Category: कलाप्रेस

  • बैशाखमा नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै

    बैशाखमा नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै

    काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (नीरुएफ)को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ।

    ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

    सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाको भनाई छ।

    उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म,फिचर फिल्म र भाषाभाषीका फिल्महरुलाई समाबेश गरिनेछ।

    महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरु समेत गरिनेछ। पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो पटक रामेछापमा आयोजना गरिएको थियो ।

    महोत्सवमा चलचित्र विकास बोर्डको पनि सहकार्य रहने छ।

  • ‘कर्मा’को रत्यौली गीत ‘सारी लगाइदेउ’ सार्वजनिक (भिडिओ)

    ‘कर्मा’को रत्यौली गीत ‘सारी लगाइदेउ’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । यही चैत २९ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘कर्मा’को ‘सारी लगाइदेउ’ बोलको गीत सार्वजनिक भएको छ । सलिना बिकको स्वर रहेको गीतमा सुष्मा सिग्देलको शब्द र भाष्कर स्वारको संगीत छ ।

    विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ । मायाप्रेम दर्शाउँदै व्यंग्य गरेको सार्वजनिक गीतमा कलाकार मुकुन भुसाल विवाह गरिरहेका छन् भने अभिनेता विपीन कार्की मौन छन् । भिडियोमा नायिका उपासनासिंह ठकुरीको दमदार नृत्य देख्न सकिन्छ ।

    कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन, उपासना, मुकुन, सरिता गिरी, दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

    नयाँ वर्ष २०८२ को छेको पारेर ‘कर्मा’ चैत २९ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’को कथा निर्देशक सौरभ चौधरीले लेखेका हुन् ।

    चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक र आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ ।

  • रियालिटी शोहरुले कभर गायकमात्रै जन्माइरहेछ: संगीतकार वसन्त सापकोटा

    रियालिटी शोहरुले कभर गायकमात्रै जन्माइरहेछ: संगीतकार वसन्त सापकोटा

    काठमाडौं । अहिले गायन रियालिटी शो भ्वाइस अफ नेपालको चर्चा छ । गायन क्षेत्रमा भविष्य खोजिरहेका कालकारहरु यस्ता रियालिटी शोहरुमा आकर्षित हुने गरेका छन् । चाँडो दर्शकमाझ पुग्ने छोटो र छरितो बाटोको रुपमा कलाकारहरुले यस्ता रियालिटी शोहरुलाई लिने गरेका छन् ।

    तर संगीतकार वसन्त सापकोटा भने यस्ता रियालिटी शोले कभर गायकमात्रै उत्पादन गरिरहेको जिकिर गर्छन् । कभर गायकमात्रै उत्पादन हुनु दुर्भाग्यपूर्ण अवस्था रहेको सापकोटाको बुझाइ छ । यसबारे उनको भनाइ छ, ‘मैले रियालिटी शोका आयोजकहरुलाई सुझाव पनि दिएको थिएँ, तपाईंहरुले कभर गायकमात्रै उत्पादन गरिरहनुभएको छ । ती प्रतिभावान कलाकारको आफ्नो ओरिजिनल गीत छैन । शोबाट बाहिर निस्कँदा पनि चलेका गायकहरुकै गीत गाउनुभएको छ । ती गीत त पहिल्यै हिट छन् । अनि अरुको गीत कहिलेसम्म गाइरहने ?’

    त्यसैले सापकोटाको सुझाव छ, शोहरुमा शीर्ष १० मा पुगेपछि पुराना गीतसँगै ती कलाकारलाई आफ्नै नयाँ गीत गाउन पनि लगाउँदा राम्रो हुन्छ । यसरी काम गर्दा उनीहरु शोबाट बाहिरिँदै गर्दा आफ्नै गीतहरु पनि साथमा हुने र त्यसले स्टेज कार्यक्रममा सहयोग गर्ने सापकोटाको सुझाव छ ।

    अहिले ‘१२ महिनामा १२ नयाँ कलाकारलाई डेब्यु’ गराउने अभियान चलाइरहेका सापकोटाले भने, ‘कभर गीत गाएरमात्रै कलाकार बन्न सकिन्छ ? कलाकार बन्न आफ्नै गीत पनि चाहिन्छ । ध्रुवसत्य कुरा के हो भने रियालिटी शोहरुमा भोटिङमा धेरै नै खर्च गर्नुपर्ने हुन्छ । करोडौं खर्च हुँदा पुरस्कार रकम चाहिँ थोरै हुन्छ । कतिपय कलाकारले त त्यो रकम पनि नपाएको गुनासो आउँछ । यसरी नवकलाकारहरु ऋणको भारीले थिचिएका हुन्छन् । अनि नयाँ गीत कसरी गर्ने ?’

    त्यसैले पुराना गीत सँगसँगै रियालिटी शोहरुले नवकलाकारलाई आफ्नै गीत पनि गाउन लगाउँदा उनीहरुको व्यवसायिक जीवनमात्रै सहज नभएर उनीहरुले भोग्ने आर्थिक क्षतिको समेत न्यूनीकरण हुने सापकोटाको भनाइ छ ।

    सापकोटाको ‘सागर सरी चोखो माया’, ‘बालापनको उमेर’, ‘यी आँखामा तिमी छौ’, तिमीविनाको जीवन’, ‘माया अन्तै सार’ जस्ता दर्जनौं गीतहरु लोकप्रिय छन् ।

  • सौगात र सृष्टिको ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक

    सौगात र सृष्टिको ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक

    काठमाडाैं । आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको २ मिनेट ८ सकेण्ड लामो टिजरबाट सिनेमाको कथावस्तुका कारेमा प्रकाश पारिएको छ ।

    नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमाको सार्वजनिक टिजरमा देखाइएको छ।

    सिनेमाको टिजरमा गोपाल पाँडे पात्रको भाईरल हुन गरेका विभिन्न हर्कत र भाईरल भैसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार गरेको अभिने पत्रकार ऋषि धमालसँग अर्न्तवार्ता गरेसम्मका दृश्यले दर्शकको मन जित्ने देखिन्छ ।

    द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह-निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।

    अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।

     

     

     

  • हरेक शुक्रबार ‘फ्राईडे नाइट विथ ह्याप्पियस्ट म्यान’ गर्दै भुठान

    हरेक शुक्रबार ‘फ्राईडे नाइट विथ ह्याप्पियस्ट म्यान’ गर्दै भुठान

    काठ्माडौं। आगामी वैशाख १२ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ुभूठानुले हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुँराहरुमा फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ ।

    चलचित्रका निर्माता अविरल थापाका अनुसार यो कार्यक्रम गर्नुको अभिप्राय चलचित्रका दर्शकसँग प्रत्यक्ष साक्षात्कर गर्नु र सिनेमाको बारेमा गफ गर्दै मनोरञ्जन गर्नु हो। थापाका अनुसार मार्च २० तारिखलाई संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय खुशी दिवसको रुपमा मनाउँदै आएको र सोही अवसर पारेर वैशाख ५ गतेसम्म खुशीको हप्ता मनाउने कार्यक्रम घोषणा गरिएको हो ।

    भुठानले थापाथलीस्थित चियावालामा चैत्र ८ गते साँझ ५ः३० मा पहिलो कार्यक्रम गर्नेछ। यो कार्यक्रममा चियापसलमा आएका जो कसैले आफनो गीत, कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्ने साथै चलचित्र ‘भूठान’को टिजर र गीतको समीक्षा पनि गर्न सक्नेछन्। हरेक हप्ता एकजना सेलिब्रेटीलाई सो कार्यक्रममा ह्यापियस्ट गेस्टको रुपमा निमन्त्रणा गरिनेछ ।

    यो हप्ता कवि एवं संचारकर्मी रुपेश श्रेष्ठले प्रमुख अतिथीको रुपमा आफ्नो प्रस्तुती दिनेछन्। कार्यक्रममा उपस्थित मध्य ३ जनाले लक्की ड्रमार्फत भूठानको टिकट पनि जित्नेछन्।

    आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा आधारित चलचित्र ुभुठानु लाई विनोद पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा हरिवंश आचार्य,दयाहाङ राई,पुजा चन्द, ऋचा घिमिरे,अदिती प्याकुरेल,जोयश पाण्डे लगायत हलिउड कलाकार ब्रुस डर्नको पनि अभिनय रहेको छ ।

  • ‘वसन्त-साँझ’मा प्रकाश-शान्तिश्रीदेखि प्रीति-देवेन्द्रले प्रस्तुती दिने

    ‘वसन्त-साँझ’मा प्रकाश-शान्तिश्रीदेखि प्रीति-देवेन्द्रले प्रस्तुती दिने

    काठमाडाैं ।  आगामी चैत्र २२ गते रिलिज हुने सिनेमा ‘वसन्त’को अफिसियल ट्रेलर पर्सी शनिबार सार्वजनिक तयारी भइरहेको छ । काठमाडौंको बसुन्धारास्थित सिटी स्क्वायर मलमा ‘वसन्त-साँझ’को आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्देशक तथा अभिनेता प्रकाश सपुतको छ ।

    चैत्र ९ गते ४ बजे सिटी स्क्वायर मल अगाडी आयोजना हुने वसन्त साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गागिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लु (द फिरन्ते)ले प्रस्तुती दिनेछन् । सिनेमाका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरै भन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त साँझलाई भव्य अनि सभ्य बनाउन शुभ चिन्तकमाझ अपिल गरेका छन् ।

    गायक प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

    गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

    गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।

  • नयाँ कमेडी शो ‘अँ प्रश्न के हो ?’ सार्वजनिक

    नयाँ कमेडी शो ‘अँ प्रश्न के हो ?’ सार्वजनिक

    काठमाडौं । कमेडी च्याम्पियनको तेस्रो सिजनका केही प्रतिस्पर्धीहरुले नयाँ कमेडी शो ल्याएका छन् ।

    अन्तरवार्ता शैलीको त्यो शोमा धादिङका प्रेम विश्वकर्मा, दैलेखका लोमनसागर रेग्मी र तनहुँका कृष्ण गैरे छन् ।

    ‘अँ प्रश्न के हो’ नयाँ कमेडी शो को पहिलो एपिसोड बुधबार युट्युब च्यानल ‘ओएसआर रियालिटी’ बाट सार्वजनिक भएको छ।

    ओएसआर रियालिटीबाट उक्त शोको २६ वटा एपिसोड आउने बताइएको छ।

    शोमा लेखन कृष्ण गैरे, लोमन सागर रेग्मी, प्रेम विश्वकर्माको संयुक्त रहेछ।

    शो को निर्देशन विनोद श्रेष्ठले गरेका हुन्। भिडिओ सम्पादन सौरभ रेग्मीले गरेका हुन् ।

  • मुद्दैमुद्दामा जेलिएकाे, तथ्यमा चिप्लिएकाे ‘राजागंज’

    मुद्दैमुद्दामा जेलिएकाे, तथ्यमा चिप्लिएकाे ‘राजागंज’

    संसारका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा एक फन्को लगाइसकेको दीपक रौनियार निर्देशित चलचित्र ‘राजागंज’ अहिले हलहरूमा चलिरहेको छ । देशभित्र प्रदर्शन गर्दा भने चलचित्रले सेन्सर बोर्डको तगारो झेल्नु परेको थियो ।

    वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ९ वर्षअघि बोलेको भाषणको क्लीपलाई बिनाअनुमति समावेश गरिएको भन्दै बोर्डले सेन्सर पास गर्न मानेको थिएन । पछि निर्माण पक्षले केही दृश्य र संवादलाई हटाएर चलचित्र प्रदर्शनमा ल्याएको हो ।

    के हो त ‘राजागंज’ को विषयवस्तु ?

    विद्यालयमा हुने भ्रष्ट्राचारमाथि आवाज उठाएकै  कारण गर्भवती महिलाले भोगेको ज्यादती र उक्त ज्यादतीविरुद्ध उनले गरेको आपराधिक विद्रोहको कथा हो ‘राजागंज’ । विद्यालयका प्रधानाध्यापक सबिता कोइराला (ऋचा शर्मा)को नियतमाथि प्रश्न उठाएपछि ती महिलाको आठ महिनाको गर्भ तुहाइन्छ र हल्ला फैलाइन्छ, ‘उनको पेटमा ट्युमर थियो, त्यही ट्युमरलाई काटेर फालियो ।’

    आफूमाथि भएको यस्तो अन्यायमाथि ती महिलाले बोल्न खोज्छिन् । तर समाज, प्रहरी प्रशासन, न्यायालय सबैतिरबाट उनको आवाजलाई निस्तेज पारिन्छ । त्यसपछि उनले न्यायका लागि गैरकानुनी बाटो अपनाउँछिन् । प्रधानाध्यापक कोइराला र उनका श्रीमान् सभासद् प्रवीण यादवको बच्चा अपहरण गर्छिन् । बच्चा अपहरणपछि निर्मित घटनाक्रमहरू नै चलचित्रको मूल कथा हो ।

    चलचित्रलाई सरसर्ती हेर्दा प्रअ कोइराला र मधेशी महिलाबीचको संघर्षजस्तो देखिन्छ । तर, चलचित्रको मूल ध्येय चाहिँ मधेसी समुदायमाथि राज्यसत्ताले हेर्ने नजरिया हो । यसलाई प्रतिकात्मक रूपमा चित्रण गर्न निर्देशक रौनियारले मधेसी महिलाको गर्भलाई ‘ट्युमर’ भनिदिएका छन् । जुन ट्युमर खोलखाल पार्ने काम प्रअ कोइरालाले गर्छिन् । राज्यसत्ताप्रति मधेसले गरेको प्रतिरोधलाई सांकेतिक रुपमा प्रस्तुत गरिएकाे छ ।

    मधेसले प्रतिरोध गर्र्नुका पछाडि दशकौंदेखि राज्यसत्ताले मधेसमा गरेको ज्यादति नै प्रमुख कारण हो भन्ने ‘राजागंज’को ठहर छ । महिलाको पेटको बच्चालाई जबरजस्ती एभोर्सन गराइन्छ । यही चोटले उनी विछिप्त बन्छिन् । न्यायका लागि सबै ठाउँ पुग्छिन् । तर, न्याय पाउँदिनन् ।

    चलचित्रमा एक दृश्य छ, जहाँ प्रहरी अमर (विजय बराल)ले मधेसबासीलाई नेपाली भाषामा बोल्न उर्दी दिन्छन् । तर, उनीहरु मैथली भाषामै बोल्छन् । मैथली भाषा पनि त नेपाली भाषा हो । यही दृश्यमा अमर र मधेसवासीबीच स्पष्ट बार देखाइएको छ । मधेस र राज्यबीचको दुरी र फरकपन देखाउन रौनियारले प्रयोग गरेको यो दृश्य बलियाे छ ।

    अर्को दृश्य पनि छ, जहाँ पूजा सर (आशा मगराती) लगायत प्रहरीहरु एक घरमा छिर्छन् । त्यहाँ वृद्ध बाआमा हुन्छन् । अनि खोजतलास गर्दा नेल्शन माण्डेलाको तस्बिर भएको पत्रिका देखिन्छ । घर बाहिर भित्तामा भने मार्टिन लुथर किङ जुनियरको पोस्टर छ ।

    बाहिरबाट मधेस बलिरहेको देखिए पनि भित्रैबाट भने मधेसले हिंसा चाहँदैन भन्नलाई रौनियारले मण्डेलाको फोटो देखाएका हुसक्छन् । मण्डेला र मार्थिन लुथर किङले गरेको संघर्ष पनि राज्यसत्ता विरुद्ध नै थियो । राज्यसत्ताले निर्माण गरेको भाष्य विरुद्ध नै थियो ।

    भित्तोमा टाँसिएको मार्टिन लुथर किङको त विश्वप्रसिद्ध भाषण नै छ, ‘आइ ह्याभ अ ड्रिम’ ! यसले चाहिँ निर्देशकको दृष्टिकोण स्पष्ट पार्छ ।

    मुद्दाहरूमा अलमलिएको ‘राजागंज’ भित्र ‘झरेको आँप’

    विधागतरुपमा ‘राजागंज’ क्राइम थ्रिलर फिल्म हो । यहाँ सपेन्सहरु खुल्दै जान्छन् । बच्चा अपहरण गर्नुका कारणहरू खोतलिँदै जान्छन् । कारणहरू खोतलिँदै जाँदा मधेसका मुद्दाहरू पनि उप्किँदै जान्छन् ।

    तर, अनेक मुद्दाहरूमा चलचित्र यसरी अलमलिएको छ कि मूल कथाबाट दर्शक भड्किरहन्छन् । कथा हिँड्ने मूलबाटो छाडेर चलचित्र मुद्दैमुद्दाको चाङमा हराएको छ । एलजीबिटिआइक्युको मुद्दा पनि पूजा (आशा मगराती) मार्फत् जबरजस्ती घुसाइएको छ । तर, यसका सामाजिक र मनोवैज्ञानिक जटिलताका पाटाहरू उप्काउने कोसिस गरिएको छैन ।

    स्पष्ट बोलेकै आधारमा, राम्रोसँग काम गनै खोजेकै आधारमा पूजा प्रमोसनमा समेत पछाडि परेकी छन् । सँगै इनिस्पेक्टर ममता गुप्ता (निकिता चण्डक)ले भोगेको कारबाहीको पछाडि पनि कतै न कतै मधेसी महिला हुनुको दुःख देखाइएको छ ।

    चलचित्रमा मुद्दाहरू यति मुखर भएर आएका छन् कि कथाको भेउ पाउनै मुस्किल पर्छ । मुद्दाहरुको दस्ताबेज जस्तो बनेको छ ‘राजागंज’ । मुद्दा मात्रै उठाउनलाई त राजनीतिक आन्दोलन जतिको प्रभावकारी केही पनि हुन सक्दैन । तर, चलचित्र भनेपछि त कला पनि हो, कथा पनि हो । चलचित्र त सुन्दर कथावाचन पनि हो । मजिद मजिदीले इरानका भूइँमान्छेको कथा टिपेजस्तो पनि हो । कथा भन्ने तरीका र शैलीले त चलिचत्रलाई समृद्ध बनाउँला ।

    अर्कातिर मुद्दाहरूकै सवालमा पनि चलचित्र चिप्लिएको छ ।

    सुरुवातमै ओलीको ‘झरेको आँप’को प्रसंग र संविधान निर्माणका क्रममा मधेसीले गरेको आन्दोलनको क्लिप देखाइन्छ (सेन्सरमा काटिएको) । यसरी हार्डकोर राजनीतिक मुद्दा उठाएको ‘राजागन्ज’ यसपछि मुद्दाको मामलामा शिथिल हुँदै जान्छ । मस्यौदाहरूको विरोध गरिरहेको जुलुस देखाइएको चलचित्रमा यसपछि संविधान निर्माणको ‘स’ सम्म आउँदैन ।

    ओलीको भाषण देखाउँदा तथ्य तोडमोडसमेत गरिएको छ । ओलीको भाषणको सन्दर्भलाई स्पष्ट रूपमा नखुलाईकन निर्देशकले छुस्स राखेका छन् । संविधान निर्माणका क्रममा यसका विषयवस्तुमा असन्तुष्टि राखेर केही मधेसी दलहरू संविधानसभाबाट बाहिरिएका थिए । उनीहरूलाई संकेत गर्दै ओलीले ‘झरेको आँप’ को संज्ञा दिएका थिए ।

    २०७२ भदौ २३ गते ओलीले भनेका थिए, ‘हाम्रो समाजमा दुई–तीनवटा आँप झर्‍यो भने आँप त झरेरै सिद्धियो, खत्तमै भयो भन्छन् । तर, झरेर सिद्धिएको हुँदैन । दुई तीनवटा मात्रै झर्‍या हुन् । त्यो झरेको मन नपरेको मात्रै हो ।’

    यही भाषणको क्लीप देखाएर चलचित्रमा ‘प्रधानमन्त्रीले मधेसीलाई आँप भनेको’ तर्क गरिएको छ । जबकि त्यसबेला ओली प्रधानमन्त्री पनि थिएनन् । प्रधानमन्त्रीको कुर्सीमा सुशील कोइराला थिए भने संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ थिए । तर, चलचित्रको ट्रेलरमै ओलीलाई ‘प्रधानमन्त्री’ सम्बोधन गरिएको छ । यो सीधासीधी कुप्रचार भयो । गम्भीर राजनीतिक मुद्दामा चलचित्र बनाइँदै गर्दा निर्देशक रौनियार निकै नै संवेदनशील बन्नुपर्थ्यो । त्यसवेला ओली प्रधानमन्त्री थिएनन् भन्ने सामान्य तथ्य ख्याल गर्नुपर्थ्यो ।

    सृजनामा सेन्सर लगाउनु गलत हो । तर, सर्जकको नियतमा सेन्सर लगाउने कि नलगाउने ? बहसको अर्को विषय हुनसक्छ । सृजनामै बोर्डले सेन्सर लगाउँछ भने त्यस्तो हर्कत चाहिँ भर्त्सनायोग्य छ ।

    मधेसको मुद्दामा रौनियार कुन हदसम्म सिरियस छन् भन्ने कुराको पुष्टि चाहिँ ‘राजागंज’ ले गरेको छ । मदन राईको भूमिकामा दयाहाङ राई र ममता गुप्ताको भूमिकामा निकिता चण्डकले राम्रो अभिनय गरेका छन् । सिनेम्याटोग्राफी र ब्यागग्राउण्ड स्कोर ठिकठाक छ । भिड नियन्त्रण र परिचालन चलचित्रको बलियो पक्ष हो ।

  • एसईई परीक्षाभरि कन्सर्ट नगर्ने दुर्गेशको घोषणा

    एसईई परीक्षाभरि कन्सर्ट नगर्ने दुर्गेशको घोषणा

    काठमाडौं । गायक दुर्गेश थापाले भाेलिदेखि सुरु हुन लागेको एसईई परीक्षाको अवधिभरि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् । परीक्षा दिने विद्यार्थीहरुलाई डिस्टर्व हुन सक्ने भन्दै उनले यस्तो निर्णय लिएका हुन् ।

    एक विज्ञप्ति जारी गर्दै दुर्गेशले आफूलाई अहिले धेरै कार्यक्रमका लागि अफर आइरहेको भए पनि त्यसलाई स्वीकार्न नसक्ने बताएका छन् । एसईई अवधिभरका लागि आफूलाई निमन्त्रण नगर्न उनको अुरोध छ ।

    उनले लेखेका छन्, ‘एसईई परीक्षा हाम्रो जीवनको महत्वपूर्ण घडी हो । केवल मनोरञ्जनमा मात्र होईन उज्ज्वल भविष्यका लागि पनि म सधैं हजुरहरुकै साथमा हुनेछु । यतिबेला मलाई धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमका लागी कल आईरहेको छ । तर यदि म कार्यक्रम गर्दै हिडेँ भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ । यी कुराहरुलाई मध्यनजर गर्दै, एसईई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु । साथै परीक्षा अवधिभर सञ्चालन हुने कार्यक्रमको लागी मलाई सम्पर्क नगरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दै यसबाट आयोजकलाई पर्न गएको असुविधा प्रति क्षमा चाहान्छु ।’

  • अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा, तेस्रो दिन रसियन फिल्म डे हुने 

    अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा, तेस्रो दिन रसियन फिल्म डे हुने 

    आगामी चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै तयारी पुरा भएको जनाएको हो  ।
    यसपटक निफको निर्णायक मण्डलमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह राणा चलचित्र समिक्षक सम्पादक रिता दत्ता, निर्देशक लिउ जियान र कलाकार जमल शाह लगायत रहेका छन् ।
    महोत्सवमा कुनै एउटा देशको चलचित्रलाई विशेष प्रदर्शन गर्ने योजना अनुसार यस वर्ष महोत्सवको तेस्रो दिन शनिवार ‘रसियन फिल्म डे’ को पनि आयोजना गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
    महोत्सव अन्तरगत नै आगामी शनिवार आयोजना हुने उक्त फिल्म डे मा रसियाको तीनवटा चलचित्र प्रदर्शन गरिनेछ । यसपटक महोत्सवमा ३ वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डको लागि चैत्र ७ गतेदेखि ११ गते दिनको ४ बजेसम्म खल्ती एप बाट भोटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।
    मार्च २०, २०२५, दिउँसो १ः ३० बजे क्युएफएक्स सिभिल मलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सुरू हुनेछ । समारोहको पहिलो दिन मिनबहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’ प्रदर्शन हुनेछ । महोत्सवको अन्तिम दिन अर्थात् चैत्र ११ गते ४ बजे सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख अतिथ्यमा अवार्ड वितरण गर्दै महोत्सवको समापन गरिनेछ ।
    ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । प्रविधिमा आएको विकासलाई आत्मासात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सो सम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि हुनेछ ।
    महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ ।
    एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।
    महोत्सवमा सहभागी हुन ५० बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु भइसकेको छ ।  महोत्सवलाई एउटा पर्वको रुपमा मनाउन हामी सबै चलचित्रकर्मी, सञ्चारकर्मी र सर्वसाधारण लाई अनुरोध छ ।
  • ‘आमा’ गीतमा भिडिओ बनाउनुहोस्, नगद पुरस्कार जित्नुहोस्

    ‘आमा’ गीतमा भिडिओ बनाउनुहोस्, नगद पुरस्कार जित्नुहोस्

    काठमाडौं । आभाश्री प्रडक्सनले आउँदो मातातीर्थ औंसीको अवसर पारेर ‘आमा’ बोलको गीतमा म्युजिक भिडिओ बनाउने प्रतियोगिता अघि सारेको छ ।

    आभाश्रीले आफ्नो आधिकारिक युट्युब च्यानलमा एक वर्षअघि सार्वजनिक गरेको ‘आमा’ बोलको गीतमा म्युजिक भिडिओ बनाउने प्रतियोगिता सार्वजजिक गरेको हो ।

    चर्चित गायिका मेलिना राई र युवा गायक रोशन धौभडेलको स्वर रहेको उक्त गीतको म्युजिक भिडिओ बनाउने प्रतियोगिताका तीन विजेतालाई आभाश्री प्रडक्सनले नगद पुरस्कारको व्यवस्था गरेको छ ।

    गीतका रचनाकार एवं आभाश्री प्रडक्सनका उत्कल चालिसेले प्रतियोगितामा पहिलो पुरस्कार १५ हजार, दोस्रो १० हजार र तेस्रो पुरस्कार ५ हजार रुपैयाँ राखिएको जानकारी दिए ।

    उनले भिडियो एन्ड्रोइड मोबाइलबाट समेत खिचेर पठाउन मिल्ने बताए । जुन भिडियो यही चैत ३१ गतेभित्र ह्वाट्सएप नम्बर ३५२६६१४५५३९० मा पठाउन सकिने उत्कलले जानकारी दिए ।

    प्रतियोगिताका विजेताहरु मातातीर्थ औंसीको दिन घोषणा गर्ने उनले बताए । मातातीर्थ औंसी २०८२ साल बैशाख १४ गते परेको छ ।

    आभाश्रीको आधाकारिक युट्युब च्यानलबाट एक वर्षअघि सार्वजनिक गरिएको गीतमा गायक रोशन धौभडेलले नै संगीत भरेका छन् । त्यस्तै एरेन्ज प्रमोद परियार र मिक्सिङ गोविन्द सोनीले गरेका हुन् ।

    उत्कलले २ वर्षअघि रोशन धौभडेलकै आवाजमा ‘पीडा’ बोलको गीत बजारमा ल्याएका थिए । उक्त गीत पनि आभाश्री प्रडक्सनको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको थियो ।

  • ‘अञ्जिला’को बक्स अफिस कलेक्सन- तीन दिनको व्यापार २ करोड ७ लाख

    ‘अञ्जिला’को बक्स अफिस कलेक्सन- तीन दिनको व्यापार २ करोड ७ लाख

    काठमाडौं । फागु पूर्णिमाको अवसर पारेर गत बिहीबार रिलिज भएको चलचित्र ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ । निर्माण टीमले आइतबार सार्वजनिक गरेको कलेक्सन रिपोर्टअनुसार चलचित्रले बिहीबार, शुक्रबार र शनिबारसम्म २ करोड ७ लाख व्यापार गरेको छ ।

    रिलिजको पहिलो दिन चलचित्रले दिउँसोबाट मात्र शोहरु पाएको थियो । पहिलो र दोस्रो दिन चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि शनिबार केही शोहरू थप गरिएको निर्माण पक्षले जनाएको छ ।

    ‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र हो । चलचित्रमा अञ्जिलाले न प्रमुख भूमिका निभाएकी छन् ।

    उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको चलचित्रमा अञ्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।

  • चलचित्रमा रियल कुटाई खाएका सुशील भन्छन्- निर्देशकले बारम्बार रियल नगरौं भनेका थिए, मैले नै मानिनँ

    चलचित्रमा रियल कुटाई खाएका सुशील भन्छन्- निर्देशकले बारम्बार रियल नगरौं भनेका थिए, मैले नै मानिनँ

    काठमाडौं । नायक सुशील श्रेष्ठले आइतबार आफ्नो शरीरमा भएको चोटको डाम देखाउँदै केही तस्बिरहरु र एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उक्त चोट उनलाई चलचित्र ‘आउटलः दफा २१९’को छायांकनको क्रममा लागेको हो । चलचित्र छायांकनको क्रममा आफूले रियल कुटाई खाएको भन्दै सुशीलले उक्त तस्बिरहरु पोस्ट गरेका हुन् ।

    तस्बिर र भिडियोसँगै उनले एक स्टाटस पनि लेखेका छन् । तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं । निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौं भनेर, तर मैले यो दृश्यलाई सकेसम्म वास्तविक बनाउन सके दर्शकहरुले अझ गहिरोसँग महसुस गर्नेछन् भनेर रियल गर्ने निधो गरें ।’

    मेकरले रियल नगरौं भन्दा पनि फिल आउँछ भनेर आफूले रियलमै सो दृश्य दिएको सुशील बताउँछन् । उनले यो चलचित्र आफ्नो टीमले दिनरात नभनी हरेक दृश्यलाई उत्कृष्ट बनाउन निकै मेहनत गरेको भन्दै छायाँकनको दिनलाई पनि सम्झिएका छन् ।

    सुशीलले साथ र समर्थन दिने सबै दर्शकलाई धन्यवाद दिँदै लेखेका छन्, ‘हाम्रो सपना थियो संवेदनशील विषयलाई उठाएर नेपाली एक्सन फिल्मलाई नयाँ उचाइमा पुर्‍याउने । यो चलचित्र मेरोमात्र होइन, यो सम्पूर्ण टीमको सामूहिक प्रयास हो र यस्ता चलचित्र नेपाली सिनेमा उद्योगमा निकै कम देखिन्छन् । यदि तपाईंले यसलाई शेयर गर्नुभयो भने मलाई विश्वास छ कि ‘आउटलः दफा २१९’ अझ धेरै दर्शकहरूसम्म पुग्नेछ ।’

    बिहीबारबाट रिलिजमा आएको यस चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । चलचित्रमा अमित अग्रहरिको लगानी छ ।

  • ‘डोरी’को कार्यक्रममा पुगेका सजन श्रेष्ठ- सबै साथीले फिल्म खेल्दा म मात्र बाँकी थिएँ, मेरो पनि डेब्यु भयो (भिडियाे)

    ‘डोरी’को कार्यक्रममा पुगेका सजन श्रेष्ठ- सबै साथीले फिल्म खेल्दा म मात्र बाँकी थिएँ, मेरो पनि डेब्यु भयो (भिडियाे)

    काठमाडौं । चैत १५ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमाजमा आयोजित एक समारोहबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

    समारोहमा लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, साजन श्रेष्ठ, बिरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु रेग्मी, सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी लगायतको उपस्थिति थियो।

    सबै पात्रहरूलाई प्रस्तुत गरिएको ट्रेलर चलचित्रको शीर्षक वरपर घुमेको छ । चलचित्र एक डोरीको वरपर घुमेको छ। ट्रेलरमा सबैले डोरी खोजी गरिरहेको देखाइएको छ । सोही क्रममा आइपर्ने घटनाक्रमहरू प्रमुख रूपमा उठान गरिएको छ भने पारिवारिक तथा सामाजिक व्यवधानहरू समेत ट्रेलरमा देखिन्छ ।

    ट्रेलरमा केही थ्रिल तथा हरर दृश्यहरू समेटिएका छन् । चलचित्रका निर्देशक अरुण लामाका अनुसार यो कथा पूर्णतया सामाजिक हो र कहीँ न कहीँ सबैको जीवनसँग मेल खान्छ ।

    अस्वस्थ भएका कारण केही ढिला पुगेकी चलचित्रकी मुख्य अभिनेत्री अञ्जना बराईलीले ‘डोरी’ को टिमसंग जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन,’फेरि एकपटक नयाँ टिमसंग जोडिएर काम गरेकी छु। खुसी छु। मलाई सकेसम्म मेरो क्षमताले भ्याइन्जेलको काम गरौं भन्ने लाग्छ। त्यहीँ भएर पनि यो चलचित्रमा जोडिएकी हुँ।’

    त्यस्तै चलचित्रका अर्का पात्र कमेडियन सजन श्रेष्ठले पनि ‘डोरी’ मा जोडिन पाएकोमा आफू खुसी भएको बताए। उनले भने,’मलाई भरोसा गर्नुभएकोमा पहिला त म निर्माण टिमलाई धन्यवाद दिन्छु। फिल्म खेल्ने रहर कसलाई हुदैन र? यो मेरो रिलिज नभएको तेश्रो फिल्म हो। तर टेक्निकली यहीँ पहिलो चलचित्र हो। सबै साथीले फिल्म खेल्दा म मात्र बाँकी थिए, यो फिल्मबाट मेरो पनि डेब्यु भयो।’

    ‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, बिरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको पनि प्रमुख भूमिका रहेको छ ।

    चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।

     

  • ‘पिताम्बर’ निर्देशन गरेकी कृषा भन्छिन्- ‘मलाई एउटा यस्तो फिल्म बनाउनु थियो, जुन ‘वियोण्ड द इमाजिन’ होस्’

    ‘पिताम्बर’ निर्देशन गरेकी कृषा भन्छिन्- ‘मलाई एउटा यस्तो फिल्म बनाउनु थियो, जुन ‘वियोण्ड द इमाजिन’ होस्’

    काठमाडौं । महिलाले पनि चलचित्र निर्देशन गर्न सक्छन् र? महिलाले बनाएको चलचित्रमा कसले काम गर्छ होला र? भन्ने आदि, इत्यादि प्रश्नका बीच केही महिला निर्देशकले निर्देशनमा हाम फाले।

    सुरुवाती दिनमा महिलालाई चलचित्र निर्देशन गर्न सोचेजस्तो सहज थिएन । गाह्रो-साह्रो समस्या पार गर्दै कतिले निर्देशनलाई नै आफ्नो पेशा बनाए त कतिले एक, दुईवटा चलचित्र निर्देशन गरेपछि हात उठाए। महिलाले पनि चलचित्र निर्देशन गर्न सक्छन है भन्ने भएपछि सिने क्षेत्रमा बिस्तारै महिला निर्देशकको संख्या बढ्न थाल्यो।

    संख्याको हिसाबले हेर्ने हो भने, सिने क्षेत्रमा अहिले पनि महिला निर्देशकको संख्या पुरुष जति छैन। हातको औंलामा महिला निर्देशकहरु अटाउँछन्। यहीँ लिस्टमा थपिएको अर्को एउटा नाम हो, कृषा चौलागाईं ।

     निर्देशक कृषा चौलागाईं निर्देशित चलचित्र ‘पिताम्बर’ यहीँ चैत्र २९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ। चलचित्र ‘एैचो पैचो’ पछि उनले निर्देशन गरेको यो दोश्रो चलचित्र हो। यो उनले निर्देशन गरेको एक्सन जनराको चलचित्र हो जहाँ एक हैन, दुई हैन, मल्टिस्टार छन्।

    कन्सेप्टको हिसाबले हेर्ने हो भने, कृषाले ‘पिताम्बर’को कन्सेप्ट ‘एैचो पैचो’ भन्दा अगाडि सोचेकी थिइन् । तर, ‘पिताम्बर’ ठुलो प्रोजेक्ट बन्ने भएपछि उनले पहिला ‘एैचो पैचो’ निर्माण कार्य सुरु गरिन् । ‘पिताम्बर’ लार्ज स्केलको चलचित्र भएकाले पहिला सिम्पल फर्म्याटको ‘एैचो पैचो’ गर्छु भन्ने कृषालाई लाग्यो।

    उनी भन्छिन् ,’पिताम्बर ठुलो प्रोजेक्ट थियो । त्यसैले, ‘एैचो पैचो’ सुरुमा गरे। पहिलो निर्देशकीय चलचित्र भएकाले दर्शक र फिल्मकर्मीबाट कस्तो प्रतिक्रिया पाउँछु भन्ने थियो । तर सबैले प्रसंशा र साथ दिनुभयो । ‘एैचो पैचो’ राम्रो भएपछि मैले पिताम्बरका लागि विभिन्न लेखकसँग बसेर स्क्रिप्टको डिजाइन गरेकी हो।’

    कृषा ‘पिताम्बर’लाई भरपुर एक्सनले भरिएको चलचित्र भन्छिन् । आफ्नो चलचित्रमा दर्शकले केही फरक पाउने उनको भनाई छ । ‘एक्सन फिल्ममा खर्च र समय धेरै लाग्छ । यस्तो फिल्ममा मान्छेले रिस्क लिन चाहँदैन। यो फिल्म प्रदीप खड्काका लागि पनि नयाँ हो,’ उनी सुनाउँछिन,’ प्रदीपलाई फरक अवतारमा हेर्न चाहने दर्शकको चाहनालाई पिताम्बरले पुरा गरिदिनेछ । किनकी प्रदीपलाई फूल्ली एक्सनमा हेर्ने दर्शकको रहरलाई पिताम्बरले पूर्णता दिन्छ ।’

    रिस्क भएको एक्सनलाई नै कृषाले किन प्राथमिकता दिइन् त ? यसबारे उनी भन्छिन् ,’ लामो समयदेखि फिल्महरु एउटा विशेष कुरामा मात्र केन्द्रित भइरहेका थिए । कतिपयले मौलिक कथा देखाउनुपर्छ भन्दै त्यता मात्र लागिरहनु भएको थियो। तर मलाई एउटा यस्तो फिल्म बनाउनुपर्छ भन्ने लाग्यो, जुन वियोण्ड द इमाजिन होस् । जसमा मेकर स्वतन्त्र होस् ।’

    कृषाकाे अनुसार यस्तो चलचित्रले मासलाई हलसम्म तान्न सक्छ र मासलाई हलमा तान्न सक्नु नै फिल्मकर्मीको जित हो । झण्डै डेढ वर्ष लगाएर कृषाले पिताम्बरको स्क्रिप्ट तयार पारेकी थिइन् । चलचित्र हेरेपछि दर्शकले सन्देशसँगै मज्जा बोकेर घर जाने उनको दाबी छ ।

    ‘पिताम्बर’ पूर्ण रुपमा इन्टरटेनिङ फिल्म भएकाले दर्शकले काटेको टिकट र छुट्याएको समय खेर नजाने उनी ठोकुवा गर्छिन् । उनी भन्छिन् ,‘दर्शकले एउटा टिकटमा ३,४ जना हिरोले अभिनय गरेको फिल्म हेर्न पाउनुहुन्छ। नेपालमा पहिलोपटक तीनवटा क्यामराले खिचेको चलचित्र हो, पिताम्बर। धेरै प्राविधिक सामानहरु बाहिरबाट ल्याएका छौं । मेकिङका हिसाबले पनि चलचित्रमा कुनै कमी छोडेका छैनौं ।’

    कृषाले ‘पिताम्बर’को अवधारणा दिमागमा खेलाइरहँदा नायक प्रदीप खड्का र थप दुई प्रमुख कलाकारहरु पहिलै निश्चित थिए । चलचित्र बन्दै गएपछि अन्य कलाकारहरु जोडिदै गएका हुन्।

    आफ्नो दिमागमा सुरुमा नै प्रदीप आउनुको कारण खुलाउँदै कृषा भन्छिन्,‘प्रदीप अरु भन्दा फरक छ । कामलाई लिएर उसको डेडिकेसन धेरै छ । मेकरले एउटा कलाकारमा हेर्ने भनेको त्यही हो । परफर्मरका रुपमा प्रदीप धेरै जेन्टलमेन छ । उसको लुक्स छुट्टै किसिमको छ।’

    कृषाले चलचित्रमा प्रदीपका लागि एक्सन कोचको व्यवस्था गराएकी थिइन् । संसारमा ‘ह्युमन इमोसन’ को कथाले कहीँ न कहीँ छुने भएकाले ‘पिताम्बर’मा पनि ह्युमन इमोसनकै कथा प्रस्तुत गरिएको कृषा बताउँछिन्।

    कृषाको मनपर्ने जनरा पनि एक्सन नै हो । एक्सन चलचित्रको जस्तो जोस, जाँगर अनि क्यानभास अन्य चलचित्रमा कमै मात्र पाइने भएकाले एक्सनप्रति आफ्नो झुकाव रहेको कृषा खुलाउँछिन् । चलचित्रको सबै एक्सन सिक्वेन्समा कृषा आफैं उपस्थित थिईन् । कलाकारको समय मिलाउन भने उनलाई केहि गाह्रो भएको थियो।

    कृषाको अनुभवमा ‘पिताम्बर’ उनका लागि एउटा चलचित्र मात्र नभई तपस्या हो । टिजर र गीतबाट प्राप्त प्रतिक्रियाले पुलकित कृषा अब ट्रेलर सार्वजनिक गर्ने तयारीमा छिन् ।

  • अभिनेता विपिन कार्कीको एक्सन चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    अभिनेता विपिन कार्कीको एक्सन चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बिच चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

    ‘ह्वाट गाेज अराउन्ड, कम्स अराउन्ड’ भन्ने स्लोगन र विपिनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् ।
    टिजरमा विपिन कार्कीको भरपुर एक्सन देखाइएको छ । टिजरमा विपिनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देख्न सकिनेछ।

    सार्वजनिक टिजरमा विपिनसंगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेतलगायतलाई देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो ।

    चलचित्रमा सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायतको कलाकारको पनि अभिनय रहेको छ । चलचित्रलाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

    नयाँ वर्ष २०८२ को छेको पारेर ‘कर्मा’ आगामी चैत २९ गतेबाट रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन। ‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको राइट्स सेभेन सिज सिनेमाले लिएको छ ।

    चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्यगग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।

  • एन्जिलाः महिला फुटबल कप्तानको मार्मिक बायोपिक

    एन्जिलाः महिला फुटबल कप्तानको मार्मिक बायोपिक

    काठमाडाैं । नेपाली फुटबलप्रेमीहरूलाई थाहा छ, अञ्जिला तुम्बापो सुब्बा नेपाली महिला राष्ट्रिय फुटबल टीमकी क्याप्टेन हुन् । उनी अहिले युरोपेली मुलुक ग्रीसमा व्यवसायिक फुटबल खेलिरहेकी छन् । उनीसित अहिले नाम छ, दाम छ । अनि फुटबल करियरको उत्कर्षमा छिन् ।

    अहिले सफलताको शिखर चुमिरहेकी अञ्जिला धेरै लामो अक्करको बाटो हिँडेर यहाँसम्म आइपुगेकी हुन् । उनको यही सकसपूर्ण यात्रालाई निर्देशक मिलन चाम्सले चलचित्रमार्फत देखाउने प्रयत्न गरेका छन् । अहिले हलमा चलिरहेको बायोपिक ‘एन्जिला’ ले उनै क्याप्टेन अञ्जिलाको संघर्षको बहीखाता उप्काउने यत्न गरेको छ ।

    अञ्जिलाले खेलाएको मोजाको बलदेखि इलामका चउरसम्मलाई चलचित्रमा देखाइएको छ । उनको हातले छोएको साँच्चैको फुटबलदेखि उनले झेलेको दुःखका तगारोसम्मलाई समेटिएको छ । उनले सहेको भोकको अविछिन्न श्रृंखलादेखि उनले देखेको सपनाको अनन्त क्षितिजसम्मलाई चलचित्रमा अटाइएको छ । यस हिसाबले ‘एन्जिला’ हेर्नलायक बायोपिक हो ।

    ‘एन्जिला’ हेर्नलायक बन्नुको पछाडि न मेकिङ कलात्मक भएर हो न त कथावाचन अत्यधिक सुन्दर भएर हो । न सम्पादन उच्चकोटीको भएर हो न त क्यामेरा नै उस्तो सुन्दर ढंगले चलाइएकाले हो । चलचित्र हेर्नलायक बन्नुको पछाडि एकै कारण छ, अञ्जिलाको संघर्षको यात्रा र सफलता । अप्ठेराहरूसँग हारेर नभाग्ने जब्बर अञ्जिलाको स्वभावले चलचित्रलाई हेर्नलायक बनाएको छ ।

    आमाको भावनात्मक समर्थनमा अञ्जिलाले एक्लै तय गरेको यो कठिन यात्राको हरेक अभिभावक साक्षी बस्नुपर्छ । आफ्ना बालबच्चा लिएर यो चलचित्र हेरे अभिभावकलाई कुनै क्षति हुँदैन ।

    बुवा जँड्याहा र गैरजिम्मेवार हुनु । अञ्जिला र उसकी दाइ स-सानै हुनु, आमाको काँधमा सबथोक जिम्मेवारी आइलाग्नु । घरमा जँड्याहा बुवा र निरीह आमाबीच झगडा भइरहनु । अनि बुवाले अर्की आमा लिएर गइदिनु, तर आमाले हिम्मत नहार्नु, छोराछोरीका लागि निरन्तर संघर्ष गरिरहनु ।

    परिबन्धमा परेर आमाको चन्द्रबहादुर (दयाहाङ राई) सँग विवाह हुनु । सौताको रूपमा गएकी अञ्जिलाकी आमाको संघर्षको अनवरत श्रृंखला कहिल्यै नसकिनु । अञ्जिला मोजाको फुटबल खेल्दै साँच्चैको फुटबल खेल्न सक्ने हुनु । दैनन्दिन किपिङमा प्रगति गर्दै जानु । सौतेलो बाउ चन्द्रबहादुरले फुटबल खेल्नमा रोक लगाउनु । ‘कहिल्यै फुटबल खेल्दिनँ’ भनेर लुगा र जुत्ता आगोमा जलाउनु, तर फुटबल छाड्न नसक्नु !

    उनको फुटबल-सपनाका लागि आमाको सधैँ साथ र समर्थन पाइरहनु । आमाकै कारण इलामबाट भागेर काठमाडौं आउनु । काठमाडौंमा आफन्तको घरमा पनि उही कथा दोहोरिनु । यसपछि सडकमा आउनु । अनि सडकबाट उठेर नेपाली फुटबलको आकाशमा कावा खान सुरू गर्नु ।

    अञ्जिलाको यिनै संघर्षपूर्ण कथाका कारण चलचित्र हेर्नलायक बनेको हो । किनभने यो संघर्षको कथा नेपाली समाजको प्रतिनिधि कथा हो । भुईंबाट आएका एक-एक नेपालीले गर्ने संघर्षको कथा हो यो । गरिबी र अभावको दलदलमा चुर्लुम्म डुब्दा पनि सपना देख्न नछाड्ने संघर्षशील नेपालीहरूको प्रतिनिधि कथा हो ।

    ‘एन्जिला’को अर्को खासियत भनेको स्वयं अञ्जिला तुम्बापोले गरेको जीवन्त अभिनय हो । आफ्नै कथा भएर पनि हुनसक्छ, उनको यो जीवन्त अभिनय । व्यवसायिक कलाकारकै दाँजोमा अभिनय गरेकी अञ्जिला तुम्बापोले अभिनयको रङ थपेर चलचित्रमा अर्को इन्द्रेणी बनाएकी छन् ।

    दयाहाङको अभिनय ठीकठाक छ । माओत्से गुरुङको अभिनयले पात्रलाई न्याय गरेको छ । चलचित्रभरि नै भावनात्मक संवेग सृजना गरिरहने पात्र चाहिँ एन्जिलाकी आमा (सृजना सुब्बा) हुन् । सृजनाले निर्वाह गरेको अभिनयले ती सारा आमाहरूलाई सम्झाउँछन्, जसले सन्तानको भविष्यको खातिर आफ्नै जिन्दगी दाउमा राख्छिन् । छोराछोरीकै भविष्यका लागि श्रीमान्‌को हिंसा सहन्छिन् । छोराछोरीकै लागि दोस्रो विवाह गर्छिन् । अनि एन्जिलालाई बारबार भनिरहन्छिन्, ‘तँलाई मेरो जस्तो जिन्दगी बाँच्न दिन्नँ ।’

    चलचित्रमा एउटा दृश्य छ, जहाँ सृजनाले एन्जिलालाई मिर्मिरेमा बस चढाएर काठमाडौं पठाउँछिन् । यो दृश्य चलचित्रभरिकै सुन्दर दृश्य हो । घाम उदाउन लागेको समयमा सपना पछ्याउँदै एन्जिला शहर पस्नुले बिम्बात्मक रूपमा धेरै कुरा भन्छ । चलचित्रको अन्त्यतिर एन्जिलाले झापा पुगेर साँच्चैको बुवालाई फर्निचर कारखानामा भेट्छे । त्यहाँ माओत्सेले निर्वाह गरेको पात्रले अनुहारमा देखाउने आत्मग्लानीको भाव बडो गजबको छ । त्यो पात्रले आफ्नी छोरीलाई अंगालो हाल्न त के छुन पनि सक्दैन । दृश्यको अन्त्यमा एन्जिलाले पैसा दिएर उक्त पात्रलाई ढोग्छे । यो दृश्यले एन्जिलालाई खेलाडीमात्रै होइन, मान्छे पनि बनाएको छ । चलचित्रको यो अर्को बलियो दृश्य हो ।

    ‘एन्जिला’ हेर्नलायक बन्नुको पछाडि न मेकिङ कलात्मक भएर हो न त कथावाचन अत्यधिक सुन्दर भएर हो । न सम्पादन उच्चकोटीको भएर हो न त क्यामेरा नै उस्तो सुन्दर ढंगले चलाइएकाले हो । चलचित्र हेर्नलायक बन्नुको पछाडि एकै कारण छ, अञ्जिलाको संघर्षको यात्रा र सफलता । अप्ठ्याराहरूसँग हारेर नभाग्ने जब्बर अञ्जिलाको स्वभावले चलचित्रलाई हेर्नलायक बनाएको छ ।

    यी राम्रा दृश्यहरूका बीचमा सौताहरूबीच हुने नोकझोँकलाई हल्का रूपमा देखाइएका दृश्यहरू चलचित्रको ऐंजेरु जस्ता लाग्छन् । आफ्नो श्रीमान् अर्की महिलातिर सल्किएको थाहा पाएपछि सुराकी लगाएर श्रीमान्‌को गोठालो गरिएका दृश्यहरु सस्ता नेपाली सिरियलमा देखिआएका सस्ता दृश्यहरू हुन् । यस्ता दृश्यले चलचित्रको समय लम्ब्याउने बाहेक अर्थोक गर्दैन । यस्ता प्रसंगलाई फरक अनि सृजनात्मक तरिकाले देखाएको भए चलचित्र अझै अब्बल हुने थियो ।

    चलचित्रका अधिकांश प्रसंग र मूलकथा थाहा हुँदाहुँदै पनि अञ्जिलाको संघर्ष र सपनाप्रतिको दृढ संकल्पले चलचित्र हेर्नलायक मात्रै बनाएको छैन, निर्देशक मिलन चाम्सको समेत इज्जत बचाइदिएको छ । यसका लागि मिलनले अञ्जिलालाई जति धन्यवाद दिए पनि पुग्दैन ।

    अन्त्यमा, आमाको भावनात्मक समर्थनमा अञ्जिलाले एक्लैले तय गरेको यो कठिन यात्राको हरेक अभिभावक साक्षी बस्नुपर्छ । आफ्ना बालबच्चा लिएर यो चलचित्र हेरे अभिभावकलाई कुनै क्षति हुँदैन । बरु आफ्नै प्यारेन्टिङमा समीक्षा गर्न बाध्य बनाउँछ ।

  • ‘होस्टेल ३’ को पहिलो हप्ता ४ करोड ३२ लाखको व्यापार

    ‘होस्टेल ३’ को पहिलो हप्ता ४ करोड ३२ लाखको व्यापार

    काठमाडौं । गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’ का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबार सम्ममा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ ।

    ‘होस्टेल ३’ चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक समेत रहेका यसका निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा व्यापारिक आँकडा निकालेको बताए । ‘हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ । वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,’ कँडेलले बताए ।

    उनका अनुसार यस चलचित्रले काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ । यस चलचित्रलाई काठमाडौंमा गोविन्द शाही नेतृत्वको काफिया फिल्म्स र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले वितरण गरेका छन् ।

    तीन नयाँ नेपाली चलचित्रहरू रिलिजका बाबजुद पनि हलहरूमा ‘होस्टेल ३’को अधिक मात्रा शो कटौती भएका छैनन् । कतिपय हलहरूमा नयाँ चलचित्रहरूको भन्दा ‘होस्टेल ३’ को शो बढी रहेका छन् । यसैबीच, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ, जहाँ दर्शकहरूको उपस्थिति व्यापक देखिएको छ ।

    नन होलिडे’ रिलिजमा समेत दर्शकहरू हलमा उर्लिएका छन् । युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गरेको छ । डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

  • साहित्यकार लीलबहादुर क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

    साहित्यकार लीलबहादुर क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

    काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उहाँका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

    “लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम,मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्छ,” स्रष्टा क्षेत्री र उनको सृजना बसाइँको आवरण पृष्ठको तस्विर पोष्ट गर्दै प्रधानमन्त्रीले लेखेका छन् ।

    साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गए राति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो ।

  • साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

    साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

    काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ ।

    भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए ।

    ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए ।

    भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।