Category: कलाप्रेस

  • बेलायती राजकुमार ह्यारी र मेगनले जन्माए दोस्रो सन्तान, छोरीको नाम राखे- लिलिबेट डायना

    बेलायती राजकुमार ह्यारी र मेगनले जन्माए दोस्रो सन्तान, छोरीको नाम राखे- लिलिबेट डायना

    लन्डन । बेलायती राजकुमार ह्यारी र पत्नी मेगन मर्केलले दोस्रो सन्तानलाई जन्म दिएका छन् । बीबीसीका अनुसार उनीहरुले छोरी प्राप्त गरेका हुन् ।

    क्यालिफोर्नियास्थित सान्टा बार्बरा अस्पतालमा गतसाता शुक्रबार यो दम्पतीले दोस्रो सन्तान जन्माएको घोषणा गरेका हुन् । शिशुको नाम लिलिबेट लिली डायना माउन्टब्याटन विन्सडर राखिएको छ ।

    आमा र शिशु दुबैको स्वास्थ्य अवस्था ठीक रहेको जारी वक्तव्यमा जनाइएको छ ।

    बेलायती महारानीको बाल्यकालिन निक नेम लिलिबेटबाट शिशुको नामाकरण गरिएको छ भने थर चाहिँ पूर्वदिवंगत राजकुमारी तथा हजुरआमा डायनाबाट राखिएको छ ।

    नवजात शिशु बेलायती महारानीको ११ औं ग्रान्ड-चाइल्ड बताइएको छ र गद्दी सम्हाल्ने आठौं स्थानमा रहेको जनाइएको छ ।

    शिशु जन्मिएको अवसरमा बेलायती महारानी र राजदरबारले प्रसन्नता व्यक्त गरेको छ । केट मिडल्टन र प्रिन्स विलियमले पनि बधाइ दिएका छन् ।

  • २५० फिल्म प्राविधिकलाई करिश्मा र पलले बाँडे राहत, नेफ्टाको अगुवाइमा सक्रिय भए फिल्मकर्मी

    २५० फिल्म प्राविधिकलाई करिश्मा र पलले बाँडे राहत, नेफ्टाको अगुवाइमा सक्रिय भए फिल्मकर्मी

    काठमाडौं । लकडाउनले हातमुख जोर्न धौ-धौ भएका फिल्म प्राविधिकलाई सघाउन सेलेव्रिटी जुटेका छन् । चलचित्र प्राविधिक संघको अगुवाइमा कलाकारले सहयोगी हात अघि बढाएका हुन् ।

    संकटको समयमा अभिनेत्री करिश्मा मानन्धर सँधै प्राविधिकको हितमा उभिने गर्छिन् । यसपटक भने उनी राहत वितरण गर्दै देखिइन् । करिश्मासँगै अभिनेता पल शाहले पनि प्राविधिकलाई खाद्यान्न राहत वितरण गरे ।

    उनीहरुले २५० भन्दा बढी फिल्म प्राविधिकलाई राहत वितरण गरे । लप्पन छप्पन फिल्म निर्देशक मुकुन्द भट्ट, चिनियाँ वितरक शान्त शर्मा र निर्माण नियन्त्रक युवराज कार्कीको पहलमा ताइवानी मास्टर हिगुवाङ सीले राहत वितरण गरेका हुन् ।

    संघका अध्यक्ष पुष्कर लामाले महामारीले दुःखमा परेका प्राविधिकलाई आर्थिक र सामाजिक राहतका लागि सक्रियता जनाइरहेका छन् । उनकै पहलमा डायस्पोरामा रहेका फिल्मकर्मीले पनि गच्छेअनुसार सहयोग प्रदान गरिरहेका छन् ।

    साथै, आरजे राहना इन्टरटेनमेन्टले प्राविधिक संघको विपद व्यवस्थापन कोषलाई ७५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

  • नेपाललाई सहायता जुटाउन कस्सिए प्रबल गुरुङ, खोपको प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह

    नेपाललाई सहायता जुटाउन कस्सिए प्रबल गुरुङ, खोपको प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह

    काठमाडौं । कोभिड-१९ महामारीको दोस्रो लहरले आक्रान्त आफ्नो मुलुकलाई सहायता दिलाउन हलिउड फेसन डिजाइनर प्रबल गुरुङ कस्सिएका छन् ।

    गैरनाफामूलक सामाजिक संस्था नेपाल राइजिङमार्फत गुरुङले नेपालका विभिन्न अस्पताल र सामाजिक संस्थालाई अत्यावश्यक अक्सिजन सिलिन्डरसहित कोभिड उपचारमा प्रयोग हुने सामग्री जुटाउन पहल गरिरहेका छन् ।

    सीएनएन टेलिभिजनमा अन्तर्वार्ता दिँदै गुरुङले आफू उक्त संस्थामार्फत ग्राउन्ड जिरोमै पुगेर स्वास्थ्य सहायता प्रदान गरिरहेको बताए । उनका अनुसार उक्त संस्थाले जरुरी स्वास्थ्य सामग्रीसहित राहत समेत प्रदान गरिरहेको छ ।

    नेपालमा भाइरसको कारण कठिन परिस्थिती रहेको बताउँदै गुरुङले थप सहायताका लागि आफूहरु खटिएको समेत जनाए । उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपाललाई सहयोग गर्न अपिल गरेका छन् ।

    नेपाललाई अहिले खोपको जरुरी रहेको बताउँदै खोप दिलाउने हालैको घोषणाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद समेत दिए । अक्सिजन र उपचार अभावमा आफन्त र साथीभाइको मृत्यु भएको देख्दा आफू विक्षिप्त भएको समेत प्रबलले बताएका छन् ।

    प्रबलले नेपालमा शिक्षा फाउन्डेसन पनि संचालन गरिरहेका छन् । उनको अर्को सामाजिक संस्था नेपाल राइजिङले विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय समुदायमार्फत रकम संकलन पनि गरिरहेको छ ।

  • ४७ फिल्म हेरेपछिको निष्कर्ष : नेपाली फिल्ममा महिला चित्रण रुढीवादी र नकारात्मक

    ४७ फिल्म हेरेपछिको निष्कर्ष : नेपाली फिल्ममा महिला चित्रण रुढीवादी र नकारात्मक

    काठमाण्डौँ । ‘नेपाली चलचित्रमा महिला र किशोरीहरुको प्रतिनिधित्व’ शीर्षकमा हालै गरिएको एक अध्ययनले चलचित्रमा देखाइने महिलाको रुढिवादी भूमिकाले महिला र किशोरीमा नकारात्मक असर पार्ने गरेको निष्कर्ष निकालेको छ ।

    नेपाली फिल्ममा महिला वा किशोरीलाई बिरलै नेतृत्वदायी भूमिकामा प्रस्तुत गरिएको र प्रस्तुत भए पनि महिला पात्रलाई पुरुषको उपभोग वा वस्तु स्वरुपमा सीमित गरेको तथ्य अनुसन्धानले देखाएको छ ।

    अध्ययनका अनुसार मुलतः महिला वा किशोरीहरू नेतृत्वको भूमिकामा देखाइए पनि महिलाहरू पुरुषको दाँजोमा फितलो पात्रमा चित्रित गरिने तथा पुरुषको यौन चाहनाको रुपमा मात्र प्रस्तुत भएको पाइएको छ ।

    यस अनुसन्धान प्लान इन्टरनेशनल नेपालको गल्र्स गेट इक्वेल अभियान अन्तर्गत भएको थियो । डकस्कुलले गरेको अनुसन्धानमा ४७ वटा फिल्म, टेलिभिजन, अनलाइन सामाग्रीमा भएको विषयवस्तु र विज्ञापन–चलचित्रको सामग्रीमा केन्द्रित रहेर विश्लेषण प्रस्तुत गरिएको छ ।

    विभिन्न चलचित्रकर्मी, फिल्म निर्माता र कलाकारसँगको अन्तर्वार्ता र छलफलबाट निष्कर्ष प्रस्तुत गरेका छन् । अध्ययनले फिल्मका दर्शकसँग पनि समूह छलफल आयोजना गरेको थियो । प्रदेश नं १ सुनसरी, बागमती प्रदेशको सिन्धुली र काठमाडौं, लुम्बिनी प्रदेशको बाँके र कर्णाली प्रदेशको जुम्लाका किशोरीहरुसँंग फिल्ममा महिला प्रतिनिधित्वसम्बन्धी ३ चरणको छलफल पनि गरिएको थियो ।

    ‘चलचित्रले हामी सबैमा ठूलो प्रभाव पार्दछ, यसले बालबालिकाको कलिलो मस्तिष्कहरुमा त झन् प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गले प्रभाव पार्दछ । चलचित्रले हामीलाई पूर्वाग्रही बनाउने तथा सोच र धारणालाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले हाम्रो समाजमा व्याप्त किशोरी र महिलाको जीवनलाई सीधै प्रभाव पार्ने लैङ्गिक आधारका रूढीवादी सोचलाई चुनौती दिन सक्ने युवाहरुले यस खालको अनुसन्धानको नेतृत्व लिएकोमा हामीलाई खुसी लागेको छ’ प्लान इन्टरनेशनल नेपालका इन्फ्लूयन्स, क्याम्पेन तथा कम्युनिकेसन डाइरेक्टर प्रसेनजित खातीले भने ।

    अनुसन्धान पत्रका सह–लेखक अभिमन्यु दीक्षित भन्छन्, ‘नेपाली चलचित्रमा महिलाहरू सदैव दोस्रो दर्जाको रुपमा मात्र देखिन्छन् । महिला पात्रलाई कि त घरायसी कामकाज गरेको मात्र देखाइन्छ कि त यौन चाहना परिपूर्ती गर्ने पात्रको रूपमा देखाइन्छ । यस्तो प्रतिनिधित्वका बारेमा नेपालमा दशक लामो छलफल भएता पनि एकदमै थोरै परिवर्तन आएको देखिएकोले हामीले यो बहसलाई फेरि अघि सारेका छौं ।”

    अध्ययनका अनुसार फिल्ममा देखाइएका महिलाहरु प्रायः प्रियसी/श्रीमती, आमा, सुसारे, वा रखौटीको रुपमा मात्र चित्रित छन् । त्यस्तै, महिलाहरू आफ्नो निर्णय लिन पुरुष पात्रमा नै निर्भर भएको तथा महिला पात्रहरुको निर्णयमाथि प्रश्न उठाउने वा पुरुष पात्रको निर्णय जति सम्मान नदिइएको समेत अध्ययनले दर्शाएको छ ।

    अध्ययनले १०२ वटा महिला पात्रको विश्लेषणमा ५ जना पात्रको मात्र आफ्नो लक्ष्य र उद्देश्य भेटाएको छ भने चलचित्रमा देखाइएको महिला पात्र सँधै प्रेमकथाको सानो अंश रुपमा मात्र प्रस्तुत गरिएका छन् । साथै, प्रायःजसो चलचित्रले महिला माथि हुने हिंसालाई सामान्यकरण गरेको पाइएको छ । त्यस्तै ३४५ पात्रहरुको अध्ययनमा ८ जना मात्रै यौनिक अल्पंसंख्यक समुदायको सदस्य संलग्न भएको अध्ययनले देखाएको छ, तीमध्ये अधिकांश पात्रहरू हास्यव्यङ्ग्यको लागि मात्र राखिएको पाइएको छ ।

    यो अनुसन्धान गौँथली इन्टरटेन्मेन्टद्वारा आयोजित चार–दिने भर्चुअल कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको हो । अनुसन्धानको टिप्पणी गर्ने क्रममा, चलचित्रकर्मी र समीक्षक मनोज पण्डितले भने, ‘नेपालको अधिकांश चलचित्रले महिलाको आँसु बेच्ने गर्दछ, हामीले कथामा दुःख बेच्छौ किनकि त्यसले राम्रो व्यवसाय गर्छ ।” पण्डितले फिल्ममा मात्र सीमित नभएर ठूलो सामाजिक परिवर्तनमा जोड दिनु पर्ने आवश्यकता औंल्याए ।

    चलचित्र विकास बोर्डका अधिकृत चिरन्जीवी गुरागाइले नेपाली चलचित्रमा महिलाको बिषयमा थुप्रै काम भएपनि प्रभावकारी रुपमा अघि बढनुपर्ने बताए । सो क्रममा उनले चलचित्र विकास बोर्डको तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र फिल्म फेस्टिभलमा छानिएका चलचित्र निर्माताहरूलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

  • वातावरण दिवसमा सेलेव्रिटीले गरे वृक्षारोपण (तस्विरहरु)

    वातावरण दिवसमा सेलेव्रिटीले गरे वृक्षारोपण (तस्विरहरु)

    काठमाडौं । विश्व वातावरणको दिवसको अवसरमा शनिबार कलाकारहरुले वृक्षारोपण गरेका छन् । सेलेव्रिटीले बगैंचा र आफ्नै घर वरपर विभिन्न जातका विरुवा रोपे ।

    करिश्मा मानन्धरले गोदावरीस्थित घर परिसरमा विरुवा रोपिन् । ‘रुख रोपौं, वातावरण संरक्षण गरौं, महा प्रकृतिलाई बचाऔं’ भन्ने नाराका साथ करिश्माले वृक्षारोपण गरेकी थिइन् ।

    अभिनेता पल शाह र निर्देशक दीपाश्री निरौलाले ललितपुरको युएन पार्कमा पुगेर वृक्षारोपण गरे । ‘मैले त वृक्षारोपण गरेँ, तपाईंहरुले नि’ भन्दै पलले अरुलाई वृक्षारोपण गर्न आग्रह गरेका छन् ।

    पलसँगै युएन पार्क पुगेकी अभिनेत्री तथा निर्देशक निरौलाले पनि वृक्षारोपण गरेकी छिन् । अन्य कलाकारले पनि वातावरण दिवसको अवसरमा वृक्षारोपण गर्न आग्रह गर्दै सामाजिक संजालमा अभियान चलाएका छन् ।

    संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ जुन ५ देखि विश्व वातावरण दिवस मनाइँदै आएको छ ।

  • ब्रिटिस गायिका जोस स्टोनसँग आनी छोइङले गाइन् ‘फूलको आँखामा फूलै संसार’ (भिडिओ)

    ब्रिटिस गायिका जोस स्टोनसँग आनी छोइङले गाइन् ‘फूलको आँखामा फूलै संसार’ (भिडिओ)

    काठमाडौं । बेलायती गायिका जोस स्टोन र नेपाली गायिका आनी छोइङ डोल्माले चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’को युट्युव संस्करणमा टीमअप गरेका छन् ।

    आनीसँग आफूले गाएको उक्त गीतको नयाँ भर्सनलाई ब्रिटिस गायिका स्टोनले आफ्नो युट्युव च्यानलमा पोस्ट गरेकी छिन् । यी दुई विश्वचर्चित गायिकाको स्वरमा गाइएको यो गीत निकै कर्णप्रिय र शान्त महसुस हुन्छ ।

    हायात होटलको लबीमा छायांकन गरिएको यो गीतमा कुटुम्ब ब्यान्डका बाँसुरीबादक रुविनकुमार श्रेष्ठले प्रस्तुति दिएका छन् । न्यूह बज्राचार्यले गितारमा प्रस्तुत दिएका छन् ।

    सन् २०१६ मा गायिका स्टोन विश्व भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेकी थिइन् । हेर्नूस गीत :

  • तीनहजार फिल्मकर्मीलाई कोभिड खोप लगाउन बोर्डले लेख्यो स्वास्थ्य मन्त्रालयलाई पत्र

    तीनहजार फिल्मकर्मीलाई कोभिड खोप लगाउन बोर्डले लेख्यो स्वास्थ्य मन्त्रालयलाई पत्र

    काठमाडौं । नेपाली फिल्म क्षेत्रका तीन हजार जनालाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ ।

    बोर्डको कोभिड-१९ व्यवस्थापन हेर्ने संयोजक तथा बोर्ड सदस्य राज कट्वालले उक्त मागसहितको पत्र शुक्रबार स्वास्थ्य मन्त्रालयमा बुझाएका छन् । पत्र बुझ्दै फिल्मकर्मीलाई खोप लगाउन मन्त्रालय सकारात्मक रहेको जवाफ आफूले पाएको कट्वालले बताए ।

    खोपबारे छलफल गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आइतबार फिल्मकर्मीलाई मन्त्रालयमा बोलाएका छन् । मन्त्रीसँगको भेटमा फिल्मकर्मीलाई खोप लगाउन पहल गरिने र कोभिड-१९ रोकथाममा फिल्मकर्मीको भूमिकाबारे छलफल हुने सदस्य कट्वालले बताए ।

    ‘फिल्मकर्मीलाई खोप लगाउन हामीले प्रयत्न गरिरहेका छौं र पहलकद्मी लिइरहेका छौं’ कट्वालले नेपाल प्रेसलाई भने, ‘स्वास्थ्य मन्त्रालयलाई दबाब दिइरहेका छौं र मन्त्रालय सकारात्मक पनि छ ।’

  • टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल ७’ छायांकन रोकियो, कारण जान्नूस

    टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल ७’ छायांकन रोकियो, कारण जान्नूस

    लन्डन । सुटिङ युनिटका सदस्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि हलिउडको प्रतीक्षित फिल्म ‘मिसन इम्पोसिबल’को सातौं श्रृंखलाको छायांकन रोकिएको छ ।

    भेराइटी म्यागजिनका अनुसार लन्डनमा छायांकन हुँदै गर्दा फिल्मका केही सदस्यलाई भाइरस संक्रमण देखिएको थियो । टम क्रुज स्टारर यो हलिउड फिल्मको छायांकन लकडाउनको बाबजुद पनि लन्डनमा संचालन भैरहेको छ ।

    ‘जुन १४ तारिखसम्म हामीले अस्थायीरुपमा फिल्म छायांकन स्थगित गरेका छौं’ फिल्म युनिटद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामीले स्वास्थ्यको मापदण्ड पालना गरिरहेका छौं र निरन्तर अनुगमन पनि ।’

    सन् २०२० को फेब्रुअरीमा इटालीको भेनिसमा छायांकन हुनुको एकदिनअघि लकडाउन घोषणा भएको थियो । महामारीको रोकथामका लागि लागु गरिएको प्रतिबन्धले गर्दा मिसन इम्पोसिबल निकै असर खेप्नुपरिरहेको छ ।

    फिल्मलाई क्रिस्टोफर म्याक्युरीले निर्देशन गरिरहेका छन् ।

  • महामारीले प्रभावित फिल्म प्राविधिकलाई सहायता गर्न स्वस्तिमाको अपिल (भिडिओ)

    महामारीले प्रभावित फिल्म प्राविधिकलाई सहायता गर्न स्वस्तिमाको अपिल (भिडिओ)

    काठमाडौं । कोरोनाभाइरस महामारीको कारण प्रभावित फिल्म प्राविधिकलाई सघाउन कलाकार कस्सिएका छन् । अक्सिजन सिलिन्डर जोहो गर्नेदेखि प्राविधिकलाई राहत संकलन गर्न उनीहरु सक्रिय भएका छन् । कतिपयले गच्छेअनुसार सहयोग गर्न अपिल गरिरहेका छन् ।

    यही मेसोमा अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक संजालमा भिडिओ सन्देश जारी गर्दै महामारीले प्रभावित फिल्म प्राविधिकलाई सहयोगका लागि आग्रह गरेकी छिन् । गच्छेअनुसार आर्थिक एवं अन्य सहयोग गर्न स्वस्तिमाको आग्रह छ । उनले जारी गरेको भिडियोपछि धेरैले प्राविधिकहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

    भिडिओमा स्वस्तिमाले भनेकी छिन्, ‘यतिबेला हामी असामान्य परिस्थितिमा छौं । यस्तो बेला सरकारको प्राथमिकतामा चलचित्र क्षेत्र पर्न सकेको छैन । कोरोनाका कारण अहिले चलचित्रहरु बनिरहेका छैनन् । जसले गर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या रहेको भन्ने समाचारहरु पढ्दा म निकै भावुक भएको छु ।’

    तीन सयमध्ये सय जना प्राविधिकको अवस्था अत्यन्त दयनीय रहेको जानकारी पाएपछि आफ्नो चिनजानका व्यक्ति र आफू आबद्ध ब्रान्डहरुलाई सहयोगका लागि आग्रह गरेको र सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएको स्वस्तिमाले भिडिओमा बताएकी छिन् ।

    स्वस्तिमाले प्राविधिकहरुलाई सहयोग गर्न चाहनेले इसेवा आइडी ९८४१०१७७६४ या कुमारी बैंकको डिजिटल क्यूआर कोर्डमार्फत् सहयोग पठाउन सक्ने बताएकी छन् ।

    ‘सबै प्राविधिकहरुलाई उस्तै समस्या नहुनसक्छ । विशेषगरी स्पट ब्वाईहरुलाई समस्या छ । उहाँहरुले थोरै पारिश्रमिकमा काम गर्नुहुन्छ । फिल्ममा काम गर्दा म उहाँहरुसँग एकदमै क्लोज पनि हुन्छु । उहाँहरुले हामीलाई बिहान उठाउनेदेखि चिया/खाना ल्याइदिनेसम्मको काम गर्नुहुन्छ । यो बेला हामीले उहाँहरुलाई सानो सहयोग गर्न सक्यौं भने पनि ठूलो हुन्छ,’ उनले भनेकी छन् ।

    हेर्नूस भिडिओ :

  • लकडाउनमा मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने : यस्ता छन् राजेश हमालका टिप्स (भिडिओ)

    लकडाउनमा मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने : यस्ता छन् राजेश हमालका टिप्स (भिडिओ)

    काठमाडौं । लकडाउनका कारण अहिले सर्वसाधारणको दैनिकी घरमै बितिरहेको छ । लामो समय घरमै बसिरहँदा मानिसमा मानसिक समस्या पनि देखिने गरेको छ ।

    स्वास्थ्य मन्त्रालयदेखि विज्ञ समेतले अहिले मानसिक स्याहारमा ध्यान दिन अपिल गरिरहेका छन् । यो आग्रहमा कलाकार समेत सक्रिय छन् । उनीहरुले सामाजिक संजालमार्फत मानसिक स्वास्थ्यको ख्याल गर्न फ्यानहरुलाई आग्रह गरेका छन् ।

    फेसबुकमा लाइभ आउँदै अभिनेता राजेश हमालले पनि मानसिक स्वास्थ्यको ख्याल गर्न टिप्स दिएका छन् । उनले मानसिक स्वस्थताका लागि कसरत, खाना पकाउने, बगैंचा सफा गर्नेदेखि चुटकिला सुन्न पनि सुझाएका छन् ।

    हेर्नूस भिडिओ :

  • टीकटकको कमाइले चार सय भोकालाई खाना खुवाइन् गरिमाले

    टीकटकको कमाइले चार सय भोकालाई खाना खुवाइन् गरिमाले

    काठमाडौं । अधिकांशको लागि टीकटक फुर्सदको उपयोग गर्ने माध्यम हो । ठिटा-ठिटीले टीकटकलाई मनोरञ्जनको माध्यम बनाइरहेका छन् ।

    तर, टीकटक कसैका लागि समाजसेवाको गतिलो माध्यम बनेको छ । म्युजिक भिडियोको चर्चित नाम गरिमा शर्माले भने टीकटक एपलाई सहयोगी हातको माध्यम बनाएकी छिन् ।

    ४०० जना भोकालाई गरिमाले गत आइतबार खाना खुवाएकी छिन् । साथै, खाना खुवाउन सक्रिय सामाजिक समूह हाम्रो टीम नेपाललाई १५ हजार रुपैयाँ पनि सहयोग गरेकी छिन् ।

    ‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनुहुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ’ टीकटकबाट आएको कमाइबारे उनले भनिन् । लकडाउन अघि म्युजिक भिडियोमा गरिमा निकै व्यस्त थिइन् ।

    पछिल्लो समय सेलेव्रिटीले महामारीबाट प्रभावितलाई सहयोगी हात अघि बढाइरहेका छन् ।

  • पर्दाका भिलेन प्रमोद अग्रहरिले सहयोग गरे अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर

    पर्दाका भिलेन प्रमोद अग्रहरिले सहयोग गरे अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर

    काठमाडौं । अस्पतालमा अक्सिजन लगायतका जरुरी स्वास्थ्य उपकरण अभाव हुन थालेपछि कलाकार पनि सक्रिय हुन थालेका छन् । उनीहरुले व्यक्तिगत पहलमा अक्सिजन सिलिन्डरको जोहो गर्न थालेका छन् । यो मेसोमा अभिनेता प्रमोद अग्रहरि पनि अघि बढेका छन् ।

    यसअघि पल शाह, पुष्प खड्का, नाजिर हुसेनले अक्सिजन सिलिन्डर सहयोग गरे । अभिनेता अग्रहरीले पनि अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।

    उनले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन्। परासी युवा समूहको व्यवस्थापनमा उनले उक्त सिलिन्डर अस्पतालका डा।मोहम्मद नुरुल होदालाई हस्तान्तरण गरेका हुन् ।

    अग्रहरी फिल्म पर्दामा डरलाग्दा भिलेनको रुपमा चर्चित छन् । उनले उमा, सुन्तली, संरक्षण, जाइरा, कथा काठमाण्डू जस्ता फिल्ममा अभिनय गरेका छन् ।

  • फिल्ममा फर्कने तयारीमा टेलर स्वीफ्ट, निर्देशक रसेलसँग टीमअप गर्ने

    फिल्ममा फर्कने तयारीमा टेलर स्वीफ्ट, निर्देशक रसेलसँग टीमअप गर्ने

    लस एन्जल्स । अमेरिकी गायिका टेलर स्वीफ्टलाई पुनः फिल्ममा देख्न पाइने भएको छ ।

    रसेल आफैको लेखन एवं निर्देशन रहेको फिल्ममा हलिउडका हु-इज-हु स्टार कास्टरहरु समावेश छन् ।

    स्वीफ्टसहित फिल्ममा मार्गेट रोवी, क्रिस्टियन बेल, जोन डेभिड वासिङ्टन, रमी मलिक, जोय साल्दाना, आन्या टेलर जोए, रोबर्ट डे निरो, माइकल स्यानन र तिमोथी ओलिफ्यान्ट स्टार रहने हलिउड रिपोर्टरले जनाएको छ ।

    सन् २०१५ को फिल्म ‘जोए’पछि रसेल निर्देशकको रुपमा पुनरागमन गर्न लागेका हुन् । म्याथ्यु बर्डम्यानसँग मिलेर रसेलले फिल्म बनाउन लागेका हुन् । लस-एन्जल्समा प्रि-प्रोडक्सन सम्पन्न भैसकेको फिल्मको प्लट चाहिँ खुलाइएको छैन ।

    सन् २०१९ को फिल्म ‘क्याट्स’मा स्वीफ्टले अभिनय गरेकी थिइन् । यो वर्ष आफ्नो एल्बम ‘फल्कलोर’का लागि स्वीफ्टले ग्रामी अवार्डमा एल्बम अफ दी इयरको अवार्ड जितेकी थिइन् ।

  • चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकीमा २२ फिल्म प्रदर्शन गरिने

    चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकीमा २२ फिल्म प्रदर्शन गरिने

    बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको एकसय वर्ष पुरा भएको अवसरमा २२ फिल्मलाई पुनः रिलिज गरिने भएको छ ।

    चिनियाँ टिकट प्लेटफर्म मायोयानका अनुसार रिलिज गर्ने भनिएका फिल्महरु राष्ट्रियता झल्काउने खालका छन् ।

    कोरियाली युद्धसहित १९३१ देखि ४५ सम्म भएको जापानी युद्धजस्ता विभिन्न विषयवस्तुमा बनेका फिल्मलाई प्रदर्शन गर्न लागिएको हो ।

    सन् १९५२ मा प्रिमियर भएको सबैभन्दा पुरानो फिल्म ‘फ्रम भिक्ट्री टु भिक्ट्री’देखि २०१७ र २०१८ मा रिलिज भएका पछिल्लो समयको एक्सन फिल्महरु ‘अप्रेसन रेड सी’ र ‘उल्फ वारियर २’ प्रदर्शन हुनेछन् ।

    गत मार्चमा चिनियाँको सूचना प्रसारण विभागले नाटक, संगीत, नृत्य, फिल्म र टेलिभिजन क्षेत्रमा उच्च कलात्मक साहित्यिक उत्पादनलाई प्रदर्शन गर्ने घोषणा गरेको थियो ।

  • कोरोना निको भएर घर फर्किएका मदनकृष्ण भन्छन् : सरकारले चाँडो खोप बन्दोबस्त गर्नुपर्‍यो

    कोरोना निको भएर घर फर्किएका मदनकृष्ण भन्छन् : सरकारले चाँडो खोप बन्दोबस्त गर्नुपर्‍यो

    काठमाडौं । अभिनेता मदनकृष्ण श्रेष्ठ कोरोनाभाइरस संक्रमणबाट मुक्त छन् । उपचारका लागि तीन साता मेडिसिटी अस्पतालमा बिताएका उनी निको भएर घर फर्किएका हुन् ।

    सबैको शुभेच्छा, प्रार्थना र आशिर्वादले आफू निको भएका बताउँदै उनले कोरोनारुपी विषलाई मज्जाले पचाएको बताएका छन् । सामाजिक संजालमा उनी लेख्छन्, ‘यहाँहरुको आशिर्वाद लाग्यो मलाई ।’

    सरकार कोरोना महामारी नियन्त्रणमा गम्भिर हुनुपर्ने बताउँदै मदनकृष्णले जतिसक्दो जनतालाई खोप उपलब्ध गराउन समेत आग्रह गरेका छन् । ‘सरकारले जतिसक्दो चाँडो खोप बटुलेर जनतालाई सुरक्षित पार्नुपर्छ’ उनले भनेका छन् ।

    ‘जनता नै नभए कसलाई शासन गर्ने हैन त ?’ उनी लेख्छन् ।

  • निरुताले सम्झिइन् श्रीकृष्ण र शिव रेग्मीलाई : सेयर गरिन् सुटिङ सेटका तस्विरहरु

    निरुताले सम्झिइन् श्रीकृष्ण र शिव रेग्मीलाई : सेयर गरिन् सुटिङ सेटका तस्विरहरु

    काठमाडौं । सन् १९९९ को चर्चित फिल्म थियो आफन्त । निरुता सिंह र श्रीकृष्ण श्रेष्ठ हिट जोडी । निर्देशक थिए शिव रेग्मी ।

    केशव भट्टराईले निर्माण गरेको यो फिल्मले बक्सअफिसमा सुपरहिट प्रदर्शन गर्‍यो । २२ वर्षपछि पनि यो फिल्म उत्तिकै कालजयी मानिन्छ ।

    यो वर्षसम्म नेपाली फिल्ममा धेरै उतारचढाव आयो । तर, आफन्तले धेरै मन जितेको छ । निरुताबाहेक श्रीकृष्ण, शिव रेग्मी र केशव भट्टराईको निधन भैसकेको छ ।

    अभिनेत्री निरुता अहिले फिल्म आफन्तलाई लिएर नोस्टाल्जिक छिन् । आफन्त छायांकन सेटका पुराना तस्विर सेयर गर्दै निरुताले ती मान्छे र क्षणलाई याद गरेकी छिन् ।

    यी पुरानो एल्बममा श्रीकृष्ण, शिव लगायतका अन्य प्राविधिकलाई पनि देख्न सकिन्छ । निरुता लेख्छिन् : हामी यो जीवनभरी माया अनि याद गरिरहनेछौं । तपाईंहरुको कमी सँधै भरी खट्किरहनेछ ।

  • अमेरिकी गायक माइक पोज्नरले चढे सगरमाथा, यस्तो छ उनको च्यारिटी आरोहण

    अमेरिकी गायक माइक पोज्नरले चढे सगरमाथा, यस्तो छ उनको च्यारिटी आरोहण

    काठमाडौं । चर्चित अमेरिकी गायक तथा गीत लेखक माइक पोज्नरले मंगलबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

    सेभेन समिट ट्रेक्सका अनुसार ग्रामी अवार्ड मनोनित गायक अमेरिकी एथ्लेट कोलिओ ब्राडीसँगै आज बिहान चुचुरोमा पुगेका हुन् ।

    ३३ वर्षे गायक ‘आइ टुक अ पिल इन इब्जा’ गीतबाट विश्वचर्चित छन् । उनले जस्टिन बिबर, मरुन फाइभ, लाब्रिन्थ, निक जोनस लगायतको लागि गीत लेखिसकेका छन् ।

    अमेरिकी सहर डेट्रोइट जस्टिस सेन्टरको च्यारिटीका लागि भन्दै पोज्नरले आफू सगरमाथा चढ्ने घोषणा गरेका थिए । पोज्नरको टीमसँगै आरोहणमा ६ जना शेर्पा आरोहीले सघाएका थिए ।

  • सुगम पोखरेलको नयाँ गीत ‘कसरी भनूँ म तिमीलाई’ रिलिज (भिडियो)

    सुगम पोखरेलको नयाँ गीत ‘कसरी भनूँ म तिमीलाई’ रिलिज (भिडियो)

    काठमाडौं । गायक सुगम पोखरेलको ‘मायाको बाटो, भनेकै हुँ मैले, सयौं जन्मजस्ता चर्चित गीतको भिडिया निर्देशन गरेका सुरज शाहको निर्देशनमा गायक पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ।

    ‘कसरी भनूँ तिमीलाई’ बोलको यस गीतमा शब्द तथा संगीत रिकेश गुरुङको छ। गीतको संगीत संयोजन र मिक्सिङ पनि रिकेशले नै गरेका छन्।

    सदिक्षा र अनुराजले अभिनय गरेको भिडियो सम्पादन पनि सुरजले नै गरेका हुन्। यो मेलोडियस गीतको भिडियोमा गायक सुगम पोखरेल र भिडियो निर्देशक सुरज पनि देखिन्छन्।

    दर्जनौं म्युजिक भिडियो निर्देशन गरेका सुरज उदेश श्रेष्ठको किन मायामा, रीजा उप्रेतीको अँगालोमा बाँध न, सिजन्स ब्यान्डको ‘सुनेको कुरा’ जस्ता गीत चर्चित छन् । आठ वर्षदेखि अमेरिका बस्दै आएका सुरजले पुनः म्युजिक भिडियो निर्देशनमा सक्रियता बढाउने जानकारी दिए।

    हेर्नूस गीत :

  • ‘घुमाउरो बाटो’ मा परदेशिएका नेपालीको पीडा (भिडियो)

    ‘घुमाउरो बाटो’ मा परदेशिएका नेपालीको पीडा (भिडियो)

    काठमाडौं । गायक विवेक लुईंटेल आफ्नो नयाँ गीत ‘घुमाउरो बाटो’ लिएर दर्शकमाझ आएका छन् । दुई दिनअघि उनले यूट्युवमा अपलोड गरेको गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

    विवेकले यसअघि ‘घोप्टेभिर’ गीतबाट चर्चा कमाएका थिए । घुमाउरो बाटो पनि रुचाइएपछि उनी उत्साहित छन् । उनले भने, ‘अब अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ, भविष्यमा पनि यो लय छाड्दिन ।’

    गीतलाई नेपाली लोकभाकामा ढालेर त्यसलाई सन्देशमूलक पनि बनाउने विवेकको प्रयास छ । उनका अनुसार ‘घुमाउरो बाटो’ गीतमा रोजगारीका लागि परदेशिएका नेपालीले भोग्नुपरेका दुःख, पीडा र वेदनाहरू छन् । नेपालमा बसेर उनीहरूलाई पर्खिरहेका आफन्तहरूको छट्पटी छ ।

    म्युजिक भिडियोमा विप्लव कँडेल, आशिका उप्रेती, आरती सापकोटा, रोशन ढकाललगायत कलाकारले अभिनय गरेका छन् । बाबा हन्टर (सिजन कार्की) को निर्देशन रहेको भिडियोलाई प्रतीम कार्कीले खिचेका छन् । सृजना केसीको नृत्य निर्देशन रहेको छ । भिडियो प्रतीम प्रोडक्सनले तयार पारेको हो ।

    प्रफुल्ल केसीले रचना गरेको गीतमा संगीत संयोजन भने शैलेन्द्रमोहन प्रधानले गरेका छन् ।

  • ‘कुटुमा कुटु’ गीतद्वारा युट्युवमा १५ करोड भ्यूजको कीर्तिमान, यी हुन सर्वाधिक हेरिएका १० नेपाली गीत

    ‘कुटुमा कुटु’ गीतद्वारा युट्युवमा १५ करोड भ्यूजको कीर्तिमान, यी हुन सर्वाधिक हेरिएका १० नेपाली गीत

    काठमाडौं । नेपाली फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटमा कुटु…’ले भिडियो साझेदारी साइट युट्युवमा सर्वाधिक पटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको छ ।

    मंगलबारसम्म १५ करोडभन्दा बढी पटक यसलाई हेरिएको छ । नेपाली र गैरनेपाली दर्शक तथा श्रोताबीच पनि लोकप्रिय बनेको यो गीतमा राजनराज शिवाकोटीले संगीत भरेका हुन् ।

    दोस्रो स्थानमा टीका प्रसाइँले गाएको ‘माया लुकलुकी’ छ जसलाई १० करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । अहिलेसम्म युट्युवमा १० करोडभन्दा बढी पटक हेरिएका यी दुई गीत हुन् ।

    स्वस्तिमा खड्का, निश्चल बस्नेत र आसिफ शाह फिचर्ड गीत ‘कुटुमा कुटु’ गीतका विदेशी भर्सन पनि रिलिज भएका थिए । टीकटक लगायतका सामाजिक सञ्जालमा हिट बनेको यो गीतमा टन्नै कभर गीत पनि निर्माण भएका थिए ।

    यी हुन् टपटेन गीत (१७ जेठसम्मको तथ्यांक)
    १) कुटुमा कुटु- १५ करोड ८३ हजार ११६
    २) माया लुकुलुकी- १० करोड ६० लाख २६ हजार १८८
    ३) पिरिम नलाउने- ७ करोड ८२ लाख १८ हजार ४०१
    ४) साली मन पर्‍यो- ७ करोड ४० लाख ७९ हजार ६०७
    ५) सालको पात टपरी- ६ करोड ९८ लाख ७ हजार ७६३
    ६) गोजीमा दाम छैन- ६ करोड ९६ लाख ६ हजार १७७
    ७) नाच फिरिरी- ६ करोड ८८ लाख १२ हजार १४९
    ८) माया बिरानी- ६ करोड ५७ लाख ५९ हजार ९९१
    ९) कसरी कसरी २- ६ करोड ३७ लाख ७ हजार ७८०
    १०) फुलबुट्टे सारी- ५ करोड ७० लाख ३९ हजार ८०२