Category: कलाप्रेस

  • २०३० सम्म नेपाली फिल्मको स्टोरी–टेलिङ विश्व बजारमा स्थापित हुन्छ : दयाहाङ

    २०३० सम्म नेपाली फिल्मको स्टोरी–टेलिङ विश्व बजारमा स्थापित हुन्छ : दयाहाङ

    सन् २०३० सम्म नेपाली फिल्मको मौलिक कथा भन्ने शैली विश्व बजारमा स्थापित हुने आशा अभिनेता दयाहाङ राईले व्यक्त गरेका छन् । त्यो बेलासम्म नेपाली फिल्मको आफ्नै खाले स्टोरी टेलिङ स्थापित हुने उनको विश्वास छ । ‘अहिले पनि एकाध नेपाली फिल्मलाई विश्व बजारका दर्शकले हेर्नुभएको छ’ उनले भने, ‘अबको दस वर्षमा यो कुरा स्थापित हुनेछ ।’

    दसवर्ष अगाडि आफू अभिनेता हुने कुरा समेत परिकल्पना नगरेको ‘कबड्डी’ फेम्ड अभिनेताको तर्क छ । ‘त्यतिबेला म एक्टर हुन्छु र यो विन्दुमा आइपुग्छु भन्ने लागेको थिएन’ उनले भने, ‘अहिले अलिअलि दर्शकले चिन्नुहुन्छ ।’ आफूजस्ता मान्छेको कथा नेपाली फिल्मले भन्नेछ भनेर त्यतिबेला नसोचेको उनको ठम्याइ छ । जसै गणतन्त्र आयो र दयाहाङजस्ता चिम्सा आँखा हुने अनुहार नेपाली फिल्मको मूलधारमा स्थापित हुन थाले ।

    नेपाली फिल्ममा अभिनय र निर्माणको आफ्नै शैली हुनुपर्छ भनेर भनिरहने दयाहाङको सेतो सूर्य, टलकजङ भर्सेस टुल्के र दासढुंगा चर्चित फिल्म हुन् । नेपाली फिल्म अझै खाली रहेको बताउँदै दयाहाङले सिर्जना भएका युवाहरुलाई आउन आग्रह गरे । नेपाली समाजको आदर्श कथामा फिल्म गर्न मन भएको बताउँदै दयाहाङले अहिलेको समय सानातिन कुरामा अल्झिने खालको नभएको बताए ।

    नेपाली फिल्मका निर्मातालाई निर्माणको बारेमा ज्ञान नभएको तर्क उनको छ । नेपाली फिल्मले कथा नै भन्न नसकेको उनको दाबी छ । ‘नेपाली फिल्म जहाँ पुग्नुपर्ने हो त्यहाँ पु¥याउन सकिरहेका छैनौं । त्यसैले खाली छ । आउनूस मिलेर काम गरौं’ उनले भने ।

  • हलिउड क्यालेन्डर २०२१ : जेम्स बन्डदेखि फास्ट एन्ड फ्युरियससम्म

    हलिउड क्यालेन्डर २०२१ : जेम्स बन्डदेखि फास्ट एन्ड फ्युरियससम्म

    वर्ष २०२० मा कोरोनाभाइरस महामारीले हलिउडका ठूला फिल्मले रिलिज रोक्नुपर्‍यो । एक्सन ब्लकबस्टर ‘ब्ल्याक विडो’, जेम्स बन्डको ‘नो टाइम टु डाइ’देखि तिमोथी क्यालामेटको साइन्स फिक्सन ‘ड्युन’ फिल्महरु अब सन् २०२१ मा एचबीओ म्याक्ससहित हलमा प्रदर्शन हुनेछन् । भाइरस महामारीले गर्दा हलिउडले वितरणमा हाइव्रिड मोडेललाई आत्मसात गरेको छ ।

    तर, सन् २०२१ को हलिउड कथाचाहिँ वर्ष २०२० भन्दा भिन्न हुनसक्छ । कोरोना खोप आउन थालेपछि प्रदर्शकहरु दर्शक आउने आशामा हल खोल्ने तयारीमा जुटेका छन् । यस वर्षपनि हरर फिल्म क्वाइट प्लेसको दोस्रो सिक्वेल, एनिमेटेड ‘मिनियन्स : द राइज अफ ग्रु’, स्पेस जाम : अ न्यू लिगेसी रिलिज तयारीमा छन् । डिज्नेले चाहिँ एमा स्टोन स्टारर लाइभ एक्सन फिल्म ‘क्रिउला’ पनि लाग्दैछ । केही फिल्म जुन २०२१ मा रिलिज तयारीमा छन् ।

    राया एन्ड द लास्ट ड्रागन
    मार्च ५
    केली मेरी र अक्वाफिनाले यो एनिमेटेड फिल्ममा आवाज दिएका छन् । पहिलोपटक दक्षिण एसियाली मूलकी मुख्य हिरोइन पात्रको चित्रण भएको यो फिल्म डिज्ने प्लस र हलमा एकसाथ प्रदर्शन हुनेछ । विश्वमा शान्ति स्थापनाका लागि ड्रागन खोजीको यात्रामा निस्किएकी राया नामक पात्रलाई फिल्मले चित्रण गर्छ ।

    कमिङ टु अमेरिका
    मार्च ५
    सन् १९८८ को चर्चित फिल्मको यो सिक्वेल हो जहाँ एडी मर्फी मुख्य भूमिकामा छन् । केन्या बारिसको पटकथा लेखन र क्रेग ब्रिउरको निर्देशन छ । आफ्नो छोरा अमेरिकामा रहेको पत्ता लागेपछि राजकुमार अकिमले जामुडा नामक राज्यको राजा बन्न गरेको प्रयत्न यसको कथावस्तु हो ।

    मर्बिस
    मार्च १९
    जेरड लेटो स्टारर यो सुपरभिलियन फिल्मले माइकल मर्बिस नामक पात्रलाई चिनाउँछ । स्पाइडरम्यान सिरिजमा एन्टीहिरोको रुपमा देखिएको यो पात्र भ्याम्पायरमा रुपान्रित भएपछि हुने द्धन्द्ध यसको कथावस्तु हो । यो फिल्मले स्पाइडरम्यानका अन्य सिरिजका भिलियनसँग सम्बन्ध राख्छ ।

    नो टाइम टु डाइ
    अप्रिल २
    डेनियल क्रेग स्टारर जेम्स बन्डको २५ औं श्रृंखलामा मुख्य पात्र जासुसको रुपमा अन्तिम मिसनमा निस्कन्छ । बन्डको पुरानो मित्र फ्लेक्स लेइटरले सहयोग मागेपछि अवकासपछि जमैकामा बसेको बन्डको अन्तिम मिसनको रुपमा यसले कथा पेश गर्छ । अपहरण गरिएको बैज्ञानिकलाई छुटाउन बन्डले मिसन चलाउँदा उसको जम्काभेट खतरनाक सफिन (रमी मलिक)सँग हुन्छ ।

    अ क्वाइट प्लेस पार्ट २
    अप्रिल २३
    यो हरर फिल्मले एउटा परिवारले भूतबाट मुक्त हुन गर्नुपरेको संघर्ष चित्रण गर्छ । जसमा एमली ब्लन्ट, मिलिसेन्ट सिमोन्ड्स र नोहा जुको मुख्य भूमिका छ । आफ्नो पात्रको भूमिका अघिल्लो सिक्वेलमा समाप्त भएपछि जोन क्रान्सिकी दोस्रो सिक्वेल निर्देशनमा आएका हुन् ।

    ब्ल्याक विडो
    मे ७
    स्कारलेट जोहान्सन मुख्य भूमिकामा छिन् । प्रतीक्षित यो मार्भल फिल्ममा डेभिड हार्वर, फ्लोरेन्स पग समेत छन् । २०१६ को क्याप्टेन अमेरिका : सिभिल वारको सेटिङमा फिल्म बनेको हो । एभेन्जर बन्नु अघि विगतको जासुसी छविको कारण उत्पन्न द्धन्द्धसँग मुख्य पात्रको लडाइ यसमा छ ।

    गोडजिला भर्सेस कङ
    मे २१
    एचबीओ म्याक्स र हलमा रिलिज हुने फिल्मले गोडजिला : किङ अफ दी मोन्सटर्स र कङ : स्कुल आइल्यान्डको कथावस्तुलाई चित्रण गर्छ । मानवीय सभ्यताको अन्त्यपछि आफ्नो शासन स्थापित गर्न दुई राक्षसले गरेको लडाइँ यसको कथावस्तु हो ।

    क्रुएला
    मे २८
    सन् १९७० मा लन्डनको सडकमा देखिने पंक फेसनको दृश्य जहाँ एमा स्टोनलाई मुख्य पात्रमा देखाइएको छ । डिज्नेको लाइभ एक्सन यो फिल्मले १९६१ को ‘१०१ डालामाटियन्स’को भिलेनलाई चित्रण गर्छ ।

    फास्ट एन्ड फ्युरियस ९
    मे २८
    लोकप्रिय फास्ट एन्ड फ्युरियसको नवौं श्रृंखलाले संसारका कुख्यात ड्राइभर र उनीहरुको गोप्य अप्रेसन असफल पार्न नायकको परिवारले गरेको संघर्ष चित्रण गर्छ । भिन डिजेल र उनको पारिवारिक सदस्य यसमा छन् । डोमिनिक टोरेटो निर्देशित फिल्मको भिलेनमा ज्याकोब (जोन सेना) छन् ।

    तिमोथी क्यालामेट स्टारर ‘द फ्रेन्च डिस्प्याच’ आगामी समर, बिल मुर्रे स्टारर ‘घोस्ट बस्टर्स : आफ्टर लाइफ’ जुन ११, क्रेजी रिच एसियन्स निर्देशकको नयाँ फिल्म ‘इन द हाइट्स’ जुन १८, टम हार्डी स्टारर ‘भेनम’को दोस्रो सिक्वेल जुन २५, मिनियन्स : द राइज अफ दी ग्रु जुलाई २, टम क्रुज स्टारर टम गन म्याभरिक जुलाई २, बास्केटबल सुपरस्टार ली ब्रोन जेम्स स्टारर स्पेस जाम : न्यू लिगेसी जुलाई १६ छन् ।

    साथै, एमिली ब्लन्ट र डाउने रक जोन्सन स्टारर ‘जंगल क्रुज’ जुलाई ३०, द सुसाइड स्क्वाड अगस्ट ६, क्यान्डीम्यान अगस्ट २७, एड्रिस अल्बा स्टारर ‘थ्री थाउजन्ड इयर्स अफ लङ्गिङ सेप्टेम्बरमा, तिमोथी क्यालामेटको ड्युन अक्टोबर १, म्याट डेमोन स्टारर द लास्ट ड्युल अक्टोबर १५, टम क्रुजको मिसन इम्पोबिसल ७ नोभेम्बर ४, अस्कर विजेता निर्देशक गुलिमारो डेल टेरोको ‘नाइटमेयर एली’ डिसेम्बर, स्टिभन स्पिलबर्गको वेस्ट साइड स्टोरी डिसेम्बर १०, स्पाइडरम्यान डिसेम्बर १७, द म्याट्रिक्स ४ डिसेम्बर २२ लगायत छन् ।

  • बलिउड बचाउन प्रदर्शकले गुहारे सलमान, राधेलाई हलमै चलाउन आग्रह

    बलिउड बचाउन प्रदर्शकले गुहारे सलमान, राधेलाई हलमै चलाउन आग्रह

    सलमान खानमाथि बलिउड निर्माता ठूलै आशा राख्छन् । किनभने उनका सबै फिल्मले १ सय करोडको बक्सअफिस आँकडा पार गर्छन् । उनको यही इतिहासलाई ख्याल गर्दै भारतीय फिल्म निर्माता संघले सलमानलाई पत्र लेखेको छ ।

    सलमानसामु निर्माताको माग चाहिँ –उनको बहुप्रतीक्षित फिल्म ‘राधे’ आउँदो इदमा सिनेमा घरमा रिलिज हुनुपर्छ भन्ने हो । यसो गर्दा कोरोनाबाट थलिएको बलिउडले राहतको श्वास फेरोस् भन्ने हो । राधेले दर्शकलाई हलसम्म ल्याउन मद्दत गर्नेछ र निर्माताले सुखद कमब्याक गर्न सक्नेछन् भन्ने आशा उक्त पत्राचारबाट देखिन्छ ।

    पत्रमा लेखिएको छ –‘तपाइँलाई अवगत नै छ कि सन् २०२० मा करोडौं भारतीय नागरिकसहित हामी निर्माताहरु पनि प्रभावित भयौं । पछिल्लो १० महिनामा सयौ सिंगल स्क्रिन र स्वतन्त्र फिल्म हल बन्द भैसकेका छन् । यसले गर्दा लाखौंको रोजिरोटी गुमेको छ जो प्रत्यक्ष वा अप्रत्यक्षरुपमा फिल्म उद्योगकै कर्मचारी थिए । दर्शक बिना शतप्रतिशत रुपमा हल चल्न असम्भव जस्तै छ । एक दशकदेखि फिल्मले दर्शकलाई हलसम्म लैजान महत्वपूर्ण भूमिका खेलेका छन् ।’

    पत्रमा राधेले मात्र थलिएको बलिउड उद्योगलाई ब्युँताउन सक्ने लेखिएको छ । यस फिल्मलाई ठूलै स्केलमा रिलिज गर्ने हो भने हल, कर्मचारी र समग्र उद्योगलाई नै राहत पुग्ने भनिएको छ । सन् २०२१ को इद छेकोमा फिल्मलाई हलमा रिलिज गर्न भनिएको छ । ‘प्रदर्शकसहित तपाइँका करोडौं प्रशंसक अहिले पनि हलमा फिल्म लाग्ने अपेक्षा गरिरहेका छन्’ उल्लेख छ, ‘यो भन्दा राम्रो आइडिया अरु केही हुनैसक्दैन ।’

  • कम्युनिष्ट र चार्ली च्याप्लिन सम्बन्ध : ओलीले किन गरे ‘क्‍वाइन’ ?

    कम्युनिष्ट र चार्ली च्याप्लिन सम्बन्ध : ओलीले किन गरे ‘क्‍वाइन’ ?

    काठमाडौ । पुस १८ गते शनिवार काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हलिउडका चर्चित अभिनेता चार्ली च्याप्लिनको कथा सुनाउँदै भने – हाम्रो अदालतले को हो असली चार्ली च्याप्लिन पत्ता लगाउँछ । जुँगा, कपालमा लगाएको जेल र कुम हल्लाइबाट पत्ता लगाउँछ ।’ ओलीको यो व्यंग्य नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित थियो ।

    असली चार्ली च्याप्लिन को ? हेर्नुस् भिडियो

    ७ पुसमा ओली पक्षधरको युवाको भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै नेता महेश बस्नेतले दाहाल र माधव नेपाललाई जोकरको संज्ञा दिंदै भनेका थिए–उनीहरुको अवस्था चार्ली च्याप्लिन र धुर्मुस–सुन्तली जस्तै भएको छ ।

    नेकपा विभाजन र संसद विघटनको परिदृश्यपछि नेपाली राजनीतिको केन्द्रमा एउटा शब्द जबर्जस्ती ‘क्वाइन’ भैरहेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीदेखि उनी निकट नेताले प्रचण्ड–नेपाल पक्षलाई आरोप लगाउन यो शब्दावली प्रयोग गरिरहेका छन् ।

    बीसौं शताब्दीका महान कमेडी अभिनेता च्याप्लिन र उनको सिनेम्याटिक दर्शन २१औं शताब्दीको नेपाली राजनीतिको केन्द्रमा प्रयोगमा आउनुले के अर्थ राख्छ ? त्यसमा पनि नेकपा विभाजनसँग चार्ली च्याप्लिनको सम्बन्ध कहाँ छ ?

    च्याप्लिनको अन्डरडग कमेडी र उसको इमेजलाई ऊर्जाको रुपमा लिनुभयो । ओली किन पनि बढी प्रभावित हुनुहुन्छ भने अरु मान्छेलाई बुझाउनको लागि उखान टुक्का प्रयोग गर्नको लागि च्याप्लिनला बिम्बको रुपमा लिनुभयो । उहाँ च्याप्लिनबाटै प्रभावित हुनुहुँदो रैछ भन्ने कुरा प्रष्ट भयो ।

    च्याप्लिनको व्यक्तित्वलाई लिएर नेपाली नेताले आफू अनुकूल व्याख्या गरिरहेका छन् । ओलीले दाहाल–नेपाल खेमालाई आरोप लगाउँदै उनीहरु नक्कली चार्ली च्याप्लिन भएको आरोप लगाए । नेता बस्नेतले विरोधी खेमा च्याप्लिन जस्तै बन्न थालेको भन्दै हलिउडका यी महान एक्टरलाई दुरुह बिम्बको रुपमा उल्लेख गरे । जर्मनीका फाँसीवादी शासक एडोल्फ हिटलर र उनको फाँसीवादलाई विरोध गर्ने च्याप्लिन कम्युनिष्टप्रति सहानुभूति राख्थे । तर, नेपालमा स्वयं कम्युनिष्टले कलामा साम्यवाद खोज्ने आइकनलाई अर्को समूहप्रति व्यंग्यमा प्रयोग गरेका छन् ।

    ‘कमेडियन र क्लाउनबीचको भेद नबुझ्दा यस्तो समस्या आएको आएको नेपाली अभिनेता दीपकराज गिरी बताउँछन् । ‘कमेडियनलाई उडाउने काम भएको छ । कमेडीभित्रको मर्म र सन्देशलाई नबुझ्दा नेताहरुले च्याप्लिनलाई गलतरुपमा प्रस्तुत गरिरहेका छन्’ उनले भने । नेपाली कमेडियनको नाम लिंदा गाली खाइने डरले अन्तर्राष्ट्रिय कमेडियनको नाम लिइएको हुनसक्ने उनले बताए । सबैले सम्मान गर्ने सेलिव्रिटीको गलत प्रस्तुतीकरणले स्वयं नेताप्रति जनताको विश्वास गुम्ने ठम्याइ उनको छ ।

    को थिए चार्ली ?
    विश्व फिल्ममा कमेडी विधा सुरुआत गर्ने श्रेय चार्ली च्याप्लिनलाई जान्छ । साइलेन्ट फिल्म युगका यी हस्तीलाई टाइम म्यागजिनले २० औं शताब्दीका महान एकसय व्यक्तिको सूचीमा राखेको थियो ।

    ‘द ट्रयाम्प’ नामक पात्रको माध्यमबाट उनले राजनीतिक पात्र, तानाशाह र विकृतिलाई कडा व्यंग्य गरे । सन् १९४० मा बनेको फिल्म ‘द ग्रेट डिक्ट्याटर’ उनको सबैभन्दा चर्चित फिल्म बन्यो जसले हिटलर र उनको फाँसीवादविरुद्ध व्यंग्य गरेको थियो । यही दशकबाट उनी विवादमा तानिए र उनको लोकप्रियता खस्कँदै गयो । कम्युनिजमप्रति सहानुभूति राखेको भन्दै उनीविरुद्ध आलोचना सुरु भयो । लगत्तै अमेरिकाबाट देश निकाला भएपछि उनी स्वीट्जरल्यान्ड बसाइँ सरे ।

    सन् १९२१ को ‘द किड्’ उनको डेब्यु फिल्म थियो । अ वुमन अफ पेरिस (१९२३), द गोल्डेन रस (१९२५), द सर्कस (१९२८) उनका महान फिल्महरु थिए । फिल्ममा ध्वनिको प्रयोग नहुँदै स्टार बनेका च्याप्लिनको स्टाइल चाहिं ‘सल्यापस्टिक’ कमेडी दर्शनबाट प्रभावित थियो ।

    भन्नुको अर्थ उनी शारीरिक क्रियाद्वारा हास्यरसको निर्माणमा माहिर थिए । यो शैलीको कमेडीले व्यक्तिको भित्र र बाहिर दुवै पक्षमा हुने हिंसाविरुद्ध व्यंग्य गर्छ । सन् १९९८ मा न्यूयोर्क टाइम्सका फिल्म समीक्षक एन्ड्रिउ सारिजले च्याप्लिनलाई निर्विवाद विश्व फिल्मका महान हस्ती र अहिलेसम्मकै युनिभर्सल आइकन भनेर लेखेका थिए । सन् १९९९ मा टाइम म्यागजिनले करोडौंलाई हाँसो दिएका भन्दै च्याप्लिनलाई शताब्दीकै सय महान व्यक्तिको रुपमा सूचीकृत गरेको थियो ।

    फिल्म इतिहासकार मार्क कजिनले च्याप्लिनबारे लेखेका छन् : चार्लिनले फिल्मको स्वरुप मात्र बदलेनन्, बरु समाजशास्त्र र व्याकरणलाई परिवर्तन गरिदिए ।’ च्याप्लिनको फिल्म बुझाइ चाहिं विख्यात इटालेली निर्देशक फेडेरिको फेलेनीबाट प्रभावित थियो । फेलेनीले त च्याप्लिनलाई क्रिस्चियन धर्मका प्रथम पुरुष एडमकै एउटा रुप भएको टिप्पणी गरेका थिए । च्याप्लिनको यो फिल्म स्टाइलबाटै विश्वका अन्य फिल्ममा कमेडी जनराले हाँगा हालेको विश्वास गरिन्छ । अहिले पनि नेपालसहित बलिउडमा च्याप्लिन शैलीलाई फलो गर्नेहरु धेरै छन् ।

    ओली चार्ली च्याप्लिनबाट प्रभावित
    उसो भए प्रधानमन्त्री ओलीले कुन उद्देश्यले च्याप्लिनलाई उध्दृत गरे त ? फिल्म लेखक प्रदीप भारद्वाज भन्छन् : उहाँले एउटा बिम्बको रुपमा च्याप्लिनलाई प्रयोग गर्नुभएको हो । च्याप्लिनको चरित्रलाई उहाँले आफूभित्र लुकाउँदै गर्दा निस्किएको मात्र हो ।

    प्रचण्ड–ओलीले एक अर्कालाई काउन्टर दिनको लागि च्याप्लिनलाई आफू अनुकूल व्याख्या गरेको भारद्वाजको विश्लेषण छ । ‘नेपाली नेताहरु जतिबेला जेल पर्नुभयो र संघर्ष गर्नुभयो । त्यो समयमा नेपालका कमेडियन यसरी प्रस्फुटित भएर आइसकेका थिएनन्’ उनी भन्छन्, ‘लेखकको रुपमा गोर्की पढ्नुभयो । कमेडियनको रुपमा च्याप्लिन पढ्नुभयो । उहाँहरुले आफ्नो संघर्षको समय बाहिरको मान्छेलाई पढ्नुभयो ।’

    प्रदीप व्याख्या गर्दै भन्छन्–जसरी डान्सको रुपमा माइकल ज्याक्सनलाई चिनिन्छ । ड्रामा लेखकको रुपमा शेक्सपियरजस्तै संसारको मेटाफोरको रुपमा को अगाडि आउँछ भन्ने नियतमा च्याप्लिनलाई अगाडि ल्याइएको मात्र हो । च्याप्लिनको अन्डरडग कमेडी र उसको इमेजलाई ऊर्जाको रुपमा लिनुभयो । ओली किन पनि बढी प्रभावित हुनुहुन्छ भने अरु मान्छेलाई बुझाउनको लागि उखान टुक्का प्रयोग गर्नको लागि च्याप्लिनलाई बिम्बको रुपमा लिनुभयो । उहाँ च्याप्लिनबाटै प्रभावित हुनुहुँदो रैछ भन्ने कुरा प्रष्ट भयो ।

    २०१९ को चर्चित हलिउड फिल्म ‘जोकर’मा एउटा बलियो डायलग छ : ‘कमेडी जहिल्यै सब्जेक्टिभ हुन्छ ।’ चार्ली च्याप्लिनको दर्शन पनि यही हो –व्यंग्यमार्फत एजेन्डामाथि प्रहार गर्ने । तर, नेपाली राजनीतिमा च्याप्लिन प्रयोग सब्जेक्टिभभन्दा अब्जेक्टिभ मामिलामा बढी ‘क्वाइन’ भैरहेको छ । चार्ली च्याप्लिन संसारलाई आफ्नो अमिट छाप छाडेर ४४ वर्षअघि बितेका थिए ।

  • फिल्म हल खुलाउने सीसीएमसीको निर्णय

    फिल्म हल खुलाउने सीसीएमसीको निर्णय

    आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा चलचित्र घरलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको छ ।

    बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए ।

    यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताए ।

    यसअघि जिल्ला प्रशासन कार्यालयले कोभिड मापदण्ड पालना गरेर हल खुलाउने निर्णयसहितको पत्र सीसीएमसीमा पठाइसकेको छ । फिल्म प्रदर्शक कम्पनी क्वेस्ट इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले आफूहरुलाई प्रशासनबाट भाइरस संक्रमबाट जोगिने मापदण्ड अपनाएर हल चलाउन अनुमति मिलेको बताए । 

    पुस १० गतेदेखि व्यवसायीले एकपक्षीय रुपमा हल खुलाएका थिए । गत चैत ११ गते सरकारले लागु गरेको लकडाउनपछि बन्द भएका हल अहिले करिब जिरो अकुपेन्सीमा चलिरहेका छन् । ‘पानी र बत्तीको पैसा समेत उठ्ने अवस्था छैन’ अडिगाले भने, ‘घाटै खाएर पनि हल चलाइरहेका छौं । यो हप्ता सबैभन्दा बढी ३५ जना फिल्म हेरे । पाँचजनालाई पनि फिल्म देखाइरहेका छौं ।’

    फिल्म निर्माता एवं अभिनेता दीपकराज गिरी चाहिँ मन्त्रिपरिषद्ले आधिकारिक निर्णय नगर्दासम्म ढुक्क साथ फिल्म चलाउने, सुटिङ गर्ने र देखाउने वातावरण नबन्ने बताउँछन् । ‘अहिले भद्रगोल स्थिती छ’ गिरी भन्छन्, ‘यस्तो बेला पैसा कमाउनेभन्दा पनि दर्शकलाई हलमा आकर्षण गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।’ सरकारले अनुमति नदिएपनि फिल्म सेन्सर चाहिँ भैरहेको छ । शिव श्रेष्ठले माघ १ गते फिल्म रिलिज घोषणा गरेका छन् ।

    क्यूएफएक्सले तीन हल मात्र चलाइरहेको छ । नयाँ फिल्म नभएकाले थप हल खुलाउने निर्णय नभएको अडिगाले बताए । एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठले शुक्रबार हलिउड फिल्म मुलान प्रदर्शनको लागि गृहकार्य गरिरहेको बताए । ‘नयाँ फिल्म रिलिज नगर्दासम्म दर्शक हलमा आउने सम्भावना नरहेकाले मुलान रिलिज गर्ने तयारी थालेका छौं’ नेपाल प्रेससँग श्रेष्ठले भने ।

    अहिले मल्टिप्लेक्स हलहरुले सरसफाइ, सामाजिक दूरी र मास्कलाई हलमा अनिवार्य गरेका छन् । काठमाडौंका हल शुक्रबारदेखि संचालनमा आएका थिए भने दोस्रो ठूलो फिल्म बजार पोखराका मल्टिप्लेक्स चाहिँ बुधबारदेखि चलेका थिए ।

  • ‘संसद विघटन हुनु नै थियो, राजनीतिले तन्नेरीलाई कन्फ्युज बनायो’ (भिडियो)

    ‘संसद विघटन हुनु नै थियो, राजनीतिले तन्नेरीलाई कन्फ्युज बनायो’ (भिडियो)

    काठमाडौं । सुरक्षा पन्तको भादगाउँले टोपीमा परिचयका धेरै प्वाँख छन् । एकसाथ उनी अभिनेत्री, इन्जिनियर, सामाजिक अभियन्ता र पत्रकार हुन् । यी भर्सटाइल तन्नेरीको अभिनय करियर अहिले उकालो लाग्दो छ ।

    सेलेव्रिटी भएपछि सामाजिक र राजनीतिक घटनामा निरपेक्ष रहनुपर्छ भन्ने मान्यतालाई उनी अस्वीकार गर्छिन् । संसद विघटन, नेकपा विभाजन, तन्नेरीको मूड, सामाजिक विश्रृंखलता र फिल्म न्यारेटिभमा उनी एकसाथ आफ्ना अवधारणा राख्छिन् । हालैको एक चिसो अपरान्ह, नेपाल प्रेसको मीनभवनस्थित बगैंचामा सुरक्षा गफिइन् । यो गफ एउटा तन्नेरीले उसले बाँचिरहेको समयको आँखीझ्याल थियो ।

    फिल्मको पटकथा र राजनीतिक पटकथामा समानता केही हुन्छ ? एउटा कलाकारले बाँचिरहेको समय र समाजको प्रभाव उसको मनोविज्ञानमा पर्छ वा पर्दैन ? तन्नेरी पुस्ता किन कन्फ्युज छ ?

    कोभिड–१९ को असर र प्रभावले फिल्म, सोच र आउने समयलाई कसरी निर्देशित गर्नेछ ? यी आयाममा सुरक्षा वाचाल सुनिइन् । ‘यस्तो हुनु नै थियो’ संसद विघटन लक्षित सुरक्षाको यो एक लाइन वाक्यले वर्तमान राजनीतिक कोर्सप्रति युवाको असन्तुष्टिलाई व्यक्त गर्छ ।

    पात्रभित्रै घुसिदिने मेथड एक्टिङको प्रवृत्ति सुरक्षाको फिल्मी स्टाइल हो । फिक्सनभित्र पनि नन–फिक्सन रुचाउने सुरक्षाले ‘आमा’ फिल्मभित्र कपाल खौरिएर एकसाथ फिल्ममा ‘एक्सट्रिम’ दृश्य निर्माण गरिदइन् र सामाजिक मूल्यलाई प्रश्न पनि ।

    सुरक्षालाई लाग्छ –कोभिड १९ को बाबजूद नेपाली फिल्मको कथा भन्ने शैली, लगानी र संरचनागत आयाममा भयंकर बदलाव आउनेछैन बरु प्रविधिगत रुपमा केही स्वरुपमा परिवर्तन देखिनेछ । लकडाउन कालखण्डमा नेपाली दर्शकको ‘स्कूल अफ थट्’मा विकास भएको छ र आउने वर्ष यो सिनेम्याटिक लिट्रेसी नेपाली निर्मातालाई चुनौती बन्नेछ ।

    भिडियो

    अडियो

  • नम्रता श्रेष्ठको नयाँ मोड : सिसिफस, मेन्टल हेल्थ र आशाको किरण

    नम्रता श्रेष्ठको नयाँ मोड : सिसिफस, मेन्टल हेल्थ र आशाको किरण

    काठमाडौं । आइरिस नाटककार जर्ज बर्नाड शा भन्छन् –‘आशावादी र निराशावादी दुवैले समाज बनाउँछन् । आशावादीले जहाज बनाउँछ भने निराशावादीले प्यारासुट ।’ ग्रीष्म ऋतुको एक अपरान्ह उनी ‘ह्याप्पी’ मूडमा सुनिइन् । उनी अर्थात् नम्रता श्रेष्ठ ।

    यस्तो लाग्छ, उनको जीवन फिल्मको रिलजस्तै घुम्यो । निराशा, आशा र ग्रीक दन्त्यकथाको एउटा पात्र सिसिफस जस्तै विचलित नहुने एउटा लेडी । पहिलोपटक २००९ मा उनको डेब्यु फिल्म ‘मेरो एउटा साथी छ’ पोखराको एउटा सिंगल थिएटरमा हेरेको थिएँ । सुकिलो स्टारडम, मुस्कान पोतिएको त्यो मुहार, मध्यमवर्गीय रोमान्सको चित्र मेरो स्मृतिमा ताजै छन् ।

    यो त्यही समय थियो जतिबेला शहरमा नयाँ हिरोइनको उदय भएको थियो । मिडिया हेडलाइन ‘मल्टिप्लेक्स’ र ‘सिंगल’ हिरोइनको रुपमा डिस्कोर्स चलाउँदै थिए । मल्टिप्लेक्स अभिनेत्रीको ट्याग लाग्यो उनलाई । धेरैले शहरिया मध्यमवर्गीय दर्शककी एक्ट्रेसको रुपमा उनलाई परिभाषित गरे । उनी स्वयंले यो बहसमा आफूलाई विभाजित गर्न चाहिनन् । उनलाई लाग्छ : म सबै दर्शककी साझा अभिनेत्री हुँ ।

    नम्रताको जन्म दुईपटक भयो । एउटा– धराने मोटीको रुपमा र अर्को सन् २००९ को स्क्यान्डलपछि । समयका यी दुई फरक आयामले नम्रताको व्यक्तित्व र बुझाइलाई डिफाइन गर्छन् । सबै साथीभाइले माया गरेर बोलाउने त्यतिबेलाकी प्रिय मोटी अहिले स्प्रिचुअल र फिलोसफिकल नमुको रुपमा रुपान्तरित छिन् । यही कारण नम्रता चरित्र बाँच्छिन् । चाहे त्यो ‘मेरो एउटा साथी छ’, चाहे ‘सोल सिस्टर’ होस् वा पति हत्याको बदला लिने ‘जाइरा’ चरित्र ।

    नेपाली फिल्मको एउटा दर्शकीय वर्ग नम्रतालाई आदर्श मान्छ र उनको चरित्र बाँच्न चाहन्छ । मेन्टल हेल्थ, स्क्यान्डलका उतारचढाव र जीवनप्रतिको आशावादिताबाट नेपाली युवापुस्ताले धेरै कुरा सिक्न सक्छ ।

    धेरैलाई सरप्राइज लाग्न सक्छ –नम्रताको पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ होइन भन्दा । कक्षा १ मा पढ्ताका हो, नम्रताले बालकलाकारको रुपमा फिल्म ‘संगिनी’मा अभिनय गरेको । जतिबेला ‘लिटल बुद्ध’ र ‘संगिनी’ फिल्मको अडिसनमा भाग लिएकी नम्रता कलाकारको रुपमा छानिइन् । नेपालमै सुटिङ हुने भएकाले नम्रताले संगिनीमा चान्स पाइन् । दीपाश्रीको डेब्यु फिल्म र सरोज खनालसँगको स्क्रिन सेयर गर्दा बेलाको त्यो क्षण उनको मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहन्छन् । यही विन्दुदेखि नमुभित्र अभिनयको हुटहुटी सवार भयो ।

    डेढ दशक भयो नम्रताको जीवनमा समयले पटक–पटक परीक्षा लियो । यी परीक्षामा उनी पटक–पटक उत्तीर्ण पनि भइन् । यो ‘ब्याकअप’ र ‘स्ट्रेङ्थ’ कसरी आउँछ ? नम्रता यसको क्रेडिट परिवारको मूल्य र सपोर्टलाई दिन्छिन् । पहिलो म्युजिक भिडियो खेल्दा होस्, पहिलोपटक साइवर संसारमा फोटोसुट गर्दा होस् या २००९ को चर्चित स्क्यान्डल । यी उतारचढावमा परिवार उनको पक्षमा जहिल्यै उभियो । ‘त्यसकै कारण अहिलेसम्म म यहाँ छु’ नम्रता महसूस गर्छिन्, ‘परिवार जब तपाइँको पक्षमा उभिन्छ, अन्य चुनौती तपाइँलाई गौण लाग्छ ।’

    मान्छेका गसिप र हल्लासँग नम्रतालाई कुनै गुनासो छैन । आत्मरति उनको जीवनको डिक्स्नेरीमा कहिल्यै अटाएन । पहिलो म्युजिक भिडियो होस् वा ‘सानो संसार’ प्रिमियरको बेला प्राप्त दर्शकको उच्च प्रशंसा । यो मामिलामा उनीसँग एउटा इमान्दार जवाफ छ : अरुले म्युजिक भिडियो र फिल्म हेरेर वाउ भने तर मेरो काम मलाई मन परेन । केही हो जस्तो पनि लागेन ।’ हुनसक्छ, आफ्नो काम मननपर्ने र असन्तुष्टि हुने उनको बानीले उनलाई अझै मिहिनेत गर्न प्रेरित गर्‍यो । हुनसक्छ गसिपको पछाडि नलाग्ने बानीले उनलाई आफ्नो सिद्धान्तमा अडिन प्रेरित गर्‍यो ।

    यो मामिलामा एउटा रोचक किस्सा पनि छ । ‘सानो संसार’ हेरेपछि नम्रतालाई फिल्म मनपरेन । त्यो साँझ उनी र निर्देशक आलोक नेम्वाङबीच हल्का झगडा पनि पर्‍यो । आफ्नै फिल्मलाई किन नराम्रो भनेको भनेर आलोक नम्रतामाथि खनिए । तर, नम्रता यो मान्न तयार थिइनन् ।

    आफ्नै काम र क्यारेक्टर उनलाई ‘हावा’ लाग्यो । आफ्नै काम उनलाई ‘ननसेन्स’ लाग्थे । तर, कहिलेकाहीं ननसेन्स कुराभित्र सेन्स लुकेका हुन्छन् । यही कारण नम्रता जहिल्यै टीमवर्कको पक्षमा उभिइन् । उनलाई लाग्छ, राम्रो फिल्म बन्न एउटा पक्ष मात्र राम्रो भएर हुँदैन ।

    के कलाकार सधैं पर्फेक्सनको खोजीमा हुन्छ ? नम्रताको लागि उनी स्वयं ‘सानो संसार’ गर्ने बेला पूर्ण थिइनन् र ‘थ्राइभ’को खोजीमा थिइन् । ‘म ट्रेन्ड एक्टर थिइनँ । मैले जस्ता फिल्म हेर्थेँ त्यो समयमा त्यो हेर्दा चाहिं मलाई आफ्ना फिल्म मनपरेको हो’ उनी इमान्दार सुनिइन् ‘अरुले खतरा गर्छन् काम, तर मैले के नै गरेको छु भन्ने फिल हुँदो रैछ ।’

    हुन त फिल्म समीक्षक सधैं ‘नो एक्टिङ इज एक्टिङ’ भन्छन् । अनि अर्को बिहान ? आफ्नै फिल्म हेर्न परिवारसहित हलमा जाँदा उनले ताला लगाएको देखिन् । त्यतिबेला डिजिटल र एनालग प्रविधिका पक्षधरबीचको झगडा उत्कर्षमा थियो । नम्रताको फिल्म ‘सानो संसार’ले डिजिटल विद्रोहको श्रीगणेश गरिदिएको थियो । नम्रतालाई डिजिटल ट्रेन्डको एउटा विम्वको रुपमा लिने पनि धेरै छन् ।

    ‘सानो संसार’ लागेका जति सबै हलमा ताला लागेको थियो । ‘यो हेर्दा म डिजापोइन्ट पनि भएकी थिएँ’ उनले सम्झिइन्, ‘केही घन्टापछि दर्शकको ठूलो क्राउड आयो र हल खुलायो । यसले ममा पुनः खुशीको संचार गर्यो ।’ कुनै एउटा कलाकारको लागि दर्शकको माया नै सबथोक हुन्छ । त्यसपछि मिडियामा आउने न्यूज र कार्यक्रममा गरिने सम्मानले नम्रतालाई सेलेव्रिटी हुनुको अर्थ बोध गरायो । ‘कताकता ह्वाइ भन्ने कुरा पनि मनमा खेल्थ्यो’ उनी सुनाउँछिन्, ‘कताकता सेलेव्रिटी भएको फिल पनि हुन थालेको थियो ।’

    ‘सानो संसार’ अगाडि नेपाली फिल्मले उनलाई रत्तिभर अपिलिङ तुल्याउन सकेन । न त पोस्टर, नत ट्रेलरले उनलाई इन्टरटेन तुल्याए । उनी नेपाली फिल्म हेर्ने प्राणी थिइनन् त्यो समय । भनिन्छ नि, व्यवस्था बदल्न व्यवस्थाभित्रै घुस्नुपर्छ । राजनीति शास्त्रको यो सूत्र कालान्तरमा उनै नम्रतामाथि प्रयोग भइदियो ।

    ‘सोल सिस्टर’जस्तो विशुद्ध प्रयोगवादी फिल्म बनाउन होस् या ‘जाइरा’को एक्सन लेडी । बक्सअफिस अंकगणितलाई भुल्ने हो भने यी सबै फिल्ममा नम्रताको नियत सकारात्मक महसूस हुन्छ । ‘त्यसपछि आलोक दाइले सधैं गोपीकृष्ण हलमा फिल्म हेर्न लैजानुहुन्थ्यो र नेपाली फिल्मको प्रवृत्तिलाई बुझ्ने मौका पाउँथे । बल्ल त्यसपछि नेपाली फिल्म हेर्न थालें’ उनी सम्झन्छिन् ।

    ‘त्यतिबेला धेरै न्यूज आउँथ्यो । मिडियाले नयाँ धार र पुरानो धार भन्दिनुभयो । मलाई थाहा पनि थिएन, कुन धार के हो भनेर । कतिपय ठाउँमा हामीलाई डिजिटल हिरो, हिरोइन पनि भन्नुहुन्थ्यो । यी कुराले हामीलाई सोच्न बाध्य पनि पार्‍यो ।

    पहिले काम गर्ने शैली पनि भिन्न थियो । सानो संसारपछि डिजाइन र प्राविधिक कुरामा एकैपटक परिवर्तन आयो । तर, स्वीकार चाहिं राम्रोसँग गर्नुभयो । अनि डिजिटल फिल्म बन्न थाले । फिल्मको प्रोसेस पनि भिन्न हुन थाल्यो’ परिवर्तनको यो किस्सामाथि नम्रताको कथन छ ।

    असल अभिनेताले चरित्र बाँच्छन् । नम्रतालाई पनि यस्तै लाग्छ । चरित्र बाँच्न उक्त पात्रको जीवनभित्रै पस्नुपर्ने चुनौती हुन्छ । कतिपय मेथड एक्टरलाई चरित्र बाँचिसकेपछि पुनः वास्तविक जीवनमा फर्कनलाई कठिन हुन्छ । डेनियल डे लेविसदेखि नेपालकै सौगात मल्लसम्मका एक्टरले चरित्र बाँच्न ‘एक्स्ट्रिम’ प्रयोग गरेका किस्सा छन् ।

    ‘त्यही भएर म वर्षमा एउटा दुइटा फिल्म मात्र गर्छु । मलाई चाहिं टाइम चाहिन्छ । उसले कसरी सोच्छ भनेर बुझ्नुपर्ने हुन्छ । प्रायः बाहिर जाँदा पनि म मान्छेलाई अब्जर्भ गरेको हुन्छु । त्यही नै मेरो स्कूल हो । यी कुराले मलाई पात्र निर्माण गर्न मद्दत गर्छन्’ नम्रताले कलाकार हुनुको चुनौती बाँडिन्, ‘तर, म क्लब जाने मान्छे परिनँ । घरमै बस्न मनपर्छ ।’

    कहिलेकाहीं आफ्नो सफलतामा खुसी नहुने मानवीय गुण हुन्छन् । जस्तो, ‘क्लासिक’ फिल्मबाट सर्वोत्कृष्ट नायिकाको उपाधि जित्दा नम्रतालाई आफू अझै सेलेव्रिटी भइनसकेको भाव आयो । किनभने, यो त्यही समय थियो जतिबेला उनको जीवनमा ‘स्वास्थ्य’ प्रश्न बनेर उभिएको थियो ।

    ठीक त्यही बेला उनमा मानसिक स्वास्थ्य (डिप्रेसन)को डायग्नोस भयो । ‘क्लासिक’ फिल्मको प्रत्येक सट् पिच्छे उनलाई गाह्रो हुन्थ्यो । उनी सोच्थिन् : म किन यहाँ छु, म यो काम किन गरिरहेकी छु । मेरो ठाउँमा अर्कै भएको भए अझ राम्रो गर्न सक्थ्यो होला भन्ने ।

    निर्देशकले खोजेजति र पात्रले जति मागेको भूमिका हो, त्यो दिन नसकेको महसूस उनले सट्पिच्छे गर्थिन् । भन्नुको अर्थ ‘क्लासिक’ छायांकनदेखि नै उनमा डिप्रेसन शरु भएको थियो ।

    ‘त्यो वर्ष मैले सबैजसो अवार्ड जितेँ । तर म आफूभित्रै सरप्राइज थिएँ । मेरो माइन्डमा समस्या रहेछ त्यो समयमा । औषधि पनि खाइरहेकी थिएँ । मिक्सड टाइपको फिलिङ आउँथ्यो । त्यतिबेला त मजस्तो झुर एक्टर कोही थिएन जस्तो लाग्थ्यो’ मानसिक स्वास्थ्यबारे नम्रता खुलिन् ।

    किनभने नेपाली समाजमा अहिले पनि खुल्ला रुपमा मानसिक स्वास्थ्यको बहस हुँदैन । त्यसमा पनि नेपाली फिल्म उद्योगमा अभिनेत्रीका लागि चुनौती धेरै हुन्छन् । ‘फिल्म मात्र हैन, नेपाली समाजका हरेक क्षेत्रमा महिलालाई हेर्ने विभेद हुन्छ । महिलाबाट पर्फेक्सनको आशा राखिन्छ । शुरुमा त मलाई पनि बोल्न गाह्रो भएको थियो । डाक्टरले अभोइड गर्न भन्नुभएको थियो । शुरुमा डराएकी थिएँ मेन्टल हेल्थको कुरा गर्न । पछि जोजोलाई डिप्रेसन छ, उहाँहरुसँग कुरा गर्थेँ । राम्रा फिल्म हेर्थेँ । योग र साधनाको लागि जान्थेँ । मेरो समस्या अरुलाई पनि सेयर गर्थेँ । यो कुराले अरुलाई पनि मद्दत मिल्यो’ उनी खुलिन् । आफ्नो अनुभवले अरुलाई मद्दत मिलोस् भनेर मानसिक स्वास्थ्यको बारेमा कुरा गरेको नम्रताकाे कथन छ ।

    पब्लिक फिगर हुनुका आफ्नै खाले सीमा छन् । नचाहँदा नचाहँदै पनि क्यामेराको लागि रेडी भइदिनुपर्ने । कृत्रिम मुस्कान छर्दिनुपर्ने । बोलिदिनुपर्ने यस्तै यस्तै । तर, मेन्टल हेल्थसँग संघर्ष गरिरहेकी नम्रतालाई त्यो कालखण्डमा यी कुरा गर्न पटक्कै रुचि थिएन । बाहिरबाट जस्तो देखिन्छ, त्यस्तो नहुने डायलेक्टिकल समस्या । यो दौरान उनले गुम्बा चहारिन् । रिम्पोछेसँग माइन्ड ट्रेनिङ सिकिन् । पहेँलो रिबन बाँधेर अन्तर्यामी बन्ने प्रयास गरिन् ।

    यी अभ्यासले उनलाई सहयोग दियो । तीन वर्षसम्म कामविना घरबाहिर गइनन् । या त ट्रेकिङ गइन् या त घरमै आराम गरिन् । तीनवर्ष डिप्रेसनको औषधि लिइन् । उनलाई धर्मगुरुले नकारात्मक मान्छे र वातावरणबाट टाढा रहन सुझाएका थिए ।

    ‘म आत्महत्याको सोचमा पनि थिएँ त्यो समय । नेगेटिभ बाहेक आउने कुरै थिएन । जे सोसल मिडिया खोले पनि नेगेटिभ कुरा आउने’ नम्रतालाई लाग्छ, ‘कलाकार हुनुको नाताले मलाई सबै कुरा थाहा हुनुपर्छ । तर, मलाई ती जान्नु जरुरी थिएन । डिप्रेसनका समयमा के कुरा बोल्ने, के कुराबाट पछि हट्ने जस्ता कुरा पनि महत्वपूर्ण थिए मेरा लागि ।’

    ‘मेरो एउटा साथी छ’ रिलिजकै टाइममा हो । नम्रताको जीवनमा एकसाथ खुशी र विस्मात दुवै आए । सन् २००९ को यो बेला उनको जीवनमा एउटा ठूलो स्क्यान्डल भयो ।

    ‘त्यो टाइममा मान्छेहरुले म अब सिद्धिएँ भने सोचेका थिए । मैले गिभअप गर्छु भनेर सोचेका थिए । मैले आफूलाई मार्छु भनेर पनि सोचेका थिए । मैले पनि सोचेको थिएँ होला कुनै प्वाइन्टमा एकचोटि तर बिर्सिएँ । तर, फेमिलीको सपोर्ट मेरो पक्षमा थियो । त्यो विन्दुमा म आफ्नो लक्ष्य र गन्तव्यप्रति दृढ थिएँ । परिवारले पनि मलाई दुईवटा अप्सन दिनुभएको थियो । एउटा –तिमीलाई जहाँ जान मन लाग्छ जाऊ । मैले न्यूयोर्क फिल्म स्कूलमा अप्लाइ गर्न लागेकी थिएँ । यसो हुँदा भाग्यो भन्ने कुरा हुन्छ । अर्को यहीँ बसेर परिस्थितिलाई फेस गर्ने । फेमिलीले नै भनेपछि म यहीँ बस्ने निधोमा पुगेँ । वास्तविक रुपमै यो कठिन परिस्थिति थियो ।’

    ‘योङ पनि थिएँ । धेरै कुराहरुलाई ह्यान्डल गर्न सक्ने थिइनँ । कसरी लिनुपर्छ कुराहरुलाई भन्ने कुराको आइडिया थिएन । सबै कुरा एकैपटक भएपछि काममा डिस्टर्ब हुन्थ्यो । त्यतिबेलै रेष्टुरेन्ट खोल्दै थिएँ । कतिपय साथीले इट्स ओके भन्नुभयो । फेमिलीले पनि साथ दिनुभयो । सबैजनाको माया देखेपछि म अझै बलियो हुनुपर्छ भनेर अगाडि बढ्ने सोच गराएँ । मेरो टिचर, फेमिली र साथीले सधैं कल गरेर म ठीक भए नभएको कुरा जान्नुहुन्थ्यो’ नम्रता भावुक सुनिइन्, ‘मैले ठीक त्यहीबेला अब म जहाँ पुग्नुपर्ने हो, त्यहीँ पुग्छु भनेर प्रतिबद्धता गरेको थिएँ ।’ नम्रतालाई नजिकबाट चिन्नेहरु भन्थे –उनी आफ्ना समकालीनसँग घुलमिल हुँदिनन् । वृद्ध उमेरका सँग उनी मिल्न रुचाउँछिन् र सानैदेखि जिज्ञासु स्वभावकी थिइन् । उनी प्रश्न गर्थिन् र उनका हजुरआमासँग उत्तर हुन्थे ।

    अर्को आयाममा नम्रताले फिल्म निर्मात्रीको जीवन बाँचिन् । सिक्किमका प्रशान्त रसाइलीसँग मिलेर उनले ‘सोल सिस्टर’ निर्माण गरिन् । बक्सअफिसमा फिल्म असफल भयो । उनी आफैंले हलमा फोन गरेर फिल्म हटाइदिन भनिन् । डेब्यु निर्मात्रीको रुपमा उनले यस फिल्मबाट धेरै कुरा सिकेको बताउँछिन् । यस्तो लाग्छ, उनी सेल्फ क्रिटिकल प्रोड्युसर पनि हुन् । आफ्नै फिल्मलाई पैसा तिरेर नहेर्न सुझाउने उनको बानी अचम्मको छ । अब भने प्रोडक्सन गर्न डर मान्ने पक्षमा छैनन् उनी । राम्रो टीम गराएर मात्र फिल्म बनाउने मूडमा छिन् उनी । ‘म दुईचारवटा कन्सेप्टमा काम गरिरहेकी छु । मेरो बकेट लिस्टमा केही प्रोजेक्ट छन्’ उनी भन्छिन्, ‘चाँडै पुनः निर्मात्रीको रुपमा फर्कनेछु ।’

    नम्रताको लागि अभिनय महत्वपूर्ण शर्त हो, चाहे त्यो नाटक होस् वा फिल्म । उनलाई माध्यमगत विविधतामा आपत्ति छैन । उनले पछिल्लोपटक गोल्डेन ब्वाइ नामक नाटकमा पनि अभिनय गरिन् । तर, तपाइँ आफूलाई एक्टर किन मान्नुहुन्न ? हाम्रो प्रश्नमा उनी भन्छिन्–मलाई निश्चित रुपमा यस्तो काम गरेँ र गरेको छु भन्ने नै भएको छैन, जुन दिन हुन्छ, त्यो दिन भन्छु । मलाई एक्टरको रुपमा लाग्ने भएँ मात्र भन्थेँ । त्यो महसूस अहिले गरेकी छैन । सेलेव्रिटी बन्ने सपनाको दौडमा नम्रताको यस्तो जवाफ एउटा आदर्श पनि हो । किनभने, नेपाली फिल्मको एउटा दर्शकीय वर्ग नम्रतालाई आदर्श मान्छ र उनको चरित्र बाँच्न चाहन्छ । मेन्टल हेल्थ, स्क्यान्डलका उतारचढाव र जीवनप्रतिको आशावादिताबाट नेपाली युवापुस्ताले धेरै कुरा सिक्न सक्छ ।

  • महानायकदेखि तन्नेरी सेलेव्रिटीसम्म : टोपी दिवसमा ग्लोबल ब्रान्डको सन्देश

    महानायकदेखि तन्नेरी सेलेव्रिटीसम्म : टोपी दिवसमा ग्लोबल ब्रान्डको सन्देश

    अंग्रेजी नयाँवर्षको पहिलो दिनलाई टोपी दिवसको रुपमा सेलिव्रेट गर्ने अभियान सुरु भएको छ । सेलेव्रिटीदेखि सर्वसाधारणसम्मले नेपाली राष्ट्रिय प्रतीकको रुपमा रहेको टोपी पहिरिएर टाइमलाइनलाई सजाएका छन् ।

    यस्तो लाग्छ, अंग्रेजी नयँवर्षको प्रभावमा राष्ट्रिय टोपी दिवसले मूर्तता पाउँदैछ र संस्कृतिको जगेर्ना गर्दैछ । महानायक राजेश हमालदेखि पछिल्लो छिमलका कलाकारले पनि टोपी लगाएरै टोपी दिवसको शुभकामना दिएका छन् ।

    हुन त, सरकारलाई दबाब दिनको लागि टोपी दिवस मनाउन लागिएको हो । शुक्रबार माइतीघर मण्डलमा समेत युवाहरुको समूहले नेपाली पोशाकै कार्यक्रम आयोजना गरे । ट्वीटरमा समेत टोपी दिवसको ट्रेन्ड चल्यो । नेपाली फेसन डिजाइनर चाहिँ नेपाली टोपी ग्लोबल ब्रान्ड बन्नेतर्फ अग्रसर भएको बताउँछन् ।

  • चार्ल्स शोभराजसँग डेटिङ जान चाहन्छु : जेन्ना कोलम्यान

    चार्ल्स शोभराजसँग डेटिङ जान चाहन्छु : जेन्ना कोलम्यान

    बीबीसी वानको बहुचर्चित टीभी सिरिज ‘द सर्पेन्ट’ शुक्रबार बेलुकादेखि वर्ल्ड प्रिमियर हुँदैछ । नेपाली केन्द्रिय कारागारमा रहेका ‘बिकनी किलर’ चाल्र्स शोभराजको जीवनमाथि बनेको सिरिजमा रहिम र जेन्न कोलम्यानको मुख्य भूमिका छ ।

    नेपाल, भारत र थाइल्यान्डमा छायांकन भएको यो सिरिजले सन् १९७५ देखि १९७६ सम्मको शोभराजको जीवन घटनालाई चित्रण गर्छ । यो कालखण्डमा भएको शोभराजको अपराधी जीवनको उतारचढावलाई सिरिजमा समेटिएको छ ।

    जेन्नाले यो फिल्ममा शोभराजकी तत्कालिन क्यानडियन प्रेमिकाको रुपमा आफूलाई चित्रण गरेकी छन् । शोभराजलाई बैंककमा भेटेपछि यी दुईको प्रेम र अपराधको संसारमा घुलमिल महत्वपूर्ण छ । सिरिज छायांकनलाई जेन्ना काठमाडौंसम्म आइपुगेर नेपाली कारागारमा जेल सजाय भोगिरहेका शोभराजलाई भेटेकी थिइन् ।

    शोभराजकी प्रेमिकाको चरित्र चित्रणमा डुब्दा आफूलाई शोभराजलाई भेट्ने चाहना व्यक्त भएको उनले बताइन् । जुलाइ १९७६ मा दिल्लीमा फ्रान्सेली विद्यार्थीलाई लागुऔषध खुवाउँदै गर्दा प्रेमिका र शोभराज समातिए । त्यसपछि मिडियाको केन्द्रविन्दुमा यी दुईजना ग्लोबल सेलेव्रिटी बने ।

    सन् १९८४ मा घाँटीको क्यान्सरबाट लीक्लर्कको निधन भयो । उनलाई त्यहाँ जीवनकैदको सजाइ दिइयो तर क्यान्सर लागेको पुष्टि भएपछि क्यानडा फर्कन अनुमति दिइयो । ३८ वर्षको उमेरमा लीक्लर्कको निधन भयो । जेन्नाका अनुसार शोभराज अहिले पनि यी प्रेमिकालाई हृदयबाट प्रेम गर्छन् । यो महसुस उनको चरित्र चित्रणमा डुब्दा आफूले गरेको र वास्तविक शोभराजसँग डेटिङ जान चाहेको उनले बताइन् ।

    सन् २००३ मा नेपाल आएको बेला शोभराज पक्राउ परे र अहिले सुन्धारास्थित केन्द्रिय कारागारमा आजिवन कारावासको सजाय भोगिरहेका छन् । समस्याबाट भाग्न सक्ने खुबी भएकाले शोभराजलाई सर्पेन्ट (सर्प) भनिएको र सौन्दर्य एवं ग्ल्यामर अधिक भएको जेन्नाले सम्झिइन् ।

  • प्रियंका-शिव स्टारर ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज हुने

    प्रियंका-शिव स्टारर ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज हुने

    शिव श्रेष्ठ र प्रियंका कार्की स्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज हुने भएको छ । निर्माता समेत रहेका श्रेष्ठलेफिल्म रिलिज हुन लागेको पुष्टि गरे । मिति घोषणासँगै यो फिल्म लकडाउनपछि रिलिज हुने पहिलो बन्नेछ ।

    यद्यपी, सरकारले आधिकारिकरुपमा फिल्म हल खुलाउने निर्णय गरिसकेको छैन । एकपक्षीयरुपमा फिल्म हल भने खुलेका छन् । कतिपय निर्माता अझै पर्ख र हेरको मुडमा छन् । यसवर्ष रिलिज हुने फिल्मलाई ५ लाख रुपैयाँ राहत दिने घोषणा चलचित्र विकास बोर्डले गरिसकेको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै अभिनेता एवं निर्माता श्रेष्ठले कोरोनापछि थलिएको माहौल बनाउन पनि फिल्म रिलिज गर्न लागिएको बताए । ‘पैसा कमाउनेभन्दा पनि माहौल बनाउनको लागि यस्तो निर्णय लिएका हौं’ श्रेष्ठले भने, ‘नयाँ फिल्म रिलिज भए दर्शक हल आउन आतुर हुनुहुन्छ । उहाँहरुको मुड बुझेरै फिल्म लगाउनेछौं ।’

    फिल्ममा शिवले प्रियंका कार्कीसँग अनस्क्रिन रोमान्स गरेका छन् । वर्षा राउत, नरेन खड्का, आयुष्मान देशराज जोशी र मिथिला शर्मा समेत छन् । दिपेश सापकोटाले फिल्म निर्देशन गरेका हुन् । शिवसहित दिनेश दर्शनहरी र यशोधा राई तुम्बाहाम्फेले फिल्म निर्माण गरेका हुन् ।

  • नयाँ वर्षमा ऋचाले घोषणा गरिन् फिल्म निर्माण, ‘कौसिद’ फिल्मको गरियो मुहूर्त

    नयाँ वर्षमा ऋचाले घोषणा गरिन् फिल्म निर्माण, ‘कौसिद’ फिल्मको गरियो मुहूर्त

    अभिनेत्री ऋचा शर्माले अंग्रेजी नयाँवर्ष २०२१ को छेकोमा शुक्रबार फिल्म निर्माणको घोषणा गरेकी छन् । बितेको वर्ष आफ्ना लागि अप्रत्याशित रहेको भन्दै उनले फिल्म निर्माणसँगै नयाँवर्षको सुरुआत गर्न लागेको उल्लेख गरेकी छन् ।

    फिल्म ‘कौसिद’लाई शुक्रबार बिहान चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरियो । निर्देशक कुमार भाष्कर, अर्का निर्माता केदार भुषालसहित ऋचाले पूजाआज गर्दै फिल्म शुभारम्भ गरे । आगामी माघ १ गतेदेखि छायांकन हुने फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । मुख्य भूमिकामा भोलाराज सापकोटा र ऋचा शर्मा हुनेछन् । अन्य कलाकार नयाँ अनुहारका छन् ।

    परिवारको लागि घर बनाउन मुख्य पात्रले गर्नुपरेको नैतिक संघर्ष र सम्झौता फिल्मको केन्द्रिय द्धन्द्ध हो । फिल्मको टीजर पोस्टर पनि लन्च गरिएको छ । ऋण कर्जा भुक्तान गर्ने राष्ट्र बैंकको ३५ दिने सूचनालाई पृष्ठभूमिमा राखेर पोस्टर डिजाइन गरिएको छ । सरकारले फिल्म छायांकन फुकुवा गरेसँगै माघ–फागुनदेखि झन्डै ३५ भन्दा बढी फिल्म फ्लोरमा जाँदैछन् ।

  • सुरक्षाको नजरमा नेपालका पाँच ‘फेसन कन्सस’ नेता

    सुरक्षाको नजरमा नेपालका पाँच ‘फेसन कन्सस’ नेता

    सुरक्षा पन्तसँग धेरै रुचि जोडिएका छन् । अभिनय, संचारकर्मी, इन्जिनियर, अभियन्ता र लेखिका । हालैको अपरान्ह ‘आमा’ अभिनेत्री फिल्म, राजनीति, समाज र तन्नेरीको विषयमा गफिने मुडमा भेटिइन् । ‘पल्टिकल एवं फेसन कन्सस’ भएकी अभिनेत्रीको रुपमा सुरक्षालाई अग्रणी रुपमा लिन सकिन्छ ।

    उनी संसद विघटनदेखि नेकपा विभाजनसम्मको राजनीतिक विकासक्रमलाई ‘स्वभाविक’ रुपमा लिन्छिन् । ‘यस्तो हुनु नै थियो’ उनको कथन छ, ‘नेपालको दलिय राजनीतिको अवस्था हेर्दा यस्तो हुने कुरालाई अस्वभाविकरुपमा लिन्न ।’

    नेताहरु कत्तिको फेसन कन्सस छन् त ? नेपाल प्रेससँग नेताको फेसन रुचिबारे सुरक्षा खुलिन् । उनको नजरमा केही यस्ता नेता छन् जसले फेसनलाई पनि अगाडि बढाउँछन् । गगन थापा, रविन्द्र मिश्र, योगेश भट्टराई, शशांक कोइराला र विना मगर उनको नजरमा ह्यान्डसम एवं ब्युटीफुल नेता हुन् ।

    ‘उहाँहरु राजनीतिका फेसन कन्सस मान्छे हुनुहुन्छ’ उनी भन्छिन्, ‘राष्ट्रपति विद्यादेवी भण्डारीदेखि कांग्रेस संस्थापक बीपी कोइरालासम्म फेसन कन्सस लाग्छ ।’ सुरक्षाको मुख्य भूमिका रहेको फिल्म ‘आमा’ अहिले नेपाली फिल्म हलहरुमा प्रदर्शन भैरहेको छ ।

     

  • माओवादी विद्रोहमाथि बनेको ‘द होल टाइमर्स’ छायांकन सुचारु, यसरी हुँदैछ फिल्म सुटिङ

    माओवादी विद्रोहमाथि बनेको ‘द होल टाइमर्स’ छायांकन सुचारु, यसरी हुँदैछ फिल्म सुटिङ

    अन्तराष्ट्रिय लगानी जितेको फिल्म ‘द होल टाइमर्स’को छायांकन पुनः सुरु भएको छ । कोरोनाभाइरस महामारीले रोकिएको फिल्म अछाम, कैलाली र बर्दियामा सुरु हुँदैछ ।

    मिडिया पोर्टले निर्माण गरिरहेको फिल्मले छायांकनमा पुनः जानुपूर्व एक्सक्लुसिभ तस्विर सार्वजनिक गरेको छ । पूजा गुरुङ र विभुषण बस्नेतको जोडीले निर्देशन गरिरहेको फिल्मले माओवादी सशष्त्र द्धन्द्ध बेलाको कथा पेश गर्छ ।

    सरकारले छायांकन फुकुवा गरेलगत्तै कामलाई अगाडि बढाइएको मिडिया पोर्ट प्रमुख प्रवीण कार्की टक्कीले बताए । सुदुरपश्चिममा छायांकन हुने फिल्म सरकारले गत चैत ११ गते घोषणा गरेको लकडाउनपछि रोकिएको थियो ।

    नन–एक्टरलाई लिएर बनाइएको फिल्मले युरोपको सिनेमाज् दे मन्डे ग्रान्ट पनि जितेको थियो । एउटा युवा माओवादी लडाकुले तत्कालिन सशष्त्र विद्रोहको अन्तिम तीन वर्षमा हेर्ने दृष्टिकोणमाथि कथा बुनिएको छ । पूजा र विभुषण यही फिल्मबाट फिचरमा डेब्यु गर्दैछन् । फिल्म निर्माणमा मिडिया पोर्ट र फ्रान्सेली निर्माण कम्पनी लेस फिल्मस डु टेम्बोरले सहकार्य गरेका छन् ।

  • तेस्रोलिंगी मोडल एन्जल लामाले ब्युटी पेजेन्टमा रचिन इतिहास

    तेस्रोलिंगी मोडल एन्जल लामाले ब्युटी पेजेन्टमा रचिन इतिहास

    काठमाडौं । तेस्रोलिंगी मोडल एन्जल लामाले प्रतिष्ठित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताको नेपाली संस्करणमा फाइनल यात्रा तय गर्दै इतिहास रचेकी छन् । राजधानीमा बुधबार सम्पन्न मिस युनिभर्स नेपाल २०२० को फिनालीमा उनी उत्कृष्ट १८ भित्र प्रवेश गरिन् ।

    लामाको यो उपलब्धीबारे अन्तराष्ट्रिय मिडियाले चर्चा गरिरहेका छन् । उनीहरुले ब्युटी पेजेन्टको यो कीर्तिमानलाई नेपालमा उपलब्ध एलजीबीटीआइ (लैंगिक अल्पसंख्यक)को स्वतन्त्रतासँग व्याख्या गरेका छन् । म्यानमार र मंगोलियापछि लैंगिक अल्पसंख्यकको स्वतन्त्रता दिलाउने मुलुकमा नेपाल पर्छ ।

    ‘नेपाली समाजमा रहेको विविधतालाई झल्काउन म यो प्रतियोगितामा आएकी हुँ’ २१ वर्षिया लामाले भनिन्, ‘यदि मैले जित्थेँ भने यो एउटा ठूलो सन्देश हुने थियो ।’ लैंगिक अल्पसंख्यकको सहभागितालाई आकर्षित गर्न आयोजकले उचाइ, तौल र सौन्दर्यको मापनमा लचिलो नियम ल्याएको थियो ।

    माओवादी शान्ति प्रक्रियामा आएको वर्ष २००६ र राजतन्त्र ढलेको कालखण्डपछि नेपालले लैंगिक अल्पसंख्यक पहिचानको नीति ल्याएको थियो । सर्वोच्च अदालतले २००७ मा कानुन नै बनाएको थियो । लामाका अनुसार उनका अशिक्षित अभिभावकले उनको विहे गराएर घरजम भएको देख्न चाहन्थें ।

    मिस पिंक नेपालको उपाधि जितेपछि भने ब्युटी पेजेन्टमा लामाको सहभागितालाई लिएर उनका अभिभावक खुशि भएका थिए । मिस युनिभर्स नेपाल २०२० को उपाधि भने अष्ट्रेलियाकी गैरआवसिय नेपाली अनिष्का शर्माले जितिन् ।

  • अनिष्का शर्मालाई मिस युनिभर्स नेपाल २०२० को ताज

    अनिष्का शर्मालाई मिस युनिभर्स नेपाल २०२० को ताज

    मिस युनिभर्स नेपाल २०२० को उपाधि अनिष्का शर्माले जितेकी छन् । राजधानीमा बुधबार आयोजित ग्रान्ड फिनालीमा पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले शर्मालाई ताज लगाइदिइन् ।

    अष्ट्रेलिया निवासी २४ वर्षिया शर्माले आफ्नो उत्तरबाट निर्णायकलाई खुशि पारेकी थिइन् । कोभिड–१९ पछि तपाइँले सिकेको एउटा पाठ के हो भनेर निर्णायकले सोधेका थिए ।

    अनिष्काको जवाफ थियो : म कोभिड–१९ ले सिर्जना गरेको संकट फेस गर्न म जहिल्यै तयार छु । तर, यो संकटले अर्थतन्त्र महत्वपूर्ण हो भन्ने सिकाएको छ । यो कुरा ख्याल गरेर हामी अगाडि बढ्नुपर्छ ।’

    जितसँगै अनिष्काले १० लाख नगद र मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछिन् । आफूलाई शैक्षिक अभियन्ता पनि मान्ने शर्माले मिस फियर्सको सब–टाइटल पनि जितिन् । मिस नेपाल अमेरिका सुजिता बस्नेतले फस्ट–रनरअपको उपाधि जितिन् ।

    नीनाकान्त मण्डलले सेकेन्ड रनरअपको उपाधि जितिन् । न्यान्सी खड्का फोर्थ रनरअप भइन् । फिनालीमा १८ जना सुन्दरीले भाग लिएका थिए । पूर्वमिस नेपाल माल्भिका सुब्बा, मेगा बैंककी सीइओ अनुपमा खुन्जेली, अभिनेत्री उषा रजक लगायत निर्णायकमा थिए ।

    मिस नेपाल आयोजक हिडन ट्रेजरबाट हटेर पहिलोपटक कुनै इन्डिपेन्डेन्ट संस्थाले पेजेन्ट गरेको हो । गतवर्ष मिस युनिभर्सको लाइसेन्स हिडन ट्रेजरबाट खोसेर नग्मा श्रेष्ठको कम्पनीलाई दिइएको थियो ।

  • पत्रकार खत्रीको नियात्रा संङग्रह ‘स्कार्फ’ सार्वजनिक

    पत्रकार खत्रीको नियात्रा संङग्रह ‘स्कार्फ’ सार्वजनिक

    काठमाडौं । डायनामिक स्काउट क्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा संङग्रह विमोचन गरिएको छ ।

    युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकारहरु राधेश्याम लेकाली, युवराज नयाँघरे, लाइन्स क्लब इन्टरनेसनलका गभर्नर टंक श्रेष्ठ, स्काउट लिडरहरु डा. रविन्द्र प्रसाद पाण्डे, रविन दाहाल, अनन्तप्रसाद भेटुवाल, चन्दन कौसिक लगायतको उपस्थितिमा विमोचन गरिएको हो ।

    युवा तथा खेलकुद मन्त्री तामाङले खेलकुद र युवा उत्थानका लागि आफ्नो प्रयास सुरु हुने बताएका छन् । राजनीतिक संकटका बेला आफूले जिम्मेवारी पाएको बताउँदै खेलकूद र युवाका लागि विशेष कार्यक्रम ल्याउन आफू सक्रिय बन्ने उल्लेख गरे । उनले स्काउटमा देखिएका समस्या समाधान गर्दैै नेपाल स्काउटको विकासमा योगदान पुर्याउने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले स्काउटले मानवलाई नै अनुशासनमा राख्ने उल्लेख गरे । खत्रीको पुस्तकमा स्काउटसंगै देश, भाषा, संस्कृत र विभिन्न समाजलाई जिवन्त पढ्न सकिने बताएका छन् ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रुपमा जान सक्ने विचार पोखे ।

    कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले स्काउट र यात्रा अनि विभिन्न संस्कृतिको प्रचार प्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने धारण राखे ।

    स्काउट लिडर डा. रविन्द्र प्रसाद पाण्डेले यात्रासँगै स्काउटिङ भित्रको तथ्यपरक चिरफार गरेको भन्दै स्काउटिङको क्षेत्रमा यो कृति कोषेढुङ्गा सावित हुने विश्वस व्यक्त गरे ।

    तीनकुने स्थित भिएस निकेतन स्कुलमा आयोजित कार्यक्रकमा उपस्थितिहरुले स्काउटीङ प्राविधिक कुरा भएकाले यस विषयमा बुझन यो पुस्तक महत्वपूर्ण हुने बताएका थिए ।

    १४ वटा निबन्ध संग्रहित पुस्तकका लेखक खत्रीको यो पहिलो कृति हो । यस कृति बाहेक लेखकका प्रशस्त फुटकर रचना प्रकाशित भइरहेका छन् ।

  • बिहे तयारीका लागि रणवीर–आलियाको परिवार जयपुरमा, करण जोहर र दीपिका पादुकोण पनि पुगे

    बिहे तयारीका लागि रणवीर–आलियाको परिवार जयपुरमा, करण जोहर र दीपिका पादुकोण पनि पुगे

    बलिउडका दुई खानदानी परिवार यतिबेला चिसो छल्न जयपुर र रणथंभर सेरोफेरोको इलाकामा पुगेका छन् । कपुर र भाट परिवार अहिले रणथंभरस्थित एउटा रिसोर्टमा बसिरहेको छ । 

    बलिउड स्रोतका अनुसार रणवीर कपुर र आलिया भाटको बिहे छिनोफानो गर्न दुई परिवार त्यहाँ पुगेका हुन् । बिहेको सम्भावना बलियो छ । आलियाका काकाले चाहिं बिहेबारे अहिले नै यकिनका साथ केही भन्न सकिंदैन । बिहे निश्चित भएमात्र आफूले सबै कुरा मिडियालाई बताउने जनाए ।

    स्रोतका अनुसार रणवीर र आलियाको बिहेलाई यतिबेला करण जोहरले गोप्यरुपमा व्यवस्थापन गरिरहेका छन् । आलियाले आफ्नो जीवनको यो महत्वपूर्ण क्षणको साक्षी बस्न रणवीर सिंह र दीपिका पादुकोणलाई रिसोर्टमा बोलाएकी छन् ।

    सोही रिसोर्टमा आफ्नो टीम लिएर करण पनि पुग्दैछन् । केही दिनदेखि नै धर्मा प्रोडक्सनको टीम रणथंभर र जयपुरमै बसिरहेका थिए । उनीहरु सबै बिहेको तयारीमा जुटेका छन् । यसबारेमा नीतू कपुर, आलिया भाट, सोनी राजदान र रणवीरले केही बोलेका छैनन् ।

  • नेपाली अभिनेत्री जसिता गुरुङ संसारका सय सुन्दर युवतीको ५४ औं सूचीमा

    नेपाली अभिनेत्री जसिता गुरुङ संसारका सय सुन्दर युवतीको ५४ औं सूचीमा

    नेपाली अभिनेत्री जसिता गुरुङ वर्ष २०२० मा संसारका सय सुन्दर युवतीको ५४औं स्थानमा परेकी छन् । सौन्दर्य मापन गर्ने विश्व चर्चित एजेन्सी टीसी क्यान्डलरले सय उत्कृष्टको सूची सार्वजनिक गरेको हो ।

    इजरायलकी १९ वर्षे मोडल येल सेल्बिया सूचीको पहिलो स्थानमा सूचीकृत गर्दै संसारकै सुन्दरी युवतीको रुपमा चिनिएकी छन् । टीसी क्यान्डलर र इन्डिपेन्डेन्ट क्रिटिक्सले हरेक वर्ष यस्तो सूची सार्वजनिक गर्छन् ।

    २४ वर्षीया पोखरेली अभिनेत्रीले फिल्म ‘लिलिबिली’बाट अभिनय करियर थालेकी थिइन् । प्रदीप खड्काको लिड अपोजिटमा देखिएकी उनले यही फिल्मबाट प्रसिद्धि हासिल गरिन् । यो सूचीमा हलिउडको ‘वन्डर वुमन’ अभिनेत्री गल ग्याडट २१औं स्थानमा छिन् ।

    सूचीमा आफू समावेश भएपछि नेपाल प्रेससँग प्रतिक्रिया दिंदै जसिताले आफूलाई सरप्राइज मिलेको बताइन् । ‘स्तब्ध छु’ उनले भनिन्, ‘यसले मलाई काम गर्ने प्रेरणा मिलेको छ ।’ फिल्म लिलिबिलीको बेला पनि जसिताको सौन्दर्यको प्रशंसा भएको थियो । टीसी क्यान्डलरले विगत ३० वर्षदेखि सौन्दर्य मापन गर्दै आएको छ ।

  • ३२ फिल्म छायांकनमा जाने तयारीमा, संयुक्त लगानीका ‘क्याराभान २’ र ‘चिसो वर्ष’ बैशाखदेखि

    ३२ फिल्म छायांकनमा जाने तयारीमा, संयुक्त लगानीका ‘क्याराभान २’ र ‘चिसो वर्ष’ बैशाखदेखि

    ३० भन्दा बढी फिल्म तत्काल छायांकनमा जाने तयारीमा छन् । सरकारले फिल्म सुटिङ फुकुवा गरेपछि माघ–फागुनदेखि फ्लोरमा जाने फिल्मको लाइन छ । अन्तराष्ट्रिय संयुक्त लगानीका फिल्म चाहिँ नेपाली नयाँवर्षदेखि जाने तयारीमा छन् ।

    सरकारले लकडाउन घोषणा गरे लगत्तै सात फिल्मको सुटिङ रोकियो भने १५ फिल्म छायांकनमै जान पाएनन् । झन्डै दर्जन फिल्म फ्लोरमा जाने तयारीमा छन् । सरकारले छायांकन अनुमति दिएपछि भने निर्मातालाई हाइसञ्चो भएको छ ।

    गणपति, भाँडाकुटी, चिलगाढी, प्रकाश, हुतुतु, चिसो वर्ष, दिपेश सापकोटा र प्रवेश पौडेलका फिल्म छायांकनमा जाने तयारीमा छन् । साथै, छक्का पञ्जाको नयाँ सिरिज, गोर्खा वारियर्स २, रानी महल, मनपरेसी, अल्लारे २, प्रेमपूजा, नाइँ नभन्नू ल ६, छड्के २, बेन्जो, पर्खिबसेँ २, सुदूर, सँगसँगै, पारस, चिसो मान्छे पनि सुटिङमा जाने छन् ।

    लकडाउनले गर्दा सुटिङ रोकिएका परेदशी २, दुई नम्बरी, ए मेरो हजुर ४, गुञ्जन, देशान, तीन जन्तु, होल टाइमर र विच्छेद पुनः फ्लोरमा जाने तयारीमा छन् । चिसो सकिएलगत्तै छायांकन सुचारु गरिने सम्बन्धित निर्माताहरुले जनाएका छन् ।

    मीनबहादुर भामले निर्देशन गर्ने अन्तराष्ट्रिय संयुक्त लगानीको फिल्म ‘चिसो वर्ष’ चाहिँ बैशाखदेखि छायांकन हुने तयारीमा छ । कास्टिङको अन्तिम चरणमा रहेको फिल्मका प्राविधिक विदेशबाट आउनुपर्ने भएपछि छायांकनमा ढिलाइ हुने भएको हो । दीपक रौनियारको फिल्म ‘राजा’ पनि छायांकनमा जाने तयारीमा छ । एरिक भ्याली आउने वर्ष क्याराभान २’ छायांकन लाने तयारी गर्दैछन् ।

  • खुले तालनगरिका मल्टिप्लेक्स, नौ महिनापछि मिडटाउन सिनेमाज् संचालनमा

    खुले तालनगरिका मल्टिप्लेक्स, नौ महिनापछि मिडटाउन सिनेमाज् संचालनमा

    नेपालको दोस्रो ठूलो फिल्म बजार पोखराका फिल्म हल मंगलबारदेखि संचालनमा आएका छन् । मिडटाउन सिनेमाज् र क्यूएफएक्स आउटलेटले नौ महिनापछि प्रदर्शन सुचारु गरेका हुन् ।

    कोरोना भाइरस महामारीको कारण सरकारले गत चैत ११ बन्दाबन्दी गरेपछि ती हल बन्द थिए । गत शुक्रबारदेखि व्यसायीले एकपक्षीयरुपमा हल संचालन गरेका हुन् ।

    सरकारले भने फिल्म हल संचालन फुकुवा गरेको छैन । आधिकारिकरुपमा हल संचालन नहुँदा सेन्सर लगायतका काम रोकिएपछि तत्काल नयाँ फिल्म लाग्नेछैनन् । चल्दाचल्दैका र पुराना हिट फिल्मलाई रि–रिलिज गरेर हल चल्दैछन् ।

    चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको प्रेसमिटमा मिडटाउन सिनेमाज्ले स्वास्थ्य मापदण्ड पालना गर्दै हल संचालनमा ल्याएको जानकारी दियो । प्रबन्ध निर्देशक निकेश द्धाले दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै हल संचालन गरिने जनाए ।

    दिउँसो १ बजे, अपरान्ह ३ः४५ बजे र साँझ ६ बजे फिल्म प्रदर्शन गरिने भएको छ । ‘सुरुमा पैसा कमाउनेभन्दा पनि माहौल बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ’ द्धाले नेपाल प्रेससँग भने, ‘दर्शकलाई हलसम्म तान्नको लागि बानी पार्ने जमर्को गर्दैछौं ।’

    सरकारले आफ्नो पीडा नसुनेकाले बाध्य भएर सिनेमा घर चलाएको द्धाको भनाइ छ । ‘बैंकबाट ऋण लिएर हल चलाएका छौं । अब किस्ता कसरी तिर्ने ?’ द्धाले प्रश्न गरे । आफ्नो हल संचालन नहुँदा ४५ जना कर्मचारीको रोजगारी गुमेको उनले जनाए ।