Category: कलाप्रेस

  • ‘चरी जेलैमा’ को अर्को माइलस्टोन : २६ दिनमै दुई करोड भ्यूज

    ‘चरी जेलैमा’ को अर्को माइलस्टोन : २६ दिनमै दुई करोड भ्यूज

    काठमाडौं । विष्णु माझीको स्वरमा रहेको ‘चरी जेलैमा’ गीतले युट्यूवमा अर्को ठूलो कीर्तिमान कायम गरेको छ । एक महिनाभित्रै २ करोड भ्यूज पार गर्दै गीतले नयाँ कीर्तिमान राखेको हो ।

    गत १८ अगष्टमा युट्यूवमा अपलोड गरिएको गीतले यसअघि छोटो समयमा १ करोड भ्यूजको रेकर्ड समेत राखेको थियो । १३ दिनमै १ करोड पुगेको भ्यूज थप १७ दिनमा दोब्बर भएको छ । यससँगै छोटो समय (२६ दिन) मा दुई करोड भ्यूज पाउने गीतको रकर्ड पनि यसले राखेको छ ।

    यसअघि यो रेकर्ड अस्मिता अधिकारीले गाएको गीत ‘टाढा भएपनि’ को नाममा थियो । उक्त गीतले ३८ दिनमा दुई करोड भ्यूज क्रस गरेकोमा चरी जेलैमाले त्यसलाई ब्रेक गरेको हो । यस वर्षको तीजमा गाउँदेखि शहरसम्म यो गीतले एकछत्र आधिपत्य जमाएको थियो । अहिले पनि गीतले उत्तिकै आक्रमक भ्यूज बटुलिरहेको छ ।

    यसअघि विष्णु माझीले गाएको ‘सालको पात’ बोलको गीत उनको सर्वाधिक गीतका रुपमा रहेको थियो । उक्त गीतले अहिलेसम्म ७ करोडभन्दा बढी भ्यूज बटुलेको छ । चरी जेलैमाको अहिलको गति हेर्दा सालको पातको रेकर्ड ब्रेक गर्ने सम्भावना देखिएको छ ।

    ‘चरी जेलैमा’ लाई विष्णुका श्रीमान सुन्दरमणि अधिकारीले लेखेका र संगीतवद्ध गरेका हुन् । यो गीत हिट भएसँगै विष्णुमाझीको सार्वजनिक जीवन पनि चर्चाको विषय बनिरहेको छ ।

  • बुनु श्रेष्ठको ‘तिमी मेरो हुन सकेनौ’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

    बुनु श्रेष्ठको ‘तिमी मेरो हुन सकेनौ’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

    काठमाडौं । गायिका बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘तिमी मेरो हुन सकेनौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नरेश प्रधानको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । रिदम कँडेलको संगीत संयोजन रहेको उक्त गीतमा साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीले ध्वनि मुद्रण गरेका छन् ।

    मनोज राजभण्डारीको निर्देशन रहेको उक्त वियोगान्त प्रेमकथामा आधारित म्युजिक भिडियोमा मोडल निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा दिपेन बस्नेत र सास्वत श्रेष्ठको छायाँकन तथा मेरोन राजभण्डारीको कथा एवं सम्पादन रहेको छ ।

    एनएफडिसीको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा किमत गौतमले प्राविधिक निर्देशन, श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र मित्र डि. गुरुङले कलर करेक्सन गरेका हुन् भने भिडियोमा रहेको ड्रोन शटलाई तार्जन लिम्बुले खिचेका हुन् । भिडियोमा दीपेन बस्नेत र सास्वत श्रेष्ठको छायांकन तथा मेरोन राजभण्डारीको कथा एवं सम्पादन रहेको छ ।

    मेल, फिमेल र डुएट गरी ३ संस्करणमा सार्वजनिक हुने उक्त गीतको मेल भर्जनको म्युजिक भिडियोलाई स्टुडियो साउण्ड मिलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

  • किशोरीले एक महिना फिल्म पढे, दुई हप्तामा फिल्म बनाए

    किशोरीले एक महिना फिल्म पढे, दुई हप्तामा फिल्म बनाए

    काठमाडौं । एक महिना सिकाइ अनि दुई हप्तामा फिल्म । क्यामेरा र फिल्ममेकिङको ‘फ’सँगपनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउन गाह्रै पर्छ ।

    तर, कृपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’अभियानअन्तर्गत रहेर गरेको फिल्म मेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले एक महिना सिकेकै भरमा उम्दा फिल्मबनाएर देखाए ।

    एक महिना सिकेका उनीहरूले बाँकी दुई हप्तामा तयार गरेका फिल्म नै देखाए । नेपाल चलचित्र विकास बोर्डको हलमा उनीहरूले बनाएका फिल्म हेर्दा सिकारु हैन अनुभवी फिल्म मेकिङको झलक देख्न सकिन्थ्यो ।

    शुक्रबार १० जना किशोरीले एक महिने फिल्म मेकिङ कार्यशाला अन्तर्गत बनाएका ५ फिल्मको प्रदर्शन गरिएको थियो । ‘वुमन मेक फिल्मस्’ शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेसनल कलेज र चलचित्र विकास बोर्डले पनि सघाएका थिए । ५ फिल्मकोे लम्बाई औसतमा ५ मिनेट थियो ।

    नेपाली फिल्ममा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ । महिला सम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गरेको आयोजक कृपालयको धारणा थियो ।

    कृपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिएको र यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको जानकारी गराइन् ।

    सुरुमा कार्यशाला भौतिक रुपमै काठमाडौ र चित्लाङ गरी दुई ठाउँमा गर्ने योजना रहे पनि महामारीको दोस्रो लहर आएसँगै कार्यशाला भर्चुअल रुपमा सम्पन्न गरिएको थियो ।
    कार्यशालाका प्रोजेक्ट को–अर्डिनेटर नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्म मेकिङमा दीक्षित गर्ने प्रयास गरेको जनाए

    ‘एक महिनालामो तालिममा १८ देखि २४ वर्षसम्मका किशोरीले नेपाली समाजको बनावटमाथि रचनात्मक प्रश्न गर्ने शिल्प सिके । यी पाँच चलचित्रको प्रदर्शनले यो महिला चलचित्रकर्मीलाई क्षमता देखाउन राम्रो मञ्च प्रदान गर्नुका साथै आत्मविश्वासी बनाएको महसुस गरेका छौँ,’ नवविजयले भने ।

    प्लान नेपालकी अभियान विशेषज्ञ सृजना बज्राचार्यले छोटो समयमै किशोरीहरूले उत्कृष्ट फिल्म बनाउन सफल भएकोमा खुशी लागेको बताइन् । ‘यति छोटो तालिमको भरमा यति राम्रा बन्लान् भन्ने सोचेको थिइँन तर उनीहरूले उत्कृष्ट फिल्म बनाएका छन्,’ उनको भनाइ थियो ।

    एक महिने कार्यशालमा आश्रुती त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मिता लावती, श्रीषा कुँवर, मीरा खड्का र ज्याती बेलबासे सहभागी थिए । १० जनाले ५ समूहमा विभक्त भई बनाएका फिल्ममा उनीहरूले ५ फरक महिलाको जिन्दगीलाई फिल्ममा समावेश गरेका थिए । यसरी बनेका सबै फिल्म डकुमेन्ट्री हुन् ।

    यौनकर्मीको कथामा फिल्म बनाएकी पुष्पा जोशीले कार्यशालाले आफूलाई फिल्म बनाउने कला मात्र नसिकाएर महिलाका मुद्दालाई लेन्सको आँखाले कसरी हेर्न सकिन्छ भन्ने पनि ज्ञान दिएको बताइन् ।

    उनले भनिन्, ‘यो तालिमले मलाई चलचित्र निर्माण सम्बन्धी प्रविधिक ज्ञान त दियो नै साथै महिलालाई बुझ्ने र यसलाई प्रविधिका माध्यमबाट अभिव्यक्त गर्ने कौशल सिकाएको छ । भविष्यमा म अझै धेरै डकुमेन्ट्री चलचित्र बनाउने छु फिल्ममा पितृसत्ताको वर्चस्वलाई थोरै भएपनि चुनौती दिने प्रयास गर्नेछु ।’

    १ महिने कार्यशालामा उनीहरूलाई राजन कठेत, रजिला श्रेष्ठ, बबिन दुलाललगायतले प्रशिक्षण दिएकाथिए । किशोरीलाई प्रशिक्षण दिएका राजन कठेतले कार्यशालाले फिल्म बनाउने सीपसँगै किशोरीमा समाजसँग घुलमिल हुने गुणको पनिविकास गराएको धारणा राखे ।

    ‘यति छोटो समयावधिमा यी दशचलचित्रकर्मीले डकुमेन्ट्री फिल्म बनाउन चाहिने आधारभुत ज्ञान त पाए नै, यसैका साथै चलचित्रकर्मीले अपरिचित व्यक्तिमाझ आफूलाई कसरी पस्किने र उनीहरूको जीवनबारे चलचित्र निर्माण गर्ने ज्ञान पनि हासिल गरे,’ उनको धारणा थियो ।

  • पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

    पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

    काठमाडौं । विष्णु माझीद्वारा स्वरबद्ध तीज गीत ‘चरी जेलैमा’ लगातार तीन सातादेखि युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ ।

    १३ दिनमै सर्वाधिक छिटो १ करोड भ्यूजको कीर्तिमान राखेको गीतलाई पछिल्लो साता पनि ५५ लाख ५९ हजार पटक हेरिएको छ । शनिबार बिहानसम्म १ करोड ८९ लाख कूल भ्यूज छ यसको ।

    टीकटक, युट्युवसहितका सामाजिक संजालमा प्राप्त चर्चाको कारण यसले आगामी सप्ताहन्तमै २ करोड भ्यूज मार्क प्राप्त गर्न सक्ने युट्युव एनालिस्ट कुमार व्यञ्जनकारले बताए ।

    उनका अनुसार केही दिनमै २ करोड भ्यूजको सफलता हासिल गरे यो गीतले सर्वाधिक छिटो २ करोड भ्यूज प्राप्त गर्ने नेपाली गीतको रेकर्ड राख्नेछ ।

    ‘तीजको कारण गीतको सूचीमा तीज गीतको दबदबा थियो’ उनले भने, ‘आउने सातादेखि नियमित गीतहरुले बढी भ्यूज पाउन सक्छन् ।’ रुटिन अफ नेपाल बन्दले तयार पारेको गीत सूचीमा कुन-कुन गीत छन् यो साता । हेनूस :

    १) चरी जेलैमा : विष्णु माझी

    २) आयो तीजको लहर : मेलिना राई

    ३) कुरा बुझ्न पर्च : प्रकाश सपुत

    ४) ए जिन्दगी : प्रमोद खरेल

    ५) कुरा काट्ने : खुमन अधिकारी

    ६) घन्काइ देऊ मादलु : सुमित्रा कोइराला

    ७) छम्की देऊ पानी : सुकदेव र सुनिता

    ८) जोखौं माया : मेलिना राई र विष्णु घिमिरे

    ९) माया बिरानी २ –तातो गोली : महेश काफ्ले

    १०) तिम्रो मनमा एक कान्छा : निकिता थापा

  • दशैंदेखि ‘जातको प्रश्न’को दोस्रो सिजन प्रसारण हुँदै, राजेश हमालदेखि दयाहाङ राईसम्मले कार्यक्रम होस्ट गर्ने (भिडिओ)

    दशैंदेखि ‘जातको प्रश्न’को दोस्रो सिजन प्रसारण हुँदै, राजेश हमालदेखि दयाहाङ राईसम्मले कार्यक्रम होस्ट गर्ने (भिडिओ)

    काठमाडौं । टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’को दोस्रो सिजन असोज २२ गतेदेखि प्रसारण हुने भएको छ । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

    १२ एपिसोड रहेको कार्यक्रमको पहिलो सिजनले सफलता प्राप्त गरेपछि समता फाउन्डेसनले दोस्रो सिजन ल्याउन लागेको हो । अहिले दोस्रो अध्यायको लागि एपिसोड छायांकन भैरहेको छ ।

    दोस्रो सिजनलाई अभिनेताद्धय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, गायक प्रकाश सपुत र संचारकर्मी निश्मा ढुंगाना चौधरीले संचालन गर्ने भएका छन् ।

    शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने जनाइएको कार्यक्रमको दोस्रो सिजन पनि १२ भागको हुनेछ ।

    कार्यक्रममा बोल्दै अभिनेता हमालले जतिसुकै राम्रो संविधान बनाएपनि व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताए । जातको प्रश्नको पहिलो सिजन सुटिङ गर्दा आफूले जातिय विभेदलाई गहिराइबाट बुझ्न अनुभव पाएको बताउँदै हमालले संविधानमा लेख्नुभन्दा व्यवहारमा उतार्नु महत्वपूर्ण रहेको बताए ।

    अर्का होस्ट तथा अभिनेता राईले समुदायमा गरिने जातीय विभेद एउटा समुदायको मात्र चासोको विषय नरहेको बताए । ‘जब हाम्रो समाजमा जातकै आधारमा विभेद गरिन्छ भने त्यो समाजकै ठूलो समस्या हो । म पनि समाजको माइलो जातको रुपमा हुर्किएको मान्छे हुँ । मैले पनि विभेदका कुराहरु भोगेको छु ।’

    कार्यक्रममा नेपालमा रहेको जातिय विभेदको समस्या समाधान र दलितहरुले भोगिरहेको यथार्थता र अनुभवलाई समेट्ने गरिन्छ । नेपाल प्रेससँग कुरा गर्दै निर्देशक नेपालीले पहिलो सिजनजस्तै दोेस्रोलाई पनि दर्शकले रुचाउने बताइन् ।

    ‘समता फाउण्डेशनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात-जातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न ‘जातको प्रश्न’ को दोस्रो सिजन शुरू गरेको हो’ जारी विज्ञप्तिमा उल्लेख छ । दशैं घटस्थापनाको भोलिपल्टदेखि दोस्रो सिजन सुरु हुनेछ ।

     

  • ‘कबड्डी’ सम्झाउने बुद्धि र रिस्माको यस्तो रोमान्स, ‘जाले रुमाल’ गीत रिलिज (भिडिओ)

    ‘कबड्डी’ सम्झाउने बुद्धि र रिस्माको यस्तो रोमान्स, ‘जाले रुमाल’ गीत रिलिज (भिडिओ)

    काठमाडौं । युट्युवमै सहि, हिट फिल्म ‘कबड्डी’का दुईजना कलाकारहरु म्युजिक भिडिओमार्फत भएपनि दर्शकमाझ आएका छन् ।

    सुरेश अधिकारीद्वारा संगीतबद्ध नयाँ गीत ‘जाले रुमाल’मा ‘कबड्डी’का दुर्ई लोकप्रिय कलाकार बुद्धि तामाङ र नायिका रिस्मा गुरुङलाई देख्न सकिन्छ । यो रोमान्टिक ट्रयाकमा यी दुईजना फिचर्ड छन् ।

    भिडिओमा रिस्मा र बुद्धिलाई हेर्दा दर्शकलाई कबड्डीकै मनोविज्ञान महसुस हुनसक्ने विश्वास गर्न सकिन्छ । फिल्ममा कमै नृत्य पस्किने बुद्धिले यसमा भने कम्मर मर्काएका छन् ।

    भिडिओमा दर्शकले ‘कबड्डी’ फिल्मकै पात्र र कथालाई महसुस गर्न सक्छन् ।

    कृष्ण केसीको स्वर तथा शब्द रहेको गीतलाई राजन इशानले म्युजिक अरेन्ज गरेका छन् । शुक्रबार इन्टरनेट रिलिज भएको गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

  • मनोज गजुरेलको नजरमा कमेडी च्याम्पियनका तीन फाइनलिस्ट कुन कस्ता ?

    मनोज गजुरेलको नजरमा कमेडी च्याम्पियनका तीन फाइनलिस्ट कुन कस्ता ?

    काठमाडौं । विकी अग्रवाल नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने साहसी प्रतिभा हुन् भने भरतमणी पौडेल समकालीन हास्यब्यङ्ग्यको उत्कृष्ट उदाहरण हुन् । त्यसैगरी सन्तोष थापालाई विकी र भरतमणीको सुन्दर ‘फ्युजन’को रुपमा लिन सकिन्छ ।

    विकीका प्रस्तुतीहरुमा ‘वर्ड प्ले’को प्रभावकारी योग, ‘प्रप्स’को आकर्षक प्रयोग, ‘वान लाईनरको सही सदुपयोग , ‘अन एक्स्पेक्टेड ईन्ट्री’ र ‘आउट अफ बक्स कन्टेन्ट’ को प्रचुरता पाईन्छ भने भरतमणीमा ‘उत्कृष्ट क्यारिकेचर’, ‘हुबहु अभिनय’, ‘भेराईटीज अफ कन्टेन्ट’ र पफर्मेन्समा कन्फिडेन्स देखिन्छ । सन्तोस थापाका सेटमा ‘रियल लाईफ एक्सपेरियन्स’, ‘अर्ग्यानिक कन्टेन्ट’, हाउभाउको सही प्रयोग र प्रस्तुतीमा शालिनता र सरलता भेटिन्छ ।‌

    कमेडी च्याम्पियनको फाईनल ईपिसोडसम्म आईपुग्दा ‘टप थ्री’का केही अविस्मरणीय प्रस्तुतीहरु कहिल्यै बिर्सन सकिँदैन । विकी अग्रवालको ‘यहाँनीर दुख्छ हो’, ‘एयर होस्टेज र बस कन्डक्टर’, ‘हरिमाया भाउजू’, ‘फिल्म डाईरेक्टर’, ‘रावणको पुनर्जन्म’, ‘पेन्टोमाईम’ लगायतका प्रस्तुतीहरु सम्झन लायक छन् ।

    भरतमणीका ‘घरबेटी र डेराबाल’, ‘डाक्टर साहेब’, ‘जेष्ठ नागरिक दुःख’, ‘पत्रकारको कथा’, ‘पुर्व युबराज पारसको क्यारिकेचर’ लगायतका प्रस्तुतीहरु दर्शकका मनमा बसि रहनेछ्न । त्यसैगरी सन्तोस थापाका ‘अङ्ग्रेजी टिचेर’, ‘महोत्सवको कथा’, ‘डेलिभरी ब्वाईको पीडा’, ‘मपनी व्यापारी’, फिनालेमा प्रश्तुत गरेको ‘भरत(विकीको चेपुवा’ लगायतका प्रश्तुतिहरु जिवन्त र हास्यब्यङ्ग्यात्मक थिए ।

    हजारौंबाट सयौं, सयौंबाट दर्जनौं, दर्जनौंबाट ‘उत्कृष्ट ३’ मा आईपुग्नु चानचुने कुरो होईन । यसकालागि तीनैजनाले कडा मेहेनत गरेका छन् । उनीहरु मध्ये जो ‘च्याम्पियन’ बनेपनि नेपाली हास्यब्यङ्ग्यमा एउटा बलियो इटा थपिने आशा गर्न सकिन्छ ।

    च्याम्पियनका निर्देशक विशाल भण्डारीको अथक प्रयास, टीमको बलियो सहयोग, प्रायोजकको बलियो साथ तथा दर्शकको अपार मायाले कमेडी च्याम्पियन फिनालेको पूर्वसन्ध्यामा छ । त्यसैले आफ्नोच्याम्पियन आफैं चुन्नुहोस् । हास्यमेव जयते !

  • मध्यरातमा भिडिओ सन्देश जारी गर्दै हमालले भने : एमसीसीप्रति असन्तुष्ट नेपाली जनतालाई अमेरिकाले स्पष्ट पार्नुपर्छ

    मध्यरातमा भिडिओ सन्देश जारी गर्दै हमालले भने : एमसीसीप्रति असन्तुष्ट नेपाली जनतालाई अमेरिकाले स्पष्ट पार्नुपर्छ

    काठमाडौं । अभिनेता राजेश हमालले बहुचर्चित अमेरिकी अनुदान सम्झौता एमसीसीबारे नेपाली नागरिकको असन्तुष्टि र भावनालाई स्पष्ट पार्न र सम्बोधन गर्न नेपाल एवं अमेरिकी सरकारलार्ई आग्रह गरेका छन् ।

    मध्यरात २ बजे भिडिओ सन्देश जारी गर्दै हमालले नेपाली नागरिकलाई एमसीसीबारे विश्वास दिलाउन र असन्तुष्टिलाई साम्य पार्न अमेरिकाको भूमिका जरुरी रहेको बताएका हुन् ।

    ‘एमसीसीका कतिपय सम्झौताका बुँदाप्रति नेपाली नागरिकको असन्तुष्टि छ । नेपाली नागरिकलाई विश्वास दलाउनु र असन्तुष्टिलाई स्पष्ट पार्नुमा अमेरिकाको ठूलो भूमिका रहन्छ । अमेरिका यसका लागि तयार हुनुपर्छ’ हमालले भनेका छन् ।

    नेपाली जनताको चाहना र भावनाविपरित गरिने क्रियाकलाप सौहार्दपूर्ण नहुने, यसले दूरगामी असर पार्न सक्ने र प्रत्युत्पादक हुनसक्ने हमालको भनाई छ । नेपाली नागरिकको चित्त बुझाउन सरकारको कर्तव्य समेत रहेको उनको भनाई छ ।

    एमसीसीलाई लिएर पछिल्लो समय राजनीतिक दल र नागरिकबीच मतैक्य नभएको बेला ठूलो फ्यान फलोइङ भएका हमालले यस्तो आग्रह गरेका हुन् । सामाजिक संजालमा हमालको यस्ता आग्रहलाई लिएर फ्यानहरुले समर्थन जनाएका छन् ।

     

  • अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ पोस्टपोन्ड, परिस्थिती ठीकठाक भए चैत २५ मा रिलिज हुने

    अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ पोस्टपोन्ड, परिस्थिती ठीकठाक भए चैत २५ मा रिलिज हुने

    काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को प्रदर्शन पुनः सात महीना पछाडि धकेलिएको छ । निर्माता सुनिलकुमार थापाले सामाजिक संजालमार्फत फिल्म पोस्टपोन्ड भएको जनाएका छन् ।

    पूर्वनिर्धारित मिति भदौ १८ गते फिल्म रिलिज हुन नसकेपछि पोस्टपोन्ड भएको जानकारी उनले दिएका छन् । उनका अनुसार अब यो फिल्म कोरोना महामारीको परिस्थिती सामान्य भए आगामी चैत २५ गते प्रदर्शनमा आउने भएको छ ।

    ‘अब बिस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोल्ने अनुमति दिएकाले विस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने कुरामा हामी पनि आशावादी छौं’ थापाले फेसबुकमा लेखेका छन् ।

    अहिले काठमाडौं उपत्यकामा ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म हल संचालन गर्न सरकारले अनुमति दिएको छ तर, चलचित्र संघले देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सी माग गर्दै हल खोलेको छैन ।

  • कमब्याक फिल्म ‘अस्तित्वको लडाइ’मा प्रशान्त तामाङले सम्पदासँग रोमान्स गर्ने

    कमब्याक फिल्म ‘अस्तित्वको लडाइ’मा प्रशान्त तामाङले सम्पदासँग रोमान्स गर्ने

    काठमाडौं । अभिनेता तथा पूर्व इन्डियन आइडल प्रशान्त तामाङ एउटा गतिलो फिल्ममार्फत पुनरागमनको खोजीमा छन् । उनी अभिनित गोर्खा पल्टन र परदेशी फिल्मबाहेक अन्य फिल्मले बक्सअफिसमा उछाल ल्याउन सकेनन् । हुनसक्छ, उनलाई मुख्य भूमिका लिएर मुहूर्त गरिएको फिल्म ‘अस्तित्वको लडाइ’ले त्यो मानक कायम राख्नसक्छ ।

    प्रशान्तले अभिनय गर्ने सोही फिल्मको शुभसाइत शुक्रबार गरिएको छ । मकवानपुरको चैनपुर राक्सिराङमा फिल्मको शुभसाइत गरिएको हो । गोविन्द गौतमले निर्देशन गर्ने यो फिल्मले चेपाङ समुदायको कथा प्रस्तुत गर्छ । राक्सिराङ चेपाङ समुदाय बहुल गाउँ हो जहाँ भूमिको समस्यालाई लिएर चेपाङहरु सदियौंदेखि पीडित छन् । कौडीको भाउमा चेपाङहरुले भूमि विक्री गर्दा हुने उनीहरुको बिल्लीबाठ फिल्मको कथा हो ।

    फिल्मको स्क्रिप्ट समेत लेखेका निर्देशक गौतमले सामाजिक कथावस्तुमा बन्ने फिल्ममा प्रशान्तले चेपाङ युवकको भूमिका निर्वाह गर्ने बताए । तिहारपछि छायंकन सुरु हुने फिल्मलाई चेपाङ समाजले निर्माण गर्न लागेको हो । फिल्ममा प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बाँनियाको मुख्य भूमिका रहने जनाइएको छ ।

    अन्य कलाकारको छनोट प्रक्रिया भने जारी रहेको एसोसियट निर्देशक रामशरण कोइरालाले जानकारी दिए । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व हुने जनाइएको छ ।

  • मल्टिस्टारर ‘लप्पन छप्पन २’ शिवरात्रीमा रिलिज हुने

    मल्टिस्टारर ‘लप्पन छप्पन २’ शिवरात्रीमा रिलिज हुने

    काठमाडौं । मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको मल्टिस्टारर फिल्म ‘लप्पन छप्पन’को दोस्रो सिक्वेल आगामी शिवरात्रीमा प्रदर्शन हुने भएको छ । निर्माताले फागुन १३ गते प्रदर्शन मिति घोषणा गरेका हुन् ।

    कोरोना महामारीको कारण पटक-पटक प्रदर्शन मिति घोषणा गरेको फिल्मले पुनः नयाँ मिति सार्वजनिक गरेको हो । ‘एक किसिमको जोखिम लिएर हामीले शिवरात्रीको अवसरमा फिल्म रिलिज गर्ने निधो गरेका छौं’ नेपाल प्रेससँग निर्देशक भट्टले भने ।

    शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी लगायतको मुख्य भूमिका छ । यो ग्याङस्टार फिल्मले अपराध रोक्न चलाइएको मिसनको कथा भन्छ ।

    यो फिल्मबाट केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सिर्जना सिना, रन्जीत वन्त लगायतले डेब्यु गर्दैछन् । यसअघि आगामी चैत २७ गते रिलिज गर्ने भनिएको फिल्म प्रिपोन्ड भएर अघि आउन लागेको हो । सो मितिमा ए मेरो हजुर ४ आउने भएपछि लप्पन छप्पन २ ले शिवरात्री रिलिज रोजेको हो ।

  • कलाकारलाई आयकर र भ्याटमा छूट तथा मिनाहा दिने सरकारको घोषणा

    कलाकारलाई आयकर र भ्याटमा छूट तथा मिनाहा दिने सरकारको घोषणा

    काठमाडौं । सरकारले कलाकार, पत्रकार, चिकित्सक, खेलाडी, इन्जिनियर, कानून व्यवसायी लगायतलाई आयकर तथा मूल्य अभिवृद्धि करमा मिनाह गर्ने घोषणा गरेको छ ।

    अर्थमन्त्री जनाद्र्धन शर्माले आज प्रतिस्थापन विधेयक सार्वजनिक गर्दै २०७८ साल फागुनभित्र आयकर बुझाएमा लाग्ने शुल्क तथा व्याजमा छूट हुने जनाएका हुन् ।

    त्यसरी कर बुझाएमा सोभन्दा अगाडिको आयकरमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था मिलाएको पनि मन्त्री शर्माले जनाएका छन् ।

    सरकारको यस्तो निर्णयपछि कलाकारलाई राहत पुग्ने जनाइएको छ ।

  • सौगात, गीताञ्जली र अनुप स्टारर ‘जार’को टीजर ट्रेलर रिलिज

    सौगात, गीताञ्जली र अनुप स्टारर ‘जार’को टीजर ट्रेलर रिलिज

    काठमाडौं । इन्द्रबहादुर राईको चर्चित नाटकमाथि बनेको फिल्म ‘जार’को टीजर ट्रेलर शुक्रबार इन्टरनेट रिलिज भएको छ ।

    सौगात मल्ल, गीताञ्जली थापा र अनुपविक्रम शाही अभिनित यो ड्रामालाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।

    सन् १८ सयको दशकको अन्त्यतिर सिक्किमेलीको नेपाली भाषी समाजमा भएको घटनालाई राईले पुस्तकमा उतारेका थिए । त्यही पुस्तकको एडप्टेसनको रुपमा यसलाई प्रस्तुत गरिएको हो ।

    सिक्किमको सेटिङमा छायांकन गरिएको फिल्ममा सौगात, गीताञ्जली र अनुप पात्र लुक्समा चित्रित छन् । गीताञ्जलीलाई केन्द्रमा राखिएको यो फिल्ममा उनका लागि सौगात र अनुपले गर्ने संघर्षलाई कथ्य तुल्याइएको छ ।

    फिल्मको रिलिज चाँडै हुने टिजरमा उल्लेख छ । फेरी टेल पिक्चर्सले होप रिल एन्ड एलए सर्ट्सको ब्यानरमा फिल्म निर्माण गरेको हो । फिल्म निर्माणदेखि नै कास्टको कारणले यो फिल्मले चर्चा बटुलेको थियो ।

    हेर्नूस टीजर :

    https://www.youtube.com/watch?v=Vn0ykZJDbvM&t=39s

  • सन्तान जन्माएपछि ऋचाको अनुभव : म जत्तिको धनी मान्छे कोही लागिरहेको छैन !

    सन्तान जन्माएपछि ऋचाको अनुभव : म जत्तिको धनी मान्छे कोही लागिरहेको छैन !

    काठमाडौं । नायिका ऋचा शर्मा राणा अहिले सन्तानसुखको महसुस गरिरहेकी छिन् । मंगलबार पहिलो सन्तानस्वरुप छोरालाई जन्म दिएकी अभिनेत्रीेले आमा बनेपछि आफूजस्तो धनीमान्छे कोही झैं नलागेको बताएकी छिन् । सामाजिक संजालमा ऋचाले सन्तान जन्माएपछिको मनोवाद लेखेकी छिन् ।

    ‘पर्दामा अनेक भूमिका निभाउँद निभाउँदै आज पर्दाबाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिल्यै निर्वाह गर्ने मौका पाएको थिइँन जीवनमा’ ऋचा लेख्छिन्, ‘आजसम्म के कति कमाएँ, लेखाजोखा छैन तर, आमा झैं माया गर्ने सासु आमा हुनुुहुन्छ । बुवाझैं आशिष दिने ससुरा बुवा हुनुहुन्छ । मनले मागे भन्दा बढी बुझिदिने जीवनसाथी । आज सन्तानको आगमनसँगै म जत्तिको धनी मान्छे कोही झैंै लागिरहेको छैन ।’

    ऋचाले सोही मनोवादमार्फत छोराको नाम पनि राखेकी छिन् : आभ्यान विक्रम राणा ।

  • रातो सारीमा हिरोइन : यसरी सेलिव्रेट गर्दैछन् नायिकाहरुले तीज (तस्विरहरु)

    रातो सारीमा हिरोइन : यसरी सेलिव्रेट गर्दैछन् नायिकाहरुले तीज (तस्विरहरु)

    काठमाडौं । हरितालिका तीज आज देशभरका हिन्दू महिलाहरुले महादेवको पूजाआज गरी मनाउँदैछन् । सेलेव्रिटीमाझ पनि तीज पर्व निकै लोकप्रिय छ । नायिका र गायिकाहरु व्रत बसेर आज तीज मनाउँदैछन् ।

    लोकप्रिय एक्ट्रेसहरुले आज सारीमा सजिएको तस्विर खिचाएका छन् । उनीहरुले सामाजिक संजालमार्फत तीज लुक्स सार्वजनिक गरेका छन् र प्रशंसकलाई तीजको शुभकामना दिएका छन् ।

    विगतमाजस्तो यसपटक भने सार्वजनिक थलोमा भेला भएर नायिकाले तीज मनाएका छैनन् । कतिपयले भर्चुअलरुपमा मनाइरहेका छन् । अमेरिकामा रहेका नायिकाहरुले पनि तीजको अवसरमा गेट–टुगेदर गरेको तस्विर आउट भएको छ । हेर्नूस तस्विरहरु :

  • नेपाली-अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनार निर्वाचित

    नेपाली-अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनार निर्वाचित

    काठमाडौं । नेपाली-अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनार निर्वाचित भएकी छिन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

    सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, महासचिवमा सङ्गीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षअख पुष्कर बराल, सहकोषाध्यक्षअख पूजा न्यौपाने र युथ कोर्डिनेटरमा दिलीपकुमार श्रीष निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सोमनाथ घिमिरेले जानकारी दिए ।

    बोर्ड सदस्यमा चिनियाँलाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, नवीन श्रेष्ठ र माया राई निर्विरोध निर्वाचित भएका छन् । उक्त कार्यक्रममा महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि नेपाली अमेरिकन कलाकार सङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा सङ्घका प्रमुख संरक्षक अभय ढुङ्गेल, वरिष्ठ कलाकार डा महेशराज ठाकुर, न्हुच्छेनारायण डङ्गोल, नरबहादुर दाहाल, आङ गेलु शेर्पा, गोमा योन्जन गुरुङ, नरवीर गुरुङ, सन्जोक लामा योन्जन, नायक विक्रान्त बस्नेत, पत्रकार दिवाकर बागचन्दलगायतको उपस्थिति रहेको थियो ।

  • आफ्नै निर्देशनको फिल्ममा छोरा सिद्धार्थलाई डेब्यु गराउँदै युवराज लामा

    आफ्नै निर्देशनको फिल्ममा छोरा सिद्धार्थलाई डेब्यु गराउँदै युवराज लामा

    काठमाडौं । नेपाली फिल्मको पछिल्लो पुस्तामा पनि लिगेसीको परम्पराले निरन्तरता पाउने क्रम जारी छ । यो मेसोमा थपिएका छन् पाका फिल्मकर्मी युवराज लामा । सन् २००३ को फिल्म ‘धर्मात्मा’पछि टाढिएका फिल्म निर्माता तथा निर्देशक लामा डेढ दशकपछि कमब्याक तयारीमा छन् । आफ्नै निर्माण तथा निर्देशनमा चैतपछि सुटिङ सुरु हुने फिल्ममार्फत छोरा सिद्धार्थलाई नायकमा डेब्यु गराउने तयारीमा उनी छन् ।

    अहिले पटकथा लेखनमा काम भैरहेको र दशैंपछि वर्कसप सुरु गर्ने युवराजको तयारी छ । यही फिल्ममार्फत छोरा सिद्धार्थलाई एक्टिङ करियरमा अघि बढाउने युवराजले योजना बुनेका छन् ।

    युवराजका कान्छा छोरा नेपाली फिल्मलाई नयाँ भएपनि अभिनयमा भने अनुभवी हुन् । भारतको मलायलम फिल्ममा उनले अभिनय गरिसकेका छन् । उनले मलायलम उद्योगका सुपरस्टार मोहनलालसँँग फिल्म ‘योद्धा’ मा सिद्धार्थले एकसाथ स्क्रिन सेयर गरिसकेका छन् ।

    अर्को मलायलम फिल्म ‘इदावाप्पथ्य’ मा पनि उनले मुख्य भूमिकामा अभिनय गरेका थिए । सन् २०१६ मा रिलिज भएको यो फिल्ममा अभिनेत्री मनीषा कोइरालाको पनि अभिनय थियो । मलायलममा सिद्धार्थलाई ‘उनिकुटा’ नामले चिन्ने गरिन्छ । पिताले निर्माण तथा निर्देशन गरेका ‘देउता’ लगायतका केही नेपाली फिल्ममा पनि उनले बाल कलाकारको रुपमा अभिनय गरेका छन् ।

    लामाले छोराको नेपाली फिल्म डेब्युबारे भने, ‘सिद्धार्थले आफ्नो क्षमता र प्रतिभाले मलालयम इन्डस्ट्रीमा जुन पहिचान बनाएको छ, त्यो नेपाली दर्शकबीचमा पनि जानुपर्छ भन्ने मेरो सोच हो । किनकि, उसको क्षमता नेपाली दर्शकले पनि चिन्नु पर्छ । अनि, युवराज लामाको लिगेसी धान्ने पनि त कोही चाहियो नी । यसैले पनि नेपाली फिल्ममा छोरालाई डेब्यू गराउन लागेको हुँ ।’

  • हल खुलेलगत्तै ‘जेम्स बन्ड’ र ‘फास्ट एन्ड फ्युरियस’ फिल्म नेपालमा रिलिज हुने

    हल खुलेलगत्तै ‘जेम्स बन्ड’ र ‘फास्ट एन्ड फ्युरियस’ फिल्म नेपालमा रिलिज हुने

    काठमाडौं । फिल्म हल खुले लगत्तै नेपाली दर्शकले बहुप्रतीक्षित दुई हलिउड फिल्म हेर्न पाउने भएका छन् । एप्पल इन्टरटेनमेन्टले जेम्स बन्ड सिरिज ‘नो टाइम टु डार्ड’ र फास्ट एन्ड फ्युरियसको सिरिज ‘एफ–नाइन’लाई नेपालमा रिलिज गर्न लागेको हो ।

    ‘हल खुलेलगत्तै हामीले यी दुई फिल्म रिलिज गर्ने निश्चित भएको छ’ एप्पल इन्टरटेनमेन्टकी जेनिस पहारीले नेपाल प्रेसलाई भनिन्, ‘यी दुई फिल्मको नेपाल रिलिजका लागि हामीले भारतीय वितरकसँग प्रक्रिया पुरा गरेका छौं ।’

    जेम्स बन्डको २५ औं श्रृंखला नो टाइम टु डाइमा डेनियल क्रेग, रमी मलिक, ली सिडक्सको अभिनय छ । कोरोना महामारीअघि नै रिलिजको तयारीमा रहेको यो फिल्म लकडाउनले रोकिएको थियो । जस्टिन लीन निर्देशित फिल्म ‘एफ नाइन’मा भिन डिजेल, मिसेल रोड्रिग्युज, टाइरिस गिब्सन, जोन सेनाको अभिनय छ ।

    काठमाडौं उपत्यकाका जिल्ला प्रशासनले ५० प्रतिशत अकुपेन्सीमा हल खुलाउन अनुमति दिएपनि चलचित्र संघले देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सी अनुमति नदिएसम्म फिल्म हल नखोल्ने निर्णय गरेको छ । देशव्यापी रिलिज र शतप्रतिशत अकुपेन्सीबारे पहल गर्न चलचित्र विकास बोर्डले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग छलफल थालेको छ ।

  • विश्वकै जेठो भेनिस फिल्म फेस्टिभल सुरु : रेडकार्पेटमा चम्किए विश्व स्टार (तस्विर)

    विश्वकै जेठो भेनिस फिल्म फेस्टिभल सुरु : रेडकार्पेटमा चम्किए विश्व स्टार (तस्विर)

    इटाली । विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलको ७८ औं संस्करण आजदेखि इटालीमा सुरु भएको छ । आकर्षक र स्टाइलिस पहिरनमा विश्वचर्चित स्टारहरु उपस्थित रहे ।

    कोरोना महामारीको कारण गतवर्ष रोकिएको भेनिस यसपटक भने भौतिकरुपमै सुरु भएको हो । यसवर्षकै बहुप्रतीक्षित फिल्महरु साइन्स फिक्सन ड्युन र दिवंगत राजकुमारी डायनाको बायोपिक स्पेन्सर प्रिमियर हुने तयारीमा छन् ।

    भेनिस रेडकार्पेटमा यसपटक हलिउड अभिनेत्री जेनेडियाको कोचर निकै स्टाइलिस रह्यो । उनी रेडकार्पेटकै केन्द्रमा रहिन् । तिमोथी चार्लामेट र जेनेडिया स्टारर ड्युन प्रिमियर हुने तयारीमा छ ।

    अभिनेत्रीहरु किस्र्टन डन्स्ट, केट हड्सन, हेलेन मिरेन, अभिनेता म्याक गिलेनहाल, तिमोथी चार्लामेट, जेसिका चेस्टेन, जोय साल्दाना, बेनेडिक्ट कम्बरब्याच, क्रिस्टेन स्टेवार्ट, अस्कर विजेता निर्देशक कोल झाओ, डेमी मुरेसहितका विश्व स्टारहरु रेडकार्पेटमा प्रस्तुत भए ।

    विश्वकै जेठो फिल्म फेस्टिभल सेप्टेम्बर ११ सम्म चल्नेछ । डेल्टा भेरिएन्ट फैलिएको इटाली सहरमा कोभिड प्रोटोकल पालना गर्दै फेस्टिभल आयोजना भएको हो । ‘सबैजना फर्कने मुडमा छन् । पुनः फिल्म रिलिज गर्न चाहन्छन् । सबैजना तयार छन्’ फेस्टिभल निर्देशक अल्बर्टो बारबराले एपीसँग भनिन् ।

    उनका अनुसार नेटफिल्क्स फिल्म ‘द पावर अफ डग’ समेत फेस्टिभलमा प्रदर्शन हुनेछ । फिल्म प्यारासाइटबाट अस्कर जितेका दक्षिण कोरियाली निर्देशक बोङ जोन हो यसपटक फेस्टिभलको मुख्य निर्णायक छन् । कोल झाओ र अभिनेत्री सिन्थिया इरिभो समेत रहेको जुरीले गोल्डेन लायन अवार्ड छनौट गर्नेछ ।

    भेनिसमा यसपटक २१ वटा फिल्मले प्रतिस्पर्धा खण्डमा भाग लिएका छन् । ५० प्रतिशत अकुपेन्सीमा आयोजना गरिने भेनिसमा इन्डोरभित्र मास्क अनिवार्य गरिएको छ । सेप्टेम्बर ११ सम्म भेनिस चल्नेछ ।

  • आमा बनिन् नायिका ऋचा शर्मा

    आमा बनिन् नायिका ऋचा शर्मा

    काठमाडौं । नायिका ऋचा शर्मा आमा बनेकी छन् । पहिला सन्तानका रुपमा उनले छोरालाई जन्म दिएकी हुन् ।

    ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।

    ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् ।

    ऋचाले आज राति अस्पतालमा छोरालाई जन्म दिएको कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए ।
    ऋचाकाे गत वर्षा दिपेक्षविक्रम राणासँग विवाह भएकाे थियाे ।