Category: कलाप्रेस

  • दयाहाङ राई नेपाल-युरोपियन फिल्म फेस्टिभलको दूतमा नियुक्त

    दयाहाङ राई नेपाल-युरोपियन फिल्म फेस्टिभलको दूतमा नियुक्त

    काठमाडौं । अभिनेता दयाहाङ राई नेपाल-युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभल दूतमा नियुक्त गरेको हो ।

    अभिनेता राईले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । महामारीले फिल्मका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि हुने फेस्टिभलले फिल्मकर्मीमा ऊर्जा सञ्चार गर्ने उनले बताए ।

    उनले भने, ‘यो फेस्टिभल आफैमा साँस्कृतिक आदानप्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्छ ।’ राईलाई दूत बनाउन पाउँदा आफूलाई खुशि लागेको डेलिगेसनले जनाएको छ ।

    ‘उहाँले फेस्टिभल अवधिभर हाम्रा संस्कृतिहरुबीचको (सजीव) सम्वाद तथा विश्वका लागि हाम्रो परिकल्पनाहरुलाई पूर्णरुपमा साकार तुल्याउनका लागि मिलेर काम गर्नुहुनेछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी डेलिगेसनले युरोपियन युनियनको साइटमा लगइन गरेर फिल्ममार्फत युरोप र नेपालको सांस्कृतिक मिलनलाई हेर्न तथा त्यसको आनन्द लिन सकिने पनि जनाएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ ।

    महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु फिल्म प्रतियोगिताको विजेताको घोषणा तथा फिल्मसँग सम्बन्धित महत्वपूर्ण अन्तक्र्रिया र गोष्ठिहरू पनि सञ्चालन हुने छन् ।

     

  • ज्योती मगरको सरप्राइज ! मर्मस्पर्शी तिजगीत (भिडियो)

    ज्योती मगरको सरप्राइज ! मर्मस्पर्शी तिजगीत (भिडियो)

    काठमाडौं । उत्ताउलोपन र उछृङ्खलताका लागि आलोचित बन्दै आएकी छन् गायिका ज्योती मगर । उनका गीतमा छाडा र द्विअर्थि शब्दको प्रचुरता भेटिन्छ भने उनले अभिनय गरेका भिडियो पनि सबैका लागि सुपाच्य हुँदैनन् ।

    तर, यसपालीको तिजमा उनले सरप्राइज दिएकी छिन् । उनले हालै सार्वजनिक गरेको तिजगीतले धेरैलाई आश्चर्यमा पारिदिएको छ । यसमा ज्योती मगरलाई आफ्नो छविविपरित शालिन अवतारमा देख्न सकिन्छ । गीत पनि मन छुने खालको छ ।

    ‘माइतीको माया बरिलै’ बोलको गीतमार्फत ज्योतीले आफ्नो ट्रयाक बदल्न खोजेकी हुन् वा यो एउटा ‘ट्राइ’ मात्र हो, उनैले जानुन् । तर, दर्शकले भने उनको यो प्रयोग मन पराएका छन् । स्मरणीय के छ भने यो गीतमा रचना, संगीत र स्वर सबै ज्योतीको हो । गीत कर्णप्रिय र मर्मस्पर्शीसमेत छ ।

    तिजमा माइती जान नपाएकी एक ग्रामिण चेलीको विरह यस गीतमा पोखिएको छ । कारुणिक भाकामा गाइएको गीतमा ज्योतीको स्वर पनि निकै खुलेको छ । गीतका शब्दहरुले मन पगाल्छ।

    यस्ता छन् गीतका शब्दहरु :

    ‘बटौलीको बजारमा स्वामीज्युले किन्देको, धुँदाधुँदै फाट्यो सिफनको सारी बरिलै

    वर्षदिनको तिजमा माइती जान नपाउँदा छोरी रुने वारी, आमा रुने पारी बरीलै

    ०००

    संगीनीको चिनो, आँखै लाउने गाजलु, त्यसै कहाँ पुछिन्थ्यो रुँदारुँदै बग्यो बरिलै

    नाच्न पनि मन थियो, गाउन पनि मन थियो, मै अभागी चेलीलाई करिमैले ठग्यो बरिलै

    ०००

    बाखरीलाई खुवाउने, डाले घाँस काटेर, गाईलाई घाँस खुवाउने घरवारीको खर बरिलै

    सुनकै थालमा खाएनि दुधैले नुहाएनी पराइको घर, के रमाइलो छर बरिलै

    ०००

    क्यारि दिन काटुँला क्यारि मन बुझाउँदा, यो बिरानो ठाउँको चालचलन नयाँ बरिलै

    कतिविधि आको हो, माइती देशकै झझल्को, कति विधि लाको हो माइतीकै मयाँ मरिलै

    ०००

    गीतले सुरुवातमा आक्रामक भ्यूज कमाएको छैन । तीन दिनमा भर्खर ५० हजार भ्यूज कटाएको छ । गीतमा आएका प्रतिक्रियाहरु भने निकै सकारात्मक छन् । धेरैले ज्योतीको प्रयासको सह्राहना गरेका छन् । सुरुवात सुस्त भए पनि यो गीतका भ्यूज बिस्तारै उकालो लाग्ने आशा राख्न सकिन्छ । अहिलेसम्म प्राय विवादास्पद अभिव्यक्ति र क्रियाकलापले मात्रै चर्चा कमाएकी ज्योतीले यसपाली भने विसुद्ध प्रतिभाकै बलमा चर्चा बटुल्न सफल भएकी छन् ।

  • भरतमणि, विक्की अग्रवाल र सन्तोष पन्त

    भरतमणि, विक्की अग्रवाल र सन्तोष पन्त

    टीभी रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजन टुंगोमा पुग्न लाग्दा यसको चर्चा र लोकप्रियता पनि उत्कर्षमा छ । शनिबारको एपिसोडले त सामाजिक सञ्जालमा नै एकप्रकारको तरंग ल्याइदियो र ट्रेन्डिङको शीर्षस्थानमा पुग्न सफल भयो ।

    प्रतियोगितामा अन्तिम ४ प्रतियोगी बाँकी छँदा उपाधिका प्रमुख दावेदारका रुपमा हेरिएका छन्, भरतमणि पौडेल र विक्की अग्रवाल । अन्य दुई प्रतियोगी सन्तोष थापा र हिक्मत महरा उनीहरुको ओझेलमा परेका छन् । यसको अर्थ उनीहरु कमजोर छन् भन्ने चाहिँ होइन ।

    भरतमणि टप–४ बाट उत्कृष्ट भएर फाइनलमा प्रवेश गरिसकेका छन् । अब बाँकी विक्की, सन्तोष र हिक्मतमध्ये दुईजना भरतमणिसँग फाइनलमा भिड्नका लागि जनताको भोटबाट छानिनेछन् । यदि त्यसमा विक्की छानिएन् भने आश्चर्य मानिनेछ ।

    दोस्रो सिजनको सुरुवातदेखि नै भरतमणि र विक्की दर्शकको रोजाइमा थिए । अर्का चर्चित प्रतियोगी सुन्दर खनाल अनपेक्षितरुपमा छिट्टै आउट भएपछि दर्शकको आकर्षण यी दुईमा बढी केन्द्रित देखिएको छ ।

    उनीहरु दुवै आ–आफ्ना विशेषताका कमेडियन हुन् र शैलीगतरुपमा धेरै भिन्नता बोकेका छन् । भरतमणि ठूलो समूहमा खपत हुने प्रस्तुति दिन्छन् भने विक्कीको प्रस्तुतिले खासगरि शहरी युवाहरुलाई आकर्षित गर्छ ।

    विक्की अग्रवालः सिक्किमका हिरा

    विक्की सिक्किमका युवा हुन् । उनीसँगै अरु केही नेपालीभाषी प्रतियोगीहरु भारतबाट आएका थिए । अरु बाहिरिए पनि विक्की अन्तिमसम्म लडिरहेका छन् ।

    विक्कीको कमेडी च्याम्पियन यात्रा बाह्य कारणले पनि निकै महत्वपूर्ण छ । उनी नेपाली मूलका भारतीय हुन् । उनीसँग नेपाली नागरिकता छैन, तर नेपाली रगत छ । भारतका नेपालीभाषीलाई नेपालसँग भावनात्मकरुपमा नजिक्याउने सम्वन्धसेतु बन्न सक्छन् उनी । यस्ता कलाकारहरुबाट भोलीका दिनमा नेपाली बहुल भारतीय क्षेत्रमा नेपाली कलाकारीताको थप फैलावट हुनसक्ने अपेक्षा राख्न सकिन्छ ।

    कमेडी च्याम्पियनकै लागि नेपाल आएका विक्कीका लागि प्रतियोगिता बढी चुनौतिपूर्ण किन थियो भने नेपालको जनजीवन र यहाँका विषयवस्तुमा उनी अभ्यस्त थिएनन् । तर, चाँडै नै उनले नेपाली विषयवस्तुहरु टपक्क टिपेर आफ्नो प्रस्तुतिमा ढाले जुन उनको सवल पक्ष हो ।

    स्ट्यान्ड अप कमेडीमा विक्कीको टाइमिङ असाध्यै राम्रो छ । सानो-सानो कुरामा खेलेर उनले पञ्चलाइनहरु सिर्जना गर्न सक्छन् । उनी एउटा ‘मोर्डन डे’ कमेडियन हुन्, जो नयाँ-नयाँ प्रयोग गर्न रुचाउँछन् । मुख बङ्ग्याएर अनि आवाज विगारेर गरिने परम्परागत कमेडीमा उनको रुची छैन । विक्की स्टेजमा ‘कुल’ र ‘स्टाइलिस’ तवरले पेश हुन्छन् । साथै उनको सिक्कमे लवजले सुनमा सुगन्ध थपेको छ ।

    विक्कीको ‘रोस्ट’ निकै शक्तिशाली हुने गर्छ । कमेडी च्याम्पियनका जजदेखि कार्यक्रममा आएका पाहुनाहरुलाई उनले ‘पानी छम्किनुपर्ने गरी’ रोस्ट गरेका छन् ।

    जस्तै, वर्षा राउत र उनका श्रीमान सञ्जोग कोइरालालाई उनले यसरी रोस्ट गरेका थिएः

    ‘हेल्लो वर्षाजी, म तपाईंको इन्डियाको फ्यान । हेल्लो सञ्जोगजी, सरी मैले तपाईंलाई बाहिर भेट्दा चिन्न सकिनँ । र, अहिले भित्र भेट्दा पनि चिन्न सकिनँ ।’

    भरतमणिलाई रोस्ट गर्दै विक्कीले भनेका थिए, ‘अगर मान्छेको ट्यालेन्ट भुत्लामा काउन्ट गर्ने हो भने उ ट्यालेन्टेड हो गाइज । यो मान्छेको यति धेरै भुत्ला छ कि भुत्लाको पनि भुत्ला छ ।’

    कमेडी च्याम्पियनमा विक्कीको इन्ट्री नै बबाल भएको थियो । फिजिकल अडिसनमा उनले आफैंमाथि व्यंग्य गरेका थिए । उनका केही पञ्चलाइन यस्ता थिएः

    ‘मान्छेको नराम्रो दिन हुन्छ, नराम्रो समय हुन्छ, तर मेरो नराम्रो जन्म चल्दैछ ।’

    ‘कि मलाई पुरै नेपाली बनाउनुपर्थ्यो म ह्यान्डसम हुन्थेँ होला । कि मलाई पुरै मारवाडी बनाउनुपथ्र्यो, म धनी हुन्थेँ होला ।’

    ‘कुम्भकर्णपछि केही कुरा मज्जाले सुतेको छ भने त्यो मेरो किस्मत हो ।’

    पहिलो प्रस्तुतिबाटै प्रभावित भएर निर्णायकहरुले विक्कीलाई सिधै टप २४ मा पुग्ने गरी ‘गोल्डेन की’ दिएका थिए ।

    कमजोरीको कुरा गर्दा विक्कीको क्षमताको एउटा सीमा छ । कथाको मागअनुसार आफ्नो हाउभाउ र आवाज परिवर्तन गर्ने तथा अरुको नक्कल गर्ने खुबी उनमा देखिएको छैन । उनको संवाद सम्प्रेषण सँधै एकैप्रकारको हुनेगर्छ । उनी धेरै ठाउँमा मुसुमुसु हँसाउन सक्छन्, तर लगातार खित्का छोडेर हँसाउने प्रस्तुति उनका कम छन् ।

    भरतमणिः कमेडीका फुल प्याकेज

    भरतमणि ताप्लेजुङका प्रतिभा हुन्, जो कमेडी च्याम्पियनमा आउनुअघि यस क्षेत्रमा आफूलाई चिनाउन संघर्षरत थिए । युट्युवमा उनका केही भिडियो पहिल्यै हिट भइसकेका थिए । यद्यपि, कमेडी च्याम्पियनको मञ्च पाएपछि उनको पहिचान रातारात उचाइमा पुगेको छ ।

    भरतमणिको फिजिकल अडिसन सामान्य थियो । तर, त्यसपछिका प्रस्तुतिहरुमा उनले आगो बाले । एपिसोड ६ मा उनले गरेको पुण्य गौतम र हिमेश पन्तको क्यारिकेचरले धुम मच्चाएको थियो । त्यहीँबाट उनी दर्शकको नोटिसमा पर्न थालेका हुन् ।

    उक्त प्रस्तुतिमा कमेडी च्याम्पियनका पूर्वविजेता हिमेशलाई व्यंग्य गर्दै भरतमणिले भनेका थिए, ‘कमेडी च्याम्पियनले खासमा पुरस्कार नै गलत राखेको हो । कार होइन, ट्याक्टर राख्नुपर्थ्याे, हिमेशले कम्तिमा खेत जोतेर जीविका चलाउँथे ।’

    १५ औं एपिसोडमा भरतमणिले आफ्नो बेस्ट दिए । त्यसमा उनले पूर्वराजा ज्ञानेन्द्रसहित विभिन्न नेताहरुको दुरुस्त क्यारिकेचर गरेका थिए । र, त्यसमा कन्टेन्ट पनि उत्तिकै बलियो थियो ।

    भरतमणिले गरेको गोकुल बास्कोटाको क्यारिकेचर त स्वयम् गोकुल बास्कोटा नै झुक्किने खालको थियो ।

    ‘हेप्नी ? मान्छेलाई डिस हान्नी ? औडा अर्नि ? यस्तै-यस्तै कुरा गर्यौ भने भाइ, हामी मान्छेहरु नि कोल्याप्स गरिदिन्छाैं ।’

    गोकुलको आवाजमा भरतमणिले बोलेको यो डाइलग टिकटकमा यति चल्यो कि धेरैको जिभ्रोमै झुण्डियो । सोही प्रहसनमा भरतले गरेको राजा ज्ञानेन्द्र, रामनारायण बिडारी, राजेन्द्र महतोलगायतको क्यारिकेचर पनि कम्ति टेसिलो थिएन । त्यसपछिका एपिसोडमा पनि उनले आफ्नो स्तर कहिल्यै तल झर्न दिएनन् ।

    भरतमणिले गरेको पारसको क्यारिकेचरका बारेमा त धेरै चर्चा भइसकेको छ । यसमा उनले पारसको आवाज मात्र नभएर हाउभाउ पनि दुरुस्त उतारेका छन् । उनले पारसका हुलियामा गरेको डान्स स्टेप टिकटकमा भाइरल भएको छ ।

    विक्कीभन्दा ठूलो दायरामा काम गर्छन् भरतमणि । खासमा उनी कमेडीका प्याकेज हुन् । त्यसमा पनि उनको सबैभन्दा बलियो पक्ष क्यारिकेचर हो । आजकाल क्यारिकेचर गर्ने कलाकारहरु धेरै जन्मेकाले यो विधालाई हल्का रुपमा पनि लिन थालिएको छ । तर, कमेडीमा यो एउटा कठिन विधा हो । एकछिन सोचेर अरुको बोली र हाउभाउको दुरुस्त नक्कल उतार्न सकिँदैन । यसका निम्ति कलाकारले खर्चेको समय र मिहिनेत दर्शकले देख्दैनन् ।

    पूर्वराजा ज्ञानेन्द्र, केपी ओली, प्रचण्ड, देउवा, माधव नेपालजस्ता नेताहरुको क्यारिकेचर गर्ने धेरै कलाकार छन् । उनीहरुको क्यारिकेचर हेर्दाहेर्दा दर्शक नै बोर भइसके । भरतमणिले भने पूवयुवराज पारसदेखि रामनारायण विडारी, पुण्य गौतम मात्र नभएर हिमेस पन्तसम्मको क्यारिकेचर गरेर दर्शकलाई नयाँ स्वाद दिएका छन् ।

    भरतमणि कमेडीको फुल डोज पस्किन सक्छन् । उनको प्रस्तुतिमा विविधता भेटिन्छ । कमेडी च्याम्पियन जिते पनि वा नजिते पनि उनी लामो रेसका घोडा हुन् । भोलीका दिन नेपाली रंगमञ्चमा छाउन सक्ने सम्भावना बोकेका कलाकार हुन् उनी ।

    सन्तोष पन्तको ‘जजमेन्ट’

    यो आलेखमा सन्तोष पन्तको चर्चा नगरेको भए पनि हुन्थ्यो । तर शनिबार विक्कीको प्रस्तुतिमाथि गरेको टिप्पणीलाई लिएर पन्तमाथि जसरी हमला गरिएको छ, त्यसले केही लेख्न कर लाग्यो ।

    फाइनलका लागि भएको प्रतिस्पर्धामा विक्कीले केही फरक गर्ने प्रयास गरे । कमेडी च्याम्पियनको मञ्चमा उनले पहिलोपटक ‘पेन्टोमाइम’ ट्राइ गरे । आफ्नो कम्फर्ट जोनबाट निस्केर जोखिम मोल्न तयार हुनु उनको सह्राहनीय पक्ष थियो ।

    तर, उनको प्रस्तुति कलात्मक हुँदाहुँदै पनि ‘ह्यूमरस’ हुन सकेन । त्यो ‘डार्क कमेडी’ पनि भएन । विश्वका थुप्रै हास्यकलाकारले माइम एक्टबाट पनि दर्शकलाई पेट मिचिमिची हँसाएका छन् । तर, विक्की हँसाउने सिक्वेन्स निर्माण गर्न चुके । कमेडीको कठिन प्रतिस्पर्धामा यस्तो अमूर्त कन्टेन्ट सान्दिर्भिक हुन्न ।

    सन्तोष पन्तले पनि यही पक्षमा असन्तोष जनाएका थिए । तर, उनले बोलेका कुराहरुलाई लिएर धेरैले आलोचना गरेका छन् । उनको प्रतिक्रियाले प्रतियोगीलाई हतोत्साही गर्न खोजेको र उनले आधुनिक कमेडी नबुझेको टिप्पणी भइरहेको छ ।

    पन्तको भन्ने शैली अलिकति ठाडो भयो होला । तर, रियालिटी शोमा निर्णायकको कुर्सीमा बस्नेहरुले आफूलाई लागेको भन्ने हो, बनावटी कुरा गरेर अनावश्यक प्रशंसाको पुल बाँध्ने होइन । भन्ने शैली सबैको आफ्नो-आफ्नो हुन्छ । हामीले भारतीय टेलिभिजनका रियालिटी शोहरुमा कतिपय निर्णायले प्रतियोगीलाई झपारेको पनि देखेका छौं । त्यस्तै गर्नुपर्छ भन्ने होइन, तर प्रतियोगीको कमजोरी खुट्याउन निर्णायकले हिच्किचाउनु हुन्न ।

    कमेडी च्याम्पियनका अरु तीन निर्णायकभन्दा सन्तोष पन्त फरक छन् । अरुको लहैलहैमा लागेर उनी मामुली प्रस्तुतिमा कुर्सीबाट उठ्दैनन् । चित्त नबुझेसम्म हाँस्दैनन् पनि । त्यही भएर उनलाई हँसाउन सक्दा प्रतियोगीहरु गदगद बन्छन् ।

    सन्तोष पन्तलाई अनादरपूर्ण टिप्पणी गर्ने युवा पुस्ताले पहिले उनको पृष्ठभूमि बुझ्नुपर्छ । नेपालको हास्यव्यंग्य क्षेत्रलाई माथि उठाउन उनले गरेका संघर्षलाई अध्ययन गर्नुपर्छ । कुनै बेला नेपाली टेलिभिजनमा दर्शक हँसाउने एउटा मात्रै कार्यक्रम ‘हिजाेआजका कुरा’ थियो, जुन सन्तोष पन्तले चलाउँथे ।

    त्यसबेला घरघरमा टेलिभिजन थिएनन् । त्यो कार्यक्रम हेर्ने मानिसहरु टेलिभिजन भएको घर खोज्दै टाढाटाढा पुग्थे । त्यो युगबाट आएका लिजेन्डलाई ‘आधुनिक कमेडी नबुझेको’ भन्दै खिसिट्यूरी गर्नु शोभनीय हुँदै होइन । यदि सन्तोष पन्तले समेत त्यो कमेडी बुझेनन् भने कतिले बुझे होलान् त ? यदि मानिसहरूले उनकाे कमेडी नै बुझेनन् भने भाेट कसरी गर्लान् ? सन्ताेष पन्तले सम्झाउन खाेजेकाे यत्ति नै हाे ।

  • ट्रेन्डिङ १ मा चढ्यो कमेडी च्याम्पियन, भरतमणीको पारस–अवतार हिट

    ट्रेन्डिङ १ मा चढ्यो कमेडी च्याम्पियन, भरतमणीको पारस–अवतार हिट

    काठमाडौं । भरतमणि पौडेलको पारस-अवतार हिट भएसँगै कमेडी च्याम्पियनको ३४ औं एपिसोड नेपालमा युट्युव ट्रेन्डिङको एक नम्बरमा उक्लिएको छ । अपलोड भएको १८ घन्टामा करिब १० लाख भ्यूज बटुल्दै यसले शीर्षस्थान कब्जा गरेको हो ।

    यो एपिसोड दुईवटा कारणले चर्चित बनेको छ । पहिलो भरणमणि पौडेलले गरेको पूर्वयुवराज पारस शाहको क्यारिकेचर । दोस्रो विक्की अग्रवालले गरेको पेन्टोमाइम प्रहसन । भरतमणिको क्यारिकेचरको क्लीप पहिले नै सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । त्यसैले धेरै दर्शकहरु यो एपिसोडको पर्खाइमा थिए ।

    भरतमणिको प्रहसन भाइरल भएको यो पहिलोचोटि होइन । यसअघि पनि उनले एमाले नेता गोकुल बास्कोटाको आवाज दुरुस्त उतार्दा त्यत्तिकै चर्चा पाएका थिए । पारसको क्यारिकेचरले त्यो चर्चालाई पनि उछिनेको छ । भरतमणिले गरेको पारसको डान्स स्टेप टिकटकमा धेरैले कपि गरिरहेका छन् ।

    अर्कोतर्फ विक्कीको प्रस्तुतिको पनि त्यतिकै चर्चा भइरहेको छ । उनले गरेको ‘पेन्टोमाइम एक्ट’ लाई कार्यक्रमका एक निर्णायक सन्तोष पन्त नै विवादमा परेका छन् । पन्तले प्रतिक्रिया जनाउने क्रममा विक्कीको प्रस्तुति आफूले नबुझेको भन्दै नेपाली शैलीलाई नै निरन्तरता दिन आग्रह गरेका थिए ।

    सामाजिक सञ्जालमा विक्कीप्रति अत्यधिक सहानुभूति देखिएको छ भने सन्तोष पन्त ट्रोलको शिकार बनेका छन् । यद्यपि, विक्कीको प्रस्तुतिले दर्शक हँसाउन नसकेकाले पन्तको मूल्यांकन सही रहेको भन्नेहरु पनि छन् ।

    अहिलेको माहोल हेर्दा कमेडी च्याम्पियनको दोस्रो सिजनमा यिनै दुई कमेडियनबीच टक्कर हुने देखिन्छ । भरतमणि हिजोको प्रस्तुतिसँगै फाइनलमा पुगिसकेका छन् । विक्कीको भाग्य भने दर्शकमा निर्भर छ ।

  • कमेडी च्याम्पियन: सधैँ हँसाउने विक्की अग्रवालले रुँदै स्टेज छोडेपछि…

    कमेडी च्याम्पियन: सधैँ हँसाउने विक्की अग्रवालले रुँदै स्टेज छोडेपछि…

    काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजनका एक चर्चित प्रतियोगी हुन्, विक्की अग्रवाल । उनी सुरुदेखि उपाधिका एक दावेदार मानिएका छन् ।

    भारतको सिक्किमदेखि आएर प्रतिस्पर्धा गरिरहेका विक्की मौलिक र फरक प्रस्तुतिका लागि चिनिन्छन् । उनले आफ्नो यही शैलीलाई हिजो प्रशारित अन्तिम ४ को प्रतिस्पर्धामा निरन्तरता दिए । तर, आवश्यकताभन्दा बढी प्रयोग गर्न खोज्दा यो प्रस्तुति उनका लागि कतै ‘आत्मघाती’ बन्ने त होइन भन्ने चिन्ता उब्जेको छ ।

    बिक्कीले कमेडी च्याम्पियनको स्टेजमा नै पहिलोपटक ‘माइम एक्ट’ ट्राइ गरेका थिए । मानिस निदाएको बेला मन कसरी सक्रिय हुन्छ ? भन्ने थिममा उनले संवादहीन अभिनय पस्किए ।

    मोनोलगको सहारामा विक्कीले दिएको प्रस्तुति कलात्मक थियो र उनी फरक टेस्ट दिन सफल भए । तर उनको प्रस्तुतिमा ‘कमेडी’ थिएन । कमेडी च्याम्पिनयमा पहिलोपटक कुनै प्रस्तुतिमा सन्नाटा छाएको थियो । दर्शक हँसाउने प्रतिस्पर्धाको निर्णायक मोडमा विक्कीले थियटरमा देखाउनेजस्तो गम्भीर र अमूर्त खालको प्रहसन गरेर जुवा खेलेका छन् ।

    विक्की स्वयम्ले पनि प्रतियोगिताको महत्वपूर्ण घडीमा आफूले जोखिम मोलेको स्वीकारे । आफू फाइनलका लागि छनोट नहुन सक्ने खतरा बुझेर पनि यो विधा छनोट गरेको उनले बताए ।

    ‘मलाई थाहा छ, मलाई यसले फाइनलमा नपुर्‍याउन सक्छ,’ प्रस्तुतिपछि भावुक देखिएका उनले भने ।

    विक्कीको प्रस्तुतिमा सन्तोष पन्तबाहेकका तीन जना निर्णायकले ‘स्टान्डिङ अभेसन’ दिएर तारिफको पुल बाँधेका थिए । प्रदिप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले एकस्वरले विक्कीको प्रशंसा गरिरहँदा सन्तोष पन्तले भने अलि क्रिटिकल कमेन्ट गरे ।

    ‘तिमीले फरक प्रस्तुति दिएका छौ, त्यसको लागि बधाइ छ,’ पन्तले भने, ‘तर, नेपाली समाजले र दर्शकले तिम्रो प्रस्तुति बुझ्दैन । मैले त बुझिनँ । यो हँसाउने शो हो, तर तिम्रो प्रस्तुतिमा कोही हाँस्यो त ? तिम्रो आफ्नै टेस्ट छ, त्यसलाई नै निरन्तरता देउ ।’

    पन्तलाई जवाफ दिँदै विक्कीले भने, ‘यदि म आउट भएँ भने पनि मलाई जिरो पर्सेन्ट पनि पश्चाताप हुने छैन पेन्टोमाइम एक्ट गरेकोमा ।’

    त्यसपछि प्रदिप भट्टराईले थप बोल्दै गर्दा विक्की अचानक स्टेजबाट बाहिरिए । उनी ब्याकस्टेजमा गएर रुन थालेपछि प्रोग्राम होस्ट र जजहरु गएर सम्हालेका थिए ।

    त्यसो त विक्कीले यसअघिका एपिसोडहरुबाटै तार्किक ढंगले हँसाउने आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । फाइनलका लागि दर्शकले भोट गर्दा उनको विगतका प्रस्तुति पनि पक्कै सम्झिनेछन् । साथै भारतमा रहेको नेपालीभाषी समुदायबाट ठूलो सपोर्ट छ । त्यसैले यो प्रस्तुतिमा जोखिम मोले पनि फाइनलमा उनले स्थान बनाउन सक्ने अपेक्षा गर्न सकिन्छ ।

  • धुर्मुस-सुन्तलीलाई पार्टी खोल्न गजुरेलको सुझाव, भन्छन् : बहुमत कन्फर्म छ

    धुर्मुस-सुन्तलीलाई पार्टी खोल्न गजुरेलको सुझाव, भन्छन् : बहुमत कन्फर्म छ

    काठमाडौं । कलाकार राजनीतिक दलमा प्रवेश गर्ने क्रम बढेको छ । हप्तैपिच्छे यस्तो समाचार पढ्न पाइन्छ । कतिपयले नेताले कलाकारलाई पार्टीमा स्वागत गर्न तँछाडमँछाड गरिरहेका हुन्छन् ।

    यस्तोमा, कमेडी च्याम्पियनको शुक्रबारको श्रृंखला निकै मनोरञ्जक रह्यो । धुर्मुस-सुन्तली अतिथि बनेर कार्यक्रममा पुगेका थिए । आफूद्वारा निर्मित, निर्देशित फिल्म म त मर्छु कि क्या हो फिल्मलाई प्रवद्र्धन गर्न उनीहरु कार्यक्रममा पुगे ।

    धुर्मुस-सुन्तलीसँग मिल्ने कमेडियन तथा कमेडी च्याम्पियनका जज मनोज गजुरेलले पनि ठट्टा गर्न बाँकी राखेनन् । उनले धुर्मुस सुन्तलीलाई एउटा पार्टी खोल्न सुझाव दिए । उनीहरुले पार्टी खोले बहुमत कन्फर्म भएको गजुरेलको टिप्पणी थियो ।

    गजुरेलको यस्तो सुझावपछि धुर्मुसले धन्यवाद दिए । भरतपुरमा निर्माण भैरहेको क्रिकेट रंगशालामा सघाउन सीताराम र कुञ्जनाले आग्रह गरे । कमेडी च्याम्पियन टप चारमा प्रवेश गरेको छ र अन्तिम पाँचबाट विकास अर्याल बाहिरिए ।

  • पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका दश नेपाली गीत (सूचीसहित)

    पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका दश नेपाली गीत (सूचीसहित)

    काठमाडौं । बिष्णु माझीद्वारा स्वरबद्ध तीज गीत ‘चरी जेलैमा’ यो साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । तीजको मर्म बोकेको गीतलाई माझीकै श्रीमान सुन्दरमणी अधिकारीले कम्पोज गरेका छन् । यो साता यो गीतलाई ६४ लाख ६४ हजार २४५ पटक हेरीएको छ भने कूल भ्यूज संख्या ७० लाख १८ हजार ४०० छ ।

    प्रकाश सपूतद्धारा संगीतबद्ध गीत ‘कुरा बुझ्न पर्च’ दोस्रो सर्वाधिक हेरिने गीत बनेको छ । यो सातामा मात्र यो गीतलाई ३० लाख ३२ हजार ४५६ पटक हेरिएको छ भने कूल १ करोड २६ लाख ८ हजार ८०० पटक हेरिएको छ ।

    छेवाङ लामाको स्वरमा रहेको ‘लाहुरे–३’ तेस्रो स्थानमा परेको छ । यो गीतलाई एक हप्तामा ११ लाख ८७ हजार ६३ पटक हेरिएको छ भने कूल भ्यूज संख्या २७ लाख ८६ हजार ५४ छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको पछिल्लो सूचीमा यो साता नयाँ गीतहरु समावेश भएका छन् ।

    हेर्नूस् साताको भ्यूज सूची:

    १. ‘चरी जेलैमा’ (विष्णु माझी) : ६४ लाख ६४ हजार २४५

    २. ‘कुरा बुझ्न पर्च’ (प्रकाश सपूत) : ३० लाख ३२ हजार ४५६

     

    ३. ‘लाहुरे ३’ (छेवाङ लामा) : ११ लाख ८७ हजार ६३

     

    ४. ‘माया सरर’ (सचिन रौनियार) : ११ लाख ५७ हजार ५३५

     

    ५. ‘जोखौं माया’ (मेलिना राई र विष्णु घिमिरे) : १० लाख ३१ हजार १६६

     

    ६. ‘आयो तीजको लहर'(मेलिना राई)  : ८ लाख ६० हजार ९०४

     

    ७. ‘माया विरानी २’ (महेश काफ्ले): ८ लाख ५३ हजार ५१८

     

    ८. ‘कराई धोइदेउन’ ( जिवेश सिंह) : ८ लाख १० हजार ९५

     

    ९. ‘तिम्रो मनमा ए कान्छा’ (निकिता थापा) : ८ लाख ५८२

     

    १०. ‘ए नि बरै’ (देबी घर्ती मगर) : ६ लाख ५७ हजार ६८७

     

  • ब्वाइफ्रेन्डसँग बन्जीजम्पमा रमाउँदै पूजा !

    ब्वाइफ्रेन्डसँग बन्जीजम्पमा रमाउँदै पूजा !

    काठमाडौं । नायिका पूजा शर्मा र युद्ध बानियाँ केही समययता प्रेममा छन् । आकाश श्रेष्ठसँग ब्रेकअप भएपछि पूजा अहिले अर्का एक नयाँ युवकसँग डेटिङमा छिन् । व्यापारी समेत रहेका युवक युद्ध बानियाँसँग अहिले पूजाको प्रेम सम्बन्ध भएको चर्चा छ ।

    सार्वजनिकरुपमा प्रेम सम्बन्धलाई स्वीकार नगरेपनि यी दुई केही समयदेखि डेट गरिरहेका छन् । सँगै घुम्ने, कफी पिउने र सपिङमा निस्किएका उनीहरुका भिडिओ र तस्विर सार्वजनिक पनि भएका छन् ।

    यसैसाता युद्ध र पूजा केही सहयोगीसँग पर्वतको कुस्मा पुगे जहाँ उनीहरुले सँगै बन्जीजम्पको मजा पनि लिए । टीकटकमा यी दुईले बन्जी जम्पको भिडिओ पनि पोस्ट गरेका छन् । एकै ठाउँ र एकै समयमा बन्जी जम्प गरेको टीकटक पोस्ट देख्न सकिन्छ ।

    https://www.tiktok.com/@poojasharma833/video/7000966213782277402?_d=secCgYIASAHKAESPgo8pLJxT6C2xSj5fImn39%2BcVmIhOzmPX6LsLTc3i7UUcAFyHGCiOZYZWFAKfNk%2BTqP18vw%2FokIvMo24sJ4aGgA%3D&checksum=d24aab840011df8ce9d75869bec6ce3fd71d47ee800e454e73b7f65544f54614&language=en&preview_pb=0&sec_user_id=MS4wLjABAAAAQxZYW6sKsL5ltSwJ8mr0R2ZCtGbFNftueYpisDIZBkK9MjMbH1B7rRVyKVhytzww&share_app_id=1233&share_item_id=7000966213782277402&share_link_id=c939f836-f3fe-465f-b200-0511c9403a33&source=h5_m&timestamp=1630127180&u_code=cli58m53j48482&user_id=6526017314163266575&utm_campaign=client_share&utm_medium=android&utm_source=messenger&_r=1&is_copy_url=0&is_from_webapp=v1&sender_device=pc&sender_web_id=6990310226268882433

    स्रोतका अनुसार पूजा र युवक यसैवर्ष विहेको तयारीमा छन् र सम्बन्धलाई लिएर गम्भीर पनि । गत फागुनमा पूजाले दिदीहरुमार्फत युद्धलाई भेटेकी थिइन् । भेट भएको सात महीनामा उनीहरुले भविष्यको योजना पनि बुनेका छन् । हेटौंडाका युद्ध अहिले ललितपुर सातदोबाटोमा बस्दै आएका छन् ।

    @baniyayuddha

    #yuddha💪🏻 #mylife😎 #thecliffnepl #bunjeejump

    ♬ original sound – Sonica Rokaya – user85008971881

  • सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी

    सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी

    काठमाडौं । सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी भएको छ । बिद्युत सर्ट हुँदा आगलागी भएको र नियन्त्रणमा लिन ४ वटा दमकल पुगेको जनाइएको छ ।

    साइराम मार्केटको भवनमा रहेको म्याजिक सिनेमा हल झुम्काको एक मात्र फिल्म हल हो ।

    आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, दमकल र स्थानीयबासी लागिपरेको जनाइएको छ ।

  • सुगम पोखरेलको ‘म यस्तो गीत गाउँछु’ गीतमा रोमान्टिक वर्षा र राज (भिडिओ)

    सुगम पोखरेलको ‘म यस्तो गीत गाउँछु’ गीतमा रोमान्टिक वर्षा र राज (भिडिओ)

    काठमाडौं । गायक सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा समावेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सत्यराज चौलागाँइको शब्द, सरोज प्याकुरेलको संगीत छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

    गीतको भिडिओेमा कलाकार राज कटुवाल र नायिका वर्षा शिवाकोटीले मोडलिङ गरेका छन् । गीतले एक यूवक र एक युवतीविचको प्रेम र बाचाको कथा भन्छ । भिडिओमा केही महिनादेखि प्रेम सम्बन्धमा रहेका राज र वर्षाको अभिनयले पनि अझै सुन्दरता थपेको छ ।

    यो गीतको भिडिओेलाई रामजी लामिछानेले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडिओमा सौरभ लामाकोे छायांकन, अर्जुन जीसीको सम्पादन छ । लामिछानेले भिडिओमा वर्षा र राजलाई रोमान्टिक शैैलीमा प्रस्तुत गरेका छन् । गीत जस्तैै भिडिओे पनि फिल्मी लाग्छ ।

    भिडिओमा रेनिश फागोको कलर, सुरेश काफ्लेको ड्रोन, सरोेज पाण्डे र हरि काव्या थापाको मेकअप छ । भिडिओमा मुख्य सहायक छायांकारको रुपमा इश्वर सिन्केमान र हिमाल श्रेष्ठले काम गरेका छन् भने सहायक कोरियोेग्राफरको रुपमा निर्मल खत्री र दीपक सीकेले काम गरेको छन् । भिडिओका प्रोडक्शन डिजाइनर सुदिप ढकाल हुन् । हेर्नूस गीत :

  • अञ्जली अधिकारीको आक्रोश : अंग्रेजी बोल्न नआउँदैमा म गवाँर भएँ ?

    अञ्जली अधिकारीको आक्रोश : अंग्रेजी बोल्न नआउँदैमा म गवाँर भएँ ?

    काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल अञ्जली अधिकारी अत्यधिक ट्रोल हुने सेलिब्रिटीमध्ये पर्छिन् । विभिन्न अन्तरवार्तामा जिब्रो चिप्लिँदा होस् वा कमजोर अंग्रेजीका कारण होस, फेसबुकदेखि टीकटकसम्म उनलाई खिसिट्यूरी गरिएको हुन्छ ।

    केही समयअघि अञ्जलीको एउटा अन्तरवार्ता क्लीप भाइरल भएको थियो । कुनै युट्यूव च्यानललाई दिएको अन्तरवार्तामा उनले एउटा अंग्रेजी शब्दको भाव नबुझी असान्दर्भिक जवाफ फर्काएकी थिइन् ।

    अञ्जलीलाई अन्तरवार्तामा उनको ‘रिलेसनसीप स्टाटस’ का बारेमा सोधिएको थियो । जवाफमा उनले फेसबुक स्टाटसको कुरा गरेकी थिइन् । रिलेसनसीप स्टाटसबारेको प्रश्नमा अञ्जलीको जवाफ थियो, ‘मेरो स्टाटसमा प्रायः गीतहरु नै हुन्छन् । आफूले खेलेका भिडियोका क्लीप्सहरु पनि राख्छु ।’

    यो जवाफले सामाजिक सञ्जालमा निकै ट्रोल भइन् उनी । सामान्य अंग्रेजी पनि नजान्ने अशिक्षित नायिकाको उपमा पाइन् उनले । कतिपयले चाहिँ अंग्रेजी नजान्नु ठूलो कुरा नभएको भन्दै उनको बचाउ पनि गरे ।

    यस विषयमा हालै अञ्जलीले प्राइम टाइम टेलिभिजनको कार्यक्रम संगित मालामा कमल सरगमसँगको अन्तरवार्तामा स्पष्टीकरण दिएकी छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस अन्तरवार्तामा उनले आफूलाई अंग्रेजी नजानेकैले होच्याउन नमिल्ने तर्क गरेकी छन् । अंग्रेजी जान्दैमा कोही आधुनिक नहुने र नजान्दैमा गवाँर पनि नहुने उनको भनाइ छ ।

    अञ्जली भन्छिन्, ‘म ठूलो बोर्डिङ स्कुलमा पढेर आएको होइन । खेत रोपर दुई सय मासिक पैसा कमाएर पढेको हुँ । जुत्ता होइन, चप्पल लगाएर स्कुल गएको हुँ । मलाई अंग्रेजी बोल्न आउँदैन त आउँदैन ।’

    उनी थप्छिन् ‘मलाई नेपाली बोल्न आउँछ, यसमै प्राउड छ नि त । म मधेसी समाजमा हुर्केँ । मधेसी बोल्न लगाउनुस, बोलिदिन्छु । अंग्रेजी बोल्न नआउँदैन भने मोडलै नमान्ने ? मलाई जति आउँछ, त्यति बोल्छु । बिगारेर होस वा सुधारेर । बिगार्छु, फेरि सुधार्छु । अंग्रेजी राम्ररी नबोल्दैमा गवाँर भन्न मिल्छ ? यस्तो पनि हुन्छ ?’

    यद्यपि समयअनुसार सबै कुरा सिक्नुपर्ने भन्दै उनले आफू अहिले सिक्ने क्रममा रहेको पनि बताएकी छन् । उनी भन्छिन्, ‘मलाई मात्र होइन, अरु पनि धेरै कलाकारलाई अंग्रेजी बोल्न आउँदैन । मेरी आमालाई अंग्रेजी बोल्न आउँदैन । अब के म उहाँलाई आमा नै नभन्नु ? मदर, फादर, ब्रदर भन्दा आधुनिक हुने, आमा भन्दा गवाँर हुने हुन्छ ?’

    कोही अंग्रेजी स्कुल पढेर खरर अंग्रेजी बोल्दैमा भीआइपी नहुने अञ्जलीको तर्क छ ।

  • राजेश हमाललाई सम्मानदेखि तीज कार्यक्रम गर्न काठमाडौं महानगरले बाँड्यो साढे २ करोड

    राजेश हमाललाई सम्मानदेखि तीज कार्यक्रम गर्न काठमाडौं महानगरले बाँड्यो साढे २ करोड

    काठमाडौंं । महालेखापरीक्षक कार्यालयको ५८ औं प्रतिवेदन अहिले चर्चामा छ । प्रतिवेदनमा जनप्रतिनिधिले सरकारी खर्चमा गरेको बेथिती यसमा उल्लेख छ । यससँगै प्रतिवेदनमा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले गरेको बेथिती पनि उजागर भएको छ ।

    प्रतिवेदनअन्तर्गत ‘काठमाडौं महानगरपालिकाको अन्तिम लेखापरीक्षण’मा यस्तो तथ्य उल्लेख छ । आर्थिक वर्ष ०७६/७७ मा काठमाडौं महानगरको संशोधित बजेट १२ अर्ब ९६ करोड २२ लाख थियो । जसमध्ये ६ अर्ब ४५ करोड चार लाख अर्थात् ४९.७६ प्रतिशत मात्रै खर्च भएको छ ।

    एक अर्ब ९४ करोड ११ लाख बेरुजु रहेकोमा ५३ करोड ८४ लाख असुल गर्नुपर्नेछ । जसमध्ये एक करोड ३६ लाख ४४ हजार महानगरका पदाधिकारीबाटै असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

    महानगरले ८९ संघसंस्थालाई दुई करोड ५८ लाख बाँडेको छ । जसमा राजेश हमालको सम्मान कार्यक्रम गर्न साधना कला केन्द्रलाई दुई लाख उपलब्ध गराएको छ भने ‘सम्झनामा तारादेवी कार्यक्रम’का लागि तारादेवी स्मृति फाउन्डेसनलाई तीन लाख ३० हजार दिइएको छ । राजेश हमाल र तारादेवी कार्यक्रम गर्नका लागि महानगरले उपलब्ध गराएको रकमलाई महालेखाले बेरुजुमा राखेको हो जसलाई व्यक्तिबाटै असुल उपर गर्न भनिएको छ ।

     

  • विश्वचर्चित डीजे डेभिड गुएटाले नेपाली गायकसँग सहकार्य गर्दै

    विश्वचर्चित डीजे डेभिड गुएटाले नेपाली गायकसँग सहकार्य गर्दै

    काठमाडौं । विश्वचर्चित फ्रान्सेली डीजे डेभिड गुएटासँग मिलेर गायक सुशान्त केसीले गीत गाउने भएका छन् । टुबोर्ग ओपनको नयाँ प्रस्तुतिका लागि यी दुईजनाले सहकार्य गर्न लागेका हुन् ।

    आजदेखि डेनिस बियर टुबोर्गले दुई मुलुकबीच ब्रान्ड प्रवद्र्धन गर्न व्यक्तिसँग सहकार्य गर्ने अभियान थालनी गरेको हो । अभियान अन्तर्गत केसीले गुएटाको नयाँ ट्रयाक ‘गेट टुगेदर’को अफिसियल रिमिक्स गर्नेछन् ।

    गुएटाले संसारभरका कलाकारको आवाजमा ट्रयाक बनाउने उद्देश्यले ल्याएका हुन् । डीजे गुएटाले नेपाली कलाकारसँग सहकार्य गर्न पाउँदा खुशि लागेको बताएका छन् । ‘हामी दुबैजनाको प्रस्तुतिले ताजापन महसुस गराउन सक्छ’ उनले भने ।

    मायामा, साथी, आमाजस्ता हिट ट्रयाकमा स्वर दिइसकेका केसीले पनि विश्वकै ठूला डीजेसँग सहकार्य गर्न पाउँदा खुशि जनाएका छन् । गुएटाको ट्रयाक गेट टुगेदरमा काम गरिरहेका केसीले यो गीत चाहिँ सेप्टेम्बर अन्त्यसम्म ल्याउने तयारी गरेका छन् ।

  • धुर्मुस-सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ आजदेखि ओटीटीमा रिलिज

    धुर्मुस-सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ आजदेखि ओटीटीमा रिलिज

    काठमाडौं । सीताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको वेबसिरिज फिल्म ‘म त मर्छु कि क्या हो’ आजदेखि ओभर दी टप (ओटीटी) प्लेटफर्ममा रिलिज भएको छ ।

    गुगल एन्ड्रोइडको ओहो एपमार्फत फिल्म हेर्न सकिने जानकारी सीतारामले दिए । धुर्मुस–सुन्तली नामले चर्चित यो जोडीकै लेखन तथा निर्देशन रहेको फिल्म सामाजिक कथावस्तुमा आधारित छ ।

    वेब–सिरिज शैलीमा निर्माण गरिएको फिल्ममा महिला सशक्तीकरणको विषयवस्तु उठान गरिएको धुर्मुसले जानकारी दिए । एप डाउनलोड गरि प्रभु-पेमार्फत ३२० रुपैयाँ तिरेर दर्शकले फिल्म हेर्न सक्नेछन् ।

    यो कमेडी फिल्ममा धुर्मुस–सुन्तलीसँगै रवि गिरी, विजय बराल, पल्पसा डंगोल, बुद्धि तामाङको मुख्य भूमिका छ । ‘फिल्म हलहरु बन्द भैरहेको बेला दर्शकलाई घरमै बसेर फिल्म हेर्ने सुविधाका साथ रिलिज गरेका हौं’ धुर्मुसले नेपाल प्रेसलाई भने ।

    ओटीटीमा फिल्म रिलिजको यो अभ्यास सफल भए अन्य फिल्मलाई पनि रिलिज गर्ने तयारीमा धुर्मुस सुन्तली छन् ।

  • सुनिता दुलाल भन्छिन्ः विष्णु माझी आफ्नो जीवनमा खुशी छिन्, मनगढन्ते टिप्पणी नगरौं

    सुनिता दुलाल भन्छिन्ः विष्णु माझी आफ्नो जीवनमा खुशी छिन्, मनगढन्ते टिप्पणी नगरौं

    काठमाडौं । ‘चरी जेलैमा’ गीत हिट भएसँगै शहरमा विष्णु माझीको चर्चा छ । उनको गुप्तवासलाई लिएर सामाजिक सञ्जालमा अनेकथरि टिप्पणीहरु भइरहेका छन् ।

    माझीलाई आफ्नै श्रीमानले घरबाट निस्कन नदिएर बन्धकजसरी राखेको चर्चा व्याप्त रहँदा गायिका सुनिता दुलालले सामाजिक सञ्जालमा आफ्नो भनाइ राखेकी छन् । उनको भनाइमा विष्णु माझीका विषयमा गरिएका टिकाटिप्पणीहरु अनुमानित, मनगढन्ते र भ्रामक छन् ।

    ‘कतिले भन्छन्, विष्णु माझीलाई उनका श्रीमान सुन्दरमणी अधिकारीले बन्धक बनाएका छन् रे, उनकै दबाबका कारण उनी बाहिर निस्कन सकेकी छैनन् रे १’ दुलालले भनेकी छन् ।

    उनी थप्छिन्, ‘यी सबै सुन्दा, पढ्दा आश्चर्य लाग्छ । यो युग हाम्रो हजुरबुबा–हजुरआमाको पालाको होइन कि अरुको दबाब र बन्धक बनेर बस्नुपर्ने र जे पनि सहनुपर्ने । त्यसैले मलाई लाग्दैन विष्णु माझी कसैको दबाबमा छिन् । उनी त आफ्नो व्यक्तिगत जीवनको भरपुर आनन्द लिइरहेकी छिन् ।’

    विष्णुको आवाजमा सजिएको ‘सालको पात टपरी’ गीतले नेपाली सांगीतिक इतिहासमै कीर्तिमान कायम भन्दै दुलालले कसैले बन्धक बनाएको, दबाब र पीडा खेपेर बसेको मान्छेले यति राम्रा सिर्जना दिन नसक्ने तर्क गरेकी छन् ।

    ‘अनि अर्को कुरा यदि मान्छे पीडामा छ अथवा कसैले पीडा दिइरहेको छ भने सधैं सहेर बस्दैन । अझै यति चर्चित गायिका त्यो पीडा सहेर बस्नुहोला भन्ने मैले सोच्नै सक्दिनँ । त्यसैले कसैको व्यक्तिगत जीवनलाई लिएर अरुमाथि आक्षेप नलगाऔं, हस्तक्षेप नगरौं यही नै विष्णु माझीका लागि सच्चा सम्मान हो ।’ उनले लेखेकी छन् ।

    दुलालले विष्णु माझी एक न एकदिन अवश्य बाहिर आउने आशा व्यक्त गरेकी छन् । उनले अनुकुल समय कुरेको हुनसक्ने माझीको तर्क छ ।

  • गीतकार उपाध्यायद्वारा थप सात विश्व रेकर्ड कायम, १४ एजेन्सीद्वारा एकैसाथ प्रमाणपत्र हस्तान्तरण

    गीतकार उपाध्यायद्वारा थप सात विश्व रेकर्ड कायम, १४ एजेन्सीद्वारा एकैसाथ प्रमाणपत्र हस्तान्तरण

    काठमाडौं । विश्व कीर्तिमानी गीतकार डाक्टर डीआर उपाध्यायले फेरि सात विश्व कीर्तिमान कायम गरेका छन् । बिहिबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा पूर्वश्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यायलाई विभिन्न सात विश्व रेकर्डहरु हस्तान्तरण गरेका छन् । योसँगै उपाध्यायले ५९ वटा विश्व रेकर्ड राखेका छन् ।

    कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणी देवकोटा, अन्तरराष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्ष राधेश्याम लेकाली लगायतकोे उपस्थिती थियो ।

    उपाध्यायका सात नयाँ विश्व रेकर्डमा ४१ वटा हेट र क्यापको शब्द प्रयोग गरिएको गीति कविता, ५३ फरक चरा र कुकुरको नाम समावेश गरिएको गीति कविता, १७० फरक ब्रान्डका मोबाइलको नाम प्रयोग गरिएको गीति कविता, एक सय म्युजिक व्याण्डको नाम प्रयोग गरिएको गीति कविता, ६० वटा गाडीको नाम प्रयोग गरिएको गीति कविता लगायत छन् ।

    यी सात रेकर्ड उनलाई एभरेष्ट वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, अमेरिकी बुक अफ रेकर्ड, युरोपियन रेकर्डस बुक लगायत १४ वटा विश्व रेकर्ड प्रदान गर्ने संस्थाले दिएका हुन् ।

    कार्यक्रममा बोल्दै गीतकार उपाध्यायले भने–‘मैले विभिन्न रेकर्ड राखेर कलाको माध्यमबाट देशको नाम विश्वमा चिनाएको छु । तर, हामीलाई राज्यले कुनै पनि खालको सम्मान दिएको छैन । राज्यले मन्त्री र नेताका नजिक भएका मानिसलाई राष्ट्रपतिको हातबाट प्रदान गर्ने सम्मान दिएको छ । तर, हामी जस्ता श्रष्टालाई वेवास्ता गरेको छ ।’

    उनले, अबको आफ्नो धोको भनेको भारतको प्रतिष्ठित अवार्ड ‘पद्यम श्री’ पाउने रहेको बताए । यसका लागि आफूले तयारी समेत गरेको र विभिन्न चरण पास भैसकेको उनले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी मन्त्री यादवले उपाध्यायले कलाको माध्यमबाट राज्यलाई ठूलो गुन लगाएको बताए ।

  • ‘स्पाइडरम्यान’ ट्रेलरले भत्कायो विश्व रेकर्ड : तोड्यो ‘एभेन्जर्स एन्डगेम’को कीर्तिमान

    ‘स्पाइडरम्यान’ ट्रेलरले भत्कायो विश्व रेकर्ड : तोड्यो ‘एभेन्जर्स एन्डगेम’को कीर्तिमान

    काठमाडौं । फिल्म रिलिज नहुँदै ‘स्पाइडरम्यान : नो वे होम’ले निकै चर्चा बटुलेको छ । आगामी डिसेम्बरमा रिलिज तयारीमा रहेको फिल्मले विश्वभर दर्शकको ध्यान तानेको छ ।

    मार्भल सिनेम्याटिक युनिभर्सको ट्रेलरले पछिल्लो २४ घण्टामा ३५५.५ मिलियन भ्यूज प्राप्त गरेको सोनी स्टुडियोले जनाएको छ । साथै, यसले विश्वभर सामाजिक संजालमा ४.५ मिलियन मेन्सन समेत प्राप्त गरेको छ ।

    फिल्मको ट्रेलर गत सोमबार इन्टरनेटमा रिलिज भएको थियो । यसअघि एभेन्जर्स : एन्ड गेमको ट्रेलरलाई पनि उछिनेको छ । सन् २०१८ मा एभेन्जर्सको ट्रेलरले सोही अवधिमा २८९ मिलियन भ्यूज प्राप्त गरेको थियो । स्पाइडरम्यानले पाएको भ्यूज एभेन्जर्सले पाएको भन्दा ६५ मिलियनले बढी हो ।

    स्पाइडरम्यान आगामी डिसेम्बरमा रिलिज तयारीमा छ ।

  • जनवादी गायक जेबी टुहुरेको निधन

    जनवादी गायक जेबी टुहुरेको निधन

    काठमाडौं । जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको हो ।

    केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नै निवासमा लडेपछि उनलाई अस्पताप पुर्याइएको थियो । तर, भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको अवस्थामा सुधार आउन सकेन ।

    ७८ वर्षिय टुहरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ।।’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।

    संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

    टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।

  • आँचल शर्मा कर तिर्न पुग्दा कर्मचारी झुम्मिए (भिडिओ)

    आँचल शर्मा कर तिर्न पुग्दा कर्मचारी झुम्मिए (भिडिओ)

    काठमाडौं । अभिनेत्री आँचल शर्मा काठमाडौंको लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको कार्यालयमा कर बुझाउन पुगिन् । कर बुझाउन अफिस गएको भिडिओलाई कर्मचारीले खिचेर सामाजिक संजालमा सेयर गरेपछि अहिले टिकाटिप्पणी भैरहेको छ ।

    १४ सेकेन्ड लामो उक्त भिडिओमा आँचललाई कर्मचारीले न्यानो आतिथ्यता देखाएका छन् । हाम्रो अड्डा कस्तो लाग्यो भनेर कर्मचारीले सोधेको आवाज पनि सुन्न सकिन्छ । जवाफमा आँचलले आफूलार्ई अरुभन्दा सेवा राम्रो लागेको बताएकी छिन् ।

    आँचल कर कार्यालयमा पुगेको क्षणलाई कर्मचारीले कैद गरेको र आतिथ्यता देखाएको कुरालाई लिएर सामाजिक संजालमा बहस भैरहेको छ । भिडिओ सेयर गर्ने चाहिँ अर्थ मन्त्रालयका उपसचिव कर्ण तिमल्सिना हुन् । ‘एकजना नयाँ करदाता थपियो’ क्याप्सनमा उनले भिडियो पोस्ट गरेका छन् ।

    उक्त भिडियोमा गगन अविदित कमेन्ट गर्छन् : राम्रो सेवा पाउन सेलेव्रिटी, पहुँचवाला नेता वा त्यहीँका कर्मचारी आफन्त हुनुपर्छ नेपालका हर सरकारी कार्यालयमा । साधारण जनतालाई सास्ती नै सास्ती । अर्की प्रयोगकर्ता शशी भण्डारी लेख्छिन् : तपाईंहरुले हाम्रो अड्डा कस्तो लाग्यो र काम कस्तो लाग्यो भनेर अरु सेवाग्राहीलाई पनि सोध्नुहुन्छ कि उहाँलाई मात्रै हो ?’

    कोभिड महामारीको बेला पनि आँचलले मास्क नलगाएको भनेर कतिपयले प्रश्न गरेका छन् । यस्तो बेलामा पनि घरबाटै भर्चुअल्ली राजस्व तिर्न सकिने सुझाव कतिपयले दिएका छन् ।

  • गीत हिट भएपछि ‘सम्झिनी पानी छम्किनी’ नाममा कमेडी फिल्म निर्माण घोषणा

    गीत हिट भएपछि ‘सम्झिनी पानी छम्किनी’ नाममा कमेडी फिल्म निर्माण घोषणा

    काठमाडौं । कुनै पनि गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम बढेको छ । तर, गायक तथा मोडल सम्राट चौलागाँइले भने आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म नै बनाउने तयारी गरेका छन् ।

    एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएका छन् । यो गीतलाई हालसम्म १ करोड भन्दा बढीले हेरिसकेका छन् । यसअघि यो गीतको पहिलो भाग पनि हिट भएको थियो ।

    गीत हिट भएपछि गायक चौलागाँइले चलचित्र बनाउने तयारी गरेका हुन् । यो चलचित्रलाई निर्देशक विक्रम स्वाँरले निर्देशन गर्ने भएको छ । गायक चौलागाँइले अनलाइनखबरसँग भने–‘दर्शकले यो गीतलाई निक्कै मन पराउनुभयो । सम्झिनी पानी छम्किने भन्ने लय दर्शकको मुखमा झुन्डिएको छ । यसैले, अब हामीले यही नाममा चलचित्र बनाउने तयारी गरेका हौं । अहिले चलचित्रको स्क्रिप्ट लेख्ने काम सुरु भएको छ ।’

    सम्राटका अनुसार, यो चलचित्रलाई कमेडी जनरामा निर्माण गरिनेछ । म्यूजिक भिडियो मेकिङमा समेत कुनै संझौता नगर्ने सम्राटले चलचित्रमा पनि मल्टिस्टारर कलाकार लिने बताएका छन् । कोरोना कहर कम भएर छायांकनका लागि अनुमती पाएपछि चलचित्रको कामलाई अझै तिव्रता दिने उनको भनाई छ ।