Category: कलाप्रेस

  • यो साता युट्युवमा धेरै हेरिएका दश नेपाली गीत (सूचीसहित)

    यो साता युट्युवमा धेरै हेरिएका दश नेपाली गीत (सूचीसहित)

    काठमाडौं । स्वस्तिमा खड्का र निश्चल बस्नेतको अभिनय रहेको ‘माया बिरानी २ : तातो गोली’ बोलको गीतलाई पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएको छ ।

    यो साता उक्त गीतलाई १६ लाख पटक हेरिएको छ भने यसको कुल भ्यूज संख्या २ करोड २१ लाख पुगेको छ ।

    पल शाह र प्रकृति श्रेष्ठको अभिनयमा रहेको अर्को चर्चित गीत ‘को होला त्यो’ बोलको गीतलाई सर्वाधिक दोस्रो पटक हेरिएको छ । यो सातामा १५ लाख पटक हेरिएको छ भने कुल भ्यूज संख्या २९ लाखभन्दा बढी छ ।

    बीबी अनुरागीको संगीत रहेको गीत ‘धादिङ गजुरी’ युट्युवमा तेस्रो स्थानमा छ । उक्त गीतलाई योे सातामा ९ लाखले हेरेका छन् भने कुल भ्यूज २५ लाख पटक हेरेका छन् । रुटिन अफ नेपाल बन्दले तयार पारेको साप्ताहिक सूचीको पुछारमा घुम्तीमा रेल रहेको छ ।
    हेर्नूस सूची :

  • आमिर खान र पत्नी किरणद्वारा वैवाहिक सम्बन्ध अन्त्यको घोषणा

    आमिर खान र पत्नी किरणद्वारा वैवाहिक सम्बन्ध अन्त्यको घोषणा

    मुम्बई । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरुको वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले १५ वर्षको सम्बन्धलाई आधिकारिकरुपमा टुंग्याएको जनाएका छन् ।

    बलिउडमा निकै उदाहरणीय मानिएको यो जोडीले जीवनको नयाँ अध्यायको सुरुआत भएको समेत बताएका छन् । ‘सम्बन्ध विच्छेद जीवनको अन्त्य होइन, बरु जीवनको नयाँ यात्राको शुभारम्भ हो’ आमिर र किरणले विज्ञप्तिमा भनेका छन् ।

    छोरा आजादलाई मिलेर हुर्काउने र अभिभावकत्व लिने समेत उनीहरुले जनाएका छन् । आमिर र किरण दुबैले आफ्ना प्रशंसकलाई यो कठिन घडीमा साथ दिन समेत भनेका छन् । आफूहरु भविष्यमा पति र पत्नी नभएर को–प्यारेन्ट र व्यवसायिकरुपमा अघि बढ्ने पनि उनीहरुले जनाएका छन् ।

  • फिल्म निर्देशक एवं अभिनेता बिशारद बस्नेतको कोभिड संक्रमणले निधन

    फिल्म निर्देशक एवं अभिनेता बिशारद बस्नेतको कोभिड संक्रमणले निधन

    काठमाडौं । फिल्म निर्देशक एवं अभिनेता विशारद बस्नेतको कोभिड-१९ संक्रमणले निधन भएको छ । शुक्रबार बेलुका ६ बजे उनको निधन भएको पारिवारले जनाएको छ ।

    ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जनाइएको छ । बस्नेतले चार महीनाअघि मात्र बुबा र हजुरआमा पनि कोभिडकै कारण गुमाएका थिए ।

    भारतबाट फिल्म करियर सुरु गरेका विशारद पछिल्लो समय नेपाली फिल्ममा निर्देशन, अभिनय र अध्यापनमा व्यस्त थिए । मिस्टर भर्जिन उनले निर्देशन गरेका थिए । फिल्म यता न उतामा उनको सह निर्देशन थियो ।

    फिल्म २ रुपैयाँमा समेत उनले अभिनय गरेका थिए । उनको निधनको खबरपछि फिल्मकर्मीले स्तब्ध भएको जनाएका छन् । कोरोना महामारी साम्य भएपछि मिस्टर भर्जिनको सिक्वेल बनाउने उनको तयारी थियो । शुक्रबार नै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ।

  • मेलिना र आरसीको ‘ठूल्दाईको फुलमाला’ रिलिज (भिडिओ)

    मेलिना र आरसीको ‘ठूल्दाईको फुलमाला’ रिलिज (भिडिओ)

    काठमाडौं । मेलिना राई र आरसी रिमालको स्वरमा रहेको गीत ‘ठूल्दाईको फुलमाला’ बोलको शुक्रबार इन्टरनेटमा सार्वजनिक भएको छ ।

    उक्त सांगीतिक भिडिओ एमएन टिभी अष्ट्रेलियाको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

    उक्त गीतमा सरोज अधिकारी, आस्मा विश्वकर्मा, शिशिर भण्डारी, रीता कट्टेल र किन्जल रसाइलीको अभिनय छ ।

    गीतमा दीपक सिलवालले संगीत भरेका छन् । शब्द पनि उनकै छ । म्युजिक भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् ।
    हेर्नूस गीत :

  • अन्तरीक्षमा फिल्म सुटिङको होड : टम क्रुजपछि रुसी अभिनेत्रीले गरिन् छायांकन घोषणा

    अन्तरीक्षमा फिल्म सुटिङको होड : टम क्रुजपछि रुसी अभिनेत्रीले गरिन् छायांकन घोषणा

    मस्को । यस्तो लाग्छ राजनीतिसँगै अन्तरीक्ष क्षेत्रमा पनि अमेरिका र रुसबीच प्रतिस्पर्धा चलिरहेको छ । मिसन इम्पोसिबल स्टार हलिउड अभिनेता टम क्रुजले गतवर्ष आफ्नो आगामी फिल्म अन्तरीक्षमा गर्ने घोषणा गरेका थिए ।

    यस्तोमा रुसी अभिनेत्री युरिया पेरेसिल्ड पनि आफूले अन्तरीक्षमा फिल्म छायांकन गर्ने बताएकी छिन् । उनले आफू प्रतिस्पर्धामा पहिलोभन्दा पनि उत्कृष्ट बन्न चाहेको बताएकी छिन् ।

    ३६ वर्षे अभिनेत्री युलिया निर्देशक क्लिम सिपेँसँग रुसी रकेटमार्फत अन्तरीक्ष प्रस्थान गर्नेछिन् । उक्त रकेटले ५ अक्टोबरमा कजाकिस्तानको बाइकोनुर कस्मोड्रोमबाट प्रक्षेपण गर्नेछ ।

    फिल्मको शीर्षक तय नभएपनि यो फिल्म एक चिकित्सकको कथामा आधारित हुनेछ जो एक अन्तरीक्ष यात्रीको जीवन बचाउन स्पेसमा जान्छ । बजेट नखुलाइएपनि स्पेसमा सुटिङ हुने भएपछि महंगो नै हुने ठानिएको छ ।

    रकेटमा जानुपूर्व अहिले अभिनेत्री युलिया र निर्देशक क्लिमको मेडिकल, स्पेस फ्लाइट सेसन र क्रिएटिभ सेलेक्सन प्रोसेसको सुरुआत भएको छ । अर्कोतर्फ, आगामी फिल्मका लागि टम क्रुजले हलिउड कम्पनी युनिभर्सल पिक्चर्ससँग सहकार्य गर्ने भएका छन् । यसको बजेट १५०० करोड भारु हुने जनाइएको छ ।

  • निषेधाज्ञा खुकुलो भएपछि ‘कमेडी च्याम्पियन’ र ‘सक्किगो नि’ प्रसारण आजदेखि सुरु हुँदै

    निषेधाज्ञा खुकुलो भएपछि ‘कमेडी च्याम्पियन’ र ‘सक्किगो नि’ प्रसारण आजदेखि सुरु हुँदै

    काठमाडौं । निषेधाज्ञाले रोकिएका ‘कमेडी च्याम्पियन सिजन २’ र ‘सक्किगो नि’ आजदेखि पुनः प्रसारण हुने भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर ती टेलिभिजन कार्यक्रम संचालन गर्न लागिएको जनाइएको छ ।

    सामाजिक दूरी पालना गर्दै कमेडी च्याम्पियनलाई निर्माण गरिएको शोका निर्देशक विशाल भण्डारीले जानकारी दिए । कार्यक्रममा सेलेव्रिटी जजको रुपमा करिश्मा मानन्धर र रेखा थापालाई प्रस्तुत गरिएको छ भने नियमित जजको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई ऋचा शर्मा छन् ।

    आइतबारदेखि प्रसारण हुने गरि ९ वटा एपिसोडहरु तयारी अवस्थामा छन् । निषेधाज्ञाले रोकिएका सिरियलहरु ‘हर्के हल्दार’, ‘जुठे’ले नियमित प्रसारण सुरु गरिसकेका छन् ।

    हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ हिमालय टेलिभिजनमा बिहिबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ । बिहीबारदेखि नयाँ कथामा प्रसारण हुने टेलिसिरियलका निर्देशक एवम कलाकार कुमार कट्टेलले जानकारी दिए ।

  • सुपुष्पा र रौनकले गाँसे लगनगाँठो, बधाई दिन गोकर्णमा सेलेव्रिटीको ताँती

    सुपुष्पा र रौनकले गाँसे लगनगाँठो, बधाई दिन गोकर्णमा सेलेव्रिटीको ताँती

    काठमाडौं । अभिनेत्री सुपुष्पा भट्ट र फिल्म निर्माता रौनकविक्रम कँडेलबीच आज विहे भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित वैवाहिक समारोहमा दुईबीच लगनगाँठो कसिएको हो ।

    दुई महिनाअघि इन्गेजमेन्ट गरेको यो जोडी केही समयदेखि प्रेममा थियो । ‘रणवीर’ डेब्यु अभिनेत्री सुपुष्पाले चपली हाइट ३ र छ माया छपक्कैमा अभिनय गरेकी छिन् ।

    रौनकले कबड्डीको पहिलो सिक्वेल र झोले २ फिल्म निर्माण गरेका छन् । गोकर्ण रिसोर्टमा आयोजित वैवाहिक समारोहमा फिल्म क्षेत्रका सेलेव्रिटीसहित उनीहरुका आफन्त सहभागि थिए ।

  • विशिष्ठ श्रेणीका फिल्मकर्मीलाई साउन १ गतेदेखि एकलाखको स्वास्थ्य बीमा

    विशिष्ठ श्रेणीका फिल्मकर्मीलाई साउन १ गतेदेखि एकलाखको स्वास्थ्य बीमा

    काठमाडौं । सरकारले विशिष्ठ श्रेणीका फिल्मकर्मीलाई १ लाखसम्मको स्वास्थ्य बीमा गर्ने भएको छ । साउन १ गतेदेखि लागु हुने गरि उक्त व्यवस्था हुन लागेको चलचित्र विकास बोर्डले जनाएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै बोर्ड अध्यक्ष दयाराम दाहालले आगामी आर्थिक वर्षको सुरुआतसँगै स्वास्थ्य बीमा लागु हुने बताए । सरकारबाट विशिष्ठ श्रेणीको परिचयपत्र लिएकाले यो सुविधा लिन पाउनेछन् ।

    अहिलेसम्म ३८ जनाले सरकारबाट परिचयपत्र लिएपनि थप वितरण हुँदै जाँदा डेढसय सम्म पुग्ने अनुमान छ । ‘उपचारका लागि औषधि खान पैसा नपुग्न सक्छ, राहत होस् भनेर स्वास्थ्य बीमा गर्न लागेका हौं’ दाहालले भने ।

    यसैगरि, चलचित्रकर्मीलाई मरणोपरान्त राष्ट्रिय सम्मान प्रदान गर्ने तयारी समेत भएको छ । बोर्ड अध्यक्ष दाहालका अनुसार कुनै ख्यातीप्राप्त कलाकारको असामयिक निधन भए सरकारले राष्ट्रिय सम्मान प्रदान गर्ने जनाइएको छ । यसको अन्तिम तयारीमा बोर्ड जुटेको उनले जनाए ।

    तस्विर : तत्कालिन संचारमन्त्री शेरधन राई र चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको कार्यकालमा परिचयपत्र वितरण भएको थियो ।

  • कांग्रेसले भन्यो : चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान !

    कांग्रेसले भन्यो : चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान !

    काठमाडौं । राजधानीको एक भित्तामा कोभिड-१९ महामारीविरुद्ध अग्रपंक्तीमा खटिएकाको सम्मानमा कोरिएको चित्र मेटाउने काठमाडौं नगरपालिकाको कदमलाई लिएर चौतर्फी विरोध व्यक्त भएको छ ।

    विपक्षी दलले बिहीबार विज्ञप्ति जारी गर्दै महानगरको उक्त कार्य निन्दनिय रहेको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी वक्तव्यमा फ्रन्टलाइनरको सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको उल्लेख छ ।

    सम्मानमा चित्र बनाइँदा बधाइ नभएर अपमान गरिनु सभ्य र सुसंस्कृति समाजको विरुद्ध भएको समेत कांग्रेसले जनाएको छ ।

    कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले दुई साताअघि सामूहिक चित्र बनाएर काठमाडौंको पर्खालमा पोतेका थिए ।

  • अदालतद्वारा गायिका ब्रिट्नी स्पियर्सको अनुरोध अस्वीकार, उनका बुबा नै उनको संरक्षक कायम रहने

    अदालतद्वारा गायिका ब्रिट्नी स्पियर्सको अनुरोध अस्वीकार, उनका बुबा नै उनको संरक्षक कायम रहने

    न्यूयोर्क । बाबुलाई आफ्नो संरक्षकबाट हटाउनुपर्ने गायिका ब्रिट्नी स्पियर्सको आग्रहलाई अदालतले अस्वीकार गरेको छ । अघिल्लो वर्ष स्पियर्सका वकिलले अमेरिकाको लस–एन्जल्सको एक अदालतमा जेमी स्पियर्सलाई गायिकाको संरक्षकबाट हटाउनुपर्ने रिट दायर गरेका थिए ।

    गतसाता अदालतमा निवेदकको तर्फबाट बयान दिँदै गायिका स्पियर्सले आफूलाई तत्काल बाबुको संरक्षणबाट मुक्त गर्न अदालतलाई आग्रह गरेकी थिइन् । आफूले विहे गर्न चाहेको र बच्चा जन्माउन चाहेको बताउँलै स्पियर्सले बाबुको कारण आफ्ना भविष्य जोखिमपूर्ण भएको बताएकी थिइन् । साथै, स्पियर्सले अदालतलाई आफूलाई लागु औषधि दिइएको, इच्छा विपरीत सांगितिक कार्यक्रम गर्न बाध्य पारिएको र सन्तान जन्माउन नदिएको बताएकी थिइन्। सन् २००८ देखि स्पियर्सका पिताले उनलाई एकल संरक्षकको रुपमा अभिभावकत्वको भूमिका निर्वाह गर्दै आएका छन् ।

    बुधवारको उक्त अदालती निर्णय नोभेम्बरमा गरिएको अनुरोधसँग मात्रै सम्बन्धित छ। न्यायाधीशले जेमी स्पियर्सलाई हटाउन अस्वीकार गरे पनि स्पियर्सले प्रस्ताव गरेको निजी सम्पत्ति व्यवस्थापन कम्पनी बेस्सेमर ट्रस्टलाई सह–संरक्षक बनाउन भने स्वीकृति दिएकी छन्। जेमी स्पियर्सका वकिलहरूले भने अदालतलाई गायिकाको दुर्व्यवहार आरोपको अनुसन्धान गर्न माग गरेका छन्।

    अदालतमा स्पियर्सको बयानपछि विश्व मिडिया र मनोरञ्जन जगत तरंगित बनेको मात्र छैन । अभिभावकत्वको भूमिकाबारे सार्वजनिकरुपमा बहस र टिका टिप्पणी पनि भैरहेको छ ।

  • अस्करमा छानिने फिल्मलाई ८ लाख र कान्सलाई २ लाख अनुदान दिने सरकारको निर्णय (सूचीसहित)

    अस्करमा छानिने फिल्मलाई ८ लाख र कान्सलाई २ लाख अनुदान दिने सरकारको निर्णय (सूचीसहित)

    काठमाडौं । सरकारले विश्व फिल्म फेस्टिभल र अवार्डमा मनोनित हुने फिल्मलाई अनुदान राशीको घोषणा गरेको छ । चलचित्र विकास बोर्डले कार्यविधि जारी गर्दै अस्करसहितका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनौट हुनेलाई ट्राभल ग्रान्ट उपलब्ध गराउने घोषणा गरेको छ ।

    बोर्डको २१ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष दयाराम दाहालले कार्यविधि लागु भएको जानकारी दिए । ‘यो कार्यविधिले विदेशी प्लेटफर्ममा नेपाली फिल्मको सहभागितालाई थप प्रोत्साहन गर्छ’ नेपाल प्रेससँग दाहालले भने, ‘यसले फिल्ममेकरलाई पनि सजिलो हुनेछ ।’

    ती फेस्टिभल र अवार्डमा भाग लिन जाने फिल्ममेकरलाई बोर्डले भ्रमण खर्च लगायतमा सहजीकरण पनि गर्ने भएको छ । छोटो र फिचर फिल्मको रुपमा वर्गीकरण गर्दै बोर्डले फेस्टिभल र अवार्डमा मनोनयन भए सोहीअनुसार ग्रान्ट उपलब्ध गराइने घोषणा पनि भएको छ ।

    कार्यविधिअनुसार अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित अथवा विजयी हुने फिचर फिल्मले ८ लाख र छोटो फिल्मले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डेन ग्लोब्समा मनोनित हुने फिचरलाई २ लाख र छोटो फिल्मलाई १ लाख दिने भनिएको छ ।

    कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम फेस्टिभलमा छानिने फिचरले २ लाख ५० हजार ग्रान्ट र छोटो फिल्मले १ लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जनाएको छ । अन्य विभिन्न फेस्टिभलअनुसार पनि ग्रान्ट रकम तोकिएको छ । अर्थ र कानून मन्त्रालयबाट कार्यविधि पास भएसँगै लागु भएको अध्यक्ष दाहालले जानकारी दिए । हेर्नूस सूची :

  • दीपिका र दिवाकरले सुरु गरे सहकारी व्यवसाय, महामारी साम्य भएपछि सुटिङ थाल्ने

    दीपिका र दिवाकरले सुरु गरे सहकारी व्यवसाय, महामारी साम्य भएपछि सुटिङ थाल्ने

    काठमाडौं । कलाकारहरु अभिनयसँगै अन्य पेशामा पनि सक्रिय हुन थालेका छन् । महामारीको कारण कतिपयले वैकल्पिक व्यवसाय पनि अँगाल्न थालेका छन् ।

    यही मेसोमा फिल्म क्षेत्रको जोडी अभिनेत्री दीपिका प्रसाइँ र निर्देशक दिवाकर भट्टराईले वित्तिय सहकारी व्यवसाय थालेका छन् । विहिबार ललितपुर कुमारीपाटीमा सहकारीको आउटलेट शुभारम्भ गरियो ।

    पछिल्लो समय फिल्म ‘तिमीसँगै हुने मन छ’मा व्यस्त दिवाकर र दीपिका महामारी सामान्य भएपछि छायांकनमा जाने तयारीमा छन् । अहिले प्रि-प्रोडक्सन सकिएको उक्त फिल्म छायांकन गर्ने तयारीमा छ ।

    ‘फिल्मसँगै सहकारीको पेशालाई पनि अगाडि बढाउने उद्देश्यले खोलिएको हो’ नेपाल प्रेससँग निर्देशक भट्टराईले भने, ‘अब फिल्म र व्यवसायमा समय मिलाएर अघि बढ्नेछौं ।’

    छायांकन सुरु नभएसम्म दीपिका र दिवाकर उक्त सहकारीमा व्यस्त हुने भएका छन् । दिवाकरको निर्माण एवं निर्देशन हुने उक्त फिल्म छायांकनमा जाने तयारीमा भएको बेला निषेधाज्ञा सुरु भएको थियो ।

  • कलाकारलाई निजी संस्थाबाट उपाधि वितरण : महानायकदेखि रियल हिरोसम्म !

    कलाकारलाई निजी संस्थाबाट उपाधि वितरण : महानायकदेखि रियल हिरोसम्म !

    काठमाडौं । पछिल्लो समय कलाकारलाई निजी क्षेत्रका केही संस्थाले उपाधि दिने चलन बढ्न थालेको छ । मिडिया हुँदै केही संस्थाले महानायक भन्दाभन्दै राजेश हमाल अहिले महानायक कहलिएका छन् ।

    उनी महानायक हुन् वा होइनन् भन्ने कुराको बहस सामाजिक संजालमा पटक-पटक छेडिने गरेको छ । धेरैपटक उनको महानायकत्वबारे सामाजिक संजाल पनि तातेको छ ।

    केही वर्षपहिले चलचित्र प्राविधिक संघले राजेश हमाललाई महानायकको उपाधि दियो । त्यस्तै, हमालकी समकालिन अभिनेत्री करिश्मा मानन्धरलाई पनि उक्त संस्थाले महानायिकाको उपाधि दियो । नेफ्टाले नै मलेसिया अवार्डमा नीर शाहलाई अभिनय शिरोमणी उपाधिबाट सम्मानित गरेको थियो ।

    यसैसाता निजी क्षेत्रको एक संस्था र अभियानले अभिनेता पल शाहलाई रियल हिरो उपाधिसहित सम्मान प्रदान गरेको छ । टेलिभिजन होस्ट प्रकाश सुवेदीले संचालन गरेको रजतपटले पललाई उक्त सम्मान दिएको छ । यसबारे चलचित्र क्षेत्र पनि विभाजित छ । कतिपयले यसलाई सकारात्मकरुपमा लिनुपर्ने पनि बताउँछन् ।

    तर, समीक्षक र आलोचक चाहिँ अभिनयभन्दा कलाकारलाई पदरी गुथाइनु सहि नभएको तर्क गर्छन् । फिल्म निर्देशक नवीन सुब्बा कलाकारलाई पदवी दिइनु शक्तिपूजा बाहेक अन्य नहुने तर्क गर्छन् ।

    सरकारले पनि राष्ट्रपतिमार्फत कलाकारलाई बेला-बेलामा विभूषण र तक्मा प्रदान गर्ने गरेको छ । केही वर्षपहिले वरिष्ठ र अति विशिष्ठ कलाकारभन्दै तत्काल संचारमन्त्री मीनेन्द्र रिजालले वर्गीकरणसहित कलाकारलाई पदवी दिएपछि आलोचना भएको थियो ।

  • प्रियंका र गरिमाको बेबी-बम्प अवतार : हेर्नूस कुन नायिका हट र स्टाइलिस ?

    प्रियंका र गरिमाको बेबी-बम्प अवतार : हेर्नूस कुन नायिका हट र स्टाइलिस ?

    काठमाडौं । पछिल्लो समय नायिकाबीच गर्भास्थालाई लिएर सेलिव्रेसन गर्ने ट्रेन्ड बढ्न थालेको छ । केही वर्षदेखि नायिकाले बेबी-बम्पका तस्विर सामाजिक संजालमा सेयर गर्न थालेका छन् ।

    उनीहरुको बेबी-बम्प तस्विरलाई लिएर सामाजिक संजालमा निकै चर्चा हुने गरेको छ । बेबी बम्प तस्विरलाई हेर्ने दृष्टिकोणमा समाज अझै विभाजित हुने गरेपनि यो चलन अहिले सामान्य बन्दै जान थालेको छ ।

    जस्तै, गत महिना प्रियंका कार्कीका केही तस्विर निकै भाइरल रहे । नायिकाले बेबी-बम्प फेसन पनि अनुशरण गर्न थालेका छन् । बुधबार पनि प्रियंकाले नयाँ तस्विर सेयर गर्दै लेखेकी छिन् – मेरो अहिलेको फेसन स्टाइल । मलाई लाग्छ, म अझै फिट छु ।’

    अभिनेत्री गरिमा पन्त पनि अहिले गर्भवती छिन् । अहिले युरोपमा रहेकी गरिमाले पनि सामुन्द्रीक किनारमा खिचाएका बेबी बम्पका स्टाइलिस फोटो सेयर गर्ने गरेकी छिन् ।

    नायिकाको यस्तो प्रवृत्तिलाई कतिले सकारात्मक भन्ने गरेका छन् भने कतिपयले सामाजिक मर्यादा पालना नगरको रुपमा । यद्यपी, समाज उदार बन्दै जाँदा फेसन पनि उदार हुँदै जानु नौलो होइन ।

  • निषेधाज्ञा खुकुलिएसँगै सिरियल र म्युजिक भिडिओ छायांकन सुरु, रोकिएको ‘जुठे’ आजदेखि प्रसारण हुँदै

    निषेधाज्ञा खुकुलिएसँगै सिरियल र म्युजिक भिडिओ छायांकन सुरु, रोकिएको ‘जुठे’ आजदेखि प्रसारण हुँदै

    काठमाडौं । निषेधाज्ञाले रोकिएका टेलिफिल्म र म्युजिक भिडियो छायांकन पुनः सुचारु हुने थालेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै निर्माताहरुले छायांकनको योजना बनाइरहेका छन् । बुधबारदेखि लोकप्रिय टेलिसिरियल जुठे प्रसारण हुँदैछ ।

    निषेधाज्ञाले छायांकन रोकिएपछि दुई साता सिरियलको प्रसारण रोकिएको थियो । टेलिसिरियल लेखक, निर्देशक एवं कलाकार मरिचमान श्रेष्ठका अनुसार अबदेखि नियमितरुपमा सिरियल प्रसारण हुन्छ ।

    यो सिरियलको छायांकन पोखराको माछापुच्छ्रे गाउँपालिकामा हुँदै आएको छ । गाउँमा छायांकन गर्नुपर्ने भएकाले एकैपटक अन्य एपिसोडको पनि छायणंकन गर्ने गरिएको उनले जनाए । उनका अनुसार अहिले एकैपटक ६ भाग छायांकन हुँदैछ ।

    ‘हिमालय टेलिभिजनबाट बुधबार बेलुकी ८ बजे प्रसारण हुँदै आएको सिरियलको आज १४ औं एपिसोड प्रसारण हुँदैछ । सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, युनिश ढुंगाना लगायतले अभिनय गर्दै आएका छन् ।

    मरिचमानले भने, ‘सबैको सल्लाह र सुझावलाई मध्यनजर गर्दै ‘जुठे’लाई थप परिस्कृत गर्दै लैजाने छौं ।’ सिरियललाई राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्दै आएका छन् भने रविन भट्टले सम्पादन गर्ने गर्छन् ।

    साथै, रोकिएका म्युजिक भिडियो छायांकनका गतिविधि पनि सुचारु हुन थालेका छन् । म्युजिक भिडियो निर्देशक सुव्रत आचार्यले निषेधाज्ञा खुकुलिएसँगै आफूहरु पुनः छायांकनमा जान लागेको बताए । सामाजिक दूरी कायम र सानो समूहमा छायांकनको कार्य गर्ने उनको भनाई छ ।

  • निषेधाज्ञा खुकुलो भएसँगै फिल्म ‘तिम्रो मेरो साथ’को डबिङ सुरु : साम्राज्ञी र पुष्प डबिङमा व्यस्त

    निषेधाज्ञा खुकुलो भएसँगै फिल्म ‘तिम्रो मेरो साथ’को डबिङ सुरु : साम्राज्ञी र पुष्प डबिङमा व्यस्त

    काठमाडौं । निषेधाज्ञा खुकुलो भएपछि फिल्मका गतिविधि हुन थालेका छन् । सामाजिक दूरीका नियम पालना गर्दै फिल्मकर्मीले काम अघि बढाएका छन् । जस्तो, फिल्म तिम्रो मेरो साथले राजधानीमा डबिङ सुरुआत गरेको छ । रेड स्टुडियोमा अहिले कलाकारद्धय साम्राज्ञी शाह र पुष्प खड्का स्वरांकन गर्दैछन् ।

    रमेश एम के पौडेलको निर्माण तथा निर्देशन रहेको यो फिल्मका लेखक तथा कार्यकारी निर्मातामा सवीर श्रेष्ठ छन् भने छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछाने हुन ।

    यो फिल्म नेपालभन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशहरूबाट प्रदर्शनमा आउने छ भने महामारी सामान्य भएको अवस्थामा नेपालमा दशैँ र तिहारको बीचको समयमा रिलिज गरिने जानकारी दिइएको छ ।

  • एफ-नाइन फिल्मद्वारा महामारीयताकै सर्वाधिक कमाइको हलिउड रेकर्ड

    एफ-नाइन फिल्मद्वारा महामारीयताकै सर्वाधिक कमाइको हलिउड रेकर्ड

    लस एन्जल्स । हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं श्रृंखला ‘एफ-९’ले कोरोनाभाइरस महामारीयताकै सर्वाधिक कमाइको रेकर्ड राखेको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार फिल्मले पहिलो सप्ताहन्त उत्तर अमेरिकी बक्सअफिसमा ७० मिलियन डलरको ओपनिङ गर्‍यो ।

    सन् २०१९ को डिसेम्बर १९ मा प्रदर्शन भएको ‘स्टार वार्स : द राइज अफ स्काइवाकर’ रिलिजयता एफ-९ ले उक्त कमाइ गर्न सकेको हो । भीन डिजेल स्टारर यो फिल्मको यो कमाइलाई महामारीकै बीचमा हलिउड र सिनेमा घरको विजयको रुपमा हेरिएको छ ।

    सन् २०१९ मा रिलिज भएको प्रिक्वेल ‘हब्स एन्ड स’को पहिलो सप्ताहन्तको ६० मिलियन डलर कमाइलाई समेत सजिलै एफ-९ ले उछिन्यो । तर, सन् २०१७ को ‘फेट अफ दी फ्युरियस’को ९८.८ मिलियन डलरको कमाइलाई पनि यसले छुन सकेन ।

    महामारीले थलिएको बक्सअफिसमा लयमा फर्कँदै गर्दा हासिल भएको यो कमाइलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ । आइतबारसम्म जस्टिन लिन निर्देशित यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा ४०५ मिलियन डलर कमाइ गरेको छ ।

    २२५ मिलियन डलरमा निर्माण भएको एफ-९ ले अझै ६०० मिलियन डलरभन्दा बढीको आँकडालाई पार गर्ने अनुमान गरिएको छ ।

  • आकाश र पूजाबीच ‘दरार’, पूजा भन्छिन् : लाग्छ मेरो मित्रता एकोहोरो थियो

    आकाश र पूजाबीच ‘दरार’, पूजा भन्छिन् : लाग्छ मेरो मित्रता एकोहोरो थियो

    काठमाडौं । फिल्मी पर्दामा पछिल्लो समय रुचाइएका जोडी हुन् पूजा शर्मा र आकाश श्रेष्ठ । यी दुईको केमेस्ट्री र सम्बन्ध पर्दाबाहिर पनि उत्तिकै चर्चित छ । यी दुईले विहे गर्न लागेको गाइँगुइँ पनि चलेको थियो ।

    सम्हालिन्छ कहिले मन, पोइ पर्‍यो काले, सम्झना बिर्सजाजस्ता फिल्ममा सँगै काम गरेपछि उनीहरुको निकटता रियल लाइफमा पनि उत्तिकै हुन थाल्यो । तर, यी दुईले प्रेम सम्बन्धलाई सार्वजनिकरुपमा कहिल्यै खुलाएनन् ।

    झगडा परेमा उनीहरु केही हप्ता बोलचाल बन्द गर्थे । मन शान्त भएपछि पुनः बोलचाल सुरु हुन्थ्यो । ‘यो मित्रताको कहिल्यै अन्त्य हुँदैन’ उनीहरुले धेरैपटक मिडियासँग भनेका छन् ।

    तर, बोली खस्न नपाउँदै यो जोडीको सम्बन्धमा दरार सिर्जना भएको छ । सम्बन्धमा पूर्णविराम भन्न त नमिल्ला तर, पछिल्लो परिस्थिती हेर्दा यी दुईजनाको सम्बन्धमा पक्कै खाडल सिर्जना भएको छ ।

    कारण हुन् भिजे प्रकाश सुवेदी । टेलिभिजनमा फिल्मी कार्यक्रम होस्ट गर्ने सुवेदी र पूजाबीच यसअघि एक अन्तर्वार्तालाई लिएर मनमुटाव छ । गतसाता राजधानीको एक बाल आश्रममा सुवेदीले संचालन गरेको अभियानमा खाना लिएर आकाश सहभागि भएका थिए ।

    अभिनेता सुलेमान शंकर इकुले संचालन गरेको बाल आश्रममा गतसाता आकाशले खाद्यान्न सहयोग वितरण गरे । उक्त कुरा मिडियामा आएपछि पूजालाई झसंग भइन् । पत्रकार ऋषि धमलासँगको हालैको एक अन्तर्वार्तामा पूजाले भनेकी छिन्, ‘फोटो देखेपछि जसरी म विवादको बेला तर्सिएको थिएँ, त्यसैगरि तर्सिएको थिएँ । मलाई त्यो घटनाले नै टर्चर भएको थियो । एकसाथ धेरै फिल्म र म्युजिक भिडियोमा काम गरेकाले म उसँग नजिक छु । तर, हामीबीच कहिल्यै प्रेम सम्बन्ध थिएन । तर आकाशले त्यो पनि नसोचेको देखेपछि मेरो मित्रता एकतर्फी रहेछ भन्ने महसुस भयो । उसँग व्यवसायिक सम्बन्ध मात्र रहेछ । दर्शकले हाम्रो जोडी चाहिँ मनपराउनुभएको हो । तर, आकाशसँग लभ गर्छु र विहे गर्छु भनेर कहिल्यै सोचिन ।’

    यो घटनापछि के आकाश र पूजाबीच व्यक्तिगत सम्बन्धमा पूर्णविराम लागेको हो ? यसबारे अहिल्यै भन्नु हतारो हुनेछ किनभने यसअघि पटक-पटक झगडा भएपनि उनीहरु पुनः मिलेका छन् ।

  • दीपाश्री र स्वस्तिमाले रोपे धान (तस्वीरहरु)

    दीपाश्री र स्वस्तिमाले रोपे धान (तस्वीरहरु)

    काठमाडौं । आज असार १५ गते मुलुकभर धान दिवस मनाइँदैछ । कृषिप्रधान मुलुकको रुपमा धान दिवसको विशेष महत्व छ । फिल्म र म्युजिक भिडिओको पर्दामा समेत धान रोपाइँलाई चित्रण गर्ने गरिएको छ ।

    मनसुन सुरु भएसँगै किसानलाई रोपाइको चटारो छ । काठमाडौं उपत्यकासहित अन्य भूभागमा रोपाइँ सुरु भएको छ । सेलेव्रिटी पनि यो बेला फुर्सदमा छन् ।

    धान दिवसको अवसरमा काठमाडौंमा अभिनेत्रीद्धय दीपाश्री निरौला र स्वस्तिम खड्काले धान रोपेका छन् । फेसन डिजाइनर सुरविन बान्तवा र स्वस्तिमासँग दीपाश्रीले धान रोपेकी छिन् । उनीहरुले हिलोमा पसेर बाउँसो पनि लगाए ।

    दीपाश्रीले फेसबुकमा लेखेकी छिन्, ‘मेरो लालाहरुसँग खेतमा मस्ती । यो पो हो हाम्रो दोस्ती । राष्ट्रिय धान दिवसको शुभकामना । अन्य कलाकारले समेत धान दिवसको अवसरमा शुभकामना दिएका छन् ।

  • बरिष्ठ गायक मणिकरत्नलाई अजर अमर सम्मान प्रदान

    बरिष्ठ गायक मणिकरत्नलाई अजर अमर सम्मान प्रदान

    काठमाडौं । नेपाली सुगम र पाश्र्वगायनका बरिष्ठ गायक एवं संगीतकार मणिकरत्न स्थापित नेपाल संगीतकार संघले प्रदान गर्ने अजर अमर सम्मानबाट सम्मानित भएका छन् ।

    पछिल्लो समय अस्वस्थ भएका गायक स्थापितलाई संघका संरक्षक शम्भुजित बाँस्कोटा लगायतले उनको निवास ललितपुर खुमलटार पुगेर सम्मान प्रदान गरेका हुन् ।

    सम्मानको राशी एकलाख ११ सय ११ रुपैयाँ रहेको छ । महामारी साम्य भएपछि कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरिने भएको छ ।