Category: कलाप्रेस

  • बलिउड अभिनेता राजिव कपुरको निधन

    बलिउड अभिनेता राजिव कपुरको निधन

    काठमाडौं । भारतीय अभिनेता राजिव कपुरको निधन भएको छ । हृदयघातपछि अस्पताल भर्ना गरिएका कपुरको उपचारका क्रममा मुम्बईमा निधन भएको हो । उनी ५८ वर्षका थिए ।

    उनी ऋषि कपुर र रणधीर कपुरका कान्छा भाइ हुन् । उनी अभिनित ‘राम तेरी गंगा मैली’ रुचाइएको फिल्ममध्ये एक हो ।

    ऋषिकी पत्नी नीतुले सामाजिक संजालमार्फत राजिवको निधन भएको बताएकी छिन् । राजिवको तस्विरसहित उनले ‘हार्दिक श्रद्धाञ्जली’ क्याप्सन लेखेकी छिन् ।

    भाइलाई राखिएको अस्पतालमै अहिले रणधीरको पनि उपचार चलिरहेको छ । फिल्म ‘एक जान है हम’बाट राजिवले बलिउडमा डेब्यु गरेका थिए । आसमान, लभरब्वाइ, जबर्जस्त उनका अन्य चर्चित फिल्म हुन् । उनको अन्तिम फिल्म जमिनदार हो ।

  • क्रिकेटमा व्यस्त सेलेव्रिटी : धुर्मुस-सुन्तलीलाई सघाउन कलाकार मैदानमा ब्याटिङ गर्दै

    क्रिकेटमा व्यस्त सेलेव्रिटी : धुर्मुस-सुन्तलीलाई सघाउन कलाकार मैदानमा ब्याटिङ गर्दै

    काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अर्थ संकलनका लागि यसैसाता सेलेव्रिटी क्रिकेट म्याच आयोजना गरियो ।

    भरतपुरस्थित निर्माणाधिन रंगशाला परिसरमा टीम धुर्मुस र टीम सुन्तलीमा विभाजित कलाकारले क्रिकेट खेले । स्टार क्रिकेट–२०२१ नाम दिएको म्याचलाई गृष्म इन्टरटेनमेन्टले आयोजना गरेको थियो ।

    उधारोमा रंगशाला बनिरहेको खबर बाहिरिएपछि अर्थ संकलनका लागि पहल गर्न सेलेव्रिटीले क्रिकेट खेलेका हुन् । सँधैजसो एक्सन–कट्मा व्यस्त हुने सेलेव्रिटीले ब्याटिङ र बलिङ गरेका थिए ।

    नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीले पनि सेलेव्रिटीसँग क्रिकेट खेले । कलाकारको तर्फबाट दयाहाङ राई, सन्दीप क्षेत्री, नरेश भट्टराई, बेनिशा हमाल, सुरक्षा पन्त लगायतले खेले ।

    कलाकार दम्पत्ति धुर्मुस–सुन्तलीको पहलमा रंगशालाको लागि स्टार क्रिकेट टुर्नामेन्ट गरिएको थियो ।

    सबै तस्विरहरु : मेरो फोटोग्राफी

  • बायोग्राफी लेख्दै करिश्मा, भन्छिन्- विदेशिएको मान्छे रुटलेस, नेमलेस र फेसलेस हुन्छ

    बायोग्राफी लेख्दै करिश्मा, भन्छिन्- विदेशिएको मान्छे रुटलेस, नेमलेस र फेसलेस हुन्छ

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको व्यक्तिगत आयाम फराकिलो लाग्छ । अभिनेत्री, नेतृ र लेखिकाको रुपमा उनी परिचित छिन् ।

    यसबाहेक उनको स्वभाव भनेको पढैया हुनु हो । ‘किताब जात्रा’ समारोहमा आयोजित एक सत्रमा करिश्माले आफ्नो ‘बुकवर्म’ बानीबारे खुलाइन् । पुस्तकले आफ्नो जीवनको जटिल मोडलमा निर्णय गर्न सक्ने शक्ति दिएको भन्दै उनले पुस्तक प्रेम दर्शाइन् ।

    ‘अमेरिकामै बस्ने वा नबस्ने निर्णय गर्न मलाई कठिन भएको थियो’ उनले स्मरण गरिन्, ‘त्यो बेलामा कर्ण शाक्यको पुस्तकमा उल्लेख भएको केही कुराले मलाई निर्णय गर्न सजिलो भयो ।’

    ‘जब मान्छे विदेश जान्छ । ऊ रुटलेस, नेमलेस र फेसलेस हुन्छ । त्यो ठाउँमा तिमी आफूलाई कसरी टिकाउन सक्छौ भन्ने कुराले मलाई मन छोयो । म बस्ने धर्ती त नेपालै हो भनेर फर्किएँ’ करिश्माले भनिन् ।

    चारवर्षदेखि आफूले बायोग्राफी लेखिरहेको जानकारी पनि करिश्माले दिइन् । उक्त कार्यक्रममा राजेश हमाल पनि सहभागि थिए । हमालले करिश्माको उक्त आत्मकथा धेरैका लागि प्रेरणादायी हुनसक्ने बताए ।

    करिश्माले उक्त पुस्तकमा जीवन भोगाइ, फिल्म करियर र आफूले देखेको देशको बारेमा लेख्ने बताएकी छिन् । नेपाल प्रेससँगको हालैको गफगाफमा पनि करिश्माले देशको राजनीतिक अवस्थाबारे असन्तुष्टि जनाएकी थिइन् ।

  • राजा बन्ने सौगात मल्लको चाहना, रिलिज भयो ‘लप्पन छप्पन २’ टीजर

    राजा बन्ने सौगात मल्लको चाहना, रिलिज भयो ‘लप्पन छप्पन २’ टीजर

    काठमाडौं । सौगात मल्ल स्टारर ग्याङस्टर ड्रामा ‘लप्पन छप्पन’ दोस्रो सिक्वेलको टीजर ट्रेलर सोमबार इन्टरनेट रिलिज भएको छ । ५७ सेकेन्ड लामो टीजरमा मल्लले ‘राजा बन्ने चाहना’ व्यक्त गरेका छन् ।

    टीजरमा सौगातले जलिरहेको चिताबाट आगो निकालेर चुरोट सल्काउँछन् । ‘म राजा बन्न चाहन्छु’ उनको डायलग समेटिएको छ । फिल्ममा सौगातलाई ग्याङस्टर रोलमा देख्न सकिन्छ ।

    मुकुन्द भट्ट निर्देशित यो फिल्मले शिवरात्रीमा ट्रेलर लन्च गर्दैछ । आउने नेपाली नयाँवर्षमा फिल्म रिलिज गर्ने तयारी छ । कोरोनाले थलिएको नेपाली फिल्मलाई उकास्न आफ्नो फिल्मले मद्दत गर्ने निर्देशक भट्टले विश्वास व्यक्त गरे ।

    सौगातले आफ्नै होमप्रोडक्सन आदिपुरुष ब्यानरमाथि फिल्म ‘राधा’ निर्माण गर्दैछन् । जुन फिल्मको अहिले प्रि–प्रोडक्सन चलिरहेको छ । निर्देशक सुवर्ण थापासँग मिलेर उनले फिल्म बनाउन लागेका हुन् ।

  • गर्मी मौसममा ओबामा फिल्म सगरमाथामा छायांकन हुने, जेन पिडमले निर्देशन गर्ने

    गर्मी मौसममा ओबामा फिल्म सगरमाथामा छायांकन हुने, जेन पिडमले निर्देशन गर्ने

    काठमाडौं । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पामाथि बन्न लागेको नेटफिल्क्स फिल्म ‘तेन्जिङ’लाई अष्ट्रेलियन निर्देशक जेन पिडमले निर्देशन गर्ने भएकी छिन् ।

    हाइ–अल्टिच्युड डकुमेन्ट्री ‘शेर्पा एन्ड माउन्टेन’ निर्देशन गरिसकेकी पिडमले निर्देशकमा आबद्ध हुनु पाएकोमा निकै खुशि लागेको प्रतिक्रिया दिएकी छिन् । ‘उत्साहित छु’ उनले भनिन्, ‘यो कथामा काम गर्न पाउँदा निकै खुशि छु ।’

    अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार फिल्मलाई नेपाल र न्यूजिल्यान्डमा छायांकन गरिने भएको छ । अर्का पहिलो सगरमाथा आरोही सर एडमन्ड हिलारीको देश न्यूजिल्यान्ड र तेन्जिङको नेपालमा फिल्म सुट गरिने भएको छ । सन् १९५३ मा हिलारी र शेर्पाले सगरमाथा चढेका थिए ।

    १५ वर्षदेखि निर्देशक पेडमले संसारका अग्ला पर्वत श्रृंखलाबारे फिल्म बनाइरहेकी छिन् । २०१५ को फिल्म ‘शेर्पा चर्चित भएको थियो । ‘एभरेस्ट विजयमाथि तेन्जिङले हासिल गरेको सफलताको कथालाई फिल्मले पुनः भन्नेछ’ उनी भन्छिन्, ‘किनभने तेन्जिङ केवल शेर्पा गाइड मात्र थिएनन् ।’

    माथिल्लो तस्विर : जेन पिडम सगरमाथामा डकुमेन्ट्री ‘शेर्पा’ छायांकन क्रममा । तस्विर – फुटप्रिन्ट

    नेपालको पदयात्रामा डकुमेन्ट्री खिच्न थालेपछि भने पिडमलाई फिल्म निर्देशनमा सक्रिय हुन मन लाग्यो । डिस्कभरी च्यानलका लागि उनले खिचेको ‘एभरेस्ट : बियोन्ड द लिमिट’पछि बनेको शेर्पाले सगरमाथामा आएको हिमआँधीबारे कथा भन्छ ।

    आफू लामो समयदेखि तेन्जिङको परिवार र शेर्पा समुदायसँग निकट रहेको पिडमको भनाई छ । फिल्म तेन्जिङको कथा चाहिँ अष्ट्रेलियाली फिल्म लेखक ल्युक डेभिसले लेखिरहेका छन् । उनले यसअघि लायन फिल्म लेखेका थिए ।

    एड डग्लसको बायोग्राफी ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’माथि फिल्म आधारित हुनेछ । अष्ट्रेलियाली फिल्म मेकर डेभिड माइकर्ड र तेन्जिङका छोरा नोर्बु कार्यकारी निर्माता हुनेछन् ।

    कोभिड–१९ महामारीले छायांकन योजनालाई अवरुद्ध गरेको र उपयुक्त मौसममा फिल्मलाई नेपाल र न्यूजिल्यान्डमा छायांकन गरिने जनाइएको छ । बाराक ओबामाको फिल्म कम्पनी हाइअर ग्राउन्डले सन् २०१८ मा नेटफिल्क्ससँग ६ वटा फिल्म बनाउने सम्झौता गरेको थियो ।

  • भ्यालेन्टाइनमा मायालुसँग हेर्न सकिने यी हुन् टपटेन नेपाली फिल्म

    भ्यालेन्टाइनमा मायालुसँग हेर्न सकिने यी हुन् टपटेन नेपाली फिल्म

    काठमाडौं । तपाइँ भ्यालेन्टाइन डे कसरी मनाउने विचारमा हुनुहुन्छ ? मायालुसँग डेटिङ गएर वा सिंगल हुनुहुन्छ भने समय बिताउने उपाय मिलिरहेको छैन ? भ्यालेन्टाइनमा रोमान्टिक फिल्म पनि एउटा मेसो हुनसक्छ ।

    प्रेमकथामा आधारित केही कालजयी नेपाली फिल्म छन् जसले तपाइँलाई प्रेमिल तुल्याउन सक्छ । तपाइँ मायालुसँग सँगै बसेर यी नेपाली फिल्म पनि हेर्न सक्नुहुन्छ । लभस्टोरी जनरा नेपाली फिल्ममा सबैभन्दा रुचाइएको विधामध्ये एक पनि हो ।

    पचासवर्ष इतिहास बोकेको नेपाली फिल्म क्षेत्रबाट यहाँ उत्कृष्ट १० प्रेमकथामा आधारित फिल्म छनौट गरिएको छ ।

    कन्यादान :
    भुवन केसी, गौरी मल्ल, रवि शाह, मुरलीधर अभिनित फिल्म कन्यादानको पटकथा, संवाद एवं निर्देशन प्रकाश थापाले गरेका हुन् । एक विधवा महिला र पुरुषबीचको प्रेम सम्बन्धमा फिल्म आधारित छ ।

    प्रेमपिण्ड :
    कथा, पटकथा र निर्देशन यादव खरेलको रहेको फिल्म प्रेमपिण्डमा सरोज खनाल र सनी रौनियारको मुख्य भूमिका छ । दरबारभित्रको प्रेमकथा समेटिएको फिल्ममा नीर शाहको समेत मुख्य भूमिका छ ।

    सम्झना :
    शम्भु प्रधान निर्देशित फिल्म सम्झनामा तृप्ती नाड्कर र भुवन केसीको मुख्य भूमिका छ । धनी र गरिबबीचको प्रेम दर्शाइएको फिल्मलाई उक्त समयको महत्वपूर्ण फिल्मको रुपमा लिइन्छ ।

    वसन्ती :
    डायमण्ड शमशेरको ऐतिहासिक कृतिमा आधारित यो फिल्ममा दरबारभित्रको प्रेमकथा चित्रण छ । जसमा राजेश हमाल, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह र अशोक शर्माको मुख्य भूमिका छ । फिल्मलाई नीर शाहले निर्देशन गरेका हुन् ।

    लाहुरे :
    तुलसी घिमिरे निर्देशित फिल्म लाहुरेमा श्रवण घिमिरे र तृप्ती नाड्करको मुख्य भूमिका छ । सिपाही र गाउँकी एक युवतीबीचको प्रेमकथालाई सजिव ढंगले चित्रण गरिएको छ ।

    दर्पण छायाँ :
    तुलसी घिमिरे निर्देशित फिल्म दर्पण छायाँमा दिलिप रायमाझी, निरुता सिंह र उत्तम प्रधानको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा संगीत र प्रेमको संयोजन छ ।

    सानो संसार :
    आलोक नेम्बाङ निर्देशित फिल्म सानो संसारमा नम्रता श्रेष्ठ, कर्मा, जीवन लुइँटेल, विनय श्रेष्ठ, नीर शाहको मुख्य भूमिका छ । यसमा आधुनिक पुस्ताको प्रेमकथा चित्रण गरिएको छ ।

    फस्टलभ :
    सिमोस सुनुवार निर्देशित यो फिल्मले आधुनिक युवापुस्ताको रोमाञ्चक पे्रमकथा चित्रण गर्छ । आर्यन सिग्देल, कर्मा, विनय श्रेष्ठ, ऋचा शर्मा र निशा अधिकारीको मुख्य भूमिका छ ।

    मञ्जरी :
    वर्गीय र पुस्तान्तरण प्रेम चित्रण गर्ने फिल्ममा गौरव पहारी र सुजाता कोइरालाको मुख्य भूमिका छ जसलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । क्रिटिक्सले यसलाई राम्रो प्रतिक्रिया दिए र बक्सअफिसमा पनि यसले राम्रो व्यापार गर्न सक्यो ।

    लभ सासा :
    प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म लभसासामा केकी अधिकारी, कर्मा, आसिफ शाहको मुख्य भूमिका छ । त्रिकोणात्मक पे्रमकथा समेटिएको फिल्मले प्रविधि र प्रेमबीचको सम्बन्ध चित्रण गर्छ ।

  • ओबामाले नेटफिल्क्ससँग मिलेर ६ फिल्म बनाउने, साइन्स फिक्सनदेखि एभरेस्ट कथासम्म

    ओबामाले नेटफिल्क्ससँग मिलेर ६ फिल्म बनाउने, साइन्स फिक्सनदेखि एभरेस्ट कथासम्म

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले नेटफिल्क्ससँग मिलेर बनाउन लागेका ६ फिल्मको लाइनअप सार्वजनिक भएको छ ।

    ओबामा र उनकी पत्नी मिसेलको निर्माण कम्पनी हाइअर ग्राउन्ड प्रोडक्सनले तीन फिल्म, दुई सिरिज र एउटा डकु-सिरिज निर्माण गर्ने भएको हो ।

    ओबामाले बनाउन लागेका यो लाइनअपमा प्रेमकथा, सुपरन्याचुरलदेखि तन्नेरी थ्रीलर फिल्मसम्म छन् । लाइनअपमा बेलायती–पाकिस्तानी लेखक मोसिन हमिदको पुस्तक ‘एक्जिट वेस्ट’लाई फिल्ममा रुपान्तरण गरिने भएको छ ।

    ‘स्याटेलाइट’ नामक साइन्स फिक्सन फिल्म पनि हुनेछ । स्टार वार्स निर्माता कम्पनी टी स्ट्रिटसँग मिलेर यो फिल्म बन्नेछ । साथै, सर्वोच्च शिखर सगरमाथाका दुई आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीको बायोग्राफीमाथि पनि फिल्म बन्नेछ ।

    अर्को फिल्मको नाम हो ‘योङ वाइफ’ । ओबामाले सन् २०१८ का लागि नेटफिल्क्ससँग फिल्मबारे सम्झौता गरेका थिए ।

  • प्रचण्डकी नातिनीले गीतबाटै भनिन्- हामी नेपाल कम्युनिस्ट पार्टी (भिडियो)

    प्रचण्डकी नातिनीले गीतबाटै भनिन्- हामी नेपाल कम्युनिस्ट पार्टी (भिडियो)

    काठमाडौं । नेकपा विभाजनपछिको प्रभाव संगीतमा पनि देखिएको छ । कलाकारले आ-आफ्नो पक्षमा गीत सिर्जना गरिरहेका छन् ।

    यही मेसोमा नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिताले पनि इन्टरनेटमा गीत रिलिज गरेकी छिन् । ‘हामी कम्युनिष्ट पार्टी’ बोलको गीतमार्फत उनले हजुरबुबाको राजनीतिक लाइनलाई पछ्याएकी छिन् ।

    स्मिताले नवीन खड्कासँग मिलेर स्वर भरेकी छिन् । तीलक ओलीको शब्द संगीत र नवीनको शब्द छन् । भिडियोलाई वीरेन्द्र ओलीले निर्देशन गरेका छन् । भिडियोमा दाहाल–नेपालको तस्विरसहित उनीहरुको पक्षमा भएको प्रदर्शनलाई समावेश गरिएको छ ।

    हेर्नूस भिडियो :

    https://www.youtube.com/watch?app=desktop&v=iXWaDwhA_QM&feature=share&fbclid=IwAR0t3CG0KQeYHikGz3vieH8mAKcbo7SUm5_bAnPi-XubO4X9XEYbn1fpZ90

  • समृद्ध नेपालको अभियानमा सर्जकको भूमिका महत्वपूर्णः सन्चारमन्त्री गुरुङ

    समृद्ध नेपालको अभियानमा सर्जकको भूमिका महत्वपूर्णः सन्चारमन्त्री गुरुङ

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने महाअभियानमा सर्जक, साहित्यकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

    काठमाडौंको थापागाउँस्थित लेखनकुञ्जमा गायक नविन कार्कीको गिती एल्वम ‘नविन’को लोकार्पण गर्दै उनले गीत, संगीतको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न सर्जकहरुलाई आग्रह गरे ।

    ‘मुलुकलाई समृद्ध बनाउने काममा सरकार दृढतापूर्वक लागि रहेको छ,’ मन्त्री गुरुङले भने, ‘सरकारको अभियानमा गीत, संगीतको क्षेत्रमा लागेका सर्जकहरुको भूमिका निकै नै महत्वपूर्ण हुन्छ ।’ उनले अहिलेको राजनीतिक परिस्थितिबाट विचलित नभई सर्जकहरुलाई अघि बढन आग्रह पनि गरे ।

    कार्कीको ‘नवीन’ एल्वममा स्वर्गीय रत्नशमशेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुुबाबुु श्रेष्ठ, देवेन्द्र केसी, रमेश दाहाल र पुस्करराज बुुढाथोकीको रचना रहेका छन् भने वरिष्ठ संगीतकार शक्ति बल्लभ, गुरुदेव कामत र राजनराज शिवाकोटीले संगीत दिएका छन् ।

    समारोहमा मन्त्री गुरुङले वरिष्ठ संगीतकार शक्ति बल्लभलाई सम्मान गर्नु गरे । दोलखाको जफेमा जन्मनु भएका गायक कार्की सानैदेखि गीत, संगीतको क्षेत्रमा लाग्नुु भएको थियो ।

  • कवि चिलुवालको कविता संग्रह ‘चुल्ठो’ सार्वजनिक

    कवि चिलुवालको कविता संग्रह ‘चुल्ठो’ सार्वजनिक

    काठमाठौं । कवि कल्पना चिलुवालको कविता संग्रह ‘चुल्ठो’ सार्वजनिक भएको छ । शनिबार राजधानीको मण्डला थिएरटरमा एक कार्यक्रम गरेर पुस्तक बमोचन गरिएको हो । बेला प्रकाशनले प्रकाशित गरेको पुस्तकमा ५५ वटा कविता समावेश छन् ।

    कविता संग्रहमाथि लेखक उज्ज्वल प्रसाईं र राजनीतिकर्मी मानुषी यमि भट्टराईंले टिप्पणी गरेका थिए ।

    प्रसाईंले कवि चिलुवालका कविताले समाज र सत्तामाथि प्रश्न गरेको बताए । केही कविता वाचन समेत गरेका उनले अहिलेको राजनीतिक संघर्षसँग पनि कवितालाई तुलना गरेर हेर्न सकिने धारणा राखे ।

    भट्टराईले चाहिं चिलुवालका कविता रूप र सार दुवै दृष्टिमा राम्रो भएको टिप्पणी गरिन । कविता नबुझ्नेहरूले समेत बुझ्ने गरि चिलुवालका कवितामा सरलता पाइने उनको मुल्यांकन छ ।

    कविताले सबैलाई पढ्न उत्प्रेरित गर्ने भए पनि स्पष्ट बर्गीय पक्षधरता भने देखाएको उनको ठहर छ । ‘सबैले कविता पढ्न सक्छन् तर सबैलाई खुसी पार्नका लागि लेखिएको होइन,’ उनको बुझाइ छ ।

    कवि चुलवाले भने कविता आफै बोल्ने भन्दै आफ्ना कविताले धेरैलाई पढ्न उत्प्रेरित गरेमा त्यो आफूका लागि सबैभन्दा खुसीको कुरा हुने बताइन।

  • सूर्यको झण्डा देखाउँदै कमेडी च्याम्पियन हिमेशले भने- ओली र प्रचण्ड कसको हो दावी गर्न आउनू

    सूर्यको झण्डा देखाउँदै कमेडी च्याम्पियन हिमेशले भने- ओली र प्रचण्ड कसको हो दावी गर्न आउनू

    काठमाडौं । सूर्य चिन्ह कसको भन्ने घरझगडा नेकपामा चर्किएको छ । निर्वाचन आयोगले समेत सूर्य चिन्ह कुन पार्टीको भन्ने निर्णय गर्न सकेको छैन । प्रचण्ड–नेपालको समूह र केपी ओलीको नेकपाले आ–आफ्ना भएको दाबी गरिरहेका छन् ।

    यी दुबै समूहले राजधानीका सडकमा शक्ति प्रदर्शन गरिरहेका छन् । हप्तैपिच्छे सभा हुन्छन् र सडक फोहोर । नेकपा कार्यकर्ताले गरेको फोहोर सडक सफा गर्नमा अहिले जुटेका छन् कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेष पन्त । हिमेष र उनका साथी केपी खनालले मिलेर सरसफाइ अभियान चलाइरहेका छन् । 

    पन्तले माइतीघर र दरबारमार्गमा फ्याँकिएको सूर्य चिन्ह अंकित झण्डा ओली पक्षको कार्यालय धुम्बाराही र प्रचण्ड–नेपाल पक्षको कार्यालय पेरिसडाँडामा शनिबार बुझाएका छन् । उनले पार्टीको ती कार्यालय पुगेर सूर्य चिन्ह कार्यालय सचिवलाई बुझाए ।

    दुबै पार्टी कार्यालयमा सडकमा फ्याँकिएको झण्डा बुझाएपछि हिमेशले ती कार्यालयमा झण्डा बुझाउँदै आफ्ना कार्यकर्तालाई जंगली हैन, मान्छे बनाउन सुझाएको बताए । युवापुस्ताका चर्चित कमेडियन हिमेषले दाहाल र ओलीलाई व्यंग्य गर्दै आएका छन् ।

  • ट्रेन्डिङ नबुझेकी ‘अन्डरडग’ गायिका

    ट्रेन्डिङ नबुझेकी ‘अन्डरडग’ गायिका

    ‘म पनि त दिन सक्छु, लुकी लुकी छायाँ’

    १० करोड भ्यूजको कीर्तिमान राखेको यो गीतले भनेजस्तै नेपाली संगीतप्रेमीलाई लुकी लुकी छायाँ दिइरहेकी छिन् गायिका टीका प्रसाई । उनका गीत धेरैको मुखमा झुण्डिएका छन्, जबकि उनीहरूमध्ये धेरै कमले टीकालाई चिन्छन् ।

    नेपाली संगीत क्षेत्रमा अहिले दुईथरी गायक–गायिकाहरूको दौड छ । पहिलो; प्रतिभा कम, चर्चा बढी हुनेहरू । दोस्रो, प्रतिभा पर्याप्त, तर चर्चा कम हुनेहरू । गायिका टीका दोस्रो वर्गमा पर्छिन् ।

    पहिलो वर्गका गायक–गायिका एक–दुई गीत हिट हुनासाथ चर्चाको शिखरमा पुग्छन् । अहिले चल्तीको शब्दमा भन्दा भाइरल हुन्छन् । र, त्यत्तिकै चाँडो सेलाउँछन् पनि । दोस्रो वर्गका गायक–गायिका चाहिं लामो संघर्षबाट खारिएर आएका हुन्छन् । उनीहरूको यात्रा केही सुस्त तर दिगो हुन्छ ।

    टीकाकै कुरा गर्दा उनी संगीत क्षेत्रमा आएको लामो समय भयो । सयौं गीत गाइसकिन् । उनका केही गीतहरू ‘भाइरल’ नै भएका छन् । तर, पनि उनी आफू चाहिं भाइरल कहिल्यै भइनन् । र, हुनु पनि छैन । भाइरल हुनुभन्दा दिगो रूपमा टिक्नेतर्फ नै उनको बढी ध्यान छ ।

    ‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकी लुकी’, ‘सिधा बोले भइगो नि’ लगायत उनका भाइरल गीत हुन् । तर, टीकालाई थाहा छ– भाइरलको स्वभाव अस्थिर र अस्थायी हुन्छ । अनि ट्रेन्डिङ ?

    ‘साँच्चिकै भन्दा मलाई ट्रेन्डिङ भन्ने के हो थाहै छैन’ निर्दोष भावमा उनले भनिन्, ‘ट्रेन्डिङमा कसरी परिन्छ भन्ने पनि थाहा छैन ।’

    थपिन्, ‘थाहा भए त माया लुकीलुकी’ को सफलतालाई रिपिट गर्न सक्थें होला नि !’

    आशिष अविरलद्वारा संगीत र टीका प्रसाईद्वारा स्वरबद्ध गीत ‘माया लुकी लुकी’ लाई भिडियो साझेदारी साइट युट्यूबमा १० करोड १० लाखभन्दा बढी पटक हेरिएको छ । टीकाले नै गाएको ‘नाइँ मलाई थाहा छैन’ पाँच करोड र ‘कर्के नजर’ तीन करोडभन्दा बढी पटक हेरिएको छ ।

    लगातार तीन गीत ब्लकबस्टर भए पनि टीकाको खुट्टाले कहिल्यै जमीन छोडेका छैनन् । उनी हिजो जस्तो थिइन्, त्यस्तै छिन् आज पनि ।

    यसरी जन्मियो माया लुकी-लुकी
    यो डान्सिङ नम्बरको सिर्जना पछाडि केही रोचक किस्सा छन् । टीका स्टेजमा प्रस्तुति दिन मिल्ने टाइपको एउटा डान्सिङ ट्रयाकको खोजीमा थिइन् । मौलिक नेपाली गीतको विकल्पस्वरुप दर्शकलाई नयाँ स्वाद दिने उनको इच्छा थियो ।

    उनी यो गीतमा नेपाली शैलीको मेलोडी र डान्सिङ स्टाइललाई सन्तुलन मिलाउन चाहन्थिन् । यही क्रममा टीकाले संगीतकार आशिष अविरललाई भेटिन् । यो भेट हुँदासम्म ‘माया लुकी-लुकी’ गीतले स्थायी स्वरुप मात्र पाएको थियो । अब उनको ध्यान शब्दतर्फ मोडियो । आनन्द अधिकारिको शब्द मन पर्‍यो र गीतको रचनागर्भ निर्माण भयो ।

    हुन त उनी बच्चैदेखि पीपलको रूख मन पराउँथिन् र पूजा गर्थिन् । पीपलको रूख, बाल्यावस्था र प्रकृतिसँगको प्रेमले गीतको लिरिक्समा स्थान पायो । क्यूट देखिने पीपलको पात र ठूटो उनको ब्लकबस्टर गीतमा बलियो बिम्ब बनेर बस्यो । एक वर्षै लगाएर अविरलले गीतको एरेन्ज गरे ।

    ‘ब्लकबस्टर’ गीतको गुरुत्वसामु गायिका प्रसाईको व्यक्तित्व ओझेलमा परेको छ । तर पनि युट्यूबको अंकगणित, त्यसले मापन गरेको ट्रेन्ड र भाइरल भन्ने शब्दसँग यी ‘स्ट्रगलिङ सक्सेस’ गायिकालाई उति चासो छैन ।

    बाह्र वर्षदेखि मिहिनेत गर्दा पनि मान्छेको नजरमा नपरेकी टीकालाई एकप्रकारको निराशा थियो नै । संगीतकारले रोनाधोना टाइपको गीतमा मात्र उनलाई प्रस्ताव गर्ने गर्थे । आफैंभित्रको यथास्थितिले पनि उनलाई ‘केही नयाँ गर्न’ प्रेरित गरिरहेको थियो । लाग्छ, यो गीत टीकाभित्रकै ‘सफोकेसन’को सिर्जना हो ।

    टीकालाई थाहा छ, भाइरल र सफलताको सट्कट् सूत्र हुँदैन । हुँदो हो त उनी अन्य सयौं ‘माया लुकी लुकी’ गीत सिर्जना गर्थिन् । श्रोतालाई कुन गीतले क्लिक गर्छ यो तत्कालीन समाजले बाँचिरहेको समयको कुरा हो ।

    यो गीतमा किशोर पुस्ताको प्रेम र मनोविज्ञानलाई चित्रण गरिएको छ । हुनसक्छ, यी मनोभाव बुझेर टीकाले गीतमा सामान्य तर टच्ची लाग्ने शब्द क्वाइन् गरिन् । गीतमा धेरै विदेशीले पनि कमेन्ट गरेका छन् । उनीहरूले शब्द नबुझे पनि संगीत र स्वरमा इन्जोय गरेको उल्लेख गरेका छन् । स्वरको लालित्य, लय र शब्द चयनमा ती श्रोताले गीतको प्रशंसा गरेका छन् ।

    रेकर्डअघि नै गीत हिट हुन्छ भन्ने पूर्वानुमान संगीतकार अविरल र गायिका प्रसाईलाई थियो । रेकर्डकै क्रममा म्यासेन्जर इनबक्समा समेत गीत भाइरल भइसकेको स्मरण उनी गर्छिन् । नौ महिनाको एरेन्ज, कम्पोज र गायकीपछि गीत जन्मियो ।

    अनि शुरू भयो भिडियो निर्देशन । गीतलाई हिट बनाउने काम चाहिं कार्टुन क्रुजको कभरगीत भिडियो र टिकटक एपले गरे । डान्सिङ नम्बरको खडेरी भइरहेको नेपाली गीति बजारमा ‘माया लुकी लुकी’ गीत एउटा शीतल वर्षा थियो, जसले चिनियाँ एप टिकटकमा खूबै चर्चा बटुल्यो । आफू स्थापित हुनु र गीत हिट हुनुमा टीका टिकटकलाई पनि श्रेय दिन्छिन् ।

    यी ‘ब्लकबस्टर’ गीतको गुरुत्वसामु गायिका प्रसाईको व्यक्तित्व ओझेलमा परेको छ । तर पनि युट्यूबको अंकगणित, त्यसले मापन गरेको ट्रेन्ड र भाइरल भन्ने शब्दसँग यी ‘स्ट्रगलिङ सक्सेस’ गायिकालाई उति चासो छैन । होचो कदकी गायिकाको डिजिटल सफलताले लोभलाग्दो उँचाइ लिइरहेको छ ।

    यूट्यूब डिजिटलाई आधार मान्ने हो भने उनी मुलुकमा सबैभन्दा बढी सुनिनेमध्येकी एक गायिका बनेकी छिन् । राजनराज शिवाकोटीको ‘कुटुमा कुटु’ फिल्मको गीतको १४ करोड कीर्तिमानलाई उछिन्ने दौडमा प्रसाई छिन् । तर, गैरफिल्मी गीतको सर्वाधिक हेरिनेमा उनी सूचीकृत भइसकेकी छन् । फिल्मी गीतको प्रवद्र्धनमा हुने लगानी र व्यक्तिगत गीतको प्रवद्र्धनमा हुने प्रयत्नको अन्तर भिन्न हुन्छ ।

    फिल्मका २०० पाश्र्व गीतभन्दा उनलाई एउटै गीतले भाइरल बनाइदियो । नयाँ काम गर्ने उकुसमुकुस र छटपटीको रूपमा आफ्ना पछिल्ला गीतहरू सिर्जना भएको टीकाको कथन छ ।

    शब्द सबैभन्दा महत्वपूर्ण
    पछिल्लो समय जति पनि गीत भाइरल भए, ती सबैमा एउटा समानता छ– गीत शब्दप्रधान हुनु । टच्ची र सरल शब्द चयनप्रति दर्शक एवं श्रोताको आकर्षण देखिन्छ । यो कुरामा टीका पनि सहमत छिन् । शब्द चयनपछि टीकाको प्राथमिकतामा संगीत र एरेन्ज आउँछन् ।

    ‘हामीले खोजेको शब्दमा आउने निखारता र ह्युमर महत्वपूर्ण हुन्छ । अरू कुराहरू त्यसपछि पनि परिवर्तन गर्न सकिन्छ’ उनको बुझाइ छ, ‘कम्पोज र एरेन्ज चेन्ज गर्न सकिने कुरा भए ।’

    गीत हिट हुने वा नहुने कुरामा शब्दहरू जिम्मेवार हुन्छन् भन्ने उनको बुझाइ छ । शब्दमा मिसिएको ह्युमरले दर्शकलाई तान्न सकिने बताउँछन् उनी । उनको पहिलो ट्रेन्डिङ हिट ‘नाइँ मलाई थाहा छैन’ विचारपूर्वक छानिएका शब्दको कारण नै लोकप्रिय भएको उनको बुझाइ छ ।

    हिट तर ‘अन्डरडग’ इमेज
    धेरैले उनका गीतहरू सुनेका छन् । तर, तिनै गीत सुनेका श्रोतालाई गायिकाको बारेमा कमै थाहा छ । लो–प्रोफाइलमा बस्ने स्वभावले होला टीकाको अनुहारलाई कमैले याद गर्छन् ।

    ब्लकबस्टर गीत सामु एउटा कलाकार कसरी बत्तीमुनिको अँध्यारो बन्छ भन्ने रोचक उदाहरण हो यो । यसो हुनुमा कोरोना पछाडिको ‘मास्क’ जिम्मेवार छैन । जतिले टीकालाई चिन्छन्, उनीहरू खुलेर गायकीको प्रशंसा गर्छन् ।

    टीकालाई नम्बर वान बन्नु छैन । अरूलाई आफ्ना प्रतिस्पर्धी ठान्दिनन् उनी । ‘मेरो प्रतिस्पर्धा म आफैंसँग हो’ भन्छिन्, ‘अरूलाई प्रतिस्पर्धी ठान्दिनँ । किनभने, आफ्नै सफलतालाई रिपिट गर्नको लागि मेरो लडाइँ जारी छ । मैले जुन काम गरिरहेकी छु । मेरै अर्को कामले जितोस् भन्ने चाहन्छु ।’

    ‘अन्तर्जातीय बिहेमा हामी दुवै खुशी छौं’ भन्छिन्, ‘बिहेको बारेमा म अरूलाई सुन्दिनँ । म आफ्नै आवाज सुन्ने स्वभावकी छु । हामी दुईले एकअर्कालाई बुझेका छौं । एकले अर्कोलाई साथ दिएका छौं ।’

    दर्शकले गर्ने नवीन अपेक्षा आफ्ना लागि सबैभन्दा ठूलो चुनौती भएको उनको भनाइ छ । नयाँ पुस्ताका गायिकाको भविष्य उज्ज्वल रहेको बताउँछिन् उनी ।

    ‘म पनि नयाँ छु र पहिले गाएको गीत याद गर्छु’ भन्छिन्, ‘अहिलेको पुस्ताका गायिकालाई यूट्यूबबाट संगीतको ज्ञान सिक्ने मौका उपलब्ध छ ।’

    श्रीमान्–श्रीमती नै संगीतमा
    १२ वर्षअघि टीकाले अन्तर्जातीय बिहे गरिन् । उनका श्रीमान् पनि संगीत क्षेत्रमै संलग्न छन् । समाज र जात प्रेमसामु महत्वपूर्ण नभएको टीका बताउँछिन् ।

    ‘अन्तर्जातीय बिहेमा हामी दुवै खुशी छौं’ भन्छिन्, ‘बिहेको बारेमा म अरूलाई सुन्दिनँ । म आफ्नै आवाज सुन्ने स्वभावकी छु । हामी दुईले एकअर्कालाई बुझेका छौं । एकले अर्कोलाई साथ दिएका छौं ।’

    श्रीमान् र श्रीमती एउटै क्षेत्रमा हुँदा बुझाइमा सकारात्मकता पैदा हुने उनको भनाइ छ । तर, आर्थिक रूपमा चाहिं मुश्किल हुने बताउँछिन् ।

    ‘एउटै क्षेत्रमा हुँदा उतारचढावको हुने परिस्थितिमा समस्या पर्छ, तर बुझाइको मामिलामा सजिलो हुन्छ’, टीका बताउँछिन् ।

    १८ वर्षदेखि सांगीतिक करिअरमा सक्रिय टीकाले २०५८ सालमा झस्को नामक एल्बमका लागि ‘के गर्नु हो मेरो खसम’ बोलको गीत स्वरांकन गरेकी थिइन् । फिल्म ‘पाँच पाण्डव’ बाट उनको पाश्र्वगायन शुरू भएको थियो । झन्डै २०० पाश्र्वगीत उनको नाममा छन् ।

    हेर्नुस् टीकासँगको सांगीतिक संवाद :

  • नेपाल फिल्म सोसाइटी बेलायतको नयाँ कार्यसमिति, संयोजकमा राजेन्द्र भट्ट चयन

    नेपाल फिल्म सोसाइटी बेलायतको नयाँ कार्यसमिति, संयोजकमा राजेन्द्र भट्ट चयन

    काठमाडौं । नेपाल फिल्म सोसाइटी बेलायत गठन भएको छ । शाखाको अन्तराष्ट्रिय संयोजकमा पत्रकार राजेन्द्र भट्ट चुनिएका छन् ।

    भट्ट फिल्म र पत्रकारिता पेशामा सक्रिय छन् । संयोजकको जिम्मेवार प्राप्त गरेपछि भट्टले विदेशी बजारमा नेपाली फिल्मको सम्भाव्यता विस्तार र वृद्धि गर्नेतर्फ आफू केन्द्रित हुने बताए ।

    फिल्म निर्माता समेत रहेका भट्टले नेपाली फिल्मको अन्तराष्ट्रियकरणमा संगठनले काम गर्ने बताए । कार्यसमिति उपाध्यक्षमा विक्रम जोशी, कुमुदराज पन्त, द्धितिय उपाध्यक्षमा नीरज शर्मा चयन छन् ।

    सचिवमा मधुसुधन थापामगर, सहसचिव गणेश गुरुङ, कोषाध्यक्षमा माया गुरुङ र संयोजकमा राज खत्री चयन छन् । सदस्यमा रोमियन वनेम, ध्रुव दत्त, सोहम भेटवाल, देव गुरुङ, टीका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर छन् ।

    सल्लाहकारमा एकेन्द्र गुरुङ, सपनकुमार राई, सनमकुमार वैरागी, मनिष श्रेष्ठ, बीपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ छन् ।

  • काठमाडौं बिमान अपहरणमाथि सिरिज बनाउँदै ‘अन्धाधुन्द’ निर्देशक श्रीराम राघवन

    काठमाडौं बिमान अपहरणमाथि सिरिज बनाउँदै ‘अन्धाधुन्द’ निर्देशक श्रीराम राघवन

    काठमाडौं । ‘अन्धाधुन्द’ फेम्ड फिल्म निर्देशक श्रीराम राघवनले काठमाडौंमा भएको इन्डियन एयरलाइन्स विमान अपहरणको घटनामाथि वेव–सिरिज निर्माण गर्ने भएका छन् ।

    बलिउडहंगामा पोर्टलका अनुसार अर्कोवर्ष छायांकन सुरु हुने सिरिजको लोकेसन अवलोकनका लागि राघवन काठमाडौं आउने भएका छन् ।

    डिसेम्बर २४, १९९९ मा पाकिस्तानी आकंवादी संगठन हर्कत अल मुजाहुद्दिनको एक समूहले भारतीय वायुसेवा निगमको एसी–८१४ कलसाइन बिमान काठमाडौंको आकाशमै अपहरण गरेका थिए ।

    अपहरण गरिएको उक्त बिमानबाट कसरी १७६ यात्रुलाई सकुशल उद्दार गरियो भन्ने कथावस्तु सिरिजले चित्रण गर्ने भएको छ । राघवनका लागि यो सिरिज डिजिटल डेब्यु पनि हुनेछ ।

    निर्देशक राघवनले अहिले यो घटनामाथि अनुसन्धान गरिरहेको र विमानका चालक दल र यात्रुसँग कुरा गरिरहेको जनाइएको छ । अपहरणकारीले २७ जना यात्रुलाई दुबई लगेर छाडेका थिए भने कैंयौंलाई घाइते अवस्थामै रिहा गरेका थिए । पक्राउ गरिएका ती तीन आतंकवादीलाई भारतले सोही वर्षको डिसेम्बर ३१मा छाडेको थियो ।

    राघवन निर्देशित फिल्म ‘अन्धाधुन्द’ले नेपाली बक्सअफिमा पनि राम्रो कमाइ गरेको थियो । उनी भारतीय सेनाका दोस्रो तहका लेफ्टीनेन्ट कर्णेल अरुण क्षेत्रपालमाथि बन्ने फिल्मको छायांकनमा जाने तयारीमा थिए तर, कोरोना महामारीले उक्त फिल्म सुटिङमा जान सकेन ।

  • मिस नेपाल अनुष्का क्यान्सरविरुद्धकी सद्भावना दूत, मनिषा भन्छिन् : स्वस्थ लाइफस्टाइल जरुरी

    मिस नेपाल अनुष्का क्यान्सरविरुद्धकी सद्भावना दूत, मनिषा भन्छिन् : स्वस्थ लाइफस्टाइल जरुरी

    काठमाडौं । पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ क्यान्सरविरुद्धको सद्भावना दूत घोषित भएकी छिन् । विश्व क्यान्सर दिवसको अवसरमा विहिबार रोटरी क्लबले मिस नेपाल २०१९ की विजेतालाई दूतमा नियुक्त गरेको हो ।

    मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अनुसार अनुष्का इन्ड सर्भिकल क्यान्सर कार्यक्रमको दूत घोषित भएकी हुन् । रोटरी इन्टरनेसनलले अनुष्कासहित लेखक कर्ण शाक्यलाई पनि भर्चुअल कार्यक्रममा अतिथि बनाएको थियो ।

    यसैबीच क्यान्सरबाट निको भएकी अभिनेत्री मनिषा कोइरालाले क्यान्सविरुद्ध एकजुट सामूहिक खाँचो जरुरी भएको बताएकी छिन् । स्वस्थ जीवनशैली अपनाउनुपर्ने र सचेतना जरुरी भएको मनिषाले जनाएकी छिन् । मनिषाले विहिबारै आयोजित क्यान्सरविरुद्धको भर्चुअल कार्यक्रमलाई पनि सम्बोधन गरेकी थिइन् ।

     

  • गोल्डेन ग्लोब्स मनोनयन घोषणा : नेटफिल्क्सका फिल्म सर्वाधिक विधामा

    गोल्डेन ग्लोब्स मनोनयन घोषणा : नेटफिल्क्सका फिल्म सर्वाधिक विधामा

    काठमाडौं । ७८ औं गोल्डेन ग्लोब्स अवार्डको मनोनयन सार्वजनिक भएको छ । लकडाउन समयमा ओटीटी प्लेटफर्ममा हेरिएका नयाँ र पुराना फिल्म र सिरिज मनोनयन सूचिमा छन् ।

    नेटफिल्क्सका फिल्म र सिरिज सर्वाधिक विधामा मनोनयन भएका छन् । ‘म्यांक’ सिरिजमात्र ६ विधामा मनोनित भएको छ । ‘द ट्रायल अफ दी सिकागो ७’ पाँच विधामा मनोनित छ ।

    टेलिभिजन खण्डमा ‘द क्राउन’ ६ विधामा मनोनित छ । गतवर्ष निधन भएका अभिनेता चाडविक बोसम्यान अभिनित नेटफिल्क्स फिल्म ‘मा राइनिज ब्ल्याक बटम’ पनि मनोनित भएको छ ।

    आउने सोमबार बिहान भर्चुअल रुपमा गोल्डेन ग्लोब्स अवार्ड वितरण हुँदैछ । टेलिभिजनका प्रसिद्ध होस्ट नोरम्यान लियरले दीर्घ साधना सम्मानको रुपमा क्यारोल बर्नेट अवार्ड प्राप्त गर्नेछन् ।

    उत्कृष्ट फिल्मको मनोनयनमा द फादर, म्यांक, नोमल्यान्ड, प्रमिसिङ योङ वुमन र द ट्रायल अफ दी सिकागो ७ छन् । विदेशी भाषी फिल्ममार्फत डेनमार्कको एनोदर राउन्ड, फ्रान्सको ला लोरोना, इटालीको द लाइफ अहेड, अमेरिकाको मिनारी, फ्रान्सको टु अफ अस छन् ।

  • धुर्मुस-सुन्तली ‘म त मर्छु कि क्या हो’ सिरिजमार्फत अभिनयमा फर्कने, पोस्टर लन्च

    धुर्मुस-सुन्तली ‘म त मर्छु कि क्या हो’ सिरिजमार्फत अभिनयमा फर्कने, पोस्टर लन्च

    काठमाडौं । सामाजिक अभियानमा सक्रिय जोडी धुर्मुस-सुन्तली अब अभिनयमा पनि कमब्याक गर्ने भएका छन् । धुर्मुसले वेब-सिरिज ‘म त मर्छु कि क्या हो’ मार्फत अभिनयमा फर्कने जनाएका छन् ।

    उक्त सिरिजको फस्टलुक पोस्टरसमेत उनले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सामाजिक कथावस्तुमा निर्माण हुने सिरिजको पहिलो एपिसोड चाहिँ झन्डै २ घन्टा लामो हुने धुर्मुसले जनाए ।

    पोस्टरको सुरुमै धुर्मुस–सुन्तली ब्याक अगेन स्लोगन राखिएको छ । सिरिजको लेखन एवं निर्देशन पनि धुर्मुस–सुन्तलीले नै गर्ने भएका छन् । सिरिजमा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदीप राई लगायतको अभिनय हुनेछ ।

    सिरिजलाई आफ्नै युट्युव च्यानलमार्फत रिलिज गर्ने तयारी धुर्मुसको छ । धुर्मुसले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ लकडाउनअघि रिलिज भएको थियो । अहिले भरतपुरमा गौतमबद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा उनीहरु सक्रिय छन् ।

     

  • सुष्मा र श्वेताकी बहिनीबीच मिलापत्र, सामाजिक सञ्जालमा माफी माग्ने सहमति

    सुष्मा र श्वेताकी बहिनीबीच मिलापत्र, सामाजिक सञ्जालमा माफी माग्ने सहमति

    काठमाडौं । दुब्र्यबहार र कुटपिटको घटनामा अभिनेत्री सुष्मा कार्की, आरती खड्का र युट्युवर उत्सव रसाइलीबीच मिलापत्र भएको छ । दरबारमार्ग प्रहरीमा दुबै पक्षले मेलमिलापको लिखित सहमति गरेका हुन् ।

    प्रहरीले नेपाल प्रेसलाई जानकारी गराएअनुसार दुबै पक्षले आइन्दा यस्तो काम नगर्ने कागजी व्यहोरामा हस्ताक्षर गरेका छन् । सुष्मालाई थप्पड हानेकी अभिनेत्री श्वेता खड्काकी बहिनी आरतीले माफी मागिन् ।

    तीनैजनाले मिडियाबाजी नगर्ने, आफूले ‘लेखाउन लगाएका’ समाचारलाई डिलिट गर्ने र सामाजिक संजालमा माफी सहितको स्टाटस लेख्ने सहमति भएको छ । आफूलाई जातीय गाली गरेको बताएका रसाइलीले त्यसको प्रमाण देखाउन नसकेको प्रहरी स्रोतले बतायो ।

    कागजमा हस्ताक्षरपछि प्रहरीकै अगाडि तीनैजनालाई अँगालो हाल्न लगाइएको थियो । तीनैजनाले आइन्दा यस्तो कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरेको पनि प्रहरीले जनाएको छ । गत सोमबार राती लन्डन पब क्लबमा आफूमाथि कुटपिट गरेको भन्दै सुष्माले आरती खड्का र उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

  • अन्ततः नेपालमा रिलिज हुनेभयो चिनियाँ सुपरहिरोइन फिल्म ‘मुलान’

    अन्ततः नेपालमा रिलिज हुनेभयो चिनियाँ सुपरहिरोइन फिल्म ‘मुलान’

    काठमाडौं । अन्ततः एकवर्षको अन्यौलतापछि हलिउड फिल्म ‘मुलान’ शुक्रबार नेपालमा रिलिज हुने भएको छ । फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले चिनियाँ सुपर हिरो फिल्मलाई यसैसाता प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    कम्पनीकी जेनिस पहारीका अनुसार शुक्रबार फिल्म रिलिज हुनेछ । तर, विहिबार आयोजना गरिएको राजनीतिक आम–हड्तालको कारण रिलिज केही तलमाथि पनि हुनसक्नेछ । डिज्ने स्टुडियोको बहुप्रतीक्षित फिल्म मुलान लकडाउनको कारण अन्तिम समयमा रोकिएको थियो ।

    चिनियाँ दन्त्यकथामा आधारित यो फिल्म विदेशी बजारमा भने यसअघि नै प्रदर्शन भैसकेको छ । ‘द बालाड अफ मुलान’ भन्ने चिनियाँ कथामा फिल्म आधारित छ । चीनमा छायांकन गरिएको फिल्ममा येफेइ लुजस्ता ठूला स्टारले अभिनय गरेका छन् ।

    यतिबेला नेपाली फिल्मको पाइपलाइन भने रित्तो छ । शिव श्रेष्ठको एउटा यस्तो प्रेम कहानीअघि नेपाली फिल्म रिलिज भएका छैनन् ।

  • पपस्टार रिहानाको अभिव्यक्तिमा भारतले जनायो आपत्ति, भन्यो -भारतविरुद्ध सेलेव्रिटी प्रपोगान्डा !

    पपस्टार रिहानाको अभिव्यक्तिमा भारतले जनायो आपत्ति, भन्यो -भारतविरुद्ध सेलेव्रिटी प्रपोगान्डा !

    काठमाडौं । पपस्टार रिहानाले भारतीय किसानको प्रदर्शनको पक्षमा अभिव्यक्ति दिएपछि त्यसको तरंग विश्वभर फैलिएको छ । भारतीय विदेश मन्त्रालयले रिहानाको नाम नलिइकन त्यसलाई ‘सेलेव्रिटी प्रपोगान्डा’को संज्ञा दिएको छ ।

    विदेश मन्त्रालय प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ती जारी गर्दै अन्तराष्ट्रिय सेलेव्रिटीले दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको बताएका छन् । केही निहित स्वार्थमा चलेका व्यक्ति र समूहले भारतीय संविधान र सरकारविरुद्ध उक्साइरहेको पनि उल्लेख छ ।

    इन्डिया टुगेदर र इन्डिया प्रपोगान्डाविरुद्ध ह्यासट्याग उल्लेख गर्दै विज्ञप्तीमा किसान प्रदर्शनलाई भारतीय लोकतन्त्र र त्यसको मर्मसँग जोडेर हेर्न आग्रह गरिएको छ । रिहानाले सीएनएनको एउटा न्यूज ट्वीट गरेपछि भारतीय अभिनेत्री कंगना रनावतले उनलाई मूर्खको संज्ञा दिएकी थिइन् ।

    सीएनएनले किसान प्रदर्शनलाई रोक्न भारतले दिल्ली वरपर इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको समाचार लेखेको थियो ।