Category: कलाप्रेस

  • मोडलसँग नाचेपछि राजेश हमाल यसकारण खाँदैछन् गाली, मर्यादा बिर्सिएको भन्दै फ्यानहरु आक्रोशित !

    मोडलसँग नाचेपछि राजेश हमाल यसकारण खाँदैछन् गाली, मर्यादा बिर्सिएको भन्दै फ्यानहरु आक्रोशित !

    काठमाडौं । पछिल्लो समय अभिनेता राजेश हमाल म्यूजिक भिडिओमा व्यस्त छन् । टीकटक बनाउने, लाइभ आउने र तस्विर पोस्ट गर्ने काममा उनी सक्रिय छन् । साथै, उनी यतिबेला पत्नी मधुसँग पोखरा घुमघाममा समेत व्यस्त छन् ।

    दर्शकमाझ बौद्धिक कलाकारको छवि बनाएका राजेश हमाललाई उनका फ्यानले माया गरेर महानायक पनि भन्छन् । यद्यपी, उनलाई महानायक मान्ने वा नमान्ने विवाद सँधै हुनेगर्छ । यतिबेला भने उनै महानायक एउटा ¥याप गीतको कारणले विवादमा तानिएका छन् । ‘नाचन कान्छी’ बोलको गीत युट्युवमा सार्वजनिक भएपनि हमाललाई प्रशंसा गर्नेभन्दा गालीको ओइरो लागेको छ । हिपहप गीतमा हमालले केही मोडेलसँग फिचर्ड छन् ।

    भिडिओलाई लिएर फ्यानहरु हमालप्रति आक्रोशित छन् । महानायक भएर आफ्नो हैसियतलाई बिर्सिएको र स्टेटस मेन्टेन गर्न नसकेको आरोप उनीमाथि लगाइएको छ । यो प्रतिक्रियाको सूचीमा लामै छ र यसबारे हमालले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

    कुमार श्रेष्ठ नामक एक प्रयोगकर्ता लेख्छन् : महानायक जस्तो मान्छेले अहिले यो उमेरमा आएर, जबकी कुनै फिल्म आउन छाडिसकेको अबस्थामा, यस्तो नेपाली समाजमा सजिलै नपच्ने पोशाक लगाएको गीतमा अभिनय गर्दा तपाइको शुभेच्छुकहरुमा राम्रो सन्देश भने पक्कै जाने छैन ।’

    यस्तै कमल आचार्य लेख्छन् : यो गीत हेरेपछि मलाई लाग्छ हमालले आफ्नो हैसियत नै बिर्सिएका छन् । अर्का एक प्रयोगकर्ताले त महानायकले आफ्नो सम्मान र इज्जत गुमाएको टिप्पणी गरेका छन् । प्रायःजसो विवादमा आफूलाई रिजर्भ राख्न रुचाउने हमालले भने यसबारे अहिलेसम्म केही बोलेका छैनन् । केही वर्षयता जस्तोपायो त्यस्तै टीकटक बनाउने र म्युजिक भिडिओमा खेलेर मर्यादा बिर्सिएको भन्दै उनको आलोचना हुने गरेको छ ।

    युवापुस्तालाई सकारात्मक बन्न र आदर्शवान बन्न मोटिभेसनल स्पिकर समेत रहेका हमालले देश दौडाहा सुरु गर्दैछन् । कतिपयले हमालको भनाई र गराईमा एकरुपता नभएको भन्दै आलोचना पर्ने गर्ने गरेका छन् ।

  • कलाकार निशाको पशुपति आर्यघाटमा अत्येष्टी, दुर्घटनाको छानविन गर्न कलाकार संघको माग

    कलाकार निशाको पशुपति आर्यघाटमा अत्येष्टी, दुर्घटनाको छानविन गर्न कलाकार संघको माग

    काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेको शवलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा बुबा प्रेमप्रसाद घिमिरेले दागबत्ती दिएका थिए ।

    आर्यघाटमै उनको पार्थिव शरिरलाई एक घण्टा राखिएको थियो । चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, नृत्य निर्देशक शिव विक, नृत्यकार संघका अध्यक्ष जनक कार्की, कलाकार संघका पदाधिकारी श्रद्धाञ्जली दिन आर्यघाट गएका थिए ।

    कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको कार्यक्रममा कलाकारको उपस्थिती भने न्यून थियो । कलाकर्मीको न्यून उपस्थिति थियो ।

    कलाकारको उपस्थिती नै कम भएपनि कलाकार संघका प्रवक्ता निरौलाले दुःख व्यक्त गरेका छन् । साथै उनले भारतको देहरादूनमा भएको निशाको सडक दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेका छन् ।

    ‘कूटनीतिक च्यानलबाट उनको दुर्घटनाको छानविन हुनुपर्छ’ उनले भने । नर्भिक अस्पतालमा उपचाररत निशाको निधन बिहीबार साँझ भएको थियो । निधन भएको हो । ३ महिना अगाडि नर्भिक अस्पतालले निशालाई घरबाटै उद्धार गरेको थियो ।

    सबै वैकल्पिक विधिबाट उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको थियो । ठूलो पर्दाको फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’लगायतका टिभी सिरियलमा उनले अभिनय गरेकी छिन् ।

    साथै लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोलगायत दुई दर्जन बढी म्यूजिक भिडिओमा पनि काम गरेकी थिइन् ।

  • हल खोल्ने निर्णयपछि आशाको सञ्चार, दशैंको माहोल बनाउन जुट्दै फिल्मकर्मी

    हल खोल्ने निर्णयपछि आशाको सञ्चार, दशैंको माहोल बनाउन जुट्दै फिल्मकर्मी

    काठमाडौं । कोभिड-१९ मापदण्ड पालना गर्दै काठमाडौं उपत्यकास्थित फिल्म हल अब खुल्न पाउने भएका छन् । कोरोनाका कारण लामो समयदेखि ठप्पप्राय रहेको चलचित्र क्षेत्रमा अब चहलपहल सुरु हुने आशा फिल्मकर्मीहरुमा पलाएको छ ।

    काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले भदौ १७ गतेदेखि लागू हुने गरि हल खुलाउन अनुमति दिएका हुन् । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले उपत्यकाको संक्रमण दर १५ प्रतिशतमा झरे फिल्म क्षेत्र खुलाउन अनुमति दिने नियमसहितको स्मार्ट लकडाउन कार्यविधि भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो । सोही कार्यविधिअनुसार प्रशासनले सर्तसहित फिल्म हल खुलाउन अनुमति दिएको हो ।

    ‘सर्तसहित अनुमति दिएका हौं र अनुगमनमा प्रोटोकल पालना नभएको पाइए कार्वाही गर्छौं,’ काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले नेपाल प्रेससँग भने, ‘संक्रमण दर पुनः बढे बन्द गर्नुपर्ने हुनसक्छ । चाडपर्व पनि नजिकिएको अवस्थालाई मध्यनजर गर्दै आर्थिक क्षेत्र चलायमान गराउन पनि यो निर्णय जरुरी थियो ।’

    कोभिडको दोस्रो लहर रोकथाम गर्न लागू गरिएको निषेधाज्ञाको कारण फिल्म हलहरु गत वैशाख १६ गतेदेखि बन्द थिए । झन्डै पाँच महीनापछि हलसहितका फिल्म गतिविधि खुल्ने भएपछि यसले फिल्म वृत्तमा उत्साह सिर्जना गरेको छ । फिल्मकर्मीले प्रशासनको निर्णयलाई स्वागतयोग्य भन्दै दशैंको छेकोमा फिल्मको माहौल बनाउन कस्सिने बताएका छन् ।

    लगातारका दुईपटकको लकडाउनले थिलाथिलो भएको फिल्म तथा मनोरञ्जन क्षेत्रलाई प्रशासनको यो निर्णयले नयाँ रक्तसञ्चार गर्ने आशा छ । दशैं आउन ४० दिन बाँकी रहँदा भएको हल खुलाउने निर्णय लगत्तै फिल्म निर्माता र हल सञ्चालक गतिविधिलाई सक्रिय तुल्याउन जुटेका छन् ।

    प्रशासनले अनुमति दिए पनि बिहीवारदेखि नै भने हलहरु खुल्ने छैनन् । पाँच महीनादेखि बन्द रहेका हलमध्ये ३० प्रतिशत सँधैको लागि बन्द भैसकेका छन् भने सयौं जनाले जागिर गुमाएका छन् । कतिपय पेशाबाटै पलायन भएर वैकल्पिक पेशामा लागेका छन् ।

    चलचित्र संघका महासचिव अशोक शर्माले प्रशासनको निर्णय स्वागतयोग्य रहेको र अब हलको सरसफाइ तथा मेन्टिनेन्सपछि मात्र सञ्चालनमा ल्याइने बताए । ‘दशैंसम्म फिल्मको माहौल बनाउन हामी सक्रिय हुन्छौं,’ नेपाल प्रेससँग शर्माले भने, ‘अझै एकसातामा काठमाडौंका सबै हल खुल्नेछन् र हामीले उपत्यकाबाहिर पनि हल खुलाउन प्रशासनलाई आग्रह गर्नेछौं ।’

    शर्माले अर्को सातादेखि हल खुलेसँगै सम्भवतः पुरानै फिल्मलाई रिलिज गरिने बताए । ‘केही दिनमा रिलिज पाइपलाइन सार्वजनिक गर्नेछौं,’ उनले भने, ‘सुरुमा पहिले चलेका र हिट फिल्मलाई वार्मअपका लागि भए पनि रिलिज गर्नेछौं ।’

    मुलुकको मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले आउने सातादेखि फिल्म हल खोल्ने तयारी गरेको छ । क्यूएफएक्स निर्देशक नकिम उद्दिनले हल मेन्टिनेन्स र सरसफाइपछि मात्र सम्भवतः मंगलबार तथा बुधबारदेखि हल खुला गरिने बताए । उद्दिन प्रमुख रहेको विदेशी फिल्म वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले हलिउडको प्रतिक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ (एफ-नाइन) लाई रिलिज गर्ने तयारी गरेको छ ।

    फास्ट एन्ड फ्युरियससहित अन्य फिल्मको पाइपलाइन घोषणा गर्ने तयारीमा एप्पल छ । केही दिनमै एप्पलले अर्को सातादेखि दशैंसम्म रिलिज हुने फिल्मको सूची तयार पार्नेछ । अर्को फिल्म वितरक कम्पनी बैंकटेस इन्टरटेनमेन्टले पनि रिलिजको बारेमा तयारी गर्ने भएको छ । कम्पनीका निर्देशक मनोज राठीका अनुसार यसअघि रिलिज भएको सलमान खान स्टारर ‘राधे’ लाई पुनः रिलिज गरिने भएको छ । राधे प्रदर्शन हुँदै गर्दा निषेधाज्ञा सुरु भएपछि यसले पूर्णरुपमा प्रदर्शनको मौका पाएको थिएन । ‘अर्को सातासम्म हाम्रो तर्फबाट रिलिज हुने फिल्मको सूची तयार हुन्छ’ उनले भने ।

    कोरोना महामारीको कारण रोकिएका ६० भन्दा बढी फिल्म प्रदर्शनको पर्खाइमा छन् भने तीन दर्जन फिल्म सुटिङमा जाने तयारीमा छन् । २० वटा भन्दा बढी फिल्मको छायांकन निषेधाज्ञाले बीचमै रोकिएको छ । नाम चलेका कलाकार र सेलेव्रिटीले वैकल्पिक पेशा व्यवसाय थालेका छन् ।

    अर्का वितरक करण श्रेष्ठ क्रेजीसँग ६ वटा फिल्म पाइपलाइनमा छन् । जसमध्ये म यस्तो गीत गाउँछु २, चिसो मान्छे, तीन जन्तु, माइकल अधिकारी, चिसो एस्ट्रे र सुस्केरा हुन् । उनी आगामी दशैंमा यीमध्ये कुनै एक फिल्मलाई रिलिज गर्ने तयारीमा छन् । ‘हल खुल्ने वित्तिकै रिलिज गर्ने फिल्मबारे सोचिसकेको छैन । निर्मातासँग छलफलपछि मात्र यसबारे टुंगो लाग्छ’ वितरक श्रेष्ठले भने ।

    चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले काठमाडौं उपत्यकासहित बाहिरका फिल्म हललाई पनि खुलाउन सरकारलाई आग्रह गरिएको बताए । ‘काठमाडौंभन्दा बाहिरका ठाउँमा पनि अब संचालन अनुमति दिनुपर्छ भन्ने हाम्रो भनाई हो’ दाहालले भने, ‘सोहीअनुुसार हामीले खुलाउन पहल गरेका छौं ।’

    क्रमशः दशैंसम्म माहौल बन्ने र त्यसले केही हदसम्म भएपनि उद्योगलाई आर्थिकरुपमा चलायमान बनाउने आशा दाहालले व्यक्त गरे । फिल्महरु रिलिज हुने भएपछि राजस्व पनि संकलन हुने भएकाले बोर्डलाई सजिलो हुने छ ।

    नेपाली फिल्मको ७० प्रतिशत व्यापार हिस्सा काठमाडौंले ओगट्छ । पछिल्लो समय पोखरा, चितवनजस्ता सहर पनि ठूला फिल्म बजार हुन् । चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार काठमाडौंबाहेक उपत्यकाबाहिरका पोखरा, नारायणगढ, धरानजस्ता ठूला फिल्म बजारलाई खुलाउन स्थानीय प्र्रशासनलाई दबाब दिने तयारी भएको छ ।

    ‘कम्तीमा काठमाडौंसहित मोफसलका एकाध बजार खुले भने हामीलाई माहौल बनाउन खासै कठिन हुँदैन’ शर्माले भने, ‘दशैंसम्म हामीलाई त्यो पर्याप्त समय छ र हामी त्यहाँका सीडीओहरुलाई आवश्यक दबाब पनि दिन्छौं ।’

    कोरोना महामारीको कारण रोकिएका ६० भन्दा बढी फिल्म प्रदर्शनको पर्खाइमा छन् भने तीन दर्जन फिल्म सुटिङमा जाने तयारीमा छन् । २० वटा भन्दा बढी फिल्मको छायांकन निषेधाज्ञाले बीचमै रोकिएको छ । नाम चलेका कलाकार र सेलेव्रिटीले वैकल्पिक पेशा व्यवसाय थालेका छन् । मुख्य क्षति फिल्म प्राविधिकलाई भएको छ उठ्नै नसक्ने गरी थलिएका छन् र चलचित्र प्राविधिक संघले फिल्म हल खुलाउने प्रशासनको निर्णयलाई स्वागतयोग्य बताएको छ ।

    संघका अध्यक्ष पुष्कर लामाले हल खुलाउने निर्णयले केही राहतको श्वास फेरेको बताए । ‘अब फिल्म हल खुल्नु र फिल्महरु छायांकनमा जानुले प्राविधिकलाई राहत मिल्नेछ’ लामाले भने, ‘कोरोनाको तेस्रो लहर नआए आगामी चाडपर्वसम्म फिल्मको माहौल बनाउने तयारी गर्नेछौं ।’

    सानो लगानीका फिल्महरु दशैं, तिहार छठ चाडमा फिल्म रिलिज गर्ने तयारी भएपनि बिग बजेटका फिल्महरु भने तत्काल रिलिज नहुने सम्भावना छ । यो सबै भाइरसको तेस्रो लहरसँग निर्भर देखिन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल दोस्रो लहरको संक्रमण दरमा गिरावट आएको कारण निषेधाज्ञा खुकुलो भएपनि जोखिम भने नटरेको बताउँछन् ।

    हल खुलाउने खबरले जति फिल्मकर्मी उत्साहित छन् उति नै तेस्रो लहर आउने सरकारी प्रक्षेपणले चिन्तित पनि । स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि तेस्रो लहर आउने सक्ने मिति नै तोकेको अवस्था छ । भारतमा अक्टोबरमा तेस्रो लहर उत्कर्षमा पुग्ने बताइएको छ । कोरोनाको यो ग्राफको कारण कतिपय निर्माताहरु ठूलो लगानीका फिल्मलाई तत्काल रिलिज गर्ने मुडमा छैनन् । ४ करोड रुपैयाँ फसाएर बसेको प्रेमगीत ३ होस् र सुदर्शन थापाको म यस्तो गीत गाउँछु २ जुन फिल्मका निर्माता अझै पनि पर्ख र हेरको मनस्थितिमा छन् ।

    ‘हामी अझै पनि पर्ख र हेरको मनस्थितिमा छौं’ प्रेमगीत निर्माता सन्तोष सेनले नेपाल प्रेससँग भने, ‘फिल्म बनाउन ४ करोड खर्च भएको अवस्था छ र कहिले रिलिज गर्ने भन्नेमा हामी परिस्थितिलाई हेरिरहेका छौं ।’

    सानो लगानीका फिल्महरु दशैं, तिहार छठ चाडमा फिल्म रिलिज गर्ने तयारी भएपनि बिग बजेटका फिल्महरु भने तत्काल रिलिज नहुने सम्भावना छ । यो सबै भाइरसको तेस्रो लहरसँग निर्भर देखिन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल दोस्रो लहरको संक्रमण दरमा गिरावट आएको कारण निषेधाज्ञा खुकुलो भएपनि जोखिम भने नटरेको बताउँछन् ।

    ‘अझै पनि २० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमण छ । यसमा पनि डेल्टा भेरिएन्ट मिसिएको छ’ प्रवक्ता पौडेल भन्छन्, ‘निषेधाज्ञा खुकुलो हुनुको अर्थ जनस्वास्थ्यका मापदण्डलाई बिर्सने होइन । अझै सतर्क भएर तेस्रो लहर आउन नदिनेतर्फ अघि बढ्नुपबर्छ ।’

    छिमेकी मुलुक भारतमा अहिले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल संचालनको अनुमति दिइएको थियोे । नेपालमा पनि बिहीबारदेखि ५० प्रतिशत अकुपेन्सीमा हल खुलाउन ससर्त अनुमति दिइएको हो ।

  • बिग बोस बिजेता सिद्धार्थ शुक्लाको हृदयघातले निधन

    बिग बोस बिजेता सिद्धार्थ शुक्लाको हृदयघातले निधन

    काठमाडौं । हृदयघातका कारण भारतीय अभिनेता सिद्धार्थ शुक्लाको सोमबार निधन भएको छ । लोकप्रिय रियालिटी सो बिग बोस १३ का विजेता समेत रहेका शुक्लाको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    उनी पछिल्लोपटक ओटीटीमा प्रसारण भएको बिग बोस र डान्स दिवानेको तेस्रो सिजनमा पनि देखिएका थिए । बिग बोसको कारण उनी चर्चित भएका हुन् । उनले ठूलो पर्दाको फिल्म हम्पटी शर्माकी दुल्हानियाँमा पनि अभिनय गरेका थिए ।

    उत्तर प्रदेशको प्रयागराजबाट मुम्बई पुगेका शुक्ला भारतीय टेलिभिजनका चर्चित अभिनेता हुन् । उनी पछिल्लोपटक एकता कपुरको लोकप्रिय सो ‘ब्रोकन बट ब्यूटीफुल थ्री’मा देखिएका थिए ।

    शुक्लाको निधनले विश्वभरका उनका प्रशंसकलाई दुःखित तुल्याएको छ ।

  • कमेडी च्याम्पियन : विक्कीलाई दर्शकको भोटले जोगायो, सन्तोष पनि फाइनलमा

    कमेडी च्याम्पियन : विक्कीलाई दर्शकको भोटले जोगायो, सन्तोष पनि फाइनलमा

    काठमाडौं । टीभी रियालिटी शो कमेडी च्याम्पियनको अघिल्लो एपिसोडमा अत्यधिक चर्चामा आएका प्रतियोगी विक्की अग्रवाल अन्ततः फाइनलमा पुगेका छन् । दर्शकको भोटबाट विक्कीसहित सन्तोष थापा फाइनलका लागि छानिए भने हिक्मत महरा आउट भए ।

    यसअघि टप ४ को प्रतिस्पर्धाबाट निर्णायकहरुको छनोटका आधारमा भरतमणि पौडेलले फाइनलमा स्थान बनाइसकेका छन् । अब उपाधिका लागि भरतमणि, विक्की र सन्तोषको त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ । यद्यपि, यसबारे कमेडी च्याम्पियन टिमले औपचारिक जानकारी भने दिएको छैन ।

    कमेडी च्याम्पिसन सिजन २ को फाइनल आगामी २ असोजमा हुने छ । त्योभन्दा अघि तीनैजना प्रतियोगीहरु आ-आफ्नो गृहनगरको भ्रमणमा जानेछन् । भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाका र विक्की सिक्कमका हुन् ।

    टप ४ को प्रतिस्पर्धामा भरतमणि र विक्कीको सर्वाधिक चर्चा भएको थियो । भरतमणिले पूर्वयुवराज पारसको नक्कल उतारेर वाहवाही बटुलेका थिए । विक्कीले चाहिँ ‘पेन्टोमाइम’ प्रस्तुति दिए, जसमाथि सामाजिक सञ्जालमा निकै बहस भयो । उनको प्रस्तुतिमा आलोचनात्मक टिप्पणी गरेका निर्णायक सन्तोष पन्त विवादमा परेका थिए ।

  • करिश्माले नेपाल भित्राइन् विश्वचर्चित इलेक्ट्रोनिक ब्रान्ड इन्टेक्स, फिल्मसँगै व्यवसायलाई अघि बढाउने घोषणा (भिडियो)

    करिश्माले नेपाल भित्राइन् विश्वचर्चित इलेक्ट्रोनिक ब्रान्ड इन्टेक्स, फिल्मसँगै व्यवसायलाई अघि बढाउने घोषणा (भिडियो)

    काठमाडौं । नायिका करिश्मा मानन्धर फिल्मसँगै व्यवसायमा पनि सक्रिय भएकी छिन् । चर्चित अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स ब्रान्ड इन्टेक्सलाई नेपाल भित्राउँदै करिश्माले व्यवसायको थालनी गरेकी हुन् । करिश्माको कम्पनी रिसिक टेडिङ कन्सर्न प्रालिले यो ब्रान्ड भित्र्याएको हो ।

    उक्त कम्पनीकी म्यानेजिङ डिरेक्टर समेत रहेकी मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु विश्वस्त रहेको समेत बताइन् । बुधबार राजधानीमा आयोजित प्रेसमिटमा करिश्मा र उनकी छोरी कविताले संयुक्तरुपमा ब्रान्डको घोषणा गरे ।

    इक्टेक्स कम्पनीले परिवारका लागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु बिश्व बजारमा उपलब्ध गराउदै आएको छ । २५ वर्ष अघिबाट यस ब्राण्डका सामानहरु विश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो ।

    ८ वर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताएको छ । रिसिककी म्यानेजिङ डाइरेक्टर समेत मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताको रोजाई इन्टेकमा हुने विश्वास गरेको सुनाइन् ।

     

  • साढे दुई करोडमा वर्षाले खरिद गरिन् अपार्टमेन्ट, भन्छिन् : मेरो सपना पुरा भयो !

    साढे दुई करोडमा वर्षाले खरिद गरिन् अपार्टमेन्ट, भन्छिन् : मेरो सपना पुरा भयो !

    काठमाडौं । नायिका वर्षा शिवाकोटी अहिले फिल्मभन्दा अन्य कुराले पनि चर्चामा छिन् । प्रेमी राज कट्वालसँगको उनको म्युजिक भिडिओको चर्चा अहिले फिल्म नगरीमा व्याप्त छ ।

    यही क्रममा वर्षालाई चर्चित बनाउने काम गरेको छ उनले यसैसाता खरिद गरेको महंगो अपार्टमेन्टले । वर्षाले ललितपुर हात्तीवनस्थित सिटी स्केपमा २ करोड ५० लाख मूल्य तिरेर अपार्टमेन्ट खरिद गरेकी छिन् ।

    गतसाता खरिद गरेको उक्त अपार्टमेन्टमा साइत हेराएर आज बुधबारदेखि उनी गृहप्रवेश गरिन् । अपार्टमेन्टमा उनले पूजापाठ गरेर सामान पनि सारेकी छिन् । अहिले भक्तपुर कौशलटारमा बस्दै आएकी वर्षा आजदेखि आमासँग उक्त अपार्टमेन्टमा बस्नेछिन् ।

    ‘लामो समयदेखिको मेरो सपना पुरा भएको छ’ नेपाल प्रेससँग वर्षाले भनिन् । केही समयअघि कार समेत किनेकी वर्षाले निषेधाज्ञा सुरु भएपछि अपार्टमेन्ट खरिद प्रक्रिया थालेकी थिइन् ।

    वर्षा अभिनित चार फिल्म अहिले रिलिजको तयारीमा छन् । जसमा लक्का जवान, परदेशी २, मनसँग मन र ए साथी सुन छन् ।

  • भोलिदेखि फिल्म हल खुलाउन अनुमति दिने प्रशासनको निर्णय

    भोलिदेखि फिल्म हल खुलाउन अनुमति दिने प्रशासनको निर्णय

    काठमाडौं । काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खाेल्न पाइने भएकाे छ। आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

    नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बताए ।

    ‘स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिएका हौं’ सीडीओ पराजुलीले भने ।

    उनले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको जनाए । सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । प्रशासनले निर्णय गरेपनि फिल्म हलहरु तत्काल खुल्ने अवस्था नरहेको क्यूएफएक्स संचालक नकिम उद्दिनले बताए ।

  • अमिताभ बच्चन, अनुपम खेर, परिणिती चोपडा र बोमन इरानी फिल्म सुटिङलाई नेपाल आउँदै

    अमिताभ बच्चन, अनुपम खेर, परिणिती चोपडा र बोमन इरानी फिल्म सुटिङलाई नेपाल आउँदै

    काठमाडौं । बलिउड अभिनेताहरु अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा फिल्म सुटिङका लागि अक्टोबर पहिलो साता नेपाल आउने भएका छन् । सुरज वर्जत्यले निर्देशन गर्ने फिल्म ‘उचार्ई’ छायांकनका लागि उनीहरु नेपाल आउन लागेको फिल्मको नेपाल व्यवस्थापन हेर्ने कम्पनी थ्री ह्विलर्सले नेपाल प्रेसलाई जानकारी दिएको छ ।

    अक्टोबर ५ मा काठमाडौंदेखि सुरु हुने सुटिङ लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा समेत हुने भएको छ । सुटिङ अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले संचार मन्त्रालयसँग अनुमति मागेको छ । अमिताभ बच्चन काठमाडौंसम्म आइपुग्ने भएपनि स्वास्थ्यका कारण हिमाली भेगमा सुटिङका लागि जाने वा नजाने निश्चित नभैसकेको कम्पनीका एक सदस्यले जानकारी दिए ।

    सुटिङ र यात्रा गरेर फिल्म युनिट एक महीना नेपालमा रहने भएको छ । फिल्म छायांकन नेपालमा हुने जानकारी दुई बलिउड वेबपोर्टल कोइमोइपिंकभिल्लाले पनि दिएका छन् । फिल्ममा नीना गुप्ताको पनि मुख्य भूमिका हुने जनाइएको छ ।

    मित्रताको कथा प्रस्तुत गर्ने फिल्मको सम्पूर्ण छायांकन र पोस्टप्रोडक्सन २०२२ जनवरीमा सक्ने लक्ष्य छ । यो फिल्ममार्फत सुरज र अमिताभले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । अर्को वर्षको मध्यदेखि फिल्मलाई हलमै रिलिज गर्ने तयारीमा सुरज छन् ।

  • र्‍यापर शर्माले ल्याए दोहोरी र र्‍यापको कक्टेल ‘ताल न बेताल’ (भिडियोसहित)

    र्‍यापर शर्माले ल्याए दोहोरी र र्‍यापको कक्टेल ‘ताल न बेताल’ (भिडियोसहित)

    काठमाडौं । र्‍यापर रेडक्याप (गौरब शर्मा)ले ‘ताल न बेताल’ शीर्षकमा दोहोरी र र्यापको मिश्रण शैलीको नयाँ गीत बजारमा ल्याएका छन् ।

    रेडक्यापको शब्द रहेको उक्त गीतमा दृष्टि पौडेलले आवाज दिएकी छन् । गीतको र्‍याप भागमा रेडक्यापले नै स्वार भरेका छन् ।

    गीत टिकटकले ल्याएको विकृतिमाथि केन्द्रित भएको रेडक्यापले बताए । टिकटकमा लाइक र भ्यूजका लागि जे पनि गर्ने प्रचलनलाई व्यंग्य गर्दै गीत ल्याइएको उनको भनाइ छ ।

  • विष्णु माझीको ‘चरी जेलैमा’द्वारा सबैभन्दा छिटो १ करोड भ्यूज पाउने नेपाली गीतको कीर्तिमान

    विष्णु माझीको ‘चरी जेलैमा’द्वारा सबैभन्दा छिटो १ करोड भ्यूज पाउने नेपाली गीतको कीर्तिमान

    काठमाडौं । विष्णु माझीद्वारा स्वरबद्ध गीत ‘चरी जेलैमा’ भिडिओ साझेदारी साइट युट्युवमा सबैभन्दा छिटो १ करोड पटक हेरिने नेपाली गीत बनेको छ । १३ दिनमा यसलाई १ करोड भ्यूज प्राप्त भयो ।

    सुरुआती पाँच दिनमा २५ लाख भ्यूज प्राप्त गरेको यो गीतलाई ७ दिनमा ७५ लाख पटक हेरिएको छ । यो गीतलाई पछिल्लो सात दिनमा हरेक दिन औषत १० लाख पटक हेरिएको छ ।

    ‘सुरुआती भ्यूज सुस्त भएपनि चर्चाको कारण पछिल्लो समय यसको भ्यूजसँग उकालो लागेको छ’ युट्युव एनालिस्ट कुमार व्यञ्जनकारले नेपाल प्रेसलाई भने, ‘यसले कुरा बुझ्न पर्च र टाढा भएपनि गीतको रेकर्डलाई पनि उछिनेको छ ।’

    चरी जेलैमालाई मंगलबारसम्म १ करोड ३१ लाखभन्दा बढी पटक हेरिएको छ । प्रकाश सपुतको कुरा बुझ्न पर्च र पल शाह अभिनित टाढा भएपनिले १५ दिनमा १ करोड भ्यूज प्राप्त गरेका थिए ।

  • आकाशलाई प्रश्न : प्रेमको ‘आकाश’ मा ‘युद्ध’ किन हुन्छ (भिडिओ)

    आकाशलाई प्रश्न : प्रेमको ‘आकाश’ मा ‘युद्ध’ किन हुन्छ (भिडिओ)

    काठमाडौं । पूजा शर्मासँगको प्रेमबाट अलग भएपनि नायक आकाश श्रेष्ठलाई अहिले विगतले पछ्याइरहेको छ । पूजासँगको सम्बन्धलाई लिएर अहिले पनि मिडियाको प्रश्नले आकाशलाई छाडेको छैन ।

    मंगलबार राजधानीमा आयोजित म्युजिक भिडिओ लन्च कार्यक्रममा आकाशले यस्तै प्रश्नको सामना गर्नुपर्‍यो । पूजा अहिले युद्ध बानियाँ नामक नयाँ युवकको प्रेम सम्बन्धमा रहेको चर्चा छ ।

    प्रेमको आकाशमा युद्ध किन हुन्छ ? एक संचारकर्मीले घुमाउरो ढंगले सोधेको यो जवाफमा आकाशले कूटनीतिक जवाफ दिए । ‘माया प्रेममा अल्झनु हुन्न, अगाडि बढ्नुपर्छ’ उनले भने । उनको यो जवाफ सुन्दा लाग्छ, उनी विगतबाट टाढिने प्रयासमा छन् ।

    मेल भर्सनमा ‘तिम्रो नग्मा’ गीत लन्च :

    स्वरुपराज आचार्यको स्वर समावेश गीत ‘तिम्रो नग्मा’ उक्त कार्यक्रममा लन्च गरियो । दीपक सिलवालको शब्द तथा संगीत रहेको गीतमा जुम्ल्हाया दिदीबहिनी जोडी प्रिन्सी र प्रिज्मा खतिवडा र आकाशले अभिनय गरेका छन् । माइकल चन्दले भिडिओ निर्देशन गरेका छन् ।

  • फिल्म ‘लाइफ इन एलए’को शीर्ष गीत लन्च, दशैंमा अमेरिकामा फिल्म रिलिज हुँदै

    फिल्म ‘लाइफ इन एलए’को शीर्ष गीत लन्च, दशैंमा अमेरिकामा फिल्म रिलिज हुँदै

    काठमाडौं । नेपाल तथा अमेरिकामा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’को गीत लन्च भएको छ । मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा ‘पागल प्रेमी’ बोलको गीत सार्वजनिक भयो ।

    फिल्मका मुख्य कलाकारहरु अकेशा विष्ट, ब्यास विस्सु र शिल्पा मास्के गीतमा फिचर्ड छन् । एलिस कार्की र प्रतीक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर समावेश छ ।

    सूर्य एन श्रेष्ठले निर्देशन गरेको फिल्मले त्रिकोणात्मक प्रेमकथा पेश गर्छ । गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको मुख्य भूमिका छ ।

    ब्यास इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको फिल्मलाई ब्यास विस्सुले निर्माण गरेका हुन् । नेपालबाहेकका विदेशी मुलुकमा फिल्म आगामी दशैंमा रिलिज हुने जनाइएको छ । हेर्नूस गीत :

  • नायक निखिल उप्रेती एकीकृत शक्ति नेपालको मोर्चामा आबद्ध, घोषणापत्र पढेर सुनाउँदै दलहरुप्रति क्रुद्ध

    नायक निखिल उप्रेती एकीकृत शक्ति नेपालको मोर्चामा आबद्ध, घोषणापत्र पढेर सुनाउँदै दलहरुप्रति क्रुद्ध

    काठमाडौं । हिन्दू राष्ट्र र एकीकृत नेपालको नारासहित एकीकृत शक्ति नेपाल नामक मोर्चा घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा मोर्चाको घोषणा भयो ।

    अभिनेता निखिल उप्रेतीले मोर्चाको घोषणापत्र पढेर सुनाएका थिए । मोर्चाका एक सदस्यका अनुसार पत्रकार देवप्रकाश त्रिपाठी संयोजक रहेको यो मोर्चालाई भविष्यमा राजनीतिक दलको रुपमा गठन गर्ने तयारी भैरहेको छ ।

    मोर्चाको सक्रिय सदस्यको रुपमा निखिल समेत छन् । अभिनेत्री मनीषा कोइरालालाई पनि समूहमा ल्याउन छलफल भैरहेको तर, उनले कुनै निर्णय नदिएको ती सदस्यले नेपाल प्रेसलाई जानकारी दिए ।

    मोर्चाको घोषणा सभामा आफूलाई निम्तो आएपनि आफू नगएको र भविष्यमा राजनीतिक पार्टीमा लाग्ने इच्छा नरहेको अभिनेत्री श्वेता खड्काले नेपाल प्रेसलाई जानकारी दिइन् ।

    मोर्चा घोषणा लगत्तै त्रिपाठी र नायक निखिलसहितका पदाधिकारी भद्रकाली मन्दिरमा गएर सपथ खाएका थिए । घोषणापत्र पढेर सुनाउँदै नायक उपे्रतीले मूलधारका राजनीतिक दलले गर्दा देशको हालत बिग्रिएको भन्दै आलोचना गरेका थिए ।

    मोर्चाको उद्देश्य जातिय राजनीति हुन नदिने, राष्ट्रवादी शक्तिलाई एकढिक्का बनाएर लैजाने, संघीयता खारेजी गर्नुपर्ने र हिन्दू राष्ट्र कायम गर्नुपर्ने लगायतका माग छन् । डा. रामहरि उप्रेती महासचिव रहेको मोर्चालाई पार्टीकै रुप दिने वा मोर्चाकै रुपमा निरन्तरता दिनेबारे कुनै निर्णय नभएको ती सदस्यले जनाए ।

  • कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार देखिएन : नर्भिक अस्पताल

    कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार देखिएन : नर्भिक अस्पताल

    काठमाडौं । सडक दुर्घटनामा गम्भिर घाइते भएर नर्भिक अस्पतालमा उपचाररत नायिका तथा मोडल निशा घिमिरेको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

    मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निशाको अवस्थामा खासै सुधार नभएको जानकारी दिइयो । दुर्घटनापछि घिमिरेको ब्रेनमा ड्यामेज भएको र लामो समय उपचारविहिन अवस्थामा राखिएकाले समेत अहिले कोसिसका बाबजुद उनको अवस्थामा सुधार हुन नसकेको अस्पतालले जनाएको छ ।

    निशाको उपचारको नेतृत्व गरेका डा. पंकज जलानले सबै विकल्पमा गएर उपचार गरिएको तर, सुधार नआएको बताए । उनका अनुसार निशाको दुर्घटनामा ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेको पूर्णरुपमा सामान्य हुने अवस्था छैन ।

    केही म्युजिक भिडिओ र केही फिल्ममा समेत अभिनय गरेकी निशाको उद्दार गरि अस्पतालले निःशुल्क उपचार गर्दै आएको थियो । हालसम्म निशाको उपचारमा ५० लाखभन्दा बढी रकम खर्च भएको र उपचारका लागि नर्भिकले कसैबाट पनि सहयोग नलिएको समेत अस्पतालले जनाएको छ ।

    निशाको उपचारका लागि संकलन गरिएको रकमबारे अस्पताल अनभिज्ञ रहेको समेत बताइएको छ । पत्रकार सम्मेलनमा निशाका बुवा प्रेम घिमिरेले छोरीलाई लिएर टीकटक लगायतका सामाजिक संजालमा भ्रामक भिडिओ पोस्ट भएको भन्दै कार्वाहीको माग गरेका छन् ।

  • समिरको ‘मै मरी जाउँ’मा श्रेया र चक्रको रोमान्स (भिडिओ)

    समिरको ‘मै मरी जाउँ’मा श्रेया र चक्रको रोमान्स (भिडिओ)

    काठमाडौं । ‘दुनियाँ बेग्लै छ, पिच रोड’ लगायतका गीतका गायक समिर आचार्यको स्वरमा समावेश नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ ।

    वसन्त विवस आचार्यको शब्दमा समावेश यो गीतमा समिर आचार्यकै संगीत छ । यो गीतलाई समिरले केही फरक शैलीमा बनाउने कोशिश गरेका छन् ।

    यो गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ ।

    भिडियोमा शान थापाको निर्देशन, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । गायक समिर आचार्यले यसपटक आफूले केही फरक स्वादमा गीत सार्वजनिक गरेकाले पनि दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त गरे ।

     

  • उर्मिलाले जितिन् ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को ताज

    उर्मिलाले जितिन् ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को ताज

    काठमाडौंँ । ‘मिसेस नेपाल ग्ल्याम २०२१’को उपाधि काठमाडौकी उर्मिला कार्कीले जितेकी छन् । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्षसहित मिसेस ट्यालेन्ट, मिसेस पपुलर, भ्यूअर च्वाइस, बेस्ट हेयर उपाधि समेत हात पारिन् ।

    उर्मिलाले सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेशलन २०२१’ प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । फस्ट रनरअपको उपाधि रमिता यादव र सेकेन्ड रनरअप सरिता श्रेष्ठले जिते । रमिताले मस्ट डिसिप्लेन उपाधिसमेत जित्दा सरिताले बेस्ट र्‍याम्प वाक, फिगर र फोटोजेनिकको उपाधि हात पारिन् ।

    बिजेतालाई पूर्वमहिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी, अभिनेता धिरेन शाक्य, आयोजक संस्थाकी अध्यक्ष प्रीति कार्कीले प्रमाणपत्र प्रदान दिएका थिए । प्रतियोगितामा बवी शाह बेष्ट स्माइल, रंगलक्ष्मी फुयाँल बेस्ट स्किन, मलिसा शर्मा फेसबुक च्वाईस, शान्ति मगर लिम्बुले मिसेस ब्युटीफुल, सुनिता श्रेष्ठ बेष्ट फिगर, अन्जना खड्का बेस्ट डान्स, शोभा शाही बेष्ट कन्फिडेन्ट चुनिए ।

    महिलाहरुमा अत्मविश्वास बढाउँदै उनीहरुको व्यक्तित्व विकाससहित नेपालको प्रतिनिधित्व अन्तराष्ट्रिय क्षेत्रमा बढाउन कार्यक्रमले सहयोग पुग्ने कार्यक्रम संयोजक आकाश गिरीले बताए । प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

  • अखण्ड मधेश भर्सेस स्वतन्त्र मधेश : मधेशी भूराजनीतिमाथि बनेको फिल्म ‘एक’ ट्रेलर रिलिज

    अखण्ड मधेश भर्सेस स्वतन्त्र मधेश : मधेशी भूराजनीतिमाथि बनेको फिल्म ‘एक’ ट्रेलर रिलिज

    काठमाडौं । मनोज पण्डित निर्देशित फिल्म ‘एक’को अफिसियल ट्रेलर रिलिज भएको छ । दशैं घटस्थापना छेकोमा असोज २१ मा रिलिज हुने फिल्मले मधेशमा भूराजनीतिको कथा पेश गर्छ । ग्रेटर नेपाल, बधशाला र छायाँ निर्देशक पण्डितले पल्टिकल ड्रामास्वरुप यो फिल्म ल्याएका हुन् । प्रायः फिल्ममा राजनीति, समाज र मानवीयतालाई चित्रण गर्ने पण्डितले यसमा चाहिँ नेपाल-भारत सीमावर्ती भूगोललाई उठाएका छन् ।

    विदेशी षड्यन्त्रबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय जतिसक्दो चाँडो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो फिल्मले सीआइएस नामक एउटा जासूसी निकायको परिकल्पना गरेको छ । देश जोगाउन एउटा इमान्दार एजेन्टको संघर्ष यसको द्वन्द्व हो । मुख्य भूमिकामा विशाल पोखरेल छन् जसले इमान्दार एजेन्टको भूमिका निर्वाह गरेका छन् । ज्योत्सना योगीले उनको सहयोगी एजेन्टको चरित्र चित्रण गरेकी छिन् ।

    ‘मधेश विकास र शान्तिको पक्षमा अगाडि बढ्ने प्रक्रियामा रहँदा यसलाई विथोल्न स्वतन्त्र मधेशको अवधारणा स्थापित गरेर नेपाललाई सँधै अस्थिर तुल्याइराख्ने षड्यन्त्रको शिकार भएको नेपाली यथार्थलाई फिल्म एकले सिनेम्याटिक चुनौति दिएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

    फिल्ममा स्वतन्त्र मधेशको नारा बोक्ने पात्रको भूमिका अभिनेता प्रमोद अग्रहरिले निर्वाह गरेका छन् । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको फिल्मको निर्माता आत्मा गुरागाइँ र सोफिया थापा छन् । छायांकन दीपक बज्राचार्य, सम्पादन भरत रेग्मी, संगीत गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको छ ।

    फिल्ममा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरुन अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेलले अभिनय गरेका छन् ।

    कोरोना महामारीको कारण नेपाली ओटीटी प्लेटफर्ममार्फत फिल्मलाई रिलिज गरिने भएको छ । असोज २१ गतेदेखि सिनेमा घर एप, म्याक्स टीभ, नेट टीभी, डीस होमको च्यानल नम्बर ५५५, भायनेट तथा ओहो मूभिजबाट फिल्म प्रदर्शनमा आउने भएको छ ।

  • मण्डलामा फर्कियो ‘युद्धको घाउ’, सशष्त्र द्वन्द्वमाथि भर्चुअल नाटक (तस्विरहरु)

    मण्डलामा फर्कियो ‘युद्धको घाउ’, सशष्त्र द्वन्द्वमाथि भर्चुअल नाटक (तस्विरहरु)

    काठमाडौं । दशवर्षे सशष्त्र द्वन्द्वका क्रममा भएका बेपत्ता, हत्या, विस्थापित, यातना, अपांगता, यौन हिंसाको घटनालाई स्मरण गर्दै सोमबार मण्डला थिएटरमा ‘युद्धका घाउहरु’ नाटक मञ्चन गरिएको छ ।

    मण्डला थिएटर र जर्मनी दूतावास मिलेर गरिएको मञ्चनलाई युट्युव, फेसबुकमार्फत भर्चुअल प्रस्तुत गरिएको थियो । मण्डला नाटक स्कुलको पहिलो वर्षका विद्यार्थी मिलेर नाटक प्रसतुत गरेका हुन् ।

    नाटकले धादिङको जोगिमारा गाउँका १७ जना व्यक्तिको कालिकोटमा विमानस्थल निर्माण गर्दैगर्दा तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको थियो विषयलाई चित्रण गरेको छ ।

    जीविकोपार्जन गर्ने घरकै सदस्य राज्यबाट अनाहकमा मारिएपछि गाउँको एउटा गरिब परिवारले भोगेको भोगाइलाई नाटकमा समेट्ने प्रयास गरिएको छ ।

    सरिता कठायतको लेखन, आकाश नेपालीको निर्देशन, हाङ्गा ओ हाङ्ग राईको मंच परिकल्पना र दिक्षा चौधरीको प्रकाश परिकल्पना रहेको नाटकको नेपाली शीर्षक जिउँदा लास र अंग्रेजी नाम युद्धका घाउ राखिएको छ ।

     

  • दार्जिलिङमा गोपाल योञ्जनको प्रतिमा

    दार्जिलिङमा गोपाल योञ्जनको प्रतिमा

    काठमाडौं । कालजयी संगीतकार गोपाल योञ्जनको सम्मान र स्मरणमा दार्जिलिङको भानु भवनमा प्रतिमा अनावरण गरिएको छ ।

    त्यहाँका संगीतकार आनन्द राईका अनुसार एक कार्यक्रमका बीच योञ्जनको प्रतिमा अनावरण गरिएको हो । मित्र लामाको अगुवाइमा योञ्जन प्रतिमा स्थापना थालिएको थियो ।

    ‘मूर्तिकारको जति प्रशंसा गरे पनि अपुग हुनेछ, सहृदय नमन’, संगीतकार राईले फेसबुकमा लेखेका छन्– ‘यस कार्यलाई मूर्त रूप दिन आर्थिक सहयोग तथा साथ दिनुहुने महान हृदयहरूलाई नमन ।’