Category: कलाप्रेस

  • आज अन्तरराष्ट्रिय ज्याज दिवस

    आज अन्तरराष्ट्रिय ज्याज दिवस

    काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त ज्याज सङ्गीत २०औँ शताब्दीको सुरुदेखि प्रचलनमा आएको हो । पश्चिमा मुलुकमा युवापुस्तामाझ यो सङ्गीत लोकप्रिय छ ।

    सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को महासभाले एप्रिल ३० लाई अन्तरराष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरेअनुरुप आज यो दिवस विश्वभर मनाइन्छ ।

    अन्तरसांस्कृतिक संवाद, मानवअधिकार र मानव मर्यादाको सम्मान, भेदभाव उन्मूलन, अभिव्यक्ति स्वतन्त्रता तथा लैङ्गिक समानता प्रवर्द्धन र सामाजिक परिवर्तनका लागि युवाहरूको भूमिकालाई सुदृढ पार्न यो दिवस मनाइन्छ ।

    यो अन्तरराष्ट्रिय दिवसले विश्वभरका समुदाय, विद्यालय, कलाकार, इतिहासकार, शिक्षाविद् र ज्याज उत्साहीहरूलाई ज्याज कला, यसको उद्गम, भविष्य र प्रभावका बारेमा जान्ने अवसर प्रदान गर्नाका साथै अन्तरराष्ट्रिय शान्ति तथा संस्कृति प्रवर्द्धनमा योगदान पुग्ने युनेस्कोको विश्वास छ ।

    ज्याजले एकता, पारस्परिक समझदारी र सहिष्णुताका लागि अवसर सृजना गर्ने, सीमान्तकृत समाजका युवालाई सशक्त बनाउने, परम्परागत सङ्गीतलाई नयाँ रूपमा प्रस्तुत गर्न प्रोत्साहित गर्न योगदान पुग्ने युनेस्कोले जनाएको छ ।

  • ६ वर्षमा तयार पारे पाण्डेले नयाँ चलचित्रको स्क्रिप्ट, नाम र पोस्टर चाँडै सार्वजनिक गरिने

    ६ वर्षमा तयार पारे पाण्डेले नयाँ चलचित्रको स्क्रिप्ट, नाम र पोस्टर चाँडै सार्वजनिक गरिने

    कैलाली । चलचित्र लेखक तथा निर्देशक विवेक पाण्डेले ६ लगाएर नयाँ चलचित्रको स्क्रिप्ट तयार पारेका छन् ।

    सन् २०१८ मा नयाँ र फरक विषयवस्तुमा फिल्मको स्क्रिप्ट लेख्न थालेका पाण्डेले आफ्नो स्क्रिप्ट सकिन ६ वर्ष लागेको बताएका हुन् । उनले हालसम्म ४४ वटा ड्राफ्ट परिवर्तन गरी अन्तिम स्क्रिप्ट तयार गरिएको जानकारी दिए ।

    ‘२०१८ मा निकै फरक विषयवस्तुमा फिल्मको स्क्रिप्ट लेख्न सुरु गरेको थिए । विषयवस्तु अनुसारको कथा पटकथा सबै मिलाउँदा ६ वर्ष लाग्यो ’ उनले भने ‘यो चलचित्र नेपालमा भिन्न बन्ने छ ।’

    विवेक पाण्डेले फिल्म निर्देशनमा स्नातक अध्ययन सम्पन्न गरेका छन्। उनको आफ्नै निर्देशनमा बन्ने नयाँ फिल्म मध्यम बजेटको हुनेछ।

    फिल्मको कलाकार छनोट आगामी असारको पहिलो साताबाट सुरु हुने जानकारी निर्माण टिमले दिएको छ।फिल्म लाई रुपेश थापा ले छायाङ्कन गर्ने छन् ।

    यो फिल्म लेखक पाण्डेसँगै किशोर भट्टले समेत सह–लेखन गरेका छन्। किशोर भट्टा सह–निर्देशक तथा कास्टिङ निर्देशकको भूमिकामा पनि रहनेछन्।

    फिल्मको पहिलो टाइटल घोषणा चाँडै गरिने तयारी गरिएको छ। निर्देशक विवेक पाण्डेका अनुसार फिल्मको ९० प्रतिशत कलाकार नयाँ अनुहार हुनेछन्।

    उत्साहजनक तयारीसहित अघि बढिरहेको यो परियोजना नेपाली फिल्म क्षेत्रको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

    जानकी देवी प्रोडक्सनबाट निर्माण हुने फिल्मको सुटिङ भाद्र १५ गतेबाट सुरु गरिनेछ। यस अघि ‘अमेरिका ब्वाइज ’ र ‘लप्पन छप्पन २’ मा फिल्म लेखकको रूपमा काम गरेका छन् भने मुख्य सहायक –निर्देशक भएर पनि चलचित्रमा काम गरेका छन्।

    अब उनको निर्देशन मा बन्ने फिल्मको शीर्षक र पोस्टर छिट्टै सार्वजनिक गरिनेछ। जसको तयारी मा निर्माण टिम जुटेको छ ।

  • महोत्सवमा एकै दिन पुगे दुर्गेश र ज्योती, एक-अर्कालाई स्टेजबाटै घोचपेच

    महोत्सवमा एकै दिन पुगे दुर्गेश र ज्योती, एक-अर्कालाई स्टेजबाटै घोचपेच

    रुपन्देही । अहिलेका ‘हट केक’ गायक दुर्गेश थापा र आफ्नै छविकी लोकगायिका ज्योती मगरको आपसी सम्वन्ध त्यति राम्रो छैन । केही दिनअघि उनीहरु सामाजिक सञ्जालमै एक–अर्कामाथि खनिएका थिए ।

    गुल्मीमा जारी गुल्मी महोत्सवमा सोमबार यी दुवै कलाकार एकै दिन झुल्किएका छन् । आयोजकका अनुसार दुर्गेश जुन दिन आउँछन्, आफू पनि त्यही दिन आउने अडान ज्योतीले लिएकी थिइन् । यद्यपि, कार्यक्रममा उनीहरुको भेट भएन । ज्योती आउँदा दुर्गेश गाएर हिँडिसकेका थिए ।

    अहिलेका सर्वाधिक डिमान्डेड गायक दुर्गेशलाई ल्याउन आयोजकका लागि कम्ति चुनौतिपूर्ण भएन । दर्शकले जसरी पनि दुर्गेश ल्याउनैपर्ने माग गरेका थिए । ज्योतीले पनि त्यही दिन आउने रहर गरेपछि उनीहरु थप दवावमा परे ।

    एकदमै व्यस्त रहेका दुर्गेशले गाडीमा आउजाउ गर्न नभ्याउने भएपछि उनलाई हेलिकोप्टरमा ल्याइएको थियो । उनका लागि ५ लाख रुपैयाँ खर्च गरिएको आयोजकले जनाएको छ । चार्टर्ड हेलिकोप्टरमा आएका दुर्गेश त्यसैमा फर्किए ।

    आयोजक गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले दुर्गेशका फ्यानहरुको दवावमा ५ लाख रुपैयाँमा सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरिएको बताए । त्यसले ह्वात्तै खर्च बढेपछि टिकट दर दोब्बर बनाउनुपरेको उनको भनाइ छ ।

    ‘दुर्गेशका फ्यान धेरै भएकाले जसरी पनि बोलाउनुपर्ने भयो । उहाँको कार्यक्रममा चाप रहेछ । हेलिकोप्टर चार्टर गरेरै ल्यायौं,’ उनले भने ।
    ज्योतीलाई दिइएको रकम भने उनले पाण्डेले खोल्न चाहेनन् । यद्यपि, आयोजक निकट स्रोतले १ लाख रुपैयाँ उनलाई ल्याउन खर्च भएको बताएको छ ।

    सोमबार साधारण टिकट २ सय र विद्यार्थीलाई १ सय बनाइएको थियो जुन नियमित दरको दोब्बर हो । टिकट दोब्बर बनाउँदा पनि दर्शक ओइरिए । ‘खर्च बढेपछि टिकट दर दोब्बर बनायौं, र पनि अहिलेसम्मकै धेरै सहभागी भए,’ पाण्डेले सुनाए, ‘करिब १० हजार दर्शक जुटे होलान्, गुल्मीमा यो संख्या निकै धेरै हो ।’

    दुर्गेश चिदिचौर खेलमैदानमा दिउँसो २ः१७ बजे ओर्लिएका थिए । उनले २ः३० बजेदेखि महोत्सवमा एक घन्टा प्रस्तुतति दिए । करिब ४ बजे हेलिकोप्टरबाटै फर्किए । दुर्गेशले ‘दुश्मन हेरेको हेरै’ गाउँदा दर्शक झुमेका थिए । प्रस्तुति दिने क्रममा उनले ‘दुर्गेश नाम होइन, ब्राण्ड हो’ भन्दै आफ्ना फ्यानहरुलाई उचाले ।

    एक–अर्कालाई घोचपेच

    दुर्गेश प्रस्तुति दिएर फर्किएपछि ज्योती आएकी थिइन् । उनीहरुको भेट त भएन, तर स्टेजबाट एक–अर्कालाई छेडछाड गरे ।
    आयोजकका अनुसार दुर्गेशले ‘कोही कोही साँप्रा देखाउने कलाकार पनि आउने रे’ भन्दै ज्योतीलाई छेड हानेका थिए । ज्योतिले पनि ‘स्टेजमा उफ्रिने स्वघोषित कलाकार पनि आएका थिए रे’ भन्दै दुर्गेशलाई छेड हानिन् ।

    आयोजक समितिका अध्यक्ष पाण्डेले भने, ‘दुवैले मञ्चबाटै एक अर्कालाई सटायर गर्नुभयो । त्यसो नगरेको भए राम्रो हुन्थ्यो ।’ कृषि, पर्यटन उद्योग र व्यापार प्रवद्र्धन गर्न वैशाख ५ गतेदेखि सञ्चालन भइरहेको महोत्सव वैशाख १७ गतेसम्म चल्ने छ ।

  • म्युजिक भिडिओबाट चलचित्रमा फड्किए एलिस खनाल, निखिलको चलचित्रमा अनुबन्धित

    म्युजिक भिडिओबाट चलचित्रमा फड्किए एलिस खनाल, निखिलको चलचित्रमा अनुबन्धित

    काठमाडौं । दर्जनौं म्युजिक भिडिओमा अभिनय गरिसकेका एलिस खनालले चलचित्र डेब्यू गर्ने भएका छन् । एक्सन स्टार निखिल उप्रेतीको प्रमुख भूमिका रहने ‘आचार्य’ मा एलिस अनुबन्धित भएका हुन् ।

    एलिस महालक्ष्मी नगरपालिका टिकाथली, ललितपुरका हुन् ।

    एलिसले निखिल र निर्माण नियन्त्रक दिपेन गौतमसँगको फोटो सार्वजनिक गरेका छन् । केही वर्षको विश्रामपछि चलचित्र निर्माण र निर्देशनमा फर्किएका निखिलले ‘आचार्य’ लाई भरपूर मिहेनत गर्ने बताए ।

  • ‘मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ?’

    ‘मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ?’

    काठमाडौं ।  कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आएका छन् ।

    त्यस्तो त आचार्यले चलचित्र ‘बलिदान’ मै आफूलाई भिन्न रुपमा प्रस्तुत गरेर वाहवाही पाएका थिए ।  तर, प्रदर्शनरत चलचित्र ‘भूठान’ मा उनी हाँसो हराएको मान्छेका रुपमा प्रस्तुत भएका छन् ।

    कलाकारितामा ‘ह्युमर कमेडी’ को प्रयोग गर्ने अभिनेता आचार्यले यस चलचित्रमा दुई दृश्यमा मात्र हाँसेको हेर्न पाइन्छ । यसकारण पनि पछिल्लो केही चलचित्रदेखि उहाँलाई हास्य कलाकार नभई अभिनेता भन्न थालिएको छ ।

    सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई गम्भीरतापूर्वक लिएर पात्रलाई जीवन्त बनाउनुभएका बहुआयामिक आचार्य विविधता मन पराउँछन् । ‘मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने म भिन्न देखिएको छु,’ अभिनेता आचार्य भन्छन् ।

    प्रस्तुत छ, अभिनेता आचार्यसँग कला यात्रा, चलचित्र निर्देशन र राजनीति प्रवेशको सम्भावना, नेपाली चलचित्रको विदेशी बजारलगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

    चलचित्र ‘भूठानमा’ हाँसो हराएको मान्छेको भूमिका गर्न कसरी तयार हुनुभयो ?

    – मकहाँ धेरै चलचित्रहरुको पटकथा आउने गरेको छ । अहिले धेरैमा छोराछोरी विदेश र अभिभावक नेपाल रहेको कथा पाउने गरेको छु । तर, म आफूलाई नयाँ रुपमा प्रस्तुत गरौँ भन्ने सोचका साथ ती कथाहरु पढ्ने र सुन्ने गर्छु । तर, ‘सिचुएसनल कमेडी’ नभई संवादमा आधारित वा हाउभाउले गर्ने ‘कमेडी’ भएका कथा आइरहेका थिए । त्यही समयमा मैले ‘भूठान’ को पटकथा पाएँ ।

    त्यो एकैपटकमा बुझ्न सहज थिएन, तर बुझ्दै गएपछि त्यसमा रहेको विविधताले मलाई आकर्षण गर्‍यो । ‘बलिदान’ चलचित्रमा अभिनय गर्दा मैले सक्दिन कि भन्ने डर थियो, तर चलचित्र हेरेपछि धेरैले राम्रो गरेको प्रतिक्रिया दिनुभयो । ‘महाजात्रा’ मा पनि मैले केही फरक गर्ने कोसिस गरेको थिएँ । तर, निर्देशक प्रदीप भट्टराईले त्यसमा ‘ह्युमर’ हाल्नुभयोे । तर ‘भूठान’ को पात्र नितान्त फरक छ । एकै पटक पढ्दा बुझिँदैन, अनि मैले दुई÷तीनपटक पढिसकेपछि मेरो पात्र केही फरक र आफूले सोचेजस्तो पाएँ, त्यसछि कुरा अगाडि बढेको हो ।

    मह जोडी बनेर हामीले काम सुरु गर्दा आफ्ना कुरा सिधै भन्न पाइने व्यवस्था थिएन । हामीले अभिव्यक्त गर्ने कुराहरूलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गथ्र्यौं । अहिले द्विअर्थी लाग्ने संवाद वा उच्छृङ्खल भएको भन्ने सुनिन्छ, केही भएका पनि छन् । तर, दर्शकले रुचाउनुभएको छ ।

    तपाइँले चलचित्र ‘भूठान’ मा निर्वाह गर्नुभएको पात्र कसरी तयार भयो?

    – म पटकथा पढेपछि रुने दृश्यमा पनि ‘ग्लिसिरिन’ को प्रयोग गर्दिनँ । किनकि कथा र पात्र जोडिएपछि त्यसको भावना हामीमार्फत देखिनुपर्छ । चलचित्र ‘भूठान’ को कथाले मलाई केही आभाष गराइसकेको थियो । चलचित्र छायाङ्कन अगाडि भएको कार्यशालाले मलाई सहयोग ग¥यो । तर, पनि आफैँलाई मैले निर्वाह गरेको विष्णुबहादुर केसी बन्न नसकिरहेको लागिरहेको थियो । एक दिन निर्देशक विनोद पौडेलले ‘दाइ, तपाइँ नेपाल जान पाउनु भएन भने के गर्नु हुन्छ रु’ भन्नुभयो । म एक्कासि निराश भएँ । किनकि विभिन्न कार्यक्रमका दौरान विदेश धेरै घुमिसकेको छु । म कार्यक्रम सकिनेबित्तिकै नेपाल फर्किन रुचाउने मान्छे । म निराश भएपछि अब यही भाव चलचित्रभर हुनुपर्छ भनेर निर्देशक पौडेलले भन्नुभयो । यसरी नै पात्र तयार भयो ।

    छायाङ्कन अगाडि तपाइँको पात्रसँग मिल्दोजुल्दो व्यक्तिहरू भेट्नुभयो? 

    – त्यहाँ (अमेरिका) मा रहनुभएका नेपाली मूलका भूटानीसँग भेटघाट गरेर उहाँको कुरा सुनेको छु । हाम्रो संस्कार र संस्कृतिमा केही फरक छैन, तर उहाँहरू आफ्नो देश फर्कन पाउनुभएको छैन । त्यो दुःखद हो । युवा काममा व्यस्त भए पनि वृद्ध उमेरका अभिभावकहरू भने खुसी कम हुनुहुन्छ कि जस्तो लाग्यो । म त्यसरी बस्नु परेको भए सायद जीवित रहन सक्दिन थिएँ । मैले त्यो कल्पना पनि गर्न नसक्ने तीतो सत्य हो ।

    चलचित्र ‘भूठान’ मा तपाइँ पूर्ण रुपमा निर्देशकमा समर्पित हुनुभयो, आफैँले यस क्षेत्रमा ५० वर्ष बिताइसक्दा पनि त्यो समर्पण गर्न सकिन्छ ?

    – म कथामा ‘कन्भिन्स’ भएपछि निर्देशकलाई समर्पित गर्छु, किनकि चलचित्रको कप्तान नै निर्देशक हुन्छन् । म कार्यशाला गर्दा होस् वा दृश्य छायाङ्कन गर्दा आफ्नो काम दोहो¥याउनु पर्दा पनि झर्को नमानी गर्छु । किनकि हामी सबैको प्रयत्न राम्रो काम गर्ने नै हुन्छ । मैले चलचित्रमा चुम्बन गरेको छु, जहाँ शरीर नभई भावनाले एकअर्कालाई स्पर्श गरेको हो । श्रीमान्–श्रीमतीबीच यो स्वाभाविक हो । फेरि हामीले अन्तरराष्ट्रिय बजारलाई ध्यानमा राखेर चलचित्र निर्माण गरेका हौँ । मैले गरेका केही नयाँ दृश्य कलात्मक छन्, भद्दा लाग्ने छैनन् ।

    अब आफैँ चलचित्र निर्देशन गर्ने तयारी पनि छ ?

    – म चलचित्र निर्देशक बन्दिन होला । टेलिशृङ्खलामा छोटो समय र समूह हुने भएकाले गरेको हुँ । तर, चलचित्रको सुरुआतदेखि चलचित्र प्रदर्शन भएर चलचित्र भवनमा रहँदासम्म निर्देशकको दायित्व हुन्छ । मेरो उमेरका कारण पनि मैले त्यसरी समय दिन सक्दिनँ । अहिले मलाई विविधता भएको भूमिकाले आकर्षित गर्ने गरेको छ । म आफूलाई अभिनेताकै रुपमा व्यस्त पार्न चाहन्छु ।

    मह सञ्चारमार्फत चलचित्र बनाउने योजना के छ ?

    –चलचित्र निर्माणमा पनि अहिले योजना बनिसकेको छैन । तर, हाम्रा मित्र किरण केसीले विषयवस्तुसहित अन्य विविध विषयमा प्रयत्न गरिरहनुभएको छ । हामीले नगर्ने भन्ने होइन, तर तत्काल नै योजना बनिसकेको छैन । मैले हालै अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा पनि अभिनय गरेको छु, त्यसलाई छोरा मोहित (मोहितवंश आचार्य) र सरोज ओलीजीले निर्माण गर्नुभएको छ । त्यसको पनि जिम्मेवारी मैले उहाँहरु दुवैलाई नै दिएको छु । किनकि पुस्तान्तरण पनि हुन जुरुरी छ ।

    गत वर्ष नेपाली चलचित्रको बजार बढेको देखियो । ‘पूर्णबहादुरको सारङ्गी’ को व्यापार इतिहास नै बन्यो, तपाइँले समग्र चलचित्र क्षेत्रलाई कस्तो रुपमा बुझ्नुभएको छ ?

    – हाम्रो चलचित्र हेर्न आउने दर्शक बढ्नु हामी सबैका लागि खुसीको खबर हो । ती दर्शकलाई पुनः चलचित्र भवनसम्म फर्काइरहनु हाम्रो दायित्व हो । तर, चलचित्र निर्माणमा सङ्ख्यात्मक वृद्धिले मात्र हामीलाई दीर्घकालीन रूपमा फाइदा पुग्दैन । हाम्रो घरेलु बजारले धान्न सक्ने र चलचित्र बुझेका निर्माता वा निर्माण समूह बढ्नुपर्छ । कुनै एक चलचित्रको व्यापार हेरेर चलचित्र निर्माणमा हौसिँदा त्यसले सुखद परिणाम नदिन पनि सक्छ । त्यसकारण चलचित्र बुझेर मात्र निर्माणमा आउन म नवप्रवेशीलाई आग्रह गर्दछु ।

    नेपाली चलचित्र अहिले विदेशमा पनि प्रदर्शन हुन्छन्, तपाइँले बजार बढेको पाउनुभएको छ ?

    – विदेशमा नेपाली बढेपछि हाम्रो चलचित्र बढी हेरिएको हो । त्यहाँ पुग्नुभएका नेपालीले नै हेर्नुभएको छ । त्यहाँका स्थानीयले नहेरेसम्म बजार कसरी बढ्यो भन्न सकिन्छ रु किनकि यहाँ रहेका नेपाली नै अहिले अस्ट्रेलिया, अमेरिकालगायतका देशमा पुगेका छन् । पहिला यहाँ हेर्थे, अहिले विदेशमा हेर्छन् । स्थानीयले नहेरेसम्म विदेशी बजार बढ्यो भन्न सकिन्न । पछिल्लो समय नेपाली दर्शक बढेका मात्र हुन् ।

    तपाइँले प्रहसन धेरै गर्नुभयो, नाटक गर्ने रहर भएन वा संयोग जुरेन?

    – मलाई प्रहसन र नाटक उस्तै लाग्छ । हामीले प्रयोग गर्ने मञ्च नै हो । प्रहसनमा हास्यव्यङ्ग्य हुन्छ भने नाटकमा विविधता हुन्छ । हामीले गत वर्ष ‘मह जात्रा’ नामक प्रहसन प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेका थियौँ । त्यही कुनै नाटक घरमा गरेको भए, नाटक हुन सक्थ्यो । त्यसकारण यी दुईमा धेरै भिन्नता लाग्दैन । हामीले प्रत्यक्ष दर्शकसमक्ष आफूलाई मञ्चमा प्रस्तुत गरिरहेका हुन्छौँ ।

    आगामी दिनमा कस्ता चलचित्र गर्ने सोच बनाउनुभएको छ ?

    – म विविधता रुचाउने भएकाले यही गर्छु भन्ने छैन । तर, आफूलाई आएको प्रस्तावमा ‘ह्युमर’ भएका चलचित्र गर्छु । ‘भूठान’ मा काम गरे भन्दैमा म त्यस्तै मात्र चलचित्रमा काम गर्न रुचाउछु भन्ने पक्कै होइन । आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्न चाहन्छु । मेरो आउँदो चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा मैले हरिबहादुरको भूमिका गरेको छु । यसले पनि मैले भनिरहेको विविधता झल्काउँछ होला ।

    तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले मह जोडीका रुपमा सहकार्यको ४५ वर्ष पूरा गर्नुभयो, यो सम्बन्ध टिकाइरहन महत्वपूर्ण कुरा के रह्यो ?

    – म र मदन दाइ (मदनकृष्ण श्रेष्ठ) ले सहकार्य गरेको यही वैशाख १४ मा ४५ वर्ष पूरा भएको छ । हाम्रो जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया महत्वपूर्ण बन्यो । दर्शकले हामीलाई एकसाथ हेर्न इच्छा नराख्नु भएको भए हामीले यत्रो यात्रा पार गर्न गाह्रो हुन्थ्यो । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत गर्‍यो, हाम्रो सम्बन्धमा उनीहरू हाबी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवैको नाम दियो, एउटा स्थान बनायो । हामीले एकअर्कासँग कहिल्यै आरिस राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरहयौँ ।

    तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले फरक फरक चलचित्रमा अभिनय गरिरहनुभएको छ, यद्यपि दर्शकले एकसाथ हेर्ने इच्छा जाहेर गरेका छन् । तयारी छ केही?

    – दर्शकलाई जस्तै हामीलाई पनि सँगै काम गर्दा खुसी लाग्छ । त्यहाँ काम नगरेर पारिवारिक माहोलमा रमाएको महसुस हुन्छ । त्यसकारण कथा अनुकूल हुने बित्तिकै हामीसँगै देखिने नै छौँ । फेरि हामीलाई एकअर्काको सानो भूमिका छ भन्ने पनि लाग्दैन तर त्यो पात्रको अर्थ हुनुपर्छ । हामी मह जोडी छौँ भनेर मात्र दर्शकलाई खुसी बनाउन सकिँदैन । हामीले निर्वाह गर्ने भूमिका सशक्त, कथामा महत्वपूर्ण भएमा पैसा र समय खर्चेर चलचित्र भवन आइपुग्नुभएका दर्शक पनि खुसी बन्नुहुन्छ । हामीसँगै काम गर्छौं, केही समय मात्र लागेको हो । किनकि मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ?

    अहिलेको नयाँ पुस्ताले हास्यव्यङ्ग्यमा कस्तो गरिरहेका छन् ? बेलाबखतमा उच्छृङ्खल भए भन्ने पनि आउँछ नि ?

    – मह जोडी बनेर हामीले काम सुरु गर्दा आफ्ना कुरा सिधै भन्न पाइने व्यवस्था थिएन । हामीले अभिव्यक्त गर्ने कुराहरूलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गथ्र्यौं । अहिले द्विअर्थी लाग्ने संवाद वा उच्छृङ्खल भएको भन्ने सुनिन्छ, केही भएका पनि छन् । तर, दर्शकले रुचाउनुभएको छ । ती फेरि नेपाली मात्र नभई विदेशी च्यानल वा डिजिटल माध्यममा उत्तिकै छन् । दर्शकले रुचाउनु भएकै कारण त्यस्ता कार्यक्रम बढेका छन् । यद्यपि यो क्षणिक लहर हो जस्तो लाग्छ । विस्तारै यो परिवर्तन हुँदै जान्छ ।

    पछिल्लो समय टेलिभिजनमा शृङ्खला कम पाइन्छ, किन जस्तो लाग्छ ?

    – हामी कहाँ शृङ्खला निर्माण लागत बढेको र त्यसबापत प्राप्त हुने लाभ कम भएकाले शृङ्खला निर्माणमा कमी आएको हुनसक्छ । विदेशमा रहेका उद्योगले प्रायोजन गरेर शृङ्खला निर्माणमा सघाउने गरेको सुन्छु । तर, यहाँ त्यो अवस्था निकै कम छ । यसलाई सरकारले भाषा र संस्कृतिको माध्यमका रुपमा बुझेर सघाउनुपर्छ । भारतीय टेलिभिजन नेपालमा हेरिनुले अहिले बिस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ । यसले भाषामा पनि प्रहार गरेको छ । उदाहरणका लागि विवाह नै लिन सकिन्छ । पहिले र अहिले वैवाहिक कार्यक्रममा तपाइँले सहजै अन्तर देख्न सक्नुहुन्छ । त्यसले आर्थिक भार थपेको छ, अभिभावक देखासिकी गर्न बाध्य छन् । त्यसकारण नेपाली कार्यक्रम, शृङ्खलालगायतलाई प्रोत्साहन गर्न सरकार नै अग्रसर हुनु जरुरी छ ।

    ‘चिना हराएको मान्छे’ को लोकप्रियतापछि किताब लेखनबारे सोच्नु भएको छ कि ?

    – मैले एउटा पाण्डुलिपि तयार गरेको छु । सम्भवतः तीनदेखि चार महिनामा त्यो किताबका रुपमा आउनेछ ।

    राजनीतिमा आउने तपाइँको चाहना छ ?

    – म बिस्तारै ‘रिटायर्ड’ हुँदैछु । त्यसकरण राजनीतिमा आउने सोच पनि मैले बनाउनु हुँदैन । हामीले अहिले राजनीतिमा युवा आउनुपर्छ भनिरहेका छौँ, युवालाई नै प्रोत्साहन गर्ने हो । उहाँहरूसँग नयाँ जोस, जाँगर र काम गर्ने शैली हुन्छ । हामीले युवालाई सघाउने र अगाडि बढाउने हो ।

    -रासस

  • ‘टी सिरिज’ले हिन्दीमा राखेको सुशान्त केसीको गीत हिट बन्दै, १८ घण्टामा १५ लाख बढी पटक हेरियो

    ‘टी सिरिज’ले हिन्दीमा राखेको सुशान्त केसीको गीत हिट बन्दै, १८ घण्टामा १५ लाख बढी पटक हेरियो

    काठमाडौं । भारतको चर्चित म्युजिक युट्युब च्यानल ‘टी सिरिज’ले हिन्दीमा राखेको गीत १८ घण्टामा १५ लाख भन्दा धेरै पटक हेरिएको छ ।

    २९२ मिलियन सब्सक्राइबर भएको ‘टी सिरिज’मा ‘उसको एक झलक…’ गीतलाई हिन्दीमा ‘उस्की एक झलक…’ गाइएको छ । अभिनयमा नायिका स्वस्तिमा खड्का र सुशान्त केसी देखाइएका छन् । गीतमा नेपालीमा इन्द्रकला राईले गाएको ‘लैजाऊ है माया…’ चैँ नेपालीमै गाइएको छ ।

    ‘टी सिरिज’को मुख्य च्यानलमा राखिएको प्रथम नेपाली गीतको उपमा पाएको यो गीतको नाम ‘उफ्’ दिइएको छ ।

    ‘टी सिरिज’मा पछिल्ला दिनहरूमा धेरै हेरिएको गीतमा पनि यही गीत बन्न पुगेको छ । नेपाली भर्जनको गीत ग्लोबल ट्रेन्डिङमा आएको थियो । छ महिना अगाडि अपलोड गरिएको बार्दली’ गीतको भिडिओलाई सात करोड बढीले हेरेका थिए ।

  • ‘होस्टेल ३’ले मनायो ५१ दिन, कार्यक्रममा कलाकार र टिम सम्मानित

    ‘होस्टेल ३’ले मनायो ५१ दिन, कार्यक्रममा कलाकार र टिम सम्मानित

    काठमाडौं । गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ले सोमबार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा ५१ औँ दिन मनाएको छ । चलचित्रले शनिवार नै ५१ दिन पूरा गरे पनि निर्माण टिमले भने आज विशेष कार्यक्रमको आयोजना गरी चलचित्र प्रदर्शनको ५१ औं दिन मनाएको हो।

    आयोजित कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू पारस बम (कुलब्वाई), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँको उपस्थिति रहेको थियो भने पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान भने अनुपस्थित रहे । कार्यक्रममा चलचित्रमा विशेष भूमिका निभाएका चर्चित हाँस्य-कलाकार केदार प्रसाद घिमिरे पनि सहभागी भएका थिए ।

    उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो चलचित्र नै सफल भएकोमा खुसी व्यक्त गर्दै आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए । नयाँ पुस्ताका कलाकारहरूको पहिलो चलचित्र नै दर्शकको प्रेमले सफल बनाएको भन्दै उनले सबैप्रति आभार प्रकट गरे ।

    उपस्थित चलचित्रका कलाकारहरुले पनि ‘होस्टेल ३’ आफ्नो लागि ‘विश्वविद्यालय’ भएको बताउँदै यस चलचित्रबाट आफुहरुले सिकेको अनुभव अमूल्य रहेको बताए। त्यसै गरी, कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सशांक कँडेल, लेखक तथा एसोसियट निर्देशक माधव शर्मा र निर्माता कर्ण कार्कीले पनि चलचित्रलाई साथ र समर्थन गरेकोमा दर्शक तथा पत्रकारहरूलाई धन्यवाद व्यक्त गरे ।

    सेलिब्रेसनसंगै कार्यक्रममा चलचित्र युनिटलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो । यस चलचित्रमा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका छ । प्रवीण खतिवडाले चलचित्रमा वार्डेनको भूमिका निभाएका छन् ।

    चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

  • टि सिरिजले सार्वजनिक गर्‍यो सुशान्तको केसीको ‘बार्दली’को हिन्दी संस्करण

    टि सिरिजले सार्वजनिक गर्‍यो सुशान्तको केसीको ‘बार्दली’को हिन्दी संस्करण

    काठमाडौं । टि सिरिजले नेपाली गायक सुशान्त केशीको गीत ‘बार्दली’लाई हिन्दी भाषामा सार्वजनिक गरेको छ । टि सिरिजको अफिसियल युट्युब च्यानलबाट ‘बार्दली’को हिन्दी भर्सन सार्वजनिक भएको हो ।

    ‘उफ’ शीर्षक दिएर सार्वजनिक गरिएको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन् । तर, नेपाली गीतको भिडियोमा फिचर्ड भएका अन्य कलाकारलाई हिन्दी भर्सनमा देखाइएको छैन ।

    गीतमा इन्द्रकला राईको नेपाली गीतलाई भने जस्ताको तस्तै राखिएको छ । नेपाली संस्करण निकै हिट भएको यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत गएको थियो । टि सिरिजले यसअघि पनि केही नेपाली संगीतकर्मीसँग सहकार्य गरिसकेको छ ।

  • महेश खड्काको आक्रोश- संगीत क्षेत्रका भातमारा र हुँडारले मलाई गरिब बनाए

    महेश खड्काको आक्रोश- संगीत क्षेत्रका भातमारा र हुँडारले मलाई गरिब बनाए

    काठमाडौं । ‘चर्चित गायकगायिकाले मेरो संगीतमा गीत गाउँदा कस्तो सुनिएला है ?’

    ‘उदितनारायाण झा, साधना सगरम, कुमार सानु जस्ता कलाकारको स्वरमा मुम्बईमा गीत रेकर्ड गराउन पाए… ।’

    आजभन्दा २१-२२ वर्षअघि संगीतकार महेश खड्काको दिमागमा यस्तैयस्तै कल्पनाले डेरा जमाउँथ्यो । आफ्नो संगीतमा उदितनारायण जस्ता चर्चित गायकको स्वरको जादु थपिएको सपना देख्थे । भर्खर भर्खर नेपाली सांगीतिक आकाशमा फटफटाउन सुरु गरेका खड्काका लागि मुम्बईसम्मको उडान उस्तो सहज थिएन ।

    काठमाडौंबाट मुम्बईसम्मको दुरी, आर्थिक भार अलग्गै थियो । उदितनारायण, कुमार सानु, साधना सरगम जस्ता कलाकारले आफूसित सहकार्य गर्ने हो कि होइन, खड्काको मनमा आशंका अलग्गै थियो ।

    भनिन्छ नि, सपना देख्नेहरू कहिल्यै निराश हुनुपर्दैन । हो, खड्का पनि निराश हुनुपरेन । उनले देखेको सपना पूरा हुने भयो, उदितनारायणसँग सहकार्य गरिने भयो । उनको सपना यथार्थमा बदलिने भयो ।

    सपना यथार्थमा बदलिँदा मान्छेको अनुहारको चमक नै बेग्लै हुन्छ, खड्काको नहुने कुरै भएन । उनी उत्साह र उमंग बोकेर मुम्बई हान्निए । महेश-उदितको सहकार्यको चाँजोपाँजो मिलाउने वातावरण बनाएको थियो चलचित्र ‘समर्पण’ले, तर महेशको त्यो सपना पूरा हुन सकेन ।

    ‘मलाई दोस्रो चलचित्रमा उदितनारायणको स्वर राख्न मन थियो’, त्यसवेलाको समय सम्झिँदै महेश भन्छन्, ‘तर दुर्भाग्य, मैले उहाँको स्वरलाई कैद गर्न सकिनँ । म उहाँकै स्वर कैद गर्न गएको थिएँ, त्यहीवेला उहाँ कार्यक्रमका लागि अमेरिका जानुभयो ।’

    जसको स्वर कैद गर्न गएका थिए, उही मान्छे नभेटिएपछि महेश विलखबन्दमा परे । अब के गर्ने त ? एक स्टुडियोका रेकर्डिस्ट जोय भन्नेले सुझाए, ‘एक जना नयाँ गायक छ, उसको आवाज सुन्नुस् ।’

    उनले ती गायकको आवाज सुने । सुनेपछि ‘ओके’ गरे । नवोदित गायक थिए सोहम चक्रवर्ती । सोहमले पहिलो गीत गाए, ‘आकाशकी हौ तिमी चाहे धरतीकी हौ ।’

    सोहमले अर्को गीत पनि गाए, ‘मलाई फुल्न देऊ’ । यो गीत त ब्लकबस्टर नै भयो ।

    त्यो गीत, जसले महेशलाई संगीतकार बनायो

    ‘समर्पण’अघि महेशको पहिलो चलचित्र थियो– ‘त्रिवेणी’ । ‘त्रिवेणी’बाटै महेशले सफलताको पहिलो स्वाद चाखेका थिए । ‘तिम्रो आँखामा के छ सागर सागर’ बोलको गीत सुपरहिट बनेको थियो ।

    हुन त महेश गायक बन्न खोटाङको सिम्पानीबाट काठमाडौं छिरेका थिए । गायक बन्न आएका उनलाई साथीभाइले हौस्याउँथे, ‘कम्पोज’ राम्रो छ ।’ महेश पनि हौसिन्थे । गितार उनको साथमै हुन्थ्यो । जहाँ पुगे पनि गीत गुनगुनाउन आइतबार कुर्दैनथे । साइनोले भतिज पर्ने कलाकार नवल खड्कासितै चलचित्र प्रोडक्सनमा समेत छिरेका थिए । एक दिन निर्माता/निर्देशक राजकुमार राईले ‘त्रिवेणी’मा संगीतको अफर गरे ।

    ‘मैले त्यो त कल्पनासमेत गरेको थिइनँ । म त थाहै नपाई गायकबाट संगीतकार बनिसकेको रहेछु’, महेश हाँस्दै सम्झिन्छन्, ‘गीतकार प्रमोद ढुंगाना शब्द दिएर चाबहिल जानुभयो । पुतलीसडकमा मेरो सानो अफिस थियो । त्यहाँ कम्पोज गर्न सुरु गरेँ । गीत तयार भयो । उहाँलाई सुनाउन कल गरेको थिएँ, उहाँ घर पुगिसक्नुभएको रहेनछ ।’

    गीत तयार भयो । चलचित्रको संगीत तयार भयो । चलचित्र नै तयार भयो । प्रदर्शन भयो । महेशको पहिलो गीत हिट भयो । टीभीमा बज्यो । रेडियोमा बज्यो । महेश भन्छन्, ‘रेडियोमा मेरै गीत सुन्दा सिरिङ सिरिङ हुन्थ्यो ।’

    अनि उदितले भने, ‘मेरै लागि कम्पोज गर्नुभएछ’

    ‘त्रिवेणी’, ‘समर्पण’पछि महेशले तेस्रो चलचित्रमा संगीत भरे, ‘माया बसेछ’ । उदितसँग सहकार्य गर्ने महेशको सपना अझै जीवित थियो । उदित बलिउडमा जमिसकेकोमात्रै होइन, नम्बर वन पार्श्व गायक थिए । व्यस्तता उस्तै अकल्पनीय थियो । चर्चा र सफलताको शिखरमा थिए ।

    महेश सम्झन्छन्, ‘माया बसेछ चलचित्रको गीत उदित दाइकै लागि कम्पोज गरेको थिएँ । म सिलाइएको पाइन्ट र सर्ट लगाउँथेँ । उदित दाइले पत्याउनुहुन्न होला झैं लागेको थियो, तर उहाँले धेरै माया गर्नुभयो मलाई ।’

    महेशका अनुसार गीत सुनेपछि उदितले सोधे, ‘मेरै लागि कम्पोजिसन गर्नुभयो जस्तो लाग्यो । कि यसै मलाई गाउन लगाउनुभएको हो ?’

    ‘मैले उहाँकै लागि भनेर कम्पोज गरेको भनेर भनेँ । यसपछि तीनचार दिन हार्मोनियममा बसेर प्राक्टिस गर्‍यौं’, महेश सुनाउँछन्, ‘स्टुडियोमा उहाँले पाँच घण्टा लगाएर गाउनुभयो । यसपछि मैले कुनै पनि गायकलाई पाँच घण्टा लगाएर गीत रेकर्ड गराएको छैन ।’

    अलि पछि चलचित्र प्रदर्शन भयो । चलचित्रका गीतहरू सुपरहिट भए । ‘आज मन उडेर भाग्छ’, ‘कसैलाई नसोधी तिमी मन पराएँ’, ‘चमेलीको फूलमा भुभु भमरा’ जस्ता गीतहरू ब्लकबस्टर भए । यी सबै गीतमा उदितकै स्वर थियो ।

    महेश सम्झन्छन्, ‘कसैलाई नसोधी मन पराएँ बोलको गीतको अन्तरामा ‘कहुँ’ भन्ने शब्द थियो । हाम्रो खोटाङतिर बोलीचालीमा बोलिने शब्द हो यो । केही कुरा भन्नलाई ‘कहने’ भनिन्छ । उदित दाइले ‘कहुँ’ भन्ने हिन्दी शब्द हुने र ‘कहुँ’को ठाउँमा ‘भनुँ’ राखौं भन्नुभयो, तर मैले गाउँघरतिर बोलिन्छ भनेपछि यही शब्द राखियो ।’

    ‘माया बसेछ’पछि महेश-उदितले ६०-७० गीतमा सहकार्य गरे । अनि संगीतकार हुनलाई केके चिज चाहिने रहेछ त ?

    महेश सुनाउँछन्, ‘भित्री मनमा आत्मविश्वास चाहिने रहेछ । सांगीतिक ज्ञान र हृदयबाटै शब्दलाई केलाउन सक्ने क्षमता हुनुपर्ने रैछ ।’

    उदितको स्वरमा रेकर्ड गराएको गीत दीपक लिम्बूले गाएपछि…

    गीतहरू लगालग हिट हुन थालेपछि महेशले पनि लगालग काम पाउन थाले । चलचित्र लिएर भारत जाने उनको रहर पनि मर्‍यो । बरु नेपाली कलाकारलाई नै अवसर दिइनुपर्छ भनेर लागे । नेपालमा रियालिटी शोहरू पनि आइरहेका थिए । प्रतिभावान गायकगायिकाहरू आइरहेका थिए ।

    ‘हिम्मत’ चलचित्रको लागि भारतीय गायक अभिजित सावन्तलाई एउटा गीत गाउन लगाए । उदितलाई पनि अर्को गीत गाउन लगाए, ‘मैले त्यही भएर मन पराएको’ ।

    तर प्राविधिक कारणवश उदितको स्वरमा रेकर्ड गराएको गीत पहिलो नेपाल तारा दीपक लिम्बूले गाए । गीत सुपरहिट भयो । पाश्र्व गायनमा दीपक लिम्बूको उचाइ थप बढ्यो ।

    अलि पछि सिंगापुरको एक कार्यक्रममा दीपक, अञ्जु पन्त र महेश मुम्बईको ट्रान्जिट हुँदै गए । मुम्बईमा जाँदा उदितलाई पनि छुस्स भेटे । उक्त भेट सम्झन्छन् महेश, ‘उहाँको स्वरमा रेकर्ड भएको गीत दीपकले गाएको थाहा पाउनुभएछ । त्यो गीत उहाँले पनि निकै मन पराउनुभएको थियो । अनि उहाँले आफ्नै गला समात्दै जिस्किएर भन्नुभयो, ‘मेरो त गला छैन खड्काजी !’

    महेशले दीपकसँग धेरै गीतहरूमा सहकार्य गरे । दीपकका अधिकांश हिट गीतमा महेशकै संगीत छ । ‘नाईं नभन्नु ल’को ‘जूनको ज्योति’देखि ‘मुटु माग्यौ तिमीले’ जस्ता दर्जनौं हिट गीतमा महेश-दीपकले सहकार्य गरेका छन् ।

    दीपक रियालिटी शोबाट आएका गायक हुन्, तर पछिल्लो समय च्याउसरी उम्रिएका रियालिटी शोका विजेताहरूको सांगीतिक करियर एकदमै धरमर देखिन्छ । किन होला ?

    महेशको विश्लेषण छ, ‘उनीहरू रियालिटी शोबाट निस्किएपछि आफूलाई सुपरस्टार सम्झन्छन् कि कसो कुन्नि ! अरुको गीत गाएरमात्रै करियर धानिन्छ भन्ने ठान्छन् कि कसो कुन्नि ! दुईचार वटा विदेशको कार्यक्रम ग¥यो, सक्कियो भन्ने ठान्छन् कि कसो कुन्नि ! कस्तो गीत गाउने, मेरो गीत खै त भनेर खोज्नुपर्‍यो होला नि !’

    अञ्जु पन्तले सञ्जोगले गाएको ‘नबिर्से….’

    अञ्जु पन्त आफ्नो पुस्ताकी सर्वाधिक लोकप्रिय गायिका हुन् भन्दा फरक नपर्ला । उनै अञ्जुको सांगीतिक करियरकै सर्वाधिक हिटमध्ये एक गीत हो, ‘नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई’ । यो गीतमा विपीन किरणको शब्द तथा महेशको संगीत छ ।

    योभन्दा अगाडि अञ्जुको सुरुवाती हिट गीत थियो, ‘दिल यो मेरो दिल’ । यी दुवै गीत अञ्जुको करियरको पूर्वार्द्धका हिट गीत हुन् । यस गीतमा पनि महेशकै संगीत थियो ।

    ‘उहाँसँग मेरो चिनजान ‘माया बसेछ’कै बेलामा भएको हो । त्यो बेला एरेन्जर अमुल कार्कीले मलाई उहाँको डमी आवाज सुनाउनुभएको थियो । आलोकश्रीको संगीतमा जगजीत सिंह र उहाँको श्रीमतीले गाउने एउटा गीतको डमी भ्वाइसमा उहाँको स्वर थियो’, महेश सम्झिन्छन्, ‘अञ्जु पन्तबारे दीपक लिम्बूले पनि सुनाएको थियो । पछि उहाँको स्वर सुनेपछि मनपर्‍यो । उहाँलाई गीतहरू गाउन लगाउन सुरु गरेँ ।’

    ‘दिल यो मेरो दिल’ गाएलगत्तै अञ्जुको ‘नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई’ हिट भयो । यो गीत भने अञ्जुले संयोगले गाउन पाएकी थिइन् । नत्र यो गीत पहिलो पटक इन्दिरा जोशीले गाएकी थिइन्, राष्ट्रिय सभागृहमा ।

    पछि गीतकार विपीन किरणले एल्बममा एकएक जना कलाकारलाई गाउन दिने भनेपछि इन्दिराले ‘टुट्यो तारा आकाशमा’ गाइन्, अञ्जुले ‘नबिर्सें तिमीलाई’ ।

    ‘यो गीत रेडियोमा यति धेरै फर्माइस आउन थाल्यो कि छोटो समयमै हिट भयो । अनि यो गीत अञ्जुजीको टर्निङ प्वाइन्ट पनि बन्यो’, महेश अञ्जुबारे बोल्छन्, ‘उहाँको स्वर पनि मीठोे छ । सुरुको ज्ञान भएको मान्छे पनि हो ।’

    महेशका गजलदेखि लोकभाकासम्म रुचाइए

    प्रेमपत्र लेख्दै पातपातमा हिँडियो कुनै बेला
    दिँदै कतिलाई हातहातमा हिँडियो कुनै बेला

    रूपक वनबासीको यो गजलमा आशिष ताम्राकारको स्वर छ भने महेशले संगीत भरेको पहिलो गजल हो ।

    यो गजल-गीतको प्रसंग सुनाउँछन् महेश, ‘गजललाई अलिकति शास्त्रीय हिसाबले मात्रै लिने गरिन्थ्यो । यो आगन्तुक विधा पनि हो । यही विधालाई पूर्वेली लवजमा बनाउँदा कसो होला त ! लोकलयमा गजल किन हुँदैन त ! अनि यो गजल-गीत बनाएँ ।’

    यसपछि महेशले लगातारजसो गजल-गीत गरे । अहिलेका चर्चित गायक प्रमोद खरेलको त सांगीतिक करियर उचालिनुमै महेशको योगदान छ भन्दा फरक नपर्ला !

    प्रमोदले चलचित्रमा गाएको ‘यो अंगालोभरिको माया’ र ‘लागी लागी’ जस्ता गीतमा महेशकै संगीत थियो । प्रमोदलाई सेलिब्रेटी गायककै रूपमा स्थापित गरेको ‘प्रणय’ एल्बमका ‘मविना कसै-कसैलाई मुस्किल छ पोखरामा’ र ‘याद गर्न पनि कोही न कोही चाहिँदो रहेछ’मा महेशकै संगीत छ ।

    महेश प्रमोदका सुरुवाती दिन सम्झन्छन्, ‘प्रमोद भाइ रेक्चरर थिए । संगीतमा लागिरहेको प्यासी मान्छे थिए । राम्रो गीत गाउन पाए हुन्थ्यो भन्ने सोच भएको मान्छे थियो । मसित आएर अब कलेज छाडेर संगीतमै लाग्नुपर्‍यो भन्थे, तर दह्रोसँग खुट्टा नटेकुञ्जेल पढाउन नछाड भन्थेँ ।’

    एक दिन प्रमोदले एल्बम गर्ने कुरा गरे । महेश गीत खोज्न राजेन्द्र थापाकहाँ गएँ । त्यहाँबाट ‘याद गर्न पनि’ बोलको गजल लिए । ‘मविना कसै-कसैलाई’ चाहिँ महेशले अरुकै लागि कम्पोज गरिदिएका थिए । त्यो मान्छेले नगाएपछि गीत थन्किएको थियो ।

    यो गीत महेशले चलचित्रका निर्माता/निर्देशकलाई पनि सुनाए । उनीहरूको प्रतिक्रिया हुन्थ्यो, ‘गीत राम्रो छ, तर पोखरा गएर सुट गर्नुपर्ने रैछ, महँगो पर्छ ।’

    एक दिनको कुरा हो, एउटा पार्टीमा एरेन्जर किरण कँडेलले महेशलाई सुझाए, ‘तपाईं पनि गायक हुनै आएको हो । यो गीत तपाईंले नै गाउनुस् ।’

    किरणले उचालेपछि महेश गाउन तयार भए ।

    ‘किरणजी र मेरो कुरा प्रमोदले सुनिरहेको थियो । उसले म गाउँछु गीत भनेर अनुरोध गर्‍यो’, महेश हाँस्दै सुनाउँछन्, ‘मैले पनि यस्तो वरिष्ठ एरेन्जरले गाउनु भनेपछि गाउन आँटेको थिएँ भाइ भनेर प्रमोदलाई जिस्काएँ ।’

    महेश थप्छन्, ‘गीत रिलिज भएपछि यस्तो हिट भयो कि हरेक बसमा ‘मेरो दिल छ पोखरामा’ लेखिएको हुन्थ्यो । राम्रो सृजना आउँदा लहर पैदा हुँदोरहेछ ।’

    हजारौं गीत सृजे पनि आर्थिक समस्यामै छन् महेश

    महेशले १०८ वटा चलचित्रमा संगीत भरे । दुई हजारभन्दा ज्यादा गीतहरू बनाए । चलचित्र र गीतको संख्या थाहा पाएपछि तपाईंलाई लाग्नसक्छ, यति धेरै गीतमा संगीत गरेका स्रष्टाको आर्थिक अवस्था राम्रै होला ! टन्नै कमाएका होलान् । करोडौं सम्पत्ति होला । रोयल्टी पनि टन्नै पाउलान् । रोयल्टीको सुनिश्चितता प्रतिलिपि अधिकार ऐन २०५९ ले गरिदिएकै छ ।

    साथै संशोधित रोयल्टीसम्बन्धी मस्यौदामाथि सरकारले काम पनि गरिरहेको छ, तर महेशको यथार्थ भने अलग छ । आफू आर्थिक समस्यामा रहेको बताउँछन् उनी ।

    आफ्नो आर्थिक अवस्थाबारे विस्तारमा भन्छन्, ‘म आर्थिक समस्यामै छु । मैले गीत गर्दा केही पारिश्रमिक पाइन्थ्यो । त्यो पारिश्रमिक गाडी चढ्दा, चिया खाजा खाँदामै सकिन्थ्यो । चलचित्रमा ५-६ वटा गीत हुन्थे, प्याकेजमा लिनुपर्थ्यो । पैसा खासै धेरै हुन्थेन ।’

    महेश थप्छन्, ‘काम गर्दागर्दै पाएको पारिश्रमिक सक्किइसकेको हुन्थ्यो । संसारमा सर्जकहरू आफ्नो आर्थिक जीवन सुरक्षित गरेर बसेका छन्, तर नेपालमा हामी आर्थिक समस्यामा गुज्रिरहनुको पछाडि चाहिँ रोयल्टी प्राप्त नगरेर हो । खासमा हामीले स्टेजमा गीत बजेको आधारमा पनि रोयल्टी पाउनुपर्ने हो । आफ्नो लगानी नै नभएको गीतको ट्र्याक बोकेर गायक संसारभर डुल्छ, लाखौं कमाउँछ । हामी वास्तविक सर्जकले केही पनि पाउँदैनौं ।’

    महेश अलि आक्रोशित सुनिन्छन्, ‘मलाई गरिब बनाउने त कैयौं भातमाराहरू छन् । स्याल, ब्वाँसो र हुँडारहरू छन् । बुढासुब्बा म्युजिकमा जाने हो भने मैले संगीत गरेका धेरै चलचित्रका गीत छन् । मैले त्यहाँबाट पर्याप्त रोयल्टी पाएको छैन । यसका लागि अदालत जानुपर्ने अवस्था छ । यस्तैयस्तै कारणले म आर्थिक रूपमा सुरक्षित छैन ।’

    महेश भावुक बन्छन्, ‘अमर स्रष्टा बिरामी पर्दा वा धरती छाडेर जाँदा फेसबुकतिर सहयोगको अपिल गरिरहनुपरेको हुन्छ । राज्यले पनि हाम्रो समस्यालाई सम्बोधन गर्ने कोसिस गर्दैन । तिनै स्रष्टाका सृजनाहरू भने दर्शक/स्रोताका जिब्रोमै झुण्डिएका हुन्छन् ।’

  • आमाको मुख हेर्ने दिनमा स्मिता दाहालको ‘आमा’ गीत सार्वजनिक

    आमाको मुख हेर्ने दिनमा स्मिता दाहालको ‘आमा’ गीत सार्वजनिक

    काठमाडौं । आमाको मुख हेर्ने विशेष अवसर मातातीर्थ औँसीका दिन गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ आज सार्वजनिक गरिएको छ ।

    आइतबार दिउँसो ३ः१५ बजे युट्युबमार्फत सार्वजनिक भएको यो गीतले आमाको माया, संघर्ष र समर्पणलाई संगीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

    गीतमा शब्द र संगीत सिर्जना चेतन सापकोटाले गरेका छन् भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । गीतको मिक्सिङ, मास्टरिङ र रेकर्डिङ श्याम बगडासले स्टुडियो डोरेमीमा सम्पन्न गरेका हुन् ।

    भिडियोमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका छन्। साथै, बाल कलाकार दीप्शिका श्रेष्ठको समेत सशक्त उपस्थिति देख्न सकिन्छ । भिडियोको छायांकन नवराज उप्रेतीले, सम्पादन तथा रङ संयोजन विकास ज्ञवालीले गरेका छन् भने कथा र निर्देशन सुनिल क्षेत्रीले सम्हालेका छन् ।

    स्मिता दाहालले यस गीतमार्फत आमाको अतुलनीय योगदान र ममतालाई गहिरो भावनाका साथ उजागर गर्ने प्रयास गरेकी छन् । मातातीर्थ औँसीको अवसरमा सार्वजनिक गरिएको ‘आमा’ गीतले दर्शक तथा श्रोताको मन छोने विश्वास गरिएको छ ।

    गीत युट्युबमा हेर्न सकिनेछ ।

     

  • आमाहरुलाई समर्पित गर्दै दयाहाङ र वसुन्धरा अभिनित ‘महाभोज’को भिडिओ सार्वजनिक

    आमाहरुलाई समर्पित गर्दै दयाहाङ र वसुन्धरा अभिनित ‘महाभोज’को भिडिओ सार्वजनिक

    काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर यहीँ जेठ १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ । सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री वसुन्धरा भुसालको सशक्त अभिनय देख्न सकिन्छ ।

    भिडियोमा भुसालले दिवङ्गत छोराको सम्झना गर्दै भावुक अभिव्यक्ति दिएकी छिन भने दयाहाङले भुसाललाई आफ्नै आमाजस्तै माया गर्ने भाव प्रस्तुत गरेका छन् ।

    भिडियोमा एक सन्देश पनि दिइएको छ, जहाँ लेखिएको छ,’सम्पूर्ण आमाहरूको सम्मानमा, चलचित्र ‘महाभोज’ परिवारको तर्फबाट आमाको मुख हेर्ने विशेष अवसर (मातातीर्थ औँसी) को हार्दिक मङ्गलमय शुभकामना। अटल माया, अविच्छिन्न समर्पण र अनन्त प्रेरणाका प्रतीक सम्पूर्ण आमाहरूलाई हाम्रो श्रद्धा र नमन ।’

    नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने चलचित्रको कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् ।

    चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ ।

  • सुपर फ्लप भयो सुरक्षाको ‘खेल’, शनिबार पनि दर्शक गयल

    सुपर फ्लप भयो सुरक्षाको ‘खेल’, शनिबार पनि दर्शक गयल

    काठमाडौं । सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘खेल’ सुपरफ्लप भएको छ । हिजो शनिबारको बिदामा चलचित्रले पिकअप लिने निर्माताको झिनो आशामा पनि तुषारापात भयो ।

    शुक्रबार रिलिज भएको फिल्म पहिलो दिन नै ‘डिजास्टर’ सुरुवात भएको थियो । देशभर डेढ सयजति शो प्राप्त गरे पनि चलचित्रले दर्शक तान्न सकेन । अधिकांस शोमा हलहरु खाली भए । कयौं शोहरु दर्शकको अभावमा स्थगित गरिए ।

    शनिबार पनि अवस्थामा खासै सुधार नआएको निर्माण पक्षले बताएको छ । सामाजिक सञ्जालमा तातेको माहोलले फिल्मको ‘नेगेटिभ पब्लिसिटी’ भइरहे पनि व्यापारमा भने त्यसले कुनै प्रभाव नपारेपछि निर्माताहरु निराश बनेका छन् ।

    निर्माता निकट स्रोतले भन्यो, ‘फिल्मले शो यथेष्ट पाएको हो, तर खोइ किन हो दर्शक आइदिनु भएन ।’

    यो चलचित्रलाई प्राविधिकरुपमा बलियो बनाउन निर्माण पक्षले राम्रै खर्च गरेका थिए । चलचित्रमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको बताइएको छ । यति लगानी हलहरुबाट उठाउन ५ करोडभन्दा बढी ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ । तर, चलचित्रको कलेक्सन अंकमा बताउन पनि लाजमर्दो रहेको निर्माण स्रोत बताउँछ ।

    चलचित्र रिलिजको पूर्वसन्ध्यामा सुरक्षाले दिएको एउटा अन्तरवार्ता विवादमा आएको थियो । उनले पूर्वराज परिवारलाई अपमान र खिसिट्यूरी गरेको भन्दै राजावादीहरु उनीमाथि खनिएका छन् । चलचित्रलाई बहिष्कार गर्ने अभियानसमेत चलेको थियो ।

    उत्पन्न विवाद र गालीगलौजबाट सुरक्षा स्वयम् पनि हताश छिन् । उनले हिजो फेसबुकमा एउटा कविता लेखेर आफ्नो निराशा अभिव्यक्त गरेकी थिइन् ।

    दर्शक नपाए पनि चेल चलचित्रले शो भने अझै उल्लेख्य पाइरहेको छ । सँगै रिलिज भएको चलचित्र ‘भुठान’ मा पनि उल्लेख्य दर्शक नआएकाले ‘खेल’ लाई झण्डै सय शो दिन प्रदर्शकहरु वाध्य छन् । हरिवंश आचार्यको ‘भुठान’ पनि व्यापारिक असफलतातर्फ उन्मूख रहेको जनाइएको छ ।

  • श्रीमानविरुद्ध अरुणिमाले डिभोर्ससँगै अंशमुद्दा पनि हालेको खुल्यो, फिरादपत्रमा के छ ?

    श्रीमानविरुद्ध अरुणिमाले डिभोर्ससँगै अंशमुद्दा पनि हालेको खुल्यो, फिरादपत्रमा के छ ?

    काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले श्रीमान युवराज श्रेष्ठविरुद्ध सुनसरी जिल्ला अदालतमा सम्वन्धविच्छेद र अंशमुद्दा हालेको खुलेको छ । उनले सोही अदालतमा विवाह दर्ता गरेकी थिइन् ।

    जिल्ला अदालत स्रोतका अनुसार आज सो मुद्दाको सुनवाइका लागि पेशी तोकिएको छ । अरुणिमा भने मुद्दा दायर गरेर अमेरिका फर्किसकेकी छन् । उनले आफ्नो मुद्दामा वारेस तोकेर गएकी थिइन् । अब वारेसमार्फत उनले मुद्दा लड्नेछिन् ।

    हालै नेपाल आएका बखत अरुणिमाले विभिन्न अन्तरवार्ताहरूमा श्रीमानसँग कुनै अंशको दावी नगरेको बताएकी थिइन् । तर, उनले दिएको निवेदनमा अंश माग गरिएको पाइएको छ । श्रीमानको सम्पत्तिलाई परिवारमा ६ भाग लगाएर त्यसको एक भागको आधा भाग आफूले पाउनुपर्ने उनले फिरादपत्रमा उल्लेख गरेकी छन् ।

    युवराजको परिवारमा बुवा, दुईवटी आमा, एक दाजु र एक भाइ रहेको हुँदा मुल अंश ६ भाग लगाउने प्रस्ताव उनले गरेकी हुन् । युवराजले पाउने एक भागको आधामा उनको दाबी छ ।

    वैवाहिक जीवन जति छोटो भए पनि कानूनतः अरुणिमाले श्रीमानको आधा अंशमा दाबी गर्न सक्छिन् । विवाहको दुई दिनपछि नै उनी श्रीमानलाई छोडेर अमेरिका गएकी थिइन् भने त्यसपछि उनीहरुको भेट नै नभई सम्बन्धविच्छेदको मुद्दा अदालत पुगेको छ । विभिन्न अन्तर्वार्तामा अरुणिमाले विवाहपछि श्रीमानसँग एक रात पनि नसुतेको बताएकी थिइन् ।

    आफ्नो फिरादपत्रमा अरुणिमाले श्रीमानमाथि विभिन्न आरोपहरू लगाएकी छन् । उनको मुख्य आरोप आफूलाई विहेअघि झूटो कुराहरू बोलेको भन्ने छ । आफूलाई सिँढी बनाएर अमेरिका आउनका लागि मात्रै विवाह गरेको उनले बताएकी छन् ।

    अमेरिकामा एकल जीवन बिताइरहँदा गत वर्ष साउन २ गते घुमफिरका लागि नेपाल आएका बखत युवराजसँग भेट भएको र उनीबाट मोहित भएको फिरादपत्रमा अरुणिमाले उल्लेख गरेकी छन् । युवराजले आफूलाई नेपालको प्रतिष्ठित व्यापारी र राजनीतिकर्मीका रूपमा चिनाएको तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग विशेष सम्वन्ध रहेको बताएको अरुणिमाको भनाइ छ ।

    अरुणिमाका अनुसार युवराजले विहेपछि आफू पनि अमेरिका जाने र त्यहाँ मिलेर व्यापार गर्ने योजना सुनाएका थिए । तर, आफू बिहे गरेर अमेरिका गएपछि श्रीमानले पढाइ, सम्पत्ति र राजनीतिको बारेमा गरेका कुराहरु झूटो ठहरिएको उनले दावी गरेकी छन् ।
    .
    ‘मैले स्नातकोत्तरसम्म अध्ययन पूरा गरेको छु भन्दै नेताहरुसँग खिचेको फोटो देखाएको तथा मसँग पटक-पटक भेट गर्न आउँदा फरक-फरक गाडीमा आउने गरेको अवस्थामा निजले मसँग माया-पिरतीको कुरा गरी विवाह गरौँ, म पनि अमेरिका आउँछु, त्यहाँ व्यापार गरौंला भनि प्रस्ताव गरेकोमा म निजको बोली वचन व्यवहारमा मन्त्रमुग्ध भएँ,’ फिरादपत्रमा भनिएको छ, ‘म एकल महिला भएको र श्रीमानको माया चाहिएकी महिला भएको कारण निजको भनाइमा विश्वास गरेर २०८१ साउन ३१ मा यसै अदालतबाट विवाह भएको हो ।’

    विवाहपश्चात श्रीमानले आफूलाई घरमा नलगी काठमाडौं लगेको अरुणिमाले बताएकी छन् । भदौ ५ गते अमेरिका फर्किएपछि उनले श्रीमानलाई नेपालबाट अमेरिका झिकाउने प्रक्रियाको लागि शैक्षिक प्रमाणपत्रहरु माग गरेकी थिइन् । तर, युवराजले अहिले छैन भननेर बारम्बार आलटाल गरेको अरुणिमाको भनाइ छ ।

    ‘त्यसै समयमा निजले हाम्रो विवाहको कुरा सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको कारण मलाई विभिन्न महिलाले फोन गरी निजका सबै कुरा झुट्टा रहेको जानकारी गराए । निजले मलाई झुट्ठा कुरा गरी प्रेमजालमा फँसाई छाडेको र तपाईँको पनि जीवन बर्बाद गरिदिएछ भनी जानकारी गराएपछि विपक्षीको बारेमा बुझ्दै जाँदा उहाँ स्नातकोत्तर अध्ययन नगरेको र राजनीतिकमा पनि क्षेत्रीय स्तरमा उपाध्यक्ष जस्तो सामान्य पदमा रहेको, आर्थिक अवस्था सामान्य रहेको र निजको उद्देश्य मलाई सिँढी बनाई अमेरिका मात्र प्रवेश गर्ने नियत रहेको भन्ने प्रष्ट रुपमा बुझेँ ।

    सोपश्चात निजलाई सामाजिक सञ्जालबाटै फोन सम्पर्क गरी श्रीमान-श्रीमतीको सम्बन्ध विश्वासमा चल्नुपर्नेमा तपाईंले मसँग झुट्टा फरेबी कुरा गरी, गलतफहमीमा पारि मलाई झुक्याई अमेरिका प्रवेश गर्ने नियतले मात्र विवाह गर्नु भयो, तपाईंको यो व्यवहारबाट म अत्यन्त मानसिक पीडामा छु भनेँ । उहाँले मेरो अमेरिका जाने रहर थियो, तिमीसँग त्यति कुरा नगरेको भए तिम्रो र मेरा बीचमा विवाह हुने थिएन । विवाह नभएको भए म सजिलै अमेरिका आउन सक्ने थिइनँ भनि अपशब्द प्रयोग गरी गालीगलौज समेत गरेकोले म अत्यन्त मानसिक पिडामा परेँ,’ फिरादपत्रमा भनिएको छ ।

    अरुणिमाका अनुसार उनले नेपाल आएपछि गत चैत १२ गते युवराजलाई भेटेकी थिइन् । सो भेटमा आफूले ‘तपाईंले मलाई ठूलो धोका दिनुभयो, म तपाईंलाई अमेरिका लान सक्दिनँ’ भनि बताएको उनको भनाइ छ । साथै, अब यो वैवाहिक जीवन चल्न नसक्ने भनेर आफूले विवाहमा खर्च भएको रकमको क्षतिपूर्तिका लागि अंश दिएर सम्बन्धविच्छेद गर्न प्रस्ताव गर्दा युवराजले नमानेको अरुणिमाले उल्लेख गरेकी छन् ।

    ‘मैले अमेरिका जानका लागि मात्र तिमीसँग विवाह गरेको हुँ, म तिमीलाई मेरो घरमा बस्न, पस्न, खान-लाउन र अंशसमेत दिन्न, जहाँ गएर जे गर्नुछ गर भनि जवाफ दिएकाले बाध्य भएर यो फिराद गर्न आएकी छु,’ उनले भनेकी छन् ।

    अरुणिमाले श्रीमानविरुद्ध सम्बन्धविच्छेद र अंशमुद्दा दायर गरेको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार टेकेन्द्रजंग राणाले पुष्टि गरे । सो मुद्दा हाल अदालति प्रक्रियामा रहेको उनले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

    विदेशी नागरिकले पनि नेपाली पुरुषसँग बिहे गरेको अवस्थामा बिहे दर्ता गर्न र सम्बन्धविच्छेदसम्म गर्न कानूनी रोकावट नरहेको श्रेस्तेदार राणा बताउँछन् ।

  • पहिलो स्वर्णिम सांगीतिक साँझ लिएर आउँदै ‘नेपाली तारा’का विजेता दीपक लिम्बू

    पहिलो स्वर्णिम सांगीतिक साँझ लिएर आउँदै ‘नेपाली तारा’का विजेता दीपक लिम्बू

    काठमाडौं । गायक दीपक लिम्बूको पहिलो स्वर्णिम सांगीतिक साँझ हुने भएको छ । ‘नेपाली तारा’को विजेता बनेको २० वर्ष पूरा भएको र लिम्बूको जन्मदिनको अवसर पारी आगामी भदौ १७ गते सांगीतिक साँझ गर्न लागिएको ओएस म्युजिकका प्रबन्ध निर्देशक आशिष भट्टराईले जानकारी दिए ।

    संस्थाले शनिबार पत्रकार सम्मेलन गरेर गायक लिम्बूको पहिलो स्वर्णिम साँझ गर्ने तयारी गरेको जनाएको हो । ‘अग्रज कलाकारको सम्मान र ताप्लेजुङका बालबालिकालाई स्टेशनरी सहयोगार्थ कार्यक्रम गर्न लागेका हौँ’, भट्टराईले भने ।

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने साँझमा २५ जना लाइभ वाद्यवादकको टमसँग गायक लिम्बूले आफ्ना र अग्रज कलाकारका गीत प्रस्तुत गर्नेछन् । टिकट दर भने १ हजार र ५०० रुपैयाँ रहेको छ ।

    पत्रकार सम्मेलनमा गायक लिम्बूले सांगीतिक साँझलाई लिएर आफू उत्साहित रहेको बताए ।

    लिम्बू २०६२ सालमा ‘नेपाली ताराु पहिलो संस्करणको विजेता बनेका थिए । २०७३ सालमा नारायणगोपाल युवा संगीत पुरस्कार समेत पाएका उनको ‘मैले त्यही भएर मन पराको’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’, ‘ढल्क्यो ढल्क्यो’, ‘मैले माया गर्न जानिनँ होला’ जस्ता दर्जनौं गीत लोकप्रिय छन् ।

  • २२५ वर्ष पुरानो कथामा आधारित ‘जार’बारे के भन्छन् निर्देशक फुर्वा लामा ?

    २२५ वर्ष पुरानो कथामा आधारित ‘जार’बारे के भन्छन् निर्देशक फुर्वा लामा ?

    काठमाडौं । यही वैशाख २६ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र हो, ‘जार’। २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको यस चलचित्र विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माण पक्षको दाबी छ ।

    साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर तयार भएको चलचित्रलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् । चलचित्रको कथावस्तुबारे निर्देशक लामा भन्छन्, ‘यो सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्र हो । साहित्यकार इन्द्रबहादुर राईले सन् १८०० दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । सोही विषयमा ‘जार’ निर्माण गरिएको हो । त्यसैले यो २२५ वर्ष पुरानो कथा हो ।’

    यस चलचित्रले दर्शकलाई इतिहाससँग साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धको विविध पाटा देखाउने लामाको भनाइ छ ।

    ‘जारले हाम्रो समाजको भोगाइ, निर्दोषिता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई समेत उजागर गर्छ’, उनी भन्छन्, ‘यसले इतिहास, संस्कृति र समाजलाई गहिरो रुपमा स्पर्श गर्ने भएकाले युवा पुस्तामाझ पनि प्रभाव पार्नेछ ।’

    निर्देशक लामा थप्छन्, ‘अहिलेको पुस्तामा यो विषय केही ओझेलमा परे पनि यसले प्रभाव भने पक्कै पार्नेछ । ‘जार’ केवल इतिहास सुनाउने माध्यम होइन, हाम्रो संस्कृतिको अदृश्य धागो भेट्टाउने प्रयास पनि हो ।’

    फैरिटेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने तापनि कम्प्लिट प्याकेज भएको उनको दाबी छ । त्यसैले चलचित्रले दर्शकको मन जित्नेमा लामा ढुक्क छन् ।

    ‘जार’मा अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यस चलचित्रको छायांकन सिक्किममा गरिएको छ । चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, निरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

    सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । झुमा लिम्बू र गंगा थापाको संगीत रहेको यस चलचित्र नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउनेछ । चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् । चलचित्रको अन्तर्राष्ट्रिय वितरण सेभेन सिज सिनेमाले गर्नेछ ।

  • पहिलो पटक स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल, लन्डनमा सन्दीपसँगै दर्शक हँसाउने

    पहिलो पटक स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल, लन्डनमा सन्दीपसँगै दर्शक हँसाउने

    लन्डन । नेपाली चलचित्रमा अभिनय गरेर झण्डै ३५ वर्ष बिताइसकेका अभिनेता राजेश हमाल पहिला पटक कमेडी विधामा ट्राई गर्दैछन् । उनले लन्डनमा स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने कार्यक्रम छ ।

    चलचित्रमा अभिनयबाट हास्यव्यङ्ग्य विद्यामा स्वीच गर्नु कति चुनौती छ ? शुक्रबार साँझ लन्डनमा आयोजित प्रेस मिटमा हमालले भने, ‘साथीभाईहरुलाई हँसाए जस्तो स्टेजमा गएर सबैलाई हँसाउनु पक्कै सहज छैन। तर, जीवनमा केही फरक गरौंन त भन्ने लागेर स्ट्याण्डअप कमेडी गर्दैछु । उत्साह पनि छ, केही डर पनि ।’

    भाेलि २७ अप्रिल आइतबार साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा हमाल र कमेडियन सन्दीप क्षेत्रीले झण्डै सवा दुई घण्टा हँसाउने छन् ।

    ‘मैले राजेश दाईमा धेरै ‘सेन्स अफ ह्युमर’ देखेको छु’, प्रेस मिटमा सँगै रहेका क्षेत्रीले भने, ‘उहाँ अभिनयमा जति सिरियस हुनुहुन्छ, हँसाउन त्यत्तिकै खप्पिस भएकाले दाईसँग मेरो केमेस्ट्री मिल्यो ।’

    उनले हमालसँग विश्व टुर गर्ने लक्ष्यसहित सहकार्य गरेको पनि जनाए ।

    ‘मैले सुरुमा दाइलाई यस्तो कार्यक्रम गरौँ भनेर अफर गर्दा उहाँले `ह्वाइ नट तर कमेडीका लागि तयारी गर्न त केही समय चाहिन्छ के कस्तो छ´भनेर सोध्नुभयो’, क्षेत्रीले सुनाए, ‘मैले समय बताएपछि झण्डै ४ महिनादेखि हामी यसमा लाग्यौं । नाउ वी आर रेडी टु परफर्म ।’

    राजेश सन्दीपकै स्टेजमा गायक नवीन के भट्टराई र उनको ब्यान्ड ‘अतृप्त’ का सदस्यहरु पनि लाइभ म्युजिकमा परफर्म गर्दैछन् । पत्रकार सम्मेलनमा नवीन के. ले आफूहरुले सक्दो उत्कृष्ट प्रस्तुति दिन प्रयास गर्ने बताए ।

    ‘सधैं एउटै कामले दिक्क भएजस्तो लागेर बिचमा म ६-७ वर्ष ओझेल परेको थिएँ । अब फेरि हामी स्टेजमा सक्रिय भएका छौँ’- गायक भट्टराईले भने ।

    उनले बेलायतका दर्शकहरुसँग धेरै लामो समयपछि साक्षात्कार गर्न पाउँदा उत्साहित भएको बताए ।

    आयोजक माया इभेन्ट्सका निर्देशक राज पाण्डेले कलाकारहरुलाई स्वागत गर्दै कार्यक्रम तयारीबारे जानकारी दिएका थिए । आयोजककै तर्फबाट डा. रक्षा थापाले लिजेन्ड्री कलाकारहरुलाई निम्त्याएर कार्यक्रम गर्न पाएकोमा आफूलाई गर्व लागेको बताइन् ।

    ‘हाँसो र गीत सङ्गीत पनि स्वास्थ्यसँग नै सम्बन्धित छ’, केयर व्यवसायमा आबद्ध थापाले भनिन्, ‘हामीले यो कार्यक्रम वेल बिइंगकै उद्देश्यले राखेका हौं ।’ उनले इभेन्टमा आएर रमाइलो गर्न बेलायतवासी सबै नेपालीसमक्ष आग्रह गरिन् ।

    इभेन्ट ऐतिहासिक बनाउने तयारी भइरहेको आयोजकको दाबी छ । उल्लेखित कलाकारहरुको परफर्मेन्स लन्डन ह्यारोमा मात्र हुनेछ ।

  • ‘नरसिंहाः अवतार मेरो करियरको लागि स्मरणीय र कोशेढुंगा सावित हुनेछ’- नायक राज कटुवाल

    ‘नरसिंहाः अवतार मेरो करियरको लागि स्मरणीय र कोशेढुंगा सावित हुनेछ’- नायक राज कटुवाल

    काठमाडौं । यहीँ जेठ ९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र हो, ‘नरसिंहाः अवतार’। यो चलचित्रबाट नायक राजेश हमालले आठ वर्षपछि सिनेमामा कमब्याक गर्दैछन् । केही कार्यक्रमहरूमा फाट्टफुट्ट देखा परे पनि हमालले चलचित्र भने गरेका थिएनन् । यति लामो समय हमालले चलचित्र नपाएर नगरेका हुन या पाएर पनि कथावस्तु चित्त नबुजेका कारण नगरेका हुन, त्यो उनैलाई थाहा होला । तर यो चलचित्रलाई लिएर हमाल भने निकै आशावादी छन् । लामो समयपछिको उनको कमब्याकले उनका शुभचिन्तक पनि खुसी छन् ।

    हमाल सँगसँगै यहीँ चलचित्रबाट उदाउने दाउमा रहेका अर्का नायक हुन, राज कटुवाल। उसो त राजले फिल्म क्षेत्रमा पाइला चालेको केही वर्ष भइसक्यो तर जेठ ९ पछि भने उनको परिचय फेरिनेमा उनी विश्वस्त छन् । एक्सन चलचित्रप्रति दर्शकको क्रेज बढेसँगै ‘नरसिंहाः अवतार’मा आफूले निभाएको भूमिकाले, आफ्नो करियरमा थप एउटा सिढी थप्नेमा राज ढुक्क छन् ।

    उनले यो चलचित्रका लागि निकै तयारी र मेहेनत गरेका छन् । चलचित्रकै लागि भनेर उनले शरीरलाई केही परिवर्तन गर्नुका साथै मिक्स्ड मार्सल आर्टको समेत तालिम लिएका छन् । चलचित्र क्षेत्रमा १५ वर्ष बिताइसकेका राज भन्छन्,’मलाई सधैं एउटा मौका पाए, मेरो क्षमता देखाउँछु भन्ने थियो। १५ वर्षदेखि यो क्षेत्रमा लागेपनि मैले आफ्नो क्षमता के हो भन्ने कुरालाई कहिल्यै पनि गहिरो रुपमा सोचिनँ । यस पटक भने मैले आफूलाई पटकपटक चुनौती दिएको महसुस गरेको छु। यो चलचित्रमा मैले मेरो १०० प्रतिशत दिएर काम गरेको छु।’

    ‘म केही होइन र मलाई कसैले पनि चिन्दैन भन्ने सोचेर मैले यो चलचित्रमा अझै बढी मिहिनेत गरेको छु । यस पटकको अवसरलाई म एउटा उत्कृष्ट अवसरका रुपमा प्रमाणित गर्न चाहन्छु,’ उनी सुनाउँछन् ।

    केही वर्ष काम गरेपछि राजले बिचमा करियरबाट हार मानेका थिए । गरेका कामहरूले सोचे जस्तो नाम नदिएपछि उनी ओझेलमा परेका थिए । तर चलचित्र विकास बोर्डको सदस्य बनेपछि र फिल्मकर्मीबाट पटकपटक अभिनयमा फर्कन सुझाव आएपछि उनले आफूलाई फेरि एक पटक परीक्षामा उभ्याउने निर्णय गरे ।

    ‘म फर्केपनि कसरी र कुन प्रकारले फर्किदा ठिक हुन्छ भन्ने विषयमा मेरो सदैव मुख्य ध्यान थियो । त्यसैले कुनै पनि प्रस्ताव तत्काल स्वीकार गर्ने मनसाय थिएन । एक त मलाई जीविकोपार्जनकै लागि फिल्म खेल्नुपर्ने बाध्यता पनि थिएन। त्यसैले, राम्रो कथा, राम्रो निर्देशकको पर्खाइमै थिएँ,’राज थप्छन्।

    धेरै सोचेपछि अन्ततः ‘नरसिंहाः अवतार’ नै आफ्ना प्रश्नहरुको उत्तर र चाहनाको मूर्तरुप भएको राज बताउँछन् । दिवाकर भट्टराइको निर्देशनमा बनेको यो चलचित्र आफ्नो करियरका लागि स्मरणीय र कोशेढुंगा साबित हुने उनको विश्वास छ । राजेश हमालसँगको सहकार्य बारे बताउँदै राज भन्छन् ,’जसलाई आदर्श मानेर अभिनय गर्ने सपना बन्यो, उहाँसँगै काम गर्न पाउनु दुर्लभ अवसर हो । सपना साकार भएको जस्तै लागेको छ। सुपरस्टार हुँदा पनि जुन धरातलबाट उभिनुपर्ने हो, त्यो नबिर्सनु पर्ने पाठ उहाँबाट सिके।उहाँको कामले यस पटक विशेष चर्चा पाउनेछ ।’

    दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको चलचित्रमा क्रियटिभ सिने आर्टस्को नेम महर्जनको लगानी छ । दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी, बालकलाकारहरु एभेलिना खड्का र समाइरा थापा, नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जङ्ग बस्नेत, प्रकाश जङ्ग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरूको अभिनय छ ।

  • सुरक्षा पन्त अभिनित ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक, भदौ १२ मा प्रदर्शन हुने

    सुरक्षा पन्त अभिनित ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक, भदौ १२ मा प्रदर्शन हुने

    काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टीमले ‘कोशेढुङ्गा’को भदौ १२ गते रिलिज हुने घोषणा पनि गरेको छ ।

    सार्वजनिक फर्स्ट लुक पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री सुरक्षा पन्त फिचर्ड छिन् ।

    चलचित्रको कथावस्तुबारे निर्माण पक्षले अहिलेसम्म केही जानकारी दिएको छैन । सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्धव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतको अभिनय छ ।

    नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।

    बाबु श्रेष्ठको डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन र आशिष अविरल र रिदम कँडेलको संगीत छ ।

  • ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईं’- चलचित्रको तीन नयाँ पोस्टर सार्वजनिक

    ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईं’- चलचित्रको तीन नयाँ पोस्टर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ टीमले शुक्रबार ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईं’ कार्यक्रम सम्पन्न गरेको छ । रिलिज मिति नजिकिएसँगै निर्माण पक्षले शुक्रबार साँझ पोखराको फेवा तालको किनारमा यो कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममै निर्माण टीमले चलचित्रका तीन नयाँ पोस्टर पनि सार्वजनिक गरेको थियो । पोखरामा आयोजित कार्यक्रममा गायक तथा चलचित्रका गीत निर्देशक सुजन चापागाईंले आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘ऊनको स्वीटर’का गीतहरू ‘मखमली’, ‘काफ्ले’, ‘फूल’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गरे ।

    शुक्रबार नै प्रसिद्ध लोकगायक स्व. झलकमान गन्धर्वको ९०औँ जन्म जयन्ती भएकाले सुजनले झलकमान समर्पित विशेष प्रस्तुतिसमेत दिए ।

    कार्यक्रममा सुजनसँगै कलाकारहरु विपीन कार्की, परीक्षा लिम्बू, एलेक्स पारस, माओत्से गुरुङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री, वितरक पुष्कर घिमिरे, मिडिया एक्जिक्युटिभ जीवन पराजुली पनि उपस्थिति थिए ।

    कार्यक्रममा बोल्दै अभिनेता विपीन कार्कीले दर्शकलाई ‘ऊनको स्वीटर’ मौलिक बनेको बताउँदै हलसम्म पुगेर हेर्न अनुरोध गरे । त्यस्तै चलचित्रका निर्देशक नवीन चौहानले पनि आर्टमान्डुका गीतहरूले जस्तै चलचित्रले पनि दर्शकलाई सन्तुष्टि दिने विश्वास व्यक्त गरे ।

    कार्यक्रमको आकर्षणको रूपमा एलेक्स र परीक्षाले ‘काफ्ले’ गीतमा रमाइलो नृत्य पनि प्रस्तुत गरेका थिए । वैशाख २६ गतेबाट विश्वव्यापी रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’ एक सामाजिक कथानक चलचित्र हो ।

    विपीन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।

  • गायक सुरेन गौतमको ‘परिबन्ध’ गीत सार्वजनिक

    गायक सुरेन गौतमको ‘परिबन्ध’ गीत सार्वजनिक

    काठमाडौं । गायक सुरेन गौतमको ‘परिबन्ध’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गौतमको स्वरसँगै शब्द र कल्याण सिंहको सङ्गीत रहेको छ । गीत गौतमकै अफिसियल यूट्युब च्यानल ‘सुरेन म्युजिक’बाट सार्वजनिक गरिएको हो ।

    गीतको भिडियोमा सकु शाह र लोमस शर्माको अभिनय छ । म्युजिक भिडियोको निर्देशन पिटर गुरुङले गरेका छन् ।

    गीतको भिडियो राज पोखरेलले छायांकन गरेका हुन् भने सम्पादन विष्णुहरि तिमल्सिनाको रहेको छ । दिनेश श्रेष्ठको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको गीत ‘डि स्टुडियो’मा रेकर्ड गरिएको हो ।