काठमाडौं । प्रमोद खरेल र मेलिना राईद्वारा स्वरबद्ध गीत ‘हिमालबाट हिउँ पग्लि’ रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा म्युजिक भिडिओसहित लिरिक्स पुस्तिका लन्च गरियो ।
फिल्म निर्देशक समेत रहेका आकाश अधिकारी र नायिका नीता ढुंगाना फिचर्ड गीतमा सुरेश अधिकारीको संगीत छ । भिडिओमा नायक शिव श्रेष्ठले पनि अभिनय गरेका छन् ।
राष्ट्रिय भावना र सन्देशले ओतप्रोत रहेको गीत पछिल्लो राजनीतिक परिस्थितीमा झनै सान्दर्भिक हुने आयोजित प्रेसमिटमा जानकारी दिइयो । चिन्तामणी शिवाकोटीको शब्द रहेको गीतलाई ओएसआर युट्युव च्यानलबाट लन्च गरिएको छ । गीतमा अधिकारीको कन्सेप्ट रहेको छ ।
काठमाडौं । नेपाल म्यूजिक भिडिओ निर्देशक समाजको कार्यसमिति बैठकले म्यूजिक भिडिओका बिभिन्न सृजनात्मक पाटोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायाँकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहल कदमी अगाडी बढाउने निर्णय गरेको छ । भदौ ३१ गते समाजको केन्द्रिय कार्यालय मालिगाउँ, काठमाण्डौमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
प्रतिलिपि अधिकारको सुरक्षाको लागि समाजले कार्यबिधि बनाएर सम्वन्धित पक्षहरुसंग सहकार्य गरि अघि बढ्ने गरि निर्णय भएको समाजका महासचिव सुव्रतराज आचार्यले बताए ।
‘विश्वभरी सार्वजनिक स्थानहरु जस्तैः क्याफे, रेष्टुराँ, बार तथा क्लवहरु, सार्वजनिक यातायात, एअरपोर्ट, बसपार्क, सार्वजनिक कन्सर्ट कार्यक्रमहरु, हवाईजहाज लगायतमा नेपाली म्यूजिक भिडियोहरु प्रदर्शनी हुन्छ भने त्यसबापत सर्जकहरुले प्राप्त गर्नुपर्ने बौद्धिक सम्पत्ति अन्तर्गतको अधिकार पाइरहेको अवस्था छैन । त्यसकारण म्यूजिक भिडियो निर्देशक समाजको अगुवाईमा नेपालका सम्पूर्ण भिडियो निर्देशक, कोरियोग्राफर तथा छायांकारहरुको बौद्धिक सम्पत्ति रक्षार्थ यो निर्णय गरिएको हो’, आचार्यले बताए ।
यो कामबाट म्युजिक भिडिओका सर्जकहरुको अधिकार सुनिश्चित भई आर्थिक लाभ प्राप्त हुने र यो निर्णय ऐतिहासिक हुने महासचिव आचार्यको दाबी छ ।
बैठकले म्यूजिक भिडिओलाई राज्य मातहत ल्याउनको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ । ‘हालको अवस्थामा म्यूजिक भिडिओहरु राज्यको मातहतमा नरहेकोले यसलाई फिल्म निर्माणको एक पाटोमा राख्नुपर्ने आवश्यकता रहेको छ । त्यसकारण म्यूजिक भिडिओलाई पनि राज्यको सम्वन्धित निकाय मातहतमा ल्याउनको लागि आवश्यक प्रकृया तत्काल सुरु गर्ने निर्णय पनि गरेका हौँ’, समाजका अध्यक्ष बिधान कार्कीले बताए ।
काठमाडौं । प्रतिष्ठित टाइम म्यागजिनले यसवर्ष संसारका सय प्रभावशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सूचीमा बेलायती राजकुमार प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मर्केलदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म छन् ।
आइकन, पायोनियर्स, टाइटन्स, आर्टिस्ट, लिडर्स र इन्नोभेटर्स विधामा म्यागजिनले सूची सार्वजनिक गरेको हो । सूचीमा तालिबानको अफगानिस्तान सरकारका उपप्रधानमन्त्री अब्दुल घानी बरदारसम्म छन् ।
कला क्षेत्रबाट टाइटानिक नायिका केट विन्सलेट, अस्कर विजेता निर्देशक केओल झाओ, नायिका स्कारलेट जोहान्सन छन् । हेर्नूस सूची :
काठमाडौं । आगामी कार्तिक ११ गते बिहिवारदेखि मुलुकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने आयोजना हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रालिले ‘रियालिटी डान्स च्याम्पियन शो’ शुरु गर्न लागेको हो ।
काठमाडौंको द एभरेष्ट होटलमा बिहिबार भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनबीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रालिका अध्यक्ष रविन्द्रकुमार रिजालले उक्त शोमा १६ वर्ष भन्दा माथि र ४५ वर्षभन्दा मुनिका प्रतिस्पर्धीलाई भाग लिन दिइने जानकारी दिए ।
दशैँपछि रियालिटी शोे शुरु हुने जानकारी उनले दिए । कान्तिपुर टेलिभिजनबाट सो प्रशारण हुने भएको छ ।
उनले भने, ‘यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइनेछ, यो सबैका लागि हो तर पनि यो उमेर समूहका प्रतिष्पर्धीहरुलाई प्राथमिकतामा राखिएको छ, अहिले कान्तिपुर टेलिभिजन र कि एडभर्टाइजिङ सर्भिस प्रालिबीच सम्झौत भएको हो, हामी डान्स शो दशैँपछि शुरु गर्छौं ।’
उक्त सो प्रत्येक बिहिवार र शुक्रबार गरी हप्ताको दुई दिन बेलुकी ९ः०० बजे प्रशारण हुनेछ । डान्स च्याम्पियनका निर्णायकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहेका छन् । त्यस्तै कार्यक्रम प्रस्तोताको रुपमा उमेश राई (फुलन्देकी आमा) रहनेछन् । ३२ भागको यो कार्यक्रम आयोजनालाई २५ लाख खर्च हुने जनाइएको छ ।
काठमाडौं । संगीत रोयल्टी संकलन समाजको अध्यक्षमा पुनः सुरेश अधिकारी चयन भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न समाजको १२ औं साधारण सभाले अधिकारीलाई नेतृत्वमा चुनेको हो ।
सदस्यहरुमा गीतकारतर्फ चन्द्र शर्मा, बी पाण्डे, सुवास रेग्मी, सुजन लम्साल, विमल अधिकारी चयन भएका छन् । संगीतकारतर्फ वसन्त सापकोटा, पीएन सापकोटा, शिरिष देवकोटा, रामु खड्का, राजेन्द्रकुमार कार्की सदस्यमा चयन छन् ।
अधिकारी तेस्रो कार्यकालको लागि अध्यक्षमा चुनिएका हुन् । आगामी कार्यकालको मुख्य एजेन्डा रोयल्टी विकास बोर्ड गठन र रोयल्टी मापदण्ड निर्धारण हुने नेपाल प्रेससँग उनले बताए ।
साधारणले सभाले अध्यक्ष र सदस्य चयन गरेपनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ । केही दिनमा कार्यसमितिले पूर्णता पाउने अध्यक्ष अधिकारीले जानकारी दिए ।
न्यूयोर्क । यसवर्षको मिस नेपाल अमेरिकाका अन्तिम १० प्रतिस्पर्धी घोषणा भएको छ । आगामी सेप्टेम्बर २३ देखि २५ सम्म पेजेन्टको फिनाली आयोजना हुँदैछ ।
अन्तिम दश प्रतिस्पर्धीमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रतिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यामिता श्रेष्ठ, सोनिशा थापा र एलिसा लिम्बु छन् ।
विभिन्न अमेरिकी राज्यबाट प्रतिस्पर्धी छनौट भएको जारी विज्ञप्तिमा उल्लेख छ । यसपटक टाइटल विजेतासहित विभिन्न सबटाइटल विजेतालाई ५ हजार अमेरिकी डलरको छात्रवृत्ति प्रदान गरिने भएको छ ।
यसपटक मिस नेपाल अमेरिका फाउन्डेसन स्थापना गरिने र यसमार्फत विभिन्न सामाजिक कार्य तथा ब्यूटी विथ लिमिट प्रोजेक्टलाई सहायता प्रदान गरिने भएको छ । यसवर्ष मिस नेपाल अमेरिकाले दशौं वर्षगाँठ मनाउँदैछ ।
काठमाडौं । होमप्रोडक्सन फिल्मको सुटिङ सुरु नहुँदा नायिका अदिती बुढाथोकी अहिले फुर्सदमा छिन् । अहिले उनी माल्दिभ्स होलिडे सेलिव्रेट गरिरहेकी छिन् । बिदासँगै उनको पछिल्लो दैनिकी भने अहिले केही विज्ञापन र म्युजिक भिडिओमा बितिरहेको छ ।
फिल्म तत्काल फ्लोरमा जाने निश्चित नभएकाले पनि उनले अहिले सामाजिक संजालमार्फत दर्शक र फ्यानको अन्तक्रियालाई भने कम हुन दिएकी छैनन् । इन्स्टाग्राममा प्रत्येक दिन उनी हट तस्विर सेयर गर्छिन् र दर्शकको प्रतिक्रिया बुझ्ने काम गर्छिन् ।
आमा पुष्पा बुढाथोकीले निर्माण रहेको फिल्म ‘बाबरी’ मा अदितीको मुख्य भूमिका हुनेछ । अघिल्लो साल सुरु भएको फिल्मको छायांकन अझै पूरा भएको छैन । महामारीले रोकिएको फिल्मको छायांकन सिक्किममा गर्ने तयारी छ ।
अहिले अदिती छुट्टी मनाउन साथीहरुसँग माल्दिभ्समा छन् । उनले माल्दिभ्सको समुन्द्री किनारमा विकिनी अवतारमा खिचेका तस्बिरहरु इन्स्टाग्राममा शेयर गरेकी छन् । दशैंपछि छायांकन हुने ‘बाबरी’ को लागि उनी मुम्बईबाट सिक्किम जानेछिन् । फिल्ममा उनको जोडी धिरज मगरसँँग गाँसिएको छ ।
चामे । बलिउड फिल्म उचाईको निर्देशकसहितको टोली मनाङ, लुक्ला, लाङटाङ लगायतका हिमाली थलोहरुमा सुटिङ लोकेसनको खोजी गरेर मुम्बई फर्किएको छ । अक्टोबर २ मा नेपाल आइपुग्ने फिल्म क्रिउले अक्टोबर ४ देखि काठमाडौंदेखि फिल्म सुटिङ सुरु गर्ने भएको छ ।
यसैसाता निर्देशक सुरज वर्जत्यसहितको टोली नेपालमा लोकेसन हन्टिङ गरेर भारत फर्किएको छ । फिल्मको नेपाल व्यवस्थापक थ्री हिवलर्स कम्पनीका अनुसार अक्टोबर ४ मा काठमाडौंका केही लोकेसनबाट फिल्मांकन सुरु हुनेछ ।
निर्देशक सुरज वर्जत्यको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ पुगेका थिए । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर फिल्म छायाङ्कनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् ।
सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । दुई दिनको अवलोकन पश्चात् टोली काठमाडौँ फर्किएर सगरमाथा आधारशिविरमा पनि छायाङ्कनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए ।
उनका अनुसार मनाङमा १० दिन सो फिल्मको छायाङ्कन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, बोमन ईरानी, परिणिती चोपडाको कलाकारको मुख्य भूमिका रहनेछ ।
दुई साता अगाडि पनि टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ ।
फिल्म छायाङ्कनले कोरोनाका कारण थला परेको त्यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र फिल्म प्रदर्शन पश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्नसक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए । उनका अनुसार यस बलिउड चलचित्र प्रदर्शन पश्चात् मनाङ मात्र नभइ सिङगो नेपालकै प्रचारप्रसचार हुने र नेपाललाई विश्व सामु चिनाउन मद्दत पुग्नेछ ।
काठमाडौं । मोफसलका ठूला फिल्म बजारहरु पोखरा, बिराटनगर, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, बुटवल र हेटौंडाका फिल्म हलहरु असोज १ गतेदेखि खुल्ने भएका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै कास्की, मोरङ, पर्सा, चितवन, बाँके, मकवानपुर र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोभिड-१९ प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बताए ।
गतसाता नै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले पनि ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउन अनुमति दिइसकेका छन् । तर, मोफसलमा भने ५० प्रतिशत अकुपेन्सी भनिएको छैन ।
असोज १ गतेदेखि नै मुलुकभरका सबैजसो विद्यालय पनि खुल्दै छन् । आज बसेको स्वास्थ्य मन्त्रालयको बैठकले संक्रमणको आधारमा मात्र विद्यालय र फिल्म हल खुलाउन डीसीसीएमसीलाई भनेको छ ।
असोज १ गतेदेखि फिल्म हल खुल्ने भएपछि फिल्मको लाइनअप तयार पार्न चलचित्र संघ र चलचित्र निर्माता संघको बैठक आज बस्दैछ । बैठकले दशैं र तिहारको लाइनअप तयार पार्ने जनाइएको छ ।
काठमाडौं । अभिनेत्री केकी अधिकारीले कपाल मुण्डन गर्दा आफूले विभेद खेप्नुपरेको बताएकी छिन् ।
हालैको एक अन्तर्वार्तामा उनले भनिन् : कतिपटक कामबारे सबै कुरा ओके भैसकेर पनि मेरो कपाल छैन भनेर थाहा पाएपछि के-के बहाना बनाएर प्रोजेक्टबाट हटाइएको छ ।’
उनी अगाडि भन्छिन् : अझै पनि हाम्रो सेन्ट्रल महिला पात्रलाई यस्तो लुक्समा देखिएकै छैन । त्यसैले मैले कपाल मुण्डन गरेकै कारण धेरै प्रोजेक्ट गुमाउनुपर्यो ।’
कपाल मुण्डन गरेपछि केकीले केही म्युजिक भिडिओमा विग (नक्कली कपाल) लगाएर काम गरिन् । रिलिज हुन बाँकी फिल्म ‘बोक्सीको घर’को लागि केकीले कपाल मुण्डन गराएकी थिइन् ।
सो अन्तर्वार्तामा केकी भन्छिन्, ‘हामीले नै सिकाएको होइन त लामो कपाल भएकोलाई दिदी र छोटो कपाल भएकोलाई दादा भन्नु भनरे ? यही कुरालाई गलत प्रमाणित गर्न मैले डायनाको मेकओभर गराएकी हुँ ।’
अहिले पनि नेपाली फिल्म उद्योगमा विभेद कायमै रहेको केकीको भनाई छ । आफू सिंगल नरहेको समेत केकीले उक्त अन्तर्वार्तामा बताएकी छिन् ।
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारीको कारण प्रभावित नेपाली फिल्म क्षेत्रलाई सरकारले सघाउने आश्वासन दिएका छन् । बुधबार आफूसँग भेट्न आएका फिल्मकर्मीसँग कुरा गर्दै दाहालले फिल्म क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताए ।
महामारीको कारण थलिएको नेपाली फिल्मलाई उकास्नेबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनाद्र्धन शर्मालाई भेटेर जानकारी गराउने आश्वासन समेत दाहालले दिएका थिए । प्रचण्डलाई भेट्न चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालसहित चलचित्र संघ, निर्माता संघ, प्राविधिक संघ लगायतका अध्यक्ष उनको निवास खुमलटारमा पुगेका थिए ।
लामो समयदेखि बन्द भएकाले नेपाली फिल्मलाई चलायमान बनाउन सरकारी सहयोग आवश्यक रहेको र बजेटमा प्रस्तुत व्यवस्था अपर्याप्त रहेको भन्दै आफूहरु प्रचण्डलाई भेट्न पुगेको चलचित्र संघका महासचिव अशोक शर्माले बताए । साथै, देशव्यापी हल खुलाउन समेत फिल्मकर्मीले प्रचण्डसँग माग गरेका थिए । ‘हाम्रो मागमा प्रचण्डजी सकारात्मक हुनुभयो’ भेटपछि चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले नेपाल प्रेसलाई भने ।
मागहरु समेटर चलचित्रकर्मीले मागपत्र प्रस्तुत गरेका थिए । सोही मागपत्र लिएर केही दिनमा संचारमन्त्रालय समेत प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ जनता समाजवादी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
फिल्म क्षेत्रको समस्या र मागको विषयमा सरकारलाई दवाब दिने उद्देश्यले फिल्मकमो टोलीले बुधबारबाट राजनीतिक भेटघाट थालेको हो ।
काठमाडौं । आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी करिब ३ लाख ७४ हजार परिक्षार्थीहरुमध्येकि एक हुन्, चर्चित अभिनेत्री करिश्मा मानन्धर । बिहानको सिमसिमे झरीमा छाता ओढेर परीक्षा हलतर्फ लम्किँदै गर्दा उनी हाम्रो क्यामरामा कैद भइन् ।
मुखमा मास्क र कलेज ड्रेसमा भएकाले अरू परीक्षार्थीभन्दा फरक देखिइनन् करिश्मा । होमसेन्टरका रूपमा रहेको गोदावरीस्थित किटिनी माविमा छिर्नुअघि उनले गेट बाहिर टाँसिएको सूचनामा आफ्नो सिट नम्बर चेक गरिन् । अनि प्रवेशपत्र देखाउँदै भित्र छिरिन् ।
परीक्षाहल भित्रै उनको तस्वीर खिच्न जान खोजेका सञ्चारकर्मीलाई भने अनुमति दिइएन । परीक्षा दिन जानुअघि करिश्माले हामीसितको छोटो कुराकानीमा यसपाली राम्रो तयारी गर्न नपाएको गुनासो सुनाइन् ।
‘म योचोटि अलि धेरै व्यस्त भएँ । इन्टेक्सको व्यापार भर्खरै सुरु गरेको अनि मुन्द्रेको कमेडी क्लवको सुटिङ पनि परेकाले पढाइमा धेरै समय दिन सकेको छैन । तैपनि राम्रै हुन्छ भन्ने अपेक्षा छ,’ उनले भनिन् ।
करिश्माले मेजर इंग्लिस लिएर आर्ट्स पढिरहेकी छन् । अब ८ गतेसम्म आफूले कुनै पनि कार्यक्रम नराखेको र पढाइमै फोकस हुने उनले सुनाइन् ।
‘यो वर्ष हामी कलेज नै जान पाएका छैनौं, त्यसैले प्राक्टिसको कमिले परीक्षामा लेख्न अलि स्लो होला कि जस्तो लागेको छ,’ उनले भनिन् ।
परीक्षाअघि कत्तिको डर लागेको छ ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डर भन्दा पनि अलिक बेचैनीजस्तो भएको छ । आज राति तीनपटक निद्राबाट बिउँझिएँ ।’
उनले आफूसँगै १२ कक्षामा सहभागीहरुलाई शुभकामना दिएकी छन् ।
‘सबै मेरा भाइबहिनीहरुलाई परीक्षा राम्रो होस भनेर शुभकामना दिन चाहन्छु । धेरै प्रेसर महसुस नगर्नुस । सबै प्रश्नहरुको उत्तर दिने प्रयास गर्नुस,’ उनले भनिन् ।
काठमाडौं । नागरिक, राजनीतिक दल र सेलेव्रिटीमाझ अमेरिकी अनुदान सम्झौता एमसीसी चर्चामा छ । सम्झौतालाई लिएर कसैको पनि एकमत छैन । अभिनेता राजेश हमालले एमसीसीबारे नागरिकलाई स्पष्ट पार्न अमेरिका र नेपाल सरकारलाई आग्रह गरेका छन् । अन्य सेलेव्रिटीले पनि एमसीसीलाई लिएर आ-आफ्ना मत व्यक्त गरिरहेका छन् ।
यस्तोमा, अभिनेत्री करिश्मा मानन्धरले पनि आफ्नो धारणा राखेकी छिन् । करिश्मको बुझाइमा एमसीसीलाई लिएर दलहरुले जनतालाई स्पष्ट पार्न सक्नुपर्छ । दलहरुको विगतको निर्णयका परिणामले गर्दा एमसीसी विवादमा मुछिएको करिश्माको बुझाइ छ ।
फेसबुकमा करिश्माको टिप्प्णी छ : घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुप¥यो भने हात्ती ल्याउनु ठीक होला ? अगुवा गर्नेहरुको विगतको निर्णयका परिणामहरुले गर्दा नै जनतामा यो अविश्वास प्रस्ताव उब्जाएको होला नि त । जनताकै विरोधमा गएर कसरी अगुवाइ गर्ने ?’
काठमाडौं । फिल्म क्षेत्र चलायमान बनाउन तीन प्रतीक्षित नेपाली फिल्मलाई रिलिजको तयारी थालिएको छ । चलचित्र संघ र चलचित्र निर्माता संघले भोलि बोलाएको बैठकमा चपली हाइट ३, म यस्तो गीत गाउँछु २ र हिजो आजका कुरालाई रिलिज गर्नेबारे टुंगो लगाइने भएको छ ।
निर्माताले मागे बमोजिम लगानीको न्यूनतम सुनिश्चितता (एमजी) र हल तथा निर्माताले प्राप्त गर्ने हिस्साबारे बाँडफाँट भए भोलि नै यी दुई फिल्म दशैं तथा तिहारमा रिलिज हुनेछन् । प्रदर्शकको छाता संस्था चलचित्र संघका महासचिव अशोक शर्माले नेपाल प्रेसलाई भने, ‘सेयर र एमजीको कुरा टुंगियो भने भोलि नै यी तीन फिल्म रिलिजको टुंगो लाग्छ । फिल्म क्षेत्रलाई चलायमान बनाउन पनि रिलिजको जरुरी हुन्छ ।’
शर्माका अनुसार पहिलो साता निर्मातालाई ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर दिनेबारे चलेको छलफल सकारात्मक रहेको र यसबारे निर्णय हुन बाँकी छ । ‘एमजीको लागि पनि कुरा सकारात्मक छ’ शर्माले जानकारी दिए ।
अहिलेसम्म हलिउडको बहुप्रतीक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं श्रृंखलामात्र रिलिजको निश्चित भएको छ । भिन डिजेल स्टारर यो फिल्मले मल्टिप्लेक्समा दर्शक तान्न सक्ने अपेक्षा गरिएको छ ।
असोज पहिलो साता मुलुकभरका हल खोल्ने तयारी
चलचित्र विकास बोर्डले काठमाडौं उपत्यका बाहेक प्रमुख फिल्म बजार रहेको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग हल खुलाउनेबारे छलफल गरेको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गरेका छन् ।
जिल्लापिच्छे निषेधाज्ञाको समयावधि फरक-फरक भएकाले मुलुकभरका फिल्म हल खुल्न कम्तीमा एक साता लाग्ने भएको हो । ‘सबै सीडीओ सा’बहरुले निषेधाज्ञा अवधि सकिने वित्तिकै हल खुलाउने गरी आदेश जारी हुने बताउनुभएको छ’ अध्यक्ष दाहालले भने ।
अहिले काठमाडौं उपत्यकास्थित फिल्म हलहरुलाई ५० प्रतिशत अकुपेन्सीमा खुलाउन अनुमति दिइएपनि देशव्यापी खुल्नुपर्ने र शतप्रतिशत अकुपेन्सी कायम हुनुपर्ने माग गर्दै चलचित्र संघले हल खोलेको छैन । मुलुकभरका हल खुलाउन संचार मन्त्रालयले पनि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई पत्र लेख्ने भएको छ । संचार सचिव बैकुण्ठ अर्यालले देशव्यापी हल खुलाउन सीसीएमसीमार्फत पहल गर्ने आश्वासन दिएका छन् ।
मुम्बई । अन्ततः कंगना रनावत नै सीताको भूमिकामा फिल्ममा देखिने भएकी छिन् । निर्देशक अलौकिक देशाइले सामाजिक संजालमार्फत ‘सीता एक अवतार’को शीर्ष भूमिकामा कंगना देखिने जनाएका छन् ।
पद्मश्रीसहित चारपटक राष्ट्रिय अवार्ड जितेका निर्देशकले सामाजिक संजालमार्फत कंगनासँगको तस्बिर पनि सेयर गरेका छन् । पछिल्लोपटक करिना कपुर सीता बन्ने र उनले यस भूमिकाको लागि १२ करोड भारु मागेको चर्चामा थियो ।
यो घोषणासँगै ती अघिल्ला हल्लामा विश्राम लागेको छ ।
निर्देशक अलौकिक लेख्छन् : सीताको सुरुआत भो । ब्रम्हाण्डले तिनै व्यक्तिलाई मद्दत गर्छन् जो विश्वासहित समर्पित हुन्छन् । एक पवित्र चरित्रको सपना जुन अहिलेसम्म खोजिएको थिएन, अब यो वास्तविकतामा परिणत हुँदैछ । यो पवित्र यात्राले हामीले पौराणिक यात्रालाई हेर्ने दृष्टिकोणलाई बदल्नेछ ।’
एसएसएस स्टुडियोकी निर्मात्री सलोनी शर्माले यो फिल्मलाई महिला हुनुको नाताले यो ठूलो फिल्ममा कंगनाको आगमनले आफू निकै उत्साहित भएको बताएकी छिन् । कंगना एक वास्तविक भारतीय महिला र सारकी प्रतीक हुन् : नीडर, चुनौतिपूर्ण र साहसी ।
यसअघि करिना सीता बन्ने खबर बाहिरिएपछि सामाजिक संजालमा उनलाई लिएर व्यापक विरोध भएको थियो । करिनाले सीताको भूमिका गरेमा यो हिन्दू धर्म र माता सीताको अपमान हुने बताएका थिए । त्यतिबेला करिनालाई बहिष्कारको माग समेत गरिएको थियो ।
न्यूयोर्क । विश्व फेसनको सबैभन्दा ठूलो मेला ‘मेट गाला २०२१’ पुनः फर्किएको छ । गएराति न्यूयोर्कमा भएको यो भव्य कार्यक्रममा विश्व सेलेव्रिटीहरु उपस्थित रहे ।
कोरोना महामारीले अघिल्लो वर्ष रोकिएको कार्यक्रम यसपटक सीमित उपस्थितीमा भएको हो । मेट गालालाई विश्व फेसनको अस्कर अवार्ड मानिन्छ । यसपटक स्टाइलिस पहिरनमा सेलेव्रिटीले रेडकार्पेट नापे ।
प्रत्येक वर्ष आयोजना हुने मेट गालाको यो संस्करणबाट संकलित रकम मेट्रोपोलिटन आर्टस् म्युजियममा खर्च गरिने भएको छ । यसपटकको मेट गालाको थिम अमेरिकन फेसन राखिएको छ ।
अमेरिकी पहिचान र फेसनलाई पुनःपरिभाषित गर्ने उद्देश्य यसपटक राखिएको छ । ‘मलाई लाग्छ, अमेरिकी फेसन पुनर्जन्म हुने चरणमा छ’ फेसन डिजाइनर एन्ड्रिउ बोल्टनले भने ।
यसपटक दुई भागमा मेट गाला प्रस्तुत गरियो । पहिलो : इन अमेरिका : अ लेक्जिकोन अफ फेसन र दोस्रो : इन अमेरिका : एन एन्थोलोजी अफ फेसन । प्रबल गुरुङ लगायका डिजाइनरले पहिलो भागमा फेसन प्रस्तुति दिएका छन् ।
यसपटक तिमोथी क्यालामेट, बिल्ली एलिस, अमान्डा गोरम्यान, नाओमी ओसाकाले कार्यक्रम होस्ट गरेका थिए ।
काठमाडौं । बारम्बार विवादमा आइरहने र्यापर समिर घिसिङ उर्फ भिटेनले सामाजिक सञ्जालमार्फत सरकारमाथि आक्रोश पोखेका छन् । आफ्नो गीत रिलिज गर्नुपूर्व लिरिक्स पठाउन र व्याख्यासमेत गर्न सरकारबाट आदेश आएको भन्दै उनी आक्रोशित बनेका हुन् ।
इन्स्टाग्राम स्टोरीमा भिटेनले अश्लिल गालीगालौजसहितको स्टोरी पोष्ट गरेका छन् ।
‘उनीहरुको स्वीकृतिपछि मात्रै मैले आफ्नो गीत सार्वजनिक गर्न सक्छु रे । मेरो निजी अधिकार कहाँ गयो ?’ उनले प्रश्न गरेका छन्, ‘तँलाई सुन्नै मन छ भने गीतको शब्द होइन, भावना बुझ् ।’
आफ्नो म्युजिक भिडिओमा गाडी जलाउँदै गरेको सिन गर्नुपरेको र त्यो काम गर्नुअगाडि सरकारलाई गीत सुनाएर अनुमति लिन भनिएको घिसिङको भनाइ छ । कुन गीतका लागि यस्तो आदेश आएको हो भन्ने उनले खुलाएका छैनन् । बरु उनले सरकारकाे आदेश नमान्ने बताएका छन् ।
‘गर्दिने हो सुटिङ, हेरौं कसले रोक्न सक्छ,’ उनले लेखेका छन् ।
काठमाडौं । चर्चित लोकगायिका विष्णु माझीको निजी जीवनबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो दिएको छ । उनको पछिल्लो गीत ‘चरी जेलैमा’ सुपरहिट भएसँगै उनको अवस्थाबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा-परिचर्चा हुँदै आएका छन् ।
आयोगका अधिकारीहरुले आइतबार माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई टेलिफोन गरी उनको अवस्था बुझ्न मौखिक सोधपुछ गरेका थिए । आयोगका प्रवक्ता टीकाराम पोखरेलले नेपाल प्रेससँग कुरा गर्दै सञ्चारमाध्यममा माझीको विषयमा आएका विवरणहरुबारे यथार्थ पत्ता लगाउन प्रशासनलाई भनिएको बताए ।
आयोगको मौखिक निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवं एसपी होविन्द्र बोगटीले आइतबार गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली पठाएका थिए । तर, घरमा कोही पनि नभेटिएको स्थानीय प्रहरीले रिपोर्टिङ गरेका छन् ।
एसपी बोगटीले भने, ‘हामीले अनौपचारिकरुपमा माइतीमा बुझ्न खोजेका थियौ । तर, घरमा कोही पनि रहेनछ । बुवाआमा बितिसक्नुभएको रहेछ । अरु कुराहरु थाहा हुन सकेन । उहाँका बुबाआमा बितिसक्नुभएको रैछ । त्यसैले धेरै कुरा थाहा हुन सकेन’ एसपी बोगटीले भने ।
आइतबार नै आयोगले पोखरास्थित क्षेत्रीय कार्यालयलाई पनि बुझ्न आग्रह गरेको थियो । क्षेत्रीय कार्यालयले पनि स्याङ्जा प्रहरीलाई यसबारे बुझ्न भनेको थियो । आयोगका प्रवक्ता पोखरेलले स्वयम् पीडितले उजुरी नगरेसम्म अनुसन्धान र कार्वाहीको प्रक्रिया भने अघि बढाउन नमिल्ने बताए ।
‘स्वयम् व्यक्तिले म पीडित छु भनेर उजुरी दिएमा हामी अनुसन्धान अघि बढाउन सक्छौं’ प्रवक्ता पोखरेलले भने । यसअघि २०७५ सालमा पनि विष्णु माझीको अवस्थाबारे जिल्ला प्रशासनले चासो दिएको थियो । त्यसबेला स्याङ्जाकै प्रमुख जिल्ला अधिकारीले विष्णु र उनका श्रीमानलार्य कार्यालयमा नै डाकेर सोधपुछ गरेका थिए ।
प्रशासनले बोलाएपछि उनीहरु २०७५ साल पुस २ गते त्यहाँ हाजिर भएका थिए । सोधपुछका क्रममा विष्णुले आफूमाथि श्रीमानबाट कुनै किसिमको गलत व्यवहार नभएको बताएकी थिइन् । थुप्रै लोकप्रिय गीतहरुमा स्वर दिएकी गायिका माझी सार्वजनिक जीवनमा कहिल्यै नदेखिएकाले उनलाई श्रीमानले बन्धक बनाएर राखेको चर्चा पहिल्यैदेखि चल्दै आएको छ । यद्यपि, उनीहरुलाई नजिकबाट चिन्ने कलाकारहरु भने श्रीमान सुन्दरमणि अधिकारीसँग विष्णु माझीको राम्रो समझदारी रहेको बताउने गर्छन् ।
अहिले विष्णु माझीले गाएको चरी जेलैमा गीत निकै चर्चामा छ, जसलाई उनकै श्रीमान सुन्दरमणिले लेखेका र संगीत दिएका हुन् ।
काठमाडौं । कमला घिमिरे र खेम सेन्चुरीको स्वरमा हालै सार्वजनिक भएको ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतप्रति मौरीपालक महासंघले आपत्ति जनाएको छ । गीतमा प्रयुक्त ‘तोरी खायो मौरीले’ शब्दले मौरीपालक किसानलाई दुखित तुल्याउनुका साथै अन्योल सिर्जना गरेको महासंघको भनाइ छ ।
महासंघका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन् तोरी खायो भनेर गलत सन्देश दिएको विज्ञप्तिमा उल्लेख छ ।
‘वैज्ञानिक तथयहरु र अरुको अधिकारप्रति पूर्ण खेलवाड गर्दै आफ्नो अधिकार उपयोग गर्ने नाममा भ्रामक साथै पागल बहुलठ्ठीपन प्रयोग गरी यस्ता गीतहरु सम्प्रेषित र प्रकाशित गर्ने कमला घिमिरेप्रति खेद व्यक्त गर्दै नेपाल सरकारले हदैसम्मको कानूनी कार्वाही गर्न यसै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
उक्त गीत तत्काल बन्द गर्न महासँघले जोडदार माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘तोरी उत्पादनमा मौरी विचरण-चरण गर्दा ३० प्रतिशतभन्दा बढी उत्पादनमा वृद्धि भएको प्रयोगात्मक तथ्य जानकारी गराउँदै प्रेस जगतलाई यस्ता आधारहिन प्रसंग समेटी गरिने जिव समाचारहरुलाई निरत्साहित गर्न अनुरोध गर्छौं ।’
शुभारम्भ डिजिटल म्युजिकले ल्याएको यो गीत दुई महिना अगाडि नै युट्युवमा सार्वजनिक भएको हो । अहिलेसम्म गीतले ३६ लाखभन्दा बढी भ्यूज पाएको छ भने तीन हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । यो गीत मौरी खेतिसँग सम्वन्धित भने छैन ।
काठमाडौं । साहित्यकार, गीतकार एबम कलाकार पवन मधुश्रीको नेपाली लोक झ्याउरे गीत ‘बेलखेत पुल’ सार्वजनिक भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाइ जोड्ने अछामको बेलखेतको बस्तुस्थिती र अछामको परिवेशका बारेमा लेखिएको गित मधुश्री यूटुब च्यानलबाट सार्वजिनक भएको हो ।
अछाम र दैलेख जिल्लाको सिमानामा बहने कर्णाली नदीमाथि मध्यमहाडी लोकमार्ग क्षेत्रमा निर्मित ‘बेलखेत पुल’ लाई गीतको प्रमुख थेगो बनाइएको छ । कलाकार मधुश्रीले नेपाली लोक झ्याउरे गीतको इतिहासमा गीत मार्फत नया पन दिन खोजेको बताएका छन् । मधुश्रीको आफ्नै शब्द संगीतमा सार्बजनिक भएको गीतमा प्रमोद माझी र पम्फा कँडेलले स्वर भरेका छन । गीतले यो क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने मधुश्री बताउँछन् ।
‘बेलखेत पुल’ मा नृत्य निर्देशक तथा मोडल शंकर बिसी, सिर्जना माझी र नमुना माझीको अभिनय रहेको छ । सिर्जना र नमुना मधुश्रीको आफ्नै छोरी हुन् । म्युजिक भिडियोको निर्देशन स्वय् शंकर बिसीले गरेका छन् ।
https://www.youtube.com/watch?v=BkjtF5WmMEY
को हुन पवन मधुश्री ?
बास्तविक नाम पदमबहादुर माझी उर्फ पवन मधुश्री सरकारी सेवामा आबद्ध छन् । उनी अहिले अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् ।
मधुश्रीले यसअघि ‘इतिहास, आमा र माटो’ गित र म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् । इतिहास र माटो देशभक्ति गीत हुन् भने आमा जननी जन्म दिने आमाप्रति समर्पित गीत हो । यी सबै गीतको शब्द संगीत मधुश्रीको नै रहेको छ भने चर्चित गायिका शान्तिश्री परियार र गायक प्रमोद माझीले स्वर दिएका छन् ।
हाईलाईट्स नेपाल च्यानल मार्फत सार्वजनिक भएको गितमा मधुश्रीको आफ्नै लय र शब्द तथा प्रमोद माझीको स्वर रहेको छ भने बिनोद बिकले ऐेरेन्ज गरेका हुन् । धिताल फिल्मस् प्रालीले निर्माण गरेको गितलाई निर्देशन दिनेश ठकुल्ला र सम्पादन रोशन धितालले गरेका हुन् ।
पवन मधुश्रीको ‘जुनी र कर्णालीको व्यथा’ सार्वजनिक हुने तयारीमा छन् । पवन मधुश्री लेखकको रूपमा पनि परिचित छन् । उनका गाउँले कविता संग्रह, नमुना राजनीति र विकास पुस्तक प्रकाशित छन् । लेखक, साहित्यकार, स्तम्भकारको छवि बनाएका मधुश्री पछिल्लो पटक गीतकार र संगीतकारको रूपमा समेत आफ्नो परिचय दिन सफल भएका छन् ।
पवन मधुश्री नामबाट कान्तिपुर, नागरिक, हिमालय टाइम्स, राजधानी दैनिकमा बिभिन्न लेख प्रकाशित छन् । राजधानी दैनिकमा ‘स्थानीय प्रजातन्त्र’ र पछि ‘चिन्तनको चौतारी’ नाममा उनले स्तम्भ समेत लेख्ने गरेका थिए । हाल मधुश्री विभिन्न अनलाइन पोर्टलमा पनि प्रकाशित गर्दै आएका छन् । सरकारी सेवामा रहेका पवन मधुश्रीले पछिल्लो समयमा जिल्लाको समग्र बस्तुस्थिती झल्कीने र ईतिहासका बारेमा गित सार्वजनिक गर्दै आईरहेका छन् ।