Category: कलाप्रेस

  • स्क्रिप्टमा विवाद भएपछि तोडियो भुवन-माधव सहकार्य, ‘पारस’लाई अब भुवन केसीले बनाउने

    स्क्रिप्टमा विवाद भएपछि तोडियो भुवन-माधव सहकार्य, ‘पारस’लाई अब भुवन केसीले बनाउने

    फिल्म ‘पारस’को स्क्रिप्टमा विवाद भएपछि भुवन केसी र माधव वाग्लेको सहकार्य तोडिएको छ । सुरुमा यो फिल्मलाई वाग्लेले निर्देशन गर्ने र केसीले निर्माण गर्ने सहमति थियो । तर, स्क्रिप्टमा परिवर्तन गरिएपछि आफूलाई चित्त नबुझेको भन्दै ब्लकबस्टर फिल्म ‘लुट’का निर्माता समेत रहेका वाग्लेले प्रोजेक्टमा नरहेको घोषणा गरेका छन् । भुवन र माधव दुबैले सहमतिमै निर्णय लिएको नेपाल प्रेसलाई बताए ।

    ‘उहाँहरुले स्क्रिप्टमा चेन्ज गर्नुभएपछि मलाई चित्त बुझेन अनि सहमतिमै छाडेको हुँ’ वाग्लेले भने, ‘अब स्क्रिप्ट र टाइटल भुवनजीकै हुनेछ ।’ पारस फिल्म छाडेपछि अब वाग्लेले होमप्रोडक्सन प्रिन्सेस मूभिजको ब्यानरमा एउटा लभस्टोरी एवं थ्रीलर फिल्मलाई डेब्यु निर्देशन गर्ने भएका छन् । अभिनेता केसीले चाहिँ पारस फिल्मलाई सुपर काजल फिल्मसले निर्माण गर्ने बताए ।

    ‘अहिलेसम्म अनमोलबाहेक कोही पनि फिल्ममा निश्चित भएको छैन’ केसीले भने, ‘चाँडै पत्रकार सम्मेलन गरेर फिल्मबारे जानकारी दिन्छौं ।’ भुवन आउँदो वर्ष फिल्म रिलिज तयारीमा छन् । पारसको स्क्रिप्टलाई चाहिँ प्रदीप भारद्धाजले लेखेका हुन् ।

  • टम क्रुज, एलेन मस्क र नासा मिलेर अन्तरिक्षको शुन्य गुरुत्वाकर्षणमा फिल्म छायांकन गर्ने

    टम क्रुज, एलेन मस्क र नासा मिलेर अन्तरिक्षको शुन्य गुरुत्वाकर्षणमा फिल्म छायांकन गर्ने

    विश्वका सबैभन्दा धनी एलेन मस्क र हलिउड अभिनेता टम क्रुजले अन्तरिक्षको शुन्य गुरुत्वाकर्षणमा फिल्म छायांकन गर्ने भएका छन् । हलिउडको यो महत्वाकाङ्क्षी प्रोजेक्टमा अमेरिकी अन्तरिक्ष नियोग नासाले पनि सहकार्य गर्ने भएको छ । डेडलाइन हलिउड म्यागजिनका अनुसार टम क्रुजको चर्चित फिल्म सिरिज ‘मिसन इम्पोसिबल’ चाहिँ होइन ।

    अन्तरिक्षमा सुटिङ हुने यो पहिलो न्यारेटिभ फिचर फिल्म हुने जनाइएको छ । नासाले यो प्रोजेक्टको खुलासा गरेको हो । नासका प्रमुख अधिकृत जिम ब्रिडेस्टाइनले अन्तराष्ट्रिय स्पेस स्टेसनमा टम क्रुजसँग मिलेर फिल्म बनाउने काममा सहकार्य गर्न पाउँदा नासा उत्साहित रहेको ट्वीट गरेका छन् । नासाको महत्वाकाङ्क्षी प्रोजेक्टलाई वास्तविक आकार दिन युवा बैज्ञानिक र इन्जिनियरलाई गतिशिल तुल्याउनुपर्ने उनले जनाए ।

    कुन फिल्म अन्तरिक्षमा निर्माण हुनेछ भन्ने कुराको यकिन गरिएको छैन । स्रोतका अनुसार क्रुजले अन्तरिक्षमा खतरनाक एक्सन दृश्य पस्कने अपेक्षा गरिएको छ । अहिलेसम्म अन्तरिक्षमै पुगेर फिल्म छायांकन भएको छैन । स्पेस र ग्राभिटीमा आधारित फिल्महरु हलिउड स्टुडियोमै निर्माण हुने गर्थे । बुधबारदेखि विश्वकै सर्वाधिक धनी व्यक्तिमा दरिएका एलेन मस्कको स्पेस एक्स र नासाले अहिले अन्तरिक्ष पर्यटनका लागि काम गरिरहेका छन् ।

    अमेजनका मालिक जेफ बेजोसलाई उछिन्दै टेस्ला र स्पेस एक्स कम्पनीका मालिक मस्क १८५ विलियन अमेरिकी डलरका साथ विश्वकै सर्वाधिक धनी व्यक्ति बनेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

  • प्रमोद खरेलको गीतमा रोयल्टी विवाद चर्कियो, ७५ जना गायकले प्रहरीमा दिए उजुरी

    प्रमोद खरेलको गीतमा रोयल्टी विवाद चर्कियो, ७५ जना गायकले प्रहरीमा दिए उजुरी

    एक म्युजिक कम्पनीसँग रोयल्टी विवाद चर्किएपछि ७५ जना संगीतकर्मीले न्याय माग्दै प्रहरी गुहारेका छन् । गायक प्रमोद खरेलले विन्ध्याबासिनी म्युजिक कम्पनीबाट एघारवर्षदेखिको हिसाब खोज्दै टेकु प्रहरीमा उजुरी दिएका हुन् । स्रष्टाले रोयल्टी पाउनुपर्ने माग गर्दै संगीतकार संघको अगुवाइमा उक्त कम्पनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

    ११ वर्षअघि ‘प्रणय एल्बमका चार गीत तयार गर्दा गायक खरेल र कम्पनीबीच रोयल्टी लगायतका हिसाब किताबमा सम्झौता भएको थियो । गीत निर्माणमा सबै लगानी खरेलको थियो भने कम्पनीले उनलाई २ लाख १० हजार रुपैयाँ दिएको थियो । केही समयअघि कम्पनीले गीतको कपिराइट आफ्नो नाममा रहेको भन्दै कम्पनी रजिष्टारमा उजुरी दिएको थियो । गायक खरेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय मंचमा गाइरहेको आरोप सहित १ करोड क्षतिपूर्ति मागिएको थियो ।

    तर, प्रस्तोता नेपाल समाजले कपिराइट स्रष्टाको हुने भन्दै कम्पनीविरुद्ध विज्ञप्ती जारी ग¥यो । लगत्तै कम्पनीका प्रमुख सुवास रेग्मीले सामाजिक संजालमै संगीतकर्मीविरुद्ध आक्रोश पोखे । विवाद चर्कँदै गएपछि संगीतकर्मीले प्रहरी गुहारेका हुन् । प्रहरीले तथ्य र प्रमाण सहि भन्दै उजुरी दर्ता गरेको संगीतकार संघका संरक्षक लक्ष्मण शेषले बताए ।

    ‘अहिले त पाँचवर्षको सम्झौता ११ वर्ष पुगिसक्यो । बाँकी ६ वर्षको आम्दानी र रोयल्टी पनि मलाई कम्पनीले दिनुपर्छ । यसका लागि म अदालत जान तयार छु’ खरेलले भने । तर, विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मीले अदालतबाट प्रमाणित गरेर ल्याउन चुनौति दिएका छन् । ‘प्रचलित कानुन र प्रतिलिपि अधिकार ऐनले निर्मातालाई गायक जत्तिको अधिकार धनी पनि भन्दैन कुरा अदालतबाट प्रमाणित गरेर ल्याउनूस’ रेग्मीले भने ।

    संगीतकार संघका संरक्षण शेषले चाहिँ स्रष्टाको बौद्धिक सम्पत्ति उसको अधिकारको विषय भएको बताए । ‘स्रष्टाको अधिकारलाई जसले कुण्ठित बनाउँछ, उसले कानुनअनुसार सजाय भोग्न तयार रहनुपर्छ’ उनले भने । शिव परियार, राजेशपायल राई, सत्यराज आचार्य, इन्दिरा जोशी, अर्जुन पोखरेल, कमल खत्री, रामकृष्ण ढकाललगायतले हस्ताक्षर गरेका छन् ।

     

  • मन्त्रालयको दबाबमा फिल्म रिलिज राेकियाे

    मन्त्रालयको दबाबमा फिल्म रिलिज राेकियाे

    काठमाडौं । संचार मन्त्रालयको दबाबमा नयाँ फिल्म रिलिजमा रोक लगाइएको छ । जसले गर्दा शुक्रबार रिलिज हुने भनिएको हलिउड फिल्म ‘मन्स्टर हन्टर’को रिलिज रोकिएको छ । माथिको आदेश भन्दै चलचित्र विकास बोर्डले बक्सअफिस कोड उपलब्ध नगराउँदा वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले अन्तिम समयमा रिलिजलाई स्थगित गर्नुपरेको छ ।

    संचार सचिव हरिप्रसाद बस्यालले बोर्ड अध्यक्ष दयाराम दाहाललाई मन्त्रिपरिषद् निर्णय नहुँदासम्म नयाँ फिल्म सेन्सर र रिलिज नगर्न निर्देशन दिएका छन् । मन्त्रालयको निर्देशनको बाबजुद पनि बोर्डले जबर्जस्ती फिल्मको सेन्सर चाहिँ गरेको छ । नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष दाहालले अब मन्त्रिपरिषद्को निर्णय नहुञ्जेलसम्म नयाँ फिल्म रिलिज गर्न अनुमति नदिने बताए ।

    मन्त्रालयले रिलिज रोकेलगत्तै अध्यक्ष दाहाल शुक्रबार विहान संचार सचिवसँग ‘वारपार’ छलफल गर्न भन्दै सिंहदरबार पुगेका थिए । ‘धेरै नै ल्याङ ल्याङ भयो’ दाहालले भने, ‘हल खुलाउनुपर्छ भनेर मन्त्रालयमा १७ वटा पत्र लेखिसके‌ तर सुनुवाइ हुन सकेन । मन्त्रिपरिषद निर्णय नहुञ्जेलसम्म सेन्सर गर्न र बक्सअफिस कोड नदिन आदेश आएको छ ।’

    विहिबार सेन्सर गरेपछि बक्सअफिस कोड लिन बोर्ड पुगेका एप्पल इन्टरटेनमेन्टका प्रतिनिधिलाई अध्यक्ष दाहालले जबर्जस्ती फिल्म नचलाउन र चलाएको पाइए हल र वितरकलाई ‘अप्ठ्यारो’ पर्न सक्ने चेतावनी दिएका थिए । लगत्तै, क्यूएफएक्सले सार्वजनिक गरेको नयाँ रिलिज फिल्मको सोजलाई समेत अन्तिम समयमा स्थगित गर्नुपरेको थियो । केही मल्टिप्लेक्सले ‘मन्स्टर हन्टर’को सोज समेत आउट गरिसकेका थिए ।

    सरकारले नयाँ फिल्म रिलिजमा रोक लगाउने बताएपछि चलचित्र संघले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । संघका गोपाल कायस्थ र देवेन्द्र खड्गीले सरकारविरुद्ध थप कडा आन्दोलनका कार्यक्रम घोषणा हुनसक्ने बताए । ‘अरु क्षेत्र खुलिसकेपनि फिल्मलाई अनुमति नदिने काम खेदजनक छ’ कायस्थले भने, ‘अब बैठक बसेर थप कार्यक्रम टुंगो लगाउँछौं ।’ व्यवसायीले गत पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुलाएपनि सरकारले फुकुवा गरिसकेको छैन ।

    बोर्ड अध्यक्ष दाहालले सरकारको निर्णय मान्नु आफ्नो दायित्व भएको बताए । बोर्डले नयाँ कोरोनाभाइरसको सम्भावित संक्रमणले गर्दा पुनः फिल्म हल बन्द गर्नुपर्ने स्थिती आउन सक्ने समेत जनाएको छ । नयाँ भाइरसको पुष्टि गर्नको लागि स्वास्थ्य मन्त्रालयले केही नमुना विहिबार हङकङ पठाएको छ । संक्रमणको जोखिम कायमै रहेकाले फिल्म रिलिज गर्ने र हल खुलाउने योजनामा सरकारी देखिँदैन ।

  • ध्रुव दत्त स्टारर फिल्म ‘सहारा’ लन्डनबाट वर्ल्ड प्रिमियर

    ध्रुव दत्त स्टारर फिल्म ‘सहारा’ लन्डनबाट वर्ल्ड प्रिमियर

    काठमाडौँ । कोरोनाले थलिएको मनोरंजन क्षेत्र लयमा फर्किदै छ । फिल्म निर्माण त भएका छन् नै प्रदर्शन पनि भइरहेका छन् । फिल्म हल वा डिजिटल प्लेटफर्ममा दर्शकले फिल्म हेर्न पाइरहेका छन् । नेपाली फिल्म र म्युजिक भिडियोको प्रवर्धनमा पछिल्लो समय बेलायतमा रहेका कलाकर्मी पनि उत्तिकै सक्रिय छन् ।

    बेलायतबाट निर्माण भएको छोटो फिल्म ‘सहारा’ इन्टरनेट रिलिज भएको छ । कोरोनाभाइरसका कारण देखिएका समस्यासँगै बेरोजगारी र आपसी सम्बन्धमा परेको असरलाई समेटिएको छ । ध्रुब दत्त, सृजना निङ्गलेव र पुरु राईको अभिनय रहेको सहारामा लेखन र निर्देशन पुरु राईको छ । अभिनेता दत्त विश्वेश्वरप्रसाद कोइराला लिखित एडप्टेसन ड्रामा तीन घुम्ती फिल्मका मुख्य अभिनेता पनि हुन् ।

    पुरु निर्देशित यो दोस्रो छोटो फिल्म हो । फिल्मको छायांकन र सम्पादन कुशल श्रेष्ठले गरेका छन् । पछिल्लो समय बेलायतमा म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम बनेका कुशल सञ्चारकर्मी पनि हुन् । यसमा संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नबिन निरौलाको रहेको छ ।

    https://www.youtube.com/watch?v=AFnlCo5GBTI&fbclid=IwAR0fEjhDsRbiqDM1il9rx6Oz3wIRIvaLDSYdOCpf2fRPVn8iqKfyPVmaZIQ

  • सलमानको फिल्म ‘कागज’ नेपाली ओटीटीमा रिलिज हुने

    सलमानको फिल्म ‘कागज’ नेपाली ओटीटीमा रिलिज हुने

    बलिउड अभिनेता एवं निर्माता सलमान खानले होम प्रोडक्सन फिल्म ‘कागज’लाई नेपालमा ओभर दी टप (ओटीटी) प्लेटफर्ममा रिलिज गर्ने भएका छन् । नेपालको वितरण कम्पनी गोपिकृष्ण मूभिजले यो फिल्मलाई डीसहोम, नेटटिभी लगायतका ओटीटीमा प्रदर्शन गर्ने भएको हो । गतसाता ज्याकी च्याङको ‘भ्यानगड’ पनि नेपाली प्लेटफर्ममा रिलिज भैसकेको छ ।

    सतिश कौसिकले निर्देशन गरेको यो फिल्मले कागजले मान्छेको जीवनमा कसरी शासन गर्न सक्छ भन्ने कथावस्तु बुनेको छ । यो फिल्ममा सलमानको केमियो र भ्वाइस समावेश हुने जनाइएको छ । ‘फिल्मको सुरु र अन्त्यमा सलमानको आवाजलाई समावेश गर्नेछौं’ निर्देशक कौशिकले भने । पछिल्लो समय बलिउडका भाइजानले कन्टेन्ट लक्षित फिल्महरुमा लगानी गर्न थालेका छन् ।

    नेपालले पुस १० गतेदेखि वितरण र प्रदर्शनमा हाइव्रिड प्रणाली आत्मसात गरेको छ । भन्नुको अर्थ –एकैसाथ फिल्म हल र ओटीटी प्लेटफर्ममा फिल्म रिलिज हुनेछन् । अग्रणी वितरण कम्पनी गोपिकृष्णले फिल्म बजार सामान्य नभएसम्म फिल्मलाई हलमा रिलिज नगर्ने निधो गरेको छ । तर, एप्पल इन्टरटेनमेन्टले चाहिँ थिएट्रिकल प्रदर्शनलाई प्राथमिकता दिँदै विहिबार हलिउड फिल्म ‘मन्स्टर हन्टर’ रिलिज गरेको छ ।

    गतसाता भारतीय फिल्म हल संचालकले सलमानलाई पत्र लेख्दै उनको बहुप्रतीक्षित फिल्म ‘राधे’लाई आगामी इदमा हलमै रिलिज गर्न सुझाएका छन् । उद्योगको उत्थानका लागि पनि सलमानले यस्तो कदम चाल्नुपर्ने प्रदर्शकको माग छ ।

  • संसद तोडफोडलाई लिएर हलिउड सेलेव्रिटी विभाजित, सेलेना गोमेज फेसबुक र ट्वीटरविरुद्ध खनिइन्

    संसद तोडफोडलाई लिएर हलिउड सेलेव्रिटी विभाजित, सेलेना गोमेज फेसबुक र ट्वीटरविरुद्ध खनिइन्

    सेलेना गोमेज, क्रिस इभान्स, कार्डी बी, खोले कार्दासियन, सोफी टर्नरसहित हलिउडका ठूला नामहरु अमेरिकी कंग्रेसमा भएको आक्रमण र हिंसाको विरोधमा उत्रिएका छन् । आ–आफ्ना सामाजिक संजालमार्फत उनीहरुले संसदमा हमला गर्ने ट्रम्प समर्थकको कार्यको निन्दा गरे । अभिनेत्री एवं गायिका गोमेजले बुधबार रातीको घटनालाई फेसबुक, ट्वीटर, इन्स्टाग्राम, गुगलजस्ता प्लेटफर्म आफ्नो भूमिका पुरा गर्न असमर्थ भएको कदमको रुपमा टिप्पणी गरेकी छन् ।

    चारजनाको ज्यान जाने गरि भएको उक्त हिंसात्मक घटना सामाजिक संजालले सिर्जना गरेको हिट स्पिचको एउटा नतिजा भएको गोमेजको तर्क छ । फेसबुक, ट्वीटर र इन्स्टाग्रामले त राष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई २४ घन्टाको लागि निलम्बन गरिदिएका छन् । गोमेजले फेसबुक संस्थापक मार्क जुकरबर्ग, ट्वीटरका ज्याक डोर्सी, युट्युव सीइओ सुसन वजसिकीलाई मेन्सन गर्दै सामाजिक संजालले घृणा फैलाउनेभन्दा देश बनाउनेतर्फ लाग्नुपर्ने बताएकी छन् ।

    ‘एभेन्जर्स’ अभिनेता क्रिस इभान्सले आफू उक्त घटनालाई लिएर प्रतिक्रियाविहिन भएको ट्वीट गरेका छन् । अभिनेता मार्क रफेलोले ट्रम्पलाई महाभियोग लगाएर हटाउनुपर्ने अभियान चलाएका छन् । गायिका कार्डी बीले अमेरिकी नागरिकले न्याय र शान्ति खोजेको लेखेकी छन् । खोले कार्दासियनले श्वेत सर्वोच्चताको विरोध गर्दै लोकतन्त्र सबैको लागि समान हुने धारणा राखेकी छन् ।

    एस्टन कुचर, सराह जेसिका पार्कर, पिंक लगायतले पनि घटनाको विरोध गरेका छन् । बुधबार नेपाली राष्ट्रिय सभामा बोल्दै गायिका समेत रहेकी सांसद कोमल ओलीले अमेरिकी संसदमा भएको आक्रमणलाई लोकतन्त्रमाथिको आक्रमणको रुपमा टिप्पणी गरेकी छन् । अमेरिकामा रहेका फिल्म निर्देशक सुरेशदर्पण पोखरेलले पनि आक्रमणलाई निन्दनिय भनेका छन् । तर, हलिउडका अन्य कलाकार चाहिँ घटनाबारे मौन जस्तै देखिन्छन् ।

  • लकडाउनपछि नेपालमा रिलिज हुने पहिलो फिल्म बन्ने भो ‘मन्स्टर हन्टर’

    लकडाउनपछि नेपालमा रिलिज हुने पहिलो फिल्म बन्ने भो ‘मन्स्टर हन्टर’

    हलिउड फिल्म ‘मन्स्टर हन्टर’ कोभिड लकडाउनपछि नेपालमा रिलिज हुने पहिलो फिल्म बन्ने भएको छ । मिला जोभोभिक स्टारर यो एक्सन फिल्मलाई एप्पल इन्टरटेनमेन्टले शुक्रबार रिलिज गर्न लागेको हो । गत शुक्रबार व्यवसायीले एकपक्षीय हल खुलाएपनि पुराना फिल्म मात्र रि–रिलिज भैरहेका थिए ।

    फिल्म समिक्षकबाट मिश्रित समिक्षा प्राप्त गरेको यो फिल्मलाई अन्तराष्ट्रिय बजारमा चाहिँ सोनी पिक्चर्सले वितरण गरेको छ । एप्पलका रुबेन श्रेष्ठका अनुसार शुक्रबार नेपाली मल्टिप्लेक्समा फिल्म रिलिज हुनेछ । क्रिटिक्सले यो फिल्मले भिजुअल इफेक्ट्स र एक्सन दृश्यलाई निकै रुचाएका छन् । पल एन्डर्सनले निर्देशन गरेको यो फिल्म क्यापकमको भिडियो गेम सिरिजमा आधारित फिल्म हो ।

    मिला जोभोभिकसहित फिल्माम थाइल्यान्डका मार्सल आर्ट्स स्टार टोनी जा, अमेरिकी र्‍यापर टीआइ ह्यारिस मुख्य भूमिकामा छन् । लकडाउनअघि रिलिज तयारीमा रहेको डिज्नेको मुलान चाहिँ निश्चित छैन । तत्काल भारतीय फिल्म रिलिज हुने तय छैन ।

    माघ १ गते शिव श्रेष्ठको ‘यस्तो एउटा प्रेम कहानी’ लाग्दैछ । फिल्म हल खुलेपनि प्रदर्शकलाई नयाँ फिल्म चलाउन हम्मे भैरहेको छ । तत्काल ठूलो लगानीमा फिल्म ल्याउँदा रिकभर हुने वा नहुने अन्यौलले गर्दा प्रदर्शक दोधारमा देखिन्छन् । नयाँ रिलिज गर्दा हलमा दर्शक आउने हुन् वा नहुने भन्ने निश्चित छैन । यस्तो बेला, माहौल बनाउन नयाँ फिल्म रिलिज गर्नुपर्ने बाध्यता छ ।

  • पोखरामा फिल्म सुटिङ र प्रदर्शन खुला गर्ने निर्णय, जिफानले ल्यायो राहत प्याकेज

    पोखरामा फिल्म सुटिङ र प्रदर्शन खुला गर्ने निर्णय, जिफानले ल्यायो राहत प्याकेज

    पोखरा –गुरुङ फिल्म एसोसिएसन (जिफान)ले फिल्म प्रदर्शन र छायांकन खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको जिफान बैठकले दस महिनादेखि रोकिएका फिल्म गतिविधिलाई खुला गर्ने निर्णय गरेको हो । जिफानलाई नेपाली भाषाको फिल्मपछि ठूलो बजार मानिन्छ ।

    नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष भोजबहादुर गुरुङले सुटिङ र स्क्रिनिङ खुला भएको जनाउँदै फिल्म बनाउनेलाई प्रोत्साहित गर्न राहत प्याकेज पनि ल्याइएको बताए । ‘अब सिनेमा घरमै गुरुङ फिल्म प्रदर्शन हुन्छन्’ उनले भने, ‘अबको मुख्य प्रतिस्पर्धा नेपाली फिल्मसँग हुनेछ । अब हामीले फिल्म निर्माणमा गुरुङ समुदाय र संस्कृतिको सौन्दर्य शाष्त्र उत्खनन गर्नेछौं ।’

    ‘कोभिड अगाडि हामी बलिउड स्टोरी टेलिङबाट प्रभावित थियौं । अब भने गुरुङको मौलिक मूल्य र सौन्दर्यको खोजी गर्नेछौं ।’

    जिफानले फिल्म निर्मातालाई १०–१० हजार दरले राहत दिने निर्णय पनि गरेको छ । ३ फिल्म छायांकनमा जाने तयारीमा छन् भने पाँच फिल्म रिलिज तयारीमा छन् । लकडाउनका कारण करोडभन्दा बढीको रकम फसिरहेको जिफानको तथ्यांकमा उल्लेख छ । ‘कोभिड अगाडि हामी बलिउड स्टोरी टेलिङबाट प्रभावित थियौं । अब भने गुरुङको मौलिक मूल्य र सौन्दर्यको खोजी गर्नेछौं ।’ गुरुङ फिल्मलाई अब च्यारिटी शैलीमा नभएर १४ दिनको अन्तरमा रिलिज गर्ने उनले जनाए । यसका लागि जिफानले मिडटाउन सिनेमाज् मल्टिप्लेक्ससँग सहकार्य गर्ने भएको छ ।

    यसैको तयारीस्वरुप शनिबार पोखरामा ‘ङ्हेल्स्यो’ फिल्म प्रदर्शन गरियो । ४ सय जना दर्शकले फिल्म हेरेको र दर्शक फिल्म हेर्न आतुर छन् भन्ने सन्देश यसले प्रवाह गरेको अध्यक्ष गुरुङले बताए । कोभिड–१९ मापदण्डलाई पालना गरेर फिल्म प्रदर्शन र छायांकनलाई अगाडि बढाउने जिफान बैठकको निष्कर्ष छ । ‘शनिबार नौ महिनापछि फिल्म देखाउँदाको दर्शकीय उपस्थितीले हामीलाई ढुक्क बनाएको छ’ गुरुङले भने, ‘अब फिल्म गतिविधिलाई स्वास्थ्य सतर्कताको साथ अगाडि बढाउनेछौं ।’

    मिडटाउन सिनेमाज् मल्टिप्लेक्सले भारी छुटमा गुरुङ फिल्मलाई हलमा देखाउने तयारी गरेको छ । हल प्रमुख उत्तम द्धाले गुरुङ फिल्मलाई ३० प्रतिशत छुटमा प्रदर्शन गर्न लागिएको बताए । ‘यतिबेला हामी पैसा कमाउनेभन्दा पनि फिल्मको माहौल बनाउने काममा केन्द्रित हुन्छौं’ द्धाले नेपाल प्रेससँग भने, ‘पोखरेली संस्कृति र पर्यटनमा गुरुङ फिल्मको योगदानप्रति हामी सँधै आभारी छौं ।’

    जिफानले तत्काले अन्तराष्ट्रिय बजारको विकल्पमा आन्तरिक बजारको खोजी गर्ने निर्णय समेत गरेको छ ।

  • हलिउडमा हाइप्रोफाइल डिभोर्स : किम कार्दासियन र केनी वेस्ट अलग

    हलिउडमा हाइप्रोफाइल डिभोर्स : किम कार्दासियन र केनी वेस्ट अलग

    लस एन्जल्स– सातवर्षको वैवाहिक सम्बन्धपछि हलिउड सेलेव्रिटी किम कार्दासियन र पति केनी वेस्ट अलग हुने बाटोमा छन् । टीएमजेड म्यागजिनका अनुसार सम्बन्ध विच्छेदको प्रक्रिया सुरु भैसकेको छ । ४० वर्षे अभिनेत्री कार्दासिन र उनका र्‍यापर पति वेस्टले सन् २०१४ मा विहे गरेका थिए ।

    किमले वकिलसँग सम्पर्क गरिरहेकी छन् । डिभोर्सको मामिलामा चर्चित उनकी वकिल लाउरा वासेरले किमको मुद्दालाई अघि बढाउनेछिन् । तर, दुबैजनाले डिभोर्स हुने खबरबारे मौनता साँधिरहेका छन् । गत जुलाइमा नै किमले वकिललाई भेटेर डिभोर्स प्रक्रिया अघि बढाउन बुझिएको छ । यी दुई चर्चित सेलेव्रिटीको यो खबरलाई लिएर हलिउड तरंगित छ ।

    यी दुबैजना केही महिनादेखि अलग बसिरहेका छन् । वेस्ट वास्तविक जीवन नजिइरहेको र आफूसँग झूठो बोलिरहेको आरोप किमको छ । ‘आफ्नो परिवारको बारेमा भए नभएको बोलेको र कठिन घडीमा साथ नदिएको आरोप किमको छ’ स्रोतले भन्यो, ‘चाँडै मुद्दाको फैसला हुनेछ र प्याचअप हुने सम्भावना पनि छैन । सन् २०२० मा केनी वेस्ट मोन्टानामा थिए भने कार्दासियन लस एन्जल्समा बसेकी थिइन् ।

    आफ्ना बच्चाको भविष्य सोचेर नै आफूले डिभार्सको प्रक्रिया अघि बढाएको किमको भनाई छ । अहिले किम र वेस्टबाट चार सन्तान छन् । सन् २०२० देखि उनीहरु अलग बस्दै आएका थिए र गत सेप्टेम्बरमा ठूलै झगडा परेको थियो । लगत्तै वकिलसँग वैवाहिक परामर्श लिएका थिए । यी दुईबीच डिभोर्सको खबर चाहिँ केही महिना पहिले वेस्टले आफू २०२० को राष्ट्रपतिय चुनावमा उठ्ने घोषणाको बेला उठेको थियो ।

  • ग्लोबल टीकटक स्टार नेपालको मानसिक स्वास्थ्यमाथि काम गर्न चाहन्छन्

    ग्लोबल टीकटक स्टार नेपालको मानसिक स्वास्थ्यमाथि काम गर्न चाहन्छन्

    भाग्यमानीको भुतै कमारो । यो नेपाली उखान अभिनव बस्ताकोटीको जीवनमा लागु हुन्छ । बीसवर्षे यी किशोरलाई के थाहा –१५ सेकेन्डको भिडियो अनलाइन पोस्ट गर्दा एकरातमै विश्व स्टार हुन्छु भन्ने कुरा । आखिर भैदियो पनि यस्तै । धन्यवाद –चिनियाँ भिडियो साझेदारी एप टीकटकलाई ।

    ‘कुर्तिस वाटर्स’ नामले विश्व चर्चित यी ठिटा अहिले हलिउड स्टार भैसके । काठमाडौंमा जन्मिएका, क्यानडामा हुर्किएका र अमेरिका नर्थ क्यारोलिनामा स्टार भएका उनका लागि भाग्य दाहिना भयो । उनलाई टीकटकमा पछ्याउनेको संख्या एकलाख छ । १५ सेकेन्डको उनको टीकटक भिडियो ‘स्टनिङ’ले उनको भाग्य खुलाइदियो । रोलिङ स्टोन, बिलबोर्ड र गार्जियनले यी तन्नेरीमाथि स्टोरी लेखेका छन् । स्फटिफाइ र युट्युवमा उनलाई फलो गर्नेको संख्या पनि उच्च छ ।

    ‘मेरा लागि यो स्वैरकाल्पनिक कुरा हो । सपनाजस्तै लागिरहेछ’ नेपाल प्रेससँग क्यानडाबाट कुरा गर्दै उनले भने, ‘तर, नेपाली अभिभावक हुनुको नाताले मेरा प्यारेन्टस् सँधै राम्रो पढोस भन्ने चाहन्थे । उनीहरुले संगीतप्रति मेरो रुचि बुझ्नुभएन । एउटा कोठामा मेरो संगीतप्रतिको प्यासन हुर्कियो ।’ हलिउड म्यागजिन रोलिङ स्टोनले त कुर्तिस वाटर्सलाई ठूला स्टुडियोले आफ्नो लेभलमा गीत गाउन आग्रह गरिरहेको लेखेको छ ।

    तर, अभिनवलाई लेभल संगीतमा गीत गाउन कुनै रुचि छैन । उनी आफ्नै लेभल सिर्जना गर्ने पक्षमा छन् । विश्व संगीतका ठूला नामहरु फ्रांक ओसन, आयन कुर्तिस र केनी वेस्टबाट प्रभावित उनीको ‘स्टनिङ’ चाहिँ निकै हिट गीत हो जहाँ हार्म फ्रयांकलिन फिचर्ड छन् । उनको डेब्यु एल्बम ‘पिटी पार्टी’ चाहिँ सन् २०२० अक्टोबरमा रिलिज भएको थियो । गत डिसेम्बरमा रोलिङ स्टोन म्यागजिनले उनलाई २५ नयाँ उदाउँदा स्टारको तेस्रो सूचिमा समेटेको थियो । यो सूचिपछि उनी ओभरनाइट स्टार भए ।

    ग्लोबल सेलेव्रिटी भैसकेका अभिनव नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न चाहन्छन् । आफू पनि कुनैबेला मेन्टल हेल्थसँग संघर्ष गरिरहेको बताउने उनले नेपालको मानसिक स्वास्थ्यको अवस्था सुधान आफूले काम गर्ने बताए । १० वर्षको उमेरमा परिवारसँग क्यानडा पुगेका उनी नेपाली भाषा सिक्न चाहन्छन् र करियर नेपालको लागि अघि बढाउन चाहन्छन् । ‘मेरो मन, माया र ध्यान सँधै नेपालको हितमा हुन्छ’ उनले सुनाए ।

    सफलताप्रति उनको आफ्नै व्याख्या छ । ‘अब विश्व संगीत उद्योगमा कुनैपनि गेटकिपर छैनन् । यदि तिमीले राम्रो संगीत बनायौं र अल्गोरिदमको प्रवृत्तिलाई बुझ्न थाल्यौ भने बुझ तिमी सफलतातिर गैरहेका छौ’ उनले भने ।

  • कोरोना महामारीका कारण ग्रामी अवार्ड ३ महिना सारियाे

    कोरोना महामारीका कारण ग्रामी अवार्ड ३ महिना सारियाे

    एजेन्सी । सन् २०२१ को ग्रामी अवार्ड कोरोना महामारीका कारण तीन महिना सारिएको छ । संगीत क्षेत्रमा विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्डको ६३ औं संस्करण जनवरी ३१ मा आयोजना हुँदै थियो ।

    क्यालिफोर्निया राज्य र लस एन्जलस शहरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि यो अवार्ड मार्च १४ सम्मका लागि सारिएको आयोजकले जानकारी दिएको छ ।

    बेयोन्से, टेलर सिफ्ट, डुवा लिपा लगायतका संगीतकर्मीहरु यस वर्षको अवार्डका लागि मनोनयनमा परेका छन् । नोभेम्बरमा मनोनयन सार्वजनिक गरिएको हो ।

    हाम्रो संगीत समुदाय र अवार्ड सफल पार्न सहयोग गर्ने सयौं मानिसको स्वास्थ्य सुरक्षाभन्दा ठूलो कुरा केहि पनि होइन,’ अवार्ड आयोजक नेशनल एकेडेमी अफ रेकर्डिङ आर्ट एण्ड साइन्सेजको वक्तव्यमा भनिएको छ ।

    अवार्ड कार्यक्रमको सन्चालन हास्य कलाकार ट्रेभोर नोहले गर्ने भनिए पनि उनी यो वर्षको समारोहको सदस्य हुने नहुने प्रष्ट भइसकेको छैन ।

    समाचार संस्था एएफपीलाई उदृत गरी बीबीसीले जनाएअनुसार अवार्ड समारोह अघिल्लो वर्षको तुलनामा फरक हुनेछ, अर्थात सेमी भर्चुअल हुनेछ । तर यसबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

  • सागर राजको म्युजिक भिडियो ‘बरालिदै हिँडे’ रिलिज (भिडियो)

    सागर राजको म्युजिक भिडियो ‘बरालिदै हिँडे’ रिलिज (भिडियो)

    तिम्रो आँगनमा म त बरालिँदै हिँडे साइँली
    तिम्रो बाटो मैले मातिँदै छेके साइँली
    नरिसाउन ढल्के यौवन तिमीलाई कुर्दा कुर्दै
    तिम्रो आँगनमा म त बरालिँदै हिँडे साइँली…

    सुशिल चालिसेले निर्देशन गरेको ‘बरालिँदै हिँडे’ टाइटल गीतको म्युजिक भिडियो इन्टरनेट रिलिज भएको छ । सुनोद श्रेष्ठको कन्सेप्ट र निर्माण रहेको भिडियोमा सुनोदसहित एन्जी मुल्मी श्रेष्ठको अभिनय छ । आकर्षक लोकेसनमा छायांकन गरिएको गीतमा सुजना भारती, वर्षा तिलिजा पुन, प्रशान्त श्रेष्ठ र विशाल परियारले समेत नृत्य गरेका छन् ।

    गीतलाई युट्युव, स्पटीफाइ, अमेजन म्युजिक, एप्पल, जियो साबन लगायतका ओटीटी प्लेटफर्ममा एकसाथ लन्च गरिएको छ । सागर राजको शब्द एवं संगीत रहेको गीतमा समीक सापकोटाको एरेन्ज छ । रुविन श्रेष्ठको बाँसुरी, प्रदीप जोशीको ब्याकग्राउन्ड स्कोर छ । आजसम्म गीतलाई २ लाखभन्दा बढीले युट्युवमा हेरेका छन् । हेर्नूस भिडियो :

    https://www.youtube.com/watch?v=cQ87pvJ6r2k&feature=em-share_video_user&fbclid=IwAR1FfXhCXVcLiYROrP9kcGj9kChRY_qzdOHurUi8NSq1QfJKhDcqh4NmDxY

  • शिव श्रेष्ठ भन्छन् : ४० वर्षदेखिको दर्शकको मायाले फिल्म चलाउन रिस्क लिएँ

    शिव श्रेष्ठ भन्छन् : ४० वर्षदेखिको दर्शकको मायाले फिल्म चलाउन रिस्क लिएँ

    अभिनेता एवं निर्माता शिव श्रेष्ठले व्यवसायिक जोखिमको बाबजुद पनि माघ १ गते होमप्रोडक्सन फिल्म रिलिज गर्न लागेको बताएका छन् । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को टाइटल गीत लन्च गर्न आयोजित प्रेसमिटमा उनले ४० वर्षदेखि प्राप्त गरेको दर्शकको मायाले आफूले रिलिजको रिस्क लिएको बताए ।

    कोरोनाभाइरस महामारीकै मध्यमा फिल्म प्रदर्शन हुन लागेको हो । शिवले निर्माण गरेको यो फिल्म लकडाउनपछि रिलिज हुन लागेको पहिलो फिल्म बनेको छ । गत चैत ११ गते लकडाउन भएको थियो ।

    विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको गीतमा कविता मानन्धर र शक्ति श्रेष्ठ फिचर्ड छन् । बसन्त सापकोटाले संगीत भरेका छन् । प्रेसमिटमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघ अध्यक्ष रविन्द्र खड्का र चलचित्र संघ अध्यक्ष मधुसुधन प्रधानले कठिन समयमा पनि फिल्म रिलिज गर्न लागेकोमा श्रेष्ठलाई हौसला प्रदान गरे ।

    रोमान्टिक–एक्सन ड्रामामा शिवसहित प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतको अभिनय छ । यही फिल्मबाट करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्ति अभिनयमा डेब्यु गर्दैछन् । दिपेश सापकोटाले फिल्म निर्देशन गरेका हुन् ।

    सरकारले अनुमति नदिएपनि व्यवसायीले एकपक्षीय रुपमा हल चलाइरहेका छन् । विज्ञहरुले चाहिँ तत्काल हल नखोल्न सुझाएका छन् । यसवर्ष रिलिज हुने फिल्मलाई प्रोत्साहनका लागि चलचित्र विकास बोर्डले राहतस्वरुप ५ लाख प्रदान गर्ने जनाएको छ ।

    https://www.youtube.com/watch?v=vA-sa3pdT3w&feature=emb_title

  • ‘मनसँग मन’ छायांकनमा पल र पूजाको रोमान्स (फोटो फिचर)

    ‘मनसँग मन’ छायांकनमा पल र पूजाको रोमान्स (फोटो फिचर)

    कोरोनाले थलिएको नेपाली फिल्म लयमा फर्कन थालेको छ । सरकारले छायांकन फुकुवा गरेसगै फिल्म सुटिङमा जान थालेका छन् । लकडाउन अगाडि नै छायांकन सुरु गरिएपनि रोकिएको फिल्म ‘मनसँग मन’को एक गीतको छायांकन काठमाण्डौमा गरिएको छ ।

    बालाजु चलचित्र विकास कम्पनीको परिसरमा सेट लगाएर फिल्ममा समावेश ‘मेरो त भाग्य’ बोलको गीतको छायांकन गरिएको हो । गीतमा डेभिड शंकर र भावना राइको स्वर, दीपक शर्माको संगीत तथा विपिन किरणको शब्द छ ।

     

    भिडियोमा मुख्य कलाकार पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धी तामाङलाई फिचर्ड गरिएको छ । गीतमा पल शाह र पूजा शर्माको साथमा हाँस्य कलाकार रविन्द्र झा अतिथिको भूमिकामा देखिँदैछन्। कैलाश राइको निर्देशनमा तयार भएको फिल्ममा सौरभ लामाको छायांकन, अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन, सन्तोष खवासको एक्सन छ ।

    लोकलयमा आधारित गीतमा गेस्ट कलाकारको रुपमा काम गर्नुको कारण खुलाउँदै शाहले भने–‘गीत पनि निकै राम्रो छ । यतिबेला हामीले एक अर्कालाई सहयोग गर्ने बेला छ । यसैले पनि मैले काम गरेको हुँ । साथमा, टिमसँग यसअघि पनि काम गरेकाले जोडिएको हुँ ।’

    अभिनेत्री शर्माले पनि फिल्मलाई सहयोग पुगोस भनेर टीमअप गरेको बताइन् । फिल्मको नाम परिवर्तन भएपनि कथावस्तु परिवर्तन नभएको निर्देशक कैलाश राइले बताए । सुरुमा यो चलचित्रको नाम ‘चालबाज’ राखिएको थियो । अहिले नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो ।अभिनेता खड्का र अभिनेत्री सिवाकोटीले कथावस्तु राम्रो रहेको प्रतिक्रिया दिए ।

    छायांकन भैरहेको गीतको बारेमा कोरियोग्राफर रामजी लामिछाने भन्छन्– ‘लोकलयको गीतमा हामीले सेट लगाएर काम गरिरहेका छौ । आशा छ, दर्शकले मन पराउनुहुनेछ ।’ प्रदर्शन मिति भने तय गरिएको छैन ।

  • राष्ट्रवादी नेपाली एकजुट होऔं : मनिषा कोइराला

    राष्ट्रवादी नेपाली एकजुट होऔं : मनिषा कोइराला

    अभिनेत्री मनिषा कोइरालाले सबै राष्ट्रवादी नेपालीलाई एकताबद्ध हुन आह्वान गरेकी छन् । इतिहास र संस्कृतिलाई बिर्सने काम भएको भन्दै उनले पुस २७ गते २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन पनि आग्रह गरेकी छन् ।

    पृथ्वी जयन्ती मनाउनेबारे मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा कोइरालाले पृथ्वीनारायण शाह राष्ट्र निर्माता भएको कारण नेपालीको पहिचान जोगिएको बताइन् । लिम्पियाधुरा नेपाली भूभाग भएको अभिव्यक्तिको विरोधमा भारतीय मिडिया आफूविरुद्ध उत्रिएको बारे मनिषाले केही बोलिनन् ।

    संक्षिप्त मन्तव्यमा उनले पृथ्वीनारायण शाहको आदर्शलाई ख्याल गर्न नेपाली नागरिकलाई आग्रह गरिन् । शुरुदेखि नै राजसंस्थाको पक्षमा लागेकी मनिषाले पछिल्लो समय कालापानी र लिम्पियाधुरा नेपाली भूभाग भएको भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

    पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल, पूर्व डीआईजी रमेश खरेल, माले नेता सीपी मैनाली लगायतले अहिलेका शासकले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सिएर इतिहासलाई अपमान गरेको आरोप लगाए । मैनालीले इतिहास र संस्कृतिमाथि आक्रमण भएको भन्दै आफ्नो पार्टी नेकपा माले पृथ्वी जयन्ती मनाउने सन्दर्भमा एक भएको बताए ।

    उक्त अवसरमा विभिन्न पेशागत क्षेत्र र विचारका वक्ताहरुले पृथ्वीनारायण शाह र उनको योगदानको चर्चा गरे । आगामी पुस २७ गते रत्नपार्कमा भेला भएर पृथ्वी जयन्ती मनाइने भएको छ । सो दिन राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा दिन समेत आयोजकले माग गरेको छ ।

  • तत्काल फिल्म हल नखोल्न विज्ञको सुझाव, दोस्रो तरंगको चेतावनी

    तत्काल फिल्म हल नखोल्न विज्ञको सुझाव, दोस्रो तरंगको चेतावनी

    तत्काल फिल्म हल र विद्यालय नखोल्न विज्ञले सुझाव दिएका छन् । नयाँ प्रजातिको कोरोनाभाइरस छिमेकी देशमा देखिएको र संक्रमणको जोखिम नघटेकाले तत्काल हल खोल्दा दोस्रो तरंग आउन सक्ने चेतावनी उनीहरुको छ ।

    कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले फिल्म हल खोल्न मन्त्रिपरिषद्मा सिफारिस गरेपछि विज्ञले तत्काल हल खोल्न जोखिमपूर्ण हुने चेतावनी दिएका हुन् । राजनीतिक दलको जुलुस, क्लब र बजारमा भएको भीडलाई पनि नियन्त्रण गर्न उनीहरुको सुझाव छ ।

    तर, सीसीएमसी प्रवक्ता महेन्द्रप्रसाद गुरागाइँले चाहिँ फिल्म हल र स्कुल हल खोल्ने निर्णय नभैसकेको बताए । ‘हामीले कुनै क्षेत्र खोल्ने निर्णय गरेका छैनौं तर, खोल्ने वा बन्दै गर्ने भन्नेबारे मन्त्रिपरिषद्मा छलफल गराउने कुरा भएको छ’ उनले भने, ‘संक्रमण संख्या घटेकाले हामीले खोल्नुपर्छ भनेर मन्त्रिपरिषद्मा छलफलका लागि लैजान लागेका हौं ।’

    जनस्वास्थ्यविद्ले चाहिँ सबै क्षेत्र खुलाउने सरकारी तयारीमा प्रश्न गर्दै त्यसो नगर्न सुझाएका छन् । जनस्वास्थ्यविद् डा. केशव देउवाले ठूलो भीडभाड नगर्न भन्ने मान्छेले नै सामाजिक दूरी पालना नगरेको बताए । टेकु अस्पताल प्रमुख डा. सागर राजभण्डारीले पनि संक्रमण घटेजस्तो देखिएपनि जोखिम चाहिँ नघटेको बताए ।

    नयाँ प्रजातिको भाइरस पुरानो भन्दा खतरनाक र संक्रमित रहेको भन्दै उनले सरकारी अधिकारीले सचेततापूर्वक नियम लागु गर्नुपर्ने बताए । डा. देउवाले चाहिँ देश कोरोनाभाइरस मुक्त नभैसकेकाले यसलाई हल्कारुपमा नलिन आग्रह गरे । सरकारले आधिकारिकरुपमा निर्णय नभैसकेपनि व्यवसायीले एकपक्षीय रुपमा हल संचालनमा ल्याएका छन् ।

  • नेपाली र्‍यापर लाउरेको कन्सर्टमा भागदौड, दुई जनाको मृत्यु

    नेपाली र्‍यापर लाउरेको कन्सर्टमा भागदौड, दुई जनाको मृत्यु

    भारतको पश्चिम बंगालस्थित कालेबुङ मैदानमा आयोजना भएको नेपाली चर्चित र्‍यापर आशिष राना लाउरेको कन्सर्टमा भागदौड हुँदा दुई जनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएका छन् । गेटमा भीड हुँदा भागाभाग भएपछि लडेर त्यही भीडले कुल्चिँदा एक महिलाको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ । भागदौडमा ३९ वर्षीया विनिता गुरुङ र ४६ वर्षीया अनिता क्षेत्रीको मृत्यु भएको छ ।

    म्याड डग नामक संस्थाले आयोजना गरेको कन्सर्टमा नेपाली अभिनेता एवं र्‍यापर लाउरेले प्रस्तुति दिएका थिए । प्रहरीका अनुसार लाउरेले गाइसकेपछि एक्कासी कन्सर्टको प्रवेशद्धारा खोलिंदा धेरै मानिस सिंढीमा लडेका थिए । घाइतेलाई कालेबुङ अस्पतालमा उपचारार्थ लगिएको थियो । घाइतेमध्ये अमिता सुब्बा र मिक्सम तामाङको गम्भीर अवस्थामा सिलुगढी अस्पतालमा उपचार भैरहेको छ ।

    प्रतीक्षा क्षेत्री, एलिसा राई र परिमा राईको कालेबुङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घटनालाई लिएर सांसद राजु विष्ट र चर्चित गायक विपुल क्षेत्रीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनीहरुले घटनाको छानबिन गर्न पनि माग गरेका छन् । सांसद विष्टले प्रहरीले लाठीचार्ज गर्दा भागदौड मच्चिएको उल्लेख गर्दै घटनामा प्रहरी दोषी देखिएको भनेका छन् ।

    सांसद विष्टले पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीलाई पत्र लेख्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । पत्रमा उनले कोभिड प्रोटोकल उल्लंघन गर्दै प्रशासनले सांगीतिक कार्यक्रमका लागि अनुमति दिएको आरोप समेत लगाए । घाइतेहरुको निःशुल्क उपचार गर्न माग गरिएको छ ।

  • ‘हीरामण्डी’मा मनिषा कोइरालालाई लिने तयारीमा भन्साली

    ‘हीरामण्डी’मा मनिषा कोइरालालाई लिने तयारीमा भन्साली

    संजयलीला भन्सालीले निर्माण गर्न लागेको वर्ष २०२१ को फिल्म ‘हीरा मण्डी’लाई बहुप्रतीक्षित मानिएको छ । फिल्मको लिड लेडीमा बलिउड डिभा आलिया भाट हुने कन्फर्म छ । भन्साली यो फिल्मलाई नेटफिल्क्समार्फत रिलिज गर्न चाहन्छन् । तर, रिलिज प्लेटफर्मबारे टुंगो लागिसकेको छैन ।

    प्रोजेक्टबारे नयाँ खबर छ । भन्सालीले अन्य अभिनेत्रीसँग कास्टिङका लागि सम्पर्क गरिरहेका छन् । तीमध्ये एक हुन् – मनिषा कोइराला । मनिषासहित ऐश्वर्या राय बच्चन, दीपिका पादुकोण, माधुरी दीक्षित, विद्या बालन र परणीति चोपडालाई लिने छलफल भैरहेको छ । बलिउडका अग्रणी वेब पोर्टलले मनिषाको सम्भावित कास्टिङलाई लिएर चर्चा गरिरहेका छन् ।

    कोइमोइले यि मध्ये कुनै एकलाई तय गर्ने मुडमा भन्साली रहेको लेखेको छ । बलिउड हंगामाले चाहिँ संजय स्वयमले कास्टिङ गरिरहेको लेखेको छ । फिल्मलाई संजयका पूर्व सहायक विभु पुरीले निर्देशन गर्दैछन् । तर, पर्दा पछाडि रहेर भन्सालीले यो फिल्मलाई सहयोग गर्नेछन् ।

    हीरा मण्डी लाहौरको एक यौन बजारमा लुकेको संस्कृतिमा आधारित हुनेछ । त्यहाँ बस्ने एक महिला र कामको लागि ती महिलाले अन्यसँग राख्ने यौन सम्पर्क फिल्मको कथावस्तु हो । भन्साली प्रोडक्सनकी सीइओ प्रेरणा सिंह फिल्मको संयुक्त लगानीबारे नेटफिल्क्ससँग छलफल गरिरहेकी छन् । आफैले निर्देशन नगरेपनि फिल्ममा भन्सालीले आफ्ना अघिल्लाजस्तै महंगा प्रप्स र कस्ट्युम प्रयोग गर्नेछन् ।

    अहिले भन्साली आलिया भाटको लिड भूमिका रहेको गांगुलीबाइ काठिवाडीमा व्यस्त छन् । भन्सालीको अघिल्लो फिल्म ‘पद्मावत’ अभिनेता जिम सारव समेत यसको मुख्य भूमिकामा छन् । अभिनेत्री मनिषा कोइराला भने अहिले काठमाडौंमा छिन् । लकडाउनकै समयमा काठमाडौं आइपुगेकी उनी आफ्नो परिवारसँग बसिरहेकी छन् । उनले यसै महिना एउटा भजन गायन पनि रेकर्ड गरिन् ।

  • कसरी हलिउडले सगरमाथामाथि फिल्म खिच्यो ?

    कसरी हलिउडले सगरमाथामाथि फिल्म खिच्यो ?

    नेपाल र चीन सरकारले यसै महिना सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरे । हलिउड सहित विश्व फिल्मका ठूला नामहरु ८,८४८ मिटर उचाइको यो हिमालमा फिल्म सुटिङका लागि लालयित हुने गर्छन् । हलिउडको थ्रीडी फिल्म ‘एभरेस्ट’ केही वर्ष पहिले छायांकन भयो । सेलेना गोमेजको मुन पिक्चर्सले एउटा बायोपिक फिल्म एभरेस्टमा छायांकन गर्ने तयारी गरिरहेको छ ।

    ‘एभरेस्ट’ फिल्मको क्रु नै काठमाडौंमा आइपुगेको थियो । यस फिल्मका सिनेम्याटोग्राफर साल्भाटोर टाटिनोले सगरमाथामा फिल्मांकनलाई मृत्युसँगको पैठेजोरी भएको टिप्पणी गरेका छन् । हलिउड रिपोर्टर म्यागजिनले साल्भाटोरले एभरेस्ट कसरी खिचे भनेर संस्मरण छापेको छ ।

    ‘काठमाडौंमा फिल्म सुटिङ गरेर हामी लुक्ला उड्यौं । संसारको एउटा खतरनाक एयरपोर्टमध्ये एउटा’ टाटिनोले भने, ‘लुक्लामा सुट गरेर हामी डेढघण्टा टाढाको एउटा झोलुंगे पुल खिच्न पुग्यौं । त्यसपछि १२ सय फिटको नाम्चे बजार र ताङ्बोचेको एउटा मन्दिरमा खिच्यौं । अनि त्यसपछि हेलिकोप्टरबाट १५ सय फिटको उचाइमा गयौं जहाँबाट हिमाल चढ्न सकिन्छ ।’

    बाल्टासार कोर्माकुरले निर्देशित फिल्मले हिमआँधीमा परेर ८ जना सगरमाथा आरोहीको मृत्यु भएको घटनालाई चित्रण गर्छ । दा भिन्ची कोड, फ्रस्ट निक्सोन, कन्कसन फिल्म समेत खिचेका टाटिनोले एरी एलेक्साको एक्सटी क्यामेराबाट फिल्म सुट गरेका थिए । एरिर फम्र्याटमा फिल्म खिचिएको थियो ।

    निर्माणको काम चाहिँ निकै चुनौतिपूर्ण थियो । ‘यो शारीरिक जोखिमपूर्ण थियो । त्यहाँको मौसमसँग एकाकार नभइकन उचाइमा फिल्न खिच्नु निकै कठिन । यतिबेला सबैलाई सास फेर्न गाह्रो हुन्छ र शरिर डिहाइड्रेट हुन्छ’ सगरमाथा वरपरका अन्य हिमालमा समेत खिच्दा कठिनाइ भएको स्मरण गर्दै टाटिनो भन्छन्, ‘हामीलाई मान्छे र उपकरण ओसार्नु थियो । हामीसँग समय कम थियो । हामीसँग ७५ जना शेर्पाको टोली थियो । खच्चर र याकको क्याराभानसँगै चार ठूला उपकरण बोक्नुपर्ने थियो ।’

    ‘हामीलाई एउटा निश्चित थलोमा लगिएको थियो जहाँबाट उपकरण बोकेर हिँड्नुपर्ने थियो । त्यहाँबाट सगरमाथाको फिल्म सुट गर्ने थलोमा पुग्नुपर्ने । चार फिट हिउँमाथिको एउटा साँघुरो स्लोपमा रहेर खिच्नुपर्ने तरिकाले डोरीले हामीलाई बाँधिएको थियो । हिँउ तलको चट्टान चाहिँ निकै कमजोर ।’

    ‘त्यहाँ यस्तो समय थियो डोरीमा झुन्डिएर एउटा चट्टानबाट अर्कोमा पुग्नुपर्ने’ टाटिनो भन्छन्, ‘म केही हिउँका ठूला चट्टानमाथि चढेँ जहाँबाट गजबको दृश्य सुट गर्न सकिन्थ्यो । म क्यामेरा बोकेरै चट्टानमा उक्लिएँ र दृश्य लिएँ । कलाकारले पनि त्यसै गरे । त्यो निकै कठिन थियो र रमाइलो पनि । फिल्म सुट गर्नु अगाडि रेविज भ्याक्सिन र लेक नलाग्ने डाइमक्स औषधी लिएर सुरक्षाको तयारी थियो’ टाटिनोले सम्झिए ।

    लुक्लामा एउटा लोकेसन खोजीको क्रम सम्झँदै टाटिनोले भने, ‘बेसबलको ब्याट मेरो टाउकोमा खसेजस्तै भयो । त्यस्तो किसिमले टाउको कहिल्यै दुखेको थिएन मेरो । फिल्म सुट गर्दा मैले डायमक्स औषधी लिएँ । म मौका लिन चाहन्न ।’ सगरमाथाका कतिपय दृश्य चाहिँ, खासगरि क्याम्प ३ भन्दा माथिको आइसफलका दृश्य चाहिँ १० हजार फिट उचाइको इटालीस्थित भल सेनल्समा खिचियो । अनि टीम स्टुडियोतिर लाग्यो ।

    सगरमाथाको हिलारी स्टेप, क्याम्प ४ को आइसफल चाहिँ जेम्स बन्डको लन्डनस्थित पाउनउड स्टुडियोमा सीजीआइ ब्याकग्राउन्डमा खिचिएको थियो । ‘यो निकै चुनौतिपूर्ण थियो किनभने हामीले सूर्यको दृश्यलाई रि–कम्पोज गर्नुपर्ने थियो किनभने एभरेस्बाट यो दृश्य निकै चहकिलो र सुख्खा देखिन्छ’ टाटिनो भन्छन्, ‘हिलारी स्टेप, चुचुरो र आइसफलबाट देखिने सूर्यको दृश्यलाई सफ्ट बनाउनुपर्ने थियो ।’

    ‘९ फिट लामो र डेढ मिटर आयतनका १ लाख वाटका बत्तीलाई क्रेनबाट लतारेर लैजानुपर्ने थियो किनभने निकै गह्रौं थिए ती’ उनले सम्झिए ।

    फिल्मांकनको बेला एक्सिपिडिसन गाइड रब हल (जेसन क्लार्क) आँधीले गर्दा हिमालमै अड्किएको क्षण टाटिनोले सम्झिए । हामीले गह्रुँगा प्लास्टिक जम्मा गरेर सेट बनायौं । यसको आकार नै ट्रकको आधाजस्तो थियो । अनि त्यो स्टेजलाई २८ डिग्री फरेनहाइटमा चिसायौं र वास्तविक हिउँ पनि राख्यौं । निर्देशक बाल्टासार एक्टर वास्तविकरुपमै चिसिएजस्तो देखिने तरिकाले लिन चाहन्थे ।’