काठमाडौं । अभिनेता बिजय बराल मुख्य भुमिकामा रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ग्र्याण्ड प्रिमियर सम्पन्न भएको छ। बुधबार नयाँ बानेश्वर स्थित वान सिनेमाजमा चलचित्रको भव्य प्रिमियर आयोजना गरिएको थियो।
प्रिमियरमा चलचित्र हेर्न कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकारद्वय कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठ, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायतका चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अधिकांश कलाकार तथा दर्शकहरू ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ हेरेर भावुक भएका थिए। चलचित्र हेरेर निस्किएका धेरैको आँखामा आँसु थियो। चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारी स्वयं आफ्नो चलचित्र हेरेपछी रुदै बाहिरिएकी थिइन् । हलभित्रै पनि उनको आँसु रोकिएको थिएन।
चलचित्र हेरेपछि गायिका अन्जु पन्त पनि हलबाट रुदै बाहिरिएकी थिइन् । चलचित्रले नोस्टाल्जिक बनाएको बताउँदै उनले भनिन,’चलचित्र हेरेपछी दाजुभाई-दिदीबहिनीको कुराले मलाई बढी छोयो। महिलाको पिडालाई चलचित्रमा निकै मिठो तरिकाले प्रस्तुत गरिएको छ। कति ठाँउमा भावुक भए। चलचित्र सकिन्जेल कति रोए रोए।’
त्यस्तै, चलचित्र हेरेर निस्किएका कलाकार जितु नेपालले पनि चलचित्रको खुलेर तारिफ गरे। उनले भने,’चलचित्र हेरेपछि मैले मेरो बुवालाई सम्झे। मलाई आफु कलाकार भएर मेरो बुवालाई देखाउने ठुलो रहर थियो। तर, त्यो अघि नै उहाँले हामीलाई छाडेर जानुभयो। चलचित्र पनि त्यस्तै कथामा छ। साह्रै मन छोयो। आमा-बुवाको महत्त्व बुज्न भएपनि एकपटक सबैले यो चलचित्र हेर्नुपर्छ।’
चलचित्र हेर्न पुगेका ‘भ्वाइस अफ नेपाल सिजन ६’ का विजेता प्रोसेश पाण्डेले पनि चलचित्र हेरेर आफू भावुक भएको बताए। चलचित्रको क्लाइमेक्समा बुवा बितेको दृश्यले आफ्नो मन छोएको उनले सुनाए।
चलचित्र हेरेर धरधरी रोएकी अभिनेत्री केकी अधिकारीको हल बाहिर पनि आँसु रोकिएन। उनी रोएको देखेर बेलाबेला गायिका अन्जु पन्तले उनको आँसु पुछिदिदै थिइन् । धरधरी रुदै केकी अधिकारीले भनिन,’धेरै महिलाहरुको याद आयो। हिँसामा परेको महिलाहरुलाई सम्झिए। हामी कति सजिलै महिलाहरुलाई जे पनि भन्दिन्छौ। कति समयपछी मुटु दह्रो पारेर आफुलाई भएको हिंसाबारे सुनाउदा पनि उल्टै समाजले महिलालाई दोष लगाउछन् ।’
यति भन्दा-भन्दै उनी भक्कानिइन र बोल्नै छाडिन। रोएर बोल्न नसकेपछि उनी नबोली निस्किइन।
चलचित्र हेरेपछि बुवा-आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथाले आफुहरुलाई समेत भावुक बनाएको अभिनेता बिजय बराल र गौरव पहाडीले बताए । श्रीमतीसहित चलचित्र हेर्न पुगेका गौरवले चलचित्र हेरेपछि आफुले आँसु थाम्न नसकेको बताए। बिजयले पनि चलचित्र हेरेपछि आफुलाई शान्त महशुस भएको सुनाए।
त्यस्तै, चलचित्रले आफूहरू जस्तै दर्शकको पनि मन छुने र आँसु बगाउन बाध्य बनाउने उपस्थित अधिकांशको भनाई थियो।
भोलि शुक्रबारबाट रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् भने चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।
काठमाडाैं । ‘मोहर’ नचलेको भए पल शाहको करियर के हुन्थ्यो होला ? ठ्याक्कै भन्न सकिन्न । यद्यपि यो चलचित्रलाई पनि दर्शकले इन्कार गरिदिएको भए पलको चलचित्र-यात्रा निकै कठिन मोडमा पुग्न सक्थ्यो ।
पलका पछिल्ला दुई चलचित्र ‘मायावी’ र ‘रावायण’ बक्स अफिसमा नराम्रोसँग पछारिए । पुरानै क्लिसे शब्दमा भन्ने हो भने यी दुई चलचित्रले बक्स अफिसमा पानी समेत भन्न पाएनन् । ‘रावायण’ले त पललाई थप पीडा नै दियो । उनले लगाएको नक्कली जुँघा सर्वत्र ट्रोल बन्यो । अहिले पनि त्यसवेलाको पलको नक्कली जुँघाको चर्चा बेलाबखत भइरहन्छ ।
असफल भएका यी दुई चलचित्र पलका लागि विशेष थिए । किनभने पोखरा उच्च अदालतले उनलाई सफाइ दिएपछिका चलचित्र थिए, ‘रावायण’ र ‘मायावी’ । पलले २०७९ फागुन १४ मा उच्च अदालतबाट सफाइ पाएका थिए । झण्डै झण्डै डुबेको पलको अभिनय करियरले उच्च अदालतको फैसलापछि पुनर्जीवन पाएको थियो ।
यसपछि पल पुनः अभिनयमै जोडिए । उनको चलचित्र ‘पुजार सार्की’ बक्स अफिसमा सफल पनि भयो । तथापि यो चलचित्रबाट अर्का अभिनेता प्रदीप खड्काले पूर्णतया क्रेडिट लिए । यसपछि पलको लिड रोल भएको ‘रावायण’ र ‘मायावी’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । निर्माताको करोडौं लगानी खरानीमा परिणत भयो ।
अहिले पल शाह स्वयंले निर्माण गर्न लागेको चलचित्र ‘यानीमाया’ पनि निर्माता र निर्देशकबीचको टकरावमा फसिरहेको छ । यो चलचित्र कहिले फ्लोरमा जाने हो, निश्चित छैन । चलचित्रको कथालाई मोडमाड पार्ने सन्दर्भमा निर्माता र निर्देशकबीच विवाद भएको बुझिएको छ ।
यी सबै घटनाक्रमका बीच पललाई ‘मोहर’ले ठूलो राहत दिएको छ । दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको ‘मोहर’ले हलबाट पनि राम्रै ग्रस कलेक्सन गरिरहेको छ । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार गत आइतबारसम्मको बक्स अफिस कलेक्सन तीन करोड सात लाख थियो । गत मंगलबारबाट व्यापारमा बढोत्तरी भएको निर्माण पक्षको दाबी छ ।
वितरक करण श्रेष्ठ क्रेजीका अनुसार अहिलेसम्म चलचित्रले चार करोडको आँकडा छोइसकेको छ । चलचित्रको लगानी हलबाटै उठाउनलाई पनि लगभग चार करोड हाराहारीको कलेक्सन गरे पुग्नेछ । किनभने चलचित्रको लगानी १ करोड ८६ लाख मात्र हो ।
यदि ‘मोहर’ले हलबाटै लगानी सुरक्षित गरेको खण्डमा डिजिटल राइटस् र ओभरसिज राइटस् बिक्रीबाट आएको पैसा निर्माताको खुद मुनाफा हुनेछ । हलबाटै थप ग्रस कलेक्सन गर्नलाई भने दोस्रो सातामा चलिरहेको ‘मोहर’लाई निकै गाह्रो हुने देखिन्छ । किनभने भोलिबाट ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ र ‘ताराहरु’ हलहरुमा लाग्दैछन् । यी दुई चलचित्रलाई दर्शकले कसरी स्वागत गर्छन्, त्यसैमा ‘मोहर’को बाँकी व्यापारको भविष्य टिकेको छ ।
तर अहिलेको ‘मोहर’को व्यापारले भने असफल चलचित्रमा ह्याट्रिक गर्नबाट पललाई बचाएको छ । ‘मोहर’ पलका लागि ठूलो राहत बनिदिएको छ । अब केही समयमै पल ‘आबाट आमा’ चलचित्रको सुटिङमा सक्रिय हुनेछन् ।
काठमाडौं । कहिले मुख्य कलाकार केदार घिमिरे माग्ने बूढाको ६१ लाखको पारिश्रमिकको लफडा होस् या कहिले मिस पवि नामले परिचित पवित्रा साँकीले पाँच सय टेक खाएको गसिप होस् ! सुटिङको समयदेखि नै ‘माग्ने बूढा’ चलचित्र अनेक खाले झमेलामा परिरहेको छ ।
६१ लाख पारिश्रमिकको गसिपबारे माग्ने बूढा स्वयंले स्पष्टीकरण दिइसकेका छन् । मिडियामा आएजस्तो आफूले ६१ लाख नलिएको बताइसकेका छन् । अर्कातिर मिस पविले खाएको पाँच सय टेकको खबर भने अहिलेसम्म पनि चर्चामै छ । झनै मिस पवि स्वयंले ‘माग्ने राजा’ चलचित्र हेर्न नजाने भन्दै मिडियामा अन्तर्वार्ता दिँदै हिँडेपछि निर्माण टिम र उनीबीचको तिक्तता गहिरिँदै गएको प्रष्टै देखिन्छ । कतिसम्म भने आफूले थुकिसकेको थुक नचाट्ने समेत बताएकी छन् ।
भोलिबाट प्रदर्शनमा आउन लागेको चलचित्रको व्यापारलाई नै मिस पविको अभिव्यक्तिले असर गर्ने सम्भावना देखिएपछि निर्माण टिमले मिस पविसँग बसेर छलफल गर्न पनि खोजेको थियो । तर, मिस पवि सम्पर्कमै आउन नचाहिरहेको निर्माण टिमका एक सदस्यले बताए । ती सदस्यले भने, ‘मिडियामा त्यसरी अभिव्यक्ति दिँदै हिँड्नुभएपछि हामीले सम्पर्क गरेर मनमुटाव सुल्टाउन खोजेको हो । उहाँ सम्पर्कमा आउन खोजिरहनुभएको छैन ।’
ती सदस्यका अनुसार मिस पविको चलचित्रमा महत्वपूर्ण भूमिका पनि छैन । उनी केमियोको भूमिकामा छिन् । यति मात्रै होइन, मिस पविको जम्मा एउटा सिन मात्रै छ ‘माग्ने राजा’मा ।
‘चलचित्रमा उहाँको एउटामात्रै सिन छ । एउटा सिनमा सुदूरपश्चिमेली लवजमा बोल्ने एकजना कलाकार चाहिएको थियो । त्यसैका लागि मिस पविलाई केमियोको भूमिकामा लिएका हौं,’ ती सदस्यले भने, ‘उहाँले सुट सकाएर डबिङ पनि सकाइसक्नुभएको छ । उहाँको तर्फबाट सबै काम सकिएको छ । तर, अहिले बजारमा भने अनेक हल्ला चलिरहेको छ ।’
अहिले हलहरुमा प्रदर्शनरत ‘मोहर’मा पनि मिस पवि केमियोको भूमिकामा रहेको र ‘माग्ने राजा’ मा पनि त्यस्तै भूमिकामा रहेको ती सदस्यले बताए । तर, पाँच सय टेक खाएको हल्ला भने बिल्कूल गलत भएको उनले बताए । त्यो समाचार कसरी बाहिरियो, आफूहरूलाई नै थाहा नभएको उनले बताए ।
भोलिबाट प्रदर्शनमा आउन लागेको ‘माग्ने राजा’ ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ र ‘ताराहरू’ चलचित्रसँग भिड्दैछ । दुई चलचित्रसँग भिड्नुपर्ने चुनौतीमा रहेको चलचित्र प्रदर्शनको संघारमा ‘माग्ने राजा’ लफडामा फसेको हो ।
काठमाडौं । यहीँ आउने शुक्रबारबाट केदार प्रसाद घिमिरे (माग्ने बुढा) अभिनित चलचित्र ‘माग्नेराजा’ प्रदर्शनमा आउँदैछ। आफू लिड रोलमा भएको यो उनको पहिलो चलचित्र हो। यो चलचित्रलाई उनको प्रतिक्षित चलचित्रको रूपमा हेरिएको छ। तर, माग्ने बुढा भने चलचित्र प्रदर्शनको संघारमा आफ्नो हेटौंडा अवस्थित घरतिर लागेका छन् ।
यो पटक मात्र हैन, उनी आफ्नो हरेक चलचित्र प्रदर्शन हुनु केही दिन अघि घर जाने गर्छन् । चलचित्र प्रदर्शनको मुखमा उनी हरेक पटक किन घर जान्छन् ?
चलचित्रको चटाराेको बीच माग्ने बुढा घर जानुको पनि एक विशेष कारण छ। हेटौंडा अवस्थित माग्ने बुढाको घरमा उनको बुवा र भाइ-बुहारी बस्छन् । चलचित्र प्रदर्शन हुनुभन्दा केही दिन अघि उनी सधैं आफ्नो बुवाको आशिर्वाद लिन घर जाने गर्छन् ।
घर पुगेका माग्ने बुढा भन्छन् ,’बुवा यहीँ हेटौंडामा हुनुहुन्छ। त्यहीँ भएर आशिर्वाद लिन म सधैं यहीँ आउँछु। कुनै-कुनै चलचित्र प्रदर्शनको बेला आउन पाइन होला तर आजसम्म मेरो अधिकांश चलचित्रको प्रदर्शनअघि म बुवाको आशिर्वाद लिन जसरी पनि घर आउँछु।’
माग्ने बुढाको बुवा दमको बिरामी हुन्। कारणवश काठमाडौं ल्याएर राख्न नमिलेकाले, बुवालाई उनले हेटौंडामै भाई-बुहारीसँग राखेका छन् । आफ्नो चलचित्र प्रदर्शन अघि मात्र नभई, चलचित्र प्रदर्शनपछि पनि माग्ने बुढा बुवासँगै बसेर चलचित्र हेर्ने गर्छन् ।
आफ्नो हरेक चलचित्र प्रदर्शन हुँदा सम्भव भए काठमाडौं नत्र हेटौंडाकै हलमा बुवालाई आफ्नो चलचित्र हेर्न लान्छन् माग्ने बुढा। यसपटक भने बाउ-छोरा सँगै कहाँ बसेर चलचित्र हेर्ने भन्ने सल्लाह भइ नसकेको माग्ने बुढाको भनाई छ ।
बुवासँग भेट भएपछि चलचित्रबारे धेरै कुरा गरेको माग्ने बुढा बताउँछन् । उनी भन्छन्,’ बुवाले खासै फोन चलाउनुहुन्न। तर मेरो हरेक चलचित्र आउँदा उहाँलाई अरुले मेरो बारे सुनाईराख्नु हुन्छ। यसपाली आउँदा चाहिँ बुवाले मेरो पोस्टरबारे सोध्नुभयो। तेरो मात्र ठुलो पोस्टर थियो त भन्दै हुनुहुन्थ्यो । खुसी लाग्यो भन्दै हुनुहुन्थ्यो ।’
६१ लाख पारिश्रमिकको चर्चाबारे भने बुवाले कुरा नगरेको माग्ने बुढाले बताए। उनले भने,’पारिश्रमिकबारे केही कुरा गर्नुभएन। बरु कर तिरेको कुरा सोध्दै हुनुहुन्थ्यो। त्यत्रो कर तिरिस है भन्नुभयो।’
माग्ने बुढाले ‘माग्ने राजा’ बाट लिएको पारिश्रमिकबाट केही समय अघि मात्र राज्यलाई कर तिरेका थिए। आफुले लिएको पारिश्रमिकबाट उनले ७ लाख ६५ हजार कर तिरेका हुन्।
माग्ने बुढाको ‘माग्ने राजा’ पर्सीबाट प्रदर्शनमा आउँदैछ। उनी भने भोली पर्न गएको बुहारीको जन्मदिन मनाएर भोलि बेलुका नै काठमाडौं फर्किनेछन्। पर्सीबाट उनी दर्शक भेट्न् हल-हल पुग्नेछन् ।
काठमाडौं । नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ अहिले चर्चामा छ । ‘मिस नेपाल २०२५’ का विभिन्न इभेन्टहरु हिमालय टेलिभिजनमा प्रशारण भइरहेका छन् । फाइनल भने भदौ १४ गते आयोजना हुनेछ ।
गत वर्षबाट हिमालय टिभीले मिस नेपालको डिजिटल राइट्स खरिद गरेको हो । फाइनलपूर्वका इभेन्टहरुलाई ६ एपोसोडको प्याकेज बनाएर प्रशारण गर्न थालिएको टेलिभिजन स्रोतले जानकारी दियो । अहिलेसम्म दुईवटा एपिसोड प्रशारण भइसकेका छन् ।
५ दिन अगाडि पहिलो एपिसोड प्रशारण भएको थियो, जसको एउटा भिडिओ फुटेज सामाजिक सञ्जाल, खासगरि टिकटकमा निकै भाइरल छ । शारीरिक अपांगता भएकी एक आकांक्षीलाई प्रतियोगिताकी ‘जज’ रचना गुरुङले असंवेदनशील व्यवहार गरेको भन्दै टिकटक प्रयोगकर्ताहरु उनीमाथि खनिएका छन् । रचनाले निकै गालीगलौज र बुलिङको सामना गर्नु परिरहेको छ ।
रचनाको आलोचना गर्नेमा ऋषि धमलाकी पत्नी तथा मोडेल एलिजा गौतम पनि छिन् । एउटा भिडिओ बनाएर पोस्ट गर्दै एलिजाले रचनाको नाम नलिइकन उनको तिखो आलोचना गरेकी हुन् ।
उनले भनेकी छन्, ‘त्यो भिडिओ हेरेर मलाई निकै दुख लाग्यो । जज भएर कुर्सीमा बसिसकेपछि के बोल्नुपर्छ के बोल्नु हुँदैन, कसलाई कसरी ट्रिट गर्नुपर्छ, भन्ने ख्याल राख्नुपर्दैन ? उहाँ त्यो कुर्सीको लायक हुनुहुन्न ।’
मिस नेपालको इतिहासमा शारीरिक अपांगता भएकी प्रतियोगी समावेश गरिएको सम्भवत पहिलोपटक हो । रोशनी नाम गरेकी सुन्दरी अडिसनका लागि प्रवेश गर्दा जज प्यानलमा सन्नाटा छाएको थियो । उनले आत्मविश्वासपूर्वक क्याटवाक गरिन्, तर जजहरुसँग बोल्दै गर्दा आफ्नो एउटा हातलाई पछाडि राखेकी थिइन् । उनको हातको तल्लो भाग अधुरो थियो ।
ऋषीपत्नी एलिजाले रोशनीलाई आफ्नै छोरीसँग रिलेट गरेर यो भिडिओ बनाएकी हुन् । उनकी छोरीमा पनि समान प्रकृतिको शारीरिक समस्या छ । रोशनीलाई हेर्दा आफ्नै छोरीजस्तो लागेको उनले बताएकी छन् ।
रचना विवादमा पर्नुका कारण चाहिँ रोशनीलाई सुरुमा अलिकति ‘असंवेदनशील’ तरिकाले गरेको सवाल हो । प्रारम्भमै उनले हातको समस्याका विषयमा जिज्ञासा राखेकी थिइन् ।
रचनाले अंग्रेजीमा भनिन्, ‘हामीले पहिलो प्रश्न के सोध्छौं भन्ने तिमीलाई पक्कै थाहा छ ।’
रोशनीले प्रश्नको भाव नबुझेर भनिन्– सरी ?
रचनाले दोहोर्याइन् ः हामीले पहिलो प्रश्न के सोध्न गइरहेका छौं भन्ने तिमीलाई पक्कै थाहा छ ।’
त्यसपछि उनले रोशनीले पछाडि राखेको हाततर्फ ईशारा गर्दै भनिन्, ‘एक्सप्लेन….’ । हातको एकचोटि एक्स्प्लेन गरन ।’
रोशनीले आफ्नो जन्मजातकै समस्या रहेको अवगत गराइन् ।
उनले हल्का काँपेको आवाजमा भनिन्, ‘मेरो शारीरिक अशक्तता जन्मजात नै हो । कुनै एक्सिडेन्ट भएको होइन । आमालाई मेरो जन्म भएपछि मात्रै थाहा भयो । मभन्दा पहिले मेरो बुवाआमाले मेरो शारीरिक अपांगताको सामना गर्नुभयो । म उहाँहरुबाट जन्मिन पाएकोमा आफूलाई भाग्यमानी ठान्छु ।’
त्यसपछि भने रचनाले उनलाई खुलेर हौसला दिइन् ।
उनले भनिन्, ‘हामी वास्तवमै खुशी छौं कि तिमी यहाँसम्म आयौ । यो हलभित्र सबैले रोशनीका लागि ताली बजाइदिनुहोला । उनी यसको हकदार छिन् ।’
सबैले ताली बजाए । रोशनीको चेहरा उज्यालियो । उनले सबैलाई धन्यवाद दिइन् ।
भएको यही थियो । टिकटकमा चाहिँ अगाडिको प्रश्नोत्तरको फुटेज मात्रै काटेर भाइरल बनाइएको छ । यही फुटेजका आधारमा रचनालाई गालीगलौज गर्दै धेरैले भिडिओ बनाइरहेका छन् । यो फुटेज मात्र हेर्दा जोकोहीलाई पनि रचनाको व्यवहार चित्त नबुझ्न सक्छ । तर पुरा भिडिओ हेर्दा भने उनी गलत लाग्दिनन् । पछाडि उनले रोशनीको सह्राहना गरेकी छिन् र खुशी बनाएर पठाएकी छन् । रचनाले सुरुमै ‘बिचरा… कठैबरी..’ भनेर प्रतियोगितालाई कमजोर देखाउन नखोजेको पनि हुन सक्छ ।
जज प्यानलमा पूर्वमिस नेपाल माल्भिका सुब्बा पनिसहित अन्य तीनजना थिए । कसैले पनि प्रतियोगिप्रति अनावश्यक ‘सहानुभूति’ दर्शाउन खोजेनन् । यदि त्यसरी सहानुभूति दिएको भए रोशनीलाई म अरुभन्दा फरक वा कमजोर हुँ भन्ने भान पर्न जान्थ्यो । आफ्नो शारीरिक अवस्थालाई उनी स्वयम्ले ठूलो मान्ने अवस्था आउँथ्यो । तथापि रचनाको सुरुवाती ‘गेस्चर’ चाहिँ टिप्पणीयोग्य नै छ ।
रचना गुरुङ अहिलेकी चर्चित नायिका आना शर्माकी आमा हुन् । ३ दशकभन्दा बढीसमयदेखि ‘मिस नेपाल’ मा जोडिएकी उनी नेपालकै चर्चित ब्युटी प्याजेट कोरियोग्राफरमा पर्छिन् । हिडेन ट्रेजरले उत्पादन गरेका अधिकांस मिस नेपालहरुलाई उनले नै ग्रुम गरेकी हुन् ।
रचनालाई चिन्नेहरु बोल्ने शैली अलि ठाडो भए पनि उनको ‘व्यवसायीकता’ को सह्राहना गर्छन् । केही वर्ष अगाडि पनि मिस नेपालकै एउटा अडिसन भिडिओ भाइरल भएको थियो, जसमा रचनाले एक युवतीलाई मेकअप नगरी आएको भनेर आलोचना गरेकी थिइन् । त्यसबेला पनि उनले निकै गाली खानुपरेको थियो ।
काठमाडाैं । आशान्त शर्माको चलचित्र ‘ताराहरु’ केदार घिमिरे माग्ने बूढाको चलचित्र ‘माग्ने राजा’ र विजय बरालको ‘जनै हराएको मान्छे’को चेपुवामा परेको छ । ठूला बजेटको दुई चलचित्रको चेपुवामा परेको ‘ताराहरु’ले हलहरुले अत्यन्त न्यून शो दिएको छ ।
आजबाट चलचित्रको टिकट बुकिङ खुले पनि हलहरुले चलचित्रलाई न्यून शो मात्रै दिएको हो । क्युएफएक्स सिनेमाजले उपत्यकामा ३ र उपत्यकाबाहिर ४ गरी जम्मा ७ सो दिएको छ ।
त्यस्तै आइएनआइ सिनेमाज, वान सिनेमाजमा पनि टिकट खुलाइएको छ। बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, सिके सिनेमाजलगायत हलले न्यून मात्रामा शो दिएका छन् । जब कि ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’को भारी मात्रामा शो दिएर अग्रिम टिकट बुकिङ खुलाइसकिएको छ ।
फिल्म ‘ताराहरू’ मध्यम वर्गीय परिवारको संघर्षको कथामा बनेको चलचित्र हो। फिल्मका निर्देशक आशान्त शर्मा हुन् । उनी स्वयंको मुख्य भूमिका रहेको फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी लगायत कलाकारले अभिनय गरेका छन् ।
निर्देशक शर्माकै कथा रहेको फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन् । फिल्म यही शुक्रबार अर्थात् भदौ ६ देखि हलमा लाग्दैछ ।
काठमाडौं । नायिका हुनलाई आकर्षक र छरितो जिउडाल, सुन्दर अनुहार, चिटिक्क पहिरन हुनुपर्ने मान्यता भत्किसक्यो । कथाको माग अनुसार जो पनि नायिका बन्न सक्छन् । कथाको विषयवस्तु, कथाले बोकेको मुद्दाका आधारमा जो पनि चलचित्रको नायिका बन्न सक्छन् ।
यही मान्यतालाई पुष्टि गर्ने गरी अहिले ‘चुले निम्तो’ टिमले प्लस साइजको नायिका खोजिरहेको छ । कथाको माग अनुसार नै आफूहरूले प्लस साइज नायिका खोजेको निर्देशक दीपक वलीले बताए । उनले भने, ‘हाम्रो कथाले त्यस्तै नायिकाको खोजी गर्छ । उहाँ ८०÷९० किलो तौलको हुनुपर्छ भन्ने छ । यसको मतलब प्लस साइज नायिका चाहिएको हो ।’
नायिकाको उमेर भने २२–२३ वर्षको हुनुपर्ने वलीले बताए । वलीका अनुसार अन्य कलाकारहरू फाइनल भइसकेका छन् । तर, केही समयपछि औपचारिक कार्यक्रममार्फत सार्वजनिक गरिने उनले बताए ।
चलचित्रले ग्रामीण परिवेशको कथालाई कमेडी शैलीमा प्रस्तुत गर्नेछ । महेश दवाडीद्वारा लिखित यस चलचित्रको छायांकन गोरखा, रोल्पा, पाल्पा र रसुवामा हुने बताइएको छ । तिहार लगत्तै चलचित्रको छायांकनका लागि निस्कने निर्देशक वलीले बताए ।
काठमाडौं । अभिनेता विजय बरालको चलचित्र ‘जनै हराएको मान्छे’ यही शुक्रवारबाट हलहरूमा लाग्दैछ भने अर्का अभिनेता नाजिर हुसेनको चलचित्र ‘गुन्यु चोलो’ अर्को शुक्रवार भदौ १३ बाट लाग्दैछ । रंगमन्चबाट उदाएका यी दुई अभिनेता मण्डला थिएटरको संस्थापक पनि हुन् ।
अभिनय क्षेत्रमा १८ वर्षदेखि सँगसँगै रहेका विजयले नाजिरलाई भाइ भन्छन् भने नाजिरले विजयलाई दाइ सम्बोधन गर्छन् । विजय ‘कबड्डी’को बिके पात्रबाट चर्चामा आएका थिए भने नाजिर ‘होस्टेल रिटर्न्स’को रामेश्वर यादव नामक पात्रबाट चर्चामा आएका थिए ।
अहिले एक साताको अन्तरमा यी दुई अभिनेताको चलचित्र हलहरूमा लाग्दैछ । साथै उनीहरूले एक अर्काको चलचित्र प्रचारका लागि फरक शैली पनि अपनाएका छन् । नाजिरले सार्वजनिक गरेको भिडियोमा दुवैले एक अर्काको चलचित्रको पात्रको नाम समेत भनेका छन् ।
सार्वजनिक भिडियोमा सबैभन्दा पहिला विजयले सोध्छन्, ‘के छ भाइ साथी रु’ नाजिरको जवाफ आउँछ, ‘नमस्कार दाइ साथी ।’ यसपछि विजय भन्छन्, ‘आइजो हग गरौँ। मलाई एकै पटक कति खुसी लागेको छ । तँ र मेरो १८ वर्षदेखिको प्रेम हो भाइ ।’
यसपछि विजयले आफूले ‘गुन्यु चोलो’को गीत, ट्रेलर हेरेको, एकदमै मन छोएको बताउँछन् । अनि सोध्छन्, ‘तैँले मेरो चलचित्रको टिजर, ट्रेलर हेरिस् ?’
नाजिरले जवाफ दिन्छ, ‘किन नहेर्नु हौ । मुसुरीको दानामा अझ तपाईँ नाच्दाखेरि मेरो मन खुसी भयो । दाइ पनि नाच्नुभयो भन्ने भयो ।’
यसपछि विजयले आफ्नो चलचित्रको पात्रको नाम बनाउन लगाउँछन् । नाजिरले भन्छन्, ‘सीताराम सापकोटा’ । विजयले नाजिरको ‘गुन्यु चोलो’को पात्रको नाम गुलाबी थापा रहेको बताउँछन् ।
अन्यमा दुवैले एक अर्काको चलचित्रको डेट भन्छन् । अनि ‘आइजो बाबु हग गरौँ’ भन्दै पुनः हग गर्छन् ।
काठमाडौं । अभिनेता धिरज मगर विरुद्ध निर्माता संघमा उजुरी परेको छ । चलचित्र ‘ऐरी’को निर्माण कम्पनी मल्टी म्याट प्रा.लिले अभिनेता मगरसँग १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँको क्षतीपूर्ती माग गर्दै उजुरी दिएको हो ।
मल्टी म्याट प्रालिका सञ्चालक कमलबहादुर आलेले दिएको उजुरीमा धिरजले सम्झौता बमोजिम काम नगरेर धोका दिएको उल्लेख छ ।
नेपाल प्रेसलाई प्राप्त उजुरीमा भनिएको छ, ‘धिरजले फिल्मका लागि कागजी सम्झौता गरेर छायांकनमा समय दिएनन् । उनको गैरव्यवसायीक, गैरजिम्मेवार र नियतपूर्वक गरेको लापरबाहीपूर्ण व्यवहारका कारण कम्पनीलाई ठूलो क्षति पुगेको छ ।’
मगरसँग चलचित्रको निर्माण टिमले गत बर्ष चैत्र १९ गते कागजी सम्झौता गरेको थियो । मगरले सम्झौता बमोजिम अग्रिम भुक्तानी लिएपछि चलचित्रको छयांकनका लागि समय उपलब्ध गराउने बताएका थिए । तर, उनले निर्माण टिमलाई सुटिङ स्थलमा महिनौंसम्म पर्खाएको उजुरीमा उल्लेख गरिएको छ ।
यसरी लाखौं रुपैयाँ निर्माणको क्रममा र करोडौं रुपैयाँ फिल्म परियोजनाका क्रममा क्षति पुर्याएको भन्दै धिरजसँग क्षतिपूर्ति माग गरिएको हो ।
उजुरीमा चलचित्र निर्माणको क्रममा गराएको खर्च रकम ३ करोड ३१ लाख ६४ हजार ७१२, फिल्म परियोजनामा पारेको क्षतिवापत् ११ करोड ४३ लाख ८७ हजार २४१ र साइनिङ अमाउन्ट ४ लाख गरी १४ करोड ७९ लाख ५१ हजार ९५३ रुपैयाँ फिर्ता गर्न माग गरिएको छ ।
उजुरीको साथमा सम्झौता पत्र, स्वघोषणापत्र, चलचित्र निर्माणका क्रममा गराएको खर्चका विवरणहरू, चलचित्र परियोजनामा मगरले पारेको क्षतिको विवरणहरू, मगरले पेश्की लिएको कागज लगायत पत्र पनि समावेश गरिएको छ ।
यस विषयमा निर्माता संघमा बुझ्न खोज्दा अध्यक्ष नवल खड्काले उजुरी परेको पुष्टि गरे । उनले भने, ‘अब बाँकी प्रक्रियामा हामी जान्छौं ।’
अहिले मगर भने ‘मैझारो’को सुटिङका लागि पूर्वी इलाममा छन् । ‘ऐरी’मा धिरज मगर, सोनम तोप्देन लगायतका कलाकारहरुको मुख्य भूमिका छ । यस चलचित्रको केही दृश्यको छायांकन ढोरपाटनमा भइसकेको छ ।
काठमाडौं । आगामी शुक्रबार अर्थात् भदौ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माग्ने राजा’को निर्माण टिम यतिवेला व्यापक प्रचारमा जुटेको छ । सिनेमाको रिलिज मिति नजिकिएसँगै निर्माण टिम काठमाडौं उपत्यकाका विभिन्न कजेजदेखि कार्यक्रमसम्म पुगेर धेरैभन्दा धेरै दर्शकसम्म पुग्न प्रयासरत छ ।
यसैका लागि आज मंगलबार सिनेमाको निर्माण टिम काठमाडौं चुच्चेपाटीस्थित मनासलु स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार गरेको हो । जहाँ सिनेमाका मुख्य अभिनेता केदार घिमिरे ९माग्ने बुढ० र निर्देशक ऋषि लामिछाने पुगेका थिए । उनीहरु दुवै जनाले स्कुल तथा कलेजका विद्यार्थीलाई सिनेमा हेर्न अनुरोध समेत गरेका छन् । त्यससँगै अभिनेता माग्ने बुढाले सिनेमाको गीत ‘म त सुतेर उठेको पैसामा’ गीतमा विद्यार्थीसँग नृत्य समेत गरेका हुन् ।
यो सिनेमाको केही दिन अघि नै सेन्सर भैसकेको छ । सेन्सर बोर्डले सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यो सिनेमा हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न सक्ने भएका हुन् ।
सेन्सर भएको केही दिन भएपनि आज मंगलबारबाट यो सिनेमाको अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिएको छ । सुरुवाती चरणमा सिनेमाले उत्साहजनक शो पाएको छ । सवै हलले शो नखोली सकेकाले भोली बुधबार साँझसम्म देशभरका अधिकांश म्लटीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले अग्रीम टिकट बुकिङ खुल्ला गरिसक्ने अपेक्षा निर्माण टिमको छ ।
दर्शकमाझ यो सिनेमाको चर्चा व्यापक छ । सिनेमाले हाइप अनुसार सुखद् ओपनिङ गर्ने विश्वास गरिएको छ । ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमालाई मुनाल घिमिरेले निर्माण गरेका हुन् । सिनेमामा केदार प्रसाद घिमिरे ९माग्ने बुढा०, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन् । सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
काठमाडौं । हाँस्य-कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्बेको निर्देशनमा बन्न लागेको चलचित्र ‘गोबर गणेश’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तमा बल्छी धुर्बेसहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । क्यामेरा पूजा गरी केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडेपछि चलचित्रको पहिलो सट लिईएको थियो।
चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ । काठमाडौंबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ । ३५ दिनको छायांकन सेड्युल रहेको बल्छी धुर्बेले जानकारी दिएका छन् ।
‘आजबाट हामीले चलचित्रको छायांकन सुरु गरेका छौँ । हाम्रो कला र शिपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ,’ निर्देशक बल्छी धुर्बेले भने,’हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि गरिदिनु हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
बल्छी धुर्बेले निर्देशन गर्ने ‘गोबर गणेश’ यहीँ माघ १ गते रिलिज हुनेछ । उनको यो पहिलो फिचर फिल्म निर्देशन हो । ‘मेरी बास्सै’ बाट उनी दर्शकमाझ चिनिएका थिए। उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ पनि अहिले दर्शकमाझ लोकप्रिय छन् ।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा उनी आफै, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायत छन् ।
काठमाडौं । अभिनेता बिजय बराल अभिनित चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ ले युनिभर्सल सर्टिफिकेट ‘यू सर्टिफिकेट’ पाएको छ। सेन्सर बोर्डले आज यो चलचित्र सबै वर्गका दर्शकले हेर्न मिल्ने बताउँदै युनिभर्सल सर्टिफिकेट दिएको हो ।
केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको यो चलचित्रको रनटाइम २ घण्टा २३ मिनेट छ । चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर र गौरव पहाडी मुख्य भुमिकामा छन्।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् भने चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन ।
अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल मुख्य भूमिकामा रहेको यो दोश्रो चलचित्र हो ।
काठमाडौं । अभिनेता दयाहाङ चलचित्र ‘मैझारो’को सुटिङ सेटमा पुगेका छन् । पूर्वी इलाममा भइरहेको सुटिङ सेटबाट बाहिरिएको तस्बिरमा राईले लिम्बु समुदायको भेसमा एक हातले तीर हानिरहेको देखिन्छ ।
निर्माण पक्षले उनको भूमिका बारे केही खुलाएको छैन । यसअघि यो फिल्ममा उनी हुने नहुने बारेमा पनि निर्माण पक्षले केही खुलाएको थिएन । सुटिङ सेटकै तस्बिर बाहिरिएपछि उनी चलचित्रमा अनुबन्ध भइसकेको बुझ्न सकिन्छ ।
लामो समय दयाहाङले यस चलचित्रलाई होल्ड गरेर समेत राखेका थिए । कथामा चित्त नबुझेका कारण र क्लाइमेक्स बदल्ने कुरामा निर्देशक विल्सन विक्रम राईसँग विमति भएपछि उनी चलचित्रमा रहने वा नरहने भन्नेबारे अनिश्चित भएको थियो । तर, अहिले उनी छयांकनको सेटमै पुगेपछि विल्सन र दयाहाङबीच सहमति भएको बुझ्न सकिन्छ ।
चलचित्रमा दयाहाङको अलवा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ लगायत कलाकारको अभिनय छ । चलचित्रको छायांकन नेपालको पूर्वीको इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा भइरहेको छ ।
काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ । प्रकाश सपुत र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘बेला बितेसि’ सार्वजनिक भएको हो ।
गीतमा प्रकाश सपुतको शब्द संगीत र श्याम स्वेत रसाईलीको मिक्सिङ्ग/मास्टरिङ्ग रहेको छ । गायक तथा सर्जक सपुतले आफ्नो मौलिकपनको आभाष गीत मार्फत गराएका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन् ।
रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा प्रकास र स्वस्तिमाको प्रेम देख्न सकिन्छ । गीतको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् । यस अगाडि सार्वजनिक चलचित्रका पोष्टरले दर्शकको ध्यान खिचिरहेको छ । गीतले दर्शकको मन जित्ने देखिन्छ ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन् । कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् ।
वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।
काठमाडौं । चलचित्र खेले पनि, नखेले पनि अभिनेता अनमोल केसी प्रायजसो चर्चामै रहिरहन्छन् । वर्षमा एउटा मात्रै चलचित्र खेल्ने भएकाले उनको चलचित्र पनि प्रतिक्षित हुन्छ । अभिनेता भुवन केसीको छोरा हुनुको नाताले उनको पारिवारिक लिगेसीका कारण पनि चर्चामा रहन्छन् ।
सँगसँगै अनमोलको अभिनय कमजोर रहेको चर्चा बेलाबखत सुनिन्छ । अभिनयमा निखारता नभएको भनेर अनमोलको आलोचना पनि हुने गरेको छ । तर, अर्का अभिनेता विजय बराल भने अनमोलको अभिनय झुर नै चाहिँ नभएको बताउँछन् ।
नेपालप्रेससँगको कुराकानीमा उनले भने, ‘क्युट मान्छे हो उहाँ । अनमोलले वर्षमा एउटा त काम गर्ने हो । यही कारण उहाँको चलचित्रको प्रतीक्षा हुन्छ दर्शकलाई । उहाँले के गर्नुपर्थ्यो जस्तो लाग्छ भने जति सरल हुनुहुन्छ नि, अभिनयमा पनि त्यही किसिमको सरलता दिने कोसिस गर्नुभयो भने गजब हुन्छ । मलाई के लाग्छ भने उहाँबाट धेरै कुरा निकाल्न सकिन्छ ।’
अनमोललाई विजयको सुझाव पनि छ । अनमोलले आफ्नो एउटा भित्री कोर टिम राखेर रणनीतिक हिसाबले अभिनयको तयारी गर्दाखेरि राम्रो हुने विजयको सुझाव छ । त्यो टिमबारे कसैलाई देखाउन परेन, तर उक्त टिमका कारण पोजिटिभिटी पैदा हुनसक्ने विजयको आँकलन छ ।
‘अरुले अभिनयमाथि प्रश्न गर्छन् । तर, उहाँको अभिनय त्यस्तो झुर होइन, त्यसलाई बनाउने ठाउँ चाहिँ प्रशस्त छन्,’ विजयले थपे, ‘कलाकार कहिल्यै झुर हुँदैनन् । कलाकारले अभिनय गर्न नसक्ने भन्ने हुँदै हुँदैन । बरु त्यसलाई अझैं माझ्न सकिन्छ, बनाउन सकिन्छ ।’
विजयको ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरु’ यही भदौ ६ गतेबाट प्रदर्शन हुँदैछ भने अनमोलको ‘जेरी अन टप’ यही असोज ३१ गतेबाट प्रदर्शनमा आउँदैछ ।
काठमाडौं । टिभी रियालिटी शो ‘शार्क ट्याङ्क’ हिमालय टिभीको युट्युब च्यानलमा फिर्ता भएको छ । केही दिनदेखि हिमालय टिभीको च्यानलबाट शार्क ट्याङ्कका फुल एपिसोडहरू गायब भएका थिए ।
निर्माण स्रोत अनुसार प्राविधिक समस्याका कारणले शार्क ट्याङ्कलाई केही दिन प्राइभेट गर्नु परेको हो । समस्या समाधान भएर फेरि आजबाट सबै एपिसोडहरू पब्लिक भइसकेको स्रोतले बतायो ।
टिभीमा प्राइभेट गरेपछि ‘शार्क ट्याङ्क इन्डिया’ को युट्युब च्यानलमा शार्क ट्याङ्क नेपालका एपिसोडहरू अपलोड गरिएका थिए । अब भने दर्शकले हिमालय टिभीबाटै हेर्न पाउने छन् ।
बिजनेस रियालिटी शो शार्क ट्याङ्क पहिलो पटक नेपालमा हिमालयले टिभीले भित्र्याएको हो । लामो गृहकार्यपछि सुरु गरिएको यो रियालिटी शोलाई दर्शकले निकै रुचाएका छन् ।
यो शोमामार्फत ‘शार्क’ को भूमिकामा रहेका ५ विजनेसपर्सनहरुले साना स्टार्टअपहरुसँग सहकार्य गर्छन् । यो सिजनमा एउटै स्टार्टअपसँग ६ करोड सम्मको डिल भएको छ । अहिलेसम्म शार्क ट्याङ्का १४ एपिसोड प्रशारण भइसकेका छन् ।
काठमाडौं । नायिकाद्वय रेखा थापा र पूजा शर्माको चलचित्र ‘३६ को आँकडा’ मा काम गर्नका लागि निरुता सिंह नेपाल आइपुगेकी छिन् । उनी यहीँ चलचित्रको लागी आइतबार राती मुम्बईबाट नेपाल आएकी हुन।
नेपाल आएपछि निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू अत्यन्तै उत्साहित रहेको बताइन् । उनले भनिन, ‘अब म कतै पनि नगई निरन्तर नेपाली फिल्ममा काम गर्छु । बिचमा मेरो व्यक्तिगत कारण र विभिन्न कुराहरू नमिलेर चलचित्रबाट अफर आए पनि काम गर्न पाइनँ । अब चाहिँ म निरन्तर काम गर्छु।’
निरुताले आफू नेपाली चलचित्र भन्दा टाढा बस्न नसक्ने पनि स्पष्ट पारिन् । यो चलचित्रमा निरुताको भूमिकाबारे अहिले केही खुलाइएको छैन । निरुतालाई लिन पुगेका चलचित्रका निर्देशक सविर श्रेष्ठले पनि उनको भूमिका अहिले खुलाउन नमिल्ने बताए।
निरुतालाई चलचित्रमा लिनुको कारणबारे निर्देशक सविर भन्छन्,‘मैले सहायक निर्देशकको रूपमा निरुता सिंहसँग केही चलचित्रमा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ । कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो चलचित्रमा पनि निरुता दिदी नै चाहिने भूमिका छ । यसैले, उहाँलाई हामीले बोलाएका हौँ ।’
रेखा थापा र निरुता सिंहले चलचित्र ‘दुई पल’ पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । रेखा अहिले पनि सिने क्षेत्रमा सक्रिय भई काम गरिरहेकी छिन् भने निरुताले चलचित्र ‘दाल भात तरकारी’ पछि नयाँ चलचित्रमा काम गरेकी छैनन् । धेरै लामो ग्यापपछि यी दुई स्टार नायिकाले फेरि एकपटक स्क्रिन शेयर गर्ने पक्का भएको हो।
काठमाडौं । नेपाली गीत सङ्गीतमा ‘र्याप’ ले छुट्टै स्थान बनाइसकेको छ । भनिन्छ, ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ ।’
लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्यापतर्फ उत्तिकै आकर्षित छन् । र्यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ । र्यापले आफ्नो भोगाई र समाजको देखाई व्यक्त गर्ने र्यापरहरु बताउँछन् ।
पछिल्लो समय नेपाली र्याप र र्यापरको चर्चा अन्तरराष्ट्रिय स्तरमा हुन थालेको छ । विदेशी र्यापरले नेपाली र्यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षणबारे अनुमान गर्न सकिन्छ । सीमित समूहमा रहेको र्यापको चर्चा अहिले अन्तरराष्ट्रियस्तरसम्म पुगेको छ । पछिल्लो समय र्यापको सुनौलो युग आएको र्यापर गिरिश खतिवडा बताउँछन् ।
“हामी कलाकारका लागि र्याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । र्यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्यापमार्फत चिन्ने गरेको छु”, र्यापर खतिवडाले भने ।
उनले र्यापलाई मनको कुरा भन्ने माध्यमको रुपमा बुझेका छन् । अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्नसकिने माध्यम र्याप रहेको उनको बुझाइ छ ।
अर्का र्यापर मानस घलेले नयाँ पुस्तामा र्यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुट्टै स्थान बनाउन सफल भएको बताए । “हामीले र्यापलाई नेपालभर लग्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तरराष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो स्रोता बन्नुभएको छ । अहिले र्याप गाएरै जीविकोपार्जन गर्न सकिन्छ”, उनले भने ।
र्यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौँ महानगरपालिकाले र्यापर बालेनलाई प्रमुखको रुपमा पाएको उनले बताए । पछिल्लो समय नवोदितसँगै पुराना ¥यापरको माग स्टेज कार्यक्रममा बढ्दो छ । नेपाल मात्र नभई विदेशमा उत्तिकै लोकप्रिय छन्, र्यापर । यद्यपि र्यापलाई बदनाम गर्नेको कमी नरहेको र्यापर हाकिमले बताए ।
“र्याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हुँदैन, त्यसकारण हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउछौँ । तर, यो भन्दैमा अश्लिलतालाई प्रवर्द्धन गरेका भने होइनौँ । जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्याप बनाउने गरेका छन्, ती चर्चाका लागि मात्र आएका हुन् । किनकि र्यापमा बेदना, भोगाइ र बुझाइ हुन्छ”, हाकिमको भनाइ छ ।
अहिले र्यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको कुरा रहा पनि र्यापरले परिवेश र भविष्य हेर्ने भन्दा आफ्नो भावना व्यक्त गर्ने र्यापर खतिवडा बताउँछन् । “हामीले र्याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला, वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने होइन । र्यापले मलाई खुसी र सन्तुष्टि दिएको छ, त्यही भएर म अहिलेसम्म सक्रिय छु”, उनले भने ।
उनले र्यापमा आएको परिवर्तन र नयाँपुस्ताको भोगाईलाई आफूले गीतमार्फत थाहा पाउने बताए । यसका लागि उनी नयाँ र्याप सुन्छन् । अर्का र्यापर घलेले अहिले विभिन्न रियालिटी शोहरू निर्माण भइरहेकाले र्यापमा भविष्य खोज्नेलाई सहज भएको बताए ।
र्यापर हाकिमले ‘जी–बब’ जस्ता र्यापर ‘रियालिटी शो’ मार्फत आएको बताए। उनीसहितको टिमले विभिन्न शो गर्ने गरेको छ । “अहिले नेपाल मात्र नभई विदेशमा हुने कार्यक्रममा सहभागिता जनाउन सके र्यापरका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिले र्यापलाई लिएर सामाजिक धारणा फेरिएको छ”, र्यापर हाकिमले भने, “अहिले बढिरहेको लोकप्रियताले र्याप नबुझी लोकप्रियताका लागि मात्र आउनेलाई यहाँ टिक्न दिँदैन ।”
उनको ‘राक्षस’, ‘चोरी देउ लौन मलाई’लगायतका र्याप लोकप्रिय छन् । र्यापमा भविष्य खोजिरहेका युवाहरुको जमात दिनदिनै बढ्दो छ ।
काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ ले बक्स अफिसमा सुनामी ल्याएपछि अभिनेता विजय बरालको करियरले अचानक पिकअप लियो । ‘बिके’, ‘मंगलसिंह’ जस्ता साहायक पात्रमा रमाइरहेका विजयलाई मुख्य भूमिकामा अफर आउन थाल्यो । चलचित्रका स्क्रिप्टहरूको थाक लाग्न थाले । दुई गुणा, तीन गुणा बढी पारिश्रमिकको अफर लिएर निर्माताहरू लाइन लागे ।
यो सफलता उनले १७/१८ वर्षदेखि दायाँबायाँ नगरी अभिनयको क्षेत्रमा गरेको त्याग र मिहेनतको परिणति हो । विजयलाई लाग्छ, यी सबै घटना, प्रतिघटनाको कारण सपना प्राप्तिका खातिर उनले गरेको निरन्तरको कोसिस हो । तर, यही चलचित्रलाई आफ्नो यात्राको अन्तिम बिसौनी मान्न तयार छैनन् विजय ।
‘यो मेरा लागि ठूलो सफलता हो, तर, मैले यहीँ रमाएर बस्ने सुविधा मलाई छैन । मैले सफलता सेलिब्रेट गरेर पुनः यात्रामा निस्कनुपर्छ,’ विजय सुनाउँछन्, ‘गन्तव्य त मेरो धेरै टाढा छ । मैले पुग्नुपर्ने ठाउँ त धेरै पर छ ।’
‘पूर्णबहादुरको सारंगी’बाट उनले लिएको पारिश्रमिक (बोनससहित) हिसाब गर्ने हो भने करोडमाथि पुग्छ । पूर्णबहादुर नामक पात्रले छोराको सपना पूरा गर्न गरेको संघर्षले लाखौं दर्शकहरूलाई छोयो । पूर्णबहादुरजस्तै निर्दोष बालाई गाउँमा छाडेर सपनाको सहर छिरेको छोराको कथा लिएर विजय पुनः दर्शकमाझ आउँदैछन ।
बाको पात्रमार्फत् दर्शकलाई रुवाएका थिए, अब छोराको पात्रमार्फत् दर्शकलाई कतिको भावुक बनाउँछन्, त्यो भदौ ६ गतेपछि मात्रै थाहा हुनेछ । उनै विजयले हामीसँग ‘पूर्णबहादुरको सारंगी’ ले दिएको अवसर र चुनौती, अबको यात्रा, सपना प्राप्तिका लागि गरेको संघर्षलगायतका विषयमा नेपाल प्रेससँग मन खोलेर कुरा गरेका छन् –
पूर्णबहादुरको सारंगी अघि र पछि :
‘पूर्णबहादुरको सारङ्गी’ ले तपाईंको जीवनमा के-के बदलाव ल्यायो ?
समाजले मलाई र परिवारलाई हेर्ने दृष्टिकोणमा बदलाव आयो । आर्थिक अवस्थामा अलि सुधार आयो । ‘पूर्णबहादुरको सारंगी’ अघि र पछिमा धेरै कुराहरू बदलिए । सफलताले मान्छेको धेरै कुरा बदलिदिँदो रहेछ ।
– के के बदलिदियो ?
आर्थिक हिसाबले सहज बनाइदियो । साथीभाइ र समाजहरूले ‘आइज न, एकचोटि प्रोग्रामको उद्घाटन गर्दे‘, ‘तँ आएर बोल्दे’, ‘हाम्रोमा चिया खान आइदे’ भनेर सम्झन थाले । स्क्रिप्टहरू धेरै आए, चलचित्रको अफरहरूको संख्यामा बढोत्तरी भयो ।
– त्यो त कलाकारको रूपमा भयो, मान्छेको रूपमा के के परिवर्तन भयो ?
मान्छेको रूपमा विजय बराल केही परिवर्तन छैन ।
– स्वाभावमा ?
स्वाभावमा केही पनि छैन ।
– अहंकार, घमन्ड बढ्यो कि ?
त्यो पनि जीरो, केही छैन । मनमा चाहिँ कतै ‘त्यस्तो ठाउँबाट आएर केही गरेँ’ भन्ने लागिरहन्छ । तर, व्यवहारिक र आत्मिक रूपमा केही परिवर्तन छैन । अहिले तपाईँसँग बोलिरहँदा पनि पूर्णबहादुर अगाडिकै सर्ट लाइरहेछु । त्यो बेलाको पाइन्ट लाइरहेछु । एउटा, दुइटा कुरा टोपी बदलियो होला । तर, म जस्तो थिएँ, त्यस्तै छु ।
– साँच्चै परिवर्तन भएन ?
हामी थिएटर गर्ने मान्छे हौं । थिएटर अलिकति योग, ध्यान, साधनासँग नजिक-नजिक हुन्छ । ध्यानकै एउटा प्रयोग जस्तो हो । परिवर्तन हुने कुरै छैन ।
घमण्ड त बढेन । अहिले समाजले मप्रति हेर्ने दृष्टिकोण चाहिँ अलग भएको हो कि लाग्छ ।
– पूर्णबहादुर सारङ्गीमा तपाईं सेयरमा पनि हुनुहुन्थ्यो होइन ?
अँ, ५ प्रतिशत सेयरमा थिएँ ।
तपाईँले कति जति पाउनुभयो सबै गरेर ?
लगभग ८५-८६ लाख आउँछ । ट्याक्स तिरिसकेपछि त्यति आउँछ ।
– पूर्णबहादुरपछि फिल्मको अफर चाहिँ धेरै आयो है ?
हजुर, धेरै अफरहरू आए ।
– पारिश्रमिक पनि ह्वात्तै बढाउनुभएको हो ?
ह्वात्तै हैन, ठीकै बढ्यो । मैले डिमान्ड गरिनँ । उहाँहरूले आफैले एउटा अनुमानित डिमान्ड राख्नुभयो, मैले स्वीकार गरेँ ।
– चलचित्र क्षेत्रमा पारिश्रमिकको लफडा भइरहन्छ, तपाईँलाई कस्तो लाग्छ ?
मलाई यति मात्रै लाग्छ, हामीले एक्सन र कटको बीचमा काम देखाउनुपर्छ । हलमा छिरेको दर्शकलाई बुझाउन सक्नुपर्छ । अरु चिज भनेको गौण कुराहरू हुन् ।
– लगभग १० महिनापपछि मुख्य भूमिकामा ‘जनै हराएको मान्छे’मा देखिँदै हुनुहुन्छ, कतिको प्रेसर महसुस भइरहेको छ ?
थोरै । अलिकति भार महसुस चाहिँ हुन्छ । नत्र त अभिनयको हिसाबले मेरो क्षमता जति छ, त्योभन्दा बढी गर्न सक्दिनँ । मेरो चरीत्रहरूले गर्ने मौलिक शैलीहरू निर्माण चाहिँ गरेको छु । मलाई चुनौती यति मात्रै हो कि मेरा अघिल्ला कामभन्दा यो चलचित्रको काम फरक देखिनुपर्छ । चलेका कलाकार हुँदैमा चलचित्र चल्छ भन्ने देखिएको छैन । कन्टेन्ट दह्रिलो हुनुपर्छ भन्ने आइसकेको छ ।
– ग्रस कलेक्सन गर्ने सन्दर्भमा ?
केही नभए पनि प्रोड्युसरको लगानी उठोस्, सिनेमा हेर्ने दर्शक सन्तुष्ट हुनुहोस् ।
सपना पूरा हुँदाको अनुभूतिः
– तपाईंले अभिनय मात्रै गरेको १८ वर्ष भयो है ?
मैले जीवनमा अभिनय बाहेक केही गरिनँ । न बिजनेस गरेँ, न डिरेक्सन गरेँ, न राइटिङ गरेँ । मात्र निरन्तर अभिनय गरेँ ।
– मण्डला थिएटरका पुराना दिनहरूलाई कसरी सम्झिनुहुन्छ ?
यो सफलतालाई पछाडि छोडेर हेर्दा आफ्नो सपना भन्ने हुँदो रहेछ । सपना देख्नेहरूको भिड थियो मण्डला थिएटरको हाम्रो समूह । १०-१५ जना थियौं । अहिले प्रायजसो सबै स्थापित छन् । हामी सबैको अभिनयबाहेक अरु सोचै थिएन ।
– पुरानो मण्डलालाई सम्झँदाखेरि कस्तो लाग्छ ?
त्यही मण्डला चाहिँ मण्डलाजस्तो लाग्छ । त्यहाँ सानो, चिटिक्कको स्पेश थियो । पार्किङको अभाव थियो, तर रमाइलो थियो । सबैलाई सुविधा थियो, सुलभ थियो ।
– सपना देख्नु चाहिँ पर्दो रहेछ, हैन ?
सपना देख्नुपर्छ, तयारी गर्नुपर्छ, अनि बल्ल पूरा हुन्छ ।
– सपना पूरा हुँदाखेरि कस्तो हुँदो रहेछ ?
मजा आउँदो रहेछ । कहिलेकाहीँ त्यो विपसेनामा बस्दा, ध्यान गर्दाखेरि शरीरमा अलग खालको ऊर्जा महसुस हुन्छ भन्छन् नि, त्यस्तो खालको मजा आउँदो रहेछ । तर, त्यही मजा मानेर रमाइरह्यौं भने हराइहालिन्छ, सकिएर गइन्छ । त्यो सफलताको मजा लिने मात्रै हो । फेरि संघर्ष सुरू भइहाल्छ । सफलता भनेको अर्को सफलताको सुरू सुरूवात हो ।
जस्तो भूमिकाको लागि पनि तयार
– लामो समय सहायक पात्रको भूमिकामा देखिनुभयो । अब चाहिँ कसैले तपाईंलाई सहायक पात्रको रूपमा अफर गर्यो भने ?
मज्जाले गर्छु । पात्र गज्जबको हुनुपर्यो । पात्रको उठान र बैठान राम्रो हुनुपर्यो । दोस्रो चाहिँ पैसाको कुरा होला, त्यो मिलेपछि गरिहालिन्छ ।
– त्यत्रो सोलो हिट दिएँ, अब सहायक पात्रमा गर्दिनँ भन्ने लाग्दैन ?
त्यस्तो लाग्दैन । भरसक मुख्य भूमिकामै अफर आओस् भन्ने लाग्न चाहिँ लाग्ला । तर, सहायक पात्रमै काम गर्दिनँ भन्ने लाग्दैन ।
– सहायक पात्रमा हुँदा अलि चुनौती कम हो ?
हो, चुनौती नै हुँदैन । चुनौती नै छैन ।
– किन ?
चलचित्रको भार हुँदैन नि त ! सहायक चरित्रले को-एक्टरसँग मात्र तालमेल मिलाए पुग्यो । तर मुख्य चरित्रमा भनेपछि अढाई-तीन करोडको भार थपिन्छ ।
– ‘जनै हराएको मान्छेमा’ मान्छेमा केकी र मिरुनालाई भन्दा बढी भार तपाईँलाई हो ?
भार सबैलाई हुन्छ । भोला सापकोटा, केकी, गौरव, रेअर सबै लिडमै हुनुहुन्छ ।
– प्रचार सामग्रीहरूमा त तपाईंकै प्रभूत्व छ ?
त्यस्तो किन पनि भन्दा सम्बन्धको धागोको लाइन चाहिँ पकडेर कुद्ने म नै हो नि त ।
उपेन्द्र, रामबाबुप्रति शतप्रतिशत भरोसा
– दशैंको भोलिपल्टै तपाईंहरू ‘कबड्डी ५’ को सुटका लागि जाँदै हुनुहुन्छ । चलचित्रमा तपाईंको भूमिका अलि पृथक हो कि बिके नै हो ?
पात्र त मेरो बिके नै हो । महत्वको कुरा गर्दा भाग एकदेखि ४ सम्म बिके नै चाहिन्छ । म फेरि राम दाइ, उपेन्द्र दाइ, निश्चल दाइलाई केही भन्दिनँ । किनभने उहाँहरू घरभित्रको मान्छे हो । दाइहरूले बनाएको मान्छे हो म । उहाँहरूले मलाई जिरोदेखि देखिरहनुभएको छ । उहाँहरूले जे लेखेर दिनुहुन्छ, विजयलाई यत्तिको बनाउनुपर्छ भन्ठानेर लेखेर दिनुहुन्छ ।
म उहाँहरूलाई ‘दाइ, यो रोल भएन, यो हुनुपर्छ’ भनेर कहिल्यै भन्दिनँ । त्यो भएर ‘कबड्डी ५’ कस्तो हुन्छ, मैले सोधेको छैन । स्क्रिप्ट फाइनल भइसकेको छैन । कस्तो क्यारेक्टर बनाएर आउँछ बिके भन्ने पनि थाहा छैन । दुईटा सिन हुन्छ कि कति हुन्छ, त्यो पनि थाहा छैन ।
– बिकेको भूमिका अलि तन्कियोस् भन्ने लाग्दैन ?
लोभ त कलाकारलाई अलि-अलि लागिहाल्छ । तर, अबको समय दश सिन नै होस्, तर गज्जबको होस् भन्ने लाग्छ ।
‘पूर्णबहादुरको सारंगी’ को एकल श्रेय
– ‘पूर्णबहादुरको सारङ्गी’बाट चाहिँ एक्लै क्रेडिट खानुभयो है ?
मुकुन्द दाइ, अन्जना, बुद्धि दाइ, माओत्से मामा, प्रकाश सर, विनोद सर लगायत थुप्रैको महत्वपूर्ण भूमिका थियो । चलचित्रमा हामी सबैको लगानी थियो ।
– तर किन एक्लै सबै क्रेडिट सोहोर्नुभयो ?
त्यही त, मेरो इच्छा चाहिँ होइन त्यो । मेरो मात्रै कोसिसले चलचित्र बनेको पनि होइन । तर मलाई सबैले दिनुभयो । मलाई दिएको कुरा ‘नदिनुस्, लानुस् उता’ भन्नै नमिल्ने के ! प्रेम, सत्कार र सम्मान दिएपछि लिने नै त होला । कहिलेकाहीँ भाग पाइँदो रहेछ ।
– यो लेखान्त हो त ?
लेखान्तै हो । पूर्णबहादुर अगाडिसम्म पनि मैले कामै गरिरहेको थिएँ । कति गरेँ कति ! अब लेखान्तमा चाहिँ पूर्णबहादुरमा आएर पाउनु थिएछ ।
– निर्मातासँगको टसलले चलचित्रको सुरूवाती प्रमोसनमा प्रकाश सपूत आउनुभएको थिएन । चलचित्रको मुख्य अनुहार नै उहाँ हुनुहुन्थ्यो । उहाँले स्टाटस पनि लेख्नुभयो । बुद्धि तामाङ र तपाईंले जसोतसो प्रचार गर्नुभयो । कस्तो लागेको थियो त्यसबेला ?
सुटिङ सुरू हुँदाखरि नै प्रकाश सरले अलिकति ‘वसन्त’ तिर बिजी हुन्छु भन्नुभएको थियो । त्यसैले उहाँ बिजी हुनुहुन्छ । कलाकारको हिसाबले चाहिँ मलाई त्यस्ता कुरा सामान्य लाग्छ । अहिले हामी ‘जनै हराएको मान्छे’मा कुदिरहँदा मिरुना जी सुटिङमा हुनुहुन्छ ।
प्रकाश सरसँग भेटिँदा सम्बन्ध सामान्य नै थियो । चिया कफी खाइन्थ्यो, छुटिन्थ्यो । हामी सबैको आ-आफ्नै जीवन छ । तर, भित्री तरीकाले निर्मातासँग उहाँ मिल्नुभएको थिएनछ । त्यसबेला दुवै पक्षबाट स्टाटस आइरहँदा मलाई चाहिँ कस्तो कस्तो लागेको थियो ।
– प्रकाश जीबिना प्रचारमा हिँड्दा कत्तिको आत्मविश्वास थियो ?
कन्फिडेन्स अलिकति लो डाउन हुँदो रहेछ । किनकि म त जहिले पनि अरुसँग हिँडिरहेको पात्र हो नि त । त्यतिखेर मलाई धेरैले चिन्दैन थिए । चलचित्रको पात्रको हिसाबले चिन्नुहुन्थ्यो, तर रियालिटीमा त गेटअप मेरो चेन्ज भइरहन्थ्यो । अब प्रकाश सर त ठ्याक्कै चिनिनुहुन्थ्यो । म्युजिकल क्षेत्रमा राज गरिरहनुभएको थियो । उहाँ भएको भए हामीलाई कति रमाइलो हुन्थ्यो भन्ने फिल हुन्थ्यो । उहाँ नहुँदा अलिकति आड नभएको जस्तो लागेको थियो । किनकि म त पावरफुल मान्छे छेउमा बस्ने बानी लागेको मान्छे थिएँ नि त ।
त्यो प्रचारले मेरो कन्फिडेन्स लेभल चाहिँ बढाइदियो । त्यो मेरा लागि सिकाइ भयो । म एक्लै देखिँदा पनि फरक नपर्ने रैछ भन्ने लाग्यो । किनकि सबैको आ–आफ्नो एपियरेन्स हुन्छ, आ-आफ्नो शैली हुन्छ ।
– अहिले चाहिँ कस्तो कन्फिडेन्स छ ?
अहिले त मलाई सामान्य लाग्छ । अब चाहिँ एक्लै हुँदा पनि फरक नपर्ने अवस्थामा छु । पहिले यसरी सिंगल इन्टरभ्यू हुँदाखेरि डर लाग्थ्यो । दर्शकलाई पूर्णबहादुर, बिके, मंगलसिंह मै हो भन्ने थाहा छ । एक्लै हिँड्दा मेरो बोल्ने शैलीमा पनि सुधार भएको छ ।
– ‘जनै हराएको मान्छे’ लाई लिएर चाहिँ प्रकाशजीले शुभकामना दिनुभएको छ कि छैन ?
सरसँग भेटेकै छैन । तर, हिजो भर्खरै नाटक हेर्न आउनुभएको थियो मण्डलामा । मैले भेटेँ । ‘सर, नाटक हेर्न आउनुभयो ?’ भनेँ । ‘अँ सर’ भन्दै हुनुहुन्थ्यो । अनि टिकट लिएर सर नाटक हेर्न छिर्नुभयो । अनि म पनि अर्को इन्टरभ्युमा गएँ ।
– त्यतिमात्रै कुराकानी भयो ?
त्यति भयो । त्यसपछि मैले ‘दया दाइ चाहिँ माथि हुनुहुन्छ’ भनेँ । ‘ए दाइलाई भेट्छु नि त त्यसो भए’ भन्नुभयो । माथि चढ्नुभएको थियो, भेट्नुभयो कि भएन थाहा छैन । प्रकाश सर राम्रो मान्छे भनेर चिन्ने त हो मैले । तर दया, बुद्धि दाइ, नाजिरहरूसँगजस्तो सधैँ गफ गर्ने आधार हुँदैन ।
नराम्रो भनेको सहनै नसक्ने
– कस्तो कुराहरूले तपाईँलाई बढी भावनात्मक रूपमा टच गर्छ ?
मलाई सानो, सिम्पल कुराले । मलाई तपाईँले ठट्टा गरेर पनि ‘तपाईँ त झुर मान्छे रहेछ’ भन्दा चित्त दुख्छ । म झुर त होइन नि रियलमा । मैले अरुको पनि चित्त दुखाएको छैन ।
मण्डलाको सुरूवातकालीन समयमा हामी छ-सातजनाले चलचित्र गरेका थियौं । निर्माताले हामीलाई सामुहिक रूपमा पैसा दिनुभयो । मैले सबैलाई ५–५ हजार बाँडेँ । तर, आफ्नो भागमा परेन । सबैले भने, ‘तँ चाहिँ के गर्छस् ?’ मैले भनेँ, ‘छोड्दे यार, मलाई केही फरक पर्दैन ।’ म राम्रो हुनलाई भन्दा पनि नराम्रो चाहिँ नहौँ भन्ने चाहना सधैं हुन्छ । म राम्रो हुँ भन्ने होइन, तर कसैको नजरमा म चाहिँ नराम्रो चाहिँ नहौँ ।
मान्छेले त अनेक अनुमान लगाइदिन्छन् । मसँग नभेटिकन ‘तपाईं खत्तम मान्छे हो’ भन्दिन्छन् । भेटेको छैन, संगत गरेको छैन, तर तीनजनाले भनेपछि खत्तमै हो भन्दिन्छन् । म के भन्छु भने भेट्नुस्, कुरा गर्नुस् । जब आँखा जुधाएर गफ गरिन्ज्छ नि, तब सत्य थाहा हुन्छ ।
– रिसाएको बेला के गर्नुहुन्छ ?
घरमा रिस उठ्यो भने चुप लाग्छु । अरुतिर रिस उठ्यो भने एक शब्द पनि बोल्दिनँ । रिस उठेको मान्छेलाई म हेर्दै हेर्दिनँ । त्यो मेरो स्वभाव हो ।
– के कुराले धेरै रिस उठाउँछ ?
मलाई सामान्य चिजले । जस्तै कहिलेकाहीँ आफूले भनेको कुरा सही छ तर अर्कोले जबरजस्ती गलतै भनिरहेको छ भने रिस उठ्छ ।
– एकदमै चित्त दुख्यो भने ?
म त्यो ठाउँबाट निस्किहाल्छु । चित्त दुखेपछि के-के गरूँ जस्तो लाग्छ । अनुहारको रंग चेन्ज हुन्छ । अनि के बोल्ने, कसो गर्ने थाहै हुँदैन । अनि भुइँतिर हेर्ने, अलि साइडतिर लागिहाल्ने ।
– कसैसँग झगडा भएको छ ?
यतिकै जिस्केर विवाद गरेको मात्र याद छ । सामान्य विवाद भयो भने मान्छे चिच्याउँदा म सफ्ट भइहाल्छु । यदि मेरो गल्ती छ भने मात्रै ।
– गल्ती छैन भने ?
गल्ती छैन भने दुई-चार चोटि उसलाई पेल्छु र छोड्दिन्छु ।
कसैप्रति माया देखाउनुपर्यो भने कसरी देखाउनुहुन्छ ?
अलिकति केयर गर्दिन्छु । उसले थाहै नपाउने गरी केयरिङ गर्न मन लाग्छ । अनि उसलाई के चिज ठिक लाग्छ, राम्रो लाग्छ, त्यो चिज उसलाई देखाउने, घुमाउने, खुवाउने हो कि ?
– श्रीमतीको बारेमा दुई शब्द भन्नुपर्यो भने ?
अहिले मेरो अभिभावक जस्तो हो ।
– छोरा ?
छोरा त मेरो कनेक्सन हो, एउटा इनर कनेक्सन ।
दयाहाङ, सौगात, विपीन कार्कीबारे
– तपाईंले धेरै चलचित्रमा सहकार्य गर्नुभएको अभिनेता दयाहाङ राईको अभिनय एकै खालको भयो भनेर आलोचना भइरहेको हुन्छ । तपाईँलाई चाहिँ कस्तो लाग्छ ?
अभिनयको आफ्नै शैली हुन्छ । ती शैलीमध्ये दया दाइले गर्ने एउटा शैली हो । कुनै-कुनैमा उस्तै देखिनु ठिक छ । तर, सबैले भन्नुहुन्छ नि एउटै देखियो, त्यस्तो चाहिँ होइन ।
क्यारेक्टरको आफ्नै मनोविज्ञान हुन्छ । क्यारेक्टर बाँच्ने भौगोलिक संरचना अलग हुन्छ । उसले सोच्ने तरीका अलग हुन्छ । काजीको रूपमा दया दाइको सोच र ‘घरज्वाइँ’मा दया दाइको सोच, ‘लुट’को गोप्लेको सोच धेरै फरक हुन्छ ।
– तर सबैले किन एउटै भने होला ?
खै, यस्तो होला, दारी–जुँगा नआएकाले एउटै भनेको होला । (हाँसो)
– कस्तो लाग्छ दयाहाङको अभिनय तपाईँलाई ?
दया दाइको अभिनयको प्याटर्न, स्टाइल मन पर्छ । जस्तै विपिन दाइले आफ्नो स्टाइल क्रिएट गर्नुभएको छ । सौगात दाइको आफ्नो स्टाइल छ । दया दाइको आफ्नै छ । नेपाली चलचित्र क्षेत्रमा अहिले यी तीनजनाले आफ्नै स्टाइल क्रिएट गर्नुभएको छ । भर्खरै नाजिरले एउटा क्यारेक्टर लिएर आएछ ‘गुन्जो चोलो’मा । भनेपछि ड्रास्टिक चेन्ज गर्ने क्यारेक्टर आयो भने चेन्ज देखिहालिन्छ ।
– सौगातको चाहिँ अलिक भर्सेटाइल हो ?
उहाँको आउटर प्याटर्न बढी छ । क्यारेक्टरको लुक्स, बडी ल्यांग्वेजमै पुरै चेन्ज गर्नुहुन्छ । त्यही भएर सौगात र दया दाइको प्याटर्न फरक छ ।
– दुईजना बीचमा फरक के-के हो ?
दया दाइ ‘इनर टु आउटर’ वाला प्रयोग गर्नुहुन्छ । यो भनेको पहिलो भित्री रूपमा आफूलाई तयार गर्ने, अनि पात्रको बाहिरी आवरणमा मिहेनत गर्ने । सौगात दाइ पहिले बाहिरी आवरणमा मिहेनत गर्नुहुन्छ । अनि भित्री आवरणमा छिर्नुहुन्छ ।
– दुईजनामा को उत्कृष्ट हो त ?
एक्टरको लागि दुइटै स्टाइल ठिक हो । देखिँदा चाहिँ दया दाइको उस्तै-उस्तै देखिन सक्छ । कहिलेकाहीँ टाइम नपाएर, के भएर नहुन सक्छ । आफ्नै दाइ भन्दैमा दाइको सबै ठिक हो म भन्दिनँ ।
दयाहाङलाई सुझाव दिनुपर्यो भने ?
अबको समय छानेर वर्षमा चारवटा चलचित्र गर्दिनुभयो भने राम्रो हुन्छ । तर, समस्या कहाँ छ भने उद्योगलाई दाइ नै चाहिन्छ फेरि ।
– किन ?
मार्केट बोक्नुभएको छ नि त । सबैलाई दया दाइ नै चाहिन्छ ।
– सौगातलाई सुझाव चाहिँ ?
सौगात दाइले कहिलेकाहीँ सफ्ट क्यारेक्टरहरू गर्दिनुहोस् । आजकल गर्न कोसिस पनि गर्नुभएको छ । त्यो हेर्दा मलाई खुसी लाग्छ । अरुले भनेजस्तो दया दाइ र सौगात दाइको काममा खोट मात्रै थिए भने उहिल्यै पलायन भइसक्नुपर्ने हो । उहाँहरू १७-१८ वर्षदेखि निरन्तर हुनुहुन्छ । क्षमता भएरै काम पाइरहनुभएको छ । बूढाहरूमा केही छ ।
– विपीन कार्की चाहिँ कस्तो लाग्छ ?
विपीन दाइ मिक्स हान्नुहुन्छ, इनर-आउटर, आउटर-इनर । उहाँ पात्रमा एकदम खेल्नुहुन्छ । कहिलेकाहीँ आवाजमा खेल्दिनुहुन्छ, कहिलेकाहीँ बडीमा खेल्नुहुन्छ ।
– उहाँलाई सुझाव ?
दाइको चाहिँ धेरै कम सिनेमा आइरहेको छ । अलिकति बढाउनुपर्यो ।
– अनमोल केसीको अभिनय कमजोर रहेको भनेर निकै आलोचना हुन्छ, तपाईँलाई कस्तो लाग्छ ?
क्युट मान्छे हो उहाँ । अनमोलले वर्षमा एउटा त काम गर्ने हो । यही कारण उहाँको चलचित्रको प्रतीक्षा हुन्छ दर्शकलाई । उहाँले के गर्नुपर्थ्यो जस्तो लाग्छ भने जति सरल हुनुहुन्छ नि, अभिनयमा पनि त्यही किसिमको सरलता दिने कोसिस गर्नुभयो भने गजब हुन्छ । मलाई के लाग्छ भने उहाँबाट धेरै कुरा निकाल्न सकिन्छ ।
– उहाँलाई सुझाव के छ ?
अनमोल सरले यसो गर्दा हुन्छ होला, उहाँले एउटा आफ्नो भित्री कोर टिम तयारीहरू गर्दै जानुपर्छ । त्यो टिम दुनियाँलाई देखाउनु परेन । तर, त्यो टिमले पोजिटिभिटी पैदा गरिदिन्छ । अरुले अभिनयमाथि प्रश्न गर्छन् । तर, उहाँको अभिनय त्यस्तो झुर होइन, त्यसलाई बनाउने ठाउँ चाहिँ प्रशस्त छन् ।
कलाकार कहिल्यै झुर हुँदैनन् । कलाकारले अभिनय गर्न नसक्ने भन्ने हुँदै हुँदैन । बरु त्यसलाई अझैं माझ्न सकिन्छ, बनाउन सकिन्छ ।
एक्सन चलचित्रमा काम गर्ने रहर
– लामो समयदेखि तपाईँले चाहेको तर, अहिलेसम्म गर्न नपाएको भूमिका ?
अब मलाई अलि फिजिकल्ली ज्यान बनाएर ट्याकटुक गर्ने खालको भुमिका गर्न मन छ ।
– भन्नाले एक्सन ?
अँ, अलि जिममा ज्यान बनाएर झ्यापझुप पार्ने खालाको । फिजिकल्ली ज्यान बनाउँदा ‘औरा’ पनि देखिन्छ । ‘कान्तारा’ टाइपको । अब लभ स्टोरी गर्ने भनेको मेरै प्याटर्नको हो । लोकल टाइपको लभ स्टोरी चल्छ मेरो ।
काठमाडौं। कलाकार अचल शाही ठकुरीको पहिलो मौलिक म्युजिक भिडिओ ‘सप्तरंगी’ को प्रिमियर काठमाडौंमा सम्पन्न भएको छ। मोबाइलको सानो स्क्रिनबाट सुरु भएको उनको यात्रा हिजो विशाल पर्दामा उज्यालो भएर चम्किएको थियो।
कार्यक्रममा विद्यार्थी, कलाकार, शुभेच्छुक र साथीभाइहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। हल खचाखच भरिएको थियो र भिडिओलाई सुरुदेखि अन्त्यसम्म दर्शकहरू तल्लीन भइ हेरेका थिए ।
भिडियो सकिएपछि हलमा गुन्जिएको ताली र हर्षध्वनीले माहोललाई भावुक बनायो। कतिपय दर्शकको आँखामा आँसु देखिएको थियो, जसले साँझलाई थप ऐतिहासिक बनायो।
‘सप्तरंगी’ केवल एक गीत मात्र नभई अचलको संघर्ष, समर्पण र आत्मविश्वासको कथा हो। मोबाइलको सामान्य क्यामेराबाट सुरु भएको उनको सृजनात्मक यात्रा युट्युबको विशाल पर्दासम्म आइपुगेको छ। गीतमा अचलले आफैं अभिनय गरेका छन् र यसले धेरै दर्शकलाई आफ्नै जीवनसँग जोडिन प्रेरित गरिरहेको छ।
हालै मात्र सार्वजनिक गरिएको यो म्युजिक भिडियो युट्युबमा उपलब्ध छ र छोटो समयमा नै हजारौं दर्शकको मन जितेका छन् ।
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाको क्यारिकेचर गरिएको प्रस्तुति सार्वजनिक भएपछि कमेडियन विकास अर्याललाई फोनमा धम्की आएको छ । दुई दिनअघि सार्वजनिक कमेडी दरबारको नयाँ एपिसोडमा अर्यालले प्रचण्डको क्यारिकेचर गरेका थिए।
उक्त क्यारिकेचनमा एक घाइते पूर्वलडाकुसँग प्रचण्डको संवादलाई देखाइएको छ । संवादका क्रममा एउटा सन्दर्भमा ‘पाँच हजारको जिम्मा लिएपछि जुठै बारौं कि भन्ने लाग्यो’ भनेर बोलेका थिए । अर्को दृश्यमा नक्कली प्रचण्डले भन्छन्, ‘म युद्ध मात्रै लडेको होइन, चुनाव मात्रै लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लड्या मान्छे हो ।’
यी दुई संवादलाई लिएर आफूलाई धम्कीपूर्ण फोन कल आएको कमेडियन विकास अर्यालले बताए । उनले भने, ‘म प्रचण्डको फ्यान हो भन्दै नयाँ नम्बरबाट फोन आएको थियो । किन प्रचण्डलाई त्यस्तो भनेको, त्यो तुरुन्तै हटाउनू नत्र राम्रो हुँदैन भनेर थर्काएको थियो । मैले केही नबोली फोन काटिदिएँ । नम्बरलाई ब्लकमा राखिदिएँ ।’
अर्याललाई हिजो बिहान फोन आएको थियो । कमेडी दरबारको नयाँ एपिसोडमा ‘माग्ने राजा’ चलचित्रको टिमलाई अतिथिको रुपमा बोलाइएको थियो ।
काठमाडौं । स्पष्टवक्ताका रुपमा चिनिने अभिनेत्री सुरक्षा पन्त पछिल्लो समय भने खुलेर बोल्नै डराउन थालेकी छन् । खासगरि राजननीतिक प्रश्नहरुसँग उनी निकै तर्सिन्छिन् ।
पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा गरेको टिकाटिप्पणीले उनलाई विवादित बनाएको थियो । राजसंस्था समर्थकहरु उनीमाथि खनिएका थिए । त्यही प्रसंग जोडेर अहिलेसम्म पनि उनलाई गाली आउन छोडेको छैन । त्यही भएरु अबदेखि उनले राजनीतिक विषयमा कुनै पनि खालको अभिव्यक्ति नदिने प्रण गरेकी छन् ।
सुरक्षा हालै चर्चित पत्रकार ऋषि धमलाको अन्तरवार्तामा प्रस्तुत भइन् । धमलालाई अन्तर्वार्ता लिन कुनै रिसर्च चाहिँदैन । उनी मनमा फ्याट्ट जे फुर्छ त्यही सोधिहाल्छन् । चलचित्र ‘कोसेढुंगा’को प्रमोसनमा पुगेका निर्देशक सरोज पौडेल र अभिनेत्री पन्तसँग एउटा प्रसंगमा कुरा भइरहँदा उनले अचानक सोधे, ‘पूर्वराजा ज्ञानेन्द्र र राष्ट्रपति रामचन्द्र पौडेल ?’
सुरक्षाले जवाफ दिन इन्कार गरिन् । दुईजनामध्ये एकजना नरोज्ने उनी बताउँछिन् । धमलाको जिद्दी गर्ने आफ्नै शैली छ । ‘तपाईंले आज जनतालाई बताउनैपर्छ’ भन्दै उनले दवाव दिए ।
सुरक्षा भन्छिन्, ‘दुवैलाई रोज्न पनि सकिन्छ नि, दुवैको सहअस्तित्व छ । एकजना मात्रै रोज्दिनँ ।’
धमलाले अर्को प्रश्न तेस्र्याए– केपी ओली र प्रचण्ड ?
सुरक्षाले हाँस्दै भन्छिन्, ‘बरु म गीत गाउँछु । नाच्न भन्नु, नाच्छु । बरु अभिनय गर्न भन्नु । तर, म कसैलाई रोज्दिनँ ।’
तर धमला रोकिँदैनन् ।
‘शेरबहादुर देउवा र माधव नेपाल ?’
दुवै आ–आफ्नै हिसाबले ठिकै हुनुहुन्छ । खासमा मलाई कसैको नाम लिन मन छैन, तपाईंले साह्रै करकाप गर्नुभयो ।
‘अहिलेको प्रधानमन्त्री कस्तो लाग्छ ?’
‘अहिले त प्रधानमन्त्रीजस्तो पदमा बसेको कोही व्यक्तिको बारेमा बोल्दाखेरि नै बिच्किने अवस्था छ । हामीलाई सोचमग्न बनाएको छ । यस्तै हालत हो भने त हामी केही पनि बोल्दैनौं नि । बोल्नै मन लाग्न छाड्यो । आफ्नो विचार राख्न मन हुन्छ । तर, आफ्नो धारणा राख्ने सन्दर्भमा म शैली चाहिँ छनोट गर्न चाहन्छु । म आफ्नो विचार कलाबाट भन्छु । कथा छनोट गरेर भन्न चाहन्छु । सीधै जवाफ दिन्नँ ।
काठमाडौं । केही दिनदेखि सिनेनगरीमा दुई चर्चित कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काबीच पानी बाराबारको स्थिति रहेको हल्ला व्याप्त थियो । यो हल्ला फैलाउने काम गरेका थिए, भेट्रान चलचित्र पत्रकार प्रकाश सुबेदीले ।
आफ्नो टिभी कार्यक्रमबाटै सुबेदीले दाबी गरेका थिए कि ‘वसन्त’ को हल भिजिटमा स्वस्तिमा नहिँडेपछि सपुत उनीसँग पुरै चिढिरहेका छन् र अहिले उनीबीच बोलचालसमेत छैन । तर, सुबेदीको यो दाबीलाई खण्डित गर्दै एउटा भिडिओ सार्वजनिक भएको छ । यो प्रकाश र स्वस्तिमा दुवैले अभिनय गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’का लागि बनाइएको प्रमोसनल भिडिओ हो, जसमा उनी दुवै सँगै देखिएका छन् । साथमा छिन् स्ट्यान्ड अप कमेडियन सीता न्यौपाने ।
यस भिडिओमा प्रकाश र स्वस्तिमा केमेस्ट्री पहिलेजस्तो सहज र सामान्य देखिन्छ । उनीहरुबीच मनमुटाबको गन्ध यसमा आएको छैन ।
भिडिओको सुरुवातमा दुईजना दुईपट्टि फर्केर बसेका छन्, एक-अर्कासँग रिसाएको भाव देखाउँदै । प्रकाश सपुतको गिलासमा पानी पिइरहेका हुन्छन् । सीता आएर दुवैलाई सोध्छिन्, ‘पानी बाराबार भएको भन्या सुन्या थेँ । के हो तपाईँहरू अझैँ पनि बाझिरहेको हो ? मिल्नु हौ, बेला बित्न लागिसक्यो । एक्सक्युज मी !’
यसपछि दुवैजना एक-अर्कालाई हेर्दै खुलेर हाँस्छन् । यही हाँसोले नै ‘पानी बाराबार’ को दाबीलाई खण्डित गरेको छ । उनीहरूले कुनै जवाफ नदिईकन ‘हरिबहादुरको जुत्ता’ को सोमबार रिलिज हुन लागेको ‘बेला बितेसी’ गीत हेर्न दर्शकलाई आह्वान गरेका छन् ।
भिडिओको अन्त्यमा प्रकाशले आफूले पिइरहेको पानीको गिलास स्वस्तिमालाई दिन्छन् । स्वस्तिमाले एक घुट्को पिउँछिन् । फेरि प्रकाशलाई दिन्छिन् । प्रकाशले पनि एक घुट्को पिउँछन् । ‘पानी बाराबार’ नरहेको ईंगित गर्न सांकेतिकरुपमा यो दृश्य खिचिएको हो ।
‘हरिबहादुरको जुत्ता’ को निर्माण सम्बद्ध स्रोतले प्रकाश र स्वस्तिमाबीच खटपटको कुनै पनि संकेत नपाएको बतायो ।
स्रोतले भन्यो, ‘खोइ, रजतपटमा कसरी समाचार आयो । चलचित्रमा काम गर्ने क्रममा उहाँहरुबीच कहिले पनि सम्बन्ध बिग्रेको वा मनमुटाब भएको महसुस कसैलाई भएको छैन । पानी बाराबार भएको खबर पूर्णरुपमा झूटो हो ।’
प्रकाश सपुत स्वभावैले अलिकति रिजर्भ खालको व्यक्ति भएको र आफ्नो कामसँग मात्रै मतलब राख्ने पनि स्रोतको भनाइ छ ।
‘उहाँ आएर फटाफट काममा लाग्नु हुन्छ, कसैसँग पनि गफसफ गरेर धेरै समय बिताउनुहुन्न । यही स्वभावले गर्दा कसैलाई त्यस्तो भ्रम परेको हुन सक्छ,’ स्रोतले बतायो ।
हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ । यही चलचित्रको पोस्टरका लागि फोटोसुटको क्रममा प्रकाश र स्वस्तिमाले स्टुडियोमा सँगै फोटो खिच्दासमेत एक अर्कासँग बोलचाल नगरेको प्रकाश सुबेदीले बताएका थिए ।
काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार टाइटलसहित निर्माण घोषणा गरिएको हो । टाइटल अनाउन्स्मेन्ट पोस्टरमा बादल र एउटा घर देखाइएको छ।
फिरोज तिमल्सिनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी जनरामा रहनेछ । चलचित्रमा जीवन आचार्यको कथा रहनेछ। फिरोज एक समयका टेलिभिजन होस्ट हुन। उनले ‘नेपाल आइडल सिजन–१’ मा रियालिटी प्रोडुसर तथा एपिसोड डिरेक्टरको काम गरेका थिए ।
‘भ्वाइस अफ नेपाल’ को फाउन्डर, क्रिएटिभ हेड तथा चिफ एडीलगायत अनुभव संगालेका उनी अभिनेता पनि हुन् । उनले ‘दर्पण छाया–२’मा अभिनय गरेका थिए। फिरोज गायक पनि हुन्। पछिल्लो समय भने इन्जिनियरिङलाई पेसा बनाएर उनी अमेरिकामा बस्दै आएका छन् । अब भने उनले चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
चलचित्रमा रहने कलाकार र निर्माताबारे निर्माणपक्षले अहिले केहि खुलाएको छैन । चलचित्रको छायांकन, प्रदर्शन र अन्य टिमबारे चाँडै जानकारी दिने निर्देशक फिरोजले बताएका छन् ।
काठमाडौं । सुदूरपश्चिम नेपालको विकट पहाडी जिल्ला अछामका अधिकांश युवा या त गाउँघरको खेतिपातीमै जीवन बिताउँछन् या भारतको मुम्बईमा मजदुरी गर्न जान्छन् । अछामकै टंक तिमिल्सिना भने सानैदेखि फरक सोचका थिए ।
ऊ रेडियोका तरङ्गमा आफ्नो भविष्य खोजिरहन्थ्यो । पढाई अनि घरको काम सकेर रेडियोमा कान थाप्नु, चुरोटको खोलभित्रको टल्कने सिल्भर पेपरलाई एन्टेना बनाएर टाढाको रेडियोको धुन सुन्न प्रयास गर्नु उसको दैनिकी थियो ।
आज ऊ नेपाली सङ्गीतको डिजिटल आकाशमा एक चम्किलो तारा बनेर उदाएको छ । तिमिल्सिनाको युट्युब च्यानलमा १० लाखभन्दा बढी सब्सक्राइबर छन्, उनका गीतले करोडौंको मन जितेका छन् ।
माटोको सुगन्ध र संगीतको अंकुरण टंकको बाल्यकाल यथार्थको कठोर भुइँमा उभिएको छ । परिवारको आर्थिक अवस्था कमजोर थियो । दाईहरु रोजगारीका लागि भारत पसेका थिए भने गाउँमा उनी पढाईसँगै आमाबुवाका लागि खेतीपाती र घाँस–दाउरामा सघाउने बलियो खम्बा थिए ।
उनी आफ्नो अतीत सम्झिँदै भन्छन्, ‘त्यसवेला मेरो मनभित्र कता–कता एउटा फरक रहरले जरा गाड्न थालिसकेको थियो, त्यो थियो सङ्गीत ।’
त्यतिबेला उनको मनोरञ्जनको एकमात्र साथी थियो, रेडियो । रेडियो रामारोशन भर्खरै सुरु भएको थियो, जसले उनलाई बाहिरी दुनियाँसँग जोड्ने पुलको काम गरिदियो । उनी भन्छन्, ‘रेडियोमा बोल्ने मान्छे, गीत गाउने कलाकार अर्कै संसारका हुन् जस्तो लाग्थ्यो ।’
कहिलेकाहीं विद्यालयका कार्यक्रममा र साथीभाइको करले गाउँथे, तर कलाकार बन्ने सपना देख्नु पनि उनका लागि असम्भव जस्तै थियोे । परिवारको आर्थिक अवस्थाले उनको सपनाको बाटो छेक्थ्यो । विद्रोहको पहिलो पाइला, नेपालगञ्ज यात्रा एसएलसी सकेपछि उनको जीवनमा एउटा निर्णायक मोड आयो ।
गाउँको सीमितताबाट बाहिर निस्किएर केही गर्ने अठोटका साथ उनले नेपालगञ्ज जाने निर्णय गरे । यो निर्णय आफैँमा एउटा विद्रोह थियो । परिवारसँग उनलाई पढाउन सक्ने आर्थिक हैसियत थिएन ।
‘मैले घरबाट १०-१२ हजार रुपैयाँ ऋण खोजेर, १५-२० किलोमिटर पैदल हिँडेर बस चढ्न दैलेखको टुनिबगर पुगेको थिएँ’, उनी त्यो जोखिमपूर्ण कदमलाई आफ्नो जीवनको पहिलो र महत्वपुर्ण विद्रोह मान्छन् ।
त्यो दिन उनले गाउँ मात्र होइन, आफ्नो पुरानो परिचय पनि पछाडि छोडेर एउटा नयाँ यात्रामा निस्किएका थिए । नेपालगञ्जमा उनले एउटा स्थानीय रेडियोमा काम गर्ने अवसर पाए । त्यहीँ उनको गलाले पहिलोपटक व्यावसायिक मञ्च पायो र कलाकारिताको पहिलो ढोका खुल्यो । उनी रेडियोमा बोल्न थाले, गीत बजाउन थाले ।
उनको कार्यक्रम ‘रमाइलो गोधली साँझ’ स्रोतामाझ लोकप्रिय हुन थाल्यो । त्यही क्रममा उनको फोनिङ कार्यक्रममार्फत चिना विकसँग चिनजान भयो । चिना उनको कार्यक्रममा फोन गरेर गीत गाउने नियमित कलर थिईन । टंकको कार्यक्रममा गीत गाउने चिनाको स्वर टंकलाई मनपर्यो ।
चिनाको स्वर राम्रो लागेपछि उनले चिनासँगै मिलेर एउटा गीत ल्याउने तयारी गरे । टंकले आफ्नै रचना र सङ्गीतमा पहिलो गीत २०७१ सालमा ‘जुनी जुनी तिमीलाई माया गर्छु’ चिनासँगै रेकर्ड गराए ।
तर, त्यो गीतले उनलाई खासै चर्चा दिलाउन सकेन । काठमाडौंको कठिन परीक्षा र पलायनको सोच नेपालगञ्जको अनुभवले उनलाई थप अवसरको खोजीमा राजधानी काठमाडौं डोर्यायो । तर, काठमाडौंको यात्रा सोचेजस्तो सहज थिएन ।
यहाँ न कोही चिनजानको थियो, न त खल्तीमा पर्याप्त पैसा थियो । रहरले केही गीत रेकर्ड गराए, पूर्णकला बिसी, देवी घर्तीजस्ता स्थापित कलाकारसँग पनि गाए, तर ती गीत बजारको भिडमा कतै हराए ।
जीवन धान्नकै लागि उनी दोहोरी साँझमा गाउन थाले । एकातर्फ कलाकार बन्ने सपनाको उज्यालो थियो, अर्कोतर्फ पेट पाल्ने बाध्यताको अँध्यारो । उनीभित्र गहिरो निराशा छाउन थाल्यो ।
‘मैले सोचेँ, अब गीत–सङ्गीतबाट मेरो भविष्य छैन,’ टंक त्यो कठिन समय सम्झन्छन्, ‘मेरो गलाले मलाई धोका दियो, मैले यो क्षेत्रमा केही गर्न सक्दिनँ भन्ने लाग्यो । अब एउटा अन्तिम गीत ‘सन्सनी’ निकाल्छु र यो क्षेत्रलाई सधैंका लागि बिदा गर्छु भन्ने निष्कर्षमा पुगेको थिएँ ।’
पहिलो गीत निकालेको ४ वर्षपछि २०७५ सालमा ‘सन्सनी’ गीत सार्वजनिक भयो, टंकको भाग्य बदल्यो । देवेन्द्र खत्रीको शब्द, भद्र ओलीको संगीतमा त्यतिबेलाको चर्चित गायिका टिका पुनसँग गाएको उक्त गीत देशभरका रेडियोमा घन्कियो ।
उनले ‘सन्सनी’लाई आफ्नो साङ्गीतिक यात्राको अन्तिम अस्त्र ठानेका थिए । गीत रेकर्ड गरेर रेडियोमा पठाए, तर त्यसको प्रतिक्रिया कस्तो आयो भन्ने उनलाई पत्तो थिएन । त्यही बीचमा २०७२ सालको महाभूकम्प गयो । उनले काम गर्ने दोहोरी साँझ बन्द भयो, आम्दानीको अन्तिम स्रोत पनि गुम्यो ।
उनी लगभग रित्तो हात गाउँ फर्कने तयारीमा थिए । तर, भाग्यले अर्कै मोड लिइसकेको थियो । उनलाई थाहै नदिई ‘सन्सनी’ले सुदूरपश्चिमका रेडियोमा तहल्का मच्चाइसकेको रहेछ । गीतको चर्चाले उनलाई एकाएक खोजीको पात्र बनायो । एकदिन उनलाई कैलालीको सुखड महोत्सवबाट कार्यक्रमको लागि प्रस्ताव आयो ।
‘म त अचम्मै परेँ, मेरो गीत चलेको छैन, मलाई कसले बोलायो ?,’ उनी त्यो अविश्वसनीय क्षण सम्झिन्छन् । आयोजकले उनलाई ३५ हजार पारिश्रमिक र आउने–जाने हवाई टिकटको अफर गरे । त्यो उनको जीवनको पहिलो ठूलो कमाइ र पहिलो महत्वपूर्ण मञ्च थियो ।
‘त्यो गीतपछि मैले पछाडि फर्केर हेर्नुपरेन’, उनी भावुक हुँदै भन्छन्, ‘विदेशमा रहेका शुभचिन्तकले स्काइपमार्फत फोन गरेर हौसला दिन्थे । कसैले त १०–१२ हजार रुपैयाँ जम्मा गरेर पठाइदिए । त्यो सानो सहयोगले उनलाई ठूलो ऊर्जा दियो ।’
जुन गीतलाई उनले आफ्नो अन्तिम प्रयास ठानेका थिए, त्यही गीत उनको साङ्गीतिक पुनर्जन्मको कारण बन्यो । देउडाको पुनर्जागरण र डिजिटल दूरदर्शिता ‘सन्सनी’को सफलतापछि टंकले नेपाली सङ्गीत बजारको नाडी छामे । उनले बुझे कि दर्शक–स्रोताले नयाँ स्वाद खोजिरहेका छन् ।
उनले सुदूरपश्चिमको मौलिक देउडा भाकालाई नमारीकन त्यसलाई आधुनिक ‘इडियम’ सङ्गीतसँग फ्युजन गर्ने साहसिक प्रयास सुरु गरे ।
‘जसले हाम्रो लवजलाई ‘तम्रा–हाम्राु भनेर खिसीटिउरी गर्थे, उनीहरूलाई नै नचाउने गीत बनाउनुपर्छ भन्ने इख पलायो,’ उनी आफ्नो सोच बताउँछन् । उनको यो प्रयास पनि सफल भयो । ‘सागपात खाई हुर्केकी मेरी छोर्याट्टी, मेरी चम्पा, मन माया, मुगु रारा तालमैमा, ए प्यारु, साइबाज साइबाज, जस्ता दर्जनौं गीतले राष्ट्रिय बजारमा धूम मच्चाए ।
उनले २०१४ मै आफ्नो युट्युब च्यानल सुरु गरे । अरू कलाकार ठूला म्युजिक कम्पनीलाई गीत बेचिरहँदा उनी आफ्नो च्यानलमा गीत राख्थे । ‘सुरुमा युट्युबबाट १५ हजार आउँदा म छक्क परेको थिएँ’, उनी भन्छन्, ‘त्यसले मलाई लगानी गरेपछि प्रतिफल आउँछ भन्ने विश्वास दिलायो ।’
आज उनको त्यही दूरदर्शिताले उनलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ । उनको युट्युब च्यानल उनको डिजिटल साम्राज्य बनेको छ, जहाँबाट उनी आफ्ना सिर्जनालाई विश्वभरका दर्शकसम्म पुर्याउँछन् ।
कलाकारिताभन्दा परको सपना, राजनीतिको मैदानमा कलाकारितामा सफलताको शिखर चुमिरहँदा पनि टंकले आफ्नो जरा भुलेनन् । गाउँको विकटता, बाटोघाटोको अभाव र शिक्षा–स्वास्थ्यको दुरवस्थाले उनलाई सधैं पोलिरहन्थ्यो ।
यही भावनाले उनलाई राजनीतिमा तान्यो । २०७९ सामा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी आफ्नो नगरपालिका पञ्चदेवल विनायकमा मेयरमा आपको दाना निर्वाचन चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बने । यो उनको राजनीतिक महत्वाकांक्षा थिएन, बरु समाजसेवाको एउटा उत्कट चाहना थियो ।
‘चुनाव हारजित आफ्नो ठाउँमा छ’, उनी स्पष्ट पार्छन्, ‘तर मैले आफ्नो गाउँको नौवटै वडाको घर–घरमा पुग्ने र त्यहाँको वास्तविकता बुझ्ने मौका पाएँ ।’ निर्वाचनमा उनले अपेक्षित मत पाएनन्, मेयरमा ६ जना उम्मेदवार रहेकोमा उनी पाँचौ नम्बरमा पुगेर पराजित भए । उनले १५४ मत मात्रै प्राप्त गरे । तर गाउँलेको चेतनास्तर र राजनीतिको चरित्रलाई नजिकबाट नियाल्ने अवसर पाए ।
काठमाडाैं । प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको इन्द्रेणीको अस्ट्रेलिया राइट्स बिक्री भएको छ ।
झरी पछिको इन्द्रेणीको अस्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका छन् ।
अष्ट्रेलियामा स्थापित नेपाली उद्यमी राम कार्की नेपाली समुदायबीच परिचित नाम हो । शिक्षा र माइग्रेशन सेवामा सक्रिय रहेका कार्कीले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटि व्यवसायहरू समेत सञ्चालन गरिरहेका छन् । व्यवसायिक सफलताको साथसाथै, उनी नेपाली कला, संगीत, चलचित्र र खेलकुद क्षेत्रलाई पनि उत्तिकै माया गर्ने व्यक्ति हुन् ।
कार्कीले जानकारीअनुसार उक्त चलचित्र नेपालसँगै अष्ट्रेलियाका प्रमुख शहरहरूमा रिलिज गरिनेछ । “यो चलचित्र अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ । ” कार्कीले बताए ।
९ वर्ष पछि पुनरागमन गरेका गणेश उप्रेतीको मुख्य भूमिका रहेको झरी पछिको इन्द्रेणीमा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा बालेन शाहको र्याप रहने चर्चाका कारण प्रतिक्षित बनेको छ ।
काठमाडौं । केही मान्छेहरू यस्ता हुन्छन्, जो ज्योतिषले गर्ने भविष्यवाणीहरुप्रति आँखा चिम्लेर विश्वास गर्छन् । लेखान्त, भाग्यलाई स्वीकार गर्छन् । ग्रह, दशा र साइत हेरेर महत्वपूर्ण निर्णय लिन्छन् ।
यही क्याटागोरीमा पर्छन् अभिनेता केदार घिमिरे ‘माग्ने बूढा’ । उनलाई त कतिसम्म विश्वास छ भने राष्ट्रपति रामचन्द्र पौडेलले पटक-पटक कोसिस गर्दा पनि प्रधानमन्त्री हुन नसक्नु र एकैपटकमा राष्ट्रपति हुनु पनि लेखान्त हो । राष्ट्रपपति पौडेललाई प्रधानमन्त्री हुन नलेखेर राष्ट्रपति हुन लेखेको जिकिर गर्छन् ।
उनले लेखान्तप्रति अगाध विश्वास दर्शाउँदै बोले, ‘गिरिजाबाबुले चाहे पनि उहाँलाई राष्ट्रपति हुन नलेख्या रैछ ।’
उनले थप भने, ‘म त ज्योतिषलाई धेरै विश्वास गर्छु । अस्ति माग्ने राजाको टिजर सार्वजनिक गरेको समय पनि ज्योतिषलाई देखाएरै निर्धारण गरिएको थियो । ज्योतिषलाई हेराएरै दुई बजेर २७ मिनेट जाँदा टिजर सार्वजनिक गरिएको थियो ।’
माग्ने बूढाले ज्योतिषप्रतिको विश्वासको लागि एउटा घटना नै सुनाए । २०६५ सालमा उनी काठमाडौंमा एक तले घर किन्ने तयारीमा लगे । घरको मूल्य थियो, २३ लाख । माग्ने बूढासँग थियो जम्मा ८ लाख ।
‘मेरो मनमा के थियो भने मन परेको घर हो, सरसापट गरेर घर मेरो नाममा पास गर्छु । त्यसपछि घरलाई बैंकमा राख्छु । ऋण लिन्छु । सापट रकम तिर्छु । बैंकको किस्ता चाहिँ कमाउँदै तिर्छु,’ माग्ने बूढाले भने, ‘मैले साथीभाइसँग घरका लागि ऋणको कुरा गरेपछि सबैले सकिँदैन भने । मैले दुई लाख बैना मारिसकेको थिएँ । यसपछि बैंकमा ऋण माग्न गएँ, सबै बैंकले आर्थिक मन्दी छ भनेर ऋण दिएनन् ।’
यसपछि आफू दुई लाख रुपैयाँ बैना माया मार्ने स्थितिमा पुगेको उनले बताए । तैपनि घरको विषयमा अन्तिमपटक कुरा गर्न आफू ज्योतिषकहाँ पुगे ।
‘मैले घडेरी चाहिँ लिन लागेको भनेर ज्योतिषलाई ढाँटेँ । उहाँले त अस्ति ६ गते नै तपाईंले घर किनिसक्नुभयो होला भन्नुहुन्छ । म त झस्यांग भएँ । अनि मैले गल्ती भयो हजुर, मैले घर नै किन्न खोजेको, तर नहोलाजस्तो छ भनेँ,’ माग्ने बूढा सुनाउँछन्, ‘ज्योतिषले त त्यो घर मेरै हो भन्नुहुन्छ । कसरी तपाईंको हुन्छ भनेर भन्न सक्दिनँ । तर, त्यो घर किनेर म लामै समयसम्म त्यहाँ बस्छु समेत भन्नुभयो ।’
यसपछि आफू सुन्धराको एक बैंक पुगेको बताए । तर, बैंकले माग्ने बूढालाई ऋण दिएन । ऋण माग्न बाँकी अन्तिम बैंक कृषि विकास बैंक, पाटनमा थियो । उनी त्यहाँ पुगे । हाकिम बस्ने क्याबिन पुगे । पत्रिका पढिरहेका हाकिमले वास्ता गरेनन् । पत्रिका पढेरै ऋण दिन सकिँदैन भने । ‘म माग्ने बूढा भन्ने कलाकार हो’ भन्दासम्मै मतलब गरेनन् ।
‘मेरो अनुहार समेत हेर्नुभएन । मलाई लाग्यो, त्यो ज्योतिषले फटाहा बोलेछन् । मलाई त बैंकभित्रै रिंगटा लाग्लाजस्तो भयो । फोकस आउट देख्न थालेँ । जसोतसो उठेर हिँडेँ । अन्तिम ढोकामा पुगेको थिएँ । एकजनाले ‘हेल्लो’ भन्नुभयो,’ माग्ने बूढा सम्झिन्छन्, ‘तपाई माग्ने बूढा होइन भन्नुभयो । मैले हजुर हो भनेँ । उहाँको नाम देवीप्रसाद पोखरेल रैछ । उहाँलाई सबै समस्या बताएँ । उहाँले हाकिमलार्ए कन्भिन्स गराउने वचन दिनुभयो । भोलि बिहान मेरो नयाँ घरमा चिया खाने वचन दिनुभयो ।’
घर हेरिसकेपछि बैंकले माग्ने बूढालाई १६ लाख ऋण दियो ।
‘अब मैले ज्योतिषलाई नपत्याएर भयो त ?,’ माग्ने बूढा हाँस्दै सुनाउँछन्, ‘माग्ने राजा पनि ज्योतिषले राम्रै हुन्छ भन्नुभएको छ । यो चलचित्रको टिजर पनि ज्योतिषले भन्नुभए अनुसार २ बजेर २७ मिनेट जाँदा सार्वजनिक गरेको हो । यदि उहाँले यो चलचित्र राम्रो हुँदैन भन्नुभएको भए चलचित्र नै बन्दैनन्थ्यो । म खेल्न तयार नै हुने थिइनँ ।’
यति मात्रै होइन, आफूले ज्योतिषकै कारण दर्जनौं चलचित्र छाडेको उनले बताए । ‘माइतीघर’को सुटिङ सकिएको १५/२० दिनको अन्तरालमा आफूले आठवटा चलचित्र छाडेर ‘जहाजैमा’ साइन गर्नुपको पछाडि पनि ज्योतिषको हात रहेको बताए ।
काठमाडौं । इटहरी घर भएका कलाकार तथा मूर्तिकार विक्रम श्रीलाई दुई महिनाअघि एउटा फोन आयो । उताबाट भनियो- म व्याकुल माइला बोलेको, राष्ट्रिय गानको सर्जक । विक्रमका कान ठाडा भइहाले ।
कथित व्याकुल माइलाले इटहरी उपमहानगरपालिका कार्यालयमा आफूले किताब बेचेको तर पैसा नपाएको भन्दै भुक्तानीका लागि सहजीकरण गर्न आग्रह गरे ।
‘पालिकामा फाइल अड्किराखेको छ, नगरपालिकाबाट पैसा झिकेर मेरो खातामा जम्मा गरिदिन लगाउनु पर्यो,’ उनले भने ।
गुनासो सुनेपछि विक्रमले पालिकमा गएर सोधखोज गरे । नभन्दै किताबसँगै एउटा फाइल छाडेर गएको पत्ता लाग्यो । तर, लेखा अधिकृत नभएका कारण त्यो दिन थप केही काम भएन । उनी फर्किए ।
त्यसको केही दिनपछि विक्रमलाई दोस्रोपटक पनि फोन आयो ।
‘भाइ त्यति काम पनि गर्दिनुभएन त,’ उनै व्यक्तिले गुनासो गरे ।
राष्ट्रिय गानकै सर्जकले गस्तो गुनासो गर्दा विक्रम दु:खित भए । अनि फेरि नगरपालिका धाए ।
उनी सुनाउँछन्, ‘त्यो फोन आएपछि मलाई पनि दुःख लाग्यो र नगरपालिका गएर काम गर्न आफैँ भिडेँ । तर, फेरि पनि लेखा अधिकृत थिएनन् । त्यसपछि मैले आफूलाई आएकै नम्बरमा फोन गर्दा लागेन । म्यासेज गर्दा पनि सेन्ड भएन । अनि मैले व्याकुल माइलाको म्यासेन्जरमा लेखा अधिकृत नभएको भनेर म्यासेज गरेँ । उहाँले फोन गर्ने व्यक्ति आफू नभएको बताउनुभयो । अनि पो झसङ्ग बनेँ ।’
सक्कली व्याकुल माइलाले सबै कथा सुनाएपछि स्तब्ध भए विक्रम । फोन गर्ने व्यक्ति नक्कली भएको रहस्य थाहा पाएपछि उनले इटहरीका अरू साहित्यकार तथा कलाकारहरूलाई यो कुरा सुनाए । उनीहरूले पालिका र प्रहरीमा जानकारी गराए । यही जानकारीका आधारमा नक्कली व्याकुल पक्राउ परेका छन् ।
भर्खरै मात्र यो विषय सार्वजनिक भए पनि नक्कली व्याकुल माइला उर्फले सक्कली व्याकुल माइलालाई हैरानीमा पारेको लामो समय भइसकेको छ । उनी करिब ८ वर्षदेखि राष्ट्रिय गानको रचयिता व्याकुल माइला आफू भएको भन्दै सरकारी निकायहरूमा धाइरहेका थिए । राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी गरिसकेका थिए । सभामुखलाई भेटेरै कुरा राखेका थिए ।
सक्कली व्याकुल माइला उर्फ प्रदीपकुमार राईलाई नै नक्कली सावित गर्ने प्रयास थियो मिलनको । राष्ट्रिय गानको सर्जकका रूपमा प्रदीपले पाउनुपर्ने मासिक तलब र सुविधाहरू आफूलाई दिइनुपर्ने अड्डी थियो उनको । यतिमात्र होइन, उनले राष्ट्रिय गानको प्रतिलिपी अधिकार आफ्नो नाममा दर्ता गराउने असफल प्रयास पनि गरेका थिए ।
५६ वर्षीय मिलन राई खासमा एक पुराना रंगकर्मी हुन् । सक्कली व्याकुल माइलाका अनुसार लेखक तथा निर्देशक उपेन्द्र सुब्बाका पनि गुरु रहेछन् उनी । त्यस्ता मान्छे अहिले कसरी यस्ता भए त ? सारा कथा सक्कली व्याकुल माइला उर्फ प्रदीप राईको मुखबाट सुनौं न तः
आठ वर्ष जति अगाडि मलाई चौदण्डी नगरपालिकाको प्रशासकीय अधिकृतले फोन गर्नुभयो । त्यहाँ एउटा उजुरी परेको रहेछ । उजुरी गर्नेले ‘राष्ट्रिय गानको रचनाकार व्याकुल माइला खासमा म मिलनकुमार राई हुँ । तर, सरकारले दिने भत्ता अर्कोले, प्रदीपकुमार राईले खाइरहेको छ, त्यो दिलाई पाउँ’ भन्ने माग राखेका रहेछन् । त्यो बेला भर्खरै स्थानीय चुनाव सकेर स्थानीय सरकार गठन भएको थियो । मलाई काठमाडौं महानगरपालिकाले बैतनिक ब्रान्ड एम्बेसेडरजस्तो बनाइदिएको थियो ।
सुरूमा म फलानो नगरपालिकाको प्रशासकीय अधिकृत भनेर फोन आउँदा त त्यो स्थानीय निकायले पनि मलाई एउटा स्रोत व्यक्तिको रूपमा केही गर्न खोज्दैछ कि क्या हो भनेर उत्साहित भएँ । पछि त उहाँले ‘तपाईंको नाममा एउटा उजुरी आएको छ सर’ पो भन्नुभयो ।
अनि मैले भनेँ, ‘कस्तो उजुरी ?’
‘यहाँ फलानो ठाउँमा बस्ने मिलनकुमार राईले ‘व्याकुल माइला, वास्तविक व्याकुल माइला म हो, राष्ट्रिय गान लेख्ने मान्छे म हो र त्यसको भत्ता अर्कोले खाइरहेको छ, मैले पाउनुपर्छ’ भनेर निवेदन दिएको छ’ भनेर भन्नुभएपछि मेरो कन्पारो तात्यो । मैले प्रशासकीय अधिकृतलाई भनेँ, यो त विवादको कुरै होइन । लोकतन्त्र आइसकेपछि एउटा प्रक्रिया, विधि र वैधानिक बाटोबाट आएको र यति धेरै बहस, चर्चा-परिचर्चा भएको कुरा हो । यो त राज्यको काम हो नि । तपाईंहरू त राज्यको मूल ढोका हो, स्थानीय निकाय भनेको । मूल ढोकालाई नै थाहा नहुने ? यस्तो फाल्तु कुरामा उजुरी लिने होइन । लिनुभयो भने उसैलाई कारबाही गर्नुपर्छ ।
उहाँले ‘हैन, तपाईंलाई जानकारी गराउनु पर्यो नि सर’ भन्नुभयो । मैले भनेँ, ‘राम्रो कुरामा फोन गर्नुस्, यस्तो अनावश्यक, अनर्गल र बिना तुकको कुरामा मलाई फोन नगर्नुस् ।’
मैले सोचेँ यो कुरा त्यहीँ टुंगियो होला । तर केही समयपछि प्रधानमन्त्री कार्यालयबाट उहाँको पीएसओजीले फोन गर्नुभयो ।
‘राष्ट्रपति कार्यालयमा मिलन राई भन्नेले ‘म राष्ट्रिय गानको रचनाकार व्याकुल माइला हो’ भनेर निवेदन दिनुभएको रहेछ, उहाँको निवेदनमा कारवाही गर्नु भनेर प्रधानमन्त्री कार्यालयमा आएको छ, एकचोटि भेट्नैपर्ने भयो’ भन्नुभयो ।
अनि गएँ । के रहेछ भनेर भन्दा, उही कुरा । ‘व्याकुल माइला म मिलन कुमार राई हुँ । राष्ट्रिय गानको शब्द, संगीत मैले गरेको हो, तर यसको भत्ता प्रदीप कुमारले खाइरहेको छ, यो कारवाही गरिपाउँ र मलाई दिलाई पाऊँ’ भन्ने रहेछ । अनि मैले उपसचिव सरलाई भनेँ, ‘सर, यो कसरी, कुन दुःखले हामीले सिर्जना गर्यौँ होला ? एक महिनामा लेख्न नसकेर डेढ महिना लाग्यो । त्यत्रो सिर्जना गर्न कति गाह्रो भयो, उसलाई ‘मैले लेखेको’ भन्न कति सजिलो भयो ? यो त एकदमै फाल्तु कुरा हो’ भनेँ । उहाँले ‘सर म क्लियर भएँ, यो फटाहा रहेछ’ भन्नुभयो ।
कुरा यतिमा सकिएन । त्यसको केही समयपछि कपीराइटको अफिसबाट फोन आयो । हाकिम सा’बले फोन गरेर सोध्नुभयो, ‘तपाईं व्याकुल माइला प्रदीपकुमार राई हो ?’
‘हजुर ।’
‘राष्ट्रिय गान तपाईंले लेख्नुभएको ?’
‘हजुर, मैले लेखेको ।’
‘ए, सर । यहाँ अर्को एकजनाले ‘राष्ट्रिय गानको रचनाकार म हो, मेरो कपीराइट दर्ता गरिपाऊँ’ भनेर आउनुभएको छ’
‘सर, वास्तविक लेखक मैले त कपीराइट दर्ता गरेको छैन । यो त राज्यले निर्माण गरेको, युगले लेखेको गीत हो । हामी नेपालीको साझा सम्पत्ति हो । यसको कपीराइट राज्यले लिने हो, संरक्षण गर्ने हो । मलाई त पुरस्कार र भत्ता दिएको छ । मैले त दर्ता गरेको छैन । उसको कसरी हुन्छ । ल त्यो मान्छेलाई त्यहीँ समातेर राख्नुस्, म आइहाल्छु’ मैले भनेँ ।
उहाँले हुन्छ भन्नुभयो । एकछिनमा फोन आयो, ‘त्यो मान्छे ‘म एकदमै जरुरी काममा छु, मेरो फुपूले…’ के के भन्दै भोलि बाह्र बजे हाजिर हुन आउँछु भनेर फोन नम्बर छोडेर गएछ’ भन्नुभयो ।
अनि भोलिपल्ट फेरि फोन आयो । त्यो मान्छे आएछ । मैले उसलाई त्यहीँ समात्न लगाउनुस भनेँ । त्यसपछि केही सञ्चारकर्मी मित्रहरू, गीतकार-संगीतकार साथीहरू र राष्ट्रिय अनुसन्धानको एकजना इन्स्पेक्टरसहित हामी भेला भएर गयौँ । त्यहाँ पनि उ त यस्तो आत्मविश्वासका (कन्फिडेन्स) साथ भन्छ, ‘म, मैले नै लेखेको हुँ ।’ मैले लेखेको मात्रै भने त हुन्थ्यो, ‘म चाहिँ हो खास व्याकुल माइला’ भन्छ, बिना हिच्किचाहट ।
श्रवण मुकारुङ र म छक्क पर्यौं । श्रवण दाइले भन्नुभयो, ‘छर्लङ्ग माइला ! राम राम ! यो मान्छेलाई त साइकोमेनिया (Psychomania) जस्तो केही भयो कि ?’
एकप्रकारको मानसिक बिरामी हुँदो रहेछ । आफू साँच्चिकै अर्कै चिज हुँ जस्तो लाग्छ उसलाई । त्यो मान्छेले पनि बदनीयतपूर्वक यसरी ठगेको जस्तो लागेन । त्यसलाई भ्रम (ह्यालुसिनेसन) पनि भन्दो रहेछ । विचरा उसलाई ‘मै व्याकुल माइला हुँ, राष्ट्रिय गान मैले लेखेको हुँ’ भन्ने लागेकै हो । उसले आफूलाई बिर्सियो, आफ्नो हिजोको जिन्दगी, आफ्नो परिचय सबै बिर्सियो । ऊ अहिले आफू छैन, ऊभित्र म चढेको रहेछु भनौँ न ।
त्यहाँ मैले कराउन पनि भएन । राष्ट्रिय गानको रचयिताले छुच्चो बोल्यो, तुच्छ व्यवहार गर्यो भन्छन् । ‘मेरो पैतालाले कीरै नमरोस् भन्ने मेरो जीवनशैली हो । उसलाई मनपरी भन्न पनि भएन, कुट्छु भन्न पनि भएन । त्यसपछि हामी सबैजना मिलेपछि बल्ल ऊ अलिकति होसमा आएजस्तो गर्यो । हाकिम साहबले ‘तँलाई थुन्न पठाइदिउँ कि यस्तो फटाहा कुरा गर्छस् ?’ भनेपछि उसले गल्ती स्वीकार्यो । ‘अब उप्रान्त यस्तो काम नगर्ने, गरेँछु भने कानुनी कारबाही होस’, भनेर सहीछाप गरेर हिँड्यो ।
यो कुरा यतिमै सकिएन । कोभिडको लकडाउनका बेला हाम्रो किरात राई यायोक्खाको उपाध्यक्षबाट मैले सुनें, ‘माइला सर, तपाईंको नाममा एकजनाले कोटेश्वर साइडमा ‘म व्याकुल माइला हो, खान नपाएर भोकभोकै छु, सुत्न नपाएर सडकमै छु’ भनेर मागी हिँडेको छ भन्छन् त ।’
मैले भनेँ, ‘हो सर, मानसिक समस्या भएको एकजनाले दु:ख दिइरहेको छ । अब के गर्ने होला ? मलाई बदनाम गर्ने, मानहानी गर्ने काम त भइरहेछ, तर मैले उसलाई खोजेर ठिक पार्छु भन्न मिल्दैन । राज्यले हेर्नुपर्छ भनेँ ।’
त्यसपछि चाहिँ केही समय उसको केही चालचुल सुनिएन । फेरि एक दिन अचानक फोन आयो । सभामुख देवराज घिमिरेको पीएले फोन गर्नुएको थियो । उहाँले पनि त्यही निवेदनको कुरा गर्नुभयो । मैले सभामुखज्यूलाई भेटेर सबै कुरा भनेँ । राष्ट्रिय गानको रचनाकार को हो भन्ने त जगजाहेर छ । तर, एउटा मानसिक समस्या भएको मान्छेले यसो भन्दै हिँडिरहेको छ । राज्यले व्याकुल माइला र राष्ट्रिय गानको आधिकारिक जानकारीसहितको एउटा वेबसाइट बनाइदिए यस्तो भ्रम हट्थ्यो । नत्र राष्ट्रपति कार्यालयमा निवेदन दिँदा पनि उनीहरू अल्मलिने अवस्था आयो । राज्यले राष्ट्रिय गानको रचनाकार नचिन्नु दुःखको कुरा हो ।
यही कारणले गर्दा त्यो मान्छेले यसलाई आफ्नो व्यवसाय (बिजनेस) बनायो । व्याकुल माइलाको नाममा किताब बेच्दै, चन्दा उठाउँदै ठगीधन्दा गरेको रहेछ । उसले मलाई भन्दा पनि स्थानीय सरकारलाई ठगेको छ । इटहरी उपमहानगरपालिकामा गएर ‘म राष्ट्रिय गान लेख्ने व्याकुल माइला हो, मेरो किताब किन्दिनु’ भनेर ठग्न खोज्दा पक्राउ परेको रहेछ ।
हिजो सिडिओ साहबले ‘यो विषयमा विस्तृतमा खुलाएर निवेदन पठाउनू’ भन्नुभयो । मैले निवेदन पठाएँ । त्यही निवेदन फेरि जिल्ला प्रहरी कार्यालयले माग्यो र मैले व्हाट्सएपमा पठाइदिएँ । जाहेरी पनि दिन भन्नुभएको थियो । तर, जाहेरी मैले किन दिनु ? यो मेरो व्यक्तिगत समस्या मात्रै हो र ? राष्ट्रिय गान र राष्ट्रियताको लागि हामी सबैले गाउने, यो हाम्रो साझा सम्पत्ति हो ।
उहाँलाई नजिकबाट चिन्नेहरूको भनाइ सुन्दा मानसिक रोगी नै हो जस्तो लाग्छ । ऊ पहिला धरानमा राम्रो रंगकर्मी रहेछ, उपेन्द्र सुब्बाजीहरूको पनि सिनियर । पछि शिक्षण पेसामा लागेको रहेछ । कलेज पढाउन थाल्दा यौन दुर्व्यवहार (सेक्सुअल ह्यारेसमेन्ट) आरोपमा थुनिएपछि त्यो पेसा पनि चट भएछ । त्यसपछि उसको दिमागले काम गर्न छोडेको र ऊ दिग्भ्रमित भएको अवस्था रहेछ । उसको श्रीमतीले पनि छोडेको रहेछ । पारिवारिक विखण्डन पनि भयो । यस्तो पृष्ठभूमिले गर्दा ऊ मानसिक रूपमा विक्षिप्त भएको हुनसक्छ ।
तर, उ फेरि यति रणनीतिक किसिमले काम गरिरहेको छ कि मानसिक रोगी भन्न पनि कठिन हुन्छ । कहाँ-कहाँ उजुरी दिँदा ठिक हुन्छ भन्ने उसलाई राम्ररी थाहा छ । मिलाएर लेखेको हुन्छ उजुरी पनि ।
पछि आएर व्याकुल माइलाको नाममा किताब निकालेर बेच्न थालेको रहेछ । ताल न बेतालका किताबहरू छन् रे, मैले पढेको त छैन । उसले किताबको परिचयमा नै आफूलाई राष्ट्रिय गानको सर्जक लेखेको चाहिँ मैल पनि देखेँ । किताब जस्तो भए पनि गज्जबको र्यापिङ गरेर विभिन्न निकायमा पठाइदिने । आफू पनि नजाने, पठाइदिने ।
अनि कलेजको मान्छेलाई फोन गरेर, ‘ए भाइ, म व्याकुल माइला बोलेको, त्यहाँ मेरो यति थान किताब पठाइदिएको छु, भन्दिनु त… व्याकुल माइलाको किताब नकिन्ने ?’ आदि इत्यादि भन्छ । हुँदाहुँदा ‘म फलानो, लिनलाई गाडी पठाइदिनू’ समेत भन्छ रे । म आफैँ मोटरसाइकल चढेर हिँडिरहेको छु । अलि फूर्तिफार्ती नगरौँ भन्ने लाग्छ । कार्यक्रममा प्राय मोटरसाइकलमै जान्छु । कतिपय आयोजकहरूले ‘हामी लिन आउँछौँ’ भन्दा मात्रै म पर्खिन्छु, नत्र आफैँ मोटरसाइकलमा हिँड्छु । उ चाहिँ ‘म फलानो, मलाई गाडी पठाइदिनू’ भन्छ भन्ने सुनें ।
मलाई ठगेको होइन, मेरो नाम बेचेर सरकारलाई ठग्दैछ । स्थानीय सरकारसँग ठगी माग्दैछ । आफूलाई ठग्नेलाई सरकारले कसरी कारबाही गर्ने, नगर्ने भन्ने कुरा हो । तर, मैले चाहिँ कतै पनि उजुरी गरेको छैन ।
काठमाडौं । संगीतकार आशिष अविरल अमेरिका पलायन भएका छन् । नेपालमा दशकौंदेखि सांगीतिक कर्ममा सक्रिय रहेका अविरल ग्रीन कार्डमार्फत् अमेरिका पलायन भएका हुन् ।
उनी एक छोरासित अमेरिकामा कागजपत्र मिलाउन केही महिनादेखि व्यस्त छन् । अब ग्रीन कार्डको प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए । एक छोरासित अमेरिका गएका उनको नेपालमा श्रीमती र एक छोरा छन् । उनीहरु पनि अब छिट्टै अमेरिका जानेछन् ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा बसिरहेका अविरलले भने, ‘नेपालमा केही कुराको पनि सुरक्षाको ग्यारेन्टी राज्यले गर्न सकेन । म मेरा सन्तानको भविष्यका लागि भए पनि बाहिरिनुपर्यो ।’
सरकारमा जो आए पनि आममानिसकको हालत उस्तै हुने भएपछि आफूले बाध्य भएर नेपाल छाड्न परेको उनले बताए । तर, सांगीतिक कर्म भने जहाँ रहे पनि गरिरहने अविरलले बताए । उनले भने, ‘सांगीतिक कर्म त जहाँ पुगे पनि छाड्दिनँ । अन्तिममा मैले गर्ने भने नेपाली गीत संगीत नै हो ।’
अविरलले १० हजार हाराहारीको गीतको एरेन्ज गरेका छन्, दर्जानौं सुपरहिट गीतमा संगीत भरेका छन्, गीत लेखेका छन् । आधा दर्जन सुपरहिट गीतहरुको गायक समेत हुन् । झण्डै ६ करोडले युट्युबमा हेरेको ‘काले केटाले’ बोलको गीतमा संगीत, स्वर एरेन्ज, मिक्सिङदेखि मास्टरिङसम्म अविरलकै हो । ‘ए मेरो हजुर ३’को ‘परान परान’, बीचमा ‘छुनुमुनु’ जस्ता गीतमा पनि आशिषले स्वर भरेका छन् ।
‘नाईं मलाई था छैन’, ‘माया लुकी लुकी’ जस्ता डान्सिङ गीतका संगीतकार हुन् । ‘छातीमा हात राखेर’ जस्ता जातीय विभेदविरुद्धको गीतको गीतकार, संगीतकार पनि आशिष नै हुन् । नरेन्द्र प्यासीद्वारा स्वरबद्ध ‘तिमीविनाको जीवन’ र ‘तिमीले दिने माया’को संगीतकार पनि अविरल नै हुन् ।
काठमाडौं । सांगितिक यात्राको लागि गायिका एलिना चौहान अमेरिका उडेकी छन् । केही महिनाको लागि उनी आज अमेरिका प्रस्थान गरेकी हुन् ।
आफ्नो अमेरिका यात्राबारे जानकारी दिँदै उनले संजालमा लेखेकी छन्, ‘केही महिनाको सांगितिक कार्यक्रम अन्तर्गत अमेरिका जाँदैछु । यो यात्रालाई म केवल यात्रा होइन, सपना पूरा गर्ने अवसरको रुपमा लिएकी छु ।’
उनले थप लेखेकी छन्, ‘तपाईंहरुको सदैवको यात्रा, साथ र प्रेरणाले मलाई यहाँसम्म ल्याएको हो । अब संगीतको आवाज अमेरिकामा गुन्जनेछ।’
पछिल्लोपटक कन्सर्टहरुबाट ब्रेक लिएरै एलिनाले आफ्नो नीजि जीवनमा दख्खल पुग्ने गरी संजालमा गालीगलौज गर्ने, अभद्र व्यवहार गर्नेहरुलाई निरन्तर सार्वजनिक गरेकी थिइन् । उनको भण्डारफोर अभियानलाई अन्य सेलिब्रेटीहरुले पनि साथ दिएका थिए । साथै उनले साइबर व्युरो पनि गुहारेकी थिइन् । उनको उजुरीको आधारमा केही व्यक्ति पक्राउ समेत परेका थिए ।
काठमाडौं । विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ले माझीकै अर्को गीत ‘आइनँ आमा यो तीजमा’ले राखेको रेकर्ड तोड्न असफल भएको छ । ‘आइनँ आमा यो तीजमा’ले २४ घण्टामा १५ लाख भ्युज बटुलेको थियो भने ‘म त नराउरी’ले २४ घण्टामा जम्मा १३ लाख भ्युज मात्रै बटुल्न सफल भयो ।
वर्षमा एउटा वा दुईवटा मात्रै गीत ल्याउने माझीका गीतहरु निकै प्रतिक्षीत हुन्छन् । उनले गीत ल्याएपछि त्यसको चर्चा हुने नै भयो । सार्वजनिक जीवनमा नदेखिने गायिका माझीको नीजि जीवन पनि उस्तै रहस्यमय छ ।
सुन्दरमणि अधिकारीको शब्द, संगीत र भिडियो निर्देशन रहेको यस गीतले मिश्रित प्रतिक्रिया पाइरहेको छ । कतिपयले औसत गीत समेत भनिदिएका छन् । ललिता पौडेलले मोडलिङ गरेको गीतको भिडियोमा छोरा र छोरीबीचको लैंगित विभेदको साथै पितृसत्तात्मक सोचलाई समेत देखाउन कोसिस गरिएको छ ।
यो रिपोर्ट तयार पर्दासम्म भने ‘म त नराउरी’ले १६ लाख भ्युज प्राप्त गरिसकेको छ । यो भ्युजमा भने २४ घण्टा कटिसकेपछि प्राप्त भ्युज जोडिएको छ ।
गत वर्ष सार्वजनिक भएको ‘आइनँ आमा यो तीजमा’ गीतले दुई करोड ४० लाख भ्युज प्राप्त गरिसकेको छ । तर, २४ घण्टामा सबैभन्दा धेरै हेरिने गीतको रेकर्ड भने दुर्गेश थापाको नाममा रहेको छ । थापाको गीत ‘जाने भए जाम माया’ले २१ घण्टामै १७ लाख बढी भ्युज प्राप्त गरेर माझीकै ‘आइनँ आमा यो तीजमा’को १५ लाखको रेकर्ड तोडेको थियो ।
काठमाडौं । तीज नजिकिँदै गर्दा गीतकार गणेश उप्रेतीको तीज विशेष गीत ‘ए साथी सँगी हो’ सार्वजनिक भएको छ ।
गीतको लिरिकल भिडियो सामाग्री गणेश उप्रेती (एरीना इन्टरटेन्टमेन्ट) यूटुब च्यानलमार्फत आज सार्वजनिक भएको हो ।
रातो सारी लगाएर माइती घरको आँगनीमा नाच्ने, दिदीबहिनीसँग भेटघाट गर्ने, दर खाने र भगवान शिवको आराधना गर्ने परम्परा हो, हिन्दू नेपाली महिलाहरुको विशेष पर्व रहेको तीजकै गतिविधिलाई केन्द्रित गरिएको छ ।
करुणा कंडेलको निर्माण रहेको यस गीतमा शब्द गीतकार गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन् ।
रेडियो नेपालको स्टुडियोमा रेकोर्डिङ गरिएको यस गीतमा नेपाली मौलिकता र आधुनिकताको सन्तुलन पाईन्छ त्यसैले पनि सबै श्रोता तथा दर्शकको मन जित्ने विश्वास गीतकार उप्रेतीको रहेको छ ।
एक दशक देखी गीत संगीतमा क्रियाशिल रहेका गणेश उप्रेतीको ’तिम्रो दिलको’, ’लगन जुरेर’, ’लाइदेउ माया’, ’नजर को गुलेली’, “जाले रुमाल’, ’दिल यहाँ’जस्ता दर्जन बढी चर्चित गीतहरु यस अघी नै सार्वजनिक भैसकेका छन् ।
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रको अर्को गम्भिर गल्ती भेटिएको छ । कक्षा १० को नेपाली किताबमा भूपि शेरचनद्वारा रचित ‘यो नेपाली शिर उचाली’ बोलको बहुचर्चित गीतको गीतकारको रूपमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाम राखिएको त्रुटि फेला परेको हो ।
किताबको ‘वीरता’ पाठमा सबैभन्दा पहिला गीतको दुई पंक्ति राखिएको छ,-
यो नेपाली शीर उचाली संसारमा लम्किन्छ जूनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ
अनि लेखिएको छ, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित यो हरफले नेपाली गौरवमय वीरगाथालाई प्रतिबिम्बित गरेको छ ।’
केही दिनअघि मात्रै पाठ्यक्रम विकास केन्द्रले गीतकार राजेन्द्र थापाको ‘पोहोर साल खुसी फा्टदा’ बोलको बहुचर्चित गीतको रचनाकारको नाममा अम्बर गुरुङ राखेर गम्भीर त्रुटि गरेको गरेको थियो । अरुणा लामाले गाएको, गुरुङले संगीत भरेको यस गीतको रचनाकार भनेर गुरुङकै नाम राखेपछि सामाजिक सञ्जाल र केही सर्जकले आलोचना गरेका थिए ।
पाठ्यक्रम विकास केन्द्रले विज्ञप्ति निकालेर सच्याउने बताएको छ।
पुनःयस्तो गल्लीते आफूहरु चकित बनेको गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले बताए । यस्तो त्रुटि ७९ सालदेखि नै भएको भन्दै उनले विद्यार्थीमा ३ वर्षदेखि भ्रम रहेको सुनाए ।
थापाले भने, ‘यो त बर्बाद नै रहेछ । हामीले शिक्षामन्त्रीलाई समय निकाल्न लगाएका छौं, उहाँसँग छलफल गर्छौं । अनि सबै किताबहरु पुनः सच्याउन, क्रसभेरिफाइ गर्न निर्देशन दिन अनुरोध गर्छौँ । राज्यले गर्ने काममा यस्तो धेरै केयरलेस आजका दिनसम्म थाहा थिएन ।’
काठमाडौं । अभिनेत्री बेनिशा हमालले डेढ दशकको अभिनय करियरमा वर्षमा सरदर एउटाको हिसाबले चलचित्र खेलिन् । ‘कालो पोथी’ अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा गयो । ‘छक्का पन्जा ४’ बक्स अफिसमा सफल भयो । बाँकी कतिपय चलचित्रले औसत व्यापार गरे । कतिपय चलचित्रले लगानी उठाउनै सकेनन्, डुबे ।
चलचित्र असफल भए पनि बेनिशा अभिनय कर्ममै लागिरहिन् । काम पनि पाइरहिन् । त्यही नियमितताले दिएको प्रतिफलको अनुभव यसपटक गरिरहेकी छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मोहर’ र ‘सिटामोल’ले दर्शकको मन जितिरहेको छ । दर्शकको आँखामा खुसीको आँसु देखेर बेनिशाको मन पनि प्रफुल्ल भइरहेको छ ।
त्यसैले त उनले नेपालप्रेसँग कुरा गर्दै भनिन्, ‘मैले दर्शकसँगको यस्तो सामिप्यता महसुस गरेकी रैनछु, ‘मोहर’ र ‘सिटामोल’बाट दर्शकको त्यो माया अनुभूत गरिरहेकी छु ।’
उसो त ‘छक्का पन्जा ४’मै सफलताको स्वाद चाखिसकेकी थिइन् । तर, त्यो चलचित्र एउटा ब्राण्ड थियो । सीधा भन्दा फ्रेन्चाइज नै थियो । यही कारण ‘मोहर’ र ‘सिटामोल’ले दिएको खुसी अलग्गै खालको भएको बेनिशाको भनाइ छ ।
‘सिटामोल’ले थोरै सुस्त व्यापार गरे पनि ‘मोहर’ले तीन दिनमै एक करोड बढी ग्रस कलेक्सन गरिसकेको थियो । दुवै चलचित्र हेरेर दर्शकहरु भावुक बनेको क्लिपहरु सामाजिक सामाजिक संजालहरुमा प्रशस्तै भेटिन्छन् । बेनिशा स्वयंले पनि दर्शकहरु भावनात्मक भएर रोएको प्रत्यक्ष देखेकी छन् ।
‘चलचित्र हेरेर उहाँहरु रुनुभएको मैले प्रत्यक्ष देखेँ । त्यस्तो देख्दा मलाई पनि गाह्रो भयो,’ बेनिशा सुनाउँछिन्, ‘सिके सिनेमा, सितापाइलामा स्कुलका नानीहरु ‘सिटामोल’ हेरेर धरधरी रुनुभयो । उहाँहरुको आँसु देखेर मलाई पनि कस्तो कस्तो भयो । बनेपाको हलमा पनि त्यस्तै भयो ।’
चलचित्र प्रदर्शन भएको दिनदेखि नै बेनिशा हल भिजिटमा सक्रिय छिन् । ‘सिटामोल’को हल भिजिट हुँदा सौगात मल्ल उनको साथमा हुन्छन्, ‘मोहर’को बेल पल शाह । हलमा भेट हुँदा दर्शकहरुले बेनिशासँग फोटो खिच्छन् सेल्फी लिन्छन् । भेट हुन नसकेका दर्शकहरुले सामाजिक संजालमा म्यासेजहरुको ओइरो लगाउँछन् ।
‘अहिले उहाँहरुको म्यासेजहरु आइरहेको छ, सबैले हाम्रो काम राम्रो भयो भनिरहनुभएको छ । दर्शकहरुको यस्तो मायाको ओइरो पहिलोपटक महसुस गरेकी हुँ,’ बेनिशाले बताइन् ।
बेनिशाको दुखेसो भने आजबाट दुवै चलचित्रलाई बाँडफाँड गरिएको शो संख्यामा छ । आजबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘वार २’ले २३९ शो पाएको छ । ‘कुल्ली’ले १८५ शो पाएको छ । तर, ‘मोहर’लाई जम्मा १३१ शो मात्रै दिइएको छ भने ‘सिटामोल’लाई स्वाट्टै घटाएर ३९ शो मात्रै दिइएको छ । राम्रो माउथ पब्लिसिटी भइरहेको, दर्शकहरुले रुचाइरहेको चलचित्रको शो अचानक घटाइँदा व्यापार प्रभावित हुने देखिन्छ ।
बेनिशालाई पनि वितरकहरु र हल संचालकहरुले गरेको यस्तो खाले विभेद राम्रो लागिरहेको छैन । उनले भनिन्, ‘कम शो दिइएको भन्दै कलाकारहरुले विरोध गर्नुहुन्थ्यो । त्यो पीडा मैले आजबाट महसुस गरेकी छु । चलचित्रको व्यापार राम्रै भइरहेको थियो, दर्शकको साथ पाइरहेकै थियो । तर, अचानक ठूलो मात्रामा शो कटौती गरिँदा पीडा महसुस हुने रहेछ ।’
दुवै चलचित्रले कति व्यापार गर्यो भनेर निर्माताले सार्वजनिक गरेका छैनन् । तर, ‘मोहर’ले भने ग्रस कलेक्सनबाटै लगानी उठाउने आँकलन गरिएको छ । सँगै प्रदर्शन भएका दुई चलचित्रले दर्शकको मन जितेपछि अभिनेत्री हमाललाई पनि राहत मिलेको छ ।
काठमाडाैं । ‘रिमै’को टिजर र पोस्टर सेयर नगरेका मुख्य अभिनेता दयाहाङ राईले अन्ततः आज गीत शेयर गरेका छन् । आज सार्वजनिक भएको ‘रिमै’को शीर्ष गीत शेयर गर्दै उनले लेखेका छन्, ‘अहिलेलाई गीत हेरौं र प्रतिक्रिया पाउँ । चलचित्र चाहिँ भदौ २० मा है !’
चलचित्रको निर्माण टिमले भदौ १० गतेसम्ममा सबै प्राविधिक र कलाकारको बाँकी पारिश्रमिक तिरिसक्ने मौखिक वचन दिएपछि आफूले टिजर सेयर गरेको राईले नेपालप्रेसलाई बताए । उनले भने, १० गतेसम्ममा सबैको पारिश्रमिक तिरिसक्ने वचन दिनुभएको छ उहाँहरुले ।’
निर्माण टिमले प्राविधिक र कलाकारको पैसा तिर्न ढिलाइ गरेको थियो । यसपछि निर्माताहरुसँग राई रुष्ट भएका थिए । उनले आफ्नो पारिश्रमिकको कुरा अलग भएको तर, सबै प्राविधिक र डाइरेक्सन डिपार्टमेन्टको बाँकी पारिश्रमिक नतिरेसम्म चलचित्रको प्रचार सामाग्री सेयर नगर्ने अडान लिएका थिए । चलचित्रका निर्माता वीरबल घलेले पनि आफूले चाँडोभन्दा चाँडो सबैको पारिश्रमिक तिर्नलाई जोडबल गरिरहेको बताएका थिए । घलेले भने, ‘हाम्रो आन्तरिक रुपमा एक खालको सहमति भइसकेको छ ।’
चलचित्रको सुटिङकै क्रममा पनि प्राविधिक समस्याका कारण पैसाको व्यवस्था हुन नसकेपछि अभिनेता राई र सिनेम्याटोग्राफर शैलेन्द्र डी कार्कीले पैसा हालेर सुटिङ सकाउन सहयोग गरेका थिए । चलचित्रमा राईको अलवा अर्पन थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, माओत्से गुरुङ लगायत कलाकारको अभिनय रहेको छ । खिलबहादुर गुरुङले निर्देशन गरेको ‘रिमै’ आउँदो भदौ २० गतेबाट प्रदर्शनमा आउँदैछ ।