Category: कलाप्रेस

  • निफ फेस्टिभलमा ३१ देशका ६३ फिल्मले प्रतिस्पर्धा गर्ने

    निफ फेस्टिभलमा ३१ देशका ६३ फिल्मले प्रतिस्पर्धा गर्ने

    अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)ले आगामी फेस्टिभलको फिल्म लाइनअप घोषणा गरेको छ । वैशाख २३ गतेदेखि २७ गतेसम्म काठमाण्डौमा आयोजना हुने फेस्टिभलमा ५२ देशका ४ सय ५० भन्दा बढी फिल्म प्रदर्शन गरिने आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।

    कोरोना महामारीको कारण फिचर फिल्मको छनौटलाई थाँती राख्दै ३१ देशका ६३ वटा फिल्म प्रतिस्पर्धामा छनौट भएको उनले बताए । ‘नेपाली फिल्म प्रदर्शनमा आउन बाँकी रहेकोले निर्माताले केहि समयको माग गर्नु भएको छ । जसलाई मध्यनजर गर्दै हाम्रो टिमले अन्य प्रतिस्पर्धी सार्वजनिक गरेका छौं’ पाठकले भने ।

    निफको चौथो संस्करणलाई पछिल्ला अनुभवले अझै सभ्य र भव्य बनाउने उनको टिमको तयारी छ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्यले सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै खण्डमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने छ ।

    कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई१५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने जनाइएको छ ।

  • चलचित्र पत्रकार संघको तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’

    चलचित्र पत्रकार संघको तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’

    काठमाडौँ । चलचित्र पत्रकारको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको नवनिर्मित ‘नवरस हल’ मा भएको कार्यशालामा ४० बढी पत्रकार सहभागी थिए ।

    संघ अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ। प्रमुख अतिथि बोर्ड अध्यक्ष दयाराम दाहालले कार्यशालाले क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

    अध्यक्ष दाहालले सहभागीमध्ये एकजनालाई उत्कृष्ट फोटो खिचेर पठाउने एक जनालाई बोर्डले बार्षिक उत्सवको दिन पुरस्कृत गर्ने बताए । संघले प्रशिक्षार्थी मध्येबाट उत्कृष्ट फोटो खिच्ने मध्येबाट एकजनालाई लेन्स पुरस्कार दिने घोषणा गरिएको छ।

    कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ, र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिए ।

    फोटोग्राफी र भिडियोग्राफीमा रुचि भएका चलचित्र पत्रकारहरुको लागि कार्यशाला उपयोगी बनेको संघका महासचिव समिर बलामीले बताए । संघले आगामी दिनमा लेखनवृत्ति र अन्य बिषयमा कार्यशाला गर्दै जाने जनाएको छ ।

  • भारतीय ब्लकबस्टर ‘अर्जुन रेड्डी’को नेपाली संस्करण बन्ने, मुख्य पात्रको लागि कास्टिङ-कल

    भारतीय ब्लकबस्टर ‘अर्जुन रेड्डी’को नेपाली संस्करण बन्ने, मुख्य पात्रको लागि कास्टिङ-कल

    सुपरहिट दक्षिण भारतीय तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली संस्करण बन्ने भएको छ । लामो समयदेखि फिल्म बन्नेबारे नेपालमा यसको चर्चा थियो ।

    रिमेक भर्सन बन्ने चर्चासँगै यतिबेला फिल्मले कलाकारको खोजी सुरु गरेको छ । । निर्माण तथा बितरण अनुमति पाएको युवा फिल्म्सले कलाकारको अडिसन गर्ने तयारी गरिरहेको छ । फिल्मलाई बिशाल सापकोटाले निर्देशन गर्दैछ्न् ।

    १ वर्ष अघि नै निर्माण घोषणा भएपनि कोरोनभाइरस महामारीको कारण निर्माण पोस्टपोन्ड भएको थियो । फिल्मको लागि नायक, नायिका र अन्य पात्रका लागि अडिसन गरिने भएको छ । केही महिना अघि नै अर्जुन रेड्डीको रिमेक बन्ने समाचार बाहिरिएको थियो ।

    दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनित यस फिल्मलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । फिल्मले बक्सअफिसमा ५१ मिलियन भारु कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै राम्रो व्यापार गर्न सफल भएको थियो । बलिउड अभिनेता शाहिद कपुर अभिनीत फिल्मले बक्स अफिसमा ३७९.०२ करोड भारु कमाइ गरेको थियो ।

    ‘अर्जुन रेड्डी’ को निर्माणको लागि भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो ।

  • सामाजिक सन्देशमूलक फिल्म ‘वरदान’मा दयाहाङ र नम्रता एकसाथ

    सामाजिक सन्देशमूलक फिल्म ‘वरदान’मा दयाहाङ र नम्रता एकसाथ

    दयाहाङ राई र नम्रता श्रेष्ठले ‘वरदान’ नामक छोटो फिल्ममा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मको छायांकन ललितपुरमा सकिएको छ । दयाहाङ र नम्रताले लामो समयपछि एउटै फिल्ममा अभिनय गरेका हुन् ।

    मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय फिल्ममा उठाइएको छ । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन् । मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् । फिल्म कोसिस नेपालले निर्माण गरेको हो ।

    कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस बढेकोले यस विषयमा फिल्म बनाउने सोच पलाएको निर्देशक दीपेन्द्रले बताए । ‘डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन व दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं’ दीपेन्द्रले भने, ‘डिप्रेसनबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो ।’

    फिल्मको कथावस्तु मन परेर नै अभिनय गर्न आफू तयार भएको नम्रता बताउँछिन् । ‘मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका विषयमा मैले विभिन्न मञ्चमा बोल्दै आएको छु’ नम्रताले भनिन्, ‘यो फिल्मले यस विषयमा सशक्त सन्देश दिन्छ भन्ने विश्वास लिएको छु ।’

    करिब २० मिनेट अवधिको हुने फिल्ममा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

    शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म केही हप्तापछि अनलाइन प्ल्याटफर्ममा रिलिज गरिनेछ ।

  • करिनाले जन्माइन् दोस्रो सन्तान

    करिनाले जन्माइन् दोस्रो सन्तान

    बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा उनले छोरा जन्माएकी हुन् ।
    भारतीय सञ्चारमाध्यमका अनुसार करिना हिजो बेलुकी सो अस्पतालमा भर्ना भएकी थिइन् । आज बिहान स्थानीय समयअनुसार साढे ८ बजे पुत्रलाभ भएको बताइएको छ ।
    अस्पताल भर्ना हुनुअघिसम्म करिना काममा व्यस्त थिइन् । उनले शनिबार एउटा विज्ञापनको छायाँकन गरेकी थिइन् ।
    करिना र उनका श्रीमान सैफ अली खानका यसअघि पनि एक छोरा छन् । उनीहरुलाई २०१६ मा पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको थियो । करिना सैफकी दोस्रो श्रीमती हुन् ।
  • ‘पिके’ सिक्वेलमा आमिर र रणवीर सँगै देखिने, निर्माताले गरे सिक्वेल घोषणा

    ‘पिके’ सिक्वेलमा आमिर र रणवीर सँगै देखिने, निर्माताले गरे सिक्वेल घोषणा

    काठमाडौं । आमिर खान र राजकुमार हिरानीको सहकार्य रहेको चर्चित फिल्म ‘पिके’को सिक्वेल बन्ने भएको छ । सन् २०१४ को फिल्ममा आमिर पृथ्वीमा रणवीर कपुरसँगै फर्किएको दृश्यसँगै फिल्म सकिएको थियो ।

    यो दृश्यसँगै दर्शकले दोस्रो श्रृंखला आउने आशा राखेका थिए । दर्शकले दुबै स्टारलाई सिक्वेलमा सँगै हेर्न पनि चाहेका थिए । यो पर्खाइ सकिएको छ र निर्माता विधुविनोद चोपडाले सिक्वेल निर्माणको घोषणा गरेका छन् ।

    अहिले स्क्रिप्ट लेखनको काम भैरहेको र सकिए लगत्तै निर्माण सुरु हुने चोपडाले भारतीय अनलाइन मिड–डेलाई जानकारी दिए । विधुविनोदले भने, ‘हामी पैसा कमाउने व्यवसायमा छैनौं । हामी फिल्मको ब्यवसाय गरिरहेका छौं । पैसा कमाउनै परे मुन्ना भाइका छ–सात सिक्वेल बनिसक्थे । पिकेका केही सिक्वेल बनिसक्थे ।’

    यसबीच हिरानीले रणवीर कपुरलाई लिएर बनाएको फिल्म सन्जु बक्सअफिसमा ब्लकबस्टर बनेको थियो ।

  • अस्कर विजयी विश्व चर्चित फिल्म ‘१९१७’ काठमाडौंमा रिलिज हुँदै

    अस्कर विजयी विश्व चर्चित फिल्म ‘१९१७’ काठमाडौंमा रिलिज हुँदै

    काठमाडौं । समीक्षकले निकै रुचाएको हलिउड फिल्म ‘१९१७’ अन्ततः काठमाडौंमा रिलिज हुने भएको छ । फिल्म हलमा नयाँ रिलिजको संकट भैरहेको बेला गतवर्षको विश्वचर्चित फिल्म नेपाली मल्टिप्लेक्समा प्रदर्शन हुने निश्चित भएको हो ।

    फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले रिलिज हुने कुराको पुष्टि गरेपनि मिति भने तोकेको छैन । दोस्रो विश्वयुद्धकालिन यो फिल्मले सन् २०१९ को अस्कर अवार्डमा उत्कृष्ट फिल्म र निर्देशकसहितका १० विधामा मनोनयन हासिल गरेको थियो ।

    उत्कृष्ट छायांकन, भिजुअल इफेक्ट्स र ध्वनी मिश्रण विधामा यसले जित्यो । सिंगल सट्को शैलीमा खिचिएको यो फिल्मलाई स्याम मेन्डेस्ले निर्माण एवं निर्देशन गरेका हुन् । रोजर डिकन्सले यो फिल्मबाट उत्कृष्ट छायांकारको अवार्ड जितेका थिए ।

    एप्पलले हलिउडको एनिमेटेड फिल्म ‘राया : द लास्ट ड्रागन’लाई पनि रिलिज गर्ने तयारी गरेको छ । शुक्रबार नेपालमा दक्षिण भारतीय फिल्म चक्रका रक्षक रिलिज भएको छ । हलिउडको मुलान, मन्स्टर हन्टर, द इन्भिजिबल म्यानसहित नेपालको कागबेनी पनि पुनः प्रदर्शनमा छ ।

  • आत्मकथाको ‘आत्मकथा’: कथा तीर्थको, लेखे अर्जुनले

    आत्मकथाको ‘आत्मकथा’: कथा तीर्थको, लेखे अर्जुनले

    कैलाली । सुदुरपश्चिम प्रदेशसभाको सभामुख हुन्, ६७ वर्षीय अर्जुनबहादुर थापा । फागुन ६ गते उनको आत्मकथा विमोचित भयो । जब अर्जुनबहादुरले आफ्नै जीवनकथा भन्दै ‘तीर्थप्रसादको जीवन यात्रा’ विमोचन गरे सहभागिहरुमा कौतुहलता बढ्यो ।

    सबैको जिज्ञासा मेट्दै सभामुख अर्जुनबहादुरले भने– म नै तीर्थप्रसाद हुँ ।

    ०००

    बझाङको तत्कालीन तामातोला गाविसको देहली गाउँमा जङ्गबहादुर थापाको परिवार थियो । श्रीमती राइकोशाको कोखबार ३ छोरी जन्मिइसकेका थिए । जंगबहादुर दम्पत्तिलाई एक छोरा पाउने धोको छदैथियो ।

    त्यसमाथि तत्कालीन समाजमा ‘अपुतो’ हुने भयो भनेर खेपेको दुर्वचनले दुवैलाई चिन्तित तुल्याउँदै थियो । जंगबहादुर ५१ वर्ष पुगिसकेका थिए भने, राइकोशाको महिनावारी पनि रोकिइसकेको थियो । कान्छिी छोरी हीरा जन्मिएको ७ वर्षसम्म सन्तान बस्न सकेन ।

    छोरो जन्माउने आशमा जंगबहादुर र राइकोशाले तीर्थ यात्रा सुुरु गरे । नेपाल र भारतका विभिन्न धार्मिक मठमन्दिर घुमे । व्रत बसे । ‘तीर्थ गरे पुत्र प्राप्ति हुन्छ’ भन्ने मनोविज्ञानले जंगबहादुर दम्पत्तिको मष्तिष्कमा डेरा जमाएको थियो । २ वर्षको लगातार तीर्थ यात्रापछि हिराकोशाको महिनावारी नियमित भयो । लगत्तै गर्भ बस्यो र २०१० साल चैत २४ गते मंगलबार बिहान जंगबहादुर दम्पत्तिलाई पुत्र लाभ भयो । आफूले गरेको तीर्थको प्रसाद पाएको अनुभूति दुवैले गरे । गाउँलेहरुले बधाई दिए । जंगबहादुर दम्पत्तिले बुढेशकालमा पाएका पुत्र नै प्रकारान्तरले सुदुरपश्चिमको राजनीतिमा स्थापित भए । सबैले ‘तीर्थ प्रसाद’ भनेर बोलाउने उनै अर्जुनबहादुर थापाले ६७ वर्षको उमेरमा आत्मकथा सार्वजनिक गरे ।

    साहित्यकार वेदप्रकाश जोशीले कथाझैं लाग्ने तीर्थप्रसाद उर्फ अर्जुनको जीवनको वास्तविकता खोलिदिएसंगै कार्यक्रममा सहभागिहरुको कौतुहलता मेटियो । ‘तीर्थबाट प्राप्त भएको प्रसाद हुनु हुनुहुन्छ अर्जुन बहादुर थापा अर्थात् सुदूरपश्चिम प्रदेशका सभामुख ’ साहित्यकार जोशीले विस्तारमा भने ।

    कसरी जन्मियो तीर्थ प्रसाद ?

    तीर्थ प्रसाद भनेर आफूलाई चिनाएका सभामुख थापा त तीर्थको प्रसाद स्वरूप आफूले धर्तीमा पाइला आएको मान्छन् । तर, उनको पुस्तक भने कसरी आयो त ?

    ‘मेरो फुर्सदको उपलब्धी हो आत्मकथा’ सभामुख थापाले सुनाए ।

    राजनीतिक विषयमा निरन्तर कलम चलाउँदै आएका थापालाई २०७१ सालमा आफ्नैबारे लेख्ने ईच्छा जाग्यो । त्यसयता निरन्तर ६ वर्ष उनले आफ्नो जीवनका सम्झिएसम्मका घटनाक्रमलाई पुस्तकमा उतारे । बाल्यकालका भोगाई, ग्रामीण जीवनका सुखदुःख, विद्यालय पढ्दाका अनुभवदेखि राजनीतिक जीवनका उतारचढावसम्मलाई थापाले आफ्नो आत्मकथामा समेटेका छन् ।

    सुरुमा उनलाई पुस्तकको नाम ‘जीवनको ऐना’ वा ‘जे देखेँ, त्यही लेखेँ’मध्ये एउटा राख्ने सोच थियो । तर, आत्मकथा लेख्दा लेख्नै उनी प्रदेशसभाको सभामुख भए । पछिल्ला घटनाक्रमहरु जोडिदै जाँदा पुस्तकको आकार पनि बढ्यो । आफ्नै जीवनका भोगाई उतारेको हुनाले उनले आफ्नो जन्मसंग जोडिएको भेदलाई नै कृतिको नाम दिने विचार गरे । जसबाट अर्जुनबहादुरको आत्मकथाको नाम ‘तीर्थ प्रसादको जीवन यात्रा’ रहन गयो ।

    ३१० पृष्ठ पुस्तकमा उनले ६७ वर्षको उमेरसम्म भोगेका र देखेका सबै बिषय समेटेका छन् । ‘मेरो बेलाको समाज, मेरो बेलाको शिक्षाक्षेत्र र यसक्षेत्रको राजनीतिक परिवेश बुझ्न आत्मकथा उपभयोगी हुनेछ’, अर्जुनले भने ।

    ९ वर्षको उमेरमा पहिलो विवाह , २० वर्षमा अर्काे

    प्रायः आत्मकथामा आत्मप्रशंसा मात्रै लेख्ने वा कमजोरी लुकाउने प्रवृत्ति हुन्छ । आफ्नो कृतिमा अर्जुनबहादुर इमान्दार रुपमा प्रस्तुत भएका छन् । नौ वर्षको उमेरमा आफूभन्दा ३ वर्ष जेठी देवसरासंग विवाह गरेको घटनालाई अर्जुनले रोचक ढंगले प्रस्तुत गरेका छन् । त्यस्तै २० वर्षको उमेरमा उनले दोस्रो विवाह गरे । कान्टी श्रीमती पाउसरा देवी थापालाई भित्राएपछि पनि देवसरासंगको सम्बन्धमा हार्दिकता नघटेको विषय उनको आत्मकथामा उल्लेख छ ।

    देवसराको २०५५ सालमा निधन भयो भने पाउसरा अहिले खप्तड छान्ना गाउँपालिकाको उपाध्यक्ष छिन् । साँवा अक्षरसम्म नचिन्ने पाउसरालाई विवाहपछि अर्जुनले नै अक्षर चिनाए । कुनै बेला गाउँको विद्यालयमा प्रधानाध्यापक रहेका अर्जुनले श्रीमती पाउसरालाई पढ्न प्रेरित गरे । पढाईसंगै राजनीतिमा पनि पाउसरालाई सक्रिय गराउँदै गए ।

    समयक्रममा आफू प्रदेशको सभामुख बन्दा पाउसरा गाउँपालिकाको निर्वाचित उपाध्यक्ष बनेको कुरा अर्जुनले रोचक ढंगले आत्मकथामा उल्लेख गरेका छन् ।

    लेखनीको सुरुवात

    २०५६ सालको आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रतिनिधिसभामा २ सय ८१ मतले पराजित भएका अर्जुनलाई एमाले जिल्ला कमिटीले शिक्षा विभागको जिम्मेवारी दियो । विभागको दायित्व पूरा गर्न उनी बझाङका गाउँ गाउँमा पुग्थे । प्रशिक्षण कार्यक्रमका दौरान सबै ठाउँमा एउटै कुरा पटक–पटक भन्नुपरेपछि अर्जुनको दिमागमा पुस्तक लेख्ने सोच आयो । त्यसअघि पनि लेखनमा रुची राख्दै आएका थापाले पुस्तक भने प्रकाशित गरिसकेका थिएनन् ।

    ‘प्रशिक्षण दिदा एउटै कुरा धेरै ठाउँमा दोहो¥याउन परेपछि मैले कम्युनिष्ट आन्दोलनबारे लेख्ने निधो गरे । पाण्डुलिपि भीम रावललाई देखाएर २०६० सालमा प्रकाशित गरे’, अर्जुनने भने । कम्युनिष्ट आन्दोलनको एक झलक (विश्व–नेपाल–बझाङ) नामक सो पुस्तक प्रकाशनको नौ वर्षपछि ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवाद’ नामक पुस्तक प्रकाशन गरे । उनले सुदुरपश्चिम प्रदेशको नमूना राजधानी र नमूना गाउँको अवधारणा पत्र पनि लेखेका छन् ।

    उनले सुदूरपश्चिम प्रदेशको नमुना राजधानी र नमुना गाउँको अवधारण पत्र पनि लेखेका छन् । २०४५ सालमै उनले लेखेको ‘खप्तड एक चिनारी’ नामक कृति भने अझै अप्रकाशित छ । खप्तड क्षेत्रबारे लेखेको कृति प्रकाशन चाडै गर्ने उनको सोच छ । ‘त्यतिबेला खप्तडको विषयमा धेरै मानिसको रुची नदेखेर लेखेको पुस्तक पनि सार्वजनिक गरिन । अहिले खप्तडको महत्व बढ्दैछ छिट्टै पुस्तक सार्वजनिक गर्छु’,अर्जुनले भने ।

    विद्यालय जीवनदेखि नै साहित्य र लेखनमा सक्रिय रहेका अर्जन राजनीतिक दिनचर्याबाट फुर्सद हुनासाथ लेख्न रुचाउँछन् । विगतमा आफूले लेखेका नाटकहरु संग्रहित गर्न नसकेकोमा भने उनलाई पछुतो छ ।

  • प्रबल गुरुङसहितका फेसन डिजाइनरद्वारा ‘स्टप एसियन हेट’ अभियान थालनी, एसियाली कलाकारमाथिको आक्रमण रोक्न आग्रह

    प्रबल गुरुङसहितका फेसन डिजाइनरद्वारा ‘स्टप एसियन हेट’ अभियान थालनी, एसियाली कलाकारमाथिको आक्रमण रोक्न आग्रह

    काठमाडौं । पछिल्लो साता अमेरिकामा बढिरहेको एसियाली मूलका नागरिकमाथिको हिंसाको विपक्षमा हलिउड फेसन डिजाइनर प्रबल गुरुङसहितका कलाकार एक भएका छन् ।

    गुरुङको नेतृत्वमा एसियाली फेसन डिजाइनर एवं कलाकार संगठित भएर हिंसाको विरोधमा उत्रिएको सीएनएनले जनाएको छ । अहिले इन्स्टाग्राम, ट्वीटर र फेसबुकमा ‘स्टप एसियन हेट’ ह्यासट्यागसहितको ट्रेन्ड चलिरहेको छ ।

    जनवरी यता अमेरिकामा एसियन–अमेरिकन समुदायमाथि आक्रमणका घटना बढिरहेका छन् । चिनियाँ नयाँवर्षको बिदामा सबैभन्दा बढी आक्रमण भएको उल्लेख छ । सनफ्रान्सिस्कोमा मर्निङ वाकमा निस्किएकी ८४ वर्षिया थाइल्यान्डकी आप्रवासी १९ वर्षे एक अमेरिकी किशोरको आक्रमणबाट मारिएकी थिइन् ।

    ओकल्यान्डमा अर्का एक एसियाली आप्रवासी घाइते भएका छन् । क्यालिफोर्नियाको सान जोसमा ६४ वर्षिया भियतनामी महिला लुटिएकी थिइन् । भाइरस महामारी सुरु भएपछि आक्रमणको निशानामा एसियन अमेरिकन परेपछि अधिकारवादीले चिन्ता व्यक्त गरेका छन् ।

    हिंसाको विरुद्धमा नेपाली मूलका फेसन डिजाइनर गुरुङसहित फिलिप लाम र अलुएर म्यागजिनका प्रधान सम्पादक माइकल ली लगायतका उत्रिएका छन् । उनीहरुले सामाजिक संजालमा वर्ण विभेद अन्त्य हुनुपर्ने माग गरेका छन् । फेसन डिजाइनर अफ अमेरिकाका सदस्य समेत रहेका गुरुङले आक्रमण रोक्न माग गरेका छन् ।

    ‘समान विश्वको परिकल्पना गर्ने हो भने हामी वर्णभेद विरोधी हुनु जरुरी छ’ प्रबलले इन्स्टाग्राममा लेखेका छन्, ‘एन्टी–रेसिजम ह्यासट्याग मात्र होइन, जीवनभरको एउटा प्रतिबद्धता पनि हो ।’ उनले कुनै खालको घृणात्मक आक्रमणविरुद्ध शुन्य सहनशिल हुने पनि उल्लेख गरेका छन् ।

    कुनैबेला आप्रवासीको रुपमा अमेरिका पुगेका गुरुङले केही वर्ष अगाडिको न्यूयोर्क फेसन वीकमा अमेरिकामा आप्रवासी हुनुको पहिचनको थीममा फेसन डिजाइन पनि गरेका थिए ।

  • कलाकारले राजनीति गर्नुहुन्न भन्नु अधिनायकवादी सोच : नेपथ्य गायक अमृत गुरुङ

    कलाकारले राजनीति गर्नुहुन्न भन्नु अधिनायकवादी सोच : नेपथ्य गायक अमृत गुरुङ

    काठमाडौं । संसद विघटन प्रकरणपछि कलाकार अलग-अलग ध्रुबमा विभाजित भइरहेका छन् । राजनीतिको यो विकसित घटनाक्रमको सीधा असर फिल्म, संगीत र कलामा देखिएको छ ।

    यो क्रममा जोडिएका छन् चर्चित नेपाली पप ब्यान्ड नेपथ्य भोकलिस्ट अमृत गुरुङ । १३ फेब्रुअरीमा सामाजिक संजालमा एउटा पोस्ट गर्दै गायक गुरुङले लेखे -सडकमा भएका दिदीबहिनी र श्रष्टा मित्रहरुप्रति ऐक्यबद्धता । सत्ताको मात चढ्दैछ । अति हुँदैछ । घडा भरिँदैछ ।

    उनले यो पोस्ट गरेपछि उनको विचारको पक्ष र विपक्षमा उनका प्रशंसक बाँडिए । हत्तपत्त राजनीतिक स्टेटमेन्ट नदिने गुरुङको विपक्षमा पनि थुप्रै सुझाव आए । उनलाई आलोचना गर्नेहरुले कलाकारले राजनीति गर्न नहुने सुझाए र गुरुङलाई त्यसो नगर्न आग्रह गरे ।

    आलोचकलाई लक्षित गर्दै गुरुङले शुक्रबार अर्को ट्वीट गरे । कलाकारले राजनीति गर्नुहुँदैन भनेर भन्नेहरुलाई उनको जवाफ थियो –राजनीतिक चेतना सबैको नैसर्गिक अधिकार हो । यसमा बन्देज लाउने प्रयास नगर्नुहोला । अरुलाई समसामयिक राजनीतिक चासोबाट निरुत्साहित गर्न खोज्नु अधिनायकवादी सोचलाई समर्थन गर्नु हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको पक्षपातिले अग्रगमन र विरोधीले प्रतिगमन भन्दै प्रतिक्रिया दिने गरेका छन् ।

  • स्वस्तिमालाई दक्षिण भारतीय फिल्म कम्पनीद्वारा प्रस्ताव, काठमाडौं आएको टोलीसँग मिटिङ

    स्वस्तिमालाई दक्षिण भारतीय फिल्म कम्पनीद्वारा प्रस्ताव, काठमाडौं आएको टोलीसँग मिटिङ

    काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्कालाई दक्षिण भारतीय सिनेमा निर्माण कम्पनी एन्जल मारिया सिनेमाज्ले उसको आगामी फिल्म ‘थिरिमाली’को लागि प्रस्ताव गरेको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै अभिनेत्री खड्काले काठमाडौं भ्रमणमा रहेको निर्माण टीमसँग एक चरणको मिटिङ भएको जानकारी दिइन् । ‘उहाँहरुले प्रस्ताव गर्नुभएको छ र रोलबारे प्रस्ताव गर्नुभएको छ’ उनले भनिन्, ‘तर, खेल्ने निधो लागिसकेको छैन ।’

    खड्काले उक्त निर्माण कम्पनीको समूहसँग काठमाडौंमा भेटेको तस्विर सार्वजनिक भएको छ जहाँ नेपाली निर्माता सरोज न्यौपाने पनि देखिएका छन् । आफूलाई प्रस्ताव गरिएको भूमिकाबारे भने स्वस्तिमाले खुलाइनन् ।

    उक्त निर्माण कम्पनीको वेब पोर्टलअनुसार थिरिमालीको छायांकन काठमाडौंसहित सगरमाथा क्षेत्रमा हुने जनाइएको छ । फिल्ममा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका हुने उल्लेख छ ।

    स्वस्तिमा यसवर्ष दीपेन्द्र के. खनालको फिल्म ‘चिसो मान्छे’मा व्यस्त हुनेछिन् ।

  • यशराज फिल्म्सद्वारा पाँच फिल्मको रिलिज डेट घोषणा

    यशराज फिल्म्सद्वारा पाँच फिल्मको रिलिज डेट घोषणा

    काठमाडौं । यशराज फिल्म्सले सन् २०२१ का लागि पाँच फिल्मको रिलिज मिति घोषणा गरेको छ । लकडाउनले रोकिएका, पोस्टपोन्ड भएका फिल्मले प्रदर्शन मिति प्राप्त गरेका हुन् ।

    विहिबार वक्तव्य जारी गर्दै यशराज फिल्म्सले पृथ्वीराज, शमशेरा, जयसभाइ जोरदार, बन्टी और बब्ली २ र सन्दीप और पिंकी फरारको रिलिज डेट घोषणा गरेको हो ।

    यशराजको यो लाइनअपमा अक्षय कुमार, रणवीर सिंह, रणवीर कपुर, अर्जुन कपुर समावेश छन् । लाइनअपमध्ये अर्जुन कपुर र परिणीति चोपडाको सन्दीप और पिंकी फरार मार्च १९ मा रिलिज हुनेछ ।

    सैफअली खान र रानी मुखर्जीको बन्टी और बब्ली २ अप्रिल २३ मा रिलिज हुनेछ । रणवीर कपुर र वाणी कपुरको शमशेरा जुन २५, रणवीर सिंह र शालिनी पाण्डेको जयसभाइ जोरदार अगस्ट २७, अक्षयकुमार र मानुषी चिल्लरको पृथ्वीराज नोभेम्बर ५ मा प्रदर्शन हुनेछन् ।

    अक्षयकुमारको पृथ्वीराज शाहिद कपुर स्टारर जर्सीसँग भिड्ने पक्का भएको छ । यी दुबै फिल्म आगामी तिहारको छेकोमा प्रदर्शन हुनेछन् ।

     

  • औंठीको फोटो देखाउँदै इन्दिरा जोशीले स्वीकारिन् प्रेम !

    औंठीको फोटो देखाउँदै इन्दिरा जोशीले स्वीकारिन् प्रेम !

    काठमाडौं । अन्ततः गायिका इन्दिरा जोशीले आफू प्रेममा रहेको स्वीकारेकी छिन् । फेसबुकमा औंठीसहितको तस्विर पोस्ट गर्दै उनले दुई वर्षदेखि आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी हुन् ।

    तर, कोसँग सम्बन्धमा छिन् भन्ने कुरा खुलाएकी छैनन् । उनी लेख्छिन् : उसले भन्यो म तिम्रो तारा र तिमी मेरो चन्द्रमा । प्रमिस रिङ । सम्बन्धको दुईवर्ष र अझै धेरै वर्ष.. अन्तिम साससम्म । इट्स यस । प्रेम नै जीवन हो ।’

    उनको प्रेम सम्बन्धलाई लिएर गसिप चल्न गर्थे । तर, उनले औंठीको फोटो सेयर गर्दै आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरिन् ।

  • पपस्टार रिहाना पुनः विवादमा, टपलेस फोटोमा भगवान गणेशको नेकलेस !

    पपस्टार रिहाना पुनः विवादमा, टपलेस फोटोमा भगवान गणेशको नेकलेस !

    काठमाडौं । पपस्टार रिहाना पुनः अर्को विवादमा तानिएकी छिन् । भारतमा चर्किएको किसान आन्दोलनलाई समर्थन गरेर विवादमा मुछिएकी उनी यसपटक भने टपलेस फोटोले चर्चामा छिन् ।

    हिन्दु भगवान गणेशको आकृतिसहितको नेकलेस लगाएको टपलेस फोटो ट्वीटरमार्फत सार्वजनिक गरेपछि रिहाना अर्को विवादमा तानिएकी हुन् । रिहानाको यो फोटोले हिन्दू धर्मावलम्वीको आस्थामा चोट पुर्‍याएको भन्दै भारतीय मिडियाले विरोध गरेका छन् ।

    मिडियाले रिहानाको यो हर्कतलाई आपत्तिजनक भन्दै माफी माग्न समेत भनेका छन् । ट्वीटरमा रिहानाविरुद्ध ट्रेन्ड सुरु भएको छ । किसान आन्दोलनमा समर्थन जनाएपछि रिहाना र जलवायु अभियन्ता ग्रेटा थनवर्गविरुद्ध भारतमा आक्रोश चुलिएको थियो ।

    बीजेपी नेता रामा कदमले रिहानो यो तस्विरले हिन्दू भगवानको अपमान गरेको आरोप लगाएका छन् ।

  • क्याम्प छाडेर प्रदीप र दिनेशको टीमअप, टिक्ला सहकार्य ?

    क्याम्प छाडेर प्रदीप र दिनेशको टीमअप, टिक्ला सहकार्य ?

    काठमाडौं । नेपाली फिल्ममा कलाकारले आफ्नो मुडअनुसार क्याम्प बदल्नु सामान्य कुरा हो । यस्तो देखिन्छ -सँधै एउटै क्याम्पमा रहेर काम गर्ने पहिलेदेखिको ट्रेन्डलाई नयाँ पुस्ताका कलाकारले पछ्याउन छाडेका छन् ।

    प्रेमगीत सिरिज र आसुसेन फिल्मसभन्दा बाहिरको फिल्म हत्तपत्त नगर्ने अभिनेता प्रदीप खड्काले पहिलोपटक निर्देशक दिनेश राउतसँग सहकार्य गर्दैछन् । राउतले पनि क्याम्प छाडेर खड्कालाई आफ्नो नयाँ प्रोजेक्टमा अनुबन्धित गरेका छन् ।

    राउत प्रायः आफ्ना फिल्ममा सँधै नम्रता श्रेष्ठलाई लिने गर्थे । यसपटक भने उनले नयाँ फिल्म ‘प्रकाश’मा प्रदीप र डेब्यु गर्ल रेणु योगीलाई कास्ट गरेका छन् । ‘जोसँग काम गर्दा सजिलो हुन्छ, त्यो सँग काम गर्छु’ प्रदीपलाई च्याप्न थालेको भन्ने जिज्ञासामा दिनेशले भने ।

    पहिलोपटक सँगै काम गर्न लागेको र काम गर्दै जाँदा भविष्य निर्भर हुने दिनेशले बताए । प्रदीपले कलाकारितालाई गम्भिरताका साथ लिने गरेको भन्दै दिनेशले खुशि व्यक्त गरे । सहकार्यप्रति दिनेश र प्रदीप दुबै खुशि छन् तर कसरी सम्बन्ध अगाडि बढ्छ, त्यो भविष्यले बताउला ।

  • बिपिन कार्की र आँचल शर्मा चितवनमा सम्मानित, ‘जीवन काँडा कि फूल’ प्रदर्शन

    बिपिन कार्की र आँचल शर्मा चितवनमा सम्मानित, ‘जीवन काँडा कि फूल’ प्रदर्शन

    अभिनेता बिपिन कार्की र अभिनेत्री आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । लक्की मिडिया हाउसको पांँचौ बार्षिकोत्सवको अवसरमा कार्की र शर्मालाई सम्मान गरिएको हो ।

    फिल्म क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान दिएबापत अभिनेता कार्की र शर्मालाई सम्मान गरिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले बताए ।

    कार्यक्रममा कांँग्रेस नेता गगन थापा, बरिष्ठ अभिनेता नीर शाहले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी, समाजसेवी र खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

    चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह, कांँग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बोलेका थिए ।

    सो अवसरमा साहित्यकार झमक घिमिरेको जीवनमा आधारित फिल्म ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको थियो ।

  • निर्माण सकिएका ४० फिल्ममध्ये ८ ले मात्र घोषणा गरे रिलिज डेट

    निर्माण सकिएका ४० फिल्ममध्ये ८ ले मात्र घोषणा गरे रिलिज डेट

    काठमाडौं । ४० भन्दा बढी फिल्म निर्माण भएर प्रदर्शनको पर्खाइमा छन् । यी फिल्मका निर्माताले अहिलेसम्म औपचारिकरुपमा प्रदर्शन मिति घोषणा गरेका छैनन् । उनीहरु अवस्था सामान्य हुने प्रतीक्षामा छन् ।

    नेपाल प्रेसलाई प्राप्त विवरणअनुसार जम्मा आठ फिल्मले मात्र अफिसियल रिलिज डेट घोषणा गरेका छन् । ४० भन्दा बढी फिल्म रिलिजका लागि तयार भएपनि जम्मा ८ फिल्म मात्र प्रदर्शनको लागि तयार छन् ।

    आठमध्ये ६ वटा फिल्म यसैवर्षभित्र रिलिज हुनेछन् भने बाँकी दुई आउने वर्ष तयारीमा छन् । फागुन २१ गते अञ्जली अधिकारी र अर्जुन गुरुङ अभिनित गोर्खो प्रदर्शन हुनेछ ।

    चैत १३ गते अर्पण थापाको भूतघर लाग्नेछ । चैत २७ गते सौगात मल्ल स्टारर ‘लप्पन छप्पन २’, पुष्पल खड्का, पल शाह, वर्षा शिवाकोटीको मनसँग मन, कृष्णलीला र राजु गिरीको ‘तिम्रो हुने कहिले’ प्रदर्शन हुनेछन् । नयाँवर्षको छेकोमा चार फिल्मबीच प्रतिस्पर्धा हुनेछ ।

    ०७८ सालको भदौ ११ मा चिसो मान्छे र दशैंमा प्रशान्त तामाङको परदेशी २ ले रिलिज मिति घोषणा गरेका छन् । यो वर्ष प्रदर्शन हुने फिल्मलाई कोभिड राहतस्वरुप चलचित्र विकास बोर्डले ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको छ ।

    माघ १ गते शिव श्रेष्ठले निर्माण गरेको ‘यस्तो एउटा प्रेम कहानी’ असफल भएपछि धेरै निर्माताले प्रदर्शन मिति घोषणा गर्न झस्किएका छन् । फलस्वरुप, फिल्म हलले पुरानै हिट फिल्मलाई पुनः रिलिज गरिरहेका छन् । अहिले सानो संसार, कबड्डी ३, कागबेनी लगायत प्रदर्शन भैरहेका छन् ।

  • मदनकृष्णको आवाजमा ‘फुलबुट्टे सारी’को लिजेन्ड्री भर्सन रिलिज

    मदनकृष्णको आवाजमा ‘फुलबुट्टे सारी’को लिजेन्ड्री भर्सन रिलिज

    बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा ‘फुलबुट्टे सारी’को लिजेण्डरी भर्सन रिलिज भएको छ । मेल, फिमेल र चाइल्ड भर्सनमा रुचाईएको गीतको यो भर्सनलाई राजधानीमा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको हो।

    मार्मिक लामाको आवाज र राजनराज शिवाकोटीको शब्द र संगीतमा १२ बर्ष अगाडि रेकर्ड गरिएको गीतको चर्चा त्यतिबेला निकै चुलिएको थियो। मिलन नेवारको आवाजमा फिमेल भर्सनमा रिलिज भएको गीतले रेकर्डमय दर्शकको साथ बटुलेको थियो। अरिश्मा शिवाकोटीको आवाजमा गीतको चाइल्ड पनि भर्सन रिलिज भएको थियो।

    लिजेण्डरी भर्सनको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा फिचर्ड छन् । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन्। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

    भिडियो रिलिज कार्यक्रममा बरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अतिथि थिए। हरिवंशले गीत र भिडियोको खुलेर प्रशंसा गरे। समारोहमा आचार्यलाई सम्मान गरिएको थियो।

  • प्रदीप खड्का र रेनु योगीले ‘प्रकाश’मा जोडी बाँध्ने

    प्रदीप खड्का र रेनु योगीले ‘प्रकाश’मा जोडी बाँध्ने

    काठमाडौं । दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’ छायांकनको औपचारिक घोषणा भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे जानकारी दिइयो ।

    प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्ममा रेनु योगीले लिड फिमेलको रुपमा डेब्यु गर्दैछिन् । नाटक अभिनेत्री समेत रहेकी योगीलाई खड्काको लभर गर्लको रुपमा कास्ट गर्ने तयारी छ ।

    फागुनको दोस्रो सातादेखि जुम्लामा छायांकन हुने फिल्मलाई सन् २०२१ भित्रै प्रदर्शन गर्ने लक्ष्य छ । नेपाल प्रेससँग कुरा गदै निर्देशक राउतले दुर्गमको एउटा विपन्न युवाले सरकारी जागिर पाउनका लागि गर्ने संघर्षलाई फिल्मले चित्रण गर्ने जानकारी दिए ।

    यसअघि प्रसाद, पर्व, क्लासिक, नोभेम्बर रेइन र आइएम सरी राउतका हिट फिल्म हुन् । फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी लगायतले अभिनय गर्नेछन् । विकास सुवेदीले कथा लेखेका हुन् ।

    बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीले फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गर्नेछन् ।

  • महावीर पुनको बायोपिक फिल्म मार्चमा रिलिज हुने, टीजर पोस्टर सार्वजनिक

    महावीर पुनको बायोपिक फिल्म मार्चमा रिलिज हुने, टीजर पोस्टर सार्वजनिक

    काठमाडौं । रोमन म्यागासेसे विजेता एवं प्रविधि अभियन्ता महावीर पुनको जीवनमाथि बनेको बायोपिक फिल्म ‘महावीर पुन’ आगामी मार्च महिनाको दोस्रो सातामा रिलिज हुने भएको छ ।

    फिचर लेङ्थ डकुमेन्ट्री बताइएको यो फिल्मको टीजर पोस्टर पनि सार्वजनिक गरिएको छ । केही अन्तराष्ट्रिय प्रोजेक्ट र नेपाली टिभी सिरिज ‘जातको प्रश्न’ निर्माण गरिसकेको शान्ता नेपाली प्रोडक्सनले फिल्म निर्माण गरेको हो ।

    फिल्ममा पुनसहित राष्ट्रिय आविष्कार केन्द्रमा कार्यरत अन्य आविष्कारकलाई पनि चित्रण गरिएको निर्देशक शान्त नेपालीले बताइन् । एक महिना लगाएर छायांकन गरिएको डकुमेन्ट्रीलाई राष्ट्रिय आविष्कार केन्द्रमै सुट गरिएको हो ।

    ‘पुनको जीवनले निराशामा बाँचिरहेका धेरै नेपाली युवाहरुलाई प्रेरणा दिनेछ भन्ने उद्देश्यले फिल्म बनाएका हौं’ नेपालीले भनिन्, ‘यसले एउटा आशा प्रदान गर्छ र बाँच्ने उत्सुकता पनि ।’ फिल्ममा पुनको पृष्ठभूमि पनि समेटिएको छ ।

    फिल्मलाई बढीभन्दा बढी दर्शकमाझ पुग्ने गरि कुनै प्लेटफर्मबाट रिलिज गरिने भएको छ ।

    म्याग्दीमा जन्मिएका पुनले नागी, पुनहिल, टोड्के, मुस्ताङसहित अन्नपूर्ण चक्रीय पदमार्गमा बेतारे (वायरलेस) इन्टरनेट संजाल विस्तार गरेका थिए । गाउँमा विद्युतीय सुशासन थालनी गर्ने श्रेय उनलाई जान्छ । यही योगदानस्वरुप सन् २००७ मा रोमन म्यागासेसे र २०१४ मा इन्टरनेट हल अफ फेम प्रदान गरिएको थियो ।

    शान्त नेपाली प्रोडक्सनले चाहिँ यसअघि हलिउड अभिनेता मोर्गन फ्रिम्यान स्टारर टिभी सिरिज ‘स्टोरी अफ गड’ लगायतका विदेशी प्रोजेक्टमा पनि काम गरिसकेको छ ।