काठमाडौं । अभिनेता राजवल्लभ कोइराला अहिले सपरिवार अमेरिकामा बस्दै आएका छन् । कुनैबेलाका यी हिट अभिनेता अब भने फिल्ममा कमब्याक हुने मनस्थितीमा छन् ।
भाइरस महामारी नभएको भए राजवल्लभ यतिबेला अभिनयमा फर्किसक्थे । तर, कोरोना कहरले उनको कमब्याक योजना धकेलिएको छ । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘म ढिलोचाँडो फिल्ममा अवश्य आउँछु । तर, कहिले आउँछु भन्ने थाहा छैन ।’
फिल्ममा फर्कन आफू व्यग्र भएको बताउँदै राजवल्लभ लगानीकर्ताको पसिनाको मूल्य उठ्ने गरि कमब्याक हुने चाहिरहेको धारणा राख्छन् । ‘कसैलाई झूठो आश्वासन दिएर फिल्ममा कमब्याक हुने सोचमा म छैन’ उनी भन्छन् ।
नेपाली फिल्मको बजार र दर्शक हेरेर कलाकारलाई पारिश्रमिक डिमान्ड गर्न उनको सुझाव छ । फिल्मले लगानी उठाउन नसक्दा आफूले महंगो पारिश्रमिक माग गर्न छाडेको स्मरण उनले गरे ।
करियरमा आफूले अहिलेसम्म ३ लाखभन्दा बढी पारिश्रमिक नलिएको उनको कथन छ । कथावस्तु राम्रो भएकाले डेढलाखसम्म पनि लिएको स्मरण उनले गरे ।
भाइरस महामारीको कारण निर्माण, प्रदर्शन र वितरण सजिलो नभएकाले उनले विकल्प खोज्नुपर्ने समेत बताए । फिल्म ‘पर्खि बसेँ’बाट अभिनय करियर थालेका राजवल्लभले छोडी गए पाप लाग्ला, अपवाद, हाइवे टु धम्पुस, मसान जस्ता समीक्षात्मकरुपमा रुचाइएका फिल्ममा समेत अभिनय गरेका छन् ।
काठमाडौं । अभिनेता राजेश हमाल र पत्नी मधु सोमबार विहेको सातौं वर्षगाँठ सेलिव्रेसन गर्दैछन् ।
५६ वर्षे हमाल र ३३ वर्षे मधु भट्टराईलाई ‘पावरफूल कपल’ पनि मानिन्छ । लामो समयको सम्बन्धलाई विहेमा परिणत गरेको यो जोडी अहिले पनि उत्तिकै रोमान्टिक मानिन्छ ।
यो जोडी भविष्यलाई लिएर उत्तिकै आशावादी पनि छ । फ्यामिली प्लानिङदेखि फिल्म हुँदै समाजसेवा गर्ने हमालका योजना छन् । तर, तत्काल बच्चा बनाइहाल्ने योजना उनीहरुको छैन ।
तत्काल फ्यामिली बनाइहाल्ने पक्षमा नभएपनि उनीहरु सन्तानको योजनामा चाहिँ छन् । ‘सन्तान भएपनि ठीक र नभएपनि ओके मुडमा उहाँहरु हुनुहुन्छ’ हमाल निकट पारिवारिक स्रोतले भन्यो, ‘तत्काल फ्यामिली प्लानिङ गर्ने योजना चाहिँ छैन ।’
हमालले नेपाल प्रेससँग यसअघि पनि फ्यामिली प्लानिङबारे खुलेर बोलेका थिएनन् । उनले त्यसलाई भगवानको इच्छा भए हुने भन्दैै टार्न खोजेका थिए ।
निकट भविष्यमा हमाल मोटिभेसनल स्पिकरको रुपमा देश दौडाहामा निस्कने भएका छन् । सबै जिल्ला पुगेर युवाहरुलाई प्रेरणादायी प्रवचन दिने उनको योजना छ । ‘उहाँ मोटिभेसनल स्पिकरको रुपमा देश भ्रमणमा जाने तयारीमा हुनुहुन्छ’ स्रोतले भन्यो ।
हमाललाई अहिले मधुको साथ छ । खानेपिउनेदेखि जीवनका अन्य योजनामा मधुले उनलाई सघाएकी छिन् । लामो समयको ग्यापपछि हमाल फिल्ममा कमब्याक हुनुमा मधुको भूमिका छ । मधुले नै प्रेरित गरेपछि हमालले फिल्ममा पुनरागमन गरेका थिए । अहिले मधु हमालको सबै पक्षको ख्याल राख्छिन् ।
बिराटनगरकी मधु र काठमाडौंका राजेश हमाले विहे लामो समय प्रेम सम्बन्धमा रहेका थिए ।
भेराइटी/लसएन्जल्स । दक्षिण कोरियाली पप-ब्यान्ड बीटीएसको नयाँ गीतले आफ्नै पूर्वकीर्तिमान तोड्दै युट्युवमा २४ घण्टामा सर्वाधिक पटक हेरिने गीतको कीर्तिमान राखेको छ ।
हलिउड संचारमाध्यमका अनुसार बीटीएसको पछिल्लो गीत बटरलाई २४ घण्टमा युट्युवमा ११३ मिलियन (११ करोड ३०लाख) पटक हेरिएको थियो । ब्यान्डकै अघिल्लो गीत डायनामाइटलाई चाहिँ १०१.१ पटक हेरिएको थियो ।
गत मे २१ तारिखमा ब्यान्डको डान्स-पप ट्रयाक ‘बटर’ युट्युवमा रिलिज भएको थियो । रिलिज भएको दुई घण्टाभित्रै यो गीतले अमेरिकाको आईट्युन चार्टको पहिलो स्थान ओगटेको थियो ।
काठमाडौं । कोरोनाभाइरस महामारीको कारण गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित भएको छ ।
सोले शुक्रबार विज्ञप्ती जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रसारण नहुने जनाएको हो ।
विज्ञप्तीमा उल्लेख छ- कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं ।
यो साता कुनैपनि छायांकन र कार्यक्रम नगर्ने निर्णय गर्यौं ।’ परिस्थिती अनुकूल भए अर्को सातादेखि सो नियमित हुने समेत जनाइएको छ ।
मुम्बई । सलमान खान अभिनित ‘राधे : योर मस्ट वान्टेड भाइ’ ओटीटी र फिल्म हलमा गतसाता प्रदर्शन भयो । नेपालमा म्याक्ससहितका ओटीटी र भारतमा जि च्यानलका डिजिटल प्लेटफर्ममा फिल्म रिलिज भयो ।
फिल्मले समीक्षकबाट कमजोर समीक्षा प्राप्त गर्यो भने सलमान खानका हार्डकोर फ्यानलाई भने यसले मनोरञ्जन दियो ।
भारत र नेपालजस्ता लकडाउन भएका ठाउँमा दर्शकले यसलाई डिजिटल प्लेटफर्ममा हेरे भने अन्य मुलुकमा भने फिल्म हलमै रिलिज भयो । ओटीटीले निश्चित रकम तोकेरै वानटाइम पासवर्ड उपलब्ध गराएका थिए । अहिलेको सवाल के हो भने, हाइव्रिड रिलिज भएको राधे व्यवसायिकरुपमा सफल वा असफल के भयो भन्ने हो ।
भारतमा जी-८ को ओटीटी प्लेटफर्म जी प्लेक्समा रिलिज भएको राधेले सफलता हासिल गर्यो । फिल्म निर्माताले जि-फाइभ आकर्षक मूल्यमा फिल्मको राइट विक्री गरेका थिए ।
९० करोड लगानीमा निर्माण भएको राधेबाट सलमान खानले भने व्यक्तिगतरुपमा १०० करोड रुपैयाँ नाफा कमाएका छन् । सुरुमा राधेको डिजिटल राइट २३० करोड भारुमा तय गरिएको थियो । तर, पछिल्लोपटक त्यसलाई घटाएर १३० करोड भारु निश्चित गरियो ।
अहिले पे-पर-भ्यू मोडेल अनुसार सबैलाई लाग्छ कि राधेले कति कमायो रु यदि राधेको कमाइ आकर्षक छ भने यसले हाइव्रिड मोडेल अन्तर्गत हुने कमाइमा एउटा मानक खडा गर्नेछ ।
काठमाडौं । कलाकारले पनि कोरोनाभाइरस महामारीविरुद्ध सहयोगी हात अघि बढाइरहेका छन् । यही मेसोमा अभिनेता एवं सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुसले पनि अस्पताललाई अक्सिजन सहयोग गरेका छन् ।
धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष रहेका उनले सोमवार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पताललाई ५० थान अक्सिजन हस्तान्तरण गरेका हुन् ।
अक्सिजन नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई अक्सिजन सहयोग गरेको उनले बताएका छन् । भाइरस संक्रमितको उपचारमा अक्सिजनको अभाव देखिएकाले बर्दिवासमा अक्सिजन प्लान्ट स्थापना गर्ने उनको योजना छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले महामारीबाट पीडित भएकाको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ ।
अहिलेसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको धुर्मुसले फेसबुकमा उल्लेख गरेका छन् ।
महाभूकम्पपछि सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका धुर्मुस अहिले भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खटिरहेका छन् । २०७६ सालमा प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’बाट अभिनयमा कमब्याक गरेका उनी रंगशाला निर्माणपछि अभिनयलाई निरन्तरता दिने योजनामा छन् ।
काठमाडौं । गायिका पारु राई एक दशक पछि पुनः आफ्नो सांगीतिक कोसेली “तिम्रो तृष्णा” बोलको गीत लिएर दर्शक श्रोता सामु आएकी छिन् ।
एकदशक अघि ‘प्यास’ नामक गीति एल्बमबाट सांगीतिक यात्रा तय गरेकी राईले “तिम्रो तृष्णा” बोलकोे गीत लिएर दर्शक सामु आएकी हुन् । राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट बिकाश लिम्बुले साथ दिएका छन् । पछिल्लो समय बिकाश सम्भावना बोकेका गायकको रुपमा परिचित छन् ।
गीतको शब्द रचना गायिका स्वयंको हो भने संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भरेका छन् । बेलायत र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको यस भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका छन् र नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका छन् ।
करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले यस गीतमा अभिनय गरेका छन् साथै मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाको रहेको छ ।
टीकटकमा समेत राम्रो फलोअर कमाएका मण्डल थेवे प्रायः गोर्खा भर्ती सम्वन्धी जानकारी एवं सन्देशमूलक भिडियोहरु हाल्ने गर्छन् । सानै उमेरदेखि कलाकारितामा झुकाव भएकोले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने बताए
नेपाल छँदै संगीतको आधारभूत शिक्षा लिई सकेकी गायिका आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसके पनि बिगत तीन वर्ष यता दि लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धि कक्षा लिई रहेकी छिन् ।
प्रवासमा रहेर आफुलाई मन पर्ने पेशा अङगाल्न सोचे जस्तो सहज छैन तथापि ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र प्रोत्साहनले आगामाी दिनमा सांगीतिक क्षेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको उनले बताइन् ।
नेपाल पाँचथरमा जन्मिएकी पारु हाल बेलायतमा पल्टने जीवन बिताई रहेकी पारु राई करिब ९ वर्ष देखि स–परिवार बेलायत बस्दै आएकी छिन् ।
काठमाडौं । भाइरस महामारीविरुद्ध नेपाललाई सघाउन अन्तर्राष्ट्रिय सेलेव्रिटीले पनि आह्वान गर्न थालेका छन् ।
नेपालमा भाइरसले अवस्था भयावह बनेको भन्दै उनीहरुले तत्काल मानवीय सहायता दिलाउन आफ्नो देशको सरकार र दातृ निकायलाई आग्रह गरिरहेका छन् ।
हलिउड अभिनेत्री एवं गोर्खा समुदायको हितमा सक्रिय नाम जोआना लुम्ले नयाँ होइन । दशकौंदेखि उनी संकटको बेला गोर्खाली समुदाय र नेपालीलाई सहयोगी हात अघि बढाउन सक्रिय हुन्छिन् ।
विहिबार एक सन्देश जारी गर्दै लुम्लेले नेपाललाई तत्काल आपतकालिन सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् ।
सामान्य अवस्थामा सहयोग गर्ने र संकटको बेला चुप लाग्ने साथीहरुलाई ‘फेयरवेदर्स’ बताउँदै उनले अवस्थाको ख्याल गर्न आग्रह गरेकी छिन् । ‘फेयरवदर्स साथी खराब हुने बताउँदै लुम्लेले आवश्यक परेको बेला सहयोग गर्ने साथी मात्र असल हुने उल्लेख गरेकी छिन् ।
लुम्ले लगायतका ५० जना लब्धप्रतिष्ठित व्यक्तिहरुले नेपाललाई तत्काल खोप लगायतका अत्यावश्यक सामाग्री आपूर्ति गर्न आग्रह गर्दै बेलायती विदेशमन्त्रीलाई पत्र लेखेका थिए ।
काठमाडौं । गायक हेमन्त राना मंगलबार प्रेमिकासँग बिहे बन्धनमा बाँधिएका छन् । अमेरिकाको पेन्सिलभेनियामा रहेकी प्रेमिका माया अधिकारीसँग उनले लगनगाँठो कसेका हुन् ।
नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका राना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनले पछिल्लो समय ‘साइँली’ फिल्म निर्माण पनि गरेका थिए ।
काठमाडौं । डिस्कभरी च्यानलको चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का होस्ट बियर ग्रील्जले कोरोनाभाइरस महामारीसँग जोगिन र सतर्क हुन आफ्ना नेपाली प्रशंसकलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत ग्रील्जले कोभिडको कारण दुःख पाएका र ज्यान गुमाएकाका परिवारलाई बलियो हुन सन्देश पठाएका छन् । नेपालीप्रति उनले माया व्यक्त गरेका छन् ।
आँधीजस्तै आएको कोभिडको लहर वास्तवमै पीडादायी रहेको बताउँदै ग्रील्जले नेपालीको आत्मविश्वास निकै बलियो रहेको समेत उल्लेख गरेका छन् । पीडाको यो क्षणलाई नेपालीले परास्त गर्ने समेत उनले उल्लेख गरेका छन् ।
पशुपति आर्यघाटमा शव जलाएको बीबीसीको तस्विर सेयर गर्दै उनले नेपालप्रति सदाशयता व्यक्त गरेका हुन् । नेपालमा उनले संचालन गर्ने कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का फ्यान फलोइङ उच्च रहेको छ ।
काठमाडौं । कोरोनाभाइरस महामारीले अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । यस्तो बेला प्राणवायुको जोहो गर्ने कार्यमा सेलेव्रिटी पनि सक्रिय छन् । सेलेब्सले आ-आफ्नै तरिकाले अक्सिजन उपलब्ध गराउन योगदान दिइरहेका छन् ।
अक्सिजन उपलब्धताका लागि भन्दै अभिनेता नाजिर हुसेनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एकलाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । पुनको उक्त आविष्कार केन्द्रले अक्सिजन सिलिन्डर जुटाउन अस्पतालहरुलाई मद्दत गरिरहेको छ ।
आर्थिक सहयोग गर्दै नाजिरले नेपाल प्रेसलाई भने, ‘हामी सवैले आफूले सकेको सहयोग गर्ने हो। मैले मेरो तर्फबाट गरेको यो सानो सहयोगले कोहि कसैको जीवन बाँच्नका लागि मद्दत मिल्छ भनेर अपेक्षा गरेको छु।’
नेटफिल्क्सको चर्चित सिरिज ‘स्याडो एन्ड बोन’ अभिनेत्री अमिता सुमनको जन्म नेपालमा भएको हो । नेपालमा संघर्षपूर्ण बाल्यकाल बिताएकी सुमनले विश्वकै सबैभन्दा ठूलो स्ट्रिमिङ सर्भिस नेटफिल्क्सको चर्चितमा सिरिजमा मुख्य भूमिका पनि निर्वाह गरिरहेकी छिन् ।
बेलायतको चर्चित मनोरञ्जन म्यागजिन ब्याकस्टेजलाई उनले आफ्नो जीवन यात्राबारे बताएको विवरण यस्तो छ :
काठमाडौं । नाट्य स्कुलमा भर्ना भएपछि मैले औपचारिक अभिनयको यात्रा थालेकी हुँ । यसका लागि बेलायतले कलाकारलाई दिने नृत्य र नाटक अवार्ड र सरकारी छात्रवृत्तिलाई धन्यवाद दिन चाहन्छु ।
नाट्य स्कुलमा भर्ना नभइकनै प्रतिभावान कलाकारहरु सुप्रसिद्ध भएका छन् । मलाई लाग्यो, नाट्य स्कुल मैले आफ्नो कलालाई तिखार्ने एउटा महत्वपूर्ण थलो पनि हो ।
मेरो ब्याचमा म मात्र गहुँगोरो वर्णकी विद्यार्थी थिएँ । अधिकांश समय मैले आफूलाई आउटसाउडर ठानेँ । हेर्दा मात्र हैन, म संसारको कुनै अलग भूगोलबाट आएकी थिएँ । समय पनि अलग थियो ।
म नेपालमा जन्मिएकी हुँ र गाउँको एउटा माटोको घरमा हुर्किएकी हुँ । मेरा बाल्यकालिन दिनहरु चुनौतिपूर्ण ढंगले बितेका थिए । घर नजिकै फलेका ताजा आँपहरु, गाइको हेरचाह, गिद्ध र कोब्रालाई समातेर घरको छानोमा चढेर चिच्याउनुको मजा बेग्लै थियो । हामीले खुला आँगनै खाना पकाउँथ्यौं र आउनजानको लागि घोडाको प्रयोग गथ्र्यौ ।
मेरो सबैभन्दा ठूलो संघर्ष भनेको बेलायतमा आइपुगेर चार महिनाभित्र पढ्न, लेख्न र आधारभूत अंग्रेजी बोल्न सिक्नु थियो । स्क्रिप्ट र अक्षर पढ्न बुझ्न मलाई सगरमाथा चढेजस्तो महसुस भयो । मलाई लाग्यो म चुचुरोमा सेक्सपियरसँगै छु र म कामसँगको प्रेममा परेकी छु । ‘टाइटस एन्ड्रोनिकस’ भन्ने नाटकमा मैले गरेको लाभिनिया पात्रले निकै प्रशंसा बटुलेको थियो ।
उक्त पात्रमा छिर्न असुरक्षित र असक्षम हुँदाहुँदै पनि मैले काब्यिक भाषा सिक्नको लागि आफूलाई प्रतिबद्ध तुल्याएकी थिएँ । यहिबेला मैले आफूलाई प्रश्न सोधेकी थिएँ –करियरमा मैले चुनौति खेपिन भने म कसरी अभिनेत्रीको रुपमा अघि बढ्न सक्छु ?’ यो समय म र मेरा कक्षा सहपाठीहरुलाई एउटै पात्र र दृश्यहरु गर्न गृहकार्य दिइएको थियो । मेरा साथीहरु बिना कुनै डर आफ्ना विचार र अनुभूतिहरु मञ्चबाटै बाँडेका थिए ।
आत्मविश्वासको अभाव बिनै मैले कुनैपनि कुरामा पूर्णता प्राप्त गर्नको लागि मैले आफ्ना सम्भावनाहरुको खोजी गरेँ र आफूलाई हुर्काएँ । आत्मविश्वास हुनको लागि केही समय लाग्छ जतिबेला आफूले निर्वाह गर्ने पात्रको चरित्र र आफ्नो भोगाइबीच भिन्नता हुन्छ । प्रत्येक चरित्रहरुको निर्माण हामी आफैले गर्नुपर्छ र यहीकारण हामी उक्त चरित्रको हिस्सा बन्ने गर्छौं ।
यसकारण मेरो सुझाव छ हामीले आफ्नो अलग स्वभावलाई लिएर खुशि मनाउनुपर्छ किनभने हामीजस्तो अर्को कोही छैन र यो हाम्रो शक्ति हो ।
मेरी सौतेली आमाप्रति म आभारी छु जसले मलाई अभिनय गर्ने प्रेमलाई निरन्तरता दिन प्रेरणा दिनुभयो । अरुले मेरो क्षमतामा शंका गर्दा पनि उहाँले मलाई अगाडितर्फ धकेल्नुभयो । यो उद्योग गोराहरुको हो र मजस्तो अरु नभएकाले मलाई अप्रोच गरिएको भन्थे उनीहरु । गहुँगोरो वर्णका कलाकारका लागि आतंकवादीको भूमिका निर्वाह गर्नु र विवाहको लागि दबाब दिने भारतीय चरित्र निर्वाह गर्नुु स्टेरियोटाइप (परम्परागत पात्र) नै हुने गर्छ ।
सबैजना विश्वस्त हुनुपर्छ –उद्योग परिवर्तनशिल छ । अझै लामो बाटो हिँड्नुपर्नेछ र कलाका सबै आयाममा समावेशी हुनुले आफ्नो शक्ति पनि प्रस्तुत गर्दैछ ।
यसकारण आफैले आफैलाई प्रश्न गर्नूस -तपाईं किन अभिनेता बन्न चाहुनुहन्छ ? अनि कस्तो खालको अभिनय गर्न चाहुनुहुन्छ ?’ आफ्नो क्षितिजलाई सीमित नतुल्याउनूस मैलेजस्तै । मैले कहिल्यै सोचेकी थिइँन कि विश्वकै सबैभन्दा ठूलो स्ट्रिमिङ जायन्टको चर्चित सोमा अभिनय गर्छु भनेर । म अहिले यहीँ छु ।
दयालु बन्नूस । खुला हृदय बनाउनूस । गिभअप नगर्नूस । तपाईंले देखेको सपना भोलि पुरा हुनसक्छ । यो समय आफ्नो अनुभवमा जीवन बाँच्नूस र आफ्नो क्राफ्टलाई सिंगार्नेतर्फ अघि बढ्नूस ।
न्यूयोर्क । अमेजनले हलिउडको प्रतिष्ठित फिल्म स्टुडियो एमजीएमलाई ९ बिलियन डलरमा खरिद गर्ने भएको छ ।
सयवर्ष पुरानो मानिएको उक्त स्टुडियोले चर्चित जेम्स बन्ड फिल्म सिरिज पनि निर्माण गरेको छ । उक्त स्टुडियो विक्री भए अमेजनले विश्व फिल्मका ऐतिहासिक संग्रहहरु हात पार्नेछ ।
टेलिकम जायन्ट एटीएनटीले अर्को प्रतिष्ठित मिडिया कम्पनी वार्नर मिडिया खरिद गर्ने खबर बाहिरएको केही घण्टामै अमेजनको खबर प्रकाशमा आएको हो ।
एटीएनटी र वार्नर मिडिया मिलेर डिस्कभरीसँग अलग्गै स्ट्रिमिङ सर्भिस सुरु गर्ने बताइएको छ ।
मिडिया विवरणका अनुसार अघिल्लो वर्षको अन्त्यदेखि एमजीएम स्टुडियाको मुख्य कम्पनी एमजीएम होल्डिङ्सले विक्री गर्नको लागि उपायहरुको खोजी गरेको थियो ।
अमेजनले एमजीएम स्टुडियो खरिद गर्नुले स्ट्रिमिङ सेवाको बजारमा ठूलो अर्थ राख्छ । स्टुडियोसँग हलिउडको स्वर्ण समयदेखि वर्तमानसम्मको दशौं शताब्दीका फिल्मका संस्करणहरु सुरक्षित छन् ।
गाजा । एकसातादेखि इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व चर्किएको छ । इस्लाम धर्मावम्लवीको पवित्र इद पर्वदेखि सुरु भएको यी दुई मुलुकबीचको भीडन्तमा २०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
यी दुई पक्षबीचको भीडन्त रोकिने अवस्था छैन । चीन, अमेरिका, राष्ट्रसंघ लगायतले युद्धविरामका लागि पहल गरिरहेका छन् । तर, विद्रोही हमास र इजरायली सेनाले एकअर्काविरुद्ध रकेट प्रहार गरिरहेका छन् ।
यही मेसोमा थुप्रै पक्षबाट अन्तर्राष्ट्रिय समुदायबाट शान्तिका लागि अपिल भैरहेको छ । स्वयम इजरायली र प्यालेस्टाइनी नागरिकले तत्काल शान्ति बहाली गर्न माग गरेका छन् ।
This past week has been very tough for my home, Gaza City. I just want the world to know about the situation in Palestine.
यही मेसोमा १२ वर्षे प्यालेस्टाइनी किशोर अब्दुल रहमान अल शान्तीले र्याप गीतमार्फत दुबै पक्षलाई शान्ति स्थापनाको लागि आग्रह गरेका छन् । यी किशोर अहिले सामाजिक संजालमा भाइरल बनेका छन् ।
उनले युद्धविराम र शान्ति स्थापनाका लागि गीतमार्फत आग्रह गरेका छन् । एकसाता यता आफ्नो घर गाजामा कठिन स्थिती रहेको उल्लेख गर्दै उनले परिस्थितीबारे सिंगो विश्वलाई गीतमार्फत चिनाउन चाहेको उनको भनाई छ ।
चर्चित र्यापर एमिनेमको गीत ‘क्लिनिङ आउट अफ माइ क्लोजेट’को ट्रयाकमा ती किशोरलले गीत गाएका हुन् ।
लस–एन्जल्स । कोरोनाभाइरस महामारीले शुन्य बनेको हलिउडमा रेड-कार्पेट सिजन फर्किएको छ । बितेको दुईवर्ष सुनसान बनेको अमेरिकी मनोरञ्जन उद्योग लयमा फर्कने संकेत मिलेको छ ।
नेपाली समयानुसार सोमबार बिहान लस-एन्जल्समा एमटीभी मूभी एन्ड टीभी अवार्ड सम्पन्न भयो । सामान्य अवस्थामा झैं सेलेव्रिटी मास्कबिनै रेडकार्पेट नापिरहेका देखिए ।
भाइरस महामारीको कारण यसवर्षको अस्कर, गोल्डेन ग्लोब्सजस्ता ठूला समारोह पनि भर्चुअल बनेको हलिउडमा एभटीभी अवार्ड चाहिँ भौतिकरुपमै सम्पन्न भयो ।
एमटीभी अवार्ड यसपटक वान्डाभिजन नामक टेलिभिजन सोको नाममा दर्ज भयो । सर्वोत्कृष्ट फिल्मको अवार्ड चाहिँ ‘टु अल दी ब्वाइज : अलवेयज एन्ड फरेभर’ले जित्यो ।
फिल्म अभिनेताको रुपमा ‘मा रेइनिज ब्ल्याक बटम’बाट दिवंगत अभिनेता ‘चाडविक बोसम्यान’ले जिते ।
अवार्डमा टेलिभिजन सोमा उत्कृष्ट अभिनय, उत्कृष्ट हिरो, उत्कृष्ट चुम्बन, कमेडी अभिनय, भिलेन, ब्रेकथ्रु प्रस्तुति, बेस्ट फाइट, फ्राइटेन्ड पर्फमेन्स, बेस्ट ड्यो लगायतका विधा राखिएका थिए ।
काठमाडौं । कोभिड-१९ को दोस्रो लहरको कारण अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । सरकार, गैरआवसिय नेपाली, व्यापारदेखि सेलेव्रिटीसम्म अक्सिजन जोहो गर्न खटिएका छन् ।
कोरोनाभाइरस संक्रमितको उपचारमा अक्सिजन अभाव देखिएपछि सेलेव्रिटीले आ-आफ्नो क्षेत्रबाट भूमिका खेलिरहेका छन् । पल शाह लगायतका कलाकार गतसाता देखि नै अक्सिजन जोहो गर्न देश दौडाहामा छन् । यो मेसोमा थपिएका छन् अभिनेता पुष्प खड्का ।
पुष्पले सुदुर पश्चिमका विभिन्न जिल्लामा कोरोनाभाइरसबाट संक्रमित भएर उपचार गराइरहेकाको लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन् ।
उनले कैलालीको मैनादवी फाउन्डेशनसँगको सहकार्यमा अक्सिजन सहयोग गरेका हुन् । अक्सिजन अभावले सर्वसाधारणले दैनिकजसो ज्यान गुमाइरहेको अवस्थामा आफ्नो कर्तव्य सम्झिएर सहयोग गरेको पुष्पले बताए ।
विभिन्न संघसंस्था मिलेर थप अक्सिजन वितरण गर्ने कार्यमा आफू व्यस्त हुने उनले जानकारी दिए । उनले भने-‘मलाई विभिन्न मानिसहरुबाट म्यासेज आइरहेको छ । कतिपयले अक्सिजनको अभाव भएको त कतिपयले आर्थिक अभाव भएको म्यासेज पठाइरहनुभएको छ । मैले सक्ने सहयोग गर्नेछु ।’
काठमाडौं । मिस युनिभर्स २०२१ को उपाधि मेक्सिकोले जितेको छ । नेपालले उत्कृष्ट २१ मा स्थान बनाउन सकेन ।
आज बिहान अमेरिकाको फ्लोरिडामा भएको प्रतिस्पर्धामा मेक्सिकोकी एन्ड्री मेजाले ताज जितिन् । मिस ब्राजिललाई उछिन्दै सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी मेजाले उपाधि जितेकी हुन् ।
यसअघिकी विजेता दक्षिण अफ्रिकाकी जोजिबिनी टुन्जीले नयाँ विजेता मेजालाई ताज लगाइदिइन् । गतवर्ष कोरोनाभाइरस महामारीको कारण प्रतिस्पर्धा स्थगित भएको थियो ।
नेपालले भने उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकेन । नेपालबाट अनिष्का शर्माले सहभागिता जनाएकी थिइन् । यसपटक नेपालको कस्ट्युमलाई लिएर चर्चा भएको थियो ।
काठमाडौं । कवि, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आज बिहान निधन भएको छ ।
स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको ८४ वर्षका उमेरमा मृत्यु भएको हो ।
साहित्यकार मुरारी सिग्देलले भने, ‘केही दिनअघि उहाँलाई गाह्रो भएर कोरोना परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको थियो तर चार दिनअघि उहाँको मुटुमा समस्या भएर अस्पताल लाँदा आज स्वर्गारोहण भयो ।’
१९९५ कात्तिक २२ गते स्याङ्जा आरुखर्कमा जन्मेका कार्कीले नेपाली, हिन्दी तथा अङ्ग्रेजी र उर्दू भाषामा थुप्रै कृति प्रकाशन गरेकाे बताइएको छ ।
उनका ‘आत्मा बेचेको छैन’, ‘हनिमुन’ ‘ढलेको गिलास’ र ‘कल्पना टुट चुकी है’, लगायत उपन्यास, ‘जुन निदाउन थाल्यो’ र ‘मायाप्रीतिको चोखो कथा’ गीतसङ्ग्रह, ‘हत्केलाले सधैँ सूर्य छेकिँदैन’, मुक्तकसङ्ग्रह, ‘हो देश मेरो पनि गजलसङ्ग्रहलगायत कृति प्रकाशित छन् ।
कार्कीले ‘विश्वास’, ‘भुमरी’, ‘पहिलो प्रेम’ चलचित्र निर्देशन गरेका थिए । कार्कीका चर्चित गीतमा ‘तीजको रहर आयो बरी लै’, ‘कान्छी हे कान्छी’, ‘बोलाऊँ भने लेक स्वर पुग्दैन, बोलाइरहन हुँदैन’, ‘बुझ्नै सकिनौ आँखाको भाका मेरो’, ‘बहिनीको दया छ भने रोधी घर दाइ नाच्यो नभन’ आदि छन् ।
काठमाडौं । कोरोनाभाइरस संक्रमण भयावह बन्दै गर्दा अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको छ । अक्सिजन नपाउँदा संक्रमितको मृत्यु भएको खबरहरु आइरहेका छन् । यस्तो विषम परिस्थितीमा अक्सिजनको जोहो गर्न कलाकार पनि खटिएका छन् ।
दिनहुँ बढिरहेको अक्सिजन सिलिन्डर र अक्सिजनको समस्यालाई मध्यनजर गर्दै अभिनेता राजाराम पौडेलले समाजसेवी तथा राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
डा. पुनलाई सम्पर्क गरी पौडेलले आफू पनि जनता बचाउने अभियानमा सहयोगी बन्ने भन्दै १ लाख रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका हुन ।
‘हाम्रो अन्नदाता भनेकै दर्शक हुन अनि यो बेलामा तिनै अन्नदाता भगवान जस्ता दर्शकको जीवन बचाउन महाविर पुनज्यूको टिमले अत्यन्त मिहिनेत गरेको देखेर मैले पनि उहाँलाई थोरै सहयोग गरेको हुँ’ पौडेलले भने ।
पौडेलका अनुसार पछिल्लो हप्ता आफ्ना छोरा बुहारीमा कोरोना देखिएका कारण धेरै समस्या भोगेको भन्दै यो महोलमा सवै कलाकारहरुले फिल्डमा उत्रिएर सहयोग गरिरहेकासंघ संस्थालाई सकेको आर्थिक सहयोग गर्न अपिल पनि गरेका छन् ।
अक्सिजन अभाव हुन थालेपछि अभिनेता पल शाह, निखिल उप्रेती, केदार घिमिरे, राज घिमिरे, निर्मल शर्मा, विजय लामासहितका कलाकारले पनि सहयोगी हात अघि बढाएका छन् ।
काठमाडौं । नेटफिल्क्ससँग मिलेर अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले बनाउने बायोपिक फिल्म ‘तेन्जिङ नोर्गे’को मुख्य पात्रको लागि कलाकारको खोजी सुरु भएको छ ।
अष्ट्रेलियाको कास्टिङ कल कम्पनी डेनीलङले कलाकारको आह्वान गरेको हो । कम्पनीद्वारा जारी वक्तव्यमा अभिनयको अनुभव नभएकालाई पनि कास्टिङको मौका दिइने उल्लेख छ ।
शारीरिकरुपमा स्फूर्त र खेलाडी शैलीको शारीरिक ढाँचा हुनुपर्ने जनाइएको छ । कास्टिङमा छनौट भए सन् २०२२ मा नेपाल र न्यूजिल्यान्डमा छायांकन हुने फिल्मको मुख्य पात्रमा अभिनय गर्ने मौका उपलब्ध हुने समेत कम्पनीले जनाएको छ ।
तेन्जिङ पात्रको लागि हिमाली लुक्सको हुनुपर्ने, तिब्बती-शेर्पा र नेपाली हुनुपर्ने तथा उमेर २५ देखि ४० वर्षसम्मको हुनुपर्ने मापदण्ड तय गरिएका छन् ।
अन्य कलाकार पनि छनौट गर्नुपर्ने भएकाले अडिसन केही महिनासम्म संचालन हुने जनाइएको छ । प्रारम्भिक चरणमा तेन्जिङको लागि मात्र अडिसन चल्ने उल्लेख छ ।
सगरमाथामाथि बनेको चर्चित डकुमेन्ट्री ‘शेर्पा’ निर्देशक जेनिफर पीडमले निर्देशन गर्ने फिल्मलाई लायन फेम्ड लेखक ल्युक डेभिसले लेखेका हुन् ।
सन् १९५३ मा एडमण्ड हिलारीसँग तेन्जिङ नोर्गेले सर्वोच्च शिखर आरोहण गरेका थिए । शेर्पाको जीवनीमाथि एड् डगलसले लेखेको जीवनीमाथि आधारित रहेर फिल्म ‘तेन्जिङ’ बन्न लागेको हो ।
फिल्मलाई हलिउडको हाइअर ग्राउन्ड प्रोडक्सनले पूर्वराष्ट्रपति ओबामाको निर्माण कम्पनीसँग मिलेर फिल्म निर्माण गर्ने जनाइएको छ ।