नेताले रोमान्टिक बन्नु हुन्न भन्ने के छ ? त्यसमाथि नवविवाहितलाई त रोमान्टिक बन्ने अतिरिक्त सुविधा हुन्छ नै, चाहे उनी मुख्यमन्त्री नै किन हुन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हालै जाङ्मू शेर्पासँग विवाहवन्धनमा बाँधिए । शक्तिशाली ओहाेदाका व्यक्ति र भर्खरकी मोडलबीचको विवाहले मिडियामा चर्चा नपाउने कुरै थिएन । विवाहपछि पनि उनीहरुले भिडियो सार्वजनिक गरेर मिडियालाई खुराक प्रदान गरेका छन् ।
भिडियोमा शेरधन र जाङ्मू रोमान्टिक अवतार देखिएको छ । राई केही लजाएका देखिन्छन् । दुवैले आफ्नो जातिको परम्परागत पहिरन लगाएका छन् । जाङ्मूले आफ्नै यूट्यूव च्यानलबाट भिडियो सार्वजनिक गरेकी हुन् ।
भिडियोको क्याप्सनमा उनले लेखेकी छन्, ‘आधुनिक युगमा आफ्नो संस्कृति र भेषभुषालाई झल्काउँदै विवाहबन्धनमा बाँधिएका जोडी ।’भिडियोको पछिल्लो अंशमा उनीहरुलाई आधुनिक पहिरनमा देख्न सकिन्छ ।
काठमाडौं । शिवरात्रिमा रिलिज हुने भनिएको फिल्म ‘लप्पन छप्पन २’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । मुकुन्द भट्टले निर्देशन गर्ने यो फिल्म अब चैत २७ गते रिलिज हुने भएको छ ।
भीएफएक्स लगायतका प्राविधिक काम बाँकी नहुने भएकाले फिल्मलाई नेपाली नयाँवर्षमा रिलिज हुन लागिएको हो । दोस्रोपटक फिल्मको नयाँ मिति सार्वजनिक गरिएको हो ।
शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी लगायत मुख्य भूमिकामा छन् ।
काठमाडौं । बलिउडले वर्ष २०२१ का लागि रिलिज हुने फिल्मको लाइनअप सार्वजनिक गरेको छ । बलिउड ट्रेन्ड एनालिस्ट तरण आदर्शका अनुसार आगामी क्रिसमससम्मको लाइनअप घोषणा भएको हो ।
जसअनुसार १९ फेब्रुअरीमा ट्युज्डे एन्ड फ्राइडेज, २६ मार्चमा हाती मेरे साथी, इदमा सलमान खान स्टारर राधे, सत्यमेव जयते १४ मे, १३ अगस्ट पुष्प, ४ सेप्टेम्बरमा शर्माजी नमकिन छन् ।
साथै, १ अक्टोबरमा कंगना रनावतको धाकड, १३ अक्टोबरमा आरआरआर, १५ अक्टोबर मैदान, ५ नोभेम्बर जर्सी, क्रिसमसमा लालसिंह चड्डा छन् । यो लाइनअपले नेपाली फिल्म क्षेत्रमा पनि प्रभाव पार्नेछ ।
काठमाडौं । नेपालमा एउटा फिल्म निर्माण गर्न औसत एकदेखि डेढ करोड रुपैयाँ खर्च हुन्छ । ती फिल्म हलमा लगाएर नाफा कमाउन कम्तीमा पाँच करोडको व्यापार गर्नुपर्छ, जुन सौभाग्य वर्षमा एकाध फिल्मले मात्रै पाउँछन् । बाँकी फिल्मले लगानी उठाउन सक्दैनन् । त्यसमा पनि केही फिल्मले त हलबाट पोस्टर खर्च समेत उठाउन सक्दैनन् ।
जुन फिल्म सिनेमा हलमा पत्तासाफ हुन्छन्, तिनीहरूको आम्दानीको अन्तिम स्रोत बन्न पुग्छ यूट्यूब । करोडौं लगानीका फिल्म दुई–चार लाख आम्दानीका लागि यूट्यूबमा निःशुल्क देखाउन बाध्य बन्छन् निर्माता । तर, यो ट्रेन्डले नेपाली चलचित्र क्षेत्रलाई भने दीर्घकालसम्म क्षति पुर्याइरहेको छ ।
दर्शक नेपाली यूट्यूबमा निःशुल्क हेर्न बानी परेका छन् । पछि यूट्यूबमा आइहाल्छ, किन हलमा गएर पैसा खेर फाल्ने ? दर्शकको यही मनोभावनाले नेपाली चलचित्रको व्यापार सुकिरहेको छ ।
हलमा नचलेका फिल्म यूट्यूबमा देखाउनुको अर्को प्रयोजन भनेको कम्तीमा आफूहरूले गरेको दुःख दर्शकसम्म पुगोस् भन्ने आकांक्षा पनि हो । यूट्यूबमा राम्रा प्रतिक्रिया आए निर्माता-निर्देशक र कलाकारलाई कम्तीमा मानसिक सन्तोष मिल्छ । कतिपय राम्रा फिल्मले हलमा दर्शक नपाएको तर यूट्यूबमा वाह्वाही पाएको देखिएको छ । यही प्रशंसाको भोकले गर्दा हलमा रिलिज भएको केही समयमै यूट्यूबमा रिलिज गर्ने क्रम बढेको छ । हलमा दर्शक तानेका फिल्महरू पनि यूट्यूबमा आइरहेका छन् ।
दीपकराज गिरी छक्का पञ्जा २ मा अभिनय गर्दै ।
हाम्रो छिमेकमा विश्वकै दोस्रो ठूलो चलचित्र उद्योग बलिउड छ । त्यहाँ वर्षेनि सयौं फिल्म निर्माण हुन्छन् । तर, कुनै पनि फिल्म दर्शकले यसरी यूट्यूबमा निःशुल्क हेर्न पाउँदैनन् । यूट्यूबमा हिन्दी फिल्म खोज्यो भने पुराना–पुराना मात्रै भेटिन्छन् ।
०००
‘छक्का पञ्जा’ नेपालमा सबैभन्दा बढी व्यावसायिक रूपमा सफल फिल्म सिरिज हो । यस सिरिजका तीनैवटा फिल्मलाई यूट्यूबमा राखिसकिएको छ । तीनवटैले एक करोडभन्दा बढी भ्यूज बटुलेका छन्, जसमध्ये पहिलो र दोस्रो सिक्वेललाई १ करोड ८० लाख पटक हेरिएको छ ।
मल्टिप्लेक्स टिकट दरलाई आधार मान्दा छक्का पञ्जाको पहिलो भागलाई ५ लाख जनाले हेरे । तर, यही फिल्म यूट्यूबमा आउँदा १ करोड ८० लाखले हेरेका छन् । ५ लाखले हलमा हेर्दा छक्का पञ्जाले झन्डै १५ करोडको कारोबार गरेको थियो ।
निर्माता दीपकराज गिरीले फिल्मको डिजिटल राइट १ करोड रुपैयाँमा हाइलाइट्स नेपाललाई बेचेका थिए । त्यसैले यसले यूट्यूबबाट कमाएको पैसा दीपकले पाउँदैनन् । यस्तै, उनले ‘छ माया छपक्कै’ को राइट १ करोड १५ लाखमा बेचेका थिए । यो फिल्म पनि यूट्यूबमा आइसकेको छ । अहिलेसम्म करीब ४० लाख भ्यूज पाएको छ ।
धुर्मुस–सुन्तलीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को डिजिटल राइट १ करोड १६ लाखमा बिक्री गरियो । यो फिल्मले हलबाट अपेक्षित रेभेन्यु चाहिं बटुल्न सकेन । यो डिजिटल राइटको मूल्य फिल्मको कुल लगानीको झन्डै ७० प्रतिशत हो । यूट्यूबले स्वेदश मात्र हैन, विदेशमा समेत बजारको खोजी गर्यो । निर्माताले डिजिटल राइटबाटै लगानी सुनिश्चित गर्न थाले ।
हल र यूट्यूबमा फिल्म हेर्ने आँकडाबीचको असमानताले दर्शकीय चाहना र माध्यमगत रुचिलाई दर्शाउँछ । छक्का पञ्जा, कबड्डी, ए मेरो हजुरलगायतका फिल्म सिरिजले प्लेटफर्मको खोजी मात्र गरेनन्, दर्शकलाई यूट्यूबमा प्रतीक्षा गर्न अभ्यस्त तुल्याए । कालान्तरमा, यूट्यूबभन्दा हलको बक्स अफिस ग्राफ ओरालो लाग्न थाल्यो ।
बक्स अफिसभन्दा यूट्यूबमा कमाइ बढ्न थालेपछि निर्माताको ध्यान डिजिटल राइट सुनिश्चित गर्नतर्फ केन्द्रित भयो । राम्रा फिल्म होल्ड गर्न डिजिटल कम्पनीले पनि करोडौं लगानी दाउमा पार्न थाले । दर्शकले तारिफ गरेका केही ठूला फिल्मबाट डिजिटल कम्पनीले करोडौं कमाए । तर, समीक्षा नकारात्मक आउन थालेपछि भने करोडौं लगानी धरापमा पनि परेको स्थिति छ ।
सुहाना थापा र अनमोल केसी ए मेरो हजुर २ मा ।
२०७० सालको मध्य र शुरुआत यूट्यूब प्लेटफर्ममा नेपाली फिल्म खुबै चले । जायजेथा बेचेरै केही सांगीतिक रेकर्ड कम्पनीले यूट्यूब राइट खरीदमा होड गरिरहेका थिए । तर, २०७६ सालपछि परिस्थितिले साथ दिएन । ठूला लगानीका फिल्म नेगेटिभ समीक्षाले फ्लप हुन थालेपछि त्यसको असर यूट्यूबमा पर्यो । अन्ततः केही डिजिटल कम्पनीका सञ्चालकले हात झिके भने केहीले देश छाडेरै जानुपर्यो ।
उँचाइमा पुगेको फिल्मको यूट्यूब आम्दानी र प्लेटफर्म ओरालो लाग्नुमा वर्ड अफ माउथ र पाइरेसी मुख्य कारण रहे । हाइलाइट्स नेपालले झन्डै १ करोड रुपैयाँमा खरीद गरेको छक्का पञ्जा कुनैबेला पाइरेसी भएपछि लगानीकर्ताले घाटा ब्यहोर्नु मात्र परेन, अन्तर्राष्ट्रिय बजारमा समेत धक्का लाग्यो । यस्तो प्रवृत्ति बढेपछि डायस्पोराको बजार मात्र खुम्चिएन, यूट्यूब लगानीमा डिजिटल कम्पनीले चासो देखाउन छाडे ।
फलस्वरुप, निर्माताले आफ्नै कम्पनीको यूट्यूब प्लेटफर्ममा फिल्म रिलिज गर्ने ट्रेन्ड बढ्यो । यूट्यूबमा फिल्म रिलिज नगर्ने भनेर बसेका निर्माता पनि दर्शकको उच्च दबाबपछि रिलिज गर्न बाध्य भए । दीपकराज गिरी एउटा उदाहरण हुन् जसले छक्का पञ्जा सिरिजलाई यूट्यूबमा रिलिज नगर्ने वचन दिएका थिए । तर, व्यापक दबाबपछि उनले यूट्यूबमै फिल्म रिलिज गर्न बाध्य हुनुप¥यो ।
आफ्नै यूट्यूब च्यानल कुनै बेला आफ्नो फिल्म डिजिटल कम्पनीलाई निर्धक्क दिने निर्माता त्यतिबेला सचेत भए जब कम्पनीले सय वर्षसम्मको कपिराइट दाबी गर्न थाले । बेचिएको मूल्यभन्दा बढी रकम कम्पनीले कमाएको देखेपछि निर्माताले आफ्नै यूट्यूब प्लेटफर्म सिर्जना गर्न थाले ।
दीपकराज गिरीले आफ्नो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ लाई आमा अग्निकुमारी मिडिया च्यानलबाट रिलिज गरे । यो च्यानल केदार घिमिरे उर्फ माग्ने बुढाले चलाउँछन् ।
निर्देशक दीपेन्द्र के. खनालले आफ्नो कम्पनी डीएस डिजिटलबाट बन्ने सबै फिल्मको राइट आफैंमा राखेका छन् । निर्माता सुवास गिरीले पनि सुवास इन्टरटेनमेन्टबाट बन्ने फिल्मको राइट आफ्नै प्लेटफर्ममा रिलिज गर्छन् ।
प्रियंका कार्कीको आफ्नै युट्युव च्यानल । जुन उनले लकडाउनको समयमा संचालनमा ल्याएकी थिइन् ।
गायक राजेशपायल राई, अभिनेता विल्सनविक्रम राईले पनि यूट्यूबलाई नै आम्दानीको स्रोत बनाएका छन् । जसले गर्दा डिजिटल कम्पनीको महत्वमा ह्रास आएको छ । यो प्रवृत्ति पछ्याउने निर्माताको सूची लामो छ ।
पाइरेसी र नकारात्मक समीक्षाको प्रहार प्रारम्भिक दिनमा डिजिटल कम्पनीले स्टारडम र उनीहरूको बजार मागको आधारमा फिल्ममाथि लगानी गर्न थाले । यस्तो दिन पनि आयो कि, ठूला डिजिटल कम्पनी फिल्म निर्माताको रूपमा रूपान्तरित हुन थाले । हाइलाइट्स नेपालले दयाहाङ राई, दीपकराज गिरी, अनमोल केसीलगायतका कहलिएका स्टारमाथि करोडभन्दा बढी खन्याउन थाल्यो ।
तर, पाइरेसी र नेगेटिभ वर्ड अफ माउथको असर लगानीमा सीधा प¥यो । डिजिटल राइट नै नउठ्ने अवस्था आएपछि हाइलाइट्सले लगानी बन्द गर्यो ।
जति यूट्यूब प्लेटफर्म सजिलो छ, उत्तिकै डरलाग्दो पनि । विदेशबाट पाइरेसी हुने फिल्मका अपराधीलाई कानूनी दायरामा ल्याउन प्राविधिक रूपले अप्ठ्यारो हुने भएपछि पाइरेसीलाई नियन्त्रण गर्न कठिन भयो । फलस्वरुप, लगानी टाइटानिक जहाजजस्तै डुब्न थाल्यो ।
यूट्यूबको आम्दानी कति ? यूट्यूबले केही सूचकको आधारमा कन्टेन्ट निर्मातालाई पैसा दिन्छ । यदि १ करोड भ्यूज भएको खण्डमा झन्डै ४० लाख रुपैयाँ निर्माताले पाउने सम्भावना हुन्छ । यसमा पनि केही पूर्वशर्त र आधारहरू छन् ।
अमेरिका, युरोप र अष्ट्रेलियाबाट भिडियो हेर्दा प्राप्त हुने पैसाको आधाभन्दा पनि कम निर्माताले प्राप्त गर्छन् । भन्नुको अर्थ, नेपालमा यूट्यूब रिलिजको बजार स्वदेशमा हैन, विदेशी दर्शकको मनोविज्ञान र मागमा निर्भर गर्छ । कबड्डी, लुट र जात्रालगायत सिरिजका विदेश मागसँगै ती फिल्म हेर्ने दर्शकीय भ्यूज पनि उच्च थियो ।
यूट्यूबले कन्टेन्टको गुणस्तर, समीक्षा, इन्गेजमेन्ट, भ्यूज प्राप्त हुने देश र लम्बाइको आधारमा रेभेन्यु तय गर्छ । यूट्यूब संचालकका अनुसार सबैभन्दा बढी रेभेन्यु नोभेम्बर, डिसेम्बर र जनवरीमा प्राप्त हुन्छ । यो समयमा धेरै पर्व पर्ने र अन्तर्राष्ट्रिय विज्ञापन पनि प्राप्त हुने भएकाले कमाइ राम्रो हुने बताइन्छ । डलरको भाउ घटबढ हुँदा पनि यसको सीधा असर नेपालमा आउने यूट्यूबको कमाइमा पर्छ ।
यूट्यूबमा देखिने विज्ञापन र ती विज्ञापनमा हुने क्लिकको आधारमा रेभेन्यु प्राप्त हुन्छ । हाइलाइट्स नेपालका ओम गुरुङका अनुसार जतिसुकै भ्यूज प्राप्त भए पनि स्थानीय विज्ञापन नभएसम्म व्यावसायिक नाफा हुँदैन । विज्ञापन नै प्रमुख आयस्रोत रहेको गुरुङको भनाइ छ ।
नेपाली फिल्मले पाँच करोडको व्यापार गर्न सक्यो भने त्यसलाई हिट मान्न सकिन्छ । चलचित्र विकास बोर्डको एउटा तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको २.५ प्रतिशतले मात्र हलमा गएर फिल्म हेर्छन् । तर, अनलाइनमा भने फिल्म कुर्नेको संख्या बढ्दो छ । प्रायः नेटिजन निःशुल्क फिल्म हेर्ने पर्खाइमा बसेका हुन्छन् । यो यूट्यूब प्रवृत्ति नै फिल्मको प्रदर्शनलाई चुनौती बनेको छ ।
ओटीटी प्लेटफर्म थ्रेट पछिल्लो समय निःशुल्क यूट्यूब प्लेटफर्मका लागि सशुल्क प्लेटफर्म ओभर दी टप (ओटीटी) चुनौती बनेको छ । डिसहोम, नेटटिभी, चलचित्र घरलगायतका एपले पैसा तिरेर हेर्न मिल्ने ओटीटी सेवा दिन थालेका छन् । डिसहोमले लकडाउनअघि रोज राणाको एक फिल्म ‘मेरो पैसा खोइ’ लाई ३० लाख रुपैयाँ राइट दिएको थियो । ऋचा शर्मा, खगेन्द्र लामिछानेलगायतका सेलिब्रिटीले पनि ओटीटी प्लेटफर्म लन्च गरेका छन् ।
लकडाउनको कालखण्ड नेटफ्लिक्स, एचबीओ म्याक्स, अमेजन प्राइमसहित नेपाली एप मौलाउने समय बन्यो । नेटफ्लिक्सजस्ता ठूला स्ट्रिमिङ जायन्टले कमाउने मामिलामा अरूलाई उछिने । लकडाउन अवधिभर नेपालका केही डिजिटल कम्पनीले यूट्यूबमा फिल्म रिलिज त गरे तर, अपेक्षित उपलब्धि हासिल गर्न सकेनन् । यसो हुनुमा ओटीटीसामु बढेको दर्शकीय पहुँच र विकास भएको स्कूल अफ थट्सलाई कारण मान्न सकिन्छ ।
निर्माता-निर्देशक भन्छन् : वाध्यता छ निर्माता–निर्देशक पनि युट्युवमा फिल्म हाल्नु आफूहरुको रहर नभएको बताउँछन् । दर्शकहरुको आग्रह र दवावमा परेर फिल्म युट्युवमा हाल्नुपरेको उनीहरुको स्वीकारोक्ति छ ।
निर्माता तथा अभिनेता दिपकराज गिरी र निर्माता–निर्देशक दीपेन्द्र के खनालको भनाइ यस्तो छः
दीपकराज गिरी
मैले मेरा फिल्म युट्युवमा हाल्दिँन भनेर बसेको थिएँ, तर विदेशमा बस्ने दर्शकले चित्त दुखाए । युट्युवमा फिल्म हाल्नुपर्छ भन्ने पक्षमा म छैन । ४० लाख दर्शकले मसँग चित्त दुखाएपछि बाध्यताले फिल्म हाल्नुपरेको हो ।
युट्युवमा हाल्दा बाहिर बस्ने दर्शकलाई राम्रो हुन्छ । अरुले हाल्ने तर, मैले नहाल्ने गर्दा मलाई राम्रो ठानिएन । मलाई आउने गालीमध्ये किन फिल्म हालिएन भन्ने धेरै हुन्थे ।
युट्युवलाई प्लेटफर्मको रुपमा लिएर ९० प्रतिशत निर्माताले फिल्म हाल्छन् । मेरो विचार तत्कालै हाल्नु चाहिँ हुँदैन । डेढ–दुई वर्षपछि मात्र युट्युवमा हाल्दा ठीक हुन्छ । हाल्दिँन भन्दा न्याय हुँदैन, तर केही समयको ग्याप गरेर हाल्दा सान्दर्भिक हुन्छ ।
दीपेन्द्र खनाल युट्युवमा फिल्म हाल्ने कुराको विपक्षमा म छु । अरु प्लेटफर्म नभएर बाध्यताले हाल्नुपरेको हो । बरु ओटीटी प्लेटफर्मलाई युट्युवको विकल्पमा खोज्नुपर्छ ।
युट्युवमा फिल्म हाल्दा दर्शकको मनोविज्ञान सस्तोजस्तो हुन्छजस्तो लाग्छ । हलमा गएर हेर्ने कल्चर विकास हुँदैन । दुई–चार महिनामै फिल्म युट्युवमा आउँछ भनेर हल नजाने प्रवृत्तिको विकास हुन्छ । यदि हाल्ने हो भनै सबैतिर प्रदर्शृन सक्किएपछि मात्रै युट्युवमा हाल्नुपर्छ ।
काठमाडौं । गायक प्रमोद खरेलको उजुरीका आधारमा पक्राउ परेकी विन्ध्यबासिनी म्युजिक प्रालिकी संचालक लीना रेग्मी धरौटीमा रिहा भएकी छिन् । रिहालगत्तै उनले विज्ञप्ती जारी गर्दै एल्बम ‘प्रणय’को प्रतिलिपि अधिकार आफ्नो कम्पनीमा निहित हुने दाबी गरेकी छिन् ।
प्रहरीले उनलाई झन्डै साता लामो हिरासतपछि रिहा गरेको हो । गायक खरेलले दसवर्षदेखिको हिसाब माग्दै प्रहरीमा उजुरी दिएका थिए । वक्तव्यमा लीनाले विन्ध्यवासिनी म्युजिकसँगको सम्पत्तिमा प्रमोद खरेलको कुनै अधिकार नभएको उल्लेख गरेकी छिन् ।
‘गीतकार र गीतसँग सम्बन्धित विवाद भएमा आफै सुल्झाउनेछु भनेर प्रतिलिपि अधिकार धनी मानेर करार ऐन अनुसार सहमति भएको हो’ वक्तव्यमा उनले लेखेकी छिन् ।
विन्ध्यबासिनी म्युजिक प्रालिले आफ्ना ध्वनी अड्कन, उत्पादन गीत संगीत, भिडियो, अडियो र सीडी क्यासेट सबै ५० वर्षसम्म निर्वाधरुपमा विक्री वितरण गर्न पाउने ऐनले अधिकार दिएको समेत विज्ञप्तीमा उल्लेख छ ।
प्रमोद खरेलले उल्टै कम्पनीको अनुमति बिना ट्रयाक प्रयोग गरि विभिन्न ठाउँहरुमा प्रस्तुति दिई लाखौं आर्जन गर्दै हिँडेर गीतकार र संगीतकारको प्रतिलिपि अधिकार हनन गरेको आरोप समेत लगाइएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म सुटिङका लागि पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । फिल्ममा उक्त क्षेत्रको दृश्य समेटिनुसँगै त्यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको छ । त्यस्तै ठाउँमध्ये कास्की अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ पनि छायांकनको लागि सम्भावना युक्त रहेको ठाउँ हो ।
सुन्दर घान्द्रुक गाउँमा नेपाल चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलबार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ बारे छलफल चल्यो ।
छलफलको पहिलो सेसन ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ मा वक्ताको रुपमा निर्देशक/नायक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र पत्रकार वासु मिश्रले सहजीकरण गरे । छलफलको सुरुवातमै सहजकर्ता मिश्रले वक्तातर्फ भावार्थ रुपमा नेपाली भूगोललाई नेपालीले नै चिन्न नसकेको र पर्यटन प्रर्वद्धनमा ठूलो आयतनमा सहयोग नपुगेको बताए ।
कोभिडपछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये फिल्म र पर्यटन दुबै पर्छन् । अहिलेको पर्यटन क्षेत्रको अवस्था कस्तो छ त ?‘कोरोनाले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । कोरोना साम्य बन्दै गएपछि भने विस्तारै लयमा फर्किँदै छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘आन्तरिक पर्यटनलाई कसरी पुर्नस्थापना गर्न सकिन्छ भनेर नेपाल सरकारसँग समन्वय गरिरहेको अवस्था छ ।’
निर्देशक सुदर्शन थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको बताउँदै सिनेमा र पर्यटन दुबै क्षेत्र पनि अति प्रभावित भएको सुनाए ।
उनले भने, ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो । फिल्म छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ । म पनि १२ वर्ष अघि घान्द्रुक आएको थिएँ ।’ आफू १२ वर्षअघि “मेरो एउटा साथी छ” फिल्म सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले भने,
‘सिनेमाले पर्यटनलाई सहयोग त गर्छ नै । म त्यसबेला र अहिले आउँदा धेरै परिवर्तन भइसकेको छ । केही हदसम्म टेलिफिल्मले निकै चिनायो घान्द्रुकलाई । विकास निर्माणको काम पनि धेरै भइसकेको रहेछ ।’
तनहुँको मानहुँकोटको चर्चा यतिबेला चुलिएको छ । युवापुस्तामाझ चर्चित टिकटक एपमा राखिएको १५ सेकेण्डको भिडिओले उक्त डाँडालाई चर्चित बनायो । त्यसरी नै सिनेमाले कुनै ठाउँलाई पर्यटकीय हबको रुपमा विकसित बनाइसकेको छ । सहजकर्ता मिश्रले मानहुँकोटकै सन्दर्भ उल्लेख गर्दा पर्यटन परिषद्का अध्यक्ष भट्टराई सहमत सुनिए ।
निर्देशक दिनेश डीसी ।
उनले भने, ‘सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँहरु पर्यटकीय हब बनेका छन् । सिनेमाबाट पोखराका पेरिफेरि एक्सपोजर भइरहेका छन् । अहिले पर्यटन संस्थाहरु अस्ताएको हो कि भन्ने लाग्छ । त्यसमा हाम्रो समन्वय जरुरी छ ।’
तर सिनेमा र गीतसंगीतले पर्यटकीय क्षेत्रको रुपमा कुनैपनि स्थानलाई चिनाउन सहयोग गरेपनि त्यसको विकास निर्माणमा सहयोग गरि नै हाल्ने भने नहुने निर्देशक थापाको मत छ । उनले भने, ‘मुस्ताङमा सुटिङ गर्दा के यो माया हो ? फिल्म खिच्यौं तर त्यसमा भूगोलको चर्चा भएन ।
पछि त्यहीँ प्रेम गीत खिच्यौं । घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई स्टोरीमा बाँधेर देखाउँदा स्थानीयको प्रतिक्रिया राम्रो पायौं । आन्तरिक पर्यटन आउँदा नै अझ राम्रो बनेको सुनियो । त्यो ठाउँलाई कसरी देखाउने, भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन् ।’
सरकारी निकायको सहयोग भने अपेक्षा नगरिएको भएकाले वास्ता नभएको उनको प्रतिक्रिया छ । त्यसको साटो स्थानीय स्तरबाट पाएको सहयोगले नै हौसला मिलेको उनले बताए । ‘ड्रोन शटका लागि सरकारी अनुमति लिनुपर्छ । त्यसमा प्रक्रिया त्रुटि भयो भने पनि हामी सजाय भोगिरहेका हुन्छौं ।’
अभिनेता एवं निर्माता दीपकराज गिरी ।
पर्यटन सम्बद्ध संस्थाहरुको सहयोग सिनेमा क्षेत्रलाई पर्याप्त नभएको पो हो की ? भन्ने प्रशनमा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘माया त गरेकै छौं तर समन्वय नभएको चाहिँ हो । विगतमा भएको कमजोरी भन्दा पनि आगामी दिनमा राम्रो गर्दै जाने हो ।’
उक्त प्रसंगमा भने निर्देशक थापाको मत केही फरक सुनियो । उनी भन्छन्, ‘कुनै ठाउँलाई सिनेमाले पर्यटन क्षेत्रलाई उकास्यो भने पनि धन्यवाद पाएनौं । हामी पनि छायांकन सकेर त्यस ठाउँसँग सम्बन्ध राखेनौं । स्थानीयस्तरमा त धेरथोर होला तर सम्बद्ध निकायसँग छैन ।’
यस्तै, नेपाली साहित्यीक कृति सेतो बाघ, वसन्ती, झोलादेखि लिएर पछिल्लो पुस्ताले अत्यधिक रुचाइएको उपन्यास ‘समर लभ’ माथि फिल्म बनेका छन् । तीनैको कथामा फिल्म निर्माण हुँदा साहित्यसँगको सम्बन्धलाई फिल्मले जोडेको छ ।
दोस्रो तथा अन्तिम सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ मा यस्तै विषयमा छलफल चल्यो । सेसनमा वक्ताहरुमा कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल, कवि भूषिता वशिष्ठ र सहजकर्ता दिनेश डिसी थिए ।
वक्ताहरुसँग सहजकर्ता डिसीले साहित्यीक कृतिमाथि बनेका फिल्महरुको समीक्षा अनुभवबारे प्रश्न गरे । कवि भूषिताले सिनेमाको संवादमा मौलिकता हुनुपर्ने बताइन् । कलाकार दीपकराज गिरीले लेख्ने चिज र बोल्ने चिज दुबै फरक भएको बताए । ‘व्यावहारिक जीवनसँग जोडिने संवादले सिनेमामा दर्शकलाई जोड्छ । साहित्यबाट सिनेमा रुपान्तरित हुन्छ जब सहजता हुनै पर्छ ।’
साहित्यमाथि सिनेमा पर्याप्त मात्रामा नबन्नुको कारण सिनेमाकर्मी दर्शकसँग डराएको कलाकार गिरीले सुनाए । उनले भने, ‘लेखिने र बोलिनेमा फरक हुन्छ नै । जटिलता हुने कारणले गर्दा पनि होला नेपालमा साहित्यमाथि सिनेमा बनेन् ।’
लेखक गनेस पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभर अझै पनि नेपाली सिनेमाबाट उत्रिन नसकेको बताए । ‘पञ्चायतमा राजा महेन्द्रले नेपाली चलचित्रमा प्रयोग गरिने संवादलाई शुद्धिकरण गर्न र भाषिक एकीकरण गर्नका लागि पात्रले बोल्ने संवाद मौलिक लागेनन् । त्यसको ह्याङओभर अझै बाँकी छ । सिनेमा कला हो भाषा होइन ।’ आफ्नो परम्परा र संस्कृतिलाई घुसाएर हरेक प्रकारका कला सिनेमा देखाउन सकिने उनले बताए ।
बलिउड फिल्मको दृश्यलाई उल्लेख गर्दै कुनै भिलेनले हिरोलाई लखेट्दा होली मनाइरहेको दिन खेदेको देखाइने बताए । त्यसले परम्परा र संस्कृतिलाई पनि फिल्मको संवादसँगै चित्रण गरेको उनको भनाई थियो ।
कलाकार गिरीले भने एकाध बनेका फिल्मलाई गनेर चलचित्र क्षेत्रको इतिहासलाई ५० वर्ष मान्न नहुने बताए । प्रजातन्त्रको पुर्नस्थापना पछि नै नेपाली फिल्मको उत्थान भएको उनको भनाई छ । ३० वर्षको मात्र नेपाली फिल्मले यात्रा पार गरेको उनले बताए ।
निर्देशक सुदर्शन थापा ।
‘उपन्यासमा डायलग थोरै र विवरण धेरै हुन्छन् । फिल्म दृश्य भाषामा बोल्नुपर्ने हुन्छ त्यसमा पनि सीमितता छ । अर्को बजेटले पनि प्रभाव पार्छ,’ कलाकार गिरीले भने, ‘मार्केटले भन्छ, दुई करोड भन्दा माथि लग्यो भने डुब्यौं । एउटा भिलेनले हिरोलाई लखेटेको सिन देखाउनलाई होली सिनका लागि पाँच सय मान्छे जम्मा पार्न बजेटले नथेग्ने हुन्छ ।’ साहित्यसँग सिनेमाको साझेदारीको प्रश्नमा कवि भूषिताले सिनेमाकर्मी साहित्यकारसँग डराउन नहुने बताइन् ।
कार्यक्रमलाई समापन गर्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले लामो समयको बन्दाबन्दी पश्चात खुलेको पर्यटन र फिल्म क्षेत्रको प्रचारप्रसारका लागि आफुहरुले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराए ।
उनले भने,“हाम्रो टिमलाई कोरोना पछि पनि केही न केही कार्यक्रम गरौं भन्ने लागेको थियो । साहित्य, पर्यटन र सिनेमा तीनै क्षेत्रमा काम भइरहेका थिएनन् । फेरि पछिल्लो समय फिल्मभित्र साहित्य र पर्यटन दुवै अटाउन थालेका छन् । हामीले तीनै क्षेत्रलाई एउटै मञ्चमा प्रस्तुत गर्ने निर्णय गर्यौं । जसमा पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङ र लामा अमृत फाउन्डेसनका अध्यक्ष अमृत गुरुङको साथ मिल्यो । अनि मात्र आँट गर्यौं ।”
फिल्म संवाद कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल टुरिजम बोर्ड, इसेवा, कुटी रिर्सोट एण्ड स्पा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन व्यवस्थापन समिति घान्द्रुक, परिचय एडभरटाइजिङ, गुरुङ चलचित्र शिरसुबा, अमृत लामा फाउन्डेसन घान्द्रुक, मूल आमा समूह घान्द्रुक र डाँडा गाउँ युवा परिवार घान्द्रुकले सहयोग गरेको थियो ।
काठमाडौं । नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामाले एक हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन् । डेडलाइन हलिउड म्यागजिनका अनुसार अन्जलीसँगै उक्त फिल्ममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले समेत टीमअप गर्ने भएकी छिन् ।
महिलाको विषयवस्तुमाथि फिल्म बन्न लागेको हो । टाइटल चाहिँ सार्वजनिक गरिएको छैन । सार्वजनिक यात्राको क्रममा महिलाले भोग्नुपर्ने अनुभव र चुनौतिलाई चित्रण गरिने फिल्मलाई लिना यादवले निर्देशन गर्ने भएकी छिन् ।
गैरनाफामुलक कम्पनी वी डु इट टुगेदर र लर्भोलिनो इन्टरटेनमेन्टले मिलेर फिल्म बनाउन लागेका हुन्। विभिन्न क्षेत्रका महिलाहरु प्रोजेक्टमा आबद्ध छन् । जसमा कारा डेलेभिङ्ने, इभा लोंगोरिया, मार्गेरिटा बाइ लगायत आबद्ध हुने जनाइएको छ ।
निर्माता कम्पनी वु डु इट टुगेदरका प्रमुख चिलारा टिलेटीका अनुसार फिल्मले मिडिया र फिल्ममा महिलाको छवि वस्तुगतबाट विषयगत बनेको कुरालाई चित्रण गर्छ । विभिन्न देशका ६ जना महिला निर्देशकले फिल्ममा धारणा सेयर गर्ने भएका छन् ।
भारत र अमेरिकामा फिल्म छायांकन हुने भएको छ । सबैजना कलाकार महिला हुने भएका छन् । नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामा नेपाल र भारतीय र्याम्पमा चर्चित नाम हुन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति विस्तार भएको छ । विस्तारसँगै मनोरञ्जन फोरमले पनि पूर्णता प्राप्त गरेको छ ।
कार्यकारिणी समिति सदस्य आकाश अधिकारीको सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन पनि विस्तार भएको छ । फोरमको सहसभापतिहरुमा चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर चुनिएका छन् ।
फोरमका सदस्यमा नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रविन्द्रकुमार रिजाल शशी, नेपाल कलाकार संघका कोषाध्यक्ष सुनिल कट्वाल, चलचित्र निर्देशक मदन घिमिरे, चलचित्र निर्माता संघका सचिव छविराज ओझा, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल, प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तुलसी पराजुली छन् ।
आमन्त्रित सदस्यहरुमा निर्देशक समाज अध्यक्ष रक्षा सिंह राणा, गायिका इन्दिरा जोशी, अभिनेत्री नीता ढुंगाना, अभिनेता केदार घिमिरे, नृत्यकार दिनेश पाख्रिन, लोकगायिका मञ्जु पौडेल, निर्देशक प्रदीप श्रेष्ठ, पत्रकार सामप्यि तिमल्सिना, कलाकार सुशान्त श्रेष्ठ, धर्मेन्द्र आचार्यं, पवित्रा आचार्य, सम्पादक शिव पुरी छन् ।
फोरमका सल्लाहकारमा नीर शाह, गीतकार भोला रिजाल, प्राध्यापक एवं चलचित्र निर्देशक राजेन्द्र सलभ, कमला श्रेष्ठ र प्रेमा राज्यलक्ष्मी सिंह छन् ।
काठमाडौं । लकडाउनपछि बलिउडमा दुई ठूला फिल्मको भीडन्त निश्चित भएको छ । आगामी इदमा सलमान खानको राधे र जोन अब्राहमको ‘सत्यमेव जयते २’ प्रदर्शन हुने भएका हुन् ।
लकडाउन खुलेपछिको यो पहिलो ठूलो भीडन्त मानिएको छ । गतसाता सलमानले कोरोनाले थलिएको फिल्म व्यापारलाई उकास्न फिल्म रिलिज गर्न लागेको घोषणा गरेका थिए ।
बक्सअफिस भीडन्तको सम्भावित हिसाबले दुबैको प्रदर्शनलाई महत्वपूर्ण मानिएको छ । भारतीय गणतन्त्रको दिवसमा जोन अब्राहमले आगामी सन् २०२१ को इदमा फिल्म लगाउने घोषणा गरेका हुन् ।
काठमाडौं । लोकप्रिय भारतीय कमेडी टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा सो’ केही समयको लागि बन्द हुने भएको छ । भारतीय संचारमाध्यमका अनुसार फेब्रुअरी मध्यदेखि सोले ब्रेक लिन लागेको हो ।
दुईवर्षदेखि संचालन हुँदै आएको सो केही समयको लागि बन्द हुने टाइम्स अफ इन्डियाले जनाएको छ । कोरोनाभाइरस महामारीको कारण लाइभ दर्शकको संख्यामा कमी आएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।
फिल्म पनि रिलिज नभएको अवस्थालाई दृष्टिगत गरेर यस्तो निर्णय लिइएको संचालक कपिल शर्माले जनाएका छन् । साथै कपिलकी श्रीमती गिन्नी पनि गर्भवती छिन् । ब्रेकको समयमा कपिलले पत्नीसँग समय बिताउने भएका छन् ।
नयाँ सिजन कहिलेदेखि सुरु हुन्छ भन्ने बारे कपिलले केही खुलाएका छैनन् । तर, उनले केही समयपहिले नेटफिल्क्ससँग सहकार्य गर्न लागेको जनाएका थिए ।
काठमाडौं । बलिउड सेलेब्समाझ गर्भवती फोटोसुट सामान्य हुन थालेको छ । प्रेगनेन्ट नायिकाले बेबी–बम्पसहितको फोटोसुट गर्न थालेका छन् । अनुष्का शर्मापछि अब दोस्रोपटक ममी बन्न लागेकी करिना कपुर खानको कुरा गरौं ।
करिनाको बेबीबम्प फोटोसुट हेर्दा लाग्छ, प्रेगेनेन्ट फोटो पनि सुन्दर र प्लेफूल लाग्छ । इन्स्टग्राम एकाउन्टमार्फत करिनाले यस्तै केही तस्विर सार्वजनिक गरेकी छिन् ।
तस्विरमा करिनालाई शान्त मुद्रामा योग गरेको देख्न सकिन्छ । ट्रेनिङ अटायरमा करिनालाई देख्न सकिन्छ । बम्बर ज्याकेट र ट्रेनिङ ब्रामा उनी हट देखिन्छिन् । प्रेगेनेन्सी पिरियड देखि नै उनले आफ्ना स्टाइलिस लुक्स सार्वजनिक गरेकी छिन् ।
काठमाडौं । फिल्म ‘प्रकाश’मा प्रदीप खड्कासँग धनगढीकी रेनु योगीले अनस्क्रिन रोमान्स गर्ने भएकी छिन् । दिनेश राउतले निर्देशन गर्ने रोमान्टिक ड्रामाले डेब्यु गर्ल रेनुलाई लिड लेडीको रुपमा सार्वजनिक गरेको हो ।
रेनुलाई फिल्मका कास्टिङ निर्देशक अनुप बरालले तय गरेका हुन् । फागुन दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मको लिड ब्वाइमा चाहिँ प्रदीप यसअघि नै अनुबन्धित भैसकेका छन् ।
प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले रेनुलाई फिल्ममा लिने निर्णय गरिएको निर्देशक राउतले बताए । नाटककी अभिनेत्री रेनु स्नातक अध्ययनरत हुन् । सन् २०१३ मा उनले दयाहाङ राईसँग ‘मितज्यू’ नाटक गरेकी थिइन् ।
उनले अहिलेसम्म १० भन्दा बढी नाटक, सर्ट मूभि र एसिड काण्ड नामक छोटो फिल्म गरेकी थिइन् । ४५ दिनसम्म जुम्लामा फिल्मांकन गरिने भएको छ । विनिस इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्नेछन् ।
पोखरा । निधारमा चट्ट मिलेको ढाका टोपी, सर्टमाथि इस्टकोट, सधैंको हँसिलो अनुहार र साथमा एउटा सारंगी । पोखरामा हुने साना तथा ठूला कार्यक्रममा प्रायः पुगिरहने र मिठास धुन निकाल्न अगुवाई गरिरहने एउटा अनुहार थियो त्यो ।
दायाँबायाँ ससाना बालबालिकालाई उनीहरुकै रुचि अनुसार वाद्यवादन सुम्पिएर आफू सारंगी रेट्थे । कसैले केही सोधिहाले मुसुक्क मुस्कुराउँदै जवाफ दिन्थें, ‘गन्धव जाति, पेशामात्रै होइन, यो संस्कृति हो । बचाउनुपर्छ ।’
प्रविधिको विकाससँगै गन्धर्व संस्कृति छायाँमा पर्दै गएपछि त्यसलाई जोगाउन पोखरा १६ बाटुलेचौरमा पाठशाला नै खोलेर उनले वाद्यवादन, संगीत सिकाउन थाले । त्यसरी गन्धर्व संस्कृतिलाई चिनाउन लागिपर्ने गन्धर्व संस्कृतिका धरोहरमध्येका एक धनबहादुर गन्धर्व सोमबार छकालै अस्ताएका छन् ।
उच्च रक्तचापका कारण ५९ वर्षीय गन्धर्व शनिबार अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा सोमबार बिहान ८ बजे उनको निधन भएको हो । २०२१ सालमा जन्मिएका गन्धर्वको नाम पोखरा महानगरले गठन गर्न लागेको ‘प्रज्ञा प्रतिष्ठान’का लागि पनि सिफारिस गरिएको थियो ।
गन्धर्व संस्कृतिलाई चिनाउन लागिपर्ने गन्धर्व संस्कृतिका धरोहरमध्येका एक धनबहादुर गन्धर्व सोमबार छकालै अस्ताएका छन् ।
गन्धर्व चर्चित गीत ‘यो दाजुको मिरमिरे आँखा, बेली चमेली, फूल मायामा नभुल..’ लगायत सयभन्दा चर्चित गीतका सर्जक हुन् । प्रविधिको विकाससँगै गन्धर्व संस्कृति लोप हुँदै गएपछि उनले नयाँ पुस्तालाई सारंगी लगायत वाद्यवादन सिकाउन पाठशाला नै सञ्चालन गरेका छन् ।
चर्चित गायक तथा संगीतकार मामा झलकमान गन्धर्वको नाममा २०६६ सालमा ‘झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशाला’ स्थापना गरेका थिए । पाठशालाबाट अहिलेसम्म करिब ८ सय जनाले संगीत शिक्षा लिइसकेको छोरा दिलिप गन्धर्व सुनाउँछन् ।
‘हाम्रो मौलिक संस्कृतिलाई बचाउनुपर्छ भन्ने उहाँमा थियो । त्यही भएरै पाठशाला खोल्नु भएको हो,’ नेपाल प्रेससँग कुरा गर्दै गन्धर्वले भने, ‘अहिले पनि २२ जना बालबालिकाले संगीत शिक्षा लिइरहेका छन् ।’ पाठशालामा नेपाली मात्रै नभई अहिलेसम्म ९ जना विदेशीले संगीत शिक्षा लिइसकेको उनले जानकारी दिए ।
चर्चित गायक तथा संगीतकार मामा झलकमान गन्धर्वको नाममा २०६६ सालमा ‘झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशाला’ स्थापना गरेका थिए ।
पाठशालामा सारंगी, मादल लगायतका मौलिका वाद्यवादन बजाउन सिकाउने गर्दछ । दिलिप स्वयं पनि त्यही पाठशालामा वाद्यवादन सिकाउने गर्दछन् । ‘नेपाली मौलिक संगीत अझ त्यसमा पनि सारंगीको चिनारी विकास गर्न उहाँ सधैं तत्पर हुनुहुन्थ्यो,’ उनले भने ।
गन्धर्वको निधनले नेपाली संगीत क्षेत्रमा अतुलनीय क्षति पुगेको उनलाई नजिकबाट नियालेका कलाकार बताउँछन् ।
‘नेपाली लोकसंगीतको क्षेत्रमा उहाँ एउटा चिनारी नै हो । उहाँको प्रस्थान भनेको हाम्रो लागि ठूलो दुर्घटना नै हो,’ गायिका हरिदेवी कोइरालाले नेपाल प्रेससँग भनिन्, ‘पुर्खाको पहिचानलाई जोगाउन उहाँ सधैं लागिपर्नु भो । सारंगीको क्षेत्रमा उहाँले गरेको प्रयास त नेपाली संगीत इतिहासमा स्वर्ण अक्षरले नै लेखिन्छ ।’
गन्धर्वले संकलन र सिर्जना गरेका गीत, संगीत नेपाली संगीताकाशमा अजरअमर रहने कोइराला बताउँछिन् । ‘सारंगीलाई विश्वसामु चिनाउन उहाँले जुन प्रयत्न गर्नुभो त्यो अतुलनीय नै छ । केही काम अपूरा, अधुरा रहे होलान् अब त्यो पूरा गर्ने जिम्मेवारी हामीलाई दिनु भएको छ,’ उनले भनिन्, ‘उहाँको निधनको खबर हामी संगीतकर्मी अत्यन्तै दुखी छौं ।’
गन्धर्वको निधनले नेपाली मौलिक संगीत क्षेत्रले एउटा पोख्त कलाकार गुमाएको कलाकार संघ, गण्डकीका अध्यक्ष सुनिल थापा सुनाउँछन् । ‘हामीले चिनेदेखि नै उहाँले सारंगीलाई आफ्नो जीवन सुम्पिनु भएको हो । त्यसैमा अनवरत लाग्नु भयो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँले सारंगी लगायत मौलिक वाद्यवादनलाई कसरी बिकास गर्नेमै सोचमग्न हुनुहुन्थ्यो,’ उनले भने ।
मौलिक संगीतको एउटा ‘लेजेन्ड’ लाई पोखराले असमयमै गुमाउनु परेको गायक विनोद बानियाँ बताउँछन् । भन्छन्, ‘पोखरामै बसेर पनि देशको नाम चिनाएको हो उहाँले । तर, नेपाली संगीत क्षेत्रले जति चिन्नुपर्ने हो त्यति नचिन्दा उहाँमाथि राजनीति भएको हो कि भन्ने पनि लाग्छ ।’
काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘गडजिला भर्सेस कङ’को नेपाल रिलिज मिति तय भएको छ । एप्पल इन्टरटेनमेन्टका अनुसार वार्नर ब्रोजको यो फिल्म जेठ ७ गते (मे २१)मा प्रदर्शन हुनेछ ।
कोरोनाभाइरस महामारीले हलिउडका ठूला फिल्म रिलिज पोस्टपोन्ड भैरहँदा किङ कङको श्रृंखलाले मिति तय गरेको हो । फिल्मले अफिसियल ट्रेलर पनि सार्वजनिक गरेको छ ।
गडजिला भर्सेस किङ हलिउडको शाष्त्रीय राक्षसको युद्ध कथा हो । ट्रेलरमा अजंग एक राक्षस र ठूलो एपको लडाइ समेटिएको छ । यो एउटा शक्तिको कथा हो । ‘विश्वमा आउने संकटलाई रोक्न एउटा किङ हामीलाई चाहिन्छ’ निर्देशक एडम विंगडले भने ।
फिल्मचाहिँ हलिउडमा एचबीओ म्याक्ससहित फिल्म हलमा रिलिज हुनेछ । यो फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शन हुनेछ । वितरक कम्पनी वार्नर ब्रोजले सन् २०२१ सम्मका सबै ठूला फिल्मलाई हाइव्रिड प्रणालीअन्तर्गत रिलिज गर्दैछ ।
ठूला फिल्म (हलिउड, नेपाली र बलिउड) नहुँदा यतिबेला नेपाली बक्सअफिसको पाइपलाइन रित्तो छ । झन्डै शुन्य अकुपेन्सीमा यतिबेला नेपाली थिएटर चलिरहेका छन् ।
यसैबीच, बाहुबली फेम्ड निर्देशक एसएम राजा मौलीको प्रतीक्षित फिल्म आरआरआरको प्रदर्शन मिति १३ अक्टोबरलाई तय भएको छ । पाँच दिने सप्ताहन्त विदासहित फिल्म रिलिज हुन लागेको हो ।
मलेसियामा मृत्यु भएका १७ नेपालीको शव शनिबार स्वदेश ल्याइयो । अझै २० भन्दा बढी शव ल्याउन बाँकी रहेको सरकारी तथ्यांक छ ।
शनिबार काठमाडौं विमानस्थलको दृश्य भने अन्य दिनभित्र भिन्न र भावुक देखियो । मलेसिया श्रमबजारमा ज्यान गुमाउने नेपालीका परिवारको कारुणिक रोदनका दृश्य गम्भिर थियो ।
पैसा कमाउन विदेश गएका नेपाली श्रमिकको यो दुःखान्त दृश्यले एकैसाथ नेपाली अर्थतन्त्र, समाज र राजनीतिलाई प्रश्न फ्याँक्छ । यो विषयवस्तुलाई अब फिल्मको पर्दामा चित्रण गरिने भएको छ ।
मान्छे रुवाउन खप्पीस निर्देशक दीपेन्द्र के. खनालले निर्माण एवं निर्देशन गर्न लागेको फिल्म ‘चिसोमान्छे’ शनिबार काठमाडौं एयरपोर्टमा देखिएको दृश्यलाई पोएट्रे गर्छ । लकडाउन पछाडिको सेटिङमा नेपाली समाजको अँध्यारो पाटो फिल्ममा चित्रण हुनेछ ।
नेपालप्रेससँग कुरा गर्दै निर्देशक खनालले काठमाडौंदेखि बझाङसम्म एउटा शवलाई लिएर गरिएको यात्राको कथा फिल्मले पेश गर्ने जनाए । एयरपोर्टमा उतारिएको एउटा शव बाकसको तस्विर पोस्ट गर्दै उनले लेखे –उहि गाडी, त्यही बाकस, त्यस्तै कविता… चिसो मान्छेको एउटा दृश्य हुबहु । हार्दिक श्रद्धाञ्जली ।
एयरपोर्टको उक्त दृश्य फिल्म ‘चिसो मान्छे’को कथावस्तु र दृश्यसँग दुरुस्तै रहेको उनले जनाए । फागुन पहिलो सातादेखि छायांकन सुरु हुने फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का र देशभक्त खनालको मुख्य भूमिका हुनेछ ।
काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र पूर्वमिस मंगोल जाङमु शेर्पाको विहे अहिले नेपाली नेटिजनमाझ चर्चामा छ । सामाजिक संजालदेखि चिया पसलसम्म यो जोडीको विहेले चर्चा बटुल्यो ।
आइतबार नेता राईले जाङ्मुलाई सिउँदो भरेर आफ्नी बनाए । जारी तस्विरहरुमा यी दुईलाई हँसिलो र रमाइलो मुद्रामा देख्न सकिन्छ । यी दुईजनाको विहेलाई राजनीतिदेखि कलाकारिता क्षेत्रसम्मले स्वागत गरेको छ ।
आइतबार वैवाहिक समारोहपछिको रिसेप्सनमा अभिनेता दयाहाङ राई र विल्सनविक्रम राई तक्मेबुढा समेत पुगे अनि जोडीलाई बधाइ एवं शुभकामना दिए । तक्मले फेसबुकमा लेखेका छन् –आरदणीय व्यक्तित्व श्री शेरधन राईज्यूलाई बधाइ साथै मोडेल समाजसेवी ज्याङमु शेर्पा भाउजुलाई किराँती चुलामा स्वागत गर्दै सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना ।
मुम्बइ : बलिउड अभिनेता वरुण धवन र प्रेमिका नतासा दलाल आज विहे बन्धनमा बाँधिएका छन् । अलिबगको पाँचतारे होटल द म्यानिसनमा भव्य बैबाहिक समारोहको आयोजना गरिएको छ जहाँ बलिउडका ‘हु इज हु’ सहभागि छन् ।
आइतबार दिउँसादेखि वैवाहिक कार्यक्रम सुरु भएको थियो । तर, विहेमा निम्तो गरिएका अतिथिलाई मोबाइल फोन लैजान प्रतिबन्ध लगाइएको छ । कोभिड–१९ प्रोटोकलको कारण जम्मा ५० जनामात्र विहे समारोहमा उपस्थित छन् ।
यतिबेला सबैको ध्यान विहेको फोटो कतिबेला सार्वजनिक हुन्छ भन्नेमा छ । फेबु्रअरी २ मा मुम्बइको पाँचतारे होटल सबरबनमा रिसेप्सन पार्टी आयोजना हुने जनाइएको छ ।
वैवाहिक समारोहमा भाग लिन फिल्म निर्माता करण जोहर, फेसन डिजाइनर मनिष मलहोत्रा लगायत अलिबग पुगेका छन् । करणसँगै अभिनेता रणवीर कपुर र प्रेमिका आलिया भाट पनि सहभागि हुने जनाइएको छ ।
सलमान खान र शाहरुख खानलाई पनि विहेमा बोलाइएको छ । बरुण र नतासाको परिवारले विहे कार्यक्रमलाई सार्वजनिक हुनबाट टाढा राखेका छन् । वरुण र नतासा लामो समयदेखि डेटिङमा थिए ।
काठमाण्डौ। अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘सत्यम’को ‘स्केच पोस्टर’ लन्च गर्दै बाँकी कलाकारको लागि अडिसन आह्वान गरिएको छ । पोस्टरमा हमाललाई ‘महानायक’ लेख्दै स्केच फोटो राखिएको छ । ‘सत्यम’ शीर्षकसँगै ‘राईजिंग अफ दि हिरोज्’को बटमलाइन उल्लेख गरिएको छ ।
पोस्टरमा हमालको अपोजिट अर्थात खलपात्रमा अभिनय गर्ने अनुपबिक्रम शाहीको भने नाम मात्र उल्लेख छ । ‘ह्यान्डसम भिलेन’ अनुपको लुक्ससहित छिट्टै नयाँ पोस्टर रिलिज गरिने निर्देशक शंकर कार्कीले बताए ।
फिल्ममा हमाल र शाहीसँगै पल शाह र उपासना सिंह ठकुरीले पनि काम गर्न सहमति जनाएको निर्माता रेशम सापकोटाले नेपालप्रेसलाई बताए ।
‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्ने फिल्ममा सहमति जनाउन हमालले आठ महिला कुराएका थिए । निर्देशक कार्कीका अनुसार हमालकै अनुरोधमा फिल्मालई टुडी प्रविधिमा खिचिनेछ ।
चार वर्षपछि अभिनयमा फर्किएका हमाल यसमा मुख्य पात्र सत्यमको भूमिकामा चित्रित हुनेछन् । स्केचले फिल्मको मनोविज्ञान र चरित्र चित्रणलाई दर्शाउने प्रयास गरेको छ । यसअघि फिल्म ँसिया र सौर्यमा हमाल र शाही एकसाथ देखिएका थिए ।
काम गर्न राजी भएका पल र उपासनाको भूमिका भने खुलाइएको छैन । अन्य २२ कलाकार अडिसनबाट छानिनेछन् । चार जना मुख्य चरित्र अभिनेता, दुई जना मुख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, सहायक कलाकार दुई पुरुष तथा दुई महिला साथै दुई जना बाल कलाकार र अन्य छोटो भूमिकाका कलाकारहरु पाँच जनाको लागि अडिशन हुनेछ ।
काठमाण्डौमा यहि माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुने जनाइएको छ । कार्कीले निर्देशन गर्ने ‘सत्यम’लाई रेशम सापकोटाले लेखेका हुन् ।
निर्माता समेत सापकोटा नै हुन् भने एशोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन् । सह– निर्माता रेशम गौतम र कृष्ण अधिकारी हुन् । कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलले संगीत दिएका छन् भने दुई गीतमा रेशम सापकोटा र एक गीतमा बिष्णु निरिशको शब्द रचना रहेको छ ।
काठमाडौं । ताज जितेसँगै पछिल्लो समय मिस नेपाल सामाजिक अभियानमा पनि सक्रिय हुन थालेका छन् । यो वर्ष चारैवटा टाइटल जितेका मिस नेपालले काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा रहेका सम्पदा अवलोकन गरे ।
पर्यटन बोर्डले मिस नेपाल टाइटल विजेताका लागि हेरिटेज वाक आयोजना गर्यो । मिस नेपाल वल्र्ड नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रान्यासनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा र मिस टुरिजम रिया श्रेष्ठले काठमाडौंका सम्पदा अवलोकन गरे ।
जीवितदेवी मानिने कुमारी घरदेखि सुन्दरीले हेरिटेज वाक सुरु गरे । यी सुन्दरीलाई सम्पदा बुझाउने व्यक्ति थिए सम्पदा जोगाऊ अभियन्ता आलोकसिद्धी तुलाधर ।
कालभैरव मन्दिर छेउको तरबार, तत्कालिन राजा प्रताप मल्लले १५ भाषामा लेखेको शिलालेख, इन्द्रचोकमा रहेको कान्तेश्वर मन्दिर र पोते बजार पनि उनीहरुले अवलोकन गरे ।
चारैजना सुन्दरीले सँधै हिँड्ने गरेको यो क्षेत्रको इतिहास र किंबदन्ती थाहा पाउँदा खुशि लागेको बताए । हरित तारा, ससुनानी, श्रीघलरको विहार हुँदै ठमेलको छुस्याबहामा पुगेर सुन्दरीको हेरिटेज वाक सकियो । मिस नेपालले सम्पदाबारे बोल्दा पर्यटनमा टेवा पुग्ने ठम्याइ पर्यटन बोर्डको छ ।
हेरिटेज वाकमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, म्युजियम अफ नेपाली आर्टकी निर्देशक सगुनी सिंह शाह लगायतले पनि हेरिटेज वाकमा भाग लिए ।
काठमाडौं । लोकगायिका ज्योति मगर आफ्नो गायकीले भन्दा उच्छृङ्खल हर्कतले बढि चर्चामा आउँछिन् । सामाजिक सञ्जालमार्फत पनि उनी मिडियालाई गसिपका खुराक दिइरहन्छिन् ।
पछिल्लो समयमा कोरोनाका कारण स्टेज शोहरु भएका छैनन् । ज्योति फुर्सदमा छिन् । उनको चर्चा पनि मत्थर भएको छ । सायद यसैले झ्याउ लागेर होला, उनले फेसबुकमा आफ्नो ‘हट’ तस्वीर पोष्ट गरेकी छन् । ज्योतिले पोष्ट गरेको तस्वीरमा उनको वक्षस्थलको तल्लो भाग देखिएको छ ।
तस्वीरको क्याप्सनमा पनि अश्लील शब्द प्रयोग गरेकी छन् । सायद उनी आफ्नो तस्वीरलाई लिएर प्रशस्त विवाद होस् भन्ने चाहन्छिन्।
क्याप्सनमा ज्योतिले लेखेकी छन्, ‘म सेक्सी नबनिरहन सक्दिनँ, यो मेरो रगतमा छ… यदि तिमी यसलाई सहजरुपमा लिन सक्दैनौ भने यो तिम्रो समस्या हो । आइ डोन्ट रियल्ली …. केयर…’
कमेन्टमा कतिले उनलाई भद्दा गाली गरेका छन् भने कतिले ‘बोल्ड’ भन्दै सराहना पनि गरेका छन् ।
रवि कार्की लेख्छन्, ‘कपडा थोरै माथि उचाल्नुको अर्थ के हो दिदी बुझिनँ मैले । यस्तै-यस्तै उपद्रोवाला तस्विरले गर्दा हो नि बलात्कारका घटना बढ्ने ।’