काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अन्जिला’को सोमबार राजधानीमा भव्य प्रिमियरको आयोजना गरियो।
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्रीद्वय केकी अधिकारी, अलिशा राई, अभिनेता दयाहाङ राई, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठलगायत पत्रकारहरु, चलचित्रकर्मी, राष्ट्रिय खेलाडीहरू र शुभचिन्तकहरूको बाक्लो उपस्थिति थियो ।
फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्ष र काठमाडौंको सडकमै बस्नुपरेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा बनेको चलचित्र ‘अञ्जिला’को भव्य रेड कार्पेट प्रिमियरमा चलचित्र हेरेपछि उपस्थित अधिकाशं भावुक देखिए। भव्य सजावट र रेड कार्पेटले सजिएको प्रिमियरमा चलचित्रकी प्रमुख अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्य व्यस्तताका कारण उपस्थित रहेनन् ।
फागुन २९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रले एन्जिलाको सङ्घर्षको कथा बोकेको छ। चलचित्र हलबाट निस्किँदै गर्दा प्रायस् दर्शकहरू रोएका थिए।
चलचित्र हेरिसकेपछी आइजिपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनशिप मात्र देखेको तर यो चलचित्रले एन्जिला हुनुको वास्तविकता देखाएको बताए । उनले भने, ‘हामीले सधैँ एन्जिलाको खेल देख्यौँ, उनको क्याप्टेनशिप देख्यौ तर एन्जिला हुनुमा उनले कति सङ्घर्ष गरेको रहेछ, कति पसिना र आँसु बगेको रहेछ भन्ने यो चलचित्रले देखायो । एपिएफ क्लबले एन्जिलालाई चिनायौँ, एन्जिलाले देशलाई चिनाइन् । यो चलचित्र नयाँ पिँढीको लागि प्रेरणा हुन्छ ।’

त्यस्तै, पूर्व कप्तान गणेश थापाले चलचित्र हेर्दा आफू ३-४ पटक रोएको बताए । ‘एन्जिलाले यति धेरै सङ्घर्ष गरेर आएको रहेछ । एन्जिलालगायत हामीले ती खेलाडीहरूलाई ध्यान दिन सकेनौँ भन्ने कुराको आत्मग्लानि भएको छ,’एन्फाका पूर्व अध्यक्ष समेत रहेका थापाले भने, ‘हाम्रो पालामा नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा खेल्ने खेलाडीहरूलाई रोजगारीको ग्यारेन्टीको सुरुवात भएको हो । त्यसैको प्रतिफल आज महिला फुटबल खेलाडीको प्रगति भइरहेको छ ।’
त्यस्तै, चलचित्र हेरेका पत्रकार प्रकाश सुवेदीले बायोपिकमा चलचित्र बनाउन जति चुनौतीपूर्ण छ, त्यो चलचित्रलाई कमर्शियल बनाउन त्यति नै गाह्रो रहेको र ‘अञ्जिला’मा त्यो दुवै रहेको प्रतिक्रिया दिए । ‘यो चलचित्रमा जीवन त छँदैछ, चलचित्रलाई व्यावसायिक बनाउन निर्देशकले भरपुर मेहनत गर्नुभएको छ । मैले यो भन्दा पहिले भारतीय कलाकार आमिर खानको लगान हेरेको थिएँ । त्यो चलचित्रले मलाई एकाग्र भएर हेर्न बाध्य तुल्याएको थियो र आज अञ्जिला हेर्दा त्यही झझल्को आयो,’सुवेदीले सुनाए।
चलचित्र हेरेपछि भावुक हुँदै हलबाट निस्किएकी अभिनेत्री केकी अधिकारीले यो चलचित्रले आफ्नो मन छेडेर गएको जनाइन् । ‘हाम्रो समाजमा महिलाहरू जुनसुकै क्षेत्रमा छन् भने पनि सङ्घर्षपूर्ण यात्रा पार गरेर आएको हुन्छ । त्यसमाथि पनि महिलाले खेलकुदमा यो किसिमको एउटा सफलता पाउनुको पछाडिको सङ्घर्ष के कस्तो थियो भन्ने विषय चलचित्र मार्फत आएको छ,’ उनले भनिन्,‘एन्जिलाको सङ्घर्षको कथा नपढेको नसुनेको होइन तर, चलचित्र मार्फत आउँदा यसरी मन छेडेर गएको छ की निर्देशकले सुन्दर रूपमा एन्जिलाको वास्तविक जीवनलाई सामाजिक मूल्यमान्यता अनुसार पर्दामा उतार्नुभएको छ।’

चलचित्र निर्देशक नवल नेपालले छोराछोरीहरूले आफ्ना मातापितालाई सम्बोधन गर्ने चलचित्र रहेको प्रतिक्रिया दिए । अर्का निर्देशक ज्ञानेन्द्र देउजाले पनि नेपालमा नेपाली खेलाडीहरूले यति धेरै दुख गर्दा पनि राज्यको चेतना र लगानी किन छैन? भन्दै प्रश्न उठाए । उनले एन्जिलाको कथासँगै राज्यको दृष्टिकोणले पनि भावुक बनाएको बताए । अभिनेत्री अलिशा राईले यो चलचित्रले जीवन जिउन पनि सिकाउने बताइन् ।
त्यस्तै, अभिनेता प्रशान्त ताम्राकारले गाउँ ठाउँका सबै नेपाली चेलीहरूको कथा पनि एन्जिलाको जस्तै सङ्घर्षशील रहेको बताए । ‘म धेरै पटक भक्कानिएँ । एन्जिलाले गरेका ती सङ्घर्षहरू हेर्दा निकै गाह्रो महसुस भयो । एन्जिलाले आफैले अभिनय गरेको कारणले पनि होला त्यो अभिनय जस्तो नभएर वास्तविक नै देखिएको छ,’ ताम्राकारले भने ।
निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू उत्साहित भएको बताउँदै अब चलचित्र हेर्ने पालो दर्शकको रहेको जनाए । ‘मैले एन्जिलालाई तिमीले अभिनय नगर, जीवनमा जे भोगेको छौ त्यति नै देखाउ भनेको थिएँ । म आफैले पनि हरेक पटक चलचित्र हेर्दा भावुक हुने गरेको छु । धेरै ठाउँमा प्रिमियर भयो, सबै ठाउँमा प्रशंसा भएको छ । अब दर्शकको पालो आएको छ,’चाम्सले सुनाए । चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उनले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी निर्देशन गरेका थिए ।

यसअघि यस चलचित्रको हङकङ, कोरिया, बेलायत र नेपालको धरानमा समेत प्रिमियर भएको थियो । चलचित्रमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ ।
चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका हुन भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बु र राजेश बगडिया चलचित्रका सह-निर्माता हुन् ।