Category: कलाप्रेस

  • फिल्म उद्योगको एक अर्ब लगानी जोखिममा, ४० हल सँधैको लागि बन्द हुने

    फिल्म उद्योगको एक अर्ब लगानी जोखिममा, ४० हल सँधैको लागि बन्द हुने

    काठमाडौं । कोरोनाभाइरस महामारीको कारण नेपाली फिल्म क्षेत्रले अर्बौं क्षति व्योहोर्ने देखिएको छ ।

    चलचित्र घरहरुको छाता संस्था नेपाल चलचित्र संघको पछिल्लो तथ्यांकअनुसार भाइरस रोकथामका लागि लागु गरिएका प्रतिबन्धको कारण आर्थिक क्षति पुगेको हो ।

    दुईवर्ष अघिदेखि ४० भन्दा बढी फिल्म निर्माण सम्पन्न भइ प्रदर्शनको तयारीमा रहेको र ती फिल्ममा भएको लगानी हेर्दा १ अर्बभन्दा बढी रकम जोखिममा रहेको जनाइएको छ ।

    करिब २२ वटा फिल्म हल सँधैको लागि बन्द भएको र बन्द हुने हलको संख्या ४० पुग्ने चलचित्र संघले जनाएको छ । ती फिल्म हलमा खर्बौं लगानी रहेको जनाइएको छ ।

    फिल्म क्षेत्रमा आबद्ध कलाकार, प्राविधिक, लेखक, संगीतकार, गायक र गायिका बेरोजगार भएको समेत उल्लेख छ । साथै, महामारीअघि निर्माण भएका फिल्ममा वितरकले गरेको लगानी समेत जोखिममा रहेको चलचित्र संघले जनाएको छ ।

    संघका महासचिव तथा फिल्म निर्माता एवं निर्देशक अशोक शर्माले कोभिड प्रभावित फिल्म क्षेत्रका लागि सरकारले आर्थिक प्याकेज ल्याउनुपर्ने बताउँछन् । विज्ञसँग छलफल गरी ५ तथा १० वर्षे आर्थिक योजनाका कार्यक्रम ल्याउनुपर्ने समेत शर्माले माग गरेका छन् ।

  • सगरमाथामा सर्वाधिक उचाइको फेसन सोको दोस्रो सिजन हुने

    सगरमाथामा सर्वाधिक उचाइको फेसन सोको दोस्रो सिजन हुने

    काठमाडौं । विश्वकै सर्वाधिक उचाइमा फेसन सो आयोजना हुने भएको छ । भारतको इन्डेमोल साइन इन्डियाले आगामी सेप्टेम्बरमा माउन्ट एभरेस्ट फेसन रनवे गर्न लागेको हो ।

    ५८ सय मिटरको उचाइको सगरमाथा क्षेत्र, ३० डिग्री तापक्रम र ५० प्रतिशतभन्दा कम अक्सिजन उपलब्ध हुने थलोमा रनवेको दोस्रो सिजन गर्न लागिएको हो ।

    कार्यक्रम आयोजनाका लागि कम्पनीले नेपालको के फिल्म र मीटु फिल्मससँग सहकार्य गर्ने भएको छ । गतवर्षको जनवरीमा कालापत्थरमा आयोजना गरिएको रनवे चर्चित भएपछि पुनः दोस्रो सिजन गर्न लागिएको हो ।

    अघिल्लो सिजनमा १८ देशका प्रतिनिधिले जलवायु परिवर्तन र दिगो फेसन अवधारणामा रहेर डिजाइन प्रस्तुति दिएका थिए । सोही समयमा नेपालले सर्वाधिक उचाइमा फेसन सो आयोजना गरेको भन्दै गिनिज बुकले विश्व रेकर्डको प्रमाणपत्र पनि दिएको छ ।

    नुहाउँदा र लुगा धुँदा पानीको कम खपत गर्ने प्रविधि प्रयोग गरेर हिमालको ५० हजार लिटरभन्दा बढी पानीलाई जोगाउने मुख्य उद्देश्यले फेसन रनवे गर्न लागिएको इन्डेमोल साइन इन्डियाका सीइओ अभिषेक रेजेले बताए ।

    रनवेका मेन्टर पंकज गुप्ताले दोस्रो सिजनमा थप कीर्तिमानहरु निर्माण हुन सक्ने बताउँछन् ।

  • गैरआवासीय नेपाली संघले गायन रियालिटी सो ‘द सिंगर’ आयोजना गर्ने, विश्वभरका नेपालीले भाग लिन पाउने

    गैरआवासीय नेपाली संघले गायन रियालिटी सो ‘द सिंगर’ आयोजना गर्ने, विश्वभरका नेपालीले भाग लिन पाउने

    काठमाडौं । पछिल्लो समय गैरआवासिय नेपाली संघ (एनआरएन) आर्थिक, सामाजिकसहित विभिन्न क्षेत्रमा सक्रिय हुन थालेको छ । अब भने विदेशमा रहेका नेपालीहरुको छाता संस्थाले प्रवासमा रहेका नेपाली सांगीतिक प्रतिभाहरूलाई समेटेर गायन रियालिटी सो आयोजना गर्ने भएको छ ।

    विश्वभर छरिएका नेपाली प्रतिभालाई चिनाउन भन्दै ‘एनआरएन द सिंगर’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । २१ जुनदेखि सुरु हुने सो प्रतियोगितामा नेपाल र सार्क मुलुकबाहेकका मुलुकमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन्।

    उक्त प्रतियोगिताको निर्णायक मण्डलमा संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने छन्।

    प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा लामिछानेले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन गर्न यो कार्यक्रम कोशेढुंगा हुने बताए । उनले कार्यक्रम सफल पार्न सहयोगका लागि सबैलाई आग्रह पनि गरे।

    एनआरएन अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकोले सो कार्यक्रम प्राथमिकतामा रहेको बताए । संगीतकार बाँस्कोटाले आफूले जहिले पनि नेपाली संगीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले नयाँ र राम्रा प्रतिभा जन्माउने विश्वास व्यक्त गरे।

  • कोभिड प्रभावित फिल्म उद्योगलाई सरकारको राहत : भन्सार र विद्युत डिमान्ड शुल्क मिनाहदेखि नवीकरणसम्म छूट

    कोभिड प्रभावित फिल्म उद्योगलाई सरकारको राहत : भन्सार र विद्युत डिमान्ड शुल्क मिनाहदेखि नवीकरणसम्म छूट

    काठमाडौं । सरकारले कोभिड-१९ महामारीबाट प्रभावित फिल्म उद्योगलाई राहतका कार्यक्रम ल्याएको छ । शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले फिल्म क्षेत्रलाई राहतमूलक कार्यक्रम ल्याइएको घोषणा गरे ।

    यस्ता छन् कार्यक्रम :

    • चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइनेछ।
    • कोभिड–१९ प्रभावित चलचित्र उद्योगले तिर्नुपर्ने ईजाजत तथा नविकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था मिलाएको छु।
    • चलचित्र उद्योगमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्‍चालनका लागि स्थापना गरिएको व्यावसायिक निरन्तरता कोषलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छु।
    • सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गरिनेछ। गणेश हिमाल क्षेत्रमा चलचित्र छायाङ्कन स्थल बनाउन सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिनेछ। काभ्रेको बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गरिनेछ । उत्कृष्ट चलचित्र निर्माणका लागि स्टोरी बैंकको अवधारणा कार्यान्वयनमा ल्याइनेछ।
    • कोभिडबाट अत्याधिक प्रभावित चलचित्र उद्योगको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्‍याएको छु।
    • चलचित्रमा प्रयोग हुने यन्त्र उपकरण र पार्ट पुर्जाको भन्सार महसुल छुट दिएको छु।
  • सरकारलाई प्रियंका कार्कीको अपिल : ४० अर्ब चुनावमा हैन, खोप ल्याउन खर्च गर्नूस

    सरकारलाई प्रियंका कार्कीको अपिल : ४० अर्ब चुनावमा हैन, खोप ल्याउन खर्च गर्नूस

    काठमाडौं । पछिल्लो समय कलाकारहरु कोरोनाभाइरस महामारीको अवस्थालाई लिएर चिन्तित छन् । नागरिकले अक्सिजन अभावमा ज्यान गुमाउनु परेकोमा उनीहरुको मन दुखेको छ ।

    पछिल्लो समय प्रेगनेन्सी फोटोसुट र यस सम्बन्धी अभिव्यक्तिले चर्चामा आइरहेकी प्रियंका कार्कीले पनि सामाजिक संजालमार्फत महामारीको परिस्थितीलाई लिएर दुःख व्यक्त गरेकी छिन् ।

    सामाजिक संजालमा शनिबार स्टाटस लेख्दै उनले महामारीप्रति गम्भिर भैदिन सरकारलाई आग्रह गरेकी छिन् । अहिलेको समयको परिस्थिती बुझ्न उनले सरकारलाई सुझाएकी छिन् ।

    ‘अहिलेको समय र परिस्थितीको प्राथमिकता बुझ्नूस’ उनी लेख्छिन्, ‘४० अर्ब अक्सिजन सिलिन्डर, आइसीयू वार्ड, भेन्टिलेटर, हेल्थकेयर प्रणाली, निःशुल्क खोपमा खर्च गर्नूस ।’

    उनी अगाडि लेख्छिन्, ‘यो प्राथमिकतामा परे जनता पनि खुशि हुन्थे । राहत पनि मिल्थ्यो । जनता रहे त देश रहन्छ नि होइन ? चुनाव त परिस्थिती ठीक भए गरौंला नि होइन र ? चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाउने लायकको काम गरेर देखाउनूस पहिले । बिनम्र अनुरोध ।’

  • ३० फिल्म प्राविधिक परिवारलाई करिश्माले बाँडिन् राहत, भन्छिन् : जतिसक्छौं सहयोग गरौं

    ३० फिल्म प्राविधिक परिवारलाई करिश्माले बाँडिन् राहत, भन्छिन् : जतिसक्छौं सहयोग गरौं

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले लकडाउनले दैनिक हातमुख जोहो गर्न समस्या परेका फिल्म प्राविधिकहरुलाई सहयोग गरेकी छिन् । चलचित्र प्राविधिक संघमार्फत उनले प्राविधिकहरुलाई सहयोगी हात अघि बढाएकी हुन् ।

    करिश्माले ३० भन्दा बढी प्राविधिक परिवारलाई सहयोग गरेकी हुन् । चामल, दाल, तेल, नुन र ग्याँस भर्नको लागि जनही १५ सयको दरले सहयोग गरेकी हुन् ।

    राहत बाँडदै करिश्माले महामारीमा हामी सबैले हातोमालो गर्न जरुरी भएको बताइन् । ‘प्राविधिकहरु आफ्नै सदस्य हुन् । जति सक्छौं सहयोग गरौं, आफ्नो एक गास कटाएर सहयोग गर्दा अरुको पेट भरिन्छ’ उनले भनेकी छिन् । संकटको बेला करिश्माले यसअघि पनि प्राविधिकहरुलाई सहयोग गरेकी थिइन् ।

    प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फिल्मकर्मीलाई सहयोगको लागि अपिल गरेका छन् । उनले भने, ‘फिल्म क्षेत्रको लागि मरिमेट्छु भन्ने प्राविधिकहरु लकडाउनले गर्दा मर्कामा परेका छन् । त्यसैले सक्दो सहयोग गरौं ।’

    लामाले भने, ‘लकडाउनमा कलाकार विजय लामाले ५०, अभिनेत्री सुमिना घिमिरेले ४० र करिश्माले सहयोग गर्दा १२० परिवारलाई राहत बाडेका छौं । चलचित्रकर्मीहरु एकजुट हुनुपर्ने अवस्था आएको छ । सरकार र जसले जति सक्नुहुन्छ त्यो सहयोग प्राविधिकका लागि आवश्यक छ ।’

  • गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

    गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

    काठमाडौं । गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ ।

    अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।

  • कला र साहित्यलाई ‘सफ्ट-पावर’को रुपमा विकास गरिन्छ : प्रधानमन्त्री

    कला र साहित्यलाई ‘सफ्ट-पावर’को रुपमा विकास गरिन्छ : प्रधानमन्त्री

    काठमाडौं । सरकारले कला, साहित्य र संस्कृतिलाई ‘सफ्ट-पावर’को रुपमा विकास गर्ने घोषणा गरेको छ ।

    शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कुरा बताएका हुन् ।

    उनले भने, ‘नेपालको पर्यटन, संस्कृति, पर्यावरण र सामाजिक जीवनलाई प्रवद्र्धन गर्दै आकर्षक पर्यटन गन्तव्य बनाउने नीति लिइनेछ । नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा रहनसहन, चाडपर्व, रीतिरिवाज, परम्परा र वेशभुषा एवं प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई सफ्टपावरको रुपमा विश्वसामु प्रस्तुत गरिनेछ ।’

    आर्थिक वर्ष ०७८/०७९ को बजेट भाषणको पूर्वसन्ध्यामा सरकारका नीति तथा कार्यक्रम पढ्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

  • हिन्दू धर्मको अपमान गर्ने फोटोसुट गराएको भन्दै किम कार्दासियन विवादमा

    हिन्दू धर्मको अपमान गर्ने फोटोसुट गराएको भन्दै किम कार्दासियन विवादमा

    लस एन्जल्स । ‘ओम’ लेखिएको इयर-रिङ्स लगाउँदै फोटोसुट गराएपछि अमेरिकी रियालिटी स्टार कीम कार्दासियन विवादमा तानिएकी छिन् ।

    आफूहरुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै उनका हिन्दू प्रशंसकहरु विरोधमा उत्रिएका छन् । सामाजिक संजालमा कीमको विरुद्धमा व्यापक आक्रोश पोखिएको छ ।

    केही हिन्दूवादी भारतीय संगठनले विज्ञप्ती जारी गर्दै कीमले तत्काल माफी माग्नुपर्ने माग गरेका छन् । गत आइतबार ट्वीटरमार्फत कीमले उक्त फोटोसुटका तस्विर सेयर गरेकी थिइन् ।

    जहाँ उनले हिन्दू धर्ममा पवित्र मानिने ओम आकारलाई कानमा झुन्डाइएको रिङको रुपमा लगाएकी थिइन् । युनिभर्सल सोसाइटी अफ हिन्दुज्मका अध्यक्ष राजन जेडले विश्वभर पवित्ररुपमा लिइने हिन्दू धर्मको ओमलाई यौनिक फेसनको रुपमा प्रयोग गरिएको भन्दै विरोध जनाएका छन् ।

  • नेपाली फिल्म ‘गुराँस’ले जित्यो १४ लाखको स्क्रिप्ट फन्ड

    नेपाली फिल्म ‘गुराँस’ले जित्यो १४ लाखको स्क्रिप्ट फन्ड

    काठमाडौं । सौरभ राईको निर्देशन रहने फिल्म ‘गुराँस’ले नेदरल्यान्डस्को स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ ।

    नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो ।

    नेपालमा यो फिल्म आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो । कम्पनी प्रमुख रामकृष्ण पोखरेलले फिल्मले १४ लाख बराबर रकम प्राप्त गरेको जानकारी गराए ।

    हुबर्ट बल्सले ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तान लगायत १० देशका फिल्मलाई फन्ड उपलब्ध गराएको हो ।

    पोखरेलका अनुसार कालिम्पोङ मुल थलो भएको नेपालीभाषी सौरभको यो दोस्रो फिचर फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो ।

    विश्वका थुप्रै फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मको वल्र्ड प्रिमियर भने नेदरल्यान्डको प्रतिष्ठित फिल्म फेस्टिभल रोट्रेड्याममा गरिएको थियो ।

    त्योभन्दा अघि उनले बनाएको सर्ट फिल्म ‘गुँड’ कान्सको फेस्टिभलअन्तर्गतको सिने फाउन्डेसनमा छनोट भएको थियो ।

    निर्माता पोखरेलले फिल्ममा दुई वर्षदेखि फिल्ममा काम भइरहेको र हुबर्ट बल्सको फन्डसँगै यसले गति पाउने बताए ‘सौरभसँग मेरो भेट केही वर्ष पहिले गोवाको फिल्म बजारमा भएको थियो । बीचमा उनले फिल्मको आइडिया सुनाए र मन परेपछि ल मिलेर गरौँ भनेर हामीबीच सहमति थियो । सोही अनुसार काम भइरहेको छ,’ पोखरेलले भने, ‘यो रकमले हामी स्क्रिप्ट लेखनको काम सक्छौं । अर्को साल फ्लोरमा जाने सोचमा छौँ ।’

    फिल्ममा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माणमा साझेदारी रहनेछ । यो बाहेक संजय गुलाटी पनि यो फिल्मको निर्माणमा साझेदार रहनेछन् ।

    आइसफलले यसअघि निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा छ । सुजित बिडारीको निर्देशन रहेको यो फिल्म दक्षिण कोरियाको बुसानको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो ।

  • फिल्म प्राविधिकलाई सघाउन जुटे हिरोहरु, एकैदिनमा ४ लाख संकलन

    फिल्म प्राविधिकलाई सघाउन जुटे हिरोहरु, एकैदिनमा ४ लाख संकलन

    काठमाडौं । कोरोनाभाइरस महामारीले थलिएका नेपाली फिल्म प्राविधिकलाई सघाउन फिल्मकर्मी एकजुट भएका छन् ।

    दोस्रो पटकको लकडाउनले फिल्म प्राविधिकलाई आर्थिक र खाद्यान्न जोहोमा समस्या भएपछि फिल्मकर्मीले सहयोगी हात अघि बढाएका हुन् ।

    चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको पहलमा कलाकारहरुले गच्छेअनुसारको सहयोग उपलब्ध गराएका छन् ।

    अभिनेता निर्मल शर्मा, जीवन लुइँटेल, राजवल्लभ कोइराला, नीरज बराल, मुकेश आचार्य, गणेश उप्रेतीले आर्थिक सहयोग प्रदान गरेका छन् । अहिलेसम्म झन्डै ४ लाख संकलन भएको नेफ्टा अध्यक्ष लामाले बताए ।

    समस्यामा परेका प्राविधिक छनौट गरेर आवश्यक रकम उनीहरुको खातामा पठाइने जानकारी अध्यक्ष लामाले दिए । थप सहयोग संकलनका लागि पहल भैरहेको जनाइएको छ ।

  • मनीषाले उपलब्ध गराइन् अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

    मनीषाले उपलब्ध गराइन् अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

    काठमाडौं । पछिल्लो समय कलाकारहरु जरुरी स्वास्थ्य उपकरण जोहोमा समेत सक्रिय भएका छन् ।

    अस्पतालमा अक्सिजन, भेन्टिलेटर लगायतका उपकरण अभाव भएपछि कलाकारको सक्रियता बढेको हो ।

    अभिनेत्री मनीषा कोइरालाले भाइरसले सिर्जना गरेको स्वास्थ्य संकटमा सहयोगी हात अघि बढाएकी छिन् ।

    बुधबार बीरगञ्जको नारायणी अस्पताललाई मनीषाले ४ थान भेन्लिेटर, सय थान पीपीई, फेस सिल्ड, मास्क प्रदान गरेकी छिन् ।

    भाइरस संकटबाट प्रभावित नागरिकलाई सहयोग गर्न आफू तयार रहेको समेत मनीषाले जनाएकी छिन् ।

  • जसको स्वर २१ वर्षपछि टिकटकमा भाइरल भयो तर उनैलाई थाहा छैन

    जसको स्वर २१ वर्षपछि टिकटकमा भाइरल भयो तर उनैलाई थाहा छैन

    जनकपुरधाम । ‘तिम्रो स्वर त भाइरल भएछ,’ गाउँमा विजयकुमार मण्डललाई कसैले सुनाइदियो यो कुरा । ‘कसरी ?’ उनी दंग पर्दै सोच्न थाले ।

    नाचका पारखी भए पनि कलाकारितामा उस्तो चर्चा पाएका थिएनन् विजयले । तर, टिकटकमा भाइरल भएको आफ्नो स्वर हेरेपछि निकै खुसी भए ।

    ‘कथि नाम हौ गै
    हगै, माई अखनी छि ने हौ
    आब बेर बितल हमरा जाइछै हौ परदेशी, देशिया….’

    मैथिली भाषाका यी तीन हरफ ‘कुवर वृजवान’को नाचमा दुई पात्रबीचको संवाद हुन् । एक पात्रले अर्का पात्रलाई सोध्छ- नाम के हो ? अनि दोस्रो पात्रले गीति शैलीमा जवाफ फर्काउँछ- हे आमा, म अहिले यहीँ छु नि । अब समय बित्दै गएको छ परदेशी देशिया ।

    बाजाको मोहक धुनका साथ गीति शैलीमा भएको यो सवाल-जवाफ यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ । लाखौं मानिसले त्यो आवाजमा एक्टिङ गरेका छन् ।

    धनुषाका हँसपुर नगरपालिका-९ मोरहा रुदौलीका विजयले २१ वर्षअघि भारतको गंगा नामक कम्पनीले कुवर वृजवान नाचको भिडियो तयार पारेका थिए ।

    त्यो भिडियोमा मण्डलको स्वर छ ।

    विजयको अनुसार भिडियोमा इन्द्रासनको परीबारे देखाउन खोजिएको थियो । परीको नाम थियो- चन्द्रकला । कुवर वृजमानको नाम इन्द्रदेव । किंवदन्तीअनुसार जब परी चन्द्रकलालाई मृतलोक पठाइयो । पछि फेरि उनी इन्द्रलोकै फर्किन् ।

    युट्युबमा भेट्न सकिन्छ यो दृश्य । र त युट्युबबाटै कसैले टिकटकमा प्रयोग गरेर एक्टिङमा उनको स्वर प्रयोग गरिदिएछन् । त्यसपछि त्यही स्वर राखेर लाखौं मानिस टिकटक बनाइरहेका छन् । लाखौंले रुचाएका पनि छन् ।

    मण्डल ‘कुवर वृजवान’ नाचको भाइरल भिडियो हेर्दै हाँस्छन् ।

    पछिल्लो समय निराश थिए मण्डल । पहिले पो विवाह, उत्सव, मेला लगायतका कार्यक्रममा नाच हुन्थ्यो । मानिसहरू रातभर जाग्राम बसेर नाच हेर्थे । ‘पछिल्लो समय डिजे र आरकेस्ट्रातर्फ युवाहरूको आकर्षण बढ्यो । जसका कारण नाचको क्रेज घट्यो,’ उनी सुनाउँछन् ।

    उनलाई लाग्छ, समय फर्कियो १२ वर्षमा खोला फर्केझैं । अझ उनको समय त २१ वर्षपछि फर्कियो । ‘अहिले युवाहरूले पुनः नाचको धुन र स्वर मन पराउन थालेका छन् । आशा बढ्दैछ,’ उनी हाँस्छन् ।

    ०००

    विजय ४३ वर्षका भए । १४ वर्षमै विवाह गरेका उनका ५ छोरा र तीन छोरी छन् । छोरीहरूको विवाह भइसक्यो । छोराहरू वैदेशिक रोजगारमा छन् । हुर्के बढेका सन्तानबारे सोच्दै गर्दा त उमेर ढल्कँदै छ कि भन्ने लाग्छ । तर, नाच्न लागेपछि आफूलाई उही जवान सम्झन्छन् ।

    विजयलाई छोरा-छोरीहरू नाच्ने काम नगर्नु भन्छन् । कसरी छाड्न सक्थे र, बाल्यकालदेखिको सपना, जपना । ‘छाड्न यो मान मानेको छैन । जबसम्म सक्छु, गरिरहन्छु,’ उनी भन्छन् ।

    उनी त्यतिबेला कक्षा ५ मा पढ्थे । कक्षाकोठामा सुरिलो आवाजमा गीत गाउँथे । त्यसपछि शिक्षकहरूले ‘नटुवा’ भन्न थाले । साथीभाइले पनि उक्साउन थाले । अनि त उनको सपना झन् तेजिलो बन्दै गयो । भन्थे- म पनि कलाकार बन्छ ।

    त्यसका लागि नाच चाहिन्थ्यो । नाच सिक्न थाले । नाच सिक्ने क्रममा उनले घरसमेत त्याग्नपुरेको थियो ।

    ०००

    ‘कुवर वृजमान’ नाचको माग अहिले पनि उत्तिकै छ । कोरोनाका कारण लकडाउन हुन्थेन भने तीन चार स्टेजमा प्रस्तुति निश्चित थिए यसपालि ।

    तर, रोकियो ।

    एउटा कार्यक्रममा उनीहरूको समूहमा नाच्ने नै १८/१९ जना हुन्छन् । उनीहरू एकरातको ३५ देखि ४० हजार रुपैयाँसम्म लिने गर्छन् ।

    गंगा कम्पनीले ‘कुवर वृजवान’ नाचको भिडियो बनाएर युट्यूवमा राखेको छ । कम्पनीले मण्डल सहितका कलाकारसँग सम्झौता गरेको थियो ।

    नाचको सुटिङ गर्न १७ दिन लागेको थियो । एउटा सुटिङको एक लाख ८० हजार भारु कलाकारहरूले लिए र सबैले बराबरी भाग लगाए ।

    अहिले प्रत्येक कलाकारलाई गंगा कम्पनीले प्रतिमहिना १० हजार पठाउँछ ।

    त्यतिबेला २५ वर्षसम्म प्रति महिना १० हजार पठाउने सम्झौता भएको थियो । ‘अब त २१ वर्ष वितिसक्यो । ४ वर्षमा रिटायर्ड हुँदैछौं । त्यसपछि कम्पनीले रुपैया पठाउन छाड्छ,’ विजय सुनाउँछन् ।

  • अमेजनले किन्यो ‘जेम्स बन्ड’ फिल्म निर्माता कम्पनी एमजीएम, ८.४५ बिलियन डलरमा मर्जर

    अमेजनले किन्यो ‘जेम्स बन्ड’ फिल्म निर्माता कम्पनी एमजीएम, ८.४५ बिलियन डलरमा मर्जर

    न्यूयोर्क । विश्वचर्चित कम्पनी अमेजन र हलिउड स्टुडियो एमजीएमबीच मर्जर भएको छ । भेराइटीका अनुसार जेफ बेजोसको अमेजनले ८.४५ बिलियन डलरमा एमजीएमलाई खरिद गरेको हो ।

    दुबै कम्पनीले बुधबार औपचारिकरुपमा मर्जर भएको घोषणा गरेका छन् । झन्डै शताब्दी लामो फिल्म निर्माणको इतिहास बोकेको एमजीएमले सुरुमा टेलिभिजन सिरिजको निर्माण गरेको थियो ।

    मर्जरसँगै अमेजनले एमजीएमको सम्पदा र फिल्मको क्याटालगलाई सुरक्षित राखिराख्ने प्रतिबद्धता जनाएको छ । साथै, आफ्ना उत्पादनलाई उपभोक्तालाई बृहत पहुँच दिने प्रतिबद्धता पनि छ ।

    अमेजनको इतिहासमा उसका लागि यो अहिलेसम्मकै दोस्रो ठूलो खरिद सम्झौता हो । यसअघि उसले सन् २०१७ मा होल फुड्स चेनलाई १३.७ बिलियन डलरमा खरिद गरेको थियो ।

    एमजीएम बहुचर्चित हलिउड फिल्म सरिज ‘जेम्स बन्ड’को निर्माता पनि हो । मर्जरसँगै अब जेम्स बन्डको रिलिज कुन माध्यमबाट हुन्छ भन्ने कुराको टुंगो लागिसकेको छैन ।

     

  • विहेपछि पहिलोपटक मिडियामा सुमिना, फिल्म प्राविधिकलाई बाँडिन् राहत

    विहेपछि पहिलोपटक मिडियामा सुमिना, फिल्म प्राविधिकलाई बाँडिन् राहत

    काठमाडौं । फिल्म क्षेत्रमा सफलता हासिल गरिरहेको बेला नायिका सुमिना घिमिरे विहेपछि एक्कासी टाढा भइन् । उनी अभिनय टाढिएको पनि झन्डै दश वर्ष बितेको छ ।

    कुनैबेलाकी सुपरहिट हिरोइन अभिनयबाट ओझेलमा पर्दा यसले प्रशंसकलाई निराश पनि तुल्याएको थियो ।

    लामो समयपछि उनै सुमिना पति रोशनसँग सार्वजनिक जीवनमा देखिएकी छिन् । कोभिड-१९ महामारीकै बीचमा यो जोडीले फिल्म प्राविधिकलाई राहत सामग्री वितरण गरेको छ ।

    ४० जना प्राविधिकलाई उनीहरुले प्राविधिक संघमार्फत एक महिनालाई पुग्ने रासन वितरण गरेका छन् । संघका अध्यक्ष पुष्कर लामामार्फत उनीहरुले राहत बाँडेका हुन् ।

    बुधबार उनीहरु काठमाडौंको जडिबुटीमा राहत वितरण गर्दै गर्दा भेटिए । फिल्म प्राविधिकलाई राहत बाँड्न पाउँदा खुशि लागेको सुमिनाले बताइन् । फिल्म ‘दुलही’बाट अभिनय करियर थालेकी सुमिनाले दर्जन फिल्ममा अभिनय गरेकी छिन् ।

    तस्विर : रमाइलो छ

  • हरिहरका पिताको निधनपछि नीताको टिप्पणी : नेताहरु कोरोनाभन्दा कुर्सीमै लिप्त भए

    हरिहरका पिताको निधनपछि नीताको टिप्पणी : नेताहरु कोरोनाभन्दा कुर्सीमै लिप्त भए

    काठमाडौं । कोरोना कहरले पछिल्लो समय कलाकार र उनीहरुको परिवारलाई पनि पीडा दिइरहेको छ । कतिपय कलाकार संक्रमित भएर अस्पताल भर्ना भएका छन् भने, कतिपयका आफन्तले ज्यान गुमाएका छन् ।

    यस्तो परिस्थितीमा उनीहरु दुःखी हुनु स्वभाविक हो । अभिनेत्री नीता ढुंगानाले आफन्त पर्नेको निधनप्रति दुःख व्यक्त गर्दै राजनीतिज्ञहरु भाइरस नियन्त्रणभन्दा पनि कूर्सीकै हानथापमा व्यस्त भएको उल्लेख गरेकी छिन् ।

    विगत एक वर्षदेखि उनी युवा ज्योतिष हरिहर अधिकारीसँगको प्रेममा छिन् । हरिहर र नीताले विहेको तयारी पनि गरेका छन् । मंगलबार अधिकारीका बुवाको कोरोना संक्रमणले निधन भएको थियो ।

    हरिहरका बुवासँगको फोटो सेयर गर्दै नीताले लेखेकी छिन्, ‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होलाजस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाविरुद्ध संसार लडिरहँदा मेरो देशले मलाई झन् लात हान्छ भन्ने कुराको आज आभाष भयो ।’

    समयमै आइसीयूको व्यवस्थापन भएको भए र अक्सिजन पाएको भए कसैले पनि ज्यान गुमाउन नपाउने अवस्था आउने उनले जनाएकी छिन् ।

  • महामारी नियन्त्रणमा ध्यान दिन सरकारलाई राजेश हमालको सुझाव

    महामारी नियन्त्रणमा ध्यान दिन सरकारलाई राजेश हमालको सुझाव

    काठमाडौं । अभिनेता राजेश हमाल हत्तपत्त सरकारी गतिविधिमा टिप्पणी गर्दैनन् । राजनीतिक र सामाजिक मुद्दामा चासो राख्ने स्वभावका उनी यी मुद्दामा विरलै आफ्नो दृष्टिकोण पेश गर्छन् ।

    तर, उनी यसपटक सरकारको काम कार्यावहीलाई लिएर असन्तुष्टि छन् । कोरोनाभाइरस महामारीमा सरकारी व्यवस्थापनलाई लिएर असन्तुष्ट हमालले महामारीमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन् ।

    महामारी व्यवस्थापनमा ध्यान दिनुपर्ने सरकार सत्ताकै खेलमा लागेको भन्दै हमालले दुःख व्यक्त गरेका छन् । सोमबार फेसबुक लाइभमार्फत हमालले सरकार र राजनीतिज्ञलाई प्राथमिकता बुझ्न सुझाएका छन् ।

    नेपालको स्वास्थ्य संकटलाई लिएर बेलायतको संसदमा भएको छलफलको सन्दर्भ उल्लेख गर्दै हमालले नेपाली सरकारलाई यसबारे संवेदनशिल भइदिन आग्रह गरे ।

    ‘सरकारले आफ्नो विवेक र ऊर्जा महामारी नियन्त्रणमा केन्द्रित गर्नुपर्ने हो तर, सरकार र राजनीतिज्ञ राजनीतिक मुद्दामा रुमल्लिइरहेका छन् । अब खोप लगाउने र महामारीमा केन्द्रित भएर अघि बढ्नु जरुरी छ’ उनले भने ।

  • खोप लगाउने फाराममा जात उल्लेख गरेकोप्रति कलाकार यश कुमारको आपत्ती

    खोप लगाउने फाराममा जात उल्लेख गरेकोप्रति कलाकार यश कुमारको आपत्ती

    काठमाडौं । कोरोनाको खोप लगाउनका लागि भरिने फारामका जात उल्लेख गरेकोप्रति कलाकार यश कुमारले आपत्ती जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियाेमार्फत  कोरोनाको खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्न लगाएको अनलाइन फाराममा जात उल्लेख गर्न लगाएकोप्रति उनले आपत्ती जनाएका हुन् ।

    ‘सायद म गलत पनि हुनसक्छु, मैले नबुझेको पनि हुनसक्छ । सायद जात हेरेर नै चीन र भारतले खोप पठाएको हुनसक्छ ।’ उनले प्रश्न गर्दै भनेका छन्, ‘मधेशी भनेको के ? मधेशमा बसेको सबैलाई मधेशी भन्न खोजेको हो कि लुंगी लगाउने मधेशीलाई भन्न खोजेको हो । प्रधानमन्त्री पनि तराइमा नै जन्मेको हो, उहालाइ के भन्ने ? अहिले मान्छे कसरी बाच्ने भन्ने अवस्थामा जात छुटइएको छ । के अहिले नेपाली नागरिकता बोकेर गएको आधारमा खोप लगाउन पाइदैन ? के यो सहि हो ?’

    बिदेशीलाई पनि समातेर खोप लगाउनुपर्ने बेला नेपालीको नै जात सोध्नुपर्ने किन ? भन्दै  थप प्रश्न गरकेा छन् । आफुलाई जहिले पनि जातीय छुवाछुतको कुरा उठाउँछ भनेर आफुलाई आरोप लाग्ने गरको बताउदै भने, ‘अब हेर्नुहोस, यस्तो अवस्थामा मैले कसरी नबोल्नु ? म कसरी लाटो भएर बस्ने ?’

    कलाकार यश कुमारले नवराज विकसहित ६ जनामाथी भएको विभत्स हत्याकाण्डको पनि स्मरण गर्दै मृतकप्रति श्रदाञ्जली पनि व्यक्त गरेका छन् । उनले सरकारी निकायबाट नै खोप लगाउने ठाउँमा जातको कुरा गरेर झन पिडा दिन खोजेको बताए । अन्तिममा आफुले गलत बुझेको भए माफी दिन पनि आग्रह गरेका छन् ।

  • प्रेग्नेन्सीबारे प्रियंकाको बयान : डिसेम्बरलाई टार्गेट गरेको, पहिलो ट्राइमै सफल भयौ !

    प्रेग्नेन्सीबारे प्रियंकाको बयान : डिसेम्बरलाई टार्गेट गरेको, पहिलो ट्राइमै सफल भयौ !

    काठमाडौं । नायिका प्रियंका कार्की जबदेखि गर्भवती भइन्, गसिपबाट बाहिर निस्कने नामै लिइरहेकी छैनन् । उनी बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत सामाजिक सञ्जाललाई मसला दिइरहेकी छन् । यसवापत सामना गर्नु परिरहेका भद्दा कमेन्टहरुसँग उनलाई खासै वास्ता छैन ।

    प्रियंकाले गत चैत २० गते सामाजिक सञ्जालमा पहिलोपटक आफ्नो बेबीबम्प प्रदर्शन गर्दै आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् । श्रीमानसहितको तस्वीर पोस्ट गरेर उनले क्याप्सन लेखेकी थिइन्, ‘वी आर प्रिग्नेन्ट’ -हामी गर्भवती छौं ।’ आफूसहित श्रीमानलाई समेत ‘गर्भवती’ भनेको भनेर प्रियंकाको ट्रोल भयो । तर, उनी ट्रोलबाट आत्तिनेभन्दा ट्रोलमै रमाउने नायिका हुन् ।

    त्यसयता प्रियंकाले दिनहुँजसो आफ्नो ठूलो भुँडी देखाएर नयाँ-नयाँ तस्वीर पोस्ट गरिरहिन् । जति नकारात्मक कमेन्ट आए पनि उनी हतोत्साही भइनन् । केही दिनअघि उनले पोस्ट गरेको तस्वीरलाई लिएर गालीको वर्षा नै भएको थियो । त्यसमा उनले आफ्नो नाइटोमा जुसको पाइप घुसारेर पेटको बच्चालाई पिलाएको अभिनय गरेकी थिइन् ।

    विदेशी सेलेब्रिटीको नक्कल गरेर प्र्रियंकाले गरेको भद्दा फोटोसेसनलाई सामाजिक सञ्जालमा उछितो काढियो । केहीले चाहिँ आफ्नो गर्भवती अवस्थामा रमाउने उनको हक भएको भन्दै प्रियंकाको बचाउ समेत गरे ।

    @jyotiaryal93

    Priyanka karki 💜💜💜#foryou #ktm #fyp #tiktoknepal 🇳🇵🇳🇵🙏🙏

    ♬ original sound – Jyoti Aryal

    अहिले चाहिँ आफ्नो प्रेग्नेन्सीका विषयमा प्रियंकाले दिएका उटपट्याङ प्रतिक्रियाहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । खासगरी टीकटकमा भाइरल भएको प्रियंकाको एउटा अभिव्यक्ति यस्तो छ :

    ‘आयूष्मानले के भने भने, ल ठीक छ । अब डिसेम्बरमा बेबी पाउने हो भने अप्रिल–मेतिर ट्राइ गर्नुपर्‍यो नि त । तर, अप्रिल मेमै फस्र्ट ट्राइ नगरौं । अगाडि पनि ट्राइ गर्दै जाउँ न । अप्रिल मेमा ट्राइ गर्नेवित्तिकै प्रेग्नेन्ट हुन्छ भन्ने त छैन । सो लेट्स ट्राइ कपल अफ टाइम्स भनेर, हाम्रो चैं फस्र्ट ट्राइ थियो क्या यो, जुन हामीले ट्राइ गर्‍यौं । ल अब चाहिँ ट्राइ गर्न स्टार्ट गर्ने, बिस्तारै ट्राइ गर्दै जाने, डिसेम्बरमा बेबी पाउने गरी । त्यो केसमा चाहिँ हामी यस्तो लक्की भयौं कि फस्र्ट ट्राइमै प्रेग्नेन्ट भयौं क्या ।’

    प्रियंकाले आफ्नो पेटभित्रको बच्चाको विषयमा पनि विभिन्न अनुभव सेयर गरेकी छन् ।

    उनी भन्छिन्, ‘म बुझ्न खोज्छु, मेरो बेबी पेटभित्र किन चलिरा’को होला । सर्टेन पार्ट अफ द बडी कतातिर चल्यो भन्ने पनि थाहा हुन्छ नि अहिले त । तल पेटमा हो कि, अलि माथि हो कि । अस्ति एकचोटि चाहिँ मलाई एकजनाले भन्नुभयो, खाटमा पल्टेर सबैतिर छाम । अनि जहाँ कडा पार्ट छ, त्यो चाहिँ टाउको हो भनेर सिकाउनुभाकोथ्यो । अस्ती आयूष र म खाटमा पल्टेर छामेर कहाँ कडा भेट्टाउँछ भनेर ट्राइ गर्‍यौं क्या… यस्तो यस्तो मोमेन्टहरु धेरै मूल्यवान हुन्छन् ।’

    प्रियंकाका यस्ता बयानमा रमाइला टिप्पणीहरु आएका छन् । कतिपयले चाहिँ उनले आफ्ना नितान्त गोपनिय विषयहरु पनि छताछुल्ल पारेको भन्दै ‘घटिया प्रपोगण्डा’ को संज्ञा दिएका छन् ।

    श्रवण मगरले लेखेका छन्, ‘अहिलेसम्म यसले मात्रै बच्चा पाकोजस्तो हल्ला गर्दैछे त ।’

    सविता श्रेष्ठले लेखेकी छन्, ‘होइन, यो हिरोइनले हात्ति नै जन्माउन लागेकी हो कि क्याहो ?’

  • ‘एक अक्षरको गीत’ मा फुर्वाको अर्को कीर्तिमान : विश्वकै अग्लो स्थानमा प्रमाणपत्र

    ‘एक अक्षरको गीत’ मा फुर्वाको अर्को कीर्तिमान : विश्वकै अग्लो स्थानमा प्रमाणपत्र

    काठमाडौं । गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले सन् २००४ मा एक अक्षरको गीत सार्वजनिक गरेर विश्व कीर्तिमान राखेका थिए । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको सो कीर्तिमानलाई हालै युकेको वर्ल्ड बुक अफ रेकर्डले पनि मान्यता दियो । अहिले फेरि यो कीर्तिमानको प्रमाणपत्र लिने क्रममा शेर्पाले अर्को रोचक कीर्तिमान राखेका छन् ।

    उनले विश्वकै अग्लो स्थानमा उभिएर आफ्नो कीर्तिमानको आधिकारिक प्रमाणपत्र ग्रहण गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा उभिएर उनले प्रमाणपत्र ग्रहण गरेका छन् ।

    शेर्पाले सन् २००४ मा ‘गीत एक अक्षरको’ नामक एल्बम ल्याएका थिए । त्यसमा देवनागरी लिपिको एक अक्षर ‘म’ मात्रै प्रयोग गरिएको थियो, जसलाई संसारकै पहिलो एक अक्षरको गीतका रुपमा गिनिज बुकले मान्यता दिएको थियो । यही गीतलाई वर्ल्ड बुक अफ रेकर्डले समेत स्वीकार गरेको फुर्बाले बताएका छन् ।

    यस गीतमा फुर्बाको आफ्नै स्वर र संगीत रहेको छ भने म्युजिक एरेन्ज निरज श्रेष्ठले गरेका छन् ।