Category: कलाप्रेस

  • बरिष्ठ अभिनेता श्रेष्ठ विभूषण समिति सदस्यमा नियुक्त

    बरिष्ठ अभिनेता श्रेष्ठ विभूषण समिति सदस्यमा नियुक्त

    काठमाडौं । बरिष्ठ अभिनेता मदनदास श्रेष्ठलाई सरकारले विभूषण समितिको सदस्यमा नियुक्त गरेको छ । राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान दिएबापत हालै बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई समितिमा नियुक्त गरेको हो ।

    गृहमन्त्री अध्यक्ष रहने समितिमा अन्य पाँच सदस्य हुनेछन् । अभिनेता श्रेष्ठसहित समितिमा गोविन्द प्रसाद शर्मा, डा. भूषण श्रेष्ठ, ओमप्रकाश महतो, नरबहादुर कँडेल मनोनित भएका छन् ।

    अभिनेता श्रेष्ठले समितिमा आफूलाई नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् भने अन्य कलाकारले श्रेष्ठलाई बधाई दिएका छन् । रंगमंच, टिभी, नाटक, फिल्मदेखि पछिल्लो समय दोलखामा फिल्म स्टुडियो निर्माणमा श्रेष्ठ सक्रिय छन् ।

  • मिडियालाई अविवाहित पलको जवाफ : गरिमासँग तीनपटक विहे भयो, तर कसरी ? (भिडिओ र तस्विर)

    मिडियालाई अविवाहित पलको जवाफ : गरिमासँग तीनपटक विहे भयो, तर कसरी ? (भिडिओ र तस्विर)

    काठमाडौं । पल शाहको नाम धेरै मोडल र अभिनेत्रीसँग जोडियो । आँचल शर्मा, वर्षा राउत, रियाशा दाहाल, मलिका महत र गरिमा शर्मासँग उनको केमेस्ट्रीको चर्चा हुने गरेको छ ।

    तर, पलको चर्चा गरिमासँग विशेष हुने गर्छ । किनभने, यो जोडीले पछिल्लो समय हिट गीतहरु पस्किइरहेको छ । यही मेसोमा पल र गरिमा फिचर्ड गीत ‘एउटा सपना छ’ मंगलबार इन्टरनेट रिलिज भएको छ ।

    राजधानीमा आयोजित प्रेसमिटमा गीत लन्च गरियो । पुष्पन प्रधानको संगीत र मून प्रसाईको स्वर रहेको गीतमा यी दुईजनाले अभिनय गरेका छन् ।

    मिडियासँग पल र गरिमा दुबै रोमान्टिक सुनिए । वास्तविक जीवनमा धेरैपटक विहे गरेका पलले अनस्क्रिन विहे भने दर्जनौंपटक भएको बताए । गरिमासँग ती अनस्क्रिन तीनपटक विहे गरेको भन्दै उनले ठट्टा पस्किए ।

    ‘पहिलो विहे आँचल शर्मासँग भएको थियो । त्यसपछि वर्षा राउत, रियाशा दाहाल र गरिमा शर्मासँग भयो । गरिमासँग त तीनपटक भयो’ पलले भने । निषेधाज्ञा खुकुलो भएसँगै पल र गरिमा पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त भएका छन् ।

  • फिल्म सुटिङमा ५० प्रतिशत प्रहरी जनशक्ति उपलब्ध गराउन माग गर्दै एआइजीलाई पत्र

    फिल्म सुटिङमा ५० प्रतिशत प्रहरी जनशक्ति उपलब्ध गराउन माग गर्दै एआइजीलाई पत्र

    काठमाडौं । फिल्म छायांकनमा आवश्यक प्रप्स र उपकरण उपलब्ध गराइदिन आग्रह गर्दै चलचित्र निर्माता संघले प्रहरी प्रधान कार्यालयलाई ६ बुँदे मागपत्र बुझाएको छ ।

    मंगलबार संघका अध्यक्ष आकाश अधिकारीले प्रहरी नायव महानिरिक्षक वसन्तकुमार लामालाई पत्र बुझाउँदै छायांकनलाई जरुरी हुने हात हतियार, भ्यान, पोशाक, प्रहरी जवान र सहुलियत राजस्वमा सहजीकरण गर्न आग्रह गरेको हो ।

    प्रप्स र उपकरण जरुरी परे निर्माता संघमार्फत आउन पनि माग राखिएको छ । तीन दिनभित्र उपकरण उपलब्ध गराउन सके छायांकनलाई सहज हुने, प्रहरी जनशक्ति चाहिएको खण्डमा २५ देखि ५० प्रतिशत जनशक्ति उपलब्ध गराउन पनि माग राखिएको छ ।

    प्रहरी भ्यान लिएबापत लाग्ने शुल्क घटाएर १० देखि १५ हजार कायम राख्नुपर्ने, प्रहरीकै निगरानीमा सक्कली हतियारबाट फिल्म छायांकन गर्दा वास्तविक लाग्ने र नक्कली हतियारको सहज रुपमा प्रयोग हुने वातावरण मिलाउन पनि माग गरिएको छ ।

    हेर्नूस सूची :

     

  • नायिका गरिमाले जन्माइन छोरी, नाम राखिन् प्रिसा

    नायिका गरिमाले जन्माइन छोरी, नाम राखिन् प्रिसा

    काठमाडौं । अभिनेत्री गरिमा पन्तले सन्तानलाई जन्म दिएकी छिन् । सामाजिक संजालमा छोरीको तस्विर राख्दै उनले आफू आमा बनेको जनाएकी छिन् ।

    केही समयअघि उनका बेबी बम्पका तस्विर चर्चित भएका थिए । छोरीको नाम प्रिसा राखेको पनि उनले जनाएकी छिन् ।

    करियरले सफलता प्राप्त गरिरहँदा गरिमा बेल्जियम गएकी थिइन् जहाँ उनले हरि शर्मा थपलियासँग विहे गरेकी थिइन् । थपलिया बेल्जियमस्थित नेपाली व्यवसायी हुन् ।

    गरिमाको फिल्म झोले व्यवसायिक तथा समिक्षात्मक सफलता प्राप्त गरेका थियो । उनले तीन घुम्ती, फूल फिल्ममा समेत अभिनय गरेकी छन् ।

  • प्रताप दासको गीतमा पुष्प र प्रकृतिको रोमान्टिक प्रेम (तस्विर र भिडिओ)

    प्रताप दासको गीतमा पुष्प र प्रकृतिको रोमान्टिक प्रेम (तस्विर र भिडिओ)

    काठमाडौं । गायकद्धय प्रताप दास र अस्मिता अधिकारीको नयाँ गीत ‘जिउनु छ साथमा’ रिलिज भएको छ । राजधानीमा आयोजित प्रेसमिटमा म्युजिक भिडियो लन्च गरियो ।

    पुष्प खड्का, प्रकृति घिमिरे र छत्र श्रेष्ठ फिचर्ड गीत रोमान्टिक महसुस हुन्छ । ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा प्रेमिल जोडीको भावनालाई चित्रण गरिएको छ । भिडिओलाई सुलेमान शंकर इकुले निर्देशन गरेका हुन् ।

    हेर्नूस गीत :

  • मास्टर्स पढ्न श्रृंखला अमेरिका प्रस्थान, सिसनले गरे एयरपोर्टमा बिदाई (तस्विर र भिडियोसहित)

    मास्टर्स पढ्न श्रृंखला अमेरिका प्रस्थान, सिसनले गरे एयरपोर्टमा बिदाई (तस्विर र भिडियोसहित)

    काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा अध्ययनका लागि अमेरिका प्रस्थान गरेकी छिन् । सोमबार बेलुका त्रिभुवन विमानस्थल हुँदै उनी अमेरिका हानिएकी हुन् ।

    श्रृंखलालाई बिदाई गर्न एयरपोर्टमा उनका प्रेमी सिसन बानियाँ र परिवारका केही सदस्य पुगेका थिए । सिसन र परिवारले उनलाई शुभकामना दिए र मुस्कान साटासाट गरे ।

    एयरपोर्टमा समेत श्रृंखला र सिसनको प्रेम छचल्किएको देखिन्थ्यो । सिसनले श्रृंखलालाई आंलिगन गर्दै शुभयात्रा भने । श्रृंखला मिस नेपाल भएदेखि नै सिसन र श्रृंखलाको प्रेमको पालुवा पलाएको थियो ।

    न्यूयोर्कमा अवतरण भएपछि श्रृंखला त्यहाँ आयोजना हुने मिस नेपाल नर्थ अमेरिका ब्यूटी पेजेन्टमा जज बनेर सहभागि हुनेछिन् । श्रृंखलालाई आयोजकले अतिथिको रुपमा बोलाएका छन् ।

    खासमा अमेरिकाको हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न श्रृंखला त्यता गएकी हुन् । आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले थप अध्ययनका लागि भन्दै अमेरिका गएकी हुन् ।

    श्रृंखलाका प्रेमी सिसन बानियाँ एयरपोर्टमा (सेतो सर्टमा) ।

    उनले केही समय अघि मात्रै नेपालमा गाथा नामक कम्पनी संचालनमा ल्याएकी थिइन् ।

    तस्विरहरु : उमेश कार्की

     

  • सुप्रान्यासनल पेजेन्टमा भाग लिन सिमल पोल्यान्डतर्फ प्रस्थान

    सुप्रान्यासनल पेजेन्टमा भाग लिन सिमल पोल्यान्डतर्फ प्रस्थान

    काठमाडौं । विश्व सुप्रान्यासनल पेजेन्टमा भाग लिन मिस नेपाल सिमल कनौजिया सोमबार बेलुका पोल्यान्डतर्फ प्रस्थान गरेकी छिन् ।

    अगस्ट २१ मा पोल्यान्डको नोवा साजमा आयोजना हुने प्रतिस्पर्धामा भाग लिन सिमल त्यसतर्फ प्रस्थान गरेकी हुन् । प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा नेपाल प्रेससँग कुरा गर्दै उनले आत्मविश्वास बोकेर जान लागेकी बताइन् ।

    गत डिसेम्बर ५ मा कोरोनाभाइरस महामारीको बीचमा काठमाडौंमा भएको मिस नेपाल प्रतिस्पर्धामा सिमलले मिस सुप्रान्यासनल विधामा जित हासिल गरेकी थिइन् ।

    सिमललाई विमानस्थलमा हिडन ट्रेजरका प्रतिनिधिहरुले राष्ट्रिय झण्डासहित बिदाई गरेका थिए ।

  • दुर्गेश थापालाई साधारण सदस्यबाट हटाउने लोक दोहोरी प्रतिष्ठानको निर्णय

    दुर्गेश थापालाई साधारण सदस्यबाट हटाउने लोक दोहोरी प्रतिष्ठानको निर्णय

    काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई आजीवन सदस्य नरहने गरी संस्थाबाट निष्कासनको घोषणा गरेको छ । साथै, संस्थाले थापासँग सहकार्य नगर्ने निर्णय पनि गरेको छ ।

    साउन १७ गते बसेको बैठकले थापालाई कार्वाहीको निर्णय गरेको प्रतिष्ठानअन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण विभागका संयोजक शिव हमालले नेपाल प्रेसलाई जानकारी दिए ।

    ‘हामीले आधिकारिक निर्णय गरेका छौं र जरुरी परे विज्ञप्ति पनि जारी गर्नेछौं’ हमालले भने, ‘उहाँलाई स्पष्टीकरण मागेका पनि थियौं । तर, उहाँले आफ्नो गीत लोकदोहोरी नभएर हिपहप भएकाले संस्थाको निर्णय नमान्ने जवाफ दिनुभयो ।’

    आफूहरुले व्यक्तिभन्दा पनि प्रवृत्तिको विरोध गरेकाले भविष्यमा अन्य कलाकारको लागि पनि यो पाठ हुने उनको भनाई छ । ‘सच्चिएर आएको खण्डमा दुर्गेशजीलाई संस्थामा स्वागत हुन्छ’ उनले भने ।

    दुर्गेशले गतसाता ख्यास्स पुतली बोलको तीज गीतलाई युट्युवमा रिलिज गरेका थिए । गीतमा प्रयुक्त ख्यास्स पुतली शब्दलाई सच्याउन प्रतिष्ठानले विज्ञप्तिमार्फत आग्रह गरेको थियो । तर, थापाले अन्य कलाकारले पनि यस्तै शैलीका शब्द प्रयोग गरेकाले नहटाउने अडान राखेका थिए ।

  • ‘सोचेझैं जिन्दगी पार्ट-२’ गीत सुटिङमा पल, दुर्गेश, वर्षा र अञ्जलीको मादकता (तस्विरहरु)

    ‘सोचेझैं जिन्दगी पार्ट-२’ गीत सुटिङमा पल, दुर्गेश, वर्षा र अञ्जलीको मादकता (तस्विरहरु)

    काठमाडौं । निषेधाज्ञा खुकुलो भएपछि म्युजिक भिडिओ छायांकन धमाधम हुन थालेको छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्दै कलाकारले सांगीतिक भिडिओ सुट गरिरहेका छन् ।

    यसैसाता काठमाडौंको धर्मस्थलीमा पल शाह, दुर्गेश थापा, अञ्जली अधिकारी र वर्षा राउत भिडिओ छायांकनमा व्यस्त देखिए । कोरियोग्राफर गम्भीर विष्टको निर्देशन रहेको गीतको बोल छ : यस्तै हो संसार ।

    यसअघि हिट भएको गीत ‘सोचेझैं जिन्दगी पार्ट–२’को दोस्रो सिक्वेलको रुपमा यसलाई लिइएको छ । अनिता चलाउने र खेम सेञ्चुरीको स्वर रहेको गीतलाई चाँडै बजारमा ल्याउने तयारी छ ।

    हेर्नूस छायांकन तस्विरहरु :

    
    
    
    
    
    
    
    
    
    
    
    
    
     
     

     

  • बलात्कार अभियोगमा विश्व चर्चित पपगायक क्रिस वु चीनमा पक्राउ

    बलात्कार अभियोगमा विश्व चर्चित पपगायक क्रिस वु चीनमा पक्राउ

    बेइजिङ । चिनियाँ प्रहरीले विश्वचर्चित पपगायक क्रिस वुलाई बलात्कार अभियोगमा पक्राउ गरेको छ । चिनियाँ मूलका यी क्यानडेली गायकलाई मीटु अभियानकर्ताले अभियोग लगाउँदै आएका थिए ।

    पपगायकलाई पक्राउ गरिएको घटनाले चीनमा तरंग सिर्जना गरेको छ । गायक वुलाई लगाइएको आरोपबारे प्रहरीले विस्तृत नखुलाएपनि युनिभर्सिटीकी एक १८ वर्षिया विद्यार्थीले आफूलाई अवसरको लोभ देखाएर यौन सम्बन्ध बनाएको आरोप लगाएपछि पक्राउ गरिएको जनाएको छ ।

    यौन दुव्र्यहारविरुद्ध सुरु भएको मीटु अभियान सुरु भएपछि पक्राउ पर्ने ३० वर्षिय गायक वु अहिलेसम्मकै ठूला अनुहार हुन् । कोरियाली पप ब्यान्ड एक्सओबाट गायन करियर थालेका उनी पछिल्लो समय सोलो मोडेल र गायकको रुपमा प्रख्यात छन् ।

    तर, उनले आफूविरुद्ध लगाइएका अभियोगलाई खण्डन गरेका छन् । शनिबार राती सामाजिक संजालमा पोस्ट गरिएको एक सूचनामा चायोयाङ डिस्ट्रिक्स प्रहरीले गायक वुविरुद्ध लगाइएका आरोपबारे अनुसन्धान भैरहेको जनाएको छ ।

    आरोप लगाउने युवती डु मेइजुले गत डिसेम्बरमा आफूलाई गायक वुका एजेन्टले काम छ भन्दै बोलाएको र यौन शोषण गरेको आरोप लगाएकी छिन् ।

  • सिरियलहरु धमाधम : ‘रिसानी माफ ३’ अर्कोसातादेखि, धतुरे बाले ल्याए फस्टलुक

    सिरियलहरु धमाधम : ‘रिसानी माफ ३’ अर्कोसातादेखि, धतुरे बाले ल्याए फस्टलुक

    काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै टेलिभिजन सिरिज निर्माण र प्रसारणमा तीव्रता छाएको छ । गत महीनासम्म बन्द रहेका सिरिजहरुले प्रसारण आरम्भ गरेका छन् ।

    टिभी सिरिज ‘क्या जमाना आ’ को दोस्रो सिजन सुरु भएको छ । सिरिजले फस्टलुक पोस्टर लन्च गरेको छ ।

    धतुरे बाको नामले चर्चित सीपी पुडासैनीको लेखन तथा निर्देशन रहेको सिरियलमा शेखर चापागाइँ, केशव सापकोटा, सीताराम दाहाल, जगदिश अधिकारी लगायतको अभिनय छ ।

    अर्को हाँस्य सिरियल ‘रिसानी माफ’को तेस्रो सिजन साउन २२ गते शुक्रबारदेखि सुरु हुने भएको छ । कोरोनाको दोस्रो लहर रोकथामका लागि जारी निषेधाज्ञाले सिरियल बन्द थियो ।

    रामचन्द्र अधिकारी, यादव देवकोटा, नेत्र राउत, मेलिना ठकुरी लगायतले यो सिरियलमा अभिनय गरेका छन् ।

  • नाजिरको ‘लभ सर्कल’ साउन २९ गते ओटीटीमा रिलिज हुने, यस्तो छ फस्टलुक पोस्टर

    नाजिरको ‘लभ सर्कल’ साउन २९ गते ओटीटीमा रिलिज हुने, यस्तो छ फस्टलुक पोस्टर

    काठमाडौँ। कोरोनाभाइरस महामारीले फिल्म हलहरु बन्द हुँदा निर्माताको रोजाइमा ओटीटी प्लेटफर्म पर्न थालेका छन् । नाजिर हुसेन अभिनित फिल्म ‘लभ सर्कल’ पनि अब ओटीटीमा रिलिज हुने भएको छ । फिल्मले प्रदर्शन मिति घोषणा गर्दै फस्टलुक पोस्टर पनि लन्च गरेको छ ।

    निर्माताका अनुसार नेटटिभी, डीसहोम लगायतका प्लेटफर्ममा यो फिल्म साउन २९ गते रिलिज हुनेछ । डिजिटल राइट खरिद गरेको ओएसआर डीजीटलले अन्य प्लेटफर्ममा पनि फिल्म रिलिज हुने जनाएको छ । मी टिभीको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्मको निर्देशन बसन्त निरौलाले गरेका हुन्।

    लकडाउनले फुर्सदमा रहेका कलाकार तथा प्राविधिकलाई राहत मिलोस् भनेर डिजिटल प्लेटफर्ममा मात्र प्रदर्शन गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए । महामारीसँगै फिल्मलाई चलायमान बनाउन पनि रिलिज प्रभावकारी हुने आशा उनले लिएका छन् ।

    फिल्ममा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रबिन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय छ। कमेडी च्याम्पियनमा दले दाईको नामले चिनिएका सुमन कोइराला यही फिल्ममार्फत डेब्यु गर्दैछन् । फिल्ममा अंकितबाबु अधिकारीको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, मुख्य सहायक निर्देशक बिनय पौडेल, लेखन अभिमन्यु निरवी, कोरियोग्राफी पवित्रा आचार्य र सम्पादन शाहील खान र मिलन श्रेष्ठको छ।

  • मनिषाको ‘मि. ओरियो कोइराला’ बेपत्ता, कोमललाई ‘क्वीन’को साथ

    मनिषाको ‘मि. ओरियो कोइराला’ बेपत्ता, कोमललाई ‘क्वीन’को साथ

    काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले आफ्नो परिवारको सदस्य हराएको भन्दै सामाजिक सञ्जालमा सहयोग मागेकी छन् । मनिषाका अनुसार परिवारको सदस्य अरु कोही नभएर उनले पालेको प्यारो कुकुर ‘मि. ओरियो कोइराला’ हो ।

    कालो र सेतो रंगको कुकुर तीन रातदेखि हराइरहेको उनले जानकारी दिएकी छन् । मनिषाले लेखेकी छन्, ‘हामी विश्वास राखिरहेका छौं कि उ आफ्नो साथी खोजिरहेको छ र चाँडै घर फर्किने छ ।’ यदि कसैले देखेमा खबर गरिदिन उनले आग्रह गरेकी छन् ।

    मनिषाले कुकुर हराएको पोष्ट गरेकै दिन गायिका तथा एमाले नेतृ कोमल ओलीले चाहिँ आफ्नो कुकुरसहितको फोटो सामाजिक सञ्जालमा हालेकी छन् । कोमलको कुकुरको नाम चाहिँ ‘क्वीन’ हो ।

    कोमलले लेखेकी छन्, ‘तिमीसँग बस्न पाउँदा असाध्यै खुशी अनि आनन्द लागेको छ क्वीन आज । तिमी मेरो असल साथी पनि हौ ।’

     

  • महामारीले मोडिएको सेलेव्रिटी कर्म : दीपकको फार्महाउसदेखि साम्राज्ञीको अनलाइन बिजनेससम्म

    महामारीले मोडिएको सेलेव्रिटी कर्म : दीपकको फार्महाउसदेखि साम्राज्ञीको अनलाइन बिजनेससम्म

    काठमाडौं । कोरोनाभाइरस महामारीले डेढवर्षदेखि मनोरञ्जन क्षेत्र पूर्णतया ठप्प छ । अब कहिलेदेखि फिल्म, नाटक, संगीत र फेसनका गतिविधि सामान्य अवस्थामा फर्किन्छन् भन्ने प्रश्नको जवाफ कसैसँग छैन । गतवर्ष चैत ११ गते पहिलोे लकडाउन भएयता फिल्म क्षेत्र १० महीना ठप्प रह्यो । कोरोनाको दोस्रो लहर रोकथामका लागि जारी निषेधाज्ञा अहिले पनि जारी छ र फिल्म क्षेत्र अहिले पनि लकडाउनमै छ ।

    सरकारले दशैं आसपासबाट भाइरसको तेस्रो लहर आउने प्रक्षेपण गरेसँगै परिस्थितीलाई झनै अन्यौल बनाइदिएको छ । महामारीले सबैभन्दा बढी प्रभावित फिल्म र संगीत क्षेत्र अहिले सबैभन्दा प्रभावित छ । देशभरका ७२ हजार फिल्मका सिटहरु रित्तो भएको मात्र हैन, यस क्षेत्रमा आश्रित हजारौंको भविष्य समेत चौपट बनेको छ । कतिपय सँधैका लागि पलायन भएका छन् भने कुनैबेलाका सुपरस्टारहरुले अहिले वैकल्पिक पेशा व्यवसाय सुरु गरेका छन् ।

    नेपाल चलचित्र संघका अनुसार ३० प्रतिशत फिल्म हल सँधैका लागि बन्द भएका छन् । नेपाली फिल्म परिवर्तनको साक्षी बनेका कुमारी र जयनेपाल फिल्म हल सँधैका लागि बन्द भए । अन्य धेरै हल बन्द हुने क्रममा छन् । कोरोनाको पहिलो लहरले धक्का दिएको फिल्म क्षेत्रलाई दोस्रो लहरले उठ्नै नसक्ने गरी सुताइदियो । तेस्रो लहरले अझै बढी फिल्म तथा संगीतकर्मी पेशाबाट पलायन हुने जोखिम रहेको जानकार बताउँछन् ।

    केही यस्ता कलाकार छन् जो महामारीअघि निकै हिट रहे । उनीहरुका प्रत्येक फिल्म करोड क्लबमा प्रवेश मात्र गरेनन्, बक्सअफिसमा पैसा छाप्ने नामहरु थिए । महामारीको कारण अहिले नाम चलेका कलाकार पनि वैकल्पिक पेशातर्फ सोझिएका छन् ।

    कतिपय कलाकार वैकल्पिक व्यवसायमा लागेका छन् भने कतिपय प्राविधिक सँधैका लागि पलायन भएका छन् । महामारीले स्वदेशमा भविष्य नदेखेपछि विदेश पलायन हुने सेलेव्रिटीको सूची पनि लामै छ । अधिकांश कलाकार आर्थिक कठिनाइ र मानसिक समस्यासँग संघर्ष गरिरहेका छन् । स्वभावैले लार्जर द्यान लाइफ चरित्र अँगाल्ने कलाकारको जीवन हातमुख जोर्ने कुरामै संघर्ष गरिरहेको स्थिती हो अहिले ।

    महामारीले कलाकारलाई वैकल्पिक पेशा अँगाल्न पनि बाध्य तुल्याइदिएको छ । चल्तीका कलाकार समेत अहिले आफ्ना ब्रान्ड प्रवद्र्धन गर्नेदेखि व्यवसाय सुरुआत गर्ने चटोरामा व्यस्त छन् । कतिपयले विभिन्न कम्पनीमा सेयरहोल्डरको काम थालेका छन् भने कतिपयले डिजिटल प्लेटफर्मबाट आफूलाई व्यस्त राख्ने प्रयास गरेका छन् । फाट्टफुट्ट केही कलाकार म्युजिक भिडिओमा व्यस्त हुने गरेपनि सँधैभरि यस्तो निरन्तरता हुने कुरामा अन्यौलता छ ।

    तेस्रो लहर सुरु हुने भएपछि मनोरञ्जन क्षेत्र थप संकटमा पर्ने देखिएको छ । बरिष्ठ फिल्म निर्देशक एवं निर्माता अशोक शर्मा महामारीको कारण नेपाली फिल्म दशवर्ष पछाडि धकेलिएको बताउँछन् । ‘केही वर्ष मात्र हैन, लयमा फर्कन अझै दशवर्ष लाग्छ’ उनी भन्छन्, ‘यसले फिल्म निर्माण, प्रदर्शन र वितरणको चक्र नै खलबलिएको छ ।’ भाइरसका आगामी लहरले पार्ने असरलाई अनुमानै गर्न नसकिने शर्माको कथन छ ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल फिल्म क्षेत्रलाई लयमा फर्काउन सरकारले पहल गरिरहेको बताउँछन् । ‘परिस्थिती निश्चित नै छैन । सकेसम्म परिस्थितीलाई सामान्य अवस्थामा फर्काउन हामीले कोभिड राहत प्याकेज ल्याउन पहल गरिरहेका छौं । आगामी मौद्रिक नीतिले पनि यो समस्यालाई पहल हुने विश्वास लिएको छु’ दाहाल भन्छन, ‘समस्यामा परेका कलाकार र फिल्मकर्मीलाई हामीले बोर्डबाटै सहयोग गरिरहेका छौं । कसैलाई गाह्रो हुन दिएका छैनौं ।’

    केही यस्ता कलाकार छन् जो महामारीअघि निकै हिट रहे । उनीहरुका प्रत्येक फिल्म करोड क्लबमा प्रवेश मात्र गरेनन्, बक्सअफिसमा पैसा छाप्ने नामहरु थिए । महामारीको कारण अहिले नाम चलेका कलाकार पनि वैकल्पिक पेशातर्फ सोझिएका छन् । जसमा सर्वाधिक कमाइ गरेको नेपाली फिल्म छक्का पञ्जाका निर्माता दीपकराज गिरीदेखि पछिल्लो छिमलमा रुचाइएकी दीपिका प्रसाईँसम्म छन् । केही सेलेव्रिटीलाई बुझौं जसले कलाकारितासँगै महामारीबीचमा पनि वैकल्पिक पेशालाई पनि निरन्तरता दिइरहेका छन् ।

    दीपकराज गिरी : गाईपालनदेखि अर्गानिक भिलेजसम्म

    फिल्मको हाँस्यविधामा अग्रणी अभिनेता एवं निर्माता दीपकराज गिरी अझै केही वर्ष आफ्नो ब्लकबस्टर सिरिज ‘छक्का पञ्जा’लाई निर्माण गर्ने योजनामा छैनन् । भाइरस संक्रमणको अवस्था सामान्य रहे यसवर्ष होमप्रोडक्सन बाहेकका कुनै फिल्म बनाउने उनको योजना छ । तर, दीपकको प्राथमिकतामा अहिले फिल्म हैन बरु अर्कै एक व्यवसाय सुरु हुँदैछ । दीपक अहिले आफ्नो जन्मथलो चन्द्रागिरी नगरपालिकाको दहचोकस्थित पुख्र्यौली जग्गामा फार्म हाउस बनाउँदैछन् ।

    फार्म हाउसमा गाईपालन गर्ने र त्यसलाई अर्गानिक भिलेजको रुपमा विकास गर्ने तयारीमा छन् उनी । फार्म हाउसलाई भविष्यमा आउटडोर फिल्म स्टुडियोको रुपमा विकास गर्ने उनको लक्ष्य छ । लेख्दा लेख्दैको स्क्रिप्टलाई थान्को लगाएर उनी तयारीमा जुटेका हुन् । हजुरबुबाले जोडेको जग्गामा फार्म हाउस बनाउन अघिल्लो लकडाउनदेखि उनले सुरुआत गरेका छन् । ‘भर्खर सुरु हुँदैछ । पुरा हुन अझै दुईतीन वर्ष लाग्न सक्छ’ नेपाल प्रेससँग उनले भने ।

    ‘सबैभन्दा पहिला त लकडाउनले गर्दा नै वैकल्पिक पेशामा लागिएको हो । लकडाउन नहुँदा खालि सिनेमा मात्र हुन्थ्यो । दिमागमा फिल्म बनाउने कुरा मात्र हुन्थ्यो । कथा लेख्ने सोचिन्थ्यो । लकडाउनले चैँ फुर्सदमा के गर्ने भन्ने सोच्न थालियो र व्यवसायतर्फ लागिएको हो’ उनले भने ।

    यति मात्र होइन उनी अहिले कृषिकर्म गर्नलाई जमिनहरु किन्ने र भाडामा लिने काम गरिरहेका छन् । आफू जन्मेको गाउँलाई संरक्षण गर्ने र नाफा नभए पनि गाउँलाई सुन्दर बनाउनतर्फ लागेको दीपक बताउँछन् । व्यवसायलाई दीर्घकालिन रुपमा अगाडी बढाउँदै र परिस्थिती अनुकूल भए फिल्म सुटिङ गर्ने कामलाई पनि दशैंतिहार पछि निरन्तरता दिने उनको भनाई छ ।

    दीपिका र दीवाकर : सहकारीदेखि रेष्टुरेन्टसम्म

    निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाइँ सम्बन्धले पति पत्नी हुन् । दोस्रो लहरको निषेधाज्ञा सुरु हुनुअघि दुबैजना आफ्नो लगानीको फिल्म निर्माणको तयारीमा थिए । निषेधाज्ञासँगै सुटिङ रोकिएन मात्रै, उनीहरु वैकल्पिक कामतर्फ सोझिए । फिल्मको काम ठप्प भएपछि दुबैजना मिलेर विभिन्न व्यवसायमा हात हालेका छन् । यो जोडीले ललितपुरस्थित कुमारीपाटीमा वित्तिय सहकारी व्यवसाय सुरु गरेको छ ।

    लाखौं लगानीमा काठमाडौंको गैरीधारामा रेष्टुरेन्ट पनि खोलेका छन् । थप व्यवसाय गर्ने योजना अनुसार यसैसाता साता धनगढीमा लोकेसन हेरेर पनि आएका छन् । दीवाकर लकडाउनअघि फिल्म ‘तिमी सँगै हुने मन छ’को छायांकन तयारीमा थिए । बन्दले गर्दा उनको प्रोजेक्ट अनिश्चितकालको लागि पोस्टपोन्ड भएको छ । भन्छन्, एकदुई वर्ष भयो कोरोनाले काम नभएको । अहिले पनि कोरोनाको तेस्रो लहरको कुरा आइरहेको छ । फिल्म क्षेत्र खोल्न पाईरहेको छैन । जीवनलाई अगाडी बढाउन समस्या भएर नै वैकल्पीक पेशा सुरु गरेका हौं ।’

    उनीहरु अझै चारदेखि पाँच वटासम्म रेष्टुरेन्टको फ्रेन्चाइज खोल्ने तयारीमा छन् । दिवाकर भन्छन्, ‘पुरै क्षेत्रहरु नखुली फिल्म सुुट गर्न मिल्दैन । मैले इन्डियाबाट बोलाएको कलाकारलाई लकडाउनको कारणले फर्काइसकेको छु । त्यसैले कोभिडको खोपहरु लगाइसकेपछि बोलाउँछु ।’ फिल्मसँगै सहकारी, रेष्टुरेन्टजस्ता पेशालाई समय मिलाएर अघि बढ्ने योजनामा दीवाकर र दीपिका छन् । ‘अब फिल्म र व्यवसायलाई समय मिलाएर अघि बढाउनेछौं’ उनले भने । कोरोनाको परिस्थिती सामान्य भए रोकिएको फिल्म ‘तिमीसँगै हुने मन छ’लाई दशैंतिहार पछि छायांकन गर्ने तयारीमा उनी छन् ।

    वर्षा र संजोग : चिया अड्डाको फ्रेन्चाइज विस्तारमा

     

    अभिनय करियरसँगै प्रेम विहे गरेको यो जोडी दर्शकले रुचाउने नाम हो । लकडाउनअघि यी दुबैजना व्यस्त थिए । पाइपलाइनमा केही फिल्महरु पनि । साइन गरेका फिल्महरु लकडाउनले रोकिएपछि संजोग र वर्षाले नयाँ काइदा निकाले : चिया बेच्ने । उनीहरुले चियाको ब्रान्डिङ गर्ने सोचअनुसार खोले चिया अड्डा । लाखौं लगानी गरेर यो जोडीले काठमाडौंको नयाँबानेश्वरमा चियाको व्यापार थालेका छन् । उनीहरुको व्यवसायमा दीपाश्री निरौला र दीपकराज गिरीले पनि सघाएका छन् ।

    रहरले नभई परिस्थितिले यो व्यवसायमा आइपुगेको उनीहरुको कथन छ । संजोग भन्छन्, ‘लकडाउनकै कारण हामीले चिया अड्डा खोल्न पायौं, लकडाउन हाम्रा लागि एउटा माध्यम बन्यो । आगामी दुईतीन वर्षमा दसवटा चिया अड्डा खोल्ने सोच छ ।’ लकडाउनले गर्दा व्यवसाय कसरी अगाडि लैजानुपर्छ भनेर बुझ्ने अवसर पाएको उनी बताउँछन् । कोरोनाका कारण वैकल्पिक पेशा अपनाउनुपर्ने अवस्था आएकाले चिया अड्डामा पनि लगानी गरिएको संजोगको भनाई छ ।

    साम्राज्ञी शाह : अनलाइन कस्ट्युम व्यापारमा व्यस्त

    भुवन केसीले निर्माण गरेको फिल्म ‘ड्रीम्स’ हिट भएपछि साम्राज्ञी शाहले त्यसयता पछाडि फर्केर हेर्नुपरेन । उनले लगातार हिट फिल्म दिइरहिन् । उनको नामकै लागि निर्माताले करोडौंको जोखिम समेत उठाउन पछि परेनन् । मल्टिप्लेक्स र तन्नेरी दर्शकमाझ हिट हिरोइन साम्राज्ञी अहिले भने महामारीले गर्दा वैकल्पिक व्यवसायमा व्यस्त भएकी छिन् । लकडाउनअघि ‘रातो टीका निधारमा’ फिल्ममा देखिएकी उनले ‘तिम्रो मेरो साथ’ मा समेत काम गरिन् । ती फिल्मले उनलाई सोचेजस्तो बक्सअफिस सफलता दिएन । मारुनी फिल्मले राहत दिएपनि त्यो पर्याप्त रहेन । तर, भाइरस लकडाउनपछि साम्राज्ञीको व्यस्तता बदलिएको छ ।

    तपाईं इन्स्टाग्राम एकाउन्ट स्क्रल गर्नुहुन्छ भने साम्राज्ञीको व्यस्तता देख्नुहुन्छ । ‘प्याप्ड’ नामक अनलाइन कस्ट्युम व्यापार थालेकी साम्राज्ञीले इन्स्टाग्राम, फेसबुकजस्ता सामाजिक संजालबाट ब्रान्डको प्रवद्र्धन मात्र गरेकी छैनन, उनी यिनै प्लेटफर्मबाट ग्राहकसँग अन्तक्रिया गर्छिन् । आउने अर्डरको आधारमा उनले विश्वभरि कस्ट्युमहरु डेलिभर समेत गर्छिन् । अनलाइनमा स्टाइलिस लेडीज परिधान विक्रीलाई राखेकी छिन् । टाइमलाइनमा केटीहरुलाई लक्षित गर्दै स्टाइलिस परिधानका तस्विर पोस्ट गर्छिन् । उनको अनलाइन सर्भिसमा प्यान्ट, सट्, ब्लेजर, सिल्की ड्रेस, टू पीसजस्ता डिजाइन उपलब्ध छन् ।

    कलाकर्मी कोही कुखुरापालनदेखि तरकारी फलाउँदै

    निर्देशक गणेश पाण्डे अहिले काठमाडौंको बागमती करिडोर नजिक चिया पसल संचालन गर्न व्यस्त छन् । अभिनेत्री आँचल शर्मा पति उदिप श्रेष्ठको क्लिनिक चलाउन व्यस्त छिन् । अभिनेत्री वर्षा शिवाकोटीले पहिलो लहरको महामारीपछि एक कार्यालयको व्यवस्थापनको गर्न थालेको जनाएकी थिइन् । नाम चलेका केही फिल्म प्राविधिकहरु अहिले घर फर्किएर तरकारी व्यवसाय र ठेक्का पट्टामा समेत संलग्न हुन थालेका छन् । प्रायः फिल्म हल बन्द भएपछि त्यहाँका स्टाफहरु गाउँ फर्किएर कृषिकर्म व्यस्त छन् भने कतिपयले रेष्टुरेन्टजस्ता व्यवसाय थालेका छन् ।

    चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा एउटा प्राविधिक उत्पादन गर्न पाँचवर्ष लाग्ने भएकाले एकजना प्राविधिक पनि पलायन हुनु राष्ट्रकै लागि क्षति हुने बताउँछन् । उनका अनुसार पहिलो लहरकै लकडाउनमा १५ देखि २० प्रतिशत प्राविधिक पलायन भएका थिए । दोस्रो लहरमा सो संख्यामा वृद्धि भएको लामा बताउँछन् । लामाकै पहलमा विपन्न प्राविधिकलाई राहत वितरण गर्ने काम पनि भैरहेको छ ।

    राजेश भन्छन् : कलाकारिता असुरक्षित पेशा

    कुनैबेला निकै व्यस्त रहने अभिनेता राजेश हमाल पहिलो लकडाउनमा टेलिभिजन कार्यक्रममा व्यस्त रहे । दोस्रो लहरको लकडाउनमा भने उनी बेरोजगारजस्तै छन् । पत्नी मधु र उनी अहिले केही म्युजिक भिडिओमा व्यस्त छन् । राजेश हमालले अहिले कति फुर्सदमा छन् भन्ने कुरा बुझ्न उनका सामाजिक संजालका टाइमलाइन हेरे पुग्छ । फुर्सदमा टीकटक बनाउनेदेखि म्युजिक भिडिओ प्रवद्र्धनमा उनको व्यस्तता देख्न पाइन्छ । निषेधाज्ञा खुल्ने वित्तिकै हमाल मोटिभेसनल स्पिकर बनेर देश दौडाहामा निस्कने तयारीमा छन् ।

    हालैको एक टेलिभिजन अन्तर्वार्तामा हमालले नेपालमा मात्र नभएर विश्वभर नै कलाकारिता असुरक्षित पेशा भएको बताए । महामारीको कारण झनै असुरक्षा पैदा भएको जनाउँदै उनले यस्तो अनुभव आफूले पटक-पटक गरेको स्मरण समेत गरे । सुरुमा एउटा फिल्म हिट हुने भएपनि त्यसपछिका फिल्म नचल्ने बताउँदै उनी सुरक्षित हुने पेशा रोज्न पनि नयाँ छिमलका कलाकारलाई सुझाव दिन्छन् ।

    उनी भन्छन्, ‘कलाकारितामा लागेर सफलता हासिल हुन्छ, करिअर बन्छ, जीविकोपार्जन लामो समयसम्म गरिरहन सकिन्छ भन्ने कुनै ग्यारेन्टी छैन । कलाकारिता क्षेत्रको कुरा गर्दा, यो वर्ष त म चलेँ तर अर्को वर्ष चल्छु कि चल्दिन भनेर असुरक्षित महसुस हुन्थ्यो, पहिलो फिल्म भव्यताका साथ रुचाइयो भने पनि दोस्रो फिल्मलाई पनि त्यही अनुपातमा रुचाइन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।’

    फिल्म क्षेत्रमा हात हाल्दा प्लान-बी चाहिने हमालको सुझाव छ । ‘यो क्षेत्रमा सफल भइएन भने अर्को पेशामा जान्छु भनेर ठोस योेजना बनाउनु पर्छ’, उनी भन्छन् ‘कलाकारिताभन्दा अन्य पेशामा काम गर्दा दीर्घकालिन हुन्छ ।’ प्रस्तुत कलाकारहरु त प्रतिनिधि पात्र मात्र हुन्, महामारीको कारण चम्किलो जीवनभित्र दुःखजिलो जीवन बाँच्नेहरुको कथा अझै दुरुह छ ।

  • ‘सम्झिने पानी छम्किने’ भन्दै भुवन र दीपाश्रीको रोमान्स (भिडिओ)

    ‘सम्झिने पानी छम्किने’ भन्दै भुवन र दीपाश्रीको रोमान्स (भिडिओ)

    काठमाडौं । भुवन केसी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, आकाश श्रेष्ठ फिचर्ड तीजको गीत ‘सम्झिने पानी छम्किने’ इन्टरनेट रिलिज भएको छ । राजधानीमा शनिबार आयोजित प्रेसमिटमा गीत लन्च गरियो ।

    भुवन र दीपाश्रीले गीत सार्वजनिक गरे । गीतमा भुवन र दीपाश्रीले जोडी बाँधेका छन् भने आकाश र स्वस्तिमालाई पनि जोडीको रुपमा देख्न सकिन्छ ।

    कार्यक्रममा बोल्दै दीपाश्रीले भुवनसँग अनस्क्रिन रोमान्स गर्दा रमाइलो लागेको बताइन् । ‘भुवन दाईसँग काम गर्दा रमाइलो भयो । उहाँले पनि रोमान्टिक दृश्यमा कम्फर्टेबल महसुस गर्नुभयो’ दीपाश्रीले भनिन् ।

    भुवनले पनि दीपाश्रीसँग काम गर्दा रमाइलो महसुस भएको बताए । सम्राट चौलागाइँ, रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वर रहेको गीतलाई सम्राट चौलागाइँले कम्पोज गरेका हुन् ।

    भिडियो निर्देशन र नृत्य निर्देशन विक्रम स्वाँरले गरेका हुन् । हेर्नूस गीत :

     

  • नातावादको आरोप लगाउनेलाई भुवनको चुनौति : ५० लाख दिन्छु आउनूस, तर मैले नाफा कमाउनुपर्‍यो

    नातावादको आरोप लगाउनेलाई भुवनको चुनौति : ५० लाख दिन्छु आउनूस, तर मैले नाफा कमाउनुपर्‍यो

    काठमाडौं । फिल्म निर्माता भुवन केसीलाई नेपोटिज्म (नातावाद)को आरोप प्रायः लाग्ने गर्छ । छोरा अनमोल र चलेको अनुहारलाई मात्र भाउ दिने तर, नयाँलाई मौका नदिने आरोप उनीमाथि नयाँ होइन ।

    शनिबार राजधानीमा आयोजित प्रेसमिटमा भुवन यो आरोपको प्रतिवादमा उत्रिए । नेपाली फिल्ममा नातावादलाई मलजल गरेको आरोपको खण्डन उनले गरे । बोलिरहँदा उनले आलोचकलाई जवाफ पनि दिए ।

    उनले भने, ‘मलाई नेपोटिज्मको आरोप लगाउनेलाई म मेरो फिल्ममा ५० लाख परिश्रमिकसहित लिन चाहन्छु । तर, मैले नाफा पनि कमाउनुपर्‍यो । ५० लाख दिएर मैले २० लाख कमाउनु भएन ।’

    हल्ला गरेजस्तो नेपोटिज्म नेपालमा नभएको दावी समेत भुवनले गरे । भुवन लगायतका कलाकारलाई खासगरि नयाँ कलाकारले नेपोटिज्मलाई बढावा दिने गरेको आरोप लगाउने गरेका छन् ।

  • यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    काठमाडौं । निकिता थापाको स्वरमा रहेको ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीत यो साता युट्युवमा धेरै हेरिने नेपाली गीत बनेको छ । सो गीतलाई यो साता २४ लाख ४८ हजार ५९७ पटक हेरिएको छ भने अहिलेसम्मको कूल भ्यूज संख्या २५ लाख १७ हजार ५७७ पटक हेरिएको छ ।

    प्रीति आलेको स्वरमा रहेको ‘सोल्टी राजाको टुम्लेट’ बोलको गीत दोस्रो शीर्ष स्थानमा परेको छ । यो गीतलाई यो सातामा मात्र १४ लाख ६ हजार ५४ पटक हेरिएको छ भने कूल ६३ लाख ४४ हजार ४४९ पटक हेरिएको छ ।

    मरिचमान श्रोष्ठको स्वरमा रहेको ‘पारी वन हरियो’  यो साता तेस्रो स्थानमा परेको छ । उक्त गीत एक सातामा १३ लाख ५८ हजार ३२०  पटक हेरिएको छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको पछिल्लो सूचीमा यो साता नयाँ गीतहरु समावेश भएका छन् ।

    हेर्नूस साताको भ्यूज सूची :

    १‍‍. ‘तिम्रो मनमा ए कान्छा’  (निकिता थापा) : २४ लाख ४८ हजार ५९७

    २.  ‘सोल्टी राजाको टुम्लेट’  (प्रीति आले)  : ६३ लाख ४४ हजार ४४९

    ३.  ‘पारी वन हरियो’  (मरिचमान श्रोष्ठ) :  १३ लाख ५८ हजार ३२०

    ४. ‘तिम्रो मन बद्लिएछ’ (यशकुमार) : ११ लाख ४४ हजार २७२

    ५. ‘माया बिरानी -२’ (महेश काफ्ले) : १० लाख ९८ हजार ४११

    ६. ‘स्यानी माया’ (बसन्त थापा) : १० लाख ५३ हजार ५३३

    ७. ‘धर्ती आकाश’ (अर्जुन पोखरेल) : १० लाख ३९ हजार ३३५

    ८. ‘कुरा काटन’ (खुमन अधिकारी) : १० लाख ११ हजार ४८४

    ९. ‘घन्किदे मादलु’ (सुमित्रा कोइराला) : ६ लाख ५६ हजार १९५

    १०. ‘फुलबुट्टे सारी’ (मिलन नेवार) : ६ लाख ४१ हजार ८७७

     

  • भ्वाइस अफ नेपालको फाइनलमा आर्यन, किरण, तारा र ज्वाला छनौट

    भ्वाइस अफ नेपालको फाइनलमा आर्यन, किरण, तारा र ज्वाला छनौट

    काठमाडौं । गायन रियालिटी सो द भ्वाइस अफ नेपालको चालु सिजनका अन्तिम प्रतिस्पर्धी छानिएका छन् । शुक्रबार सम्पन्न सेमीफाइनलबाट अन्तिम चार प्रतिस्पर्धी छनौट भएका हुन् ।

    चारजना कोचको तर्फबाट एक-एक प्रतिस्पर्धी फाइनल प्रवेश गरेका हुन् । टीम दीप श्रेष्ठबाट आर्यन तामाङ, टीम प्रमोद खरेलबाट किरण गजमेर, टीम राजु लामाबाट तारा श्रीश मगर र टीम तृष्णा गुरुङबाट ज्वाला राई छानिएका हुन् ।

    यी चारजनाबीच फिनाली हुनेछ र तीमध्ये एक सिजनका विजेता हुनेछन् ।

  • रामकृष्णले ल्याए ‘नयाँ जीवन’, भिडियोमा प्रकाश सपुतले भरे प्राण (तस्विरहरु)

    रामकृष्णले ल्याए ‘नयाँ जीवन’, भिडियोमा प्रकाश सपुतले भरे प्राण (तस्विरहरु)

    काठमाडौं । रामकृष्ण ढकालद्वारा स्वरबद्ध नयाँ गीत ‘नयाँ जीवन’ शुक्रबार इन्टरनेट रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गीत लन्च गरियो ।

    दीपक शर्माद्वारा संगीतबद्ध गीतमा ढकाल र बेनिशा पौडेलको स्वर समावेश छ । प्रकाश सपुत, कालु राना, मोनिका बुढाथोकी र कृष्ण गीतमा फिचर्ड छन् ।

    प्रेसमिटमा उपस्थित गायक तथा अभिनेता सपुतले आफू बाल्यकालदेखि नै रामकृष्ण ढकालको फ्यान भएकाले उनकै गीतमा फिचरिङ हुन पाउनु भाग्यको कुरा भएको बताए ।

    कथा वाचन शैलीमा निर्माण गरिएको सांगीतिक भिडिओलाई दाम्पत्य जीवनमा आउने उतारचढाव र प्रेमलाई चित्रण गरिएको छ । प्रायः सन्देशमूलक गीतमा फिचर्ड हुने सपुतले यसमा पनि मायामा हुने इमान्दारिताको सन्देशलाई चित्रण गर्न चाहेका छन् ।

    हेर्नूस गीत :

  • डिज्नेविरुद्ध स्कारलेट जोहान्सनद्वारा मुद्दा दायर : सम्झौता विपरित ‘ब्ल्याक विडो’ रिलिज गरेको आरोप

    डिज्नेविरुद्ध स्कारलेट जोहान्सनद्वारा मुद्दा दायर : सम्झौता विपरित ‘ब्ल्याक विडो’ रिलिज गरेको आरोप

    लस एन्जल्स । सम्झौता विपरित ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गरेको भन्दै हलिउड अभिनेत्री स्कारलेट जोहान्सनले निर्माता कम्पनी डिज्ने स्टुडियोविरुद्ध मुद्दा दायर गरेकी छिन् ।

    डिज्नेले यसअघि जोहान्सन अभिनित ‘ब्ल्याक विडो’ डिज्ने प्लस प्लेटफर्ममा रिलिज गरेको थियो । महामारीको कारण डिज्नेको यो बहुचर्चित फिल्म थिएटर र ओटीटीमा रिलिज भएको थियो ।

    स्ट्रिमिङ सर्भिसबाट नाफा कमाउने उद्देश्यलाई ध्यानमा राख्दै डिज्नेले ओटीटीमा फिल्म रिलिज गरेको आरोप जोहान्सनले लगाएकी छिन् । डिज्नेका प्रवक्ताले विज्ञप्ति जारी गर्दै कम्पनीविरुद्ध दायर मुद्दाको कुनै अर्थ नभएको बताएका छन् ।

    ‘दायर मुद्दाको कुनै औचित्य छैन किनभने कोभिड–१९ महामारी रोकथामको दीर्घकालिन प्रयत्नका लागि यसले सघाउन पुर्‍याउँदैन’ विज्ञप्तिमा उल्लेख छ, ‘डिज्ने प्लसमा ब्ल्याक विडो फिल्म प्रिमियरले अन्ततः जोहान्सनकै क्षमता वृद्धि गर्नेछ र क्षतिको पूर्ति समेत गर्नेछ ।’

    महामारीको कारण रिलिजमा ढिलाइ भएको फिल्म ब्ल्याक विडो गत जनवरीमा विश्वभरका हलसँगै डिज्ने प्लस प्लेटफर्ममा रिलिज भएको थियो । डिज्नेका अनुसार डिज्ने प्लस रिलिजबाट फिल्मले ६० मिलियन डलर कमाइ गरेको थियो ।