काठमाडौं- पछिल्लो समय नेपाली फिल्म क्षेत्र तन्नेरीको आकर्षणको थलो बन्दै आएको छ । आफ्नो रुचि र सपनालाई बुन्ने थलोको रुपमा नेपाली फिल्म, रंगमंच र मोडलिङ स्थापित हुन थालेको छ ।
स्नातक दोस्रो वर्ष अध्ययन गरिरहेका छेतेन शेर्पा यिनै तन्नेरीमध्ये एक हुन् जसको सपना नेपाली फिल्म उद्योगमा स्थापित हुनेछ । झट्ट हेर्दा कोरियाली लुक्स र गेटअपमा देखिने शेर्पाको प्यासन नेपाली फिल्ममा अभिनय गर्नु हो ।
पढाइ सक्ने वित्तिकै रंगमंचमा लाग्ने उनको तयारी छ । अहिले उनी कलेज पछाडिको समयलाई मोडलिङ सिक्न र फिल्म क्षेत्रका व्यक्तिसँग परामर्श गर्न व्यस्त छन् । केही फिल्म निर्माताले कोरियन लुक्स रहेको बताएको उनले सुनाए ।
सानैदेखि रंगमंचमा आफ्नो रुचि रहेकाले पनि फिल्म र रंगमंचमा भविष्य देखेको शेर्पाले बताए ।
काठमाडौं- इन्टरनेटमा नेपाली सहभागिता प्रभावशाली बन्दै गएको छ । सामाजिक संजाल लोकप्रियता मापन गर्ने सूचक बन्न थालेका छन् ।
हलिउडमा गत वर्ष नेपाली तन्नेरी अभिनव बस्ताकोटी टिकटक प्लेटफर्मको माध्यमबाट रातारात सेलेव्रिटी बने । बेलायती र अमेरिकी अखबारले उनको बारेमा फिचर्ड गर्दै उनको प्रसिद्धिको व्याख्या गरे ।
यो मेसोमा थपिएका छन् अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने नेपाली तन्नेरी विजय बानियाँ (बिज्जु) । प्रतिष्ठित अष्ट्रेलियाली अखबार डेली टेलिग्राफले बानियाँलाई प्रभावशाली सय व्यक्तित्वको सूचीमा समावेश गरेको छ । उनी ५४औं स्थानमा छन् ।
सूचीमा अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र अष्ट्रेलियाली मूलका हलिउड अभिनेताहरु क्रिस हेम्सवर्थ र ह्युग ज्याकम्यान समेत छन् । बानियाँलाई टिकटकमा ९६ लाखले पछ्याएका छन् ।
काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को आयोजनामा १४ वर्षदेखि फिल्म अवार्ड आयोजना हुँदै आइरहेको छ । सधैंजसो विदेशमा आयोजना हुने अवार्डको १०औं संस्करण चाहिं कोभिड-१९ महामारीको कारण यसपटक स्वदेशमा हुँदैछ । फागुन २९ गते काठमाडौंमा अवार्ड आयोजना हुनेछ ।
कोभिड महामारी र लकडाउनबाट प्रभावित नेपाली फिल्म क्षेत्र र सबैभन्दा बढी प्रभावित प्राविधिकको पुनरुत्थानमा अवार्ड महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । लकडाउनपछि पहिलोपटक नेपाली फिल्मको बृहत् अवार्ड कार्यक्रम हुन लागेको हो । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा योगदान दिएको नेफ्टा फिल्म अवार्ड स्वदेशमा हुनुले कस्तो अर्थ राख्छ ? यी विविध विषयमा नेफ्टा अध्यक्ष पुष्कर लामाले नेपाल प्रेससँग कुरा गरेका छन् । प्रस्तुत छ उनीसँगको संवाद :
कोभिडको जोखिम कायमै रहेको बेला कसरी यो बृहत् अवार्ड समारोह आयोजना गर्दै हुनुहुन्छ ?
नेफ्टाको पनि आफ्नै टीम छ । आयोजक ड्रिम हाइ नेपालले पनि साथ दिएको छ हामीलाई । कोभिडले थिलोथिलो बनाएर राखेको चलचित्र क्षेत्रलाई लयमा ल्याउन हामीले आँट गरेका छौं । यो समयमा फिल्मलाई चलायमान बनाउनको लागि नेफ्टा फिल्म अवार्ड गर्न लागेका हौं । यसले फिल्मलाई योगदान दिनेछ । सामाजिक मापदण्डलाई पालना गर्दै नेफ्टा अवार्डलाई अगाडि बढाएका छौं । अहिले बृहतरुपमा अवार्ड सम्पन्न गर्न तयारी भैरहेको छ ।
अस्कर, गोल्डेन ग्लोब्सजस्ता विश्व चर्चित अवार्ड भर्चुअल माध्यमबाट भैरहेको बेला किन भौतिक उपस्थितिमा अवार्ड गर्न लाग्नुभएको हो ?
भर्चुअलरुपमा गर्दा सोचेको जस्तो अवार्डलाई माइलेज आउँदैन । लाइभ गरेर अवार्ड आयोजना गर्नुको छुट्टै मजा र आनन्द छ । भौतिकरुपमा गर्दा प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका मिल्छ । यसकारणले भर्चुअल नभएर लाइभरुपमै गर्न लागेका हौं ।
महामारीले सबैभन्दा प्रभावित फिल्म प्राविधिक भए । यसो भैरहँदा अवार्ड आयोजना गर्न कसरी पूँजी व्यवस्थापन गर्नुभएको छ ?
धेरै चुनौती छ । त्यसको बाबजूद पनि त्यसलाई मूर्तरुप दिन हाम्रो टीम अहोरात्र खटेर तयारी गरिरहेको छ । यसलाई सबैले बुझ्नु जरुरी छ । अहिले कोभिडको कारण केही हल बन्द हुने अवस्थामा छन् । हल बन्द हुँदा प्राविधिकलाई झनै समस्या पर्छ । यसलाई रोक्न हामी सबै चलचित्रकर्मी एक भएर चलचित्र क्षेत्रलाई टेवा पुग्ने खालको कार्यक्रम र संरचनालाई एकद्वार प्रणालीबाट गर्न सके राम्रो हुन्छ । विगतमा अवार्ड गर्दा जुन हिसाबको रौनक र सहभागिता थियो, त्यो चीज यसपालि देखिएको छैन ।
हामीले यसपटक अघिल्लो पटकभन्दा बढी उपस्थिति हुने आशा गरेका थियौं । सबैको साथ र सहभागिताको आशा गरेका थियौं । तर, त्यो चीज हामीले न्यून पायौं । यसमा हामी एकदमै दुःखी छौं । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चलचित्र क्षेत्रमा कर्म गरिरहेका मानिसलाई अप्ठ्यारो हुनसक्छ । चलचित्र प्राविधिक संघले इमानदारीपूर्वक स्वार्थलाई पर राखेर, दायित्वलाई पूरा गरिरहेका छौं । यो चीजमा हामीले उहाँहरुलाई आह्वान गरेका छौं । त्यो समयसम्म नेफ्टाका लागि हामीलाई साथ मिल्छ भन्ने आशा छ ।
नेफ्टाको प्राथमिकता कोभिडबाट प्रभावित आफ्ना सदस्यलाई राहत दिनु हो । अवार्डले कसरी नेपाली फिल्मलाई पुनरुत्थान दिलाउन सक्छ ? अवार्डको भूमिका के हुन्छ ?
अवार्डले प्रत्यक्षरुपमा नेपाली फिल्मलाई टेवा पुग्ने भएरै हामीले कहीं पनि कन्जुस्याइँ नगरिकन यसलाई अनवरत रुपमा लागेर कार्यक्रम सफल बनाउन लागिरहेका छौं । साथै श्रमजीवी चलचित्रकर्मीले साथ दिए कार्यक्रम सफल हुनसक्छ ।
बेरोजगार भएर बसेका चलचित्रकर्मीलाई प्रत्यक्ष फाइदा पुग्न सक्छ । कोरोनाले थलिएको नेपाली फिल्म क्षेत्रलाई रिकभर गर्न अवार्डले मद्दत पुर्याउँछ भन्ने मलाई विश्वास छ । यदि यस्तो खालको कार्यक्रम असफल भए भने भविष्यमा बेरोजगारीको परिस्थिति अझै बढ्न सक्छ । त्यो परिस्थितिलाई रोक्नका लागि आउनुस्, चलचित्र क्षेत्रलाई चलायमान बनाऔं । विगतको भन्दा अझ समृद्ध भएर अघि बढे चलचित्र क्षेत्र राम्रो बन्न सक्छ ।
विदेशमा अवार्ड गर्दा र स्वदेशमा गर्दाका सजिलो र कठिनाइ के-के हुँदोरहेछ ?
विदेशमा अवार्ड गर्दा एक किसिमको ठूलो चुनौती छ र खर्च पनि एकदम ठूलो आउँछ । नेपालमा गर्दा खर्च कम हुन्छ तर हाम्रो अवार्डको क्यानभास ठूलै हुने भएकाले खर्च धेरै नै हुन्छ । विदेशमा अवार्ड गर्दा भिजा, प्रोटोकल मेन्टेन गर्न गाह्रो थियो । नेफ्टा अवार्ड गर्नुको मुख्य उद्देश्य भनेको नेपाली चलचित्रलाई प्रवर्धन र प्रोत्साहन गर्नु नै हो ।
विदेशमा गर्दा विदेशी बजारको खोजी र अन्तर्राष्ट्रियकरण गर्नु पनि हो । यही क्रममा हामीले २०१३ मा मलेसियामा गरेका थियौं । त्यसपछि हङकङ, कतार र दुबईमा गरेका छौं । दुबई अवार्डमा राजकुमार स्वयम् आएर हामीलाई त्यहाँको सरकारले पनि सहयोग गरेको थियो । त्यो समयको आयोजकलाई पुनः म सम्झन चाहन्छु र भित्री मनदेखि नै धन्यवाद दिन चाहन्छु । किनभने त्यो लेभलको अवार्ड न त विगतमा थियो न त भविष्यमा नै हुन्छ । अहिलेसम्म त्यस्तो खालको परिदृश्य देखेको छैन ।
हामीले नेपाल भ्रमण वर्षलाई सहयोग गर्नको लागि टुँडिखेलमा अवार्ड गर्ने योजना बनाएका थियौं तर कोभिड लकडाउनले गर्दा त्यो स्थगित भयो । त्यसको बाबजूद पनि हामी चिन्तित थियौं । यो चीजलाई कसरी सफल बनाउने भन्ने कुरामा त्यसपछि हामी लाग्यौं । विस्तारै लकडाउन खुकुलो बनेपछि हामीले अवार्ड गर्न आँट गरेका हौं । करिब ९० प्रतिशत तयारी पूरा भएको छ ।
अवार्डलाई निष्पक्ष र मर्यादित तुल्याउन कसरी व्यवस्थापन मिलाउनुभएको छ ?
हामीले आफ्नो पक्षबाट निर्णायक राखेका हुन्छौं । उनीहरुलाई हामीले हस्तक्षेप नगरिकन स्वतन्त्रतापूर्वक जिम्मा लगाएका हुन्छौं । सही वा गलत निर्णय जे आए पनि तपाईंको जिम्मा हो भनेर हामीले उहाँहरुलाई जिम्मा दिएका हुन्छौं । पक्कै पनि निष्पक्ष हिसाबमै यसको नतिजा आउँछ । अर्को कुरा, अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि सबैको उद्देश्य विवादरहित ढंगले अवार्ड गरौं भन्ने हुन्छ । हामीले पनि त्यसलाई निरन्तरता दिनेछौं ।
यसपटकको अवार्डका आकर्षण र विशेषता के हुन्छन् ?
यसपटक हामीले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान र प्राविधिकलाई सम्मान गर्नेछौं । अहिलेसम्म जीवित रहेका प्रकाश व्यवस्थापक (लाइटमेन) जसले चार दशकदेखि काम गर्दै आउनुभएको छ । ध्वनि र लाइट विधाका साथीहरुलाई सम्मान गर्दैछौं । अन्य सम्मान पनि हुन्छन् । धेरै आकर्षणका पक्ष छन् यसपटकको अवार्डमा ।
कोभिडबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भनेकै चलचित्र क्षेत्र हो । त्यो क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण साँघुरो हो कि जस्तो लाग्छ ।
कोभिडबाट प्रभावित प्राविधिकलाई राहत प्रदान गर्न नेफ्टाले कस्तो खालको भूमिका खेलिरहेको छ ?
पछिल्लो समय स्थिति केही सहज बनेको छ । उहाँहरु पनि सहज ढंगले काम गरिराख्नुभएको छ । उहाँहरुले आफ्नो दैनिक जीवन चलाउनुभएको छ । पहिलेको अनुपातमा रिकभर भैसकेको छैन । यदि हामी एकताबद्ध भएर राम्रो काम गर्ने अनि हल बन्द नहुने हो भने पहिलेकै स्थितिमा आउन समय लाग्दैन भन्ने लाग्छ मलाई । कोभिडबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भनेकै चलचित्र क्षेत्र हो । त्यो क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण साँघुरो हो कि जस्तो लाग्छ । चलचित्र क्षेत्रलाई उहाँहरुले अर्कै ग्रहबाट आएको क्षेत्रको रुपमा लिएको जस्तो लागेको छ । उहाँहरुले फिल्मलाई प्राथमिकतामा राखेको भए अहिले हल बन्द हुने स्थिति आउँदैनथ्याे। यसकारण अभिभावकले चलचित्र क्षेत्रलाई गम्भीरतापूर्वक नलिएको जस्तो लागेको छ ।
जबसम्म विदेशीले नेपाली फिल्म हेर्ने बानी बसाल्दैन तबसम्म नेपाली चलचित्र क्षेत्रको बजार फराकिलो हुँदैन । विदेशीलाई नेपाली फिल्म हेर्ने बानी बसाल्न हामीले तयारी गर्नुपर्छ जस्तो लाग्छ मलाई ।
नेफ्टा अवार्डका आगामी संस्करणलाई स्वदेश वा विदेशमै निरन्तरता दिने तपाईहरुको तयारी कस्तो छ ?
विदेशमै गर्ने काम निरन्तर हुन्छ । यसअघि पनि मध्यपूर्वमा बजार खोज्ने काम भएको थियो । त्यहाँका साथीहरुसँग मिलेर हामीले मध्यपूर्वका मल्टिप्लेक्समा शुक्रबार, शनिबार र आइतबार हप्ताको तीन साता फिल्म चलाउने ट्रेन्ड बसालेका थियौं । त्यो काम कोभिडकै कारण अहिले बन्द भएको छ । त्यो कामले निरन्तरता पाउने अपेक्षा छ । जबसम्म विदेशीले नेपाली फिल्म हेर्ने बानी बसाल्दैन तबसम्म नेपाली चलचित्र क्षेत्रको बजार फराकिलो हुँदैन । विदेशीलाई नेपाली फिल्म हेर्ने बानी बसाल्न हामीले तयारी गर्नुपर्छ जस्तो लाग्छ मलाई ।
अन्त्यमा नेपाल प्रेसका पाठक र भिडिओ दर्शकलाई के भन्न चाहनुहुन्छ ?
नेपाली फिल्म हेर्नूस् र माया गरिदिनूस् । नेपाली चलचित्रका अवार्डलाई अझ बढी सजिलो हुन्छ र ऊर्जा बढ्नेछ । अरु अवार्डलाई जस्तै नेफ्टा फिल्म अवार्डबारे पनि धेरै काम गर्न सकिन्छ । सबैको माया, साथ र सहयोग भएको कारणले नेफ्टा अवार्ड सफल भएको छ । यो अवार्ड सिंगो चलचित्रकर्मीको अवार्ड हो । यसरी नै सोचेर सफल बनाउनुपर्छ भन्दै आइरहेका छौं । अवार्ड आउन केही दिन बाँकी छ । त्यतिञ्जेलसम्म नेफ्टा अवार्डलाई सहयोग गरौं । सहयोग प्राप्त भए ११औं संस्करण गर्न हामीलाई सजिलो हुनेछ ।
काठमाडौं । संचार मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र जाँच समितिका रिक्त सदस्य पदमा नियुक्ती गरेको छ । बोर्डको रिक्त सदस्यमा नुवाकोटका अर्जुनकुमार डंगोल, मोरङका प्रकाश भट्टराई, फनिन्द्रकुमार कट्वाल (राज) नियुक्ती भएका छन् ।
डंगोल फिल्म निर्माता एवं गायक हुन् । भट्टराई निर्देशक र कट्वाल फिल्म अभिनेता हुन् ।
चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा ओखलढुंगाका सन्तोषकुमार थापा र मोरङकी मीनाक्षी कोइराला नियुक्ती भएका छन् ।
संचार मन्त्रालयमा आयोजित समारोहमा नियुक्त सदस्यहरुलाई प्रमाणपत्र दिँदै संचारमन्त्री पार्वत गुरुङले विकृति र विसंगतिरहित चलचित्र क्षेत्र बनाउन भूमिका खेल्न आग्रह गरे ।
उनले नियुक्त सदस्यहरुलाई मर्यादित भएर काम गर्न आग्रह गरे । उक्त अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि उपस्थित थिए । सबैजनाको कार्यकाल दुई–दुईवर्षको हुनेछ ।
काठमाडौं । लोकप्रिय नेपाली टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ ।
प्रत्येक साता शुक्रबार र शनिबार बेलुका ९ बजेदेखि कान्तिपुर टेलिभिजनमा सो प्रसारण हुने जनाइएको छ । गतवर्षदेखि सोले प्रसारण सुरुआत गरेको थियो ।
विशाल भण्डारीले निर्देशन गर्ने सोलाई केकी अधिकारी लगायतले मिलेर निर्माण गरेका हुन् । चार भागमा अडिसन चरण प्रसारण गर्ने जनाइएको छ । यसअघि अडिसन राउन्ड प्रसारण भएको थिएन ।
अडिसन चरण प्रसारण सकिएपछि सो सीधै उत्कृष्ट २४ मा प्रवेश गर्नेछ । निर्माताले यसलाई ग्रान्ड प्रिमियर भनेका छन् । अधिकारीसहितको थ्री प्रोडक्सनले यसलाई निर्माण गरेको हो ।
सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक छन् ।
काठमाडौं- तीनवर्ष प्रतिबन्ध खेपेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शान्तिपूर्ण राजनीतिमा फर्किएका छन् । सरकार र उनको दलबीच राष्ट्रिय सभागृहमा सम्झौता समेत हुँदैछ ।
यही मेसोमा हाँस्य कलाकार मनोज गजुरेलले विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किन लागेको कदमको स्वागत गरेका छन् । उनले ‘विप्लव डे’को शुभकामना भन्दै विप्लवलाई बधाइ पनि दिएका छन् ।
शान्तिपूर्ण राजनीतिसँग विप्लवको डिप-लभ परोस भन्दै गजुरेलले शुभकामना पनि दिएका छन् । सहकार्यको कुटनीतिसँग सरकारले सम्झौता गर्नुपर्ने समेत उनले लेखेका छन् । विप्लव र सरकारबीचको सम्झौता पार्टीहितभन्दा जनहितमा हुनुपर्ने उनले उल्लेख गरेका छन् ।
‘कमेडी च्याम्पियन’को सिजन-२ सुरु हुने दिन र विप्लव शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गर्ने दिन संयोगवश एकैदिन परेको छ ।
काठमाडौं । शुक्रबार दुई फिल्म नेपाली हलमा रिलिज भएका छन् । नेपाली भाषाको फिल्म ‘गोर्खे’ र हलिउड फिल्म ‘राया एन्ड द लास्ट ड्रागन’ प्रदर्शनमा आएका हुन् ।
‘गोर्खे’ भाइरस लकडाउनपछि रिलिज हुने दोस्रो घरेलु फिल्म हो । यसअघि रिलिज भएको शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ व्यवसायिक र समिक्षात्मक कोणमा असफल भयो ।
किम्मत गौतमको निर्देशन रहेको गोर्खेलाई प्राविधिक हरि लामाले निर्माण गरेका हुन् । लामा लामो समयदेखि फिल्म छायांकनमा सक्रिय छन् । रविन्द्रप्रताप सेन, अर्जुन गुरुङ, एन्जल श्रेष्ठ, अञ्जली अधिकारी, अस्मी श्रेष्ठ, साजन तामाङको अभिनय छ ।
भारतीय सेनामा भर्ती भएर देशको सेवा गर्ने उद्देश्य लिएको एक नेपाली युवाको सपनामा फिल्म आधारित छ । एक्सन–लभस्टोरी विधामा यसलाई राखिएको छ ।
‘राया एन्ड द लास्ट ड्रागन’ एनिमेसन, एड्भेन्चर र एक्सन हलिउड फिल्म हो । डन हल र कार्लोस लोपेजे एस्ट्राडाले मिलेर निर्देशन गरेको फिल्मले कुमुन्द्रा नामक एक काल्पनिक ग्रहमा ड्रयागनको खोजीका लागि राया नामक पात्रले गर्ने संघर्ष चित्रण गर्छ ।
काठमाडौं- गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा निशा शर्मा अर्यालको शब्द, दीपक शर्माको संगीत छ ।
सार्वजनिक गीतले प्रेमी-प्रेमिकाविचको प्रेम र समर्पण चित्रण गरेको छ ।
गीतको भिडियोमा पल शाह र उषा उप्रेतीको जोडीलाई देख्न सकिन्छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा विधानले यूवा–यूवतीविचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशिनुको कथा उठान गरेका छन् ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोलाई विधानले कलरफूल बनाएका छन् । पल र उषाको जोडी भिडियोमा सुहाएको छ ।
काठमाडौं । १० औं नेफ्टा फिल्म अवार्ड फागुन २९ गते काठमाडौंमा हुँदैछ । चलचित्र प्राविधिक संघको आयोजनामा हुने अवार्डमा गतवर्ष मनोनित फिल्मका विजेताले अवार्ड प्राप्त गर्नेछन् ।
अवार्डलाई भव्य बनाउन कलाकारले नृत्य प्रस्तुति दिँदैछन् । राष्ट्रिय नाचघरमा कलाकारले डान्स रिहर्सल गरिरहेका छन् । सुरक्षा पन्त, प्रमोद अग्रहरि, सलोन बस्नेत, शोभित बस्नेत, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रुबिना थापा, जेविका कार्कीले नृत्य सिकिरहेका छन् ।
नरेशविर सिंहले नृत्य निर्देशन गरिरहेका छन् । एलआइसी नेपालले प्रायोजन गर्ने अवार्ड सोल्टी क्राउन प्लाजामा हुनेछ । कोरोनाभाइरस महामारीपछि पहिलोपटक फिल्म अवार्ड हुन लागेको हो ।
कोरोनाले थलिएको नेपाली फिल्मलाई लयमा ल्याउन अवार्ड महत्वपूर्ण हुने आशा प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले राखेका छन् । यसअघि विदेशमा हुँदै आएको अवार्ड यसपटक भने स्वदेशमै हुन लागेको हो ।
काठमाडौं- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक ‘द ट्रुथ्स वी होल्ड’ नेपाली भाषामा प्रकाशन हुने भएको छ ।
नेपाली प्रकाशन संस्था वी रीडले ह्यारिसको उक्त पुस्तक नेपाली संस्करणमा प्रकाशन गर्न अनुमति पाएको विज्ञप्तीमार्फत जनाएको छ ।
वक्तव्यमा उल्लेख छ, ‘सानैदेखि कालो वर्णका मानिसले भोग्ने विभेद र त्यसको प्रतिरोध कमलाले देखिन् । उनी आफैले पनि त्यस्तो विभेद बाल्यकालदेखि नै भोग्नुपर्यो । यही भोगाइ उनको राजनीतिमा सक्रिय हुने एउटा प्रेरणा बन्यो ।
बेस्ट सेलरको सूचिमा पर्न सफल ह्यारिसको उक्त पुस्तकलाई अंग्रेजी संस्करणमा पेन्गुइन बुक्सले जनवरी ८, २०१९ मा प्रकाशन गरेको थियो ।
यसवर्षको जनवरी २० मा भारतीय मूलकी ह्यारिसले अमेरिकाको उपराष्ट्रपति पदको सपथ लिएकी थिइन् । कथालयकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले पुस्तक चाँडै प्रकाशन गर्ने जानकारी दिइन् ।
कमलाको चुनावी अभियानअघि नै यो पुस्तक सार्वजनिक भएको थियो ।
काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो ।
दशकअघि निर्माण भएको ‘आँधी तुफान’को सिक्वेलको रुपमा फिल्म निर्माण हुन लागेको हो । निर्माता मौनता श्रेष्ठ हुन् । उनले एकसय बढी फिल्म लेखेका छन् ।
मदन घिमिरेको निर्देशन रहने फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुष्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम लगायतको अभिनय हुने जनाइएको छ ।
थ्रिलर र सस्पेन्स विधामा नारी एक्सन समेटेर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए ।
चैतको पहिलो साताबाट छायाँकन सुरु हुने फिल्ममा रामशरण उप्रेतीको सिनेम्याटोग्राफी, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।
काठमाडौं- तीनवर्षे नेपाली बालिका समाइरा थापा अहिले भारतीय रियालिटी सोमा चर्चित छिन् । सानै उमेरमा टीकटक स्टार बनेकी यी फुच्चीको फ्यान हुने सूचिमा थपिएकी छिन् बलिउड डीभा एवं ‘धकधक गर्ल’ माधुरी दीक्षित ।
समाइराकी दिदीले बुधबार इस्टाग्राममा पोस्ट गरेको एउटा तस्विरमा माधुरीले समाइरालाई मायालु तरिकाले बोकेको देख्न सकिन्छ । जुन तस्विर रियालिटी सो ‘डान्स दिवाने ३’ सिजनबाट लिइएको हो ।
हरियो फ्रकमा समाइराले पोज दिएको देख्न सकिन्छ । उक्त तस्विर पोस्ट भए लगत्तै प्रशंसकले मुटु आकारको रातो इमोजीसहितका टन्नै प्रतिक्रिया दिएका छन् । आकर्षक नृत्य प्रस्तुतिका कारण बलिउड अभिनेत्री एवं जज माधुरी दीक्षित समेत समाइराकी प्रशंसक बनेकी छिन् ।
माधुरीले धेरैपटक उक्त सोमा समाइरासहित नेपाल र नेपालीको समेत प्रशंसा गरेकी छिन् ।
काठमाडौं । कोरोनाभाइरस महामारीपछि नेपाली फिल्मले हाइव्रिड मोडेलको वितरण प्रणाली आत्मसात गरेको छ । यसो भन्नुको अर्थ फिल्म हल र डिजिटल प्लेटफर्ममा एकसाथ रिलिज हुनु हो ।
सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली) फिल्म ‘म त मर्छु कि क्या हो’ आधादर्जन ओटीटी प्लेटफर्मबाट विश्वब्यापी रिलिज हुने भएको छ । फिल्मको डिजिटल अधिकार खरिद गरेको ए-८ फिल्मले एक महिनाभित्र फिल्मलाई रिलिज गर्न लागेको हो ।
सेन्टी-भाइरसपछि धुर्मुस–सुन्तलीको यो अर्को फिचर फिल्म हो । यसको लेखन एवं निर्देशन र निर्माण पनि धुर्मुस सुन्तली गरेका हुन् । धुर्मुस-सुन्तलीको मुख्य भूमिका रहेको फिल्ममा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोलको अभिनय छ ।
सामाजिक कथावस्तु समेटिएको फिल्मलाई एक महिनाभित्र सुविसी, ओहोमूभिज, वल्र्डलिंक, डिसहोम, नेपाल टेलिकम र एनसेलका प्लेटफर्ममा रिलिज गरिने भएको छ । भाइरस महामारीअघि धुर्मुस–सुन्तलीको सेन्टी भाइरस रिलिज भएको थियो ।
काठमाडौं । १० औं नेफ्टा फिल्म अवार्ड फागुन २९ गते काठमाडौंमा हुँदैछ । चलचित्र प्राविधिक संघको आयोजनामा हुने अवार्डमा गतवर्ष मनोनित फिल्मका विजेताले अवार्ड प्राप्त गर्नेछन् ।
अवार्डलाई भव्य बनाउन कलाकारले नृत्य प्रस्तुति दिँदैछन् । राष्ट्रिय नाचघरमा कलाकारले डान्स रिहर्सल गरिरहेका छन् । सुरक्षा पन्त, प्रमोद अग्रहरि, सलोन बस्नेत, शोभित बस्नेत, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रुबिना थापा, जेविका कार्कीले नृत्य सिकिरहेका छन् ।
नरेशविर सिंहले नृत्य निर्देशन गरिरहेका छन् । एलआइसी नेपालले प्रायोजन गर्ने अवार्ड सोल्टी क्राउन प्लाजामा हुनेछ । कोरोनाभाइरस महामारीपछि पहिलोपटक फिल्म अवार्ड हुन लागेको हो ।
कोरोनाले थलिएको नेपाली फिल्मलाई लयमा ल्याउन अवार्ड महत्वपूर्ण हुने आशा प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले राखेका छन् । यसअघि विदेशमा हुँदै आएको अवार्ड यसपटक भने स्वदेशमै हुन लागेको हो ।
काठमाडौं । गतसाता चीनले सिंगो मुलुक नै गरिबीमुक्त भएको घोषणा गर्यो । चिनियाँ विशेषतासहितको मापदण्डअनुसार १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरिएको घोषणा राष्ट्रपति सी जिङपिङले गरेका थिए ।
चिनियाँ संचारमाध्यमले यसलाई मानव इतिहासकै ठूलो काम भनिरहेका छन् । तर, पश्चिमा संचारमाध्यमले चाहिँ चिनियाँ मापदण्डको गरिबी निवारण्मा भने आशंका गरिरहेका छन् ।
चिनियाँ नेतादेखि कुटनीतिज्ञ समेत अहिले चीन गरिबीमुक्त भएको पुष्टि गर्न सक्रिय भएका छन् । यो मामिलामा नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीसमेत सक्रिय छिन् । चीन अब गरिब नरहेको औचित्य पुष्टि गर्न यान्छीले बुधबार ५० मिनेट लामो एउटा डकुमेन्ट्री फिल्म सार्वजनिक गरेकी छिन् ।
न्यू चाइना टिभीको उक्त डकुमेन्ट्रीमा चीनले कसरी गरिबी निवारण गर्न सक्यो भन्ने कुरा चित्रण गरिएको छ । राजदूत यान्छीले सेयर गरेको डकुमेन्ट्री यस्तो छ । हेर्नूस :
काठमाडौं– अभिनेत्री उपासनासिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखा शुभारम्भ गरेकी छिन् । ठकुरी यो एजुकेसन कन्सलटेन्सीकी ब्राण्ड एम्बेसडर समेत हुन ।
काठमाण्डौको नयाँ बानेश्वरमा रहेको नयां शाखाको उपासनासहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले शुभारम्भ गरेका हुन ।
उद्घाटन कार्यक्रममा अभिनेत्री ठकुरीले लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिन पाएकोमा खुशि व्यक्त गरिन् ।
‘सस्थाको बिगतको कार्य सही लागेर एम्बेसडरको रूपमा काम गर्ने सहमति जनाएकी हुँ’, उपासनाले भनिन् । संस्थाका प्रमुख सुनील उप्रेतीले पछील्लो समय युवा दर्शकमाझ राम्रो क्रेज बनाउन सफल ठकुरीलाई ब्राण्ड दूतको रुपमा छनौट गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे ।
मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ बिजेता निकिता कर्माचार्यले संस्थाको सफलताको शुभकामना ब्यक्त गरे ।
‘बिध्यार्थीको सन्तुष्टी नै आफ्नो संस्थाको लक्ष्य भएको कुरा बताउँदै नबराज प्रसाईँ , नितेश उप्रेती र इश्वरराज मैनालीले आगामी दिनमा एजुकेसन एण्ड माइग्रेसन कर्नर बृहत र बिस्तारित रूपमा अगाडि बढ्ने बताए ।
पोखरा। हलमा नेपाली फिल्ममात्रै चल्ने तर, गैर नेपाली भाषी फिल्म सधैं च्यारिटीकै भर पर्नु परेको भन्दै गुरुङ फिल्म एसोसियसन (जिफान)ले माघदेखि गुरुङ भाषाका फिल्म नियमित रुपमा हलमा चलाउने घोषणा गर्यो ।
सभागृहस्थित मिडटाउन ग्यालेरियामा माघ २३ गतेदेखि असार ५ गतेसम्म गुरुङ भाषाका विभिन्न फिल्म प्रदर्शन गर्ने एसोसियसन अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिएका थिए । त्यसअनुरुप दिउँसो १२ र २ बजेको समय तालिकासमेत सार्वजनिक भइसकेको थियो ।
एसोसियसनले योजनाअनुरुप केही फिल्महरु पनि चलायो । तर, अपेक्षाबमोजिम दर्शकहरु आइदिएनन् । दर्शक अभावकै कारण फिल्म निर्माताको लगानीसमेत डुब्ने खतरा बढ्यो ।
हलमा नियमित गुरुङ फिल्म सञ्चालन गर्ने घोषणा गरेको एक महिना नबित्दै जिफान पुनः च्यारिटी प्रदर्शनमै फर्किएको छ । हलमा नियमित फिल्म प्रदर्शन गर्दा दर्शक पनि नआउने र लगानीसमेत जोखिममा परेपछि फेरि पुरानै अवस्थामा फर्किनु परेको जिफान गण्डकी अध्यक्ष अध्यक्ष माओत्से गुरुङ बताउँछन् ।
‘हलमा अपेक्षित दर्शक आइदिएनन् । त्यसमाथि हामीले कोरोना महामारी नसकिँदै गुरुङ भाषाको फिल्म नियमित सञ्चालन गर्ने जमर्को गरेका थियौं,’ गुरुङ भन्छन्, ‘कोरोना महामारीपछि हलमा लागेका नेपाली फिल्मलेसमेत खुसी दिन नसकेको स्थिति छ ।’
नेपाली फिल्ममा नेपाली भाषाको फिल्मपछि सबैभन्दा बढी लगानी गुरुङ फिल्ममा हुन्छ । तर, पर्याप्त दर्शकको साथ नपाउँदै च्यारिटी सोमै सीमित हुनुपरेको गुरुङ बताउँछन् । ‘गुरुङ फिल्मलाई गुरुङ समुदायले नै वेवास्ता गरे गुरुङ चलचित्रको पत्ता साफ हुनेछ,’ उनले चेतावनी दिए ।
हलमा चलाउँदा महँगो भाडा तिर्नुपर्ने तर, सोही अनुसार दर्शकको अभाव हुने माओत्से सुनाउँछन् । ‘हलमा २–३ सय जनाका लागि महङ्गो भाडा रकम तिर्नुपर्छ तर पार्टी प्यालेस च्यारिटी सो गरे सजिलो पनि हुन्छ । लगानी पनि उठ्छ,’ उनले भने ।
हलमा नियमित चल्न नसकेपछि गुरुङ फिल्म ‘शिरसुवा’ फागुन २२ मा विशेष च्यारिटी शो गरिने भएको छ । माओत्से गुरुङद्वारा निर्देशित ‘शिरसुवा’ फिल्म च्यारिटी प्रदर्शन गर्ने निर्माण पक्षले पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
ब्रेज मेस्रो प्रोडक्सन घान्द्रुकको ब्यानरमा बनेको फिल्ममा करिब ३५ लाख रुपैयाँ लगानी छ । विश्वास गुरुङले फिल्ममा मुख्य अभिनेताको चरित्र चित्रण गरेका छन् । मुख्य कलाकारमा सुमन गुरुङ र प्रीति गुरुङ छन् ।
अभिनेत्री प्रिती गुरुङले फिल्म आकर्षक रहेको बताइन् । ‘शिरसुवामा निकै मिहेनत गरेकी छु । फिल्ममा गाउँ तथा गुरुङ संस्कृतिलाई विशेष तरिकाले प्रस्तुत गरिएको छ,’ उनले भनिन् । यसअघि शिरसुवा घान्द्रुक र काठमाडौंमा विशेष प्रदर्शन भइसकेको छ । ८० प्रतिशत गुरुङ भाषा समेटिएको फिल्मको निर्माता तथा कथाकार विमल गुरुङ हुन् ।
काठमाडौं । वेवारिसे शव व्यवस्थापन गरेर विश्व चर्चित बनेकी सपना रोका मगर र अभिनेत्री करिश्मा मानन्धर अहिले पुनः मिडियाको हेडलाइनमा छन् ।
आ-आफ्नो कर्मद्वारा लोकप्रिय बनेका यी दुई पात्रको पछिल्लो चर्चा भने ज्ञान आर्जन गर्ने कार्यसँग जोडिएको छ । उमेरले ४० कटेकी करिश्मा मानन्धर १२ कक्षा पढ्दैछिन् ।
गोदावरी घर नजिकैको किटिनी कलेजमा करिश्मा पढ्छिन् र उनी बैशाखमा हुने परिक्षाको तयारीमा छिन् । उच्च शिक्षा पनि सोही कलेजबाट गर्ने करिश्माले नेपालप्रेसलाई बताइन् ।
वेवारिसे शव व्यवस्थापन गरेर बीबीसीको सय प्रभावशाली महिलाको सूचिमा परेकी मगर चाहिँ बानेश्वरको हिमालयन ह्वाइट हाउस कलेजमा भर्ना भएकी छिन् । पूर्ण छात्रवृत्तिमा कलेजले उनलाई कानुन विषयमा भर्ना गराएको छ ।
अध्ययनसँगै कामलाई पनि सँगै अघि बढाउने योजना रहेको सपनाले नेपाल प्रेसलाई बताइन् । सपनाले २०७३ सालदेखि पढाइ छाडेकी थिइन् । नेपाली समाजका यी दुई नारी पात्रको पढाइ प्रतिको लगावले अन्यलाई पनि प्रेरणा मिल्ने विश्वास गरिन्छ ।
पूर्वमिस नेपाल श्रृंखला खतिवडा सहरी योजना विषय अध्ययनका लागि प्रतिष्ठित हावर्ड विश्विद्यालयमा भर्ना भएकी छिन् । जहाँ उनले स्नातकोत्तर अध्ययन गर्नेछिन् ।
काठमाडौं- गायक तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पृथ्वी खनालले ‘शिव ताण्डव स्तोत्र’को म्युजिक भिडियो युट्युव रिलिज गरेका छन् ।
द भ्वाइस अफ नेपाल सिजन– २ बाट सांगीतिक आकाशमा उदाएका गायक खनालले फरक शैलीमा शिव ताण्डव म्युजिक भिडियो इन्टरनेट रिलिज गरेका हुन् । हिन्दू धर्मका भगवान शिवजीको ताण्डव नृत्य शैलीको कोरियोग्राफीमा स्तोत्र प्रस्तुत गरिएको छ ।
मौलिक बाजागाजा प्रयोग गरिएको संगीतमा गायक खनालको स्वर र देवेश राईको कम्पोज समावेश छ । भिडियोमा पृथ्वी र स्वजन रघुवंशीलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।
पृथ्वीले भगवान शिवका पुजारीको भूमिका चित्रण गरेका छन् । ज्योति प्रोडक्सनले उत्पादन गरेको भिडियो ग्रीश्मा भट्टको निर्माण, पीटर गुरुङको छायांकन, विष्णुहरि तिमल्सिनाको सम्पादन र खनालको कथा एवं निर्देशनमा बनाइएको छ ।