Category: कलाप्रेस

  • ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक, राजसँग रोमान्टिक अवतारमा सनिषा

    ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक, राजसँग रोमान्टिक अवतारमा सनिषा

    काठमाडौं । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका मुख्य नायक राज कटुवाल र नायिका सनिषा भट्टराई फिर्चड छन् ।

    पोस्टरमा राज र सनिषा रोमान्टिक भावमा छन् । चलचित्र विकास बोर्डका पूर्व सदस्य समेत रहेका राज यो चलचित्रबाट उदाउने दाउमा छन् । यो चलचित्रमा उनले नायक राजेश हमालसँग पर्दा शेयर गरेका छन् । यहीँ चलचित्रका लागि राजले एक्सन समेत सिकेका थिए । यता,‘१२ गाउँ’ को व्यापारबाट दंग सनिषा पनि ‘नरसिंहाः अवतार’मा अझै बुलन्द रुपमा प्रस्तुत भई दर्शकको ध्यान खिच्ने तयारीमा छिन् ।

    दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी छ । चलचित्रमा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । पोस्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।

    चलचित्रमा राजु विक्रम थापाको डीओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो चलचित्रका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।

  • रिलिजको संघारमा एक्सन मुभि ‘पिताम्बर’ र ‘कर्मा’, कसले कति पाए शो ?

    रिलिजको संघारमा एक्सन मुभि ‘पिताम्बर’ र ‘कर्मा’, कसले कति पाए शो ?

    काठमाडौं । यहीं चैत २९ गते, शुक्रबार अर्थात भोलिदेखि रिलिजको तयारीमा रहेको दुई नेपाली चलचित्रहरु ‘कर्मा’ र ‘पिताम्बर’ले उत्साहजनक शो पाएको छ। हलमा दुवै चलचित्रले सुखदमय शो पाएका छन् भने दुवै चलचित्रको अनलाइन बुकिङ पनि खुलिसकेको छ।

    दुईमध्ये सबैभन्दा धेरै शो प्रदीप खड्का स्टारर चलचित्र ‘पिताम्बर’ले पाएको छ । यो चलचित्रले देशब्यापी १७० शो पाएको छ । त्यस्तै, विपिन कार्की स्टारर चलचित्र ‘कर्मा’ले पनि देशव्यापी १२४ शो प्राप्त गरेको छ।

    सुखद शो पाएसंगै अब यी दुई चलचित्रले कस्तो व्यापार गर्छन्, त्यो भने भोलिबाट थाहा हुनेछ। अग्रिम टिकट बिक्रीको कुरा गर्ने हो भने, ‘पिताम्बर’ र ‘कर्मा’ दुबैको एड्भान्स टिकट बिक्री कम छ । एड्भान्स टिकट बिक्री अपेक्षाअनुसार छैन। यी दुवै चलचित्रलाई बलियो ‘वर्ड अफ माउथ’ को जरुरत छ।

    ‘कर्मा’ र ‘पिताम्बर’ दुवै एक्सन फिल्म हुन् ।

  • रोयल्टीको झमेलाः स्रष्टाको आर्थिक र नैतिक अधिकारको लफडा कहिले सुल्झेला ?

    रोयल्टीको झमेलाः स्रष्टाको आर्थिक र नैतिक अधिकारको लफडा कहिले सुल्झेला ?

    काठमाडौं । ‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरू’, ‘नमान लाज यसरी’ जस्ता गीत पक्कै सुन्नुभएकै होला । यी गीतमा स्वर भरेका गायक प्रेमध्वज प्रधान बितेको चार वर्ष भइसक्यो । मखमली स्वरका धनी उनका दर्जनौं गीत दर्शक/स्रोतामाझ लोकप्रिय छन् ।

    ८२ वर्षको उमेरमा संसार छाडेर गएका प्रधानले जीवनका उर्बर र ऊर्जाशील समय नेपाली संगीतको श्रीवृद्धिमा खर्च गरे । जीवनको उत्तरार्द्धमा भने आफ्नो सृजनाप्रतिको हक र अधिकारका निम्ति लड्डालड्दै बिते । स्रष्टाको हैसियतमा पाउने सृजनाप्रतिको नैतिक र आर्थिक अधिकारबाट वञ्चित रहेरै यस धर्तीबाट बिदा भए ।

    आफ्नो सृजनाबाट पाउनुपर्ने कृतिस्व (रोयल्टी)का लागि प्रधानले केकेसम्म गरेनन् ! आफ्नो हक र अधिकारमाथि कब्जा जमाएका म्युजिक नेपाल जस्ता कम्पनीलाई ‘रोयल्टी पाउँ’ भनेर तारन्तार गुहारे, तर सुनुवाइ भएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई गएर भेटे । आफ्ना समस्याहरू सुनाए । ओलीले आफू गम्भीर भएकोसमेत बताए ।

    त्यसवेला प्रधानसँगै स्वरूपराज आचार्यलगायत संगीतकर्मी पनि प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । आचार्य आफूभन्दा ज्यादा पिता भजन शिरोमणि भक्तराज आचार्यसमेत प्रतिलिपि अधिकारबाट वञ्चित भएकाले प्रधानमन्त्री गुहार्न पुगेका थिए । यद्यपि भक्तराज आफ्ना सृजनाहरूबाट प्राप्त हुने आर्थिक र नैतिक अधिकारबाट वञ्चित भएरै यस संसारबाट बिदा भए । गत वर्ष ८१ वर्षको उमेरमा उनको निधन भयो ।

    प्रेमध्वज र भक्तराजमात्रै होइनन्, अन्य धेरै स्रष्टाहरूको पनि हालत यस्तै हुने हो कि भन्ने संशय संगीतकर्मीहरूमा देखिन्छ । सुरेश अधिकारी, महेश खड्का, लक्ष्मण शेष, चेतन सापकोटा, वसन्त सापकोटा, हरि लम्साललगायत संगीतकर्मीहरू अहिले पनि आफ्ना सृजनाबाट प्राप्त हुने नैतिक तथा आर्थिक अधिकारको लागि लडिरहेका छन् ।

    सुरेश अधिकारी भन्छन्, ‘हाम्रो पुस्ता त लड्दालड्दै सकिने भयो । खै, कहिले न्याय पाइएला र !’

    महेश खड्का थप्छन्, ‘दशौं वर्ष भयो लडेको, तर न्याय पाइएको छैन । आफ्नै सृजनाबाट प्राप्त हुने हकका लागि यति धेरै लडाइँ लडिरहनु परेको छ ।’

    सुरेश अधिकारी आक्रोश पोख्छन्, ‘नेपाल त जंगल हो, यहाँ कानून छ जस्तो नै लाग्दैन । भए पनि कार्यान्वायन हुन्छ जस्तो नै लाग्दैन । यदि कानूनको पालना हुन्थ्यो भने हामी स्रष्टाहरू यति धेरै मारमा पर्दैन थियौं ।’

    के हो प्रेमध्वज, भक्तराजहरूले जीवनकालभरि लडेको लडाइँ ?

    कोही सर्जकले कुनै चिज सृजना गर्छ भने उक्त सृजनामा स्रष्टाको प्रतिलिपि अधिकार सुरक्षित हुन्छ । मानौं कुनै लेखकले किताब लेख्छ भने उक्त किताबमाथि लेखकको नैतिक तथा आर्थिक अधिकार सुरक्षित हुन्छ । चित्रकारले चित्र बनाउँछ भने, गीतकारले गीत लेख्छ भने, संगीतकारले संगीत गर्छ भने उक्त सृजनामा स्रष्टाको प्रतिलिपि अधिकार सुरक्षित हुन्छ । प्रतिलिपि अधिकार ऐन २०५९ ले पनि स्रष्टाको अधिकारलाई सुनिश्चित गरेको छ ।

    कानूनले नै अधिकारलाई सुनिश्चित गरिदिए पनि प्रेमध्वज, भक्तराज जस्ता दिग्गज स्रष्टाहरू आफ्नो अधिकारको लडाइँ लड्दालड्दै संसारबाट बिदा भए । सुरेश, महेश, लक्ष्मण, वसन्त जस्ता स्रष्टाहरू डेढ दशकदेखि आफ्नो सृजनाको रोयल्टीको हक खोजिरहेका छन्, तर उनीहरू आफ्नो सृजनाको हकबाटै वञ्चित हुँदै गएका छन् ।

    मानौं, युट्युब, स्पोटिफाइ जस्ता प्ल्याटफर्मतिर कुनै गीत बज्यो वा फेसबुक, इन्स्टाग्राम वा टिकटकमा कुनै गीत बज्यो अथवा तपाईंले गीतको स्थायी वा अन्तरामा टिकटक, रिल्स बनाउनुभयो । यसरी गीत बज्दा संगीतकार, गीतकार, पब्लिसरको प्रतिलिपि अधिकार पनि सुरक्षित रहनुपर्छ । उनीह्ररुले कृतिस्व (रोयल्टी) पाउनुपर्छ । किनभने यस्ता प्ल्याटफर्मममा गीत अपलोड गर्ने कम्पनी, च्यानल, पेजहरूले गीत बजेवापत् आम्दानी गरिरहेका हुन्छन् । उक्त आम्दानीमा स्रष्टाहरूको रोयल्टीको पनि अंश समावेश हुन्छ ।

    अथवा मानौं, सार्वजनिक यातायात, रेडियो, टेलिभिजन, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसतिर कुनै गीत बज्यो । यसरी व्यावसायिक प्रयोजनले गीत बजाइँदा स्रष्टाहरूलाई निश्चित मात्रामा रोयल्टी बुझाउनुपर्छ । स्रष्टाले रोयल्टी पाउनु दयामाया होइन, उनीहरूको कानूनी अधिकार पनि हो । यही अधिकारबाट स्रष्टाहरू वञ्चित हुँदै आएका छन् ।

    आफ्नो यही अधिकारको लडाइँ लड्दालड्दै प्रेमध्वज, भक्तराजहरूले धर्ती छाडेर गए । अनि अहिले लडाइँ लडिरहेका स्रष्टाहरूको प्रश्न छ, ‘कहिलेसम्म यसरी लडिरहने ?’

    रोयल्टीको लडाइँको असर: सन्तोषजनक नभए पनि सुधारका बाछिटा देखिँदै

    केही वर्षअघिको कुरा हो, संगीतकार वसन्त सापकोटाले बुढासुब्बा डिजिटलसँग एनसेलका सिमहरूमा सञ्चालन हुने पीआरबीटी (पर्सनल रिङ ब्याक टोन)मा समावेश भएका गीतहरूको सूची मागे । बुढासुब्बा डिजिटलले पीआरबीटीमा पठाएका चार हजारमाथि गीतको मेटाडाटा पठायो ।

    उक्त सूचीमा सापकोटाका ‘सागरसरी चोखो माया’, ‘पागल म बन्न सक्छु’, ‘यी आँखामा तिमी छौ’ जस्ता सुपरहिट गीतहरू थिए, तर जब सूची हेर्दै गए, सापकोटा तीन छक्क परे । दर्जनौं गीतको पीआरबीटीमा सापकोटाको नाम नै थिएन । उनको मात्रै होइन, अन्य दर्जनौं स्रष्टाको नाम नै पीआरबीटीमा थिएन ।

    ‘हाम्रो मिलन कहिले हुन्छ’, ‘किन लाग्छ माया’, ‘सर सर माया’, ‘फूलको थुंगा हौ कि’, ‘स्टुपिड मन’, ‘पागल म बन्न सक्छु’ जस्ता चर्चित गीतहरूमा गीतकार, गायक, संगीतकारको नाममा ‘बुढासुब्बा डिजिटल’ राखिएको थियो ।

    सापकोटाले सूची हेर्दा पो थाहा पाए, किन उनले सधैं दुईचार हजारमात्रै रोयल्टी पाइरहँदा रहेछन् ? यसरी आफ्नै गीतहरूमा आफूलाई क्रेडिट नदिइँदा सापकोटाले कम रोयल्टी पाउनु स्वाभाविक पनि थियो । किनभने एनसेलले रोयल्टी बाँड्दा बुढासुब्बाले संगीतकार, गीतकार, गायकरगायिका, निर्माता भनेर जऔजसको नामको सूची दिएको छ, तिनैले मात्रै रोयल्टी पाउँछन् ।

    ‘अब स्रष्टाहरूको सृजनामा बूुढासुब्बा डिजिटलले आफैं गीतकार, संगीतकार, गायकगायिका भनेर सूची पठाएपछि एनसेलले पनि बूढासुब्बाकै नाममा रोयल्टी पठाउने भयो । बूढासुब्बाको नाममा आएको रोयल्टी स्रष्टाहरूले पाउने कुरा पनि भएन’, सापकोटाले भने, ‘यो त सीधै कीर्ते भयो । प्रतिलिपि अधिकारको हननमात्रै होइन, आर्थिक अधिकारबाट पनि स्रष्टालाई वञ्चित गरियो । मैले आजसम्म पनि बुढासुब्बाले कब्जा गरेका मेरा ती गीतहरूबाट रोयल्टी पाएको छुइनँ ।’

    यसबारे हामीले बुढासुब्बा डिजिटलका सञ्चालक नवराज गिरीलाई सम्पर्क गर्‍यौं । गिरीले भने, ‘त्यसवेला हामीलाई पनि धेरै कुरा थाहा थिएन । बुढासुब्बाले किनेका गीत संगीतमा स्टाफहरूले बुढासुब्बाकै नाम राखिदिएका रैछन् । अहिले त्यो सुधार भइसक्यो ।’

    हामीले प्रश्न गर्‍यौं, ‘अनि आर्थिक अधिकारको कुरा ?’

    गिरीले भने, ‘ए मेरो हजुर ४’ जस्ता चलचित्र मैले ३०-४० लाख लगाएर डिजिटल राइटस् किन्छु । सबै गीतहरू नचल्न पनि सक्छन् । २००मा एउटा गीत हिट हुने हो, तर हामीले लाखौंको जोखिम उठाएका हुन्छौं । उहाँको आर्थिक अधिकारको कुरा चलचित्रको निर्मातासँग गर्ने होला ।’

    संगीतकार संघका महासचिवसमेत रहेका सापकोटाले भने नैतिक अधिकार नै हनन भइसकेपछि आर्थिक अधिकारको कुरै नआउने बताए । आफ्नो नैतिक अधिकारलाई त्यसरी कुल्चिइँदा चित्त दुखेको बताए ।

    गिरीले भने स्रष्टाको नैतिक अधिकारप्रति आफू सचेत रहेको, आर्थिक अधिकारको सन्दर्भमा पनि कानूनभन्दा माथि नरहेको बताए ।

    संकलित रोयल्टी कसरी बाँडिन्छ ?

    गीत सृजना गर्ने स्रष्टाले गीतको व्यावसायिक प्रयोग हुँदा उसले पाउनुपर्ने कृतिस्व (रोेयल्टी) पनि जोडिएको हुन्छ । गीत-संगीतको व्यावसायिक प्रयोग हुँदा कति प्रतिशत रोयल्टी जोडिएको हुन्छ त ? यसको अभ्यास भने संसारभर अलग अलग छ ।

    निश्चित देशको प्रचलित कानून, रोयल्टी संकलन गर्ने संस्थाको नीतिअनु्रूप रोयल्टी लिने अन्तर्राष्ट्रिय अभ्यास छ । नेपालको सन्दर्भमा भने कुनै पनि गीत संगीत सार्वजनिक स्थानमा व्यावसायिक प्रयोजनले प्रयोग गरेमा, सार्वजनिक यातायातमा प्रयोग गरेमा १५ प्रतिशत रोयल्टी उठाउने गरिन्छ । यसको जिम्मा रोयल्टी संकलन समाज नामक संस्थाले गर्दै आएको छ । अहिले संस्थाको अध्यक्ष संगीतकार सुरेश अधिकारी छन् ।

    यद्यपि स्रष्टाहरू म्युजिक नेपाल, बुढासुब्बा डिजिटल, विन्ध्यावासिनी जस्ता कम्पनीबाट ठगिँदै आएका छन् । केही समयअघिसम्म यी कम्पनीहरूले रोयल्टीबाट स्रष्टाहरूलाई वञ्चित गर्दै आएका थिए । स्रष्टाहरूले निरन्तर प्रश्न उठाएपछि स्रष्टाहरूले नगण्य मात्रामा रोयल्टी बुझ्दै आइरहेका छन् । अहिले यी कम्पनीहरूले पनि ‘राम्रोसँग प्राविधिक ज्ञान नभएको’ भन्दै भूलसुधार गर्दै गइरहेको देखिन्छ, तरस्रष्टाहरू पूर्ण रूपमा सन्तुष्ट भने भएका छैनन् ।

    एफएम, रेडियोहरूले स्रष्टाहरूका गीत संगीत बजाउँछन् । त्यसरी बजाइँदा आर्थिक अधिकारको मात्रै नभएर स्रष्टाहरूको नैतिक अधिकारको पनि हनन हुने गरेको संगीतकर्मीहरूको जिकिर छ ।

    सुरेश अधिकारी भन्छन्, ‘त्यतातिर त हाम्रो नामसम्म लिँदैन थिए । गीतकार, संगीतकार को हो भनेर सम्म भन्दैन थिए ।’

    अहिले केही सुधार देखिएको संगीत रोयल्टी संकलन समाजको अध्यक्ष अधिकारीको भनाइ छ । सन्तोषजनक परिणाम प्राप्त नभए पनि केही ठाउँहरूबाट रोयल्टी संकलन हुँदै आइरहेको छ । यसरी प्राप्त हुने रोयल्टीमा गीतकार, संगीतकार र पब्लिसरबीच बाँडफाँड हुन्छ ।
    रोयल्टी संकलन समाजले अपरेसनल चार्ज कटाएर बाँकी रहेको रोयल्टीलाई ५०-५० प्रतिशत भाग लगाउँछ । ५० प्रतिशत पब्लिसरको हुन्छ भने बाँकी ५० प्रतिशत गीतकार र संगीतकारले बाँडफाँट गर्छन् ।

    रोयल्टीका स्रोत प्रशस्त, तर उठाउनै सकस

    संगीत रोयल्टी संकलन समाजले रोयल्टी संकलन गर्ने गर्छ । कहाँ कहाँबाट उठाउने भनेर समाजसँग स्रोतहरूको सूची नै छ । कानूनी धरातलमा टेकेर उठाइने रोयल्टी संकलन नै झमेला हुने गरेको अधिकारीको दुःखेसो छ ।

    उनी भन्छन्, ‘यो देश जंगल हो, यहाँ कानून मान्न कोही तयार छैन । यातायातबाट उठ्नुपर्ने रोयल्टीमै घुसपैठ भएको छ । यातायात व्यवसायीले रोयल्टी तिर्दिनँ भन्नलाई ‘गीत बजाउँदिनँ’ भन्न पाउने बुँदा जबरजस्ती थपेको छ । अब आफैं भन्नुहोस्, गीत नै नबज्ने सार्वजनिक यातायात कुनै हुन्छ त ?’

    अहिले जसोतसो अलिअलि उठिरहेको रोयल्टीले पनि अफिस सञ्चालनदेखि अन्य खर्चहरू नै धान्न मुस्किल परिरहेको अधिकारीको भनाइ छ । उनका अनुसार संकलन भएको रोयल्टीबाट समाजले अपरेसन खर्च कटाएर स्रष्टाहरूमा बाँडफाँट गर्छ । डिजिटल दुनियाँबाट प्राप्त रोयल्टीमा स्पष्ट डाटा हुने र अन्य क्षेत्रबाट प्राप्त रोयल्टीमा स्रष्टाहरूबीचमा आपसी समझदारी हुने अधिकारीले बताए ।

    तर अहिले जुन मात्रामा रोयल्टी संकलन भइरहेको छ, त्यसले तात्विक फरक नपार्ने र स्रष्टाहरू झनै ठूलो आर्थिक संकटमा गुज्रँदै जाने अधिकारीको भनाइ छ । उनको भनाइलाई संगीतकार खड्काको भनाइले झनै पुष्टि गर्छ ।

    खड्काले भने, ‘हामी आर्थिक अधिकारबाट वञ्चित हुनुपर्दा दुःख लाग्छ । यी कारण यहाँ अमर स्रष्टाहरूले धर्ती छाडेर जानुहुँदा वा सामान्य समस्या आउँदा पनि फेसबुकतिर सहयोगको अपिल गरिरहनु परेको छ । राज्यले पनि यस्तो विषयमा चासो नै दिँदैन । बुढासुब्बाले नै मेरो गीत–संगीतमा आफ्नो नाम राखेको छ । अब अदालत जानुपर्ने अवस्था छ । अब सृजनातिर लागुँ कि अदालत धाउँ ?’

    दुई हजार बढी गीतमा संगीत भरेका, १०८ भन्दा बढी चलचित्रमा संगीत दिएका खड्का अहिले पनि आर्थिक रूपमा सुरक्षित छैनन् । ‘यस्तो हुनुमा मैले पाउनुपर्ने अधिकार नपाएकाले हो । गीत बनाउँदा पाएको ज्याला चियाखाजामै सकिन्छ । मैले स्रष्टाको रूपमा पाउनुपर्ने आर्थिक अधिकार नपाउँदा मलाई आर्थिक रूपमा गाह्रो भएको छ ।’

  • सौगात र बेनिशा अभिनीत चलचित्र ‘कल्ली’ कार्तिक २१ मा रिलिज हुने

    सौगात र बेनिशा अभिनीत चलचित्र ‘कल्ली’ कार्तिक २१ मा रिलिज हुने

    काठमाडौं। जुम्लामा छायाङ्कन भइरहेको चलचित्र ‘कल्ली’को प्रदर्शन मिति तय भएको छ । निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गते यो चलचित्र रिलिज गर्ने घोषणा गरेको हो । तिहारको दुई सातापछि यो चलचित्र रिलिजमा आउन लागेको हो ।

    काफिया फिल्मस् र कुबेर फिल्मस्ले यो चलचित्रलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन् । हिमाल कडेरिया र अमला देवी राई निर्माता रहेको चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । महेश दवाडीको लेखन रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

    लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यो चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरूको अभिनय छ । चलचित्रमा निसाल पौडेलको छायाङ्कन रहनेछ।

  • चलचित्र ‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित

    चलचित्र ‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित

    काठमाडौं । चलचित्र ‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित भएका छन् । कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।

    बालकुमार राई र श्याम मगर निर्माता रहेको चलचित्रले ग्रामीण जीवनको कथा भन्नेछ । भुईं मान्छेको कथालाई चलचित्रमा प्रस्तुत गरिने निर्देशक बस्नेतको भनाइ छ ।

    चलचित्रमा डम्बरबहादुर राईको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद र जीवननाथ गौतमको गीत समावेश छ । धनकुटामा छायांकन हुने चलचित्रका लागि अन्य कलाकारहरूको छनोट प्रक्रिया पनि अगाडि बढाइएको छ ।

  • ‘सीआईडी’बाट निकालिए एसीपी प्रद्युमन ! नयाँ एसीपीमा देखिने छन् यी कलिला युवक

    ‘सीआईडी’बाट निकालिए एसीपी प्रद्युमन ! नयाँ एसीपीमा देखिने छन् यी कलिला युवक

    काठमाडौं । भारतीय टेलिभिजनमा प्रशारण हुने चर्चित टेलिश्रृंखला ‘सीआईडी’मा प्रमुख पात्र नै परिवर्तन गरिएको छ । एसीपी प्रद्युमनको भूमिकामा अभिनय गर्ने कलाकार शिवजी सतम उक्त श्रृंखलाबाट बाहिरिएका छन् ।

    सीआईडीको दुई दशक लामो इतिहासमा यो सबैभन्दा ठूलो ट्विस्ट हो । श्रृंखलाको पहिलो एपिसोडदेखि नै शिवजीले एसीपी प्रद्युमनको भूमिका निभाउँदै आएका थिए । अब उनी सीआईडीमा सम्भवतः देखिने छैनन् ।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार नयाँ एसीपीको भूमिकामा एक युवा कलाकारलाई भित्र्याइएको छ । उनी हुन् अभिनेता पर्थ समथान । अबका एपिसोडहरुमा उनलाई एसीपीको भूमिकामा देख्न सकिनेछ । समथान आफैंले एक अन्तर्वार्तामा यसको पुष्टि गरेका छन् ।

    उनले भने, ‘मलाई सुरुमा कल आउँदा गर्ने कि नगर्ने दोधार भएको थियो । परिवारलाई सुनाउँदा उनीहरुले विश्वास नै गरेनन् । अन्तमा सबैसित सल्लाह गरेर खेल्ने निर्णय गरें । मेरो भूमिका एसीपी प्रद्युमनको भन्दा फरक हुन्छ ।’

    अघिल्लो एपिसोडमा एसीपी प्रद्युमनको हत्या भएको देखाइएको थियो । अपराधी बर्बोजालाई सीआईडी टीमले लखेट्ने क्रममा बम विस्फोटमा परेर प्रद्युमनको हत्या भएको कथा बुनिएको छ । सम्भवतः अर्को एपिसोडमा एसीपी आयुष्मानको भूमिकामा समथानको इन्ट्री हुनेछ । उनले एसीपी प्रद्युमनको हत्याको अनुसन्धान गर्नेछन् ।

    यो परिवर्तनलाई अडियन्सहरुले रुचाएका भने छैनन् । उनी एसीपीको भूमिकामा नसुहाउने धेरैको धारणा छ । कतिपयले अबदेखि यो सिरियल नहेर्ने घोषणासमेत गरेका छन् । केहीले दया र अभिजितलाई बढुवा गर्न सुझाव पनि दिएका छन् ।

    शिवजीलाई श्रृंखलाबाट निर्माण पक्षले नै हटाएको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक अन्तर्वार्तामा शिवजीले सिरियलमा आफ्नो क्यारेक्टर सधैंका लागि सकिएकोबारे थाहा नभएको बताए ।

    उनले भने, ‘मलाई यो विषयमा थाहा छैन । मैले केही समयका लागि ब्रेक लिएको छु । अब शोलाई कसरी अगाडि लैजाने भन्ने मेकर्सलाई नै थाहा होला । यदि मेरो रोल सधैंका लागि अन्त्य भएको हो भने पनि कुनै गुनासो छैन, तर मलाई अहिलेसम्म उनीहरुले केही पनि भनेका छैनन् ।’

  • ‘पिताम्बर’ रिलिजअघि प्रदीप र दिव्यालाई प्रश्नः बक्स अफिस प्रेसर कति छ ?

    ‘पिताम्बर’ रिलिजअघि प्रदीप र दिव्यालाई प्रश्नः बक्स अफिस प्रेसर कति छ ?

    काठमाडौं । यही चैत २९ गते रिलिजको तयारीमा रहेको मल्टिस्टारर चलचित्र ‘पिताम्बर’ को टीम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । कलाकारसँगै चलचित्रकी निर्देशक कृषा चौलागाईं पनि प्रोमोसनमा दौडिरहेकी छन् । यसैबीच चलचित्र रिलिज हुनु दुई दिनअघि निर्माण पक्षले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

    शुक्रबारदेखि प्रदर्शन हुन लागेको चलचित्रबारे जानकारी दिन मंगलबार निर्माण टीमले पत्रकार सम्मेलन गरेको हो ।

    भेटघाट कार्यक्रममा चलचित्रको निर्देशकदेखि कलाकारसम्म उपस्थित थिए । केही कलाकार भने कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । कार्यक्रममा सुरुमै अभिनेता प्रदीप खड्कालाई ‘बक्स अफिस’ बारे प्रश्न गरियो । यस वर्ष प्रदीप अभिनित चलचित्र ‘पुजार सार्की’ ले घरेलु बक्स अफिसमा ठीकठाकै ग¥यो भने ‘एक्टर टेक वन’ चलेन ।

    राम्रै प्रचार गरिए पनि ‘एक्टर टेक वन’ ले बक्स अफिसमा पानी भन्न पाएन । त्यही भएर पनि उनलाई पत्रकार भेटघाटमा सुरुमै बक्स अफिस कलेक्सनबारे प्रश्न तेर्स्याइएको थियो । उनले सेफ साइड लिँदै बक्स अफिसबारे सोधिएको प्रश्नमा २०८१ सालमा आफूले बक्स अफिसको दृष्टिकोणबाट काम नगरेको जवाफ दिए ।

    प्रदीपले भने, ‘यो वर्ष मैले बक्स अफिसको प्वाइन्ट अफ भ्यूबाट काम गरेको छैन । चलचित्रको कथावस्तु हेरेर क्यारेक्टरमा मात्र काम गरेको छु ।’

    उनले थपे, ‘यस वर्ष मेरो सफलता र असफलताभन्दा पनि, मैले निभाएको मेरो पात्रको काम चाहिँ राम्रोसँग गरें कि गरिनँ भन्ने कुराले अर्थ राख्नेछ । पिताम्बरको बक्स अफिसले मेरो लागि भन्दा पनि उद्योगलाई अर्थ राख्छ । मेरो लागि सस्टेन हुनु नै ठूलो सफलता हो ।’

    त्यस्तै कार्यक्रममा उपस्थित अभिनेत्री दिव्या रायमाझीलाई पनि फिल्म सफल हुने या नहुनेबारे प्रश्न गरिएको थियो । दिव्याले ‘एक्टर– टेक वन’बाट यही वर्ष सिने क्षेत्रमा डेब्यु गरेकी हुन् ।

    कुनै बेलाका चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी भएकाले पनि, उनको सुरुवाती दिनबाटै राम्रो चर्चा थियो, तर दिव्याको डेब्यु चलचित्रले भने राम्रो गर्न सकेन । उनको पहिलो चलचित्र नै फ्लप भयो । उनलाई अब पहिलो हिट फिल्म दिनुपर्ने चुनौती छ ।

    ‘पिताम्बर’ले साढे ३ करोडको ओपनिङ गर्ने अनुमान रहेको बताउँदै दिव्याले भनिन्, ‘एक्टर- टेक वनको जुन रिजल्ट आयो, यसलाई म असफलता मान्दिनँ । यो मेरो सिक्ने अवसर थियो । फेलियरबाट मैले जे जे सिकें, त्यहाँबाट सिकेर सफलतातर्फ लाग्नेछु ।’

    चलचित्रकी अक्री अभिनेत्री सुपुष्पा भट्टले पनि चलचित्रले कति ओपनिङ गर्नेछ भन्दा पनि लामो समयसम्म हलमा चल्नु चाहिँ ठूलो कुरा रहेको बताइन् ।

    कार्यक्रममा उपस्थित अभिनेता सौगात मल्लले ढिलोचाँडो भए पनि दर्शकले राम्रो चलचित्र हेर्ने बताए । सौगात अहिलेका डिमान्डेड कलाकारमध्येका हुन् । उनका ४ चलचित्र प्रदर्शनको तयारीमा छन् । उनको ‘पिताम्बर’सहित ‘भाइरल गोर्खे’, ‘जन्ते बाख्रो’ र ‘जार’ रिलिज हुँदैछन् ।

    ‘पिताम्बर’ मा अभिनेता दिव्यदेव पन्तको पनि अभिनय छ । उनले कार्यक्रममा बोल्दै चलचित्र जुध्दा केही तनाव हुने बताए ।
    चलचित्रमा अभिनेता अनुपविक्रम शाही पनि छन् । उनले यो चलचित्रलाई लिएर आफू निकै आशावादी रहेको बताए ।

    अर्का अभिनेता प्रमोद अग्रहरिले अभिनेताको रुपमा राम्रो क्यारेक्टर चित्रण गर्नु आफ्नो दायित्व हुने बताए ।

    कृषा चौलागाईंको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।

    विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशिष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ ।

  • हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान

    हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान

    काठमाडौं । कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ । ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य-क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्व-ज्योति पाण्डुलिपि पुरस्कार’ जितेको उक्त सङ्ग्रह आज सार्वजनिक गरिएको हो ।

    ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा. रजनी ढकाल, कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ र उषा शेरचनले कृति सार्वजनिक गरेका हुन् । कवितासङ्ग्रह साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । कैलालीका कवि शिशिर विगत डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन् ।

    यसैगरी ‘एपेक नेपाल’ द्वारा यसै वर्षदेखि अर्पण गर्नेगरी स्थापना भएको ‘विश्व-ज्योति काव्यसमान’ पहिलो पटक वरिष्ठ कवि शेरचनलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

    शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित भइसकेका छन् । ‘विश्व-ज्योति काव्यसमान’मा सम्मान पत्रसहित नगद रू ५१ हजार रुपैयाँ रहेको छ ।

  • नेपथ्य ब्यान्डको ‘नेपथ्य लाइभ इन गोकर्णेश्वर’ हुने

    नेपथ्य ब्यान्डको ‘नेपथ्य लाइभ इन गोकर्णेश्वर’ हुने

    काठमाडौं । चैत्र ३० गते चर्चित नेपथ्य ब्यान्डको ‘नेपथ्य लाइभ इन गोकर्णेश्वर’ हुने भएको छ।

    ग्राउन्ड अफ इभेन्ट्स को मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको सह आयोजनामा सञ्चालन कन्सर्ट हुने भएको हो ।

    कन्सर्ट गोकर्णेश्वर-४ स्थित हनुमान चोक नजिकै हुने औद्योगिक शान्ति नेपाल संस्थाका कार्यालय सचिव जीवन नेपालले जानकारी गराए।

    कार्यक्रम हेर्नका लागि अनलाइन मार्फत टिकट बुक गर्न सकिने आयोजक ले जनाएको छ।

    ४ः३० बजे बाट दर्शकहरूले कार्यक्रम स्थल भित्र प्रवेश गर्न पाउने उक्त कन्सर्ट साँझ ६ः३० बजे बाट सुरु हुनेछ।

    नेपथ्य ब्यान्ड अष्ट्रेलियाको विभिन्न शहरमा आफ्नो साङ्गीतिक प्रस्तुति दिएर नेपाल फर्किसकेको छ।

  • चोरीको आरोप लागेको गजल गणेश भट्टकै भएको नवराज पन्तद्वारा स्वीकार

    चोरीको आरोप लागेको गजल गणेश भट्टकै भएको नवराज पन्तद्वारा स्वीकार

    काठमाडौं । आफ्नो नाममा आएको गजलको सर्जक गणेश भट्ट नै भएको नवराज पन्तले स्वीकार गरेका छन् । उनले एक स्टाटस लेख्दै चोरीको आरोप लागेको उक्त गजल गणेशको नाममा छापिइसकेकाले गणेशकै भएको स्वीकार गरेका छन् ।

    नवराजले लेखेका छन्, ‘मैले कुनै पनि कलझगडा गर्न चाहिनँ । उहाँ (गणेश)को नाममा गजल छापिइसकेकाले उक्त गजलको सर्जक गणेश नै भएको कुरा स्वीकार गरेको व्यहोरा अवगत गराउन चाहन्छु ।’

    उनले आयोजक संगीता थापा, बाबु त्रिपाठी र गणेशलाई पर्न गएको अप्ठेरोप्रति क्षमासमेत मागेका छन् ।

    यद्यपि आफूले उक्त गजल सन् २०१० मै लेखेको दाबी चाहिँ गरेका छन् । अमेरिकामा रहेका उनले लेखेका छन्, ‘मैले यो गजल २०१० तिर लेखेको हुँ । जसको पाण्डुलिपि काठमाडौंस्थित घरमा छ । अहिले घरमा कोही नभएकाले त्यो समेट्न सकिनँ । वाचा गर्छु, म सबैलाई उपलब्ध गराउनेछु ।’

    नवराज गजलकारको अलावा चर्चित गीतकार हुन् । यस वर्षको ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’को चर्चित गीत ‘रैयाँ चाँदीको’का गीतकार नवराज नै हुन् । साथै ‘सालको पात टपरी हुने’, ‘मायालुको सहरमा, मेरो गाउँमा घर छ’, ‘डाँडै फुर्के सल्लो’ जस्ता चर्चित गीतहरु लेखेका छन् ।

    अघिल्लो शनिबार थापागाउँस्थित मण्डला थिएटरमा एक गजल कार्यक्रम भएको थियो । विम्ब उत्सव नाम दिइएको उक्त कार्यक्रममा आठ जना गजलकारका गजलहरु गायक तथा संगीकार राज सिग्देलले गाएका थिए, तर सिग्देलले जब पन्तको गजल ‘तिम्रो बिहेको बखत’ गाउन थाले, हंगामा भयो ।

    पन्तको यस गजलको तीन वटा शेर गणेश भट्टको गजलसँग हुबहु मिलेको भन्दै कार्यक्रम हल बाहिर हंगामा भएको थियो । यद्यपि जसोतसो कार्यक्रम त सकियो, तर पन्तले भट्टको गजल चोरी गरेको कुरा चलेका गजलकारहरुले नै दाबी गर्न थाले । यसपछि सामाजिक सञ्जालमा यो विवाद चर्कियो ।

    यतिमात्रै होइन, ८ वर्षअघि नै सार्वजनिक भइसकेको संयुक्त गजलसंग्रह ‘कैफियत–२’मै भट्टको उक्त गजल छापिइसकेको थियो । आफ्नो गजल यसरी खुलेआम चोरी भएको पाएपछि गणेशले एक स्टाटस लेख्दै आफूले पन्तलाई सम्पर्क गरेर बुझ्न खोज्दा ‘आफ्नो हो भनी’ जिद्दीमात्रै गरिरहेकोमा दुःखेसो पोखेका थिए ।

    पेशाले लेक्चरर रहेका उनले लेखेका थिए, ‘रचनाको अपनत्व लिने सम्बन्धमा सहमतिमा नआएमा वा सार्वजनिक रुपमा माफी नमागेमा सो कार्यमा संलग्न व्यक्तिहरु तथा कार्यक्रम आयोजकविरुद्ध प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम कानूनी उपचारमा जान बाध्य हुनेछु ।’

    कार्यक्रम आयोजकको तर्फबाट यस विषयमा संगीता थापाले लामो स्टाटस लेख्दै आफू भुलभुलैयामा परेको बताएकी थिइन् । उनले लेखेकी थिइन्, गणेश भट्ट भाइ, हामी आयोजक तपाईंको पक्षमा छौं । नवराज पन्त भाइ, तेरो आत्मालोचनासहितको स्वीकारोक्ती र क्षमाको मागको प्रतीक्षामा छौं ।’

    गणेशको आत्मसम्मान र भावनामाथि ठेस पु¥याउने कार्य भएकाले संगीताले गणेशसँग माफीसमेत मागेकी थिइन् ।

    अहिले नवराजले पनि उक्त गजल गणेशकै रहेको स्वीकार गरेपछि यो प्रकरणले बिट मारेको छ ।

    नवराजलाई हुबहु कपी गरेको आरोप लागेको गजल यस्तो छ:

    तिम्रो बिहेको बखत, के माग्छौ मसँग ?
    मेरो हैन यो जगत्, के माग्छौ मसँग ?

    तिमीलाई त रातो असाध्यै मनपर्छ
    गुलाब या रगत, के माग्छौ मसँग ?

    एउटा आँखा हराए अर्कोले खोज्ने छ
    माग्न परे मद्दत, के माग्छौ मसँग

  • ‘वसन्त’को सरप्राइजः राजेश-करिष्मादेखि प्रिंयका, केकी र नाजिरसम्मको अभिनय

    ‘वसन्त’को सरप्राइजः राजेश-करिष्मादेखि प्रिंयका, केकी र नाजिरसम्मको अभिनय

    काठमाडौं । गत चैत २२ गते शुक्रबार प्रदर्शनमा आएको प्रकाश सपूतको डेव्यु निर्देशित सिनेमा ‘वसन्त’ले सुखद व्यापार गरिरहेको छ । दर्शकबाट सिनेमालाई उत्कृष्ट वर्डअफ माउथ मिलेको छ । सिनेमाले उठाएको विषयवस्तु, गीतसंगीत पक्ष र प्रस्तुतिको प्रशंसा दर्शकले गरिरहेका छन् ।

    यो सिनेमा हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले केही सरप्राइज पनि दिएका छन् । जसमा महानायक राजेश हमाललगायतका केही नाम चलेका कलाकारलाई दर्शकले हेर्न पाउँछन् ।

    महानायक हमाललाई धेरैपछि सिनेमाको पर्दामा देख्दा दर्शकहरू सरप्राइज हुन्छन् । महानायक हमालसहित अभिनेताहरू दिलीप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, अभिनेत्रीहरू करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तलाई सिनेमाको पर्दामा देख्न सकिन्छ ।

    उनीहरुसँगै सिनेमामा लोकदोहोरीकी अहिलेकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारीसमेतलाई हेर्न सकिन्छ ।

    ‘वसन्त’मा यति धेरै चर्चित कलाकारहरूको अभिनय रहे पनि निर्देशक तथा अभिनेता प्रकाश सपूतले यसबारे प्रदर्शनअघि कुनै पनि जानकारी दिएका थिएनन् । सिनेमा रिलिजपश्चात यी कलाकारहरूको दृश्यको भिडिओ क्लिप टिकटकमा समेत भाइरल भइरहेका छन् ।

    कतिपयले यति ‘वसन्त’मा धेरै कलाकारहरूको विशेष भूमिकामा रहे पनि निर्देशक तथा अभिनेता प्रकाशले किन रिलिजअघि खुलाउन चाहेनन् भन्ने चासोसमेत राखिरहेको सार्वजनिक फेसबुक रिल्स र टिकटकमा व्यक्त गरेका छन् । प्रदर्शनअघि यी कलाकारको बारेमा जानकारी दिएको भए यसले सिनेमाको व्यापारमा समेत प्रभाव पार्ने धारणा दर्शकको छ ।

    यी कलाकारहरूको भूमिका कस्तो छ र कति महत्त्वपूर्ण छ त्यो भने हलमा सिनेमा हेर्न पुगेका दर्शकले महसुस गर्छन् ।

    सिनेमा ‘वसन्त’मा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभातपाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा वीरेन्द्रनारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् ।

  • ‘रैयाँ चाँदीको’ र ‘सालको पात टपरी हुने’ गीतका सर्जकलाई गजल चोरीको आरोप

    ‘रैयाँ चाँदीको’ र ‘सालको पात टपरी हुने’ गीतका सर्जकलाई गजल चोरीको आरोप

    काठमाडौं । यस वर्षको ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’को चर्चित गीत ‘रैया चाँदीको’ का गीतकार नवराज पन्तलाई गजल चोरीको आरोप लागेको छ । गणेश भट्टको गजल चोरी गरेर आफ्नो बनाएको आरोप पन्तलाई लागेको हो ।

    अघिल्लो शनिवार थापागाउँस्थित मण्डला थिएटरमा एक गजल कार्यक्रम भएको थियो । विम्ब उत्सव नाम दिइएको उक्त कार्यक्रममा आठ जना गजलकारका ८ गजलहरू गायक तथा संगीकार राज सिग्देलले गाएका थिए ।

    तर, सिग्देलले जब पन्तको गजल ‘तिम्रो बिहेको बखत’ गाउन थाले, विवाद सिर्जना भयो । पन्तको यस गजलको तीन वटा शेर गणेश भट्टको गजलसँग हुबहु मिलेको भन्दै कार्यक्रम हल बाहिर हंगामा मच्चियो । जसोतसो कार्यक्रम त सकियो, तर पन्तले भट्टको गजल चोरी गरेको कुरा चलेका गजलकारहरूले नै दाबी गर्न थाले ।

    ८ वर्षअघि सार्वजनिक भएको संयुक्त गजलसंग्रह ‘कैफियत-२’ मै भट्टको उक्त गजल छापिएको रहेछ । आफ्नो गजल यसरी खुलेआम चोरी भएको पाएपछि भट्टले एक स्टाटस लेख्दै आफूले पन्तलाई सम्पर्क गरेर बुझ्न खोज्दा ‘आफ्नो हो’ भनेर जिद्दी मात्रै गरिरहेको दुखेसो पोखेका छन् ।

    पेशाले लेक्चरर रहेका भट्टले लेखेका छन्, ‘रचनाको अपनत्व लिने सम्बन्धमा सहमतिमा नआएमा वा सार्वजनिक रूपमा माफी नमागेमा सो कार्यमा संलग्न व्यक्तिहरू तथा कार्यक्रम आयोजकविरुद्ध प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम कानुनी उपचारमा जान बाध्य हुनेछु ।’

    कार्यक्रम आयोजकको तर्फबाट यस विषयमा संगीता थापाले लामो स्टाटस लेख्दै आफू भुलभुलैयामा परेको बताएकी छन् । उनले लेखेकी छन्, गणेश भट्ट भाइ, हामी आयोजक तपाईँको पक्षमा छौँ । नवराज पन्त भाइ, तेरो आत्मालोचनासहितको स्वीकारोक्ति र क्षमाको मागको प्रतीक्षामा छौँ ।’

    साथै भट्टको आत्मसम्मान र भावनामाथि ठेस पुर्‍याउने कार्य भएकोले थापाले माफी समेत मागेकी छन् ।

    पन्तले भने आफूले १५ वर्षअघि नै उक्त गजल लेखेको दाबी गरेका छन् । अमेरिकामा बस्दै आएका पन्त ‘रैयाँ चाँदीको’ साथै ‘सालको पात टपरी हुने’, ‘मायालुको सहरमा, मेरो गाउँमा घर छ’, ‘डाँडै फुर्के सल्लो’ जस्ता चर्चित गीतहरूका सर्जक हुन् । उनै पन्तलाई हुबहु कपी गरेको आरोप लागेको गजल यस्तो छ,-

    तिम्रो बिहेको बखत, के माग्छौ मसँग ?
    मेरो हैन यो जगत्, के माग्छौ मसँग ?

    तिमीलाई त रातो असाध्यै मन पर्छ
    गुलाब या रगत, के माग्छौ मसँग ?

    एउटा आँखा हराए अर्कोले खोज्ने छ
    माग्न परे मद्दत, के माग्छौ मसँग ?

     

  • दुर्गेश थापाको स्वरमा चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक

    दुर्गेश थापाको स्वरमा चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बिच ‘कर्मा’ बोलको टाइटल गीत सार्वजनिक गरिएको हो। गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा शब्द तथा संगीत दुर्गेश स्वयंले भरेका छन भने गीतको एरेन्ज पनि दुर्गेशले नै गरेका हुन।

    असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने तथ्यलाई उजागर गरेको छ । सार्वजनिक गीतको ब्याकग्राउन्ड भोकलमा दुर्गेशलाई आरसी रिमाल र भुषण खतिवडाले साथ दिएका छन् ।

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत छन् ।

    चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ यहीँ चैत २९ गतेबाट रिलिज हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

    चलचित्रलाई निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन। एक्सन, ड्रामा र सस्पेन्स जनरामा निर्माण भएको चलचित्रको कथा पनि निर्देशक चौधरी स्वयंले लेखेका हुन। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

    यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर र विजय बश्यालको पब्लिसिटी डिजाइन छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

  • थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘द महावीर’को घोषणा

    थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘द महावीर’को घोषणा

    काठमाडौं । जीबी आग्रीको निर्देशनमा चलचित्र ‘द महावीर’ बन्ने भएको छ । निर्माण पक्षले आइतबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।

    चलचित्रको कथावस्तुबारे भने निर्माण पक्षले खुलाएको छैन । सार्वजनिक थिम पोस्टरमा बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको र त्यसको दायँबायाँ घोडचढी देखाइएको छ ।

    पोस्टरमा ‘राइज फाइट कन्क्वेर’ लेखेको स्लोगन छ । ‘उठ, लड र जित’ लेखिएको स्लोगनले दुई पक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ । चलचित्रको कथा कृष्ण बिके र जीबी आग्रीले लेखेका छन् ।

    लक्षरा फिल्मस्को प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण बिके, बीआर रेड्डी र सन्तोष लुहार निर्माताको रुपमा रहनेछन् । सहनिर्मातामा रम्भा देवी र लक्ष्मण बिके छन् । कार्यकारी निर्मातामा भने वरिष्ठ संगीतकार सुरेश अधिकारी र डिरेक्टर अफ फोटोग्राफीमा सरण रिसी छन् ।

    हिन्दी र नेपाली भाषामा निर्माण हुने चलचित्रमा डल्बी एटमसको साउन्ड रहनेछ । चलचित्रमा को को कलाकार रहनेछन् भन्ने निर्माण पक्षले जानकारी दिएको छैन । रिलिज डेट पनि घोषणा गरिएको छैन ।

    निर्देशक आग्रीका अनुसार केही समयमै कलाकार र रिजिल डेट फाइनल हुनेछ ।

  • सौगात मल्ल र सुरक्षा पन्त अभिनित ‘पिताम्बर’को ‘लास्ट च्वाँक छे यार’ गीत सार्वजनिक

    सौगात मल्ल र सुरक्षा पन्त अभिनित ‘पिताम्बर’को ‘लास्ट च्वाँक छे यार’ गीत सार्वजनिक

    काठमाडौं । यही चैत २९ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘पिताम्बर’को ‘लास्ट च्वाँक छे यार’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बाबुल गिरी (धनबहादुर गिरी) को स्वर, संगीत तथा मिक्सिङ र मास्टरिङ छ ।

    ‘द पिक स्टुडियो’मा रेकर्ड गरिएको गीतमा निर्देशक कृषा चौलागाईंको शब्द छ भने गीतको रेकर्डिस्ट दिनेश राजबाहक हुन् । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सुरक्षा पन्तको अभिनय छ ।

    तराईको लोकेसनमा खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ ।

    चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।

    विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, काला चरनको पाश्र्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ, आशिष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

  • ‘पिताम्बर’ का भिलेन दिव्य देव भन्छन्- यो लेभलको फिल्म मैले कहिले गरेको थिइनँ

    ‘पिताम्बर’ का भिलेन दिव्य देव भन्छन्- यो लेभलको फिल्म मैले कहिले गरेको थिइनँ

    काठमाडौं । अभिनेता दिव्य देव पछिल्लो समय सक्रिय रहि सिने क्षेत्रमा आफ्नो कर्म निभाइरहेका छन। उनी निर्माता र निर्देशकको रोजाईको कलाकारमा पर्छन् । चलचित्रहरुमा सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य देव यहीँ चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’मा खलनायकको चरित्रमा देखिँदैछन् ।

    उनी ‘पिताम्बर’मा ‘राहुल’को भूमिकामा देखिँदैछन् । चलचित्रबारे उनी भन्छन् ,’मैले यसअघि कमर्सियल फिल्म गरेको थिइनँ । यो लेभलको फिल्ममा मैले पहिलोपटक काम गरेको हुँ। फिल्ममा मैले पुरै खलनायकको पात्र निभाएको छु।’

    आफ्नो चरित्रबारे थप खुलाउदै दिव्य देव थप्छन् ,’ मेरो लुक्स, पहिरन र आवाज तराईको परिवेश अनुसारको छ । म फिल्ममा क्रुर किसिमको छु । यो कथाभित्र म पात्रले जे काम गर्छ, त्यसले मेन प्रोटागोनिस्टको लाइफमा असर पार्छ । कथाको यात्राभित्र छिर्न उसले मुल क्यारेक्टर निभाएको छ।’

    पिताम्बरको क्यानभास नवलपरासीको परासी वरपर रहेकाले चलचित्रमा रहेका अन्य भिलेनजस्तै आफू पनि एक ठाउँको भिलेन रहेको दिव्यदेव सुनाउछन् । निर्देशक कृषा चौलागाईंको सहयोगले आफूले क्यारेक्टरलाई थप विकसित गराउन सकेको दिव्य देव दाबी गर्छन् ।

    ’हाम्रो चलचित्रको निर्देशक कृषा चौलागाईंले मलाई क्यारेक्टरको बारेमा विस्तृत बताउनुभएको थियो । केही सोध्दा उहाँले कहिले घुमाउरो उत्तर दिनुभएन । त्यसबाटै म प्रभावित थिए । सेटमा गइसकेपछि उहाँको काम गर्ने शैली र नेतृत्व क्षमताले म झनै प्रभावित भएँ’, दिव्य देव सुनाउछन् ।

    दर्शकका लागि ‘पिताम्बर’मा देखिएको आफ्नो चरित्र नयाँ भएको उनको भनाइ छ । उनी भन्छन्, ‘क्यारेक्टर, लुक्स, पहिरन र मेरो चरित्र दर्शकका लागि फरक छ । मलाई जतिसक्दो फरक क्यारेक्टर नै गर्न मन लाग्छ । चलचित्र हेरेपछी दर्शकले दिव्यदेवले यस्तो चरित्र पनि गर्दो रहेछ भन्ने अनुभव लिनु हुनेछ ।’

    कृषा चौलागाईंको निर्देशनमा बनेको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

    विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, समिर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ ।

  • चलचित्र ‘वसन्त’का निर्देशक सपूत भन्छन्-माउथ पब्लिसिटीले दर्शक बढ्दैछ

    चलचित्र ‘वसन्त’का निर्देशक सपूत भन्छन्-माउथ पब्लिसिटीले दर्शक बढ्दैछ

    काठमाडौं । गत शुक्रबार चैत्र २२ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपुतलाई दर्शकले सिनेमाको माउथ पब्लिसिटी राम्रो सुनेर हल पुग्दा कथामा कनेक्ट भएको दर्शक प्रतिक्रिया पाउँदा खुशी लागेको सुनाए ।

    ‘मलाई दर्शकको प्रतिक्रिया सुन्दा दर्शकसँग सिनेमा कनेक्ट भइरहेको छ । विषयबस्तु र प्रस्तुति दर्शकले मन पराइरहनु भएको छ,’ प्रकाश भन्छन्, ‘दर्शकसँग सिनेमा कनेक्ट भइरहेकाले माउथ पब्लिसिटी राम्रो भइरहेको छ ।’

    दर्शकले सिनेमाको विषय बाहिर आएजस्तो नभएको बताएका छन् । ‘वसन्तले राजनीतिक विषय उठान गरेको छ, कुनै पार्टीलाई सपोर्ट गरेको हो कि भन्ने कुरा आइरहेको छ,’ सिनेमा हेरेपछि एक दर्शकले भने, ‘राजनीतिक विषय छैन । सामाजिक कथावस्तु छ । शंका गर्ने ठाउँ छैन । ढुक्कले सिनेमा हेर्न आए हुन्छ ।’

    नेपाली समाजका कथाव्यथा के छन् भनेर उजागर गर्ने काम ‘वसन्त’ले गरेको भन्दै दर्शकले सिनेमा चेतनामुलक र सन्देशमुलक रहेको बताएका हुन् । दर्शकले नै सबैलाई सिनेमा हेरिदिन पनि आग्रह गरेका छन् । ‘स्टाटिङ र इन्डिङ एकदम राम्रो छ । सोचेभन्दा पनि राम्रो छ,’ एक दर्शक भन्छन्, ‘अभिनय र निर्देशन दुवै राम्रो छ । फेरि पटक पटक यस्तै सिनेमा हेर्न पाइयोस् । बाहिर राजनीतिक कन्ट्रोभर्सी भइरहेको छ, सिनेमा त्यस्तो छैन । त्यसैले त्यस्तो नहोस् ।’

    सामाजिक कथाबस्तु उठान गरेको सिनेमा ‘वसन्त’ राम्रो रहेको भन्दै सबैले हेर्नुपर्नेमा दर्शकले बताएका छन् । ‘नेपाली समाजको कथा छ । वास्तविक कथा छ । यो सिनेमा चल्नेवाला छ,’ सिनेमा हेरेपछि एक दर्शकले प्रतिक्रिया दिँदै भने, ‘गाउँको कथा राम्रोसँग उठाएको सिनेमा राम्रो छ ।’

    समाजमा घटेका घटनाहरू रहेको सिनेमा राम्रो रहेको बताएका दर्शकले नै हेरिदिन आग्रह गरेका छन् । धेरै विषय समावेश गरेकाले कुनै घटनाले कसैलाई र कसैलाई कुनै घटनाले छोइरहेको निर्देशक सपूतले बताएका छन् । आफूले क्रान्ति र आन्दोलन भन्दा पनि ‘वसन्त’ मार्फत नेपाली समाज यस्तो अवस्थाबाट गुज्रिँदै आएको भनेर देखाउन खोजेको उनले बताए ।

    राम्रो समाजमा केही विभेदका घटना पनि रहेको भनेर देखाउन खोजेको र त्यही नै दर्शकमा कनेक्ट भइरहेको उनले जानकारी दिए । समाजमा जसरी सुख र दुःख छ, त्यस्तै सिनेमामा पनि रुने र हसाउने कथा रहेको उनले बताए ।

    नेपाल र विदेशमा एक साथ यही चैत २२ गते रिलिज एको सिनेमामा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।

    गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भनेको छ ।

    सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । गायक तथा अभिनेता प्रकाश सपूतको डेव्यु निर्देशकीय सिनेमालाई सुसन प्रजापतिले खिचेका छन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गरेको छ ।

  • ‘पिताम्बर’ को ट्रेलर वर्ल्डवाइड ट्रेन्डिङमा

    ‘पिताम्बर’ को ट्रेलर वर्ल्डवाइड ट्रेन्डिङमा

    काठमाडौं । यही चैत २९ गते रिलिजको तयारीमा रहेको मल्टिस्टारर चलचित्र ‘पिताम्बर’ को ट्रेलर वर्ल्डवाइड ट्रेन्डिङमा परेको छ । गत मंगलबार एक कार्यक्रमका बीच रिलिज गरिएको ट्रेलर ३ घण्टा नपुग्दै मुभी सेक्सन यूट्युब ट्रेन्डिङको ९औं स्थानमा परेको थियो ।

    हालसम्म १६ लाख बढी हेरिएको चलचित्रको ट्रेलर नेपालमा दोस्रो स्थानको ट्रेन्डिङमा छ । कोरियामा ८, मलेसियामा १२, अस्ट्रेलियामा १३, साउदीमा २२, जापानमा १०, कतारमा १२, पोर्चुगलमा १५ र यूएईमा १० औं स्थानमा पर्न सफल भएको छ ।

    केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।

    चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकीले समेत अभिनय गरेका छन् । विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशिष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ ।

    चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

  • ‘कर्मा’ का निर्देशक सौरभ चौधरी-‘अब एउटै मितिमा आउने नै भएपछि, सबै मिलेर हलसम्म दर्शक आउने माहोल बनाऔं’

    ‘कर्मा’ का निर्देशक सौरभ चौधरी-‘अब एउटै मितिमा आउने नै भएपछि, सबै मिलेर हलसम्म दर्शक आउने माहोल बनाऔं’

    काठमाडौं । यहीँ चैत २९ गते बाट रिलिजको तयारीमा रहेको चलचित्र हो,’कर्मा’। नयाँ वर्षको छेको पारेर रिलिज हुन लागेको यो चलचित्रलाई निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन। यस अघि उनले ‘अगस्त्य’ निर्देशन गरेका थिए। ‘अगस्त्य’ बाट दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि उनले ‘कर्मा’ बनाएका हुन।

    चौधरीका अनुसार ‘कर्मा’ मा उनले कर्मको खेलको कथा भनेका छन। ‘जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ’ भन्ने दर्शनमा आधारित रहेर ‘कर्मा’ बनाएको उनको भनाई छ।

    उनी भन्छन्,’ढिलो चाँडो मात्रै हो। मान्छेले जस्तो कर्म गरेको छ, त्यहीँ अनुसारको फल पाउने हो। असल कर्म गरे राम्रो र खराब कर्म गरे त्यहीँ अुनसारको नराम्रो सजाय पाउने हो।’

    ‘मैले चलचित्र यहीँ कर्म र त्यसबाट आउने परिणाम वरपर रहेर बनाएको छु। कसैले गलत काम गरेर पनि तारिफ पाइरहेको छ भने, उसले कुनै न कुनै दिन अर्को कसैबाट त्यसको मूल्य चुकाउनैपर्छ,’सौरभले जोडे,’यही नै कर्मा हो। त्यसैले म भन्छु, सबैको राम्रो कर्म गरौँ ।’

    सोही मितिमा चौधरीको ‘कर्मा’संगै अर्की निर्देशक कृषा चौलागाईंको ‘पिताम्बर’ पनि रिलिज हुँदैछ। यी दुई चलचित्र यस वर्षको अन्तिम चलचित्र हो। निर्देशक चौधरीका अनुसार चैत २९ गतेको लागी उनले सबैभन्दा पहिला रिलिज डेट लिएका थिए। आफूले प्रदर्शन मिति तोकिन्जेलसम्म पनि, अरु कुनै चलचित्र सो मितिमा नरहेको उनले बताए। आफू फ्लोरमा गएर आधा सुटिङ सकेपछि मात्रै अरू निर्माण टिमले चैत २९ मा आउँछौ भन्दै रिलिज डेट लिएको उनको भनाई छ ।

    ‘अब कसले अनि कहिले रिलिज मिति लिए भन्दा पनि कसरी सबै मिलेर दर्शक हलसम्म ल्याउने भन्ने सोच्नु ठिक होला,’ उनी भन्छन्,’अब एउटै मितिमा आउने नै भएपछि, सबैले मिलेर हलसम्म दर्शक आउने वातावरण कसरी बनाउने? भन्ने तर्फ ध्यान दिन सकियो भने फाइदा हुन्छ।’

    एक्सन जनरामा निर्माण भएको चलचित्र ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । चलचित्रमा विपिन कार्कीको एक्सन देख्न सकिनेछ।

    चलचित्र देश भित्र र बाहिर एकसाथ प्रदर्शन हुनेछ । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ। चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

    तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर र विजय बश्यालको पब्लिसिटी डिजाइन छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ ।

  • ‘नेपाली समाजमा विधवा भएर बाच्न कति गाह्रो रहेछ भन्ने पिताम्बर गरेपछि अझै धेरै बुझे’- सुपुष्पा भट्ट

    ‘नेपाली समाजमा विधवा भएर बाच्न कति गाह्रो रहेछ भन्ने पिताम्बर गरेपछि अझै धेरै बुझे’- सुपुष्पा भट्ट

    काठमाडौं । चलचित्र ‘रणवीर’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी नायिका सुपुष्पा भट्टले पछिल्लो चलचित्र ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निर्वाह गरिन । अहिलेसम्म लगभग उस्तै चरित्र निभाउँदै आएकी भट्ट, यहीँ  चैत २९ गतेबाट रिलिज हुने चलचित्र  ‘पिताम्बर’मा भने केही फरक चरित्रमा देखिँदैछिन् ।

    सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिँदैछिन्। ‘पिताम्बरमा बिहानी विधवा छे र इनोनसेन्ट छे । बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन भने चलचित्र नै हेर्नुपर्छ,’आफ्नो चरित्रबारे खुलाउँदै सुपुष्पा भन्छिन्,’मैले अहिलेसम्म गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ। यो क्यारेक्टरमा एउटा फेज र ग्राफ छ। कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत नै थाहा पाइन्छ ।’

    सुपुष्पाको डेब्यू चलचित्र ‘रणवीर’ पनि एक्सन बेसमा नै थियो । तर पिताम्बरमा भने दर्शकले उनको चरित्रमा नौलो स्वाद पाउने उनले बताइन् । ‘रणवीर र पिताम्बरको जनरा एउटै भए पनि कथा फरक छ । दर्शकले मेरो क्यारेक्टरमा बिल्कुलै फरकपन पाउनुहुनेछ’, उनले सुनाइन्।

    चलचित्रका सह–निर्माता पुरुषोत्तम प्रधानले बोलाएर स्क्रिप्ट सुनाएपछि उनी चलचित्रमा काम गर्न सहमत भएकी थिइन्। उनी भन्छिन्,’‘यो चलचित्रको स्क्रिप्ट सुनेपछि नाइँ भन्नै सकिनँ । मेरो आफ्नै क्यारेक्टरले मलाई यो चलचित्रमा तान्यो।’

    सुपुष्पाले ‘पिताम्बर’मा अभिनय गरेपछि विधवाको जीवनलाई केही बुझेको बताइन्। ‘नेपाली समाजमा विधवाको जीवन बाँच्न गाह्रो हुँदो रहेछ । आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो त पक्कै हुन्छ तर यो चलचित्रमा काम गरेपछि मैले विधवा जिवनबारे अझै धेरै बुझें । अहिले त महिलाहरुले आफ्नो स्ट्यान्ड लिनुभएको छ । उहाँहरू माथि पनि आइरहनुभएको छ। धेरै खुसी लाग्छ ’, उनले भनिन् ।

    उनी मल्टिस्टार चलचित्रमा आफू जोडिन पाउनु भाग्यको कुरा ठान्छिन् । ‘आफ्नो पात्रलाई न्याय दिन सक्ने हो कि हैन भन्ने कुराले सुरुमा मलाई गाह्रो भएको थियो । तर मल्टिस्टार चलचित्रमा मैले यतिको स्पेस पाएँ भनेर आफूलाई खुसी लाग्छ । यति धेरै कलाकारमा म पनि एउटा छु है भन्नेमा गर्व छ’, उनले सुनाइन् ।

    ‘तर मल्टिस्टार चलचित्रमा काम गर्दा प्रेसर चाहिँ हुँदो रहेछ। सबै कलाकार राम्रो अभिनय गर्ने हुनुहुन्छ । मेरो अभिनय चाहिँ कताबाट चिप्लिने हो कि भन्ने डर हुँदो रहेछ। आफू तयारी अवस्थामा रहेपछि मात्र त्यो डर हराउँदो रहेछ,’उनले थपिन् ।

    सुपुष्पाको बुझाईमा राम्रो भिजन भएको मान्छेले फिल्म बनाउन सजिलो हुन्छ । उनले भनिन्,‘महिला र पुरुष निर्देशक भन्दा पनि निर्देशक भनेको निर्देशक नै हो । राम्रो भिजन भएको मान्छेले फिल्म बनाउन सजिलो हुन्छ । आफ्नो भिजन बुझेको र कस्तो फिल्म बनाउने भन्ने थाहा पाएको निर्देशकसँग काम गर्न पाएँ । मलाई धेरै सजिलो भयो।’

    सुपुष्पालाई अब भने एक्सन चलचित्रमा काम गर्न ठुलो रहर छ। उनी भन्छिन्,’एक्सन चलचित्रमा आफैले एक्सन गर्न मन छ।पहिलोदेखिकै इच्छा पनि थियो। त्यस्तो फिल्मको अफर आयो भने स्क्रिप्ट र आफ्नो क्यारेक्टर हेरेर निर्णय लिन्छु।’

    कृषा चौलागाईंको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।

    विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद र पुरुषोत्तम प्रधानको डीओपी छ।