Category: कलाप्रेस

  • विधान कार्कीको नेतृत्वमा नेपाल म्यूजिक भिडियाे निर्देशक समाज गठन

    विधान कार्कीको नेतृत्वमा नेपाल म्यूजिक भिडियाे निर्देशक समाज गठन

    काठमाडौं । नेपाली म्यूजिक भिडियाे निर्देशकको छाता संस्था ‘नेपाल म्यूजिक भिडियाे निर्देशक समाज’ गठन गरिएको छ । विधान कार्कीको नेतृत्वमा गठित कार्यकारिणी समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संस्था स्थापना भएको जानकारी गराएको हो ।

    बर्षेनी अर्बौंको लगानी हुने म्यूजिक भिडियाे क्षेत्रमा कार्यरत निर्देशकहरु संगठित भई यो क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र व्यबस्थित बनाउन ‘नेपाल म्यूजिक भिडियाे निर्देशक समाज’ गठन गरिएको अध्यक्ष विधान कार्कीले बताए ।

    म्यूजिक भिडियाे निर्देशकहरुको हकहितका लागि कार्य गर्ने बताउँदै अध्यक्ष कार्कीले भने- ‘पछिल्लो समय वर्षेनी म्यूजिक भिडियाेमा अर्बौंको लगानी भइरहेको छ । महामारीको समयमा त चलचित्र क्षेत्रलाई समेत म्यूजिक भिडियाेले बचाइरहेको अवस्था छ । यसैले गर्दा म्यूजिक भिडियाेलाई थप व्यवस्थित गर्न र निर्देशकहरुको अधिकारका लागि लड्न समाज गठन गरेका हौं ।’

    अध्यक्ष कार्कीले निर्देशक समाजलाई सबै म्यूजिक भिडियाे निर्देशकहरुको साझा संस्था बनाउन प्रयास गरिने बताए । उनले अगाडि भने- ‘म्यूजिक भिडियाेका सबै निर्देशकलाई समाजमा गोलबद्द गर्न प्रयास गर्नेछौं । म्यूजिक भिडियाे निर्देशकका समस्यालाई समाधान गर्न समाज सधैं अग्रसर रहनेछ ।’ उनले चाँडै म्यूजिक भिडियाेका पहिलो निर्देशक शम्भुजीत बाँस्कोटा र पहिलो मोडल भुवन केसीलाई सम्मान गरिने पनि बताए ।

    त्यस्तै, कार्यक्रममा समाजका महासचिव सुव्रतराज आचार्यले म्यूजिक भिडियाेलाई फिल्मजस्तै दर्ता प्रक्रियामा लैजानुपर्नेमा जोड दिए । उनले भने- ‘म्यूजिक भिडियाे पनि फिल्मकै एउटा पाटो हो । पछिल्लो समय चलचित्रमा झैँ म्यूजिक भिडियाेमा पनि कथा वाचन शैलीलाई प्राथमिकता दिन थालिएको छ । यसैले चलचित्र विकास बोर्डले म्यूजिक भिडियाेलाई पनि व्यवस्थित गर्न दर्ता प्रक्रिया सुरु गर्न आग्रह गर्दछु ।’

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना महामारीको समयमा मनोरञ्जन क्षेत्रलाई बचाउन म्यूजिक भिडियाेको ठूलो योगदान रहेको बताए । उनले नवगठित निर्देशक समाजका पदाधिकारीलाई पेशागत हकहित र पेशागत मर्यादालाई स्थापित गर्न आग्रह गरे । म्यूजिक भिडियाे निर्देशक समाजसँग सहकार्य गरेर नीतिगत रुपमा नै अगाडि बढ्न बोर्ड तयार रहेको पनि उनले बताए ।

    समाजमा १५ जनाको संस्थापन कमिटी छ । जसमा अध्यक्ष विधान कार्की, प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे, द्वितिय उपाध्यक्ष निकेश खड्का, महासचिव सुव्रतराज आचार्य, सचिव हेम प्रभाष अधिकारी, कोषाध्यक्ष दयाराम घिमिरे, सह-कोषाध्यक्ष निशान घिमिरे तथा सदस्यहरु शान थापा, समन अधिकारी, गम्भीर बिष्ट, अनुप चापागाईं, प्रकाश धिताल, बबिता श्रेष्ठ, बिजेश पौडेल र राजेश पुमा राई छन् ।

    समाजको सल्लाहकार सदस्यमा गीतकार डब्बु क्षेत्री र निर्देशक जनकदीपपराजुली नियुक्त भएका छन् भने प्रेस सल्लाहकार जीवन पराजुली नियुक्त भएका छन् । कार्यक्रममा समाजका पदाधिकारीहरु तथा सल्लाहकार सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

  • नेपाल आइडल सिजन-४ को निर्णायकमा हेरफेर : शम्भुजित, सुगम र शिवानी चयन

    नेपाल आइडल सिजन-४ को निर्णायकमा हेरफेर : शम्भुजित, सुगम र शिवानी चयन

    काठमाडौं । गायन रियालिटी सो नेपाल आइडल चौंथो सिजनका लागि निर्णायकमा परिवर्तन गरेको छ । नयाँ निर्णायकमा शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान चयन भएका छन् ।

    निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक बाँस्कोटाले नेपाल आइडलमा आउने आफ्ना सपना पुरा भएको बताए । नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा उनले खुशि जनाए । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताए ।

    बाँस्कोटाले भने, “नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाउँदा खुशी छु ।”

    नेपाल आइडल सिजन ४ मा तीनजना निर्णायकसहित टीकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् । अघिल्ला तीन सिजनसम्म न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले सिजन–४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।

  • आसिफसँग मिलेर टीकटक स्टार रेश्माले नेपाल आइडल होस्ट गर्ने

    आसिफसँग मिलेर टीकटक स्टार रेश्माले नेपाल आइडल होस्ट गर्ने

    काठमाडौं । नेपाल आइडल चौंथो सिजनको औपचारिक घोषणा भएको छ । एपीवान टेलिभिजनले शुक्रबार शम्भुजित बाँस्कोटा, शिवानी मोक्तान र सुगम पोखरेललाई जजको रुपमा चयन गरेको छ ।

    टीकटक स्टार रेश्मा घिमिरे पनि अब नेपाल आइडलमा प्रवेश गरेकी छिन् । तर, उनको यो प्रवेश होस्टको रुपमा भएको हो । रेश्माले अभिनेता एवं गायक समेत रहेका आसिफ साहसँग मिलेर गायन रियालिटी सोको चौंथो सिजनलाई होस्ट गर्नेछिन् ।

    रेश्मालाई टीकटकमा १२ लाख जनाले पछ्याएका छन् । आसिफ र रेश्माले यसअघि केही म्युजिक भिडिओमा सँगै अभिनय पनि गरेका छन् । म्युजिक भिडिओको चर्चित जोडीलाई अब होस्ट जोडीको रुपमा हेर्न पाइने भएको छ ।

    सो निर्देशक सुरेश पौडेलका अनुसार कोरोना महामारीको कारण यसपटक डिजिटल अडिसन आयोजना गरिएको हो । मंसिर २३ गतेदेखि प्रसारण थाल्ने जनाइएको छ ।

  • र्‍याप रियालिटी सो ‘नेपहपको श्रीपेच’ घोषणा, बालेन र गिरिश जजमा चयन

    र्‍याप रियालिटी सो ‘नेपहपको श्रीपेच’ घोषणा, बालेन र गिरिश जजमा चयन

    काठमाडौं । तन्नेरी पुस्तालाई लक्षित गर्दै मुलुकमा पहिलोपटक नयाँ गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ आयोजना हुने भएको छ । कोभिड-१९ महामारीको बाबजुद पनि केही शहरमा गएर अडिसन लिइने राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । शोमा सहभागी हुन चाहनेले डिजिटल अडिसनबाट पनि भाग लिन सक्नेछन् ।

    मिडिया एकेडेमी र डीसहोमको सहकार्यमा हुन लागेको ‘नेपहपको श्रीपेच’ मा भोटिङ पार्टनरको रूपमा आएमइ-पे छ भने डिसहोम फाइबर नेट र आएमइ रेमिट सहयोगी प्रायोजकको भूमिकामा छन् ।

    निर्णायकको रूपमा र्‍यापर बालेन शाह र गिरिश खतिवडा अनुबन्धित भएका छन् भने अर्को एक जना जजसँग कुरा भइरहेको आयोजकले जनाएको छ । यस रियालिटी सोका विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

  • टीकटकले नयाँ पुस्ताका कलाकारलाई भयंकर चुनौति थपेको छ : राजेश हमाल

    टीकटकले नयाँ पुस्ताका कलाकारलाई भयंकर चुनौति थपेको छ : राजेश हमाल

    काठमाडौं । अभिनेता राजेश हमाल प्रविधिले युवापुस्तामा पारेको प्रभावबारे आफ्ना धारणा राखिरहेका छन् । कोरोना महामारी अघि त्रिभुवन विश्वविद्यालयमा उनले प्रविधिले नयाँ पुस्तालाई अवसरसँगै चुनौति पनि थपिरहेको बताएका थिए ।

    हमाल स्वयम पनि प्रविधिमा अभ्यस्त कलाकारमध्ये पर्छन् । फेसबुक, इन्स्टाग्राम र टीकटकमा उनको सक्रियता लोभलाग्दो छ । विशेषगरि टीकटकमा उनी भिडिओ बनाउँछन् र आफ्ना प्रशंसकसँग अन्तक्रिया गर्छन् ।

    यसैसाता काठमाडौंमा आयोजित एक कार्यक्रममा हमालले टीकटकजस्ता सामाजिक संजालले नयाँ पुस्ताका कलाकारलाई ठूलो चुनौति थपिरहेका बताएका छन् ।

    ‘यही क्षेत्रमा करियर बनाउन र उत्कृष्ट हुनका लागि चुनौति छ । सामान्य व्यक्ति र कलाकार कसरी छुट्टिने भन्ने अवस्था छ । अहिले त टीकटकमा पनि कलाकार नाचिरहेका छन् । अब, कलाकारले फरक के ल्याउन सक्छन्, के नयाँ दिन सक्छन् भन्ने मुख्य कुरा हो’ उनी भन्छन् ।

    टीकटकले फिल्म क्षेत्रमा केही गर्छु भनेर आउने नयाँ कलाकारलाई भयंकर चुनौति थपेको हमालको भनाई छ । हमाल कान्तिपुर फिल्म एकेडेमीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थिए ।

    उनले भने, ‘हामीले फिल्ममा काम गर्दाको समयमा कुनै स्थानीय बासिन्दालाई पृष्ठभूमिमा अभिनय गरिदिनूस न भन्दा उहाँहरु लजाउनुहुन्थ्यो । तर, अहिले टीकटक देखेर म त छक्कै पर्छु । नातीदेखि हजुरआमासम्म सबैले टीकटकमा कला देखाइरहनुभएको छ । यसले फिल्म क्षेत्रमा केही गर्छु भनेर आउनेलाई चुनौति थपिएको छ ।’

  • संक्रमण दर १५ प्रतिशतमा झरे फिल्म क्षेत्र खुलाउने सीसीएमसीको कार्यविधि

    संक्रमण दर १५ प्रतिशतमा झरे फिल्म क्षेत्र खुलाउने सीसीएमसीको कार्यविधि

    काठमाडौं । अहिले सबैजनाको चासो फिल्मसहित मनोरञ्जन क्षेत्र कसरी र कहिले खुल्छन् भन्नेमा छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भदौ १ गतेदेखि लागू गरेको स्मार्ट लकडाउनको कार्यविधिमा कस्तो परिस्थितीमा फिल्म क्षेत्र खुलाउन सकिने भन्ने योजना समावेश छ ।

    संक्रमणको दर हेरेर मुलुकलाई चार जोनमा विभाजन गर्ने र सोहीअनुसार मनोरञ्जन क्षेत्र खुलाउन सकिने कार्यविधिमा उल्लेख छ । सीसीएमसीले संक्रमणको दर हेरेर रेड, एम्बर, येल्लो र ग्रीन जोन छुट्याएको छ । सोहीअनुसार निषेधाज्ञा लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरिएको छ ।

    संक्रमितको संख्या ६५ प्रतिशतभन्दा माथि भए रेड जोन, ३१ देखि ६५ प्रतिशत भए एम्बर, १६ देखि ३० प्रतिशतमा भए पहेंलो संकेतमा सफ्ट लकडाउन, १५ प्रतिशतभन्दा कम भए हरियो अर्थात मिनिमल लकडाउनको नियम ल्याइएको छ ।

    रेड, एम्बर र येल्लो जोनका मनोरञ्जन क्षेत्रमा भर्चुअल मोडमा मात्र सेवा संचालन गर्न अनुमति दिइएको छ भने संक्रमण दर १५ प्रतिशत कम भएमा अर्थात हरियो (मिनिमल लकडाउन)मा स्वास्थ्य मापदण्डको पालना गर्दै सिनेमा हल संचालन गर्न अनुमति दिइने उल्लेख छ ।

    तर, अहिले मुलुकको दैनिक संक्रमण दर २४ प्रतिशतभन्दा तल घट्न सकेको छैन ।

  • मनीषा कोइरालालाई चलचित्र कलाकार संघको मानार्थ सदस्यता प्रदान

    मनीषा कोइरालालाई चलचित्र कलाकार संघको मानार्थ सदस्यता प्रदान

    काठमाडौं । चलचित्र कलाकार संघले अभिनेत्री मनीषा कोइरालालाई मानार्थ सदस्यता प्रदान गर्ने भएको छ ।

    साउन २९ गते बसेको कलाकार संघको बैठकले मनीषासहित विष्णुगोपाल श्रेष्ठ र राजकुमार राईलाई पनि सदस्यता प्रदान गर्ने निर्णय गरेको संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाले जानकारी दिए ।

    नेपाली फिल्म कलाकारिता क्षेत्रमा योगदान दिएबापत संघको विधानअनुसार यस्तो निर्णय गरिएको निरौलाले नेपाल प्रेसलाई जानकारी दिए । यसअघि पनि विभिन्न व्यक्तिहरुलाई मानार्थ सदस्यता दिइएको छ ।

  • टाइगर सिक्वेल सुटिङ गर्न सलमान, कट्रिना र इमरान रुस प्रस्थान, पाँच देशमा पाँच एक्सन दृश्य छायांकन हुने

    टाइगर सिक्वेल सुटिङ गर्न सलमान, कट्रिना र इमरान रुस प्रस्थान, पाँच देशमा पाँच एक्सन दृश्य छायांकन हुने

    मुम्बई । कोभिड महामारीपछि बलिउड लयमा फर्कने तयारीमा छ । ठूला स्टारहरुले फिल्म छायांकन थालेका छन् । शाहरुख, अक्षयदेखि सलमान खानका फिल्मको सुटिङ सुरु हुँदैछ । यही मेसोमा सलमान खान र कट्रिना क्याफ ‘टाइगर ३’ छायांकनको लागि डेढसय कास्ट एण्ड क्रूसहित बुधबार रुसतर्फ प्रस्थान गरेका छन् ।

    ५ यूरोपेली देशका ५ भिन्न भिन्नै स्थानमा एक था टाइगरको तेस्रो सिक्वेल छायांकन हुने भएको छ । निर्माता आदित्य चोपडा सुटिङका लागि ४५ दिनको समय लिएर चार्टर्ड प्लेनसहित युरोपमा निस्किएका छन् ।

    रुससहित टर्की र अस्ट्रियामा फिल्म सुटिङ हुने भएको छ । साथै दुई युरोपेली देशहरुमा पनि छायांकन गर्ने योजना छ । भारत र पाकिस्तानबीचको जासूसी कथामा आधारित रहेको यो फिल्ममा सलमान, टाइगर र इमरान हाशमी मुख्य पात्रमा देखिनेछन् । अघिल्ला फिल्ममा सिरियल किसर बनेका इमरान यसमा भने भिलेनको रुपमा प्रस्तुत हुँदैछन् । उनी भिलेन बन्ने कुराले अहिले चर्चा बटुलिरहेको छ ।

    सलमान र कट्रिना पछिल्लो दुई भागमा टाइगर र जोयाको चरित्रमा देखिएका थिए । महत्वपूर्ण कुरा के छ भने यो फिल्ममा भने शाहरुख खान अतिथिको भूमिकामा रहनेछन् । शाहरुखले केमियो रोलको छायांकन सकेका छन् ।

    पाँच एक्सन सीक्वेन्सको लागि कट्रिनाले ६०, एमरान हाशमीले ४५ र सलमान खानले ३५ दिने तालिम लिएका छन् । हाशमीले आफ्नो पात्र लुक्समा प्रस्तुत हुने दुई वर्षदेखि बडी सेप बनाइरहेका छन् ।

    आगामी नोभेम्बरभित्र फिल्म छायांकन सक्ने तयारी छ । टाइगर सिक्वेल सकिएपछि सलमानले फरहाद सामजीको फिल्म ‘भाईजान’ को छायांकन गर्नेछन्। उक्त फिल्मको नाम पहिला ‘कभी ईद, कभी दीवाली’ थियो।

    यसमा पूजा हेगडे उनको अपोजिट छन् भने राकुमार गुप्ताको फिल्म ‘ब्ल्याक टाइगर’ को लागि सलमान व्यस्त हुनेछन् । त्यस पछि, उनी सूरज बड़जात्या र साजिद नाडियाडवालाद्वारा निर्देशित फिल्म पनि गर्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।

  • युरोपियन युनियनले लैङ्गिक समानताबारे छोटो फिल्म प्रतियोगिता गर्ने

    युरोपियन युनियनले लैङ्गिक समानताबारे छोटो फिल्म प्रतियोगिता गर्ने

    काठमाडौं । नेपालस्थित युरोपियन युनियन डेलिगेसनले लैङ्गिक समानताबारे लघु फिल्म प्रतियोगिताको घोषणा गरेको छ । युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को आयोजना गरेको हो ।

    असोज १ गतेदेखि ९ सम्म नियुफको अहिलेको संस्करण भर्चुअलरुपमा हुन लागेको हो । प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका फिल्म प्रतियोगीको रुपमा सहभागी हुन सक्ने जनाइएको छ । लैङ्गिक विभेद, लैङ्गिक समानताका फाइदा, नेपालमा लैङ्गिक समानताको अवस्था आदि विषय उठाइएका फिल्मलाई प्रतियोगितामा प्राथमिकता दिइने पनि युरोपियन युनियनले जनाएको छ ।

    प्रतियोगितामा सहभागी हुने फिल्मकर्मी नेपाली नागरिक हुनुपर्ने र फिल्मको लम्बाई ४० मिनेट वा त्यो भन्दा कम हुनुपर्ने मापदण्ड राखिएको छ । सहभागी हुने फिल्म सन् २०१८ वा त्योभन्दा पछि बनाइएको हुनुपर्नेछ ।

    नेपालमा बोलिने जुनसुकै भाषामा बनेका फिल्म प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ तर यसरी बनेका फिल्म अंग्रेजी भाषामा सबटाइटल गरेको हुनुपर्नेछ । अंग्रेजीमा फिल्म खिचिएको छ भने त्यसलाई नेपालीमा सबटाइटल गरेको हुनुपर्ने जनाइएको छ ।

    प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले आफ्नो फि ल्मएमपी ४ फम्यार्टमा nepal.eufilmfestival@gmail.com भदौ १५ मध्यरातसम्ममा पठाइ सक्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने फिल्मले ५ सय युरो प्राप्त गर्नेछ । यो प्रतियोगितामा उत्कृष्ट बनेको फिल्म नेपाल युरोपियन फिल्म फेस्टिभलको यो संस्करणमा नै प्रदर्शन पनि गरिनेछ ।

  • देउवा र जोन्सनलाई गजुरियल व्यंग्य, भर्चुअल गाइजात्रामा कम्युनिष्टलाई पनि बाँकी राखेनन् !

    देउवा र जोन्सनलाई गजुरियल व्यंग्य, भर्चुअल गाइजात्रामा कम्युनिष्टलाई पनि बाँकी राखेनन् !

    कोभिड-१९ महामारीको कारण यसपटकको गाइजात्रा हाँस्यव्यंग्य कार्यक्रम भर्चुअलरुपमा आयोजना भएको छ । मंगलबारदेखि कमेडियन मनोज गजुरेल, शैलेन्द्र सिंखडादेखि पछिल्लो छिमलका कलाकारले टेलिभिजनमार्फत गाइजात्रा कार्यक्रम थालेका छन् ।

    गजुरेलले यसपटक आफ्नो व्यंग्यमा प्रधानमन्त्री शेरबहादुर देउवा, बेलायती समकक्षी बोरिस जोन्सन, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पात्र बनाएका छन् । गाइजात्राको पहिलो एपिसोडमा गजुरेलले बेलायत र नेपालका प्रधानमन्त्रीहरुको भर्चुअल संवादलाई व्यंग्य गरे ।

    अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवा र उनलाई जोन्सनले गरेको भिडिओ संवादमा आधारित रहेर व्यंग्य गरिएको छ । जोन्सन र दुबैको हुलियामा आफै प्रस्तुत भएका गजुरेलले ती पात्रको चरित्र चित्रण पनि आफै गरेका छन् । यस्तो छ संवाद :

    जोन्सनः बधाई छ ।

    देउवा : धन्यवाद र किन बधाई दिनुभएको ?

    जोन्सन : तपाईंलाई होइन, अदालतलाई बधाई दिएको हो । अदालतको परामदेशले तपाईंलाई प्रधानमन्त्री बनायो । अनि अदालतले आदेश दिएर जनादेश गोलखाडीमा गएन र भन्या ? यही किसिमले प्रधानमन्त्री छान्ने काम चल्ने हो भने अर्कोपटक लोकेसेवाले प्रधानमन्त्री छान्ला नि ?

    देउवा : लोकसेवाले प्रधानमन्त्री होइन, मन्त्री बनायो भने चाहिँ ठूलो कुरा नठाने हुन्छ ।

    जोन्सन : टावर न सावर पाँचचोटी पावर । भन्नूस अब पाँचपटक प्रधानमन्त्री बन्न कस्तो खेल खेल्नुपर्दो रहेछ ?

    देउवा : राजनीति भनेको चलखेल गर्ने नै हो । तर मेरो भाग्य नै यस्तो छ कि चलखेल गर्नुपरेन । कम्युनिष्टले प्रधानमन्त्री बन्न आग्रह गरेपछि नाइँ भन्न पनि मिलेन । कम्युनिष्टहरु लडेर मलाई राम्रो भाग्य मिलेको छ । भाइ फुटे गवार लुटे । बीचमै जोन्सनले बोले (तपाईंले बोलेको कुरा आफै बुझ्नुभयो भने ३ लाख पाउन्ड दिन्छु ।)

    देउवा : विदेशबाट पैसा आएको छैन । व्यापार घाटा भएको छ । कम्युनिष्टले रुन पनि दिएनन र हाँस्न पनि दिएनन् । अब बेलायत र नेपालले इन्टरेनसनल ट्रेड गर्नुपर्‍यो । आइडिया सेयर गर्नुपर्‍यो ।

    भदौ ७ गतेसम्म यसपटकको गाइजात्रा चल्ने भएको छ । यसपटक वृद्धदेखि तन्नेरीसम्मका दर्शकलाई लक्षित गरेर गाइजात्रा कार्यक्रम बनाइएको छ । यो सोका विजेता हिमेश पन्त पनि प्रस्तुत हुँदैछन् । गजुरेल स्वयम पनि कमेडी च्याम्पियनका जज हुन् । नेपाल प्रेससँग कुरा गर्दै गजुरेलले भर्चुअल कार्यक्रम गर्दा आफूहरुलाई नयाँ अनुभव हुने बताए ।

    अहिले एपीवान टेलिभिजन र युट्युवमा गजुरियल च्यानलमार्फत गाइजात्रा प्रसारण भैरहेको छ ।

     

  • सर्मिला गुरुङको स्वर रहेको कल्पना रेग्मीको तीज गीत ‘अत्याचार’ सार्वजनिक (भिडियोसहित)

    सर्मिला गुरुङको स्वर रहेको कल्पना रेग्मीको तीज गीत ‘अत्याचार’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । सञ्चारकर्मी तथा कलाकार कल्पना रेग्मीको ‘अत्याचार’ बोलको तीज गीत सार्वजनिक भएको छ । श्रीमान, सासु ससुरा र नन्दको बिहे आमा बाँच्नुपरेको पिडालाई मुख्य विषय बनाइएको गीतमा रेग्मीको शब्द तथा संगीत रहेको छ ।

    गायिका सर्मिला गुरुङको स्वर रहेको गीतमा माइती घरमा लाड्ली छोरीलाई बिहेपछि श्रीमानले बाहिर पराइ केटीसँग लागेपछि छोराछोरी र आफूलाई हेला गरेको कथा देखाइएको छ ।

    गीतकार कल्पना रेग्मी, संगम भण्डारी, सरोज दाहाल र सुबेक्षा रेग्मीलगायतको अभिनय रहेको छ । गीतलाई सरोज दाहालले निर्देशन गरेका हुन् । गीत कलाकार रेग्मीकै अफिसियल युट्युवमार्फत सार्वजनिक भएको हो ।

  • कट्रिना क्याफ् र विक्की कौशलबीच इन्गेजमेन्ट भएकै हो ?

    कट्रिना क्याफ् र विक्की कौशलबीच इन्गेजमेन्ट भएकै हो ?

    मुम्बई। मायानगरीमा एउटाको नाम अर्कोसँग जोडिनू नौलो कुरा रहेन । तर, कहिलेकाहिँ गसिपहरुले केही कुरा पाक्दै गरेको संकेत पनि गर्छन् । यस्तोमा बलिउडमा पछिल्लो दिनमा कट्रिना क्याफ र विक्की कौशल गसिपका पात्र बनिरहेका छन् ।

    बलिउड अभिनेत्री कट्रिना क्याफ्को नाम पछिल्लो केही दिनदेखि को–स्टार विक्की कौशलसँग जोडिएको छ । एक इन्टरभ्यूमा उनीहरुले आफ्नो सम्बन्धको बारेमा बताएका थिए । आफूहरु राम्रो साथी रहेको र एकअर्कालाई सहयोग गर्ने कुरा पनि कट्रिना र विक्कीले बताएका थिए । हल्ला गर्नेहरुलाई यो भन्दा अरु के चाहियो ? त्यसलगत्तै यी दुईले गोप्यरुपमा इन्गजेमन्ट गरेको हल्ला अहिले बलिउडमा आगोजसरी फैलिएको छ । यो समाचार भाइरल बनेको छ ।

    हल्ला यतिसम्म फैलियो कि कतिपयले यो कुरामा विश्वास पनि गरे । तर, यसबारे कट्रिनाले भने हल्ला भएको र आफूहरुले इन्गेजमेन्ट नगरेको बताएकी छिन् । केहिदिन अघि कट्रिनाले आफू ‘टाइगर ३’ को छायांकनको लागि सेटमा जाने तयारी गरिरहेको बताएकी थिइन् । उनले खबरहरुको खण्डन गरेकी छिन् । विक्की र कट्रिनाको ईन्गेजमेन्ट गरेको तस्बिर पोष्ट गरिएको केही समय पछि हटाइएको दैनिक भास्करले जनाएको छ ।

    यसअघि पनि कट्रिना र विक्कीको नाम अन्य कलाकारसँग पनि जोडिएको छ । कट्रिना यसअघि रणवीर कपुर, सलमान खान लगायतसँग पनि रिलेसनसिपमा थिइन् ।

  • मुम्बईमा रमाउँदै अदिती, समुन्द्री तटमा बिकिनी फोटोसुट (तस्विरहरु)

    मुम्बईमा रमाउँदै अदिती, समुन्द्री तटमा बिकिनी फोटोसुट (तस्विरहरु)

    काठमाडौं । होमप्रोडक्सन फिल्म ‘बेन्जो’को सुटिङ सुरु नहुँदा नायिका अदिती बुढाथोकी अहिले फुर्सदमा छिन् । अहिले मुम्बईमा रहेकी उनले केही विज्ञापन र म्युजिक भिडिओमा काम गरेर समय बिताइरहेकी छिन् ।

    निषेधाज्ञा कायमै रहेको र कोरोनाको तेस्रो लहर सुरु हुने सम्भावनाका बीच अदितीको फिल्म बेन्जो छायांकन तत्काल सुरु हुने सम्भावना कम छ । जसले गर्दा दर्शकसामु फर्कने उनको तयारीमा ढिलाइ हुने देखिएको छ ।

    फिल्ममार्फत दर्शकसामु फर्कन कठिन भएपनि अदितीले सामाजिक संजालमार्फत दर्शक र फ्यानको अन्तक्रियालाई भने कम हुन दिएकी छैनन् । इन्स्टाग्राममा प्रत्येक दिन उनी हट तस्विर सेयर गर्छिन् र दर्शकको प्रतिक्रिया बुझ्ने काम गर्छिन् ।

    मुम्बईको समुन्द्री तटमा खिचिएको उनको बिकिनी वाला तस्विरले अहिले चर्चा बटुलिरहेको छ । अर्की मोडेल आस्था पोखरेललाई मेन्सन गर्दै उनले उनलाई सम्झिरहेकी उल्लेख गरेकी छिन् । यी तस्विरमा व्यापक कमेन्ट मिलिरहेको छ । जेहोस्, फिल्ममा ढिलाइ भएपनि अदितीले सामाजिक संजालमार्फत दर्शकसामु आउने कुरालाई भने कमी हुन दिएकी छैनन् ।

  • नेटफिल्क्स फिल्मबाट बलिउड डेब्यु गर्दै शाहरुख पुत्री सुहाना, जोया अख्तरले निर्देशन गर्ने

    नेटफिल्क्स फिल्मबाट बलिउड डेब्यु गर्दै शाहरुख पुत्री सुहाना, जोया अख्तरले निर्देशन गर्ने

    मुम्बई । बलिउड अभिनेता शाहरुख खान छोरी सुहानालाई अभिनेत्रीको रुपमा हेर्न चाहन्छन् । बलिउड मिडियाका अनुसार अब सुहानालाई बलिउडको एउटा प्रतिष्ठित ब्यानरबाट एक्ट्रेसको रुपमा लन्च गर्ने तयारी भैरहेको छ ।

    निर्देशक जोया अख्तरले २१ वर्षिया सुहानालाई आगामी प्रोजेक्टमार्फत सो-बिजमा लन्च गर्ने भएकी छिन् । स्रोतका अनुसार जोया अहिले अन्तर्राष्ट्रिय कमिक बुक आर्चीलाई भारतीय एडप्टेसन गर्ने तयारीमा जुटेकी छिन् । ओटीटी प्लेटफर्म नेटफिल्क्सको लागि उनले यो बनाउन लागेकी हुन् ।

    यो टीनएज स्टोरीमा बन्ने फिल्मका लागि जोयालाई अन्य कलाकारको खाँचो पनि छ जो सुहानाको साथीको रुपमा चरित्र चित्रण गर्न सकून । फिल्मको कास्टिङ पनि जारी छ तर, जोयाको लागि शाहरुख पुत्री सुहाना पनि जमिरहेकी छिन् ।

    अहिले जोया, नेटफिल्क्स र सुहानाबीच छलफल भैरहेको छ । यदि सुहानाले यो स्क्रिप्टलाई रुचाइन् भने यो उनको डेब्यु फिल्म हुनेछ । सन् २०१८ मा रिलिज भएको फिल्म ‘द ग्रे पार्ट अफ ब्लु’मा सुहानाले काम गरिसकेकी छिन् । अंग्रेजी भाषामा बनेको यो १० मिनेटको फिल्ममा सुहानाको अभिनयको प्रशंसा भएको थियो ।

  • खगेन्द्र लामिछानेलाई पुत्रीलाभ, खुशी साट्दै यसो भन्छन्

    खगेन्द्र लामिछानेलाई पुत्रीलाभ, खुशी साट्दै यसो भन्छन्

    काठमाडौं । सन्तानको माया कस्तो हुन्छ ? यो प्रश्न अभिनेता खगेन्द्र लामिछानेलाई सोध्दा उनको जवाफ थियो : आजदेखि बा हुनुको जिम्मेवारीबोध भएको छ । बुबाआमाको महत्व महसुस गरेको छु ।’

    बुधबार बिहान लामिछाने दम्पत्तिलाई पुत्रीलाभ भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा बिहान सात बजे खगेन्द्र पत्नी रोजिना सिटौलाले शिशुलाई जन्म दिएकी छिन् ।

    शिशुको अवस्था स्वस्थ रहेको र उनको तौल २.९ किलो रहेको खगेन्द्रले जानकारी दिए । ‘जिम्मेवारी महसुस भएको छ, खुशि छु’ पहिलो सन्तान प्राप्तीपछि नेपाल प्रेससँग खगेन्द्रले भने ।

    खगेन्द्रलाई अहिले डबल खुशि मिलेको छ । एकातिर उनले पुत्रीलाभ गरेका छन् भने अर्कोतर्फ उनले निर्माण गरेको फिल्म ‘पानीफोटो’को पोस्ट–प्रोडक्सन सकिएको छ । ‘धेरैपछिको मिहेनतले मूर्तता पाएको छ र कोभिडको परिस्थिती सहज भए रिलिज गर्नेछौं’ उनले भने ।

  • शीतल निवासमा बोलाएर राष्ट्रपतिले दिइन् किरण गजमेरलाई बधाई

    शीतल निवासमा बोलाएर राष्ट्रपतिले दिइन् किरण गजमेरलाई बधाई

    काठमाडौं । गायन रियालिटी सो भ्वाइस अफ नेपाल विजेता किरण गजमेरलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन् । बुधबार बिहान शीतल निवासमा बोलाएर भण्डारीले उनको गायन करियरको सफलताको कामना समेत व्यक्त गरिन् ।

    ‘राष्ट्रपतिले मलाई कार्यालयमा बोलाएर जुन सम्मान दिनुभयो यसले नेपालीभाषी भुटानीलाई खुशि तुल्याएको छ’ किरणले नेपाल प्रेससँग भने, ‘उहाँसँगको छोटो भलाकुसारीले मलाई अझै काम गर्ने उत्साह मिलेको छ ।’

    किरण गतसाता गायन रियालिटी सो भ्वाइस अफ नेपालको विजेता बनेका थिए । उनको विजयसँगै नेपाली भाषी भुटानी समुदायमा उत्साह फैलिएको छ ।

  • मनोज पण्डित निर्देशित फिल्म ‘एक’ डिजिटल पोस्टर लन्च

    मनोज पण्डित निर्देशित फिल्म ‘एक’ डिजिटल पोस्टर लन्च

    काठमाडौं । मनोज पण्डित निर्देशित राजनीतिक ड्रामा फिल्म ‘एक’को डिजिटल पोस्टर लन्च भएको छ । कोरोनाभाइरस महामारीको कारण यो फिल्म आगामी दशैं घटस्थापना (असोज २१ गते) सिनेमा घर ओटीटी प्लेटफर्मममा फिल्म रिलिज हुने भएको छ ।

    सार्वजनिक डिजिटल पोस्टरमा मुख्य कलाकारको चरित्र लुक्स प्रस्तुत गरिएको छ । पोस्टर हेर्दा फिल्म एक्सन-प्याक्ड लाग्छ । समकालिन नेपाली राजनीतिको एउटा महत्वपूर्ण मुद्दा बनेको मधेशलाई लिएर फिल्म निर्माण भएको छ ।

    फिल्मले मधेश टुक्राउन खोज्नेविरुद्धको संघर्ष पेश गर्छ । प्रमोद अग्रहरि, मनोज अधिकारी, विशाल पोखरेल र ज्योत्सना योगी फिल्मका मुख्य पात्र हुन् । प्रमोद खड्काको एक्सन र भरत रेग्मीको रङ संयोजन तथा सम्पादन रहेको डिजिटल पोस्टरले फिल्मको मनोविज्ञानलाई प्रस्तुत गरेको छ ।

    आफ्ना फिल्मको केन्द्रमा राजनीति र मानवीय मूल्यलाई चित्रण गर्ने मनोजले एकमा पनि नेपाली राजनीतिको प्रमुख मुद्दालाई न्यारेट गरेका छन् । मधेशी भूगोलदेखि हिमाली भेगको डोल्पासम्म फिल्मलाई छायांकन गरिएको छ ।

    कम लागतमा फिल्म निर्माण भएकाले ओटीटीमा फिल्म रिलिज गर्दा धेरै जोखिम नहुने निर्देशक पण्डितले बताए । ‘अब हरेक कुराको डिजिटल युग सुरु भैसकेको छ । विश्वका धेरै फिल्म उद्योग पनि डिजिटल प्रवद्र्धनमा गैसकेका छन्’ उनले भने, ‘अब नेपाली फिल्ममा पनि यसको विकल्प छैन । कसै न कसैले सुरुआत गर्नैपथ्र्यो । यो रिस्क हामीले फिल्म एकमार्फत लिएका छौं ।’

    नेपाली राजनीतिमा हुने षड्यन्त्र र बाह्य हस्तक्षेपको प्लट बुनिएको फिल्मको मुख्य पात्रमा विशाल पोखरेल छन् । उनले यस फिल्ममा एक जासूसको भूमिका चित्रण गरेका छन् ।

    निर्देशक पण्डितले यसअघि ग्रेटर नेपाल, दासढुंगा, वधशालाजस्ता चर्चित राजनीतिक फिल्महरु निर्माण गरेका छन् । एक पण्डितको सातौं फिल्म हो । यसलाई पल्टिकल र स्पाइ ड्रामा जनरामा राखिएको छ ।

    स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको फिल्ममा बालकलाकारको भूमिकामा विश्वत पोखरेल देखिएका छन् । हेर्नूस डिजिटल पोस्टर :

  • सौगात र अनमोलपछि ‘एक्स-नाइन’मा जोडिए राज, बलिउडबाट नायिका ल्याउने तयारी

    सौगात र अनमोलपछि ‘एक्स-नाइन’मा जोडिए राज, बलिउडबाट नायिका ल्याउने तयारी

    काठमाडौं । मुकुन्द भट्टले निर्देशन गर्ने फिल्म ‘एक्स-नाइन’ निर्माण अघि नै चर्चामा छ । फिल्मको यो चर्चा यसका कास्टले गर्दा भएको हो । अनमोल केसी, सौगात मल्लदेखि पछिल्लो छिमलमा निकै रुचाइएका कलाकार यसमा अनुबन्धित छन् ।

    सोमबार अभिनेता राज कट्वाल फिल्मसँग अनुबन्धित भएका छन् । निर्माण कम्पनी र राजले कागजी सम्झौतामा हस्ताक्षर गरे । चलचित्र विकास बोर्डका सदस्य समेत रहेका राज पछिल्लो समय फिल्मसँगै म्युजिक भिडिओमा व्यस्त छन् ।

    सिक्वेलको रुपमा निर्माण गर्न लागिएको एक्स-नाइनको लागि बलिउड अभिनेता सोनु सुद र सुनील सेठ्ठीलाई पनि प्रस्ताव गरिएको जनाइएको छ । यसअघि लप्पन छप्पन निर्देशन गरेका भट्टले अर्को एक्सन विधाको फिल्म निर्देशन तयारी थालेका हुन् ।

    कोरोना महामारीको कारण फिल्म कहिलेदेखि छायांकनमा जाने टुंगो नलागेपनि स्क्रिप्ट र कास्टिङको सबै तयारी पुरा भएको जनाइएको छ । काठमाडौं, युरोप र क्यानडामा फिल्म सुटिङ गर्ने तयारी छ । जनवरीदेखि फिल्म सुटिङ सुरु हुने र त्यसको चार महीनाअघिदेखि रिहर्सल गर्ने तयारी छ । फिल्ममा चारजना नायक हुने र नायिकालाई भारतबाटै ल्याउने निर्माताको

  • मेलिनाको तीज गीतमा करिश्माको छमछमी (भिडिओ)

    मेलिनाको तीज गीतमा करिश्माको छमछमी (भिडिओ)

    काठमाडौं । कोरोना महामारीले फिल्म ठप्प भएपछि अहिले कलाकार म्युजिक भिडिओमा व्यस्त छन् । तीज पर्व नजिकिएपछि भिडिओ बनाउन कलाकारको चटारो छ ।

    यही मेसोमा अभिनेत्री करिश्मा मानन्धरले नयाँ तीज गीत ‘आउ न संगी हो मिलेर गाउँ न’ रिलिज गरेकी छिन् । साज सिंहको संगीत रहेको गीतको भिडिओमा करिश्मासहित सम्झना बुढाथोकी, क्षितिजा शाक्य, तेन्जु योञ्जनको अभिनय छ ।

    मेलिना राईको स्वरमा समावेश गीतमा साजको संगीत र गोविन्द राईको शब्द छ । भिडिओमा करिश्माको नृत्य आकर्षक लाग्छ । हेर्नूस गीत :

  • दुईसय लोकदोहोरी कलाकारले लगाए कोभिडविरुद्धको खोप

    दुईसय लोकदोहोरी कलाकारले लगाए कोभिडविरुद्धको खोप

    काठमाडौं । पछिल्लो समय कलाकारहरुलाई पनि कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ । गतसाता ३ हजार फिल्मकर्मीले खोप लगाए भने यो साता लोकदोहोरी कलाकारले खोप लगाएका छन् ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको समन्वयमा उनीहरुले राजधानीका विभिन्न खोप केन्द्रमा खोप लगाएका हुन् । सोमबार नयाँ बानेश्वरस्थित निजामति अस्पतालमा दोहोरी कलाकारले खोप लगाए ।

    देवी घर्ती, राजु ढकाल, खेम सेन्चुरी, पुस्कल शर्मा, रमेशराज भट्टराई र दीपक खड्का लगायतका कलाकारले खोप लगाएका छन् । प्रतिष्ठानका अध्यक्ष रमेश बीजीका अनुसार २ सयभन्दा बढी कलाकारले खोप लगाएका छन् । बाँकी कलाकारले आज खोप लगाएका छन् ।

    कोरोना महामारीको कारण लोकदोहोरी क्षेत्र निकै प्रभावित बनेको छ । जारी निषेधाज्ञाको कारण पनि कलाकारले सानो संख्यामा र सामाजिक दूरी अपनाएर म्युजिक भिडिओ छायांकन खिचिरहेका छन् ।

    लामो समयदेखि स्टेजका कार्यक्रम ठप्प हुँदा कलाकारलाई आर्थिकरुपमा जोहो गर्न मुस्किल भइरहेको छ । खोप लगाइसकेपछि काममा फर्कन सजिलो हुने कलाकारको भनाई छ ।