Category: कलाप्रेस

  • रिश्मा र बुद्धिको लभस्टोरी फिल्म ‘क्रसरोड’  सुटिङ सुरु, नेपाल र भारतमा छायांकन हुँदै

    रिश्मा र बुद्धिको लभस्टोरी फिल्म ‘क्रसरोड’ सुटिङ सुरु, नेपाल र भारतमा छायांकन हुँदै

    काठमाडौं । लभस्टोरी ड्रामा ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । अर्विन्दराज गुरुङ निर्देशक हुन् ।

    नेपालसहित भारतका दार्जिलिङ, सिक्किम र कोलकत्तामा छायांकन हुनेछ । फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ ।

    अर्विन्दराज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेले निर्माणमा सहकार्य गरेका छन् । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’की प्रतिस्पर्धी रहेकी यान्की योल्मोले पनि अभिनय गर्दैछिन् ।

    ‘कबड्डी’ फेम्ड अभिनेत्री रिश्मा गुरुङले कथा मनपरेकाले फिल्म खेलेको बताइन् ।

  • स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमित अक्षय कुमार अस्पताल भर्ना

    स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमित अक्षय कुमार अस्पताल भर्ना

    मुम्बइ : कोरोनाभाइरसबाट संक्रमित बलिउड अभिनेता अक्षयकुमारलाई सोमबार अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या देखिएको बलिउड संचारमाध्यमले जनाएका छन् ।

    आज बिहान उनलाई मुम्बइको हिरानंदानी अस्पतालमा भर्ना गरिएको छ । उनले ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले फ्यानलाई सम्बोधन गर्दै चाँडै घर फर्कने पनि बताएका छन् ।

    आइतबार कोरोना पजेटिभ देखिएपछि आफूले कोभिड प्रोटोकल पालना गरेको र आइसोलेसनमा बसेको जनाएका थिए । अक्षयको आगामी सूर्यवंशी पनि मुम्बई लकडाउनको कारण पोस्टपोन्ड भएको छ ।

  • ‘कबड्डी ४’ हिरोइनमा मिरुना र गौमाया फाइनल, सुटिङअघि कलाकारको पीसीआर परिक्षण हुँदै

    ‘कबड्डी ४’ हिरोइनमा मिरुना र गौमाया फाइनल, सुटिङअघि कलाकारको पीसीआर परिक्षण हुँदै

    काठमाडौं । लोकप्रिय फिल्म ‘कबड्डी ४’को लिड अभिनेत्रीमा मिरुना मगर फाइनल भएकी छिन् । मिरुनासँगै फिल्ममा अर्की अभिनेत्री गौमाया यात्री पनि फाइनल भएकी छिन् ।

    स्रोतका अनुसार यी दुबै अभिनेत्री फिल्ममा अनुबन्धित भैसकेका छन् । ती दुबै अभिनेत्री दुईसाता अघि बेलायतबाट काठमाडौं आएर क्वारेन्टिनमा बसेका थिए ।

    गौमाया चर्चित नेपाली भ्लगर हुन् । उनी पछिल्लो समय भ्लगिङमार्फत विश्वका विभिन्न मुलुकमा नेपाली संस्कृति र भाषा प्रवद्र्धनमा सक्रिय छिन् । यसअघि दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि गुरुङ, पुष्कर गुरुङ, कविता आले तय भैसकेका थिए ।

    बैशाख पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । फिल्मको नाम ‘कबड्डी ४ : द फाइनल म्याच’ राखिएको छ ।

    असोज १५ गते रिलिज तयारी गरिएको छ । छायांकनमा जानुअघि सबै कलाकारको पीसीआर परिक्षण गरिने भएको छ । कोरोना नेगेटिभ देखिए मात्र छायांकन सुरु हुने जनाइएको छ ।

  • गीतिएल्बम ‘सेवान्ने’ बजारमा

    गीतिएल्बम ‘सेवान्ने’ बजारमा

    काठमाडौं ।  दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतिएल्बम ‘सेवान्ने’ सार्वजनिक भएको छ । एल्बममा सातवटा गीत छन् ।

    एल्बमभित्र समावेश तीन गीतमा राजन मुकारुङको शब्द रहेको छ भने दुई गीतमा हाङ्युग अज्ञातको शब्द छ । एल्बममा दुई गीतलाई महिला र पुरुष दुवै संस्करणको स्वरमा समावेश गरिएको छ ।

    एल्बमका दुई गीत, राजन मुकारुङको शब्दमा ‘हुरुक्कै भएँ म’ र हाङ्युग अज्ञातको शब्दमा ‘मैले फूललाई माया गरेँ’लाई राजेशपायल राईले स्वर दिएका छन् ।

    मुकारुङकै शब्द रहेको ‘मनको मैलो’लाई सुनिता थेगिमले र ‘भरोसा छैन कसैको’लाई अशोक मुकारुङले स्वर दिएका छन् । हाङ्युग अज्ञातको शब्द रहेको ‘औंशीमा’लाई झुमा लिम्बुले स्वर दिएकी छिन् । ‘मनको मैलो’को पुरुष संस्करणमा ज्वाला राईले स्वर दिएका छन् भने ‘मैले फूललाई माया गरेँ’लाई मिलन नेवारले महिला संस्करणमा गाएकी छिन् ।

    गीतिएल्बम ‘सेवान्ने’भित्र समावेश गीत ‘मैले फूललाई माया गरेँ’को म्युजिक भिडियो पनि शनिबारै सार्वजनिक भएको हो । विज्ञान राईले निर्देशन गरेको म्युजिक भिडियोमा दिवाहाङ बान्तवा र नग्मा श्रेष्ठको अभिनय रहेको छ ।

  • लकडाउनसँगै ‘सूर्यवंशी’ पोस्टपोन्ड, मुख्यमन्त्रीले गरे बलिउडसँग छलफल

    लकडाउनसँगै ‘सूर्यवंशी’ पोस्टपोन्ड, मुख्यमन्त्रीले गरे बलिउडसँग छलफल

    मुम्बइ । अक्षयकुमार स्टारर फिल्म ‘सूर्यवंशी’ औपचारिकरुपमा पोस्टपोन्ड भएको छ । मुम्बइमा सोमबारदेखि कर्फ्यु र लकडाउन सुरु भएसँगै उक्त फिल्म अप्रिल ३० मा प्रदर्शन नहुने निश्चित भएको हो ।

    लकडाउन लागुु गर्नुपूर्व मुख्यमन्त्री उद्धव ठाकेरले फिल्म निर्देशक रोहित सेठ्ठी र मल्टिप्लेक्स चेन पीभीआरका प्रमुख लगायतसँग छलफल गरेका छन् । फिल्म पोस्टपोन्ड गर्ने साहसिक निर्णय गरेबापत मुख्यमन्त्री ठाकरेले सेठ्ठीलाई धन्यवाद समेत दिए ।

    महाराष्ट्र सरकारले अप्रिल ३० सम्म सिनेमा घरसहित भीडभाड हुने सबै व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री ठाकरले लकडाउनबाट सबैभन्दा बढी प्रभावित फिल्म क्षेत्र भएपनि अहिले आफ्ना लागि जनताको जिउ जोगाउनु प्राथमिकता हुने जनाएका छन् ।

    पीभीआर सीइओ कमल जियानचाँदनीले कोभिड रोकथामका लागि सरकारले गरेको प्रतिबन्धका नियमलाई फिल्म क्षेत्रको समर्थन रहेको जनाएका थिए । भर्चुअल छलफलमा मुम्बइका फिल्म उद्योगीले मुख्यमन्त्रीसँग कोभिडको दोस्रो लहरपछि के फिल्म हल शतप्रतिशत चल्छन् त भन्ने प्रश्न गरेका थिए ।

    संक्रमण दर वृद्धि हुँदै जाँदा सलमान खानको आगामी फिल्म ‘राधे’ पनि पोस्टपोन्ड हुने तयारीमा छ ।

  • चलचित्र निर्देशक समाजद्वारा हेमबहादुर लामालाई लाइफटाइम अचिभमेन्ट प्रदान

    चलचित्र निर्देशक समाजद्वारा हेमबहादुर लामालाई लाइफटाइम अचिभमेन्ट प्रदान

    काठमाडौं- बरिष्ठ फिल्म निर्देशक एवं निर्माता हेमबहादुर लामालाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ । चलचित्र निर्देशक समाजको आइतबार राजधानीमा सम्पन्न १३ औं साधारण सभामा लामालाई लाइफटाइम अचिभमेन्ट प्रदान गरिएको हो ।

    शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लामालाई सम्मान प्रदान गरे । सम्मानित निर्देशक लामाले नीजि क्षेत्रबाट फिल्म बन्न थालेपछि ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए ।

    अभिनेता विजय लामाले यही फिल्मबाट डेब्यू गरेका थिए भने अभिनेत्री सन्नी रौनियार, अंशुमाला शाही, कलाकार उज्ज्वल घिमिरे, मोहन निरौला, संगीतकार मदन परियारले यही फिल्मबाट ब्रेक पाएका थिए ।

    ‘आदर्श नारी’मा लामाकै कथा, पटकथा तथा संवाद पनि थियो । बुबा हेमबहादुरले दीर्घकालीन सम्मान प्राप्त गर्दा अभिनेता लामा भावुक बनेका थिए ।

    ‘चलचित्र जगतले हेम लामा को हो भनेर बिर्सिसकेको थियो । कहिल्यै पनि कुनै फिल्मको कार्यक्रममा उहाँलाई निमन्त्रणा आएको मलाई थाहा छैन’, विजय लामाले आफूलाई ती कार्यक्रममा निमन्त्रणा आउँदा पनि उनी नजाने गरेको बताए ।

    ‘जसले मलाई विजय लामा बनाउनुभयो, उहाँलाई नै त्यो ठाउँमा स्थान छैन भने म गएर के काम भन्ने लाग्थ्यो,’ उनले गुनासो गरे ।

    साथै उक्त अवसरमा फिल्म निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी तथा नारायण पूरीलाई सम्मान गरियो । युवा फिल्म निर्देशक सम्मान निर्देशक ऋषि लामिछाने तथा र दीपाश्री निरौलालाई प्रदान गरियो ।

    समारोहमा संस्थाको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरिएको थियो भने स्रष्टाहरुलाई रेडकार्पेटमा स्वागत गरिएको थियो । समारोहमा निर्देशक समाजले अक्षय कोषको समेत घोषणा गरेको छ ।

    कार्यक्रममा निर्देशक समाजका सदस्यहरुलाई सदस्यता लिने बित्तिकै दुर्घटना बिमा हुने कार्यक्रमको घोषणा गरिएको थियो ।

    फिल्म निर्देशनभन्दा बाहिरको विधामा पनि सफलता हासिल गरेबापत चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष घनश्याम खतिवडा तथा मिडियाकर्मी दिनेश डिसीलाई दोसल्ला सम्मान प्रदान गरियो ।

  • पहिलो डिजाब्लिटी क्वीन-२०२१ को उपाधी रजनी र रुपालाई (तस्विर र भिडियोसहित)

    पहिलो डिजाब्लिटी क्वीन-२०२१ को उपाधी रजनी र रुपालाई (तस्विर र भिडियोसहित)

    काठमाडौं । मुलुकमा पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा मिसेज एन्ड मिस डिजाब्लिटी क्वीन-२०२१ आयोजना भयो ।

    ग्रीन आर्ट्स मिडियाको आयोजनामा भएको प्रतिस्पर्धामा देशभरका १३ प्रतिस्पर्धीले भाग लिएका थिए । दुई विधामा आयोजना भएको प्रतिस्पर्धामा मिस डिजाब्लिटी क्वनीको उपाधी खोटाङकी रजनी राई र मिसेज डिजाब्लिटी क्वनीको क्राउन  सिन्धुलीकी रुपा पहाडीले जिते । दुबैले क्राउनसहित १५-१५ हजार रुपैयाँ जिते ।

    फस्ट-रनरअप सरिता कोइराला र सेकेन्ड रनरअप डीना खत्री घोषित भए । ह्विल चेयर प्रयोग गर्ने र कम्मरभन्दा तल अंग नचल्ने प्रतिस्पर्धीले उक्त ब्युटी पेजेन्टमा भाग लिएका हुन् । उक्त अवसरमा प्रतियोगीले नृत्य लगायत सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।

    ‘शारीरिकरुपमा अपांग भएपनि उनीहरुको बौद्धिक क्षमता र भित्री सौन्दर्यलाई निखार्ने उद्देश्यले पेजेन्ट गरेका हौं’ इभेन्ट संयोजक एलिना शाक्य तुलाधरले नेपाल प्रेसलाई भनिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रविन्द्रप्रताप शाह प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागि थिए । 

                
    
    
    
    
  • ‘अनन्त’मा पहिलोपल्ट बाँधियो कार्म र लक्ष्मीको जोडी, शनिबारदेखि सुटिङ सुरु

    ‘अनन्त’मा पहिलोपल्ट बाँधियो कार्म र लक्ष्मीको जोडी, शनिबारदेखि सुटिङ सुरु

    काठमाडौं । अभिनेता कार्म र लक्ष्मी बर्देवाको जोडी पहिलोपटक पर्दामा एकसाथ देखिने भएको छ । रंगमंचको पृष्ठभूमिबाट आएका दुवैले फिल्म ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् ।

    शनिबार नै यो फिल्मको भक्तपुरमा सुटिङसमेत सुरु भएको छ । एक अर्काको प्रशंसक बताउने कार्म र लक्ष्मी दुवैले फिल्मको कथासँगै एकसाथ फिल्म गर्ने रहरले आएको प्रस्ताव सकारेको बताए ।

    कार्मले भने, ‘म थिएटरको समयदेखिकै लक्ष्मीको प्रशंसक हुँ । तर, पछिल्लो समय उहाँले म्युजिक भिडियो र फिल्ममा पनि उत्तिकै राम्रो काम गरिरहनुभएको छ । यो फिल्ममा सँगै काम गर्ने कुराले साँच्चिकै उत्साहित छु ।’

    उता लक्ष्मीले पनि कार्मसँग काम गर्ने कुरा आफ्नो लागि बोनस भएको बताइन् । ‘यो लकडाउनको समयमा मैले कम्तीमा दसवटा जति स्क्रिप्ट पढेँ ।

    केहीमा पैसामा कुरा नमिलेर गरिन, कति भूमिका । यसको कथा र टीम मन परेर गर्ने निर्णय गरेकी थिएँ । यही फिल्ममा कार्मसँग काम गर्न पाउँदा बोनस पाएको अनुभव गरेकी छु,’ उनले भनिन्, ‘ किनकि उहाँसँग काम गर्ने मेरो ठूलो रहर थियो ।’

    टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन् । अस्कर फिल्म कलेजबाट ग्राजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले फिल्मले आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्ने बताए ।

    ‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा यही नै हो तर यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं,’ जेसनले भने । जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक भएको बताउँदै उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता फिल्मको शैलीबाट प्रेरित भएर नै ‘अनन्त’ लेखेको जानकारी गराए ।
    २० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको फिल्मको पटकथा जेसनले नै लेखेका हुन् । फिल्मलाई बबिन दुलालले खिचेका हुन् । फिल्मलाई नवविजय श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।

    उनलाई निर्माणमा सह-निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्काले सघाउनेछन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रुपमा रहनेछन् ।

    रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसरको भूमिकामा रहेका छन् । जीवन अधिकारीको समेत अभिनय रहने फिल्मलाई काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् । फिल्म कृपालय प्रडक्सनको ब्यानरमा बन्न लागेको हो ।

  • आक्रमणविरुद्ध फेसन डिजाइनरको प्रदर्शन : प्रबल गुरुङदेखि फिलिप ल्हामसम्म सडकमा

    आक्रमणविरुद्ध फेसन डिजाइनरको प्रदर्शन : प्रबल गुरुङदेखि फिलिप ल्हामसम्म सडकमा

    न्यूयोर्क । एसियाली समुदायमाथि आक्रमणका घटना बढ्न थालेपछि अमेरिकास्थित एसियाली फेसन डिजाइनर प्रदर्शनमा उत्रिएका छन् । यो प्रदर्शनमा नेपाली फेसन डिजाइनर प्रबल गुरुङदेखि विश्व फेसन जगतका हस्तीहरु फिलिप लाम, डाओ वी चो सहभागि छन् ।

    ‘मेनस्ट्रिम मिडियाले हामीलाई स्थान दिएन र हामीले प्रतिक्षा गर्ने अवस्था पनि रहेन’ प्रबलले भने, ‘एसियालीविरोधी अपराधका पीडितलाई न्याय दिने र अर्थ सहयोग गर्ने कुरामा हामी एकजुट भएका हौं ।’

    एट्लान्टामा ६ जना एसियाली महिलासहित आठजनाको ज्यान जाने गरि भएको घटनापछि एसियाली फेसन डिजाइनरहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सामाजिक संजालमा एसियाली अमेरिकनमाथिको आक्रमण रोक्न माग गरेका छन् ।

    एसियाली समुदायबाहेकका नेताहरुले पनि आफूहरुको प्रदर्शनमा सहभागिता जनाएको गुरुङले जनाए । ब्ल्याक लाइभ्स म्याटर प्रदर्शनका दुईजना अगुवा कोफी र पावर पनि आफूहरुको प्रदर्शनमा सहभागि भएर सहानुभूति व्यक्त गरेको उनले जनाए ।

    पछिल्लो समय अमेरिकामा एसियाली समुदायमाथि आक्रमणका घटना बढिरहेका छन् ।

     

  • बेनिशाले साइन गरिन् ‘प्रेमगञ्ज’, भ्यालेन्टाइनमा फिल्म रिलिज हुने

    बेनिशाले साइन गरिन् ‘प्रेमगञ्ज’, भ्यालेन्टाइनमा फिल्म रिलिज हुने

    काठमाडौं । लकडाउनपछि व्यस्त हुने नायिकमध्ये पर्छिन् बेनिशा हमाल । उनले केही समयअघि फिल्म ‘भाँडाकुटी’ साइन्ड गरेकी थिइन् ।

    फागुनदेखि सुरु हुने भनिएको सो फिल्म अहिले पि-प्रोडक्सनमै अड्किएको छ । उक्त फिल्म सुटिङमा ढिलाइ हुने भएपछि बेनिशाले नयाँ फिल्म साइन गरेकी छिन् ।

    परिच्छेद सेनले निर्देशन गर्ने फिल्म ‘प्रेमगञ्ज’मा बेनिशा फिमेल लिड हुनेछिन् । डेब्यु ब्वाइ तेज गिरीसँग बेनिशाले अनस्क्रिन रोमान्स गर्ने पक्का भएको छ ।

    सञ्जय लामाले खिच्ने यो फिल्म लभस्टोरी हो । त्रिकोणात्मक कथावस्तुमा बन्ने फिल्ममा सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्का, आयुषी ढकाल लगायतको अभिनय हुनेछ ।

    चलचित्र चौतारीको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं, जिरी र काभ्रेमा हुने जनाइएको छ । २५ वर्षदेखि प्राविधिकको रुपमा कार्य गरेका राजु फुयाँल यसका निर्माता हुन् ।

    बैशाख १ गतेदेखि छायांकन हुने निर्देशक सेनले जानकारी दिए । उनका अनुसार आउने भ्यालेन्टाइन्स डेमा फिल्म रिलिज हुनेछ ।

  • सलमानको ‘राधे’ पोस्टपोन्ड हुने, मुम्बइका फिल्म हल सोमबारदेखि बन्द हुँदै

    सलमानको ‘राधे’ पोस्टपोन्ड हुने, मुम्बइका फिल्म हल सोमबारदेखि बन्द हुँदै

    काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरको कारण एकपछि अर्को गरि बलिउडका ठूला फिल्मको रिलिज पोस्टपोन्ड हुने क्रम बढेको छ ।

    अक्षयकुमार स्टारर ‘सूर्यवंशी’ अनिश्चितकालका लागि पोस्टपोन्ड हुने निधो भएको दुई दिनमै सलमान खानको ‘राधे’ पनि पोस्टपोन्ड हुने टुंगो लागेको छ । यसको औपचारिक घोषणा केही दिनमै हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

    भाइरसबाट प्रभावित बलिउड राजधानी मुम्बईमा आगामी सोमबारदेखि सिनेमा घरहरु बन्द गरिने जनाइएको छ । मुम्बइमा आगामी सातादेखि रात्रीकालिन कर्फ्युदेखि सार्वजनिक स्थानमा भेला हुन रोक लगाइने सम्मका नियमहरु लागु हुनेछन् ।

    हलमै रिलिज हुने भनिएको सलमानको राधे पोस्टपोन्ड हुने निश्चित भएपछि ओटीटीमा जाने वा नजानेबारे बहस सुरु भएको छ । तर, सलमानले चाहिँ कोरोनाले थलिएको बलिउडलाई लयमा ल्याउन हलमै रिलिज गर्ने बताएका थिए ।

    आउँदो इदमा रिलिज हुने भनिएको राधेको रिलिज सर्ने निश्चित भएपछि त्यस पछाडिका अन्य फिल्मको सम्भावित रिलिजलाई लिएर टाउको दुखाइ सुरु भएको छ । बलिउड ट्रेड एनालिस्ट सुमित कँडेलले अन्य फिल्महरु पनि रिलिज नहुने जनाएका छन् ।

    किनभने ठूलो फिल्मको ब्यापक बजारीकरण गर्न कम्तीमा एक महिना लाग्छ । यसका लागि आगामी १५ दिनभित्र भाइरस नियन्त्रणमा आइसकेको हुनुपर्छ । भाइरस संक्रमणको तथ्यांक हेर्दा यति दिनभित्र नियन्त्रण हुने सम्भावना छैन । यसको सीधा असर बलिउडलाई पर्ने देखिएको छ । अहिले भारतबाट कोरोनाको दोस्रो लहर सुरु भएको छ र दैनिक संक्रमण संख्या नै ७२ हजारभन्दा माथि पुगेको छ ।

  • आमा बन्दै प्रियंका, फेसबुकमा लेखिन् : अब सोध्न छाड्नूस !

    आमा बन्दै प्रियंका, फेसबुकमा लेखिन् : अब सोध्न छाड्नूस !

    काठमाडौं । आफू गर्भवती भएको गाइँगुइँलाई अभिनेत्री प्रियंका कार्कीले सत्य सावित गरिदिएकी छिन् । परिवारसँग होली खेलेको तस्विरमा प्रियंका गर्भवती भएको अनुमान गरिएको थियो ।

    उक्त तस्विरलाई आधार मान्दै उनी गर्भवती भएको गसिप पनि चलेका थिए । तर, प्रियंका स्वयमले सामाजिक संजालमार्फत आफू प्रेगेनेन्ट भएको पुष्टि गरेकी छिन् ।

    पति आयुष्मानसँग खिचाएको गर्भवती भएको तस्विर उनले फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् । जहाँ उनले लेखेकी छिन्– मलाई सोध्न बन्द गर्नूस । हो म प्रेगनेन्ट भएकी हुँ ।’

    आमा बन्ने पुष्टि भएसँगै प्रियंकालाई बधाइको ओइरो आउन थालेको छ । सन् २०२० को फेब्रुअरी २८ मा प्रियंका र आयुष्मान विहे बन्धनमा बाँधिएका थिए ।

  • अजयको जन्मदिनमा ‘बाहुबली’ निर्देशकको यस्तो गिफ्ट, ‘आरआरआर’ पोस्टर रिलिज

    अजयको जन्मदिनमा ‘बाहुबली’ निर्देशकको यस्तो गिफ्ट, ‘आरआरआर’ पोस्टर रिलिज

    मुम्बइ । शुक्रबार बलिउड अभिनेता अजय देवगणले जन्मदिन सेलिव्रेट गरे । यही मेसोमा बाहुबली फेम्ड निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’को पात्र लुक्स पनि रिलिज भयो ।

    जसमा केमियो भूमिका निर्वाह गरेका अभिनेता देवगणको पात्र दृश्य थियो । मोसन पोस्टरमा अजयलाई एक लडाकुको रुपमा देख्न सकिन्छ ।

    जन्मदिन पारेरै राजामौलीले अजयको मोसन पोस्टर सार्वजनिक गरेका हुन् । अजयका लागि यो भन्दा राम्रो बर्थडे गिफ्ट अर्को हुन पनि सक्दैन ।

    मोसन पोस्टरमा अजयलाई दुस्मनहरुले घेरिएको दृश्यमा देख्न सकिन्छ । यसअघि पनि आलियाको बर्थडेमा राजामौलीले उनको क्यारेक्टर लुक्स आउट गरिदिएका थिए ।

    कोरोनाभाइरस महामारीको प्रभाव नभए आगामी अक्टोबर १३ मा आरआरआर रिलिज हुने जनाइएको छ ।

  • पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै

    पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै

    काठमाडौं । मुलुकमा पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ । आगामी शनिबार ललितपुरमा मिसेज एन्ड मिस डिजाब्लिटी क्वीन नेपाल आयोजना हुन लागेको हो ।

    ग्रीन आर्ट्स मिडियाको आयोजनामा हुने सौन्दर्य प्रतियोगितामा देशभरका १३ प्रतिस्पर्धीले भाग लिँदैछन् । ह्विल चेयर प्रयोग गर्ने र कम्मरभन्दा तल नचल्ने प्रतिस्पर्धीले उक्त ब्युटी पेजेन्टमा भाग लिन लागेका हुन् ।

    ‘शारीरिकरुपमा अपांग भएपनि उनीहरुको बौद्धिक क्षमता र भित्री सौन्दर्यलाई निखार्ने उद्देश्यले पेजेन्ट गर्न लागेका हौं’ इभेन्ट संयोजक एलिना शाक्य तुलाधरले नेपाल प्रेसलाई भनिन् ।

    सुरुमा ह्विल चेयरमा बस्नेको लागि प्रतिस्पर्धा गर्ने तयारी गरेपनि अन्य अपांगलाई पनि समेटेर प्रतिस्पर्धा गर्न लागिएको हो । ‘मुलुकमै पहिलोपटक यस्तो अवधारणामा गर्न लागेका हौं र उत्साहित पनि छौं’ तुलाधरले भनिन्, ‘अहिले दुईवटा विधामा मात्र पेजेन्ट गर्नेछौं ।’

  • दीपकराज गिरीको टिप्पणी : नेता र दलले हामीलाई सँधै ‘अप्रिल फुल’ बनाए

    दीपकराज गिरीको टिप्पणी : नेता र दलले हामीलाई सँधै ‘अप्रिल फुल’ बनाए

    काठमाडौं । वर्षेनी अप्रिल १ तारिखलाई विश्वभर ‘मूर्ख दिवस’को रुपमा मनाउने चलन छ । पश्चिमा मुलुकमा व्याप्त यो चलन पछिल्लो समय नेपालसहितका एसियाली मुलुकमा समेत झाँगिदै गएको छ ।

    सेलेव्रिटीले समेत अप्रिल फुलबारे आ-आफ्नै टिप्पणी गरिरहेका छन् । अप्रिल फुल स्टेटसमार्फत उनीहरुले वर्तमान राजनीतिप्रति वितृष्णा पोखेका छन् । यस्तो विचार व्यक्त गर्नेमा अभिनेता एवं निर्माता दीपकराज गिरी अगाडि छन् ।

    प्रत्येक दिन नेता र दलले अप्रिल फुल मनाएको टिप्पणी गर्दै दीपकले अप्रिल फुल नेपालीका लागि नभएको बताए । उनी फेसबुकमा लेख्छन् -आज अप्रिल फस्ट, अरुलाई मूर्ख बनाउने दिन । गोराहरुको लागि यो हो । हाम्रा लागि होइन ।

    ‘हामी नेपालीलाई त हरेक दिन हाम्रा नेता र पार्टीहरुले अप्रिल फुल बनाइरहेकै छन् । शुभदिन !’

  • रजनीकान्तलाई दादा साहेब फाल्खे अवार्ड दिने भारत सरकारको निर्णय

    रजनीकान्तलाई दादा साहेब फाल्खे अवार्ड दिने भारत सरकारको निर्णय

    काठमाडौं । अभिनेता रजनीकान्तलाई ५१ औं दादा साहेब फाल्खे अवार्ड प्रदान गर्ने घोषणा भारत सरकारले गरेको छ ।

    विहिबार आयोजित पत्रकार सम्मेलनमा भारतको केन्द्रिय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावेदकरले यस्तो जानकारी दिएका हुन् ।

    भारतीय फिल्मको सर्वोच्च र प्रतिष्ठित अवार्ड मानिने यो सम्मानको तय चाहिँ त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयले गर्छ ।

    रजनीकान्त पछिल्लोपटक सन् २०२० मा रिलिज भएको एक्सन–थ्रीलर दरबारमा देखिएका थिए । ४ दशकदेखि रजनीकान्त भारतीय फिल्ममा सक्रिय छन् ।

  • फिल्म क्षेत्रमा कोरोनाको दोस्रो धक्का, सुनसान हुने भो न्यू इयर

    फिल्म क्षेत्रमा कोरोनाको दोस्रो धक्का, सुनसान हुने भो न्यू इयर

    काठमाडौं । नेपालीहरुको नयाँ वर्ष नजिकिएको छ । सामान्य अवस्थामा भए नयाँ वर्षको छेकोमा नयाँ फिल्म रिलिज गर्न हानाथाप हुन्थ्यो । तर, गत वर्ष र यस वर्ष माहोल अर्कै छ ।

    कोरोनाले थलिएको फिल्म क्षेत्र चल्मलाउन खोज्दै थियो । फिल्मकर्मीहरु नयाँ फिल्म निर्माणको लागि तात्तिँदै थिए । कलाकारहरु काम फर्किन तम्सिँदै थिए । तर, फेरि कोरोनाको दोस्रो लहरको हल्लाले फिल्म क्षेत्रलाई सुताइदिएको छ । नयाँ रिलिजहरु भटाभट ‘पोष्टपोन्ड’ भएका छन् ।

    नेपाली चलचित्रको पछिल्लो चहलपहल यस्तो छः

    • मल्टिस्टारर ‘लप्पन छप्पन’ को दोस्रो श्रृंखला र ‘मनसँग मन’ ले पूर्वनिर्धारित नयाँ वर्षको रिलिज योजना स्थगित गरे । सोही मितिमा आउने भनिएको ‘कृष्णलीला’ पनि स्थगित भएको छ ।
    • मिलन चाम्सको ‘गोर्खा वरियार–२’ को दोस्रो चरणको छायांकन कहिले सुरु हुन्छ टुंगो छैन । कोरोना महामारीको अन्यौलको बीच ‘कबड्डी’को चौंथो श्रृंखला बैशाख पहिलो सातादेखि जाने तयारीमा छ । सुटिङमा जाने मनस्थिती बनाएका केही निर्माताले तत्काल छायांकन सुरु नगर्ने मूड बनाएका छन् । 
    • फिल्म हल खुलेको तीन महिनासम्म पनि नेपाली फिल्म हलको  ‘अकुपेन्सी ‘औसत १० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन । बितरकले उच्च लगानीमा हलिउड र बलिउडका ठूला फिल्म ल्याउन सकेका छैनन् । ठूलो लगानीमा फिल्म ल्याउँदा लगानी नउठ्ने जोखिम कायमै छ । यो साता प्रदर्शन हुने भनिएको  ‘गोडजिला भर्सेस कङ’ यही समस्याले रिलिज हुन सकेन ।

    लकडाउनले १० महिना बन्द रहेका हलहरु पुस १० गतेबाट खुलेका थिए । व्यवसायीले एकपक्षीय रुपमा हल खोलेपछि सरकारले पुस २६ गतेको मन्त्रिपरिषद् बैठकबाट केही सर्तसहित फिल्म गतिविधि सञ्चालन गर्न अनुमति दियो । संक्रमण दर बढेमा पुनः हल बन्द गर्ने, जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र ५० प्रतिशत अकुपेन्सीमा हल सञ्चालन गर्ने सरकारका सर्त थिए । यिनै सर्तका आधारमा तीन महिना फिल्म हल सञ्चालन त भए तर, न्यून अकुपेन्सीमा ।

    फिल्म र मनोरञ्जन क्षेत्र बिस्तारै लयमा फर्कँदै गर्दा कोरोनाभाइरस महामारीको सम्भावित दोस्रो लहरको जोखिम सुरु भएको छ । छिमेकी मुलुक भारतमा भाइरसको दोस्रो लहर मात्र सुरु भएपछि नेपालमा जोखिम बढेको हो । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै सभा, जुलुस, बैठक, भेला र भीडभाडजन्य व्यवसाय नगर्न आग्रह गरेको छ । चैत लागेयता नेपालको संक्रमण दर पनि सयबाट उकालो लाग्न थालेको छ ।

    स्वास्थ्य मन्त्रालयको विज्ञप्ती र जनस्वास्थ्यका मापदण्डमा कडाइ हुन लागेसँगै पुनः नेपाली फिल्म प्रभावित भएको हो । भाइरसको सम्भावित दोस्रो लहरको त्रासको कारण ‘लप्पन छप्पन-२’ र ‘मनसँग मन’ फिल्मले रिलिज स्थगित मात्र गरेनन्, अन्य फिल्म पनि नयाँ मिति घोषणा नगर्ने मनस्थितीमा छन् । छायांकनमा जाने तयारीमा बसेका निर्माताले पनि तत्कालै नजाने मुड बनाएका छन् र वितरकले ठूला फिल्मको वितरण अधिकार खरिद गर्न रुचि देखाएका छैनन् ।

    यी अवस्थामा नेपाली फिल्मको निकट भविष्य सहज हुने छाँटकाँट देखिँदैन । किनभने, भाइरस संक्रमण उकालो लाग्दो छ, खोप अभियान प्रभावित बनेको छ र जनस्वास्थ्यविद् आगामी सय दिन संक्रमणको हिसाबले निकै संवेदनशिल हुने बताउँदैैछन् । छिमेकी मुलुक भारतमा दैनिक ६० हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् । संक्रमित हुनेहरुमा भाइरसको नयाँ भेरिएन्ट भेटिएको जनाइएको छ ।

    बितेको तीन महिना फिल्मलाई लयमा ल्याउन निकै प्रयत्नहरु भए । चलचित्र विकास बोर्डले पुनरुत्थानका लागि कोभिड राहतको घोषणासमेत गर्‍यो र आउँदो ६ महिनाभित्र रिलिज हुने फिल्मलाई प्राथमिकतासहित ५ लाख दिने निर्णय गर्‍यो । तर, रिलिज भएका फिल्म फ्लप मात्र भएपछि सरकारी निर्णय प्रभावकारी बन्न सकेन ।

    अघिपछि भारतीय फिल्मको बिरोध गर्ने फिल्मर्की यसपटक भने बलिउडको ठूलै फिल्म रिलिज पर्खाइमा बसे । ठूलै विदेशी फिल्म रिलिज नभए दर्शक हलसम्म नजाने आफ्नो फिल्म डुब्ने उनीहरुको बुझाइ रह्यो ।

    तामझामसहित माघ १ गते रिलिज भएको शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ व्यवसायिक र समीक्षात्मक दुबै कोणबाट असफल बन्यो । त्यसयता रिलिज भएका ‘गोर्खे’ लगायत केही हलिउड र बलिउड फिल्म पनि असफल बने । दर्शक ढुक्क साथ हलमा पुग्ने वातावरण नबन्दा फिल्म व्यवसाय लयमा फर्किन सकेन ।

    भाइरसको दोस्रो लहर सुरु हुने सम्भावित जोखिमको कारण निर्मातामा चिन्ता थपिएको छ । लकडाउनका कारण प्रदर्शन हुन नसकेका २२ फिल्मले हल खुलेको तीन महिना बितिसक्दा पनि रिलिज डेट घोषणा गरेनन् । अघिपछि भारतीय फिल्मको बिरोध गर्ने फिल्मर्की यसपटक भने बलिउडको ठूलै फिल्म रिलिज पर्खाइमा बसे । ठूलै विदेशी फिल्म रिलिज नभए दर्शक हलसम्म नजाने आफ्नो फिल्म डुब्ने उनीहरुको बुझाइ रह्यो ।

    लकडाउनले रोकिएका चिसो मान्छे, ए मेरो हजुर ४, परदेशी २ लगायतका फिल्मले तीन महिनाभित्र सुटिङ सके । ‘२ नम्बरी’ लगायतका फिल्म भने अझै फ्लोरमा जान सकेका छैनन् । लकडाउनले सुटिङमा जान नपाएका १४ भन्दा बढी फिल्म चैत दोस्रो सातासम्म पनि जाने तयारीमा छैनन् बरु, परिस्थिती साम्य हुने पर्खाइमा उनीहरु छन् । कतिपय जनस्वास्थ्यका मापदण्ड पालना गरेरै फिल्म सुटिङमा जाने तयारीमा छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै ‘कबड्डी’का निर्माता मणीराम पोखरेलले कोरोनाको अन्यौलका बीच आफूहरु सुटिङमा जाने तयारीमा रहेको बताए । वैशाख पहिलो साता मुस्ताङमा हुने सुटिङका लागि सबै कलाकार र प्राविधिकको पीसीआर परिक्षण गर्ने र सुटिङ सेटमा बाहिरी मान्छेलाई जान नदिने उनीहरुको तयारी छ । कबड्डी फिल्मकै लागि बेलायत लगायतका मुलुकबाट आएका कलाकार अहिले क्वारेन्टिनमा रहेको जानकारी दिँदै निर्माता पोखरेलले आफूहरु भाइरस संक्रमणबाट कास्ट एन्ड क्रूलाई नै जोगाउन लागिपरेको बताए ।

    ‘राजनीतिक दलले सभा, जुलुस गर्न मिल्ने तर, हामीले सामाजिक दूरी कायम गरेर सुटिङ गर्छौं भन्दा नमिल्ने भन्ने हुँदैन’ पोखरेल भन्छन् ।

    निर्देशक एवं निर्माता मिलन चाम्सले दुई सातामा आफ्नो प्रतीक्षित फिल्म ‘गोर्खा वारियर-२’को पहिलो चरणको छायांकन सम्पन्न गरे । दोस्रो चरणको छायांकन सुरु हुनुअघि उनी कोरोना संक्रमणको अवस्था सामान्य हुने पर्खाइमा छन् । कोरोना साम्य भएपछि मात्र आफू सुटिङका लागि बेलायत जाने उनको तयारी छ ।

    नेपालको परिस्थिती भारतको संक्रमण दरमा निर्भर हुने भएकाले यहाँको मनोरञ्जन क्षेत्र (फिल्म, संगीत र गतिविधि) तत्काल लयमा फर्कने सम्भावना देखिँदैन ।

    बितेको तीन महिनामा मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा दर्शकको औषत अकुपेन्सी २० प्रतिशत रह्यो । सरकारले निर्धारण गरेको ५० प्रतिशतलाई शतप्रतिशत मान्दा यो सुखद पनि हो तर, पुनः कोरोनाको जोखिम बढेपछि भने फिल्म हेर्न हलमा जाने दर्शक संख्या शुन्यप्रायः छ ।

    क्यूएफएक्स सीइओ रोशन अडिगाका अनुसार हलमा नयाँ रिलिज फिल्म नहुनु र कोरोनाको हल्लाको कारण दर्शक संख्या न्यून भएको हो । क्यूएफएक्सले विगतका सुपरहिट र ब्लकबस्टर फिल्मलाई पुनः रिलिज गरेपनि दर्शकले त्यसमा खासै रुचि देखाएनन् ।

    हलिउडको नेपाल वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठ कोरोनाको त्रास पुनः बढ्न सक्ने भयले हलिउड कम्पनीले ठूला फिल्म नेपाललाई नदिएको बताउँछन् ।

    ‘कोरोना त्रासकै कारण ठूला हलिउड फिल्म पनि पछिल्लो समय आउन सकेका छैनन् । आएपनि ठूला फिल्म ल्याउन ठूलै लगानी गर्नुपर्छ । लगानी उठाउने सवाल पनि हुन्छ’ उनी भन्छन्, ‘यद्यपी हामीले प्रयास गरिरहेका छौं ।’ काठमाडौंस्थित बलिउड फिल्म वितरण कम्पनी ब्यांकटेस मूभिजका मनोज राठी पनि कोरोनाकै कारण फिल्म ल्याउन अन्यौल भइरहेको बताउँछन् ।

    विश्वव्यापी प्रभाव

    नेपालमा मात्रै नभएर भारतीय चलचित्र उद्योगको पनि उही अवस्था छ । बलिउडमा पुनः फिल्म पोस्टपोन्ड र रिलिज स्थगनको सिलसिला सुरु भएको छ । कोरोनापछि लयमा फर्कन संघर्ष गरिरहेको बलिउडलाई अहिले भाइरसको सेकेन्ड-वेभले धक्का दिएको छ ।

    मंगलबार मात्र अमिताभ बच्चन र इमरान हासमी स्टारर ‘चेहेरे’ को रिलिज स्थगित गरियो । गत साता ‘बन्टी और बब्ली-२’ र ‘हाथी मेरे साथी’ पनि पोस्टपोन्ड भएका छन् ।

    अन्यौलकै बीच अक्षय कुमार र कट्रिना क्याफ स्टारर ‘सूर्यवंशी’को स्ट्रिमिङ अधिकार नेटफिल्क्सले खरिद गरेको थियो । यो फिल्मको पनि रिलिज डेट अनिश्चितकालका लागि स्थिगित भएको छ ।

    जनस्वास्थ्यविद् एवं फिल्म निर्देशक डा. सचिन घिमिरे अझै केही समय फिल्म लगायतको क्षेत्र सामान्य भैहाल्ने सम्भावना नरहेको बताउँछन् ।फिल्मकर्मीलाई हतार नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न उनको सुझाव छ ।

    भेराइटी म्यागजिनका अनुसार महामारीको कारण हलिउड फिल्म छायांकनमा अहिलेसम्मकै ठूलो गिरावट आएको छ । सन् २०१९ मा ३६ हजार ५४० फिल्म सुटिङ भएका थिए । तर, सन् २०२० मा त्यसमा ४८ प्रतिशत गिरावट आएर १८ हजार ९९३ मात्र सुटिङ भए । भेराइटीले हलिउडमा फिल्म छायांकनको यो २५ वर्ष यताकै न्यून आँकडा भनेको छ । लस-एन्जल्स फिल्म उद्योगका अध्यक्ष पौल एड्लीले फिल्म निर्माणमा अभूतपूर्व गिरावट आएको बताए ।

    हलिउडमा अघिल्लो वर्षको तुलनामा सन् २०२० मा फिचर फिल्म निर्माणमा ५६ प्रतिशत कमी आएर जम्मा १,६४१ फिल्म मात्र सुटिङ भएका थिए । भाइरसले लस-एन्जल्सलाई प्रभावित बनाएपछि अहिले हलिउड फिल्म निर्माताको ध्यान छायांकनको लागि उत्तरी छिमेकी क्यानडातर्फ सोझिएको छ । हलिउड स्टुडियो र स्ट्रिमिङ कम्पनीहरु भ्यानकुभर लगायतका क्यानेडेली सहरमा फिल्म र टेलिभिजन सिरिज निर्माणमा केन्द्रित भएका छन् ।

    युरोप र अमेरिकामा भाइरसको तेस्रो लहर सुरु भैसकेको छ र खोप अभियान सुरु भएपनि संक्रमण दर बढिरहेको छ । नेपालको परिस्थिती भारतको संक्रमण दरमा निर्भर हुने भएकाले यहाँको मनोरञ्जन क्षेत्र (फिल्म, संगीत र गतिविधि) तत्काल लयमा फर्कने सम्भावना देखिँदैन । जनस्वास्थ्यविद् एवं फिल्म निर्देशक डा. सचिन घिमिरे अझै केही समय फिल्म लगायतको क्षेत्र सामान्य भैहाल्ने सम्भावना नरहेको बताउँछन् ।

    फिल्मकर्मीलाई हतार नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न उनको सुझाव छ । उनी परिस्थितीलाई सामान्य बनाउनको लागि चलचित्र विकास बोर्डको भूमिका महत्वपूर्ण हुने बताउँछन् ।

    ‘बोर्डले कोभिड पुनरुत्थानका लागि राहत ल्याउने र अबको जोखिमलाई न्यूनीकरण गर्नेतर्फ कदम चाल्नुपर्छ,’ घिमिरेको सुझाव छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार सोमबारसम्म नेपालमा कोरोनाभाइरस संक्रमित संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ भने मृत्यु ३,०२७ पुगेको छ । १७ लाख ५८ हजारलाई कोभिडविरुद्धको खोप लगाइसकिएको छ ।

  • कोरोना त्रासले ‘कृष्णलीला’ पनि पोस्टपोन्ड, नयाँवर्षको लाइनअप रित्तो

    कोरोना त्रासले ‘कृष्णलीला’ पनि पोस्टपोन्ड, नयाँवर्षको लाइनअप रित्तो

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिमको कारण फिल्म ‘कृष्णलीला’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै निर्देशक दीपक ओलीले चैत २७ गते फिल्म प्रदर्शन नहुने बताए । ‘भीडभाड नगर्नु भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशनको कारण फिल्म रिलिज रोकेका हौं’ उनले भने ।

    भाइरस संक्रमणको परिस्थिती साम्य भएपछि मात्र नयाँ रिलिज मिति घोषणा गरिने जानकारी उनले दिए । यसअघि चैत २७ गतेको मितिबाट फिल्म ‘लप्पन छप्पन २’ र ‘मनसँग मन’को रिलिज मिति पनि पोस्टपोन्ड भैसकेको छ ।

    तीनवटै फिल्मको रिलिज मिति पोस्टपोन्ड भएपछि नयाँवर्षको लाइनअप रित्तो भएको छ । यी तीन फिल्म रोकिँदा नेपाली फिल्मलाई लयमा ल्याउने प्रयासमा ठूलो धक्का लागेको छ ।

  • नेपालले पाएन ‘गडजिला भर्सेस कङ’ रिलिज अनुमति, हलिउड स्टुडियोले रोक्यो थ्रीडी संस्करण

    नेपालले पाएन ‘गडजिला भर्सेस कङ’ रिलिज अनुमति, हलिउड स्टुडियोले रोक्यो थ्रीडी संस्करण

    काठमाडौं । हलिउड स्टुडियो वार्नर ब्रोजले फिल्म ‘गडजिला भर्सेस कङ’को थ्रीडी संस्करण नेपाललाई उपलब्ध नगराउँदा प्रदर्शन रोकिएको छ ।

    वितरण स्रोतले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार कारण नखुलाइकनै वार्नर ब्रोजले थ्रीडी फिल्म रोकेको हो । भारतमा भने गतसाता नै रिलिज भएको फिल्मले पहिलो साता झन्डै ३५ करोड भारु नेट कमाएको छ ।

    ‘प्रिन्ट तयार छैन भनेर हामीलाई फिल्म दिइएन’ स्रोतले भन्यो, ‘यसअघि दिन हुने तर, अहिले रोकिएको छ । हामी अचम्मित छौं ।’ गडजिलाको अघिल्ला प्रिक्वेल भने थ्रीडी मै नेपालमा रिलिज भएका थिए । थ्रीडी रोकिएपनि वितरकले टुडी भर्सनमै फिल्म मगाउने प्रयास थालेका छन् ।

    भारतमा भने थ्रीडीमै फिल्म प्रदर्शन भैरहेको छ । कोभिड महामारीकै बीचमा यो फिल्मले त्यहाँ उधुम कमाइ गरेको हो । नेपालमा गडजिला सिरिजका प्रशस्तै दर्शक छन् ।

    एडम विंगर्ड निर्देशित फिल्ममा राक्षसको राजा र विश्वको आठौं आश्चर्य नामक दुई पात्रको लडाइ चित्रण गरिएको छ । अमेरिकामा भने यो फिल्म आजदेखि रिलिज भएको छ । हलसँगै एचबीओ म्याक्समा फिल्म रिलिज हुने तयारीमा छ ।

    वार्नर ब्रोज र लिजेन्ड्री एन्टरटेनमेन्टले उत्तर अमेरिकाका ३ हजार हलमा फिल्म रिलिज तयारी गरेका छन् । क्रिस्टोफर नोलनको साइन्स फिक्सन टेनेटभन्दा बढी हल गडजिलाले प्राप्त गरेको छ ।

  • रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता आजदेखि

    रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता आजदेखि

    काठमाडौं । रेडियो नेपाल स्थापनाको ७१औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता आज शुरु भएको छ ।

    प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले पु¥याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गरे ।

    रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीवृद्धिमा समाचार, गीत, सङ्गीत एवं मनोरञ्जनका माध्यमबाट टेवा पुर्‍याउँदै आएको बताए ।

    संस्थाका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले २०२२ सालदेखि यस्ता प्रतियोगिताका माध्यमबाट श्रोताका रुचि र माग अनुसारका गीतसङ्गीत प्रस्तुत गर्दै आएको बताए। प्रतियोगितामा ३१ वटा गीतसङ्गीत प्रस्तुत गरिनेछ । रेडियो नेपालको वार्षिकोत्सव यही चैत २० गते हुँदैछ ।