काठमाडौं । कक्षा १२ को परीक्षा तयारीमा रहेकी नायिका करिश्मा मानन्धरलाई फोन गरेर एमाले अध्यक्ष ओलीले गएको महीना शुभकामना दिए । परीक्षा सकिएपछि भेट्ने कुरा पनि भयो ।
त्यो प्रतिबद्धताअनुसार नै बुधबार बेलुका अध्यक्ष ओली र नायिका मानन्धरबीच बालकोटमा भेट भएको छ । एक घण्टा चिया पिउँदै भएको गफगाफमा गायिका तथा सांसद कोमल ओली र कलाकार जितु नेपाल पनि सहभागी थिए ।
करिश्मा र ओलीबीच फिल्म, राजनीतिदेखि मुलुकको समसामयिक विषयमा गफगाफ भयो । ओलीले परीक्षा कस्तो भयो भन्दै करिश्मालाई सोधेका थिए । साथै, देश विकास गर्ने आफ्नो भिजनबारे पनि ओलीले सुनाएका थिए ।
छक्कापञ्जा फिल्म आफूले हेरेको भन्दै ओलीले फिल्म लगायतका गफ पनि गरेका थिए । करिश्माको अभिनयको आफू प्रशंसक रहेको भन्दै ओलीले करियरको शुभकामना पनि दिए ।
करिश्माले मुन्द्रेको कमेडी क्लब टिभी सोमा ओलीलाई अतिथिको रुपमा निम्तो पनि दिएकी थिइन् । मौका मिलाएर आफू उक्त सोमा आउने वचन पनि ओलीले दिएका छन् ।
तर, उक्त भेटमा पार्टी प्रवेशबारे कुनै छलफल नभएको सहभागी कलाकार नेपालले बताए । ‘क्याजुअल भेटघाट भएको हो । पार्टी प्रवेशबारे कुनै कुरा भएको छैन’ उनले भने ।
काठमाडौं । थप तीन नेपाली फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । चलचित्र संघद्वारा गठित व्यवसायिक अध्ययन कार्यदलका अनुसार चोर पुलिस र धुम ४ तिहारमा प्रदर्शन हुनेछन् ।
चुरीफुरी चाहिँ पुस ९ गते प्रदर्शन हुने जनाइएको छ । कार्यदल संयोजक अशोक शर्माका अनुसार अन्य केही फिल्मसँग पनि रिलिज घोषणाबारे छलफल भैरहेको तर, निश्चित भैसकेको छैन ।
फूलपातिमा प्रदर्शनमा आएको डाँडाको वरपीपल भने व्यवसायिकरुपमा असफल भएको छ । सोही समयमा प्रदर्शनमा आएको फिल्म धन्दागिरी पनि बक्सअफिसमा असफल भयो ।
असोज २१ गतेदेखि फिल्म हलहरु संचालनमा आएपछि नेपाली फिल्मको प्रदर्शन भने कमजोर देखिएको छ । तर, अंग्रेजी फिल्महरु नो टाइम टु डाइ र फास्ट एन्ड फ्युरियस–९ ले भने आशालाग्दो व्यापार गरेका छन् ।
नयाँ घोषणा भएका तीन नेपाली फिल्मको प्रचारप्रसार र बक्सअफिस अपेक्षा भने न्यून छ । ठूला फिल्महरुले नयाँ वर्षको समयमा प्रदर्शन मिति घोषणा गर्दै तत्काल रिलिज नगर्ने संकेत दिएका छन् ।
दुबई । सेलेव्रिटी यतिबेला दशैंतिहारको फेस्टिभ मुडमा छन् । उनीहरुका लागि पर्व घुमघाम बहाना पनि हो ।
कतिपय सेलेव्रिटी नेपालभित्रै घुमघाममा व्यस्त रहेपनि कतिपय चाहिँ विदेश सयरमा व्यस्त छन् । कोरोना महामारीको कारण क्वारेन्टिन लगायतका प्रावधान खुकुलो भएपछि घुमघाममा सजिलो पनि भएको छ ।
नायिका वर्षा शिवाकोटी अहिले प्रेमी राज कट्वालसँग युएईको दुबई सहरमा घुमघाममा मस्त छिन् । यो जोडीले दुबईबाट घुमघामका आकर्षक तस्विर सेयर गरिरहेका छन् ।
पछिल्लोपटक पोस्ट गरेको एउटा फोटोमा वर्षाले ‘टुगेदर वि विल’ प्रिन्टेड सर्ट पनि लगाएकी छिन् । क्याप्सनमा पनि उनले ‘एस, वि विल’ लेख्दै राजसँग सँगै हुने संकेत दिएकी छिन् ।
यो जोडी केही वर्षदेखि डेट गरिरहेको छ भने विहेको तयारी पनि छ । पछिल्लो समय एकसाथ म्युजिक भिडिओ पनि गरिरहेका छन् ।
काठमाडौं । दुई सातादेखि नेपालमा छायांकन भैरहेको बलिउड फिल्म ‘उचाइ’ युनिट आज मनाङ पुगेको छ । लुक्ला र नाम्चेमा छायांकन सकेपछि फिल्म युनिट चामे पुगेको हो ।
फिल्म छायांकनको नेपाल व्यवस्थापन हेरेको कम्पनी थ्री ह्विलर्सका अनुसार चामेमा डेढसाता फिल्म सुट हुनेछ । त्यसपछि फिल्म युनिट मुम्बइ फर्कने योजना रहेको जनाइएको छ ।
सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्म खराब मौसमका कारण मंगलबार मात्र नाम्चे पुगेको हो । दुई अधवैंशे पुरुषको मित्रता र उनीहरुको घुमघामको कथा भन्ने फिल्ममा अनुपम खेर र बोमन इरानीको मुख्य भूमिका छ ।
परिणिती चोपडासहितका अन्य कलाकार पनि छन् । कलाकारहरुले सामाजिक संजालमा हिमाली क्षेत्रका तस्बिर सेयर गरिरहेका छन् ।
काठमाडौं । कोरोनाभाइरस महामारीको कारण लयमा फर्कन संघर्ष गरिरहेको नेपाली फिल्म बक्सअफिसमा हलिउड फिल्म ‘नो टाइम टु डाइ’ ले आशालाग्दो व्यापार गरेको छ ।
फिल्मले पाँच दिनमै २५ लाख ग्रस कमाइ गरेको सोनी पिक्चर्सको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । डेनियल क्रेग स्टारर यो फिल्म असोज २८ गते नेपालका केही सीमित मल्टिप्लेक्समा मात्र रिलिज भएको थियो ।
‘यो कमाइले आशालाग्दो व्यापारको संकेत दिएको छ’ एप्पलकी जेनिस पहारीले नेपाल प्रेसलाई भनिन्, ‘दर्शकहरु फिल्म हेर्न आतुर छन् भन्ने सन्देश नो टाइम टु डाइको व्यापारले दिएको छ ।’
क्यूएफएक्सका मप्टिप्लेक्ससहित पोखरा, नारायणगढ लगायतका हलमा फिल्मको अकुपेन्सी राम्रो देखिएको छ । क्यारी जोजी फुकुंगा निर्देशित फिल्म जेम्स बन्ड सिरिजको २५ औं श्रृंखला पनि हो ।
एप्पलले इटर्नल र साङ्चीलाई पनि नेपालमा रिलिज गर्ने घोषणा गरेको छ । केही दिनमै मिति समेत तय हुने जनाइएको छ ।
मस्को । अन्तरीक्षको शून्य गुरुत्वाकर्षणमा फिल्म छायांकन गरेर एउटा रुसी टोली पृथ्वी फर्किएको छ। ‘च्यालेन्ज’ नामक फिल्म छायाङ्कन गर्न निर्देशक क्लिम शिपेन्को र कलाकार युलिया पेरेसिल्ड अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए।
उनीहरू आईएसएसबाट फर्किएर काजकस्तानमा अवतरण गरेको दृश्य पनि छायाङ्कन गरिएको छ। उनीहरूलाई बिदा गर्दा खिचिएको एउटा भिडिओ आईएसएसले ट्विटरमा प्रेषित गरेको छ।
त्यसमा गुरुत्वहीनताका कारण पेरेसिल्डको कपाल उडिरहेको देखिन्छ। उक्त चलचित्र अन्तरिक्षमा नभएर पृथ्वीमै खिचिएको हो कि भन्ने शङ्का त्यसबाट निराकरण हुने उनीहरूको अपेक्षा छ।
यो रुसी चलचित्रले टम क्रूजसँग प्रतिस्पर्धा गर्न खोजेको छ। नासा र इलोन मस्कको स्पेसएक्स सम्मिलित हुने र अन्तरिक्षमा छायाङ्कन गर्न लागिएको एउटा हलीवुड चलचित्रमा क्रूज पनि सहभागी हुन लागेका छन्।
A Russian trio said farewell to the station crew and closed the Soyuz MS-18 crew ship hatch at 4:41pm ET today. They undock at 9:14pm this evening. More… https://t.co/Hwwr4AEUI7pic.twitter.com/aXFOtG2H1O
पेरेसिल्ड, शिपेन्को र अन्तरिक्षयात्री ओलेग नोभित्स्की चढेको यान स्थानीय समयानुसार गत आइतवार दिउँसो काजकस्थानको समथर भूमिमा अवतरण गर्यो।
अन्तरिक्षमा खिचिएको उनीहरूको चलचित्रको कथा विस्तृत रूपमा सार्वजनिक भएको छैन। तर आईएसएसमा खिचिएको भागमा पेरेसिल्ड चिकित्सकको भूमिकामा छिन्।उनले बिरामी परेका अन्तरिक्षयात्री (नोभित्स्की) को शल्यक्रिया गरेको दृश्य आईएसएसमा छायाङ्कन गरेको बुझिएको छ।
स्पेस स्टेसनमा एक अनटाइटल हलिउड फिल्म छायांकन गर्न टम क्रुज र नासाको टोली चाँडै जाने तयारी गरिरहेको जनाइएको छ । यसबारे नासाले विस्तृत खुलाएको छैन ।
काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् ।
फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडियोमा व्यस्त छिन् । ’फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ ।
दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीसमेत भन्न थालिसकेका छन् । भिडियोमा अभिनय गर्न थालेको केही समयमै उनको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् ।
भिडियोमा पछिल्लो समय खोजिने मोडलको लिस्टमा मलिकाको नाम अगाडि आए पनि फिल्ममा भने उनले त्यो लोकप्रियता पाउन सकेकी छैनन् । उनले दुई फिल्ममा अभिनय गरे पनि ’पानीफोटो’ भने प्रदर्शन हुन बाँकी छ ।
तर, उनको भिडियोझैँ लोकप्रियता फिल्ममा भने कम छ । केही दिन अगाडि मात्र फिल्म ’सत्यम’मा अनुबन्धित् भएकी मलिका आफूलाई फिल्ममै सफल देख्न चाहन्छिन् । केहि समयअगाडि मात्र उनी एक प्रतिष्ठित ब्यानरको अडिसनमा रिजेक्ट भएकी थिइन् । उनले पाएको रोललाई अडिसनमा न्याय गर्न नसकेपछि उनलाई लिन नसकिएको उक्त फिल्मको टिमका एक सदस्यले बताए ।
काठमाडौं । अरुले जस्तै कलाकारले पनि हर्षोल्लासका साथ दसैँ मनाए । मान्यजन तथा अग्रजबाट टीका र जमरा थाप्दै रमाइलोसँग दसैँ मनाएको तस्बिरहरू उनीहरूले सामाजिक सञ्जालमा राखेका छन् ।
कोरोना महामारीका कारण २ वर्षयता अन्य क्षेत्रजस्तै चलचित्र क्षेत्रलाई पनि नराम्ररी धक्का लागेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको दर घट्न थालेपछि फिल्मी क्षेत्रले पनि पुनर्जिवन पाउने आशा छ । तर, अपेक्षित नतिजा हात पर्ने देखिएको छैन ।
चाडबाडको बेला विभिन्न महोत्सव र सांगितिक कार्यक्रममा रम्ने कलाकारहरू महामारीका कारण फुर्सदिला छन् ।
काठमाडौं । लामो समयको अन्तरालमा हिजो एउटा नयाँ नेपाली चलचित्र हलमा रिलिज भयो । दशैंको अवसरमा रिलिज गरिएको चलचित्रले दर्शकलाई हलमा फर्काउने आशा आम चलचित्रकर्मीले राखेका थिए । तर पहिलो गाँसमै ढुंगा झैं भएको छ ।
शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपिपल’ रिलिज भएको दोस्रो दिन हामी सिभिल मलको क्यूएफएक्समा पुगेका थियौं । तर, हलभित्र गएर हेर्दा विरक्तलाग्दो दृष्य देखियो । सिंगै हलभित्र जम्माजम्मी ६ जना दर्शक थिए । ४ जना वयस्क र २ जना बालबालिका । हलबाट निस्कने बेला हामीले उनीहरुसँग कुरा गर्दा कोही पनि बोल्न तयार भएनन् ।
लामो समयपछि रिलिज भएको नयाँ चलचित्र, त्यो पनि मल्टिस्टारर । भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्लजस्ता लिजेन्डदेखि सलोन बस्नेत, रुबिना थापासम्मका नयाँ पुस्ताका प्रतिभाहरुले यसमा अभिनय गरेका छन् । दसैंको विदामा यो चलचित्रले राम्रै संख्यामा दर्शक तान्ने अपेक्षा गरिएको थियो । तर, दोस्रो दिनमै फिल्मको व्यापार दयनीय देखिएको छ । फिल्मी भाषामा भन्दा ‘डाँडाको वरपिपल’ ले पानी पनि माग्न पाएन ।
किन हलमा गएनन् त दर्शक ? यसका प्रमुख दुई कारण छन् ।
पहिलो त कोरोनाको लहर केही शान्त भए पनि समाप्त भएको छैन । अहिले पनि मानिसहरु भिडभाडसँग डराइरहेका छन् । मनोरञ्जन क्षेत्र वाध्यात्मक नभएकाले ‘रिस्क’ लिन कोही पनि चाहिरहेका छैनन् । नेपालमा मात्र नभएर भारतमा पनि दर्शक हलमा आएका छैनन् ।
तर, ‘डाँडाको वरपिपल’ का हकमा अर्को दर्शक हलमा नआउनुको अर्को ठूलो कारण छ । त्यो हो ‘महानायक काण्ड’ । यही चलचित्रको एउटा गीत रिलिज गर्ने कार्यक्रममा भुवन केसी र शिव श्रेष्ठले महानायक विवाद सल्काएका थिए । आगोमा घ्यू थप्ने काम गरे सोही फिल्मका निर्देशक सोभित बस्नेतले ।
शोभितले नेपाली चलचित्रका महानायक राजेश हमाल नभएर भुवन केसी हुन् भन्दै विभिन्न मिडियामा अन्तरवार्ता दिए । उनले आफ्नो चलचित्रलाई चर्चामा ल्याउन अपनाएको यो हत्कण्डा अन्ततः आत्मघाति सावित भयो । चलचित्रमा गरिएको करोडौं लगानी डुब्ने अवस्था आएको छ ।
त्यसो त डाँडाको वरपिपल रिलिज हुनुपूर्व नै फ्लप बन्ने छनक देखिएको थियो । राजेश हमालको महानायकत्वमाथि प्रश्न उठाएकाले भुवन, शिव र शोभितसँग दर्शक आगो बनेका थिए । राजेश हमालका समर्थक दर्शकले यस चलचित्रका गीतमा ‘डिसलाइक’ को अभियान नै चलाएका छन् । साथै, युट्युटदखि टिकटकसम्म आएका प्रतिक्रियामा धेरैले यो चलचित्र बहिष्कार गर्ने बताएका छन् ।
चलचित्रको लगानी धरापमा पर्ने देखेपछि निर्देशक बस्नेतले आफूलाई सच्याउन पनि खोजेका हुन् । आफूले गल्ति बोलेको भनेर माफी मागे । चलचित्रको एउटा कार्यक्रममा राजेश हमालको तस्वीरलाई प्रमूख अतिथि बनाए । एक टिभी प्रस्तोताको मध्यस्थतामा राजेश हमालको प्रवचन पनि सुने । तर केही गर्दा पनि दर्शक उनीसँग खुशी भएनन् । अहिले पनि शोभितमाथि गालीको वर्षा भइरहेकै छ । उनीमात्र नभएर राजेश हमाललाई महानायक नमान्ने जोकसैलाई दर्शकले लखेटिरहेका छन् ।
डाँडाको वरपिपल फ्लप भएपछि अन्य निर्माता–निर्देशक पनि आफ्नो नयाँ चलचित्र रिलिज गर्न डराउने अवस्था बनेको छ । जबकि दर्जनौं चलचित्रहरु निर्माण सकिएर प्रदर्शनको पर्खाइमा छन् । तर, नेपाली चलचित्रको ‘रिकभरि’ का लागि लामै समय पर्खिनुपर्ने अवस्था देखिएको छ ।
काठमाडौं । आगामी डिसेम्बर १० देखि १४ सम्म सिक्किममा ग्लोबल फिल्म फेस्टिभलको दोस्रो संस्करण आयोजना हुने भएको छ ।
चारदिने फेस्टिभलमा भारतसहित नेपालका फिल्म कलाकार र सेलेव्रिटी सहभागी हुने सिक्किम फिल्म प्रवद्र्धन बोर्डले जनाएको छ ।
बोर्ड अध्यक्ष पूजा शर्माका अनुसार विभिन्न पाँच विधामा फेस्टिभल आयोजना हुने भएको छ । जसमा फिचर, सर्टफिल्म, आदिवासी–जनजाति–क्षेत्रीय फिल्म तथा ओटीटी विधाहरु समावेश गरिएका छन् ।
फेस्टिभलमा भाग लिन इच्छुक नेपाली फिल्मलाई सहभागिताका लागि प्रवद्र्धन बोर्डले आग्रह गरेको छ ।
फेस्टिभलमा सहभागी हुन अभिनेता राजेश हमाल, अनमोल केसी, आकाश श्रेष्ठ लगायतका नेपाली कलाकारलाई पनि निम्तो दिइएको छ ।
सिक्किमले नेपाली फिल्मलाई लक्षित गर्दै फिल्म पर्यटन खुला गरेको छ जसअन्तर्गत त्यहाँ छायांकन हुने फिल्मलाई १ करोड भारु अनुदान दिने प्याकेज राखिएका छन् ।
फेस्टिभलमा बलिउड सेलेव्रिटी मलाइका अरोरा उपस्थित हुने सिक्किम फिल्म बोर्डले जनाएको छ । सिक्किमको स्थानीय डिजाइन पहिरिएर उनले फेस्टिभल अन्तर्गतको रेडकार्पेटमा भाग लिने भएकी छिन् ।
काठमाडौं । अहिले नेपालका हिमाली थलोहरुमा बलिउड फिल्म ‘उचाइ’को छायांकन भैरहेको छ । मंगलबार सगरमाथा क्षेत्रको लुक्लामा फिल्म छायांकन सकिएको छ भने बुधबारदेखि नाम्चेमा हुँदैछ ।
फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ । थ्री हिव्लर्स कम्पनीका अनुसार मुस्ताङमा भने छायांकन हुनेछैन ।
बलिउडका ए-लिस्टर निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङलाई अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी लगायतका कलाकार नेपालमा छन् ।
मंगलबार इन्स्टाग्राममार्फत सगरमाथाको सुन्दर तस्बिर सेयर गर्दै परिणिती र अनुपमले प्राकृतिक सौन्दर्यको प्रशंसा गरेका छन् । सगरमाथासामु जोकसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् भने परिणितीले सगरमाथाको नम्रताको वर्णन गरेकी छिन् ।
उचाइ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने जनाइएको छ ।
काठमाडौं । लामो समयको अन्तरालमा नयाँ नेपाली चलचित्र आज हलमा रिलिज हुँदैछ । शोभित बस्नेत निर्देशित चलचित्र हलमा लाग्दै गर्दा चलचित्र क्षेत्रको माहोल भने राम्रो छैन । खासगरी ‘महानायक विवाद’ ले यस चलचित्रलाई नराम्ररी कुठाराघात गरेको छ ।
यही विषयलाई लिएर अभिनेता दिपकराज गिरीले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् । नेपालका चलचित्रकर्मीहरु एउटाले अर्काेलाई प्रहार गर्दा चलचित्र उद्योग घाइते भइरहेको उनको गुनासो छ ।
‘फेसबुक, टिकटक, फिल्मीन्यूज हरूले हाम्रो बौद्धिकता लाइ जिस्काइरहे झै लाग्छ,’ गिरीले फेसबुकमा लेखेका छन्, ‘उसलाई परेको हो, मलाई होइन भनेर चुप बस्ने अवस्था पनि छैन ! किनकि अलि–अलि छिट्टा त हामि सबैलाई परेको छ, पर्छ पनि ।’
गिरीले व्यर्थका बहस तथा आरोप प्रत्यारोपहरु बन्द गर्न अपिल गरेका छन् । डाँडाको वरपिपललाई उनले शुुभकामना दिएका छन् ।
‘धेरैपछि नेपाली फिÞल्म हलमा आएको छ, कमसेकम शुभकामना दिऔं ‘डाँडा पारीको वरपिपल’ लाई । थप बिबाद नगरौ !’ उनले भनेका छन् ।
महानायक विवादतर्फ ईंगित गर्दै गिरीले लेखेका छन्, ‘महान को हो त्यो निर्णय हामीले गर्ने होइन । त्यसैले आ–आफ्नो गल्ति स्विकार गरेर, हातेमालो गरेर, कमजोर भएको उद्योगलाई मिलेर उचालौं ! यति लेख्दा गल्ति भएको भए क्षमा चाहन्छु !’
काठमाडौं। बलिउड गायक मिका सिंहले नेपाली गायनमा डेब्यु गरेका छन् । उनको आवाजमा रहेको नेपाली गीत ‘बोतलको बिर्को’ आज इन्टरनेट रिलिज भएको छ । मुम्बई स्टूडियोमा रेकर्ड गरिएको गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द रचना छ ।
विभोर पोखरेल र दीलिप समनको संयुक्त निर्देशन रहेको भिडिओमा नेपाली फिल्मका दुई अभिनेता आर्यन सिग्देल र पल शाहसँगै मोडल दुर्गेश थापाको पनि अभिनय छ । आर्यनको जोडीको रुपमा एलिसा शर्मा, पलको जोडी श्रेया संग्रौला र दुर्गेशको जोडी कविता नेपालीसँग बाँधिएको छ ।
दीलिप न्यौपाने कार्यकारी निर्माता र रोशन पराजुली निर्माता रहेको भिडिओमा अस्मिता लामिछाने सह-निर्माताको रुपमा छिन् । सुप्रिम पराजुलीकोे सम्पादन र कलर ग्रेडिङ, राविज समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, विजय बस्यालको पब्लिसिटी डिजाइन, सुमन अधिकारीको फोटोग्राफी रहेको गीतको भिडियोको हेड अफ प्रोडक्सन मनोज जोशी, प्रोडक्सन म्यानेजर विशाल कार्की, विक्रम तामाङ र अमृत कुमार चन्द हुन् ।
भिडिओका निर्माता रोशन पराजुलीले यो गीतको हिन्दी भर्सन पनि तयार भइसकेको बताए । उनी यो गीतको अडिओ र भिडिओ निर्माण गर्न निकै मिहिनेत गरेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे । हेर्नूस गीत :
काठमाडौं । रिलिज पूर्वसन्ध्यामा फिल्म ‘डाँडाको वरपीपल’ प्रिमियर गरिएको छ । राजधानीको बानेश्वरस्थित वान सिनेमाज् मल्टिप्लेक्समा कलाकारहरुको उपस्थितमा फिल्म देखाइयो ।
सलोन बस्नेत, रविना थापा, शोभित बस्नेत, रेखा थापा लगायतका कलाकार प्रिमियरमा सहभागि रहे । फिल्म हल बन्द रहेको पाँच महीनापछि हल खुलेसँगै प्रिमियर आयोजना गरिएको हो ।
मंगलबारदेखि शोभित बस्नेत निर्देशित फिल्म देशव्यापी प्रदर्शन हुँदैछ । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । अन्तरजातिय प्रेमको कथामा निर्माण भएको फिल्ममा सलोन र रुविनाको मुख्य अभिनय छ ।
करिब १६ वर्षपछि यो फिल्ममार्फत शिव श्रेष्ठ र भुवन केसीले पनि अभिनयमा सहकार्य गरेका छन् । ‘डाँडाको वरपीपल’ हल खुलेपछि रिलिज हुने पहिलो नेपाली फिल्म हो । असोज २१ गते विदेशी फिल्म प्रदर्शनमा आइसकेको छ ।
फिल्म प्रमोसनको क्रममा उत्पन्न भएको महानायक विवादले फिल्म चर्चामा आएको थियो । गीत रिलिज कार्यक्रममा निर्देशक बस्नेतले शिव श्रेष्ठ महानायक र भुवन केसी सुपरस्टार भएको बताएका थिए । यो कुुरा विवादित भएपछि उनले राजेश हमाललाई भेटेरै माफी मागेका थिए ।
काठमाडौं । सरकारले नेपालमा स्वच्छन्दरुपमा सञ्चालन भइरहेका ओटीटी र आइपीटीभी प्लेटफर्ममाथि नियमन सुरु गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्युतीय संचारमाध्यम र विज्ञापन फिल्मलाई पनि सेन्सरको दायरामा ल्याउने जनाएको छ ।
इन्टरनेटका विभिन्न प्लेटफर्ममार्फत प्रशारण हुने स्वदेशी-विदेशी फिल्म तथा विज्ञापनहरु हालसम्म कुनै सेन्सरबिना जस्ताकाे तस्तै दर्शकसम्म पुगिरहेका छन् । यसलाई सरकारले कानूनी दायरामा ल्याउनुपर्ने आवाज उठेपछि सरकारले सम्बाेधन गरेकाे हाे ।
मन्त्रालयकाे सूचनामा यस्ता फिल्म तथा विज्ञापन फिल्मको जाँचपास गराएर मात्र सार्वजनिक प्रदर्शन र प्रसारण गर्न मन्त्रालयले भनेको छ । नियमको उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजारसम्म जरिवाना गरी इजाजतपत्र खारेज गर्न सक्ने तथा उपकरणहरु जफत गर्न सक्ने छन् ।
काठमाडौं । मिस युनिभर्स नेपालको १८ अन्तिम प्रतिस्पर्धीको सूची घोषणा भएको छ । यो सूचीमा यसअघि विभिन्न ब्यूटी पेजेन्टहरुमा चर्चित भैसकेका नामहरु पनि संलग्न छन् ।
काठमाडौं । नेपाली र भुटानी फिल्म बजारलाई लक्षित गर्दै भारतको उत्तरपूर्वी राज्य सिक्किमले फिल्म पर्यटन खुला गरेको छ । सिक्किम सरकारले छिमेकी मुलुकका फिल्म छायांकनलाई आकर्षित गर्न आर्थिक प्याकेज पनि घोषणा गरेको छ ।
सिक्किम सरकारले केही मापदण्ड तोक्दै राज्यमा छायांकन हुने फिल्मलाई १ करोड रुपैयाँ भारु अनुदान दिने भएको छ । जसका लागि फिल्मको ७५ प्रतिशत सुटिङ सिक्किममै हुनुपर्नेछ भने ५० प्रतिशत कलाकार त्यहीँबाटै लिएको हुनुपर्नेछ ।
‘हामी फिल्ममार्फत सिक्किमको पर्यटनमा वृद्धि गर्न चाहन्छौं । नेपाली फिल्मलाई महत्व दिएर काम गर्ने हाम्रो योजना छ’ यसैसाता नेपाल प्रेसको काठमाडौं कार्यालयमा आइपुगेका सिक्किमका स्वास्थ्यमन्त्री डा. मणीकुमार शर्मा र फिल्म प्रवद्र्धन बोर्ड सिक्किमकी अध्यक्ष पूजा शर्माले भने ।
भाषिक र सांस्कृतिकरुपमा निकट नेपाली र भुटानी फिल्म छायांकनसँगै अन्य विश्व फिल्मलाई पनि राज्यमा आकर्षित गर्ने नीति रहेको मन्त्री डा. शर्माले बताए । ‘विश्वमा सिक्किमको स्थान जुन किसिमले खडा हुनुपर्ने हो त्यो भएको छैन’ उनले भने, ‘हामी फिल्म पर्यटनमार्फत सिक्किमे विकासको सम्भावना खोज्न चाहन्छौं ।’
सिक्किममा नेपाली फिल्म सुटिङ र प्रदर्शनका लागि विद्यमान अप्ठ्यारालाई सहजीकरण गर्न राज्य सरकार तयार रहेको समेत मन्त्री डा. शर्माले बताए । ‘फिल्म पर्यटनमार्फत आर्थिक र सांस्कृतिक सम्बन्धलाई अघि बढाउने र फिल्मलाई नेपाल र भारतबीचको कूटनीतिक माध्यमको रुपमा अघि बढाउने हाम्रो उद्देश्य हो’ उनले भने ।
नेपाल र सिक्किम दुबैलाई लाभ मिल्ने गरि फिल्म अलायन्स बनाउने आफूहरुको योजना रहेको र यसबाट दुबै छिमेकीले फाइदा उठाउन सक्ने बोर्ड अध्यक्ष शर्माले बताइन् । ‘नेपाली फिल्मलाई महत्व दिएर हामी काम गर्न चाहन्छौं’ उनले भनिन्, ‘यसका लागि हामी आर्थिक मात्र हैन, बन्दोबस्ती सहयोग गर्न पनि तयार छौं ।’
सिक्किमका स्वास्थ्यमन्त्री डा. मणीकुमार शर्मा
सिक्किमले सन् २०२० मै फिल्म पर्यटन नीति घोषणा गरेपनि कोरोनाभाइरस महामारीले रोकिएको थियो । भाइरस संक्रमण घटेपछि थलिएको अर्थतन्त्रलाई उकास्न फिल्म पर्यटनलाई अघि बढाइएको हो । यो नीतिको चाँडै औपचारिक घोषणा गर्ने तयारी भएको छ ।
फिल्म पर्यटन योजनाअन्तर्गत सिक्किमले नेपालसँग सांस्कृतिक आदानप्रदान गर्ने समेत भएको छ । यसका लागि डिसेम्बर १० देखि १४ सम्म ग्लोबल फिल्म फेस्टिभलको दोस्रो संस्करण सिक्किममा हुँदैछ । यो फेस्टिभलमा राजेश हमाल, अनमोल केसीदेखि नेपाली फिल्मका स्टारहरुलाई बोर्डले निम्तो दिएको छ ।
‘हामी दुबै छिमेकीबीच सांस्कृतिक सम्बन्ध आदानप्रदानलाई घनिभूत तुल्याउन चाहन्छौं’ शर्माले भनिन्, ‘यो कार्यबाट हामीले सिक्किमको लुकेको सौन्दर्यलाई उपयोग गर्न सक्छौं । सिक्किमको भूगोलमा ७८ प्रतिशत ठाउँ ओगटेको हरिया पहाडहरु नेपाली फिल्मका लागि दर्शनीय हुनसक्छ ।’
यसका लागि सिक्किमले आकर्षक छायांकन गन्तव्यहरु समेटिएको क्याटालग पनि प्रकाशन गरेको छ । हालै आयोजित भारतको राष्ट्रिय फिल्म अवार्डमा सिक्किम ‘फिल्म फ्रेन्ड्ली स्टेट’को रुपमा पुरस्कृत भैसकेको छ । ‘फिल्ममैत्री राज्यको रुपमा पुरस्कृत हुन पाउँदा हामीलाई उत्साह जागेको छ’ बोर्ड अध्यक्ष शर्मा भन्छिन्, ‘हामी शून्यबाटै यो सबथोक गर्न चाहन्छौं र यसको सुरुआत भैसकेको छ ।’
साथै, स्टुडियोसहितका फिल्म पूर्वाधार निर्माणको कार्य पनि सिक्किममा सुरु भएको छ । उपकरणदेखि लोकेसनसम्म सहयोग गर्ने समेत भनिएको छ । ‘हामी इको–हेरिटेज फिल्म भिलेज पनि बनाउँछौं’ शर्मा भन्छिन्, ‘फिल्म छायांकनको लागि आवश्यक सबै सुविधा पाउने गरि हामी अघि बढेका छौं र राज्य सरकारको तर्फबाट पनि सहयोग मिलेको छ ।’
स्वास्थ्यमन्त्री डा. शर्माले पनि नेपाली फिल्म छायांकनमा सघाउन सिक्किम तयार रहेको बताए । ‘हामीबीच केही समस्या छन् भने हामी सहजीकरण गर्न तयार छौं’ उनले भने, ‘हामी सहयोग नीतिअन्तर्गत अघि बढेका छौं । हामीले सहयोग गर्ने भनेकै नेपाली फिल्मलाई हो । नेपालले चाहन्छ भने हामी औपचारिक बैठक बस्न तयार छौं ।’
फिल्म प्रवद्र्धन बोर्ड सिक्किमकी अध्यक्ष पूजा शर्मा
प्रियंका चोपडाले सिक्किमको बदनाम गरिन्
सन् २०१८ मा रिलिज भएको फिल्म ‘पाहुना : द लिटल भिजिटर्स’लाई प्रियंका चोपडाको कम्पनी पर्पल पेबल पिक्चर्सले निर्माण गरेको थियो । नेपाली भाषामा बनेको यो फिल्मले तत्कालिन माओवादी सशष्त्र द्वन्द्वको कारण सिक्किमतर्फ विस्थापित एक नेपाली परिवारको कथा पेश गर्छ । द्वन्द्वले बाबुआमाबाट विछोड भएका दुई बालबालिकाको संघर्ष यसमा चित्रित छ ।
आख्यान कथावस्तुमा बनेपनि यो फिल्मको कथावस्तुलाई लिएर सिक्किम फिल्म प्रवद्र्धन बोर्डको असन्तुष्टि देखिन्छ । अध्यक्ष पूजा शर्माले द्वन्द्वको कुरा देखाएर प्रियंका चोपडाले सिक्किमलाई बदनाम गर्न खोजेको बताइन् । ‘प्रियंकाले बदनाम गर्नुभयो, इन्सर्जेन्ट स्टेट भनेर’ उनले भनिन् ।
यतिमात्र हैन, सिक्किम सरकारबाट फाइदा लिएको निर्माण भएको यो फिल्म पूर्णतः सिक्किममै छायांकन भएको हो । सिक्किममै छायांकन भएपनि यसले त्यहाँको आञ्चलिकतालाई पूर्णतः बेवास्ता गरेको आरोप पनि यसले खेपेको छ । नेपालमा पनि फिल्मलाई लिएर निकै चर्चा भएको थियो । फिल्मले राम्रो समीक्षा बटुलेपनि यसमा इसाइकरण (क्रिस्चियानिटी)लाई बढावा दिएको भन्दै नेपाली दर्शकले असन्तुष्टि पोखेका थिए ।
फिल्मलाई कूटनीतिको माध्यम बनाउनुपर्छ
नेपाल प्रेससँग कुरा गर्दै सिक्किमका स्वास्थ्यमन्त्री डा. शर्माले निकट छिमेकी नेपाल र सिक्किमले फिल्मलाई कूटनीतिको बलियो माध्यमको रुपमा पनि अघि बढाउनुपर्ने बताएका छन् । ‘हामीबीच सदियौंदेखि सांस्कृतिक र राष्ट्रियताको निकटता छ’ उनले भने, ‘संस्कृतिक र राष्ट्रियतालाई जोड्ने कूटनीतिक सेतुको रुपमा फिल्मलाई बढाउन सके नेपाल र सिक्किम दुबै पक्षलाई फाइदा पुग्नसक्छ ।’
डा. शर्माले पछिल्लोपटक हेरेको नेपाली फिल्म साइनो हो । त्यसयता उनले नेपाली फिल्म हेरेका छैनन् तर सिक्किममा नेपाली फिल्मको क्रेज उनलाई राम्रोसँग थाहा छ । ‘साइनोपछि नेपाली फिल्म हेरेको छैन तर, बदलिएको नेपाली फिल्मको ट्रेन्डबारे मलाई थाहा छ । दुबै ठाउँको फिल्मको विकासमा एकअर्काले कसरी योगदान गर्न सक्छन् भन्ने कुरामा बसेर खुला छलफल गरौं’ उनले भने ।
‘सिक्किमले ग्लोबल मार्केटमा जुन प्रकारको ठाउँ पाउनुपर्ने हो, त्यो पाएको छैन’ उनी भन्छन, ‘नेपाल र सिक्किमबीच समान कला, संस्कृति र एउटै लयमा बाँच्ने तरिकालाई अब फिल्ममार्फत अघि बढाउनुपर्छ ।’
काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विहे गरेका छन् । फेसबुकमार्फत उनले आफ्नो विहेका तस्विर र वक्तव्य समेत सार्वजनिक गरेका छन् ।
आज बिहान भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा मनोज र मञ्जुले विहे गरेका हुन् । परिवारको उपस्थितीमा उनीहरुले विहे कार्यक्रम सम्पन्न गरेका थिए । मनोज र पूर्वपत्नी मीनाबीच चारवर्षअघि कानूनीरुपमै सम्बन्ध विच्छेद भएको थियो । उनले पूर्वपत्नीलाई लिएर कुनै टिकाटिप्पणी नगर्न समेत आग्रह गरेका छन् ।
उनी लेख्छन् :
आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !
जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिलेकानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरी को एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।
जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।
यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।
एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियाैं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।
सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !
कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।
बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।
अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद 🙏
नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँकाे हार्दिक शुभकामना 🌷
चितवन । गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीत गायिका गिरीले नै लेखेकी हुन् । म्यूजिक एरेन्ज पुरुशोतम सुवेदीको रहेको छ ।
यो मार्मिक गीतको भिडियोमा चिरन्जिबी सापकोटा (जीबी चिरन) र गरिमा शर्माले अभिनय गरेका छन् । भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा म्युजिक भिडियो निर्माण गरिएको छ ।
गीतको भिडियोलाई सिर्जन बराल (ऋषि) निर्देशन गरेका हुन् । अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवशरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।
मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरीसँग ‘सोल्टिनी’ र टंक तिमिल्सिना ‘माया नमार्नु नि है’ जस्ता सफल गीत बजारमा पठाइसकेकी छन् ।
पाँचथर । ‘ढुंगाको प्रेम’ नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बास्कोटाद्वारा लिखित कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो । उनी नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत हुन् ।
शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल वैद्यले लोकार्पण गरे । सो कृतिमा बास्कोटाका २७ वटा कविता संलग्न छन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्नाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे । हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैद्यले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताएका थिए ।
उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले साहित्य लागि महत्पूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै महत्वपूर्ण स्थान हासिल गर्ने अपेक्षा राखे ।
कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यक रचना पाठ गरेका थिए । साहित्यकारको उलेख्य उपस्थितिमा भएको उक्त कार्यक्रममा चाडपर्वको शुभकामना आदनप्रदान तथा गायनसमेत भएको थियो ।