Category: कलाप्रेस

  • गर्भवती प्रियंका र ऋचालाई हिरोइनले खुवाए दहीच्यूरा !

    गर्भवती प्रियंका र ऋचालाई हिरोइनले खुवाए दहीच्यूरा !

    काठमाडौं । प्रियंका कार्की र ऋचा शर्मा अहिले गर्भावस्थालाई सेलिव्रेसन गर्न व्यस्त छन् । सन्तानलाई जन्म दिने तयारीमा रहेका यी दुई नायिकालाई बधाई र शुभकामना दिन अन्य हिरोइन पनि व्यस्त छन् ।

    नायिकाहरु रेखा थापा, रीमा विश्वकर्मा, केकी अधिकारी र बेनिशा हमालले शुक्रबार प्रियंका र ऋचालाई खुशियालीमा दहीच्युरा खुवाएका छन् । यी सबै नायिका ऋचा र प्रियंकाका मिल्ने साथीहरु पनि हुन् । केकी र रीमाले दहीच्युरा खुवाउने कार्यक्रमको संयोजन गरेका हुन् । यो जमघटमा प्रियंका र ऋचा खुशि देखिएका छन् ।

  • पतिको गिरफ्तारपछि शिल्पाको पहिलो बयान : कुनैपनि आवश्यकताले मलाई अगाडिको जिन्दगी बाँच्न रोक्ने छैन

    पतिको गिरफ्तारपछि शिल्पाको पहिलो बयान : कुनैपनि आवश्यकताले मलाई अगाडिको जिन्दगी बाँच्न रोक्ने छैन

    मुम्बई । पोर्न फिल्म बनाएको आरोपमा सोमबार बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति राज कुन्द्रा गिरफ्तार भए । अदालतको आदेशमा कुन्द्रालाई प्रहरीले अहिले न्यायिक हिरासतमा राखेको छ र सम्भवतः आज शुक्रबार उनीबारे थप आदेश हुने जनाइएको छ ।

    प्रहरीले शिल्पासँग पनि यस प्रकरणमा सोधपुछ गर्ने तयारी गरेको छ । पतिको गिरफ्तारीपछि मौन रहेकी शिल्पा अहिले भने खुलेर प्रस्तुत भएकी छिन् । अदालतमा पुनः प्रस्तुत हुनुअघि शिल्पाको सामाजिक संजाल पोस्ट अहिले चर्चामा छ ।

    जेम्स थर्बरले लेखेको लाइनलाई कपि गर्दै शिल्पाले आफ्ना अभिव्यक्ति सेयर गरेकी छिन् । उनी लेख्छिन्, ‘रिसमा पछाडि र डरमा अगाडि नहेर्नूस, बरु चारैतिर हेरेर सतर्क बन्नूस । हामीले रिसमा पछाडि फर्किएर तिनै मानिसहरुलाई हेर्छौं, जसले हामीलाई चोट पुर्‍याएका छन् ।’

    जुन तनाव हामीले झेलेका छौं । जुन दुर्भाग्य हामीले सहेका छौं । जागिर गुम्ला भन्ने पिरले हामी अघि हेर्छौं । केही बिरामी हुनसक्छन् भने कोहीलाई मृत्युको डर हुन्छ । हामीले यसलाई सुधार गर्नुपर्ने हुन्छ ।’

    जे कुरा भैसक्यो, जे कुरा हुनु थियो, यसबाट बिचलित हुनुहुँदैन । यसबारे आँखालाई खुला राख्नु जरुरी छ । म जिउँदै छु भन्ने कुराले भाग्यमानी महसुस गरेकी छु र गहिरो सास लिने गरेकी छु । म यसअघि पनि चुनौतिबाट जोगिएकी थिएँ र अगाडि पनि चुनौतिबाट जोगिनेछु । कुनै पनि आवश्यकताले मलाई अहिले अगाडिको जिन्दगी जिउनबाट रोक्नेछैन ।’

    प्रहरीले शिल्पासँग राज कुन्द्राबारे थप प्रमाण हुनसक्ने जनाएको छ । प्रहरी छानविनमा राजको काममा शिल्पाको सक्रिय भूमिका नभेटिएको समेत जनाएको छ । सन् २००९ मा विहे गरेका राज र शिल्पाका तर्फबाट दुईजना सन्तान छन् ।

  • सलोन बस्नेत अब वेब-सिरिज निर्माता, रिलिज भयो ‘हेल्लो ब्रो’

    सलोन बस्नेत अब वेब-सिरिज निर्माता, रिलिज भयो ‘हेल्लो ब्रो’

    काठमाडौं । अभिनेता सलोन बस्नेत अब वेब-सिरिज निर्माता बनेका छन् । कोरोना महामारीले फिल्म गतिविधि ठप्प भएपछि सलोनको व्यस्तता अहिले वेब सिरिज निर्देशनतर्फ छ ।

    उनको कम्पनी सलोन–सलिना फिल्मसले निर्माण गरेको सिरिज ‘हेल्लो ब्रो’ इन्टरनेट रिलिज भएको छ । कूल २१ एपिसोडसम्म निर्माण हुने सिरिजलाई सिजन–वाइजरुपबाट रिलिज गरिने भएको छ ।

    सबै नयाँ अनुहारलाई लिएर निर्माण गरिएको हेल्लो ब्रोलाई सुरेश न्यौपानेले लेखन एवं निर्देशन गरेका हुन् । सलोन यसका कार्यकारी निर्माता हुन् । ‘२१ एपिसोड बनाउने हाम्रो तयारी छ र लागत १८ लाग्ने अनुमान छ’ सलोनले भने, ‘फिल्म क्षेत्रमा व्यस्त नभैञ्जेल अब सिरिजमै लाग्नेछु ।’

    बुढासुब्बा टिभीमा बिहीबार बेलुका ७ बजे सिरिज प्रसारण सुरु भएको छ । सलोन अभिनित पाँचवटा फिल्म रिलिजको पर्खाइमा छन् । कोरोना संक्रमणको परिस्थिती सामान्य भए साउन अन्त्यदेखि उनले अभिनय गर्ने डाँडाको वरपिपल छायांकनमा जाने तयारीमा छ ।

  • नवीनको कमब्याक गीतमा ब्वाइफ्रेन्डसँग वर्षाको रोमान्स

    नवीनको कमब्याक गीतमा ब्वाइफ्रेन्डसँग वर्षाको रोमान्स

    काठमाडौं । वर्षा शिवाकोटी र राज कटवाल केही समयदेखि प्रेम सम्बन्धमा छन् । यो जोडी सार्वजनिकरुपमै प्रेम व्यक्त गरिरहेको छ । उनीहरु आफ्नो सम्बन्धलाई प्रेमभन्दा मित्रता भन्न रुचाउँछन् ।

    अब भने यो जोडीले सँगै म्युजिक भिडिओमा अभिनय समेत गरेको छ । गायक नवीन के भट्टराईको नयाँ म्युजिक भिडिओमा उनीहरुलाई सँगै फिचर्ड भएको रुपमा देख्न सकिन्छ ।

    ‘बाटो हेरेर कुरिरहन्छु’ बोलको यही गीतमार्फत गायक भट्टराई चारवर्षपछि कमब्याक भएका हुन् । भिडिओलाई नवीनकी धर्मपत्नी नवीनाले निर्देशन गरेकी छिन् ।

    नेपाल प्रेससँग कुरा गर्दै कटवालले वर्षासँग अन्य म्युजिक भिडिओमा समेत प्रस्तुत हुने तयारी रहेको बताए । उनका अनुसार यो सांगीतिक भिडिओ आगामी साता रिलिज हुने तयारीमा छ ।

  • प्रियंकाको बचाउमा मानुषीले पनि प्रदर्शन गरिन् गर्भावस्थाको पेट

    प्रियंकाको बचाउमा मानुषीले पनि प्रदर्शन गरिन् गर्भावस्थाको पेट

    काठमाडौं । नायिका प्रियंका कार्की जबदेखि गर्भवती भइन्, लगातार गसिपमा छाइरहेकी छन् । सामाजिक सञ्जालमा दिनदिनै आफ्नो बेबी बम्प प्रदर्शन गरिरहेकी उनलाई गालीको वर्षा भइरहेको छ । केहीले उनको समर्थन पनि गरेका छन् ।

    सामाजिक सञ्जालमा प्रियंकाको भुँडीलाई लिएर नानाथारि चर्चा परिचर्चा भइरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यो कोलाहलमा मिसिए । उनले प्रियंकाको भुँडी प्रदर्शनलाई ‘पितृसत्ताको जालो च्यात्ने साहस’ भन्दै ट्विटरमा प्रशंसा गरेपछि अत्यधिक नकारात्मक प्रतिक्रियाको सामना गर्नुपर्यो ।

    प्रियंकाको बेबीबम्प फोटोको प्रशंसा गर्दै बाबुरामले भने स् रुढीबादी सत्ताको जालो च्यात्ने साहस

    बाबुरामको यो ट्विटमाथि प्रतिक्रिया जनाउँदै माओवादीनिकट पूर्वसञ्चारकर्मी आस्था केसीले लेखिन्, ‘हजुरकी सुपुत्री मानुषी यमी भट्टराईलाई यस्तो सुन्दर कार्य किन नगराउनु भएको ? खोइ देखिएन त ? कस्ता कस्ता मान्छेलाई आदर्श नेता मानेर हिँडिएको रहेछ । मानिस सामाजिक प्राणी हैन र ? कि केही मानिसलाई पशुलाई जस्तो जे गरेपनि छुट र स्वतन्त्रता हुने हो ?’

    आस्थाको यो ट्विटमाथि डा. भट्टराईकी पुत्री मानुषी यमी भट्टराईको जवाफ आएको छ । उनले ‘मेरो सुन्दर कार्य हेर्नु अब’ भन्दै आफ्नो गर्भवती भुँडीको पुरानाे तस्वीर सेयर गरेकी छन् ।

    उनी लेख्छिन्, ‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ? नेपाली कणहरू सारै रूढीवादी !’

    मानुषीको यो ट्विटमा तीव्र प्रतिक्रियाहरु आइरहेका छन्, जसमा केही सकारात्मक र धेरै नकारात्मक छन् । डा. बाबुराम त नकारात्मक कमेन्टहरुमा अभ्यस्त नै हुन्, तर हालसम्म खासै विवादमा नतानिएकी मानुषीका लागि चाहिँ नमिठो अनुभव हुन सक्छ ।

    एउटा प्रतिनिधि कमेन्ट यस्तो छः

    ए नानी। बा कम्निष्ट भैन्जेल आस्थाहरुलाई अङ्ग प्रदर्शन पुँजीवादीहरुले गरेको महिलाको वस्तुकरण हो भनेर पढाए। अब कम्युनिजम छोडेपछि महिलाको अङ्ग प्रदर्शनलाई क्रान्ति मान्न थाले। फेसन टीभीमा यस्तो क्रान्ति २४ घण्टा चलिरन्छ । हिजो के भन्यौ आज के भन्दैछौ ?

  • पोर्न फिल्म प्रकरणमा राज कुन्द्रा न्यायिक हिरासतमा, शिल्पा सेठ्ठीलाई सोधपुछ गर्ने तयारी

    पोर्न फिल्म प्रकरणमा राज कुन्द्रा न्यायिक हिरासतमा, शिल्पा सेठ्ठीलाई सोधपुछ गर्ने तयारी

    मुम्बई । पोर्न फिल्म बनाएको आरोपमा भारतीय प्रहरीले गत सोमबार बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति राज कुन्द्रालाई गिरफ्तार ग¥यो । अदालतको आदेश अनुसार शुक्रबारसम्म उनलाई न्यायिक हिरासतमा राखिने भएको छ ।

    राजसँगै उनका साथी रयान थारपलाई पनि हिरासतमा राखिएको छ । साथै, राजकी पत्नी तथा अभिनेत्री शिल्पालाई पनि प्रहरीले सोधपुछ गर्ने तयारी गरेको । किनभने राजका अधिकांश व्यापारमा शिल्पा व्यवसायिक साझेदार समेत हुन् ।

    मुम्बई प्रहरीको क्राइम ब्रान्चले शिल्पालाई सोधपुछका लागि बोलाउने तयारी गरेको छ । उनीहरुको बयानका आधारमा प्रहरीले अहिलेसम्म थप ११ जना आरोपीलाई गिरफ्तार गरेको छ ।

    राज कुन्द्राको गिरफ्तारीलाई लिएर अहिले बलिउड विभाजित छन् । गायिक मिका सिंह लगायतका कलाकार कुन्द्राको समर्थमा उत्रिएका छन् । उनीहरुले सजाय दिलाउने काम अदालतको भएको बताएका छन् ।

    फेब्रुअरीमा अभिनेत्री गहना वशिष्ठसहित ६ जनालाई गिरफ्तार गरिएपछि यो घटना प्रकाशमा आएको हो । कुन्द्राले सुट गरेको फिल्म पेड मोबाइल एपमा पोस्ट गरेपछि प्रहरीले यसबारे थाहा पाएको हो ।

    अभिनेत्री गहना वशिष्ठले अदालतले यसको न्यायिक छानविन गर्ने बताएकी छिन् । अभिनेत्री कंगना रनावतले कुन्द्राको गिरफ्तारीपछि बलिउडले नैतिकता गुमाएको बताउँदै आफूले थप एक्सपोज गर्ने बताएकी छिन् । अभिनेत्री राखी सावन्त पनि कुन्द्राको पक्षमा उत्रिएकी छिन् । युट्युवर पुनित कौरले पोर्न फिल्म बनाउन आफूलाई कुन्द्राले म्यासेज पठाएको आरोप लगाएकी छिन् ।

  • कलाकार प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्धभावना दूत’ नियुक्त

    कलाकार प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्धभावना दूत’ नियुक्त

    काठमाडौं । गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्धभावना दूत’ नियु्क्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रम आयोजना गर्दै उनीहरुलाई ‘विपद् जोखिम न्यूनीकरण सद्धभावना दूत’ नियुक्त गरेको घोषणा गरेको हो ।

    बाढी पहिरोबाट बढी प्रभावित जिल्लामध्येका दुई जिल्ला बाग्लुङ्ग स्थायी घर भएका गायक सपुत र सिन्धुपाल्चोक स्थायी घर भएकी गायिका दुलाललाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।

    दुवै जनालाई एक वर्षका लागि सद्भावना दूत घोषणा गरिएको प्राधिकरणका सहसचिव अनिता निरौलाले जानकारी गराईन । विपद् जोखिम न्यूनिकरणमा कलाकारको विशेष भूमिका रहने भएकाले उनिहरुलाई सद्भावना दूत नियुक्त गरिएको उनको भनाई छ ।

    विपद जोखिम न्यूनकिरण गर्नका लागि जनचेतना फैलाउनका लागि उनिहरुलाई नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता समेत रहेका सहसचिव विश्वप्रकाश अर्यालले बताए । दूत नियुक्त भइसकेपछि दुवै जनाले विपद् जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्राधिकरणले अपेक्षा गरेको जनाइएको छ ।

    अहिले नेपालीले भोगिरहेको जोखिमलाई १० वर्षमा कम भन्दा कम पुर्याउनका लागि प्राधिकरण लागि परेको र त्यसैमा कलाकारलाई पनि जोडेर अघि बढाउन खोजिएको प्राधिकरणका प्मुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

    कार्यक्रममा दुवै जना कलाकारले प्राधिकरणसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो तर्फबाट निर्वाह गर्न सकिने सबै भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सरकारी निकायसँग आफुहरुको पहिलो सहकार्य भएकाले अन्य सरकारी निकायलाई पनि यसै गरी अरु कलाकारलाई पनि सहकार्य गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

    कार्यक्रममा गायक सपुत र गायिका दुलालले गाएको र अभिनय गरेको बाढी पहिरो, हामीलाई चिन्ता गहिरो बोलको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

  • प्रधानमन्त्रीसँग फिल्मकर्मीको छलफल : सरकारले राहत ल्याउने, कलाकारलाई चाँडै खोप

    प्रधानमन्त्रीसँग फिल्मकर्मीको छलफल : सरकारले राहत ल्याउने, कलाकारलाई चाँडै खोप

    काठमाडौं । कोरोना महामारीले प्रभावित फिल्म क्षेत्रलाई सघाउन सरकारले राहत कार्यक्रम ल्याउने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट्न आएका फिल्मकर्मीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वासन दिएका हुन् ।

    कांग्रेस निकट सांस्कृतिक संघले बालुवाटारमा बिहीबार आयोजना गरेको कार्यक्रममा देउवाले कोरोनाले प्रभावित कला र फिल्म क्षेत्रलाई सघाउन सरकारले राहत कार्यक्रम ल्याउने जानकारी दिए ।

    लामो समयको लकडाउन र निषेधाज्ञाले फिल्म क्षेत्र धरासायी बनेको, फिल्म हल लामो समयदेखि बन्द भएको र कलाकारहरु कामबिहीन भएको अवस्थामा फिल्मलाई लयमा फर्काउन सरकारले सहयोग गर्नुपर्ने कलाकारको माग थियो ।

    देशको गहनाको रुपमा रहेका कलाकारका लागि सरकारले चाँडै खोपको व्यवस्था गर्ने जानकारी दिँदै देउवाले कोरोना प्रभावित यो क्षेत्रमा सघाउने वचन पनि दिए ।

  • पल र मलिकाले अब फिल्ममा जोडी बाँध्ने, गोपिकृष्णको ‘पर्खि बसेँ २’मा लिड-कपल

    पल र मलिकाले अब फिल्ममा जोडी बाँध्ने, गोपिकृष्णको ‘पर्खि बसेँ २’मा लिड-कपल

    काठमाडौं । पल शाह र मलिका महत पछिल्लो समय रुचाइएको स्क्रिन कपल हो । फुल बुट्टे सारी र टाढा भएपनिजस्ता हिट म्युजिक भिडियोमा स्क्रिन सेयर गरेको यो जोडीलाई ठूलो पर्दामा सँगै हेर्न दर्शकले चाहिरहेका छन् । पल र मलिका स्वयमले पनि दर्शकलाई पहिलेदेखि नै सँगै आउने बताइरहेका थिए ।

    अब भने, यी दुईजनालाई पर्दामा सँगै हेर्न पाउने अवसर मिल्ने भएको छ । २०६५ सालमा व्यवसायिक हिट बनेको फिल्म पर्खि बसेँको दोस्रो सिक्वेलमा यी दुईजनालाई हेर्न पाइने भएको छ । अब पल र मलिकाले उक्त फिल्मको अघिल्लो जोडी राजवल्लभ कोइराला र युना उप्रेतीलाई रिप्लेस गर्ने भएका छन् ।

    गोपीकृष्ण मुभिज र हिमालय फिल्मसले निर्माण गर्ने पर्खि बसेँ २ मा यी दुईजनालाई अनुबन्धित गर्ने तयारी भएको छ । फिल्ममा खेल्न दुबैजनाले मौखिक सहमति गरेको र केही दिनमा लिखित सम्झौता हुने जनाइएको छ । फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।

    म्युजिक भिडिओमा हिट भएपछि यी दुबैलाई कास्ट गर्न फिल्म हाउसहरुले अफर गरिरहेका थिए । उनीहरुले केन्द्र मोसन पिक्चर्ससँग ६ महीना म्युजिक भिडिओ र फिल्म गर्नको लागि सहमति गरेको पनि चर्चा भएको थियो । हेरौं, म्युजिक भिडिओको चर्चित जोडीले फिल्मको पर्दामा आफूलाई स्थापित गर्लान् वा नगर्लान् ?

    स्रोतका अनुसार यो फिल्म कोरोना महामारीको अवस्था सामान्य भए छायांकनमा जाने तयारीमा छ ।

  • कन्ट्रोभर्सीमा फसेपछि नम्रताको टिप्पणी : टीकटकमा मेरो सात पुस्तालाई गाली गरेका छन्

    कन्ट्रोभर्सीमा फसेपछि नम्रताको टिप्पणी : टीकटकमा मेरो सात पुस्तालाई गाली गरेका छन्

    काठमाडौं । अभिनेत्री नम्रता सापकोटा पछिल्लो वर्षमा निकै भाइरल छिन् । उनी भाइरल हुनुको पछाडिको कारण चाहिँ अरु होइन, उनका अभिव्यक्तिहरु हुन् । उनको बोलीले उनलाई कन्ट्रोभर्सीमा तान्ने गरेको छ ।

    अघिल्लो लकडाउनमा उनी नेपोटिज्मको कारणले चर्चामा थिइन् । नेपाली फिल्ममा पनि आफन्तवाद (नेपोटिज्म) व्याप्त भएको बताएपछि उनी चर्चामा आएकी थिइन् ।

    दोस्रोपटकको लकडाउनमा पनि नम्रता अभिव्यक्तिकै कारणले चर्चामा छिन् । गतसाता एक टेलिभिजनसँगको अन्तर्वार्तामा नम्रताले आफूलाई सिंगल मदर बन्न चाहेको बताएपछि सामाजिक संजाल उनको पक्ष र विपक्षमा विभाजित भएको छ ।

    आफूलाई विहेभन्दा बच्चा पाउनु रहर भएको नम्रताको कथन छ । तर, यसैसाता अर्को एक अन्तर्वार्तामा उनले आफू स्पष्टावक्ता भएकाले कसैसँग डर मान्नुपर्ने कारण नभएको बताएकी छिन् । ‘हो, मलाई टीकटकमा मेरो सात पुस्तालाई गाली गरेका छन्’ नम्रता भन्छिन्, ‘टीकटकमा बहस भन्दा प्लेटफर्मको दुरुपयोग भएको छ ।’

    टीकटकको सदुपयोगभन्दा दुरुपयोग भएको बताउँदै नम्रताले एक घण्टाको कुरालाई तीन मिनेटमा सीमित राखेर बुझ्न नसकिने बताइन् । टीकटकमा हिट भएकै कारण चर्चामा आएकालाई पनि उनले सुझाउँदै लगाव र मिहेनतबाट आउन भनेकी छिन् । नम्रता पछिल्लो समय म्युजिक भिडिओ र सामाजिक काममा व्यस्त छिन् ।

     

  • प्रियंकाको बेबी-बम्प फोटोको प्रशंसा गर्दै बाबुरामले भने : रुढीबादी सत्ताको जालो च्यात्ने साहस

    प्रियंकाको बेबी-बम्प फोटोको प्रशंसा गर्दै बाबुरामले भने : रुढीबादी सत्ताको जालो च्यात्ने साहस

    काठमाडौं । अभिनेत्री प्रियंका कार्की पछिल्लो समय चर्चामा छिन् । टाइमलाइनमा उनका तस्विर चर्चाको केन्द्रमा छन् । पूर्वप्रधानमन्त्रीदेखि सर्वसाधारणले उनको बेबी–बम्प तस्विरमाथि आफ्नै दृष्टिकोण पेश गरिरहेका छन् ।

    कतिपयले गर्भावस्थालाई सेलिव्रेसन गर्न पाउनु उनको निजी अधिकार र स्वतन्त्रता भएको बताइरहेका छन् भने कतिपयले उनलाई उत्ताउली भएको भन्दै आलोचना गरिरहेका छन् ।

    प्रियंकाको बेबी-बम्पवाला तस्विरमाथि सामाजिक संजालमा भैरहेको बहसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि जोडिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले प्रियंकाको कामको प्रशंसा गरेका छन् ।

    उनी लेख्छन्, ‘यति गर्न यो यो खानैपर्छ । १) महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक/उन्नत चेतना (गूगल सर्च गरौं) । २) युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस ३) ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल !

  • हेलम्बुलाई इन्द्रेणी कार्यक्रमको ६२ लाख, कलाकारले मेलम्चीको दनुवार बस्तीमा २० घर बनाइदिने

    हेलम्बुलाई इन्द्रेणी कार्यक्रमको ६२ लाख, कलाकारले मेलम्चीको दनुवार बस्तीमा २० घर बनाइदिने

    काठमाडौं । बाढीप्रभावित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको १७ पीडित परिवारका लागि टेलिभिजन कार्यक्रम इन्द्रेणीले अस्थायी आवास निर्माण गर्ने भएको छ ।

    बाढी प्रभावित बासिन्दाको लागि अस्थायी आवास बनाउन कार्यक्रमका अध्यक्ष कृष्ण कँडेलले ६२ लाख रुपैयाँ गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरे ।

    साथै, कलाकारद्वारा स्थापित सिन्धु सहयोग कोषले बाढीप्रभावित मेलम्चीको दनुवार बस्तीमा २० वटा घर निर्माण गर्ने तयारी भएको छ । कोषका सदस्य संगीतकार चेतन सापकोटाले आधुनिक शैलीमा दुई तले होमस्टे घर बनाइदिने तयारी भएको बताए ।

    बिहीबार बस्ने कलाकारहरुको बैैठकले यसबारे थप योजना सार्वजनिक गर्ने जनाइएको छ । यसैसाता करिश्मा मानन्धरसहितका कलाकारले बाढी प्रभावित मेलम्ची, हेलम्बु र पाँचपोखरीको निरिक्षण गरेका थिए ।

  • ‘प्रेमगीत’ बन्यो युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म

    ‘प्रेमगीत’ बन्यो युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म

    काठमाडौं । पाँचवर्षअघि रिलिज भएको फिल्म ‘प्रेमगीत’ युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म बनेको छ । साउन ६ गते बेलुकासम्म फिल्मलाई २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ ।

    कुनै नेपाली फिल्मले भिडिओ साझेदारी साइट युट्युवमा पाएको सबैभन्दा बढी भ्यूज हो । सन् २०१६ को जुन १७ तारिखमा युट्युवमा रिलिज गरिएको फिल्मलाई सन्तोष सेनले निर्माण र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

    प्रदीप खड्का र पूजा शर्माको अनस्क्रिन जोडी निकै हिट भएको थियो । मुस्ताङको यात्रामा निस्किएका दुईजना अपरिचित पात्र प्रेम र गीतको प्रेम सम्बन्धको कथा यसले पेश गर्छ । घरेलु बक्सअफिसमा समेत यो फिल्म हिट भएको थियो ।

    युट्युवमा कीर्तिमान राखेपछि निर्माता सेनले दर्शकलाई धन्यवाद दिएका छन् । प्रेमगीतको तेस्रो सिक्वेलसम्म निर्माण भएको छ ।

  • नेपाली र बलिउडको विदेश सुटिङ अनिश्चित, ‘खोप राजनीति’को असर फिल्म छायांकनमा

    नेपाली र बलिउडको विदेश सुटिङ अनिश्चित, ‘खोप राजनीति’को असर फिल्म छायांकनमा

    काठमाडौं । बलिउड फिल्मको सुटिङ भारतभित्रै सुरु भएको छ तर, विदेश छायांकन भने स्थगित छ । विदेशमा फिल्म छायांकनलाई लिएर बलिउडलाई अहिले अर्को टाउको दुःखाइ भएको छ ।

    त्यो हो : कोभिड खोप ।

    भारतले उत्पादन गरेको कोरोनाभाइरस विरुद्धको कोभिसिल्ड खोपलाई अझै थुप्रै युरोपेलीसहितका मुलुकले मान्यता दिएका छैनन् । केही देशले यात्रा प्रतिबन्ध लगाउँदा पनि बलिउडको विदेश छायांकन अनिश्चित बनेको छ ।

    यदि परिस्थिती चाँडै ठीक भएन भने या त विदेशको छायांकन तालिका स्थगित गर्नुपर्छ या त, लोकेसन र स्क्रिप्टमा परिवर्तन गर्नुपर्छ ।

    बलिउडका लागि युरोप निकै आकर्षक छायांकन गन्तव्य मुलुक हो । तर, थुप्रै युरोपेली मुलुकले कोभिसिल्ड खोपलाई मान्यता दिएका छैनन् । नेपालमा समेत कोभिसिल्ड खोपको प्रयोग भएको छ ।

    कुन-कुन युरोपेली देशले दिए कोभिसिल्डलाई मान्यता ?

    यद्यपी, फ्रान्स र युरोपियन युनियन लगायतका १६ मुलुकले खोपलाई मान्यता दिएका छन् । कोरोनाको डेल्टा भेरिएन्ट फैलिएको कारणले पनि थुप्रै मुलुकले भारतलाई उच्च जोखिमपूर्ण मुलुकको सूचीमा राखेका छन् । कमर्सियल उडान पनि हुनसकेको छैन ।

    यस्तोमा, फिल्म छायांकनलाई ती देशले अनुमति दिन सम्भावना न्यून छ । यही मेसोमा कंगना रनावत स्टारर फिल्म धाकडको छायांकन युरोपकै हंगेरीमा कोभिड मापदण्ड पालना गर्दै भैरहेको त छ तर, सोचेजस्तो सजिलो भएको छैन ।

    बलिउडको जस्तै समस्या नेपाललाई पनि पर्ने देखिएको छ भने किनभने, कोभिसिल्ड नेपालमा पनि प्रयोग भएको छ । प्रत्येक देशको आफ्नै खोप नीति भएकाले कुन खोप लगाएमा कुन देश जान पाइन्छ भन्ने कुरामा पनि अन्यौल छाएको छ ।

    चिनियाँ खोप भेरोसेल लगाएकालाई अमेरिका, युरोप र अष्ट्रेलियाले मान्यता दिएका छैनन् जसले गर्दा भेरोसेल लगाएका बहुसंख्यक फिल्मकर्मी ती देशमा जान पाउनेछैनन् ।

    खोप राष्ट्रियताको कारण स्वदेशमा स्थिती अनुकूल भएपनि विदेशमा भने स्थिती तत्काल साम्य हुने सम्भावना देखिएको छैन । अझै पनि नेपाललाई अमेरिका, युरोप लगायतका मुलुकले यात्रा प्रतिबन्ध लगाएका छन् ।

  • बरिष्ठ चित्रकार उत्तम नेपालीको निधन

    बरिष्ठ चित्रकार उत्तम नेपालीको निधन

    काठमाडौं । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

    किलागलमा पिता विष्णुप्रसाद कर्माचार्य र माता रत्नदेवीका कोखबाट जन्मनुभएका नेपालीसँग निजामती सेवाको पनि लामो अनुभव थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए ।

    साहित्यकार नेपालीका लेख, रचना र कविता पहिलोपटक विसं २०२१ मा मधुपर्कमा प्रकाशित भएको थियो । उनको ‘बिना शीर्षक’ कविता सङ्ग्रह २०६१ सालमा प्रकाशन भएको छ । कवि र साहित्यकारको मुहारचित्र बनाई प्रदर्शन गरेका उनी राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट सम्मानित भएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

  • कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणिलाई गृहजिल्लाबाट ६ लाख प्राेत्साहन पुरस्कार

    कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणिलाई गृहजिल्लाबाट ६ लाख प्राेत्साहन पुरस्कार

    काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी भतरमणि पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा पुरस्कार दिइने भएको हो ।

    भट्टराईले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले २ लाख, ताप्लेजुङ सरोकार केन्द्रले २ लाख तथा रेडियो तमोरको तर्फबाट १ लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको हो । पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ ।

    ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको शीर्ष ६ मा प्रतिस्पर्धा गरिरहेका छन् । प्रस्तुतिका आधारमा उनी च्याम्पियनको यस सिजनमा सबैभन्दा उत्कृष्ट देखिएका छन् । दुई साताअघिकाे एपिसाेडमा भरतमणिले भट्टराईकै पनि क्यारिकेचर गरेका थिए । जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहनस्वरुप पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए ।

    उनकै संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङका संघ संस्थाका प्रतिनिधिहरुको भेलामा छलफल भएपछि पुरस्कार दिने निर्णय गरिएको हो । कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नेता भट्टराईले नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने बताए ।

  • फिल्म छायांकनलाई अनुमति दिने सरकारको तयारी, केही दिनमै औपचारिक निर्णय हुने

    फिल्म छायांकनलाई अनुमति दिने सरकारको तयारी, केही दिनमै औपचारिक निर्णय हुने

    काठमाडौं । सरकारले सामाजिक दूरीको मापदण्ड पालना गर्दै फिल्म छायांकनको अनुमति दिने तयारी गरेको छ । संचार मन्त्रालयसँग यसबारे अनौपचारिक छलफल भएको र केही दिनमै औपचारिकरुपमा अनुमति दिने तयारी रहेको चलचित्र विकास बोर्डले जनाएको छ ।

    बोर्ड अध्यक्ष दयाराम दाहालका अनुसार नयाँ मन्त्री नियुक्त हुने वित्तिकै छायांकन अनुमति दिने बारे औपचारिक घोषणा हुनेछ । सरकारले अनुमति नदिएपनि अहिले फिल्म सुटिङ धमाधम हुन थालेको छ र बोर्डले सहजीकरण गरिरहेको छ । ‘सुटिङ सुरु भैसकेको छ र हामीले कुनै अप्ठ्यारो नहोस् भनेर सहजीकरण गरिरहेका छौं’ दाहालले नेपाल प्रेसलाई भने, ‘औपचारिक निर्णय भने केही दिनमै गर्ने तयारी छ ।’

    कोभिड-१९ को दोस्रो लहरको रोकथामका लागि निषेधाज्ञा लागू भएसँगै फिल्म छायांकन पनि रोकिएको थियो । तर, तत्काल फिल्म हल खुल्ने सम्भावना चाहिँ छैन । यसका लागि कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले निर्णय गर्नुपर्छ ।

    कसरी गर्ने तयारी छ सुटिङ ?

    सरकारले अहिले २५ जनाभन्दा बढी संख्यामा सार्वजनिक थलोमा भेला हुन रोक लगाएको छ । फिल्म सुटिङ गर्दा २५ जनाभन्दा कम संख्यामा कास्ट एन्ड क्रिउ उपस्थित गराएर मात्र छायांकनको अनुमति दिने तयारी छ ।

    साथै, कोभिड-१९ संक्रमण फैलन नपाउने र सामाजिक दूरी पालना गर्ने लगायतका प्रोटोकल पालना गराउने प्रतिबद्धता पनि मागिने भएको छ । कम व्यक्ति उपस्थित भएर सुटिङको अनुमति दिने सरकारको तयारी छ ।

    यसका लागि अध्यक्ष दाहालले मन्त्रालयमा परामर्श गरिरहेका छन् ।

    सिनेमा हल कहिले खुल्नेछ ?

    स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड संक्रमण दर १० प्रतिशत झरेमात्र फिल्म हल खुलाइने भएको छ । अहिले संक्रमण दर २१ प्रतिशत छ । काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीका अनुसार १० प्रतिशतमा संक्रमण नझरेसम्म भीडभाड हुने थलो खुलाइनेछैन ।

  • अस्पतालबाट चम्सुरीको अपिल : मलाई पैसा होइन, मिर्गौैला दान गर्नूस

    अस्पतालबाट चम्सुरीको अपिल : मलाई पैसा होइन, मिर्गौैला दान गर्नूस

    काठमाडौं । लोकप्रिय टेलिभिजन अभिनेत्री चम्सुरी अर्थात पल्पसा डंगोल दुबै मिर्गौला फेल भएपछि अहिले अस्पतालमा उपचाररत छिन् । चिकित्सकले उनका दुबै मिर्गौला फेर्नुपर्ने बताएका छन् ।

    चम्सुरीलाई सघाउन अहिले देश तथा विदेशस्थित कलाकारले उनलाई सघाउन आर्थिक अभियान चलाएका छन् । तर, चम्सुरीले भने आफूलाई पैसा नभएर मिर्गौला चाहिएको बताएकी छिन् ।

    उपचारमा आफू नै सक्षम भएकाले आर्थिक सहयोग आवश्यक नपर्ने तर, आफूलाई मिर्गौला जरुरी भएको उनले जनाएकी छिन् ।

    डाक्टरले ५० लाख लाग्ने बताएपनि अहिले २० लाख जति लाग्ने भएपछि आर्थिक संकलन नगरिएको चम्सुरी निकट अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बताइन् ।

  • स्विमिङ पुलमा हट सुन्दरीहरु : प्रियंकासँग आस्था र सहानाको रोमान्टिक सेलिव्रेसन (तस्विरहरु)

    स्विमिङ पुलमा हट सुन्दरीहरु : प्रियंकासँग आस्था र सहानाको रोमान्टिक सेलिव्रेसन (तस्विरहरु)

    काठमाडौं । गर्भावस्था मात्र हैन, अन्य क्षणलाई पनि कसरी सेलिव्रेसन गर्नुपर्छ भन्ने मामिलामा प्रियंका कार्की अगाडि छिन् । विहे, अफेयर, फिल्मदेखि पछिल्लो समय गर्भावस्थामा उनले खिचाएका तस्विरहरु ट्रेन्डिङमा छन् ।

    कान्स फिल्म फेस्टिभल ताका चर्किएको कन्ट्रोभर्सी होस् या पछिल्लो पटक बेबी–बम्पवाला तस्विर । सामाजिक संजालमा उनी हटकेक बनेकी छिन् । कतिपयले उनी उत्ताउलो बनेको टिप्पणी गरेका छन् भने कतिपयले निजी जीवनलाई उनले सेलिव्रेसन गर्न पाउनुपर्छ भनेर टिप्पणी गरेका छन् ।

    आयुष्मान देशराजसँग विहे गरेपछि प्रियंका अहिले ललितपुरको भैंसेपाटीस्थित घरमै बसिरहेकी छिन् । प्रियंकालाई भनेर अहिले उनको घर सजाइएको छ । उनलाई बधाई दिन दिनहुँ उनको घरमा साथीभाइको घुइँचो समेत लाग्ने गरेको छ ।

    मंगलबार सामाजिक संजालमा प्रियंकाले आफ्ना साथीहरुसँग स्विमिङ पुलका हट तस्विरहरु सेयर गरेकी छिन् । जहाँ, उनीहरु प्रियंकाको गर्भावस्थालाई उन्मुक्त भएर सेलिव्रेसन गरिरहेका छन् ।

  • कलाकारले बाढीप्रभावित सिन्धुपाल्चोकमा ४३ वटा पक्की घर बनाइदिने

    कलाकारले बाढीप्रभावित सिन्धुपाल्चोकमा ४३ वटा पक्की घर बनाइदिने

    काठमाडौं । कलाकारले बाढीप्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा पीडित बासिन्दालाई पक्की घर निर्माण गरिदिने भएका छन् । सोमबार कलाकारद्वारा संचालित सिन्धु सहयोग कोषको समूहले ती क्षेत्रको स्थलगत निरिक्षण गरेको थियो ।

    बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा कोषले १९ वटा पक्की घर बनाइदिने भएको छ । हेलम्बुको मगर बस्ती क्यूलमा २४ पक्की घर बनाइदिने कलाकारहरुले जनाएका छन् ।

    मेलम्ची र हेलम्बुसहित पाँचपोखरीमा आकर्षक पक्की घरसहितको होमस्टे बनाउने आफूहरुको तयारी रहेको र यसबारे चाँडै योजना सार्वजनिक गर्ने कोषका सदस्य एवं संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

    कोषको समूहले सिन्धुपाल्चोकबाट पुननिर्माणका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् प्राधिकारका प्रमुखसँग पनि यसबारे कुरा गरेको थियो । आज बस्ने कोषको बैठकले यसबारे थप योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।