Category: कलाप्रेस

  • आफ्नै चलचित्रको प्रिमियरमा पुगिनन् एञ्जिला, प्रमुख कलाकारहरू पनि अनुपस्थित !

    आफ्नै चलचित्रको प्रिमियरमा पुगिनन् एञ्जिला, प्रमुख कलाकारहरू पनि अनुपस्थित !

    काठमाडौं । फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘अञ्जिला’को धरानमा भव्य रेड कार्पेट प्रिमियर भएको छ । शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टीम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरू र स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति थियो ।

    नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको हङकङ, कोरिया र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलो पटक धरानमा प्रिमियर गरिएको हो ।

    प्रिमियरमा निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सहनिर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि चलचित्रकी मुख्य अभिनेत्री एञ्जिला र अन्य प्रमुख कलाकारहरू भने कार्यव्यस्तताका कारण समारोहमा उपस्थित भएनन् ।

    चलचित्रमा एञ्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको प्रमुख अभिनय छ ।

    चलचित्र हेरेर निस्किएका दर्शकले ‘एञ्जिला’को सङ्घर्षको कथाले मन छोएको प्रतिक्रिया दिए । उनीहरुले चलचित्रको प्रशंसा गर्दै मिलन चाम्सको उत्कृष्ट निर्देशनको सराहना गरे ।

    धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले चलचित्रले नेपाली खेलाडीहरूको वास्तविक सङ्घर्षलाई चित्रण गरेको बताए । युवा दर्शकहरूले चलचित्र हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको प्रतिक्रिया दिए । चलचित्रकी बाल कलाकार नमिक्षा मगरले एञ्जिलाको सङ्घर्ष देखेर आफू पनि रोएको बताइन् ।

    दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माण टीम उत्साहित देखिएको छ । निर्माता श्रेष्ठले दर्शकहरूको माया र समर्थनले आफू भावुक भएको बताए । निर्देशक चाम्सले दर्शकहरू रुँदा आफू पनि भावुक भएको अनुभव सुनाए ।

    चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उनले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए ।

    चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको थियो । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका हुन् । सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् ।

  • ‘एक्सन हेर्दा जति सहज देखिन्छ, गर्दा त्यति गाह्रो हुँदो रहेछ, अहिलेसम्म हातमा चोट छ’ – नायक सुशील श्रेष्ठ

    ‘एक्सन हेर्दा जति सहज देखिन्छ, गर्दा त्यति गाह्रो हुँदो रहेछ, अहिलेसम्म हातमा चोट छ’ – नायक सुशील श्रेष्ठ

    काठमाडौं । यहीँ फागुन २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र हो, ‘आउटलः दफा २१९’। रिलिज मिति नजिकिएसँगै निर्माण टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ। चलचित्रलाई लिएर निर्माण टिमसँगै नायक सुशील श्रेष्ठ उत्साहित छन्। श्रेष्ठका अनुसार ‘आउटल’ नाम नै सिने क्षेत्रका लागी नयाँ भएको हो। उनी भन्छन्,‘यस्तो नाममा यसअघि कुनै फिल्म बनेका छैनन् । यो नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हो ।

    जब देशको कानुनले न्याय दिन सक्दैन, तब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ । त्यसपछि एक जना व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ ।’ सुशीलका अनुसार यो चलचित्र मनोरञ्जनका लागि मात्र बनाइएको होइन। यो चलचित्रले समाजमा सकारात्मक प्रभाव पार्न खोजेको र चलचित्र रिलिजपछि दर्शकको मनमा एक प्रकारको छाप बस्ने उनको भनाइ छ। चलचित्रमा आफ्नो भूमिकाबारे सुशील भन्छन्,‘कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन । उसलाई परिस्थिति र समयले नकारात्मक बनाउने हो ।

    चलचित्रमा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ । उसलाई परिस्थितिले कानुन भन्दा बाहिर जाने अवस्था बनाउँछ । चलचित्रको कथा यही सारमा छ ।’ चलचित्रमा नायक श्रेष्ठले भिन्न शैलीको एक्सन गरेका छन् । तर, सो एक्सन गर्न सहज नभएको उनको भनाई छ । ‘एक्सन गर्न निकै नै गाह्रो रहेछ । म छायाङ्कनको क्रममा निकै नै थकित हुन्थेँ । कट भन्ने बित्तिकै निन्द्रा लाग्थ्यो । यो फिल्मको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन,’उनी सुनाउँछन् ।

    चलचित्रमा सुशीलको हातमा आगो बालेर दृश्य खिचिएको छ । यो दृश्यको बारेमा उनी भन्छन् ,‘मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाईहरुले हातमा आगो लगाएर गरेको स्टन्टको दृश्य हेरेको थिएँ । त्यो दृश्य हेर्दा जति सहज लाग्थ्यो, गर्दा त्यति नै गाह्रो रहेछ। तर, नयाँ अनुभव थियो। रमाइलो भयो । दर्शकहरूलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ जस्तो लाग्छ ।’ सुशील चलचित्र ‘आउटलः दफा २१९’को ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित छन् । साथै, मिडियामा हिजोआज आफ्नो विषयमा आउने हेडलाइन फेरिएकोमा पनि उनी दङ्ग छन् । उनी भन्छन्,‘पहिले मेरो फिल्म रिलिज हुने बेलामा फ्लप सुशील अब हिट होलान् त ? यो फिल्ममा चल्ला त सुशीलको स्टारडम ? जस्ता हेडलाइन आउथेँ । तर, अहिले फेरिएको छ । म यहाँ नै सफल भइसकेको छु जस्तो लागेको छ ।’ चलचित्र यहीँ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । विक्की महर्जनको निर्देशनमा तयार भएको यो चलचित्रमा अमित अग्रहरिको लगानी छ।

  • मिस्टर डीको आवाजमा ‘आउटलः दफा २१९’को गीत ‘अन्धो कानून’ सार्वजनिक

    मिस्टर डीको आवाजमा ‘आउटलः दफा २१९’को गीत ‘अन्धो कानून’ सार्वजनिक

    काठ्माडौं । यही फागुन २९ गते रिलिज हुन लागेको चलचित्र ‘आउटलः दफा २१९’को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘अन्धो कानून’ बोलको गीतमा नेता र सरकारमाथि आक्रोश पोखिएको छ ।

    कानून अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिन्छ भन्ने भाव गीतमा देखाइएको छ । गीतमा एउटै व्यक्ति बारम्बार सरकारमा गएको, जनतामाथि अन्याय गरेको, बलात्कारीलाई संरक्षण गरेकोलगायतका शब्द बुनिएको छ ।

    मिस्टर डीले तयार पारेको यस गीतमा उनकै संगीत छ । गीतमा नितु पुनले पनि स्वर दिएकी छन् । गीतको भिडियोमा दीर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ । सलिना कार्यकारी निर्देशन रहेको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टीममा छन् । यसमा राजेश कुटुको कोरियोग्राफी छ ।

    नवीन गुरुङले खिचेको चलचित्रलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । अमित अग्रहरी र निशा गुइडेको लगानी रहेको चलचित्रमा विक्की महर्जन र दीर्घ धामीको पटकथा, साहिल खानको सम्पादन र विनोद कठायत कार्यकारी निर्माताको रुपमा छन् ।

    चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय छ ।

  • ‘बलिदान’ मा समिर भट्टकी नायिका काे हुन् ? यस्ताे छ लुक्स 

    ‘बलिदान’ मा समिर भट्टकी नायिका काे हुन् ? यस्ताे छ लुक्स 

    काठमाडौं । आगामी वडा दसैँको फूलपातीबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रमा नव-नायिका कविता रायले अभिनय गरेकी छन् ।

    पोस्टरमा ‘किरण’ पात्र एक हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ ।

    चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’ राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तु-स्थिति काल्पनिक रूपमा नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताएका छन्। जुन वर्गलाई उनले यस चलचित्रमा ‘भिल्ला’ वर्ग नाम दिएका छन् र त्यो समुदाय बस्ने स्थानलाई ‘भिल्लमगढ’ नामाकरण गरेका छन् । सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ ।

    सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिसन मार्फत कविता रायलाई छनौट गरिएको थियो । प्रमुख भूमिकामा यो चलचित्र नै रायको पहिलो चलचित्र हो । निर्देशक सेन भन्छन्,’यस भूमिकाका लागि उपयुक्त हाउभाउ, रुपरङ् र प्रभावशाली अभिनय क्षमता भएका महिला कलाकार छनोट गर्न अडिसनको आह्वान गरिएको थियो ।

    हाम्रो कल्पनाको ‘किरण’, आवरण, आचरण, बोल्ने लवज र पात्रले देखाउनुपर्ने सशक्त अभिनय कविता रायमा भेटिएकाले हामीले उनलाई यस भूमिकाका लागि छनौट गरेका थियौँ ।’ चलचित्रमा अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथै चलचित्रमा कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्र ‘आसुसेन फिल्म्स्‌ प्रा.ली.’ को प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।

  • कुमा सागरका फ्यानको दबाबपछि ‘कमेडी दरबार’ को ट्रेलरमै कैंची, के थियो संवाद ?

    कुमा सागरका फ्यानको दबाबपछि ‘कमेडी दरबार’ को ट्रेलरमै कैंची, के थियो संवाद ?

    काठमाडौं । गायक कुमा सागरलाई होच्याउन खोजिएको भन्दै कमेडी दरबारको नयाँ एपिसोडको ट्रेलरमै नेवार समूदायका व्यक्तिहरुले आपत्ति जनाएका छन् । उनीहरुले दबाब दिएपछि कुमा सागरको नाम लिइएको संवाद ट्रेलर र फुल एपिसोडबाट हटाउने निर्णय निर्माण पक्षले गरेको छ ।

    कमेडियन विकास अर्याल र विश्वास तिमिल्सिना (बिटी) कान्छाको प्रस्तुतिमा रहेको एउटा संवादलाई सेन्सर गर्नुपरेको हो । विकास घरेबेटी र विश्वास डेरावालको भूमिका अभिनय गरेका छन् ।

    ट्रेलरमा राखिएको संवाद यस्तो थियो

    विकासः यत्रो बिजुलीको बिल आइराख्या छ । जतिबेलै फ्यान चलाएको चलाइ गर्छ ।

    विश्वासः अब यही फ्यान त चलाउनुपर्‍यो नि, कुमा सागरको फ्यान चलाउनु भा’छैन ।

    विकासः कुमा सागरको गीत त साह्रै राम्रो लाग्छ, म त सुनेको सुन्यै गर्छु नि….।

    विश्वासः अँ, सुनेको ठिक छ, तर गाउने चैं होइन ल ।

    एउटा पोडकास्टमा कुमा सागरको गायनको नक्कल गर्दा कमेडियन सजन श्रेष्ठको नेवा समुदायबाट ठूलो विरोध भएको थियो । उनीमाथि प्रहरीमा उजुरीसमेत दिइएको छ । यही विषयमाथि विकास र विश्वासले सामान्य व्यंग्य गरेका हुन् ।

    माथिको संवादमा दर्शक र गेस्टहरु निकै हाँसेका थिए । तर, टेलिभिजनमा भने प्रशारण नहुने भएको छ । ट्रेलरमा पनि काटिँदैछ ।

    यो ट्रेलर तीन दिनअघि सार्वजनिक भएपछि कुमा सागर निकटका केही व्यक्तिहरुले कमेडी दरवारमा फोन गरेर दबाब दिन थालेका थिए । ‘कुमा सागर भगवानजस्तो मान्छे हो, उहाँलाई यस्तो भन्न पाइन्छ ? उहाँलाई त अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्नुपर्छ’ ह्यानत्यान भन्दै लगातार फोन आएको कमेडी दरबार स्रोतले बतायो । त्यसपछि निर्माण टिमले आज वाध्य भएर उक्त संवाद हटाउने निर्णय लिएको हो ।

    कमेडी दरबारको नयाँ एपिसोड आज बेलुकी ९ बजे प्राइम टेलिभिजनमा प्रशारण हुनेछ । यस एपिसोडमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), सिपी पुडासैनी (धतुरे), कृष्ण शिवाकोटी र पुजन घिमिरे अतिथि बनेर आएका छन् ।

  • नायिका दिव्या रायमाझीको जोडी खोज्दै ‘माया प्रीति’को निर्माण टिम, कास्टिङ कल आह्वान

    नायिका दिव्या रायमाझीको जोडी खोज्दै ‘माया प्रीति’को निर्माण टिम, कास्टिङ कल आह्वान

    काठमाडौं । नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताएका छ्न।

    चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसकेकी छिन् । चलचित्रको कलाकार म्यानेजमेन्ट कम्पनी ‘लिभेन्ट्स् स्टुडियो’का अनुसार यस चलचित्रकी अभिनेत्री दिव्या रायमाझीको जोडीको रूपमा अभिनय गर्ने पुरुष युवा कलाकार र अन्य कलाकारहरूको लागि यो अडिसन आह्वान गरिएको हो ।

    अडिसनमा सहभागी हुन ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा सम्पर्क गर्न सकिनेछ । अडिसनमा सहभागिताको लागि इच्छुकले आफ्नो बायोडाटा, फोटोहरूसँगै १ देखि ४ मिनेटसम्मको अभिनयको भिडियो क्लिप पठाउनुपर्नेछ । निर्देशक श्रेष्ठका अनुसार ‘माया प्रीति’मा एक निःशर्त प्रेमको यात्रा हुनेछ, जसमा जस्तोसुकै परिस्थितिमा पनि अविरल प्रेमको महसुस हुनेछ ।

    वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता सुवास चन्द्र प्रधान हुन् । चलचित्रमा अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माता र प्रणव जोशी क्रिएटिभ निर्देशकको रुपमा रहनेछन्। कलाकार फाइनल भएसंगै चलचित्रको छायांकन सुरु हुनेछ।

  • २०० बढी शोसहित आजबाट चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा

    २०० बढी शोसहित आजबाट चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा

    काठमाडौं । आजबाट चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो चलचित्रले देशभर २०० भन्दा बढी शो पाएको छ । हलहरूले बुधवारदेखि नै चलचित्रको अग्रिम बुकिङ खुला गरेका थिए ।

    पहिलो दिनको चलचित्रको बुकिङ सुखदै छ। ‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करणहरू बक्स अफिसमा सफल भएका थिए। युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ ।

    चलचित्रमा प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

    माधव शर्माले चलचित्रको पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन् । चलचित्रका निर्मातामा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी र सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला चलचित्रको कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

    अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन् । चलचित्रमा हिमाल केसीको एक्सन निर्देशम, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, यम ओलीको प्रोडक्शन डिजाइन र प्रवीण सिंह र रोशन विश्वकर्माको नृत्य निर्देशन गरेका छन् ।

    चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।

  • चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक

    चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक

    काठमाडाैं । केशव पाण्डेको डेव्यु निर्देशकीय सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट २८ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

    क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा मानिसहरु आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई कथा मार्फत देखाएको बुझ्न सकिन्छ ।

    सिनेमाका ५ मुख्य कलाकारलाई सिनेमाको ट्रेलरमन रक्तिम अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको ट्रेलरमा शहरीया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपूर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृति यी पात्रहरुमा रहेको संकेत गरेको छ ।

    लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । यसर्थ सिनेमाले विशेषगरी युवा दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ ।

    सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

    निर्देशक पाण्ड आफुलाई फरक काम गर्न मन लाग्ने भएकाले पनि आफूले डेव्यु निर्देशकिय सिनेमा नै क्राइम थ्रिलर जनरा छानेको बताए ।

    आफ्नाे सोचअनुरुप नै कलाकार छानोट गरिएको र ती कलाकारबाट उत्कृष्ट काम निकालेको उनको भनाई छ । पोष्ट प्रोडक्सनमा केही समय लागेकाले पनि सिनेमा रिलिजमा केही समय लागेको उनले जानकारी दिए ।

    अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

    बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

  • अस्मिता र महेशबीच कसियो लगनगाँठो, यस्ता देखिए बेहुला–बेहुली

    अस्मिता र महेशबीच कसियो लगनगाँठो, यस्ता देखिए बेहुला–बेहुली

    काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । केही समयदेखिको प्रेम सम्वन्धलाई उनीहरुले विवाहको रुप दिएका हुन् ।

    अहिले काठमाडौंको एउटा पार्टी प्यालेसमा वैवाहिक समारोह चलिरहेको छ । विवाहमा दुवै पक्षका आफन्त, साथीभाइ र संगीत क्षेत्रका केही व्यक्तिहरु सहभागी छन् ।

    अस्मिता र महेसले केही समयअघि दुबईको बुर्ज खलिफामा पुगेर ईंगेजमेन्ट गरेका थिए ।

     

    तस्विरहरुः सामाजिक सञ्जाल

  • ‘होस्टेल ३’को अग्रिम टिकट बुकिङ खुला, देशभरबाट कति पायो शो ?

    ‘होस्टेल ३’को अग्रिम टिकट बुकिङ खुला, देशभरबाट कति पायो शो ?

    काठमाडौं । शुक्रवारबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘होस्टेल ३’ को शो बाँडफाडसंगै देशभर अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

    हलहरुले चलचित्रलाई बुधवार साँझसम्म देशभर करिब १२० शो दिएको छ। भने बिहीबार दिउँसोसम्म करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताहरूको छ ।

    चलचित्रलाई नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजले १५ शो, वान सिनेमाजले ९ शो, बिग मुभिजले ५ शो, एफक्युब सिनेमाले ५ शो र बिएसआर सिनेमाजले ४ शो दिएको छ।

    ‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए । शुक्रबारबाट रिलिज हुन लागेको चलचित्रको यो तेस्रो भागले कति दर्शक तान्छ, त्यो भने रिलिजपछि थाहा हुनेछ।

    युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको यो चलचित्रलाई निर्देशक सशान कँडेलले निर्देशन गरेका हुन् ।

    चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ ।

    अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

    चलचित्रको कथा माधव शर्माले लेखेका हुन्, जसले चलचित्रमा एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् ।

    चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् ।

    चलचित्रको छायाङ्कन निर्देशन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । चलचित्रका एक्सन निर्देशक हिमाल केसी हुन् । सङ्गीतमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन् ।

    यसमा यम ओलीको प्रोडक्शन डिजाइन रहेको छ । नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन् । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।

  • चलचित्र ‘श्री बुकुरो’को दोस्रो टिजर रिलिज (भिडिओ)

    चलचित्र ‘श्री बुकुरो’को दोस्रो टिजर रिलिज (भिडिओ)

    काठमाडाैं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ वर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।

    पछिल्लो समय सामाजिक पारिवारिक सिनेमा कम मात्रमा निर्माण भैरहेको अवस्थामा निर्देशक सिंहले ‘श्री बुकुरो’ निर्माण गरेका हुन् । विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास उनको छ । यो सिनेमाको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा रहेकाले केही दिनमा प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टीमको छ ।

    बुधबार सार्वजनिक सिनेमाको १ मिनेट ४६ सेकेण्ड लामो टिजरले एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावलाई पेश गरिएको छ । टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु हुने सिनेमाको टिजरमा समावेश दृश्यलाई रोचक ढंगले प्रस्तुत गरिएकाले दर्शकको मन जित्ने देखिन्छ ।

    फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

    पारिवारिक कथामा निर्माण भएको सिनेमामा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो । सिनेमाको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।

  • अस्मिता र महेशको मेहेन्दी-हल्दीमा यस्तो धुमधाम, भोलि बिहे

    अस्मिता र महेशको मेहेन्दी-हल्दीमा यस्तो धुमधाम, भोलि बिहे

    काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले भोलि लगनगाँठो कस्न लागेका हुन् । यो जोडीको हिजो मंगलबार मेहेन्दी समारोह भएको छ । दुवैले आफ्नो मेहेन्दी समारोहको तस्विरहरु सामाजिक सञ्जालमा साझा गरेका छन् ।

    गत महिना कन्सर्टको सिलसिलामा यूएईको दुबई पुगेका बेला यी दुईले त्यही इन्गेजमेन्ट गरेका थिए । संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेको तस्विर सामाजिक सञ्जालमा साझा गर्दै उनीहरूले गायनसँगै जीवनको सहयात्रा सुरू गरेको जानकारी दिएका थिए ।

    नेपाल आइडलबाट गायन सुरू गरेकी अस्मिताका थुप्रै गीत हिट छन् । रेकर्डिङदेखि स्टेज कार्यक्रमसम्म उनको लोभलाग्दो माग छ ।

    महेश काफ्लेले पनि थुप्रै गीत ल्याइसकेका छन् । उनले सानो उमेरमै गाएको ‘सौतेनी आमा’ बोलको गीत चर्चित भएको थियो । उनी पनि स्टेज कार्यक्रमका लागि खोजिने गायकमा पर्छन् । यी दुईले केही गीतमा सहकार्यसमेत गरेका छन् ।

    अस्मिता र महेशले झण्डै चार वर्षअघि ‘लज्जावती झार’ गीतबाट सांगीतिक सहकार्य गरेका थिए । त्यसपछि अन्य केही गीतमा यी दुईले सहकार्य गरिसकेका छन् ।

  • के गीतबाटै पूर्वपतिलाई गाली गर्दैछिन् एलिना चौहान ?

    के गीतबाटै पूर्वपतिलाई गाली गर्दैछिन् एलिना चौहान ?

    काठमाडौं । गायिका एलिना चौहानका आफ्नो प्रेम जीवनका उतारचढावहरुलाई गीतमार्फत अभिव्यक्त गर्न माहिर छिन् । यसका दुईवटा फाइदा हुन्छन् । पहिलो त आफ्नो मनोदशालाई सबैसामु उजागर गर्न पाइयो । दोस्रो गीतलाई चर्चामा ल्याउन सजिलो भयो ।

    तत्कालीन प्रेमी विष्णु सापकोटासँग ब्रेकअपको चर्चाका बीच एलिनाको ‘मलाई धोका दियौ भने कट्टा हान्दिन्छु’ बोलको गीत सार्वजनिक भएको थियो । यो गीत तत्कालै सुपरहिट भयो । अहिलेसम्म यो गीतलाई ४ करोडभन्दा बढी भ्युज बटुलेको छ ।

    विवाहको केही समयपछि नै श्रीमान विष्णुसँग एलिनाको सम्बन्ध बिग्रियो । उनी नेपाल आइन् । त्यसपछि रेकर्ड गराइन्, ‘चल्दैन मनमर्जी’ बोलको गीत । यो गीत उनले आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेकी थिइन् ।

    शब्दहरुमा श्रीमानबाट धोका पाएकी श्रीमतीको कथा पोखिएको छ । एलिनाले यो गीतका विभिन्न टुक्रामा डेढ दर्जन टिकटक भिडिओ बनाएकी थिइन् । यद्यपि, गीत सोचेजस्तो चलेन ।

    अहिले विष्णु र एलिनाको डिभोर्स भइसकेको छ । डिभोर्सको भोलिपल्टै एलिनाको नयाँ गीत रिलिज भयो, जसको बोल थियो– एक्लै पनि जिन्दगी चल्दो रहेछ । सम्भवतः उनले डिभोर्सपछि रिलिज गर्न भनेर पहिल्यै यो गीत तयार गरेकी थिइन् । यो गीत पनि एलिनाको आफ्नै च्यानलमा अपलोड भएको छ ।

    अहिले एलिनाको नयाँ गीत आएको छ, जसको बोल छ- छुट्यो पिरिम । यसको लिरिक्स शब्दहरु सिधै एलिनाका श्रीमान बिष्णुप्रति लक्ष्यित रहेको भनेर धेरैले कमेन्ट गरिरहेका छन् ।

    गीतका केही शब्द यस्ता छन्:

    छुट्यो पिरिम मेरो छुट्यो पिरिम
    तेरै कारण बन्धनमा थिएँ म, अब फिरी म
    नला बाबु मसँग नोटको धाक
    चोटको बदला चोटै हो बुझिराख्
    जहाँ कदर हुन्न त्यहाँ रहन्न
    यो छोरीले अन्याय सहन्न
    बनकी चरी खुशी छे बनैमा
    तेरा लागि ठाउँ छैन मनैमा
    लैजा तैंले दिएका सबै चिज
    अब नाता सकियो हामीबीच
    हामी हिँड्ने बाटो नै अलग भो
    तँलाई अब फेसबुकमा बलक भो

    स्मरणीय रहोस कि उल्लेखित कुनै पनि गीतहरु एलिना आफैंले लेखेकी भने होइनन् । रचनाकारले लेखेको गीत उनले गाएकी मात्र हुन् । त्यसो भए कसरी उनको जीवनसँग सम्बन्धित हुन सक्छ भन्ने प्रश्न पनि उठ्ला । तर गायक–गायिकाले चाहेजस्तो गीत लेखिदिने गीतकारहरुको कमि कहाँ छ र बजारमा ?

    हुन त एलिनाले डिभोर्सपछि आफ्नो एउटा भिडिओ बनाएर आफ्नो श्रीमानलाई कसैले पनि गाली नगर्न अपिल गरेकी थिइन् । तर, आफैं यस्ता गीतहरु चाहीँ किन गाइरहेकी होलिन् ?

  • महोत्सवमा दुर्गेशको शान बढ्दा ज्योती मगर परेसान ! फेसबुकमा ट्रोल गर्दै

    महोत्सवमा दुर्गेशको शान बढ्दा ज्योती मगर परेसान ! फेसबुकमा ट्रोल गर्दै

    काठमाडौं । पछिल्लो गीत ‘दुस्मन हेरेको हेर्यै’ ब्लकबस्टर भएपछि गायक दुर्गेश थापाको क्रेज ह्वात्तै बढेको छ । अहिले देश-विदेशका कन्सर्टमा उनी अत्यधिक डिमान्डेड छन् । भ्याइनभ्याइ भएपछि उनी हेलिकप्टर नै लिएर महोत्सवहरूमा हिँड्न थालेका छन् ।

    ठीक उल्टो अवस्था छ गायिका ज्योती मगरको । गायनभन्दा पनि अंगप्रदर्शन र उच्छृंखल हर्कतमा कहलिएकी उनी अहिले सेलाउँदै गएकी छन् । महोत्सवहरूमा उनी जाँदा दर्शकको खडेरी पर्न थालेको छ । केही दिनअअघि धनगढीमा आयोजित फूलबारी महोत्सवमा ज्योतीको प्रस्तुति हेर्न आएका दर्शकहरूको संख्या डोजरले खनेको हेर्ने रमिते जत्तिमात्र थियो । यद्यपि, सामाजिक सञ्जालमा लेख्ने स्टाटसहरूले उनलाई बेलाबखत चर्चामा ल्याउँछ ।

    यहाँ दुर्गेश र ज्योतीको तुलना चाहीँ किन गरिएको होला भन्ने तपाईंलाई लाग्ला । खासमा अहिले ज्योती र दुर्गेश सामाजिक सञ्जालमा आमनेसामने भइरहेका छन् । एउटा महोत्सवमा सहभागी हुन नसकेको विषयलाई लिएर दुर्गेशलाई ज्योती मगरले ट्रोल गरेकी थिइन् । सन्दर्भ हो, ज्योतीको गृहजिल्लामा दुर्गेशको प्रस्तुति स्थगत हुनु ।

    दाङको तुलसीपुरमा आयोजित तुलसीपुर महोत्सवमा आइतबार प्रस्तुति दिने तयारीमा थिए दुर्गेश । तर, महोत्सव स्थगित गर्न स्थानीय प्रशासनले आयोजक चेम्बर अफ कमर्सलाई आदेश दियो । अनुमति पाएको अवधिभन्दा लम्ब्याइएकाले स्थगित गर्न जिल्ला प्रशासन कार्यालयले पत्र काटेको थियो ।

    खासमा चेम्बर अफ कमर्सले फागुन १ गतेदेखि १६ गतेसम्म ‘कृषि पर्यटन तथा व्यापार प्रवद्र्धनका लागि तुलसीपुर महोत्सव २०८१’ आयोजना गर्न सीडीओ कार्यालयसँग अनुमति लिएको रहेछ । १६ गते महोत्सव समापन हुनुपर्ने थियो । तर, दर्शकहरुको फलो जारी रहेपछि आयोजकले १७ गतेपछि पनि निरन्तरता दिए । १८ गते दुर्गेशलाई निम्त्याइएको थियो ।

    जिल्ला प्रशासन कार्यालयमा यसको सूचना पुगेपछि रोक्न पत्र काटेको हो । जसले गर्दा १८ गते निर्धारित कार्यक्रम स्थगित गरिएको थियो ।

    दुर्गेशलाई त्यस दिन दुईवटा कार्यक्रम भ्याउनु थियो । त्यसैले उनी हेलिकोप्टरबाट जाने तयारी गरेका थिए । तर, कार्यक्रम स्थगित भएको खबर आएपछि उनी गएनन् ।

    यो खबर सुनेपछि ज्योती मगरले फेसबुकमा दुर्गेशलाई कटाक्ष गर्दै यस्तो स्टाटस लेखेकी थिइन्ः

    ‘आज दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकार दुर्गेश थापा भाइको हेलिकप्टर उड्यो कि उडेन ? हल्लाखल्ला सुनिएन त कतै… कमेन्ट्मा खबर गरुम् त दङ्गाली सञ्चारमाध्यमहरू… दुस्मन हेरेको हेरेइ होइन, दुस्मन पर्खेको पर्खेई थिए रे भन्ने हल्ला पो आयो त कता कता…’

    ज्योतीको यो स्टाटसपछि दुर्गेशले फेसबुकमै महोत्सवमा नगएको सम्बन्धमा लामो प्रष्टीकरण लेखे । त्यसमा उनले ज्योतीलाई महोत्सव रोक्न भूमिका खेलेको घुमाउरो आरोप लगाएका छन् ।

    ‘केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल र नियोजित रणनीतिले मलाई हजुरहरूमाझ उपस्थित हुन दिएन,’ दंगाली दर्शकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो- केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् ।’

    उनी थप्छन्, ‘कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ । उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो । हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ ! तर एक कुरा नबिर्सनुहोला- हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन ! मलाई हेलिकप्टर चढ्ने या देखाउने रहर छैन । मेरो मात्र एउटा रहर छ- नेपालका हरेक कुनामा पुगेर आफ्ना दर्शकहरूसँग भेट्नु, माया साट्नु, र आफ्नो प्रस्तुति दिनु ।’

    दुर्गेशको यो स्टाटसपछि दुई दिन मौन बसेकी ज्योतीले आज फेरी अर्को स्टाटस लेखेकी छन् । यसमा उनले ‘व्यक्तित्व र आचरण खराब भएको कलाकार’ का रूपमा चित्रण गरेकी छन् ।

    केही वर्ष अगाडिको एउटा घटनाले गर्दा नेपालगञ्जको डनहरुदेखि दाङका डनहरुलाई गुहार माग्दै सम्पुर्ण शक्ति प्रयोग गर्दा पनि दाङको तुलसीपुर महोत्सवमा दाङबासीहरूले हेलिकप्टर बस्न नदिएको कुरालाई व्यक्तिगत रुपमा खेद प्रकट गर्दछु … एउटा कलाकारको व्यक्तित्व र आचरण जतिसुकै खराब भए पनि कलाकारको कलालाई सम्मान गर्नुपर्छ र गरिखान दिनुपर्छ भन्ने मेरो मान्यता हो… सम्पुर्ण दाङबासीहरूलाई पुरानो कुरा बिर्सिन र ती कलाकार भाइलाई अझै अगाडि बढ्न शुभकामना छ…’

    खासमा पल शाह प्रकरणपछि ज्योती र दुर्गेशबीच राम्रो सम्बन्ध छैन । पल शाहलाई फसाउन भूमिका खेलेको भन्दै ज्योतीले दुर्गेशको खेदो गर्दै आएकी छन् । पल र ज्योती दुवै दाङका हुन् । दुर्गेशले हेलिकप्टर उडाउँदै आफ्नो गृहजिल्लामा आउने कुराले ज्योती अलि ब्याकुल बनेकी थिइन् । त्यसैले महोत्सव स्थगित भएको खबरले उनी गदगद भएकी हुन् ।

    ज्योतीले पछिल्लो स्टाटसमा उल्लेख गरेको ‘पुरानो कुरा’ सम्भवतः पल शाह प्रकरण नै हुनुपर्छ । पल शाह बलात्कार केसमा मुछिँदा ज्योतीले खुलेर उनको साथ दिएकी थिइन् । पल शाहलाई फसाउन दुर्गेशले भूमिका खेलेको उनको बुझाइ छ । त्यसबेलादेखि दुर्गेशसँग उनको त्यति बोलचाल हुँदैन । अहिले दुर्गेशको क्रेज बढिरहेको देख्दा ज्योतीलाई त्यति मजा आइरहेको छैन ।

  • धुर्मुसको आफताब अवतार : चरित्रका लागि स्वास्थ्यलाई जोखिममा राखेर गरेको संघर्ष

    धुर्मुसको आफताब अवतार : चरित्रका लागि स्वास्थ्यलाई जोखिममा राखेर गरेको संघर्ष

    काठमाडौं । चर्चित हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ बाट उदाएका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ अहिले चलचित्र ‘लाज शरणम्’ लाई लिएर चर्चामा छन् । सो चलचित्रमा कांग्रेसका पूर्वमन्त्री मोहम्मद आफताब आलमको लुक्स दुरुस्तै उतारिदिएपछि धेरै आश्चर्यमा परे ।

    चलचित्रको पोस्टरमा धुर्मुसको लुक्स सार्वजनिक भएसँगै दर्शकमा कौतूहल बढेको थियो । तर, यही लुक्सले रिलिजपूर्व चलचित्रलाई अलिकति अप्ठेरोमा पनि पार्‍यो । आलमले आफूलाई नसोधीकन आफ्नो नक्कल गरिएको भन्दै अदालतमा मुद्दा हाले । अदालतले बल सेन्सर बोर्डको कोर्टमा हुत्त्यायो । अन्ततः सेन्सर बोर्डले उक्त चरित्रमा कुनै प्रश्न नउठाईकन प्रदर्शन अनुमति दिएको छ ।

    चलचित्र प्रदर्शनपछि धुर्मुसले मिश्रित प्रतिक्रिया पाइरहेका छन् । धेरैले उनको अभिनयको प्रशंसा गरेका छन् भने कतिपयले ‘होभरएक्टिङ’ गरेको आरोप पनि लगाएका छन् । जे भए पनि धुर्मुसले ‘आफताब अवतारमा’ प्रस्तुत हुनका लागि गरेको कठोर मिहिनेत र संघर्ष भने पर्दामा स्पष्ट झल्किन्छ ।

    यो भूमिका वास्तवमा धुर्मुसका लागि निकै चुनौतीपूर्ण थियो । उनले आफ्नो स्वभाविक वजनलाई ह्वात्तै बढाउनुपर्ने र पेट पनि ठूलो देखाउनुपर्ने हुन्थ्यो । निर्देशक भाइ कुमार कट्टेलले ‘सोनालाल’ को भूमिकामा अफर गर्दा सुरुमा उनी निकै अन्कनाएका थिए । सकेसम्म अरू नै कलाकार खोज्न उनले सुझाव पनि दिए । तर, चलचित्रको टिम भने उनलाई नै खेलाउन चाहन्थे । अन्ततः धुर्मुसले स्वीकार गरे ।

    लामो समयसम्म यस चलचित्रमा धुर्मुसको आबद्धतालाई निर्माण पक्षले गोप्य नै राखेको थियो । एकैचोटि रिलिजपूर्व दर्शकलाई सरप्राइज दिने रणनीतिमा थियो निर्माण टिम । तर, सुटिङको एउटा तस्बिर लिक भएपछि धुर्मुस ‘लाज शरणम्’ मा अहम् भूमिकामा रहेको भेद खुलिहाल्यो ।

    चलचित्रमा धुर्मुसको चरित्रले मोहम्मद अफताब आलमसँग कुनै सरोकार राख्दैन । तर, आफूलाई फरक–फरक अवतारमा पर्दामा प्रस्तुत गर्न अभ्यस्त धुर्मुसले ‘सोनालाल’ चरित्रमा आफताबको लुक्स उपयुक्त हुने निधो गरे । र, यो लुक्समा आफूलाई ढाल्न उनले निकै संघर्ष गर्नुपरेको थियो । सबैभन्दा पहिलो चुनौती त वजन बढाउने नै थियो । त्यसपछि अनुहार र कपालमा ल्याउनुपर्ने परिवर्तन ।

    धुर्मुस सबैभन्दा पहिले उनी दाँत बनाउन मुस्कान डेन्टल क्लिनिक न्युरोड पुगे । यही क्लिनिकका सञ्चालक मुस्कान श्रेष्ठले ‘मेरी बास्सै’ का खड्काजी, मुस्कान पासा, खडानन्द गुरुलगायत चरित्र बनाउन उनलाई सहयोग गरेका थिए । दाँतको नापोसँगै उनी मेकअप आर्टिस्ट विनोद श्रेष्ठकोमा नाक बनाउन पुगे । चरित्रको स्याम्पल टेस्ट पनि गरे ।

    मेकअप आर्टिस्ट श्रेष्ठले माक्स मेकअपबाट फरक क्यारेक्टर निस्किन सक्छ भन्ने सुझाव दिएपछि मास्क बनाउने कार्य सुरु भयो । तर मास्क बनाउने स्याम्पलको केमिकलले उनको टाउकाको कपालसहित छाला समेत उप्किन पुग्यो । उनी त्यसको उपचार गर्न फेरि क्यूटिस् केयर अस्पताल पुगे ।

    कपाल चाँडो उम्रिन समय लाग्ने र चलचित्रको छायांकन तुरुन्तै गर्नुपर्ने निर्देशक कट्टेलले कपाल नभएका फरक–फरक चरित्रका स्केचहरू धुर्मुसलाई देखाउन थाले । कट्टेलसँगै धुर्मुस पनि बीचमा तालु र साइड–साइडमा कपाल भएको नयाँ क्यारेक्टरको खोजीमा लागे । धुर्मुसले एउटा क्यारेक्टर फाइनल पनि गरे, तर त्यसका लागि तुरुन्तै १० केजी तौल बढाउनुपर्ने थियो । वजन बढाउने चक्करमा लाग्दा उनलाई कोलस्ट्रोल र युरिक एसिडको समस्या उत्पन्न भयो । कोलस्ट्रोल लेभल हाइ र हार्ट अट्याकको खतरा देखिएपछि उनले डाक्टरको सुझाव अनुसार उनले औषधी खान थाले । डाक्टरले धुर्मुसलाई ह्वात्तै तौल नबढाउन सुझाव दिए । यसबाट उनको स्वास्थ्यमा उत्पन्न हुन सक्ने जोखिमहरूबारे बताए ।

    यसरी स्वास्थ्यमा समस्या आएपछि धुर्मुसले यो चरित्रबाट पछि हट्ने मनसाय बनाएका थिए । अर्को कोही कलाकार खोज्न टिमलाई सुझाव दिए । त्यही बेला निर्माण टिमले विभिन्न सञ्चार माध्यममा भारतीय अभिनेता गोविन्दाले नेपाली चलचित्रमा खेल्न रुचि राखेको थाहा पाए । गोविन्दालाई ‘सोनालाल’ को चरित्रमा अफर गरियो । गीतकार तथा संस्कृतविद् धिरेन्द्र प्रेमर्षिलाई चलचित्रको स्क्रिप्ट हिन्दीमा अनुवाद गर्न लगाएर गोविन्दालाई पठाइएको थियो । गोविन्दाले स्क्रिप्ट पढे र रुचाए पनि । तर, चलचित्रको तालिकासँग उनको समय मिलेन । त्यसैले असमर्थता जनाए ।

    अन्ततः धुर्मुसले नै यो भूमिका गर्नुपर्ने भयो । उनी स्वास्थ्यमा जोखिम मोल्न तयार भए । डाक्टरको प्रत्यक्ष निगरानीमा बसेर मोटाउने प्रक्रियामा लागे । मोटोपनको कारण छायांकनमा नजाँदै उनको कोलस्ट्रोल पुन: बढ्न थाल्यो । कोलस्ट्रोलसँगै युरिक एसिड पनि बढ्यो। जसका कारण उनी छाँयाकनअघि एकपटक राम्ररी खुट्टासमेत टेक्न नसक्ने अवस्थामा पुगेका थिए ।

    उनलाई निकै गाह्रो भएपछि निर्माण टिमले वैशाखको अन्तिम साताबाट छायांकनका लागि तयारी गरेको सेडयुल परिवर्तन गर्नुपर्‍यो । धुर्मुस बिस्तारै रिकभर भए । यहीबीचमा उनलाई युरोपमा कार्यक्रमका लागि प्रस्ताव आयो । उनी पत्नी कुञ्जना घिमिरे सुन्तलीसहित केही समय युरोप टुरमा गए । युरोपमै हुँदा उनलाई आफ्नो चरित्रको थप परिकल्पना हुन पुग्यो । उनले युरोपबाटै मेकअप आर्टिस्ट गणेश अछामीलाई सम्पर्क गरे । अछामीले भारतबाट सामान मगाउने सुझाव दिए । सोही अनुसार उक्त चरित्र बनाउने सामाग्रीहरू जुट्दै गयो ।

    कार्यक्रम सकेर धुर्मुस नेपाल आइपुगे । उनी आएसँगै निर्माण टिमले रोकिएको चलचित्रको छायांकन भदौको अन्तिम साताबाट सुरु गर्ने तयारी गर्‍यो । सोही अनुरूप धुर्मुसको चरित्रको स्याम्पल टेस्ट गरियो । सबै ठीक भएपछि धुर्मुस छायांकनका लागि निर्माण टिमसँग डोल्पा पुगे । छायाँकन सम्पन्न भयो र उनी काठमाडौँ फर्किए ।

    भिन्न मौसम र शरीरको तौलका कारण काठमाडौं फर्किएपछि उनको स्वास्थ्यमा फेरि समस्या देखा पर्न थाल्यो । उनलाई दिन–प्रतिदिन गाह्रो हुन थाल्यो । कोलस्ट्रोल र रगतमा बोसोको मात्रा अत्यधिक बढ्यो । उनले रगत पातलो बनाउन औषधि सेवन गर्दै र पटक–पटक मुटुको ई–सिजी गर्दै छायांकनमा सहभागी भइरहे ।

    छायांकनको अन्त्यसम्म आउँदा उनको शरीरभरि फोकैफोका देखा पर्न थाल्यो । उनले पुनः डाक्टर धर्मेन्द्र कर्णकहाँ पुगेर स्किनको उपचार गराए । यसरी विभिन्न औषधोपचार गर्दै उनले चलचित्रको सुटिङलाई निरन्तरता दिइरहे ।

    चलचित्र पर्दामा आएपछि सुटिङ दुख बिर्सिएको धुर्मुस बताउँछन् । अहिले उनी फेरि आफ्नो पुरानै सेपमा आइसकेका छन् ।

    ‘चलचित्रलाई दर्शकले दिनुभएको मायाले हामीले गरेको मिहिनेत सार्थक भयो भन्ने लाग्छ,’ उनले नेपाल प्रेससँग भने, ‘कतिपय आलोचनात्मक प्रतिक्रियालाई पनि मैले सकारात्मकरुपमा नै लिएको छु ।’

  • ‘होस्टेल ३’ मा माग्नेबुढाका छोरा धुन्धुकारी, सिरियलबाट कसरी पुगे चलचित्रमा ?

    ‘होस्टेल ३’ मा माग्नेबुढाका छोरा धुन्धुकारी, सिरियलबाट कसरी पुगे चलचित्रमा ?

    काठमाडौं । यहीँ फागुन २३ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र हो, ‘होस्टेल ३’। नयाँपुस्ताको होस्टेल र कलेज लाइफलाई चित्रण गरिएको यो चलचित्रको ट्रेलर र टिजर सार्वजनिक भइसकेको छ।

    चलचित्रमा बाक्लै नयाँ अनुहारहरु देख्न सकिन्छ। यदि चलचित्रको कथावस्तु दर्शकले रुचाएमा र कलाकारले राम्रो काम गरेमा, ‘होस्टेल ३’मा देखिएका नयाँ अनुहारले पनि ‘होस्टेल’ को पहिलो सिक्वेन्सका कलाकार झैँ सिने क्षेत्रमा राम्रै स्थान पाउनेछन्।

    ‘होस्टेल ३’आजभन्दा १० वर्ष अगाडि निर्माण भएको चलचित्र ‘होस्टेल’को तेस्रो सिक्वेन्स हो। ‘होस्टेल’ का दुईटै सिक्वेन्सलाई अहिलेसम्म दर्शकले रुचाएका छन्। ‘होस्टेल’को अघिल्लो श्रृंखलाबाट कलाकारद्वय अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायतका दर्जनौँ कलाकार उदाएका थिए ।

    रिलिजको तयारीमा रहेको यो तेस्रो सिक्वेन्समा पनि अधिकतम नयाँ अनुहारहरु छन। चलचित्रमा पारस बम ‘कूल ब्वाय’, सिम्रन पन्त, केदार घिमिरे ‘माग्ने बुढा’का छोरा ‘धुन्धुकारी’ नामले परिचित आशिष घिमिरे, ‘भ्वाइस अफ नेपाल’ फेम्ड गायक रिहान गिरी, पदम तामाङ, समा पराजुली, हिना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, रोहन श्रेष्ठ आदि लगायतका कलाकारहरु छन। यी सबै कलाकारहरूको लागि ‘होस्टेल ३’ पहिलो चलचित्र हो ।

    आज हामी यसै चलचित्रका प्रमुख कलाकार मध्ये एक आशिष घिमिरेका बारेमा चर्चा गर्नेछौं। आशिष घिमिरे उर्फ धुन्धुकारी नाम दर्शकको लागि केही परिचित नाम हो। आशिषले डेढ वर्षको उमेरमा ‘गीताञ्जली’ नामक सिरियलबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए ।

    ६ वर्षको उमेरदेखि उनले लोकप्रिय हाँस्य–टेलि सिरियल ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार ५ वर्षसम्म अभिनय गरे । त्यसपछि, उनले ‘सिग्नेचर’ चलचित्रमा सन्दिप क्षेत्रीको बाल्यकालको भूमिका निभाए र ‘जुरेली’ नामक सिरियलमा पनि अभिनय गरे ।

    पढाइलाई प्राथमिकता दिन उनले केही समय अभिनयबाट विश्राम लिए र प्लस २ पछि ‘आइटी’ मा ब्याचलर सके । यस अवधिमा, उनले केही सिरिज र म्यूजिक भिडियोमा सहायक निर्देशन र लेखन समूहमा काम गरे ।

    ब्याचलर सकेपछि, आशिषले आरोहण गुरुकुल नाटक घरमा सुनिल पोखरेलसँग अभिनय सिक्न प्रवेश गरे । त्यहाँ उनले एक सडक नाटक र सुनिल पोखरेलको निर्देशनमा ‘गच्छामि’ नामक नाटक र रामभजन कामतको निर्देशनमा ‘काल’ नामक नाटकमा अभिनय गरे ।

    आखिर उनी ‘होस्टेल ३’ मा कसरी फिचर्ड भए त ? चलचित्रको निर्माण टोलीले ‘शिव’ नामक भूमिकाको लागि अडिसन गरिरहेको बेला, आशिषलाई प्रस्ताव राखेका थिए। स्क्रिप्ट मन परेपछि उनले पनि यो भूमिकामा चासो देखाए । धेरै अडिसनपछि, आशिष नै ‘शिव’ को भूमिकामा फिट हुने देखिएपछि उनको अभिनय परिक्षण गरियो। त्यसमा पनि उनी सफल भए। पात्रमा फिट भएपछि उनलाई यो भूमिका दिइएको निर्देशक सशान कँडेलको भनाइ छ।

    चलचित्रको लेखन तथा एसोसियट निर्देशन माधव शर्माले गरेका छन् । चलचित्रको निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।

    अर्जुन तिवारीको छायाङ्कन निर्देशन रहेको चलचित्रलाई सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स ९गोविन्द शाही० र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले गर्नेछन् ।

  • अष्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ हुँदै, फिल्म​ द​र्ता शुरु

    अष्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ हुँदै, फिल्म​ द​र्ता शुरु

    सिड्नी । अष्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ आयोज​ना हुने भएको छ​ । ‘डि व्वाईज​ ईन्ट​र​टेन्मेन्ट’​ नाम​क संस्थाले मे २८ देखि जुन​ १ स​म्म​ अष्ट्रेलियामा ‘ग्लोब​ल​ नेपाली फिल्म​ अवार्ड​’ आयोज​ना ग​र्न​ लागेको हो ।

    ‘डि व्वाईज​ ईन्ट​र​टेन्मेन्ट​’का प्र​मुख​ ग​णेश​ म​ल्ल​का अनुसार यो अवार्ड शो नेपाली फिल्म​ र​ प​र्य​ट​न​ प्र​व​र्द्धधनको उदेश्य​स​हित​ आयोज​ना ग​र्न​ लागिएको हो।

    ‘पछिल्लो स​म​य​ नेपाली चलचित्र​को ब​जार​ अष्ट्रेलियामा राम्रो हुँदै गएको छ​। अष्ट्रेलियामा निय​मित​ रुप​मा अधिकांश​ नेपाली चलचित्र​ह​रु प्र​द​र्श​न​ हुँदै आएको छ​,’उनी भन्छन, ‘ठूला चलचित्र​ले करोड​ भ​न्दा ब​ढीको ब्यापार​ अष्ट्रेलियामा मात्रै ग​र्ने ग​रेको छ​ । य​स​ले नेपाली चलचित्र ब​जार​लाई राम्रो प्र​व​र्द्धधन ग​रेको छ​ भने चलचित्र​कै मार्फ​त​ प​र्य​ट​न​ र​ नेपाली चलचित्रका द​र्श​कमा प​नि प्र​व​र्द्धधन​ हुँदै आएको छ​ ।’

    नेपाली चलचित्रको विभिन्न​ विधालाई स​मेटेर​ अवार्ड​को आयोज​ना गर्न​ लागिएको हो । तीन​ द​र्ज​न​ ब​ढि कलाकार​ त​था फिल्म​कर्मीलाई स​ह​भागी ग​राएर​ अवार्ड​ आयोज​ना ग​रिने ग​णेश​ म​ल्ल​को भनाइ छ। चलचित्र​का नोमिनेट​ कलाकार​, चिनिएका प्राविधिक, फिल्म​ पत्रकार​, आयोज​क र फिल्म​कर्मीलाईबाहेक अन्य​लाई कार्यक्र​म​ स​ह​भागी न​गाराईने प​नि आयोज​कले ज​नाएको छ​ ।

    घोष​णा, नोमिनेश​न​, अवार्ड​ स​मारोह​ र​ ध​न्य​वाद​ ज्ञाप​न​स​हित​ चार​ च​र​ण​मा हुने अवार्ड​मा विभिन्न​ १८ व​टा विधाह​रु स​मावेश​ ग​रिएको छ​ । ब​रिष्ठ​ फिल्मकर्मीहरुबाट​ जुरी म​नोन​य​न​ ग​रि जुरीको निर्ण​य​अनुसार​ अवार्ड​ प्र​दान​ ग​रिनेछ​ भने अर्वाडमा प​पुल​र​ हिरो अफ​ द​ ईय​र​ र प​पुल​र​ हिरोईन​ अफ​ द​ ईय​र​ प​नि समावेश​ ग​रिनेछ​ । एकज​ना च​ल​चित्र​ प​त्र​कार​लाई च​ल​चित्र​ पत्रकारिता पुर​स्कार​ र​ एकज​ना विशिष्ट​ फिल्म​कर्मीलाई लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ न​ग​द ​राशीस​हित​ प्र​दान​ ग​रिनेछ​ ।

    अवार्ड​मा स​मावेश​ हुने विधाह​रु, स​ह​भागी कलाकार​ त​था अवार्डको जुरी र​ अन्य​ जान​कारी छिट्टै प​त्र​कार​ स​म्मेल​न​ ग​रि दिने आयोजकले ज​नाईएको छ​ । २०८० साल​मा प्र​द​र्श​न​ भ​एका चलचित्रह​रुको द​र्ता शुरु भ​एको बताउँदै आयोज​क संस्थाका ग​णेश​ म​ल्ल​ले अवार्ड​ स​मारोह​मा अष्ट्रेलिय​न​ फिल्म​कर्मी, वित​र​क र​ नागरिकहरुको प​नि उप​स्थित​ हुने ब​ताएका छन् ।

    अवार्ड​ स​मारोह​को भोलीप​ल्ट​ अष्ट्रेलियामा नेपाली फिल्म​को ब​जार​, द​र्श​कको अव​स्था र​ प्र​व​र्द्व​न​ अन्त​र्ग​त​ विदेशी फिल्म​कर्मी पाहुना र​ नेपाली फिल्म​कर्मीबिच​ संवाद​ त​था अन्तर्क्रिया कार्य​क्र​म​को आयोज​ना ग​रिनेछ​ । अवार्ड​ स​मारोह​को लागि च​ल​चित्र​संग​ स​म्ब​न्धित​ संघ​ संस्था, स​र​कारी संघ​ संस्था र​ अन्य​ प्रायोज​कह​रुसंग​ प​नि स​ह​कार्य​ ग​रिने आयोज​कको तयारी छ।

  • ‘राजागञ्ज’ को ट्रेलरमा प्रधानमन्त्रीलाई लान्छित गर्ने संवाद, कार्यकारी निर्मातामा अनुराग कश्यप

    ‘राजागञ्ज’ को ट्रेलरमा प्रधानमन्त्रीलाई लान्छित गर्ने संवाद, कार्यकारी निर्मातामा अनुराग कश्यप

    काठमाडौं । दीपक रौनियारले निर्देशन गरेको चलचित्र ‘राजागञ्ज’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरअनुसार चलचित्रको विषयवस्तु र केही संवादले विवाद निम्त्याउन सक्ने देखिन्छ ।

    यो चलचित्रले मधेसको राजनीतिक मुद्दा बोकेको छ । दुई ‘पहाडीया बच्चाहरु’ (चलचित्रमा प्रयोग भएको भाषा) को अपहरणलाई लिएर बुनिएको कथाको केन्द्रमा आशा मग्राती छिन् । उनले उनले डीएसपीको भूमिका निभाएकी छन् ।

    यस्तै, दयाहाङ राई, ऋचा शर्मा, निकिता चण्डक लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको मुख्य विषयवस्तु साम्प्रदायिकताले ओतप्रोत रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

    ट्रेलरको एउटा दृष्यमा प्रहरी इन्स्पेक्टरले डिएसपीलाई अपहरणकारीले फिरौतिका लागि पठाएको सन्देश पढेर सुनाउँछिन् । त्यसमा लेखिएको हुन्छ- सयवटा कुहिएको आँपभन्दा एउटा असल आँपको मूल्य बढी हुन्छ, तपाईं आफैं हिसाब लगाउनुस, नत्र बच्चाको ज्यान जान सक्छ ।’

    डीएसपी सोध्छिन्- आँप (भन्नाले) ?

    लगत्तै टेलिभिजनको स्क्रिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलिरहेको देखाइन्छ ।

    इन्स्पेक्टरले भन्छिन्, ‘भर्खरैको एउटा भाषणमा प्रधानमन्त्रीजीले मधेसीलाई आँप भनेर सम्बोधन गरेका थिए । अपहरणकारीले यसलाई पर्सनल्ली लिएको जस्तो छ ।’

    त्यसपछिको दृष्यमा दौरासुरुवाल लगाएका एक भलाद्मी (सम्भवतः मन्त्रीको भूमिकामा) ले एसपीको भूमिकामा रहेका दयाहाङ राईलाई भन्छन्, ‘ए… भनेपछि प्रधानमन्त्री पनि अनुसन्धानको घेरामा पर्नुभयो त ?’

    यी सन्दर्भहरुलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने चलचित्र आएपछि नै प्रष्ट होला । तर, ‘प्रधानमन्त्रीले मधेसीलाई आँप भनेको’ संवादले गलत सन्देश जान सक्छ । चलचित्रमा भनिएजस्तो ओलीले मधेसी जनतालाई कहिले पनि ‘आँप’ भनेका छैनन् ।

    उनले पहिलोपटक प्रधानमन्त्री हुँदा भारतको दवावमा संविधानसभा बहिष्कार गरेर निस्किएका केही मधेसी दललाई कटाक्ष गर्दै ‘झरेको आँप’ को टुक्का प्रयोग गरेका थिए ।

    त्यसबेला एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भनेका थिए, ‘हाम्रो समाजमा कस्तो प्रवृत्ति छ भने, रुखमा आँप लटरम्म फलेका छन्, तर दुई तीनवटा झर्यो भने पनि आँप झरेरै सकियो, खत्तमै भयो भन्छौं । तर, झरेर सकिएको हुँदैन । दुई–तीनवटा झरेको हो । संविधानसभामा थुप्रै विचार बोकेका दलहरु छन् । केही दल बाहिर गएको प्रश्न हो । जनताले हामीलाई संविधान बनाउन पठाएका हुन्, छोडेर हिँड भनेर पठाएको होइन । आफूले भनेजस्तो मात्रै संविधान बन्छ भन्ने हुँदैन, छलफल र संवादबाट निकास खोज्नुपर्छ ।’

    प्रधानमन्त्रीको यही अभिव्यक्तिलाई तोडमोड गरेर चलचित्रमा पेस गरिएको हो । हुन त यो संवाद सिनेमा घरसम्म आइपुग्छ भन्न सकिँदैन । सेन्सरमा चलचित्रले कडा परीक्षा दिनुपर्ने हुन सक्छ ।

    यो चलचित्रमा कहलिएका भारतीय निर्माता–निर्देशक अनुराग कश्यपको पनि संलग्नता छ । उनी कार्यकारी निर्माताको महत्वपूर्ण जिम्मेवारीमा छन् । पहिलोपटक उनी नेपाली चलचित्रमा जोडिएका हुन् ।

    चलचित्रको लेखकमा निर्देशक रौनियारसहित आशा मग्राती (मुख्य कलाकार) सहित एक विदेशी नागरिक (?) डेभिड बार्कर पनि रहेका छन् । यो चलचित्र रामबाबु गुरुङको बाँसुरी फिल्म्सको ब्यानरमा बनेको हो । चलचित्रको निर्मातामा गुरुङ र मग्रातिसहित एक विदेशी नागरिक एलन आर मिलिगन पनि रहेका छन् ।

  • ओस्कार अवार्डः यौनकर्मीको कथामा बनेको ‘अनोरा’ बन्यो सर्वोत्कृष्ट

    ओस्कार अवार्डः यौनकर्मीको कथामा बनेको ‘अनोरा’ बन्यो सर्वोत्कृष्ट

    काठ्माडौं । पाँचवटा ओस्कर अवार्ड जित्दै रोमान्टिक कमेडी चलचित्र ‘अनोरा’ ९७ औं ओस्करमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । यो चलचित्रले अस्करमा बेस्ट पिक्चर (सिन बेकर, एलेक्स कोको र सामन्था क्वानलाई), बेस्ट डिरेक्टर(निर्देशक सिन बेकरलाई), उत्कृष्ट अभिनेत्री (मिकी म्याडिसनलाई), ओरिजिनल स्क्रिनप्ले(निर्देशक सिन बेकरलाई) र बेस्ट फिल्म सम्पादन (निर्देशक सिन बेकरलाई)अर्वाड हात पारेको हो ।

    नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस–एन्जलसस्थित डल्बी थिएटरमा यसवर्षको अस्कर अवार्ड प्रदान गरिएको हो ।

    सिन बेकरद्वारा लिखित, निर्देशित र सम्पादित चलचित्र ‘अनोरा’ले न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथा भन्छ । छोराको विवाहबारे थाहा पाएपछि भान्याका आमाबाबुले विवाह रद्द गर्न गरेको प्रयास र विवाहका लागी भान्या र अनोराले गरेको सामना चलचित्रको मुल कथा हो ।

    ‘अनोरा’को यात्रा ‘कान्स फिल्म फेस्टिभल’बाट सुरु भएको थियो। कान्समा ‘अनोरा’ले ‘पाम दे ओर’अवार्ड जितेको थियो । कथावाचन र प्रस्तुतिकरणका कारण यो चलचित्रले प्रशंसा पाएको थियो ।

     

  • केकी अधिकारीको नजरमा प्रधानमन्त्री ओली- मिजासिलो र ऊर्जाशील व्यक्ति (भिडिओ)

    केकी अधिकारीको नजरमा प्रधानमन्त्री ओली- मिजासिलो र ऊर्जाशील व्यक्ति (भिडिओ)

    काठमाडौं । नायीका केकी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली सबै खालका सल्लाह, सुझाव र गुनासो मज्जाले सुन्न सक्ने व्यक्तित्व भएको बताएकी छन् ।

    सोमबार ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै अधिकारीले ओलीमा मिजास र ऊर्जा दुवै भएको बताइन् । ‘उहाँ मिजासिलो र ऊर्जाशील व्यक्तित्व हुनुहुन्छ, मैले सधैँ उहाँलाई त्यस्तो पाएको छु’, अधिकारीले भनिन् ।

    प्राप्त गरेको मञ्च र ख्यातिलाई देश र समाजको हितको लागि प्रयोग गर्नुपर्ने सुझाव ओलीले सधैँ दिने गर्नुभएको अधिकारीले बताइन् । ओलीको नेतृत्वमा देशले समृद्धि र सुख प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।