Category: कलाप्रेस

  • दयाहाङ राई निर्देशित नाटक ‘मीतज्यू’ को प्रिमियर (लाइभ)

    दयाहाङ राई निर्देशित नाटक ‘मीतज्यू’ को प्रिमियर (लाइभ)

    काठमाडौं । दयाहाङ राईले निर्देशन गरेको नाटक ‘मीतज्यू’ को अहिले भर्चुअल प्रिमियर भैरहेको छ । मण्डला थिएटरले आफ्नै युट्युव च्यानलबाट नाटकलाई लाइभ प्रस्तुति गरेको हो ।

    नाटकमा सिर्जना सुब्बा, बुद्धि गुरुङ, विजय बराल लगायतको अभिनय छ । सोमनाथ खनालद्वारा लिखित र राईले निर्देशन गरेको नाटकले मितेरी साइनोको कथा भन्छ ।

    ७ वर्षअघि मंचन भैसकेको नाटकमा केही परिमार्जन गर्दै अनलाइन प्लेटफर्मममा प्रस्तुत प्रस्तुत गरिएको हो । नाटक रिहर्सलदेखि नै युट्युव छायांकनलाई मध्यनजर गरेर नाटक तयार पारिएको थियो ।

    लाइभ हेर्नूस :

  • कोरोना संक्रमणले ‘माइतीघर २’ फिल्म निर्देशक सुबोध चोपडाको निधन, अनमोलले लेखे- म स्तब्ध छु !

    कोरोना संक्रमणले ‘माइतीघर २’ फिल्म निर्देशक सुबोध चोपडाको निधन, अनमोलले लेखे- म स्तब्ध छु !

    काठमाडौं । भुवन केसीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणले निधन भएको छ । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत निधनको पुष्टि गरेका छन् ।

    सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुन लागेको उक्त फिल्मलाई चोपडाले निर्देशन गर्ने घोषणा गत महिना भएको थियो ।

    अनमोलले फेसबुकमार्फत चोपडाको निधनले आफू स्तब्ध भएको जनाएका छन् ।

  • बुहारी र छोरीको समानताको सन्देश दिने गीत ‘जसलाई मैले’ रिलिज (भिडिओ)

    बुहारी र छोरीको समानताको सन्देश दिने गीत ‘जसलाई मैले’ रिलिज (भिडिओ)

    काठमाडौं । बुहारीलाई पनि छोरीको जस्तै व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिएको ‘जसलाई मैले’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

    यो गीतमा स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीत छ । यो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् ।

    समनले सामाजिक सन्देश दिने कथामा यो भिडियो तयार पारेका छन् । गीतको भिडियोमा गौरव पहारी, उत्साह घिमिरे, विशाल पहारी, कमला रेग्मी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

    फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा एक महिलाले आफ्नै श्रीमान्ले साथ नदिएपछि भोगेको पीडा देखाइएको छ । हेर्नूस भिडियो :

  • अस्पतालमै मदनकृष्णले मनाए जन्मदिन, कोरोनाविरुद्ध दिए यस्तो सन्देश

    अस्पतालमै मदनकृष्णले मनाए जन्मदिन, कोरोनाविरुद्ध दिए यस्तो सन्देश

    काठमाडौं । अभिनेता मदनकृष्ण श्रेष्ठ अहिले मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । कोरोनाभाइरसबाट संक्रमित भएपछि उनी केही सातादेखि उनी अस्पतालमा छन् ।

    शुक्रबार तिथिअनुसार उनले जन्मदिन मनाए । छोरी सरिना, परिवारका अन्य सदस्य र चिकित्सकसँग मिलेर उनले अस्पतालमै जन्मदिन मनाए । अक्षय तृतीया तिथिअनुसार मदनकृष्णले जन्मदिन मनाएका हुन् ।

    मदनकृष्णलाई जन्मदिनको शुभकामना दिन उनको सबै परिवार सामाजिक दूरी पालना गर्दै मेडिसिटी पुगेका थिए । ड्याडीको स्वास्थ्यमा सुधार आएको भन्दै छोरी सरिनाले खुशि बाँडेकी छिन् । ‘हामीलाई देखेपछि बुवाले हाम्रो मन राख्न अझै फूर्ती बढाउनुभयो’ उनले भनिन् ।

    विभिन्न सेलेव्रिटीले पनि भिडियो कल गर्दैै मदनकृष्णलाई शुभकामना दिएका छन् ।

  • कोरोनाभाइरस संक्रमित शिवहरि पौड्याल अस्पताल भर्ना, आइसीयूमा राखेर उपचार हुँदै

    कोरोनाभाइरस संक्रमित शिवहरि पौड्याल अस्पताल भर्ना, आइसीयूमा राखेर उपचार हुँदै

    काठमाडौं । अभिनेता एवं निर्देशक शिवहरि पौड्याललाई पनि भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

    राजधानीको नैकापस्थित एपीएफ अस्पतालमा उनको उपचार भैरहेको छ । अहिले उनलाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको छ ।

    अहिले मदनकृष्ण श्रेष्ठ, नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्केलाई पनि संक्रमण भएको छ । केकी अधिकारी र प्रकाश सपुत भने कोरोनाबाट निको भैसकेका छन् ।

  • मिस युनिभर्समा नेपालले प्रस्तुत गर्‍यो नेसनल कस्ट्युम, मतदान खुला

    मिस युनिभर्समा नेपालले प्रस्तुत गर्‍यो नेसनल कस्ट्युम, मतदान खुला

    काठमाडौं । मिस युनिभर्स २०२१ को प्रतिस्पर्धा सुरु भएको छ । आज बिहान ७५ जना प्रतिस्पर्धीले आ-आफ्नो मुलुकको राष्ट्रिय पोशाक प्रस्तुत गरेका छन् ।

    नेपालबाट प्रतिनिधित्व गरेकी अनिष्का शर्माले पनि नेसनल कस्ट्युम प्रस्तुत गरिन् । उनले हिमाल र पर्यावरण प्रतिविम्वित गर्ने पोशाक लगाएकी थिइन् । महावीर पुन र बीना घलेको डिजाइनमा बौद्ध प्रार्थनाका झन्डा पनि संलग्न छन् ।

    सोमबार बिहान पौने ६ बजेदेखि ग्रान्ड फिनाली सुरु हुँदैछ । नेसनल कस्ट्युमको भोटिङ सुरु भएको छ र आइतबार बिहानसम्म भोटिङ नतिजा सार्वजनिक हुनेछ ।

    मिस युनिभर्स नेपालको डिजिटल मिडिया हेर्ने सुमित श्रेष्ठका अनुसार नेसनल कस्ट्युममा विजयी हुने प्रतिस्पर्धीले उत्कृष्ट कस्ट्युम विधामा जित्न सक्नेछन् ।

    यो पेजमा गएर तपाईंले नेपाली सहभागि अनिष्कालाई मतदान गर्न सक्नुहुन्छ ।

  • ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुने, यस्तो छ फिल्मको हिन्दी ट्रेलर

    ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुने, यस्तो छ फिल्मको हिन्दी ट्रेलर

    काठमाडौं । मिलन चाम्स निर्देशित सुपरहिट फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा समेत प्रदर्शन हुने भएको छ ।

    कोरोनाभाइरस महामारी सामान्य भएपछि फिल्मलाई भारतीय डायस्पोरामा रिलिज गर्ने जानकारी निर्देशक चाम्सले दिए ।

    कोरोनाको दोस्रो लहर अगाडि भारतमा प्रदर्शन गर्ने योजना बनाइएपनि भाइरसको भयावह अवस्थाले त्यसलाई रोक्नुपरेको चाम्सले बताए ।

    निर्देशक चाम्सले फिल्मको हिन्दी संस्करणको दृश्यांश सामाजिक संजालमा सेयर गरेका छन् जसलाई हिन्दी भाषामा स्वरांकन गरिएको छ । भाइरस महामारी कायमै रहे यसलाई युट्युवमा रिलिज गर्ने योजनामा निर्देशक चाम्स छन् ।

    दोस्रो चरणको लकडाउनअघि चाम्सको निर्माण एवं निर्देशन रहेको फिल्म ‘गोर्खा वारियर’को छायांकन सुरु भएको थियो । अवस्था सामान्य भए छायांकनलाई पनि अगाडि बढाउने उनको योजना छ ।

  • सेन्सर गरेर मात्र बलिउड फिल्म ‘राधे’लाई नेपालमा रिलिज गर्न मन्त्रालयको निर्देशन

    सेन्सर गरेर मात्र बलिउड फिल्म ‘राधे’लाई नेपालमा रिलिज गर्न मन्त्रालयको निर्देशन

    काठमाडौं । भारतीय फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’लाई सेन्सर गरेर मात्र रिलिज गर्न संचार मन्त्रालयले नेपालका ओटीटी प्लेटफर्मलार्ई बिहीबार निर्देशन दिएको छ ।

    मन्त्रालयको निर्देशनपछि अब ती ओटीटी प्लेटफर्मले सेन्सर प्रक्रिया पुरा गरेर मात्र फिल्मलाई आफ्ना प्लेटफर्ममा प्रदर्शन गर्न पाउनेछन् ।

    गोपिकृष्ण मूभिजअन्तर्गतको ए-एठ् कम्पनीले बलिउड फिल्म राधेको नेपाल डिजिटल सर्वाधिकार खरिद गरेको हो । यो फिल्म म्याक्स टिभी, डिसहोम र नेट टिभीका ओटीटी तथा डिजिटल प्लेटफर्मबाट रिलिज हुने तयारीमा थियो ।

    मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले सेन्सर प्रक्रिया पुरा गरेर मात्र रिलिज गर्न वितरक र ओटीटी संचालकलाई निर्देशन दिइएको बताए । ‘प्रक्रिया नपुर्‍याइकन रिलिज गरिए कानूनी कार्वाहीमा अघि बढ्नुपर्ने हुन्छ’ उनले भने ।

    संचार मन्त्रालयका श्रव्यदृश्य शाखा हेर्ने प्रमुख शिव त्रिपाठीले पनि निर्देशन दिइएको र पालना नभए कानून अनुसार कार्वाही हुने बताए । ओटीटी प्लेटफर्मलाई पनि फिल्म सेन्सर र करको दायरामा ल्याउने तयारी भैरहेको बताए ।

    चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले ओटीटी प्लेटफर्मलाई करको दायरामा ल्याउने गरि आगामी आर्थिक ऐनमा समेट्न अर्थ मन्त्रालयमा सिफारिस गरिएको बताए ।

    सलमान खानको निर्माण एवं अभिनय रहेको फिल्म ‘राधे’ भारतमा भने जी नेटवर्क अन्तर्गतका ओटीटी प्लेटफर्ममा रिलिज भएको छ ।

  • भर्चुअल माध्यमबाट मण्डलाले नाटक देखाउने, प्रिमियर हुने भयो दयाहाङको ‘मीतज्यू’

    भर्चुअल माध्यमबाट मण्डलाले नाटक देखाउने, प्रिमियर हुने भयो दयाहाङको ‘मीतज्यू’

    काठमाडौं । मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । भौतिक उपस्थितीमै नाटक मञ्चनको तयारी गरिएपनि निषेधाज्ञा लागु भएपछि मण्डलाले भर्चुअल माध्यममा जाने निधो गरेको हो । निषेधाज्ञा नभएको भए बैशाख अन्त्यमा पल्पसा क्याफे नाटक मञ्चन तयारीमा थियो मण्डला ।

    थिएटरले पहिलोपटक आफ्नो पूर्णाङ्की नाटकलाई डिजिटल माध्यमबाट रिलिज गर्न लागेको हो । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक ‘मीतज्यू’लाई मण्डलाले युट्युव च्यानलमार्फत रिलिज गर्न लागेको हो ।

    ‘मीतज्यू’ नाटक दुईजना बृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने फल्यासब्याक कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय मितेरी साइनो अन्तर्गत एक जोडी मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ ।

    मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ । पञ्चायतकालिन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत बर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ ।

    सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक मितज्यूलाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको हो ।

    नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो । नाटकमा बुद्धि तामाङ, बिजय बराल, सृजना सुब्बा, उमेश तामाङ, बिकाश जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ ।

    राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुनिनेछ । नाटक निर्माण तथा छायाँकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता रहेको थियो ।

    बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक मीतज्यूको प्रिमियर गरिने भएको छ । प्रिमियरपश्चात अनलाइन एप्लीकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्तक्रिया गरिने भएको छ ।

    अन्तक्रियालाई मण्डलाले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

  • शिल्पा अभिनित भोजपुरी फिल्म ‘प्रेमगीत २’ ट्रेलर रिलिज

    शिल्पा अभिनित भोजपुरी फिल्म ‘प्रेमगीत २’ ट्रेलर रिलिज

    काठमाडौं । पछिल्लो समय पूर्वपति छविराज ओझासँगको सम्बन्धलाई लिएर चर्चामा छिन् अभिनेत्री शिल्पा पोखरेल । उनको अर्को चर्चा भने उनी अभिनित भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलरले भएको हो ।

    उक्त फिल्मको ट्रेलर बुधबार इन्टरनेट रिलिज भएको छ । सार्वजनिक भएको ट्रेलरमा शिल्पालाई रोमान्टिक गर्लको रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा उनको जोडी भोजपुरी स्टार प्रदीप पान्डेसँग बाँधिएको छ । फिल्ममा प्रदीप ‘प्रेम’ र शिल्पा ‘गीत’ को भूमिकामा छन् ।

    पोखरा आसपास खिचिएको फिल्मलाई नेपाली मुलका भारतीय सोनु खत्रीले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाबाहेक अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जित कुमार शर्मा, रोहित थापाको अभिनय छ ।

    सोनु खत्री स्वयंले फिल्मको निर्माता हुन् ।

    रत्नाकर कुमार प्रस्तुतकर्ता रहेको फिल्ममा छायाँकारदेखि कोरियोग्राफरसम्म नेपालकै छन् । हरी घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी छ ।

    अभिनेत्री शिल्पाले यसअघि भोजपुरी उद्योगकै ‘जय शम्भु’ नामक फिल्म खेलेकी छिन् । यो फिल्ममा पनि उनको जोडी भोजपुरी अभिनेत्री प्रदीप पान्डेसँग बाँधिएको थियो । ट्रेलर सार्वजनिक भए पनि रिलिज मिति घोषणा भएको छैन ।

    हेर्नूस ट्रेलर :

  • ३२ बालबालिकाका अभिभावक बने अनुप, लकडाउनमा पनि समाजसेवा

    ३२ बालबालिकाका अभिभावक बने अनुप, लकडाउनमा पनि समाजसेवा

    काठमाडौं । रिल लाइफमा खलनायकको रुपमा चर्चा बटुलेका अभिनेता अनुपविक्रम शाही वास्तविक जीवनमा चाहिँ हिरोजस्तै छन् । मनकारी स्वभावका उनी सामाजिक सहयोगका लागि अघि बढ्छन् ।

    दोस्रो लकडाउनकै बीच उनी समाजसेवामा खटिएका छन् । पहिलो लकडाउनमा पनि उनले खाद्यान्नदेखि अत्यावश्यक राहत सामाग्री वितरण गरेका थिए ।

    टोखाको ग्रीनल्यान्डस्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल नामक बाल आश्रम पुगेर मंगलबार अनुपले डेढ महीनासम्म खाद्यान्न वितरण गरे । उक्त आश्रममा रहेका ३२ बालबालिकालाई उनले १ लाख बराबरको राहत सामाग्री प्रदान गरे ।

    ‘अघिल्लो वर्ष यी बालबालिकाको अभिभावक बन्ने प्रण गरेको थिएँ’ उनी भन्छन्, ‘पछिल्लो वर्ष बालबालिकाको नियमित निगरानी मेरो कर्तव्य थियो । त्यसैलाई निरन्तरता दिएको हुँ ।’ गतवर्ष आफ्नो जन्मदिन पनि सोही आश्रममा पुगेर अनुपले मनाएका थिए ।

     

  • अशोक शर्मा भन्छन् : महामारीले नेपाली फिल्म १० वर्ष पछाडि धकेलिन्छ

    अशोक शर्मा भन्छन् : महामारीले नेपाली फिल्म १० वर्ष पछाडि धकेलिन्छ

    काठमाडौं । फिल्म निर्देशक एवं निर्माता अशोक शर्माले कोरोना महामारीको कारणले नेपाली फिल्म क्षेत्र १० वर्ष पछाडि धकेलिने बताएका छन् ।

    सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)को चौथो संस्करणमा बोल्दै उनले फिल्म क्षेत्र तत्काल सामान्य अवस्थामा फर्कने सम्भावना नरहेको बताए ।

    उनी भन्छन्, ‘कोरोनाको कारणले फिल्म हेर्ने दर्शकहरुको बानीमा ब्रेक लागेको छ । स्थिति सामान्य भएर फिल्म रिलिज भएपनि केही समय दर्शक हलमा आउदैनन् । यसको लागि ठूलो मिहेनत गर्नुपर्छ ।’

    फिल्म निर्माण सकेर रिलिज हुने तयारीमा रहेका निर्माताहरु बढी मारमा परेका छन् । कोभिडको पहिलो लहरपछि देशभर २२ वटा फिल्म हल सधैका लागि बन्द भइसकेका छन् ।

    अहिलेकै अवस्था रहे मल्टिप्लेक्स पनि नटिक्ने अवस्था रहेको उनले बताए । अरुभन्दा फिल्म क्षेत्र सबैभन्दा बढी मारमा परेको उनले बताए ।

    कोभिडपछि फिल्म रिलिजका लागि ओटीटी प्लेटफर्ममार्फत आकर्षण बढे पनि यो सेकेन्डरी मार्केटका लागि मात्र ठीक हुने बताउँछन् । शर्मा भन्छन्, ‘ओटीटी प्लेटफर्ममा संसारभर एकसाथ फिल्म हेर्न पाइन्छ तर पहिलो प्राथमिकताको मार्केट भन फिल्म हल नै हो ।’

     

  • १९० करोड भारुमा जीले किन्यो सलमानको ‘राधे’, विहीबार विश्वभर रिलिज हुँदै

    १९० करोड भारुमा जीले किन्यो सलमानको ‘राधे’, विहीबार विश्वभर रिलिज हुँदै

    मुम्बई । अहिलेसम्मकै सर्वाधिक महंगो मूल्यमा बलिउड फिल्मको डिजिटल अधिकार विक्री भएको छ । सलमान खान स्टारर ‘राधे : योर मस्ट वान्टेड भाइ’ १९० करोड भारुमा जी कम्पनीले खरिद गरेको हो ।

    कोरोनाभाइरस महामारीको कारण यो फिल्म अब पर-भ्यूज आधारमा जी कम्पनीको ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ । यसअघि हाइव्रिड मोडल (हल र डिजिटल प्लेटफर्म)मा रिलिज हुने गरि फिल्मलाई जीले २३० करोड भारुमा किनेको थियो ।

    कोभिडको दोस्रो लहरको कारण हल रिलिज सम्भव नभएपछि फिल्मलाई डिजिटल रिलिज गर्न लागिएको हो । यसअघि अक्षय कुमार स्टारर फिल्म लक्ष्मी सर्वाधिक मूल्यमा विक्री भएको थियो ।

    जी कम्पनी र सलमान खान फिल्म्सले प्राप्त कमाइको निश्चित प्रतिशतले कोभिड बिरामीको उपचारमा खर्चने घोषणा गरिसकेका छन् । धेरै प्लेटफर्मबाट एकसाथ रिलिज हुँदा लगानी उठ्ने आशा दुबै निर्माताले गरेका छन् ।

    आगामी विहीबार नेपालसहित ४० भन्दा बढी देशमा फिल्म रिलिज हुने जनाइएको छ । मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा ४ दिन पारेर फिल्म प्रदर्शन हुन लागेको हो ।

  • आमा सम्झँदै ‘आमा’ को दायित्व निभाउँछिन् दीपा

    आमा सम्झँदै ‘आमा’ को दायित्व निभाउँछिन् दीपा

    बिहानै दीपाश्री निरौला (कलाकार/निर्देशक)ले आमाहरूलाई सम्झँदै फेसबुकमा पोस्ट राखिन्, ‘जन्मदिने आमा, कर्म दिने आमा, साथ दिने आमा, हात दिने आमा, सबै आमाहरूको मुख हेरेँ ।’

    पोस्टसँगै तल ‘आमा’हरूका साथ खिचिएका तस्बिर पनि पोस्ट्याएकी थिइन् । एउटा तस्बिर अरुभन्दा भिन्न थियो । सेताम्य भित्ताको किलामा झुड्याइएको महिलाको तस्बिरसँग उनले आफूलाई कैद गरेकी थिइन् । बिहान आँखा खुल्नासाथ दीपाले त्यो फोटो गहिरिएर हेरिन् ।

    र भावुक मुद्रामा भनिन्, ‘हेप्पी मदर्स डे, आमा !’

    दीपा आफ्नी आमालाई आज पल–पल सम्झिरहेकी छन् । सामाजिक सञ्जालमा साथीहरूले पोस्ट गरेको दृश्यले पनि उनलाई भावुक बनाउँछ । मानसपटलमा स्कुले केटी र आमाको सपना दौडिरहेको छ । आमा भन्थिन्, ‘मेरी छोरी सुब्बा होस् । सरकारी जागिर खाएर हाकिम होस् ।’

    तर, दीपाको स्वभाव न सुब्बा हुनेजस्तो न हाकिम नै । उनलाई त नाच्नुमा थियो खुसी केवल ! आमासँग अक्षर छिचोल्ने मात्र ज्ञान थियो । तैपनि लाग्थ्यो– मेरा सन्तानले पढेर ठूलो हुनुपर्छ ।

    यसकारण ऋण काढेर भए पनिर घरमा छोरी पढाउन ट्युसन टिचर राखिएको थियो । तर, दीपा ट्युसन टिचरको आँखा छलेर डान्सतिर हानिन्थिन् । त्यो छलछाम आमालाई सह्य थिएन, र दीपाले पिटाइ भेटिहाल्थिन् । ‘त्यतिबेला रिस उठ्थ्यो । आमालाई अन्जानमा गाली गर्थें । तर अहिले लाग्छ, मेरो त्यो ठूलो भूल थियो,’ दीपा सम्झन्छिन् ।

    एसएलसीका लागि टेस्ट परीक्षा चलिरहेको थियो । त्यहीबेला क्यान्सर भएकी आमालाई उपचारका लागि हष्पिटल लगिएको थियो । शुक्रबार एउटा विषयको परीक्षा दिएर दीपा घर आउँदै थिइन् । घरभरि मान्छेहरूको भिड । सोचिन्– आमाको खबर सोध्न आएका होला !

    तर होइन, आमाको विदाइको पो खबर लिएर बसेका रहेछन् उनीहरू । ‘आमा बिहान ४ बजे बित्नुभएको रहेछ, टिचिङमा । मैले मुखसमेत हेर्न पाइनँ आमाको,’ दीपा भावुक हुँदै सुनाउँछिन् ।

    स्कुले उमेरकी दीपा त्यसदिनदेखि आमाविहीन भइन् । आमाको मृत्यु हुँदा शव समेत हेर्न नपाएकी दीपालाई त्यो कुराले बेलाबखत बिझाइरहन्छ पनि । आमा बितेको ३० वर्षपछि पनि भुल्न सक्दिनन् आमा, आमाको प्रेम भरिएको पिटाइ ।

    ‘आमा हुनेलाई भन्दा नहुनेलाई बढी महत्व हुँदो रहेछ है !’ दीपा द्रविभूत भावमा भन्छिन् ।

    अघिल्ला वर्षहरूमा आजका दिन उनी वृद्धाश्रमतिर जान्थिन् । र आमाहरूलाई भोजन र मिठाइ खुवाउँथिन् । त्यसरी जाँदा कैयन् आमाहरूको अनुहारमा उनी आफ्नै आमाको अनुहार भेट्थिन् । ‘नानी तिमीले नसोचेको सपना पूरा गर्छौ । तिमी कति मायालु छौ आफ्नै छोरीजस्ती,’ आमाहरूले भनेको यो वाक्य उनको कानमा गुन्जिरहेको छ ।

    ०००

    आमाको सन्दर्भमा कुरा गरिरहँदा दीपा आफूभित्रको मातृत्वबारे बोल्छिन् । ‘आमा हुन छोराछोरी जन्माउनु पर्दोरहेनछ,’ अहिले त उनी यो निश्कर्षमा पुगेकी छन् । तर, ५ वर्षअघिसम्म उनको मनले यो स्वीकार गर्दैन थियो ।

    व्यक्तिगत जीवनमा दीपालाई आमा बन्ने रहर नभएको हैन । ‘बिहे गरौं, बच्चा जन्माऊँ’ भन्ने अनुभूति थियो उनीसँग । तर, अहिले दायित्व धेरै छ । सन्तानको माया पनि पाएको अनुभूति गरेकी छन् उनले ।

    आज बिहानै बिहीनका बच्चा र सानी भदैनीले ‘आमाको मुख हेर्ने दिन’ भन्दै उनको मुख हेरे । उनले खुसी बटुलिन् ।

    बिहान टुप्लुक्क आएको म्यासेजले पनि उनको खुसी थप्यो, ‘ह्याप्पी मदर्स डे मम ।’

    यो म्यासेज राजले पठाएका थिए । उबेला तितोसत्यका बालकलाकार राज दीपक र दीपाका छोराको भूमिकामा थिए । ‘त्यो भर्खरको उमेरमा मैले तितोसत्यमा आमाको भूमिका निभाएकी थिएँ । त्यतिखेर छोराको क्यारेक्टरमा राज थिए । अहिले पनि म उसलाई छोराजतिकै प्रेम गर्छु । ऊ अहिले पनि मलाई मम भनेर सम्बोधन गर्छ । उसको प्रगतिमा आफ्नै छोराको प्रगति सम्झिन्छु,’ दीपा सुनाउँछिन् ।

    ०००

    छोराछोरीको प्रेम त उनले १५ जना बच्चाहरूबाट पनि पाएकी छन् । जसलाई उनले पनि निकै प्रेम गर्छिन् । दीपक÷दीपा मिलेर १५ बच्चाहरूलाई पढाउने काम गरेका थिए, १५ वर्षअघि ।

    विस्तारै आय राम्रै हुँदै गएपछि उनीहरूले यो सोच बनाएका थिए । ‘सबैभन्दा ठूलो दान शिक्षादान हो । मान्छे साक्षर भइसकेपछि उसले विवेक प्रयोग गरेर जे पनि गर्न सक्छ । आफूलाई उभ्याउन सक्छ । के थाहा मैले पढाएको बच्चा भोलि प्रधानमन्त्री नै हुनसक्ला कि,’ यो सोच दीपामा त्यतिबेलै प्रखर भएर आयो ।

    उनीहरूले ती बच्चाहरू पढाए, जसको परिवार आर्थिक हिसाबमा निकै कमजोर छ । ‘अभिभावक जेलमा भएका, एकदमै कमजोर आर्थिक आय भएका परिवारका बच्चाहरूलाई हामीले पढाउन सुरु ग¥यौं,’ उनी सुनाउँछिन् ।

    दीपामा हिजो आफूले पढ्न नसक्दाको इख पनि बाँचेको थियो । ‘तैंले कला रोज्छन् कि पढाइ भन्दा मैले पढाइ रोज्न सकिनँ । किनकि मेरो आयस्रोत राम्रो थिएन । त्यसकारण हिजो पढ्न पाइनँ । आज बच्चाहरूलाई पढाउन पाइरहेको छु,’ उनी खुसीभावमा भन्छिन् ।

    पढाएका मध्ये एकजना बच्चाले त एसइई पाससमेत गरिसके । अहिले उनी स्कलरसिपमै पढिरहेका छन् । दीपक र दीपाले कमाइको १० देखि २० प्रतिशतसम्म बैंकमा राख्ने गर्छन् । ‘त्यही बैंकमा जम्मा भएको पैसाले पढाइरहेका छौं,’ उनी भन्छिन् ।

    कतै रिबन काट्न जाँदा वा कार्यक्रममा, जानुअगावै उनी एउटा आग्रह गर्छिन्, ‘मेरा बच्चाहरूलाई पढाउनका लागि केही खचर्् छुट्याइदिनुस् है !’

    ‘उनीहरूलाई कार्यक्रममा म चाहिएको हुन्छ । मलाई मेरा बच्चाहरू पढाउन जरुरी हुन्छ । कार्यक्रममा जाँदा म यो सर्त राख्छु । अनि त्यहाँबाट आएको पैसा बच्चाहरूकै खातामा जान्छ,’ उनी सुनाउँछिन् ।

    सामाखुसीमा पढ्ने सञ्जु नामकी बालिका छिन् । दीपा उनलाई छोरी भन्छिन् । उनी एकताका बिरामी थिइन् । ६ महिना जति पढ्न सकिनन् । पछि निको भएपछि दीपाले चिन्तित हुँदै भनिन्, ‘छोरीको पढाइ पनि छुट्यो । अब कसरी परीक्षा दिन्छौ नि तिमीले ?’ छोरीले हौसिँदै दीपालाई प्रेमपूर्वक भनिन्, ‘मलाई मेरो आमाको आशिर्वाद छ । म हाँसीहाँसी पास गरिहाल्छु नि !’

    नभन्दै उनी परीक्षामा प्रथम भइन् ।

    त्यहाँका दिदीहरूले सञ्जुको सन्दर्भमा भन्छन्, ‘एकदमै साइलेन्स नेचरको बच्चा हो ऊ । तर तपाईंहरू आमा बुवा भइसकेपछि निकै बोल्न थालेकी छन् ।’

    यो कुराले दीपालाई निकै उत्साहित बनाउँछ । आफूले गरेअनुरुप बच्चाहरूले पनि माया गरेको देख्दा उनी आफ्नी आमालाई याद गर्छिन् । र पुरानो तस्बिर हेर्दै भन्छिन्, ‘मेरो पनि आमा भएको भए कति खुसी हुन्थेँ हुँला ।’

    ०००

  • सकियो नीफ फिल्म महोत्सव : ‘बुख्याँचा’ उत्कृष्ट फिल्म

    सकियो नीफ फिल्म महोत्सव : ‘बुख्याँचा’ उत्कृष्ट फिल्म

    काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (नीफ)को चौथो संस्करण सोमबारदेखि समापन भएको छ ।

    फिल्म मार्फत नेपाली कला, संस्कृति र पर्यटन विश्वभरि फैलाउने नीफको उद्देश्य रहेको नीफको जुममार्फत कार्यक्रमको समापन सत्रमा फैजिया फथिमाले नीफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा खुशी लागेको बताए ।

    पोर्चुगलका फिल्म निर्माता ज्वाओ पाउलो मकेडोले विश्वभरका कला, संस्कृति तथा भूगोललाई नीफले केन्द्रीकृत गर्न सफल रहेको जनाए । मधुरिमा बारुवाचले प्रेमेन्दर मजुमेण्डरले केही समयअघि नेपालको दोलखा घुम्दा रोचक लागेको र फिल्मका लागि उत्कृष्ट लागेको बताए ।

    समापन कार्यक्रममा उत्कृष्ट फिल्म सहित विभिन्न देशका निर्णायकले पुरस्कार राशिको घोषणा गरे । सोअनुसार उत्कृष्ट लघु फिल्म अवार्ड राजेशप्रसाद खत्रीको अ स्क्यरक्रो ‘बुख्याँचा’ले हात पारेको छ । यसैगरी वाग्मती अवार्ड उत्कृष्ट अन्तराष्ट्रिय लघु फिल्म अन्तर्गत दक्षिण कोरियाका निर्देशक सङ्बिन बुनको ‘गड्स डटर डान्सेस’ले पाएको छ ।

    मञ्जुश्री अवार्ड उत्कृष्ट एनिमेशनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन् भने उत्कृष्ट वृत्तचित्र गणेश पाण्डेको ‘सिभिल सोल्डर्स’ले हात पारेको छ ।

    यसैगरी माउन्ट एभरेष्ट वृत्तचित्र अवार्ड स्विट्जरल्याण्डका निर्देशक एड्रिनो जेकाको ‘रिटर्न टु द लष्ट इडेन’ले पाएको छ । टर्कीका निर्देशक मुरत सेरीको ‘इन माइ ड्रिम’ पनि छनोटमा परेको छ भने राष्ट्रिय कथानक फिल्म अन्तर्गत ढोण्डुप छिरिङको ‘आमा खाण्डो’ले हात पारेको छ ।

    गौतमबुद्ध अवार्डअन्तर्गत भारतीय फिल्म ‘डिक्सनरी’ले हात पारेको छ । उत्कृष्ट लेखनतर्फ सरिता, उत्कृष्ट छायाङ्कन एवं महिला तथा पुरुषको अभिनयतर्फ ‘लाटोकोसेरो’ले अवार्ड हात पारेको छ ।

    कार्यक्रममा चालचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली कथा, फिल्मलाई अन्तरराष्ट्रियकरण गर्नमा नीफको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा बोर्डले विभिन्न संघसंस्थासँंगको सहकार्यमा फिल्म गतिविधि अगाडी बढाइने जानकारी दिए । कार्यक्रमको समापन गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकले महोत्सवक कार्यक्रम थप गतिशील एवं प्रभावकारी बनाइने बताए ।

    नेपाली चलचित्रले आकर्षण गर्नुपर्ने सुझाव

    नीफको आजको शुरुवाती सत्रमा फिल्मको आर्थिक एवं गुणात्मकस्तरबारे बहस गरिएको थियो । कार्यक्रममा लेखक युग पाठकले चलचित्र समाजकोे भाषा र संस्कृति देखाउने ऐना भएको र यसले विचारको प्रतिनिधित्व गरेको बताए ।

    लेखक तथा पत्रकार बविता बस्नेतले अबका फिल्ममा महिलाको यथार्थ देखाइनुपर्ने तथा रोनाधोना, देवी वा बोक्सी मात्र नदेखाई जीवन झल्कने सफलताको कथा पनि समावेश गर्नुपर्नेमा जोड दिए । साहित्यकार कृष्ण धरावासीले संसारभरिका फिल्म हेरेका दर्शकलाई अब नेपाली फिल्मले आकर्षण गर्नुपर्ने भनाइ राखे ।

  • दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सात समूहबाटै बाहिरिए

    दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सात समूहबाटै बाहिरिए

    काठमाडौं । अमेरिकी आइडलमा पुनः प्रतिस्पर्धाको मौका पाएका दिवेश पोखरेल उत्कृष्ट सातबाटै बाहिरिएका छन् । आज विहान भएको भोटिङको नतिजाअनुसार आर्थर गन नामले चर्चित पोखरेल आउट भएका हुन् ।

    उनी अघिल्लो सिजनमा उत्कृष्ट दुईमा समावेश थिए ।

    कोरोनाको दोस्रो लहरले अडिसन प्रभावित बनेपछि अमेरिकन आइडलले अघिल्लो सिजनका प्रतिस्पर्धीलाई मौका दिएको थियो । सोही मौका अनुसार दिवेशले मौका पाएका थिए ।

    उनले आइतबार आमाको मुख हेर्ने दिनमा विशेष प्रस्तुत दिएका थिए । उनलाई जिताउन विश्वभरबाटै भोटिङ अभियान चलाएपनि उनी यसपटक सफल रहेनन् । उनले एक भिडियो सन्देश जारी गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

  • पूजा र आँचलसँग रोमान्टिक आकाश (भिडियो)

    पूजा र आँचलसँग रोमान्टिक आकाश (भिडियो)

    काठमाडौं । नेपाली फिल्म क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् ।

    गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी कलाकारहरुलाई फिचरिङ गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् ।

    यो गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

    भिडियोमा पूजा र आँचल, आकाश र रोशनसँग रोमान्टिक देखिएका छन् । विधानले डान्सिङ नम्बरमा कलरफूल भिडियो तयार पारेका छन् । हेर्नूस भिडियो :

  • नायिका वर्षा राउतलाई कोरोना संक्रमण, सबैलाई सुरक्षित रहन आग्रह

    नायिका वर्षा राउतलाई कोरोना संक्रमण, सबैलाई सुरक्षित रहन आग्रह

    काठमाडौं । अभिनेत्री वर्षा राउतलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमार्फत आफूलाई भाइरस पोजेटिभ भएको उनले उल्लेख गरेकी छिन् ।

    गन्ध हराएको र खोकी लागिरहेको उनले जनाएकी छिन् । स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा रहेको उनले बताएकी छिन् ।

    सबैलाई सुरक्षित रहन आग्रह गर्दै उनले ठीक भएर चाँडै काममा फर्किने आशा समेत व्यक्त गरेकी छिन् ।

    पछिल्लो समय केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ लगायतलाई भाइरस संक्रमण पुष्टि भएको छ ।

  • हरिवंशले गाएको ‘अर्को जुनी खै कुन्नी’ टेलिकम र एनसेलको मोबाइलमा

    हरिवंशले गाएको ‘अर्को जुनी खै कुन्नी’ टेलिकम र एनसेलको मोबाइलमा

    अर्को जुनी खै कुन्नी
    कसलाई थाहा छ र खै
    यही जुनीलाई कोरोनाबाट बचौं है…

    काठमाडौं । आइतबारदेखि नेपाल टेलिकमका उपभोक्ताले फोन गर्दा यो सीआरबीटी सुन्न थालेका छन् । यो जनचेतनामूलक गीतलाई हरिवंश आचार्यले गाएका हुन् ।

    दीपक शर्माको संगीत र दिनेशकुमार थपलियाको शब्दमा तयार भएको गीत स्वास्थ्य मन्त्रालयको पहलमा मोबाइलमा बज्न थालेको हो ।

    जनचेतनामूलक गीतलाई हरिवंशले निःशुल्क गाएका हुन् । कोरोना सम्बन्धी गीतले नागरिकमा सचेतना जगाउने आशा हरिवंशले लिएका छन् ।

    टेलिकमसँगै एनसेलको मोबाइलमा पनि उक्त रिङब्याक टोन बज्ने जानकारी हरिवंशले दिए ।

    दुईवर्षअघि मेलिना राई र सरोज वलीले गाएको ‘अर्को जुनी खै कुन्नी’को रिमेकको रुपमा हरिवंशले यो गीत गाएका हुन् ।

    हेर्नूस भिडियो :

  • कमेडी च्याम्पियन सिजन-२ अनिश्चितकाललाई स्थगित

    कमेडी च्याम्पियन सिजन-२ अनिश्चितकाललाई स्थगित

    काठमाडौं । टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन-२’ अनिश्चितकालको लागि स्थगित भएको छ ।

    निर्माती तथा अभिनेत्री केकी अधिकारीले कोभिड-१९ का कारण सिर्जना भएको स्थितीले सिजन-२ को एपिसोड छायांकन स्थगित भएको जानकारी दिइन् ।

    ‘अहिलेलाई हाम्रो छायांकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चाँडो नयाँ ऊर्जासहित आउने नै छौं’ रियालिटी सोले आफ्नो अफिसियल फेसबुक पेजमा उल्लेख गरेको छ ।

    निर्मात्री अधिकारीसहित प्रतियोगिताका केही सहभागिलाई गतसाता भाइरस संक्रमण समेत पुष्टि भएको थियो ।