Category: कलाप्रेस

  • मिस नेपालका २२ टाइटल विजेता एकठाउँमा, सेलिव्रेसन र मस्ती !

    मिस नेपालका २२ टाइटल विजेता एकठाउँमा, सेलिव्रेसन र मस्ती !

    काठमाडौं । अहिलेसम्मका सबै मिस नेपालका टाइटल विजेता एक ठाउँमा भेला भएर सेलिव्रेसन गरेका छन् । पूर्वमिस नेपाल माल्भिका सुब्बाको पहलमा क्लब प्लाटिनममा दुई दर्जन मिस नेपाल विजेता भेला भए र रमाइलो गरे ।

    पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले सबै मिस नेपाल टाइटल विजेताबीच सम्बन्धलाई हार्दिक बनाइराख्न यस्तो पार्टी आयोजना गरिएको बताइन् । माल्भिका सुब्बादेखि पछिल्लो छिमलका सबै मिस नेपाल र अन्य टाइटलका विजेता सहभागि थिए । तस्विर : क्लब प्लाटिनम

  • दीपक मनाङे पनि फिल्म ‘२ नम्बरी’का निर्माता, चैत १५ गतेदेखि बाँकी छायांकन सुरु हुने

    दीपक मनाङे पनि फिल्म ‘२ नम्बरी’का निर्माता, चैत १५ गतेदेखि बाँकी छायांकन सुरु हुने

    काठमाडौं । गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले फिल्म ‘२ नम्बरी’ निर्माण गर्ने भएका छन् । फिल्मका प्रस्तुतकर्ता एवं अर्का निर्माता किरण नेपालीले गुरुङ निर्माताको रुपमा यस फिल्ममा संलग्न हुने जानकारी दिए ।

    लकडाउनका कारण यो फिल्मको छायांकन बीचमै रोकिएको थियो । बाँकी छायांकनलाई चाँडै सुचारु गर्ने जानकारी निर्माता विकले दिए । दीपेन्द्र लामाले निर्देशन गरिरहेको फिल्ममा दयाहाङ राई, उगेन छोदेन, पल शाह र वर्षा राउतको अभिनय छ ।

    चैत १५ गते घान्द्रुकबाट बाँकी फिल्म छायांकन निरन्तर हुने जनाइएको छ । कोरोना महामारीले गर्दा यसवर्षको जनैपूर्णिमामा हुने भनिएको पूर्वनिर्धारित रिलिज डेट स्थगित भएको छ । भुटानी नायिका छोदेन फिल्मको लागि काठमाडौं आउँदैछिन् ।

  • किसानको प्रदर्शनमा रिहानाको समर्थन, ‘मूर्ख’ भन्दै कंगना आक्रोशित

    किसानको प्रदर्शनमा रिहानाको समर्थन, ‘मूर्ख’ भन्दै कंगना आक्रोशित

    काठमाडौं । भारतमा चर्किएको किसान आन्दोलनलाई लिएर अहिले विश्व सेलेव्रिटी विभाजित छन् । जलवायु परिवर्तन अभियन्ता ग्रेटा थनवर्गदेखि अमेरिकी गायिका रिहानासम्मले भारतको किसान आन्दोलनमा समर्थन जनाएका छन् ।

    प्रहरी र किसानबीचको झडप बढ्न थालेपछि दिल्लीमा इन्टरनेट सेवा अवरुद्ध भन्ने सीएनएनको समाचारलाई रिहानाले सेयर गरेपछि यसले चर्चा बटुलेको छ । सोही समाचारलाई ग्रेटाले पनि सेयर गर्दै भारतीय किसानको प्रदर्शनमा समर्थन जनाएकी छिन् ।

    रिहानाले पनि उक्त ट्वीट गरेपछि बलिउड अभिनेत्री कंगना रनावतले क्रुद्ध हुँदै जवाफ दिएकी छिन् । कंगनाले किसान आन्दोलनमा सहभागिप्रति लक्षित गर्दै भारतलाई विभाजन गर्न खोज्ने नक्कली किसान र आतंककारी भनेकी छिन् ।

    उनी लेख्छिन्, ‘कसैले पनि यसबारे कुरा गरेको छैन किनभने उनीहरु किसान हैनन् बरु आतंककारी हुन् जो भारतलाई विभाजित गर्न चाहन्छन् जसले गर्दा अमेरिकालाई जस्तै भारतलाई पनि चीनले उपनिवेश बनाउन सकोस् ।’ कंगनाले रिहानालाई मुर्ख समेत भनेकी छिन् ।

    भारतमा किसानहरु मोदी सरकारले ल्याएको कृषि कानुन खारेजीको माग गर्दै आन्दोलनरत छन् । उक्त कानुनले नीजि कम्पनी र बिचौलियालाई फाइदा पुग्ने किसानको आरोप छ । उच्च न्यायलयले समस्या समाधानका लागि एउटा कमिटी पनि गठन गरेको छ ।

  • यूट्यूवर रसाइली भन्छन् : मलाई गाली गरेपछि श्वेताको बहिनीले एक थप्पड हान्नुभएको हो

    यूट्यूवर रसाइली भन्छन् : मलाई गाली गरेपछि श्वेताको बहिनीले एक थप्पड हान्नुभएको हो

    नायिका सुश्मा कार्कीले प्रहरीमा उजुरी गरेपछि शालीन स्वभावकी नायिका श्वेता खड्का विवादमा तानिएकी छन् । श्वेताले आफूमाथि दुर्व्यवहार गरेको र उनकी बहिनीले हातपात नै गरेको आरोप सुष्माको छ ।

    यो घटना हिजो (सोमबार) रातिको हो । धेरै सेलिब्रटीहरुसँग निकट सम्बन्ध भएका यूट्यूवर उत्सव रसाइली र सुष्माको झगडा हुँदा श्वेता र उनकी बहिनीले हस्तक्षेप गरेका थिए । यस क्रममा श्वेताकी बहिनी आरतीले सुष्मालाई एक थप्पड हानेको र कपाल लुछेको उत्सवले स्वीकारेका छन् ।

    श्वेताकी बहिनी आरती र युट्युबर उत्सव ।

    उत्सवले नेपाल प्रेससँग घटना विवरण यसरी सुनाएः

    ‘श्वेता दिदीको बहिनी आरतीको एनिभर्सरी मनाउन हामी दरबारमार्गको लन्डन पब क्लबमा भेला भएका थियौं । श्वेता दिदी, भिनाजु, उहाँकी बहिनी, मसहित अन्य साथीहरु त्यहाँ थियौं । त्यही क्लबमा सुष्मा कार्की पनि आएकी रहिछन् । वासरुम जान लाग्दा उनीसँग मेरो जम्काभेट भयो । त्यही बेला उनले भिडियो अन्तर्वार्तामा श्वेता र पूजा शर्मा लगायतलाई मात्र फेवर गर्ने र आफूलाई सपोर्ट नगर्ने भनेर कराउन थालिन् ।

    कराउने क्रममा उनले ममाथि अपशब्द प्रयोग गर्नुका साथै जातीय गाली समेत गरिन् । उनले मलाई प्रयोग गरेका शब्द सार्वजनिक रुपमा भन्न पनि मुस्किल हुन्छ । मलाई यसरी गाली गरेको देखेर श्वेता दिदीको बहिनी आरती पनि आउनुभयो । उहाँले सुष्मालाई कपाल भुत्लाएर एक झापड हान्नुभएको हो । अलिअलि धकेलाधकेल पनि भएको थियो ।

    श्वेता र उनका श्रीमान विजयेन्द्र ।

    विवाद बढ्दै गएपछि अरु साथीले छुट्याए । सुष्माले ममाथि गरेको गाली र अपमानविरुद्ध म पनि बुधबार बिहान प्रहरीकहाँ निवेदन लिएर जाँदैछु । ममाथि गरिएको जातीय गालीले मलाई दुःखित तुल्याएको छ । जहाँसम्म श्वेता दिदीले दुर्व्यवहार गरेको कुरा छ, त्यो सरासर गलत हो । हामी पनि प्रहरीकहाँ गएर सुष्माविरुद्ध कारबाहीको माग गर्नेछौं ।

  • श्वेताविरुद्ध उजुरीपछि यसो भन्छिन् सुष्मा

    श्वेताविरुद्ध उजुरीपछि यसो भन्छिन् सुष्मा

    काठमाडौं । आफूमाथि दुर्व्यवहार र कुटपिट भएको भन्दै नायिका श्वेता खड्कासहित तीनजना विरुद्ध प्रहरीमा उजुरी गरेकी नायिका सुष्मा कार्कीले विवादको जड यूट्यूवर उत्सव रसाइली भएको बताएकी छन् ।

    रसाइलीले आफूलाई पहिलेदेखि नै नानाथरी ट्रोल गरेर अपमान गर्दै आएको उनको भनाइ छ । ‘मैले यस्तो नगर भन्दा तपाईंजस्तो पब्लिक फिगरले यस्ता कुरा पचाउनुपर्छ भनेर पन्छाउने गर्थ्याे’ उनले भनिन् ।

    घटना भएको दिन पनि क्लबमा उत्सवबाटै विवाद सुरु भएको सुष्माले बताइन् । ‘मलाई देखेपछि यो केटी को हो यसलाई निकाल भन्दै उसले ह्यारेसमेन्ट गर्‍यो, अनि श्वेताका मान्छेहरु आएर हात हाल्ने काम गरे’, उनले भनिन् ।

    श्वेताकी बहिनी आरतीले आफूलाई कपाल लुछेको र श्वेताले पनि गालीगलौज गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी छिन् ।

  • ‘सैं पनि एमाले’की प्रियासहित बैकुण्ठ महतको गीति आग्रह- एकता तोडेर नजाऊ साथी हो !

    ‘सैं पनि एमाले’की प्रियासहित बैकुण्ठ महतको गीति आग्रह- एकता तोडेर नजाऊ साथी हो !

    काठमाडौं । कुनैबेला थियो बद्री पंगेनीको जनवादी ट्रयाक ‘सैं पनि एमाले, मै पनि एमाले’ आन्दोलन र चुनावी अभियानमा हिट थियो । लाग्थ्यो, तत्कालिन एमालेको लागि यो एउटा ‘ब्रान्डेड गीत’ हो ।

    एमाले दलको छाता मुनि आबद्धले यो गीत गाउँथे र एकाकार हुनुको महसुस गर्थे । अहिले भने समयले एकसय असी डिग्रीको कोल्टे फेरेको छ । नेकपा दल विभाजन भएपछि कला क्षेत्र पनि विभाजित भएको छ ।

    फिल्म सेलेव्रिटी संसद विघटन र नेकपा विभाजनलाई दिएर यसअघि नै विभाजित छन् । अब भने पालो संगीत क्षेत्रको । केही जनवादी गायक-गायिकाले केपी ओलीको पक्षमा गीत निकालेका छन् । केहीले प्रचण्ड-नेपाल पक्षमा र केहीले गीतमार्फत एकताको पक्षमा शब्द पोखेका छन् ।

    बद्री पंगेनीसँग ‘मै पनि एमाले, सहि पनि एमाले,’ गाएकी प्रिया भण्डारी नेकपा विभाजनपछि फेरि अर्को गीतमा देखिएकी छन् । बैकुण्ठ महतको ‘एकता तोडेर नजाऊ साथी हो’ गीतमा प्रियाले स्वर दिएकी छन् ।

    शहिदको रगत र आकांक्षालाई धोका दिएर एकता नभाँड्न आग्रह गरिएको यो गीतले एकताको सन्देश दिन्छ । यसमा केपी ओली नेतृत्वको सरकारले विकासका कामहरु गरिरहेको दृष्य देखाउँदै यस्तो प्रयासलाई अवरोध गर्न पार्टी विभाजन गर्न खोजिएको सन्देश दिन खोजिएको छ ।

    गायिका कोमल ओलीले ‘केपी ओली’ बोलेको गीत युट्युवमा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीको आवश्यकतालाई दर्शाउने प्रयास गरेकी छिन् । केपी ओलीलाई राजनेताको रुपमा यो गीत प्रस्तुत गरिएको छ । राष्ट्रिय सभाकी सांसद समेत रहेकी उनी ओली पक्षको नेकपामा खुलेरै लागेकी छिन् । 

  • इलामका थीर कोइरालासँग अर्को वर्ष विहे गर्दै अञ्जु पन्त

    इलामका थीर कोइरालासँग अर्को वर्ष विहे गर्दै अञ्जु पन्त

    काठमाडौं । गायिका अञ्जु पन्त दोस्रो विहेको तयारीमा छिन् । दशकअघि संगीतकार मनोज राजसँग उनको सम्बन्ध विच्छेद भएको थियो ।

    उनै मनोजसँगको सन्तानको रुपमा रहेकी छोरी पारितोषिकाको आग्रहमा अन्जुले दोस्रो विहे गर्न लागेकी हुन् । नेपाल प्रेससँग कुरा गर्दै पन्तले अर्को वर्ष आफूहरु विहे बन्धनमा बाँधिने तयारीमा रहेको बताइन् ।

    ‘मिडियामा विहेको खबर आउन थालेपछि भने हामीलाई दबाब भएको छ र विहे गने तयारीमा छौं’ उनले भनिन् । इलामका थीर कोइरालासँग अन्जुले विहे गर्न लागेकी हुन् ।

    दुबैको परिवारबीच विहेको कुरा भएपनि मिति भने तय भएको छैन । उनीहरु एकवर्षदेखि डेटिङमा छन् । थीर र अञ्जु दुबै क्रिस्चियन धर्मावलम्वी हुन् ।

    छोरी पारितोषिकाले पनि मिडियामा आफ्नी आमाले विहे गर्नुपर्ने धारणा राख्दै आएकी थिइन् । सामाजिक संजालमा थीरले पनि अञ्जुका तस्विरहरु सेयर गरेका छन् ।

  • श्वेता खड्काले कुटेको भन्दै सुष्मा कार्की प्रहरीको शरणमा

    श्वेता खड्काले कुटेको भन्दै सुष्मा कार्की प्रहरीको शरणमा

    काठमाडौं । आफूलाई श्वेता खड्कासहितले गालीगलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छिन् ।

    अभिनेत्री श्वेता खड्का, उनका पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको भन्दै कार्की दरबारमार्ग प्रहरी समक्ष उजुरी लिएर पुगेकी हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले आफूमाथि कुटपिट र दुर्व्यवहार भएकोले कारबाहीका लागि उजुरी लिएर आएको बताइन् । प्रहरीले छलफलका लागि श्वेतासहित आरोपित पक्षलाई पनि दरवारमार्ग बोलाएको छ ।

    लन्डन पब क्याफेमा पुगेका बेला आफूमाथि कुटपिट भएको सुष्माको दावी छ । आफूमाथि भएको दुर्व्यवहारको भिडियो समेत प्रहरीलाई सुष्माले बुझाएकी छन् ।

    श्वेताले आफूलाई अपशब्द र गालीगलौज पनि गरेको र बहिनी आरतीले हात हालेको सुष्माले प्रहरीलाई बताएकी छन् ।

    उनले प्रहरीमा दिएको जाहेरी अनुसार आफ्नो जन्मदिनको पार्टी आयोजना गर्न भेन्यु खोज्न जाने क्रममा लण्डन पबमा पुगेको र सोही क्रममा श्वेताको परिवार र उत्सव रसाइली झगडा गर्न आएको बताएकी छन् ।

  • स्टार किड्स ! विराट र अनुष्काले राखे छोरीको नाम भमिका !

    स्टार किड्स ! विराट र अनुष्काले राखे छोरीको नाम भमिका !

    काठमाडौं । बलिउडको पावरफूल कपल विराट कोहली र अनुष्का शर्मा अहिले मम-ड्याड बनेको खबरले चर्चामा छन् । टेस्ट क्रिकेटको व्यस्तता छाडेर विराट अहिले पत्नी अनुष्कासँगै छन् ।

    उनले केही साता नवजात शिशुको तस्विर सार्वजनिक गरेनन् । तर, न्वारनसहित यो जोडीले छोरीको तस्विर आउट गरेका छन् । छोरीको नाम राखिएको छ –भमिका ।

     

    View this post on Instagram

     

    A post shared by AnushkaSharma1588 (@anushkasharma)

    भमिका अर्थात विराट कोहली र अनुष्का शर्माको छोटकरी नाम । बलिउडमा अहिले कपलको नामबाटै शिशुको नामाकरण गर्ने ट्रेन्ड छ । अनुष्काले इन्स्टाग्रामबाट तस्विर सेयर गर्दै प्रशंसकलाई धन्यवाद दिएकी छिन् । आफू पिता बनेको विराटको ट्वीट सन् २०२० मा भारतमा सबैभन्दा बढी लाइक गरेको ट्वीट बनेको थियो ।

  • सौगात मल्ल अब फिल्म निर्माता, ‘द सेक्रेट्स अफ राधा’मा सुवर्णसँग सहकार्य

    सौगात मल्ल अब फिल्म निर्माता, ‘द सेक्रेट्स अफ राधा’मा सुवर्णसँग सहकार्य

    काठमाडौं । अभिनेता सौगात मल्ल अब फिल्म निर्माता बन्ने भएका छन् । निर्देशक सुवर्ण थापासँग उनले नयाँ फिल्म ‘द सेक्र्टस अफ राधा’मा सहकार्य गर्र्दैैछन् ।

    माघ अन्त्यदेखि छायांकन सुरु हुने फिल्मको लिड मेलमा स्वयम सौगात हुने भएका छन् । नेपाल प्रेससँग कुरा गदै निर्माता एवं निर्देशक थापाले सौगातको ब्यानर आदियोगी भिजन र आफ्नो ब्यानरमा फिल्म बन्ने जनाए ।

    सौगात पहिलोपटक फिल्म निर्माता बन्न लागेका हुन् । ‘लुट’ फेम्ड अभिनेताले बनाउने फिल्मको अहिले प्रि-प्रोडक्सन भैरहेको छ । चाँडै प्रेसमिट गर्दै नायिका लगायतका लिड पात्रको बारेमा जानकारी गराइने भएको छ ।

    सुवर्णले यसअघि सुनगाभा : द डान्स अफ दी अर्किड्स, फन्को र बाटो मुनिको फूल २ लगायतका फिल्म निर्देशन गरेका छन् । सुवर्ण र सौगातले २०१२ को लेस्बियन ड्रामा ‘सुनगाभा’मा समेत सहकार्य गरेका थिए ।

    सौगातको पाइपलाइनमा लप्पन छप्पन २, तीन जन्तु, मन्त्र फिल्म रिलिज तयारीमा छन् । सौगातको पहिलो अभिनय फिल्म कागबेनी २००८ मा रिलिज भएको थियो ।

  • छोरीलाई हिरोइन लिएर करिश्मा बनाउँदैछिन् फिल्म ‘वनवास’

    छोरीलाई हिरोइन लिएर करिश्मा बनाउँदैछिन् फिल्म ‘वनवास’

    काठमाडौं । छोरी कवितालाई मुख्य भूमिकामा लिएर अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘बनवास’ निर्माणको घोषणा गरेकी छिन् । करिश्माकै होमप्रोडक्सनमा बन्ने फिल्मलाई सुशिल क्षेत्रीले निर्देशन गर्नेछन् ।

    नेपाल प्रेससँग कुरा गर्दै करिश्माले बाबु–छोरीबीचको सम्बन्धलाई फिल्मले चित्रण गर्ने बताइन् । बाबुको रोलमा पाका अभिनेता सरोज खनालले अभिनय गर्ने भएका छन् ।

    सामाजिक संजालमा पनि करिश्माले थिम पोस्टर लन्च गरेकी छिन् । यसै महिना कविताको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको थियो । यसअघि करिश्माले फागु फिल्म निर्माण गरेकी थिइन् ।

  • महामारीले रोकिएको नेफ्टा फिल्म अवार्डले पायो प्रायोजक

    महामारीले रोकिएको नेफ्टा फिल्म अवार्डले पायो प्रायोजक

    फागुन अन्तिम साता हुने दशौं नेफ्टा अवार्डको टाइटल स्पोन्सरमा एलआइसी ‘लाइफ इन्स्योरेन्स कर्पोरेसनले सहकार्य गर्ने भएको छ । चलचित्र प्राविधिक संघसँग आयोजकमा जोडिएको ड्रिम हाइ नेपाल प्राली र एलआइसीबीच शुक्रबार सम्झौता पत्र आदान प्रदान भएको हो ।

    एलआइसीका तर्फबाट सिइओ लक्ष्मीप्रसाद दास र ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । टाइटल स्पोन्सर बापत नेफ्टा अवार्डलाई एलआएसीले कति रकम उलपब्ध गरायो भन्ने खुलाइएको छैन । सम्झौतापछिको सहकार्यसँगै नेफ्टा अवार्डको नाम अब एलआइसी नेपाल १० औं नेफ्टा अवार्ड –२०७७ भएको छ ।

    टाइटल स्पोन्सरमा एलआइसी जोडिएसँगै नेफ्टा अवार्डको ब्युटी स्पोन्सरमा जोय पपाया र अर्को सहकार्य पार्टनर काठमाडौं वर्ल्ड स्कुल पनि जोडिएको छ भने अवार्डलाई पर्यटन बोर्डले प्रवर्धन गर्नेछ । अवार्ड समारोहले आन्तरिक पर्यटन प्रवर्धनमा समेत सघाउ पुर्याउने आयोजकले विश्वास लिएको छ ।

    कोरोना भाइरसको महामारीको कारण गत बर्ष स्थगित भएको यो अवार्डमा २०७५ सालमा बर्षभरी प्रदर्शनमा आएका नेपाली फिल्मले प्रतिस्पर्धा गर्दैछन् । जुरीले फिल्मको उत्कृष्ट पाँच मनोनयन छानिसक्दा मनोनयन सार्वजनिक कार्यक्रम यहि माघ २४ गते काठमाडौंमा हुनेछ । अवार्ड समारोह भने फागुन २९ गते हुनेछ ।

    कोरोना महामारीपछि सुस्ताउने अवस्थामा पुगेको चलचित्र क्षेत्रलाई थप चलायमान र सकृय बनाउन अवार्ड कार्यक्रम गर्न लागिएको प्राविधिक संघ अध्यक्ष पुष्कर लामाले बताए । महामारीको कारण डुबानमा परेको चलचित्र क्षेत्रलाई गतिशिल बनाउने आफुहरुको दायित्व भन्दै यस कार्यमा हातेमालो गर्न समग्र चलचित्रकर्मी, दर्शक तथा सुभचिन्तकहरुलाई लामाले आग्रह पनि गरेका छन् ।

  • नेपालमा सुटिङ गरिएको बीबीसी फिल्म ‘ब्ल्याक नर्सिसस’ काठमाडौंमा प्रिमियर

    नेपालमा सुटिङ गरिएको बीबीसी फिल्म ‘ब्ल्याक नर्सिसस’ काठमाडौंमा प्रिमियर

    काठमाडौं । नेपालमा छायांकन गरिएको बीबीसी सिरिज ‘ब्ल्याक नर्सिसस’लाई राजधानी काठमाडौंमा प्रिमियर गरिएको छ । चलचित्र विकास बोर्डको अडिटोरियममा सिरिज प्रदर्शन गरियो ।

    गतमहिनादेखि बीबीसी वान टेलिभिजनमा प्रसारण सुरु भएको यो सिरिजको प्राइभेट स्क्रिनिङ नेपाली फिल्मकर्मी, मिडियाकर्मीमाझ गरिएको हो । सिरिजको आधाभन्दा बढी भाग मुस्ताङको नौरीकोट र मुक्तिनाथ क्षेत्रमा गरिएको थियो ।

    सन् १९३९ मा रुमेर गोडेनद्धारा लिखित उपन्यास ‘ब्ल्याक नर्सिसस’मा फिल्म बनेको थियो र सोही बेला दुई विधामा अस्कर अवार्ड पनि जितेको थियो । बेलायतको एफ फक्स र बीबीसी वानले निर्माण गरेको सिरिजमा केही नेपाली कलाकारले समेत अभिनय गरेका छन् ।

    सन् १९३४ को पृष्ठभूमिमा बनेको फिल्मले विद्यालय बनाउने उद्देश्यले नेपाल आएका क्याथोलिक भिक्षुणीहरुको कथा पेश गर्छ । यो सिरिजमा गेम अफ थ्रोन्स अभिनेत्री डायना रिग लगायतको अभिनय छ ।

    यो पनि पढ्नूस : मुस्ताङमा खिचिएको बीबीसी फिल्मको विश्वव्यापी चर्चा, फिल्म पर्यटनमा सघाउने विश्वास

    सिरिजको नेपाल व्यवस्थापन चाहिँ लोकेसन नेपालले गरेको थियो । फिल्मस एन्ड फिल्मसको भगिनी संस्था लोकेसन नेपाल गौतम धिमाल र प्रेम उपाध्यायले स्थापना गरेको अन्तराष्ट्रिय निर्माता कम्पनी हो ।

  • रंगशालालाई पैसा जुटाउन सेलेव्रिटीले क्रिकेट खेल्ने, टीम धुर्मुस भर्सेस टीम सुन्तली !

    रंगशालालाई पैसा जुटाउन सेलेव्रिटीले क्रिकेट खेल्ने, टीम धुर्मुस भर्सेस टीम सुन्तली !

    काठमाडौं । भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अर्थ संकलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ ।

    शनिबार राजधानीमा आयोजित प्रेसमिटमा टीम धुर्मुस र टीम सुन्तलीबीच प्रतिस्पर्धा हुने जानकारी दिइयो । नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी दुई समूहमा बाँडिएर क्रिकेट खेल्नेछन् ।

    दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने भएका छन् ।

    माघ २४ गते निर्माणाधीन रंगशालामा प्रतियोगिता हुने भएको छ । प्रेसमिटमा बोल्दै आयोजक संस्था गृष्म ब्रोडकास्टिङ मिडियाका अध्यक्ष गृहेन्द्र घिमिरेले टुर्नामेन्टबाट संकलन हुने रकम रंगशालाको निर्माणमा प्रदान गरिने बताए ।

    यो पनि पढ्नूस : धुर्मुस–सुन्तलीले व्यक्त गर्न नसकेको धोका (भिडियोसहित)

    कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत टुर्नामेन्ट आयोजना गरिएको उनले जनाए । तेक्वान्दो खेलाडी दीपक विष्ट र अभिनेता सन्दीप क्षेत्रीले सामाजिक काममा सक्रिय हुन पाउँदा आफूहरु उत्साहित भएको बताए ।

  • बलात्कार पीडित ५ वर्षे बालिकालाई मनीषाले निःशुल्क पढाउने

    बलात्कार पीडित ५ वर्षे बालिकालाई मनीषाले निःशुल्क पढाउने

    काठमाडौं । अभिनयसँगै सामाजिक कार्यमा सक्रिय छिन् मनीषा कोइराला । लकडाउनपछि उनी काठमाडौंस्थित घरमै ब्यस्त छिन् ।

    यसै महिना पृथ्वी जयन्ती उनकै नेतृत्वमा काठमाडौंमा मनाइयो । उनले एउटा भजन पनि आफ्नै स्वरमा रेकर्ड गरिन् । सामाजिक कार्यमा पनि उनको सक्रियता लोभलाग्दो छ ।

    शुक्रबार राजधानीमा आयोजित महिला हिंसाविरोधी कार्यक्रम ‘मिसन जननी जयते’मा मनिषाले बलात्कार पीडित पाँच वर्षे बालिकालाई सहयोग गर्ने घोषणा गरिन् ।

    ती बालिकालाई निःशुल्क शिक्षा र आर्थिक सहयोग गर्ने वचन उनले दिइन् । उक्त समारोहमा सहभागि अभिनेत्री रेखा थापाले बलात्कारविरुद्ध महिलाको आवाज बलियो हुनुपर्ने खाँचो औंल्याइन् ।

  • धर्मनिरपेक्षताले विभाजन ल्यायो, जनताले राजा खोज्न थाले (भिडियो)

    धर्मनिरपेक्षताले विभाजन ल्यायो, जनताले राजा खोज्न थाले (भिडियो)

    काठमाडौं ।  पहिले सदावहार सुन्दरी करिश्मा मानन्धरको अभिनय र सुन्दरताको मात्र चर्चा हुन्थ्यो, अहिले उनका अभिव्यक्तिले पनि चर्चा पाउन थालेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफ्ना राजनीतिक दृष्टिकोण सार्वजनिक गर्न थालेपछि उनको बेग्लै छवि निर्माण भइरहेको छ ।

    त्यसो त करिश्मा प्रत्यक्ष राजनीतिमै होमिएकी हुन् । तर, डा. बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्तिमा उनको राजनीतिक यात्रा लामो भएन । उनी पार्टी राजनीति छोडेर स्वतन्त्र छिन् । तर, राजनीतिको धङधङी बाँकी नै छ । खैर, उनी अब पूर्णकालीन राजनीति गर्ने मूडमा छैनन् ।

    पछिल्लो राजनीतिक अस्थिरतालाई लिएर करिश्माको विचार सुन्दा लाग्छ– नेपालमा शासन व्यवस्था अझै संस्थागत भइसकेको छैन र राजनीतिमा व्यापक कोर्स करेक्सनको जरूरी छ ।

    संसद विघटन र नेकपा विभाजनपछि तरल बनेको राजनीतिप्रति करिश्मा लगभग निराश छिन् । उनले दुईतिहाइ बहुमत प्राप्त दल समृद्धि निर्माणमा असफल भएको निष्कर्ष निकाल्दै राजनीतिक दल नै खारेज हुनुपर्ने ‘बोल्ड’ तर्क सामाजिक सञ्जालमा गरेकी थिइन् । एउटा सेलिब्रिटीले सार्वजनिक रूपमा यत्ति लेख्न निकै साहस जुटाउनुपर्छ । तर, करिश्मा यसलाई ‘नागरिक’ हुनुको प्रतिक्रिया बताउँछिन् ।

    अढाइ वर्षअघि उनै करिश्मा डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा थिइन् । कालान्तरमा नयाँ शक्तिले राजनीतिक आकर्षण गुमाएपछि भने करिश्माले बाबुरामको साथ छाडिन् । उनी सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाइरहेकी छिन् ।

    किन नयाँ शक्ति ज्वाइन गर्नुभयो र किन छोड्नुभयो ? हामीले सोध्यौं ।

    करिश्माले बाबुराम भट्टराईलाई लक्षित गर्दै कूटनीतिक जवाफ दिइन्, ‘एउटा दूर–दृष्टिकोण भएको राजनीतिज्ञ यदि मूलधार राजनीतिमा आउन सकेमा राम्रो हुन्छ भन्ने लागेको थियो । उहाँसँग आबद्ध भएर केही काम गर्न सकिन्छ भन्ने आशाले राजनीतिमा लागेकी थिएँ । केही समय दलभित्रै बसेपछि आफूले धेरै सिक्नुछ भन्ने महसूस गरेर पछाडि फर्किएँ ।’

    नयाँ शक्ति प्रवेशलाई करिश्मा विशुद्ध राजनीति बुझ्ने आफ्नो एउटा कर्म भएको बताउँछिन् । तत्कालीन परिस्थितिमा डा. भट्टराईलाई सहयोग गरेर अगाडि बढ्दा राम्रै हुन्छ भन्ने लागेको थियो उनलाई । तर, फेरि लाग्यो– पार्टीमा बसेर आफूले कल्पना गरेको कुरा पूरा गर्न कठिन छ ।

    ‘यही सोचेर मैले आफूलाई राजनीतिबाट पछाडि हटाउनु उचित ठानें’ उनी स्मरण गर्छिन् । अढाइ वर्ष नयाँ शक्तिभित्र बसेर करिश्माले बुझेको कुरा हो– राजनीति सहज छैन । मुलुकको राजनीति माटो सुहाउँदो पनि छैन ।’

    दशरथ रंगशालामा मुठ्ठी उचालेर देश सेवा गर्न लिएको शपथको स्मरण फिल्मको रिलजस्तै घुमिरहेको छ उनको मस्तिष्कमा । चलचित्र क्षेत्रमा स्टारडम बनाउन जति सजिलो छ, उति नै राजनीतिको मैदानमा नायकत्व खोज्नु स्यालको सिङ खोज्नुजस्तै कठिन । यो उनको अनुभव हो ।

    केही आलोचक करिश्मालाई फेसबुके राजनीति गरेको आरोप लगाउँछन् तर, उनलाई यसमा मतलब छैन । ‘देशको परिस्थिति, राजनीतिक घटनाक्रम र विभिन्न समस्या देख्दा बोल्न मन लाग्छ, जसले गर्दा म आलोचित पनि हुन्छु’ उनको जवाफ छ, ‘जब तपाइँ एउटा पक्ष–विपक्षमा देखिनुहुन्छ तब विचारमा संकीर्णता देखिन्छ । अनि अर्को पक्षले भन्ने बाटो रहन्छ । तर, नेपाली नागरिकको हिसाबले चूप लागेर बस्न पनि सकिरहेको छैन । सकेसम्म नबोलौं भन्ने नै लाग्छ, तर फेरि बोल्न मन लाग्छ ।’

    ‘म राजावादी भने हैन । मैले देखेको कुरा मात्र भनेकी हुँ । हामी गणतन्त्रमै छौं । गणतन्त्रप्रति सम्मान छ । तर, मान्छेको मनमा विकल्पस्वरुप राजाको कुरा आउने भइसक्यो ।’

    राजनीति इमानदार छैन । करिश्माको सबैभन्दा बृहद स्टेटमेन्ट हो, यो । उनी राजनीतिभन्दा कलाकारितालाई इमानदार देख्छिन् ।
    ‘हुनुपर्ने राजनीति हो तर, कलाकार चाहिं आफ्नो काममा अति इमानदार देख्छु’ करिश्माको मूल्यांकन छ । हालैको एउटा स्टेटमेन्टमा करिश्माले राजतन्त्रप्रति सहानुभूति जनाइन् । पछिल्लो समय दलीय प्रणाली असफल भएको तर्क गर्दै उनले बरु राजतन्त्रले सबैलाई समेटेर अघि बढेको दाबी गरिन् ।

    के तपाइँ अब राजा चाहिन्छ भन्ने निष्कर्षमा पुग्नुभएको हो ? करिश्मा खुलिनन् । उनी भन्छिन्, मलाई सबै राजनीतिक दलको विचारधारा थाहा नहोला । कुनै वादको बारेमा धेरै ज्ञान नहोला । तर, मेरो जीवनकालमा भएका राजनीतिक घटनाक्रमलाई चाहिं बुझ्छु म ।’
    जनताले साथ दिंदादिंदै पनि राजनीतिक दल असफल हुनुले नागरिकमा उनीहरूको विकल्प खोज्ने विचार सिर्जना हुनु स्वाभाविक भएको करिश्माको ठम्याइ छ । ‘जनताले उहाँहरूलाई तिरस्कार गरेका हैनन् तर, भनेजस्तो काम नगरेपछि विकल्प खोज्नु स्वाभाविक हो जस्तो लाग्छ’ बहुदलीय व्यवस्थाप्रति करिश्माको डिफाइन छ ।

    संसद विघटन हुनुअघि र पछाडिको राजनीतिक परिदृश्यमा कुनै नयाँ चिज देख्दिनन् उनी । भन्छिन्– संसद विघटन हुनु अगाडि र पछाडि एउटा नागरिकका लागि खास फरक छैन । त्यतिबेला पनि जुलुस र धर्ना भोगिरहेको थियो देश र अहिले पनि भोगिरहेको छ । यदि संसद पुनस्र्थापना भयो भने त्यसलाई चित्त नबुझाउनेहरू पुनः सडकमा आउनुहुन्छ । यो पार्टीगत वैचारिक द्वन्द्व हो । मैले भनेको कुरा गलत हुनसक्छ । मैले भनेको कुरामा सहमत हुनुपर्छ भन्ने छैन । तर, पार्टी सिस्टम फेल खायो । किनभने समाज नै अहिले विभाजित भएको छ ।’

    करिश्माको ‘पलिटिकल कन्सस’ दलीय आलोचनाको वृत्तमा मात्र सीमित छैन । धर्मनिरपेक्षता र संघीयताबारे पनि उनी आलोचनात्मक छिन् । मुलुक धर्मनिरपेक्ष भएपछि धार्मिक असहिष्णुता र अनुशासनहीनता मौलाएको यी सुन्दरीको तर्क छ ।

    भन्छिन्, ‘बरु २०४६ सालमा म किशोरी थिएँ । त्यतिबेला धार्मिक सहिष्णुता उच्च थियो । हामी सबै एकअर्काको धर्मलाई सम्मान गथ्र्यौं । अहिले त धर्मको बारेमा पनि विभाजित भएको देख्छु । चार जात छत्तीस वर्णको फूलबारीको रूपमा राजाले पनि सबैलाई सम्बोधन गरेकै थिए नि !’

    फेरि अलिकति ब्याकफुटमा आइन् ।

    उनलाई बाबुराम दूर-दृष्टिकोण भएका र सक्षम नेता लाग्छन् । तर, विकसित राजनीतिक घटनाक्रमले बाबुरामलाई अस्थिर बनाएको छ र करिश्माकै भनाइमा उनी कहिले कता–कहिले कता ठोक्किने गरेका छन् ।

    ‘म राजावादी भने हैन । मैले देखेको कुरा मात्र भनेकी हुँ । हामी गणतन्त्रमै छौं । गणतन्त्रप्रति सम्मान छ । तर, मान्छेको मनमा विकल्पस्वरुप राजाको कुरा आउने भइसक्यो ।’

    गणतन्त्रप्रति उनको दृष्टिकोण छ, ‘मुलुकमा अभिभावकत्वको कमी देखिएपछि नागरिकको मनमा यस्तो कुरा आउँदो रै’छ । जो भोगिरहेको छु त्यो भन्न पाउनुपर्छ ।’

    धर्मनिरपेक्षता र संघीयताबारे आफ्नो व्यक्तिगत विचार रहेको उनले बताइन् ।‘यसमा मैले धेरै गाली खान सकुँला । २०४६ सालअघि हिन्दू धर्मले सबैलाई सम्मान गरेको थियो । धर्मनिरपेक्ष भएपछि एक–अर्काको सद्भाव बढी हुनुपर्ने हो नि होइन र ? तर अहिले आएर यसमा विवाद भइरहेको छ । संघीयताले पनि कन्फ्युज मात्र थपेको छ । बहुमत ल्याएका दलले पनि संघीयताको अभ्यास राम्रो गर्न सकेनन् ।’

    संसद विघटन राज्यको हितमा नभएर पार्टीगत भागबण्डामा कुरा नमिलेर भएको करिश्माको तर्क छ । संसद विघटन जनताको चाहना अनुरूप नभएको बताउँछिन् उनी । ‘पछिल्लो घटनाक्रमबाट जनतालाई नोक्सानबाहेक केही छैन’ भन्छिन्, ‘दलहरूले कसको फाइदाको लागि गर्नुभएको हो, त्यो थाहा भएन ।’

    राजतन्त्रप्रति नरम विचार भए पनि करिश्मालाई राजावादी पार्टीमा लाग्ने कुनै चाहना छैन । राजावादी विचार भएका पार्टीले कार्यक्रममा बोलाउँदा पनि आफू नजाने गरेको उनी बताउँछिन् । ‘आक्षेप लाग्ला भनेर म कहीं गएकी छैन । नागरिकको विचार अभिव्यक्त गर्ने कुरामा पनि यो एउटा अवरोध हो जस्तो लाग्छ’ उनको ठम्याइ छ ।

    फेरि पनि प्रश्न त्यही । कलाकार भएर राजनीतिक अभिव्यक्ति दिनु हुन्छ या हुँदैन ? करिश्मालाई लाग्छ– कलाकार राज्यका गहना मात्र होइनन् बरु आवाज हुन् ।

    ‘मेरो विचारमा राजनीतिक अभिव्यक्ति दिंदा हुन्छ किनभने हामी सबैजना राज्यसत्तासँग जोडिएका छौं’ करिश्मा भन्छिन्, ‘यदि राज्यसत्तामा आपत् आइलाग्यो भने हाम्रो जीवनमा प्रभाव पर्छ । हामीले अगुवाहरूलाई सचेत गराउनुपर्छ ।’

    बाबुराम भट्टराईसँग निकट भएर अढाइ वर्ष काम गरिन् करिश्माले । नयाँ शक्तिमा जुन उद्देश्यले उनी लागेकी थिइन्, कल्पना र यथार्थबीच दूरी देखेपछि उनले बाबुरामसँग सहकार्य तोडिन् । उनलाई बाबुराम दूर-दृष्टिकोण भएका र सक्षम नेता लाग्छन् । तर, विकसित राजनीतिक घटनाक्रमले बाबुरामलाई अस्थिर बनाएको छ र करिश्माकै भनाइमा उनी कहिले कता–कहिले कता ठोक्किने गरेका छन् ।

    ‘उहाँ असाध्यै बौद्धिक, काम गर्न सक्ने सामथ्र्य भएको र नेपाल बुझेको नेता मान्छु’ बाबुरामबारे करिश्माको बुझाइ छ, ‘तर राजनीतिक परिवर्तनअनुसार उहाँले स्वतन्त्र भएर काम गर्न पाउनुभएको छैन । उहाँले पनि आफूलाई परिस्थितिअनुसार अगाडि बढाउनु परिरहेको छ । जसले गर्दा कहिले कोसँग गएर ठोक्किने र कहिले कोसँग ठोक्किने भएको छ । यद्यपि उहाँसँग राम्रो सम्बन्ध छ । अहिले पनि उहाँले मेरो सल्लाह लिनुहुन्छ ।’

    नेपालमा तपाइँलाई मन पर्ने नेता को हो ? के नाम लिन सक्नुहुन्छ ? करिश्मा भने यो प्रश्नमा मौन रहिन् । ‘नाम नलिऊँ होला’ उनले मौनता साधिन् ।

  • इन्दिरा गान्धी बन्दै कंगना रनावत, पहिलो भारतीय महिला प्रधानमन्त्रीमाथि फिल्म बन्ने

    इन्दिरा गान्धी बन्दै कंगना रनावत, पहिलो भारतीय महिला प्रधानमन्त्रीमाथि फिल्म बन्ने

    काठमाडौं । बन्न लागेको एउटा पल्टिकल ड्रामा फिल्ममा बलिउड अभिनेत्री कंगना रनावतले भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको चरित्र निर्वाह गर्ने भएकी छिन् ।

    नाम तय नगरिएको यो बायोपिक फिल्ममा बलिउडका अन्य ठूला हस्तीहरु पनि सहभागि हुने जनाइएको छ । ‘हामी स्क्रिप्टको फाइनल चरणमा छौं । यो इन्दिरा गान्धीको बायोपिक फिल्म हैन तर त्यतिबेला राजनीतिक परिदृश्यलाई भने चित्रण गर्छ’ कंगनाले जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘फिल्मले तत्कालिन सामाजिक राजनीतिक भूगोललाई जान्न मद्दत गर्छ ।’

    बलिउडका अन्य कलाकारसँग यो फिल्ममा देखिन पाउने अवसरका लागि कंगनाले खुशि व्यक्त गरेकी छिन् । फिल्मले संजय गान्धी, राजिव गान्धी, मोर्जी देसाइ र लालबहादुर शाष्त्रीको चरित्रलाई चित्रण गर्ने भएको छ ।

    फिल्म ‘रिभल्बर रानी’मा कंगनासँगै काम गरेका निर्देशक साइ कबिरले नै यो फिल्म निर्देशन गर्ने भएका छन् । लगातार ट्वीट गर्दै कंगनाले आफूले इन्दिरा गान्धीको गेटअपमा फोटोसुट पनि गरेको जनाएकी छिन् । फिल्मलाई मनिकर्निका फिल्मसले निर्माण गर्ने भएको छ ।

  • अमान्डा गोरम्यानका तीन पुस्तकलाई पेन्गुइनले १०/१० लाख प्रति छापिदिने

    अमान्डा गोरम्यानका तीन पुस्तकलाई पेन्गुइनले १०/१० लाख प्रति छापिदिने

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा कविता बाचन गरेर विश्व चर्चित बनेकी अश्वेत किशोरी अमान्डा गोरम्यानको प्रसिद्धी यत्तिकैमा सीमित छैन ।

    अमेरिकी प्रकाशन गृह पेन्गुइनले गोरम्यानका तीनवटा अप्रकाशित पुस्तकलाई १०–१० लाख प्रति प्रकाशन गर्ने घोषणा गरेको छ । विश्वभरबाट उच्च मागपछि पुस्तकलाई छापेर बजारीकरण गर्ने निर्णय भएको पेन्गुइनले जनाएको छ ।

    नयाँ पुस्तालाई समृद्ध मुलुक हस्तान्तरण गर्नुपर्छ भन्ने आशयको शक्तिशाली कविता बाइडेनको सपथ ग्रहणमा वाचन गरेपछि २२ वर्षे किशोरी ओभरनाइट विश्व चर्चित भएकी थिइन् ।

    ‘हाम्रो मुख्य लक्ष्य भनेको सपथ ग्रहणमा वाचन गरिएको कविता ‘हामीले चढ्ने पहाड’लाई छापेर पाठकमाझ लैजानु हो’ पेन्गुइन योङ रिडर्सकी संचार अधिकृत शान्ता न्यूलिनले भनिन्, ‘मार्च १६ सम्म यी पुस्तक प्रकाशन हुनेछन् ।’

    बाँकी दुई पुस्तकलाई सेप्टेम्बरसम्म प्रकाशन गरिने पेन्गुइनले जनाएको छ ।

     

  • नेपाली डिजाइनरको रेड सुटमा हट एन्ड बोल्ड कायरा आडवाणी

    नेपाली डिजाइनरको रेड सुटमा हट एन्ड बोल्ड कायरा आडवाणी

    काठमाडौं । पछिल्लो समय नेपाली फेसनले ब्यापकता पाउन थालेको छ । नेपाली फेसन डिजाइनर ग्लोबल हुन थालेका छन् । सेलेव्रिटीदेखि विश्व राजनीतिका ठूला नामले नेपाली पहिरन लगाउन थालेका छन् ।

    अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले हालै हलिउडका नेपाली फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन लगाएर एक सार्वजनिक समारोहमा भाग लिइन् । अब भने पालो, बलिउड अभिनेत्री कायरा आडवाणीको ।

    गुरुङले डिजाइन गरेको रेड सुटमा कायराले हालै फोटोसुट गरिन् । आफ्नो पहिरनमा फोटोसुट गरेपछि गुरुङले उनलाई गर्जियस, ग्रेसफूल र ट्यालेन्टेड अभिनेत्री भन्दै प्रशंसा गरे ।

    यसअघि बलिउडमा प्रियंका चोपडा, आलिया भाट, ऐश्वर्या राय लगायतले गुरुङको ड्रेस लगाएका छन् ।

  • डा. भट्टराईबारे करिश्माको टिप्पणीः उहाँ कहिले कता, कहिले कता !

    डा. भट्टराईबारे करिश्माको टिप्पणीः उहाँ कहिले कता, कहिले कता !

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अढाइ वर्ष राजनीतिकर्मीका रुपमा सक्रिय रहिन् । डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले उनलाई सिधै केन्द्रीय सदस्य बनाएको थियो ।

    तर, उनको राजनीतिक यात्रा लामो हुन सकेन । अहिले उनी नयाँ शक्तिबाट अलग भइसकेकी छन् । व्यक्तिगतरुपमा डा. भट्टराईसँग पनि उनको दुरी बढेको छ । उनले सामाजिक सञ्जालमा लेख्ने स्टाटसले पनि भट्टराईसँग सम्वन्ध चिसिएको संकेत गर्छ ।

    पछिल्ला दिनमा करिश्माले केही राजनीतिक विषयवस्तुमाथि फेसबुकमा टिप्पणी गरिन् । वर्तमान राजनीतिप्रति असन्तुष्टि दर्शाएकी उनले डा. भट्टराईको पनि आलोचना गरेकी छन् । के डा. भट्टराईलाई हेर्ने उनको नजर फेरिएकै हो त ?

    यस विषयमा नेपाल प्रेसले प्रश्न गर्दा करिश्माले सन्तुलित जवाफ दिइन् ।

    करिश्मा भन्छिन्, ‘म उहाँलाई शिक्षित, बौद्धिक, समग्र भूगोललाई चिनेको र सामथ्र्यवान नेताको रुपमा चिन्छु । तर, राजनीतिक परिवेशमा बाँधिएर काम गर्दा उहाँ कहिले कता–कहिले कता ठोक्किनुभएको छ ।

    उनी थप्छिन्, ‘उहाँले आफूलाई परिस्थितीअनुसार अगाडि बढाउनुपरेको छ । यसरी हिँड्दा बिचार त मर्ज हुने नै भयो । उहाँ स्वतन्त्र हुन सकिरहनुभएको छैन ।’ भट्टराईसँग आफ्नो व्यक्तिगत सम्वन्ध भने अहिले पनि राम्रो भएको उनले दावी गरिन् ।

    ‘उहाँसँग राम्रो सम्बन्ध छ । तीन महिनाअघि फोन गरेर सोध्नुभएको थियो । बसेर कुरा गरौं भन्दै हुनुहुन्थ्यो,’ करिश्माले सुनाइन् ।