा सुदीप ढकाल कार्यकारी निर्माता छन् ।

  • ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माताविरुद्ध अदालतमा मुद्दा

    ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माताविरुद्ध अदालतमा मुद्दा

    काठमाडौं । प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका छन् ।

    निर्माताहरू थमनकुमार भण्डारी र मोती कार्कीले ‘एक्टर’ का निर्माता सम्राट थापा र उनकी कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘अनुचित सम्वृद्धि’ मुद्दा दर्ता गरेका छन् ।

    शुक्रवार जारी गरिएको प्रेस विज्ञप्तिमा, मुद्दा किनारा नलाग्दासम्म चलचित्र प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा चलचित्र रिलिजको एक दिन अघि, माघ १५ गते, अदालतको आदेश आएपछि झन्डै ३ दिन प्रदर्शन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ ।

    निर्माताहरूले यो अप्रत्याशित आदेशले दर्शकहरूलाई असुविधा पुर्‍याएको र ‘एक्टर’का निर्माताबाट आर्थिक ब्ल्याकमेलिङको प्रयास भएको दाबी गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, “अग्रिम टिकट बुकिङ मार्फत नेपालमा करिब ४० लाख रुपैयाँको टिकट बिक्री भइसकेको र विदेशमा पनि टिकट बिक्री भइसकेको अवस्थामा, एक्कासि प्रदर्शन रोक्नुपर्दा हामीले ठूलो आर्थिक क्षति व्यहोर्नु पऱ्यो भने मानसिक आघात पनि सहनुपरेको छ ।

    यस कठिन परिस्थितिमा, हामीलाई अर्को पक्षबाट आर्थिक ब्ल्याकमेलिङको सामना गर्नुपर्‍यो, अदालत खुल्नु अगावै सहमति दिएको जस्तो गरी चलचित्र चलाउन सकिने भनियो । हाम्रो बाध्यताका कारण हामीसँग सो प्रस्ताव स्वीकार गर्नुको विकल्प थिएन ।”

    निर्माताहरूका अनुसार, बाध्यतावश सहमति गरे पनि अहिले उक्त घटनालाई गलत ठहर गर्दै डायस्पोरा इन्टरटेन्मेन्ट प्रा.लि. र सञ्चालक सम्राट थापाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो ।

    निर्माताहरूले विवाद समाधान नभएसम्म नेपालभित्र आइतबारदेखि ‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित गर्ने निर्णय लिएको जनाएका छन् । “मुद्दा किनारा लागेपछि चलचित्र पुनः प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

     

  • पत्रकार बस्नेतको गीत ‘हिँडेको बाटो’ सार्वजनिक

    पत्रकार बस्नेतको गीत ‘हिँडेको बाटो’ सार्वजनिक

    काठमाडौं । पत्रकार तीर्थराज बस्नेतले बस्नेतले ‘हिँडेको बाटो’ गीत सार्वजनिक गरेका छन् । युट्युबमार्फत बस्नेतले सार्वजनिक गरेको उक्त गीतलाई प्रवित्रा राईले कम्पोज गरेकी हुन् ।

    शुक्रबार भ्यालेनटाइन्स डेको अवसर पारेर बस्नेतले आफ्नो युट्युब च्यानलमा गीत सार्वजनिक गरेका छन् । उनले आफ्नो गीत प्रेम दिवसको अवसर पारेर आफ्नी श्रीमतीका लागि सपर्पित गरेको बताएका छन् ।

    एक दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा रहेका बस्नेत हाल श्रीमतीसँगै अस्ट्रेलियामा रहेका छन् । उनले नयाँ पत्रिका, काठमाडौँप्रेस, नेपाल समयलगायत आधा दर्जन सञ्चारमाध्यममा रहेर पत्रकारिता गर्दै आएका थिए । पछिल्लो समय बस्नेत नेपालक्लिक्समा आबद्ध थिए।

  • विवाहित दिपकराजसँग दीपाश्रीको प्रेम स्वीकारोक्ति ! भ्यालेन्टाइन्स डेमा गरिन् यस्तो पोस्ट

    विवाहित दिपकराजसँग दीपाश्रीको प्रेम स्वीकारोक्ति ! भ्यालेन्टाइन्स डेमा गरिन् यस्तो पोस्ट

    काठमाडौं । कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौलाको आपसी सम्बन्ध नयाँ आयाममा प्रवेश गरेको छ । दीपाश्रीले सम्भवतः पहिलोपटक दिपकराजसँग अन्तरंग सम्बन्धमा रहेको खुला जनाउ दिएकी छन् ।

    १४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन्स डेका रूपमा मनाउने प्रचलन छ, जहाँ प्रेमी-प्रेमिकाले एक-अर्कासँग प्रेमालाप र शुभकामना साटासाट गर्छन् । यही दिन दीपाश्रीले दिपकराजसँगका रोमान्टिक तस्बिरहरू इन्स्टाग्राममा राखेर लेखेकी छन्- ह्याप्पी भ्यालेन्टाइन्स डे । यसमा उनले प्रेमको इमोजी पनि प्रयोग गरेकी छन् ।

    यो पोस्टमार्फत दीपाश्रीले दिपकसँगको प्रेम सम्न्धब सार्वजनिक गरेको धेरैको बुझाइ छ । तर, दिपक विवाहित हुन् । उनका हुर्किसकेका दुई छोराछोरी पनि छन् । श्रीमतीसँग उनको सम्बन्ध बिग्रिएको छैन ।

    कलाकारितामा लामो समयदेखि दिपक र दीपा सहकार्य गर्दै आएका छन् । उनीहरूको ‘अस्वाभाविक’ सामिप्यतालाई लिएर प्रश्नहरु उठ्दै आएका थिए । तर, दुवैले आफूहरू राम्रो साथीमात्र भएको बताउने गरेका छन् । प्रेमको स्वीकारोक्ति सार्वजनिकरुपमा गरेका थिएनन् । यद्यपि, विभिन्न अन्तरवार्ताहरूमा एक-अर्काप्रति उनीहरुको झुकाव स्पष्टै झल्किन्छ ।

    दीपाको यो पोस्टमा अहिलेसम्म दिपकराजको कुनै रियाक्सन आएको छैन । आज भ्यालेन्टाइन्स डेमा दिपकराजले सामाजिक सञ्जालमा पत्नीलाई शुभकामना लेखेका छैनन् । इन्स्टामा दीपालाई पनि कुनै जवाफ फर्काएका छैनन् । तर, यो विषयमा अब उनले निर्णायक स्पष्टीकरण दिनुपर्ने स्थिति आएको छ ।

    रेडियो कार्यक्रम ‘धनियाँकी दुनियाँ’ बाट दिपकराज र दीपाश्रीको सहकार्य सुरू भएको थियो । त्यसपछि टेलिश्रृंखला तितोसत्यबाट उनीहरुको सम्वन्ध झांगिएको हो । तितो सत्य बन्द भएपछि उनीहरूले फिल्ममा सहकार्य गरिरहेका छन् । उनीहरूले मिलेर ७ वटा चलचित्र बनाइसकेका छन् ।

  • अन्तर्राष्ट्रिय दुई रियालिटी शोको यूके अडिसनका लागि कलाकारहरू लन्डनमा

    अन्तर्राष्ट्रिय दुई रियालिटी शोको यूके अडिसनका लागि कलाकारहरू लन्डनमा

    लन्डन । बेलायतमा शनिबार हुन लागेको अन्तर्राष्ट्रिय दुई रियालिटी शो ‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को स्थलगत अडिसनका लागि कलाकारहरू लन्डन आइपुगेका छन् ।

    यूके अडिसनकै लागि नेपालबाट नायिका केकी अधिकारी र गायिका सुनिता दुलाल विहीबार राति लन्डन आइपुगेका हुन् । कलाकारहरूलाई बेलायत अडिसन संयोजक कलाकार मनसुदन थापामगरले स्वागत गरेका थिए ।

    लन्डन उत्रिएपछि सुनिता र केकीले बेलायतवासी नेपालीलाई अडिसनमा आउन निमन्त्रणा गरे । भोलि १५ फेब्रुअरी शनिबार अल्डरसटस्थित एम्पायर हलमा हुने दुवै शोको अडिसन कार्यक्रम निशुल्क छ ।

    यसअघि अभिनेता धिरेन शाक्य र मोडल/डान्सर रिना थापामगर बेलायत आइसकेका छन् ।

    आयोजक ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा दश जनाको टीम बुधबार नै अमेरिकाबाट लन्डन उत्रिएको छ ।

    यूके अडिसनमा अहिलेसम्म करिब दुई दर्जनले नाम दर्ता गराइसकेको संयोजक थापाले जानकारी दिए । उनले इच्छुक प्रतिभाहरूले अझै पनि फाउन्डेसनको वेबसाइटमार्फत् नाम दर्ता गर्न सक्ने बताए ।

    विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्ने लक्ष्यसहित घोषित यी रियालिटी शोका लागि संसारका विभिन्न देशमा अडिसन शुरु भएका छन् ।

    युरोपमा बेलायतबाहेक पोर्चुगल, पूर्वी एसियामा थाइल्याण्ड, हङकङ र जापान, मध्यपूर्वमा दुबई र कतार, अष्ट्रेलियामा सिड्नी, भारतमा सिलिगुरी र मुम्बइ एवं नेपालमा बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौंमा अडिसनहरु हुनेछन् ।

    ‘भ्वाइस्’ र ‘डान्स’ दुवै विधामा विजेतालाई १ करोड रुपियाको पुरस्कार छ भने पहिलो रनर अपलाई २५ लाख, दोस्रो रनरअपलाई १० लाख तथा टप टेनमा पर्ने सबैलाई एक एक लाख रुपैया नगदसहितको पुरस्कार दिइनेछ ।

    ‘मेरो भ्वाइस् युनिभर्स’ मा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक-गायिका शिव परियार, पुष्पन प्रधान, अन्जु पन्तलगायत निर्णायकको भूमिकामा छन् ।

    ‘मेरो डान्स युनिभर्स सिजन २’ को निर्णायकमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, अभिनेतृ शिल्पा मास्के तथा कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन् ।