Category: कलाप्रेस

  • प्रकाश सुवेदी भन्छन्- मसँग असारसम्मको एग्रिमेन्ट छ, रजतपट बन्द हुँदैन

    प्रकाश सुवेदी भन्छन्- मसँग असारसम्मको एग्रिमेन्ट छ, रजतपट बन्द हुँदैन

    काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदीले आफ्ना दुई मनोरञ्जनात्मक कार्यक्रम ‘सस्पेन्ड’ गर्ने एपी वान टेलिभिजन बोर्डको निर्णयबारे ‘थाहा नभएको’ बताएका छन् ।

    टिभीसँग आगामी असारसम्मको एग्रिमेन्ट रहेको भन्दै उनले व्यवस्थापनले एकतर्फीरूपमा कार्यक्रम बन्द गर्न नमिल्ने दावी गरे ।

    नेपाल प्रेससँग कुराकानी गर्दै सुवेदीले भने, ‘यी दुवै नितान्त मेरो कपिराइट भएका कार्यक्रम हुन् । मैले नचाहेसम्म बन्द हुँदैन । टिभीले निर्णय गरेको विषयमा मलाई कसैले अहिलेसम्म जानकारी पनि गराएको छैन, समाचारमा हेरेको हुँ ।’

    सुवेदीले सञ्चालन गर्ने साप्ताहिक कार्यक्रमहरु ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ का विरुद्ध नायिका शिल्पा पोखरेलले टेलिभिजनमा उजुरी दिएकी थिइन् । सो उजुरीमाथि छलफल गर्दै टेलिभिजन बोर्डले हिजो दुवै कार्यक्रम अर्को निर्णय नहुञ्जेलका लागि ‘सस्पेन्ड’ गर्ने निर्णय लिएको हो ।

    सुवेदीले भने टेलिभिजनसँग आफूले गरेको सम्झौतामा पनि दुई पक्षको सहमतिका आधारमा मात्रै कार्यक्रम बन्द गर्न सकिने उल्लेख भएको बताए । उनका अनुसार उक्त सम्झौताको म्याद असार मसान्तमा मात्रै सकिन्छ ।

    केहीगरी एपी वानबाट प्रसारण नहुने अवस्था आए पनि दुवै कार्यक्रमलाई आफूले यूट्यूवमार्फत निरन्तरता दिनसक्ने सुवेदी बताउँछन् ।

    ‘मैले यी दुई कार्यक्रम १५-२० वर्षदेखि चलाउँदै आएको छु । एपी वानमा प्रशारण भएन भने अन्त पनि लैजान सक्छु । यूट्यूवमा पहिलदेखि मेरै च्यानलबाट आइरहेको छ । अब पनि निरन्तर आउँछ,’ उनले भने ।

    तर, तपाईंजस्तो दिग्गज पत्रकारले लगातार कलाकारहरुको चरित्रहत्या गर्ने सामग्रीहरु प्रशारण गर्न मिल्छ त भन्ने प्रश्नमा उनले कसैको चरित्र हत्या आफूले नगरेको बताए ।

    ‘मैले समाचार दिने हो, त्यही काम गरिरहेको छु,’ उनले भने, ‘वास्तविक समाचार दिँदा कसैको चरित्रहत्या हुन्छ भने मेरो के लाग्छ र ?’

    सुवेदीले नायिका शिल्पा पोखरेलको निजी जीवनका बारेमा विवादास्पद सामग्रीहरू प्रसारण गरेका थिए । यसअघि पनि सुवेदी थुप्रै स्क्यान्डलमा फसिसकेका छन् । एकपटक नायिका पुजा शर्माबारे अनर्गल टिप्पणी गर्दा उनले माफी माग्नुपरेको थियो ।

    यो पनि पढ्नुहोस् :

  • शिल्पा पोखरेलको उजुरीपछि प्रकाश सुवेदीका दुवै टेलिभिजन कार्यक्रम निलम्बित

    शिल्पा पोखरेलको उजुरीपछि प्रकाश सुवेदीका दुवै टेलिभिजन कार्यक्रम निलम्बित

    काठमाडौं । रंग पत्रकार प्रकाश सुबेदीले एपीवान टेलिभिजनमा सञ्चालन गर्ने दुई विवादित मनोरञ्जनात्मक कार्यक्रम निलम्बनमा परेका छन् । नायिका शिल्पा पोखरेलले आफ्नो चरित्रहत्या गरेको भन्दै उक्त कार्यक्रमका विरुद्ध टेलिभिजनमा उजुरी दिएकी थिइन् ।

    टेलिभिजन स्रोतका अनुसार गत २ वैशाखमा बसेको एपीवान टिभीको बोर्ड वैठकले शिल्पाका विषयमा थप सामग्री नबनाउन सुबेदीलाई निर्देशन दिएको थियो । तर, त्यसको अटेर गरी सुबेदीले आफ्नो कार्यक्रममा शिल्पाका पूर्वपति छवि ओझाको अन्तरवार्ता लिएर शिल्पाको थप चरित्रहत्या प्रयास गरेका थिए ।

    टिभी स्रोतले भन्यो, ‘२ गतेको बोर्ड वैठकले शिल्पाको अन्तरवार्ताबाहेक उनको विषयमा अरु खालका सामग्री प्रशारण नगर्न भनेको थियो, जसलाई उहाँले अटेर गर्नुभयो ।’

    सुबेदीले शिल्पाका विरुद्ध अर्को कार्यक्रम पनि बनाएपछि ५ गते वसेको अर्को वैठकले वाध्य भएर कार्यक्रम निलम्बन गरेको स्रोतको भनाइ छ । अर्को निर्णय नभएसम्मका लागि कार्यक्रम बन्द गर्ने टेलिभिजन बोर्डले निर्णय लिएको हो । टीभी बोर्डको निर्णयपछि सुबेदीले सञ्चालन गर्ने ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द भएका छन् ।

    शिल्पाले सो निर्णयका लागि टेलिभिजनलाई धन्यवाद दिएकी छन् । सुबेदीले आफ्नो कार्यक्रममा एक विवाहित पुरुषसँग शिल्पाको नाम जोडेर सामग्री बनाएका थिए ।

  • तीन महिनापछि फिल्म हलहरु पुनः बन्द

    तीन महिनापछि फिल्म हलहरु पुनः बन्द

    काठमाडौं । सरकारले कोरोनाको न्यू भेरिएन्टको जोखिम कम गर्न बैशाख मसान्तसम्म सबै फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले हलसहित भीडभाड हुने सबै क्षेत्रलाई बन्द गर्न निर्देशन दिएको हो ।

    लकडाउनपछि गत पुस २६ गतेदेखि खुलेका फिल्म हलहरु तीन महिनापछि पुनः बन्द भएका हुन् । सरकारले उक्त मितिमा ५० प्रतिशत अकुपेन्सीसहित फिल्म हल संचालन गर्न दिने निर्णय गरेको थियो ।

    भीडभाड हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न कठिन हुने भन्दै मन्त्रिपरिषद्ले शिक्षण संस्थाहरु, पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा समारोह, हाटबजार, दर्शकसहितका रंगशाला र जुलुस बन्द गर्ने निर्णय गरेको हो ।

    फिल्म हलहरु तीन महिनामा न्यून अकुपेन्सीसहित प्रदर्शन भैरहेका थिए ।

  • नेपालका दिवेश पोखरेललाई पुनः अमेरिकी आइडलमा प्रतिस्पर्धाको मौका !

    नेपालका दिवेश पोखरेललाई पुनः अमेरिकी आइडलमा प्रतिस्पर्धाको मौका !

    काठमाडौं । जीवनमा जो कसैले दोस्रो मौका पाउँदैनन् । तर, केही यस्ता भाग्यमानी हुन्छन् जसलाई मौका घुमिफिरी आउँछ । जस्तै, नेपालका दिवेश पोखरेल जो अन्तर्राष्ट्रिय मंचमा आर्थर गनको नामले चर्चित छन् ।

    यी नेपाली ठिटाले पुनः अमेरिकी आइडलमा प्रतिस्पर्धा गर्ने मौका पाएका छन् । विश्व चर्चित सांगीतिक म्यागजिन बिलबोर्डका अनुसार आर्थरले पुनः अमेरिकी आइडलको आउने संस्करणमा प्रतिस्पर्धा गर्ने मौका पाएका हुन् ।

    सिजन १८ का १० प्रतियोगीले आउँदो संस्करणमा गायन र प्रतिस्पर्धाका लागि मौका पाएका हुन् । सांगीतिक रियालिटी सो अमेरिकी आइडलका कार्यकारी निर्माता ती दश प्रतियोगीलाई नयाँ संस्करणका लागि निम्तो दिएका छन् ।

    आउने सोमबारदेखि गतवर्षका फाइनलिस्टले गाउने सिलसिला पुनः सुरु हुनेछ । नेपालमा जन्मिएका दिवेश अमेरिकी आइडलको अघिल्लो सिजनमा फस्ट रनरअप घोषित भएका थिए ।

    https://www.youtube.com/watch?v=7axNViUBWZc

  • एलिजा र लक्ष्मीले छाडेपछि ‘घिन्ताङ’मा केकी इन, बैशाख ७ देखि सुटिङ सुरु हुँदै

    एलिजा र लक्ष्मीले छाडेपछि ‘घिन्ताङ’मा केकी इन, बैशाख ७ देखि सुटिङ सुरु हुँदै

    काठमाडौं । गतमहिना निकै हल्ला गरेर निर्माण घोषणा गरिएको फिल्म ‘घिन्ताङ’लाई मुख्य अभिनेत्रीको संकट परेको छ । अनुबन्धित भैसकेका दुई अभिनेत्री फिल्मबाट बाहिरिएका छन् । अभिनेत्री हेरफेरको श्रृंखला जारी छ र केकी अधिकारी फिल्ममा प्रवेश गरेकी छिन् ।

    सुरुमा एलिजा गौतम मुख्य अभिनेत्रीको रुपमा भित्रिएकी थिइन् । मुहूर्तको एक हप्ता अगाडि उनले फिल्म छाड्ने निर्णय गरिन् । त्यसपछि फिल्ममा लक्ष्मी बर्देवाको प्रवेश भयो । तर, सुटिङमा ढिलाई भएको भन्दै उनले पनि प्रोजेक्टबाट हात झिकिन् ।

    उनी बाहिरिए लगत्तै ‘घिन्ताङ’ मा अब अभिनेत्री केकी अधिकारी प्रवेश गरेकी छिन् । केकीले स्क्रिप्ट र आफ्नो भूमिका मन परेपछि फिल्म साइन गरेको बताएकी छन् । आफ्नो लगानीमा बनेको ‘बोक्सीको घर’ का लागि कपाल खौरिएकी उनले ‘घिन्ताङ’ मा नक्कली कपाल लगाउने तयारी गरेकी छिन् । बुझिएको छ ।

    फिल्ममा उनले गौरव पहारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । साहित्यकार मन्दिरा ‘मधुश्री’ले लेखेको ‘मासुको मूल्य’ कथामा निर्माण हुन लागेको फिल्म बैशाख ६ गतेबाट छायांकन सुरु हुने जनाइएको छ ।

    एकल महिला र पुरुषबीचको अन्तरजातीय प्रेम सम्बन्ध चित्रण गर्ने फिल्ममा नीर शाह र मदनकृष्ण श्रेष्ठको पनि विशेष भूमिका हुने जनाइएको छ । ‘घिन्ताङ’ लाई दीपक श्रेष्ठले निर्देशन गर्दैछन् । सात वर्षपछि निर्देशनमा उनी कमब्याक गर्न लागेका हुन् ।

  • सलोन र रुबिनाले ‘डाँडाको बरपीपल’मा अनस्क्रिन रोमान्स गर्ने, शोभितले घोषणा गरे नयाँ फिल्म

    सलोन र रुबिनाले ‘डाँडाको बरपीपल’मा अनस्क्रिन रोमान्स गर्ने, शोभितले घोषणा गरे नयाँ फिल्म

    काठमाडौं । सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहने लभस्टोरी तथा पारिवारिक फिल्म ‘डाँडाको बरपीपल’ निर्माण हुने भएको छ । बैशाख २२ गतेदेखि छायांकन सुरु बताइएको फिल्म कोरोनाभाइरसको दोस्रो लहरप्रति सजग बन्दै फ्लोरमा जान लागेको जनाइएको छ ।

    शोभित बस्नेतको निर्देशनमा बन्ने फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजिवजङ्ग बस्नेत र यशराज गाराचको पनि मुख्य भूमिका हुने भएको छ ।

    पारिवारिक कथामा बन्ने भनिएको यो फिल्ममा सुशान प्रजापतिको छायांकन, रामकाजी घिमिरेको पटकथा, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन हुने जनाइएको छ ।

    ७५ दिनको छायांकन तालिका रहेको चलचित्र काठमाडौं, कालाबाङ र से–फोक्सुण्डो तालमा खिचिने जनाईएको छ । नेपाल प्रेससँग कुरा गर्दै अभिनेता बस्नेतले यो फिल्मपछि कोरोनाभाइरसको महामारी सामान्य भएपछि आफू नाइँ नभन्नू ल को नयाँ सिक्वेलमा व्यस्त हुने जनाए ।

  • संक्रमणको उच्च जोखिम रहेको भन्दै सरकारद्वारा फिल्म हलमा नजान आग्रह

    संक्रमणको उच्च जोखिम रहेको भन्दै सरकारद्वारा फिल्म हलमा नजान आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित क्षेत्रको रुपमा घोषणा गर्दै त्यहाँका फिल्म हल र भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ ।

    मन्त्रालयले विज्ञप्ती जारी गर्दै ती क्षेत्रमा कोरोनाभाइरसको नयाँ प्रजातिको फैलिएको र संक्रमणको उच्च जोखिम कायम भएकाले ती जिल्लामा संचालन भएका फिल्म हल, रेष्टुरेन्ट र सपिङ मलमा नजान आग्रह गरेको हो ।

    मन्त्रालयले ती क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा कडाइ गर्न पनि आग्रह गरेको छ । मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ कोरोनाको अति प्रभावित जिल्ला बनेका छन् ।

    मन्त्रालयले ती जिल्लामा अत्यावश्यक नभई घरबाहिर ननिस्कन समेत आग्रह गरेको छ । तर, स्वास्थ्यको मन्त्रालयको यो विज्ञप्तीलाई फिल्म सम्बद्ध निकायले कुनै प्रतिक्रिया दिएका छैनन् । फिल्म हलहरु चलिरहेपनि न्यून अकुपेन्सीमा फिल्म प्रदर्शन भैरहेका छन् ।

    फिल्म हलको छाता संस्था चलचित्र संघका गोपाल कायस्थले सरकारको आग्रहबारे चाँडै बस्ने संघको बैठकमा छलफल हुने बताए ।

  • माओवादी नेता गुरुङले सार्वजनिक गरे फिल्म ‘दुष्प्रयास’ पोस्टर, असार २५ गते फिल्म प्रदर्शन हुने

    माओवादी नेता गुरुङले सार्वजनिक गरे फिल्म ‘दुष्प्रयास’ पोस्टर, असार २५ गते फिल्म प्रदर्शन हुने

    काठमाडौं। महिला हिंसाबारे निर्माण भएको फिल्म ‘दुष्प्रयास’ले फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले पोस्टर लन्च गरे ।

    दिनेश लिङ्देन निर्देशित फिल्म असार २५ गते प्रदर्शन हुने भएको छ । कोरोनाभाइरस महामारी साम्य भए यो फिल्मलाई उक्त मितिमा प्रदर्शन गरिने जानकारी आयोजित प्रेसमिटमा दिइयो ।

    फिल्मका कथाकार तथा निर्देशक लिङ्देनले कोभिड महामारीको अवस्थामा पनि आफूले जोखिम मोलेरै रिलिज गर्न लागेको बताए ।

    फिल्ममा निशा पोमु लिम्बु, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मीता कार्की, अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदिप योङहाङ, दिलिप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय छ ।

    जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर छ । सुमित लिङ्देनको प्रस्तुति रहेको फिल्ममा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ ।

  • महेशको शब्द र संगीतमा ‘डन’ आयो (भिडियो)

    महेशको शब्द र संगीतमा ‘डन’ आयो (भिडियो)

    काठमाडौं । नेपाली म्यूजिक भिडियो निर्माणको क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च रहदै आएको छ ।

    नेपाल बाहिर बस्ने धेरै नेपालीहरुले पछिल्लो समय गुणस्तरीय म्यूजिक भिडियोहरु निर्माण गरिरहेका छन्। यसै मध्येका एक हुन् राजु कान । अष्ट्रेलियामा रहेर धेरै गीतहरुमा मोडलिङ र निर्देशन गरिसकेका राजुको निर्देशन र अभिनयमा ‘डन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    लोकप्रिय गायकहरु सशान कंडेल र बिनय कार्कीको स्वर रहेको हार्डरक जनराको गीत ‘डन’ मा महेश ज्ञवालीको शब्द र संगीत रहेको छ ।

    गीतको भिडियोमा राजु कान, देव नेपाली, प्रतिभा महर्जन र हिलारी रावलको अभिनय रहेको छ । अष्ट्रेलियामै छायांकन गरिएको गीतको भिडियोमा कृष्ण सुबेदीको सिनेमाटोग्राफी, विकास दाहालको सम्पादन रहेको छ ।

  • नयाँवर्षमा वर्षाका योजना : विहे र बिजनेस !

    नयाँवर्षमा वर्षाका योजना : विहे र बिजनेस !

    काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी पछिल्लो समय व्यक्तिगत कारणले चर्चामा छिन् । उनको अफेयरबारे फिल्म नगरीमा गसिप चल्ने गर्छ । केही महिनाअघि उनको अमेरिकन ब्वाइफ्रेन्डसँगको सम्बन्धबारे गाइँगुइँ थियो ।

    पछिल्लो समय वर्षाको प्रेम सम्बन्धलाई लिएर मायानगरीमा नयाँ गसिप चलिरहेको छ । तर, वर्षा स्वयमले भने यो कुरालाई सार्वजनिकरुपमा खुलाएकी छैनन् । हुनसक्छ, उनको प्रेम सम्बन्ध यसपटक मच्र्योर्डरुपमा अघि बढिरहेको छ ।

    ‘पशुपति प्रसाद’ र ‘वीर विक्रम २’ फेम्ड अभिनेत्री यसपटक भने आफ्नो वैवाहिक जीवनलाई लिएर खुलेकी छिन् । नेपाल प्रेससँग उनले नयाँवर्ष २०७८ मा विहे गर्ने योजना रहेको बताइन् । ‘यसवर्ष म बिजनेससँगै विहेको योजनामा छु’ वर्षाले भनिन् ।

    तर, कोसँग उनको विहे हुनेछ भन्ने कुरा उनले खुलाइन्न । यद्यपी, वर्षा सिंगलबाट मिंगल हुँदैछिन् भन्ने कुरा कन्र्फम्ड चाहिँ भएको छ ।

  • ‘फास्ट एन्ड फ्युरियस-९’ ट्रेलर रिलिज, नेपालमा असार ११ गते प्रदर्शन तयारी

    ‘फास्ट एन्ड फ्युरियस-९’ ट्रेलर रिलिज, नेपालमा असार ११ गते प्रदर्शन तयारी

    काठमाडौं । हलिउडको बहुप्रतीक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । नेपाल र भारतमा असार ११ गते (२५ जुन)मा फिल्म रिलिज लक्ष्य राखिएको छ ।

    तर, फिल्मको रिलिज चाहिँ कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि हुने प्रतिबन्धका नियमहरुमा निर्भर हुनेछ । यो एक्सन फिल्मलाई जस्टिन लीनले निर्देशन गरेका हुन् ।

    भाइरस महामारीको कारण यो फिल्म सरेको थियो । चार मिनेट लामो ट्रेलरमा एक्सन-प्याक्ड दृश्य समावेश गरिएको छ । भीन डिजेल, जोन सेना, मिसेल रोड्रिग्युजको मुख्य भूमिका छ ।

    नेपाल, भारत र अमेरिकामा एकसाथ फिल्म रिलिजको योजना छ । दक्षिण कोरियामा चाहिँ मे १९ मा प्रदर्शन तयारी छ ।

  • वर्ष २०७८ मा सेलेव्रिटी टाइमलाइन : विवाहदेखि अर्गानिक फार्म खोल्नेसम्म

    वर्ष २०७८ मा सेलेव्रिटी टाइमलाइन : विवाहदेखि अर्गानिक फार्म खोल्नेसम्म

    काठमाडौं । नयाँवर्ष सुरु भएसँगै कोभिड-१९ को दोस्रो लहरको जोखिम सुरु भएको छ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न आग्रह गरेको छ । नयाँवर्षमा पनि कोरोनाभाइरसले मनोरञ्जन क्षेत्रलाई प्रभावित तुल्याउने भएपछि कलाकारले सोहीअनुसार योजनालाई अघि बढाएका छन् ।

    सेलेव्रिटीले नयाँवर्षमा आ-आफ्नै व्यवसायिक र व्यक्तिगत योजना बनाएका छन् जसमा समाजसेवा गर्नेदेखि व्यक्तिगत सुधार गर्नेसम्मका योजना छन् । कोभिड साम्य भए रोकिएका कामलाई अघि बढाउने सेलेव्रिटीका योजना छन् । दीपकराज गिरीदेखि पछिल्ला छिमलका सलोन बस्नेतसम्मका कलाकारका आ-आफ्ना ध्याउन्न छन् ।

    केही कलाकारले नेपाल प्रेससँग नयाँवर्ष २०७८ का योजना यसरी सुनाएका छन् :

    सुरक्षा पन्त (अभिनेत्री)

    कोभिड-१९ को कारणले रोकिएका फिल्म र म्युजिक भिडियोको सुटिङ यो वर्ष गर्ने योजना बनाएको छु । नयाँ वर्षमा फरक खालको स्क्रिप्टमा काम गर्ने इच्छा राखेको छु । यो वर्ष इन्जिनियरिङको कामलाई पनि अगाडी बढाउने सोचमा छु । यो वर्ष आरामले निन्द्रा पुर्‍याएर काम गर्छु । यो वर्ष स्वास्थ्यलाई राम्रोसँग केयर गर्छु । मेरो व्यक्तिगत योजना भनेको यो नयाँवर्षमा स्वास्थ्यलाई एकदमै ध्यानमा राखेर आफ्नो व्यावसायीक कामलाई अगाडी बढाउने योजनामा छु ।

    मिरुना मगर (अभिनेत्री)

    नयाँवर्षको सुरुवात मेरो सुटिङबाट नै भएको छ । यो वर्ष पढाईलाई प्राथमिकता दिएर अध्ययन अनुसन्धान गर्ने योजना बनाएको छु । हाल मास्टर्स डिग्रीमा अध्ययन गरिरहेको छु र यो वर्ष अध्ययन पुरा गर्छु । साथै करियरलाई पनि अगाडी बढाउँछु । २०७८ सालमा धरान चक्रघट्टीमा रहनुभएका मेरो बजुलाई भेट्छु । साथीहरुलाई भेट्ने र आफू हेल्दी भएर बस्ने योजना छ । सर्वप्रथम स्वास्थ्यलाई हेल्दी राख्नेछु । यो वर्ष पढाई र कामलाई सँगै अगाडी बढाउने सोचमा छु । यो वर्ष मेरो नयाँ फिल्म ‘जारी’ रिलीज हुने सम्भावना छ । अरु १/२ वटा प्रोजेक्टको लागि पनि कुरा भईरहेको छ ।

    वर्षा शिवाकोटी (अभिनेत्री)

    यो वर्ष त्यस्तो केही प्लान छैन तर मुभी रिलिज हुन बाँकी नै छ । यो वर्ष रिलिज हुन्छ । यो सबै तयार हुदै छ । यो वर्ष चाँही विजनेस गर्ने सोचमा छु । सर्वप्रथम हेल्थलाई प्राथमिकता दिन्छु । व्यक्तिगत कुरा गर्दा आगामी वर्षमा विवाह गर्ने सोच बनाएको छु ।

    बद्री पंगेनी (गायक)

    कोभिड-१९ को कारणले खासै योजना त बनाएको छैन तर २०७८ सालमा नयाँ गीतहरु तयार गर्ने योजना गरेको छु । व्यक्तिगत योजना खासै बनाएको छैन । नेपाली खेलकुदलाई कलाको माध्यमबाट गर्न सकिने सहयोग गर्ने योजना बनाएको छु । राष्ट्र र राष्ट्रियताको लागि कलाकारले गर्न सक्ने भूमिका निर्वाह गर्दछु । विकास निर्माणका कुराहरुमा कलाकारले गर्नुपर्ने सहयोग गर्न तयार छु ।

    टीका प्रसाइँ (गायिका)

    मेरो व्यावसायीक क्षेत्र भनेको गीत र संगीत हो । हाल कोरोनाले गर्दा चाँही धेरै गाह्रो भइरहेको छ । आर्थिक अवस्थालाई पनि हेर्नुपर्ने हुन्छ । आफ्नो व्यक्तिगत योजनाअनुसार एल्बम निकाल्ने छ । रेकर्ड भएको गीतको एल्वम बनाउने योजना छ । आफूलाई कसरी सजिलो हुन्छ र कसरी काम गर्न सकिन्छ भन्ने योजना छ । ‘माया लुकी लुकी २’ लिएर आउने सोच बनाएको छु तर, योजना छैन । यो वर्ष फरक तरिकाले काम गर्ने योजना बनाएको छु ।

    विल्सन विक्रम राई (तक्मे बुढा)

    यो वर्षमा नयाँ तरिकाबाट हँसाउने काम गर्छु । देशको लागि केही नयाँ कार्य गर्छु । वैशाखको दोस्रो हप्ताबाट ‘फूर्के नं १’ प्रभु टेलिभिजनमा आउँदै छ । कोभिडको कारणले थलिएको समाजलाई हँसाउने काम गर्छु । घर–घरमा पुगेर भएपनि संसारलाई हँसाउने काम गर्छु । व्यक्तिगत योजना भन्नुपर्दा मेरो छोरा, बुबा सबैजनालाई खुशि दिने योजना बनाएको छु ।

    दीपकराज गिरी (अभिनेता)

    कोभिडले गर्दा फिल्म बनाउनको लागि हतार गरेको छैन । यो वर्ष व्यक्तिगत सुधारमा बढी केन्द्रित हुन्छु । यो वर्ष म जन्मिएको ठाउँ चन्द्रागिरी- दहचोकमा रहेको गाउँको लागि केही गर्ने सोचमा छु । गाउँमा अर्गानिक फार्म बनाउने योजनामा छु । अर्गानिक फार्ममा हरियाली कृषिसहितको पुराना संरचनाका घरहरु पनि निर्माण हुनेछन् । इन्डोरभित्र फिल्म पनि छायांकन गर्न सकिनेछ । पछिल्लो समय कोरोनाको दोस्रो लहरका कारणले फिल्म छायांकन गर्ने ठाउँको अभाव भएकाले पनि निर्माताहरुलाई सजिलो हुन्छ ।

    सलोन बस्नेत (अभिनेता)

    यो वर्ष प्लान त बनाएको छैन । यो वर्ष मुभिमा नै काम गर्छु । अहिले ‘ए मेरो हजुर’को नयाँ सिक्वेलको सुटिङ भैरहेको छ । ‘डाडाँको वर पिपल’ वैशाखको अन्तिमबाट सुटिङ हुदै छ । ‘नाई नभन्नु ल’को नयाँ सिक्वेल छायांकन हुने भनेपनि अहिले फिक्सड भएको छैन । आफ्नो व्यक्तिगत योजना भनेको परिवारलाई खुशि राख्नु हो ।

    मनोज गजुरेल (हाँस्यकलाकार)

    २०७७ सालमा जे भयो अघिल्लो सालमा नपाएको स्वास्थ्य सक्रिय यो सालमा प्राप्त हुने अपेक्षा गर्दछु । व्यावसायीक क्षेत्रलाई हेर्दा आफ्नो शैली चिनाउने खालको एक टिभी सोमा काम गर्ने योजनामा छु । कला क्षेत्रमा व्यंग्यात्मक किताब निकाल्ने योजनामा छु । कोरोनाको महामारी छ । आफ्नो परिवारलाई र समाजलाई व्यक्तिगत भाइचाराबाट बचाउने कोसिस गर्छु ।

  • बलिउडमा आजदेखि लकडाउन : रोकिए सलमान, प्रवास र शाहरुखका ठूला फिल्म

    बलिउडमा आजदेखि लकडाउन : रोकिए सलमान, प्रवास र शाहरुखका ठूला फिल्म

    मुम्बई । भारतको महाराष्ट्रमा बुधबारदेखि १५ दिनको भाइरस लकडाउन लागु हुँदैछ । बलिउडको केन्द्रविन्दू मानिने मुम्बईमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा बलिउड पनि छ ।

    त्यहाँ भाइरसको संक्रमण र गति हेर्दा लकडाउन अझै लम्बिन सक्ने अनुमान गर्न सकिन्छ । किनभने भारत संसारमै कोरोनाबाट प्रभावित मुलुकमध्ये एक हो । मुम्बईमा सिनेमा घरसहित भीडभाड हुने थलो पनि अहिले बन्द गरिएका छन् ।

    लकडाउनको कारण ठूलो बजेटका फिल्म छायांकन समेत रोकिएका छन् । भारतीय संचारमाध्यमका अनुसार बन्दाबन्दीले गर्दा शाहरुख खानको ‘पठान’, सलमान खानको ‘टाइगर ३’, प्रवास र कृति स्यानोन स्टारर ‘आदिपुरुष’ र ‘डोंग्री टु दुबई’ छायांकन स्थगित भएका छन् ।

    निर्देशक मनीष शर्माले पनि सलमान खान र एक्सन कोरियोग्राफरको कारण टाइगर ३ को छायांकन पनि रोकिएको छ । प्रवासको आदिपुरुषले पनि लकडाउन खुलेर कोरोना सामान्य भएपछि मात्र छायांकनमा जाने तयारी गरेको छ ।

  • नीफ फिल्म फेस्टिभल यसै महिना काठमाडौंमा हुने, छानिए तीन नेपाली फिचर फिल्म

    नीफ फिल्म फेस्टिभल यसै महिना काठमाडौंमा हुने, छानिए तीन नेपाली फिचर फिल्म

    काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ)को यसवर्षको संस्करणमा तीनवटा नेपाली फिल्मले फिचर विधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

    आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सवका लागि नेपाली फिल्म लाटो कोसेरो , सरिता :११ बर्ष र आमा खान्डो फिचर फिल्मका लागि छानिएको जनाएको छ ।

    महोत्सबका लागि ५२ देशबाट ४ सय ५० फिल्म प्राप्त भएको छ । ३१ देशका ६३ फिल्मलाई फेस्टिभलमा प्रस्तिस्पर्धाको लागि पहिले नै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म प्रतिस्पर्धी छान्न बाँकी थियो ।

    अब निफमा ६६ फिल्म देखाइने छन । यो विधामा उत्कृष्ट हुने फिल्मले एक लाख नगद पुरस्कार सहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाँकार,अभिनेता र अभिनेत्री टाइटलको विजयी ट्रफी समेत पाउनेछन् ।

    ‘विश्वका कथाहरुको उत्सब’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराइ अवार्ड दिइने भएको छ ।

    कोभिड-१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

    यसैगरी, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिने भएको छ ।

    महोत्सव २०७८ बैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

  • नयाँ वर्षमा तक्मेबुढाले राष्ट्रपतिबाट पाए तक्मा

    नयाँ वर्षमा तक्मेबुढाले राष्ट्रपतिबाट पाए तक्मा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र विकासमा योगदान दिएबापत नयाँवर्षको अवसरमा बुधबार विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभूषणले सुशोधन गरेकी छिन् ।

    अभिनेता विल्सनविक्रम राईले राष्ट्रपतिको हातबाट कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभुषण ग्रहण गरे । विक्रम संवत २०७७ सालको विभूषणलाई राष्ट्रपतिले बैशाख १ गते प्रदान गरेकी हुन् ।

    विभूषण प्राप्त गरेपछि नेपालप्रेससँग कुरा गर्दै राईले आफ्नो योगदानलाई राष्ट्रले सम्झेकोमा खुशि व्यक्त गरे ।

  • ऋचा शर्मा आमा बन्दै, फेसबुकमा लेखिन्- आफ्नो भन्दा अरुको धड्कन प्यारो

    ऋचा शर्मा आमा बन्दै, फेसबुकमा लेखिन्- आफ्नो भन्दा अरुको धड्कन प्यारो

    काठमाडौं । नायिका ऋचा शर्मा आमा बन्ने भएकी छन् । उनले फेसबुकमार्फत आफू गर्भवती बनेको जानकारी गराएकी हुन् ।

    श्रीमानसँग विरुवामा पानी हालिरहेको तस्वीरसहित ऋचाले भावनात्मक पोस्ट गरेकी छन् । आफ्नो गर्भमा एउटा जीवन हुर्किरहेको र आफ्नो धड्कनभन्दा अरुको धड्कन प्यारो आभास भइरहेको उनको भनाइ छ ।

    ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्ना भावनाहरु पोख्न सकिरहेको छैन । तपाइींहरुमाझ यो खुशी बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको छ,’ उनल लेखेकी छन् ।

    नयाँ जीवनको स्वागत गर्दै घरको दैलोमा आफू र श्रीमानले सजीवनको रुख रोपेको उनले बताएकी छन् ।

    ऋचाले २०७६ सालको ११ मंसिरमा दिपेक्ष विक्रम राणासँग विहे गरेकी थिइन् । उनी अहिले टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनमा ‘निर्णायक’ को भूमिका निभाइरहेकी छन् ।

    ऋचाको स्टाटस यस्तो छः

    आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउँछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भइरहेको छ। आज तपाईंहरुमाझ यो खुशी बाँड्न पाउदा सम्पूर्ण महसुश भइरहेको छ। एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौं। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधैं बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठुली भई।’

  • नयाँवर्षमा रचनाले ल्याइन् ‘ह्याप्पी न्यू इयर’ गीत (भिडियो)

    नयाँवर्षमा रचनाले ल्याइन् ‘ह्याप्पी न्यू इयर’ गीत (भिडियो)

    काठमाडौं । नयाँ बर्ष २०७८ को पूर्वसन्ध्यामा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको गीत ‘ह्याप्पी न्यू इयर’ इन्टरनेट रिलिज भएको छ ।

    बसन्त लम्सालको शब्द , संगीत र सुरज श्रेष्ठको एरेन्जिङमा गीत तयार भएको हो । यो रमाइलो गीतमा लुष बराइली, रन्जीत पौडेल, अनामिका बाराकोटी, पबित्रा चौहान र रेशम बुढाथोकीको अभिनय छ ।

    निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको छायांकन र विकास धमलाको सम्पादन छ । हेर्नूस गीत :

  • ‘मिस इको एसिया’को उपाधी नेपालले जित्यो, अनुश्मा रायमाझीले जितिन् टाइटल

    ‘मिस इको एसिया’को उपाधी नेपालले जित्यो, अनुश्मा रायमाझीले जितिन् टाइटल

    काठमाडौंँ । मिस इको इन्टरनेशनल नेपालकी विजेता अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताएकी छन् ।

    नेपालमा इको टुरिजम विकासका थुप्रै सम्भावना रहेको बताउँदै उनले त्यसो गर्न सके देशलाई विदेशमा चिनाउन र आर्थिक आर्जन गर्न सजिलो हुने बताइन् ।

    इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१ ’ मा नेपालको प्रतिनिधित्व गरेर काठमाडौं फर्किएकी रायमाझीले प्रतियोगिताबाट ‘मिस इको एसिया’ टाइटल समेत जित्न सफल भएकी छिन् ।

    प्रतियोगितामा मुख्य टाइटलपछि महत्वपूर्ण मानिएको यो उपाधि देशमा ल्याउन पाउनु महत्वपूर्ण उपलब्धी भएको उनको भनाई छ ।

    राजधानीमा आयोजित प्रेसमिटमा उनले देशलाई समेत चिनाउन सफल भएको दाबी गरिन् । ‘कार्यक्रममा मैले नेपाललाई सगरमाथा, बुद्धको देशसहित बिभिन्न कला, संस्कृतिले भरिएको राष्ट्रको रुपमा चिनाएँ’ रायमाझीले भनिन्, ‘प्रतियोगिताबाट मैले धेरै देशका बारेमा सिक्न र जान्न समेत सफल भए ।’

    कार्यक्रममा पूर्व मिस इको इन्टरनेशनल नेपाल तथा मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले रायमाझीले ‘मिस इको एसिया’ ताज नेपाललाई दिलाएर महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् ।

    विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो । २१ वर्षीया रायमाझीले कार्यक्रममा नेपालको सांस्कृतिक पोशाक, संस्कृति र पर्यटकीय स्थानको भिडियो प्रस्तुत गरेकी थिइन् ।

  • सास धान्ने संघर्षमा चलचित्र क्षेत्र, हजारौंको रोजिरोटी संकटमा

    सास धान्ने संघर्षमा चलचित्र क्षेत्र, हजारौंको रोजिरोटी संकटमा

    काठमाडौं । कोरोनाको महामारीले विश्वव्यापी रुपमा सबैभन्दा बढी प्रभाव परेको क्षेत्रमध्ये एक हो- चलचित्र उद्योग । अरु क्षेत्रहरु कोरोनालाई जित्दै पुरानो लयमा फर्किन लाग्दा पनि चलचित्र उद्योग भने अझै लमतन्न सुतिरहेको छ ।

    नेपालमा पनि चलचित्र क्षेत्रका लागि सम्भवतः इतिहासकै सबैभन्दा दयनीय वर्ष रह्यो २०७७ साल । गत वर्षको चैत ११ गते देशव्यापी लकडाउन गरिएपछि ठप्प बनेको चलचित्र क्षेत्र अहिले पनि चल्मलाउन सकिरहेको छैन । असार महिनामा कोभिड-१९ को दोस्रो लहर उत्कर्षमा पुग्ने सरकारी प्रक्षेपण सार्वजनिक हुँदा यो क्षेत्रको चाँडै तंग्रिने सम्भावना पनि देखिएको छैन ।

    स्वभाविकरुपमा भीडभाड हुने वा हुनुपर्ने भएकाले चलचित्र क्षेत्रलाई कोरोनाको सबैभन्दा बेसी मार परेको हो । सरकारले लामो समय हलहरु चल्न दिएन । जब व्यवसायीहरुले एकतर्फी निर्णय गर्दै हल खोल्न थाले, दर्शकहरु हलमा आइदिएनन् । त्यसो भएपछि निर्माताहरु नयाँ फिल्म रिलिज गर्न डराए । रिलिज डेट तोकिएका फिल्महरु स्थगित भए । आजको मितिसम्म चलचित्र क्षेत्रलाई कालो ग्रहणले छोपेको छ । सयौं कलाकार तथा प्राविधिकहरुको रोजगारी खोसिएको छ । यद्यपि, म्युजिक भिडियोले थोरै राहत कलाकारहरुलाई मिलेको छ ।

    एक वर्षमा चार फिल्म, कमाइ नगण्य

    वर्ष २०७७ मा नेपाली फिल्म, संगीत र कला क्षेत्र गहिरो संकटमा मात्र फसेन, आर्थिक र मनोवैज्ञानिकरुपमा वर्षौं पछाडि धकेलिए । १० महीना लामो लकडाउन झेलेको नेपाली फिल्म हल पुस २६ गते खुले पनि तर त्यसयता फुटफल शुन्यप्रायः रह्यो ।

    लामो लकडाउनपछि माघ १ गते शिव श्रेष्ठको मल्टिस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । कोभिड कहरपछि पहिलोपटक रिलिज भएको यो फिल्म व्यवसायीकरुपमा असफल भयो । नाम चलेका अनुहारलाई लिएर बनाइएको महंगो बजेटको फिल्मले बक्सअफिसमा पानी पनि भन्न सकेन । फिल्मले गतिलो समिक्षा पनि पाएन । बरु कतिपयले यसले दर्शक भड्काएको आरोप लगाए ।

    यस वर्ष रिलिज भएको अर्को फिल्म थियो ‘गोर्खे’ । यो फिल्म पनि रिलिज त भयो तर, रिलिज भएकै दिन कतिपय हलमा यसका सो स्थगित भए । यो फिल्म पनि बक्सअफिस र समीक्षकको कोणबाट असफल बन्यो । ‘एउटा यस्तो प्रेम कहानी’ ले बक्सअफिसमा २ लाख र ‘गोर्खे’ ले २ लाख रुपैयाँ ग्रस कमाइ गरेका छन् । कुनै फिल्मले १ लाख रुपैयाँ कमाउँदा निर्माताको हातमा बढीमा २० हजार रुपैयाँ पर्न आउँछ ।

    गत शुक्रबार सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘श्री’ र मुकेश ढकालको मुख्य भूमिका रहेको ‘गुड फे्रन्ड’ रिलिज भएका छन् । तर, दर्शक हेर्न आएका छैनन् । नयाँ वर्षको छेकोमा रिलिज हुने तयारीमा रहेका ‘लप्पन छप्पन २’, ‘कृष्णलीला’ र ‘मनसँग मन’ कोभिडको दोस्रो लहरको त्रासमा ‘पोस्टपोन्ड’ भए ।

    लकडाउन खुलेयताको तीन महिनामा फिल्म हलहरु केही बलिउड र हलिउड फिल्म चलाएर सास धानिरहेका छन् । बक्सअफिस तथ्यांक केलाउँदा महामारीयता नेपालमा सबैभन्दा बढी कमाउनेमा बलिउड फिल्म ‘रुही’ बन्यो । यस चलचित्रले प्रदर्शनको एक महीनामा नेपालबाट ४० लाख ग्रस कमाएको थियो । दक्षिण भारतको फिल्म ‘मास्टर’ ले ठीकै कमाइ गर्न सक्यो । ए–लिस्टर नभए पनि सानो ब्यानरका हलिउड फिल्म चाहिँ रिलिज भइरहेका छन् । नेपालस्थित विदेशी फिल्मका वितरकले पनि कोभिडको दोस्रो लहरको त्रासमा अन्तर्राष्ट्रिय फिल्म रिलिज गर्न सकिरहेका छैनन् । यसो हुनुमा लगानी उठ्ने चिन्ता नै मुख्य कारण हो ।

    नयाँ प्रजातिको कोरोनाको त्रासका कारण पछिल्लो समय निर्माताले धमाधम फिल्म पोस्टपोन्ड गर्न थालेका छन् । यसले हलहरुको मुस्किल झन् बढेको छ । चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान हलहरु बन्द हुने अवस्थामा पुगेको बताउँछन् । ‘एक त फिल्म धमाधम पोस्टपोन्ड भैरहेका छन् र विदेशी फिल्महरु पनि उपलब्ध छैनन्,’ उनले भने, ‘अर्को, दर्शक कोरोनाको डरले हलमा आउनै छोडेका छन् ।’

    कोभिड पुनरुत्थानका लागि चलचित्र विकास बोर्डले ६ महिनाभित्र रिलिज हुने फिल्मलाई ५–५ लाखको दरले राहत दिने, रिलिजको खर्चमा सघाउने र प्रदर्शनमा प्राथमिकता दिने भने पनि निर्माता त्यसतर्फ आकर्षित भएनन् । फिल्म निर्माण सकेर बसेका निर्माताले नयाँ प्रदर्शन मिति घोषणा गरेका छैनन् ।

    कुनै बेला बलिउडको विरोधमा उत्रने केही निर्माताले यसपटक चाहिँ बजारलाई लयमा ल्याउन ठूलो ब्यानरको भारतीय रिलिज हुनुपर्ने आवश्यकता महसुस गरे । तर, बलिडमा पनि उही अवस्था छ । सूर्यवंशी, बन्टी और बब्ली, थालाबी रिलिज स्थगित भए ।

    लकडाउनले २३ वटा फिल्म बनेर पनि प्रदर्शन हुन पाएका थिएनन् । सुटिङमै रोकिएका दर्जनसहित केही नयाँ फिल्मले फिल्म गतिविधि खुलेपछि काम पुरा गरे । तर, निर्माण भैसकेर पनि प्रदर्शन हुन नपाएका नयाँ फिल्म कहिलेदेखि रिलिज हुने अहिलेसम्म टुंगो छैन । यसो हुनुमा कोभिडको अर्को त्रासले तत्काल हलसम्म आउँदैनन् कि भन्ने अन्यौल नै कारण हो । लकडाउनअघि नै चार करोड लगानी फसाएर बसिरहेको प्रेमगीत–३ जस्ता ठूला फिल्मको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ ।

    महामारीको कारण वर्ष २०७७ मा ३० प्रतिशत हल सँधैका लागि बन्द भएको चलचित्र संघको आँकडा छ । जसमा अर्धशहरी क्षेत्रका सिंगल थिएटर प्रमुख छन् । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सका सिभिल, लाबिम, छायाँ र भक्तपुरका आउटलेट शुन्यप्रायः स्थितीमा खुलिरहेका छन् । दर्शकको हटस्पट मानिने जयनेपाल, कुमारी, गोपिकृष्ण हलहरु महामारीयता बन्द छन् । सिंगल थिएटरलाई पनि पुननिर्माण गरेर मल्टिप्लेक्स बनाउनुपर्ने दबाब परिरहेको छ ।

    रोजगारी गुम्दै, रोजिरोटी संकटमा

    एउटा फिल्मले दिने अस्थायी रोजगारी कति होला ? प्रि-प्रोडक्सन चरणमा २०, छायांकनमा ५०, पोस्ट–प्रोडक्सनमा २०, रिलिज पूर्वसन्ध्यामा २०, वितरणमा ८ र अन्य काममा २५ जना । यसप्रकार प्रत्येक वर्ष सयभन्दा बढी फिल्म निर्माण हुँदा हजारौंले रोजगारी पाइरहेका थिए । फिल्मबाट पालिएकाहरुको रोजिरोटी यो वर्ष संकटमा परेको छ ।

    सबैभन्दा बढी मारमा दैनिक ज्यालादारी काम गर्ने प्राविधिकहरु परेका छन् । चलचित्र प्राविधिक संघका अनुसार लकडाउनको कारण ५ प्रतिशत प्राविधिक स्थायीरुपमै पेशाबाट पलायन भएका छन् । अब पनि लकडाउन हुने हो भने ८० प्रतिशत प्राविधिक पेशाबाटै पलायन हुने संघ अध्यक्ष पुष्कर लामा बताउँछन् । एउटा प्राविधिक उत्पादन गर्न कम्तीमा ५ वर्ष लाग्ने र प्राविधिकको क्षति फिल्मलाई दीर्घकालसम्म पर्ने उनको भनाई छ ।

    विकल्पमा ओटीटी प्लेटफर्म

    गतवर्ष नेपाली फिल्मको इको-सिस्टममा केही परिवर्तन देखियो । लकडाउन लगत्तै नेपाली फिल्मको वितरण हाइव्रिड प्रणालीमा प्रवेश गर्‍यो । भन्नुको अर्थ, एकसाथ हल र ओटीटी प्लेटफर्ममा फिल्म रिलिज भए । खगेन्द्र लामिछाने र ऋचा शर्मा लगायतका कलाकारले ओटीटी प्लेटर्फम लन्च गरेर फिल्मलाई डिजिटल रिलिज गरे । नेटफिल्क्स, अमेजन, एचबीओ, हुलु, डीसहोम, नेटटिभी लगायतका ओटीटी र स्ट्रिमिङ प्लेटर्फममा फिल्म हेर्ने दर्शकीय स्वादको विकास भयो ।

    गत सातादेखि नेपालबाटै थालनी गरिएको अन्तर्राष्ट्रिय डलर क्रेडिट कार्डको व्यवस्थाले यी डिजिटल प्लेटफर्ममा नेपाली दर्शकको उपस्थिती झनै बाक्लिने अपेक्षा गरिएको छ । कतिपय फिल्म निर्माता डिजिटल प्लेटफर्मममा दर्शकीय उपस्थितीले फिल्म हलको परम्परागत मनोरञ्जन उपभोग शैलीलाई चुनौति दिने बताउँछन् । लकडाउन कालखण्डमा अधिकांश दर्शकले विदेशी फिल्म हेरेर मजा लिए र त्यसको समीक्षा गरे । जसले गर्दा फिल्म बुझ्ने दर्शकीय चेतनाको विकास भएको अनुमान गर्न सकिन्छ ।

    कोभिडको विश्वव्यापी प्रभाव

    क्षतिको आयतनको हिसाबले गत वर्ष कोभिडको असर मेनस्ट्रिममा भन्दा स्वतन्त्र र कम बजेटका इन्डाइ फिल्ममा कम पर्‍यो । अस्कर, सनडान्स, कास्ट, टोरन्टो, भेनिस, ट्राइबेका, मुम्बई, बुसान बर्लिन लगायतका फेस्टिभल र अवार्ड भर्चुअल माध्यममा सीमित भए । नेपालको ठूलो फिल्म फेस्टिभल किम्फ समेत भर्चुअल बन्यो ।

    स्टानफर्ड विश्वविद्यालयमा केही महिना पहिले आयोजना भएको एउटा भर्चुअल छलफलको निष्कर्ष थियो जुन नेपाली समाजका लागि पनि सान्दर्भिक छ । नेपाली मनोरञ्जन क्षेत्रको लागि झनै सान्दर्भिक । पहिलो- भविष्यको अन्यौल सबैतिर छ । दोस्रो -केही वर्ष यस्तै रहनसक्छ र तेस्रो -आउने साल हैन, ५/१० वर्ष पछाडिलाई सोच्न थालिहाले हुन्छ ।

    अमेरिकी फिल्म उद्योगले सोही अवधीसम्म ५ विलियन अमेरिकी डलरभन्दा बढी क्षति व्योहोर्‍यो । हलिउडका १४ हजार प्राविधिकले रोजगारी गुमाएको अनुमान गरिएको छ ।

    भारतीय अखबार हिन्दूस्तान टाइम्सका अनुसार लकडाउन कालखण्डमा बलिउडले १३ सय करोड भारु गुमायो । बलिउड अब कहिले लयमा फर्किन्छ भन्ने टुंगो छैन । बलिउड नगरी मुम्बईमा पूर्ण लकडाउनको तयारी गरिएको छ भने अहिले सो क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ ।

    हलिउड रिपोर्टर म्यागजिनका अनुसार अमेरिकी फिल्म उद्योगले सोही अवधीसम्म ५ विलियन अमेरिकी डलरभन्दा बढी क्षति व्योहोर्‍यो । हलिउडका १४ हजार प्राविधिकले रोजगारी गुमाएको अनुमान गरिएको छ । अमेरिकामा भाइरसबाट मृत्यु हुने संख्या र संक्रमण दर उकालो लागिरहेको छ । हलिउड नगरी लस-एन्जल्स कोरोनाको हटस्पट बनिरहेको छ ।

    वर्ष २०७७ ले स्टारडमको पुनव्र्याख्या पनि गरिदियो । ‘सेलेव्रिटी कल्चर इज बर्निङ’ शीर्षकको न्यूयोर्क टाइम्समा प्रकाशित लेखमा अमान्डा हेस लेख्छिन् -सुपरहिरो, सेलेव्रिटी र आममान्छेको ग्याप महामारीले मेटिदियो ।’

    चिकित्सा मानवशाष्त्री एवं फिल्म निर्देशक डा. सचिन घिमिरे नयाँ कोरोनाको प्रजाति व्यापक फैलिएको कारण आउने वर्ष पनि समाज प्रभावित हुने बताउँछन् । ‘अझै केही समय म्युटेन्ट भाइरसको गति रोकिने छाँटकाँट छैन’ उनी भन्छन्, ‘भाइरसको संक्रमण र चरित्रलाई लिएर ब्यापक अन्यौल छ । विश्व नै अन्यौल भइरहेको बेला नेपाली फिल्मको भविष्यबारे अहिले नै भन्न नमिल्ला ।’

    बरु, फिल्मकर्मीले नै अहिले नै सुटिङ र निर्माण लगायतका कामहरु सकेर बस्न उनको सुझाव छ । घिमिरेले लेखेको फिल्म ‘नीरफूल’ लकडाउनका कारण रोकिएको थियो र कहिले रिलिज हुन्छ निधो छैन । डा. घिमिरे कोभिडले थिलोथिलो परेको नेपाली फिल्म क्षेत्रलाई बचाइराख्न चलचित्र विकास बोर्डले पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । सम्पूर्ण जनसंख्यामा खोपको सुनिश्चितता नहुँदासम्म दर्शक ढुक्क भएर फिल्म हलमा जाने सम्भावना कम भएको उनको ठम्याइ छ ।

    वर्ष २०७७ ले स्टारडमको पुनव्र्याख्या पनि गरिदियो । ‘सेलेव्रिटी कल्चर इज बर्निङ’ शीर्षकको न्यूयोर्क टाइम्समा प्रकाशित लेखमा अमान्डा हेस लेख्छिन् -सुपरहिरो, सेलेव्रिटी र आममान्छेको ग्याप महामारीले मेटिदियो ।’

    मार्भल स्टुडियोका सुपरहिरो भान्सामा पसेर पाककलाको ज्ञान बाँड्दै गर्दा कसरी चिकित्सक र नर्सले फ्रन्टलाइनमा उभिएर संसारको रक्षा गर्दैैछन् भनेर उनले आलेखमा तर्क गरेकी छिन् ।

  • नयाँवर्षमा दीपकको योजना : चन्द्रागिरीमा फिल्म स्टुडियो खोल्ने

    नयाँवर्षमा दीपकको योजना : चन्द्रागिरीमा फिल्म स्टुडियो खोल्ने

    काठमाडौं । कोरोनाको दोस्रो लहरले पुनः मनोरञ्जन क्षेत्रलाई प्रभावित पार्ने देखिएको छ । नयाँवर्ष २०७८ पनि कोरोनाकै कहरमा प्रताडित हुने चिन्ता सर्वत्र छाएको छ ।

    सेलेव्रिटी पनि कोरोनासँगै कसरी नयाँवर्षलाई अघि बढाउने चिन्तनमा छन् । बैशाख १ गते जन्मदिन मनाउन लागेका दीपकराज गिरीले आफ्नो नयाँवर्ष संकल्प सार्वजनिक गरेका छन् ।

    जसमा उनले फुर्सदिलो हुने नयाँ वर्षको समयलाई समाजसेवामा लगाउने योजना बुनेका छन् । यसका लागि दीपकले जन्मथलो काठमाडौंको चन्द्रागिरीस्थित दहचोकमा अर्गानिक फार्महाउस बनाउने र त्यहाँ फिल्म छायांकनका लागि स्टुडियो बनाउने योजना बुनेका छन् ।

    ‘नयाँवर्ष व्यक्तित्व सुधारका साथै आफ्नै जन्मथलोमा केही काम गरौं कि भनेर मनाउने विचारमा छु’ दीपकले नेपालप्रेससँग भने, ‘यसका लागि फार्म हाउस र फिल्म स्टुडियो बनाउने विचारमा छु ।’ उनले पुराना शैलीका घर र संरचना बनाएर स्थापना गर्न भनेको अर्गानिक हाउसमा फिल्म सुटिङ गर्ने मिल्ने भएको छ ।

    हुनसक्छ, उनले आफ्ना आगामी प्रोजेक्टको छायांकन पनि सोही स्टुडियोमा छायांकन गर्नेछन् । दीपकलाई जन्मदिनको शुभकामना ।