Category: कलाप्रेस

  • दुई वर्षपछि सुटिङ सेटमा फर्किइन् साम्राज्ञी, खुशी हुँदै पोस्ट गरिन् हट तस्बिर

    दुई वर्षपछि सुटिङ सेटमा फर्किइन् साम्राज्ञी, खुशी हुँदै पोस्ट गरिन् हट तस्बिर

    काठमाडौं । झन्डै दुईवर्षसम्म नायिका साम्राज्ञी शाह फुर्सदमै रहिन् । निषेधाज्ञाको बीचमा भने उनले अनलाइन बिजेसन संचालनमा ल्याएकी थिइन् । नयाँ फिल्ममा काम नगरेपछि उनीसँग लाइनअप पनि छैन ।

    तर, निषेधाज्ञा खुकुलो भएसँगै मनोरञ्जन क्षेत्र जुर्मुराउन थालेपछि साम्राज्ञी पुनः व्यस्त हुन थालेकी छिन् । म्युजिक भिडिओ नै सहि, महंगी एक्ट्रेस साम्राज्ञीले राम्रै पारिश्रमिक लिएर म्युजिक भिडिओमा काम थालेकी छिन् ।

    कुरा भैरहेका फिल्महरु तत्काल छायांकनमा नजाने भएपछि साम्राज्ञी म्युजिक भिडिओ सेटमा फर्किएकी हुन् । ट्री इन्टरटेनमेन्टले निर्माण गरिरहेको एउटा गीतको भिडिओमा साम्राज्ञीलाई दर्शकले हेर्न पाउने भएका छन् ।

    विश्व नेपाली र अस्मिता अधिकारीको स्वर रहेको सो म्युजिक भिडिओमा दर्शकले साम्राज्ञीलाई देख्न पाउने भएका छन् । इन्स्टाग्राममा फोटो सार्वजनिक गर्दै साम्राज्ञीले सेटमा फर्कन पाउँदा खुशि लागेको बताएकी छिन् । तस्बिरमा उनी हट देखिएकी छिन् ।

  • ‘डाँडाको बरपीपल’ र ‘धन्दागिरी’ले दिए चलचित्र संघमा रिलिजको निवेदन

    ‘डाँडाको बरपीपल’ र ‘धन्दागिरी’ले दिए चलचित्र संघमा रिलिजको निवेदन

    काठमाडौं । घटस्थापना रिलिजको माग गर्दै ‘डाँडाको बरपिपल’ र ‘धन्दागिरी’ फिल्मले आज चलचित्र संघमा निवेदन दिएका छन् । संघ अन्तर्गत गठित चलचित्र प्रदर्शन व्यवसायिक समितिका संयोजक अशोक शर्माले ती दुई फिल्मबाट मंगलबार निवेदन प्राप्त भएको बताए ।

    आगामी तीन महीनासम्म रिलिज गर्ने फिल्मले संघद्वारा गठित समितिमा निवेदन दिनुपर्ने नियम ल्याइएको छ । समितिले आफूसँग दर्ता हुन आएका फिल्मलाई समेटेर आगामी २१ गते लाइनअप घोषणा गर्ने तयारी गरेको छ । समितिले २० गतेभित्र रिलिज डेटसहितको निवेदन मागिएको छ ।

    अन्य फिल्महरुले पनि निवेदन लिएर आउने तयारी गरेको संयोजक शर्माले नेपाल प्रेसलाई जानकारी दिए । कोरोनाले थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन विदेशी र नेपाली फिल्म एकै मितिमा प्रदर्शन हुन नपाउने र सेयर बाँडफाँटसहितका योजनाहरु समेत ल्याएको छ ।

    असोज २१ गतेदेखि विदेशी फिल्महरु रिलिज सुरु हुनेछन् । सो दिनमा हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ रिलिज हुनेछन् । असोज २६ गते रिलिज हुने फिल्मको औपचारिक घोषणा २१ गते सार्वजनिक गरिने भएको छ ।

  • फिल्म अञ्जलीको छायांकन काठमाडौंमा सुरु, मंसिरमा रिलिजको तयारी

    फिल्म अञ्जलीको छायांकन काठमाडौंमा सुरु, मंसिरमा रिलिजको तयारी

    काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरिरहेको फिल्म ‘अञ्जली’ अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको फिल्ममा कथा र निर्देशन दिनेश लिङ्देनको छ ।

    फिल्ममा एलिना बाँसकोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मा, नरेश वनेम, प्रजलिका गिरी, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खडका, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, बिमल ढुङ्गेल, दावा शेर्पा, प्रेम आले मगर, देब राई, मेख मगरको अभिनय छ ।

    सुशिल अधिकारीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य रहेको फिल्ममा कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माता छन् । फिल्म आगामी मंसिरमा रिलिज हुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म गतिविधि खुलाउन अनुमति दिएपछि छायांकन कार्य सुचारु हुन थालेका छन् ।

  • सलमानको ‘टाइगर ३’ र शाहरुखको ‘पठान’ सन् २०२२ को मध्यमा रिलिज हुने

    सलमानको ‘टाइगर ३’ र शाहरुखको ‘पठान’ सन् २०२२ को मध्यमा रिलिज हुने

    काठमाडौं । बलिउड स्टारद्धय सलमान खान र शाहरुख खानका दुई बहुप्रतीक्षित फिल्म सन् २०२२ को मध्यमा प्रदर्शन हुने भएका छन् । बलिउड हंगामाका अनुसार सलमानको ‘टाइगर ३’ र शाहरुखको ‘पठान’ आउने वर्षको मध्यमा लाग्नेछन् । यी दुई फिल्मले अहिलेसम्म प्रदर्शन मितिलाई निश्चित गरिसकेका छैनन् ।

    अक्टोबर २२ देखि भारतको मुम्बइस्थित फिल्म हल खुल्ने तय भएपछि दुई दर्जनभन्दा बढी फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन् । सलमान र कट्रिनाको मुख्य भूमिका रहेको टाइगरकोे तेस्रो सिक्वेल नेपालमा समेत निकै प्रतीक्षित छ ।

    शाहरुखको कमब्याकको कारणले पनि पठान निकै प्रतीक्षित छ । सन् २०२२ का इद, दिवाली, गणतन्त्र दिवस, स्वतन्त्रता दिवस र क्रिसमस, गान्धी जयन्तीजस्ता आकर्षक डेट सबै लक्ड भैसकेका छन् । यस्तोमा पठान र टाइगर ३ को डेट कहिले लक्ड हुन्छ, यो बुझ्नु आकर्षक हुनेछ ।

    सलमान अहिले कट्रिना क्याफसँग टाइगर ३ को सुटिङमा व्यस्त छन् । विदेश सुटिङपछि सलमान अहिले मुम्बई फर्किएका छन् । अब सलमानले बिग बोसको सुटिङ थाल्दैछन् । मनीष शर्माको निर्देशनमा बनिरहेको टाइगर ३ मा शाहरुखको केमियो भूमिका छ ।

    शाहरुख स्टारर पठानमा दीपिका पादुकोण, जोन अब्राहम, आशुतोष राणा, डिम्पल कपाडियाको समेत मुख्य भूमिका छ । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म पठानमा दीपिकाले जासूस चरित्रमा खेलेकी छिन् । पठानमा समेत सलमानले केमियो भूमिका निर्वाह गरेका छन् ।

  • खुल्न थाले इन्दिरा र शरद : इन्गेजमेन्ट खुशिमा निकटका सँग क्लबमा जमघट !

    खुल्न थाले इन्दिरा र शरद : इन्गेजमेन्ट खुशिमा निकटका सँग क्लबमा जमघट !

    काठमाडौं । बिहे प्रस्ताव स्वीकारेपछि गायिका इन्दिरा जोशी र उनका फियोन्से शरद केडिया सार्वजनिकरुपमै खुल्न थालेका छन् ।

    यसैसाता खुम्बु आइसफल क्षेत्रमा शरदले गरेको बिहे प्रस्तावलार्ई इन्दिराले स्वीकारेपछिको भिडिओ भाइरल बनेको थियो । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीलाई इन्गेजमेन्ट औंठी साटासाट गरेपछि सार्वजनिक थलोमै देख्न थालिएको छ ।

    मिडिया छल्दै हिँड्ने उनीहरु सगरमाथाबाट फर्किएपछि भने सम्बन्धलाई खुलाउन चाहेका छन् । शनिबार उनीहरु दरबारमार्गको किंग्स लाउन्ज क्लबमा भेटिए ।

    क्लबमा इन्दिरा, शरदसहित संगीतकार न्यूह बज्राचार्य र भिजे सुशिल नेपाल पनि थिए । न्यूह र सुशिल इन्दिराका निकै मिल्ने साथी पनि हुन् । हुनसक्छ, इन्गेजमेन्टको खुशियालीमा उनीहरुले क्लबमा गेट–टुगेदर पनि गरेका थिए ।

  • हिमानीको प्रशंसामा मनीषा : विश्वलाई हिमानीजस्तै बहादुर महिलाको खाँचो छ !

    हिमानीको प्रशंसामा मनीषा : विश्वलाई हिमानीजस्तै बहादुर महिलाको खाँचो छ !

    काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहका प्रशंसक प्रशस्तै छन् । उनको स्वभाव र सामाजिक देनलाई लिएर प्रशंसाको पुल बाँध्ने टन्नै छन् । यस्तोमा थपिएकी छिन् अभिनेत्री मनीषा कोइराला ।

    शनिबार राती मनीषा र हिमानीले सँगै रात्रीभोज गरे । निकट पारिवारिक जमघटमा उनीहरुले एकअर्काको भावना र विचार सेयर गरे । अहिले सामाजिक संजालमा हिमानी र मनीषाका क्यान्डिड तस्बिर सार्वजनिक भएका छन् ।

    मनीषाले इन्स्टाग्राममा हिमानी र साथीहरुसँगका केही तस्बिर सेयर गरेकी छिन् जसमा उनले हिमानीलाई बहादुर महिला भन्दै प्रशंसा गरेकी छिन् । ‘गएको राती महिला केही बहादुर महिलाहरुसँग समय बिताएँ’ मनीषा भन्छिन्, ‘विश्वलाई बहादुर महिलाहरु आवश्यक पर्छ ।

    म्युजिक थेरापिस्ट एमी टेन्नीको भनाई उध्दृत गर्दै मनीषाले अरुलाई बनाउने र विस्तार गर्ने महिलाहरु जरुरी भएको बताएकी छिन् । उक्त जमघटमा मनीषाकी निकट साथी डा. अर्पणा शाह, बन्दना राणा लगायत पनि थिए ।

  • नेपाली फेसन डिजाइनरको गाउनमा आइफल टावर अगाडि प्रियंका

    नेपाली फेसन डिजाइनरको गाउनमा आइफल टावर अगाडि प्रियंका

    पेरिस । प्रियंका चोपडा र प्रबल गुरुङको सम्बन्ध नयाँ होइन । प्रबल प्रियंकाका रुचाइनेमध्येका एक फेसन डिजाइनर हुन् । प्रबलकै डिजाइनमा प्रियंकाले केही ग्लोबल स्टेजमा आफ्नो सौन्दर्य पस्किएकी छिन् ।

    आइतबार विश्व फेसनको सहर मानिने पेरिसमा प्रियंकाको ड्रेसअप पुनः चर्चाको विषय बन्यो । पृथ्वीको रङसँग मिल्ने वातावरणमैत्री कन्सेप्टमा प्रबलले तयार पारेको कस्ट्युम लगाएर प्रियंकाले पेरिसमा आयोजित ग्लोबल सिटिजन इभेन्टमा भाग लिएकी छिन् ।

    यति मात्रै होइन, प्रियंकाले आइकोनिक आइफल टावर अगाडि प्रबलको डिजाइनमा फोटोसुट समेत गराइन् । ३९ वर्षिया म्याट्रिक्स चार स्टार प्रियंकाले उक्त इभेन्टमा प्रबलकै डिजाइन लगाएर सहभागिता जनाइन् ।

    स्प्रिङ २०२२ को लाइनमा प्रबलले तयार पारेको उक्त गाइन हरियो र नीलो रङमा डिजाइन भएको छ र पातहरु समेत बुनिएको छ । आफ्नो डिजाइन लगाएकी प्रियंकालाई इन्स्टाग्राममार्फत प्रबलले धन्यवाद दिएका छन् ।

  • बलिउडमा सन् २०२३ सम्मकै लाइनअप तयार : एकैदिन १४ फिल्मले गरे रिलिज डेट घोषणा (सूचीसहित)

    बलिउडमा सन् २०२३ सम्मकै लाइनअप तयार : एकैदिन १४ फिल्मले गरे रिलिज डेट घोषणा (सूचीसहित)

    मुम्बइ । कात्तिक ६ गतेदेखि भारतको आर्थिक राजधानी मुम्बइस्थित फिल्म हलहरु खुल्ने भएपछि एकैदिन १४ भन्दा बढी बलिउड फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन् ।

    घरेलु फिल्मलाई चलायमान बनाउन संघर्ष गरिरहेको नेपाली फिल्मलाई बलिउडको यो खबरले उत्साह प्रदान गरेको छ । जसअनुसार असोज २१ गतेदेखि नेपाली फिल्म हलहरु खुल्ने तयारीमा छन् ।

    नेपालमा असोज २१ गते हलिउड फिल्म फास्ट एन्ड फ्युरिस ९ रिलिज तयारी छ । नेपाली फिल्महरु असोज २६ गतेदेखि प्रदर्शन हुनेछन् । तीन महीनाभित्र प्रदर्शन हुने फिल्मले असोज २० गते भित्र रिलिज डेट घोषणा गर्नुपर्नेछ ।

    बलिउडमा एकैदिन सन् २०२१, २०२२ र २०२३ को रिलिज लाइनअप घोषणा भएको छ । बलिउड व्यापार समीक्षक तरण आदर्शका अनुसार सन् २०२३ सम्मै प्रदर्शन मिति घोषण भएको छ । हेर्नूस रिलिज क्यालेन्डर :

  • मिस नेपाल युएस २०२१ को उपाधि प्रतिक्षा शुक्लालाई

    मिस नेपाल युएस २०२१ को उपाधि प्रतिक्षा शुक्लालाई

    न्यूयोर्क । ‘मिस नेपाल युएस २०२१’ को ताज प्रतिक्षा शुक्लाले जितेकी छन् । न्यूयोर्कमा आयोजित फिनालीमा उनले दश प्रतिस्पर्धीलाई पछि पारिन् । कला न्यौपाने फस्ट रनरअप एलिसा लिम्बु सेकेन्ड रनरअप घोषित भए । विजेताले क्रमशः १५००, १००० र ५०० अमेरिकी डलर जिते ।

    मिस नेपाल आयोजक संस्थाको दशौं वार्षिकोत्सव अन्तर्गत यसपटक फिनाली आयोजना गरिएको हो । शीर्ष दशमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्यासा थापा तथा एलिशा लिम्बु पुगेका थिए ।

    पूर्वमिस नेपाल माल्भिका सुब्बाले भर्चुअल माध्यममार्फत यसपटक ग्रुमिङ सिकाएका थिइन् । अमेरिकी सरकारले ट्रेडमार्क उपलब्ध गराएपछि पहिलोपटक पेजेन्ट आयोजना भएको हो । क्विन्स थिएटरमा आयोजना भएको फिनाली अघि कार्यक्रममा भाग लिनेको कोभिड-१९ परीक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा न्यूयोर्कबाट अमित शाहले सुरु गरेका थिए । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।

    कार्यक्रममा ८० हजार अमेरिकी डलरको छात्रवृत्ति नेपाली डायस्पोराका महिलालाई प्रदान गर्ने घोषणा भएको थियो ।

  • देशभरका फिल्म हल घटस्थापनादेखि खुल्ने, पहिलो दिन ‘फास्ट एन्ड फ्युरियस’ रिलिज हुँदै

    देशभरका फिल्म हल घटस्थापनादेखि खुल्ने, पहिलो दिन ‘फास्ट एन्ड फ्युरियस’ रिलिज हुँदै

    काठमाडौं । आगामी असोज २१ गते बिहीवारदेखि मुलुकभरका फिल्म हलहरु खुल्ने भएका छन् । नेपाल चलचित्र संघले आज देशभरका सदस्य हलहरुलाई पत्र लेख्दै सो मितिदेखि प्रदर्शन सुरु गर्न भनेको हो ।

    आज बसेको बैठकले महासचिव अशोक शर्माको संयोजकत्वमा चलचित्र प्रदर्शन व्यवसायिक समिति गठन गर्दै फिल्म हल खुलाउनेबारे ६ बुँदे निर्णय समेत गरेको छ ।

    दुई साताको अन्तरालमा मात्र दोस्रो फिल्म रिलिज गर्न पाइने भएको छ । स्वदेशी र विदेशी फिल्मको सेयर बाँडफाँटको हकमा पहिलो साता निर्माता तथा वितरकलाई ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर दिइने भएको छ ।

    नेपाली फिल्म प्रदर्शन मिति तोकिएको समयमा विदेशी फिल्म प्रदर्शन गर्न नपाइने भएको छ । आगामी ३ महीनाभित्र प्रदर्शन गरिने फिल्महरुको प्रदर्शन मिति असोज २० गतेभित्र घोषणा हुनेपर्ने निर्णय पनि बैठकले गरेको छ ।

    यस्तो प्रावधान तीन महीनासम्म कायम रहने भएको छ ।

  • मुम्बइका फिल्म हल कात्तिक ५ देखि खुल्ने, अक्षयकुमारको ‘सूर्यवंशी’ तिहारमा रिलिज हुँदै

    मुम्बइका फिल्म हल कात्तिक ५ देखि खुल्ने, अक्षयकुमारको ‘सूर्यवंशी’ तिहारमा रिलिज हुँदै

    काठमाडौं । आगामी कात्तिक ५ गतेदेखि भारतको मुम्बइस्थित फिल्म हलहरु खुल्ने भएका छन् । मुख्यमन्त्री उद्दव ठाकरेको कार्यालयले ट्वीटमार्फत यस्तो जानकारी दिएको हो ।

    कोभिड-१९ मा संक्रमण आएको भन्दै हल खुलाउने निर्णय भएको मुख्यमन्त्री ठाकरेले जनाएका छन् । हल खुलाउने निर्णयसँगै मुख्यमन्त्री कार्यालयले फिल्म हलमा अपनाउनुपर्ने कोभिड संक्रमणविरुद्धको मापदण्ड पनि सार्वजनिक गर्ने तयारी भएको छ ।

    हल खुलाउने निर्णय भएको केही घण्टामै अक्षयकुमार स्टारर फिल्म सूयंवंशीको प्रदर्शन मिति घोषणा भएको छ । आगामी तिहारकै अवसरमा सूर्यवंशी प्रदर्शन मिति घोषणा भएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

    मुम्बईमा हल खुलेपछि यसले नेपाली फिल्म क्षेत्रलाई पनि राहत मिलेको छ । नेपालका वितरक र प्रदर्शक मुम्बईमा हल खुलेपछि ठूलो फिल्म रिलिज हुने र यसले फिल्म क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने आशामा थिए ।

  • संसारकै अग्लो ठाउँमा फेसन सो : सुपरमोडलदेखि इटालीका राजकुमारसम्म हिँडे हिउँले ढाकिएको र्‍याम्पमा (तस्बिरहरु)

    संसारकै अग्लो ठाउँमा फेसन सो : सुपरमोडलदेखि इटालीका राजकुमारसम्म हिँडे हिउँले ढाकिएको र्‍याम्पमा (तस्बिरहरु)

    काठमाडौं । सर्वाधिक उचाइमा आयोजना गरिने फेसन सोको रुपमा विश्व कीर्तिमान राखेको माउन्ट एभरेस्ट फेसन रनवेको दोस्रो संस्करण सगरमाथा आधार शिविरमा सम्पन्न भएको छ ।

    विभिन्न १० मुलुकबाट आएका सुपरमोडलसहित इटालीका राजकुमार कोसिमो दे मेडिसीले नेपाली डिजाइन लगाएरै र्‍याम्प नापे । कासा डिजाइन र बुद्धिस्ट लाइनका डिजाइन लगाएर इटालेली प्रिन्सले नेपाली डिजाइनलाई प्रवद्र्धन गर्ने प्रयास गरे ।

    ५५०० मिटर उचाइमा आयोजना गरिएको हिउँले भरिएको र्‍याम्पको पृष्ठभूमिमा सर्वोच्च शिखर सगरमाथाको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका पंकज गुप्ता, रमिला नेमकुल र रिकेन महर्जनले फेसन सोको आयोजना गरेका हुन् ।

    संसारका कीर्तिमानहरुको सूची राख्ने गिनिज पुस्तकले पृथ्वीकै अग्लो स्थानमा आयोजना गरिने फेसन सोको रुपमा माउन्ट एभरेस्ट फेसन रनवेलाई केही वर्षअघि सूचीकृत गरेको छ ।

    उक्त रनवेमा फेसन डिजाइनर रमिला नेमकुल र कासाले दिगो फेसनमा आधारित लाइन सार्वजनिक गरेका थिए । नेपाल पर्यटन बोर्डद्वारा प्रवद्र्धित सोमा कासाले बुद्धिस्ट फेसन लाइन पनि लन्च गरेको थियो । भगवान गौतम बुद्धको दार्शनिक सूत्र अहिंसा परम धर्मबाट उक्त लाइन प्रभावित रहेको जनाइएको छ ।

    दुईवर्ष लामो अध्ययनपछि प्राप्त फेब्रिक र २१ देशहरुको छाता संस्था सेरिकल्चर अर्गनाइजेसनको सहकार्यमा रमिलाले बुद्धिस्ट फेसन लाइन सार्वजनिक गरेकी हुन् ।

    आरबी डायमन्ड ज्वेलरीका रिकेन महर्जनले ताज डिजाइन गरेका थिए । नेपाली ढुंगा क्यानाइट प्रयोगमार्फत हिमालयलाई उतार्ने किसिमले उनले क्राउन डिजाइन गरेको जनाइएको छ । रनवेमा प्रयोग गरिएका एस्सेसरिज वातावरणमैत्री र दिगो फेसनमा आधारित रहेको जनाइएको छ ।

    महामारीपछि पहिलोपटक आयोजना गरिएको यस्तो खालको कार्यक्रमलाई सगरमाथा आधार क्षेत्रका शेर्पा समुदायले पनि स्वागत गरेका छन् । आरोही कान्छा शेर्पाले यस्ता खाले कार्यक्रमले खुम्बु क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने बताए ।

    गोक्यो हिमनदीको छेउमा आयोजना गरिएको फेसन सोलाई हेर्न ४७ जनाको समूह त्यहाँ उपस्थित थियो । आगामी नोभेम्बर १ देखि स्कटल्यान्डको ग्लास्गोमा सुरु हुने राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप२६)मा पनि हिमालय क्षेत्रमा जलवायुको असर र प्रभावबारे मुद्दा उठान हुँदैछ ।

    यसैवर्ष नेपाल आएका कोप२६ का अध्यक्ष आलोक शर्माले पनि हिमालय क्षेत्रको दिगो विकास र जलवायु परिवर्तनको असरबारे चासो राखेका थिए ।

  • पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    काठमाडौं । विष्णु माझीको स्वरमा रहेको गीत ‘चरी जेलैमा’ लगातार एक महिनादेखि युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई एक सातामा मात्र १९ लाख १८ हजार १८८ पटक हेरिएको छ भने कूल भ्यूज संख्या २ करोड ३८ लाख ९४ हजार ९७ छ ।

    डीआर सुजनको स्वरमा रहेको गीत ‘परदेशी काइँलो’ दोस्रो शीर्ष स्थानमा परेको छ । यो गीतलाई एक सातामा मात्र १८ लाख ३१ हजार ७७३ पटक हेरिएको छ । गीतको कूल भ्यूज संख्या १८ लाख ३१ हजार ७७३ छ ।

    राज भट्टराई र रचना रिमालद्वारा स्वरवद्ध गीत ‘भन साइँला’ तेस्रो सर्वाधिक हेरिने गीत बनेको छ । एक सातामा मात्र यो गीतलाई १५ लाख ३५ हजार २४६ पटक हेरिइएको छ भने कूल २१ लाख १९ हजार ५६९ पटक हेरिएको छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको साप्ताहिक सूची यस्तो छ हेर्नूस :

    १. ‘चरी जेलैमा’ विष्णु माझी : १९१८१८८

     

    २. ‘परदेशी काइँलो’ डीआर सुजन  : १८३१७७३

     

    ३. ‘भनसाइँला’ राज भट्टराई र रचना रिमाल : १५३५२४६

     

    ४. ‘दसैं आइसक्यो’ विष्णु माझी : १२,२१,६७३

     

    ५. ‘कुरा बुझ्नु पर्च’ प्रकाश सपूत : १०,६९,०८४

     

    ६. ‘माया बिक्ने भएछ ’ शिव परियार : ९०३४२२

     

    ७. ‘कति राम्रो सुहाको’ दीपक पाठक र टिका प्रसाई : ७,४४,४९८

     

    ८. ‘माया बिरानी–२’ महेश काफ्ले : ६,८४,३४५

    ९. ‘दाजुभाई’ पुस्कल शर्मा : ६,३६,१९३

     

    १०. ‘तिम्रो मनमा ए कान्छा’ निकिता थापा : ५,९६,४०७

     

  • ‘लभ नम्बर २२’ फस्टलुक पोस्टरमा रोमान्टिक अमृत र रक्षा

    ‘लभ नम्बर २२’ फस्टलुक पोस्टरमा रोमान्टिक अमृत र रक्षा

    काठमाडौं । एसियन म्युजिकले निर्माण गरेको वेब-सिरिज ‘लभ नम्बर २२’को फस्टलुक पोस्टर शनिबार रिलिज भएको छ । दशैं लगत्तै सिरिजलाई फोपी ओटीटी प्लेटफर्म र टेलिभिजनमा रिलिज गर्ने तयारी भएको कम्पनीका म्यानेजिङ डिरेक्टर इश्वर गुरुङले जनाए ।

    अमृत ढुंगाना र रक्षा थापालाई फिचर्ड गरिएको पोस्टरमा तन्नेरीको मनोविज्ञानलाई दर्शाउने प्रयत्न गरिएको छ । रिलिज भएका दुई पोस्टरमा अमृत र रक्षा रोमान्टिक मुडमा देखिन्छन् । तन्नेरीको जीवनशैलीलाई प्रस्तुत गर्ने फिल्ममा उनीहरुको सम्बन्ध, चाहना र द्वन्द्वलाई प्रस्तुत गरिएको र प्लस टु पुस्ताले रुचाउन सक्ने प्रबन्ध निर्देशक गुरुङले बताए ।

    सरिन पोखरेलको कथा र निर्देशन रहेको वेब–सिरिजको अहिले पोस्टप्रोडक्सन भैरहेको छ । इश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिज २२ एपिसोडमा निर्माण हुने भएको छ । सिरिजमा खगेन्द्र श्रेष्ठ र दीपेन्द्र तामाङको सहनिर्माण छ । सिरिजमा अमृत र रक्षासहित अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णीमा खतिवडाको अभिनय छ ।

    चाँडै सिरिजको ट्रेलर रिलिज हुने भएको छ । एसियन म्युजिकले तीनवर्ष निर्माण गरेको २१ भागको सिरिज ट्वान्टीफस्ट लभ निकै चर्चित थियो । कम्पनीले १७ वर्षदेखि संगीतको प्रवद्र्धन र बजारीकरण गर्दैै आएको छ ।

    पछिल्लो युवापुस्ता लक्षित वेब सिरिज बनाउँदै आएको छ ।

     

     

  • ‘बहिस्कार’ गीत ल्याएको पहिलो दिनमै दुर्गेश विवादमा : जोनी डीपबाट चोरी वा प्रभावित ?

    ‘बहिस्कार’ गीत ल्याएको पहिलो दिनमै दुर्गेश विवादमा : जोनी डीपबाट चोरी वा प्रभावित ?

    काठमाडौं । दुर्गेश थापा र पल शाहको नयाँ गीत बहिस्कार शुक्रबार युट्युवमा रिलिज भएको छ । दुई महीना पहिले लोकदोहोरी प्रतिष्ठानले बहिस्कार गर्ने घोषणा गरेपछि त्यसको जवाफ दिन दुर्गेशले यो गीत ल्याएका हुन् ।

    गीत ल्याएकै दिन यो दुर्गेश पुनः विवादमा तानिएका छन् । भिडिओमा प्रयुक्त उनको गेटअप र ड्रेस जोनी डीप स्टारर हलिउड फिल्म ‘पाइरेट्स अफ दी क्यारेबियन’बाट चोरी भएको भन्दै सामाजिक संजालमा व्यापक आलोचना भएको छ ।

    हेयर स्टाइल, मेकअप र ड्रेस दुरुस्तै जोनी डीपको चरित्रसँग मिलेपछि कतिपय दर्शकले चोरी नगर्न दुर्गेशलाई सुझाएका छन् । तर, दुर्गेशले चाहिँ त्यो कन्सेप्टलाई चोरी भन्न नमिल्ने बताए ।

    ‘कतिपय कन्सेप्ट मिल्छ तर, यसलाई चोरी भन्न मिल्दैन’ नेपाल प्रेससँग उनले भने ।

  • म्युजिक भिडिओमा साम्राज्ञीको कमब्याक : यस्तो छ राज र देलविससँग हट फोटोसुट

    म्युजिक भिडिओमा साम्राज्ञीको कमब्याक : यस्तो छ राज र देलविससँग हट फोटोसुट

    काठमाडौं । कोरोनाभाइरस महामारीको कारण अहिले फिल्म गतिविधि ठप्पप्रायः छ । लामो समय फिल्म क्षेत्र बन्द हुँदा नाम चलेका स्टारहरु म्युजिक भिडिओ, सिरियल लगायतका अन्य माध्यममा व्यस्त छन् । यस्तोमा, ठूलो पर्दाकी हिट अभिनेत्री साम्राज्ञी शाह पनि सांगीतिक भिडिओमा व्यस्त भएकी छिन् ।

    अभिनय करियरमा खासै म्युजिक भिडिओमा नदेखिने अभिनेत्री साम्राज्ञी लामो समयपछि एउटा नयाँ म्युजिक भिडिओमार्फत पुनरागमन गर्दैछिन् । दर्शकले उनलाई एक नयाँ गीतको भिडिओमा देख्न पाउने भएका छन् । लामो समय हल बन्द हुँदा साम्राज्ञीलाई हेर्न नपाएका उनका प्रशंसक समेत यो खबरले खुशि हुनसक्छन् ।

    निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडिओलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् ।

    गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन गरेको छ ।

    गीतमा कोरियोग्राफी माइकल चन्दको रहनेछ । गीतको भिडिओ छायाँकन काठमाडौँका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । भिडियोलाई ट्री मिडियाको अफिसियल युट्युव च्यानलमार्फत एक कार्यक्रमका बीच सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । शाह र निर्माण पक्षबीच भएको सम्झौतापश्चात छोटो प्रतिक्रिया दिदै अभिनेत्री शाहले गीत र मनपरेपछि आफूले म्युजिक भिडिओ गर्न सहमत भएको बताइन् ।

    ‘यसको शब्द संयोजन र अडियो भर्सन निकै मनपरेपछि भिडिओ गर्न राजी भएकी हुँ’ नेपाल प्रेससँग साम्राज्ञीले भनिन् । स्रोतका अनुसार यो म्युजिक भिडिओ अभिनय गरेबापत साम्राज्ञीले राम्रै अमाउन्ट समेत पाएकी छिन् । साम्राज्ञी फिल्ममा सर्वाधिक पारिश्रमिक लिने नेपाली अभिनत्री हुन् ।

    यो गीतका लागि साम्राज्ञीले फोटोसुट पनि गराएकी छिन् । हेर्नूस तस्बिरहरु :

        
  • मिस नेपाल नम्रताले शुभारम्भ गरिन् यामहा एक्सचेन्ज मेला (तस्बिरहरु)

    मिस नेपाल नम्रताले शुभारम्भ गरिन् यामहा एक्सचेन्ज मेला (तस्बिरहरु)

    काठमाडौं । मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले आजदेखि राजधानीको भृकुटीमण्डमा सुरु भएको यामाहा महा–एक्सचेन्ज मेला उद्घाटन गरेकी छिन् ।

    विश्व सुन्दरी प्रतियोगिताको तयारीमा रहेकी मिस नेपाल नम्रता यामहाकी ब्रान्ड एम्बेसडर समेत हुन् । यामहा हिडन ट्रेजरसँग विगत पाँचवर्षदेखि आबद्ध छ ।

    कार्यक्रममा यामाका मोटरसाइकल र स्कुटी प्रदर्शनीमा राखिएका थिए भने मिस नेपाल नम्रताले शुभारम्भसँगै विजेतालाई साँचो हस्तान्तरण समेत गरेकी थिइन् । प्रदर्शनी १५ गतेसम्म चल्नेछ ।

    नेपाल प्रेससँग कुरा गर्दै नम्रताले आफू मिस वर्ल्डको तयारीमा जुटेको जानकारी दिइन् ।

    हेर्नूस तस्विरहरु :

     

  • मिस युनिभर्स नेपालको आवेदन खुला, कात्तिक १३ गते ग्रान्ड फिनाली हुने

    मिस युनिभर्स नेपालको आवेदन खुला, कात्तिक १३ गते ग्रान्ड फिनाली हुने

    काठमाडौं । प्रतिष्ठित ब्यूटी पेजेन्ट मिस युनिभर्स नेपालले सन् २०२१ को संस्करणको लागि आवेदन आह्वान गरेको छ ।

    मिस नेपालपछिको दोस्रो प्रतिष्ठित पेजेन्टले सेप्टेम्बर २२ देखि ३० सम्म इच्छुक युवतीलाई आवेदन दिन भनेको छ । निःशुल्क आवेदन दिन सकिने जनाइएको छ ।

    अक्टोबर १ मा क्वार्टर फाइनलिस्ट, अक्टोबर १० मा सेमीफाइनलिस्ट, अक्टोबर २० देखि २९ सम्म क्लोज क्याम्प र अक्टोबर ३० (कात्तिक १३ गते) ग्रान्ड फिनालीको कार्यतालिका घोषणा गरिएको छ ।

    गतवर्षकी मिस युनिभर्स नेपाल विजेता अनिष्का शर्माले अमेरिकामा भएको फिनालीमा भाग लिएकी थिइन् । अघिल्लो वर्ष नै मिस युनिभर्स पेजेन्टले हिडन ट्रेजरसँग अलग भएको घोषणा गरेको थियो ।

  • जेम्स बन्ड हिरो डेनियल क्रेग मानार्थ बेलायती सेनाको अफिसरमा नियुक्त

    जेम्स बन्ड हिरो डेनियल क्रेग मानार्थ बेलायती सेनाको अफिसरमा नियुक्त

    काठमाडौं । मान्छे मार्ने लाइसेन्सको रुपमा जेम्स बन्ड पात्र चर्चित छ । यो पात्रमा अभिनय गर्ने बेलायती अभिनेता डेनियल क्रेग चर्चित छन् । उनै अभिनेता क्रेगलाई बेलायतले मानार्थ नेभी सेनाको अधिकृत पदमा नियुक्त गरिएको घोषणा गरेको छ ।

    रोचक कुरा त के छ भने, जेम्स बन्ड पात्रको फिल्म र्‍यांक ००७ रहेको छ । क्रेगलाई पनि बेलायती सेनामा फिल्ममा रहेको सोही र्‍यांकको दर्जा दिइएको छ ।

    मानार्थ नेभल अफिसरको उपाधि पाएपछि अब अभिनेता क्रेग बेलायती सशष्त्र सेनाको लागि उनी दूत बन्नेछन् । ‘कमान्डर क्रेग सेवा गर्ने इच्छासहित नेभल सेनामा आबद्ध हुनुभएको छ’ ००७ को आधिकारिक पृष्ठमा उल्लेख छ ।

    बेलायती सेनाको मामिला हेर्ने संसद सदस्य टोनी राडकिनले अभिनेता क्रेगलाई रोयल नेभीमा स्वागत गर्न पाउनु खुशिको कुरा भएको बताए । क्रेगको फिक्सनल पात्रलाई यथार्थमा बदलिएको उनले धारणा राखे ।

    ‘संसारभरको मिसन पुरा गरेर क्रेगले बेलायतलाई सुरक्षित राख्न वितेका १५ वर्षमा क्रेग कमान्डरको रुपमा परिचित छन्’ राडकिनले बताए ।

    गत सेप्टेम्बर २८ मा जेम्स बन्ड फिल्मको पछिल्लो श्रृंखला नो टाइम टु डाइ लन्डनमा विश्व प्रिमियर भएको थियो । सेप्टेम्बर ३० मा यो फिल्म बेलायतमा प्रदर्शन हुनेछ । अक्टोबर ८ मा अमेरिका रिलिजको तयारी छ ।

    नेपालमा पनि फिल्म रिलिजको तयारी भएको एप्पल इन्टरनेटमेन्टले जनाएको छ ।

  • गायिका इन्दिरा जोशीको सरप्राइज इन्गेजमेन्ट !

    गायिका इन्दिरा जोशीको सरप्राइज इन्गेजमेन्ट !

    काठमाडौं । गायिका इन्दिरा जोशीले केही महीना पहिले आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । उनले त्यतिबेलै आफू कसैसँगको प्रेममा रहेको बताएकी थिइन् ।

    प्रेममा रहेको केही महीनामै इन्दिराको सरप्राइज इन्गेजमेन्ट भएको छ । प्रेमीले उनलाई सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्गेजमेन्ट औंठी लगाइदिएका छन् ।

    फेसन डिजाइनर शरद केडियाले इन्दिरालाई खुम्बुमै इन्गेजमेन्ट रिङ लगाइदिएका छन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका इन्दिरा र शरदबीच इन्गेजमेन्ट भएको हो ।

    हेलिकोप्टरमार्फत त्यहाँ पुगेका उनीहरु अहिले खुम्बु क्षेत्रमै छन् । त्यही मौकामा शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडिओ सार्वजनिक भएको हो । भिडिओमा शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशि हुँदै स्वीकारेकी छिन् ।

    पाइलट विवेकले भिडिओ सार्वजनिक गर्दै इन्दिरा र शरदलाई सुखद भविष्यको शुभकामना दिएका छन् । यी दुई जनाले केही महीनायता डेट गरिरहेपनि सार्वजनिकरुपमा प्रेमलाई स्वीकार गरिसकेका छैनन् ।

    तर, गायिका जोशीले चाहिँ इन्गेजमेन्ट नभएर प्रेम प्रस्तावलाई स्वीकारेको दावी गरेकी छिन् । निकट स्रोतका अनुसार उनीहरु केही वर्षदेखि डेटिङमा छन् र केही महीना पहिले इन्दिराले आफू प्रेम सम्बन्ध रहेको भन्दै औंठी सार्वजनिक गरेकी थिइन् ।