Category: कलाप्रेस

  • अरुणिमाका आरोपबारे पति युवराज श्रेष्ठ भन्छन्- म अहिले बोल्दिनँ

    अरुणिमाका आरोपबारे पति युवराज श्रेष्ठ भन्छन्- म अहिले बोल्दिनँ

    विराटनगर । अमेरिका निवासी अभिनेत्री अरुणिमा लम्सालले नेपालमा आएर श्रीमान युवराज श्रेष्ठविरुद्ध डिभार्सको मुद्दा हाल्नुका साथै मिडियाबाजी पनि गरिरहेकी छन् । युवराजले भने अहिलेसम्म मुख खोलेका छैनन् ।

    गत भदौमा विवाह गरेको यो जोडीबीच केही महिनाभित्रै खटपटको समाचारहरु आएका थिए । तर, दुवै जनाले कुनै प्रतिक्रिया नदिइ बसेका थिए । अहिले भने अरुणिमाले विभिन्न मिडियामा अन्तरवार्ता दिँदै श्रीमानमाथि लान्छना लगाइरहेकी छन् ।

    युवराजले अमेरिका जानका लागि मात्रै आफूसँग विवाह गरेको उनको आरोप छ । यस्तै, आफ्नो पढाइ, पार्टीभित्रको ओहदा, केटी साथी, सम्पत्ति लगायतका कुराहरु ढाँटेको उनले बताएकी छन् ।
    अरुणिमाका आरोपबारे हामीले युवराजको प्रतिक्रिया लिन चाह्यौं, तर उनी बोल्न चाहेनन् ।

    बल्लतल्ल फोन सम्पर्कमा आएका श्रेष्ठले भने, ‘अहिले म केही पनि भन्दिनँ । समय आएपछि मिडियामा आउने नै छु ।’

    तपाईँले डिभोर्स गर्न मान्नु भएन भन्ने उहाँको (अरुणिमाको) आरोप छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘अहिले म केही भन्ने पक्षमा छैन । त्यो बिषय कोर्टमा गएको छ । कोर्टको प्रक्रिया नटुङ्गिकन के भन्नु ?’

    एकतर्फी मात्रै कुरा आएको छ, तपाईंको चाहिँ कुरा के हो ? भन्ने जिज्ञासामा श्रेष्ठले भने, ‘पछि मेरो मात्रै कुरा आउला नि त ।’

    सुनसरीको वराहक्षेत्र घर भएका श्रेष्ठ नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिका उपसभापति हुन् । उनी जिल्लामा सामान्य ठेक्कापट्टाको काम पनि गर्छन् ।

    युवराज र अरुणिमाले छोटो चिनजानका आधारमा काठमाडौंको गौशालास्थित राम मन्दिरमा परम्परागत तवरले विवाह गरेका थिए । विवाहमा सुनसरीबाट श्रेष्ठका केही आफन्तहरू गएका थिए । तर, युवराजले अरुणिमालाई सुनसरीमा रहेको आफ्नो मुलघर भित्र्याउन पाएका थिएनन् । वैशाखमा अरुणिमा नेपाल आउने र बुहारीका रुपमा घर भित्रिने योजना थियो । अरुणिमा नेपाल त आइन्, तर घर भित्रिनुको साटो अदालततिर लागिन् । उनको यो कदमले श्रेष्ठ परिवार स्तब्ध छ ।

    वैवाहिक समारोहमा सहभागी भएका श्रेष्ठको परिवारका एक सदस्यले विवाह भएको दुई दिनपछि नै अरुणिमा अमेरिका गएको बताए ।

    नाताले दाजु पर्ने उनले भने, ‘सम्बन्ध राम्रै छ भन्ने सुनेको थिएँ । अहिले एक्कासी डिभोर्सको कुरा समाचारमा आइरहेको छ । के भएको हो हामीलाई थाहा भएन ।’ ती पारिवारिक सदस्यका अनुसार श्रेष्ठले समेत आफूलाई केही थाहा नभएको बताइरहेका छन् ।

    उनले भने, ‘के भएको हो भनेर युवराजलाई सोध्दा मलाई पनि थाहा छैन भन्ने गरेको छ । हामीलाई झगडा परेको थाहा थिएन ।’

  • डिभोर्सबारे मिडियाबाजीमा व्यस्त अरुणिमा, श्रीमानसँग शारीरिक सम्बन्ध नभएको दाबी

    डिभोर्सबारे मिडियाबाजीमा व्यस्त अरुणिमा, श्रीमानसँग शारीरिक सम्बन्ध नभएको दाबी

    काठमाडौं । अमेरिकाबाट नेपाल आएकी अभिनेत्री अरुणिमा लम्साल अहिले विभिन्न मिडिया हाउसहरू पुगेर अन्तर्वार्ता दिन व्यस्त छिन् । अन्तर्वार्तामा प्रश्नोत्तरको मुख्य विषय भइरहेको छ उनको डिभोर्स ।

    अरुणिमा निकै उत्साहसाथ डिभोर्ससम्बन्धी प्रश्नहरूको जवाफ दिइरहेकी छन् । त्यसमा पनि प्राइम टिभीमा ऋषि धमलासित भएको प्रश्नोत्तर अलि रोचक छ । धमलाले आफ्नै शैलीमा बेतुकका प्रश्नहरू सोधेर अरुणिमालाई हैरान पारेका छन् ।

    अन्तर्वार्तामा अरुणिमाले श्रीमान युवराज श्रेष्ठले आफूलाई विभिन्न कुराहरू ढाँटेर बिहे गरेको बताइन् । त्यसपछि धमलाले बारम्बार सोधिरहन्छन्- उहाँले किन ढाँट्नुभो, जनतालाई बताइदिनुस्, आज तपाईंले बताउनैपर्छ, तपाईं सुन्दर नायिका हो… ।

    अरुणिमाले आफूलाई ढाँटेको विषय र प्रसंग भने कसैगरी खुलाउन चाहिनन् ।

    ‘चार-पाँच वटा कुरा छन्, तर म अहिले भन्दै भन्दिनँ’ उनले गलल हाँस्दै भनिन् ।

    उनले श्रीमानमाथि अमेरिका जानका लागि मात्रै आफूसित बिहे गरेको आरोप लगाइन् ।

    ‘मलाई जीवन साथी बनाउने चाहना उहाँको रहेनछ । खाली मसित बिहे गरेर अमेरिका जाने सोच रहेछ । उहाँको अमेरिका जाने सपना चकनाचुर भयो,’ अरुणिमाले भनिन् ।

    आफूले डिभोर्सका लागि मुद्दा हाले पनि श्रीमान त्यसमा तयार नभएको उनको गुनासो छ । तर, केस फाइल गर्नासाथ आफू सिंगल भइसकेको उनले दाबी गरिन् ।

    ‘कानून अनुसार पनि र धर्मशास्त्र अनुसार पनि महिलाले डिभोर्स केस फाइल गर्नासाथ श्रीमान-श्रीमतीको सम्बन्ध सकिँदो रहेछ । मेरो गोत्र पनि फिर्ता हुँदो रहेछ । उहाँ मेरो पूर्वपति भइसक्नुभयो । उहाँले हस्ताक्षर गर्नुभएन भने पनि एक वर्षपछि स्वतः डिभोर्स हुन्छ,’ उनले भनिन् ।

    धमलाले हचुवामै सोध्छन्- उहाँको अर्को पनि श्रीमती छ भन्ने कुरा तपाईँलाई थाहा थिएन ?

    अरुणिमाले त्यो चाहिँ आफूले नसुनेको बताइन् ।

    धमला फेरि सोध्छन्- उहाँसँगै बस्नुभो, सँगै खानुभो, विवाह गर्नुभो । अनि थाहा छैन भन्न पाइन्छ ?

    अरुणिमा भन्छिन्- म सँगै बसिनँ हजुर । हामी सँगै बस्या छैन ।

    धमलाको अर्को जिज्ञासा- श्रीमानसँग तपाईंको सम्बन्ध भयो कि भएन ?

    अरुणिमाः भएन । उहाँले मलाई मूलघरमा भित्र्याउनुपर्छ भनेर भन्नुभएको थियो । मूलघरमा चाहिँ वैशाखमा मात्रै भित्र्याउने कुरा थियो । हजुर वैशाखमा आउनुस् भन्नुभएको थियो । अहिले चाहिँ उहाँलाई अप्लाइ गर्नुपर्छ भनेर खाली कागजीरूपमा मात्रै विवाह गरिएको हो । सबै रितिरिवाज वैशाखमै गर्ने योजना थियो ।

    धमलाः त्यसो भए जनतालाई बताइदिनुस्, अब अर्को बिहे कहिले गर्नुहुन्छ ? आज तपाईँले बताउनैपर्छ ।

    अरुणिमाः त्यो अहिले सोचेको छैन

    धमलाः तपाईंलाई अब कस्तो केटा चाहिन्छ ?

    अरुणिमाः झूटो नबोल्ने, सच्चा, इमान्दार, मिहिनेति, मलाई बुझ्ने, माया गर्ने, मेरो रेस्पेक्ट गर्ने ।

    विवाह र डिभोर्सको प्रश्नोत्तर हुँदै गर्दा धमलालाई के सुर चढ्छ, फ्याट्ट सोध्छन्- त्यसो भए तपाईं देशमा राजतन्त्र चाहनुहुन्छ कि गणतन्त्र ?

  • कलाकार विराज बाँस्कोटालाई अन्तर्राष्ट्रिय अवार्ड

    कलाकार विराज बाँस्कोटालाई अन्तर्राष्ट्रिय अवार्ड

    काठमाडौं । कलाकार विराज बाँस्कोटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । केही दिन अघि थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा उनी सम्मानित भएका हुन् ।

    वुमेन्स इरा एण्ड मिडिया नेपालले आयोजना गरेको पाँचौं हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२५ मा बाँस्कोटा सम्मानित भएका हुन् । समारोहमा उनले बैंककसहित मलेसियामा लाइभ प्रस्तुति दिएका थिए । त्यस्तै, सिंगापुर टुरमा पनि उनी सहभागी थिए ।

    यसअघि उनले थुप्रै राष्ट्रिय अवार्ड हात पारिसकेका छन् । करिब ५० भन्दा बढी म्यूजिक भिडिओमा अभिनय गरिसकेका बाँस्कोटाले चलचित्र ‘लुंगा’, ‘छक्का पञ्जा ५’ हालै प्रदर्शनमा आएको ‘बसन्त’ तथा आउँदै गरेको ‘मेरो जुत्ता खोइ’ जस्ता बिग मुभिजमा काम गरिसकेका छन् ।

    त्यसैगरी, ‘सक्किगो नि’, ‘मै राम्री’ जस्ता सिरियलमा आफ्नो कलाकारिता प्रस्तुत गरिसकेका बाँस्कोटा रंगमञ्चमा पनि उत्तिकै सक्रिय छन् । उनको कलाकारिताको यात्रा नै रंगमञ्चबाट सुरु भएको उनी बताउँछन् । केही समय अघि उनले ‘मालिनी’ नाटकमा गरेको अभिनयले चौतर्फी प्रशंसा पाएको थियो । झापाको बिर्तामोडदेखि कोशी प्रदेश राजधानी विराटनगर हुँदै राजधानी काठमाडौंमा दर्जनौं नाटकमा उनले आफ्नो क्षमता दर्शाइसकेका छन् ।

    बहुमुखी प्रतिभाका धनि उनी कलाकारितासँगै संगीतमा पनि उत्तिकै रुचि राख्छन् । उनले केही तिहारसँग सम्बन्धित ‘तिहारै हाम्रै’ गीतमा स्वरसमेत दिएका छन् ।

    थाइल्याण्डमा पाएको अन्तर्राष्ट्रिय अवार्डबारे बाँस्कोटा भन्छन्, ‘कलाकारितामा हामी सधैँ सिक्दै नै हुन्छौँ । यद्यपि हाम्रो मेहनत र समर्पणलाई बुझेर नेपालबाट थाइल्याण्डसम्म बोलाएर सम्मान गरिएकोमा निकै हर्ष लागेको छ । साथै यसले आगामी दिनमा झन बढी समर्पित हुँदै नेपालको कला क्षेत्रमा आफ्नो योगदान दिन प्रेरित गरेको छ । अनि अझ बढी जिम्मेवारी थपेको पनि महसुस भएको छ ।’

    यो पनि पढ्नुस्ः घरदेखि शहरसम्म अभिनयकाे भोकले तानिएका विराज

     

     

  • पल शाह आफैं फिल्म निर्माणमा, विकास सुवेदीको निर्देशनमा ‘यानीमाया’ को घोषणा

    पल शाह आफैं फिल्म निर्माणमा, विकास सुवेदीको निर्देशनमा ‘यानीमाया’ को घोषणा

    काठ्माडौं । नायक पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो चलचित्रको घोषणा गरिएको छ । पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम ‘यानीमाया’ राखिएको छ ।

    यो चलचित्रलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यो चलचित्रबाट सुवेदीले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । चलचित्रको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् ।

    फ्यामिली ड्रामा कथामा आधारित रहेर यो चलचित्र बन्नेछ । विकासले पहिला लेखेका तीनै चलचित्र सामाजिक कथावस्तुमै तयार भएका थिए । यो चलचित्र पनि उनले आफ्नै स्टाइलमा बनाउन लागेको सुवेदीको भनाई छ । चलचित्रको छायांकन असारबाट सुरु गरिने जानकारी निर्माणपक्षले जनाएको छ ।

    चलचित्रमा कलाकारहरु भने फाइनल हुन बाँकी छ ।

     

  • चलचित्र ‘द महावीर’ले गर्‍यो कास्टिङ कल, राम्रो अभिनय गर्नेलाई प्राथमिकता

    चलचित्र ‘द महावीर’ले गर्‍यो कास्टिङ कल, राम्रो अभिनय गर्नेलाई प्राथमिकता

    काठमाडौं । ‘द महावीर’ले आफ्नो चलचित्रको लागि कास्टिङ कल गरेको छ । नयाँ फेस चाहिएको भन्दै निर्माण टीमले सोमबार कास्टिङ कल गरेको हो ।

    निर्माण पक्षले चलचित्रमा हेरचाह गर्ने भूमिकाका लागि जनजाति फेसको ३० देखि ४० वर्ष उमेर समुहको महिला, हल्का कालो मुहारको राम्री अनि राम्रो नृत्य गर्नसक्ने २० देखि २५ वर्षकी महिला, हल्का कालो छाला भएको मिक्स जनजाति फेस देखिने १० देखि १२ वर्ष उमेरको पुरुष र ६ फिट अग्लो आर्य फेस भएको ३५ देखि ४० वर्षको पुरुष (एथलेटिक्स)का लागि कलाकार माग गरेको हो।

    त्यसै गरि, ४० देखि ५० वर्षको फ्याट एन्ड लेजी लुक्स भएकी जनजाति महिला, २५ देखि ३० वर्ष उमेर समूहको फिट बडी भएको जनजाति लुक्सको पुरुष, ६ फिट अग्लो फिट २५ देखि ३० (एथलेट्स) आर्य फेस, ६० देखि ६५ वर्ष उमेरको बोल्ड एन्ड कमान्डिङ जनजाति पुरुष, गोरो छाला भएको दृष्ट र धुर्त देखिने ५० देखि ६० वर्षको आर्य फेस भएको पुरुष कलाकार र ७ देखि १० वर्ष उमेरको स्मार्ट लुकिङ आर्य फेस भएको बाल कलाकार चाहिएको निर्माणपक्षले जनाएको छ ।

    अडिसनमा अनुभवी र नयाँ सबैलाई अवसर दिइने र राम्रो अभिनय गर्ने व्यक्तिले पहिलो प्राथमिकता पाउने निर्माण टिमको भनाई छ । अडिसनको पहिलो चरणमा वैशाख १ गतेदेखि ३ गतेसम्ममा १ मिनेटको भिडियो पठाइसक्नुपर्नेछ । डिजिटल अडिसनमा छनोट भएकालाई फिजिकल अडिसन लिइनेछ र दोस्रो चरणमा पनि छनोट भएकालाई फोन गरेर बोलाइनेछ ।

    यो चलचित्रलाई जिबी आग्रीले निर्देशन गर्दैछन् । चलचित्रको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका हुन। लक्षरा फिल्सको प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण बिके, बिआर रेड्डी, सन्तोष लुहार निर्माताको रुपमा रहनेछन् ।

    रम्भा देवी र लक्ष्मण बिके सह निर्माता रहेको चलचित्रमा संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माता छन् ।

    हिन्दी र नेपाली भाषामा निर्माण हुने चलचित्रमा डल्बी एटमसको साउन्ड रहनेछ। चलचित्रको रिलिज डेट भने घोषणा गरिएको छैन ।

     

  • अशोक शर्माको ‘डबल ट्रिपल’ रिलिज मिति सर्‍यो

    अशोक शर्माको ‘डबल ट्रिपल’ रिलिज मिति सर्‍यो

    काठमाडौं । अशोक शर्माको निर्देशनमा बन्ने चलचित्र ‘डबल ट्रिपल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि दशैँको फूलपातीमा रिलिज तोकिएकोमा अब फागुन १ गते भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने भएको हो ।

    फेसबुकमार्फत् शर्माले ‘दसैंमा धेरै सिनेमाहरू आउने भए भरसक मिलाएर कम सिनेमा ल्याएर निर्माता साथीहरू पनि सेफ होस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न पनि तैयार भएनन् त्यसैले ‘डबल ट्रिपल’ अब २०८२ फागुन १ गते रिलिज हुनेछ ।’

    यो चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरवीर पण्डितको अभिनय छ । सिनेमाको कथा/पटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन् ।

  • चलचित्र ‘ढुकढुकी’ निर्माणको घोषणा

    चलचित्र ‘ढुकढुकी’ निर्माणको घोषणा

    काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको छ । ‘मोहर’ निर्माण टीमले नयाँ चलचित्र ‘ढुकढुकी’ को घोषणा गरेको हो ।

    ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई फिल्म मेकर प्रालिको प्रस्तुतिमा तयार गरिनेछ । चुम्बनजंग शाही निर्माता रहेको चलचित्रको छायांकन तिहारपछि सुरू हुनेछ । कलाकार पनि टुंग्याउन बाँकी छ ।

    यसअघि विनोद मानन्धरले निर्माण गरेको ढुकढुकीको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए । अब, ओम आफैँ चलचित्र बनाउन अघि सरेका हुन् । ओमको निर्देशन तथा चुम्बन जंगले नि्माण गरेको ‘मोहर’ भने साउन २३ बाट रिलिज हुँदैछ ।

  • ‘जारी २’ निर्माण घोषणा, वैशाख तेस्रो साताबाट छायांकन

    ‘जारी २’ निर्माण घोषणा, वैशाख तेस्रो साताबाट छायांकन

    काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फर्स्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो ।

    सिनेमाको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो सिनेमालाई स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ ।

    ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । यो सिनेमा यही वर्षको दशैंमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।

    कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । वैशाख तेस्रो साताबाट फ्लोरमा जाने सिनेमामा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।

    बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । यो सिनेमाको सम्पूर्ण छायांकन पाँचथरको विभिन्न पर्यटकीय गन्तव्यमा गरिनेछ ।

  • साउन २३ मा सौगात र बेनिशाको ‘सिटामोल’ रिलिज घोषणा

    साउन २३ मा सौगात र बेनिशाको ‘सिटामोल’ रिलिज घोषणा

    काठमाडौं । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ ।

    आज नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सिनेमाको पोस्टर सार्वजनिक आगामी साउन २३ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।

    सिनेमाको सोमबार सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ ।

    सार्वजनिक पोस्टरमा सौगात वैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन्, भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रसन्न मुद्रामा देखिन्छन् । सिनेमामा उनीहरू श्रीमान्–श्रीमतीको भूमिका देखिएको अनुमान सार्वजनिक पोस्टरबाट गर्न सकिन्छ ।

    माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको छ । सौगातले सिनेमामा जनयुद्धको घाइतेको भूमिका निर्वाह गरेका छन् ।

    सिनेमामा सौगात र बेनिशाका अलावा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

    तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिनेमामा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् ।

    बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, राउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।

  • ८ महिना पनि टिकेन अरुणिमाको दोस्रो बिहे, अमेरिकाबाट आएर हालिन् डिभोर्स मुद्दा

    ८ महिना पनि टिकेन अरुणिमाको दोस्रो बिहे, अमेरिकाबाट आएर हालिन् डिभोर्स मुद्दा

    काठमाडौं । मानौँ नेपाली सेलिब्रिटीहरुबीच कसले छिटो डिभोर्स गर्ने भनेर घमासान प्रतिस्पर्धा चलिरहेको छ । गायिका एलिना चौहानले पति विष्णु सापकोटालाई बिहे गरेको ९ महिनामै डिभोर्स दिएको घटना सेलाउन नपाउँदै अभिनेत्री अरुणिमा लम्साल उनलाई जित्ने गरी कस्सिएकी छन् ।

    अमेरिकामा बस्दै आएकी अरुणिमा केही दिन अगाडि नेपाल आएकी थिइन् । आफू अभिनीत फिल्म ‘घर: बट इन अमेरिका’ को प्रमोसनका लागि आएको भनिए पनि खासमा डिभोर्सका लागि आएको खुलेको छ । उनले श्रीमान् युवराज श्रेष्ठमाथि डिभोर्सको मुद्दा हालिसकेको बताएकी छन् ।

    अमेरिकी नागरिक भइसकेको हुँदा नेपालमा अरुणिमाले सिधै मुद्दा लड्न मिल्दैन । त्यसैले वारेसमार्फत मुद्दा दायर गरेको बताइएको छ । उनले वैवाहिक सम्बन्ध अघि बढ्न नसक्नुमा सबै दोष श्रीमानमाथि खन्याएकी छन् । सुनसरीका कांग्रेस नेता युवराजले विवाह अगाडि धेरै कुराहरू ढाँटेको अरुणिमाको आरोप छ ।

    अरुणिमा र युवराजबीच छोटो समयको चिनजानमा बिहे भएको थियो । गत भदौमा छुट्टी मनाउन नेपाल आएका बेला बेला अरुणिमालाई आफन्तमार्फत युवराजसँग बिहेको प्रस्ताव आएको थियो । केही दिन आपसमा समय बिताएपछि उनीहरूले तत्काल विवाह गर्ने निर्णय लिएका थिए । भदौ ३ गते काठमाडौंको राम मन्दिरमा परम्परागत तवरबाट उनीहरूको विवाह भएको हो ।

    विवाहको केही दिनपछि नै अरुणिमा अमेरिका फर्किइन् । उनी श्रीमानको घरमा भित्रिएकी पनि थिइनन् । युवराजले वैशाखमा श्रीमतीलाई नेपाल बोलाएर घर भित्र्याउने बताइरहेका थिए । तर, बुहारी बनेर भित्रिनै नपाइ अरुणिमाको विवाह टुट्ने संघारमा पुगेको छ ।

    युवराजसँग बिहेपछि उनलाई पनि अमेरिका लैजाने योजना अरुणिमाको थियो । युवराज पनि त्यसका लागि खुसीसाथ तयार थिए । तर, आफू अमेरिका फर्किएको केही दिनदेखि नै युवराजको विषयमा नराम्रो कुराहरू सुन्न थालेको अरुणिमाको भनाइ छ ।

    एक अन्तरवार्तामा उनी भन्छिन्, ‘विवाह अगाडि उहाँको राम्रो मात्रै सुनिएको थियो । विवाहपछाडि नराम्रो मात्रै सुनियो । उहाँले सबै कुराहरू ढाँट्नुभएको रहेछ । तर, कहिल्यै पनि आफूले ढाँटेको स्वीकार्नुभएन । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिंगल नै बस्छु भनेर यो निर्णय लिएँ ।’

    उनले श्रीमानसँग केही महिनादेखि नै आफ्नो बोलचाल हुन छोडेको बताएकी छन् । युवराजले भने अहिलेसम्म यस विषयमा मुख खोलेका छैनन् । नेपाल आएकी अरुणिमाले श्रीमानलाई भेटेकी पनि छैनन् । बुझिएअनुसार युवराज डिभोर्स नगर्ने पक्षमा छन् । तर, अरुणिमा भने आफ्नो निर्णयबाट पछि हट्ने मुडमा छैनन् ।

    कानूनतः सम्बन्ध विच्छेदका लागि श्रीमान् र श्रीमती दुवै सहमत हुनुपर्छ । तर, यदि श्रीमतीले मुद्दा हालेको अवस्थामा श्रीमानले नचाहे पनि एक वर्षपछि डिभोर्स हुन सक्छ । अरुणिमाले मुद्दा हालेपछि युवराजले पनि अदालतमा गएर हस्ताक्षर गरेको खण्डमा तत्काल सम्बन्ध विच्छेद हुन्छ । तर, यदि उनले त्यसो गर्न चाहेनन् भने पनि एक वर्षपछि स्वतः अदालतले सम्बन्ध विच्छेद गरिदिने कानून व्यवसायी बताउँछन् ।

    अरुणिमाको यो दोस्रो बिहे हो । यसअघि उनको अमित अर्यालसँग पहिलो विवाह भएको थियो । उनीहरूबाट एक छोरी छिन् । छोरी जन्मिएपछि अमित र अरुणिमा अमेरिका सेटल भएका थिए । तर, त्यहाँ उनीहरूको वैवाहिक सम्बन्धले निरन्तरता पाउन सकेन । अमेरिका गएको केही समयपछि उनीहरूको सम्बन्ध टुटेको खबर सार्वजनिक भयो । पछि अमितले अर्को विवाह गरे ।

  • ‘कर्मा’ हेरेपछि दुर्गेश- विपीन कार्कीको एक्सन हेर्न भए पनि दर्शक आउनुपर्छ, उहाँको एक्सन बबाल छ

    ‘कर्मा’ हेरेपछि दुर्गेश- विपीन कार्कीको एक्सन हेर्न भए पनि दर्शक आउनुपर्छ, उहाँको एक्सन बबाल छ

    काठमाडौं । अभिनेता विपीन कार्की अभिनित चलचित्र ‘कर्मा’ यतिबेला प्रदर्शनमा छ । हिजोबाट यो चलचित्र देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्र हलमा लागेसँगै चलचित्रको टीम अहिले हल भिजिटमा व्यस्त छ । दर्शनसँग प्रत्यक्ष साक्षात्कार गर्न विपीन र यसै चलचित्रकी नायिका उपासनासिंह ठकुरी हलहल दौडिरहेका छन् ।

    चलचित्रमा विपीनको एक्सन देख्न सकिन्छ । यसअघि उनी कुनै चलचित्रमा पनि एक्सन अवतारमा देखिएका थिएनन् । उनको एक्सन हेर्न भए पनि दर्शक हल पुगिरहेका छन् । उनको एक्सन हेर्न गायक दुर्गेश थापा पनि हल पुगेका छन् ।

    चलचित्र हेरेपछि उनले भने, ‘खासमा म आज विपीन दाइको एक्सन हेर्न भनेर आएको हो । दाइको कमेडी त पहिलेदेखि नै हेर्दै आएको हो, तर एक्सन कस्तो रहेछ भनेर हेर्न आएको थिएँ । बबालै लाग्यो ।’

    विपीनको एक्सन हेर्न भए पनि दर्शक हलसम्म आउनुपर्ने दुर्गेशले बताए । ‘फिल्म राम्रो छ । गीतदेखि लिएर सबै पक्ष राम्रो छ । यदि यो चलचित्रलाई रेट गर्नुप¥यो भने म १० मा १० दिन्छु’, दुर्गेशले भने ।

    दुर्गेश र दर्शकको प्रतिक्रिया सुनेपछि आफूलाई खुसी लागेको विपीनले बताए । उनले भने, ‘एकदम खुसी लागेको छ । उत्साहजनक साथ दिनुभएको छ । म आफैं पनि बिहानदेखि दर्शकहरुसँग बसेर फिल्म हेरिरहेको छु ।’

    आज शनिबार सार्वजनिक बिदा भएकाले पनि दर्शकहरु चलचित्र हेर्न हल पुगिरहेका छन् । पहिलो दिन सुखद प्रतिक्रिया पाएको यो चलचित्रको आजको अकुपेन्सी हिजोको भन्दा केही राम्रो छ ।

    चलचित्रमा दुर्गेशले गाएको गीत पनि समावेश छ। ‘कर्मा’मा विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।

    सौरभ चौधरीले निर्देशन गरेको ‘कर्मा’को कथा पनि चौधरी आफैंले लेखेका छन् ।

    चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा समीर मियाको भीएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउन्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर र विजय बस्यालको पब्लिसिटी डिजाइन छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ ।

  • ‘पिताम्बर’ हेरेका पुरुष दर्शकले किस नै खाएपछि प्रदिप- ‘यो दर्शकको माया हो’

    ‘पिताम्बर’ हेरेका पुरुष दर्शकले किस नै खाएपछि प्रदिप- ‘यो दर्शकको माया हो’

    काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र मल्टिस्टारर चलचित्र  ‘पिताम्बर’ को टिम यतिबेला हल भिजिटमा व्यस्त छ। दर्शनसँग प्रत्यक्ष साक्षात्कार गर्न कलाकारहरु देखि चलचित्रकी निर्देशक कृषा चौलागाईंसम्म एक हलदेखी अर्को हल दौडिरहेका छन्।
    आज शनिबार सार्वजनिक बिदा भएकाले पनि दर्शकहरु चलचित्र हेर्न हल पुगिरहेका छन् । पहिलो दिन सुखद प्रतिक्रिया पाएको यो चलचित्रको आजको अकुपेन्सी, हिजोको भन्दा केही राम्रो छ। सोचे जस्तो प्रतिक्रिया पाएका कारण चलचित्रको टिम खुसी छ। दर्शकको प्रतिक्रिया बुज्न हलहल पुगिरहेकी चलचित्रकी निर्देशक कृषा चौलागाईं भन्छिन्,‘चलचित्रप्रति विश्वास थियो नै। यद्यपि, दर्शकको सकारात्मक प्रतिक्रियाले झनै खुसी बनाएको छ।’
    यता दर्शक भेट्न् पुगेका नायक प्रदीप खड्कालाई भने हलमा कसैले जुरुक्कै उचालेर बोकिरहेका थिए भने एक दर्शकले त उनलाई चुम्मै खाए। चलचित्र मन परेको भन्दै उक्त दर्शकले प्रदिपको गालामा किस खाए। दर्शकले किस नै खाएपछि प्रदिपले खुसी हुँदै सुनाए,’यो दर्शकको माया हो। उत्साह हो। हामी एकदम खुसी छौं ।’
    आफुले नै चलचित्र हेर्न नपाएको बताउँदै प्रदिपले भने,’खासमा म आफैले चलचित्र हेर्न पाएको छैन। यस्तो अन्तरवार्ताहरूमा बोल्दाबोल्दै कथा खुलाउदिन्छन भनेर होला कृषा दिदिले फिल्म नै हेर्न दिनु भएको छैन । दर्शकको प्रतिक्रियाले आफैलाई एक चोटि फिल्म हेर्न मन छ। मलाई त फिल्ममा पिताम्बर को हो भन्ने समेत थाहा छैन।’
    चलचित्र हेरेर निस्किएका कति दर्शकहरु ‘पिताम्बर २’ चाहियो भन्दै कराउँदै निस्किएका थिए। दर्शकको यस्तो हुटिङ र साथले अन्य कलाकारहरू दिव्या रायमाझी, दिव्यदेव पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरीलगायतका कलाकारले पनि खुसी मिलेको बताएका छ्न।
    कृषा चौलागाईं निर्देशित चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यादेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।
    विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायाङ्कन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, समीर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको सङ्गीत र हिमाल केसीको द्वन्द्व छ ।
  • अरुणिमाको दोस्रो विवाह पनि धरापमा परेकै हो ? यसरी गरिन् घुमाउरो स्वीकारोक्ति 

    अरुणिमाको दोस्रो विवाह पनि धरापमा परेकै हो ? यसरी गरिन् घुमाउरो स्वीकारोक्ति 

    काठमाडौं । अमेरिका बस्दै आएकी अभिनेत्री अरुणिमा लम्साल हालै नेपाल आएकी छिन् । केही दिनको नेपाल बसाइमा उनी आफूले अभिनय गरेको वेव सिरिज ‘घर बट इन अमेरिका’ को प्रमोसनमा व्यस्त रहने जनाइएको छ ।

    तीन महिना अगाडि मात्रै नेपाली सिने नगरीमा अरुणिमाको वैवाहिक सम्बन्धका विषयमा नराम्रो हल्ला चलेको थियो । उनले आफ्नो सामाजिक सञ्जालबाट आफ्नो विवाह र श्रीमानसँगका सबै तस्बिरहरू हटाइदिएपछि मिडियाहरूमा समेत गसिप बनेको थियो । त्यसलाई लिएर अरुणिमाले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएकी छैनन् । नत उनका श्रीमान् युवराज श्रेष्ठले नै मुख खोलेका छन् ।

    अरुणिमा र युवराजले लगनगाँठो कसेको ८ महिना पनि भएको छैन । उनीहरुले गत भदौ ३ गते काठमाडौंकै राम मन्दिरमा विवाह बन्धनमा बाँधिएका थिए । विवाहको केही दिनमै अरुणिमा अमेरिका फर्किइन् । युवराज नेपालमै छन् । उनीहरुले विवाहपछि केही दिन मात्रै सँगै बिताएका थिए । यहीबीचमा उनीहरुको सम्बन्ध बिग्रेको हल्ला चलेको हो ।

    अरुणिमा अमेरिकामा रहेकाले उनीसामु गएर माइक तेस्र्याउन अवसर त्यसबेला युट्यूवरहरुलाई मिलेन । अहिले उनी नेपाल आएपछि सबै अन्तरवार्तामा नछुट्ने प्रश्न नै यही हुनेवाला छ– के श्रीमानसँग डिभोर्स हुन लागेको हो र?
    अरुणिमाको एउटा अन्तरवार्ता सार्वजनिक पनि भइसकेको छ । सुत्र नाम च्यानललाई दिएको अन्तरवार्तामा उनले गरेको सङ्केत सुखद छैन । अन्तरवार्ताकारले बारम्बार श्रीमानसँगको सम्बन्धबारे प्रश्न सोध्दा उनले खुलेर जवाफ दिन सकिनन् । उनको जवाफहरूमा सम्बन्धमा दरार आएको स्पष्ट सङ्केत मिल्छ ।

    अन्तरवार्तामा गरिएका केही प्रश्नोत्तर यस्ता छन्ः 
    जुन समाचारहरू आए नि त्यसबेला, खासमा भएको के थियो ?
    खोइ त्यस्तो डिटेलमा त हामी गएनौँ । हामीले मिडियामा कतै हाम्रो झगडा भएको छ भनेर भनेको पनि होइन । श्रीमान्–श्रीमतीको सानोतिनो झगडा त भई नै हाल्छ । त्यो विषयलाई म अहिले यहाँ उठाउन चाहन्न ।

    दर्शकहरू अझै पनि अन्योलमा छन्, अरुणिमा डिभोर्स दिन नेपाल आएकी हुन् कि भन्ने पनि सुनिएको छ नि ?
    जे भयो भने पनि ‘अभियसली’ थाहा भई नै हाल्छ । म बताइहाल्छु । अहिलेलाई त्यस्तो केही पनि छैन ।

    श्रीमान्–श्रीमतीबीचको सम्बन्ध राम्रो बनाउन के चाहिने रहेछ ? तपाईँको अनुभव कस्तो छ ?

    यो फर्मुला थाहा भएको भए…को मान्छेलाई यो फर्मुला थाहा छ, उसलाई म गएर सोध्थेँ होला… यो फर्मुला त संसारमा कसैलाई पनि थाहा छैन । केले राम्रो बनाउँछ, केले नराम्रो बनाउँछ भन्ने फर्मुला थाहा भएको भए अहिलेसम्म कसैको डिभोर्स हुन्थेन होला । कतिको बिहे नै हुन्थेन होला । फर्मुला थाहा भए मलाई पनि कति राम्रो हुन्थ्यो होला ।

    एउटा कुरा चैँ के भन्न मन लाग्छ भने, श्रीमान् र श्रीमतीबीच विश्वास चंै हुनुपर्छ । विश्वासघात भयो भने वा कुनै कुरा ढाँटेर लुकाएर केही गर्‍यो गर्‍यो भने चाहिँ त्यसले सम्बन्ध एकदम नराम्रो हुन्छ । विश्वासले सम्बन्ध निर्माण हुने हो । पछि आएर यस्तो रहेछ त्यस्तो रहेछ भन्ने भयो भने नराम्रो लागिहाल्छ नि ।
    फर्मुला मलाई थाहा छैन भनिरहँदा घरमा सानोतिनो केही भाको त छैन नि ?
    मैले भन्न खोजेको मतलब फर्मुला थाहा भएको भए त मेरो फस्र्टमै पनि डिभोर्स हुँदैन थियो होला नि त । फर्मुला पत्ता लगाउने मान्छे चैँ भेट्न पाए हुन्थ्यो ।

    न्युजमा श्रीमानले चिट गरेको कारण तपाईँहरूको झगडा भएको भन्ने पनि आएको थियो, त्यो खालको कहिल्यै भयो र लाइफमा ?
    अँ…खोइ..अब त्यस्तो त हाम्रोबीचमा कुरा भाको छैन । विश्वासघातको कुरा भएको छैन ।

    विश्वास परिपक्व छ 
    परिपक्व पनि खोइ के भन्ने रु (हाँसो) अलि उ नै छ । आइ मीन हामी त अझै सुरुवाती चरणमै छौँ, एक अर्कालाई राम्रोसँग चिनेको पनि छैन । चिन्ने नै फेजमा छौँ । थोरै दिनको चिनजान हो । ट्रस्ट पनि गर्न सकेको छैन, अनट्रस्ट पनि गर्न सकेको छैन ।

    मागी विवाह कत्तिको राम्रो हुँदो रहेछ, तपाईँको अनुभवमा ?

    मागिविहे नराम्रो भन्ने छैन । राम्रै हुन्छ । तर कस्तो भने मान्छे उ पर्‍यो, सच्चा पर्‍यो, माया गर्ने पर्‍यो, विश्वास गरेअनुसार व्यवहार गर्‍यो भने राम्रो हुन्छ । सम्बन्ध राम्रो हुनु छ भने मागिबिहेमा पनि हुन्छ, नराम्रो हुनु छ भने भागीविहेमा पनि हुन्छ । त्यसमा त्यो छैन ।

    यो पनि पढ्नुहोस्

  • ५१ दिनको कोशेढुंगातर्फ लम्किँदै ‘लाज शरणम’, निर्देशकीय डेव्युमा जिग्रीलाई सन्तोष

    ५१ दिनको कोशेढुंगातर्फ लम्किँदै ‘लाज शरणम’, निर्देशकीय डेव्युमा जिग्रीलाई सन्तोष

    काठमाडौं । हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टीमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’ ५१ दिनको कोशेढुंगा पार गर्ने संघारमा आइपुगेको छ । आज ४५ दिनसम्म आइपुग्दा देशभरका दुई दर्जनभन्दा बढी हलले यो चलचित्रलाई निरन्तरता दिइरहेका छन् ।

    रिलिजपूर्व बनाएको हाइपले गर्दा यो चलचित्रले उत्साहजनक ओपनिङ गरेको थियो । केही दिनपछि व्यापार अलिकति खस्कियो । चलचित्रमा प्रमुख पात्र सीताराम कट्टेल ‘धुर्मुस’ले निभाएको मोहम्मद आफताब आलमको चरित्र र अभिनय अतिरञ्जित भएको टिप्पणीहरु टिकटकमा व्यापक रुपमा आएपछि व्यापार प्रभावित बनेको थियो ।

    तर टिकटकमै आफताब आलमको वास्तविक हाउभाउ र संवादसहितको पुरानो भिडिओ सार्वजनिक भएपछि माहोल उल्टियो । दर्शकले धुर्मुसले त्यसलाई दुरुस्तै उतारेको भन्दै तारिफ गर्न थाले । त्यसपछि व्यापारले फेरि पिकअप लिन थाल्यो ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि ‘लाज शरणम्’ हेरपछि धुर्मुसको उच्च प्रशंसा गरेका थिए । उनले चलचित्रको विषयवस्तुको पनि सराहना गरेका छन् ।

    कर्णालीको कथाव्यथामा उनिएको यस चलचित्रले अहिलेसम्म ६ करोड हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माण स्रोतले बतायो । स्रोतका अनुसार देशभित्र निर्माताको लगानी सुरक्षित भइसकेको छ । देश बाहिरको डायस्पोरामा समेत चलचित्रले राम्रो रेस्पोन्स पाएको थियो । विदेशमा चलचित्रको वितरण अधिकार सेभेन सिज इन्टरटेन्मेन्टले प्राप्त गरेको छ ।

    यस चलचित्रको निर्देशन कुमार कट्टेल जिग्रीले गरेका हुन् । आफ्नो निर्देशकीय डेव्युमै सफलताको झन्डा गाड्न सफल भएका छन् उनी । चलचित्रमा हरेक दृश्यमा उनको मेहनेत झल्किएको छ ।

    पहिलो चलचित्रले नै ५१ दिनको कोशेढुंगा पार गर्ने स्थिति देखिँदा गदगद छन् जिग्री । नेपाल प्रेससँग कुरा गर्दै उनले दर्शकलाई धन्यवाद दिए । यो चलचित्रले आफूलाई धेरै कुरा सिकाएको पनि उनी बताउँछन् ।

    ‘यो मेरोमात्र नभएर टीमको प्रयास हो र दर्शकले मन पराइदिनुभएकोमा हामी अत्यन्तै आभारी छौं’, उनले भने, ‘हामीले धेरै कुरा सिकेका पनि छौं, जुन आगामी चलचित्रहरुमा पक्कै काम लाग्छ ।’

    अब यो टीमको भावी प्रोजेक्ट के हुन्छ भन्ने निधो भइसकेको छैन । ‘लाज शरणम्’कै सिक्वेल बनाउने या अर्कै प्रोजेक्टमा हात हाल्ने भन्ने छलफलकै क्रममा रहेको जिग्रीले जानकारी दिए ।

  • ‘रावायण’ विवादबारे पूजा- टेक्निसियन र अरु सदस्यको पारिश्रमिक दिने जिम्मा मेरो होइन

    ‘रावायण’ विवादबारे पूजा- टेक्निसियन र अरु सदस्यको पारिश्रमिक दिने जिम्मा मेरो होइन

    काठमाडौं । नायिका तथा निर्मात्री पूजा शर्माले आफ्नो पछिल्लो चलचित्र ‘रावायण’को विवादबारे प्रष्टीकरण दिएकी छन् । फेसबुक स्टाटसमार्फत उनले ‘रावायण’को लगानी र प्राविधिक अनि अन्य टीम सदस्यहरूलाई पारिश्रमिक नदिएकोबारे स्पष्टीकरण दिएकी हुन् ।

    अहिले सिने क्षेत्रमा ‘रावायण’ का कार्यकारी निर्माता सुशान पाठकले वैदेशिक अध्ययनका लागि जान लागेको विद्यार्थीहरुको रकम, चलचित्र निर्माणमा लगानी गरेको, तर चलचित्र डुबेपछि उनी सम्पर्कविहीन भएको चर्चा छ । यो कुरा चर्किन थालेपछि ‘रावायण’ की निर्मात्रीसमेत रहेकी पूजाले यसमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएकी हुन् ।

    विद्यार्थीबाट उठाइएको रकमको प्रमुख दोषी पाठक रहेको बताउँदै पूजाले लेखेकी छन्, ‘यो विषयसँग मेरो कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छैन । विद्यार्थीहरूबाट उठाइएको रकमको प्रमुख दोषी सुशान पाठक हुन्, जो हाल फरार छन् र मलाईसमेत लगातार टारिरहेका छन् । म यस घटनाबाट स्वयं पीडित भएको महसुस गर्दैछु ।’

    उनले फेसबुकबाटै सम्बन्धित निकायहरूले यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरेकी छन् । सुरुमा लगानी गर्ने सहमति गरेका पाठकलाई कार्यकारी निर्माताको हैसियत दिएको, तर अहिलेसम्म पाठकले कुनै आर्थिक योगदान नदिएको पूजाको भनाइ छ । प्राविधिक र टीमका अन्य सदस्यलाई तिर्नुपर्ने पारिश्रमिकको दायित्व पनि पाठकको भएको बताउँदै पूजाले उनी आफैंले प्राविधिकलाई चेक प्रदान गरेको बताएकी छन् ।

    उनले लेखेकी छन्, ‘प्राविधिक र अन्य टीम सदस्यहरूलाई तिर्नुपर्ने रकमको जिम्मेवारी पूर्ण रूपमा सुशान पाठकमाथि नै पर्छ, किनभने उहाँले नै प्राविधिकहरूलाई चेक प्रदान गरेका थिए । यस्ता गम्भीर विषयहरूमा प्रमाणविना कुनै समाचार प्रकाशित नगर्नुहोस् । तथ्यहीन र झूटा समाचारहरूले मेरो व्यक्तिगत तथा व्यवसायिक प्रतिष्ठामा गम्भीर असर परेको छ ।’

    पूजाले निर्माण गरेको र सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘रावायण’ घरेलु बक्स अफिसमा फ्लप भएको थियो । चलचित्रले लगानीसमेत उठाउन सकेन भने यस चलचित्रका टेक्निसियन र अन्य केही टीम सदस्यहरूले अहिलेसम्म पैसा पाएका छैनन् ।

    पूजाकाे स्टाटस्

  • सुखद अकुपेन्सीका साथ देशव्यापी प्रदर्शनमा ‘पिताम्बर’ र ‘कर्मा’, कस्तो छ प्रतिक्रिया?

    सुखद अकुपेन्सीका साथ देशव्यापी प्रदर्शनमा ‘पिताम्बर’ र ‘कर्मा’, कस्तो छ प्रतिक्रिया?

    काठमाडौं । आजबाट देशव्यापी प्रदर्शनमा आएका दुई चलचित्रहरु ‘पिताम्बर’ र ‘कर्मा’ ले पहिलो दिन सुखद ओपनिङ गरेको छ। दुवै चलचित्रको मध्यान्ह र बेलुकीका शोको अकुपेन्सी बिहानको तुलनामा केही वृद्धि भएको छ । राजधानीका कति हलहरु हाउस फुल देखिएका छन् भने दर्शक भएका ठाउँहरूमा कलाकारहरू बिहानैदेखि प्रत्यक्ष साक्षात्कार गर्न पुगिरहेका छन्।

    हलबाट दर्शकको प्रतिक्रिया आउने क्रम जारी छ। दुवै चलचित्र हेर्न आएका दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

    आज हलमा दर्शकको अकुपेन्सी ठिकै देखिए पनि, यी दुवै चलचित्रले पहिलो दिन कति व्यापार गरे भन्ने थाहा पाउन भोलिसम्म कुर्नु पर्नेछ।  प्रचारप्रसारबाट दर्शकमाझ राम्रो हाइप बनाएका यी दुवै एक्सन चलचित्र भएकाले पनि दर्शकको प्रतिक्रिया कस्तो आउँछ भन्ने पर्खाइमा धेरै छन्।

    ‘कर्मा’लाई ‘अगस्त्यः च्याप्टर १’ फेम्ड निर्देशन सौरभ चौधरीले निर्देशन गरेका हुन भने चलचित्रको कथा पनि उनी स्वयंले लेखेका हुन। ‘पिताम्बर’ लाई भने निर्देशक कृषा चौलागाइँले बनाएकी हुन। रिलिज अघि यी दुवै चलचित्रले सुखद शो पाएका थिए। दुईमध्ये प्रदीप खड्का स्टारर चलचित्र ‘पिताम्बर’ले देशव्यापी १७० शो पाएको थियो भने विपिन कार्की स्टारर चलचित्र ‘कर्मा’ले देशव्यापी १२४ शो प्राप्त गरेको थियो।

    ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । त्यस्तै, मल्टिस्टारर चलचित्र ‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।

  • दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक

    दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक

    काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायत मुख्य कलाकारले स्पेश पाएका छन् ।

    सार्वजनिक टिजरमा निम्न बर्गीय परिवारले भोग्ने समस्या देखाईएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ । पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ ।

    ‘के घर के डेरा : घर नं २’ जेठ २ मा रिलिज हुँदैछ । चलचित्रमा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।

    चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन। उनको यो पहिलो सिनेमा हो ।

    चलचित्रमा कृष्णबहादुर थापाको छायांकन छ । चलचित्रको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा भने युवराज कार्की छन् ।

  • अनमोल केसी स्टारर ‘जेरी अन टप’ को प्रदर्शन मिति तय, असोज ३१ मा रिलिज

    अनमोल केसी स्टारर ‘जेरी अन टप’ को प्रदर्शन मिति तय, असोज ३१ मा रिलिज

    काठमाडौं । नायक अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’ को प्रदर्शन मिति तय भएको छ। अनन्या फिल्मस् प्रालीले चलचित्रको प्रदर्शन मिति तय गरेको हो। यो चलचित्र २०८२ को असोज ३१ बाट सार्वजनिक हुने भएको छ।

    कार्तिक पहिलो साता परेको तिहारको छेको पारी यो चलचित्र रिलिज हुन लागेको हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय वितरकहरूसँगको सहमतिमा प्रदर्शन मिति तय गरिएको निर्माता सरोज न्यौपानेको भनाई छ ।

    यो चलचित्रमा नायक अनमोल केसी, नायिकाद्वय आँचल शर्मा र जसिता गुरुङ र चर्चित हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ प्रमुख भुमिकामा छन् ।सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो चलचित्र छायांकन भएको छ भने चलचित्रका केहि दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको छ।

    सुयोग गुरुङको निर्देशनमा तयार यो चलचित्रमा अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्कीको पनि अभिनय छ। अनमोल पिता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भुमिका निभाएका छन् ।

    हङकङको एलजी एसोसिएट्सले यो चलचित्रको अष्ट्रेलियाबाहेकको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा भने ‘जेरी अन टप’ को रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् ।

  • सौगात मल्ल र अनुपबिक्रम शाही स्टारर् चलचित्र ‘जार’ को ट्रेलर सार्वजनिक (भिडियो)

    सौगात मल्ल र अनुपबिक्रम शाही स्टारर् चलचित्र ‘जार’ को ट्रेलर सार्वजनिक (भिडियो)

    काठमाडौं । आगामी वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र जारको ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनी फेरी टेल पिक्चर्सले बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

    साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित यो चलचित्रको ट्रेलर रिलिजसँगै प्रचारप्रसार पनि सुरु गरिएको छ। सार्वजनिक ट्रेलरमा अभिनेताद्वय सौगात मल्ल र अनुपबिक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापाले प्रमुख स्थान लिएका छन् । चलचित्र सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित छ।

    ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक फुर्वा छिरिङ लामाले एक ऐतिहासिक कृतिलाई पर्दामा उतार्न पाउनु आफैमा गर्वको कुरा रहेको बताए। उनले भने,‘जारको कथालाई अन्याय हुन दिएका छैनौं। यो कथा पर्दामा उतार्नु आफैमा एक चुनौती हो। इन्द्रबहादुर राईको भावना र मर्मलाई उच्च सम्मानसहित हामीले ,जारु तयार गरेका छौं।’

    कार्यक्रममा बोल्दै सौगात र अनुपबिक्रमले पनि एउटा इतिहासको साक्षी बस्न पाएकोमा गर्व महशुस गरेको बताए ।

    No description available.

    चलचित्रको शीर्ष भूमिकामा सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् । ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित चलचित्र टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका चलचित्रहरु फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।

    यो चलचित्रको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो चलचित्रको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

    No description available.

    सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । चलचित्रलाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ । डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल जोडिएको छ ।

     

     

  • खेम सेन्चुरी र शान्ती श्रीबीच पानी बाराबार, यस्तो छ विवादको सार

    खेम सेन्चुरी र शान्ती श्रीबीच पानी बाराबार, यस्तो छ विवादको सार

    काठमाडौँ । नेपाली संगीत क्षेत्रमा अहिलेका सर्वाधिक व्यस्त र सफल कलाकारमा पर्छन् खेम सेन्चुरी र शान्तिश्री परियार । यी दुईको पछिल्लो सहकार्यमा बनेको ‘अरेली काँडेले…’ बोलको गीत ब्लकबस्टर बनेको थियो ।

    तर, अहिले आएर खेम र शान्तीश्रीको सम्बन्ध चिसिएको मात्रै छैन, लगभग पानी बाराबारकै अवस्था छ । विभिन्न अन्तरवार्ताहरूमा दुवैले एक-अर्काप्रति गुनासो पोखिरहेका हुन्छन् ।

    खासमा खेम र शान्तीश्री पहिलेका मिल्ने साथी हुन् । संघर्ष गरेर सांगीतिक क्षेत्रमा स्थापित भएका हुन् दुवैजना । थुप्रै गीतहरूमा उनीहरूले सहकार्य गरेका छन् । खेम गीत गाउनुको साथसाथै आफैँ गीत कोर्ने अनि कम्पोजसमेत गर्छन् । उनले लेखेका र गाएका थुप्रै गीत हिट छन् । शान्तीश्रीले गाएका गीतले पनि पछिल्लो समय धमाका मच्चाइरहेका छन् । त्यसैले पनि यी दुवै अहिलेका सर्वाधिक डिमान्डेड गायक-गायिकामा पर्छन् ।

    एक वर्षअघि शान्तीश्रीको स्वर र खेम सेन्चुरीको संगीतमा ‘अरेली काँडैले’ बोलको गीत सार्वजनिक भएको थियो । यो गीतले केही समय सांगीतिक क्षेत्र नै हल्लाइदियो । तीजको बेला सार्वजनिक गरिएको गीतले छोटो समयमै १००  मिलियन अर्थात  १० करोड भ्यूज पार गर्‍यो । अहिले पनि यो गीत अधिकतम विवाह, पार्टीमा बज्ने गर्दछ । १० करोड भ्यूज पाउने पहिलो लोकभाकाको गीतको कीर्तिमान पनि ‘अरेली काँडैले’ को नाममा गएको छ ।

    नेत्र अर्यालको शब्द रहेको यो गीतमा शान्तीश्री आफैँले लगानी गरेकी थिइन् । उनकै आधिकारिक युट्यूव च्यानलबाट गीतको भिडिओ सार्वजनिक भएको थियो । गीत आएको केही समयसम्म खेम र शान्ती श्रीबीच खासै खटपट देखिएको थिएन । यी दुईको सम्बन्ध सुमधुर नै देखिन्थ्यो । हेर्दाहेर्दै गीतले पूरै मार्केट ततायो । तर, गीतको सफलताले यी दुईलाई उत्तिकै खुशी भने दिएन । उनीहरूमा यही गीतले फाटो ल्याइदियो ।

    अहिले यतिसम्म सम्बन्धमा दरार आएको छ कि एकअर्काको भनाइको उत्तर पनि यी दुई मिडियामा आएर दिइरहेका छन् । खेमले आफूलाई ‘मृत घोषणा गरेको’ गम्भीर आरोप शान्ती श्रीले लगाइन्, जसलाई खेमले मिडियामै आएर खण्डन गरेका छन् ।

    खासमा यो विवाद कहाँबाट र किन आयो भन्नेमा कतिपय दर्शक अलमल्ल छन् । शान्ती श्रीको कुरा सुन्ने हो भने उनी स्वयं पनि खेम रिसाउनुको कारणबारे प्रष्ट जान्दिनन् । यता खेम भने सबै कुरा प्रष्टै भएको तर अब यो मुद्दालाई यहीँ छोडेर अघि बढ्ने अडान लिएको बताउँछन् ।

    अन्तर्वार्ताहरूमा बोलेका खेम र शान्ती श्रीको कुरा सुन्ने हो भने, यी दुईबीच अरेली काँडैले गीतकै कारण मनमुटाव सुरू भएको देखिन्छ । गीतको पोस्टर आउँदै खेम शान्ती श्रीसँग असुन्तष्ट थिए । पोस्टरमा आफ्नो तस्बिर नहालेपछि उनले शान्त्री श्रीसँग चित्त दुखाएका थिए । शान्ती श्रीलाई भने गीतको पोस्टरमा संगीतकारको फोटो नराखे पनि हुन्छ भन्ने लागेको थियो । खेमको गुनासोपछि उनले अहिले पोस्टरमा उनको तस्बिर पनि राखेकी छिन् ।

    शान्ती श्रीका अनुसार गीतले करोड भ्यूज पार गर्दै खेमले सक्सेस पार्टी गर्न भनेका थिए ।

    उनी भन्छिन्, ‘उहाँले १ करोड भ्यूज हुँदै सक्सेस पार्टी गरौँ भन्नुभएको थियो । तर, मलगायत अरु टीमको कार्यव्यस्तताका कारण त्यो बेला सक्सेस पार्टी गर्न सम्भव भएन । त्यसपछि खै के भएर चित्त दुखाउनुभयो, कुरै हुन पाएन ।’

    खेम रिसाउनुको कारण बुझ्न आफूले खोजेपनि, उनीबाट केही प्रतिक्रिया नआएको शान्ती श्रीको भनाइ छ ।

    उनी भन्छिन्, ‘मैले म्यासेजमा पनि उहाँसँग माफी मागेकी थिएँ । भेटेर कुरा पनि गर्न खोजेँ । तर, उहाँले मसँग कुराहरू क्लियर गर्नै खोज्नु भएन । उहाँले मिडियामा धेरै गुनासोहरू गरेको देखेपछि मैले बुझ्ने प्रयास गरेकी थिएँ । तर उहाँ उपलब्ध हुनभएन । उहाँले मेरो म्यासेज हेरेर पनि उत्तर दिनु भएन ।’

    खेमबाट उत्तर नआएपछि शान्ती श्रीले मन हल्का हुने भन्दै एक अन्तर्वार्ताबाटै उक्त म्यासेज पढेर सुनाएकी थिइन् ।

    यता खेम भने म्यासेज देखेर पनि इग्नोर गरेको स्वीकार्छन् ।

    उनी भन्छन्, ‘हिजो त्यत्रो सहयात्रा गरेको मिल्ने साथी, आज यसरी मिडियामा कुरा गर्दै हिँड्नु परेको छ । मैले उहाँको लामो म्यासेज देखेपछि नै, यो कुरालाई क्लोज गर्दिसकेको हो । एउटा छोरी मान्छे हो, ठिकै छ भइहाल्यो भनेर हो । नत्र विकल्पहरू धेरै छन् । मैले आफै कुरा बुझेर पछाडि हटेको हो । यदि भन्ने नै हो भने त धरै कुराहरू छन् । तर होस् । यो कुरा यहीँ सकियो ।’

    खेम अहिले शान्ती श्रीलाई राम्रो साथी भन्न पनि हिच्किचाउँछन् । उनी अबको दिनहरूमा शान्ती श्रीसँग काम गर्न पनि चाहँदैनन् ।

    शान्ती श्रीसँगको विवादबारे प्रश्न गर्दा खेम यसो भनेर टार्छन्, ‘मेरो जिन्दगीमा योदेखि बाहेक पनि अरु धेरै पीडाहरू छन् । त्यसैले यसबारे धेरै नखोतालौँ । यो कुरा लगभग टुंगिसकेका थियो, उहाँले गएर फेरि बोल्नु भएछ ।’

    विवाद उत्पन्न भइरहँदा शान्ती श्री र खेमको एकपटक भेट भएको थियो । भेट हुँदा आफूले नमस्कार गरेको तर खेमले देखेर पनि नदेखेजस्तो गर्दै नमस्कार नै नफर्काएको शान्ती श्रीको गुनासो छ । आफूले इग्नोर गरेको कुरालाई खेमले स्वीकारेका छन् ।

    ‘म सधैँ आफू पछि सरेर अरुलाई अगाडि सार्ने मान्छे हो । म कसैलाई नराम्रो भन्दिनँ । तर, इग्नोर चाहिँ गरेकै हो । दर्शकले यो कुरालाई कसरी लिनुहुन्छ थाहा छैन, तर सबैको आआफ्नो व्यक्तिगत जीवन हुन्छ,’ उनी भन्छन, ‘मेरो कारणले उहाँको कुनै बाटो छेकिएको छैन । मैले अन्तर्वातामा बोल्दा उहाँलाई मात्र भनेको पनि थिईनँ । सबैलाई भनेको थिएँ । कहिलेकाँही अन्याय रोक्न कोही न कोहीले बोल्नैपर्छ । मैले बोलेको कुरा नराम्रो थिएन । मैले मात्र सर्जकलाई सम्मान हुनुपर्छ भनेको थिए । म त सधैँ शान्तीजीलाई राम्रो गर्दै जानु भन्छु ।’

    आफूले शान्ती श्रीलाई ‘मृत घोषणा गरेको’ खेम स्वीकार गर्दैनन् ।

    उनी भन्छन्, ‘बरु म मरिहालेँ भने पनि यी व्यक्तिहरूलाई चाहिँ मेरो छेउमा नलेऊ है भन्न सक्छु, तर कसैलाई त्यतिसम्म भन्न सक्दिनँ । म अरुलाई नराम्रो भन्नु हुन्न, अरुको बाटो छेक्नुहुन्न भन्ने सिद्धान्त बोकेको मान्छे हो । मेरो मन मर्यो भने बरु म आफैं पछि हट्छु तर उसको बाटो कहिले छेक्दिनँ । उसलाई कहिले नराम्रो भन्दिनँ ।’

    ‘शान्तीजी मलाई एकदमै मनपर्ने मान्छे हो । उनले संगीत सिक्ने बेला म संगीत सिकाउँदै हिड्थेँ । उहाँ धेरै नै दु:ख र मेहेनत गरेर यहाँसम्म आएको गायिका हो । सँगसँगै उहाँ मलाई मनपर्ने गायिका पनि हो,’ उनी थप्छन्, ‘उहाँको आवाज सुन्दा ढोग्ने मान्छे हो म । मलाई कसैको आवाजले बढी छुन्थ्यो भने, त्यो उनको आवाजले छुन्थ्यो । उहाँले धेरै संघर्ष गर्नुभएको छ मलाइ थाहा छ । तर त्यस्तै संघर्ष मैले पनि त गरेको छु । उहाँको जस्तो मेरो पनि त परिवार छ ।’

    शान्ति श्रीले सर्जकको सम्मान नगरेको आरोपलाई खण्डन गरेकी छन् ।

    उनले भनेकी छिन्, ‘म कहिले सर्जकको अपमान गर्दिनँ । मलाई आवाज सरस्वती माताले दिनुभएको हो भने त्यो आवाजलाई दर्शकसम्म पुर्‍याउने माध्यम सर्जकहरूले दिनुभएको हो । म सधैँ मनमा सर्जकलाई पुजा गरिरहेकी हुन्छु । मैले खेमजीलाई उहाँको रेट अनुसारको राम्रै पेमेन्ट दिएर गीतमा काम गराएकी थिएँ । यस्तो हुन्छ भन्ने लागेको थिएन ।’