Category: कलाप्रेस

  • सुरक्षा पन्तको ‘खेल’ बिग्रियो ! पहिलो दिनमै दर्शकको हाहाकार

    सुरक्षा पन्तको ‘खेल’ बिग्रियो ! पहिलो दिनमै दर्शकको हाहाकार

    काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘खेल’ रिलिजको दिनमै धराशायी बनेको छ । चलचित्रको आजको व्यापार अंकमा भन्न पनि लाजमर्दो रहेको निर्माण स्रोतले बतायो ।

    फिल्म रिलिजपूर्व सुरक्षाको राजनीतिक अभिव्यक्ति विवादमा मुछिएपश्चात दर्शक उनको पक्ष र विपक्षमा बाँडिएका थिए । राजतन्त्रवादीले उनीविरुद्ध सामाजिक सञ्जालमा बहिष्कार अभियान चलाए भने गणतन्त्रवादीले उनको समर्थन र वाहवाही गरे । तर, गणतन्त्रवादी दर्शक पनि आज फिल्म हेर्न हलसम्म जाने जाँगर गरेनन् ।

    गणतन्त्रवादी दर्शकहरु हेर्न आउने आशामा हलहरुले यो चलचित्रलाई १५० शो उपलब्ध गराएको थियो । तर, अधिकांश शोहरुमा हल रित्तो भएको निर्माण स्रोत बताउँछ ।
    ‘व्यापारको के कुरा गर्नु डिजास्टर नै भयो,’ निर्माण स्रोतले भन्यो, ‘बर्षभरि सर्वाधिक व्यापार गर्ने चलचित्रहरुको सुची आउँदा पुछारमा नाम आउन सक्छ ।’

    बिहानको शोमा ‘खेल’ प्रदर्शन भएका हलहरु ९७ प्रतिशतभन्दा बढी खाली थिए । दिउसो र बेलुकाको शोमा पनि कुनै चमत्कार हुन सकेन । फलतः हलहरुले बेलुकाको शो पुरै कटौति गरिदिएका छन् । क्यूएफएक्समा बेलुकी पौने ६ बजे एउटा मात्र शो थियो, जसमा ८ जना दर्शकले चलचित्र हेरे ।

    थ्रिलर जनरामा बनेको यो चलचित्र अनुराग प्रधान र आस्था श्रेष्ठले निर्माण एवं निर्देशन गरेका हुन् । स्टार कास्ट कमजोर रहेको हुँदा चलचित्रले कुनै हाइप बनाउन सकेको थिएन । त्यसमाथि प्रमुख कलाकार सुरक्षा नै गम्भीर कन्ट्रोभर्सीमा परेपछि त्यसको असर व्यापारमा देखिएको छ ।

    आजै रिलिज भएको अर्को चलचित्र ‘भुठान’को पनि अवस्था सुखद छैन । ‘खेल’ भन्दा केही राम्रो अकुपेन्सी भए पनि चलचित्रले अपेक्षित दर्शक नपाएको निर्माण स्रोत बताउँछ । भोलि शनिबार केही दर्शक आउने आशा दुवै चलचित्रका निर्माताले गरेका छन् । यद्यपि अहिलेसम्म बुकिङको स्थिति नाजुक देखिन्छ ।

  • ‘जन्ते बाख्रो’चलचित्रको दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक

    ‘जन्ते बाख्रो’चलचित्रको दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक

    काठमाडाैं ।  सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ । गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन् ।

    शुक्रबार सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा आशिफले गीत मार्फत् गरिमाको तारिफ गरेर फकाउँदै गरेको देख्न सकिन्छ । सिनेमामा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।

    आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

    https://www.youtube.com/watch?fbclid=IwY2xjawJ4QxhleHRuA2FlbQIxMABicmlkETFST0xTZWswZnpxMGdXTG4yAR7LTXqwGNuDE5WQW-wSEjOg7Rp3qFEOoA34pyjR85zRMv6RDpJWBYDGA7pm5g_aem_UgwEpmezECG2OD9RxuC7Vg&v=xKnE2ChC2bQ&feature=youtu.be

  • सौगात मल्ल अभिनीत चलचित्र ‘जार’ को ‘ए ठूली’ सार्वजनिक

    सौगात मल्ल अभिनीत चलचित्र ‘जार’ को ‘ए ठूली’ सार्वजनिक

    काठमाडौं । यहीँ वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जार’को ‘ए ठूली’ बोलको गीत सार्वजनिक भएको छ। झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउदको शब्द र झुमा लिम्बू स्वयंको संगीत छ ।

    लोकलयमा आधारित सार्वजनिक गीत प्रेमिल भावमा बनेको छ। गीतमा प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मिठो प्रतीक्षा उल्लेख छ। भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गिताञ्जली थापालगायत कलाकार फिचर्ड छन् ।

    ‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्र हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र हो । चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

    होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ ।

    ‘जार’ प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरण सेभेन सिज सिनेमाले गर्ने छ ।

  • फिल्म रिलिजपूर्व कन्ट्रोभर्सी- प्रकाश सपुतको ‘बसन्त’ डुब्यो, सुरक्षा पन्तको ‘खेल’ के होला ?

    फिल्म रिलिजपूर्व कन्ट्रोभर्सी- प्रकाश सपुतको ‘बसन्त’ डुब्यो, सुरक्षा पन्तको ‘खेल’ के होला ?

    काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘खेल’ रिलिजको पूर्वसन्ध्यामा यसकी प्रमुख कलाकार सुरक्षा पन्त अनावश्यक कन्ट्रोभर्सीमा परेकी छन् । एक अन्तरवार्तामा उनले पूर्वराजाका नाति हृदयन्द्र शाहलाई खिसिट्यूरी गरेपछि राजावादी तप्का उनीविरुद्ध खनिएको छ ।

    फिल्मी कलाकारसँगको अन्तरवार्तामा प्रस्तोताले राजनीतिक विषयवस्तु घुसाइदिएका थिए । पूर्वनवयुवराज हृदयन्द्रको तस्विर देखाएर उनको विषयमा टिप्पणी गर्न लगाइएपछि सुरक्षाले ‘पारसको छोरो होइन ?’ भन्दै कमेन्ट गरिन् । उनले हृदयन्द्रलाई फिल्म खेल्न सुझाव दिएपछि राजावादीहरु भड्किएका हुन् । अर्कोतर्फ गणतान्त्रवादी जमातले भने उनलाई ‘बौद्धिक नायिका’ भन्दै वाहवाही पनि गरिरहेका छन् ।

    कलाकारहरु सबैका साझा हुनुपर्ने मान्यता राखिन्छ । त्यसैले कलाकारहरुले सार्वजनिकरुपमा हत्तपत्त राजनीतिक पक्षधरता देखाइहाल्दैनन् । अहिले देशमा राजतन्त्र कि गणतन्त्र भन्ने विवाद उत्कर्षमा छ । यस्तोमा कलाकारहरु पनि बहसबाट उम्किन सकिरहेका छैनन् ।

    केही अन्तरवार्ताकारले नियतवस नै कलाकारलाई ‘चिप्ल्याउन’ राजनीतिक प्रश्नको जाल थाप्छन् । सुरक्षा पनि यस्तै जालमा परिन् ।

    राजनीतिक बहसमा खुलेर एउटा पक्षधरता लिनासाथ अर्को पक्ष भड्किनु स्वभाविक नै भयो । सुरक्षाले आफूलाई गणतन्त्रवादीका रुपमा राजावादीको निशानामा परेकी छन् । यदि उनले राजसंस्थाको पक्षमा उभ्याएको भए गणतन्त्रवादीको तारो बन्ने पक्का थियो ।

    कलाकारलाई सबैखाले दर्शक चाहिन्छ । उनीहरुलाई हेर्न आउनेहरु राजसंस्थावादी पनि हुन सक्छन्, गणतन्त्रवादी पनि । सुरक्षाले पनि पक्कै गणतन्त्रवादी मात्रै आफूलाई हेर्न आउने अपेक्षा गरेकी छैनन् होला ।

    तर, अहिले सामाजिक सञ्जालमा राजावादीहरुले सुरक्षाको फिल्म बहिष्कार गर्ने अभियानै चलाइरहेका छन् । खासगरि टिकटकमा उनीविरुद्धको माहोल देख्न सकिन्छ । यसको असर फिल्मलाई पर्न सक्ने खतरा देखिएको छ ।

    सुरक्षा अभिनित फिल्म ‘खेल’ भोलीबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको स्टारकास्ट त्यति बलियो छैन । सुरक्षा नै प्रमुख पात्र हुन् । तर, प्रमुख पात्र नै विवादमा मुछिँदा निर्माण पक्ष चिन्तामा परेको छ ।
    योभन्दा अगाडि प्रख्यात गायक प्रकाश सपुतको हकमा पनि यस्तै भएको थियो । सपुतले निर्माण तथा अभिनय गरेको चलचित्र ‘बसन्त’ रिलिज अगाडि उनी कन्ट्रोभर्सीमा परे ।

    प्रधानमन्त्री केपी ओलीको एउटा पुस्तक विमोचन कार्यक्रममा उनलाई निम्त्याइएको थियो । कार्यक्रमको प्रकृति र आफ्नो स्वभाव अनुसार उनले ओलीको प्रशंसामा केही शब्द खर्चिए । आलोचकहरुलाई त्यही नै पर्याप्त भयो । सामाजिक सञ्जालमा सपुतविरुद्ध जेहाद छेडियो । अहिलेसम्म पनि उनलाई गाली आउन छोडेको छैन ।

    रिलिजपूर्व सपुत विवादमा पर्दा फिल्ममा त्यसको असर पर्यो । उनको चलचित्र ‘बसन्त’ ले गतिलो ब्यापार गर्न सकेन । ‘जे छोए पनि हिट’ को छवि बनाएका यो फिल्ममा नराम्ररी पछारिएका छन् ।
    सुरक्षा खेलकी ‘निर्मात्री’ होइनन्, तर प्रमुख कलाकार भएकाले चलचित्रको ठूलो भार उनीमाथि छ । त्यसैले पनि यो विवाद उनलाई गहु्रंगो पर्न सक्ने देखिएको हो ।

    हिजो आयोजित ‘खेल’ को प्रिमियरमा सुरक्षाको बडील्यांग्वेजमा यही चिन्ता झल्किन्थ्यो । एक सञ्चारकर्मीले उनलाई बारम्बार यो कन्ट्रोभर्सीका विषयमा सोध्न खोजेकी थिइन् । तर, सुरक्षा तर्किइन् ।

    जतिपटक प्रश्न सोध्दा पनि उनले एउटै जवाफ दिइन्, ‘नो पोलिटिकल क्वेसन प्लीज । (कृपया राजनीतिक प्रश्न नगर्नुस)’

    यही जवाफ उनले ‘चिप्ल्याउने अंकललाई पनि दिएको भए सायद आज यो नौबत आउने थिएन कि ।

     

  • मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा   

    मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा   

    मिस पबी उपनामले परिचित पवित्रा साकीले पहिलोपटक आफ्नो डिभोर्सको विषयमा मुख खोलेकी छन् । ९ वर्षअघि नै विवाह  डिभोर्स भएपछि आफूले ठूलो पीडा सहनु परेको र आत्महत्याको प्रयाससमेत गरेको उनले बताइन् ।

    केही समयदेखि मिस पबीको निजी जीवनका विषयमा विभिन्न गाईंगुईंहरु चल्ने गरेका थिए । उनको विवाह भएको तस्बिर समेत सामाजिक सञ्जालमा लिक भएको थियो । तर, यो विषयमा मिस पबीले यसलाई अस्वीकार गर्दै आएकी थिइन् । धेरैले उनलाई अविवाहित युवतीकै रुपमा चिन्छन् । गत वर्ष एउटा युट्युब च्यानललाई दिएको अन्तरवार्तामा उनले आफ्नो विवाह नभएको, बरु एकजना ब्वाइफ्रेन्ड रहेको बताएकी थिइन् ।

    अन्ततः मिस पबीले पहिलोपटक ‘रमाइलो छ’ नामक युट्युब च्यानलमा अन्तरवार्ता दिँदै विवाह र डिभोर्सको स्वीकारोक्ति गरेकी हुन् । उनले १६ वर्षको कलिलो उमेरमा आफ्नो विवाह भएको र केही समयपछि डिभोर्स भएको बताइन् ।

    यो कानूनतः बालविवाह थियो । नेपालको कानून अनुसार विवाहका लागि महिलाको उमेर २० वर्ष पुगेको हुनुपर्छ । पबीका अनुसार परम्परागत तवरबाट बिहे भए पनि उमेर नपुगेका कारण विवाह दर्ता भएको थिएन ।

    डिभोर्सको कारणबारे उनले केही बोलेकी छैनन् । तर, डिभोर्सपछि आफूले भोगेको पीडा सुनाउँदा उनी निकै भावविव्हल बनिन् । सो अन्तरवार्तामा उनीसँगै कमेडियन पवन खतिवडा म्याकुरी पनि थिए । म्याकुरी पनि डिभोर्सी कलाकार हुन् । पछिल्लो समयमा उनीहरुले टिभी रियालिटी शो कमेडी दरबारमा सहकार्य गरिरहेका छन् ।

    आफ्नो विवाह र डिभोर्सको बारेमा मिस पबी यसो भन्छिन्ः

    मेरो १६ वर्षको उमेरमा विवाह भएको थियो । म एक्सपोज गर्न चाहन्थेँ यो कुराहरू । अहिले पनि होइन नै भन्छु, किनकि कानूनीरुपमा केही भएको  थिएन । सबै इलिगल कुराहरू हो । म कसैलाई पनि नराम्रो भन्न चाहन्न । राम्रो हुन्छ केही समयपछि भन्ने थियो । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । र बच्चा उमेरमा भएको घटना हो । अहिले म २५ को हुँदा धेरै कुराहरू बुझेँ । त्यतिबेला धेरै कुरा नबुझेको जस्तो लाग्छ । कतिचोटि सुसाइड गर्ने कोसिस पनि गरेँ । मलाई मेरो मम्मीले सपोर्ट गर्नुहुन्छ । तर, जुन समाजबाट म आएको छु, त्यहाँ डिभोर्स गरेको केटीलाई राम्रो नजरले हेरिन्थेन । केटी मान्छेले अनेक नराम्रो शब्दहरू सुन्नुपर्छ । म बच्चै थिएँ । कहिलेकाहीँ सहनै नसक्ने कुराहरू गर्थे । मसित कसैले फ्रेन्डसिप गर्न पनि चाहँदैनथे । म त्यो समाजका लागि नराम्रो भएँ । स्कुलमा पनि मेरा साथी कोही भएनन् । अहिले सोच्दा एउटा दशा कट्यो जस्तो लाग्छ । मन भित्र कुरा गुम्साएर राख्दा राख्दा मलाई पब्लिक एन्जाइटी हुन्छ । कसैले मेरो अगाडि थुक्यो भने पनि एन्जाइटी फिल हुन्छ । मलाई नै थुकेको हो जस्तो लाग्छ । 

    विगतको घटनामा मलाई रिग्रेट छैन । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । डिभोर्स भयो भनेर त्यसमै रोई कराइ गरिरहने कुरा आएन । त्यहाँबाट अगाडि बढ्नु नै पर्छ ।

  • ‘जलाकी’मा धिरज मगर अनुबन्धित

    ‘जलाकी’मा धिरज मगर अनुबन्धित

    काठमाडौं । अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश भएको छ । निर्देशक अशोक र धिरजले ‘जलाकी’को लागि दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनीहरूले गत वर्षको हिट सिनेमा ‘खुस्मा’मा सहकार्य गरेका थिए ।

    बागलुङको कालिका मन्दिरबाट छायांकन सुरु गरिएको सिनेमाको केही दिन अगाडी पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । धिरजले दोस्रो चरणको छायांकन सुरु भएपछि सेट जोइन गर्ने निर्देशक अशोक थापा मगरले बताए ।

    त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमामा धिरजसहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको छ । मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेव्यु सिनेमा हो ।

    कसैको सम्झना र मायाको प्रतीकको रूपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतीक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । यो सिनेमाको छायांकन तिन चरणमा गरिनेछ ।

    रुकुम, म्याग्दी, बागलुङ, पोखराका विभिन्न भूभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउने छ ।

    एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको सिनेमाका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

    सिनेमामा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

    सिनेमाको शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।

    निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकिय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युट्युबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो ।

  • चलचित्र ‘महाभोज’को टिजर सार्वजनिक

    चलचित्र ‘महाभोज’को टिजर सार्वजनिक

    काठमाडौं । जेठ १५ गते रिलिज हुने चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ ।

    टिजरमा अभिनेताद्वय दयाहाङ राई सहकारी संस्थाको अध्यक्षको रूपमा छन, जहाँ राईलाई कहिले खुसी र कहिले आक्रोशित अवस्थामा देखाइएको छ । अभिनेत्री गौमाया गुरुङ जो चलचित्रमा दयाहाङकी पत्नीको भूमिकामा छिन्, उनी पतिको आक्रोश शान्त पार्ने प्रयासमा देखिएकी छिन।

    चलचित्रमा खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पनि छन जो पति-पत्नीको भुमिकामा छन् । अभिनेत्री मलिका महत पनि चलचित्रमा एक रहस्यमय भूमिकामा छिन् भने अभिनेता आर्यन सिग्देल गाउँपालिकाको अध्यक्षको भूमिकामा छन् ।

    ‘महाभोज’ को निर्देशन दिनेश राउतले गरेका हुन् । चलचित्रमा पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक र नैतिक दबाबको यथार्थ चित्रण गरिएको छ, जहाँ पात्रहरू आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा छन् ।चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय रहेको छ ।

    क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।

  • ‘भूठान’ मा हरिवंशः अभिनय जोडदार, बोल्ड सिनहरू दिन हिच्किचाएनन्

    ‘भूठान’ मा हरिवंशः अभिनय जोडदार, बोल्ड सिनहरू दिन हिच्किचाएनन्

    काठमाडौं । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र भुटान यो साता प्रदर्शनमा आउँदैछ, जसको हिजो ग्रान्ड प्रिमियर गरियो । भुटानबाट लखेटिएर नेपाल हुँदै अमेरिका पुगेका एक वृद्धको स्वदेश फर्किने हुटहुटीलाई मूल कथानक बनाएर निर्माण गरिएको यो चलचित्रमा निर्देशक विनोद पौडेलले गजबको सिर्जनशिलता प्रस्तुत गरेका छन् ।

    यो चलचित्र हरिवंशको लागि विशेष यसकारण छ कि करिअरको उत्तरार्द्धमा आएर उनले यसमा धेरै नयाँ प्रयोगहरू गरेका छन् । नेपालकै सर्वाधिक ख्यातिप्राप्त हास्यकलाकारको पहिचान बनाएका उनलाई यो चलचित्रमा निर्देशकले पूरै गम्भीर भूमिकामा ढालिदिएका छन् । चलचित्रभरि उनको हाँसो हराएको छ । अनेकथरि हुलिया र आवाज निकालेर दर्शक हँसाउने हरिवंश यिनै हुन् त भन्ने लाग्छ ।

    हरिवंशले यसअघि पनि गम्भीर भूमिका ननिभाएका होइनन् । डेढ दशक अगाडि नै बनेको चलचित्र ‘बलिदान’ मा उनले एउटा कम्युनिष्ट क्रान्तिकारीरूपमा देखिएका थिए र दर्शकको मन जितेका पनि थिए । उनीजत्तिको बहुआयामिक कलाकारलाई ‘भूठान’ को रोल कुनै ठूलो चुनौतिको विषय थिएन । तर, चलचित्रमा हरिवंशले केही काम पहिलोपटक गरेका छन्, जुन सायद उनका लागि ठूलो चुनौती थियो ।

    सम्भवतः पहिलोपटक हुन सक्छ हरिवंशलाई महिला कलाकारसँग लिपलप गरिरहेको दर्शकले पहिलोपटक देख्नेछन् । यो लिप किस कामोत्तेजक भन्दा पनि भावनात्मक छ । हरिवंशकी पत्नीको भूमिकामा रहेक भारतीय रंगकर्मी अनुराधा मजुमदारले उनलाई व्यग्रतापूर्वक ओठमा चुमेकी छन् ।

    उनै मजुमदारसँग हरिवंशले बेडसिन पनि दिएका छन् । यो दृष्यलाई पनि निर्देशकले परम्परागतभन्दा पृथक र कलात्मक बनाएका छन् । अर्को एउटा दृष्यमा हरिवंश ‘न्यूड’ बनेका छन् । उनको शरीरको पछाडिको भाग पूरै नग्न देखाइएको छ ।

    ‘भूठान’व्यवसायिक चलचित्र भने होइन । व्यवसायिकताका लागि यस्ता दृष्यहरू राखिएको पनि होइन । किनकी पुरुष कलाकारलाई नंग्याएर चलचित्रको व्यापार बढ्ने विश्वास गरिँदैन । निर्देशकले आफ्नो सोचलाई पूर्णता दिन र चलचित्रको कलात्मक पक्षमा कुनै पनि सम्झौता गरेका छैनन् । हरिवंशलाई यी दृष्यका लागि तयार गर्नु नै उनको सफलता हो ।

    प्राविधिक र कलात्मक दृष्टिकोणले ‘भूठान’ मा क्लासिक हलिउड चलचित्रको ‘फ्लेभर’ आउँछ । यद्यपि, अतिधेरै मेटाफोरहरूको प्रयोगले गर्दा बढी जटिल बनेको छ । कुनै क्लीस्ट साहित्य पढिरहेको महसुस हुन्छ । आम दर्शकले इन्जोइ गर्ने चलचित्र होइन यो । उनीहरूले चलचित्रलाई बुझ्नै गाह्रो छ । तर, सिनेमाको क्राफ्ट र कलात्मकताको रसस्वादन गर्न चाहनेहरूका लागि यो चलचित्र एउटा गतिलो उपहार हो ।

  • चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक

    चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक

    काठमाडौं । निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रिकेश गुरुङको स्वर, राम अविरल विष्टको शब्द र एसडी योगीको संगीत रहेको छ ।

    प्रेम जोडीको कथा बोल्ने लिरिकल गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी छन् । प्रेमी-प्रेमिकाको एकअर्काप्रति प्रेम देखाइएको गीतको भिडियोमा चलचित्रका केही फुटेज समावेश छन् ।

    सोसल ड्रामामा बनेको चलचित्र ‘के घर के डेरा : घर नं २’को कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन् । यो उनको पहिलो चलचित्र हो । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

    चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको छ। कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्रको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । चलचित्रको कार्यकारी निर्मातामा भने युवराज कार्की छन् ।

  • ओबी रायमाझीको गुनासो- एलिनाजीले ‘कट्टसट्टा फाल्दिन्छु’ भनेर नगाएको भए हुन्थ्यो

    ओबी रायमाझीको गुनासो- एलिनाजीले ‘कट्टसट्टा फाल्दिन्छु’ भनेर नगाएको भए हुन्थ्यो

    काठमाडौँ । आजभन्दा ठ्याक्कै एक वर्ष अगाडि सार्वजनिक भएको गीत थियो, ‘कट्टा हान्दिन्छु’ । गायिका एलिना चौहान र गायक खेम सेन्चुरीको स्वर, खेम सेन्चुरीकै संगीत र नेत्र अर्यालको शब्दमा तयार भएको यो गीतले सांगीतिक क्षेत्र राम्रैसँग ततायो ।

    गीत आफैंमा राम्रो त छ नै, तर यो गीत रातारात भाइरल हुनुको अर्को एउटा कारण पनि थियो । त्यो हो, एलिनाको ब्रेकअप । गीत रिलिजकै समयमा एलिना र उनको पूर्वपति विष्णु सापकोटाको ब्रेकअपको खबर फैलियो । गीतको शब्द उनको निजी जीवनसँग मिल्न गएपछि झनै चर्चा भयो । यही गीतले एलिनाको चर्चा दोब्बर बन्यो । मेला–महोत्सवमा उनको यही गीतको डिमान्ड हुन्थ्यो ।

    सम्रगमा भन्नुपर्दा यो गीतले सबैलाई फाइदा नै पुग्यो । मोडल आश्मा विश्वकर्मा र ओवि रायमाँझीको करियरमा थप एउटा सिढी थप्ने काम गर्यो । अहिलेसम्म गीतलाई दर्शकले ४ करोड २५ लाख पटकभन्दा धेरै हेरिएको छ । त्यसैले, आर्थिक हिसाबले हेर्ने हो भने पनि निर्माताको हातमा युट्यूवबाटै राम्रो नाफा भयो ।

    अहिले आएर यही कट्टा हान्दिन्छु गीतको अर्को भाग सार्वजनिक भएको छ, जसको शीर्षक छ- कट्टा हान्दिन्छु गोरे दाई ।’ यो गीतमा पनि नेत्र अर्यालकै शब्द र खेम सेञ्चुरीको संगीत छ, तर गायिका परिवर्तन गरिएकी छन् ।

    एलिनाको स्वरमा यसमा छैन । अस्मिता अधिकारीले खेमलाई गायनमा साथ दिएकी छन् । गीतमा महिला आवाजको अंश पनि थोरै मात्र छ । गीतमा महिला मोडल पनि परिवर्तन गरेर आस्माको ठाउँमा उषा उप्रेती ल्याइएको छ ।

    यसरी हिट गीतको सिक्वेलमा एलिना छुटेपछि विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । खेम र एलिनाबीच सम्वन्ध राम्रो छैन भन्ने गाईंगुईं सुन्न थालिएको छ । मेला महोत्सवमा यो गीत गाउँदा आफ्नो नाम नलिएकाले एलिनासँग खेम असन्तुष्ट रहेको दावी कतिपयले गरेका छन् ।

    खेमले यो विषयमा मुख खोलेका छैनन् । हालै मात्र उनको गायिका शान्ती श्रीसँग पानी बाराबार सम्बन्ध मिडियामा छताछुल्ल भएको थियो । एलिनासँग पनि मनमुटाव भएको चर्चाले खेम थप विवादमा आएका छन् ।

    यता एलिनाले भने हल्लाको पछि नलाग्न भन्दै अस्मिताले गाएको गीत आफ्नो आधिकारिक पेजबाटै शेयर गरेकी छिन् । ‘कट्टा हान्दिन्छु’ बोलकै गीतमा एलिना र खेमको एउटा टिकटक भिडिओ पनि आएको छ । टिकटकमा दुवैजना प्लेनभित्र देखिन्छन् । यो टिकटकपछि भने दुईजनाको सम्बन्ध ठिकै भएको हुनसक्ने धेरैको अनुमान छ ।

    यता आश्मा विश्वकर्माले भने गीतसमेत शेयर गरेकी छैनन् । निर्माण पक्षका अनुसार उनी सम्पर्कमा पनि छैनन् ।

    यो गीतको निर्माण भने मोडल ओबि रायमाझीले गरेका हुन् । गीतका दुवै संस्करण उनको युट्युव च्यानलबाट सार्वजनिक भएका छन् । गीतको सिक्वेलमा गरिएको परिवर्तन र संगीतकार–गायिकाबीचको सम्बन्धलाई लिएर हामी रायमाझीसँग कुराकानी गरेका छौं ।

    -केही वाक्यबाहेक गीतको शब्द सबै परिवर्तन छ । यो गीतको भाग २ हो या मेल भर्जन ?

    यसलाई भाग २ र मेल भर्जन दुवै भन्न सकिन्छ । पहिला गीतमा फिमेल भनाइहरु राखिएको थियो, अहिले मेलको भनाइहरु राखेको हो । त्यही भएर केही शब्दहरु परिवर्तन छ ।

    -गायिका र मोडल परिवर्तन भएको विषयमा विभिन्न हल्लाहरु सुनिएका छन् नि, के त्यस्तै हो ?

    त्यस्तो केही होइन । बजारमा त जे पनि हल्ला आउँछ । हामी चारजना बिच त्यस्तो केही मनमुटाव छैन । सम्बन्ध पहिला जस्तो थियो, अहिले पनि त्यस्तै छ ।

    यसमा चाहिँ खेम दाईले यो पटक केही चेन्ज गरौं भन्नुभयो । मैले पनि ठिकै छ भन्ने सोचेर केही चेन्ज गरेको हो । एक त एलिनाजी आफ्नै कामहरुमा व्यस्त हुनुहुन्थ्यो । उहाँ एकदमै व्यस्त भएका कारण पनि हामीले एलिनाको ठाउँमा अरु राखौं न त भन्ने सोचेर गायिका र मोडल परिवर्तन गरेका हौं ।

    -एक्कासी खेम सेन्चुरीले गायिका परिवर्तन गरौँ भन्नासाथ तपाई तयार हुनुभयो ?

    त्यस्तो होइन । एलिनाजी अलि धेरै व्यस्त भएकाले पनि अरु गायिका राखेका हौं । अस्मिताजीसँग हाम्रो पहिला ‘रमरम मरौटी’ मा पनि सहकार्य भइसकेको थियो । उहाँसँग काम गर्न सहज हुने भएकाले हामीले उहाँलाई यो गीतमा दोहोर्याएका हौं ।

    -तपाइलाईं व्यक्तिगत रुपमा चाहिँ एलिनासँग केही चित्त दुखाइ छ कि छैन ?

    मलाई उहाँसँग व्यक्तिगत हिसावले त्यस्तो रिस–राग केही छैन । हामी एउटै क्षेत्रको मान्छे हो, भोलि फेरि सहकार्य गर्नुपर्छ । तर गीतको कुरामा भने मलाई उहाँसँग केही चित्त दुखेको थियो । उहाँले केही समय अघि ‘कट्टासट्टा फ्याल्दिएर पेस्तोल किनेको’ भन्ने एउटा गीत गाउनु भएको थियो। यत्रो चलेको गीत, चौतर्फी नाम दिएको गीतलाई त्यसरी मोडिफाइ गरेर नगाइदिएको भए हुन्थ्यो भन्ने चाहिँ मलाई लागेको थियो । जे भएपनि यो गीतले उहाँलाई पनि राम्रै नाम दिएको थियो । त्यसरी कट्टै फ्याल्दिन्छु भनेर चाहिँ नगाइदिनु भएको भए हुन्थ्यो ।

    मैले उहाँले गाउनुभएको त्यो गीत आएपछि खेम सेन्चुरीलाई पनि यसरी पो गाउनुभएछ भनेर देखाएको थिएँ । यसमा फेरि मलाई दुर्गेशजीसँग केही रिस वा चित्त दुखाइ भने हैन है । मात्र एलिनाजीले त्यसरी नगाइदिनु भएको भए हुन्थ्यो भन्ने मात्र हो ।

    -आश्मा विश्वकर्मासँग पनि केही दुखेसो छ ?

    उहाँसँग झन त्यस्तो केही छैन । उहाँ त सम्पर्कमै हुनुहुन्न ।

    -अहिले कस्तो छ उहाँहरुसँगको सम्बन्ध ? गीत आएपछि कुरा भयो ?

    आश्माजी सम्पर्कमा हुनुहुन्न । एलिनाजीले भने गीत आएपछि कल गर्नुभएको थियो । कुरा पनि भयो । उहाँले त गीत पनि शेयर गर्नुभएको छ । त्यस्तो नराम्रो केही छैन ।

    -गीतको भाग २ निकालिहाल्नु पर्ने जरुरी किन पर्यो ?

    खासमा अहिले गीत आएपछि धेरैले मनमुटाव भएर, सम्बन्ध बिग्रेर दोस्रो भाग निकालेको भन्नुभयो । तर मैले यो गीत मेरै लागि निकालेको हो । हुन त पहिला ‘रमरम मरौटी’, ‘कट्टा हान्दिन्छु’ गीत निस्किदा दर्शकहरुले मेरो र पर्दा पछाडीका सर्जकहरुको कामको तारिफ गर्नुभएको हो । तर गीत चलिरहँदा क्रेडिट भने अरुलाई नै गयो ।

    ‘रमरम मरौटी’ चल्दा सबै क्रेडिट पुजाजी (पूजा शर्मा) ले लानुभयो । ‘कट्टा हान्दिन्छु’ चल्दा त्यसको श्रेय एलिनाजी र आश्माजीले पाउनुभयो । हामीले हाम्रो तर्फबाट सिर्जना त पस्कियौं, तर हामीले जे पाउनु पर्ने हो, त्यो भने पाएनौं । त्यसैले यसपाली हाम्रो र विशेषगरी मेरो लागी मैले या गीत निर्माण गरेको हो ।

    -पूजा शर्मासँगको सम्बन्ध चाहिँ कस्तो छ अहिले ?

    केही छैन उहाँसँग पनि । त्यत्रो सहकार्य भयो । गीत राम्रो भयो तर अन्तिममा फ्रेन्ड रिक्वेस्ट पठाएको पनि एसेप्ट गर्नुभएन । सम्पर्क पनि छैन ।

    -उषा उप्रेतीबाट कति सपोर्ट पाउनुभयो त ?

    उसले त पुरै सर्पोट गरेको छ ।

    -कति लगानीमा बनाउनुभएको हो यो गीत ?

    ५ लाखको लगानी हो ।

    -लगानी सुरक्षित छ ?

    (हाँस्दै) छैन । कहाँ हुन्छ अहिले । गीत नै भर्खर साढे ३ लाख भ्यूज त गएको छ ।

    -तपाईंलाई के लाग्छ, पहिलाजस्तो यो गीत चल्छ ?

    पहिलेकै जस्तो नचल्ला । त्यतिखेर माहोल नै अर्कै थियो । ठ्याक्कै गीत आउँदा कन्ट्रोभर्सी भइदियो । एलिनाजीलाई यो गीत सुट पनि गरेको थियो ।

     

  • पूर्वनवयुवराजलाई खिसिट्यूरी गरेपछि सुरक्षा पन्तमाथि गालीको वर्षा

    पूर्वनवयुवराजलाई खिसिट्यूरी गरेपछि सुरक्षा पन्तमाथि गालीको वर्षा

    काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले हालै दिएको एउटा अभिव्यक्तिलाई लिएर राजसंस्था समर्थकहरु उनीमाथि खनिएका छन् । फेसबुकदेखि टिकटकसम्म गालीको वर्षा भइरहेको छ ।

    एउटा अन्तरवार्तामा सुरक्षालाई पूर्वनवयुवराज हृदयन्द्र शाहको तस्बिर देखाएर उनको विषयमा टिप्पणी गर्न लगाइएको थियो । सुरक्षाले भनिन्, ‘ग्रान्ड चाइल्ड अफ किङ… पारसको छोरो होइन ? के रे नाम ?’

    उनले नाम फड्कारेर भन्न सकिनन् । कार्यक्रम प्रस्तोताले नाम बताइदिएपछि सुरक्षाले उनलाई एउटा सेलिब्रिटीजस्तो चित्रण गर्न खोजिन् ।

    ‘उहाँको ठूलो फ्यान छ नि दाइ… योङ्स्टर नानी केटीहरुको (हाँस्दै) । धेरैले उहाँलाई मन पराउनुहुन्छ, हाहाहा…’, खिसिट्युरी भावमा उनले भनिन् ।

    त्यसपछि प्रस्तोताले अर्को प्रश्न गरे, ‘तपाईं उहाँलाई भविष्यमा कुन रुपमा हेर्न चाहनुहुन्छ ?’ सुरक्षाले थप खिस्याउँदै भनिन्, ‘आउनुस फिल्म इन्डष्ट्रीमा । राम्रो हुनुहुन्छ । लुक्सहरु राम्रो छ । हाइ होप अभिनय पनि सक्नुहुन्छ होल । कुनै आर्टतिरै लाग्नुभयो भने दामी हुन्छ होला । सिनेमा क्षेत्रमा पनि स्वागत छ उहाँलाई ।’

    ‘केही राजनीतिकर्मीले उहाँलाई राजा बनाउनुपर्छ पनि भनेका छन् नि ?’, अर्को प्रश्न सोधियो । सुरक्षाले त्यो सम्भावनालाई इन्कार गरिन् ।

    ‘राजा त अब… राजा बनाउने व्यवस्था त कहाँ हामीले स्वीकारेकै छैनौं, कस्तो राजा हाहाहा… । आइ थिंक पहिलेको राजपरिवारहरु स्पोट्र्समा बढी रुचि राखेको मैले थाहा पाएको थिएँ । उहाँ पनि कुनै स्पोट्र्समा इन्भल्भ हुन सक्नुहुन्छ । फिल्ममा पनि धेरै जनासँग राम्रो जोडी देख्छ उहाँको । अभिनय चाहिँ आउनुपर्यो, यत्तिकै त कसले एक्सेप्ट गर्छ र’, उनले कटाक्ष गर्दै भनिन् ।

    अन्तरवार्ताको यो क्लीप अहिले टिकटकमा भाइरल भइरहेको छ । केहीले उनको समर्थन पनि गरेका छन् भने धेरैले आलोचना गरेका छन् । कतिले भिडिओ नै बनाएर उनलाई भद्दा गालीगलौज गरेको पनि देख्न सकिन्छ । पूर्वराजपरिवारको सदस्यलाई मर्यादाहिन तरिकाले खिसिट्यूरी गरेको आरोप राजसंस्था समर्थकहरुको छ ।

  • फिल्म ‘नरसिंहाः अवतार’को पोस्टर सार्वजनिक 

    फिल्म ‘नरसिंहाः अवतार’को पोस्टर सार्वजनिक 

    काठमाडौं । जेठ ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरुलाई स्थान दिइएको छ ।
    दिवाकर भट्टराई को लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ । यो गीत सामाजिक सञ्जालमा सुपरहिट भइरहेको छ । युट्युबमा पनि यो गीतलाई दर्शकले निकै रुचाएका छन् ।
    यसैबिच, निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा नायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारहरुलाई स्थान दिइएको छ ।
    निर्देशक तथा लेखक दिवाकर भट्टराईका अनुसार, यो पोस्टरले फिल्ममा कुन कलाकारहरुको गेटअप कस्तो छ भन्ने प्रष्ट पार्दछ ।
    चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ ।
    क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।
  • वैदेशिक रोजगारीका लागि जापान उडे टिकटक स्टार पुरु सिग्देल, एयरपोर्टमा भक्कानिइन् आमा

    वैदेशिक रोजगारीका लागि जापान उडे टिकटक स्टार पुरु सिग्देल, एयरपोर्टमा भक्कानिइन् आमा

    काठमाडौं । टिकटकबाटै नेपाली युवायुवतीले लाखौं-करोडौं कमाइरहेको, घरगाडी जोडेको चर्चाहरुबीच एक चर्चित टिकटकर जोडी भने रोजगारीको खोजीमा लागि पालैपालो विदेशिएका छन् । श्रीमती रोशनालाई बेलायत पठाएको तीन महिनापछि टिकटक स्टार पुरुषोत्तम (पुरु) सिग्देल पनि अस्ति विदेश उडे ।

    २०८० मंसिरमा विवाह गरेका पुरु र रोशना एक वर्षमै विछोडिएका थिए । पेशाले नर्स रोशनाले नेपालमा भनेजस्तो रोजगारी नपाएपछि गत माघमा बेलायत लागेकी हुन् । तर, पुरु भने श्रीमती गएको देशमा नभएर जापान उडेका छन् । श्रीमान-श्रीमतीबीचको दुरी झन् बढेको छ ।

    विदाइको क्षणमा त्रिभुवन विमानस्थलमा पुरुकी आमा विद्याले आँशु थाम्न सकिनन् । छोरालाई विदाइको हात हल्लाउँदा उनी भक्कानिएकी थिइन् । पुरुले आमालाई सम्झाउने प्रयास गरे । विमानस्थलमा उनलाई बिदा गर्न बुवा र भाइ पनि आएका थिए । आफू वाध्यताले विदेश उडेको पुरुले बताएका छन् ।

    ‘आफ्नै देशमा बसेर रमाउन कसलाई मन हुँदैन र । तर, सबैको आफ्नो आफ्नो वाध्यता हुन्छ । म वैदेशिक रोजगारीका लागि जापान लागेँ’, जानुअघि बनाएको भिडिओमा पुरुले भनेका छन् ।

    पुरु यसअघि पनि जापान गएर फर्किएका थिए । अहिले उनी जापाको मियाजाकी शहरमा छन् । श्रीमतीसँग चाँडै एउटै देशमा बस्न पाउने उनको कामना छ । जापानमा पनि आफूले भिडिओ कन्टेन्टहरु बनाइराख्ने पुरुले बताएका छन् ।

    पुरु आफ्नी आमासँग रमाइला भिडिओ र प्राङ्कहरु गरेर चर्चामा आएका हुन् । विहेपछि उनलाई श्रीमतीले पनि साथ दिएकी थिइन् ।

    तर, श्रीमती विदेश गएपछि पुरुले आमासँग भिडिओ बनाइरहेका थिए । अब तीन जना तीन देशमा तितरवितर भएका छन् । तीनैजनालाई एउटै फ्रेममा देख्न फलोअर्सहरुले लामै समय कुर्नुपर्ने हुन सक्छ ।

    टिकटकमा पुरु सिग्देलका १२ लाख फलोअर्स छन् । यस्तै, उनको युट्यूव च्यानललाई ४ लाख ६७ हजारले सब्स्क्राइब गरेका छन् ।

  • चलचित्र ‘मोहर’बाट नायक पल शाहको लुक्स सार्वजनिक

    चलचित्र ‘मोहर’बाट नायक पल शाहको लुक्स सार्वजनिक

    काठमाडाैं। यहीँ साउन २३ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘मोहर’ बाट नायक पल शाहको लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार पलको लुक्स सार्वजनिक गरेको हो ।

    निर्माण टिमले चलचित्रको मुख्य नायक पल शाहको केही तस्वीरहरु सार्वजनिक गरेको छ । जहाँ पल लामो कपाल पालेको अवतारमा देखिएका छन्। उनले हातमा बन्दुक बोकेका छन्।

    फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ। चलचित्रका निर्माता चुम्बन जंग शाही हुन्। चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ ।

    दीपेन बस्न्यातको डीओपी रहेको चलचित्रमा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, एसडी योगीको संगीत र प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ। चलचित्रका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

    चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ । चलचित्रको कथावस्तुको बारे भने अहिलेसम्म खुलाईएको छैन ।

  • बैंककको ‘आदर्श’ पुस्तकालयलाई साहित्यकार ऋषवदेवले गरे १७५ थान पुस्तक सहयोग

    बैंककको ‘आदर्श’ पुस्तकालयलाई साहित्यकार ऋषवदेवले गरे १७५ थान पुस्तक सहयोग

    काठमाडौं । राष्ट्रिका साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषवदेव घिमिरेले बैंककस्थित नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन् ।

    थाइल्यान्डमा रहेका नेपालीभाषीको सहयोगका खातिर भाषा-साहित्यको ‘विकास, विस्तार, प्रवर्द्धन र सुधार’ का लागि भन्दै कवि-साहित्यकार घिमिरेले १७५ थान नेपाली साहित्यका पुस्तक उपलब्ध गराएका हुन्।

    उनले थाई नेपाली ‘आदर्श’ पुस्तकालयका काठमाडौँस्थित प्रतिनिधिलाई नेपाली साहित्यका पुस्तक हस्तान्तरण गरे।

    ललितपुर, गोदावरी निवासी साहित्यकार घिमिरेका दर्जनौं कृत्ति प्रकाशित छन् । तीमध्ये केही म्यान्माली नेपालीको जनजीवनसँगै सम्बन्धित छन् । ‘रमादेवीको कथा’ कविता बर्मेली नेपालीले अधिक रुचाएको कृति हो ।

    ‘म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमीको तर्फबाट वरिष्ठ साहित्यकार ऋषवदेव घिमिरेज्यूलाई पुस्तकका लागि एउटा अनुरोध-पत्र पठाएका थियौँ । उहाँले हाम्रो आग्रहलाई सहजै स्विर्कानुभयो । पुस्तक सहयोगका लागि उहाँलाई धेरै-धेरै धन्यवाद छ,’ थाई नेपाली संघ बैंकक शाखा, शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले भने ।

  • अभिनेत्री तथा मोडल झरना रिसाल राष्ट्रिय क्यापिटल सम्मान २०८१ बाट सम्मानित

    अभिनेत्री तथा मोडल झरना रिसाल राष्ट्रिय क्यापिटल सम्मान २०८१ बाट सम्मानित

    काठमाडौं । अभिनेत्री तथा मोडल झरना रिसाल राष्ट्रिय क्यापिटल सम्मान २०८१ बाट सम्मानित भएकी छन् । राजधानी काठमाडौंमा बिहीबार एक भव्य समारोहका विच ९औँ नेशनल क्यापिटल अवार्ड अन्तर्गत राष्ट्रिय क्यापिटल सम्मान २०८१ बाट रिसाल सम्मानित भएकी हुन् ।

    उक्त अवार्डबाट सम्मानित हुन पाउदाँ आफु एकदमै खुसी र उत्साहित भएको उनले बताईन । उनले भनिन्-म मेरो अभिनय र मोडलिङ्गको दशक लामो यात्रालाई सम्मानित गर्नु भएकोमा आयोजक संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । सम्माननीय निर्णायक मण्डलप्रति कृतज्ञता व्यक्त गर्दछु, जसले मेरो कर्मप्रति विश्वास देखाउनु भयो । प्रमुख अतिथि, विशिष्ट अतिथि तथा कार्यक्रममा उपस्थित सबै महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछु । यो सम्मान केवल मेरो मात्र होइन, यो हरेक ती व्यक्तिको हो, जसले मेरो यात्रामा साथ, समर्थन र प्रेरणा दिनु भयो। मनको गहिराइबाट धन्यवाद ।

    रिसाल सन् २०१२ देखि नेपाली चलचित्र उद्योगमा सक्रिय एक प्रतिभाशाली मोडल तथा अभिनेत्री हुन्। आफ्नो करियरको सुरुवातदेखि नै उनले फिचर फिल्म, टिभीसी, म्युजिक भिडियो लगायतका विभिन्न प्रतिष्ठित अडियो–भिजुअल परियोजनामा उत्कृष्ट अभिनय गरिसकेकी छन् ।

    उनले अन्तर्राष्ट्रिय कलाकारको रूपमा अमेरिका, युरोप, र अष्ट्रेलिया जस्ता देशमा नेपालको प्रतिनिधित्व गर्दै भ्रमण समेत गरेकी छन् । यसले उनलाई राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित बनाएको छ ।

    रिसाल नेपालमा एक चर्चित सेलिब्रिटी कलाकारको रूपमा स्थापित छन् । उनी अहिले विभिन्न नयाँ परियोजनामा व्यस्त छन् भने र शक्तिशाली भूमिकामा आफूलाई प्रस्तुत गर्दै आएकी छन् । उनले आफ्नो अभिनय यात्रा मार्फत धेरै जसो राष्ट्रिय अवार्ड जितिसकेकी छन् ।

    जसमा मिडियाको पूर्ण साथ र प्रचार पाइरहेकी छन् । यही कारणले उनको कामलाई ऐतिहासिक रूपमा समेत मूल्याङ्कन गरिएको छ ।

  • ‘लाजशरणम’ ले पार गर्‍यो कोशेढुंगा, यी १३ हलमा ५१ दिन मनाउँदै

    ‘लाजशरणम’ ले पार गर्‍यो कोशेढुंगा, यी १३ हलमा ५१ दिन मनाउँदै

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज भएको यो चलचित्र आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो ।

    उच्च शो सहित प्रदर्शन सुरु गरेको यो चलचित्रले १३ वटा हलहरूमा ५१ प्रदर्शनको औँ दिन मनाएको छ। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको हो।

    पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन् भने चलचित्रमा कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बुसँगै प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत कलाकारको पनि अभिनय छ ।

    कर्णालीको कथा प्रस्तुत गरेको ुलाज शरणमुलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । सुदीप बराल छायांकार रहेको चलचित्रको सहनिर्मातामा राम नरेश शाह र सिर्जना खड्का छन् । चर्चित हाँस्य सिरियल ‘सक्किगोनि समूहद्वारा निर्माण गरिएको यो पहिलो फिचर सिनेमा हो ।

  • इमर्जेन्सी परेको भन्दै फुत्त अमेरिका उडिन् अरुणिमा, फिल्मको ट्रेलर रिलिज खल्लो (भिडिओ)

    इमर्जेन्सी परेको भन्दै फुत्त अमेरिका उडिन् अरुणिमा, फिल्मको ट्रेलर रिलिज खल्लो (भिडिओ)

    काठमाडौं । आफूले अभिनय गरेको वेब सिरिज ‘घर बट इन अमेरिका’ को प्रमोसन गर्न भन्दै अमेरिकादेखि नेपाल आएकी अभिनेत्री अरुणिमा लम्साल अपर्झट फर्किएकी छन् । आज ट्रेलर रिलिज कार्यक्रम उनको अनुपस्थितिमा खल्लो बन्यो ।

    अरुणिमा कार्यक्रममा आउने र डिभोर्सको बारेमा मज्जाले गफिने आशामा युट्यूबरहरुको बाक्लो उपस्थिति थियो । तर, निर्देशकले अरुणिमा अमेरिका फर्किसकेको जानकारी गराउँदा सबै निराश देखिए ।

    निर्देशक तथा अभिनेता विमलेश अधिकारीले घरायसी कामले गर्दा अरुणिमा तत्कालै अमेरिका फर्किनु परेको प्रष्टीकरण दिए । अधिकारीका अनुसार हिजो नै उनी अमेरिका उडिसकेकी छन् ।

    राइजिङ मलको क्यूएफएक्स सिनेमामा वेब सिरिजको ट्रेलर लन्च गरिएको थियो । कार्यक्रममा निर्देशक विमलेस र अन्य दुई कलाकारहरु मात्रै मञ्चमा थिए । उनीहरुले वेब सिरिजको विषयमा बताए ।

    यो वेव सिरिज अमेरिकामा बसेको नेपाली जोडीको कथामा उनीएको छ । छोरीलाई अमेरिकामा भेट्न गएका बाबुआमाले उनी एक युवकसित लिभ इन टुगेदरमा बसेको थाहा पाएपछि उत्पन्न भएको रोचक परिस्थिति ट्रेलरमा देख्न सकिन्छ ।

    अरुणिमा करिब १५ दिन अगाडि चलचित्रको प्रमोसनका लागि नेपाल आएकी थिइन् । यही बेला उनले श्रीमानलाई सम्वन्धविच्छेदका लागि मुद्दा दर्ता गरिन् ।

    अरुणिमाको छोटो नेपाल बसाइमा उनको डिभोर्सको विषयले अत्यधिक चर्चा पायो र फिल्म नै ओझेलमा पर्यो । उनले विभिन्न मिडियामा आफ्ना श्रीमानको विरुद्धमा बोलेका कुराहरु अहिले भाइरल छन् ।

    अरुणिमाले श्रीमानले पढाइ लगायतका कुराहरु ढाँटेका कारण डिभोर्स दिनु परेको बताएकी छन् ।

  • ‘नरसिंहाः अवतार’को ‘अच्छा लेकिन लण्डनको’ गीत रिलिज

    ‘नरसिंहाः अवतार’को ‘अच्छा लेकिन लण्डनको’ गीत रिलिज

    काठमाडाैं । फिल्म ‘दैव संजोग’मा समावेश गरिएको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत रिक्रियट गरिएको छ ।

    जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीत समावेश गरिएको हो । आज, काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो गीत सार्वजनिक गरियो ।

    यो गीतको ओर्जिनल भर्सनमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । रिक्रियट भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर दिएका छन् । गीतमा शम्भुजितकै शब्द तथा संगीत छ ।

    कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् । गीतको भिडियोको सम्पादन साहिल खानले गरेका हुन् ।

    यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य छ । गीतको भिडियोलाई कविराजले गज्जबसँग कोरियोग्राफी गरेका छन् । भिडियोमा सबै कलाकारहरुको नृत्य उत्कृष्ट छ ।

    फिल्ममा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरुको पनि अभिनय छ ।

    चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

    दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको फिल्ममा क्रियटिभ सिने आर्टस्को लागि नेम महर्जनको लगानी छ । साथै, फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि लगानी छ ।

    नायक राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएका कारण पनि यो फिल्मको चर्चा निकै छ । यो गीतले फिल्मको हाइप अझै उच्च बनाउने विश्वास गर्न सकिन्छ ।

  • हरिवंश आचार्यको चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक

    हरिवंश आचार्यको चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच निर्माण टिमले ‘भूठान’को ट्रेलर सार्वजनिक गरेको हो ।

    तीन मिनेट लामो ट्रेलर सामाजिक कथावस्तुमा आधारित छ। ट्रेलरमा अमेरिका पुगेका भुटानी शरणार्थीको कथा छ । वृद्ध अवस्थामा अमेरिका पुगेका एक व्यक्तिले भुटान फर्किन गरेको प्रयास ट्रेलरमा देख्न सकिन्छ। पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संस्कृति नमिल्दा त्यसले पार्ने प्रभाव ‘भूठान’ले ट्रेलरमा देखाएको छ ।

    अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । हरिवंशसंगै चलचित्रमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन र विमल सुवेदीको अभिनय छ । हलिउडका अभिनेता बु्रस डर्नले पनि यो चलचित्रमा विशेष भूमिकामा अभिनय गरेका छन् ।

    हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् । चलचित्र यहीँ वैशाख १२ गतेबाट रिलिज हुँदैछ। विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा हुन। चलचित्र सुसन प्रजापतिले खिचेका छन् ।

    चलचित्रमा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट र अपार श्रेष्ठको कार्यकारी निर्माण, अन्जय खड्का सम्पादन र समवरण केमको संगीत छ।