Category: कलाप्रेस
-

‘झ्याइँ पार्यो’ को सफलतापछि उत्साहित मञ्जयाश्री- अर्को नेपाली-बलिउड फ्यूजन गीत ल्याउँछौ
काठमाडौं । नेपाली र हिन्दी सङ्गीतको फ्युजनमा बनेको गीत ‘झ्याइँ पार्यो’ यतिबेला १० करोड भ्युजको दौडमा छ। अहिलेसम्म यो गीतलाई दर्शकले ८ करोड ४५ लाख पटक हेरेका छन्। गीतको चर्चा राम्रै छ। रिलिज भएको केही दिनमै यो गीत सामाजिक सञ्जालमा भाइरल भएको थियो । गीतको केही टुक्काहरू टिकटकमा भाइरल भएको थिए।गत वर्ष अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा यो गीत सार्वजनिक गरिएको थियो । गीतमा नेपाली र हिन्दी सङ्गीतको संयोजन प्रस्तुत गर्दै नेपाली लोकगीत ‘झ्याइँ पार्यो मलाई रत्यौलीको झिल्केले झ्याइँ पार्यो’को प्रमुख अंशलाई समेटिएको छ । गीतको भिडियोमा मञ्जयाश्री भट्ट र अलेक्जेन्डर एलेक्स्लीक फिर्चड छन्।मञ्जयाश्री भिडियोमा मात्र फिचर्ड छैनन्, गीतको फिमेल भर्जन पनि उनैले गाएकी हुन। उनलाई भोकलमा देव नेगीले साथ दिएका छन्। गीतको सफलताले मञ्जयाश्री मात्र होइनन्, निर्माण कम्पनी ‘एटमून इन्टरटेनमेन्ट’ पनि खुसी छ। जसका कारण ‘एटमून इन्टरटेनमेन्ट’ गायिका तथा नायिका मञ्जयाश्री भट्टलाई लिएर फेरि अर्को ठुलो नेपाली तथा बलिउडको संयुक्त प्रोजेक्टको तयारीमा जुटेको छ । ‘झ्याइँ’ को अपार सफलताले नेपाली मौलिक सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको निर्माण टिमको भनाइ छ।अमेरिकामै जन्मे–हुर्केकी मञ्जयाश्री अक्रो प्रोजेक्टमा भने एक चर्चित बलिउड सेलिब्रेटीका साथ देखिन लागेकी छिन् । नयाँ गीत पनि नेपाली र बलिउडको संयुक्त प्रस्तुतिमा हुने गायिका भट्टको भनाइ छ। नेपाली श्रोता तथा दर्शकहरूलाई सम्बोधन गर्दै गायिका मञ्जयाश्री भन्छिन्,‘झ्याइँलाई विश्वभरका नेपाली तथा भारतीय दर्शकहरूले जसरी माया गर्नुभयो, मेरा आउँदै गरेका प्रोजेक्टहरूलाई पनि त्यही साथ र समर्थन मिल्नेछ भन्ने विश्वास छ ।म सम्पूर्ण नेपाली दर्शकहरूलाई धेरै माया व्यक्त गर्न चाहन्छु ।’ भट्टका अनुसार आगामी प्रोजेक्ट नेपाली र बलिउड सङ्गीतको फ्युजनलाई अझ नयाँ उचाइमा पुर्याउने उद्देश्यले निर्माण गरिँदै छ । ‘झ्याइँ’ म्युजिक भिडियोको निर्देशन बलिउडका अनुभवी छाँयाकार तथा निर्देशक विनोद प्रधानले गरेका हुन्, जसले ‘देवदास’ र ‘रङ्ग दे बसन्ती’ जस्ता सुपर हिट बलिउड चलचित्रहरू छायाङ्कन गरिसकेका छन् भने प्रधानले ‘कुसुमे रुमालु’,‘सम्झना’ लगायतका नेपाली चलचित्रहरू समेत छायाङ्कन गरेका छन् ।‘झ्याइँ’ मुम्बईको भव्य एम्पिरियल प्यालेसमा छायाङ्कन गरिएको थियो । गीतको साउन्ड इन्जिनियरिङ, मिक्सिङ, र मास्टरिङ चर्चित सञ्जय लीला भन्साली तथा धर्मा प्रोडक्सनका चलचित्रहरूसँग काम गरिसकेका राहुल शर्माले गरेका थिए । कोरियोग्राफी भने ‘पठान’ र ‘वार’ जस्ता चलचित्रहरूमा नृत्य निर्देशन गरिसकेका बोस्को सिजरले गरेका छन् । -

बुवाआमाले स्वास्थ्यको चिन्ता गर्दा प्रधानमन्त्रीज्यूको उदाहरण दिन्छुः प्रकाश सपूत (भिडिओ)
काठमाडौं । गायक एवं अभिनेता प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिका अद्भुत व्यक्तित्व भएको बताएका छन् ।
‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण समारोहमा बोल्दै सपूतले ओलीबाट संघर्ष सिक्नुपर्ने बताएका हुन् । ओलीको राजनीतिमात्र नभई कला, साहित्य र व्यङ्ग्य चेत निक्कै माथि रहेको उनको भनाइ थियो ।
‘सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेका लागि केपी ओलीको जीवन प्रेरणादायी छ’, सपूतले भने ।
उनको भनाइ जस्ताको तस्तै-
मैले प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई राजनीतिकरूपमा भन्दा पनि उहाँको जुन ग्राफ छ, जुन संघर्ष छ, जुन यात्रा छ। त्यो देख्दा मलाई विचित्र नै लाग्छ । म एउटा नयाँ पुस्ताको युवा भएको हैसियतले एकबारको जिन्दगीमा मैले यतिको संघर्ष गर्नुपर्छ, जिन्दगीमा यतिधेरै रंगहरूबाट पनि बाँच्न सम्भव छ । यतिधेरै परिवर्तनहरू गर्न र देख्न सम्भव छ । यतिधेरै प्रगति गर्न सम्भव छ । तेह्रथुमको गाउँबाट आएर नेपालको कार्यकारी प्रधानमन्त्री हुन सम्भव छ ।
अरु कुराहरु छाडौं उहाँको कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका, अहिले कार्यकारी भएर देश चलाउनुभएको छाडेर व्यक्तिगत रुपमा उहाँलाई हेर्ने हो भने पनि निराश भएर गाउँको भेगमा जन्मिए भनेर, बाआमालाई गरिब देखाएर, अथवा विभिन्न बहानामा सपना देख्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेहरूका लागि उहाँको जीवन प्रेरणादायी छ । उहाँको जीवन ग्राफलाई मात्रै हेर्ने हो भने पनि जीवनमा असम्भव भन्ने केही छैन, व्यक्तिगत प्रेरणा उहाँबाट लिइरहेको छु ।
मेरो बाआमा अहिले ५८-६० बर्षको हुनुभो उहाँहरूले कहिलेकाहिँ भन्नुहुन्छ अब बिरामी भइन्छ, त्यो भइन्छ, त्यो भइन्छ, अनि मैले उहाँहरूलाई उहाँहरूको स्वास्थ्य अवस्था र अहिले प्रधानमन्त्रीको सक्रियताको बारेमा भनेर मनाउने गरेको छु । उहाँको आत्मविश्वास र ऊर्जा छ । उमेरभन्दा बढी युवा सोच छ । ती कुराहरुलाई चाहिँ म सापटी माग्न चाहन्छु । उहाँको स्मरण शक्ति छ । मैले उहाँलाई भेट्न तीनवटा गीत निकालेको थिएँ त्यो उहाँलाई याद रहेछ । म एउटा सामान्य कलाकारको लागि ठूलो प्रेरणा भयो ।
-

चरित्रहत्या गरेको भन्दै एन्फा महासचिवविरुद्ध गणेश थापाले साइबर ब्युरोमा दिए उजुरी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध पूर्वअध्यक्ष गणेश थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले साइबर ब्युरो गुहारेका हुन् ।
अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रूपैयाँ हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको दाबी गरेका थिए । उक्त अन्तर्वार्ता सार्वजनिक भएलगत्तै थापाले सामाजिक सञ्जालमार्फत आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न चुनौति दिए । तर, आफ्नो चुनौतिलाई बेवास्ता गरेपछि वाध्य भएर प्रहरीमा जानुपरेको थापाको भनाइ छ ।
उनले भनेका छन्, ‘कानूनी राज्यमाथि विश्वास गर्ने एउटा अनुशासित नागरिकको नाताले मेरो चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कारवाही हुने विश्वास लिएको छु । र, भविष्यमा पनि कसैले कसैमाथि विना प्रमाण हचुवाका भरमा चरित्रहत्या हुने यस्ता गतिविधि गर्न नसक्ने मेरो विश्वास छ ।’
साइबर ब्युरोमा थापाको जाहेरीको दर्ता नम्बर ११५८९ रहेको छ । राईले अन्तर्वार्तामा भनेअनुसार आफूले ८ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा छानबिन गरी आफू दोषी भए कानूनअनुसार कारवाही भोग्न तयार रहेको प्रतिबद्धता थापाले व्यक्त गरेका छन् ।
‘यदि उहाँले लगाएका आरोप प्रमाणित नभए कानूनअनुसार उहाँ कारवाहीको दायरामा आउनुपर्छ,’ उनको माग छ ।
-

विक्रम ! तिमीले अन्तिम सास फेरेउ अरे…
उज्यालो घाम पूर्वबाट उदाउनै लागेको थियो । नगरकोट डाँडा कलिलो घामको रोशनीले लतपतिएको थियो । बिहान ब्युँझिएर मानिसहरू आ-आफ्नै काममा लाग्न सुरू गरिरहेका थिए । कोही मर्निङवाकमा निस्कँदै थिए । कोही दूध चिया उमाल्दै थिए, कोही चियाको चुस्की लिँदै थिए ।
सिंगो सहर नियमित दैनिकीमा चलमलाउन सुरू गर्दै थियो । यहीवेला द्रूत गतिमा संजालभरि एउटा अशुभ खबर फैलियो, ‘गायक तथा संगीतकार विक्रम राई बिते रे !’
यो कसरी सम्भव हुन्छ ? ३१ वर्षको युवा अचानक कसरी बित्न सक्छ ? हिजो मात्रै हाँस्दै कुरा गरिरहेको मान्छे । हिजो मात्रै हार्मोनियमको कीहरूमा औंला दगुराएर शब्दहरूमा जीवनको लय खोजिरहेको मान्छे । हिजो मात्रै रेकर्डिङ स्टुडियो र चिया पसलमा बसेर सीमान्तमा बाँचेका, उत्पिडनमा बाँचेका मानिसहरूका पक्षमा चर्काचर्की गरिरहने मान्छे ।
७८ वर्षीया राईकी आमा अमृतमाया राईलाई छोराको मृत्यु नस्वीकारेर धर छैन । राई सदाका लागि बिते भनेर आफ्नै मन थुमथुमाउनुको अर्को विकल्प शुभचिन्तकहरूसँग छैन ।
त्यस्तो मान्छेको मृत्यु कसरी सम्भव हुन्छ ? कुनै रोगव्याधी नलागेका, फरासिला युवाको मृत्यु कसरी सम्भव हुनसक्छ ? भ्रम नै सही, पर क्षितिजमा आकाश र धरती जोडिएका छन् भन्नलाई आधारहरू प्रशस्तै थिए । तर, राईको मृत्यलाई विश्वास गर्ने आधार केही थिएन ।
तैपनि यस्तो नमीठो खबर यस्सै त फैलँदैन । मनमा चिसो पस्ने नै भयो । शंका, उपशंका उब्जने नै भयो । नजिक छ भनेर मलाई मान्छेहरूले फोन गरेर राईको मृत्युबारे सोधिरहेका थिए । म्यासेज गरिरहेका थिए । म चाहीँ घटना असत्य होस् भन्ठान्दै अरुलाई नै फोन गरिरहेको थिएँ ।
ऊफ् ! सबैतिर बुझ्दाखेरि विश्वस्त भएँ, ‘के छ काजी, कता हो’ भनेर सोधिरहने राई हामीमाझ रहेनन् । ‘तिमीलाई केही समस्या त छैन नि ? छ भने खुलेर भन है’ भनेर प्रेमले सोध्ने राई हामीमाझ रहेनन् । हिजो राति ३ बजे हृदयघात भएछ । बागबजारको मोडेल अस्पताल पुर्याउनसाथ डक्टरले मृत घोषित गरेछ ।
यति नराम्रो खबरले दिमागलाई पूर्णरूपमा शून्य बनाइदियो ।
राईको मृत्यु अचानकमात्रै थिएन, अविश्वसनीय थियो । उसको मृत्यु असामयिकमात्रै थिएन, अकल्पनीय थियो । भर्खरै नेपाली संगीतको आकाशमा कावा खान सुरू गरेको प्रतीभा अल्पायुमै बितेको खबरले सक दिनु स्वाभाविक थियो । संगीत बुझेका मान्छेहरूले ‘लामो रेसको घोडा’ भन्दिएको स्रष्टाको सास रोकिएको खबरमा विश्वस्त हुन नसक्नु स्वभाविक थियो ।
तर, तीतो सत्यलाई स्वीकार्नुको विकल्प कोहीसँग पनि हुँदैन । अनि त्यही तीतो सत्यलाई स्वीकार्दै अगाडि बढ्नु नै सायद जीवन हो । जुन चिजलाई बदल्न सकिँदैन, त्यो बदल्न नसकिने यथार्थलाई स्वीकार गर्दै बाँच्नु नै सायद जीवन हो ।
धेरैलाई थाहा नहुन सक्छ, राई पहिलो नेपाल आइडल हुन् । एपी वान टेलिभजिनले नेपाल आइडलको फ्रेन्चाइज ल्याउनुअघि राष्ट्रिय रूपमा आयोजना भएको गायन रियालिटी शो नेपाल आइडलका विजेता हुन् । फ्रेन्चाइज ल्याएका आयोजकले राईलाई क्रेडिट नदिएपछि दर्शक/स्रोताले विरोध गरेका थिए । पछि आयोजकले राईलाई पहिलो नेपाल आइडल स्वीकार गर्दै सम्मानसमेत गरेको थियो ।
संगीतका नाममा कसैसँग सम्झौता गरेनन्, अवसरका लागि कसैको चाकडी गरेनन् । यसमा उनका साथीभाइले सधैँ गर्व गर्लान् ।
कलिलै उमेरमा १२/१३ वर्षअघि रियालिटी शो नै जितेर आए पनि बजारमा च्याउ झैं उम्रिएका रियालिटी शो र यसले निर्माण गर्ने ‘अल्पकालीन’ चर्चाप्रति राईको एकरत्ति विश्वास थिएन । उनी मिहेनत, लगनशीलता र संगीतप्रतिको समर्पणमा विश्वास गर्थे । गीतको शब्दले बोक्ने ओज र संगीतले ल्याउने तरंगमा विश्वास गर्थे । आफ्नै लय र रफ्तार पक्रेर सुसाइरहने ध्यानस्थ खोलाको गीतजस्तो गायनमा राईको विश्वास थियो ।
उनको संगीतप्रतिको यही बुझाइका उपज हुन्, उनले स्वर तथा संगीत भरेका सयौं गीतहरू । राजेश पायल राईले गाएको ‘हौवा हौ दर्शन नमस्ते’, मेलिना राईले गाएको ‘तिम्ले बाटो फेर्यो अरे २ र ३’ जस्ता सर्वाधिक रुचाइएका गीतहरूमा राईको संगीतको जादू भेटिन्छ । ‘पुरानो हुँदैन माया’ र ‘जीवनसाथी तिमीलाई छ मेरो सलाम’ जस्ता क्लासिकल गीतहरूको अफिसियल रिमेकमा राईको गायनको मोहनी भेटिन्छ ।
राईका अधिकांश गीतमा प्राय अनिवार्य सर्तजस्तो हुन्थ्यो, मौलिकता । आफूले भर्ने अधिकंश संगीतमा किराती समुदायको स्वाद थप्न बिर्सदैनथे । अनि आफ्नो सामुदायिक पहिचानको रङ संगीतमा हुनुपर्छ भन्ने कुरामा सधैं दृढ रहन्थे । यतिमात्रै होइन, सीमान्तमा बाँचेका, उत्पीडनमा परेका मानिसहरूको पक्षमा गीत संगीतको अलवा आफैँ मुखर भएर बोल्थे । राज्यसत्ताले सयौं वर्षदेखि गरिरहेको अन्याय र अत्याचारमाथि राम्रैसँग बोल्न, तर्क र बहस गर्न सक्थे ।
त्यस्तो मान्छेको मृत्यु कसरी सम्भव हुन्छ ? कुनै रोगव्याधी नलागेका, फरासिला युवाको मृत्यु कसरी सम्भव हुनसक्छ ?
संगीत भन्नसाथ एक थान गिटार, एक थान हार्मोनियम, एक थान माइक, दुई लाइन गीत र एउटा युट्युब च्यानल भनेर हिँड्ने हुलहुज्जतहरूको बीचमा सामाजिक, राजनीतिक मुद्दाहरूमाथि निरन्तर अपडेट रहिरहने, परेको खण्डमा आफ्नो धारणा पनि राख्ने संगीतकर्मी भेट्नु भनेको दुर्लभ कुरा हो । संगीत भनेको दुई-चार थान भाइरल मान्छेहरू जम्मा गर्नु, स्टुडियोमा लगेर ‘क्वार क्वार’ कराउन लगाउनु मात्रै होइन भनेर खुलेआम तर्क गर्न सक्ने मान्छे भेट्नु भनेको झनै दुर्लभ कुरा हो ।
अलोकप्रिय भइन्छ भन्ने जान्दाजान्दै पनि आफ्नो विचार राख्नलाई नडराउने संगीतकर्मी भेटिनु भनेको हजारौंको भीडमा दृष्टिविहीन आँखाले डा. सन्दुक रुइत भेटाउनुजस्तै हो । अटो ट्युनका भरमा हल्लाखल्ला गरिरहेकाहरूको बीचमा संगीत भनेको ‘सिर्फ साधना शिवाय केही होइन’ भन्ने संगीतकर्मी भेटिनु भनेको कर्कस धूनहरूको बीचमा हृदयको तिर्खा मेट्न सक्ने गीत भेटिनुजस्तै हो । ‘संगीत भनेको सिर्फ पैसा’ हो भन्ने हुलहरूको बीचमा ‘संगीत भनेको सृजना शिवाय केही होइन’ भन्ने मान्छे भेटिनु भनेको कस्तुरीले आफ्नो विणाको सुगन्ध आफैँ थाहा पाउनु जस्तै हो ।
विक्रम राई तिनै संगीतकर्मी थिए, जो संगीतको शक्ति र वजनलाई सम्मान गर्न सक्थे । गोपाल योन्जन र ओमविक्रम विष्टजस्ता अलग धारका स्रष्टामाथि मज्जाले बोल्न सक्थे । शम्भुजित बाँसकोटाका गीत र र्यापर यम बुद्धका र्यापरहरूको मजाले गफ गर्न सक्थे । उनी शम्भु राईलाई सम्मान गर्थे, अहिलेका र्यापर भिटेनको प्रशंसा पनि गर्थे । संगीतका सबै खाले विधालाई उत्तिकै सम्मान गर्थे । यो खालको उदारता विक्रम राईको संगीतप्रतिको बुझाइ र चेतनाको उपज थियो । सायद त्यही चेतनाकै कारण राईको संगीत विशेष हुन्थे, अलग्गै हुन्थे ।
न उनीसित घमण्ड थियो, न त अहंकार थियो । जस्तो खाले मान्छे छ, त्यस्तै गफ गर्न सक्थे । उनीसित संगतिप्रतिको न्यूनतम ज्ञान नभएको, तर ‘चर्चित कलाकार हुन्छु’ भन्ने भ्रम पालेर हिँडेका हुलहुज्जतहरू पनि हुन्थे । उनीसित ‘साधनाले खारिएपछि मात्रै असल कलाकार बनिन्छ’ भनेर हिँडेका स्रष्टाहरू पनि हुन्थे । उच्च राजनीतिक, सामाजिक चेत बोकेर हिँड्ने मान्छेहरूको वरिपरि पनि रहन्थे ।
ऊफ् ! सबैतिर बुझ्दाखेरि विश्वस्त भएँ, ‘के छ काजी, कता हो’ भनेर सोधिरहने राई हामीमाझ रहेनन् । ‘तिमीलाई केही समस्या त छैन नि ? छ भने खुलेर भन है’ भनेर प्रेमले सोध्ने राई हामीमाझ रहेनन् । हिजो राति ३ बजे हृदयघात भएछ । बागबजारको मोडेल अस्पताल पुर्याउनसाथ डक्टरले मृत घोषित गरेछ ।
राईलाई सम्झनसाथ मनमा खड्किरहने अनि बिझाइरहने एउटै कुरा छ, ‘उनले आफ्नो प्रतिभालाई व्यवसायिक कोणबाट हेर्न जानेनन् ।’
संगीतका नाममा कसैसँग सम्झौता गरेनन्, अवसरका लागि कसैको चाकडी गरेनन् । यसमा उनका साथीभाइले सधैँ गर्व गर्लान् । तर, उसले आफ्नो प्रतिभालाई अलिकति भए पनि व्यवसायिक कोणबाट हेरिदिएको भए अवस्था अर्कै हुन्थ्यो । किनभने एउटा सृजनशील कलाकार कलाप्रतिको जुनूनले मात्रै बाँच्न सक्दैन, आर्थिक रूपमा पनि उसको अवस्था सहज हुनुपर्छ वा हुँदै जानुपर्छ ।
राईलाई अहिले टिचिङ अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । पर्सिको दिन मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धान्जलीका लागि राखिँदैछ । यसपछि उनको पार्थीव शरीरलाई जन्मभूमि खोटाङ लगेर सदगद गरिँदैछ । ७८ वर्षीया राईकी आमा अमृतमाया राईलाई छोराको मृत्यु नस्वीकारेर धर छैन । राई सदाका लागि बिते भनेर आफ्नै मन थुमथुमाउनुको अर्को विकल्प शुभचिन्तकहरूसँग छैन ।
किनभने नजिक रहेका सबैलाई थाहा छ, विक्रम राई कुशल संगीतकर्मीभन्दा पहिले एउटा असल मानिस थिए । मानवीय गुणसहितको श्रष्टा थिए, अरुलाई अप्ठ्यारो पर्दा सधैँ अग्रभागमा रहन्थे । सकेको सहयोग गर्थे । सहयोगका लागि अरुलाई अपिल गर्नसक्ने उदार हृदय थियो उनको । त्यो हृदय आज हामीमाझ रहेन ।
विक्रम राईलाई श्रद्धाञ्जली दिँदै मेलिना राईले लेखेकी छन्, ‘जिन्दगी साँच्चिकै अप्रत्याशित रहेछ ।’ राजेश पायल राईले विक्रमको संगीतमा आफूले गाएको गीत नै सम्झिएर लेखेका छन्, ‘प्यारे विक्रम, जहाँ छौ खुसी रहनू ।’
विक्रमको संगीतमा राजेश पायलले गाएको एउटा गीत पनि सम्झिएका छन् उनले,–
लेखेको भाग्य मेटिँदैन
हत्केलाले सूर्य छेकिँदैन
हाँसौं, गाऔं, रमाऔं आजै हो
भोलिको दिन देखिँदैन
-

गायक तथा संगीतकार ३१ वर्षीय विक्रम राईको निधन
काठमाडौं । गायक तथा संगीतकार विक्रम राइको असामयिक निधन भएको छ । आज बिहान राति करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । तर, के कारणले निधन भएको भन्ने पुष्टि भइसकेको छैन । पोस्टमार्टमका लागि राईलाई टिचिङ अस्पताल पुर्याइएको छ ।
राईले सुतेको ठाउँमै अचानक सास फेर्न छाडेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले काठमाडौं, मोडेल अस्पताल बागबजार पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेको पारिवारिक स्रोतले बतायो ।
३१ वर्षीय राई डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनी पहिलो नेपाल आइडल हुन् । राईले नेपाल आइडलको उपाधि जित्दा फ्रेन्चाइज नेपाल आइडल आइसकेको थिएन ।
खोटाङका स्थायी बासिन्दा रहेका राईले संगीत भरेको तथा गाएको गीतहरू संयौको संख्यामा छन् । ‘हौवा हौ दर्शन नमस्ते’, ‘तिम्ले बाटो फेर्यौ अरे’ २ र ३, ‘जीवनसाथी तिमीलाई छ मेरो सलाम’ (मेल भर्सन) लगायत गीतहरू चर्चित छन् ।
-

नायक सुशिल श्रेष्ठको एक्सनले भरिएको ‘आउटलः दफा २१९’को ट्रेलर सार्वजनिक (भिडिओ)
काठ्माडौं । एक्सन फिल्म ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा सुशिल श्रेष्ठको एक्सन देख्न सकिन्छ । चलचित्रको ट्रेलर हेर्दा निर्माण टिमले मेकिङ, कथावस्तु र एक्सनमा राम्रो मेहेनत गरेका छन् । चलचित्रमा नायक सुशिल श्रेष्ठलाई ‘एक्सन स्टार’मा रुपमा प्रस्तुत गरिएको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । चलचित्रमा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ ।
विकास चौधरी सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको चलचित्रमा चुल्ठे काजीको एक्सन निर्देशन छ ।
चलचित्रमा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।
चलचित्र यही फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ ।
-

‘फेरि रेशम फिलिली’लाई वर्ड अफ माउथमा विश्वास गर्ने, दर्शक बढ्ने अपेक्षा
काठमाडौं । फागुन १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथ पाइरहेको निर्माण पक्षले दाबी गरेको छ । बुधबार महाशिवरात्रिको अवसरमा रिलिज भएको सिनेमाले पहिलो दिन राम्रो अकुपेन्सी पाएको थियो ।
दर्शकको राम्रो अकुपेन्सी मिलेसँगै सिनेमाका कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।
दर्शकले पनि सिनेमाका कलाकारलाई देख्दा सेल्फी खिच्नुका साथै कलाकारसँग ‘फेरि जालमा’ गीतमा नृत्यसमेत गरेका थिए । सिनेमा हेर्ने अधिकांश कथावस्तु र त्यसले दिएको सन्देशले मने जितेको प्रतिक्रिया दिएका छन् ।
दर्शक प्रतिक्रिया पश्चात मिडियासँग कुरा गर्दै सिनेमा निर्देशक निरोज महर्जनले सिनेमालाई एकदम पोजेटिभ रेस्पोन्स मिल्नुका साथै सबैको राम्रो साथ पाइरहेको बताए ।
‘आफूले सिनेमा जे सोचेर बनाएको थिए । त्यसमा दर्शक तथा समीक्षकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले हौसला मिलेको छ’, निर्देशक महर्जन भने ।
यता सिनेमाका मुख्य अभिनेता विनय श्रेष्ठले सिनेमाले मज्जाले दर्शकलाई फिलिली बनाएको दर्शक पनि बढिरहेको बताए ।
सुरुवाती दुई दिन वार्मअप भएको भन्दै आज शुक्रबार अनि भोलि शनिबार दर्शकको राम्रो साथ मिल्ने विश्वास उनको छ । विकेन्डमा सिनेमाले दर्शकको फिलिली हुने गरी साथ पाउने उनको दाबी छ ।
सिनेमाका अर्का अभिनेता हरिया अर्थात् कामेश्वर चौरासियाले बुधबार र बिहीबार जति दर्शकले सिनेमा हेर्नु भयो राम्रो भन्नु भएकाले दर्शकहरु विभिन्न कारणले हलमा पुग्न नसकेको हुन सक्ने भन्दै विस्तारै बढ्दै जाने बताए ।
धेरै दर्शक हल आउन खोज्दै हुनुहुन्छ होला, केही आइसक्नु भयो होला । केही दर्शकले वर्डअफ माउथको प्रतिक्रिया बुझ्दै हुनुहुन्छ होला । त्यसैला शािनबार हलमा दर्शकको राम्रै चाप देख्न पाइने विश्वास उनको छ ।
सिनेमाकी मुख्य अभिनेत्री सुपुष्पा भट्टले दर्शकबाट आफ्नो भूमिकालाई राम्रो प्रतिक्रिया मिलेरहेको भन्दै खुशी व्यक्त गरिन् ।
आफ्नो अघिल्ला सिनेमाको तुलनामा यो सिनेमामा आफ्नो अभिनय धेरै सुुधार भएको प्रतिक्रिया दर्शकबाट मिलिरहेको उनको भनाई छ । समग्र सिनेमालाई नै दर्शकले राम्रो प्रतिक्रिया मिलेरहेको छ । विस्तारै दर्शकको साथ मिल्दै जानको उनको विश्वास छ ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।
सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
-

ज्योतिष डा. रुद्रनाथ अधिकारीका ३ म्युजिक भिडिओ एकसाथ बजारमा
काठमाडौं । प्रसिद्ध ज्यो पं डा. रुद्रनाथ अधिकारीका ३ वटा म्युजिक भिडिओ एकसाथ रिलिज गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच डा. अधिकारीको जन्मदिन पारेर ‘अब अति भइसक्यो, जागौं’ (राष्ट्रभक्ति गीत) , ‘आमा’ (मातृभक्ति गीत) र ‘आउन माया आऊ मेरो हात समाऊ’ (प्रेमिल गीत) का ३ भिडिओ लोकार्पण गरिएको हो ।
वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद् भीमार्जुन आचार्यले डा. अधिकारीका सिर्जना र सक्रियताको तारिफ गरे ।
गीतकार संघका अध्यक्ष वसन्त थापाले डा. अधिकारीले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे । डा. अधिकारीले रचना गरेका गीतमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बू, सदीक्षा कट्टेल, रोजिना बस्नेतले स्वर भरेका छन् ।
भिडिओलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडिओमा डा. अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ । लोकार्पण कार्यक्रममा पं डा. अधिकारीले आफ्नो भारतीय सेनाको सेवाकालमा पाकिस्तान र चाइनाका बोडर क्षेत्रदेखि कार्गिलको युद्धलगायत इराक, अफगानिस्तान जस्ता युद्धग्रस्त क्षेत्रमा कार्य गर्दा पनि आफू सुरक्षित र कुशल रहेको, तर आफ्नै मातृभूमिको काख र आफ्नै घरमा असुरक्षित भएको र पटकपटक देशभित्रैका केही तत्वबाट परिवारै प्रताडित हुनुपरेको पीडा पोखे ।
-

निश्चल बस्नेतलाई पल शाहको कटाक्ष- उहाँले कति पर्सेन्ट दिमाग लगाउनुभयो थाहा छैन
काठमाडौैं । निर्देशक निश्चल बस्नेतले चार दिन अगाडि गरेको एउटा फेसबुक पोस्टले अभिनेता पल शाहका फ्यानहरु भड्किएका छन् । उनीमाथि सामाजिक सञ्जालमा भद्दा गालीगलौजको वर्षात नै भइरहेको छ ।
गत मंगलबार निर्देशक बस्नेतले प्रदर्शनमा आउन लागेका दुई नयाँ चलचित्रको पोस्टर फेसबुकमा हालेका थिए । ‘फेरि रेशम फिलीली’ र ‘लाज शरणम्’ को पोस्टर सेयर गर्दै उनले लेखेका थिए, ‘बुकिङ खुल्यो है । दुवै रमाइलो होला जस्तो छ । तपाईंहरु पहिले कुन फिल्म हेर्ने ?’
यो पोस्टले पल शाहका फ्यानहरु क्रोधित बने । कारण ‘लाज शरणम’ र ‘फेरि रेशम फिलीली’ सँगै पल शाह अभिनित चलचित्र ‘मायाबी’ पनि एकै दिन रिलिज हुँदै थियो ।
तर, बस्नेतले ‘मायाबी’ को पोस्टर शेयर गरेनन् । पल शाहसँग इगो राखेर नै उनले दुई चलचित्रलाई मात्र आफ्नो टाइमलाइनमा स्थान दिएको बुझाइ पलका फ्यानको छ ।
बस्नेतको पोस्टमा अहिलेसम्म एघार सयभन्दा बढी कमेन्ट आएका छन् । अधिकांश कमेन्टहरु सकारात्मक छैनन् । पल शाहका फ्यानहरुले उनलाई मच्चिएर गाली गरेका छन् भने कतिपयले ‘आरआईपी’ लेख्न पनि भ्याएका छन् । यद्यपि, बस्नेतले नकारात्मक कमेन्टको वास्ता गरेको देखिँदैन । उनले कुनै जवाफ वा स्पष्टीकरण दिएका छैनन् ।
यसैबीच बस्नेतको यो पोस्टलाई लिएर अभिनेता पल शाहको असन्तुष्टि पनि सार्वजनिक भएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उनले बस्नेतलाई तीव्र कटाक्ष गरेका छन् ।
पल भन्छन्, ‘सबैको आआफ्नो इच्छा हुन्छ । आआफ्नो अधिकार हुन्छ । लेभल अफ थिंकिङको कुरा हो । उहाँले कतिसम्म सोच्न सक्नुहुन्छ भन्ने कुरा हो । हामी सामाजिक प्राणली हाैं । हामी चेतनशील प्राणली हौं । प्रत्येक मान्छेमा दिमाग छ । तर उहाँले कति पर्सेन्ट दिमाग लगाउनुभयो थाहा छैन ।’
-

प्रधानमन्त्री भेट्न र्यापरदेखि टिकटकरसम्मको ताँती, प्रश्नोत्तर भाँति-भाँति !
काठमाडौं । केही दिनयता प्रधानमन्त्री निवास बालुवाटारमा सामाजिक सञ्जालका चर्चित अनुहारहरूको चहलपहल बढिरहेको छ । युट्यूव-टिकटकबाट उदाएर लोकप्रियता कमाएका युवा-युवतीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार धाइरहेका छन् ।
परम्परागतरूपमा देशका प्रधानमन्त्रीले भेट्नेहरूको सूचीमा प्रायजसो ‘प्रबुद्ध’ व्यक्तिहरू हुने गर्छन् । यो ‘स्टेरियोटाइप’ बाट निस्किएर ओलीले युवा पुस्ताका ‘आइकोनिक फेस’ हरूलाई स्वागत गर्न थालेका हुन् । पछिल्ला केही दिनमा उनले र्यापर कुमा सागरदेखि कन्टेन्ट क्रियटर इस्टु कार्की, टिकटकर अंशु बर्मादेखि, मिस पवी (पवित्रा साँकी) र इभा गिरीसम्मलाई भेटे । उनीहरूसँगका भेटघाटको प्रयोजन र सन्दर्भ भने फरक-फरक थिए ।
गत २४ माघमा दुई चर्चित टिकटकर अंश बर्मा र मिस पवी (पवित्रा पार्की) लाई प्रधानमन्त्री ओलीले आफैँ बोलाएर संयुक्तरूपमा भेटेका थिए । उक्त भेटघाटको तस्बिर प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा पनि पोस्ट भयो ।

मिस पवी र अंश बर्मासँग खिचिएको तस्बिर हालेर प्रधानमन्त्रीले लेखेका छन्, ‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवी र अंश वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो ।’
टिकटकमा अंश बर्मा र मिस पवीका झण्डै १०-१० लाख फलोअर्स छन् । टिकटकमा लाइभ बसेर करोडौं कमाउनेमा पर्छन् अंश बर्मा । उनलाई ‘डिजिटल भिखारी’ भनेर ट्रोल समेत गर्ने गरिएको छ । मिस पवी भने टिकटकबाट उदाएर अहिले कलाकारितामा सक्रिय छिन् । उनी म्युजिक भिडिओहरू खेल्नुका साथै हाल टिभी रियालिटी शो ‘कमेडी दरबार’ मा पनि अभिनय गरिरहेकी छन् ।
प्रधानमन्त्रीले भेटघाटका लागि यी दुईलाई निम्त्याउनुको ठोस प्रयोजन खुलेको छैन । तर, प्रधानमन्त्रीले आफ्नै अकाउन्टबाट पोस्ट गर्नुले उनीहरूलाई महत्व दिएको बुझिन्छ । यो पोस्टमा ६ हजार ८ सयभन्दा बढी कमेन्टहरू आएका छन् । सम्भवत: अहिलेसम्म सर्वाधिक प्रतिक्रिया आएको प्रधानमन्त्रीको स्टाटस यही नै हुन सक्छ । तर, अधिकांश प्रतिक्रियाहरू सकारात्मक छैनन् । धेरैले मिस पवी र अंश बर्मालाई ‘प्रतिभावान क्रियटर’ भनेकोमा खिसी गरेका छन् । साथै, धरानका मेयर हर्क साम्पाङलाई भेट्न समय नदिएका प्रधानमन्त्रीले भाइरल युवायुवतीलाई अनावश्यक महत्व दिएको भन्दै कतिपयले असन्तुष्टि पोखेका थिए ।
उनले भने, ‘प्रधानमन्त्रीले सबै उमेर समूहका व्यक्तिहरूलाई आवश्यकता र अनुकुलताका आधारमा भेट्नु हुन्छ । त्यही क्रममा कहिले युवा पर्छन् त कहिले वृद्ध । यद्यपि, युवाहरूलाई भेटेर उनीहरूको कुरा सुन्न प्रधानमन्त्रीज्यूको विशेष अभिरुचि देखेको छु ।’
त्यस दिन संसदमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन थियो । तर, प्रधानमन्त्री संसदमा अनुपस्थित भएका थिए । कतिपयले संसद समेत छलेर प्रधानमन्त्रीले महत्वहीन व्यक्तिहरूलाई भेटेको भन्दै आलोचनासमेत गरे । प्रधानमन्त्रीको सचिवालयले भने स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री संसद जान नसकेको प्रष्टीकरण दिएको थियो ।
यसको केही दिनपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालकी ‘भाइरल लेडी’ इस्टु कार्कीसँग भेटेको तस्विर र भिडिओ सार्वजनिक भयो । प्रधानमन्त्री ओलीले आफ्नो टिकटक अकाउन्टमा नै भिडिओ पोस्ट गरेका थिए । भिडिओमा उनले इस्टुसँग गरेको संवाद सुन्न सकिन्छ । प्रधानमन्त्री ओलीले ‘केपी बा’ नामको युट्यूव च्यानल आफ्नो भएको बताएका छन् ।
‘बा भन्ने च्यानल हाम्रै हो, त्यसमा महिनामा एउटा-दुईवटा हाल्ने गर्या छु,’ ओलीले भन्छन् ।
त्यसपछि इस्टुले प्रधानमन्त्रीलाई निर्दोष तरिकाले सोधिन्, ‘साँच्ची हजुर के अभियोगमा जेल जानुभएको हो ?’
ओलीले सहजरूपमा जवाफ दिए, ‘अभियोग त मनपरी थिए । ८-१० जना मान्छे मार्या पनि भन्या थ्यो, बन्दूक खोस्या पनि भन्या थ्यो, डाका गर्या भन्या थ्यो, चोरेको भन्या थ्यो । जे जे भनेर मुद्दा लगाउन सकिन्छ त्यो सबै लगाको थ्यो ।’
अनि इस्टुले एउटा विचित्र प्रश्न गरिन्, ‘तपाईँलाई जेल जाँदाखेरि कस्तो लाग्थ्यो ? आहा कस्तो रमाइलो जस्तो लाग्थ्यो कि नरमाइलो ?’
ओलीले जवाफ दिन्छन्, ‘जेल जाँदा के रमाइलो हुन्थ्यो ? धेरै नराम्रोसित चुट्थ्यो । चुट्दा चुट्दा मेरो हात खुट्टा सुन्निएर बेहाल भएको थियो । बाँधेर, लडाएर चुट्थे ।’
यो संवादपछि इस्टुले प्रधानमन्त्रीलाई क्यामरातिर फर्किएर ‘हाइ’ भन्न लगाएकी थिइन् ।
प्रधानमन्त्रीसँग इस्टुको वान टु वान भेट भने थिएन । खासमा उनीसहित तीन जना युवतीहरू केपी ओली कपको उद्घाटन समारोहको विषयमा कुराकानी गर्न गएका थिए । टोलीको अर्को सदस्य थिइन् इभा गिरी । टिकटकमा लत परेकालाई उनको नाम पनि नौलो होइन् । उनी अत्यधिक ट्रोल हुने टिकटकरमा पर्छिन् ।
इभाले पनि प्रधानमन्त्रीसँग गरेको संवाद गरेको भिडिओ टिकटकमा पोस्ट गरेकी छन् । उक्त संवादमा उनले आफ्नो आमा पनि एमाले भएको प्रधानमन्त्री ओलीलाई सुनाउँछिन् ।
त्यसपछि ओली सोध्छन्, ‘तपाईँ नि ?’
इभा जवाफ दिन्छिन्, ‘म चैँ अब फ्यूचरमा । म चैँ फ्यान नै हो ।’
त्यसपछि प्रधानमन्त्रीले इभाको उमेर र परिवारका सदस्य संख्याको विषयमा सोधेका थिए । इभाले आफू २० वर्षको भएको बताइन् ।
प्रधानमन्त्रीले इस्टु र इभासँगको भेटघाटको भिडिओ टिकटकमा पोस्ट गर्दै लेखेका छन्, ‘शुभ विहानी । क्रियटर्स छोरीहरूसँग ।’
प्रधानमन्त्री ओलीले हाल अत्यधिक चर्चामा रहेका गायक कुमा सागरसँग पनि केही दिन अगाडि भेटे । कुमा सागर नेवा समुदायकै अन्य संगीतकर्मीको टोलीमा रहेर बालुवाटार पुगेका थिए । कुराकानीका दौरानमा उनले प्रधानमन्त्री ओलीलाई एउटा गीत पनि सुनाए ।
‘तिमी आई यो धर्ती रंगायौ रे…’ बोलको गीत सुनाएपछि ओलीले ताली बजाएर स्वागत गरे ।
अनि गीतको बोलमाथि टिप्पणी गर्दै भने, ‘तिमी आइ यो धर्ती रंगायौ रे… कस्तो भावना …. तिमी आउनुभन्दा पहिले यो धर्ती फिक्का थियो… ह्याप्पी भ्यालेन्टाइन डे ।’
अहिले चाहीँ एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा एक युवकले प्रधानमन्त्री ओलीसामु मुखले नै म्युजिक निकालेर ‘बा.. केपी बा..’ बोलको र्याप हानिरहेका छन् । यो भिडिओलाई लिएर धेरैले ट्रोल पनि गरिरहेका छन् । प्रधानमन्त्री ओलीले बालेनलाई ‘डिस’ हान्न एउटा र्यापर उतारेर आफ्नो गुणगान गाउन लगाएको कतिपयको आरोप छ । तर, यसको यथार्थ भने त्यस्तो थिएन ।
खासमा यी युवा नेकपा एमालेकै नेता (युवा संघका पूर्वअध्यक्ष) राजीव पहारीका छोरा हुन् । पेशाले इन्जिनियर उनी र्याप गाउनमात्र होइन, मुखले नै विभिन्न वाद्यवाधन यन्त्रको आवाज निकालन खप्पिस छन् । उनी आफ्नो बाबुको साथ लागेर प्रधानमन्त्री ओली निवासमा पुगेका थिए । त्यही क्रममा ओलीसँग उनले संक्षिप्त कुरकानी गर्ने अवसर पाए । ओलीले चासो राखेपछि उनले आफ्नो बारेमा बताए । आफूसँग भएको प्रतिभाबारे सुनाए । ओलीले प्रतिभा देखाउन भनेपछि उनले सो र्याप गाएका हुन् ।
विभिन्न विधाका कलाकारहरू बोलाउने र उनीहरूसँग रमाइलो गफगाफ गर्ने ओलीको पुरानै आदत हो । प्रधानमन्त्री नहुँदा पनि उनी आफ्नो निवासमा कलाकारहरू बोलाइरहन्थे । उनी नयाँ पुस्ताका पनि धेरै कलाकार र सेलिब्रिटीहरू चिन्छन् ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँको भनाइमा प्रधानमन्त्रीले गर्ने भेटघाटहरू आवश्यकता अनुरूप नै तय गरिएका हुन्छन् । युवा पुस्तालाई प्रधानमन्त्रीले प्राथमिकतामा राख्ने गरेको उनको भनाइ छ ।’
उनले भने, ‘प्रधानमन्त्रीले सबै उमेर समूहका व्यक्तिहरूलाई आवश्यकता र अनुकुलताका आधारमा भेट्नु हुन्छ । त्यही क्रममा कहिले युवा पर्छन् त कहिले वृद्ध । यद्यपि, युवाहरूलाई भेटेर उनीहरूको कुरा सुन्न प्रधानमन्त्रीज्यूको विशेष अभिरुचि देखेको छु ।’
प्रधानमन्त्री ओली प्राय राति १-२ बजेसम्म आफ्नो निवासमा आगन्तुकहरूसँग भेटघाट गरिरहेका हुन्छन् । बजगाईंका अनुसार राति १० बजेसम्मको भेटघाट सेड्यूल हुन्छ । तर, हरेक कुराकानीको समय लम्बिँदै गएर राति १-२ बज्ने गरेको उनको भनाइ छ ।
-

‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सरमा शाओमी
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही फागुन २५ गते शनिबार भक्तपुरको सल्लाघारी ग्राउण्डमा आयोजना हुने यस विशेष कन्सर्टमा शाओमीको सहभागिताले म्युजिक लभर्सहरूलाई थप उत्साहित बनाएको छ ।
त्यसैगरी शाओमी नेपालले हालै लोकप्रिय गायक सुशान्त केसी र चर्चित अभिनेत्री आना शर्मालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा प्रस्तुत गरेको थियो । शाओमीको इनोभेसन, सिर्जनशीलता र समुदायसँग नजिक हुने चाहनालाई प्राथमिकता दिदैँ कम्पनीले यो भव्य संगीत उत्सवलाई समर्थन गरेको बताएको छ ।
सङ्गीत र प्रविधिलाई जोड्ने साझा विचार सहित बनेको शाओमी र सुशान्त केसीको यो सहकार्य नेपाली दर्शकसँग अझ नजिकिन महत्वपूर्ण कदम साबित हुने विश्वास गरिएको छ । यस कन्सर्टले दर्शकहरूलाई अविस्मरणीय अनुभव दिनेछ जहाँ प्रत्यक्ष प्रस्तुतिहरू र शाओमीका नयाँ प्रविधिहरू एकैसाथ झल्किनेछन् ।
शाओमीले सबै सङ्गीतप्रेमीहरूलाई ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ मा सहभागी भई यो अद्भुत सहकार्यलाई समर्थन गर्न आमन्त्रण गर्दछ । आगामी दिनमा शाओमी नेपालले अझ रोमाञ्चक अनुभवहरू र प्रविधि–सम्बन्धित कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।
-

चलचित्र ‘लाज शरणम्’ले गर्यो उत्साहजनक ओपनिङ, पहिलो दिन कति कमायो ?
काठमाडौं । महाशिवरात्रिको अवसर पारेर यहीँ बुधबारदेखि देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’ले घरेलु बक्सअफिसमा उत्साहजनक ओपनिङ गरेको छ ।
चलचित्रले पहिलो दिन नै देशभरबाट १ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ। नयाँ चलचित्र निर्माण टिमको लागि पहिलो दिनको यो कलेक्सन राम्रो हो।
चलचित्रका बितरक ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीका अनुसार यो धेरैपछिको ब्लकबस्टर ओपनिङ हो। उनी भन्छन,’धेरै पछि यो घरेलु बक्स अफिसको एकदमै राम्रो ओपनिङ हो। त्यहीँ पनि पहिलो दिनको। अहिले पनि हलहरुमा चलचित्रको अकुपेन्सी एकदमै राम्रो छ। कति हल हाउसफुल छन। चलचित्रले अझै राम्रो व्यापार गर्छ।’
लाज शरणम्’ हिजो देखि २०० शोसहित रिलिज भएको थियो । पहिलो दिन धेरै हलहरुमा चलचित्र हाउसफुल थियो।
विहिबारको अकुपेन्सीबारे बताउँदै वितरक राठी भन्छन,’पहिलो दिन भन्दा आज अकुपेन्सी केही कम भएपनि शुक्रबार र शनिबार चलचित्र फेरि बम्पर गर्छ। सार्वजनिक बिदा भएकाले गर्दा पनि चलचित्रले राम्रो कमाइ गर्ने देखिन्छ।’
-

पोखरामा सुरू भयो ‘नेपाल लिटरेचर फेस्टिभल’, सञ्चारमन्त्री गुरुङले गरे उद्घाटन
पोखरा । पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरू भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराहीघाट मैदानमा फागुन १८ सम्म चल्नेछ ।
‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गरेका छन् । संवाद सत्रहरू भने दिउँसो एक बजेदेखि सुरू हुनेछ ।
सत्र सुरू हुनुअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचन रहने फेस्टिभलका निर्देशक निरज भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटीको प्रो-उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए । उद्घाटन समारोहमा अनिल शाही र समूहको विशेष सांगीतिक प्रस्तुति पनि हुनेछ ।
उद्घाटन समारोहपछि भूपी कक्षमा अध्यात्म र संघर्षमाथि ‘अलि अलि हार हो, अलि अलि जित जित !’ सत्रमा अभिनेत्री मनिषा कोइराला र लेखक एवम् पत्रकार विजय कुमारको संवाद हुनेछ । त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म ‘स्मृतिमा भूमि’ सत्रमा कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले संवाद गर्नेछन् । अलिमियाँ कक्षमा दिउँसो २ बजेदेखि ३ बजेसम्म सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रित संवाद गर्ने भारीले जानकारी दिए ।

भूपी कक्षमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भरत कोइरालाले प्रदेश सरकारका गतिविधि, अवसर र चुनौतीलगायत विषयमा संवाद गर्ने आयोजकले जनाएको छ । सोही समयमा अलिमियाँ कक्षमा ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा सीता मादेम्बाले सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग संवाद गर्ने फेस्टिभलका कार्यकारी निर्देशक अजित बरालले जानकारी दिए ।
भूपी कक्षमा दिउँसो ४ बजेदेखि ५ बजेसम्म नेकपा (एमाले) नेता एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिका सुख-दुःख सुनाउने छन् । उक्त सत्रको सहजकर्ता निर्मला शर्मा रहेकी छन् । अलिमियाँ कक्षमा सोही समयमा केशवशरण लामिछानेले प्रेम र साहित्यमाथि केन्द्रीत रहेर भावेश भुमरी र प्रणिता चाम्लिङसँग संवाद गर्नेछन् ।
भूपी कक्षमा साँझ ५ बजेदेखि ६ बजेसम्म ओमविक्रम विष्टको सांगीतिक प्रस्तुति रहने छ । त्यस्तै अलिमियाँ कक्षमा गौरी तमुले प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापासहित विष्णु सिञ्जाली र जुनाकुमारी गुरूङसँग गण्डकीका गुरूङ र मगर भाषाको विषयमा संवाद गर्नेछिन् ।
कलाकार लोक चित्रकारको पौभा चित्रकला प्रदर्शनी फेस्टिभलको मुख्य आकर्षण रहेको आयोजक समितिका सदस्य केशवशरण लामिछानेले जानकारी दिए । फेस्टिभलमा छुट लिएर स्टलबाट पुस्तक पनि खरिद गर्न सकिने छ ।
यसपटक फेस्टिभलमा देश-विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।
एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुध्द एयरले स्वर्द्धन गरेको छ । पोखरा महानगरपालिका प्रवर्द्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवर्द्धक छ । त्यस्तै उप-प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिएका छन् ।
फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ । परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरू भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिन्छ ।
फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।
८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ । फेस्टिभलले उपलब्ध गराएको मञ्च नयाँ पुस्ताका लेखक तथा विचारकहरू तयार पार्ने माध्यम बन्ने आयोजक बुकवर्मको अपेक्षा छ ।
-

सडकमा बिजोग अवस्थामा भेटिइन् सुम्निमा, म्याकुरीलाई फोन आएर हैरान
काठमाडौं । चर्चित युवा कमेडियन पवन खतिवडा (म्याकुरी) कि पूर्वपत्नी सुम्निमा खालिङ सडकमा अलपत्र अवस्थामा भेटिएकी छन् । कपनको पहेँलो पुल छेउमा उनलाई बेहोस भएर लडिरहेको स्थितिमा स्थानीयले देखेका थिए ।
सुम्निमाले नशालु पदार्थ सेवन गरेर बेहोस भएको अनुमान गरिए पनि आधिकारिकरूपमा थाहा भएको छैन । म्याकुरीसित डिभोर्सपछि उनी काठमाडौंमा फ्ल्याट लिएर आमा र बहिनीसित बस्दै आएकी थिइन् । यसअघि पनि उनी मदिरा सेवन सेवन गरेर सडकमा भौतारिने गरेको बुझिएको छ ।
कपनमा पसल गर्दै आएकी एक स्थानीय महिलाले बिहान ७ बजेबीच बाटोमा लडिरहेको अवस्थामा आफूले देखेको बताइन् ।
घटनास्थलमा पुगेका युट्यूवरहरूलाई उनले भनिन्, ‘उहाँ बेहोस भएर लडिराख्नुभएको थियो । को हुनुहुन्छ भन्ने मैले चिनिनँ । अर्को दिदीले म्याकुरीको श्रीमती हो भन्नुभयो । यसपछि मैले शर्मिला (वाइवा) दिदी लाई खबर गरेँ ।’
विगतमा म्याकुरी र सुम्निमाको घरझगडामा शर्मिला वाइवा पनि मुछिएकी थिइन् । वाइबाकै योजनामा म्याकुरीमाथि कुटपिट समेत भएको थियो । सुम्निमा केही समय वाइबाकै घरमा बसेकी थिइन् । तर, पछिल्लो समय आफू सुम्निमासँग सम्पर्कमा नरहेको वाइबाले बताएकी छन् ।
महिलाले बेहोस अवस्थामा लडिरहेको फोटो शर्मिला वाइवालाई फेसबुकमा पठाएकी थिइन् । उनले म्याकुरीलाई पनि फोन गरिन् । म्याकुरी कमेडी दरवारको सुटिङमा थिए । म्याकुरीले फोन रिसिभ गरे पनि श्रीमतीको कुरा भन्नासाथ फोन काटेको महिलाले बताएकी छन् ।
यो पनि पढ्नुहोस्- म्याकुरी, सुम्निमा, रीतु, देवान मामा र शर्मिला वाइबा !
म्याकुरीले रेस्पोन्स नगरेपछि महिलाले फेरि वाइवालाई फोन गरिन् । वाइबा केही युट्यूवर बटुलेर घटनास्थलमा आइन् । महानगर प्रहरी पनि आइपुग्यो । प्रहरीले कागतीपानी पिलाएर उनलाई होसमा ल्याए । होसमा आएपछि उनले आफू म्याकुरीसँग वडा कार्यालयमा कागज गरेर अलग भएको बताएकी छन् ।
प्रहरीले सुम्निमालाई उद्दार गरेर लैजाने तयारी गरे तापनि केहीबेरमा उनका एक आफन्त आइपुगेका थिए । त्यसपछि आफन्तले उनलाई जिम्मा लिए ।
निकटस्थका अनुसार लामो समयदेखि सुम्निमा मदिराको कुलतमा छिन् । उनी पटक-पटक सडकमा बेहोस अवस्थामा भेटिने गरेको बताइएको छ । पटक-पटक म्याकुरीलाई उनको नाम लिएर फोन आउने गरेको छ । हिजाेबाट पनि उनकाे फाेनकाे घन्टी बजेकाे बज्यै छ ।
सुम्निमा मानसिक समस्याबाट पनि पीडित छिन् । उनले लामो समयदेखि एन्जाइटी र डिप्रेसनको औषधि खाने गरेकी थिइन् । विवाहपछि म्याकुरीले उनको स्वास्थोपचार र कुलतबाट छुटाउनका लागि भरमग्दुर प्रयास गरेका थिए । केही समय पत्नीलाई रिह्याभमा समेत लगेर राखेका थिए । तर, अहिलेसम्म पनि सुम्निमाको कुलत छुटेको छैन । मदिरा सेवन गर्न नपाए उनी औषधिको ओभरडोज खाइदिन्छिन् ।
नशाको अवस्थामा सुम्निमाले उग्र व्यवहार देखाउने गरेकी थिइन् । उनी जोकसैलाई हात हाल्न बाँकी राख्दिनन् । म्याकुरीले पत्नीको हातबाट बारम्बार कुटाइ खाने गरेका थिए । यो विषयलाई उनी अहिले आफ्नो ‘कमेडी कन्टेन्ट’ बनाइराखेका हुन्छ्न् ।
म्याकुरी र सुम्निमाको दाम्पत्य सम्बन्ध गत वर्ष टुटेको हो । २०७८ साल असोज २८ गते उनीहरुले परम्परागतरुपमा विवाह गरे तापनि विवाह दर्ता गरेका थिएनन् । भारतको सिक्किम निवासी सुम्निमासँग नेपाली कागजात केही पनि नभएकाले विवाह दर्ता हुन नसकेको हो । विवाह दर्ताको अभावमा अदालति डिभोर्स हुन सकेन । त्यसपछि उनीहरुले म्याकुरीको गृहजिल्ला धनकुटाको स्थानीय वडामा गएर एक-अर्कासँग छुट्टिने सहमति गरेका थिए । सुम्निमाले मागेको रकम म्याकुरीले दिएपछि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
सम्बन्ध तोडिएपछि म्याकुरी र सुम्निमा आआफ्नो बाटो लागे । यद्यपि, सामाजिक सञ्जालमा उनीहरूले एकअर्कालाई ब्लक गरेका थिएनन् । यदाकदा गफ पनि हुन्थ्यो । सुम्निमाले आफ्नो दिदीको सिक्किममा निधन भएको खबर म्याकुरीलाई सुनाएकी थिइन् । उनले आफूलाई सिक्किम जान आर्थिक अभाव भएको बताएपछि म्याकुरीले केही पैसा दिएका थिए ।
वडा कार्यालयमा कागज गरेपछि सुम्निमाले म्याकुरीसित अरु थप डिमान्ड केही पनि गरेकी छैनन् । प्रतिभाशाली कमेडियन म्याकुरी आफ्नो करिअरमै फोकस्ड छन् । अहिलेको चर्चित टिभी रियालिटी शो ‘कमेडी दरबार’ मार्फत उनी दर्शक हँसाइरहेका छन् । म्याकुरीले सुम्निमालाई पनि कलाकारितामा ल्याउन खोजेका थिए ।
म्याकुरीले निर्देशन गरेका कमेडी सिरियलमा सुम्निमाले अभिनय गरेकी थिइन् । तर, म्याकुरीसित अलग भएपछि सुम्निमाको कलाकारिता अगाडि बढ्न सकेन । उनले अन्यत्र अवसर पाइनन् ।
-

नेपाली समाजको रित्तोपन र एक्लोपनको हिसाब खोजिरहेको नाटक ‘जून त लग्यो ताराले’
पक्कै तपाईंलाई थाहा छ, विदेश हिँडेको मान्छेले के-के लिएर जान्छ ? घरको संघार नाघेर जाँदै गरेको उसले सानो झोला र झोलाभित्र पासपोर्ट बोकेर जान्छ । आँगनको डिल नाघ्दै गरेको उसले अलिकति आँसु र केही मीठा सम्झनाहरू बोकेर जान्छ । एयरपोर्टबाट जहाज चढिरहेको उसले अलिकति माटोको सुगन्ध र राष्ट्रप्रेम लिएर जान्छ । वर्तमान नेपाली समाजले भोगिरहेको तीतो यथार्थ यही हो ।
वर्तमान नेपाली समाजको यो नियतिलाई न नकार्न सकिन्छ, न पन्छाउनै सकिन्छ । दुई गेडा चामलदेखि दुई बुँद तेलसम्ममा तिनै मुटु निचोरेर विदेशिएकाहरूको पसिना लतपतिएको हुन्छ । दुई-चार थान सुरक्षा गार्ड र दुईचार फाइल भ्रष्टाचारका योजनामा तिनै रुँदै रुँदै विदेशिएकाहरूको रगत लतपतिएको हुन्छ । तिनै विदेशिएकाहरूको सपनाका बुँदाहरूलाई केरमेट गरेर राजनीतिक दलका दुई/चार बुँदा घोषणापत्र र समृद्धिका दुईचार लाइनहरू लेखिन्छन् ।

के यतिमात्रै वर्तमान नेपाली समाजको नियति हो त ? पक्कै होइन । नेपाली समाजको यो तीतो यथार्थभित्र डरलाग्दो रित्तोपन पनि थपिँदै गइरहेको छ । भयानक एक्लोपनबाट गुज्रँदै गइरहेको छ नेपाली समाज ।
विदेशिएका श्रीमान् वा श्रीमतीसँगै माया, साथ र विश्वास घरको संघारभित्रै कतै छुटिरहेको छ । विदेशिएका आमा वा बाबुसँगै मातृत्व र पितृत्व कतै छुटिरहेको छ । विदेशिएका छोरा वा छोरीसँगै आमाबाबुको स्नेह र न्यानोपन छुटिरहेको छ ।
दुई/चार हजार ऋणको हिसाबकिताब मिल्न सक्छ । तर, यसरी छुटिरहेका स्नेह, माया, साथ, विश्वास, महसुस र न्यानोपनको हिसाबकिताब मिल्न सक्छ त ? यही प्रश्नको जवाफ खोज्ने कोसिस गरेको छ मण्डला थिएटरमा प्रदर्शन भइरहेको नाटक ‘जून त लग्यो ताराले’ ले । इँगिहोपो कोइँच सुनुवारको लेखन, परिकल्पना तथा निर्देशनमा निर्मित यो नाटकले एक्लो बनिरहेका मनहरूको हिसाबकिताब गर्ने कोसिस गरेको छ ।
नाटकमा ‘भूमि’ नामक पात्रमार्फत् सिंगो नेपाली समाजको रित्तोपनलाई खोतल्ने कोसिस गरेका छन् निर्देशक सुनुवारले । भूमिको बाल्यकाल, युवाकाल र वैवाहिक जीवनपछिको अवस्थालाई बिम्बको रूपमा प्रयोग गरेका छन् ।

नाटकमा भूमिको उमेरका तीनवटा अवस्था देखाइएको छ, बाल्यकाल, युवा उमेर र विवाहपछिको समय । उमेका यी तीनै तहमा भूमि केवल एक्ली छिन् । बाल्यकालमा भावनात्मकरूपले नजिक रहेका बुवा परदेशिन्छन् । अलि ठूलो भएपछि दाइ परदेशिन्छन् । र, विवाह गरेपछि श्रीमान् परदेशिन्छन् । अनि भूमिसँग केबल रिक्ततामात्रै बाँकी रहन्छ । यही रिक्तताको कथा हो ‘जून त लग्यो ताराले’।
‘भूमि’ नामक पात्रलाई निर्देशक सुनुवारले प्रतिकात्मकरूपमा जमिनसँग पनि लगेर जोडिदिएका छन् । जसरी हाम्रा जमिन दिनदिनै बन्जर र रुखो बन्दै गइरहेको छ, त्यसैगरी नेपाली समाज रित्तो र एक्लो बन्दै गइरहेको छ । यो रित्तोपन र एक्लोपनको वासलात कहिल्यै मिल्नेवाला छैन । त्यही नमिलेको वासलातको फेहरिस्त हो ‘जून त लग्यो ताराले’ ।
नाटकमा प्रकाशहरूको सुन्दर संयोजन गरिएको छ । तर, हतार-हतारमा गरिएको पो हो कि ! पात्रको मुभमेन्ट र प्रकाशको मुभमेन्टलाई अझै राम्रोसँग मिलाउन सकेको भए गज्जब हुन्थ्यो । ध्वनीको पनि गज्जबले संयोजन गरिएको छ । ध्वनीमा सारंगी चाहिँ खुब मिस हुन्छ । सायद नेपाली समाजको दुःख, वेदनासँग सारंगीको पुरानो साइनो भएकाले होला ।

ल्याब १६ का ब्याचका प्रशिक्षर्थीहरूले नाटकमा अभिनय गरेका छन् । तीन महिने कोर्स गरेका कलाकारहरू अझै निखारिन बाँकी हो कि भन्ने दर्शकलाई पर्नसक्छ । भूमि केटाकेटी नै हुँदा दाइसित ‘हट घोडा हट’ खेल्दाको दृश्य र संवादले यस्तो महसुस गराउँछ । तर, कलाकारहरूको अभिनयप्रतिको जुनुन प्रशंसालायक छ ।
अनि नाटकको क्लाइमेक्समा एक्लोपनसँग जुधिरहेकी भूमिको वर्तमान मनोविज्ञान र नोस्टालजियालाई जसरी देखाइएको छ, त्यो दृश्यले दर्शकलाई छुट्टै खालको सन्तुष्टि प्रदान गर्छ । नाटकको सबैभन्दा बलियो पक्ष नै यसको क्लाइमेक्स हो, जहाँ आफ्नै तरीकाले जीवन जिउनुपर्ने निष्कर्षमा नाटकलाई टुंग्याइन्छ ।
नाटक आउँदो १८ गतेसम्म मण्डला थिएटर, थापागाउँमा मञ्चन हुनेछ ।

तस्बिरहरू : jubair
-

खगेन्द्र र वर्षाको जोडी बाँध्दै ‘हर्ष’को शुभमूहूर्त, १७ गतेबाट फ्लोरमा डेब्यू
काठमाडौं । निर्देशक एकता पौडेलको ‘हर्ष’ सिनेमाको शिवरात्रीको अवसर पारेर काठमाडौंको ठमेल स्थिति त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । सिनेमामा खगेन्द्र लामिछाने तथा वर्षा राउतको प्रमुख भुमिका रहनेछ । उनीहरुका अलावा सिनेमामा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहनेछ ।
एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा सिनेमाहरु बनाएकी छन् ।
फागुन १७ गते फ्लोरमा जाने सिनेमाले पारिवारिक सामाजिक कथा पस्किनेछ । सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । सिनेमालाई आलोक शुक्लाले खिच्नेछन् भने संगीत वसन्त सापकोटा तथा एलिश कार्कीको रहनेछ । यस्तै संपादकमा लोकेश बज्राचार्य छन् भने सुनिल क्षेत्रीले कोरियोग्राफी गर्नेछन् ।
कुलदिप शर्मा मुख्य सहायक निर्देशक तथा ईश्वर घिमिरे निर्माण नियन्त्रक रहेको सिनेमा ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्नेछ । प्रशन्न पौडेल र विकास पौडेल ९चितवन० सिनेमाका निर्माता हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल ९चितवन० रहेका छन्। सिनेमा २०८२ सालमा रिलिज हुनेछ ।
-

नयाँ रियालिटी शो ‘कमेडी किड्स’ हुँदै , आजबाट डिजिटल अडिसन खुला
काठमाडौँ। ‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’ आउने भएको छ। आज महाशिवरात्रीको अवसर पारेर शोको डिजिटल अडिसन खुला गरिएको हो। रियालिटी शो ‘कमेडी किड्स’ मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर व्हाट्स एप र जिमेल अथवा भाइबरमा पठाउन सक्नेछन्। भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ।सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन्। डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृष्ट छानेर शोको फर्म्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक खनालले बताए। भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिवार्य समावेश गर्नुपर्नेछ । भिडियो पठाउने जिमेल comedykids.npl@gmail.com रहेको छ भने नम्बर 9702091421 रहेको छ।बालबालिकाहरूलाई लक्षित गरी निर्माण गरिने शोमा ४ देखि १४ वर्ष सम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले बताएका छन्। सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल भई सकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजक टिमले जानकारी दिए । डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिङ पार्टनरमा ओएसआर कनेक्ट रहेको छ। -

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्देशन गर्दै, आज शुभमुहूर्त
काठमाडौं । चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको आज शुभमुहूर्त गरिएको हो ।
निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा चलचित्रको मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिएका छन।
करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी चलचित्रको सुटिङका लागि स्याङ्जा जानेछ । चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकार छन् ।
यो चलचित्रमा लिड रोलमा सुरक्षा पन्त रहने छिन् भने चलचित्र महिलाप्रधान रहेको बताइएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रुपमा रहनेछन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन् ।
बाबु श्रेष्ठको डीओपी रहने चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ भने कास्टिङ डिरेक्टरमा सुवलमणि सापकोटा रहनेछन् ।
निर्माण पक्षका अनुसार यो चलचित्र २०८२ मा रिलिज हुनेछ ।
-

‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर, हेर्नेले खुलेर भने – फुल इन्टरटेनमेन्ट, पैसा असुल्छ
काठमाडौं । हिजो मंगलबार ललितपुरको लाबिम मलमा ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ। सिनेमा आर्टस् जस्तो प्रतिष्ठित फिल्म निर्माण कम्पनी निर्मित सिनेमा भएकाले पनि काठमाडौंमा उपलब्ध अधिकांश सेलिब्रेटीहरू प्रिमियरमा उपस्थित थिए।
प्रिमियरअघि उनीहरूबीच चलेको खासखुसमा १० वर्षअघिको सिनेमाको सिक्वेल कस्तो बनेको होला भन्ने कुरामा विशेष चासो रहेको पाइन्थ्यो। सिनेमा हेरेपछि भने उनीहरू खुशी देखिन्थे। कारण, सिनेमामा उनीहरूलाई मनपर्यो, अधिकांशले क्यामरा अगाडि अप्ठ्यारो नमानी सिनेमाको कमेडी शैली र त्यसले दिएको सन्देशको तारिफ गरे, जुन धेरैजसो नेपाली सिनेमाको प्रिमियरमा बिरलै हुने गर्छ। कतिपय प्रिमियरमा त सिनेमा हेर्न पुगेका सिनेकर्मीहरू क्यामरा छल्दै हिँडेको देखिन्छ, तर हिजो भने फरक दृश्य देखियो, उनीहरू क्यामरा छलेर भागेनन्।
उनीहरूले क्यामरा अगाडि खुलेरै सिनेमाले पेट मिचिमिचि हसाएको भन्दै सिनेमाको तारिफ गरे।
सिनेमाको प्रिमियरमा पुगेका ‘उनको स्वीटर’बाट डेब्यू गर्न लागेका नविन चौहानले आफूलाई सिनेमा ‘फिलिली’ अर्थात् राम्रो लागेको प्रतिक्रिया दिए भने वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले सिनेमालाई ‘बबाल रमाइलो’ भन्दै थम्सअप गरे।
यसैगरी ‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाले सिनेमा आफूले सोचेभन्दा धेरै राम्रो बनेको बताए भने सिनेमाका ‘हरिया’ कामेश्वर चौरसियाको कामको तारिफ गरे। ‘पिताम्बर’ सिनेमाको प्रदर्शनको तयारीमा रहेकी निर्मात्री(निर्देशक कृषा चौलागाईंले ‘आउटस्ट्यान्डिङ’ अर्थात् ‘उत्कृष्ट’ भएको प्रतिक्रिया दिँदै ‘यो फिल्म हेरेन भने रमाइलो गर्नै बिर्सनुहुन्छ’ भनिन्।
अभिनेत्री ऋचा शर्माले कमेडी च्याम्पियनपछि ‘फेरि रेशम फिलिली’ हेरेर ‘एकदमै रमाइलो’ लिएको बताउँदा अर्की अभिनेत्री शिल्पा मास्केले सिनेमा ‘एकदमै मनोरञ्जक’ बनेको बताइन्। ‘कबड्डी’ सिरिजमा ‘झाँक्री बा’ पात्रबाट लोकप्रिय बनेका सिनेमा लेखक, निर्देशक तथा साहित्यकार उपेन्द्र सुब्बाले आफ्ना दुबै हातले थम्सअप गर्दै ‘बबाल, बाबाल, बाबाल फिलिली’ भन्ने प्रतिक्रिया दिए।
यस्तै चर्चित कमेडियन सुमन कार्कीले ‘बबाल मजा आयो, मस्त’ भन्दै सिनेमामा ‘हाजमोला’ चरित्र निर्वाह गरेका आफ्ना समकालीन साथी म्याकसम गौडेलको तारिफ गर्दै ‘म्याकसम गौडेल जिन्दावाद’ भने। उनले आफ्ना साथीलाई ठूलो पर्दामा पहिलो पटक देख्न पाउँदा खुशी लागेको बताए।
यसैगरी निर्माताहरू सरोज न्यौपाने र रोहित अधिकारीले सिनेमा बाबाल लागेको बताए भने हाल ‘जेरी अन टप’ निर्देशन गरिरहेका सुयोग गुरुङले पनि आफूलाई सिनेमा ‘दामी’ लागेको बताए।
यस्तै अभिनेत्री सिमरन खड्काले सिनेमा एकदमै राम्रो लागेको बताउँदै ‘कामेश्वर चौरसिया सर केकमा चेरी हुनुहुन्छ, सबै जना आएर हेरिदिनुहोला’ भनिन्।
यसैगरी कलाकार र सिनेकर्मीको साथमा प्रिमियरमा सिनेमा हेरेका रंग पत्रकारहरूले सिनेमा रमाइलो, व्यवसायिक बनेको भन्दै डेब्यू निर्देशक निरोज महर्जनको कामको तारिफ गरे। उनीहरूले नेपाली सिनेमाले राम्रो निर्देशक पाएको बताएका थिए।
उता स्ट्यान्डअप कमेडियन भरतमणि पौडेलले पनि म्याकसम गौडेलको उच्च प्रशंसा गर्दै आफूले सो भूमिका गर्न नसक्ने बताए। उनले गौडेलले ‘कस्तो दामी काम गरेको रैछ’ भने।
यसैगरी अर्का कमेडियन सुमन कोइरालाले सिनेमालाई ‘पैसा वसुल’ भन्दै ‘मलाई नेपालमा बनेको कमेडी फिल्म यत्तिको टेक्निकल, कथाहरू यत्तिको अर्गानिक र यस्तो राम्रो तरिकाले देखाएको थाहा छैन। अहिलेचाहिँ साँच्चिकै राम्रो फिल्म हेरेको महसुस भयो।’ उनले सबै कलाकारले आफ्नो पात्रमा ‘नेक्स्ट लेभल’ काम गरेको बताए।
त्यस्तै कमेडियन कैलाश कार्कीले सिनेमालाई १० मा ९ रेटिङ दिए। उनले सो रेटिङ साथीको फिल्म भएर नदिएको स्पष्ट पार्दै भने – ‘म्याकसमलाई हटाएर दिए पनि ९ नै हो। समग्रमा सिनेमा राम्रो छ। यो मैले सिनेमा मन परेर नै भनेको हो। फिल्म पैसा तिरेर हेर्दा मस्त पैसा असुल्ने छ।’

-

विष्णुले हटाए सामाजिक सञ्जालबाट एलिनासँगको सबै फाेटाे र भिडियो, एलिनाकोमा भने उस्तै
काठमाडौँ। विष्णु सापकोटाले गायिका एलिना चौहानको सबै फोटो र भिडियोहरु आफ्नो सामाजिक सञ्जालबाट हटाएका छन्। सम्बन्धविछेद भएपछि पनि विष्णु र एलिनाले एक अर्काको फोटो र भिडियो आफ्नो सामाजिक सञ्जालबाट हटाएका थिएनन्। विवाहको बेला खिचिएका तस्विरहरु र विवाहपछि यी दुईले सँगै मिलेर बनाएका भिडियोहरु, दुवैको टिकटक र फेसबुकमा छ्याप्छयाप्ती थिए। तर अहिले भने विष्णु सापकोटाले एलिनाको सबै तस्विर र भिडियो टिकटकबाट हटाएका छन् ।
गायिका चौहानले भने पूर्व श्रीमानसँग तस्विर र भिडियोहरु अहिलेसम्म हटाएकी छैनन् । उनको टिकटकमा अहिले पनि विष्णुसँगका भिडियो र विवाहका तस्विरहरु यथावतै छ।
गायिका एलिना चौहान र उनका श्रीमान विष्णु सापकोटाबीच कानुनीरूपममा सम्बन्धविच्छेद भइसकेको छ। एलिनाले गत माघको दोस्रो साता मुलुकी देवानी संहिता २०७४ को दफा ७५ (ग) बमोजिम सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्। सोही अनुसार उनीहरुको गत माघ २८ गते मंगलबार काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा टुंगो लागेको हो।
सम्बन्धविछेपछि गायिका चौहानले विष्णुलाई सम्बोधन गर्दै भावुक स्टाट्स लेखेकी थिईन्। विष्णुले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।
झापाकी एलिना र बागलुङका विष्णुबीच गत वैशाखमा विवाह भएको थियो। केही वर्ष प्रेम सम्बन्धमा रहेपछि चौहानले अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । तर उनको वैवाहिक जीवन ९ महिनाकै टुगिंयो।