Category: कलाप्रेस

  • पूर्वमिस नेपाल अनुष्का श्रेष्ठद्वारा हेलम्बुमा २५ सय डलर बराबरको स्वास्थ्य सहायता प्रदान

    पूर्वमिस नेपाल अनुष्का श्रेष्ठद्वारा हेलम्बुमा २५ सय डलर बराबरको स्वास्थ्य सहायता प्रदान

    काठमाडौं । कोभिड-१९ महामारीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु गाउँमा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले स्वास्थ्य सहायता प्रदान गरेकी छिन् ।

    उनले सो गाउँमा विश्व सुन्दरी प्रतियोगिताको बेला ब्युटी विथ पर्पस प्रोजेक्ट पनि संचालन गरेकी थिइन् । यसैसाता हेलम्बु पुगेर अनुष्काले गाउँलेलाई एन्टीजेन परीक्षण, पीपीईसहित २५ सय अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गरिन् ।

    गाउँका जनप्रतिनिधिलाई जरुरी अक्सिजन कन्सनट्रेटर समेत प्रदान गर्ने अनुष्काको योजना छ । यसअघि पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पनि स्वास्थ्य सहायता प्रदान गरेकी छिन् ।

  • निषेधाज्ञाले छायांकन स्थगित : आठवटा टिभी सिरियल बन्द, थप सिरियल बन्द हुने क्रममा

    निषेधाज्ञाले छायांकन स्थगित : आठवटा टिभी सिरियल बन्द, थप सिरियल बन्द हुने क्रममा

    काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको मारमा टिभी सिरियल पनि परेका छन् । नियमितरुपमा प्रसारण हुँदै आएका सिरियल बन्द भएकाले यी लोकप्रिय श्रृंखलाको भविष्य कस्तो हुने भन्नेमा अन्यौल छ ।

    सक्गिोनि नामक हाँस्य टेलिश्रृंखला बन्द भएको एक महिना पुगेको छ । निषेधाज्ञा लागु भएको केही सातासम्म पुरानै भागलाई प्रसारण गरिएपनि अब के गर्ने भन्ने अन्यौल छ ।

    निर्देशक कुमार कट्टेल ‘जिग्री’ले निषेधाज्ञा खुला भएपछि पुनः छायांकन गरेर नयाँ एपिसोड ल्याउने तयारी भएको बताए ।

    विष्णु सापकोटाले निर्देशन तथा अभिनय गर्दै आएको टेलिश्रृंखला हर्के हल्दार पनि अहिले बन्द छ । नयाँ एपिसोड खिच्न नमिल्ने भएपछि बन्द गरिएको सापकोटाले जनाए ।

    सिरियल बन्द गरेर सापकोटा अहिले हेटौंडास्थित घरमा पुगेका छन् । निषेधाज्ञा खुलेपछि छायांकन सुरु गरिने उनले जनाए ।

    निषेधाज्ञाको मारमा भद्रगोल, गोलमाल, अति भो, अड्डा, हाम्री झ्याउँकिरी, कुलबहादुर काका पनि स्थगित भएका छन् । अहिले नियमित प्रसारण भैरहेकोमा मेरी बास्सै, हल्का रमाइलो र जुठे छन् । जुठको पनि स्टक सकिएकाले अब के गर्ने भन्ने पिरलो छ ।

  • अभिनेत्री निशाको स्वास्थ्यमा सुधार, उपचारका लागि आर्थिक सहायता पनि जुट्दै

    अभिनेत्री निशाको स्वास्थ्यमा सुधार, उपचारका लागि आर्थिक सहायता पनि जुट्दै

    काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको छ । उपचारका लागि सहयोग गरिरहेको नवजीवनका संस्थापक दुर्गानाथ दाहालका अनुसार भर्ना गरिएको पहिलो दिनमै उनमा सुधार देखिएको हो ।

    जारी तस्विरमा उनको अनुहार ताजा र चम्किलो देखिएको छ ।

    भारतमा तीनवर्षअघि सवारी दुर्घटनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन । उनको उपचारमा परिवारले घरजग्गा पनि बेचेका थिए । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

    उपचार गर्न नसकेपछि उनका बुबाले नवजीवनका संस्थापक अध्यक्ष दाहाललाई खबर गरेका थिए । त्यसपछि दुर्गानाथले निशाको उपचार गर्ने पहल कदमी अगाडि बढाउँदै निशाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

    त्यसपछि नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरीले देखेपछि उनले नर्भिक अस्पतालमा निशुल्क उपचार गरिदिने बताएकी थिइन् ।

    यसैबीच, निशाको उपचारका लागि चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषले ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने जनाएको छ । विभिन्न कलाकार र संघसंस्थाले पनि उपचारार्थ सघाउने जनाएका छन् ।

  • दैलो-दैलो पुगेर सहायता बाँड्दै फिल्म ‘गोर्खा वारियर’ (तस्विरहरु)

    दैलो-दैलो पुगेर सहायता बाँड्दै फिल्म ‘गोर्खा वारियर’ (तस्विरहरु)

    काठमाडौं । फिल्म ‘गोर्खा वारियर’ले कोभिड-१९ महामारीबाट प्रभावित नागरिकलाई स्वास्थ्य, खाद्यान्न तथा आर्थिक सहायता प्रदान गरेको छ ।

    निर्देशक एवं निर्माता मिलन चाम्स र अभिनेता रितेश चाम्सले यसैसाता पूर्वी नेपालका ओखलढुंगा, रामेछाप र दोलखा जिल्ला पुगेर प्रभावित बासिन्दालाई सहायता प्रदान गरे ।

    सय परिवारलाई खाद्यान्न, २५ जनालाई आर्थिक सहयोग र अन्यलाई मास्क, एन्टीजेन किट्, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको निर्देशक चाम्सले नेपाल प्रेसलाई जानकारी दिए ।

    सहायता वितरणमा ओएसआर डिजिटल फाउन्डेसन र टिभी रियालिटी कमेडी च्याम्पियनले पनि हातेमालो गरेका थिए । ‘हामी सँधै नागरिकको सहयोगमा उभिन तयार छौं’ चाम्सले भने, ‘नागरिकलाई कोरोनाको रोकथामबारे अझै सचेत तुल्याउनुपर्ने देखियो ।’

    गतसाता चाम्स नेतृत्वको गोर्खा वारियर टीमले काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री समेत वितरण गरेको थियो । चाँडै सिन्धुपाल्चोक, खोटाङ र गोरखाका प्रभावित नागरिकलाई पनि सहायता प्रदान गरिने चाम्सले जनाए ।

    देशभक्ति भावना पेश गर्ने फिल्म गोर्खा वारियर कोरोनाभाइरस महामारी सामान्य भएपछि छायांकनको कार्यमा अघि बढ्ने तयारीमा छ ।

  • मनीषा अभिनित फिल्म ट्राइबेका फेस्टिभलको प्रतीक्षित सूचीमा

    मनीषा अभिनित फिल्म ट्राइबेका फेस्टिभलको प्रतीक्षित सूचीमा

    काठमाडौं । प्रतिष्ठितमध्येको एक ट्राइबेका फिल्म फेस्टिभल बुधबारदेखि न्यूयोर्कमा सुरु भएको छ । जुन २० सम्म हुने उक्त फेस्टिभल भाइरस महामारीसँगै हुन लागेको हो ।

    भेराइटी म्यागजिनले उक्त फेस्टिभलमा प्रदर्शन हुने फिल्मलाई सूचीकृत गर्दै प्रतीक्षित ११ फिल्मको सूची तयार पारेको छ जसमा मनीषा कोइराला अभिनित फिल्म ‘इन्डिया स्वीट एन्ड स्पाइसिज’ पनि समावेश छ ।

    म्यागजिनले उक्त फिल्मलाई प्रतीक्षित सूचीमा राखेको छ । ट्राइबेकमा प्रिमियर हुने सो फिल्मलाई लिएर अभिनेत्री कोइरालाले खुशि व्यक्त गरेकी छिन् ।

    गीता मलिकले निर्देशन गरेको फिल्मलाई ट्राइबेकामा प्रतीक्षित र महत्वपूर्ण मानिएको छ । फिल्मले एक कलेज युवतीको प्रेमकथा पेश गर्छ ।

  • तीन वर्षपछि निशाको जीवनमा आशाको झिल्को

    तीन वर्षपछि निशाको जीवनमा आशाको झिल्को

    काठमाडौं । तीन वर्षअघिसम्म मोडलिङको चमकदमकपूर्ण संसारमा रमाइरहेकी थिइन् निशा घिमिरे । तर, एउटा अकल्पनीय दुर्घटनाले उनको जीवन तहसनहस बनाइदियो ।

    २०७५ सालमा अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याए ।

    काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखी ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा लगातार थेरापी गरियो थियो ।

    नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी अर्धचेत अवस्थामा घरमै थिइन् । उनको शरीर सुकेर जिर्ण बन्दै गएको छ ।

    उनलाई नजिकबाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालका अनुसार पहिले ६० किलोकी निशा अहिले २० किलो मात्र छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँदी निशा यिनै हुन् भनेर धेरैलाई पत्याउनै मुस्किल पर्छ ।

    यो अवधिमा निशाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान नर्भिक अस्पतालले उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगेको छ । हाल उनको नर्भिकमा उपचार सुरु भएको छ ।

    नवजीवनका सञ्चालक दाहालले निशाको अवस्थाका बारेमा तस्वीरसहित सहयोग अपिल गर्दै पोष्ट गरेका थिए । त्यसमा नर्भिककी प्रवन्ध निर्देशक मेधा चौधरीको आँखा पर्‍यो । उनले चासो राखिन् र उद्दारको पहल गरिन् ।

    ‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेको थिएन,’ दाहालले भने- ‘उहाँका विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउनुभएको हो ।’

    प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।

    नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् ।

    ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला,’ चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहालले भने, ‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्न सक्नेसम्म पनि भयो भने पनि राम्रो हुन्छ ।’

    हाल निशा बोल्न सक्दिनन् । खाना पनि अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्‍यो भने सुन्न सुन्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेस्पोन्स गर्नसक्ने अवस्थामा छैनन् ।

    हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि नर्भिकले उद्दार गरेकोमा छिमेकी र उनका अभिभावकसमेत खुशी छन् ।

    ‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस्,’ निशाका बुबाले भने- ‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’

    उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् ।

    समाजसेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेकी छिन् ।

    निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

    बाँच्लिन् भन्ने आशै थिएन

    प्रेमप्रसाद घिमिरे (निशाका बुबा)

    दुई साल अगाडिको घटना हो । २०७६ सालको पुस १५। १६ गतेको घटना हो । डिप्लोमा पढ्छु भनेर इन्डिया गएकी थिइन् । उसको घटना भैसकेपछि मोबाइल पुलिसले भेटायो । त्यहाँमार्फत हामी पत्ता लगायौं । लगत्तै हामी देहरादुन गयौं । त्यहाँको एक अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । त्यो बेला बाँच्ला भन्ने आशा थिएन । २० दिन त्यहाँ उपचार गरेपछि काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा ल्याएर भर्ना गरियो । बनेपाको स्पाइनलर इन्जुरी अस्पतालमा पनि लग्यौं । त्यहाँ पनि नभएपछि कोठामा ल्याएर राख्यौं । कोभिडको लहर सुरु भएपछि अहिले घरमा ल्यायौं । गाईको दूध बेचेर कमाएको पैसाले जसोतसो उसलाई खुवाएर राखेका छौं ।

  • गायक दीप श्रेष्ठ डिस्चार्ज, चिकित्सक र नर्सले अस्पतालमा गरे फेयरवेल

    गायक दीप श्रेष्ठ डिस्चार्ज, चिकित्सक र नर्सले अस्पतालमा गरे फेयरवेल

    काठमाडौं । बरिष्ठ गायक दीप श्रेष्ठ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेका उनी १६ दिनपछि डिस्चार्ज भएका हुन् । उनलाई अस्पतालका डाक्टर र नर्सले शुभेच्छासहित अस्पतालबाट फेयरवेल गरे ।

    संक्रमण पुष्टि भएको केही दिनपछि अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए । दुई साता आइसीयूमा राखेर उनलाई उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

    अब घरमै बस्न मिल्ने भएपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको उनले जनाए । डिस्चार्ज हुनुअघि उनको पुनः कोरोना परीक्षण गरिएको जनाइएको छ । बरिष्ठ गायक श्रेष्ठ गायन रियालिटी सो भ्वाइस अफ नेपालका निर्णायक मध्येका एक हुन् ।

  • विश्वचर्चित २८ जना सेलेव्रिटीद्वारा गरिब मुलुकमा खोप वितरण गर्न जी-सेभेन देशहरुलाई आग्रह

    विश्वचर्चित २८ जना सेलेव्रिटीद्वारा गरिब मुलुकमा खोप वितरण गर्न जी-सेभेन देशहरुलाई आग्रह

    काठमाडौं । राष्ट्रसंघीय नियोग युनिसेफका २८ जना सद्भावना दूतले जतिसक्दो चाँडो गरिब मुलुकहरुलाई कोभिड-१९ विरुद्धको खोप वितरणका लागि आग्रह गरेका छन् ।

    सात धनी राष्ट्रहरुको समूह जी-सेभेनको शिखर सम्मेलन अघि खुला पत्र लेख्दै उनीहरुले सो आग्रह गरेका हुन् । आग्रह गर्ने दूतहरुमा प्रियंका चोपडा जोनस, डेभिड बेकह्याम, केटी पेरी, ओर्लान्डो ब्लुम, विह्पी गोल्डबर्ग, एन्जेलिको किड्जो र लायम नेसन छन् ।

    कोरोनाको नयाँ भेरिएन्टको फैलावट रोक्नको तत्काल गरिब मुलुकहरुलाई २० प्रतिशत खोप वितरण गर्न खुलापत्रमा भनिएको छ । जी-सेभेनको सम्मेलन बेलायतको कर्नवेलमा सुरु हुँदैछ । यसपटक उक्त सम्मेलनमा कोभिड-१९ महामारी मुख्य मुद्दा बन्दैछ ।

    ‘विश्वले डेढवर्षदेखि भाइरससँग लडिरहेको छ । तर, भाइरस अझैपनि फैलिरहेको छ र म्युटेन्ट पनि भैहरेको छ’ पत्रमा भनिएको छ, ‘यसको अर्थ अझै विद्यालय बन्द हुनु, स्वास्थ्य प्रणाली अवरुद्ध हुनु र ठूलो आर्थिक संकट सिर्जना हुनु हो र जतसुकै परिवार र बालबालिकाको भविष्य जोखिममा पर्नु हो ।’

    अहिले जी-सेभेनका नेताहरुलाई विश्वव्यापी खोप वितरणमा सुनिश्चितता प्रदान गर्न राष्ट्रसंघ लगायतका संस्थाले दबाब दिइरहेका छन् । खोप वितरण नगरेको भन्दै यी मुलुकमाथि चर्को आलोचना पनि भैरहेको छ ।

  • धरहराको बार्दलीमा पुगेर राजेश हमालले काटे जन्मदिन केक

    धरहराको बार्दलीमा पुगेर राजेश हमालले काटे जन्मदिन केक

    काठमाडौं । यसपटकको जन्मदिन अभिनेता राजेश हमालका लागि भिन्न रह्यो । बुधबार हमालले ५७ औं जन्मदिन आफ्नै शैलीमा मनाए ।

    नवनिर्मित धरहराको बार्दलीमा पुगेर हमालले पत्नी मधुसँगै जन्मदिन केक काटे । केही साथीलाई लिएर केक काट्न उनी बार्दलीमा पुगेका थिए । उनले केक काटे र मधुलाई चखाए ।

    बुधबारै हमालले राजधानीको एक सामाजिक संस्थामा पुगेर खाद्यान्नसहितको राहत सामग्री वितरण गरे । यसअघिका जन्मदिन उनले पशुपतिको वृद्धाश्रममा पुगेर मनाउने गर्थे ।

  • पारसकी छोरी पूर्णिका शाहले टीकटकमा भनिन् : मेरा बुबाले नराम्रो मात्र हैन, राम्रो पनि देखाउँछन्

    पारसकी छोरी पूर्णिका शाहले टीकटकमा भनिन् : मेरा बुबाले नराम्रो मात्र हैन, राम्रो पनि देखाउँछन्

    काठमाडौं । पूर्वयुवराज पारस र उनका छोरीहरु टीकटकमा चर्चित छन् । प्रत्येक दिनहरु उनीहरुसँग सम्बन्धित भिडियोहरुमा गफका विषय बन्ने गर्छन् ।

    पारसका फ्यानहरुले उनीबारे बनाएका भिडियोहरु प्रशस्तै छन् । टीकटकमा उनकी छोरी पूर्णिका पनि निकै सक्रिय छिन् । विभिन्न गीत र संवादका टुक्कामा पूर्णिकाले आफूलाई सक्रिय देखाउने गरेकी छिन् ।

    यसैसाता टीकटक लाइभमा पूर्णिकाको भिडियो भने निकै चर्चामा रह्यो । किनभने, उनले आफ्ना पिताको योगदानको बारेमा चर्चा गरेकी छिन् । उनले पहिलोपटक सार्वजनिकरुपमा बुवा पारसबारे यस्तो टिप्पणी गरेकी हुन् ।

    ‘यस्तो गरेको छ कि मेरो बाउले यो देशका लागि’ उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’ उक्त लाइभमा पूर्णिकाले हजुरबा, हजुरआमाबारे पनि बोलेकी छिन् ।

    पूर्णिकाको यस्तो अभिव्यक्तिबारे सामाजिक संजालमा निकै टिप्पणी भैरहेको छ ।

  • स्वास्थ्यमा सुधार आएपछि मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    स्वास्थ्यमा सुधार आएपछि मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । मुटुमा समस्या देखिएपछि गंगालाल अस्पताल भर्ना भएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बुधबार विहान डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार देखिएपछि उनी डिस्चार्ज भएको छोरा यमनले जानकारी दिए ।

    चिकित्सकले एक महिना आराम गर्न मदनकृष्णलाई सल्लाह दिएका छन् । ‘आराम गर्न सल्लाह दिनुभएको छ र पुनः रेगुलर फलोअपका लागि अस्पताल बोलाउनुभएको छ’ यमनले भने ।

    एन्जियोप्लास्टी विधिमार्फत मदनकृष्णको मुटुमा रक्तप्रवाह सजिलो बनाउन दुईवटा स्ट्यान्ड राखिएको छ । गतवर्ष पनि एन्ज्यिोप्लास्टी गरिएका मदनकृष्णलाई दोस्रोपटक गरिएको हो । सो विधिमार्फत नसामा रगत संचार गर्न सजिलो हुने चिकित्सक बताउँछन् ।

    कोरोनाभाइरस संक्रमणपछि उनी यसअघि दुईपटक ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

  • ५७ लागे राजेश हमाल, यस्तो छ फिल्ममा कमब्याक तयारी

    ५७ लागे राजेश हमाल, यस्तो छ फिल्ममा कमब्याक तयारी

    काठमाडौं । अभिनेता राजेश हमाल बुधबारदेखि ५७ वर्ष लागेका छन् । प्रशंसकले बुधबार विहानैदेखि हमाललाई सामाजिक संजालमा जन्मदिनको शुभकामना दिइरहेका छन् ।

    सन् १९६४ मा आजको दिन पाल्पाको तानसेनमा जन्मिएका हमालको पहिलो फिल्म ‘युगदेखि युगसम्म’ थियो । झन्डै तीनसय फिल्ममा अभिनय गरेका हमाललाई उनका प्रशंसक ‘महानायक’ पनि भन्छन् ।

    पछिल्लो समय टेलिभिजन र समाजसेवामा सक्रिय हमाल फिल्म अभिनयमा फर्कने तयारीमा छन् । उनले हालै ‘सत्यम’ फिल्म साइन्ड गरेका छन् र उनीसँग झन्डै १० वटा फिल्म स्क्रिप्ट रहेको बताइन्छ ।

    नयाँ चरित्र र भूमिकासहित आफू अभिनयमा फर्कने तयारीमा रहेको हमाल बताउँछन् । उनी सत्यम लगायतका आफ्ना नयाँ फिल्ममा नितान्त नयाँ भूमिका र चरित्रमा फर्कने तयारीमा छन् ।

    साथै, हमाल कोरोनाभाइरस महामारी सामान्य भए युवाहरुलाई जागरुक तुल्याउन देशव्यापी मोटिभेसनल स्पिकरको रुपमा निस्कने तयारीमा छन् । यसका लागि हमालले व्यक्तिगत तयारी पनि गरिरहेका छन् ।

    फिल्म निर्माण गर्ने भनिएपनि हमालले तत्काल यसबारे आफ्नो कुनै योजना नरहेको बताएका छन् ।

  • स्वास्थ्यमन्त्री तामाङद्वारा जतिसक्दो चाँडो फिल्मकर्मीलाई खोप लगाउने प्रतिबद्धता

    स्वास्थ्यमन्त्री तामाङद्वारा जतिसक्दो चाँडो फिल्मकर्मीलाई खोप लगाउने प्रतिबद्धता

    काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले फिल्मकर्मीलाई जतिसक्दो चाँडो कोभिड-१९ विरुद्धको खोप लगाउने प्रतिबद्धता जनाएका छन् ।

    बुधबार विहान निवासमा चलचित्र विकास बोर्डका पदाधिकारीको मागपत्र बुझ्दै मन्त्री तामाङले केही सातामै फिल्मकर्मीको लागि खोपको व्यवस्था गर्ने वचन दिएका हुन् ।

    बोर्ड अध्यक्ष दयाराम दाहाल र सदस्य राज कट्वाल ३ हजार जना फिल्मकर्मीलाई कोभिड खोप लगाउनुपर्ने माग गर्दै पत्र बुझाउन मन्त्री निवास पुगेका थिए ।

    कम्तीमा तीनहजार जना फिल्मकर्मीलाई खोप लगाउन सकिए फिल्म गतिविधि सुचारु गर्न सकिने बोर्डको भनाई छ । जवाफमा मन्त्री तामाङले देश विकासमा कलाकर्मीको योगदानको प्रशंसा गर्दै खोपका लागि प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    चिनियाँ खोप भेरोसेलबाटै फिल्मकर्मीलाई खोप लगाउन सकिने संकेत मन्त्रीले उक्त अवसरमा गरेको सदस्य कट्वालले नेपाल प्रेसलाई जानकारी दिए ।

  • मिस वर्ल्डद्वारा महामारीविरुद्ध नेपाललाई सहायता प्रदान, श्रृंखलाले हस्तान्तरण गरिन् रकम

    मिस वर्ल्डद्वारा महामारीविरुद्ध नेपाललाई सहायता प्रदान, श्रृंखलाले हस्तान्तरण गरिन् रकम

    काठमाडौं । नेपालको कोरोना महामारीविरुद्ध विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)ले सहायता उपलब्ध गराएको छ ।

    मिस वर्ल्डको तर्फबाट पूर्वमिस नेपाल श्रृंखला खतिवडाले हामी नेपा नामक सामाजिक संस्थालाई मंगलबार २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिन् ।

    नेपाल भ्रमणमा आएको बेला मिस वल्र्ड अध्यक्ष जुलिया मोर्लेले प्रदान गरेको २० हजार अमेरिकी डलर मध्येबाटै उक्त रकम प्रदान गरिएको मिस वर्ल्डद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    प्रदान गरिएको उक्त रकम अक्सिजन कन्सनट्रेटर र अक्सिजन सिलिन्डर खरिदका लागि प्रदान गरिएको समेत जनाइएको छ । अध्यक्ष मोर्लेले उपलब्ध गराएको रकम स्टकमा रहेपछि श्रृंखलाले महामारीविरुद्ध उक्त रकम प्रदान गर्न आग्रह गरेकी थिइन् ।

    ब्युटी अफ पर्पस विधाको लागि मिस वर्ल्डले यसअघि श्रृंखलालाई उक्त रकम प्रदान गरेको थियो ।

  • राजनीतिक दबाबमा हटाइएको पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ युट्युवमा फर्कियो

    राजनीतिक दबाबमा हटाइएको पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ युट्युवमा फर्कियो

    काठमाडौं । पशुपति शर्माले गाएको चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ पुनः युट्युवमा फर्किएको छ । दुईवर्षअघि युट्युवमा प्रिमियर भएको यो गीत राजनीतिक दबाबकै कारण शर्माले युट्युवबाट हटाएका थिए ।

    यसैसाता उनले आफ्नो युट्युव च्यानलमार्फत उक्त गीत पुनः सार्वजनिक गरेका छन् । त्यतिबेला गीत सार्वजनिक भएपछि सत्तामा रहेको दल नेकपा समर्थक र नेताले सामाजिक संजालमा चर्को आलोचना गर्दै विरोध जनाएपछि गीत हटाएका थिए ।

    सो गीतमा वाइडबडीको भ्रष्टाचारीमाथि कार्वाही नभएको, सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, अरबौंको हेलिकोप्टर राष्ट्रपतिलाई किनिएको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउनेजस्ता कुराहरु उल्लेख गरिएको छ ।

    हेर्नूस गीत :

  • महामारी प्रभावित फिल्म क्षेत्रको पुनरुत्थानका लागि जोड, बजेटमा नीतिगत अस्पष्टता हटाउन आग्रह

    महामारी प्रभावित फिल्म क्षेत्रको पुनरुत्थानका लागि जोड, बजेटमा नीतिगत अस्पष्टता हटाउन आग्रह

    काठमाडौं । विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ ।

    सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी : नेपाली चलचित्र’ क्षेत्र विषयक छलफल कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सन् २००८ देखि डिजिटल प्रविधिमा गएपछि चलचित्र उद्योग राम्रो चल्न थालेकामा भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता कारणले धरासायी अवस्थामा पुगेको बताए ।

    भूकम्पपछि गति लिँदै गएको चलचित्र उद्योगमा कोरोनाका कारण एक वर्षमा एक अर्ब रुपैयाँभन्दा बढी घाटा लागेको उनको भनाइ थियो । चलचित्र उद्योगमा कार्यरत हजारौँ मानिस बेरोजगार भई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ हुन थालेको चलचित्र निर्माताको गुनासो छ । बन्दाबन्दीअघि तयार भएका धेरै चलचित्र भए पनि प्रदर्शन हुन पाएका छैनन् ।

    आगामी आर्थिक वर्षको बजेटमा चलचित्र उद्योगसम्बन्धी नीतिगत स्पष्टता नआएकाले त्यसलाई सच्याउनसमेत माग गरिएको छ । चलचित्र क्षेत्र पुनरुत्थान हुने कार्यक्रम बजेटमार्फत आउनुपर्ने निर्माताहरूको माग छ । नेपाल आफैँमा फिल्मसिटी भए पनि एउटा स्टुडियो आवश्यक रहेको उनको भनाइ छ ।

    मोसन पिक्चर्स एशोसिएशनका अध्यक्ष मधुसुदन प्रधानले ऐतिहासिक पुरुष, संस्कृतिका विषयमा चलचित्र बनाउन अनुसन्धानात्मक कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

    नेपालका जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाका विषयमा चलचित्र निर्माण शुरु भए पनि पूरा नभएको, वीर गणेशमान चलचित्रमा गणेशमान सिंहलाई न्याय नभएको उनको भनाइ थियो ।

    हाल अमेरिकामा रहेका निर्देशक एवं लेखक अनिश कोइरालाले चलचित्र बनाउन धेरै दस्तावेज जुटाएर अनुसन्धान गरेर अघि बढेमात्र सफल हुने गरेको सुनाए । कार्यक्रममा चलचित्र निर्देशक महासङ्घका अध्यक्ष रक्षासिंह राणा, समालोचक सामीप्य तिमल्सिनालगायतले महिलालाई चलचित्रमा टिक्न अप्ठ्यारो हुने गरेको भन्दै कोरोना महामारीको कारण पलायन हुन लागेको बताए ।

    फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले नेपाललाई चिनाउन सक्ने चलचित्र बनाइनुपर्नेमा जोड दिँदै बिपी, पुष्पलाल, सत्यमोहन जोशी, माधवप्रसाद घिमिरेजस्ता ऐतिहासिक व्यक्तित्वका विषयमा चलचित्र बनाउन आवश्यकता रहेकामा जोड दिए ।

    कोरोनाअघि देशभर करिब ३०० चलचित्र घर चल्ने गरेकामा गत वर्षको बन्दाबन्दीपछि केही समय खुलेका बेला ८० चलचित्र घर पनि चल्न नसकेको निर्माताहरुको भनाइ छ ।

  • मदनकृष्ण फेरि अस्पताल भर्ना, मुटुको एन्जियोप्लास्टी गरियो

    मदनकृष्ण फेरि अस्पताल भर्ना, मुटुको एन्जियोप्लास्टी गरियो

    काठमाडौं । कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरिरहेका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ मुटुमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना भएका छन् ।

    उनलाई हिजो बाँसवारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दियो ।

    मुटुको एन्जियोप्लास्टीपछि हाल श्रेष्ठको अवस्था सुधारोन्मुख रहेको छ । अहिले आइसीयूबाट डिलक्स रुममा सारिएको अस्पतालले जनाएको छ । उनको गत वर्ष पनि एन्जियोप्लास्टी गरी स्ट्यान्ड राखिएको थियो ।

    कोरोना संक्रमण भएर मेडिसिटी अस्पतालमा उपचार गराएका श्रेष्ठ गत साता मात्रै घर फर्केका थिए । उनले आफू स्वस्थ बनेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।

  • वर्षा शिवाकोटीको गुनासो : दुखद् घटनामा यूट्युवरले चर्तिकला देखाए

    वर्षा शिवाकोटीको गुनासो : दुखद् घटनामा यूट्युवरले चर्तिकला देखाए

    काठमाडौं । नायिका वर्षा शिवाकोटीले चितवनमा एक महिलाको शंकाष्पद मृत्यु प्रकरणमा युट्यूवरहरुले चर्तिकला देखाएको टिप्पणी गरेको छिन् । न्याय दिने निकाय छिटो एक्सनमा नउत्रिँदा कारुणिक घटनाहरुलाई युट्युवरले मसला बनाएको उनको भनाइ छ ।

    चितवनकी सविता भण्डारीको केही दिनअघि शंकाष्पद मृत्यु भएको थियो । मृत्युपछि सविताका संवेदनशील भिडियोहरु युट्युव र टीकटकमा भाइरल भएका छन । वर्षाले राज्यको न्याय प्रशासनभन्दा युटयूबरहरुको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु भएका टिप्पणी गरेकी छन् ।

    ‘अझ रमाइलोका हिसाबले टीकटकमा लिपसिंकको होडबाजी छ । घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं । सक्छौं भने सबै मिलेर राज्यलाई दवाव सिर्जना गरौं ।’

  • प्रदेश १ सरकारलाई फिल्मकर्मीको १२ बुँदे मागपत्र : बजेटमा सम्बोधन गर्न माग

    प्रदेश १ सरकारलाई फिल्मकर्मीको १२ बुँदे मागपत्र : बजेटमा सम्बोधन गर्न माग

    काठमाडौं । नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ ले प्रदेश सरकारलाई १२ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रदेशमा नेपाल फिल्मको प्रवर्द्धन गर्दै फिल्म नगरीको रुपमा विकास गर्न विभिन्न माग सहित चलचित्रकर्मी संघले ज्ञापान पत्र बुझाएको हो ।

    सङ्घका अध्यक्ष केवल तामाङले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री उषाकला राई र आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ्ग (लिम्बु)लाई सम्बन्धित मन्त्रालयमै पुगेर ज्ञापन पत्र बुझाएका हुन ।

    ज्ञापन पत्रमा प्रदेश सरकारले आगामी बजेटमा चलचित्र उद्योगका लागि समेट्नु पर्ने कामका बारेमा ध्यानाकर्षण गराएको बताइएको छ । सङ्घका अध्यक्ष केवल तामाङ र सचिव रमेश तिवारीद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा राष्ट्रिय चलचित्र नीति कार्यान्वयन गरिनु पर्ने, चलचित्र विकास बोर्ड र प्रदेश सरकारको समन्वयमा बराह क्षेत्र नगरपालिकामा निर्माण हुन लागेको प्रदेश नम्बर १ को चलचित्र छायाङ्कन स्थललाई उचित बजेट विनियोजन गरी प्राथमिकताका साथ काम अघि बढाउनु पर्ने माग गरिएको छ ।

    साथै, अत्याधुनिक तथा पूर्ण वैज्ञानिक पद्धतिमा निर्माण भएको बक्सअफिस लागु गरिनुपर्ने, न्यून शुल्कमा प्रयोग गर्न सकिने गरी राज्यले नै सर्भरसाथै कोडिङ प्रणालीको निर्माण गर्दै चलचित्र निर्माताको संरक्षण गरिनु पर्ने माग पनि छ ।

    कोरोना महामारीको कारण चलचित्र उद्योग धराशायी हुन गएकोले कम्तीमा ३ वर्षसम्म नेपाली चलचित्रमा लाग्ने कर छुट गर्ने व्यवस्था गरिनु पर्ने, प्रदेश नम्बर १ मा रहेका उचित पर्यटकीय स्थलहरूको पहिचान गरी प्राकृतिक चलचित्र स्टुडियोको रुपमा विकास गर्न यथाशीघ्र बजेट विनियोजन गरिनु पर्ने, निजी क्षेत्र तथा तथा सरकारको संयुक्त लगानीमा आवश्यक स्थानमा फिल्म हल निर्माण र प्रवर्द्धन गरिनु पर्ने, विदेशी चलचित्रको हकमा बढीमा २० वटा मात्र देखाउन सकिने कोटा प्रणालीको व्यवस्था गरिनु पर्ने माग पनि छ ।

    विदेशी चलचित्रलाई कम्तीमा २५ प्रतिशत कर लगाई स्वदेशी चलचित्रलाई प्रोत्साहन गरिनु पर्ने, नेपाली दूतावास भएको देशमा सांस्कृतिक सहचारी दूत नियुक्त गरी चलचित्र उद्योगको प्रर्वद्वन क्षेत्र विस्तार गरिनु पर्ने माग पनि समेटिएको छ । विभिन्न मातृभाषामा बन्ने चलचित्र निर्माणका लागि उत्कृष्ट कथाको आधारमा प्रोत्साहन गर्न प्रदेश प्रदेश सरकारको तर्फबाट ५० प्रतिशतसम्म लगानी गर्ने व्यवस्था मिलाउनका साथै चलचित्र भवनमा प्रदर्शनका लागि उचित व्यवस्था मिलाउनु पर्ने पनि छ ।

    प्रदेश १ को सबैभन्दा पहिलो फिल्मसँग सम्बन्धित संस्था भएको हिसाबले हामलिे निरन्तर फिल्म क्षेत्रको विकास प्रवर्द्धनको लागि सरकारसँग सहकार्य गरिरहेको अध्यक्ष तामाङले बताएका छन् ।

    सोमबार प्रदेश १ ले बजेट प्रस्तुत गर्दैछ । बजेटमा फिल्म क्षेत्रलाई समेट्ने प्रयास सरकारको छ । चलचित्रकर्मी संघका अध्यक्ष तामाङका अनुसार कार्यालय खोलेर फिल्मकर्मीको लागि निरन्तर काम गर्दै आएको संघले नेपाल फिल्मको प्रवर्द्धनको लागि समेत काम गरिरहेको बताएका छन् । हाल संघले प्रदेश १ भित्र रहेका कलाकारहरुलाई राहत वितरण पनि गरिरहेको छ ।

  • लकडाउनमै प्रकाश सपुतले ल्याए नयाँ गीत ‘प्रार्थना’ (भिडिओसहित)

    लकडाउनमै प्रकाश सपुतले ल्याए नयाँ गीत ‘प्रार्थना’ (भिडिओसहित)

    काठमाडौं । निषेधाज्ञाको समय कलाकारका लागि संगीत सिर्जना गर्ने अवसर पनि बनेको छ । सुरक्षा सावधानी अपनाएरै गायक प्रकाश सपुतले मेलिना राईसँग मिलेर नयाँ गीत ‘प्रार्थना’ इन्टरनेट रिलिज गरेका छन् ।

    अशोक शेरचनको शब्द रहेको गीत प्रकाशकै संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो ।

    गीत निषेधाज्ञाकै समयमा उच्च सुरक्षा सावधानी अपनाएर रेकर्डिङ तथा छायांकन गरिएको सपुतले जनाए । गीतको भिडियो समेत तयार भएको छ । प्रवेश पौडेलको निर्देशनमा तयार भिडियोमा गायक प्रकाश सपूत, गायिका मेलिना राई लगायतको अभिनय छ ।

    कोरोना महामारीबाट बचाउन गरिएको प्रार्थनामा गीत आधारित छ । भाइरस संक्रमणको कारण कसैले ज्यान गुमाउनु नपरोस् भन्ने शब्दसहित गीत बुनिएको छ । मृत्यु र दुःखका खबर सुन्नु नपरोस् भन्ने शुभेच्छसहित गीत रिलिज गरिएको प्रकाशले बताए । प्रकाशले यसअघि पनि मानवीय भावना पोतिएका गीत बनाउने गरेका थिए ।

    गायक सपुतले केही साता अगाडि मेरो पनि होइन र यो देश गीत लन्च गरेका थिए ।