Category: कलाप्रेस

  • महामारीपछि मार्भलको पहिलो फिल्म रिलिज, सुपरहिरोइन ‘ब्ल्याक विडो’ हलमा

    महामारीपछि मार्भलको पहिलो फिल्म रिलिज, सुपरहिरोइन ‘ब्ल्याक विडो’ हलमा

    न्यूयोर्क । कोरोनाभाइरस महामारीपछि पहिलोपटक हलिउड स्टुडियो मार्भलले आफ्नो पहिलो फिल्म रिलिज गरेको छ । दुईवर्षअघि बक्सअफिसमा पैसा छाप्ने मार्भलले महामारीको कारण कुनैपनि फिल्म रिलिज गर्न सकेको थिएन ।

    केही समयको ब्रेकपछि मार्भलले यो शुक्रबार उत्तर अमेरिकामा सुपरहिरोइन फिल्म ब्ल्याक विडो प्रदर्शनमा ल्याएको छ । के मार्भलले महामारी अगाडिजस्तै बक्सअफिस सफलता प्राप्त गर्नेछ भनेर हलिउडले चासोपूर्वक हेरिरहेको छ ।

    ‘निकै व्यग्रताको साथ फिल्म रिलिज हुँदैछ । सिंगो हलिउडकै लागि यो एउटा महत्वपूर्ण क्षण हो’ पप-कल्चरका विज्ञ केन्डल फिल्पसले भने, ‘मुख्य प्रश्न- के मार्भलले पुनः सफलता हासिल गर्न सक्ला ?’

    स्कारलेट जोहान्सन स्टारर फिल्ममा उनलाई रुसी जासुसबाट सुपरहिरो नतासा रोमनअफमा रुपान्तरित एक पात्रको भूमिकामा देख्न सकिन्छ । सन् २०२३ सम्म मार्भलले १२ वटा फिल्मको पाइपलाइन घोषणा गरेको जसअन्तर्गत पहिलो रिलिज ब्ल्याक विडो हो ।

    मार्भल यस्तो परिस्थितीमा सिनेमा घरमा पुनरागमन गरेको जतिबेला फिल्म हेर्ने दर्शकको भोक अनिश्चित बनेको छ ।

  • रजतपटले चरित्रहत्या गरेको भन्दै गरिमा शर्मा रुँदै आइन् लाइभ !

    रजतपटले चरित्रहत्या गरेको भन्दै गरिमा शर्मा रुँदै आइन् लाइभ !

    काठमाडौं । उदयीमान मोडल गरिमा शर्मा केही समयअघि गायक दुर्गेश थापासँग टीकटक लाइभमा आइन् । लाइभमा यी दुईबीच भएको कुराकानीको एउटा टुक्रा सामाजिक सञ्जालमा भाइरल बनाइयो ।

    भाइरल भएको क्लीपमा दुर्गेश र गरिमाको संवाद सुन्दा उनीहरुबीचको लामो प्रेम सम्वन्ध भर्खरै टुटेको छनक मिल्छ । यसले धेरै दर्शकलाई आश्चर्यमा पारिरहेको थियो, किनकी दुर्गेश एक विवाहित पुरुष हुन् । उनीहरु प्रेम सम्वन्धमा रहेको चर्चा कहिल्यै थिएन ।

    यसैबीच घटनाले नयाँ मोड लियो, जब विवादास्पद टेलिभिजन कार्यक्रम रजतपटले यो भिडियो क्लीपलाई ‘समाचार’ नै बनाइदियो । उक्त संवादको वास्तविकता नखोजिकन विवाहित पुरुषसँग प्रेम सम्वन्धमा रहेको भनेर गरिमामाथि रजतपटले लान्छना लगाएको छ । कार्यक्रम प्रस्तोता प्रकाश सुबेदीले ‘बिनाशकाले विपरित बुद्धि’ भनेर टिप्पणीसमेत गरेका छन् ।

    रजतपट कार्यक्रममा यसरी ‘रिपोर्ट’ प्रकाशित भएपछि गरिमा आक्रोशित बनेकी छन् । भ्रामक समाचार प्रशारण गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै उनी हिजो राति टिकटकमा रुँदै लाइभ आइन् । उनले रजतपट कार्यक्रम र प्रस्तोताविरुद्ध कानूनी कारवाहीमा जाने चेतावनी पनि दिएकी छन् ।

    भएको के हो ?

    दुर्गेश र गरिमाले टीकटक लाइभमा आएर उरन्ठेउलो हर्कत गरेका थिए । दुर्गेशले आफूहरु भर्खरै ब्रेकअप भएका प्रेमीप्रेमीकाको रुपमा अभिनय गर्ने प्रस्ताव गरिमालाई राखे र गरिमाले पनि स्वीकारिन् । अभिनयका नाममा दुर्गेशले गरिमालाई तथानाम गाली गरेका थिए । टिकटकबाटै उदाएकी गरिमाले यो फुटेज टीकटकमा सजिलै दुरुपयोग हुन सक्छ भन्ने हेक्का गरिनन् ।

    नभन्दै अगाडिको पृष्ठभूमि हटाएर उनीहरुले ‘एक्स लभर्स’ का रुपमा गरेको संवादको फुटेज टिकटकमा भाइरल भयो । यही फुटेज हेरेर प्रकाश सुबेदीले रिपोर्ट बनाए । टिकटकमा आएको १५ सेकेन्डको भिडियोलाई मात्रै आधार बनाएर यसरी राष्ट्रिय टेलिभिजनमा समाचार प्रशारण गर्नु हास्यास्पद मात्र नभइ आपत्तिजनक समेत थियो ।

    विगतमा पनि पटक–पटक नायिकाहरुको चरित्रहत्या गरेको आरोप प्रकाश सुबेदीले खेप्दै आएका थिए । केही समयअघि मात्रै नायिका शिल्पा पोखरेलको चरित्रहत्या गरेको आरोपमा एपीवान टेलिभिजनले उनको कार्यक्रमलाई निलम्बन गरिदिएको थियो । तर, अझै पनि उनले सुध्रिने संकेत देखाएका छैनन् ।

    गरिमाले सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूले सत्यतत्य जानकारी गराउँदा गराउँदै पनि बदनियतपूर्वक समाचार बजाइएको गुनासो गरेकी छन् । न्यायका निम्ति सम्वन्धित निकायसँग पुग्न बाध्य भएको भन्दै उनले दर्शकलाई भ्रममा नपर्न अनुरोध गरेकी छन् ।

    तर यो घटनामा दर्शकले दुर्गेश र गरिमामाथि पनि गाली वर्षाइरहेका छन् । टिकटक लाइभमा आएर रमाइलो गर्ने नाममा उछृंखल क्रियाकलाप गर्दा उनीहरु आफैं फस्न पुगेको कतिपयको टिप्पणी छ ।

    उनीहरुको गल्ति आफ्नो ठाउँमा होला । तर, कुनै आधिकारिकता बिनाको भ्रामक रिपोर्ट प्रशारण गर्दा ‘चिप्ल्याउने अंकल’ का रुपमा चिनिएका प्रकाश सुबेदी फेरि एकपटक आफैं चिप्लिएका छन् ।

    @garimasharma_official

    THANK YOU EVERYONE FOR THIS BEAUTIFUL GIFT 😊 विशेष tHANK YOU AP1 TV , I OWE YOU FOR THIS EPISODE 🙏 ##JUSTICENEEDED

    ♬ original sound – गरिमा

  • एकवर्षदेखि डिप्रेसनमा थिइन् जेनी

    एकवर्षदेखि डिप्रेसनमा थिइन् जेनी

    काठमाडौं । प्रहरीले नायिका जेनी कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरका इन्सपेक्टर प्रहरी निरिक्षक केशर न्यौपानेले नेपाल प्रेसलाइ जानकारी दिए ।

    घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

    काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा रहेकी ४६ वर्षिया जेनीका श्रीमान, एक छोरा र एक छोरी छिन् । उनलाई नजिकबाट जान्नेहरु उनी पछिल्लो समय मानसिक समस्याबाट संघर्ष गरिरहेको बताउँछन् ।

    १८ वर्षदेखि जेनीकी साथी रहेकी फिल्म निर्देशक सुचित्रा श्रेष्ठले दुई साताअघि जेनीलाई भेट्दा उनी डराएको जस्तो महसुस गर्ने मनस्थितीमा थिइन् । ‘कसैले वाच गरेजस्तो गर्ने, डराएको जस्तो गर्ने, एक किसिमको डिप्रेसन मैले उसमा पाएको थिएँ’ सुचित्रा भन्छिन्, ‘तर, ऊ यस्तो निर्णय गर्ने मान्छे चाहिँ होइन । समस्यालाई पुरा गरेर अघि बढ्ने कुरा उसले मलाई गरेकी थिइन ।’

    फिल्ममा नायिकाको प्रस्ताव आउन छाडेपछि उनले आफ्नै लगानीमा फिल्म बनाउने तयारी गरेकी थिइन् । सुरुमा नायिकाको रुपमा खेलेपछि पछिल्लो समय भने उनलाई अफर आउन छाडेको र आफैले फिल्म बनाउने योजना बनाएको सुचित्रा सम्झिन्छिन् । उनीसँगको भेटमा जेनीले चाँडै एक वेब सिरिज बनाउने योजना बनाएको बताएकी थिइन् ।

    पशुपतिका सम्पदा संरक्षणको कुरा उठाउँदा जेनीलाई प्रहरीले हिरासतमा पनि राखेको थियो । तर, उनी चलचित्रकर्मीको रोहवरमा रिहा भइन् । यही विषयमा प्रहरीसँग पनि उनको लफडा परेको थियो । ‘उसको माग सहि थियो तर, शैली गलत । ऊ त्यतिबेला केही उग्र बनेकी थिइ’ सुचित्रा स्मरण गर्छिन् ।

    काठमाडौं बानेश्वरस्थित ४ आनामा बनेको घर उनकै नाममा थियो र लकडाउनमा उनले उक्त घर निःशुल्क बस्नको लागि उपलब्ध गराएकी थिइन् ।

  • नायिका जेनी कुँवरले गरिन् आत्महत्या

    नायिका जेनी कुँवरले गरिन् आत्महत्या

    काठमाडौं । फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव साेही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ । 

    ‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो ।

    पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् । 

    आत्महत्याको कारण डिप्रेसन : प्रहरी

    प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए ।

    घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

    प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।

  • कोरोना निको भएपछि दीप श्रेष्ठ भ्वाइस अफ नेपालको छायांकन सेटमा फर्किए

    कोरोना निको भएपछि दीप श्रेष्ठ भ्वाइस अफ नेपालको छायांकन सेटमा फर्किए

    काठमाडौं । कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरेका बरिष्ठ गायक दीप श्रेष्ठ टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचको रुपमा छायांकन सेटमा फर्किएका छन् । उनी उपचारका क्रममा दुई साता अस्पतालमा रहँदा उनको ठाउँमा राजेशपायल राई कोचको रुपमा आएका थिए ।

    तर, अब कोरोनाबाट निको भएपछि श्रेष्ठ सेटमा फर्किएको यो शोका निर्देशक लक्ष्मण पौडेलले बताए । उनले भने-‘दीप सर द भ्वाइसको सेटमा फर्किसक्नु भएको छ । अब, शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका निर्वाह गरेको देख्न पाउनेछन् ।’

    सोमा अहिले अन्तिम १२ का प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् । दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरुको भविष्य निर्भर हुनेछ ।

  • वर्षा र राजको खुलेको प्रेम, निकट भविष्यमै विहेको योजना !

    वर्षा र राजको खुलेको प्रेम, निकट भविष्यमै विहेको योजना !

    काठमाडौं । मायानगरीमा धेरैले लुकीछिपी प्रेम गरे पनि, मायालाई चाहिँ लुकाउन सकेका छैनन् । माया लुकाएर लुक्ने चीज पनि होइन । बरु, जति माया लुकाउन खोज्यो, उति फैलिँदै जान्छ ।

    अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता राज कट्वालको हकमा यो सिद्धान्त लागु हुन्छ । केही महीनायता यो जोडी डेटिङमा छ । विभिन्न गेट–टुगेदरदेखि समारोहमा राज र वर्षालाई सँगै देख्न पाइन्छ ।

    यो जोडीले खुलेर पे्रम सम्बन्ध स्वीकारेको पनि छैन । तर, प्रेमलाई बताउन शब्द भन्दा व्यवहार नै पर्याप्त हुन्छ । बिहीबार वर्षाले आफ्नो इन्स्टाग्राम स्टोरीमा राजसँग एउटा रोमान्टिक तस्विर पोस्ट गरेकी छिन् जहाँ दुबैजनाले मुस्कान छरेका छन् ।

    राज र वर्षाले निकट भविष्यमा विहेको योजना पनि बनाएका छन् ।

  • हृतिक र दीपिका स्टारर ‘फाइटर’ घोषणा, बलिउडमा पहिलो एरियल एक्सन फ्रेन्चाइज बन्ने

    हृतिक र दीपिका स्टारर ‘फाइटर’ घोषणा, बलिउडमा पहिलो एरियल एक्सन फ्रेन्चाइज बन्ने

    मुम्बई । निर्देशक सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’मा हृतिक रोशन र दीपिका पादुकोणले जोडी बाँध्ने भएका छन् ।

    भारतीय फिल्ममा पहिलोपटक आकाशमा द्वन्द्वको दृश्य छायांकन समावेश गरिने जनाइएको छ । एरियल एक्सन फ्रेन्चाइजको रुपमा यसलाई निर्माण गरिने निर्देशक आनन्दले जनाएका छन् ।

    सिद्धार्थले यसअघि हृतिक र टाइगर श्राफलाई लिएर फिल्म वार निर्देशन गरेका थिए । हृतिकको जन्मदिनमा यसवर्ष फिल्मको घोषणा गरिएको थियो । दीपिका पनि समावेश हुने भएपछि यो प्रोजेक्ट प्रतीक्षित बनेको छ ।

    भायकम-१८ स्टुडियोले निर्माण गर्ने फिल्ममा आधुनिक प्रविधिको प्रयोग हुने र विश्वका विभिन्न स्थानमा छायांकन गरिने जनाइएको छ । सन् २०२२ को सुरुआतमा फिल्म छायांकनमा जाने तयारीमा छ ।

  • निषेधाज्ञा खुकुलो भएपछि खोप लगाउन मुम्बई पुगिन् अदिती !

    निषेधाज्ञा खुकुलो भएपछि खोप लगाउन मुम्बई पुगिन् अदिती !

    काठमाडौं । नेपालमा खोप अभियान सुस्त बनेपछि कतिपय व्यक्ति अन्य मुलुकमा पुग्न थालेका छन् । आफ्नो समूहका लागि खोप लगाउन नेपालमा ढिलाइ हुने देखेपछि सेलेव्रिटी पनि दोस्रो मुलुक धाउन थालेको देखिएको छ ।

    काठमाडौंको निषेधाज्ञा खुकुलो बनेपछि अभिनेत्री अदिती बुढाथोकी मुम्बई फर्किएकी छिन् । जहाँ उनले बुधबार कोभिड–१९ विरुद्धको खोप लगाइन् । कोरोना महामारीको कारण फिल्म बाबरीको सुटिङ रोकिएपछि अदिती खोप लगाउन मुम्बई हानिएकी हुन् ।

    मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पताल पुगेर अदितीले कोभिसिल्ड खोप लगाएकी हुन् । आफूले पहिलो डोज खोप लगाएको उनले जनाएकी छिन् । उनले भारतीय खोप अभियानको प्रशंसा समेत गरेकी छिन् ।

    फिल्म क्रृ बाट नेपाली फिल्ममा डेब्यु गरेकी अदिती स्टारर बाबरी १० दिन छायांकन भएर रोकिएको थियो । उनी लामो समयदेखि मुम्बईमा रहेर मोडलिङ र अभिनयमा सक्रिय छिन् ।

  • युुसूफ खान कसरी बने दिलिप कुमार : जान्नूस रोचक किस्सा

    युुसूफ खान कसरी बने दिलिप कुमार : जान्नूस रोचक किस्सा

    मुम्बई । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको आज ९८ वर्षको उमेरमा निधन भएको छ । ट्रेजेडी किङको रुपमा परिचित दिलिप कुमारको निधनसँगै उनीसँग जोडिएका केही किस्सालाई उनका फ्यानले भुल्न सक्नेछैनन् ।

    यस्तै एउटा किस्सा उनको नामसँग जोडिएको छ । दिलिपको जन्म ११ डिसेम्बर, १९२२ मा तत्कालिन ब्रिटिस इन्डियाको पेशावर (अहिलेको पाकिस्तान)मा भएको थियो ।

    उनका मातापिताले उनको नाम युसूफ खान राखेका थिए । सन् १९४४ मा रिलिज भएको फिल्म ‘ज्वाराभाटा’मा फिल्मकी पहिली स्टार देविका रानीले युसूफ खानको नाम दिलिप कुमार राखेकी थिइन् ।

    नाम बदल्नेबारे उनले आफ्नो किस्सा दिलिप कुमार : द सब्सटेन्स एन्ड द स्याडोमा उल्लेख गरेका छन् । उनले नाम बदल्नुको कारण भने निकै रोचक छ जुन सुनेर तपाईं मुस्कुराउन सक्नुहुन्छ । अवश्य पनि, पिटाइको डरको कारण उनले नाम बदलेका थिए ।

    एक इन्टरभ्यूमा दिलिपकुमारले यसबारे गजबको किस्सा सुनाएका छन् । आफ्नो वास्तविक नाम राखेर अभिनयमा आउँदा आफ्ना बुवाले पिट्न सक्ने भएकाले उनले नाम फेरेर दिलिप कुमार राखेको बताएका छन् । आफ्ना प्रशंसकले आफूलाई युसूफ खान, दिलिप कुमार र बासुदेव राख्न भनिएपनि आफूले मन परेर दिलिप कुमार राखेको उनले जनाए ।

  • मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १९ प्रतिस्पर्धी घोषणा (सूचीसहित)

    मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १९ प्रतिस्पर्धी घोषणा (सूचीसहित)

    काठमाडौं । मिस नेपाल नर्थ अमेरिकाको उत्कृष्ट १९ जनाको अन्तिम सूची सार्वजनिक भएको छ । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र श्रृंखला खतिवडा लगायतको जुरीले नाम तय गरेको हो । आगामी अगस्ट ७ मा ग्रान्ड फिनाली हुने जनाइएको छ ।

    टप १९ प्रतिस्पर्धीको नाम यस्तो छ :
    एलिना राई -जर्जिया
    एलिसा गुरुङ- न्यूयोर्क
    चाँदनी लामा- नेभाडा
    डीना केसी- न्यूयोर्क
    फियोना शेर्पा- न्यूयोर्क
    गरिमा ज्ञवाली- न्यूयोर्क
    जेनी रावत- न्यूयोर्क
    मुना नेपाली- न्यूयोर्क
    नग्मा गुरुङ- मेरिल्यान्ड
    निमिका थापा- न्यूयोर्क
    पूजा खड्का- न्यूयोर्क
    रोशिका गजमेर- पेन्सिलभेनिया
    शेलिसा नेपाल- कोलोराडो
    सोनी हुमागाइँ- टेक्सस
    सिर्जना लामा- न्यूयोर्क
    शुभेच्छा निरौला- टेक्सस
    सुप्रिया फुयाँल- क्यानडा
    ऊर्जा केसी- टेक्सस
    याङछेन लामा- न्यूयोर्क

  • जन्मदिनमा रक्षाले सार्वजनिक गरिन छोरीसँगको तस्विर, दुई महीनापछि आमा बनेको खबर बाहिरियो

    जन्मदिनमा रक्षाले सार्वजनिक गरिन छोरीसँगको तस्विर, दुई महीनापछि आमा बनेको खबर बाहिरियो

    काठमाडौं । बीचमा कतै गायब थिइन् उनी । तर, यसपटक उनी एउटा सरप्राइज लिएर दर्शकसामु सार्वजनिक भएकी छिन् । उनी अर्थात अभिनेत्री रक्षा श्रेष्ठ ।

    आज जन्मदिन मनाउँदै गरेकी रक्षाले एउटा सरप्राइज खबर बहिर ल्याएकी छिन् । उनका प्रशंसकका लागि यो एउटा ठूलै खबर हुनुपर्छ । दुई महीना अघि जन्माएकी छोरीसँगको तस्विर उनले सामाजिक संजालमा सार्वजनिक गरेकी छन् ।

    छोरीको नाम राखेकी छिन् : माहिरा गुरुङ । यो सरप्राइज आएलगत्तै उनलाई बधाइ दिनेको ओइरो लागेको छ । बधाइको दिनेको भीडमा उनीसँग अनस्क्रिन केमेस्ट्री मिल्ने जिग्री ब्रो अर्थात कुमार कट्टेल समेत छन् ।

    बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आफू आमाको खबरलाई गोप्य राखेकी थिइन् । बुधबार आफ्नो जन्मदिन पनि परेको र छोरी पनि दुई महीना पुगेकाले सार्वजनिक गरेको उनले जनाएकी छिन् ।

    मिडियामा आफूबारेका भ्रामक खबर आउन थालेपछि सत्यतथ्यका लागि छोरीको नामसहित बाहिर ल्याएको जनाएकी छिन् । कोभिडको कारण उनले जन्मदिन घरपरिवारसँगै मनाउन लागेकी छिन् । भद्रगोलसँगै रक्षाले अर्को सिरियल सक्किगो निमा अभिनय गरेकी छिन् ।

  • विश्वकै ठूलो फिल्म फेस्टिभल कान्स सुरु, मास्कबिनै स्टारहरु रेडकार्पेटमा (तस्विरहरु)

    विश्वकै ठूलो फिल्म फेस्टिभल कान्स सुरु, मास्कबिनै स्टारहरु रेडकार्पेटमा (तस्विरहरु)

    पेरिस । कोरोनाभाइरस महामारीकै बीच विश्वकै ठूलो फिल्म फेस्टिभल कान्स आजदेखि फ्रान्समा सुरु भएको छ । मास्कबिनै स्टारहरुले रेडकार्पेट नापे र महामारीले थलिएको विश्व फिल्मलाई लयमा फर्काउने सन्देश दिए ।

    ग्ल्यामर पहिरन र फोटोग्राफरहरुको भीडभाडसँगै सुरु भएको कान्सको माहौल यसपटक भिन्न देखियो । लियोस काक्र्स निर्देशित फिल्म ‘एनेट्टे’ प्रिमियरका लागि रेडकार्पेट आयोजना गरिएको थियो ।

    अभिनेता एडम ड्राइभर र मारियन कोर्टिलार्ड प्रिमियरमा उपस्थित रहे । एक सेलेव्रिटी जोडीको उत्थान र पतनको कथा भन्ने यो फिल्ममा हलिउड अभिनेता ड्राइभरले मुख्य भूमिका निर्वाह गरेका छन् । हलिउड निर्देशक स्पाइक ली यसपटक कान्सको मुख्य निर्णायक रहेका छन् । जुलाई १७ मा निर्णायकले विजेता फिल्महरुको सूची सार्वजनिक गर्ने भएका छन् ।

  • भारतीय अभिनेता दिलिप कुमारको निधन

    भारतीय अभिनेता दिलिप कुमारको निधन

    एजेन्सी । हिन्दी सिनेमाका चर्चित अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

    बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे अन्तिम स्वास लिएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

    पछिल्लो समय उनी गम्भीर विरामी थिए । एक महिनाको बीचमा उनलाई दुईपल्ट अस्पताल भर्ना गर्नुपरेको थियो । दिलिप कुमारको निधनले हिन्दी सिनेमाका एउटा युगको अन्त्य भएको छ । उनको निधनको खवर उनकै ट्वीटर ह्याण्डिलबाट पुष्टि गरिएको थियो ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धीलगायतले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

    हाल पाकिस्तानमा पर्ने पेशावरमा सन् १९२२ डिसेम्बर ११ मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले २२ वर्षको उमेरमा चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनले सन् १९४४ मा रिलिज भएको ज्वारभाटा नामक चलचित्रमा उनले पहिलोपल्ट काम गरेका हुन् ।

    पाँच दशकको चलिचित्र करिअरमा उनले झण्डै पाँच दर्जन चलचित्रमा अभिनय गरे । उनले अभिनय गरेका शहीद, मेला, बाबुल, फुटपाथ, देवदास, मुगल ए आजम, गंगा जमुना लगायतका चलचित्र हिट भएका थिए । उनले सन् १९९८ मा किला नामक चलचित्रमा अभिनय गरेका थिए । त्यो नै उनले अभिनय गरेको अन्तिम चलचित्र हो ।

     

  • हेलिकप्टरबाट हेलम्बु पुगेर राजेश हमालले बाँडे राहत : हेर्नूस तस्बिरहरू

    हेलिकप्टरबाट हेलम्बु पुगेर राजेश हमालले बाँडे राहत : हेर्नूस तस्बिरहरू

    काठमाडौं । अभिनेता राजेश हमालले बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीमा पुगेर राहत वितरण गरेका छन् ।

    सिम्रीक एअरको हेलिकप्टरबाट हेलम्बु पुगेका उनले स्थानीयलाई खानेकुरा तथा लुगाफाटो पनि प्रदान गरे। कतिपयलाइ उनले बिजुली चार्जर उपकरण समेत प्रदान गरे ।

    यस अघि सिन्धुपाल्चोकको मेलम्चीसहित हेलम्बुका बाढी प्रभावितहरुलाई अन्य कलाकारहरुले राहत वितरण गरेका छन् । जसमा श्वेता खड्का, आँचल शर्मा , मिलन चाम्स, पुजा शर्माले प्रभावित स्थलमा पुगेर राहत वितरण गरेका थिए ।

    यसैबिच कलाकारहरुद्धारा संचालित सिन्धु कोषमा झन्डै ५० लाख रकम संकलन भएको छ । कलाकारहरुले सहयोग कोषको स्थापना गरी सहयोग गर्दे आएका छन् ।

    हेर्नुस तस्बिरहरू :

  • महामारीमा पल शाहको ‘हिरोगिरी’- हुन् त उनी रियल हिरो ?

    महामारीमा पल शाहको ‘हिरोगिरी’- हुन् त उनी रियल हिरो ?

    काठमाडौं । कोरोनाभाइरस महामारीको बीचमा नायक पल शाह तीन कारणले ट्रेन्डिङमा छन् । पहिलो– उनी अभिनित म्युजिक भिडिओ ‘को होला त्यो’ यूट्युवको शीर्ष स्थानमा छ । दोस्रो– अक्सिजनका सिलिन्डर र खाना बोकेर उनी सुदूर भूगोलहरुमा पुगिरहेका छन् । तेस्रो– उनले हालै एक टेलिभिजन कार्यक्रमबाट रियल हिरोको उपाधि पाएका छन् ।

    दाङका पूर्णविक्रम शाह काठमाडौंको मायानगरीमा आउँदा कसरी पल शाहमा रुपान्तरण भए र मध्यमवर्गीय समाज किन उनलाई ‘आदर्श’ मान्छ भन्ने जान्न यी तीन ‘ट्रेन्डिङ टपिक’ भित्र पस्नुपर्ने हुन्छ । पलले एकैसाथ रिल, रियल र सेलेव्रिटीहुडको भूमिका निर्वाह गरिरहेका छन् ।

    सन् २०१२ मा सुनिल गिरीद्वारा स्वरबद्ध ‘को होला त्यो’ मेल भर्सनको म्युजिक भिडियोमा डेब्यु गरेका पल अहिलेसम्म आइपुग्दा नेपाली मनोरञ्जन ल्यान्डस्केपमा ठूलो परिवर्तनका साक्षी बने । त्यसयता म्युजिक भिडियो बजारमा उनले आफ्नो निकै ठूलो स्पेस बनाएका छन् । २०७३ सालमा रिलिज भएको विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट उनको फिल्मी करिअर सुरु भयो । केही हिट फिल्ममार्फत उनको स्टारडम थप मजबुत बन्दै थियो ।

    ‘म यस्तो गीत गाउँछुको रोमान्टिक चरित्रदेखि जोनी जेन्टलम्यानको लडाकु चरित्रलाई दर्शकले बिर्सेका छैनन् । तर, कोरोनाका कारण फिल्म क्षेत्र सुनसान बनेपछि फेरि उनी म्युजिक भिडियोमा केन्द्रित छन् । उनका धेरै म्युजिक भिडियोहरु ट्रेन्डिङमा आइरहेका छन् । महामारीपछि पनि व्यस्त हुने थोरै सेलिब्रिटीमा पर्छन् पल ।

    ३० वर्षिय पलको करिअरले बल्ल पालुवा हाल्दैछ । नेपाली फिल्ममा मल्टिप्लेक्स कल्चर विकास भएको र म्युजिक भिडिओमा भिडिओ साझेदारी साइट युट्युवको प्रभुत्व विकास सुरु हुने छेकोमा उदाएका हुन् उनी । महामारी सुरु भएयता उनको चर्चा यतिसम्म चुलिएको छ कि सामाजिक सञ्जालमा सर्वाधिक पछ्याइने सेलेव्रिटीमा उनी पर्छन् । पछिल्लो समय फिल्ममा उनको प्रतिस्पर्धा फिल्ममा अनमोल केसी र प्रदीप खड्कासँग थियो । म्युजिक भिडिओमा भने उनको एकछत्र राज छ । एउटा फिल्म खेलेबापत उनी १५ देखि १८ लाख रुपैयाँ लिन्छन् भने एउटा म्युजिक भिडियोमा ‘फिचर्ड’ गरेको डेढ लाखसम्म ।

    १० वर्षअघि तराई टेलिभिजनको भिजुअल एडिटरबाट काठमाडौंमा जागिर सुरु गरेको ठिटोले कलाकारितामा हासिल गरेको सफलता लोभलाग्दो नै छ । यसका अतिरिक्त उनले आफूलाई समाजसेवामा पनि चिनाउन खोजेका छन् । कोरोना महामारीमाले सबै सेलेव्रिटी फुर्सदिलो बनेको बेला पलले ‘हाम्रो टीम नेपाल’ र पल शाह फाउन्डेसनमार्फत समाजसेवामा सक्रियता देखाएका छन् । यही सक्रियतालाई ध्यानमा राख्दै गत सोमबार रजतपट नामक टेलिभिजन कार्यक्रमले उनलाई ‘रियल हिरो’को उपाधि प्रदान ग¥यो ।

    के ‘रियल हिरो’ नै हुन् ?

    कोरोना महामारी सुरु भएपछि धेरै कलाकार घरमै सुतेर बसे । केही ख्यातिप्राप्त कलाकारहरुको निस्क्रियतालाई लिएर प्रश्न पनि उठ्यो । पल भने सुरुदेखि नै राहत वितरणमा जुर्मुराए ।

    कोरोनाको पहिलो लहरको लकडाउनमा रोजगारी गुमाएका फिल्म प्राविधिकलाई उनले ५ लाख बराबरको खाद्य तथा नगद सहयोग प्रदान गरे । दोस्रो लहरमा समेत उनले विपन्न फिल्म प्राविधिकलाई राहत र खाद्यान्न बाँडिरहेका छन् । काठमाडौंसहित तराईका विभिन्न जिल्ला पुगेर राहत लकडाउन र बाढीले थलिएका नागरिकलाई राहत वितरणमा सक्रिय भए ।

    हाम्रो टीम नेपाल र पल शाह फाउन्डेसन नामक सामाजिक संस्थाबाट उनले खाद्यन्नसहित अक्सिजन सिलिन्डर वितरण गरेका छन् । अक्सिजन सिलिन्डर बोकेर उनी केही साताअघि कर्णालीको कालिकोटस्थित रास्कोट सामुदायिक अस्पताल पुगेका थिए ।

    महामारीमा योगदान दिएको भन्दै गत सोमबार रजतपट टीमले उनलाई रियल हिरोको उपाधिले सम्मान गरेको हो । उनी यो उपाधिका लायक हुन् कि होइनन् भन्ने कोणबाट बहस भइरहेको छ । तर, जुन कार्यक्रमले उनलाई उपाधि दिए, त्यो पछिल्लो समय चलचित्रकर्मीका बीच निकै विवादित छ । रजतपट कार्यक्रम र यसका प्रस्तोता चलचित्र क्षेत्रमा अलोकप्रिय बनिरहेका छन् । त्यसले यो उपाधिलाई दर्शकले मात्र नभएर चलचित्रकर्मीले नै महत्व दिएका छैनन् । यद्यपि, चलचित्रकर्मीहरु यसबारे खुलेर भने बोल्दैनन् ।

    स्मरणीय के छ भने यही रजतपटले नै यसअघि राजेश हमाललाई ‘महानायक’ उपाधि दिएको थियो । त्यसबेला यो कार्यक्रम खासै विवादमा थिएन । त्यसैले राजेश हमाल महानायककै रुपमा दर्शकमाझ स्थापित भए । पल शाहलाई उपाधि दिनेबेलासम्म आइपुग्दा भने ‘रजतपट’को साख रसातलमा पुगिसकेको छ ।

    चलचित्रकर्मी के भन्छन् ?

    पललाई ‘रियल हिरो’ मान्ने वा नमान्नेबारे चलचित्रकर्मीको मत विभाजित छ । कतिपयले सेलेव्रिटी हुनुको दायित्व उनले महामारीको कालखण्डमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका छन् । कतिपयले अरुबाट उठाएको पैसा बाँडेर अभियन्ता बन्न खोजेको आरोप पनि लगाएका छन् ।

    हालैको एक टेलिभिजन अन्तर्वार्तामा पलसँग कुनैबेला नाम जोडिएकी अभिनेत्री आँचल शर्माले पल रियल हिरो नै भएको बताएकी थिइन् । साथै, उनले राजेश हमालको साटो पल महानायकभन्दा माथि रहेको भन्दै प्रशंसा गरेकी थिइन् । पलले जोखिम उठाएर महामारीमा काम गरेको भन्दै उनले प्रशंसा गुथेकी थिइन् । पललाई रियल हिरोको उपाधि दिने कार्यक्रममा समेत आँचलको उपस्थिती थियो ।

    फिल्म लेखक प्रदीप भारद्धाज अभिनयभन्दा पनि महामारीमा बाहिर निस्किएर समाजसेवामा सक्रिय भएकाले पललाई रियल हिरो भनिएको हुनसक्ने बताउँछन् ।

    ‘आफ्नै बलुबुतामा खटेका हुन् भने उनी रियल हुन् तर, अरु कसैको बलबुतामा सक्रिय भएका हुन् भने उनीमाथि प्रश्न उठाउने ठाउँ हुन्छ’ भारद्धाजले नेपाल प्रेसलाई भने, ‘कतिपयले सेलेव्रिटीले सहयोग गरेर पनि मिडियामा नआएका हुनसक्छन् ।’

    देश दुःखेको बेला मल्हम लगाउने जोसुकै पनि रियल हिरो हुने तर्क गर्दै भारद्धाज महामारीको बेला देखाएको सामाजिक योगदानको कारण उनलाई महामारीपछि पनि करिअरमा फाइदा पुग्ने बताउँछन् ।

    ‘उनको अहिलेको हिरोगिरी महामारीपछि उनको करियरमा लाभदायक हुनेछ’ भारद्धाजको विश्लेषण छ, ‘मान्छेको नजरमा देखिने गरी काम गरेको हुनाले पल हिरो बनेका हुनसक्छन् । उनी एक्टिङभन्दा पनि एक्टिभिज्म कार्यमा हिट भएका हुन् ।’

    पललाई विभिन्न फिल्ममा निर्देशन गरिसकेका निर्देशक सुदर्शन थापा पल रियल हिरोका लागि योग्य भएको दाबी गर्छन् ।

    ‘विरोधका लागि विरोध हुनु राम्रो होइन । तर, जुन इमान्दारितापूर्वक उनले महामारीको समयमा योगदान दिएका छन्, सोहीअनुसार उनी रियल हिरोका लागि योग्य छन्’ थापा भन्छन्, ‘फिल्म खेलेर मात्र भएन, कलाकारले सामाजिक दायित्व निर्वाह गर्न सक्नुपर्छ, जुन दायित्व पलले गरेका छन् । जसले समाजलाई योगदान दिन्छ, उसलाई उपाधि दिइनुलाई अन्यथा लिन मिल्दैन ।’

    समाजसेवामा अझै सक्रिय हुन्छु: पल

    रियल हिरोको उपाधि लिइसकेपछि पलले यसलाई लाइफटाइम अवार्डभन्दा पनि ठूलो सम्मान भएको बताएका छन् । आफू फिल्म करियरसँगै समाजसेवामा पनि उत्तिकै रुपमा सक्रिय हुने उनको प्रतिवद्धता छ ।

    ‘मैले अझै समाजसेवा गर्नुछ । मेरो खुशीको लागि पनि अझै धेरै जनतासँग नजिक हुनुछ । यसकारण यो सम्मान मेरा लागि लाइफटाइम अवार्डभन्दा पनि महत्वपूर्ण कुरा हो,’ उनले भने ।

    समाजसेवा व्यक्तिगत रुचिको कुरा भएकाले कसैले दबाब दिन नमिल्ने र फेसबुकमा फोटो राख्नको लागि समाजसेवा गर्न नहुने तर्क कतिपयको छ । अभिनेता प्रदीप खड्काले चर्चामा आउनैका लागि आफूले समाजसेवा नगर्ने टिप्पणी गत साता फेसबुकमा गरेका थिए । उनको यो टिप्पणीको कतिपयले समर्थन र कतिपयले विरोध गरे ।

    ‘कतिपयले मिडियामा नआएर पनि सहयोग गरेका हुनसक्छन्,’ फिल्म लेखक भारद्धाज भन्छन्, ‘सहयोग गर्ने भन्ने कुुरा नितान्त व्यक्तिगत रुचिको कुरा हो । कसैलाई दबाब दिन मिल्दैन ।’

    पल समाजसेवामा सक्रिय भएपछि उनका प्रतिस्पर्धी मानिने अभिनेताहरु अनमोल केसी र प्रदीप खड्कामाथि पनि पनि मानसिक दवाव परेको छ । महानायक भन्ने गरेका राजेश हमालले पनि महामारीमा कुनै योगदान नदिएको भन्दै विरोध समेत हुने गरेको छ । फिल्म लेखक भारद्धाज सेलेव्रिटी पर्दामा जस्तै सामाजिक रुपमा पनि आदर्शवान बन्नुपर्ने बताउँछन् ।

  • बैंकिङ कसुर मुद्दामा फिल्म निर्देशक एवं निर्माता शिशिर राणा पक्राउ

    बैंकिङ कसुर मुद्दामा फिल्म निर्देशक एवं निर्माता शिशिर राणा पक्राउ

    काठमाडौं । फिल्म निर्देशक एवं निर्माता शिशिर राणा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार उनलाई बिजुलीबजार काठमाडौंबाट पक्राउ गरेको हो ।

    ललितपुरको कुपण्डोलमा बसोबास गर्ने राणालाई यसअघि १० दिन कैद र ४५ लाख जरिवाना हुने ठहर भएपनि फरार भएको भन्दै पक्राउ गरिएको व्यूरोद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

    २०७६ सालमा उनले घरव्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्न ऋण लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिहरुलाई रकम नभएको भन्ने जानी जानी झुक्याकनमा पारी नविल बैंकको चेक दिएको र चेक बाउन्स गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

    हेर्नूस विज्ञप्ति :

  • टीका प्रसाईद्वारा संगीतबद्ध गीत ‘नतोडन’ रिलिज (भिडिओ)

    टीका प्रसाईद्वारा संगीतबद्ध गीत ‘नतोडन’ रिलिज (भिडिओ)

    काठमाडौं । १० करोड भ्यूजवाली गायिका टीका प्रसाईलाई ट्रेन्डिङ थाहा छैन । तरपनि संगीतप्रति उनको सक्रियता उस्तै छ ।

    यही मेसोमा टीकाकै संगीत, शब्द र स्वर रहेको गीत ‘नतोडन’को म्युजिक भिडिओ इन्टरनेट रिलिज भएको छ । ‘मेलोडी’ नामक एल्बममा संग्रहित गीतमा विछोडको पीडा चित्रण गरिएको छ ।

    अनन्त तिमल्सिनाको निर्देशन रहेको भिडिओमा एक साम्पाङ र सम्झना राईले अभिनय गरेका छन् । गायिका टीका स्वयम यसमा फिचर्ड छिन् । वास्तविक कथामा आधारित बताइएको गीतमा वैवाहिक सम्बन्धको अन्त्य हुँदा यसले सन्तानमा पार्ने प्रभाव प्रस्तुत गरिएको छ ।

    टीकाले गाएको ‘म पनि त दिन सक्छु, लुकी लुकी छायाँ’ गीतले युट्युवमा १० करोड ७६ लाख भ्यूजको कीर्तिमान राखेको छ । हेर्नूस टीकाको नयाँ गीत ‘नतोडन’ :

  • डिभोर्सपछि सँगै देखिएका आमिर र किरणले भने : हामी खुशि छौं !

    डिभोर्सपछि सँगै देखिएका आमिर र किरणले भने : हामी खुशि छौं !

    मुम्बई । वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेपछि पनि बलिउड अभिनेता आमिर खान र पत्नी किरण राव सँगै देखिएका छन् । भिडियो लाइभमार्फत उनीहरु एकसाथ प्रस्तुत भएका हुन् ।

    पानी फाउन्डेसनको कार्यक्रममा सँगै भेटिएका उनीहरुले डिभोर्सपछि पनि आफूहरु खुशि भएको बताएका छन् । शनिबार १५ वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याउने घोषणा उनीहरुले गरेका थिए ।

    ‘तपाईंहरुलाई चित्त दुःख होला । कतिपयलाई मन नपरेको पनि होला । तर, हामीहरु खुशि छौं । हाम्रो सम्बन्धमा केही परिवर्तन आएको हो तर, हामी दुई एकसाथ छौं । हाम्रो खुशिको लागि तपाईंहरुले प्रार्थना गर्नूहोस’ आमिरले भिडिओमा भनेका छन् ।

    किरणले भने भविष्यमा पनि आफूहरु मिलेर काम गर्ने बताएकी छिन् । ‘तपाईंहरुलाई आश्वासन दिन चाहन्छौं कि हामी दुईसँगै काम गर्न चाहन्छौं’ किरणले भनेकी छिन् । सन् २००५ मा विहे गरेको यो जोडीले शनिबार वैवाहिक सम्बन्धलाई टुंग्याउने घोषणा गरेको थियो ।

    वक्तव्यमा उनीहरुले आफूहरुको तर्फबाट सन्तानको रुपमा रहेका छोरा आजादलाई समान अभिभावकत्व दिने समेत जनाएका थिए । साथै, उनीहरुले दुई फिल्म र पानी फाउन्डेसनमा पनि मिलेर काम गर्ने उल्लेख गरेका थिए ।

    किरण र आमिरको भेट पहिलोपटक फिल्म लगानको सेटमा भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

  • कुमारी फिल्म हल सधैँको लागि बन्द, ३७ वर्ष इतिहास बोकेको हल बिक्री (तस्बिरहरु)

    कुमारी फिल्म हल सधैँको लागि बन्द, ३७ वर्ष इतिहास बोकेको हल बिक्री (तस्बिरहरु)

    काठमाडौं । ३७ वर्षको इतिहास बोकेको कुमारी फिल्म हल अन्ततः सँधैको लागि बन्द भएको छ । क्यूएफएक्सले सिनेमा घर नै बेचिदिएपछि अब पुनः फिल्म प्रदर्शन नहुने निश्चित भएको हो ।

    शनिबारदेखि कुमारी फिल्म हलभित्रका सबै सामानहरु हटाउन सुरु गरिएको छ । क्यूएफएक्स प्रमुख नकिम उद्दिनले पुनः फिल्म प्रदर्शनको प्रयोजनका लागि हल संचालनमा नआउने बताए । उक्त हललाई अब अन्य प्रयोजनका लागि उपयोग गरिनेछ ।

    कोरोना महामारीपछि नेपालमा फिल्म प्रदर्शनको इतिहास बोकेका जयनेपाल र कुमारी हल बन्द भएका हुन् । जयनेपाल दोस्रो लकडाउनअघि सँधैका लागि बन्द भएको थियो ।

    २०४१ सालमा स्थापना भएको कुमारी फिल्म हलमा पहिलोपटक ‘जय सन्तोषी माता’ फिल्म प्रदर्शन गरिएको थियो । २०६२ सालमा क्यूएफएक्सले संचालनको स्वामित्व लिएको कुमारी निर्मातालाई नाफा दिने हलमध्ये एक थियो ।

    २०३६ सालमा रिलिज भएको फिल्म ‘सिन्दूर’ र ज्याकी श्राफको  फिल्म ‘हिरो’ले उधुम कमाइ गरेका थिए । पछिल्लो पटक हलिउड ब्लकबस्टर ‘एभेन्जर्स : एन्ड गेम’ले उछाल कमाइ गरेको थियो । २०७७ चैत ११ गते लकडाउन भएसँगै कुमारी बन्द भएको थियो ।

    साङ्लो, ब्लडसट र आमा कुमारीमा रिलिज हुने अन्तिम फिल्म बने ।

    क्यूएफएक्सको आउटलेट संख्या १२ पुग्यो

    जयनेपाल र कुमारी हल बन्द भए पनि क्यूएफएक्सले वीरगञ्ज र दमौलीमा थप दुई नयाँ हल स्थापना गरेको छ । महमारी सामान्य भएपछि यी दुई फ्रेन्चाइजलाई संचालनमा ल्याउने तयारी छ ।

    क्यूएफएक्स प्रमुख उद्दिनले अहिले तत्काल नाफा नहुने हललाई बन्द गरेर आफूहरु मोफसलमा फ्रेन्चाइज विस्तारमा लागिपरेको नेपाल प्रेसलाई बताए । सोहीअनुसार वीरगञ्ज र दमौलीमा आउटलेट खुल्न लागेका हुन् ।

  • गुरुङ फिल्महरु अब म्याक्स टिभीमा हेर्न पाइने, साउन १ गते मैंरिमो’ रिलिज हुँदै

    गुरुङ फिल्महरु अब म्याक्स टिभीमा हेर्न पाइने, साउन १ गते मैंरिमो’ रिलिज हुँदै

    काठमाडौं । मेगा म्याक्स टेलिभिजन प्रालि र गुरुङ फिल्म वितरण कम्पनी मुनाल फिल्म्स प्रालिबीच फिल्म प्रदर्शन सम्झौता भएको छ ।

    सम्झौताअनुसार साउन १ गतेदेखि गुरुङ फिल्महरु मेगा म्याक्स टेलिभिजन नेटवर्कको च्यानलमा हेर्न पाइने भएको छ । दर्शकले म्याक्स टिभीको च्यानल नम्बर ७७७ मा फिल्म हेर्न पाउनेछन् ।

    मुनाल फिल्म्स प्रालिका अध्यक्ष भोजबहादुर गुरुङ र टिभीका तर्फबाट कानूनी अधिकृत शम्भुकुमार आचार्यले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । पे-पर-भ्यूको आधारमा दर्शकले फिल्म हेर्न पाउने भएका छन् ।

    साउन १ गते भोजबहादुर गुरुङ निर्देशित फिल्म मैरिमो म्याक्स च्यानलमा प्रदर्शन हुनेछ । कोरोना महामारी अघि फिल्म हलमा रिलिज भएको यो रोमान्टिक ड्रामाले बक्सअफिस सफलता प्राप्त गरेको थियो ।

    ‘मैरिमोको सफलताका आधारमा हामीले अन्य गुरुङ फिल्मलाई पनि प्रदर्शन गर्ने तयारी गरेका छौं’ गुरुङ फिल्म एसोसिएसन (जिफान) अध्यक्ष समेत रहेका भोजले भने, ‘महामारीको समयमा दर्शकसामु फिल्मको पहुँच पुर्‍याउन यो उपयुक्त माध्यम ठानेका छौं ।’

    मुलुकभर मेगा म्याक्स टिभीका पाँचलाख ग्राहक छन् ।