Category: कलाप्रेस

  • विष्णु माझीको गीत ‘चरी जेलैमा’ले राख्यो रेकर्ड : २४ घण्टामा १० लाख भन्दा बढी भ्यूज

    विष्णु माझीको गीत ‘चरी जेलैमा’ले राख्यो रेकर्ड : २४ घण्टामा १० लाख भन्दा बढी भ्यूज

    काठमाडौं । विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’लाई भिडिओ साझेदारी साइट युट्युवमा पछिल्लो २४ घण्टा (मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म) मा १० लाख पटक हेरिएको छ । गीतलाई रिलिजको ६ दिनमा कूल ३८ लाख ८५ हजारभन्दा बढी पटक हेरिएको छ ।

    २४ घण्टामै १ मिलियन भ्यूज कमै भिडिओलाई प्राप्त हुने गर्छ । सार्वजनिक जीवनबाट गुमनाम गायिका विष्णु माझीको नयाँ गीत रिलिज भएपछि सामाजिक संजालमा यसले निकै चर्चा बटुलेको थियो ।

    पछिल्लो समय कुनैपनि भिडिओले एकैदिनमा १ मिलियनको भ्यूज प्राप्त गरेका थिएनन् । विष्णु माझीप्रतिको चासो र कन्टेन्टको कारण गीतले गतिलो भ्यूज बटुलेको युट्युव एनालिस्ट कुमार व्यञ्जनकार बताउँछन् । उनका अनुसार पछिल्लो पटक प्रकाश सपुतको कुरा बुझ्न पर्च र पल शाह फिचर्ड गीत टाढा भएपनिलाई सुरुआती २४ घण्टामा ९ लाख पटक हेरिएको थियो ।

  • युवा संघको छोटो फिल्म कम्पिटिसनमा छानिए १०८ स्क्रिप्ट

    युवा संघको छोटो फिल्म कम्पिटिसनमा छानिए १०८ स्क्रिप्ट

    काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्न लागेको ‘म केही गर्छु’ शीर्षकको छोटो फिल्म प्रतिस्पर्धामा १०८ वटा स्क्रिप्टबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त थिममा रहेर मुलुकभरबाट प्राप्त ११५ वटा स्क्रिप्टमध्येबाट १०८ वटा छानिएको हो । छानिएका स्क्रिप्टमाथि फिल्म बनाउनेबारे आयोजित अभिमुखीकरण कार्यक्रम पनि सकिएको छ ।

    स्क्रिप्ट लेखक र फिल्म निर्माणबारे विज्ञहरुलाई बोलाएर चलचित्र विकास बोर्डमा ओरिएन्टेसन कार्यक्रम गरिएको थियो । कार्यक्रममा निर्देशक मीन भाम, छायांकार बिष्णु कल्पित, फिल्म कलेजका प्रिन्सिपल शिशिर उप्रेती, फिल्मकर्मी अर्जुन देव जोशीले सहभागीहरुलाई निर्माणबारे जानकारी गराए । सहजीकरण चलचित्र पत्रकार संघका महासचिव समिर बलामीले गरेका थिए।

    निषेधाज्ञाले घरमै बसिरहेका यूवाहरुको समय सदुपयोगका लागि प्रतिस्पर्धा आयोजना गरिएको राष्ट्रिय यूवा संघ नेपाल उपाध्यक्ष क्षितिज थेवेले बताए । सहभागी स्क्रिप्टलाई निर्णायक समितिले मापदण्ड अनुसार छनौट गरेको हो। छानिएका स्क्रिप्टले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जनलगायतका बिषयमा बढीमा ५ मिनेटसम्मको छोटा फिल्म बनाउनुपर्नेछ ।

    छानिएका स्क्रिप्टहरुबाट छोटो फिल्म निर्माण गरि युवा संघलाई बुझाउनुपर्ने भएको छ । फिल्म बुझाईसकेपछि निर्णायक समितिले उत्कृष्ट तीन फिल्म छान्नेछ । छानिएका मध्ये पहिलो हुनेलाई २ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख ५० हजार र तेस्रो हुनेलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

    उत्कृष्ट तीनसहित पाँच फिल्मलाई एक समारोह बीच विशेष प्रदर्शनी गरिने आयोजक पक्षले जनाएको छ । त्यस लगतै विजेताहरुलाई भव्य समारोह बीच पुरस्कार प्रदान गरिने बताइएको छ ।

  • नवल खड्काको फिल्म ‘काँडेतार’मा गौरव पहारी अनुबन्धित

    नवल खड्काको फिल्म ‘काँडेतार’मा गौरव पहारी अनुबन्धित

    काठमाडौं । नेपाल र भारतको सीमालाई व्यवस्थापन गर्नुपर्ने कथावस्तुसहितको फिल्म ‘काँडेतार’ निर्माणको घोषणा भएको छ । नवल खड्का र शंकर कार्कीले संयुक्तरुपमा निर्देशन गर्ने फिल्म निषेधाज्ञा खुलेपछि छायांकनमा जाने भएको छ ।

    मंगलबार फिल्मको मुख्य अभिनेतामा गौरव पहारी अनुबन्धित भएका छन् । निर्देशक खड्काको समेत मुख्य अभिनय हुने फिल्ममा रविन्द्र रञ्जन झाको समेत मुख्य अभिनय हुनेछ ।

    ‘दुई मुलुकबीचको खुला सीमालाई सिल गर्नुपर्छ भन्ने मुख्य कथावस्तु हो । यसले मान्छे र माटोको सम्बन्ध छ । यसो गर्दा दुई देशबीचको सम्बन्ध कायम हुनेछ’ फिल्म घोषणापछि निर्देशक तथा निर्माता खड्काले नेपाल प्रेससँग भने ।

    फिल्म भारत विरोधी नभएको समेत खड्काले बताए । यसअघि पनि खड्काले सीमा समस्यामा आधारित रहेको फिल्म ‘दशगजा’ निर्माण गरेका थिए । डेढकरोड बजेट लाग्ने बताइएको फिल्मको छायांकन चाहिँ सरकारले छायांकन अनुमति दिएपछि सुरु हुने जनाइएको छ ।

    सामना फिल्म्स प्रालिको ब्यानरमा बन्ने फिल्मको निर्माण खड्का स्वयमले गर्न लागेका हुन् ।

  • शिव र सलोनको ‘डाँडाको वरपीपल’ छायांकन सुरु, यस्तो छ फिल्मको फस्टलुक

    शिव र सलोनको ‘डाँडाको वरपीपल’ छायांकन सुरु, यस्तो छ फिल्मको फस्टलुक

    काठमाडौं । शोभित बस्नेतको निर्देशन रहने फिल्म ‘डाँडाको वरपीपल’ छायांकन धादिङको धार्केदेखि सुरु भएको छ । उनको यो ३१ औं निर्देशकीय फिल्म हुनेछ । काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएपछि भदौ ७ गतेदेखि फिल्म छायांकन सुरु भएको हो । कोरोनाभाइरसको दोस्रो लहरको कारण रोकिएको फिल्म गतिविधि खुलाउन अहिले पनि कानूनी अनुमति चाहिँ छैन ।

    ६० दिनको छायांकन तालिका रहेको फिल्मलाई काठमाडौं र मकवानपुरको चित्लाङ सेरोफेरोको लोकेसनमा खिचिने भएको छ । फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय छ ।

    बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी हुने जनाइएको छ । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।

  • सुप्रान्यासनलमा नेपालको प्रस्तुति बिर्सनलायक, सिमल अन्तिम २५ बाटै बाहिर

    सुप्रान्यासनलमा नेपालको प्रस्तुति बिर्सनलायक, सिमल अन्तिम २५ बाटै बाहिर

    काठमाडौं । यसवर्षको मिस सुप्रान्यासनल पेजेन्टमा नेपालको प्रस्तुति कमजोर देखिएको छ । अन्तिम २४ भित्र पनि नेपालले स्थान बनाउन सकेन । अन्य विधाहरुमा पनि नेपाल प्रभावशाली देखिएन ।

    नेपालको तर्फबाट भाग लिएकी सिमल कनौजियाको प्रतिस्पर्धा बिर्सनलायक रह्यो । उनी टप २४ मा पनि समावेश नभएको मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ ।

    सिमल बिहीबार नेपाल फर्कने कार्यक्रम छ । यसवर्षको मिस सुप्रान्यासनलमा नामिबियाकी चानिकी रेबीले उपाधि जितेकी छिन् । फस्ट रनरअप पुएर्तो रिको, सेकेन्ड रनरअप साउथ अफ्रिका, थर्ड रनरअप भेनेजुएला र फोर्थ रनरअप डोमिनिकन रिपब्लिक भएका छन् ।

    यसैबीच, डिसेम्बर १९ मा हुने विश्व सुन्दरी प्रतियोगिताको लागि मिस नेपाल नम्रता श्रेष्ठले तयारी थालेकी छिन् ।

  • मन्त्रीले जहाज अपहरण गरेको दावीपछि अक्षयकुमारको ‘बेलबटम’लाई साउदी, कुवेत र कतारद्वारा प्रतिबन्धको घोषणा

    मन्त्रीले जहाज अपहरण गरेको दावीपछि अक्षयकुमारको ‘बेलबटम’लाई साउदी, कुवेत र कतारद्वारा प्रतिबन्धको घोषणा

    काठमाडौं । अक्षयकुमार अभिनित पछिल्लो फिल्म ‘बेलबटम’ केही मुलुकमा विवादमा तानिएको छ । मध्यपूर्वका तीन मुलुक साउदी अरब, कुवेत र कतारले फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । फिल्ममा चित्रण गरिएका कतिपय तथ्यहरु सत्य नभएको भन्दै प्रदर्शन रोकिएको हो ।

    सन् १९८० को दशकमा भएको विमान अपहरणको घटनामा आधारित रहेर बनाइएको यो स्पाइ–थ्रीलरको मुख्य भूमिकामा अक्षय स्वयम चित्रित छन् । फिल्मको दोस्रो भागमा अक्षयले विमान अपहरणमा परेका २१० जनालाई उद्दार गरेका छन् ।

    सन् १९८४ मा भएको विमान अपहरणको घटनामा यूएईको मन्त्री शेख मोहम्मद बिनरसिद पनि सहभागि रहेको दावी फिल्मले गरेको छ । जसको कारण साउदी, कतार र कुवेतले प्रतिबन्ध लगाएका हुन् । उक्त दावी गलत भएको उनीहरुले बताएका छन् । कोरोना महामारीको बीचमै प्रदर्शनमा आएको फिल्मलाई रंजीत एम तिवारीले निर्देशन गरेका हुन् ।

    सोचेअनुसार कमाइ गर्न सकेन

    कोरोना महामारीले गर्दा अक्षय कुमारको फिल्म ‘बेल बटम’ले सोचेजस्तो बक्स अफिस कलेक्सन गर्न सकेको छैन । यो फिल्म पाँचदिन अघि ओटीटी र फिल्म हलहरुमा विश्वव्यापी प्रदर्शन भएको थियो । यो फिल्मले पाँच दिनसम्म भारतमा १४.४० करोड ग्रस कमाएको छ जुन निकै न्यून हो ।

    रक्षाबन्धनको अवसरमा फिल्मले सबैभन्दा धेरै कलेक्सन गरेको छ । बिहीबार रिलिज भएको फिल्म हलमा दर्शकहरु ५० प्रतिशत पनि उपस्थित नभएको एक रिपोर्टले जनाएको छ । पहिलो दिन फिल्मले २.७५ करोड भारु कमाएको थियो भने दोस्रो दिन २.५० करोड कलेक्सन गरेको छ । त्यस्तै शनिबार फिल्मले ३ करोड भारु कलेक्सन गरेको छ ।

  • ‘स्पाइडरम्यान’ ट्रेलर रिलिज : के पुस २ गते नेपालमा रिलिज होला ?

    ‘स्पाइडरम्यान’ ट्रेलर रिलिज : के पुस २ गते नेपालमा रिलिज होला ?

    काठमाडौं । मार्भल स्टुडियोको प्रतीक्षित फिल्म ‘स्पाइडर म्यान : नो वे होम’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । आइतबार राती सामाजिक संजालमा फिल्म नै लिक्ड भएपछि सोनीले प्रदर्शन मितिसहित ट्रेलर सार्वजनिक गरेको हो ।

    कोरोनाभाइरस महामारीको परिस्थिती ठीक भए यो फिल्म पुस २ गते (१७ डिसेम्बर)मा भारतसहित नेपालमा प्रदर्शन हुनेछ । नेपालमा निषेधाज्ञाले फिल्म हल नै बन्द भएकाले हलहरु कहिलेदेखि खुल्छन् भन्ने अन्यौल कायमै छ ।

    हेर्नूस ट्रेलर :

    सोनी मोसन पिक्चर्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत टम रथम्यानले टम हल्यान्ड र बेनेडिक्ट कम्बरब्याचका मन्तव्यसहित ट्रेलर रिलिज गरेका छन् । ट्रेलरमा पिटर पार्करले अहिलेसम्मकै खतरनाक खलपात्रहरुको सामना गर्नुपरेको देख्न सकिन्छ ।

    केही वर्षदेखि अनुमानलाई पुष्टि गर्दै ट्रेलरले केही रहस्यहरु पनि सार्वजनिक गरेको छ जसमा पिटर पार्करले अघिल्ला स्पाइडर म्यान सिरिजका खलपात्रहरुसँग संघर्ष गर्नुपर्ने हुन्छ । ट्रेलर बेनेडिक्ट कम्बरब्याचलाई पनि डक्टर स्ट्रेन्जको भूमिकामा देख्न सकिन्छ ।

    नेपालमा रिलिज होला ?

    यो प्रश्नको जवाफ अहिले तत्काल कोहीसँग छैन । नेपालमा फिल्म हल कहिले खुल्छ भन्ने कुरा कोरोनाभाइरसको संक्रमण दरसँग निर्भर हुनेछ । अहिले संक्रमण दर २५ प्रतिशत छ भने सीसीएमसी (कोभिड संकट व्यवस्थापन केन्द्र)ले १५ प्रतिशतमा झरेमात्र फिल्म हल खुलाउन सकिने जनाएको छ ।

    सोनी फिल्मको नेपालको आधिकारिक वितरक एप्पल इन्टरटेनमेन्टले स्पाइडर म्यानको नेपाल रिलिजबारे अन्यौल रहेको बताएको छ । कम्पनी प्रमुख नकिम उद्दिनले महामारीको अवस्थाको कारण तत्काल यसबारे केही भन्न नसकिने बताए ।

    स्पाइडर म्यानका अघिल्ला सिरिजले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेका छन् । महामारीअघि एप्पल इन्टरटेनमेन्टले काठमाडौं र पोखराजस्ता ठूला सहरमा फिल्म प्रिमियर पनि आयोजना गरेको थियो ।

  • दीपाश्रीको बर्थडेमा धमलाको व्यंग्य : मिडियाले दीपक-दीपालाई भन्दा ओलीका कुरालाई हाइलाइट गरे !

    दीपाश्रीको बर्थडेमा धमलाको व्यंग्य : मिडियाले दीपक-दीपालाई भन्दा ओलीका कुरालाई हाइलाइट गरे !

    काठमाडौं । सन्दर्भ थियो अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको बर्थडे सेलिव्रेसन । अतिथि थिए दीपकराज गिरीसहितका हाँस्य कलाकार । यही बीचमा पत्रकार ऋषि धमला पनि अतिथिको रुपमा त्यहाँ पुगे ।

    दीपा र दीपकसँग निकट पत्रकार धमलाले उक्त हाँस्यजोडीलाई जमेर प्रशंसा गरे । धमलाले सोही अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रसंग पनि घुसाए । उनले ओलीलाई हाँस्यकलाकार भएको बताए ।

    ‘दीपक र दीपाको लागि ओली भगवान होइनन्’ धमलाले भने, ‘ आज दीपक र दपिाश्रीको कुरा भन्दा पनि केपी ओलीको कुरा बढी फोकस हुन्छ र समाचार बनिरहेको छ ।’ उनले दीपक-दीपाश्रीभन्दा ओलीको ठट्यौलीलाई समाचार बनाउने मिडियाप्रति उछितो काढे ।

    गाइजात्राको दिन पनि परेकाले कमेडियन राजा राजेन्द्रले धमलाकै क्यारिकेचरमा निकै हँसाए । दीपाश्रीको ४६ औं जन्मदिन मनाउन सो अवसरमा रेडियो अडियोले बर्थडे कार्यक्रमको आयोजना गरेको थियो ।

  • ४६ लागिन् दीपाश्री, साथ दिनेलाई सम्झँदै बनिन् भावुक (तस्विरहरु)

    ४६ लागिन् दीपाश्री, साथ दिनेलाई सम्झँदै बनिन् भावुक (तस्विरहरु)

    काठमाडौं । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला आजदेखि ४६ वर्ष लागेकी छिन् । ‘छक्का पञ्जा’ सिरिज निर्देशकको जन्मदिन सेलिव्रेट गर्न राजधानीको रेडियो अडियोमा कार्यक्रम आयोजना गरियो ।

    दीपकराज गिरीसहितका हाँस्य कलाकार उपस्थित भएर दीपालाई जन्मदिनको शुभकामना दिए । गाइजात्रा अवसर भएकाले पनि उनको बर्थडे सेलिव्रेसन हाँस्यव्यंग्यले भरिएको थियो ।

    ‘मंगलम भगवान विष्णु’ स्वस्ती वाचनसहित गरिएको बर्थडे सेलिवे्रसनमा दीपाश्री भावुक पनि बनिन् । स्वस्ती वाचन गर्दा विहेको मण्डपमा भएको महसुस आफूले गरेको उनले बताइन् ।

     


    अघिल्लो वर्ष ‘महानायक’ विषयमा भएको विवादमा आफू एक्लिएको र उक्त कठिन अवस्था सम्झँदै उनी भावुक बनिन् । उक्त विवादमा दीपाले आफूलाई साथ दिने सबैलाई धन्यवाद समेत दिइन् । दीपकले फेसबुक पोस्टमार्फत दिएको बधाईको पनि उनले स्मरण गरिन् । दीपालाई बधाई दिन दीपकराजसहित पत्रकार ऋषि धमला लगायतका व्यक्तिहरु कार्यक्रममा पुगेका थिए ।

  • टिकटक स्टार स्मारिकाको डिभोर्स, पूर्वपति भन्छन्- उनको भविष्य राम्रो होस

    टिकटक स्टार स्मारिकाको डिभोर्स, पूर्वपति भन्छन्- उनको भविष्य राम्रो होस

    काठमाडाैं । चर्चित टिकटक स्टार स्मारिका ढकालको वैवाहिक सम्वन्ध टुटेको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक थियो, तर उनले आधिकारिक रुपमा केही बताएकी थिइनन् ।

    स्मारिकाका श्रीमान विवेक अधिकारीले हिजो टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए । डिभोर्सको कारण भने उनले खुलाएका छैनन् ।

    ‘अब आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर हामी आपसी समझदारीमा नै छुट्टिएका हौं,’ उनले भने, ‘अहिले पनि एक–अर्कालाई घृणा गर्दैनौं ।’

    डिभोर्सको चर्चासँगै टिकटकमा स्मारिकाले धेरै नकारात्मक प्रतिक्रियाहरुको पनि सामना गर्नुपरेको थियो । आफू सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप कतिपयले उनलाई लगाएका छन् । विवेकले यो विषयलाई लिएर विषयमा आफ्नी पूर्वपत्नीलाई कुनै प्रकारको लाञ्छना नलगाउन आग्रह गरे ।

    ‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला ।’

    ०००

    झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम प्लस मागी’ बिहे भएको थियो । नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराएपछि परिवारको सहमतिमा परम्परागत तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो । उनीहरुका सन्तान भएका छैनन् ।

    स्मारिका टिकटकमा हिट बनेकी विवाहपछि हो । कलेज पढाउने श्रीमान र परिवारले आफूलाई टिकटकमा सँधै सपोर्ट गर्ने गरेको स्मारिकले विभिन्न अन्तरवार्तामा बताएकी छन् ।

    स्मारिका र समारिकाको जुम्ल्याहा जोडी नेपालमा अत्यधिक रुचाइएको टिकटक सेलिब्रिटीमा पर्छ । स्मारिका दिदी र समारिका बहिनी हुन् । समारिकाको बिहे भएको छैन ।

    नृत्य र अभिनयमा पोख्त यी दिदीबहिनीकोे फ्यान फलोइङ लोभलाग्दो छ । स्मारिका ढकालको टिकटक अकाउन्टमा करिब साढे ६ लाख फलोअर्स छन् ।

    पछिल्लो समय म्युजिक भिडियोमा पनि यो ट्विन्स जोडी डिमान्डेड छ । छोटो समयमा उनीहरुले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

    युट्यूवमा यो जोडले पोस्ट गर्ने सर्ट भिडियोहरु पनि हिट छन् । ‘सिस्टर्स बि लाइक’, ‘देउरानी–जेठानी’, ‘मम्स बि लाइक’ जस्ता कन्सेप्टमा भिडियो बनाएर उनीहरुले चर्चा कमाएका थिए । समारिका स्मारिकाको युट्यूव चाइनलमा २ लाख ९४ हजार सब्स्क्राइबर्स छन् ।

    विवेक भन्छन्ः समझदारीमा छुट्टियौं, उनको भविष्य राम्रो होस

    टिकटकमा लाइभ आएर स्मारिकाका पूर्वपति विवेक अधिकारीले यसो भनेका थिएः

    म कुनै सेलिब्रिटी नभएर आम मान्छे हुँ । मिडियामा आएर बोल्न मन पनि थिएन । तर, स्मारिका र मेरो सम्बन्धको विषयमा धेरै जनाले जिज्ञासा राख्नुभयो ।

    तपाईंहरुको माया र साथले नै उ त्यो ठाउँमा पुगेको हो । अहिले उसलाई टिकटकमा लाइभ आउँदा धेरै ‘एब्यूज’ भएको सुनिरहेको छु । म आफू पनि कोही–कोही बेला हेर्छु । सम्वन्ध तोडिए पनि हेरिन्छ । धेरैले नराम्रो कमेन्ट गर्नुभएको हुन्छ ।

    पैसा कमाइस, सेलिब्रिटी भइस, अनि बुढा छोडिस भन्ने कुराहरु आएका छन् । यो बिलकुल गलत हो । यो कारण होइन । त्यसैले यस्तो इल्जाम लगाइदिन बन्द गरिदिनुस ।

    मलगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन । सम्वन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन । सम्वन्ध तोडिएको हो । हामी आफ्नै ढंगले आ–आफ्नो करिअर अघि बढाउँ भनेर आपसी समझदारीमा राजीखुशीले छुट्टिएका हौं ।

    अहिले पनि एक–अर्कालाई घृणा गर्दैनाै‌। उसको पनि करिअर राम्रो होस । भविष्य राम्रो होस । उसले पनि मेरो विषयमा यही चाहन्छ होला सायद । उसलाई कुनै ब्लेम नलगाइदिनुस ।

  • जिल्लाबासीलाई जिताउन बाबुरामदेखि योगेशसम्म मैदानमा, पद्मा अर्याल पनि भोट माग्दै

    जिल्लाबासीलाई जिताउन बाबुरामदेखि योगेशसम्म मैदानमा, पद्मा अर्याल पनि भोट माग्दै

    काठमाडौं । हाँस्यव्यंग्य टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’ अहिले चर्चामा छ । कलाक्षेत्र मात्र नभएर राजनीतिको केन्द्रमा समेत सोले चर्चा पाइरहेको छ । कारण : दलका नेताहरु आफू निकट प्रतिस्पर्धीलाई जिताउन खुलरै लागिरहेका छन् ।

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्वमन्त्रीहरु योगेश भट्टराई हुँदै बिना मगरसम्मका नेताले यो रियालिटी सोका अन्तिम पाँच प्रतिस्पर्धीका लागि भोट मागिरहेका छन् । कतिपयले नेताले भोट मागेको दृश्यले आफूहरुलाई संसदीय चुनावको झल्को गराएको बताएका छन् ।

    आगामी साता कमेडी च्याम्पियनमा अन्तिम चार प्रतिस्पर्धी छनौट हुँदैैछन् । विक्की अग्रवाल सुरक्षित भैसकेका छन् भने अन्तिम चारमा प्रवेश गर्न विकास अर्याल, हिक्मत महरा, भरतमणी पौडेल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

    गत महीना एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले खुलेरै आफ्नो जिल्लाबासी प्रतिस्पर्धी भरतमणीको तर्फबाट भोट मागे । कमेडी च्याम्पियनको ताज उनले जित्ने दावी गर्दै योगेशले भरतमणीले जिते आफूलाई आनन्द महसुस हुने बताए ।

    पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले यसैसाता गृहजिल्ला गोरखाबाट प्रतिस्पर्धा गरिरहेका सन्तोष थापाले जित्ने सम्भावना रहेको भन्दै शुभकामना दिए । आफूलाई भेट्न आइपुगेका थापासँगको तस्विर पनि सेयर गर्दै भट्टराईले उनको पक्षमा भोट हाल्न समेत आग्रह गरेका छन् ।

    पूर्वमन्त्री तथा एमाले नेतृ पद्मा अर्यालले पनि अर्का प्रतिस्पर्धी तथा गृहजिल्लाका विकास अर्याललालाई भोट गरेर जिताउन आग्रह गरिन् । पूर्वमन्त्री बिना मगरले पनि गृहजिल्ला कंचनपुरका कमेडियन हिक्मत महरालाई भोट गरेर जिताउन आग्रह गरिन् । आफ्ना सामाजिक संजालमार्फत नेताहरुले जिल्लावासीलाई जिताउन अपिल गरेका हुन् । कमेडी च्याम्पियनसहित अघिल्लो रियालिटी सो भ्वाइस अफ नेपालको प्रतिस्पर्धीलाई जिताउन पनि नेताहरुले भोट मागेका थिए ।

    कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जिल्लावासी प्रतिस्पर्धीलाई जिताउन नेताहरुले आफू निकट प्रतिस्पर्धीलाई जिताउन भोट माग्नुलाई स्वभाविक भएको बताउँछन् । ‘आफू निकटलाई जिताउन लाग्नु स्वभाविक हो’ उनी भन्छन्, ‘यसले कमेडी च्याम्पियनसहितको कला क्षेत्रलाई राजनीतिसँग जोड्ने काम गरिरहेको छ । यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।’

    आगामी चार सातामा कमेडी च्याम्पियनको ग्रान्ड फिनालीको तयारी भैरहेको छ ।

  • ‘केजीएफ-२’ प्रदर्शन मिति घोषणा, महामारी सामान्य भए विश्वभर रिलिज हुने

    ‘केजीएफ-२’ प्रदर्शन मिति घोषणा, महामारी सामान्य भए विश्वभर रिलिज हुने

    काठमाडौं । अन्ततः लामो पर्खाइबीच प्रतिक्षित दक्षिण भारतीय फिल्म केजीएफको दोस्रो श्रृंखलाले प्रदर्शन मिति घोषणा गरेको छ ।

    अंग्रेजी वर्ष २०२२ को अप्रिल १४ मा फिल्म विश्वभर नै प्रदर्शन हुने भएको छ । आइतबार नयाँ पोस्टरसहित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । नयाँ पोस्टरमा अभिनेता यशसहित प्रकाश राजसमेत चित्रित छन् ।

    नयाँ रिलिज डेट घोषणा भएपछि फिल्मका फ्यानमाझ खुशि छाएको छ । अभिनेता संजय दत्त, यशसहितले आफ्नो क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरेका छन् ।

    तर, कोरोना महामारीको स्थिती सामान्य भए फिल्मलाई निर्धारित मितिमै प्रदर्शन गर्ने तयारी छ । प्रदर्शन मिति घोषणा भएपनि कोरोनाको आगामी अवस्था कस्तो हुन्छ भन्नेमा फिल्मको रिलिज निर्भर हुनेछ ।

  • जनगायक जेबी टुहुरे सिकिस्त, उपचार खर्च जुटाउन परिवारलाई संकट

    जनगायक जेबी टुहुरे सिकिस्त, उपचार खर्च जुटाउन परिवारलाई संकट

    काठमाडौं । जनगायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको छ। अचानक ‘स्ट्रोक’ भएपछि उनलाई मंगलबार बल्खुस्थित बयोधा अस्पतालको सीसीयू कक्षमा भर्ना गरिएको थियो।

    मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई शल्यक्रिया गर्न जोखिमपूर्ण रहेकाले औषधीको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्यूरोलोजिस्ट डा. सामर्थ सिंहले वताए। टुहुरेको उपचारमा सम्भव सवै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन नसकिरहेको उनको भनाइ छ ।

    टुहुरेको उपचारमा डा. सामर्थ सिंह, डा. विश्वकुमार श्रेष्ठ, डा. पावनवहादुर भण्डारी, डा. प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न छन् ।

    उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका थिए । टुहुरेको उपचारको सम्पूर्ण खर्च ब्यहोर्न सरकारलाई आग्रह गर्ने प्रचण्डले बताएका थिए ।

    उनलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत अस्पताल पुगेका छन् । नेताहरूले सहयोग गर्ने आश्वासन दिए पनि उपचारका लागि आर्थिक अभाव भएको उनको परिवार स्रोतले बताएको छ ।

    टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।

    २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका टुहुरे छिन् ।

  • #कुरा बुझ्न पर्चः कीर्तिमानमाथि कीर्तिमान राख्दै १५ दिनमै एक करोड भ्यूज

    #कुरा बुझ्न पर्चः कीर्तिमानमाथि कीर्तिमान राख्दै १५ दिनमै एक करोड भ्यूज

    काठमाडौं । प्रकाश सपुत आफ्नो संगीतकर्मको उच्च फर्ममा छन् । आजकाल उनले जे छोयो त्यही हिट हुन्छ । पछिल्लो उदाहरण हो ‘कुरा बुझ्न पर्च’ ।

    सपुतको सिर्जनामा गायिकाद्वय समिक्षा अधिकारी र शान्ति श्रीले गाएको यो गीत एकपछि अर्को कीर्तिमान रच्दै अघि बढेको छ । सार्वजनिक भएको १३ घन्टामा ट्रेन्डिङ १ मा पर्न सफल यस गीतले २४ घन्टामा १० लाख भ्यूज कटाएको थियो । १५ दिनको छोटो समयमा गीतले एक करोड भ्यूज कटाएको छ ।

    अहिले पनि यो गीत नेपालमा युट्यूवको १ नम्बर ट्रेन्डिङबाट तल ओर्लेको छैन । १५ दिनसम्म एउटै भिडियोले एक नम्बर स्थान ओगट्नु पनि दुर्लभ कीर्तिमान हो । गीतमा १० हजारभन्दा बढी प्रतिक्रिया आइसकेका छन् । अधिकांश प्रतिक्रिया सकारात्मक छन् ।

    ‘कुरा बुझ्न पर्च’ मा प्रकाश सपुतको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा नायिकाद्वय स्वस्तिमा खड्का र आँचल शर्माले अभिनय गरेका छन् । गीतलाई जस्तै भिडियोलाई नि दर्शकले मन पराएका छन् । टीकटकमा यो गीत भाइरल छ ।

    सपुतले आउँदो तीजलाई लक्षित गरी यो गीत सार्वजनिक गरेका हुन् । यसले नारी सशक्तिकरणको वकालत गरेको छ ।

    यो पनि पढ्नुहोस् :

  • चन्द्रागिरि पुगेर एमाले अध्यक्ष ओलीले लेखे अर्को कविता

    चन्द्रागिरि पुगेर एमाले अध्यक्ष ओलीले लेखे अर्को कविता

    “इच्छुमतिको किनार, घुमेर भिराडील
    घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल
    कतै इतिहास, कतै परम्परा गौरव र पौरख
    यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर
    शोकमग्न शिवजी भौतारिएका थिए
    यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
    चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
    यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
    सुन्दर काठमाडौँलाई नियालेका थिए
    देवकोटाले मानवताको बिगुल फुगेका थिए।।।
    यही ठाउँमा अहिले फालिएको भिरलाई
    गन्तव्य बनाएका छन् पौरखीहरुले”

    चन्द्रागिरि हिल्समा पुगेपछि तीन वर्षअघि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ’ भन्ने सन्देशको रचना सिर्जना गर्नुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोही स्थानमा पुगेर राष्ट्रिय एकता र समृद्धिका लागि आत्मबल बढाउने अर्को सिर्जना गरेका छन् ।

    राजनीतिक विवाद र व्यस्तताका बीच पूर्वप्रधानमन्त्री ओलीले आज जेसुम अभियानले चन्द्रागिरि नगरपालिका–१५को सहयोगमा चन्द्रागिरि हिल्समा आयोजना गरेको ‘भिराडील–चन्द्रागिरि जेसुम उत्सव’ कार्यक्रमस्थलमै सो रचना गरी आफ्नो मन्तव्यको पालामा सुनाएका हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०७५ असार ३१ मा चन्द्रागिरिमै आयोजना गरेको ‘हिमवत्खण्ड कला साहित्य महोत्सवका अवसरमा पनि यही स्थानमा कविता रचना गरेका थिए । त्यसबेला उनले लेखेका थिए :

    “परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ?
    बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।
    मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
    सगरमाथा, लुम्बिनी, मेची, महाकाली
    हाम्रा लहलह खेत, बारी, झपक्क कान्ला र आलि
    सपनामा भए पनि देख्न पाउँ
    चन्द्रगिरिको डाँडामा आएर सपनामा
    भावी सन्तती मुस्कुराएको देख्न पाउँ
    तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
    मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।”

    स्थलगतरुपमा रचना गरिएका अन्य स्रष्टाका रचना र स्थानीय कला, संस्कृति तथा समृद्धिबारे मन्तव्य सुनेपछि ओलीले आफ्नो पालोमा कविता सुनाउँदा सहभागीले तालीले सम्मान व्यक्त गरेका थिए । श्रीमती राधिका शाक्य, प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठसहित उपस्थित ओलीले विकासको सङ्कल्प प्रतिविम्बन गर्दै आधुनिकता टल्काउँदै भिरलाई गन्तव्यमा परिणत गर्न आह्वान गरे । आफूले रचना गरेको सिर्जना कवितै नभए पनि मुक्तकभन्दा उन्मुक्त रचना भएको र गोपालप्रसाद रिमालको गद्यमार्गमा हिँडेको व्याख्या पनि उनले गरे ।

    आफूले अरूका रचना सुनेपछि समृद्ध नेपालका लागि आत्मविश्वास बढेको बताउँदैै समाज निसासिएका बेला आफूले सामाजिक र राजनीतिक अभियान सुरु गर्दा सुरुङको पछिल्लो छेउमा पक्कै उज्यालो हुनुपर्छ भन्ने आशाका साथ लागेको र अहिले यस अभियानमा धेरै अभियानकर्मी भइसकेको ओलीले सुनाए । नेपालीका आकाङ्क्षाको प्रतिविम्बनका पुनःजागरण सुरु भएकाले कुनै राजनीतिक हेरफेर वा विवादले यस यात्रालाई केही पछाडि धकेल्न खोजे पनि कसैले रोक्न नसक्ने जिकिर उनले गरे ।

    कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी, प्राज्ञ लक्ष्मी माली, प्राज्ञ शशी लुमुम्बु, वासुदेव अधिकारी, फूलमान बल, स्नेह सायमी, सुरेश हाँचेकाली, अनिता लामा, राजु महत, प्रशान्त डङ्गोलले कविता वाचन गरेका थिए भने नाट्यकर्मी राजन खतिवडा र सरस्वती चौधरीले नाटक प्रस्तुत गरेका थिए । चन्द्रागिरिमा पुग्दा चन्द्रागिरी हिल्सका प्रबन्धसञ्चालक हेमराज ढकाल तथा महाप्रबन्धक अभिषेकविक्रम शाहलगायतले अध्यक्ष ओलीलाई स्वागत गरेका थिए ।

    अध्यक्ष ओलीले सो वडाको तीनथानामा निर्माणाधीन भिराडील खाइके साकुरा पार्कको अवलोकन गरी वडाध्यक्ष शैक्षिक विकास कोषमा रु एक लाख सहयोगको घोषणा गरेका थिए ।

    कार्यक्रममा चन्द्रागिरी नगरिपालिका–१५ का अध्यक्ष उत्तमबहादुर राउतले समृद्धिको नमुनाका रुपमा वडालाई विकसित गर्न पूर्वाधारका साथै कला, संस्कृतिका क्षेत्रमा काम गर्दै आएको बताए । रासस

  • ब्यूटी केयर शुभारम्भ गर्दै करिश्माले भनिन् : मेरो सौन्दर्यले अभिनयलाई ओझेलमा पारेको छैन

    ब्यूटी केयर शुभारम्भ गर्दै करिश्माले भनिन् : मेरो सौन्दर्यले अभिनयलाई ओझेलमा पारेको छैन

    काठमाडौं । नायिका करिश्मा मानन्धरको चर्चा अभिनयसँगै सौन्दर्यलाई लिएर बढी हुने गरेको छ । कामसँगै उनको सौन्दर्यको प्रशंसा सँधै हुने गर्छ । यो उमेरमा पनि उनी फिट एन्ड फाइन देखिन्छिन् ।

    शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा करिश्माले आफ्नो सौन्दर्यले अभिनयलाई छायाँमा नपारेको बताइन् । ‘मैले फिल्म क्षेत्रमा निकै लामो यात्रा गरेँ । यो सौभाग्य कमैले पाउँछन् । म त्यो भाग्यमानी कलाकार हुँ । अनि मैले कसरी सुन्दरताकै कारण यति लामो यात्रा गरेँ भन्न मिल्छ रु’ सौन्दर्यले अभिनयलाई छायाँमा नपारेको करिश्मा तर्क छ ।

    आफू सुन्दरताले मात्र नटिकेको करिश्मा कथन छ । ‘सुन्दरता भन्ने सँधै रहन्न । कलाकारले अभिनयलाई प्रखर बनाउँदै लैजानुपर्छ’ करिश्मा भन्छिन् । शनिबार उनले युनिसेक्स ब्युटी पार्लरको रिबट काटेर उद्घाटन गरेकी छिन् । सुन्धारास्थित काठमाण्डौं मलको चौथो तलमा रहेको अमिरा ब्युटी केयरको औपचारिक रुपमा उद्घाटन गरेकी हुन् ।

    आजको युगमा महिलासँगै पुरुषले पनि आफ्नो सुन्दरतामा ध्यान दिइरहेको करिश्माले बताइन् । ब्यूटी पार्लर संचालिका अमिता तामाङ म्युजिक भिडियो मोडल समेत हुन् । उनले यसअघि रेष्टुरेन्ट व्यावसाय गरेकी थिइन् ।

  • पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूची तथा भिडियाेसहित)

    पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूची तथा भिडियाेसहित)

    काठमाडौं । प्रकाश सपूतद्धारा संगीतवद्ध ‘कुरा बुझ्नु पर्च’ लगातार दोस्रोे साता युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली गीत बनेको छ । आँचल शर्मा र स्वस्तिमा खड्का फिचर्ड गीतलाई पछिल्लो साता ३८ लाख ४४ हजार ९३५ पटक हेरिएको छ भने कूल भ्यूज संख्या ९५ लाख ७६ हजार ३४४ छ ।

    छेवाङ लामाको स्वरमा रहेको गीत ‘लाहुरे ३’ यस साता दोस्रो सर्वाधिक हेरिने गीत बनेको छ । यो साता गीतलाई १५ लाख ९८ हजार ९९१ पटक हेरिएको छ भने कूल भ्यूज १५ लाख ९८ हजार ९९१ छ ।

    मेलिना राई र विष्णु घिमिरेको स्वरमा रहेको गीत ‘जेखौं माया’ तेस्रो शीर्ष स्थानमा छ । यो सातामात्र १२ लाख ९३ हजार ६३० पटक हेरिएको छ भने जम्मा भ्यूज ६० लाख ५१ ह्जार ५९८ छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको पछिल्लो सूचीमा यो साता नयाँ गीतहरु समावेश भएका छन् ।

    हेर्नूस् साताको भ्यूज सूची :

    १. ‘कुरा बुझ्नु पर्च’ (प्रकाश सपूत) : ३८ लाख ४४ हजार ९३५

     

    २. ‘लाहुरे ३’ (छेवाङ लामा) : १५ लाख ९८ हजार ९९१

     

    ३. ‘जेखौं माया’ (मेलिना राई र विष्णु घिमिरे) : १२ लाख ९३ हजार ६३०

     

    ४. ‘आयो तीजको लहर’ (मेलिना राई) : १० लाख ८९ हजार ९२२

     

    ५. ‘तिम्रो मनमा ए कान्छा’ (निकीता थापा) : ९ लाख ७३ हजार ३२९

     

    ६. ‘ससुराली जाने हो’ (जिवेश सिंह) : ९ लाख ३७ हजार ३०

     

    ७. ‘माया बिरानी २’ (महेश काफ्ले) : ९ लाख १७ हजार ९९२

     

    ८. ‘बाफ’ (सुजन चापागाई र विद्या तिवारी) ; ६ लाख ८० हजार ००५

    ९. ‘सोल्टी राजाको टुम्लेट’ (प्रीति आले) : ६ लाख ५६ हजार ४५९

    १०. ‘कुरा काटन’ (खुमन अधिकारी) : ६ लाख २८ हजार ३१५

  • आमा बितेको एक महिना नपुग्दै ‘बखते’ को बियोगान्त

    आमा बितेको एक महिना नपुग्दै ‘बखते’ को बियोगान्त

    काठमाडौं । नेपाली हास्य टेलिश्रृंखलाका नियमित दर्शकका लागि एक चिरपरिचित अनुहार थिए, शम्भुराज थापा । यद्यपि, उनको वास्तविक नाम भने धेरैलाई थाहा थिएन । हास्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ मा निर्वाह गरेको भूमिकाका कारण धेरैले उनलाई ‘बखते’ नामले चिन्थे ।

    लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थापा एक संघर्षशील कलाकार हुन् । उनले करिब दुई दर्जन चलचित्रमा काम गरेका छन् भने ‘आफ्नो बिरानो’ नामक चलचित्र निर्माणसमेत गरेका थिए । पछिल्लो समयमा भने उनी हास्य टेलिश्रृंखलाहरुमै केन्द्रित थिए । यद्यपि, उनको पहिचान ‘हास्य कलाकार’ भन्दा पनि चरित्र अभिनेताको थियो ।

    ‘हल्का रमाइलो’ का निर्देशक मरिचमान श्रेष्ठ बल्छीका अनुसार करिब एक महिना अगाडि मात्रै मातृ वियोगमा परेका थिए शम्भु । आमाको काजक्रियामा बसिरहेकै समय उनलाई कोरोना संक्रमण देखिएको थियो । त्यसपछि ५ दिनमै किरिया सकेर उनी अस्पताल भर्ना भए ।

    ललितपुरको पाटन अस्पतालमा निरन्तर उपचारका बाबजुद उनको अवस्था विग्रिँदै गयो । पछिल्लो ९/१० दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर, डाक्टरहरुले उनलाई जोगाउन सकेनन् । आज बिहान ४ः४० बजे उनलाई मृत घोषित गरियो । पशुपतिमा रहेको विद्युतीय शवदाहनमा उनको अन्त्यष्टी गरिएको छ । कोरोनाका कारण दाहसंस्कारमा थोरै व्यक्तिहरु मात्रै उपस्थित भएका थिए ।

    चर्चित हास्यकलाकार सिताराम कट्टेल धुर्मुसको भनाइमा थापा कसैलाई नचिढाउने स्वभावको घमण्डरहित व्यक्ति थिए । कलाकारका रुपमा उनी आफ्नो कामप्रति समर्पित र मिहिनेति स्वभावको आफूले पाएको धुर्मुसले बताए । मेरी बास्सैका केही भागहरुमा थापाले अभिनय गरेका थिए ।

    ‘उहाँ सबैसँग घुलमिल हुने र सरल स्वभावको हुनुहुन्थ्यो,’ धुर्मुसले भने, ‘घमण्ड भन्ने उहाँमा बिल्कुल कहिल्यै देखिनँ ।’ ५५ वर्षिय थापाको स्थायी घर बिराटनगर हो । आर्थिक अवस्था सामान्य रहेका उनी परिवारसहित काठमाडौंको गुहेश्वरीमा बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा पनि हुर्किसकेका छन् ।

    हास्य टेलिश्रृंखलाहरुमा अभिनय गरे पनि उनको हास्यकलाकारभन्दा चरित्र अभिनेता थिए ।

  • कलाकार शम्भु थापाकाे काेराेना संक्रमणबाट निधन

    कलाकार शम्भु थापाकाे काेराेना संक्रमणबाट निधन

    काठमाडौं । चर्चित हाँस्यकलाकार शम्भुराज थापाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । एक महिना अगाडि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएका थापालाई पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो ।

    ६४ वर्षीय थापाको उपचारकै क्रममा शनिबार बिहान ४:४० बजे निधन भएको हो ।

    थापाले हास्य टेलिश्रृंखलाहरू- हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए । उनकाे निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।

  • भर्चुअल गाइजात्रामा गजुरेलको अनुभव : अब मुख बिगारेर मात्रै चल्दैन, दर्शकले सिचुयसनल कमेडी खोज्छन्

    भर्चुअल गाइजात्रामा गजुरेलको अनुभव : अब मुख बिगारेर मात्रै चल्दैन, दर्शकले सिचुयसनल कमेडी खोज्छन्

    काठमाडौं । कोरोना महामारीले मनोरञ्जन क्षेत्र भर्चुअलरुपमा खुम्चिएको छ । कुनैबेला प्रज्ञा प्रतिष्ठानमा खचाखच हुने गाइजात्राको हाँस्यव्यंग्य कार्यक्रम अहिले डिजिटल प्लेटफर्ममा सीमित भएको छ । कोभिडले सामाजिक जीवन सीमित हुँदा हाँस्य कलाकारले भने टेलिभिजन र युट्युवमार्फत प्रहसन पस्किरहेका छन् । माध्यम बदलिए पनि कलाकारको कमेडी स्वाद भने बदलिएको छैन ।

    भदौ १ गतेदेखि सुरु भएको गाइजात्रा सप्ताह ७ गते सकिँदैछ । यो छेकोमा कमेडी कलाकारले टेलिभिजन र इन्टरनेट प्लेटफर्मबाट दर्शकलाई हँसाइरहेका छन् । स्वयम् कलाकारको लागि पनि कोभिडको गाइजात्रा नयाँ अनुभव हो । दर्शकको हाँसो, सिठी र तालीमा खचाखच भएर विगतमा मनाएजस्तो गाइजात्राको आयाम बदलिएको मात्र छैन गाइजात्रा हाइटेक बनिरहेको छ ।

    माध्यम हाइटेक भएपनि गाइजात्राको विषयवस्तु भने उनै छन् । अहिले पनि नेपाली गाइजात्रा हाँस्यव्यंग्यको केन्द्रमा राजनीति, समाज र विकृति लगायतका विषयवस्तु समावेश छन् । काठमाडौं लगायतका ठूला सहरमा निषेधाज्ञा कायमै भएको र जिल्ला प्रशासनहरुले भीडभाड नगर्न आदेश दिएकाले भर्चुअल माध्यममा जानु पनि कलाकारको बाध्यता हो । त्यसैले गत सातादेखि टिभी र युट्युव च्यानलमा गाइजात्रा प्रसारण भैरहेको छ ।

    लामो समयदेखि गाइजात्रा हाँस्यव्यंग्यको अनुभव सम्हालेका वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले ‘हाइटेक गाइजात्रा’को नेतृत्व गरेका छन् । युट्यूवमा उनले आफ्नै च्यानलमा गाइजात्रे कार्यक्रम अपलोड गर्छन् । महामारीबीचको गाइजात्रा कस्तो हुँदैछ ? हामीले गजुरेललाई सोध्यौं ।

    ‘महामारीको गाइजात्रा पनि महामारीजस्तै भएको छ । दर्शकसामु बसेर हाँस्यव्यंग्य गर्नुपर्नेमा डिजिटल प्लेटफर्मबाट गर्दा दर्शकसामु भेला भएर गरेजस्तो छैन । हाम्रा लागि पनि यो नितान्त नौलो अनुभव भएको छ । त्यही पनि हामीले जमर्को गरिरहेका छौं’ गजुरेलले नेपाल प्रेसलाई भने ।

    यसपटक गजुरेल, शैलेन्द्र सिंखडा र पछिल्लो समय गायन रियालिटी सोबाट आएका तन्नेरी कमेडियनहरुले गाइजात्रा हाँस्यव्यंग्य पस्किएका छन् । गाइजात्रासँगै अहिले गजुरेल जजको रुपमा रहेको टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’ पनि प्रसारण भैरहेको छ ।

    यो वर्ष गाइजात्रामा ३४ जना कलाकारले प्रस्तुत दिँदैछन् । मनोज र शैलेन्द्रसहित कमेडी च्याम्पियनका विजेता हिमेश पन्त लगायतले यसपटक हँसाइरहेका छन् । अर्का कलाकार सुबोध गौतमले केपी ओली, मुकुन्दे, पुण्य गौतम, रवि लामिछानेको चरित्र चित्रण गरेका छन् । उनै मनोज हुन् जसलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेबापत अमेरिकी संचारमाध्यम सीबीएस न्यूजले संसारका उत्कृष्ट १८ कमेडियनको सूचीमा राखेको थियो ।

    नेपाल प्रेससँगको हालैको एक गफगाफमा गजुरेलले संसारका चर्चित राजनीतिज्ञदेखि घरेलु नेतालाई व्यंग्य गर्नसमेत बाँकी राखेनन् । उनले तीन पात्रहरुको लवजमा क्यारिकेचरसमेत गरे (हेर्नूस भिडिओ) ।

    यस वर्ष गजुरेलको व्यंग्यमा देउवादेखि पुटिनसम्म

    प्रत्येक गाइजात्रा व्यंग्यको केन्द्रमा मनोजले नेपालदेखि विश्व चर्चित नेताहरुलाई समेत राख्ने गरेका छन् । कोरोना महामारीअघि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबारे उनले गरेको क्यारिकेचर निकै हिट भएको थियो । केपी ओली अवतारमा देखिएका धुर्मुस र ट्रम्प हुलियामा देखिएका गजुरेलको गाइजात्रे जोडी प्रज्ञा प्रतिष्ठानमा जमेको थियो ।

    उनले अघिल्लो वर्ष ट्रम्पसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ, विश्व स्वास्थ्य संगठनका निर्देशक डा. ट्रेडोसको क्यारिकेचर गरेका थिए । यसपटकको गाइजात्रा केन्द्रमा मनोजले पछिल्लो समय सत्तामा रहेका नेताहरुलाई राखेका छन् । खोप कूटनीति, वैदेशिक सहायता, कोभिड, नेताहरुको अहमता उनको कमेडीमा अटाएका छन् ।

    मनोजलाई लाग्छ, अहिलेको पुस्ताले अघिल्लो पिँढीका कलाकारबाट सिक्नु जरुरी छ भने समाजलाई पनि बुझ्नु जरुरी छ । तन्नेरी पुस्ताका कमेडियनले समाज, राजनीति र अर्थतन्त्रलाई बुझुनुपर्ने उनको ठम्याइ छ । विद्यार्थी राजनीति र कलेजको स्टेज पृष्ठभूमिलाई माध्यम बनाउँदै हाँस्यव्यंग्यमा आएकाहरुले वास्तविकरुपमा समाजलाई बुझ्ने र कमेडी गर्न सक्ने उनले बताए । ‘तिनीहरु मात्र वास्तविकरुपमा अर्गानिक कमेडियन हुन्छन् जसले समाज र जनतालाई बुझेका हुन्छन्,’ मनोज भन्छन्, ‘नयाँ पुस्ताले इतिहास बिर्सनु हुँदैन भविष्यको कमेडीलाई पनि निरन्तरता दिनुपर्‍यो ।’

    नयाँ पुस्ताले राजीनितिक व्यंग्यबाट नै सिक्न सक्ने मनोज बताउँछन् । ‘बदलिँदो विश्वको गहिरो अध्ययन गर्न सक्ने नै युवा पुस्ता हुन् । युवा पुस्ताले देशमा के भइरहेको छ भनेर थाहा पाउने भनेको व्यंग्यबाट हो’ मनोजलाई भन्छन् ।

    फिल्ममा हाँस्यव्यंग्यको प्रयोगमा समेत व्यापक परिवर्तन आउने मनोजको भनाई छ । सयकडा दश फिल्ममा अभिनय गरेका मनोजले पञ्चलाइन र मुख बिगार्ने कमेडीको परम्परागत ढाँचामा परिवर्तन आएको र दर्शकले सिचुएनसल कमेडी खोजेको बताउँछन् । कोरोना महामारीको पछिल्लो अवस्था र राजनीतिक अस्थिरताले जनता उदासिन भएको बेला कमेडीको महत्व दिनानुदिन बढेको गजुरेलको कथन छ । ‘दुःखी जनतालाई हँसाउन सक्नु नै महत्वपूर्ण कुरा हो’ उनी भन्छन् ।