Category: कलाप्रेस

  • ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक

    ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक

    काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ र नेपालका विभिन्न लोकेशन र भारतको गोवामा खिचिएको गीतमा अभिनेता सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ ।

    सिनेमाको निर्माण टिमले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरेको हो । पत्रकार भेटघाट कार्यक्रममा डेव्यु निर्देशक तथा अभिनेता सपुतले मानिष जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश ‘हेर्दै आँखामा’ गीतले दिने बताए । ‘वसन्त’मा समावेश गीतले सिनेमा अनुसार भए नभएको अहिले खासै अर्थ नराख्लान तर कुनै न कुुनै दिन पक्कै चर्चा हुने र त्यसको महत्त्व देखिने विश्वास व्यक्त गरे ।

    आइतबार सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र वसन्तले विभिन्न धर्म र संस्कार अनुसार विवाह गरेको देखाइएको छ । जसले सिनेमाको कथा र त्यसको मर्मलाई चित्रण गर्ने उनको भनाई छ । सार्वजनिक गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन् । सिनेमा निर्देशक समेत रहेका अभिनेता सपुतको नै शब्द रचना तथा संगीत अनि योगेश काजी शाहको संगीत संयोजन छ । सुशन प्रजापतिले खिचेको गीतमा केवीका खत्रीको कोरियोग्राफी र प्रवीन भट्टको सम्पादन छ ।

    चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

    गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

    गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।

     

  • ८ वर्षपछि चलचित्रको डबिङ गरेका हमाल भन्छन्- दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ

    ८ वर्षपछि चलचित्रको डबिङ गरेका हमाल भन्छन्- दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ

    काठमाडौं । अभिनेता राजेश हमालले कमब्याक गर्न लागेको चलचित्र ‘नरसिंहाः अवतार’को आइतबार डबिङसँगै सम्पूर्ण काम सकिएको छ । हमालले ८ वर्षपछि चलचित्रको लागि डबिङ गरेका हुन् ।

    चलचित्रलाई लिएर निकै आशावादी रहेका हमाल डबिङ सकिएपछि उत्साहित देखिन्थे । स्टुडियोबाट बाहिर निस्किँदै उनले भने, ‘दर्शकले मलाई यस पटक फरक अवतारमा देख्नुहुनेछ, दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ ।’

    चलचित्रका निर्देशक दिवाकर भट्टराईका अनुसार अबको केही दिनमा फिल्म तयार हुनेछ । चलचित्रको प्रदर्शन मितिसहितको फस्टलुक भोलि सार्वजनिक गर्ने निर्माण पक्षको तयारी छ ।

    चलचित्रमा राजेश हमालको साथमा सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजीवजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेललगायतका कलाकारहरुको अभिनय छ ।

    राजुविक्रम थापाले खिचेको चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन र शम्भुजित बास्कोटा तथा अर्जुन पोखरेलको संगीत छ ।

    दिवाकर भट्टराईकै लेखन रहेको चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको चलचित्रका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।

  • तीर्थ गुरुङको आख्यान ‘हिउँको गीत’ सार्वजनिक

    तीर्थ गुरुङको आख्यान ‘हिउँको गीत’ सार्वजनिक

    काठमाडौं । आख्यानकार, अनुवादक तथा समीक्षकको परिचय बनाएका तीर्थ गुरुङको नयाँ आख्यान ‘हिउँको गीत’ सार्वजनिक भएको छ । काठमाडौं कमलादीको प्रज्ञा डबलीमा पुस्तक सार्वजनिक गरिएको हो ।

    साढे ७०० वर्ष पुरानो कालखण्डको तमु गुरुङहरुको साझा राज्यबारेमा पुस्तकबारे आख्यानकार सुविन भट्टराई, कवि भूपीन, वीणा थिङ तामाङ र समाजशास्त्री गणेश गुरुङले चर्चा गरेको थिए ।

    भूपीनले आफूहरु कलेजमेट भएको भन्दै तीर्थ गुरुङ अध्ययनशील भएको बताए । बजारमा चर्चा नभएको, तर तीर्थ गुरुङले लेखेको एक अङ्ग्रेजीमा सामान्य ज्ञानको पुस्तक आएको उनले बताए । राम्रो अध्ययन गरेरै राम्रो पुस्तक आएको उनको भनाइ छ ।

    नेपालका स्टार आख्यानकार सुविन भट्टराईले आफूलाई सवा ४०० पेजको किताब सक्न तीन दिन लागे तापति यो किताब पढ्न एक हप्ता लागेको भन्दै किताबमा चुम्बकीय भाषा भएको बताए ।

    किताब ठूलो क्यानभासमा लेखिएको उनको भनाइ छ ।

    यस अगाडि आख्यान, अनुवाद र कथाका तीन पुस्तक ल्याइसकेका गुरुङको यो दोस्रो आख्यान हो । यस अगाडि उनले ‘पाठशाला’ नामक आख्यान ल्याएका थिए ।

  • स्वर्गीय संगीतकर्मी विक्रम राईलाई भ्वइस अफ नेपालको ट्रिब्युट

    स्वर्गीय संगीतकर्मी विक्रम राईलाई भ्वइस अफ नेपालको ट्रिब्युट

    काठमाडौं । भ्वइस अफ नेपालले स्वर्गीय गायक तथा संगीतकार विक्रम राईलाई सम्झिएको छ । राईलाई सम्झिँदै भ्वइस अफ नेपालले भनेको छ, ‘राईका हौवा हौ दर्शन नमस्ते, तिम्ले बाटो फेर्यौ अरे, उडीजाने वनचरीजस्ता गीतहरु सयभन्दा बढी गीतमा स्वय संगीत भरेका उनी अब्बल गायक, संगीतकार हुन् विक्रम राई ।’

    भ्वाइस अफ नेपाल सिजन ४ का टीम राजेशका एडभाइजर समेत थिए । राईले बोलेको त्यसवेलाको क्लिप पनि राखिएको छ । उक्त क्लिपमा राईले भनेका छन्, ‘गीत गाउनु मात्रै ठूलो कुरा नभएर गीत प्रस्तुत गर्नु पनि ठूलो कुरा हो ।’

    यससँगै राईको संगीत रहेको गीत मेलिना राईसँगै भ्वइसका प्रतिस्पर्धीले श्रद्धान्जली स्वरुप गाएका थिए । गाउँदा गाउँदै मेलिना भावुक समेत बनेकी थिइन् । ‘तिम्ले बाटो फेर्यौ अरे २’मा मेलिना स्वयंको स्वर रहेको छ ।

    ३१ वर्षीय गायक तथा संगीतकार राइको गत फागुन १७ गते हरसुङ्गा खाजाघरमा निधन भएको थियो । उनी अचानक अचेत भएपछि बागबजारस्थित मोडेल अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याउनसाथ राईलाई डक्टरहरुले मृत घोषित गरेका थिए ।

    सुरुवातमा राईको मृत्युलाई हृदयघात भएको आशंका गरिएको थियो । तर, उनलाई हृदयघात नभएको डक्टरहरुले बताएका थिए ।

    पारिवारिक स्रोतका अनुसार राईको पेट गनाएका कारण पोइजनसम्बन्धी केही हो कि भनेर अहिले नेपाल प्रहरी केन्द्रिय विधिविज्ञान प्रयोगशाला सामाखुसीमा अनुसन्धान भइरहेको छ । रिपोर्ट भने आइसकेको छैन ।

     

  • बुटवलमा अन्तर्राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिताको तयारी

    बुटवलमा अन्तर्राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिताको तयारी

    रुपन्देही । रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिताको तयारी गरिएको छ । प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ चैत २३ गतेदेखि सुरु हुने भएको छ ।

    प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक बिस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

    प्रतियोगितामा भाग लिने नेपाल तथा भारतीय आठ टीमको टुंगो लागेको उनले बताए । दर्शकलाई सहजताका लागि अस्थायी प्याराफिट निर्माण गरिएको तथा टिकटको व्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा राष्ट्रिय टीमका खेलाडीहरू विभिन्न टीमबाट खेल्ने उनले बताए ।

    कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले फुटबलको उर्वरभूमिका रूपमा पहिचान बनाएको रुपन्देहीमा पछिल्लो समय महिला फुटबलको आकर्षण रहेको बताए ।

    कार्यक्रममा संयोजक बुद्धिबहादुर दर्जीले प्रतियोगिताको उपाधि विजेता टीमले नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए ।

    यसै गरी विधागत रूपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँसहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरूलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिने उनले बताए ।

    प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, वीरगन्ज युथ एकेडेमी, वसन्त युनाइटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलवस्तु, वालिङ, एमएससी भारतको टीमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने उनले बताए ।

    चैत २३ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

    बिस पचहत्तर युवा परिवारको आयोजना, एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक, बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सिद्धेश्वरी लालकुमारी मावि खेलमैदानमा हुने प्रतियोगिताको लागि दुई महिनादेखि मैदान मर्मत चलिरहेको छ ।

  • फर्स्लुक सार्वजनिक गर्दै जेठ २३ गते ‘जन्ते बाख्रो’ को प्रदर्शन मिति घोषणा

    फर्स्लुक सार्वजनिक गर्दै जेठ २३ गते ‘जन्ते बाख्रो’ को प्रदर्शन मिति घोषणा

    काठमाडौं । अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जन्ते बाख्रो’को फर्स्लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

    सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा जानकारी दिइएको हो । यो मितिमा अहिलेसम्म अन्य कुनै पनि सिनेमाले प्रदर्शन मिति घोषणा गरेका छैनन् ।

    हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरूलाई हेरिरहेका छन् ।

    उनीहरूको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रूपमा चित्रण गर्न खोजेको बुझिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।

    सिमोस सुनुवारको निर्देशनमा निर्माण सिनेमामा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

    सिनेमा हरि हुँमागाईँको डिओपी, उत्तम हुँमागाईँको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स स्वयम निर्माण कम्पनी मुईन इन्टरटेनमेन्टले नै राखेको छ ।

  • समाजवादी मोर्चाको शक्तिप्रदर्शनका कारण रोकियो ‘पिताम्बर’को ट्रेलर रिलिज कार्यक्रम

    समाजवादी मोर्चाको शक्तिप्रदर्शनका कारण रोकियो ‘पिताम्बर’को ट्रेलर रिलिज कार्यक्रम

    काठमाडौं । समाजवादी मोर्चाले शक्तिप्रदर्शन गर्ने भएपछि चलचित्र ‘पिताम्बर’को ट्रेलर रिलिज अनिश्चित बनेको छ ।

    समाजवादी मोर्चाले शुक्रबार भृकुटीमण्डपमा सरकारविरुद्ध जनप्रदर्शन गर्दैछ । सोही ठाउँमा चलचित्र ुपिताम्बरु को ट्रेलर रिलिज हुने थियो। दर्शकको भब्य उपस्थितीमा ट्रेलर रिलिज गर्ने पूर्वनिर्धारित कार्यक्रम ‘पिताम्बर’ले तय गरेको थियो । निर्माण टिमले कार्यक्रम स्थलको रकम पनि तिरिसकेको थियो ।

    जिल्ला प्रशासन कार्यालयले समाजवादी मोर्चालाई उक्त ठाउँ तोकिदिएपछि ‘पिताम्बर’ले ट्रेलर रिलिज कार्यक्रम स्थगित गर्नुपरेको हो । निर्माण टिमका अनुसार केही दिनको राजनीतिक स्थिती हेरेर मात्र ट्रेलर रिलिजको मिति टुंगो लाग्नेछ ।

    अभिनेता प्रदीप खड्का र दिव्या रायमाझी स्टारर एक्सन चलचित्र ‘पिताम्बर’ चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ। कृषा चौलागाईको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

  • काठमाडौंका विभिन्न ठाँउहरुमा सारी लगाएर हिँडिरहेका यी नायक, के हो खास कुरो ?

    काठमाडौंका विभिन्न ठाँउहरुमा सारी लगाएर हिँडिरहेका यी नायक, के हो खास कुरो ?

    काठमाडौं । केही दिनदेखि नायक विरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानहरुमा देखा परिरहेका छन् । घाँटीमा डोरीको माला लगाई रातो सारीमा एक ठाँउदेखि अर्को ठाँउ हिँडिरहेका छन् ।

    रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई देखेर सर्वसाधारण अचम्ममा छन् भने धेरैले उनको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट पनि गरिरहेका छन्।

    उनी यसरी किन हिडिरहेका छन भन्ने बारे धेरैलाई थाहा होला, भने कति यसबारे जानकार नहोलान। उनी सारी लगाएर एक ठाँउदेखि अर्को ठाँउ आफ्नो चलचित्र प्रोमोसनको लागी हिडिरहेका छन् । उनी यहीँ चैत १५ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डोरी’को प्रोमोसनका लागी सो हुलियामा दर्शकसंग साक्षात्कार गरिरहेका छन् ।

    अचेल चलचित्र प्रोमोसनका लागी निर्माण टिमले विभिन्न उपायहरु अपनाउनु कुनै नौलो कुरा भने हैन। नायक विरेन्द्र सिंह कुशवाहा पनि सोही कार्य गरिरहेका छन । चलचित्र ‘डोरी’ को प्रचार रणनीतिअन्तर्गत उनी अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानहरुमा देखा परिरहेका हुन।

    यसअघि सार्वजनिक ट्रेलरमा विरेन्द्रलाई यही गेटअपमा देखाइएको थियो।

    ‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्रमा मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ र रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।

  • कन्सर्टमा तीन घन्टा ढिला आएकी नेहा कक्कड दर्शकको विरोधपछि स्टेजमै रोइन्

    कन्सर्टमा तीन घन्टा ढिला आएकी नेहा कक्कड दर्शकको विरोधपछि स्टेजमै रोइन्

    काठमाडौं । बलिउड गायिका नेहा कक्कड आफ्नो गायनका कारण चर्चामा आइरहन्छिन्। उनका भिडियोहरू सामाजिक सञ्जालमा दिनहुँ भाइरल भइरहेका हुन्छन्।

    उनी आफ्नो कन्सर्टका कारण विवादमा तानिएकी छिन्। हालै उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो भिडियो मेलबर्न कन्सर्टको हो। हालै उनले अष्ट्रेलियाको मेलबर्नमा कन्सर्ट गरेकी थिइन् । कन्सर्टको समय साँझ ७ः३० बजे थियो, तर उनी ३ घण्टा ढिलो स्टेजमा आइपुगिन्।

    सिंगरको प्रतीक्षामा रहेका फ्यानहरू उनको ढिलाइका कारण धेरै रिसाए र विरोधको नारा लगाउन थाले। फ्यानहरू रिसाएको देखेर नेहा कक्कड स्टेजमै बेस्सरी रुन थालिन् र मानिसहरूले उनलाई ट्रोल गर्न थाले। अहिले नेहाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भिडियोमा गायिका नेहा कक्कड रोइरहेकी र ढिलो भएकोमा आफ्ना फ्यानहरूसँग माफी मागिरहेको देखिन्छिन्। फ्यानहरूले उनलाई निरन्तर गिल्ला गरिरहेका छन्।

    एउटा फ्यानले भन्छन्, ‘यो अष्ट्रेलिया हो, भारत होइन।’ तिनीहरूमध्ये अर्को जनाले भने, ‘फर्कनुहोस्, होटलमा जानुहोस् र आराम गर्नुहोस्।

    एक जना दर्शकले उनको रोएकोमा टिप्पणी गर्दै भने, ‘यो इन्डियन आइडल होइन।’

    गायिका नेहा कक्कडले धेरै गीतहरूमा आफ्नो स्वर दिएकी छिन्। उनी धेरै गायन रियालिटी शोहरूमा निर्णायक पनि छिन् र संगीत कन्सर्टहरूमा भाग लिइरहेकी छिन्।

  • निफ महोत्सवमा ‘शाम्बाला’ लाई उत्कृष्ट चलचित्रको अवार्ड, ‘आँखा’ उत्कृष्ट फिचर फिल्म

    निफ महोत्सवमा ‘शाम्बाला’ लाई उत्कृष्ट चलचित्रको अवार्ड, ‘आँखा’ उत्कृष्ट फिचर फिल्म

    काठमाडौं । आठौँ  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा मिन बहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ ले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ । त्यस्तै, फिल्म ‘आँखा’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड हात पारेको छ । उत्कृष्ट निर्देशक तर्फ ‘पुजार सार्की’ बाट निर्देशक दिनेश राउत घोषित भए ।

    त्यस्तै, उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘पुजार सार्की’ बाट अञ्जना बराइलीले जितिन् । उत्कृष्ट अभिनेतातर्फ ‘आखाँ’बाट आर्के मेहताले हात पारे ।
    त्यसैगरी, राष्ट्रिय फिचर फिल्म अवार्ड छायांकार राजेश श्रेष्ठले जितेका छन् । उत्कृष्ट राष्ट्रिय चलचित्र लेखन अवार्ड जौन योञ्जनले पाएका छन् ।

    त्यसैगरी, भारतीय चलचित्र ‘रूक्मिणी’ले डङ्की आट्य अवार्ड मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र ‘द अविस्’ ले पाएको छ ।
    उत्कृष्ट सर्ट फिल्म डिरेक्टर अवार्ड निशान खत्रीको चलचित्र ‘अ बिटनेस’ ले पाएको छ भने, ‘माउन्ट एभरेस्ट अवार्ड’ बेल्जियमको ‘मेल्टिङ स्नु’ ले पाएको छ। यस वर्ष ‘बागमती अवार्ड’ स्पेनको चलचित्र ‘लुसिया जि रोमेरो’ ले पाएको छ ।

    लक्ष्मण सुवेदी निर्देशित चलचित्र सतिदेवी उत्कृष्ट फिचर फिल्म अवार्ड पाएको छ । त्यस्तै, उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको ‘देवि’, अडियन्स चोइस अवार्ड डकुमेन्ट्री तर्फ चलचित्र ‘गल्स रि राइटिङ डेस्टिनि’, उत्कृष्ट सर्ट चलचित्र अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड निराजन राज भेटवालको चलचित्र ‘द विटनेस ट्रि’ ले पाएको छ ।

    चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा भएको निफ महोत्सवमा ४० देश का ८७ फिल्म प्रदर्शन भएका थिए ।

     

  • ‘महाभोज’को लागि गीत गाउँदै निश्चल बस्नेत, ‘काले दाइ’को सफलता दोहोर्‍याउलान् ?

    ‘महाभोज’को लागि गीत गाउँदै निश्चल बस्नेत, ‘काले दाइ’को सफलता दोहोर्‍याउलान् ?

    काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’का लागि नयाँ गीत रेकर्ड गरेका छन् । काठमाडौंको स्टुडियो फिलमा उनले ‘लालुमै’ शीर्षकको गीत रेकर्ड गरेका हुन् । गीतमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ ।

    चलचित्र ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । निश्चल बस्नेतलाई ‘काले दाइ’ भनेर चिनाउने अवसर पनि निर्देशक राउतकै २०७४ सालमा रिलिज भएको चलचित्र ‘पर्व’को लोकप्रिय गीत ‘काले दाइ’बाट मिलेको थियो । बस्नेतले स्वर दिएको उक्त गीत हालसम्म युट्युबमा ६ करोड ३० लाख पटक हेरिएको छ ।

    ‘लालुमै’ गीतको लागि निश्चल बस्नेत नै उपयुक्त आवाज भएका कारण उनलाई नै रोजिएको निर्देशक राउतको भनाइ छ। ‘८ वर्षअघि ‘पर्व’को गीतका लागि निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो । अहिले ‘लालुमै’मा पनि फरक भोकल टोन आवश्यक परेकाले निश्चललाई नै लिएको हुँ’, राउत भन्छन् ।

    पहिले ‘काले दाइ’ को रूपमा परिचित निश्चल अब ‘लालुमै’को नयाँ परिचयसँग दर्शकमाझ आउने राउतको दाबी छ । राउतले पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका थिए । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्रसिंह कुशवाहलगायतका कलाकारको अभिनय रहेको छ ।

    क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका छन । राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, दिनेशबहादुर रावतको मुख्य सहायक निर्देशन र रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहेको छ । चलचित्रलाई काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा वितरण गर्नेछन् ।

  • ‘घर बट इन अमेरिका’ को पोस्टर सार्वजनिक, १० वर्षपछि अरुणिमा लम्सालको पुनरागमन

    ‘घर बट इन अमेरिका’ को पोस्टर सार्वजनिक, १० वर्षपछि अरुणिमा लम्सालको पुनरागमन

    काठमाडौं । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सिरिजका निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै ‘घर बट इन अमेरिका’ नेपाली ओटीटी ‘एमएसएम भिडियो’मा प्रसारण हुने जनाएका छन् ।

    यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट स्ट्रिमिङ हुनेछ । पहिलो सिजनको लागि १२ वटा शृङ्खला तयार भएका छन् । यी सबै शृङ्खला एकसाथ प्रसारणमा आउनेछन् ।

    सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेसनशिपमा रहेकी छोरीको कथा समेटिएको छ । सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतारचढावलाई पर्दामा उतारेको छ ।

    निर्देशक अधिकारीका अनुसार सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज व्यावसायिक रूपमा ओटीटीमा रिलिज हुने नेपालको पहिलो सिरिज हो ।

    उनी भन्छन्, ‘नेपाली वेब सिरिजको इतिहासमा पहिलो पटक यसरी व्यावसायिक रूपमा ओटीटीमा रिलिज हुँदैछ । यो इतिहासको एउटा नाम बन्न पाउँदा ज्यादै खुसी छु ।’

    सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा गरिएको छ । यसअघि यसको टिजर तथा प्रचारात्मक गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको थियो ।

    यसै सिरिजबाट अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा पुनरागमन गर्दैछिन् । उनले सिरिजमा मुख्य भूमिका निभाएकी छन् । निर्देशक अधिकारी पनि प्रमुख भूमिकामा छन् । अरुणिमा र बिमलेशसँगै सिरिजमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापालगायतका कलाकारले पनि महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

    निर्देशक अधिकारीकै अवधारणामा बनेको यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । रोशन घिमिरे, सुमित्रा अधिकारी र कुमारी घिमिरेले निर्माण गरेको यो सिरिजमा मित्र डि गुरुङको सम्पादन, कपिल पराजुलीको रंग संयोजन, विक्रान्तमान श्रेष्ठको छायांकन र शान थापाको पोस्टर डिजाइन रहेको छ ।

  • गायक कमल खत्री र गायिका मेलिना मैनालीलाई पुत्रलाभ 

    गायक कमल खत्री र गायिका मेलिना मैनालीलाई पुत्रलाभ 

    काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनाली बुवा-आमा बनेका छन् । आइतबार गायिका मैनालीले छोरालाई जन्म दिएकी हुन। पुत्रलाभ भएपछि गायक खत्रीले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिँदै खुसी व्यक्त गरेका छन्। उनले लेखेका छन्,’आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्य एक बनेको छ।
    पहिलो पटक बाबु-आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ।’ ‘मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ,’उनले जोडेका छन्,’यस विशेष अवसरमा, सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु जसले यो यात्रालाई सुरक्षित र सहज बनाउनु भयो।’
    उनले आफ्नो सामाजिक सञ्जालबाटै परिवार, आफन्तजन र साथीभाइलाई पनि धन्यवाद दिएका छन्। उनले लेखेका छन्,’तपाईं सबैको मायाले मेरो परिवार अझ पूर्ण भएको महसुस भएको छ। भगवान्‌को कृपाले मेरो सानो बाबु स्वस्थ, सुखी, र सफल होस् भन्ने कामना गर्छु। ‘ कमल र मेलिनाले २०७९ मा विवाह गरेका थिए। भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको बेलादेखि प्रेम सुरु भएको थियो ।
  • नायिका दिव्या बनिन् शैक्षिक परामर्शदाता संस्थाकी ब्रान्ड एम्बेस्डर

    नायिका दिव्या बनिन् शैक्षिक परामर्शदाता संस्थाकी ब्रान्ड एम्बेस्डर

    काठमाडौं । नायिका दिव्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको व्यवसायिक दूत अर्थात ब्रान्ड एम्बेस्डर बनेकी छन् । दिव्या प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डर नियक्त भएकी हुन् ।

    रायमाझीसहित संस्थाका प्रमुख नवराज प्रसाईं र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच आइतबार एक कार्यक्रमबीच सम्झौता भएको छ । उक्त संस्थाले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययनबारे परामर्श दिँदै आएको छ ।

    ब्रान्ड एम्बेस्डर नियुक्त भएपछि दिव्याले पुरानो र प्रतिष्ठित संस्थासँग जोडिन पाएकोमा खुसी भएको बताइन् । ‘शैक्षिक विधामा आफूले जानेको ज्ञान र अनुभव विद्यार्थीसँग बाँड्नेछु र सहकार्य गर्नेछु’, उनले भनिन् ।

    ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेपछि दिव्याको उपस्थितिमा यही मार्च २७ मा संस्थाले ‘यूके एडमिसन डे’ नामक शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

    दिव्याले केही समय अघिमात्र रिलिज भएको चलचित्र ‘एक्टर–टेक वन’बाट डेव्य गरेकी हुन् ।

  • अरुण लामा निर्देशित चलचित्र ‘डोरी’को एकसाथ १० क्यारेक्टर पोस्टर सार्वजनिक

    अरुण लामा निर्देशित चलचित्र ‘डोरी’को एकसाथ १० क्यारेक्टर पोस्टर सार्वजनिक

    काठमाडौं । यहीँ चैत १५ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘डोरी’का एकैपटक १० वटा ‘क्यारेक्टर पोस्टरुहरू सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रको कथावस्तु भित्र रहेर, कलाकारहरूको भुमिकामा आधारित पोस्टरहरू तयार गरेको हो, जहाँ चलचित्रका धेरैजसो पात्रहरूको परिचय छ।

    सार्वजनिक हरेक पोस्टरहरूमा ‘दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको कथा, तस्करीको कथा, सङ्घर्षको कथा, इमानदारीको कथा र पीडित ऋणीको कथा’गरि १० भिन्न टाइटलहरु राखिएको छ ।

    यसअघि एक कलाकार वीरेन्द्र सिंह कुशवहाको भने क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ । केही दिन अघि ‘डोरी’को ‘चुच्चे ढुङ्गो’ शीर्षकको गीत सार्वजनिक गरिएको थियो। जसमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको थियो ।

    ‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टरमा मनोज पण्डित, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत, एक्सन निर्देशकमा राजु तामाङ, सङ्गीत निर्देशकमा राजनराज सिवाकोटी, छायाङ्कन निर्देशकमा सौरभ लामा, कला निर्देशकमा रोशन दिवाना, सम्पादकमा मिलन श्रेष्ठ र रङ्ग संयोजकमा रेनीश फागो रहेका छन् ।

  • ‘वसन्त’को ट्रेलर सार्वजनिक

    ‘वसन्त’को ट्रेलर सार्वजनिक

    काठमाडौं । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सिनेमाको ४ मिनेट ५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली समाजमा व्याप्त छुवाछुत र जातप्रथाका कारण उत्पन्न हुने जातीय भयलाई कथाको रूपमा प्रस्तुत गरेको छ।

    स्कूले किशोरवय प्रेमीहरूको अन्तरजातीय सम्बन्धले नेपाली रूढीवादी समाजमा ल्याउने प्रतिक्रियालाई देखाइएको छ। साथै, नेपालले भोगेको द्वन्द्वसँग यसको सम्बन्ध जोडिएको छ, जहाँ एक दृश्यमा जातीय विद्रोहका लागि माओवादी छापामार बनेकी स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ।

    ट्रेलरको एक दृश्यमा प्रहरी अधिकारी बनेका अनुप बराल भन्छन्, ‘मान्छे कानुनसँग डराउँदैनन्, तर अन्धविश्वाससँग डराउँछ। अन्धविश्वास कानुनभन्दा माथि छ।’ यसको जवाफमा प्रकाशले सोध्छन्, ‘सर, मान्छेको जीवनभन्दा पनि माथि ?’

    यस संवादले प्रकाशको सिनेमाले प्रभावशाली र शक्तिशाली कथा प्रस्तुत गर्ने संकेत गर्छ। सिनेमा चैत २२ गते प्रदर्शन हुँदैछ ।

    नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ।

    गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत स्वयं निर्देशक सपुतले तयार पारेका छन्। सिनेमाले विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्नका लागि गरेको संघर्षको कथा प्रस्तुत गर्नेछ।

    सिनेमाका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।

    गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं, र तराईका विभिन्न स्थानहरूमा सिनेमाको छायांकन गरिएको हो। सिनेमाका छायांकार सुसन प्रजापति हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।

  • यी गायक-गायिका, जसलाई वसन्त सापकाेटाले पहिलो पटकमै चखाए सफलताको स्वाद

    यी गायक-गायिका, जसलाई वसन्त सापकाेटाले पहिलो पटकमै चखाए सफलताको स्वाद

    काठमाडौं । २०५७ सालको कुरा हो, वसन्त सापकोटा अल्लारे थिए । पोखरामा बस्थे । कसैलाई एकतर्फी मन पराउँथे । यद्यपि जसलाई मन पराउँथे, तिनले सापकोटालाई मन पराउँथेनन् । अनि गीत लेखे, ‘सागर सरी चोखो माया तिमीलाई दिउँला’ ।

    यो गीतको संगीत पनि २०५७ सालमै तयार पारे । सापकोटाको सपना थियो, गायक हुने । त्यही सपना बोकेर २०६१ सालमा काठमाडौं आए, तर काठमाडौंले उनको सपनाको प्वाँख काटिदियो । जीवन निर्वाहका खातिर ‘गायक-सपना’लाई कतै कुनामा थन्काए । र, संगीतकारको अवतारमा उडान सुरु गरे ।

    आफ्नै शब्द, संगीतमा ‘वसन्त’ नामक एल्बम ल्याए, २०६३ सालमा । रामचन्द्र काफ्ले, माण्डवी त्रिपाठीलगायतको स्वर थियो । एल्बम नै ल्याए पनि सापकोटाको करियरले उस्तो गति लिएन ।

    ‘वसन्त’ ल्याएको दुई वर्षपछि भने उनको सांगीतिक करियरमा साँच्चिकै वसन्त आयो । उनले ‘सिलसिला’ चलचित्रमा संगीत भर्ने अवसर पाए । यो चलचित्रको ‘सागर सरी’ बोलको गीत सर्वाधिक हिट भयो ।

    ‘यो गीत मैले १९ जनालाई सुनाइसकेको थिएँ, तर २०औं पटकमा चलचित्रमा छनोट भयो’, सापकोटा नोस्टालजिक सुनिन्छन्, ‘बच्चाहरूले आआफ्नो भाग्य लिएर आए जस्तो गीतहरूले पनि आआफ्नै भाग्य लिएर आउँदा रहेछन् । गीत तयार पारेको आठ वर्षपछि हिट भयो ।’

    यसपछि भने उनले पछाडि फर्केर हेर्नुपरेन । लगत्तै ‘ढल्क्यो ढल्क्यो’, ‘तिमीविनाको जीवन’, ‘सिम्पल सिम्पल कान्छीको’लगायत गीतहरू दर्शक/स्रोताका जिब्रोमा झुण्डिँदै गए । ८० भन्दा बढी चलचित्रमा संगीत भरे । दर्जनौं कलाकारलाई हिट नम्बर दिए ।

    अहिले पनि कतिपय कलाकारका स्टेज कार्यक्रम सापकोटाका गीतविना अधुरा/अपुरा रहन्छन् । ‘पागल म बन्न सक्छु’, ‘माया अन्तै सार’, ‘यी आँखामा तिमी छौ’ जस्ता एकसेएक गीत सापकोटाका सृजना हुन् ।

    गायक बन्ने अधुरो सपनाबारे सापकोटा सुनाउँछन्, ‘त्यो वेला आफूसित लगानी थिएन । जसले लगानी गर्नुहुन्थ्यो, उहाँहरूले चलिरहेका गायक÷गायिकाको स्वर राखौं भन्नुहुन्थ्यो । अलि पछि आफ्नै स्वरको रियाज पनि कम हुँदै गयो । संगीत र शब्दतिरै रमाउन थालियो ।’

    ‘सागर सरी’ गीत बनाउँदा खाजा खर्चमै चित्त बुझाएका सापकोटाले एउटै गीतका लागि एक लाखसम्म पारिश्रमिक लिएको बताउँछन् । उनले मेलिना राई, मिलन नेवार, समीक्षा अधिकारी, प्रेम परियार जस्ता गायक/गायिकालाई त उनीहरूको सांगीतिक करियरकै पहिलो हिट गीत पनि दिए । जुन गीतपछि उनीहरूले पछाडि फर्केर हेर्नुपरेको छैन ।

    मिलन नेवारको पहिलो पाश्र्व हिट: गाला रातै

    सापकोटाले संगीत भरेको पहिलो चलचित्र थियो ‘दोषी’ । अनि पहिलो हिट चलचित्र थियो ‘सिलसिला’ । ‘सिलसिला’पछि त प्रायः चलचित्र सापकोटाका संगीतले मोहरिएका हुन्थे । यही क्रममा उनको हातमा आयो नयाँ चलचित्र ‘नोटबुक’ । सँगै अन्य फुटकर काम पनि गरिरहेका थिए ।

    ‘सरोज वली भाइको भजन गीत थियो, चन्दु गोर्खालीले एरेन्ज गर्नुभएको थियो’, गायिका नेवारसँगको सहकार्यबारे सुनाउँछन्, ‘यो भजन कसलाई गाउन दिने त भन्दा मिलन अमात्यको नाम आयो । उहाँलाई फोन गरेर आरबी रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्‍यौं ।’

    ‘नोटबुक’का लागि सुहाउँदो स्वर खोजिरहेका थिए वसन्त । आफूले खोजे जस्तो स्वर उनले मिलनमा भेट्टाए । भोलिपल्टै स्टुडियोमा बोलाएर गीत रेकर्ड गराए, ‘गाला रातै’ ।

    राजेन्द्र थापाले लेखेको यो गीत सर्वाधिक हिट भयो । गीतसँगै मिलनको करियरले पनि पखेटा फिँजायो । पाश्र्व गायनमा उनको पहिलो हिट गीत नै यही थियो ।

    सापकोटा-नेवारको ‘काली’ चलचित्रको गीत ‘बट स्लोली स्लोली’ पनि अत्यधिक रुचाइयो । अहिले ‘फुलबुट्टे सारी’सम्म आइपुग्दा नेवारले पछाडि फर्केर हेर्नुपरेको छैन ।

    मेलिना राईको टर्निङ प्वाइन्टः कम्मरमाथि पटुकी

    गायिका मेलिना राई स्थापित हुन संघर्ष गरिरहेकी थिइन् । ‘नोभेम्बर रेन’ चलचित्रको ‘पलभरमै’ गीत हिट भए पनि राईले क्रेडिट कम पाएकी थिइन् । युवराज चौलागाईं र रजिना रिमालले यो गीतबाट बढी क्रेडिट लिएका थिए ।

    एक दिनको कुरा हो, ‘नयन’ नामक एल्बमको विमोचन थियो । रोजिलाबुङ राईको शब्द रहेको उक्त एल्बममा सापकोटा, ताराप्रकाश लिम्बूलगायतको संगीत थियो ।

    सापकोटा ‘नाईं नभन्नु ल- ३’ चलचित्रको संगीतमा व्यस्त थिए । प्रेम परियारको स्वर ट्रान्जिसनल फेजमा भएकाले स्वर नै आएन, सापकोटा तनावमा थिए । तनावकै कारण १२ बजेको एल्बम विमोचन कार्यक्रममा ४ बजेतिर पुगेका थिए ।

    त्यसवेला कार्यक्रममै क्यासेटहरू बिक्री हुन्थे । साउन्ड सिस्टमबाट एल्बमका गीतहरू कार्यक्रमभरि नै बजाइन्थ्यो । सापकोटा कार्यक्रमस्थल पुग्नासाथ राईको स्वर भएको गीत बज्यो ।

    ‘गीत सुन्नासाथ स्वर मनपर्‍यो । मैले तारालाई बोलाएर सोधेँ, यो गीत कसले गाएको हो ? मेलिना राई त्यही थिइन्, ताराले चिनाइदियो’, सापकोटा सुनाउँछन्, ‘मैले निर्देशक विकास आचार्य दाइलाई भनेँ, पूर्वेली भाकामा तपाईंले खोजेको स्वर भेट्टाएँ ।’

    लगत्तै राईको स्वरमा गीत रेकर्ड भयो, ‘कम्मरमाथि पटुकी’ । यो गीत यति धेरै चल्यो कि यसपछि राईले आजका दिनसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।

    समीक्षा अधिकारीको भाग्य कोरेको गीत: बालापनको उमेर

    सापकोटाको चार पाँच वर्षको छोराले मोबाइल चलाइरहेको थियो । मोबाइल स्क्रोल गर्दै जाँदा सिक्का हालेपछि चकलेट झर्ने मोबाइल गेममा उनको छोरा अड्कियो । अनि जिद्दी गर्न थाल्यो, ‘बाबा यही चाहियो ।’

    ‘यो त नेपालमा पाइँदैन,’ सापकोटाले भने ।

    ‘कहाँ पाइन्छ त ?’

    ‘अमेरिकामा ।’

    ‘उसो भए अमेरिकाबाट ल्याइदिनुस् ।’

    छोराको कुराले सापकोटा आजित भए । अचम्मित भए । अनि नोस्टालजिक पनि भए । जापान वा अमेरिका पल्लोडाँडामै भए जसरी छोराले आग्रह गर्‍यो । अनि सापकोटाले सोचे, ‘यस्तो उमेर त मेरो पनि थियो । यो खालको निर्दोषपना मसँग पनि थियो ।’

    अनि गीत लेखे, ‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’ । सापकोटा ‘नाईं नभन्नु ल- ५’मा संगीत भरिरहेका थिए ।

    गीत तयार भएको भोलि वा पर्सिपल्ट ‘छक्कापञ्जा ३’ खिच्न पोखरा गएका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले एउटा भिडियो पोस्ट गरे । क्याप्सन लेखे, ‘यी नानीको स्वर कस्तो लाग्यो ?’

    ती नानी थिइन् अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी । उनले गाएकी थिइन्, सापकोटाकै गीत ‘यी आँखामा तिमी छौ’ ।

    ‘मैले पुरुषोत्तमजीसँग समीक्षाको नम्बर मागेँ । पुरुषोत्तमजीले मेरा गीतहरू पनि उसलाई पठाइदिनुभएछ । फोनमा कुराकानी भएपछि फुपू र ऊ काठमाडौैं आए । गीत रेकर्ड गरेर उतै फर्किए’, सापकोटा सुनाउँछन् ।

    अहिले त उक्त गीत सार्वजनिक भएकै सात वर्ष भयो । यो सात वर्षमा समीक्षाको करियर यति द्रुत गतिमा अगाडि बढ्यो कि उनले रोकिने छाँट नै देखाइरहेकी छैनन् ।

    प्रेम परियारको पहिलो अफिसियल रेकर्ड: यी आँखामा तिमी छौ

    धादिङका प्रेम परियारलाई संगीतकार महेश खड्का र सुशील क्षेत्रीले काठमाडौं ल्याएका थिए । परियार युनाइटेड स्कुलमा पढ्थे । अमृत क्षेत्रीसँग संगीत पनि सिकिरहेका थिए ।

    खड्काको घरभेटीको नातिको बर्थडे थियो । सापकोटालगायत अन्य संगीतकर्मीहरूलाई निम्ता दिइएको थियो । त्यही कार्यक्रममा परियारले ‘जोडेको नाता तोडेर गयौ’ गाए । उनले परियारको स्वरमा अलग्गै मिठास भेट्टाए । ‘अनि मैले प्रेम परियारलाई चलचित्रमा गाउन लगाएँ’, सापकोटा सुनाउँछन् ।

    उनी थप भन्छन्, ‘कलाकारहरू चल्नु भनेको भाग्य पनि हो । कर्मलाई निरन्तरता पनि दिनुपर्‍यो । कामप्रति इमानदार हुनुपर्‍यो । कामले गर्दा नै यहाँ छु भनेर सोच्नुपर्‍यो ।’

  • निफमा पहिलो पटक रसियन फिल्म प्रदर्शन गरिने

    निफमा पहिलो पटक रसियन फिल्म प्रदर्शन गरिने

    काठमाडौं । रोस्किनोले मार्च २० देखि २४ सम्म नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रममा रुसी फिल्महरूको प्रदर्शन आयोजना गरेको छ । शनिवार काठमाडौँको छायाँ सेन्टरमा रुसी चलचित्र दिवसको आयोजना भएको हो । रोस्किनोद्वारा आयोजित र रूसी संस्कृति मन्त्रालयको सहयोगमा तीनवटा रुसी चलचित्रहरु प्रदर्शनी गरिएको छ । प्रदर्शन भएका चलचित्रहरुमा चार चौथाई, न्युरेम्बर्ग र हामी तीन जना चलचित्रहरू प्रदर्शन गरिएको छ ।

    निफका अध्यक्ष केपि पाठकले, निफमा रसियन चलचित्र दिवस पहिलोपटक मनाएकोमा खुशी व्यक्त गरे । उनले, विभिन्न देशसँगको चलचित्र सहकार्य कायम गर्न खोजेको र संसारका चलचित्र नेपाली सहित विश्वमाझ देखाउन चाहाने बताए । उनले यस वर्षको निफमा रसियन समाज, रसियन चलचित्र र रसियन गतिविधिलाई अगाडि बढाउने लक्ष्य रहेको बताए ।

    रसियन कल्चर सेन्टरमका निर्देशक एनथम मास्लोवले, ‘नेपाली दर्शकहरूले रसियाको बारेमा र रसियाको चलचित्रको बारेमा देखाउनु भएको उत्साह सरहनीय भएको बताए । उनले रसियन एम्बेस्सी र रोस्किनोको सहकार्यमा निफले शुरूवात गरेको यो कदमले अझै धेरै रसियन फिल्म, संस्कृति र रसियनहरूको जीवन देखाउन खोजेको बताए । अन्तराष्ट्रिय चलचित्र महोत्सवको विशेषता नै यहिँ हो ।

    निकोलाई लेबेदेवद्वारा २०२३ मा निर्देशित चलचित्र न्युरेम्बर्ग, एबजेनिया तिर्दाटोवाद्वारा निर्देशित चलचित्र २०२४ चौथाई, हामी तीन जना निर्देशित चलचित्र एलेकजेन्ड्रा सह्राना २०२१ मा निर्देशन गरिएको हो ।

  • रिलिज मिति नजिकिएसँगै पिताम्बरको धमाधम पोस्टर सार्वजनिक, को हो पिताम्बर?

    रिलिज मिति नजिकिएसँगै पिताम्बरको धमाधम पोस्टर सार्वजनिक, को हो पिताम्बर?

    काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’ को टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । रिलिज मिति नजिकिएसँगै निर्माण टिमले चलचित्रका प्रमुख कलाकारको सोलो फोटोसहितको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । सार्वजनिक सबै कलाकारहरुको पोस्टरमा ‘म हो पिताम्बर’ लेखिएको छ।

    सबैको पोस्टरमा ‘म हो पिताम्बर’ लेखिएकाले साच्चै पिताम्बर को हो भन्ने जान्न दर्शक कौतुहल छन। चलचित्रका प्रमुख कलाकारहरु प्रमोद अग्रहरि, सौगात मल्ल, दयाहाङ राईको छुट्टा छुट्टै सोलो तस्वीर राखेर ‘म हो पिताम्बर’ लेखिएको पोस्टर सार्वजनिक गरिरहेपछि चलचित्रले दर्शकमा थप कौतुहलता पैदा गरेको छ ।

    केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा कृषा चौलागाईको निर्देशन छ । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

    चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् । विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता र सुमन गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ ।

    चलचित्र आरआर फिल्मस्ले वितरण गर्दैछ ।

  • ‘कर्मा’ मा विपिनकी आमा बनेकी सरिता- ‘यो चलचित्रले आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिनेछ’

    ‘कर्मा’ मा विपिनकी आमा बनेकी सरिता- ‘यो चलचित्रले आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिनेछ’

    काठमाडौं । यहीँ चैत्र २९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र हो, ‘कर्मा’। नायक विपिन कार्कीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको चलचित्रमा अगस्त्य फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशन छ।

    चलचित्रमा विपिनसंगै नायिका उपास्ना सिंह ठकुरी, कलाकारद्वय मुकुन भुसाल, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल,अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय छ । चलचित्रमा कलाकार सरिता गिरीको पनि अभिनय देख्न सकिन्छ। उनले यो चलचित्रमा आमाको भुमिका निभाएकी छिन।

    हुन त, सरिताले यसअघि पनि थुप्रै चलचित्रहरुमा आमाको भुमिका निभाईसकेकी छन। तर यो चलचित्रमा भने फरक खालको चरित्र रहेको उनको दाबी छ । ‘कर्मा’ मा आमाको पात्रमा देखिएकी सरिताका अनुसार ‘कर्मा’ले नेपाली सिने क्षेत्रमा आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिनेछ। उनी भन्छिन् ,’अहिले आमाको चरित्र भन्नबित्तिकै जुन इमेज दर्शक र चलचित्रकर्मीको दिमागमा आउँछ, त्यो इमेज ‘कर्मा’मा रहेको आमाको चरित्रले मेटाइदिने छ ।’

    ‘मैले अहिलेसम्म आमाको चरित्र धेरै गरेँ होला तर कर्मामा आमाको चरित्र मात्रै छैन। यसमा आमासंगसंगै धेरै कुरा छ । चलचित्रमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभएको छ कि अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो चलचित्र रिलिज भएपछि हट्नेछ,’ उनी सुनाउछिन।

    ‘कर्मा’मा सरिता विपीन कार्कीको आमाको भूमिकामा छिन् । निर्देशक सौरभ चौधरीले आफूलाई चलचित्रमा अफर गर्दा नै आफू इम्प्रेस भएको सरिता बताउँछिन् । ‘उहाँले मलाई आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गर्नुभएको थियो। यो लाइनले नै मलाई टच गरेको थियो,’उनी जोडछिन्।

    नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ यहीँ चैत २९ गतेबाट रिलिज हुँदैछ। नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन।

    चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन र तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बस्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ ।