Category: कलाप्रेस

  • अबदेखि नेपाल भाषाको फिल्म नियमित रिलिज हुने, आज ‘वसन्तऋतु’ रिलिज

    अबदेखि नेपाल भाषाको फिल्म नियमित रिलिज हुने, आज ‘वसन्तऋतु’ रिलिज

    काठमाडौं । कीर्तिपुरमा यसैसातादेखि संचालनमा आएको फिल्म हल कीर्तिपुर सिनेप्लेक्सले नियमितरुपमा नेवारी फिल्म प्रदर्शन गर्ने भएको छ । बुधबार नेपाल भाषाको फिल्म ‘वसन्त ऋतु’ रिलिज भएको छ ।

    गतसाता रिलिज भएको नेवारी भाषाको फिल्म ‘हिसिमती’ले सन्तोषजनक प्रदर्शन गरेको छ । साप्ताहिकरुपमै नेपाल भाषाको फिल्मलाई प्रदर्शन गर्ने आफूहरुको योजना रहेको हल संचालक तथा निर्माता नरेन्द्र महर्जनले नेपाल प्रेसलाई बताए ।

    मुलुकमा पहिलोपटक नियमितरुपमा नेपाल भाषाको फिल्म प्रदर्शन थालिएको हो । यसअघि च्यारिटी र महोत्सवको बेलामा मात्र नेवारी फिल्म देखाइन्थ्यो । ‘कीर्तिपुर नेवारहरुको घनावस्ती पनि भएकाले नेपाल भाषाको फिल्मलाई देखाउन थालेका हौं’ महर्जनले भने ।

    ‘हिसिमती’कोे प्रदर्शनबाट प्राप्त प्रतिक्रिया र व्यापारले आफूहरुलाई थप हौसला थपेको संचालक महर्जनले बताए । अहिले समय र सोज व्यवस्थापन गरेर कीर्तिपुर सिनेप्लेक्सले अन्य भाषा र नेपाल भाषाका फिल्मलाई प्रदर्शन गरिरहेको छ ।

  • नेपाल बक्सअफिस : ‘भेनम’ र ‘जेम्स बन्ड’को कमाइ आशालाग्दो, अबको नजर ‘सूर्यवंशी’मा

    नेपाल बक्सअफिस : ‘भेनम’ र ‘जेम्स बन्ड’को कमाइ आशालाग्दो, अबको नजर ‘सूर्यवंशी’मा

    काठमाडौं । दशैंपछिको नेपाली बक्सअफिस सन्तोषजनक देखिएको छ । ५० प्रतिशत अकुपेन्सीमै प्रदर्शनमा आएका फिल्मले आशालाग्दो व्यापार गरेका छन् । सबैको नजर शुक्रबार रिलिज तयारीमा रहेको ‘सूर्यवंशी’मा सोझिएको छ ।

    टम हार्डी स्टारर फिल्म ‘भेनम : लेट देयर बी कार्नेज’ले पाँच दिनमा ४७ लाख ग्रस कारोबार गरेको छ । एप्पल इन्टरटेनमेन्टका अनुसार तिहार बिदामा पनि यो फिल्मले स्थिर व्यापारलाई निरन्तरता दिन सक्छ ।

    आगामी शुक्रबार प्रदर्शनम आउने बलिउडको प्रतीक्षित सूर्यवंशी चुनौति हुनसक्ने भएपनि भेनमको व्यापारमा गिरावटमा नआउने आशा हल संचालकले लिएका छन् । ‘हामीलाई त्यति सारो फरक पर्छ जस्तो लाग्दैन’ एप्पलका रुबेन श्रेष्ठले नेपाल प्रेसलाई भने ।

    टी-फोक पिक्चर्सले वितरण गरेको तिमोथी चालार्मेट स्टारर साइन्स फिक्सन फिल्म ‘ड्युन’ले पनि सन्तोषजनक व्यापार गरेको छ ।

    दशैं फूलपातिमा प्रदर्शनमा आएको जेम्स बन्ड फिल्मले हिजो मंगलबारसम्म नेपाली बक्सअफिसमा ५० लाख ग्रसको विन्दू पार गरेको जनाइएको छ । फास्ट एन्ड फ्युरियसको नवौं श्रृंखला (एफ–नाइन)ले ३५ देखि ४० लाखसम्मको ग्रस कमाइ गरेको छ ।

    नेपाली फिल्म ‘डाँडाको वरपीपल’ फ्लप भएपछि नेपाली फिल्मको वर्तमान व्यापार अस्तित्व हलिउड फिल्मले धानिरहेका छन् । शुक्रबार मार्भल स्टूडियोको सुपरहिरो फिल्म ‘सान्ची’ प्रदर्शन हुनेछ । शुक्रबार नै नेपालको ‘धुम-४ ‘ पनि रिलिज हुनेछ ।

     

  • काठमाडौंमा भेटिएकी बालिकाको पढाइको जिम्मा अनुपम खेरले लिने

    काठमाडौंमा भेटिएकी बालिकाको पढाइको जिम्मा अनुपम खेरले लिने

    काठमाडौंको एक मन्दिरबाहिर भेटिएकी भारतीय बालिकाको पढाइको जिम्मा बलिउड अभिनेता अनुपम खेरले लिएका छन् ।

    आरती नाम गरेकी ती बालिकालाई गतसाता अनुपमले काठमाडौंको पशुपतिनाथ मन्दिर बाहिर भेटेका थिए ।

    भारतको राजस्थानकी ती बालिकाले आफूसँग पैसा मागेको र अंग्रेजी राम्रो बोल्ने क्षमता भएकी भन्दैै अनुपमले प्रशंसा पनि गरेका छन् ।

    स्कुल पढ्न चाहेको तर आफूसँग पैसा अभाव भएको ती बालिकाले बताएको अनुपमले बताएका छन् । अनुपम खेर फाउन्डेसनले ती बालिकाको पढाइको जिम्मा लिएको खेरले जनाएका छन् ।

    अभिनेता खेरसहितको बलिउड टोली नेपालमा एक महीना रहेर फिल्म ‘उचाइ’ छायांकन गरेको थियो । फिल्म छायांकन सकेपछि टोली गतसाता मुम्बइ फर्किएको थियो ।

  • सुवर्ण र उषाको फिल्म ‘कठ्पुतली’ मोसन पोस्टर लन्च, यसैवर्षको विन्टरमा प्रदर्शन तयारी

    सुवर्ण र उषाको फिल्म ‘कठ्पुतली’ मोसन पोस्टर लन्च, यसैवर्षको विन्टरमा प्रदर्शन तयारी

    काठमाडौं । सुवर्ण थापा र उषा रजकको मुख्य भूमिका रहेको फिल्म ‘कठ्पुतली’को मोसन पोस्टर लन्च भएको छ । पश्चिमी मुलुकहरुमा मनाइने हलोविनको अवसरमा पोस्टर सार्वजनिक भएको हो ।

    थ्रीलर पाश्र्वध्वनी र दृश्य प्रस्तुत गरिएको पोस्टरले दर्शकमा त्रास सिर्जना गर्ने प्रयास गरेको छ । पृष्ठभूमिमा एक महीलाको कर्कश आवाज र समावेश छ । मोसन पोस्टरले दर्शकमा कौतुहलता जगाउने आशा राखिएको छ ।

    भीमसेन लामा निर्देशित फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छैन । आगामी पुस, माघतिर फिल्म प्रदर्शनको लक्ष्य राखिएको छ । निर्देशक लामाले यसलाई आफ्नो स्वप्न प्रोजेक्ट भएको बताएका छन् ।

    लन्डन स्टूडियोमा भएको फिल्मको पोस्टप्रोडक्सन आकर्षक देखिन्छ । गौरी मल्ल, मिथिला शर्मा, कार्मा, शिल्पा मास्केको समेत फिल्ममा मुख्य भूमिका छ । सिनेमटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा उत्कृष्ट छायांकार अवार्ड पनि जितेका छन् ।

  • ५६ लागे शाहरुख, काठमाडौं आउँदा भनेका थिए : फेरि नेपाल घुम्न चाँडै आउँछु

    ५६ लागे शाहरुख, काठमाडौं आउँदा भनेका थिए : फेरि नेपाल घुम्न चाँडै आउँछु

    काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आज ५६ औं जन्मदिन मनाउँदैछन् । उनलाई संसारभरबाट प्रशंसक र शुभचिन्तकले सामाजिक संजालमार्फत बधाइ दिएका छन् । नेपालमा समेत उनको निकै ठूलो फ्यान फलोइङ छ ।

    वृद्धवृद्धादेखि पछिल्लो छिमलका अभिनेताहरु समेत यहाँ छन् । २९ वर्षदेखि बलिउड फिल्ममा सक्रिय शाहरुखलाई पछ्याउने नेपालीहरुको संख्या बढी नै छ । यसबीच शाहरुखले पटक–पटक नेपाल भ्रमण पनि गरे । उनी आफ्ना व्यवसायिक ब्रान्ड प्रवद्र्धन गर्नदेखि फिल्म छायांकनलाई पनि नेपाल आएको इतिहास छ ।

    केही वर्षअघि नेपाल आउँदा विमानस्थलदेखि उनी बसेको होटलसम्म फ्यान क्रेज देखिएको थियो । काठमाडौं एयरपोर्टमा उनलाई स्वागत गर्न झाँकी समेत प्रस्तुत गरिएको थियो ।

    हायात रिसोर्टमा आयोजित कार्यक्रममा बोल्दै खानले नेपाली नागरिक र नेपालको प्राकृतिक सौन्दर्यको गुणगान गाएका थिए । उनले चाँडै आफू नेपाल घुम्न आउने समेत बताएका थिए । २९ वर्षअघि ऋषि कपुर र दिव्या भारतीय स्टारर फिल्म ‘दिवाना’बाट बलिउडमा अभिनय करियर थालेका शाहरुख यो उमेरमा पनि लोकप्रिय छन् ।

    किङ खानको रुपमा चर्चित उनको यसपटकको जन्मदिन विशेष रह्यो किनभने छोरा आर्यन लागूऔषध प्रकरणमा एक महीना जेलमा बसेर गतसाता रिहा भए । छोराकै कारण उनले कतिपय प्रोजेक्ट रोकेका थिए भने आर्यनको रिहाइ पछि शाहरुखलाई ठूलो राहत मिलेको छ । बलिउड संचारमाध्यमका अनुसार यसपटक शाहरुखले मन्नतमा विशेष तिहार कार्यक्रमको पनि आयोजना गरेका छन् भने घरलाई उज्यालो बत्तीले पनि सजाइएको छ ।

  • पूजालाई फकाउँदै पल र जितु (भिडिओ)

    पूजालाई फकाउँदै पल र जितु (भिडिओ)

    काठमाडौं । गायक हिमाल सागर र गायिका समिक्षा अधिकारीको स्वर, दीपकप्रसाद वलीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘मायाले मायाले’ बोेलको गीतको भिडिओे काठमाडौंमा एक कार्यक्रमको आयोेजना गर्दै सार्वजनिक गरिएको छ ।

    यो गीतमा लाहुर गएको एक यूवा, उसको संझनामा बसेकी एक यूवती र यूवतीलाई मन पराउने एक पुरुषको कथा भन्छ ।

    संगीतकार अर्जुन पोखरेलले यो गीतलाई लोक शैलीको डान्सर नम्बर भनेका छन् । यस्तै, यो गीतका गीतकार दीपक प्रसाद वलीले आफू आइसीयूमा रहेको समयमा यो गीत कोरेको बताए ।

    भिडिओमा नायक पल शाह, नायिका पुजा शर्मा र कलाकार जितु नेपालको अभिनय छ । गीतमा तीनै कलाकारले बेजोड नृत्य गरेका छन् । विधान कार्कीले निर्देशन गरेको भिडिओ आकर्षक छ । गीतमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, माधव शर्माको एसोसियट निर्देशन छ ।

    निर्देशक विधान कार्कीले विभिन्न समस्याका बाबजुत पनि भिडिओ तयार भएको बताए । उनले अर्जुन पोखरेलको संगीतमा पुजा, पल र जितु नेपाललाई लिएपछि भिडियो उत्कृष्ट बनाउने चुनौती आफूमा रहेको र त्यसलाई केही हदसम्म पुरा गरेको सुनाए ।

    कार्यक्रममा बोल्दै कलाकार जितु नेपालले आफूले म्युजिक भिडिओमा काम नगरेपनि गीत र भिडिओको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताए । यस्तै, नायिका पुजा शर्माले एउटा राम्रो गीतमा राम्रो टिमसँग टिमअप गरेको सुनाइन् ।

  • आँशु पुछ्दै सुशान्त खत्रीले भने : बिनाकसुर हिरासतमा राखियो, झापड हानियो

    आँशु पुछ्दै सुशान्त खत्रीले भने : बिनाकसुर हिरासतमा राखियो, झापड हानियो

    काठमाडौं । चर्चित डान्सर सुशान्त खत्रीले आफूलाई प्रहरीले बिनाकसुर नियन्त्रणमा लिएर झापड हानेको दावी गरेका छन् । फेसबुक लाइभमा आफ्नो पीडा पोख्दै प्रहरीको व्यवहारबाट मन दुखेको बताए ।

    खत्रीका अनुसार उनलाई काठमाडौंको एउटा क्लवबाट नियन्त्रणमा लिइएको थियो । त्यहाँबाट सोह्रखुट्टे प्रहरीमा वृत्तमा लगेर एक घन्टा हिरासतमा राखिएको उनको भनाइ छ । उनले सुनाएको घटना विवरण यस्तो छ :

    म हिजो राति एउटा नाइट क्लवमा साथीहरुसँग थिएँ । बन्द हुने टाइम भएपछि निस्कने सुरसार गरिरहेका थियौं । यत्तिकैमा प्रहरीहरु आएर हामीलाई बाहिर निस्किन दवाव दिए ।

    मेरो विल तिर्न बाँकी थियो । त्यहाँ अलिकति कन्फ्यूजन भएका थियो । एकजना भाइले उहाँको विल भइसक्यो भनेछ । तर मेरो बाँकी थियो । मैले विल तिरेर निस्किहाल्छु भन्दा प्रहरीले मलाई हात हाले । मेरो काँधमा समातेर घिसार्दै बाहिर लैजान खोज्नुभयो ।

    मैले सोधेँ, मेरो गल्ति के छ ? यसरी तपाईले दुव्र्यवहार गर्न पाउनुहुन्न । मेरो ज्याकेट काउन्टरमा छ । मास्क ज्याकेटमा छ । लिएर आउँछु । मात्र भन्दा एक्कासी उहाँले मेरो गालामा कडा थप्पड हान्नुभयो । निकै कडा थप्पड थियो त्यो । मैले यस्तो थप्पड जीवनमा कहिल्यै खाएको थिइनँ ।

    त्यसपछि मलाई भ्यानमा हालेर सोह्रखुट्टे प्रहरी स्टेसनमा लगियो । त्यहाँ मेरो मोबाइलहरु पनि खोसियो । घरमा बुवाआमालाई फोन गर्न पनि अनुमति दिइएन । मलाई करिब एक घन्टासम्म जेलमा राखेर बल्ल छोडियो ।

    म सेलेब्रिटी भएर होइन, एउटा जनताको रुपमा भन्दैछु, कसैलाई पनि प्रहरील यसरी हात उठाउन मिल्दैन । प्रहरी जनताको सुरक्षाका लागि हो । यदि प्रहरीबाटै असुरक्षित हुनुपर्छ भने कसको अपेक्षा गर्ने ?

    म १२ वर्षदेखि यो इन्डष्ट्रीमा छु । नेपालका नाम राख्न भनेर विदेशमा संघर्ष गरिरहेको छु । तर, आफ्नै देशको प्रहरीबाट यस्तो व्यवहार हुँदा मन दुखेको छ । मेरो प्रहरीप्रति उच्च सम्मान थियो । मेरो बुवा पनि रिटायर्ड पुलिस हो । आजको घटनाले मलाई निकै नराम्रो छाप परेको छ । प्रहरीलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ ।

    म प्रहरीबाट कलको पर्खाइमा छु । यदि कल आएन भने कानुनी कदम चाल्ने छु । म यत्तिकै चुप बस्दिनँ । ममाथि एकदमै गलत भएको छ । म यत्तिकै मुख छोपेर भाग्दिनँ । चुप लागेर बस्दिनँ । विदेशमा बसे पनि नेपालमा जन्मेको र हुर्केको हुँ । मलाई मेरो देशको माया छ । तर, आज असाध्यै मन दुख्यो र रातभरि सुतेको छैन । म चाहन्छु जनताले प्रहरीलाई सम्मान दिएका छन् भने, प्रहरीले पनि जनतालाई सम्मान दिनुपर्छ ।

    को हुन् सुशान्त खत्री ?

    काठमाडौंको कपननिवासी सुशान्त खत्रि युवापुस्तामा निकै लोकप्रिय डान्सर हुन् । नेपाल र भारतमा उनका लाखौ फ्यान छन् । उनी भारतको चर्चित टिभी रियालिटी शो ‘डान्स प्लस सिजन २’ का फाइनलिस्ट थिए । स्टार प्लसबाट प्रशारण हुने सोही कार्यक्रममा उनले पछि निर्णायकको भूमिका समेत निभाएका थिए । त्यसअघि सन् २०१२ मा भारतको चर्चित रियालिटी शो ‘इन्डियाज सुपरस्टार’मा छनोट भएपछि सुशान्तको चर्चा सुरु भएको थियो । उक्त कार्यक्रमको टप १० मा पुगेर उनी बाहिरिएका थिए । सुशान्त संगीतमा पनि सक्रिय छन् । उनको पहिलो गीत ‘सानुमाया’ सन् २०१९ मा रिलिज भएको थियो ।

  • कोप-२६ सम्मेलनमा पाँच नेपाली फिल्म देखाइने

    कोप-२६ सम्मेलनमा पाँच नेपाली फिल्म देखाइने

    काठमाडौं । जलवायु परिवर्तनको विषयमा निर्माण भएका पाँच नेपाली फिल्मलाई स्कटल्यान्डको ग्लास्गोमा सुरु विश्व जलवायु सम्मेलन (कोप-२६)मा प्रदर्शन गरिने भएको छ ।

    सोमबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा पाँचवटा फिल्म घोषणा गर्दै फिल्म निर्मातालाई पुरस्कृत गरियो । मुलुकभरबाट प्राप्त ५० वटा फिल्ममध्ये १५ वटा छनौट गरिएको थियो । छनौट फिल्मबाट उत्कृष्ट पाँच घोषणा भएको हो ।

    मदरल्यान्ड इङलिस बोर्डिङ स्कुल अर्घाखाँचीले निर्माण गरेको फिल्म ‘एक कृषकका एक पाइला’ सबैभन्दा रुचाइएको फिल्म बनेको छ । समता स्कुलको फिल्म ‘प्लास्टिकलाई नाइँ भनौं’ दर्शकमाथिको प्रभाव पुरस्कारबाट पुरस्कृत भएको छ ।

    अपारजिताले निर्माण गरेको फिल्म ‘कम भविष्य’ निर्माण भएको मध्ये सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । धो धारापस्थित क्रिस्टल माउन्टेन स्कुलले निर्माण गरेको ‘हिमालयमा जलवायु परिवर्तन’ फिल्मले जलवायु परिवर्तत पुरस्कार पाएको छ ।

    अनन्य खड्का निर्देशित फिल्म ‘म हनुमन्ते हुँ’ नौली शैलीका लागि पुरस्कृत भएको छ । ब्रिटिस काउन्सिल र बोर्डले ‘क्यामेरा सिक’ कार्यक्रम अन्तर्गत १८ वर्ष मुनिका फिल्म निर्माताबाट फिल्म आवेदन मागेका थिए ।

    निर्णायक समूहले जलवायु परिवर्तनबारे फिल्म बनाउन १० किशोर छनौट गरेको थियो । उत्कृष्ट हुनेलाई डेढलाख रुपैयाँले पुरस्कृत गरिएको छ । ब्रिटिस काउन्सिल नेपालकी निर्देशक शहीदा म्याकडुगलले किशोर र युवापुस्ता भविष्य भएकाले उनीहरुलाई जलवायु परिवर्तनबारे आवाज उठाउन मंच प्रदान गरिएको बताइन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली विद्यार्थीले बनाएका फिल्मलाई जलवायु सम्मेलनमा देखाइनु महत्वपूर्ण कुरा भएको बताए ।

  • पाँच महीना ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने, नयाँ कमेडी सिरिज ल्याउँदै जितु नेपाल

    पाँच महीना ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने, नयाँ कमेडी सिरिज ल्याउँदै जितु नेपाल

    काठमाडौं । जितु नेपालले संचालन गर्ने टेलिभिजन सो ‘मुन्द्रेको कमेडी क्लब’ पाँच महीना बन्द हुने भएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै अभिनेता नेपालले नयाँ टीम र ढाँचासहित पुनः सो ल्याउने सोच भएकाले केही महीना विश्राम लिइने बताए ।

    मंसिरदेखि छायांकन सुरु हुने फिल्म र जितुकै निर्देशनमा आउन लागेको टेलिसिरियलमा व्यस्त हुनुपर्ने भएकाले मुन्द्रेको कमेडी क्लबलाई ब्रेक गर्न लागिएको उनले जनाए ।

    मंसिरदेखि सुरु हुने फिल्ममा जितु र साम्राज्ञी शाहको मुख्य भूमिका हुनेछ भने कपिल रिजालले यसलाई निर्देशन गर्नेछन् । त्यसपछि जितु समसामयिक राजनीतिक कथावस्तुमा आधारित टिभी सिरिजमा व्यस्त हुनेछन् ।

    ‘यी दुई काम सकिएपछि पुनः मुन्द्रेको कमेडी क्लब नयाँ टीम र ढाँचासहित आउनेछ’ उनले भने । ‘पुरानै ढाँचा सो चलाउन थालेको पनि डेढ वर्ष भैसकेको थियो’ उनले भने, ‘अब यसलाई चेन्ज गरौं न भन्ने सोचमा छौं ।’

    तर, नयाँ टीम भनेको के हो भन्नेबारे भने उनले खुलाएनन् ।

  • सोसल मिडिया फिल्म अवार्डको आवेदन खुला

    सोसल मिडिया फिल्म अवार्डको आवेदन खुला

    काठमाडौं । कोरोनाभाइरस महामारीले रोकिएको सोसल मिडिया फिल्म अवार्ड पुनः आयोजना हुने भएको छ ।

    आयोजक संस्था ड्रीम अफ वल्र्ड फिल्म मेकर्स प्रालिले अवार्डस्का लागि फिल्मको आवेदन आह्वान गरेको छ । यसपटकको अवार्डमा गतवर्ष भन्दा पनि थप विधा समावेश गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    २०७५ सालमा आयोजना गरिएको अवार्डको पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो । परिस्थिती अनुकूल भएपछि अवार्ड पुनः आयोजना गर्न लागिएको अवार्डकी कार्यकारी अध्यक्ष सबनम मुखियाले बताइन् ।

    अवार्ड मिति नतोकिएपनि चाँडै कार्यक्रम आयोजना हुने जनाइएको छ । संचारकर्मी, चलचित्रकर्मी, समाजसेवी र विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गरिने भएको छ ।

    सोसल फिल्म अवार्डको अध्यक्षमा जानकी प्रधान श्रेष्ठ र कार्यक्रम अध्यक्ष सन्तोषी अधिकारी छिन् । इन्टरनेटका सामाजिक संजालमा पोस्ट हुने विभिन्न फिल्मको मूल्यांकनको आधारमा पुरस्कृत गरिने भएको छ ।

  • रणवीर-आलिया बिहे पोस्टपोन्ड, राजकुमार-पत्रलेखा बिहे अर्को महीना

    रणवीर-आलिया बिहे पोस्टपोन्ड, राजकुमार-पत्रलेखा बिहे अर्को महीना

    मुम्बइ । रणवीर कपुर र आलिया भाटको विहे डिसेम्बरमा नहुने भएको छ । यी दुईले यसवर्ष विहे नगर्ने बलिउड संचारमाध्यमले जनाएका छन् । अब उनीहरुले सन् २०२२ मा लगनगाँठो कस्नेछन् ।

    उनीहरु निकट स्रोतले भन्यो : उनीहरु दुबै विहे गर्न चाहन्छन् तर, यसवर्ष विहे नहुने भएको छ ।’ विहेलाई लिएर उनीहरुसँग सानदार योजना रहेको र उनीहरु यसलाई लिएर हतार नगर्ने पक्षमा रहेको स्रोतले जनाएको छ ।

    रणवीरका काका रणधीर कपुरले पनि भतिजको विहेलाई लिएर कुनै निश्चित नभएको बताएका छन् । केही समयअघि आलिया भाटले सामाजिक संजालमा पोस्ट गरेको तस्बिरलाई लिएर अड्कलबाजी काटिएको थियो ।

    उक्त तस्बिरमा आलिया आठ नम्बर साइजको एउटा औंठी लगाएको देखिएको छ । उनको दोस्रो मिरर सेल्फीमा पनि औंठी देखिएको छ । यी दुई फोटो हेर्दा लाग्छ, आलिया-रणवीरबीच इन्गेजमेन्ट हुन भैसक्यो, बिहे हुन बाँकी छ ।’ उनीहरु चारवर्षदेखि रिलेसनसिपमा छन् ।

    यसैबीच, बलिउड अभिनेता राजकुमार राव र प्रेमिका पत्रलेखाले यसैबीच चिसो याममा बिहे गर्ने भएका छन् । सन् २०१० देखि सम्बन्धमा रहेका उनीहरुको बिहे अर्को महीना हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

  • ‘द भ्वाइस किड्स’ कात्तिक २६ गतेदेखि प्रसारण हुने

    ‘द भ्वाइस किड्स’ कात्तिक २६ गतेदेखि प्रसारण हुने

    काठमाडौं । ६ बर्षदेखि १४ बर्षका बालबालिकाको गायन प्रतिभा प्रस्तुत गर्ने रियालिटी शो ‘द भ्वाइस किड्स’ कार्तिक २६ गतेबाट प्रशारण हुने भएको छ । यो शो प्रत्येक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुनेछ ।

    ‘द भ्वाइस अफ नेपाल र डान्सिङ विथ द स्टार्स नेपाल’ जस्तो चर्चित रियालिटी शो प्रशारण गरिसकेको हिमालय टीभीले अर्को महत्वकांक्षी रियालिटी शो दर्शकमाझ प्रशारण गर्न लागेको हो । यो शोको ‘ब्लाइन्ड अडिसन’को छायांकन भैसकेको छ । यो शो २० भाग प्रशारण हुनेछ । ‘ब्लाइन्ड अडिसन’पछि ब्याटल राउन्ड प्रशारण हुनेछ । अहिले ब्याटल राउन्टको छायांकन भैरहेको छ ।

    शोका निर्देशक लक्ष्मण पौडेलले आफुहरुले बालबालिकाको गायन क्षमतासँगै उनीहरुको विभिन्न हाउभाउ र शैलीलाई पनि ध्यान दिएको बताए । यो शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा छन् ।

  • ११ चर्चित गायक-गायिकाको स्वरमा भैलो गीत, समीक्षादेखि स्मारिकासम्म एउटै फ्रेममा (भिडिओ)

    ११ चर्चित गायक-गायिकाको स्वरमा भैलो गीत, समीक्षादेखि स्मारिकासम्म एउटै फ्रेममा (भिडिओ)

    काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार घरदैलोमा आइसकेको छ । यस चाडलाई उल्लासमय बनाउन सबैले आ-आफ्नो तयारी गरिरहेका छन् ।

    तिहार भन्नासाथै दिमागमा आइहाल्ने एउटा कुरा हो देउसी-भैलो । बालबालिकादेखि बुढाबुढीसम्मले घर-घरमा गएर देउसीभैलो गाउँदै रमाइलो गर्ने गर्छन् ।

    यही परम्परालाई धान्न सघाउने गरी गायिका अनिता चलाउनेले तिहारलक्ष्यित भैलो गीत सार्वजनिक गरेकी छन् । यसगीतमा उनी स्वयंसहित ११ जना गायक-गायिकाले स्वर दिएका छन् । गीतमा श्रीकृष्णबम मल्लको शब्द र संगीत रहेको छ ।

    ९ मिनेट २२ सेकेन्डको यस गीतमा अनिता चलाउने, समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली, एन्जिला रेग्मी, बुद्ध लामा, रवी ओड, चक्र बम, योगेश काजी र श्रीकृष्ण बम मल्लको स्वर रहेको छ । यी सबै गायक-गायिकासहित चर्चित नृत्यांगनाहरू स्मारिका ढकाल र समारिका ढकाललाई गीतको भिडिओमा देख्न सकिन्छ ।

    संगीतको माध्यमबाट तिहारको माहोललाई थप रंगीन बनाउनका लागि आफूले यो गीत निर्माण गरेको अनिताले बताइन् । उनको आफ्नै युट्यूव च्यानलबाट गीत अपलोड गरिएको गीतलाई १८ घन्टाभित्र ३५ हजारभन्दा बढीले हेरिसकेका छन् ।

  • मिस नेपाल युनिभर्स २०२१ को उपाधि सुजिता बस्नेतलाई

    मिस नेपाल युनिभर्स २०२१ को उपाधि सुजिता बस्नेतलाई

    काठमाडौं । मिस युनिभर्स नेपाल २०२१ को ताज सुजिता बस्नेतले जितेकी छिन् । मिस नेपाल अमेरिका पनि भैसकेकी सुजिताले १० लाख रुपैयाँ नगदसहित आगामी डिसेम्बरमा इजरायलमा हुने मिस युनिभर्समा भाग लिने मौका पाएकी छिन् ।

    निनाकान्त मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा थर्ड रनरअप र केशु खड्का फोर्थ रनरअप घोषित भए ।

    लामो समयदेखि अमेरिकामा बस्दै आएकी सुजिता विभिन्न सामाजिक कार्यमा पनि संलग्न छिन् । विदेशलाई कर्मभूमि बनाएपनि नेपालको सेवा गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको उनले बताइन् ।

    यसपटक ६ वटा जज थिए जसमा पूर्वमिस इन्डिया ऋतुसिंह वैद्य, मेकअप आर्टिस्ट स्नेह राणा, गायिका इन्दिरा जोशी, पत्रकार सरिताश्री ज्ञवाली, पूर्वमिस नेपाल इशानी श्रेष्ठ र कर्पोरेट ट्रेनर मानसी अग्रवाल छन् ।

  • पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मीनाको टीमलाई : शोभा-बालचन्द्रको समूह दोस्रो बन्यो

    पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मीनाको टीमलाई : शोभा-बालचन्द्रको समूह दोस्रो बन्यो

    पोखरा । नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीले जितेका छन् । तालनगरी पोखरामा आज साँझ भएको ग्रान्ड फिनालीमा प्रकाश र मीनाको जोडी च्याम्पियन बनेको हो ।

    पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

    शोभा कार्की र बालचन्द्र बरालको समूह दोस्रो भएको छ। उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ । विजेता र उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरे ।

    कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो । कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले ‘दोहोरी च्याम्पियन– २’ सञ्चालन गर्ने घोषणा गरे ।

  • मिस युनिभर्स नेपालको ग्रान्ड फिनाली आज : १६ सुन्दरी उपाधिलाई भिड्दै

    मिस युनिभर्स नेपालको ग्रान्ड फिनाली आज : १६ सुन्दरी उपाधिलाई भिड्दै

    काठमाडौं । मिस युनिभर्स नेपालको ग्रान्ड फिनाली आज बेलुका राजधानीको याक एन्ड यति होटलमा आयोजना हुँदैछ । मिस वर्ल्डपछि प्रतिष्ठित मानिने यो पेजेन्टमा १६ जना सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

    सेमिफाइनलिस्टमध्येबाट एक जना प्रतिस्पर्धीले ताज पहिरिनेछिन् । दर्शकको मतदान र निर्णायकको मतको आधारमा विजेता तथा उपविजेता छानिने जनाइएको छ ।

    शीर्ष-१६ मा सुजिता बस्नेत, निनाकान्त मण्डल, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रीतिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता न्यौपाने, सगुन गुरुङ, सदिक्षा खड्का, प्रतिक्षा महरा, स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जन छन् ।

    यसपटक ६ वटा जज छन् । जसमा पूर्वमिस इन्डिया ऋतुसिंह वैद्य, मेकअप आर्टिस्ट स्नेह राणा, गायिका इन्दिरा जोशी, पत्रकार सरिताश्री ज्ञवाली, पूर्वमिस नेपाल इशानी श्रेष्ठ र कर्पोरेट ट्रेनर मानसी अग्रवाल छन् ।

    मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले ग्रान्ड फिनालीको तयारी पुरा भएको बताइन् । स्वीडेनको कस्मेटिक कम्पनी ओरीफ्लेम यसपटकको मिस युनिभर्सको टाइटल स्पोन्सर हो ।

    विजेताले आगामी डिसेम्बरमा इजरायलमा हुने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

  • नेपाल छायांकन सकेर बलिउड टोली मुम्बइ फर्कियो, निर्देशक वर्जत्य केही दिन काठमाडौंमा रहने

    नेपाल छायांकन सकेर बलिउड टोली मुम्बइ फर्कियो, निर्देशक वर्जत्य केही दिन काठमाडौंमा रहने

    काठमाडौं । भारतीय फिल्म ‘उचाइ’को नेपाल छायांकन सकिएपछि कलाकारहरु आज स्वदेश फर्किएका छन् ।

    फिल्मको पहिलो सेड्युलअन्तर्गत मनाङ, लुक्ला, नाम्चे र काठमाडौंको छायांकन सकिएको नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्स कम्पनीले जानकारी दिएको छ ।

    बिहीबार हिमालपारिको जिल्ला मनाङमा फिल्मको पहिलो सेड्युल सकिएको थियो । शुक्रबार कलाकार, प्राविधिकसहितको निर्माण टोली काठमाडौं आइपुगेको थियो ।

    अभिनेताहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडासहित फिल्मका अन्य कलाकार शनिबार दिउँसो अपरान्ह मुम्बइ फर्किएको जनाइएको छ । निर्देशक सुरज वर्जत्य चाहिँ अझै केही दिन काठमाडौंमा रहनेछन् ।

    दसैँअघि काठमाडौं आइपुगेको उचाइ युनिटले निर्धारित समयभन्दा पहिला नै छायांकन समापन गरेको छ । बाँकी छायांकन भारतमै हुने र त्यहाँ अमिताभ बच्चन र डेनी डेनजोङ्पाले पनि भाग लिने जनाइएको छ । नेपालको हिमाली थलोमा पुगेर फिल्मका कलाकारले लगातार आफ्ना सामाजिक संजालमा तस्बिर तथा भिडिओ पोस्ट गरिरहेका थिए ।

     

     

  • २८ दिनपछि जेलबाट छुटेर घर पुग्दा आर्यनलाई मन्नतमा भव्य स्वागत : देश छाड्न अदालतको रोक

    २८ दिनपछि जेलबाट छुटेर घर पुग्दा आर्यनलाई मन्नतमा भव्य स्वागत : देश छाड्न अदालतको रोक

    मुम्बइ । अन्ततः २८ दिन लामो हिरासत बसाइपछि बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन उनको घर मन्नत फर्किएका छन् । लागूऔषध मुद्दामा जेल परेका उनलाई बिहीबार बेलुका मुम्बइ उच्च अदालतले १४ वटा सर्त राख्दै धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले २ अक्टोबरमा पानीजहाजमा आयोजना गरिएको ड्रग्स पार्टीबाट पक्राउ परेको थियो । यस प्रकरणमा अन्य २० जना पनि पक्राउ परेका छन् र आर्यन तीमध्ये एक हुन् ।

    मिडियाको बाक्लो उपस्थितीमा उनी आर्थर रोडस्थित जेलबाट बाहिरिएका हुन् । उनका बुवा शाहरुख छोरालाई लिन जेलमै पुगेका थिए । बाहिरिने बितिकै उनी गेट बाहिर पार्क गरिरहेको रेन्ज रोभर कारमा बसे । उनी केही बेरअघि मन्नतस्थित घरमा पुगेका छन् । उनको स्वागतमा मन्नतबाहिर सयौं प्रशंसक जम्मा भएर स्वागतमा आतसबाजी गर्दै नाराबाजी पनि गरेका थिए । ‘राजकुमारलाई स्वागत छ’ लेखिएको ब्यानर समेत प्रदर्शन गरिएको थियो ।

    आर्यनको रिहाइ र मन्नतसम्मको उनको यात्रालाई भारतीय संचारमाध्यमले प्रत्यक्षप्रसारण गरेका थिए । अदालतले शुक्रबार नै रिहा गर्न भनेपनि अदालती प्रक्रिया लम्बिँदा उनले शुक्रबारको रात पनि जेलमै बिताएका थिए । परेका आर्यनको साथी अरबाज आज साँझसम्म रिहा हुने उनका बुबा अस्लम मर्चेन्टले जानकारी दिएका छन् । अभिनेत्री जुही चावलाले सत्र अदालत पुगेर आर्यनको जमानतमा हस्ताक्षर गरेकी थिइन् । जुही शाहरुखकी सुरुआती फिल्मकी सह–कलाकार हुन् भने शाहरुखको क्रिकेट क्लब कोलकाता नाइट राइडर्सको सह–स्वामित्व पनि उनीसँग छ ।

    आर्यन शुक्रबार जेलबाट छुट्ने अपेक्षा गरिएकाले मन्नतको घर भित्र र बाहिर उत्सवको माहोल सिर्जना भएको थियो । पुरै दिन फ्यानहरूको बाक्लो भीड थियो । आर्यनको पर्खाइमा मानिसहरु आ–आफ्नै तरिकाले उत्सव मनाइरहेका छन् । भीड अनियन्त्रित हुन नदिन मन्नतबाहिर प्रहरी समेत परिचालन गरिएको छ ।

    अदालतले आर्यनसामु १४ वटा सर्त राखेको छ जसलाई उल्लंघन गरिए जमानत रद्द गर्ने भनिएको छ । यी सर्तमा एक लाखको मुचुल्का भर्नेदेखि लिएर भविष्यमा यस्तो कार्यमा संलग्न हुन नपाइने सर्त समेत छन् । सबै अभियुक्तलाई पासपोर्ट अदालतमा समेत बुझाउन भनिएको छ ।

  • नेपाली आरोही निर्मल पूर्जामाथि नेट्फिल्क्सले बनायो फिल्म, ‘फोर्टिन पिक्स’ २९ नोभेम्बरमा रिलिज हुने

    नेपाली आरोही निर्मल पूर्जामाथि नेट्फिल्क्सले बनायो फिल्म, ‘फोर्टिन पिक्स’ २९ नोभेम्बरमा रिलिज हुने

    काठमाडौं । आठ हजारमाथिका संसारका १४ अग्ला हिमालको सफल आरोहण गर्ने नेपाली आरोही निर्मल पूर्जालाई लिएर नेटफिल्क्सले फिल्म निर्माण गरेको छ ।

    ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ नाम दिइएको उक्त डुकेमन्ट्री फिल्मको ट्रेलर आगामी साता रिलिज हुने भएको छ । यो फिल्मले ६ महीना ६ दिनभित्रै कसरी म्याग्दी जिल्लाका पूर्जाले शेर्पा आरोहीको सहयोगमा हिमाल चढे भन्ने चित्रण गरेको छ ।

    नेटफिल्क्सले यो फिल्मलाई आगामी नोभेम्बर २९ मा विश्व प्रिमियर गर्ने घोषणा गरेको छ । यो फिल्म ३१ विभिन्न भाषामा हेर्न पाइने पूर्जाले बिहीवार एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

    ‘म मानिसहरुलाई ठूला पर्वतप्रतिको माया दर्शाउनतर्फ प्रेरित गर्न चाहन्थेँ’ उनले विज्ञप्तिमा भनेका छन्, ‘तर, तपाईंले कुनै पनि लक्ष्य हासिल गर्ने द्धृढ लक्ष्य तय गर्नुभयो भने तपाईंलाई त्यो लक्ष्य हासिल गर्न कुनै पनि कुराले रोक्न सक्दैन ।’

    फिल्मको घोषणा गर्दै पूर्जाले आफूलाई खुशि तुल्याएको बताएका छन् । ‘फिल्म घोषणा गर्न पाउँदा म निकै खुशि छु’ उनले भनेका छन्, ‘म यो अध्यायका लागि निकै खुशि छु । यो चुनौतिमा मलाई साथ दिनुभएकोमा सबैलाई धन्यवाद ।’

     

  • ‘एक मुठ्ठी बादल’ भारतीय फिल्म बजारमा छानियो : एनएफडीसीले निर्माणमा सह-लगानी गर्ने

    ‘एक मुठ्ठी बादल’ भारतीय फिल्म बजारमा छानियो : एनएफडीसीले निर्माणमा सह-लगानी गर्ने

    काठमाडौं । गौंथली इन्टरटेन्मेन्टद्वारा निर्मित नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ भारतको एनएफडीसी फिल्म बजारको ‘को-प्रोडक्सन’ (सह-निर्माण)का लागि छानिएको छ । नोभेम्बर २० देखि २५ तारिखसम्म भारतमा फिल्म बजार संचालन हुँदैछ ।

    भारतको संचार एवं सूचना मंन्त्रालय अन्तर्गत नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन (एनएफडीसी)ले बिहिबार सार्वजनिक गरेको सूचीमा सहारा शर्मा निर्देशित यो फिल्म समावेश भएको छ । फिल्मको निर्माता अभिमन्यु दीक्षित र ऋचा शर्मा छन् ।

    एनएफडीसीले सार्वजनिक गरेको सूचिमा ११ देशबाट १५ वटा भाषामा बनिने २० फिल्म छानिएका छन् । यो चलचित्र बजार दक्षिण एसियाकै सबैभन्दा ठूलो फिल्म बजार हो । छानिएका फिल्मले युरोपमा रहेका विभिन्न मार्केट, कोष, र प्रदर्शनको लागि अवसर पाउने छन् ।

    विश्वव्यापी कोरोनाभाइरस महामारीले नेपाली फिल्मलाई अनिश्चितता र अस्तव्यस्थतामा छोडेको यो परिस्थितीमा नेपाली स्वादको फिल्मको लगानी, बजार र प्रदर्शनी विदेशमा खोज्न हाम्रो पहल भएको निर्माता दीक्षित बताउँछन् ।

    यसअघि गौँथली ईन्टरटेन्मेन्टद्वारा निर्मित फिल्म ‘बर्दिया सुन्दरी’ यही बजारमा छानिएको थियो । ‘बर्दिया सुन्दरी फिल्मको सुटिङ सकाएर फिल्म बजारमा लगेका थियौँ । बनिसकेको फिल्मभन्दा लेखनकै चरणमा बजारमा जाँदा फिल्मलाई थप लाभदायी हुने देखिएकोले यसपाली भने हामीले प्री प्रोडक्सनकै बेलामा हामी छनौट हुन सफल भयौँ’ उनले भने ।

    लेखन तथा निर्माणमा निर्देशक र निर्माताको भौतिक भेटबिनै यो फिल्म पुरा भएको र सबै काम अनलाइनबाट गरिएको निर्माता दीक्षितले अनुभव सुनाए ।

    यो फिल्ममा आमा र छोरी बीचको सम्बन्ध केलाउन खोजिएको छ । फिल्मबारे निर्देशक शर्माले भनिन्, ‘एकरातमा सकिने यो कथामा मैले पितृसत्तात्मक समाजमा आमाहरूको पहिचान दानका देवी र त्यागको पराकाष्टामा मात्रैसीमित रहेकाले मैले मेरो फिल्मबाट आमा र छोरीहरूलाई कुनैपनि परिधि भित्र नराखी मानवता दिन प्रयास गरेकी छु’ उनले भनिन् । पूर्व पत्रकार समेत रहेकी सहारासँग छोटा फिल्म निर्माणको अनुभव पनि छ ।