Category: कलाप्रेस

  • १८ औं महाशिवरात्रि विश्वसंगीत महोत्सव २०२ं५ आयोजना हुँदै

    १८ औं महाशिवरात्रि विश्वसंगीत महोत्सव २०२ं५ आयोजना हुँदै

    काठमाडौं । नमस्ते ब्याण्डद्वारा संचालित संस्था नमस्ते सांस्कृतिक सांगीतिक प्रशिक्षण केन्द्रले १८ औं महाशिवरात्रि विश्वसंगीत महोत्सव २०२५ आयोजना गर्ने भएको छ । ब्याण्डका गायक ईश्वर गुरुङको संयोजकत्वमा महोत्सव आयोजना हुने भएको हो ।

    महोत्सव अन्तर्गत देश विदेशका दर्जनौं गायक गायिका तथा ब्याण्डहरुले काठमाडौं र पोखरामा प्रस्तुति दिनेछन् । काठमाडौंको एलओडी र पोखराको हलनचोकमा हुने कन्सर्टमा सविन राई एण्ड फराह ब्याण्डदेखि उदय मनिला सोताङसम्मले प्रस्तुति दिनेछन् ।

    र्‍यापर हाकिम गुरुङदेखि राजेश पायल राई, यम बराल, दिपक लिम्बु, इन्दिरा जोशीसम्मले प्रस्तुति दिनेछन् । त्यस्तै जापान, अमेरिकाका विदेशी ब्याण्डहरुले पनि प्रस्तुति दिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    चर्चित लोकदोहरी कलाकारको साथै भ्वइस अफ नेपालका प्रतिस्पर्धीहरुले पनि प्रस्तुति दिनेछन् । काठमाडौंमा फागुन १४ र पोखरामा फागुन १७ मा कन्सर्ट हुनेछ । शान्ति, संस्कृति, एकता, पर्यटन र संगीत प्रवर्द्धनका लागि हरेक वर्ष कार्यक्रमको आयोजना हुँदै आएको छ ।

  • ‘मायावी’को प्रिमियरमा बेहुलीजस्तै भएर पुगिन् दीपिका, चलचित्र हेरेपछि कसले के भने ?

    ‘मायावी’को प्रिमियरमा बेहुलीजस्तै भएर पुगिन् दीपिका, चलचित्र हेरेपछि कसले के भने ?

    काठ्माडौं । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि रिलिजमा आउन लागेको चलचित्र ‘मायावी’को हिजो राजधानीमा भव्य प्रिमियर गरियो । कीर्तिपुर सिनेप्लेक्समा आयोजित प्रिमियरमा चलचित्रको सम्पूर्ण टीमसहित थुप्रै चलचित्रकर्मीको बाक्लो उपस्थिति रह्यो ।

    चलचित्र हेर्न निर्देशक ज्ञानेन्द्र देउजा, पूर्व मिस नेपाल उषा खड्गी, कलाकारहरु सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाललगायत पुगेका थिए । यस्तै, चलचित्रका मुख्य कलाकारहरु दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नव–नायक समीम खान पनि पुगेका थिए ।

    प्रिमियरमा चलचित्रका मुख्य नायक पल शाह भने उपस्थित थिएनन् । अर्को एक चलचित्रको छायांकनका क्रममा रोल्पामा रहेकाले पल कार्यक्रममा छुटे । आफ्नो चलचित्रको प्रिमियरमा नायिका दीपिका प्रसाई भने बेहुली झैँ सिंगारिएर पुगेकी थिइन् । दीपिकालाई साथ दिन सोही चलचित्रका दुई नायक सुशील सिटौला र समिम खान उपस्थित थिए ।

    चलचित्रको प्रिमियरमा कमै मात्र पुग्ने अभिनेता राजेश हमाल पनि वुधबार आयोजित दिवाकर भट्टराई निर्देशित चलचित्र ‘मायावी’ को प्रिमियरमा पुगेका थिए । उनले चलचित्र हेरेपछि ‘मायावी’ले सिंगो नेपाली फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया दिए ।

    चलचित्र हेर्न निकै उत्साहित रहेको बताउँदै हल छिरेका हमालले मायावी हेरेपछि यो चलचित्रमा हरेक कुरा रहेको सुनाए । उनले भने, ‘चलचित्रको कथावस्तुले मन छुन्छ । गीतसंगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । व्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ । कलाकारहरुले पनि निकै राम्रो काम गरेका छन् । यसैले, मायावीले बजार तताउने कुरामा विश्वस्त छु ।’

    ‘मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ । यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन । मान्छेको मन नै त हो नि, जता पनि जान सक्छ भन्ने देखाएको छ । यो लभ स्टोरी फिल्म विशेष छ’, हमालले जोडे ।

    चलचित्रबाट आएको प्रतिक्रिया सुनेपछि निर्देशक दिवाकर भट्टराईले खुसी व्यक्त गरे । पललाई कार्यक्रममा सम्झिदै उनले भने, ‘ह्वी मिस यु । आज उहाँ हुनुपर्थ्यो, तर कार्यव्यस्ततालाई म बुझ्छु । चलचित्रमा सबैले राम्रो काम गर्नु भएको छ । र आज आएको प्रतिक्रियाले म निकै हर्षित छु । बाँकी अब दर्शकको हातमा छ ।’

    त्यस्तै, चलचित्र हेर्न पुगेकी नायिका तथा पूर्व मिस नेपाल उषा खडगीले चलचित्र राम्रो लागेको बताइन् । उनले भनिन, ‘धेरै पछि रोमान्टिक चलचित्र हेरेको, मन पर्यो। सफ्ट अनि रोमान्टिक चलचित्र छ । ट्वीस्ट छ, रोमान्स छ, इमोसन छ । कतिपय दृष्यहरुमा आँसु आउछ । मेरो पनि आँसु झरेको थियो कति दृष्यहरुमा । चलचित्र एकदमै राम्रो छ ।’

    चलचित्र हेर्न टिकटकर तथा कन्टेन्ट क्रिएटर उषा उप्रेती पनि हल पुगेकी थिइन् । चलचित्र राम्रो भएको उनले बताइन् । उनले भनिन, ‘चलचित्र राम्रो बनेको छ । नयाँ आउनु भएको कलाकारले पनि एकदमै राम्रो काम गर्नुभएको छ । करिष्माको काम धेरै तारिफयोग्य छ । सबैले चलचित्र हेरेपछि उसको कामको तारिफ गरिरहनु भएको थियो । दर्शकले एकपटक हेर्नै पर्ने चलचित्र बनेको छ ।’

    त्यस्तै, चलचित्र हेर्न पुगेका अधिकाशंले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए । चलचित्रको कथावस्तु र प्रस्तुतिले आँखा रसाएको उनीहरुको भनाइ थियो ।

    धुर्व न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको यो चलचित्रमा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता तथा राजु पराजुली र सुमित वली सह–निर्माता छन् ।

    नेम महर्जन चलचित्रका लगानीकर्ता हुन् भने चलचित्रमा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।

     

  • चलचित्र ‘आउटलः दफा २१९’ले ल्यायो ‘न्याय’ शीर्षकमा र्‍याप प्रतियोगिता

    चलचित्र ‘आउटलः दफा २१९’ले ल्यायो ‘न्याय’ शीर्षकमा र्‍याप प्रतियोगिता

    काठमाडौं । यहीँ फागुन २९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘आउटलः दफा २१९’ ले ‘न्याय’ शीर्षकमा ‘र्‍याप प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

    स्याडो पिक्चर्स र रिट्रो फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रको निर्माण टिमले ‘र्‍याप प्रतियोगिता’मा सहभागी हुन चाहनेले र्‍याप गीत तयार पारेर पठाउन आह्वान गरेको छ।

    ‘आउटलः दफा २१९’ले ‘न्याय’को कथा बोल्ने भएकाले यहीँ शीर्षकमै प्रतियोगिता आयोजना गरिएको चलचित्रका निर्माता अमित अग्रहरिले जानकारी दिएका छन्।प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ ।

    प्रतिस्पर्धीले पठाएको भिडियो चलचित्रको सामाजिक सञ्जालमा पोष्ट गरिनेछ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्नेछन्। प्रतिस्पर्धाको लागी फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ ।

    यो चलचित्रको केही समय अघि मात्र टिजर सार्वजनिक भएको थियो। चलचित्रको ट्रेलर भने आउन बाँकी छ। विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माताको रूपमा छन् ।

    चलचित्रमा साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन र नवीन गुरुङको छायांकन छ भने सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ ।

  • ‘फेरि रेशम फिलिली’ को बुकिङ खुल्यो

    ‘फेरि रेशम फिलिली’ को बुकिङ खुल्यो

    काठमाडाैं । फागुन १४ गते, महाशिवरात्रि को अवसरमा प्रदर्शन हुन लागेको सुपरहिट सिनेमा ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ ।

    यो समाचार तयार पार्दासम्म सिनेमाले देशभर ८६ शो प्राप्त गरिसकेको छ । अन्य दुई सिनेमासँगै रिलिज भइरहेको सन्दर्भमा यो संख्या उत्साहजनक मान्न सकिन्छ। यसका लागि सिनेमाको ट्रेलर र गीतहरूको लोकप्रियताले ठुलो भूमिका खेलेको छ ।

    प्राप्त ८६ शो मध्ये सिनेमाले काठमाडौं उपत्यकामा ४६ शो र बाहिर ४० शो पाएको छ । यो संख्या खल्ती मोबाइल एप मा देखिएको तथ्यांक हो। समाचार तयार पार्दासम्म खुलिसकेको हलहरूको आधारमा, भोलि मध्यान्हसम्म थप हलहरूमा शो निर्धारण भएपछि ‘फेरि रेशम फिलिली’ ले १५० भन्दा बढी शो पाउने सम्भावना छ, जुन निकै उत्साहप्रद देखिन्छ ।

    २०७२ सालमा पहिलो पटक प्रदर्शन भएको ‘रेशम फिलिली’ ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो। तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण प्रदर्शन स्थगित भएर केही समयपछि पुनः रिलिज गरिएको थियो। त्यतिबेला फरक शैलीको कमेडी प्रस्तुत गरेको भन्दै चलचित्रको प्रशंसा गरिएको थियो ।

    करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ । यो पटक सिनेमाले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ ।

    सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    सुसन प्रजापती को छायांकन, निरोज महर्जन र आकाश बराल को पटकथा, नरेश किङ्ग योगी को द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्मा को संगीत रहेको छ। सिनेमाको सम्पादन सुरेन्द्र पौडेल ले गरेका छन्।

    सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको सिनेमाका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह–निर्मातामा एनि थापा रहेका छन्।

    सिनेमाको निर्देशन निरोज महर्जन ले गरेका हुन्, जसले कथासमेत लेखेका छन्।

    सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन ले गरेका हुन्। सिनेमालाई गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रीब्युसन ले वितरण गर्दै छन्।

     

     

  • किसिङ विवादपछि लफडामा उदितनारायण, जेठी श्रीमती रन्जनाले भनिन्- बाँकी जिन्दगी उहाँकै साथमा रहन पाउँ

    किसिङ विवादपछि लफडामा उदितनारायण, जेठी श्रीमती रन्जनाले भनिन्- बाँकी जिन्दगी उहाँकै साथमा रहन पाउँ

    काठमाडौं । पछिल्लो केही सातायता चर्चित बलिउड गायक उदित नारायण झालाई दशा लागिरहेको छ भन्दा फरक पर्दैन । उनी एकपछि अर्को विवादमा तानिँदै गइरहेका छन् ।

    कन्सर्टमा युवती फ्यानलाई किस गरेपछि विवादमा तानिएका उदित यसपटक जेठी श्रीमती रन्जना झाले हालेको भरणपोषण मुद्दामा कारण समाचारका हेडलाइन बनिरहेका छन् ।

    अमरउजालाका अनुसार रन्जनाले उदितविरुद्ध आफ्नो अधिकारको हनन गरेको र सम्पति समेत अडपेको आरोप लगाएकी छन् । रन्जनाले लगाएको मुद्दाकै कारण गत शुक्रबार उदित सुपौल फ्यामेली कोर्टमा उपस्थित समेत भएका थिए ।

    तर, कोर्टमा उनले रन्जनाको आरोपलाई अस्वीकार गरेका थिए । यसअघि पनि रन्जनाले बिहार महिला आयोगमा उदितविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । महिला आयोगमा पनि उदित उपस्थित भएका थिए ।

    उदितले कोर्टमा बयानका क्रममा रन्जनाले आफूबाट पैसा लिइरहेको दाबी गरेका छन् । समाचारका अनुसार उदितले रन्जनालाई मासिक रुपमा १५ हजार दिइरहेका थिए । चार वर्षअघि १५ बाट बढाएर २१ हजार दिइरहेका थिए ।

    उदितले रन्जनालाई खेती गर्नका लागि एक खेत र घर पनि दिएका थिए, जसको मूल्य एक करोड भारुसम्म रहेको बताइएको छ । बिहार महिला आयोगले भने उदितले रन्जनालाई २५ लाख भारु बराबरको जमिन र गहना दिएको तर, रन्जनाले बेचिसकेको प्रमाण फेला पारेको थियो ।

    यी सारा लफडाका वाबजुद रन्जनाले भने अब उदितसँगै बस्ने इच्छा जाहेर गरेकी छन् । उदितसँगै रहनु आफ्नो कानुनी अधिकार समेत भएको उनको दाबी छ । आफ्नो वकिलको माध्यमबाट बिग्रँदो स्वास्थ र बाँकी जिन्दगी उदितको साथ बस्ने इच्छा जाहेर गरेकी हुन् । उदितले आफूलाई हेला गरेको र मुम्बाइको घरमा जाँदा गुण्डा राखेर घरभित्र पस्न नदिएको आरोप समेत लगाएकी छन् ।

    उदित र रन्जनाले सन् १९८४ मा विवाह गरेका थिए । तर, जब उदित चर्चित भए, यसपछि रन्जनालाई छाडेर दिपा गहतराजसँग दोस्रो विवाह गरे । यति मात्रै होइन, उदितले रन्जनालाई श्रीमती मान्नै अस्वीकार गरेका थिए ।

    यसपछि रन्जनाले निरन्तर आफ्नो अधिकारका लागि लडिरहिन् । सन् २००६ मा उनले महिना आयोग गुहारिन् । यसपछि उदितले एक फ्ल्याट र भरणपोषण दिने सहमति गरेका थिए ।

    उदित र दीपाका एक छोरा आदित्य नारायण झा पनि गायक तथा टेलिभिजन प्रस्तोता हुन् ।

     

  • वैवाहिक बन्धनमा बाँधिदै महेश र अस्मिता

    वैवाहिक बन्धनमा बाँधिदै महेश र अस्मिता

    काठमाडौं । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको गायक महेश काफ्ले र गायिक अस्मिता अधिकारी वैवाहिक बन्धनमा बाँधिने भएका छन्।

    फागुन २२ गते काफ्ले र अधिकारीको विवाह हुन लागेको हो। केही समयअघि उनीहरुले दुबईको बुर्ज खलिफाको सामुन्ने पुगेर इन्गेजमेन्ट गरेका थिए।

  • पहिलोचोटि फिल्ममा लगानी गरेका ‘लाज शरणम्’का निर्माता भन्छन्,‘टिमको मेहनत देखेर लगानी गरेको हो’

    पहिलोचोटि फिल्ममा लगानी गरेका ‘लाज शरणम्’का निर्माता भन्छन्,‘टिमको मेहनत देखेर लगानी गरेको हो’

    काठमाडौं । केही समय विवादमा परी प्रचारप्रसार नै रोकिएको चलचित्र ‘लाज शरणम्’ सेन्सर बोर्डबाट पास भएसँगै अब यो चलचित्र पुरानै तोकिएको मितीमा रिलिज हुने भएको छ। अर्थात यो चलचित्र महाशिवरात्रीको अवसर पारी यहीँ फागुन १४ बाटै रिलिज हुनेछ। चलचित्रका निर्माता नवीन श्रेष्ठका अनुसार उनले चलचित्र निर्माणका लागि कुनै पनि सम्झौता गरेका छैनन। उनी बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताउँछन् ।

    रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको चलचित्रमा यो पहिलो लगानी हो । यसअघि उनले कुनै पनि चलचित्रमा लगानी गरेका थिएनन् । ‘लाज शरणम्’को टिम र मेहनत देखेर आफुले यो क्षेत्रमा लगानी गर्न तयार भएको श्रेष्ठ सुनाउछन। उनी भन्छन,‘टिमको मेहेनतले म प्रेरित भएको हो। अब यो क्षेत्रमा प्रवेश गरेपछि म पछि हट्दिनँ । चलचित्रमा लगानी गरिरहने हो।’

    रियलस्टेटको व्यापार केही सुस्ताएको बेला चलचित्रमा आए पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ । आफू चलचित्र क्षेत्रमा आउनुको अर्को पनि कारण रहेको नवीन बताउँछन् । उनी भन्छन,‘चलचित्र विदेशबाट पैसा ल्याउने एक माध्यम पनि हो । विदेशी चलचित्रले जसरी नेपालबाट पैसा लैजान्छन्, त्यसैगरी विदेशबाट हामीले पनि पैसा ल्याउनुपर्छ। चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ । जसका लागि हामीले राम्रो चलचित्र बनाउनुपर्छ ।’

    नेपाली चलचित्रलाई डलर भित्र्याउने माध्यमका रूपमा कलाकार, निर्माता र सरकार सबै मिलेर अगाडि बढाउनुपर्नेमा उनको जोड छ । चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर पर्सी बुधबारबाट प्रदर्शनमा आउँदैछ । तर अहिलेसम्म निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेका छैनन।

    चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन। चलचित्रको मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । धुर्मुसका अलावा चलचित्रमा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

    जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् ।

  • ‘पाटन फेस्ट २०२५’ हुँदै, ४ चर्चित व्याण्डले प्रस्तुति दिने

    ‘पाटन फेस्ट २०२५’ हुँदै, ४ चर्चित व्याण्डले प्रस्तुति दिने

    काठमाडौं। यहीँ चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा।लिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियोमा आयोजना हुन लागेको यो महोत्सवमा ४ चर्चित व्याण्डहरुले आफ्नो प्रस्तुति दिने भएका छन्।

    यो कार्यक्रममा प्रस्तुति दिन ४ व्याण्डमध्ये एक व्याण्ड भने फाइनल भइसकेको छ । युवापुस्तामाझ लोकप्रिय रहेको ‘जोन एण्ड द लोकल्स’ व्याण्डले आफ्नो प्रस्तुति दिने पक्का भइसकेको छ । यो व्याण्डका गायक जोन चाम्लिङ राइको ‘हावा जस्तै, के गरौं, निहिती’ लगायतका गीतहरु चर्चित छन् । यस्तै, अन्य ३ व्याण्ड पनि केही दिनमै सार्वजनिक गरिने आयोजकले बताएको छ।

    दर्शकका लागी कार्यक्रममा खानेकुराका २० स्टल राखिने भएको छ । भने यो कार्यक्रममा सहभागी हुनका लागि दर्शकले खल्ती एपबाट ६ सय, एक हजार र १२ सयको टिकट खरिद गर्न सक्नेछन् । यो फेस्टले पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने विश्वास आयोजकको छ । आयोजकले यो कन्सर्टमा ८ देखि १० हजार दर्शक उपस्थित हुने विश्वास राखेका छन् ।

  • ‘मायावी’ले पायो ‘यूनिभर्सल’ सर्टिफिकेट, चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउने

    ‘मायावी’ले पायो ‘यूनिभर्सल’ सर्टिफिकेट, चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउने

    काठमाडौं। महाशिवरात्रिको अवसर पारेर यहीँ फागुन १४ गते बाट रिलिजको तयारीमा रहेको चलचित्र मायावीले ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको छ।

    चलचित्र जाँच पास समितिले चलचित्रलाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिएसँगै अब यो चलचित्र हरेक वर्गका दर्शकले हेर्न पाउनेछन् ।

    चलचित्रमा निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन छ । लभ स्टोरी जनरामा बनेको यो चलचित्रमा नायक पल शाह र नायिका दीपिका प्रसाँईसंगै कलाकारद्वय प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ र नव–नायक समीम खानको मुख्य भूमिका छ ।

    रिलिज मिति नजिकिएसँगै यतिबेला ‘मायावी’ को प्रचारप्रसार पनि धमाधम भइरहेको छ।देशका विभिन्न १२ शहरमा ‘अटो रिक्सा’ बाट निर्माण टिम चलचित्रको प्रचारप्रसार गरिरहेको छ।

    चलचित्रका कार्यकारी निर्माता करण सिंहका अनुसार चलचित्रको प्रचार पूर्वदेखि पश्चिमका मुख्य शहरहरुमा भइरहेको छ भने पूर्वका मुख्य शहरहरु धरान, इटहरी, विराटनगर, दमक र विर्तामोडमा माइकिङ पब्लिसिटी सुरु गरिएको छ।

    दर्शकलाई चलचित्रको बारे प्रत्यक्ष जानकारी दिनका लागि यस्तो प्रचार शैली अपनाइएको सिंहको भनाई छ। यस्तै, चितवनदेखि बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका शहरमा पनि माइकिङ प्रचार शैली अपनाइएको छ ।

  • अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

    अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

    काठमाडौं । स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

    समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो । सबै गीतका भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

    ‘हरपल हरक्षण’मा शब्द एवं संगीत अमर बान्तुको रहेको छ भने स्वर मनोज थापा र सुनिता थेगिमको छ । यस्तै ‘हल्का हल्कमा’ पनि शब्द एवं संगीत अमर बान्तुको छ भने सत्यराज आचार्य र सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

    त्यस्तै ‘मनको फूलबारीमा पनि शब्द एवं संगीत अमर बान्तुको छ भने स्वर सारिका घिमिरे र बिसी राईको छ । यस्तै, ‘सम्बन्ध’मा एसी कोइराला शब्द, संगीत अमर बान्तुको छ भने स्वर प्रताप दासको छ ।

    त्यस्तै ‘तिम्रै प्रवाह’मा अमर बान्तुको गायन, शब्द र संगीत रहेको छ । यो गीतको भिडियोमा बान्तुलाई भावना राईले अभियनमा साथ दिएका छन् । सबै गीतका भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् ।

    गीतसंगीत, साहित्य तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पाँच सयको हाराहारीमा उपस्थिति रहेको समारोहमा मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्व रहेको थियो भने पूर्वमन्त्री एवं गीतकार एसपी कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।

    पूर्वमन्त्री एवं गीतकार कोइरालाले स्वागत मन्तव्य राख्दै बान्तु बहुआयामिक व्यक्तित्व भएको भन्दै उनमा विलक्षण प्रतिभा रहेको बताए । ‘हामी भोजपुरे हौ, लामो समयदेखि एकअर्कालाई चिन्छौ, बान्तुमा कवि व्यक्तित्व जति शसक्त छ गीत लेखन र संगीतमा पनि अब्बल भएको म पाउँछु’, कोइरालाले भने।

    भीम विराग प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले गीतसंगीत साहित्यले मानिसलाई जोडने बताउँदै कवि बान्तुका बारेमा लेखेको कविता वाचन गरेका थिए ।

    त्यस्तै गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले बान्तुले गीतकारको अक्षय कोष स्थापना गरेर ठूलो कार्य गरेको सम्झना गर्दै उनको व्यक्तित्वको चर्चा गरेका थिए ।

    निर्देशक एवं नायिका दीपाश्री निरौलाले बान्तुको एउटा गीतमा आफूले पनि अभिनय गरेको सम्झना गर्दै उनी सर्वप्रिय व्यक्तित्व भएको चर्चा गरिन् । ‘मैले एउटा उहाँको गीतमा अभिनय पनि गरेकी छु, अमर बान्तु सबैका प्रिय व्यक्तित्व हुनुहुन्छ । गीतकार एवं कविका रूपमा चिनिनुभएका बान्तु संगीतकारका रूपमा रहेको र अभिनय पनि उक्तिकै सशक्त छ’, निर्देशक निरौलाले भनिन् ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले बान्तुको लेखनमात्र नभएर कविता वाचनकला पनि सशक्त रहेको जिकिर गरे । ‘उहाँ गीत कविता लेखनमा जति सशक्त हुनुहुन्छ, वाचनमा पनि आफ्नै मौलिकता रहेको छ’, लेकालीले भने ।

    वरिष्ठ गीतकार गीतकार राजेन्द्र थापाले धेरै पत्रै पत्रमा बान्तुको खुबी रहेको बताउँदै उनलाई ‘सयपत्री’ नाम दिन्छु भने । गीतकार संघमा उनको सहयोगको चर्चा गर्दै वरिष्ठ गीतकार थापाले बान्तुले समाजका विविध क्षेत्रका पाटालाई साहित्यमार्फत प्रस्तुत गरेको धारणा राखे ।

    आफ्ना केही भावी योजना सुनाउँदै स्रष्टा बान्तुले सबैको साथ, सहयोग र आर्शिवादका लागि धन्यवाद दिएका छन् । ‘एकल अकेस्टिक कविता वाचन, एकल अकेस्टिक सांगीतक साँझ र आटो वायोग्राफी प्रकाशन गर्ने भावी कार्यक्रम छन्,’ उनले जानकारी गराए ।

    मिलापका सम्पादक कृष्ण भुसालले बान्तुका विविध पक्षको चर्चा गर्दै उनका कार्य सामाजका लागि उदाहरणीय भएको जिकिर गरे ।

    बान्तुका गीतमा जीवनको वास्तविकता, समवेदना र दर्शन पाइने सम्पादक भुसालको भनाइ थियो । विगत १५ वर्षदेखि निरन्तर मासिक रूपमा मिलाप प्रकाशन गर्दै आएको र पब्लिकेशनमार्फत अन्य केही कृति पाठकमाझ ल्याएको उनले जानकारी गराए । हालै मिलापकी कार्यकारी सम्पादक गीत अधिकारीको ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याएको जानकारी गराउँदै उनले चाडै गीतकार जनक रावलको गीतिसंग्रह पाठकमाझ ल्याउने तयारीमा रहेको बताए ।

    गीतकार एवं प्रस्तोता नरेश भट्टराईले सहजीकरण गरेको सो समारोहमा स्रष्टा बान्तुलाई मिलाप आवरण सम्मान अर्पण गरिएको थियो ।

  • ‘फेरि रेशम फिलिली’को कथावस्तुबारे सुपुष्पा भन्छिन्- स्क्रिप्ट जस्तो लेखिएको छ, सिनेमा त्यस्तै बनेको छ

    ‘फेरि रेशम फिलिली’को कथावस्तुबारे सुपुष्पा भन्छिन्- स्क्रिप्ट जस्तो लेखिएको छ, सिनेमा त्यस्तै बनेको छ

    काठमाडौं । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट आफ्नो आगामी रिलिज ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि सिल्भर स्क्रिनमा फर्किंदैछिन्।

    सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो सिनेमा उनको होम प्रोडक्सन हो। सिनेमाका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन्। सिनेमा रिलिजका लागि केही दिनहरू मात्र बाँकी छन्। रिलिज मिति नजिकिँदै गर्दा सिनेमाका बारेमा गफिँदा सुपुष्पामा सिनेमा र सिनेमामा आफूले गरेको कामप्रति ‘फिङ्गर क्रस’ भाव देखिन्थ्यो।

    यद्यपि, कुराकानी बढ्दै जाँदा सिनेमा राम्रो बनेकोमा उनी ढुक्क भएको महसुस गर्न सकिन्थ्यो। सिनेमामा ‘फिलिली गर्ल’ बन्दै छु भन्ने थाहा पाउँदा उनलाई कस्तो लागेको थियो त ?

    सुपुष्पा भन्छिन्, ‘सबैभन्दा माथि पुगेजस्तो भयो। एकदमै खुशी लागेको थियो। प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो। राम्रो सिनेमामा काम गर्न पाएँ भनेर खुशी भएँ।’

    निर्देशक निरोज महर्जनले लेखेको सुपुष्पाको चरित्रका लागि कस्तो देखिने र कुन नेपथ्यको हो भनेर जस्तो प्रकारले लेखेका थिए, त्यसमा सुपुष्पा ठ्याक्कै फिट हुन्थिन्। त्यसैले उनले अरूलाई खोज्ने कष्ट गरेनन् पनि। यो सिक्वेलमा लगभग पहिलो शृङ्खलाका सबै कलाकार छन्। यो सिनेमाको लिडिङ महिला पात्रमा भने उनी नयाँ अनुहार बनेर आएकी छिन्। त्यसैले उनलाई पहिलो सिनेमाको चुनौती सामना गर्ने चुनौती छ।

    उनको भनाइ यस्तो छ :

    ‘त्यो र योमा तुलना नै गर्न मिल्दैन। दुवै पात्र एक-अर्कासँग बिलकुलै फरक छन्।’ सुपुष्पाका अनुसार उनले निर्वाह गरेको पात्र बोल्ड छ, जो आफूले चाहेको कुरा मात्र सोच्छ र आफूलाई ‘मैँ हुँ’ ठान्छ।

    ‘मैले निर्वाह गरेको चरित्रलाई मैले सक्ने मेहनत गरेको छु। त्यो कति फलदायी भयो भन्नेचाहिँ दर्शकबाट बुझ्न बाँकी छ।’

    योसँगै फेरि उनलाई पात्रका लागि चाहिने जति तयारी नपुगेको हो कि भन्ने पनि छ। यसैबीच अर्को सिनेमालाई पनि समय दिएकाले आफ्नो मेहनत नपुगेको हो कि भन्ने उनलाई लागेको हो।

    उनले गरेको पात्र ‘च्यालेन्जिङ’ भएको उनको भनाइ छ। त्यही च्यालेन्जिङ भएकैले उनलाई दर्शकले यसलाई कुन रूपमा लेलान् भन्ने चिन्ता भइरहेको छ। ‘चिन्ता पनि छ अनि राम्रो हुन्छ भन्ने पनि छ। एक प्रकारले राम्रो आशा र के होला भन्ने नर्भसनेस भइरहेको छ,’ उनले भनिन्।

    आफ्नो सिनेमालाई तत्कालै कति रेटिङ दिनुहुन्छ भन्ने प्रश्नको उत्तर दिन अस्वीकार गरेकी उनले कुराकानीको अन्तिममा भने सिनेमाप्रति आत्मविश्वास पनि व्यक्त गरिन् र भनिन्, ‘जस्तो गरी लेखिएको थियो, त्यसै गरी पर्दामा उत्रिएको छ।

    सिनेमा फागुन १४ गते शिवरात्रिका दिन रिलिज हुँदैछ । सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।

    सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

    सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह(निर्मातामा एनि थापा छन् । सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

  • फेरिँदै पाठकको स्वाद, खुम्चँदै साहित्यको बजार

    फेरिँदै पाठकको स्वाद, खुम्चँदै साहित्यको बजार

    काठमाडौं । पछिल्लो समय नाम चलेका लेखकहरू आख्यानका किताब लिएर पाठकमाझ पुगिरहेका छन् । छुदेन काविमोको ‘उरमाल’, रमेश क्षितिजको ‘एउटा मायी नगरमा’, वसन्त बस्नेत ‘सिमसारा’ सार्वजनिक भइसके । राजन मुकारुङको ‘धावा’ सार्वजनिक हुने तरखरमा छ । सीमा आभासको ‘टापुका स्वरहरू’ रिप्रिन्ट हुँदैछ ।

    सुविन भट्टराई आउँदो वर्ष नयाँ किताब लिएर पाठकमाझ आउँदैछन् । कवि श्रवण मुकारुङले समेत उपन्यास लेखिसके । छिट्टै पाठकलाई नयाँ किताबको स्वाद चखाउने तयारीमा छन् अमर न्यौपाने ।

    गैरआख्यानमा भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र’, सुधीर शर्माको ‘हिमाल पारीको हुरी’ र ‘भिक्षु व्यापार र विद्रोह’ जस्ता किताबहरू चर्चामा रहे । मोहन मैनालीको ‘मुकाम रणमैदान’ले त अघिल्लो वर्षको मदन पुरस्कार नै जित्यो ।

    माहौल हेर्दा नेपाली साहित्यको बजार शानदार र जबरजस्त छ झैँ देखिन्छ । अन्तर्वार्ता, समीक्षा, समाचार बग्रेल्ती छापिएका छन् । सञ्जालमा हल्लाखल्ला उस्तै मात्रामा छ । सञ्जालमा लेखकहरूलाई पछ्याउँदा थाहा हुन्छ, पाठकको प्रतिक्रिया राम्रो आइरहेको छ । किताबहरूले बजार पिटिरहेका छन् ।

    किताब यात्राका ऋषिराम अधिकारी भन्छन्, ‘कोभिडले सबै क्षेत्रको व्यापारलाई असर गर्‍यो । हामीले आर्थिक संकट झेल्यौं । मान्छेको क्रयशक्तिमा कमी आयो । सबैभन्दा पहिले आधारभूत आवश्यकता पूरा गर्नतिर लाग्नुपर्छ । किताबलाई विकल्पको रुपमा लिनुपर्ने अवस्था छ । यी यावत् कारणले बजार क्रमिकरूपमा डाउन हुँदै गइरहेको हो ।’

    तर, सञ्जालमा जे जस्तो माहौल देखिए पनि वास्तविकता अलग रहेको बिक्रेताहरूको तीतो अनुभव छ । अहिले अनलाइनमार्फत् अर्डर लिएर पाठकलाई होम डेलिभरी दिइरहेका चल्तीका अधिकांश बिक्रेताहरू निराशजस्तै देखिएका छन् । विशेषगरी नेपाली साहित्यका किताबहरूको बिक्रीको मामलामा उनीहरूको प्रतिक्रिया सकरात्मक देखिँदैन ।

    बुकहिल प्रकाशन गृहका प्रकाशक भूपेन्द्र खड्का त हाकाहाकी भन्छन्, ‘बजारमा हाम्रो अस्तित्व छ है भन्नका खातिर मात्रै किताब प्रकाशन गरिरहेका छौं । हिजोको तुलनामा हामी माइनसमा छौं । साहित्यको बजार कोमामै छ भन्दा हुन्छ । पहिले पाँच हजार प्रति किताब छापिन्थ्यो, अहिले हजार प्रति बिक्री हुन पनि गाह्रो छ ।’

    पाठकको नजर : साहित्यतिर होइन, जिवनी र उत्प्रेरक किताबतिर

    नेपालमा अनलाइनमार्फत् किताब बेच्ने प्लाटफर्महरू थुप्रो छन् । किताब यात्रा, किताब किरो, दराज अनलाइन, थुप्रै डटकम, रिड बुक, आर एण्ड आर बुक्सलगायत प्ल्याटफर्महरूले पाठकलाई अनलाइनमार्फत् किताब बेचिरहेका छन् । प्रकाशन गृह र अन्य पुस्तक पसलहरूले पनि अर्डरअनुसार अनलाइनबाट किताब बेचिरहेका छन् ।

    पाठकले अर्डर गरेपछि होम डेलिभरीको व्यवस्था गरिदिन्छन् । काठमाडौंमा मात्रै होइन, काठमाडौं बाहिर जुनसुकै ठाउँमा किताब पुर्‍याइदिन्छन् । नेपाल बाहिर कुरियरमार्फत् जुनसुकै देशमा किताब पुर्‍याइदिन्छन् । कुरियर महँगो हुँदा प्रिन्ट अन डिमान्डअन्तर्गत पनि ग्राहकलाई सेवा दिइरहेका छन् ।

    प्रिन्ट अन डिमान्ड भन्नाले चाहिँ पाठकले युरोपको कुनै देशबाट किताब अर्डर गरेमा उतै किताब प्रिन्ट गरेर ग्राहकको हातमा पुर्‍याइदिनु हो । थुप्रै डटकमले यो तरिका अपनाइरहेको छ । थुप्रै डटकमका दिपेश आचार्यका अनुसार यदि अमेरिकाबाट अर्डर आएमा उतै प्रिन्ट भएर, बाइण्डिङ भएर पाठकको ठेगानामा डेलिभरी हुन्छ ।

    आचार्यले भने, ‘कुरियरभन्दा केही सस्तो हुन्छ । तर, यता हजारौं कपी एकैपटकमा छापिँदा र उता एक कपीमात्रै छापिँदा उता अलि महँगो चाहिँ पर्छ ।’

    थुप्रै डटकमको आफ्नै एप पनि छ, जहाँ ईबुक र अडियो बुक पनि उपलब्ध छन् । अडिओ बुकलाई अझै राम्रो बनाउन कोसिस पनि गरिरहेका छन् । ड्राइभ गर्दै सुन्न, हाइक गर्दै सुन्नलाई सहज होस् भनेर आचार्यको टीमले काम गरिरहेको छ । ई-बुकको बजार राम्रै भए पनि अडिओ बुकमा राम्रोसँग काम गर्न बाँकी रहेको आचार्यको भनाइ छ ।

    ‘आजमात्रै एउटा स्कुल नजिकको पसलले ६० वटा बालकथा लग्यो । अघिल्लो साता यही संख्यामा लगेको थिये,’ सापकोटाले सुनाए, ‘लोककथाहरू बिक्री हुन्छन् । नैतिक शिक्षाका कथाहरू पनि राम्रो संख्यामा गइरहेका छन् ।’

    इबुक र अडिओ बुकमा जे जसरी काम गरिरहे पनि किताबकै बजार चाहिँ खस्कँदै गएको आचार्यको अनुभव छ । लकडाउनको तुलनामा केही सुधार भएजस्तो देखिए पनि साहित्यकै किताबको बजार चाहिँ खस्कँदो रहेको उनी बताउँछन् ।

    ‘पहिले र अहिले बिक्ने किताबको प्रकार नै बदलिएर गएको छ । नयाँ पुस्ताले नेपालीभन्दा अंग्रेजी किताबहरू ज्यादा रुचाउँछन्,’ ६ वर्षअघि थुप्रै सुरू गरेका आचार्यले भने, ‘हामीले किताब डेलिभरी सुरू गर्दाताका आख्यान र गैरआख्यान किताबहरू बिक्थे । पछिल्लो समय चाहिँ नेपाली आख्यानमा पाठकको रुचि कम देखिन्छ । यसको मूल कारण भनेको क्वालिटीमा समस्या भएर हो कि ! नयाँ प्रयोगहरू नभएर हो कि !’

    रिडबुकका सञ्चालक अजितकुमार ठाकुर त सीधै भन्दिन्छन्, ‘बजार पूरै डाउन छ । पहिलाको भन्दा धेरै कम छ । मान्छेहरूमा मानसिक स्थिरता पनि छैन ।’

    ठाकुरका अनुसार पाठकले अनलाइनबाट अर्डर गर्छन् । ठाकुरको टीमले किताब डेलिभरी पनि गरिदिन्छ । तर, ठेगानामा पुगेपछि ग्राहकले कहिले पैसा छैन भन्दिन्छन्, कहिले बाहिर छु भन्दिन्छन् ।

    ‘त्यसरी अर्डर फिर्ता गर्नुपर्दा डेलिभरी चार्ज हामीले तिर्नुपर्छ । किताबबाट कति नै नाफा आउने हो र !,’ चार वर्षको अवधिमा अहिलेसम्म ८ हजारभन्दा बढी कपी किताब बेचिसकेका ठाकुर दुखेसो पोख्छन्, ‘पढ्ने पाठकहरूको जमात विदेशमा छन् । यहाँ भएकाहरूको पनि आर्थिक स्थिरता छैन । किताब पनि महँगा छन् । यस्तो अवस्थाले गर्दा पनि साहित्यका किताबहरू नगएका होलान् ।’

    बरु ठाकुर र आचार्यले एलोन मस्क, मार्क जुकरबर्ग, स्टिभ जब्सका जिवनीहरू राम्रो संख्यामा बेचेका छन् । ‘रिच ड्याड पुअर ड्याड’ जस्ता किताबहरू बाक्लै बेचेका छन् । प्रविधिसँग जोडिएका, आर्थिक प्रगतिमा सघाउने खालका किताबहरू पनि राम्रो संख्यामा बेचेका छन् ।

    ‘अनि बालबालिकालाई उपयोगी हुने किताबहरू पनि राम्रै संख्यामा बेचिरहेका छौं,’ ठाकुर सुनाउँछन् ।

    फेरिँदै गइरहेको छ पाठकको स्वाद

    आख्यानले भाषालाई समृद्ध बनाउन सहयोग गर्छ । गैरआख्यानले विशेष गरेर तथ्यहरूलाई केलाउन सहयोग गर्छ । यस्ता किताबहरूले बुझाइको आयतन मात्रै फराकिलो बनाउँदैनन्, समाज बुझ्नलाई पनि सहयोग गर्छन् । राजनीति, इतिहास बुझ्नलाई पनि यस्ता किताबहरू उपयोगी हुन्छन् ।

    लेखकहरूले पनि वर्षौं लगाएर किताब तयार गरेका हुन्छन् । कतिपय लेखक त्यही किताबको आम्दानीमा निर्भर हुन्छन् । तर, मिहेनत गरेर लेखिएका किताबहरू पनि बिक्री भएनन् भने लेखकलाई मात्रै होइन, प्रकाशक र पुस्तक पसलेहरूलाई पनि आर्थिकरूपले गाह्रो हुन्छ । अहिले साहित्यको बजारले त्यही आर्थिक गाह्रो झेलिरहेको जानकारहरूको आँकलन छ ।

    किताब यात्राका ऋषिराम अधिकारी भन्छन्, ‘कोभिडले सबै क्षेत्रको व्यापारलाई असर गर्‍यो । हामीले आर्थिक संकट झेल्यौं । मान्छेको क्रयशक्तिमा कमी आयो । सबैभन्दा पहिले आधारभूत आवश्यकता पूरा गर्नतिर लाग्नुपर्छ । किताबलाई विकल्पको रुपमा लिनुपर्ने अवस्था छ । यी यावत् कारणले बजार क्रमिकरूपमा डाउन हुँदै गइरहेको हो ।’

    इबुक र अडिओ बुकमा जे जसरी काम गरिरहे पनि किताबकै बजार चाहिँ खस्कँदै गएको आचार्यको अनुभव छ । लकडाउनको तुलनामा केही सुधार भएजस्तो देखिए पनि साहित्यकै किताबको बजार चाहिँ खस्कँदो रहेको उनी बताउँछन् ।

    अनलाइनमार्फत् किताब बेच्ने अधिकारीको मात्रै होइन, पसल नै खोलेर भौतिक रुपमा किताब बिक्री गर्नेहरूको पनि अनुभव उस्तै छ, बजार साँच्चिकै डाउन छ । सम्पूर्ण बुक्स, चितवनका संचालक लेखराम सापकोटा त पाठकको स्वाद नै फेरिँदै गएको बताउँछन् ।

    ‘पहिले चेतन भगतको किताब बिक्थ्यो । भगतको किताब नबेचेको एक वर्ष जति भयो । सुविन भट्टराईको किताब किन्न मान्छे आइरहन्थे, अहिले कम आउँछन्,’ सापकोटा सुनाउँछन्, ‘सामाजिक मुद्दाहरूमा लेखिएका किताबहरू अलिअलि जान्छन् । मान्छेले के आख्यानमा के मुद्दा उठाएको छ भनेर सोध्छन् । मान्छेले भोलिका दिनमा काम लाग्ने किताबमात्रै पढ्न थाले ।’

    सापकोटाले यस वर्ष गैरआख्यान केही राम्रो संख्यामा बेचे । भर्खरै प्रकाशित ‘नेपथ्य’ ब्याण्डमाथिको किताब राम्रै संख्यामा बेचे । सँगै विद्यालयहरूमा जीवनोपयोगी किताबहरू बेचिरहेका छन् । विशेष गरेर बालबालिकाका किताबहरू बाक्लो संख्यामा बेचिरहेका छन् ।

    ‘आजमात्रै एउटा स्कुल नजिकको पसलले ६० वटा बालकथा लग्यो । अघिल्लो साता यही संख्यामा लगेको थिये,’ सापकोटाले सुनाए, ‘लोककथाहरू बिक्री हुन्छन् । नैतिक शिक्षाका कथाहरू पनि राम्रो संख्यामा गइरहेका छन् ।’

  • कवि शकुन आँसुको कवितासंग्रह ‘नवयुगकी सुम्निमा’ विमोचन

    कवि शकुन आँसुको कवितासंग्रह ‘नवयुगकी सुम्निमा’ विमोचन

    काठमाडौं । कवि शकुन आँसुको कविता सङ्ग्रह ‘नवयुगकी सुम्निमा’ विमोचन भएको छ । राष्ट्रिय नाचघर जमलमा सम्पन्न एक कार्यक्रमबीच कविहरू श्रवण मुकारुङ, डा. केशव सिलवाल र विमला तुम्खेवा, कविको जीवनसाथी चित्र बहादुर बाहिङहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।

    कृतिउपर बोल्दै कवि एवम् पूर्व प्राज्ञ श्रवण मुकारुङ राम्रो कविता पढ्न कठिन भइरहेको अवस्थामा कवि शकुन आँसुको कृति आएको र आफ्नो भोक प्यास मेटिएको प्रतिक्रिया दिए । उनले भने, ‘अभिव्यक्तिको उपल्लो तहमा पुगेर कविले सिर्जना पस्किनुभएको छ । शकुन आँसुको कविताको शक्ति नै यही हो ।’

    डा. सिलवालले सांस्कृतिक पहिचानसँगै आधुनिक सङ्घर्षका कथाहरू पनि कवि आँसुको कवितामा प्रकट भएको धारणा राखे ।

    त्यस्तै, कवि एवम् पत्रकार तुम्खेवाले शकुन आँसु विचार र चेतना परिपक्व भएको बताइन् । उनले आफ्नो विगत सम्झँदै भनिन्, ‘शकुन आँसुको उमेरमा हामीसँग यस्तो चेतना थिएन । उहाँका कवितामा मैले धेरै माथिल्लो स्तरको चेतना पाएँ ।’

    पुर्ख्यौली घर खोटाङ भएको कवि शकुन आँसु दक्षिण कोरियामा एक दशक रहँदा र नेपाल हुँदा सिर्जना गरेको ४२ कविता कृतिभित्र छन् । जसमा ‘समय यात्रा’ खण्डमा २७ र ‘सिली सिलसिला’ खण्डमा १५ कविताहरू रहेका छन् ।

    सम्भव समूहका संस्थापक सदस्य एवम् कवि उत्तम तुम्सा लिम्बुले सञ्चालन गरेको विमोचन कार्यक्रममा सर्जक एवम् सञ्चारकर्मीहरू चन्द्रवीर तुम्बापो, हेमन यात्री, प्रगति राई, बीना थिङ, उमेश अकिञ्चन, अमरदीप सुनुवार, अमित थेबे, नवीन प्यासी राई, सुनिता राई कन्दङ्वा, सीता तुम्खेवा, सुरज राना, मिथोच, लगायतको उपस्थिति रहेको थियोे ।

    ‘नवयुगकी सुम्निमा’ भित्रबाट युग सर्वनामले ‘स्ट्रे’, स्वप्निल निरवले ‘ऊ गएको साँझ’, सुशीला निनामले ‘रेम्माखिम्’, कृष्ण कञ्चनले ‘फर्की आउनेलाई’ कविता वाचन गरेका थिए ।

  • सेन्सर बोर्डले दियो ‘लाज शरणम्’ लाई प्रदर्शन अनुमति, निर्धारित मितिमै प्रदर्शन हुने

    सेन्सर बोर्डले दियो ‘लाज शरणम्’ लाई प्रदर्शन अनुमति, निर्धारित मितिमै प्रदर्शन हुने

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’ सेन्सर बोर्डबाट पास भएको छ । आज सेन्सर बोर्डले कुमार कट्टेल निर्देशित चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

    कुमार कट्टेल निर्देशित यस चलचित्रको पोस्टर सामाग्री सार्वजनिक भएपछि पूर्वमन्त्री अफताब आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

    उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो । अदालतको आदेशलाई लिएर चलचित्रकर्मीहरूले नै गुनासो गरेका थिए । निर्देशक समाजले त विज्ञप्ति नै जारी गरेको थियो ।

    अदालतको आदेशले गर्दा चलचित्र निर्माण टिमले काटिसकेको ट्रेलर पनि सार्वजनिक गर्न पाएको थिएन । अहिले सेन्सर बोर्डले पास गरेसँगै चलचित्र प्रचारप्रसारसँगै प्रदर्शनको बाटो समेत पनि खुलेको छ ।

    ‘लाज शरणम्’ हास्य टेलीश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो । यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारले अभिनय गरेका छन् । विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायत कलाकार पनि मुख्य भूमिकामा छन् ।

    जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

  • अमेरिकी दूतावासले गायक सुजन चापागाईंको टिमलाई दिएन भिसा, सांगीतिक भ्रमण अनिश्चित

    अमेरिकी दूतावासले गायक सुजन चापागाईंको टिमलाई दिएन भिसा, सांगीतिक भ्रमण अनिश्चित

    काठमाडौं । चर्चित गायक सुजन चापागाईंले अमेरिकामा गर्न लागेको सांगीतिक टुर अनिश्चित बनेको छ । आफ्नो टोलीका ८ जनाले भीसा आवेदन गरेकोमा एक जनाको मात्रै स्वीकृत भएको सुजनले जानकारी दिएका छन् ।

    सुजनले आउँदो मार्चदेखि अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरमा ‘आरोह अमेरिका टूर’ को तयारी गरेका थिए । सुजन चापागाईं एन्ड द ब्यान्डको सो कार्यक्रममा ८ जनाको टिम लैजाने तयारी थियो ।

    तर, आज अमेरिकी दूतावासले भिसाका लागि अन्तरवार्ता गर्दा ८ जनामध्ये ७ जनालाई रिजेक्ट गरिदिएको छ । एकजनाको मात्रै भिसा लागेपछि पूर्वनिर्धारित कार्यक्रम प्रभावित बनेको सुजनले बताएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो समयदेखि नेपाली गीत–संगीतमार्फत नेपाली दर्शक श्रोतालाई कसरी गुणस्तरीय सृजना प्रेषण गर्न सकिन्छ भनेर मिहेनत गरिरहेको कुरा दर्शक श्रोताहरुले बुझिदिनु भएकै छ । लगभग २ वर्षको आन्तरिक तयारीपश्चात अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाईभ जर्नी पुन शुरुवात गर्ने बाचा पुरा गर्न नसक्ने जानकारी गराउंदै गर्दा नमिठो अनुभव पक्कै भएको छ । यो अनिश्चितताको कारण पर्न गएको असरप्रति सम्पुर्ण आयोजक, दर्शक तथा शुभचिन्तकप्रति क्षमा याचना गर्दछु । हामी पुनः भेटने छौं ।’

  • एक दशकपछि चलचित्रमा फर्किदै नायक उत्तम प्रधान, ‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे

    एक दशकपछि चलचित्रमा फर्किदै नायक उत्तम प्रधान, ‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे

    काठमाडौं। भोलिबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘कल्ली’का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तम एक दशक भन्दा लामो समयपछि नेपाली चलचित्रमा फर्किन लागेका हुन् । यो बीचमा उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए ।

    उत्तमलाई चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरेका थिए। चलचित्रमा उत्तमको मुख्य भूमिका छ । उनी ३५ दिनसम्म नेपालमा रहनेछन् । प्रस्तुतकर्ता नेपालीका अनुसार, फिल्मको छायांकन अवधीभर नै उत्तम नेपालमा रहनेछन् ।

    लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रको भोलिबाट काठमाडौंमा छायांकन सुरु हुनेछ । चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । हिमाल कडरीया र अमला देबी राई चलचित्रका निर्माता हुन् । महेश दवाडीको लेखन रहेको यो चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

    चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    निसाल पौडेलको छायांकन रहने यो चलचित्रका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

  • हरिवंश आचार्य अभिनित चलचित्र ‘भूठान’को टिजर सार्वजनिक

    हरिवंश आचार्य अभिनित चलचित्र ‘भूठान’को टिजर सार्वजनिक

    काठ्माडौं। हरिवंश आचार्य अभिनित चलचित्र भूठानको टिजर सार्वजनिक भएको छ । ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको टिजरमा हरिवंश आचार्य नयाँ अवतारमा प्रस्तुत भएका छन् ।

    अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन् जहाँ उनी आफनो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ ।

    एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरु दाजुभाइ रहेको र बाबुको लाशलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ । अर्को एक दृश्यमा समलैंगिक सम्वन्ध राखेको थाहा पाएर आफ्नी छोरीलाई हकार्दै गरेकी आमा पात्रको भूमिकामा रिचा घिमिरे देखिएकी छिन् ।

    हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्न पनि पहिलो पटक नेपाली निर्देशकले बनाएको फिल्ममा देखिएका छन । टिजरको अन्तमा महामृत्युन्जय मन्त्र पढदै गरेको धमिलो नांगो शरीर र तेरो पुर्नजन्म भयो भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाईएको छ ।

    अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द -लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो चलचित्रमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

    यस चलचित्रको प्रमुख निर्मातामा अविरल थापा,राजेन्द्र ठकुराठी,अमिताव जोशी, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल-कर्माचार्य, रमेश भट्ट,अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं), राजु पौडेल, रविन पोखरेल र नवराज पराजुली छन् । यसका अलावा दिपक गजमेर लाईन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा रहेकी छन् ।

    चलचित्रमा सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, सम्बरन प्रेथु राईको संगीत, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहको छ ।

    यस चलचित्रलाई ठकुराठी ब्रोज,भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट,अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

    चलचित्रले भुटानदेखि नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र थातथलो छोडेर विदेशमा बस्नुपर्दा आफनो जन्म घर हराएको सबै आप्रवासीको पिडा प्रस्तुत गरेको छ । यो चलचित्र २०८२ को वैशाख १२ बाट प्रदर्शनमा आउदैछ ।

  • १० मिनेटको हिंसात्मक दृश्य काटेपछि भयो चलचित्र ‘ताण्डवम्’ को सेन्सर पास

    १० मिनेटको हिंसात्मक दृश्य काटेपछि भयो चलचित्र ‘ताण्डवम्’ को सेन्सर पास

    काठ्माडौं । हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको चलचित्र ‘ताण्डवम्’ को सेन्सर पास भएको छ । काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम गहतराजले बताएका छन् ।

    अब यो चलचित्र हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु पर्नेछ । चलचित्रमा अभिनेता समेत रहेका निर्देशक जुनिमले कथाको मर्म नमर्ने गरि चलचित्रको हिंसात्मक दृश्य काटिएको बताए ।

    पहिलो पटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो चलचित्रले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ । पूरा चलचित्रबाट करिब १० मिनेट रनटाइम घटाइएको छ ।

    ‘हामीले राम्रो सिनेमा दर्शकलाई पस्किने प्रयास गरेका छौं । दर्शकले पनि मन पराउने विश्वास हामीलाई छ’, निर्देशक गहतराजले बताए ।

    काँटछाँट गरिएको चलचित्रलाई समेत सेन्सर पदाधिकारीले रुचाएको उनले जानकारी दिएका छन ।

    चलचित्रको सेन्सर पास भएसँगै आजै अग्रीम टिकट बुकिङ खोल्ने तयारी निर्माण टिमको छ । भोली शुक्रबार फागुन ९ गतेबाट चलचित्र देशभरका सिनेमा घरमा रिलिज हुनेछ ।

    चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।

    सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।

    हरि घले लामाले खिचेको चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

  • ‘लाज शरणम्’ को विवादका कारण रोकियो ‘सक्किगो नि’को ९१ औं एपिसोडको प्रसारण

    ‘लाज शरणम्’ को विवादका कारण रोकियो ‘सक्किगो नि’को ९१ औं एपिसोडको प्रसारण

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’को विवादले टिभी श्रृंखला ‘सक्किगो नि’को पनि प्रसारण रोकिएको छ। पाटन उच्च अदालतले ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि यसको प्रभाव ‘सक्किगो नि’लाई पनि परेको हो।

    चलचित्रका लेखक तथा अभिनेता कुमार कट्टेलले प्रचारप्रसारका लागि छायांकन गरिसकिएको ‘सक्किगो नि’को ९१ औं भाग रोकिएको भन्दै आफ्नो सामाजिक संजालबाट जानकारी गराएका छन। यी दुबैको निर्माण जेपीटी क्रिएसनले गरेको हो ।

    उनले लेखेका छन्, ‘पाटन उच्च अदालतले हाम्रो चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल ‘सक्किगो नि’को ९१ औँ भाग अदालतको आदेशलाई आत्मसात गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरु सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।’

    पूर्वमन्त्री अफताव आलमको रिटमा सुनुवाई गर्दै मंगलबार पाटन उच्च अदालतले चलचित्रको प्रचारप्रसारमा रोक लगाएको थियो । अदालतको आदेशकै कारण बुधबार चलचित्रले युट्युबबाट टिजर र गीत पनि हटाइसकेको छ ।

  • चलचित्र ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

    चलचित्र ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक

    काठमाडौं। महाशिवरात्रिको अवसर पारेर यहीँ फागुन १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक भएको छ । एसडी योगीको स्वर र संगीत रहेको सार्वजनिक गीतमा राम अविरल बिष्टको शब्द छ ।

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नायिका करिश्मा श्रेष्ठ, कलाकार सुशिल सिटौला लगायतको अभिनय छ । विन्धवासिनी मन्दिरमा नै यो गीत छायांकन गरिएको हो।

    दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंम्खडा, संगीता सिलवालको साथमा नव–नायक समीम खानको मुख्य भूमिका छ ।

    राजु विक्रम थापाको डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।

    राजु पराजुली र सुमित वलीको सह–निर्माण रहेको चलचित्रमा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ ।