Category: कलाप्रेस

  • बाबरी सुटिङलाई सिक्किम पुगिन् अदिती

    बाबरी सुटिङलाई सिक्किम पुगिन् अदिती

    सिक्किम । होमप्रोडक्सन फिल्म ‘बाबरी’ छायांकनलाई अभिनेत्री अदिती बुढाथोकी भारतको पूर्वोत्तर राज्य सिक्किम पुगेकी छिन् । सुरेन्द्र पौडेल निर्देशित फिल्मको ६० प्रतिशत छायांकन सिक्किममै हुने जनाइएको छ ।

    फेसबुक र इन्स्टाग्राममा तस्बिर सेयर गर्दै अदितीले सिक्किममा फिल्म छायांकन सुरु हुन लागेको बताएकी छिन् । सिक्किम सरकारले आफूकहाँ छायांकन हुने फिल्मलाई भारु १ करोड अनुदान उपलब्ध हुने घोषणा गरिसकेको छ ।

    यसका लागि फिल्मको ७५ प्रतिशत छायांकन सिक्किममै हुनुपर्ने र ६० प्रतिशत कास्ट एन्ड क्रिउ त्यहीँबाटै लिनुपर्ने सर्त छ । तर, बाबरी फिल्मले उक्त अनुदान लिने वा नलिने केही खुलाइएको छैन ।

    निर्देशक पौडेल र अभिनेत्री बुढाथोकीले फिल्म कृमा सहकार्य गरेका थिए । बाबरीमा चाहिँ अदितीको को–स्टारको रुपमा धीरज मगर, धीरज टोटलानी, तृप्ती नाड्कर पनि हुनेछन् । यो फिल्मको प्रदर्शन मिति भने तय भैसकेको छैन ।

  • पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा रिलिज हुँदै

    पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा रिलिज हुँदै

    काठमाडौं । फिल्म क्षेत्र चलायमान हुँदै जाँदा केही नेपाली फिल्मले प्रदर्शन मिति तय गर्न थालेका छन् । सुदर्शन थापा निर्देशित रोमान्टिक ड्रामा ‘म यस्तो गीत गाउँछु २’ले आगामी माघ १९ गतेलाई रिलिज डेट घोषणा गरेको छ ।

    माघ १९ गते सोनाम ल्होछारको सार्वजनिक बिदा समेत पर्छ । यो डेट आकर्षक मिति समेत हो । पाँच दिनको सप्ताहन्त बिदा समेत पर्ने भएकाले दर्शक हलसम्म पुग्ने अनुमान छ । माघ २२ गते शनिबार र माघ २३ गते बसन्तपञ्चमीको बिदा पर्छ ।

    निर्माता समेत रहेका निर्देशक थापा र अभिनेत्री पूजा शर्माले सामाजिक संजालमार्फत प्रदर्शन मिति सार्वजनिक गरेका छन् । झन्डै दुईवर्षअघि कोरोना महामारी रोकथामका लागि लागू गरिएको लकडाउनको कारण प्रदर्शन मिति स्थगित भएको थियो ।

    रिलिज डेट घोषणापछि निर्देशक थापाले नेपाल प्रेसलाई भने, ‘यो समय हामीले एकअर्कोलाई आरोप प्रत्यारोप गर्नेभन्दा पनि फिल्म क्षेत्रलाई चलायमान बनाउने नै हो । यही कारण हामीले प्रदर्शन गर्ने जमर्को गरेका छौं ।’ ट्रेलर र कतिपय गीतहरु यसअघि नै सार्वजनिक भैसकेकाले ताजा तुल्याउन पुनः ट्रेलर र गीत रिलिज गर्न लागिएको समेत जानकारी सुदर्शनले दिए ।

    ‘म यस्तो गीत गाउँछु’को पहिलो संस्करण व्यवसायिकरुपमा सफल भएपछि सुदर्शन र पूजाले दोस्रो सिक्वेल ल्याएका हुन् । यो फिल्ममा पूजा स्वयम र पल शाहको मुख्य भूमिका छ । पूजा र पल घरेलु फिल्मका दर्शकका लागि रोजाइका जोडीमध्ये पर्छन् । चपली हाइट ३ पुस २ गते प्रदर्शन हुने तयारीमा छ । अन्य फिल्मले पनि प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

  • अभिनेता पौल रड संसारमै ‘जीवितमध्येका सेक्सी पुरुष’ घोषित !

    अभिनेता पौल रड संसारमै ‘जीवितमध्येका सेक्सी पुरुष’ घोषित !

    न्यूयोर्क । विश्वचर्चित पिपुल म्यागजिनले हलिउड अभिनेता पौल रडलाई सन् २०२१ को ‘जीवितमध्येका सेक्सी पुरुष’ घोषणा गरेको छ ।

    चर्चित टिभी सिरिज ‘फ्रेन्ड्स’ अभिनेता समेत रहेका रड हलिउडका ‘ए-लिस्टर’ अभिनेता हुन् । सन् १९९० को दशकदेखि अभिनय सुरु गरेका रडले मार्भल सुपरहिरो फिल्म एन्टम्यान र अन्य मार्भल फिल्ममा समेत अभिनय गरेका छन् ।

    पिपुल म्यागजिनले रडलाई जीवितमध्येका सेक्सी पुरुषको संज्ञा दिँदै नोभेम्बर संस्करण छापेको छ । यसबारे म्यागजिनसँग कुरा गर्दै अभिनेता रडले आफूलाई यसअघि पनि मानिसहरुले सेक्सी पुरुष भन्ने गरेको अनुभव सुनाए ।

    १८ वर्षे वैवाहिक जीवनमा रडसँग दुई सन्तान छन् । ‘जब म आफ्नोबारेमा सोच्छु, तब म आफूलाई पति र पिताको रुपमा पाउँछु’ म्यागजिनसँग रडले भने, ‘काम नगरेको बेला म परिवारसँग रमाउन खोज्छु । मेरो स्वभाव यस्तै नै छ ।’

    रडअघि पिपुल म्यागजिनले जर्ज क्लुनी, ब्राड पिट र माइकल बी जोर्डनलाई यस्तो उपाधि दिइसकेको छ । जोन लिजेन्ड, डाउने जोन्सन, क्रिस हेम्सवर्थ, एड्रिस एल्बा, एडम लेभिने, डेभिड बेकहमले पनि उपाधि पाइसकेका छन् ।

    सन् १९९५ मा रिलिज भएको फिल्म ‘क्लुलेस’बाट अभिनेता रडको करियर उकालो लागेको थियो । उनले प्रशस्तै कमेडी फिल्महरुमा समेत अभिनय गरेका छन् । तर, उनलाई अहिले संसारले मार्भल फिल्मको एन्टम्यानको रुपमा चिन्छ ।

  • गौरीघाटमा रेखाले मनाइन् छठ् (तस्बिरहरु)

    गौरीघाटमा रेखाले मनाइन् छठ् (तस्बिरहरु)

    काठमाडौं । छठ पर्वका अवसरमा अभिनेत्री रेखा थापाले गुह्येश्वरीस्थित वाग्मती किनारमा पूजा आराधाना गरेकी छिन् । रेखाले काठमाडौंमा बसोबास गर्न थालेपछि गृहयेश्वरीमा छठ मनाउँदै आएकी छिन् । अन्य व्रतालुसँग मिलेर उनले छठ मनाएकी हुन् ।

    सो अवसरमा रेखाले गौरीघाटमा छठ मनाउन आउने अन्य व्रतालुसँग भलाकुसारी पनि गरिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेकी थिइन् । त्यहाँ निर्माण गरिएका ६७५ छठ घाट अर्थात् पूजास्थलमा जम्मा भएका बर्तालुले पनि अस्ताउँदो सूर्यलाई पूजा आरधनासहित अर्घ दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् ।

    चारदिने छठ पर्वको मुख्य एवं तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दान गरेका बर्तालु रातभर छठ घाटमै जाग्राम बस्छन् । कार्तिक शुक्ल सप्तमीका दिन बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दान गरेपछि चारदिने छठ पर्व समाप्त हुन्छ ।

    कोरोनाका कारण गत वर्ष रोकिएको छठ मनाउन यस वर्ष गुह्येश्वरी गौरीघाट क्षेत्रमा हजारौँ भक्तजनको उपस्थिति रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ ।

    कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

  • टीकटक स्टार नेपाली रियालिटी सो हुँदै, निर्णायकमा गौरी, रमेशदेखि वर्षासम्म

    टीकटक स्टार नेपाली रियालिटी सो हुँदै, निर्णायकमा गौरी, रमेशदेखि वर्षासम्म

    काठमाडौं । नेपालमा पहिलोपटक टीकटक स्टार नेपाली रियालिटी सो २०७८ आयोजना हुने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

    १० सेकेन्डदेखि ३ मिनेटसम्मको टीकटक भिडियो पेश गरेर प्रतिस्पर्धामा भाग लिन सकिने भएको छ । १० वर्षभन्दा माथिल्लो उमेरका र टीकटकमा खाता भएकाले भाग लिन पाउने भएका छन् ।

    तीन विधामा हुने टीकटक रियालिटी सोमा कुनै जात, धर्म, लिंग र सम्प्रदायको अपमान हुने गरी भिडिओ बनाउन पाइनेछैन । जसमा राष्ट्र-राष्ट्रियता, मौलिक कला र संस्कृति तथा हाँस्य अभिनय र नृत्य विधामा रहेका छन् ।

    नेपाली कला, संगीत र साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यो सोको निर्णायकमा कलाकारहरु गौरी मल्ल, रमेश उप्रेती र वर्षा शिवाकोटी छन् । पूर्वमिस नेपाल सुगरिका केसी होस्ट रहेकी छिन् ।

    अनलाइनमार्फत आवेदन दिन सकिने जनाइएको छ । सोमा पहिलो हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल, तृतीयलाई स्कुटर, चौंथोलाई क्यामेरा, पाँचौं हुनेलाई ल्यापटप, छैटौंलाई टिभी र उत्कृष्ट दशसम्म हुनेलाई मोबाइल पुरस्कार दिइने भएको छ ।

    विजयी हुनेलाई फिल्म, सिरियल, म्युजिक भिडिओमा अवसर समेत दिइने जनाइएको छ । पत्रकार सम्मेलनमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि उपस्थित थिए ।

  • मिस नेपाल नम्रता श्रेष्ठले बनाइदिइन् धादिङमा झोलुंगे पुल, मिस वर्ल्डमा प्रोजेक्ट प्रस्तुत गर्ने

    मिस नेपाल नम्रता श्रेष्ठले बनाइदिइन् धादिङमा झोलुंगे पुल, मिस वर्ल्डमा प्रोजेक्ट प्रस्तुत गर्ने

    काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठको पहलमा धादिङको नीलकण्ठ नगरपालिकास्थित खोलामा झोलुंगे पुल निर्माण भएको छ ।

    ७३ मिटर लम्बाइको उक्त पुलको मंगलबार मिस नेपाल श्रेष्ठसहित हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार र नगरपालिकाका मेयर भीम ढुंगानाले संयुक्तरुपमा उद्घाटन गरे ।

    ५० लाख लागतमा निर्माण भएको उक्त पुल मिस वर्ल्डको आगामी संस्करणअन्तर्गत ब्यूटी विथ पर्पस प्रोजेक्टका लागि बनाइएको हो । उक्त पुलबाट धादिङका फिरिंगे, सोह्रघरे र आशबारा गाउँका १२ हजार बासिन्दा लाभान्वित हुनेछन् ।

    ‘४ महीनाको प्रयासपछि पुल निर्माण भएको छ’ मिस नेपाल श्रेष्ठले नेपाल प्रेसलाई भनिन्, ‘यो प्रोजेक्टले अब हामीलाई मिस वर्ल्डको लागि अझै लक्षित भएर अघि बढ्न सजिलो भएको छ ।’

    आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा मिस वर्ल्ड आयोजना हुँदैछ र नम्रताले नेपालको तर्फबाट भाग लिँदैछिन् । विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्यूटी विथ पर्पसमा नेपाल दाबेदारको रुपमा रहँदै आएको छ ।

    मिस वर्ल्डका लागि नम्रताले तयारी गरिरहेकी छिन् ।

  • मुन्द्रेको कमेडी क्लबबारे करिश्माको अनुभव : नक्कली हाँसो हाँस्न जानिँन, आउँदै आउँदैन !

    मुन्द्रेको कमेडी क्लबबारे करिश्माको अनुभव : नक्कली हाँसो हाँस्न जानिँन, आउँदै आउँदैन !

    काठमाडौं । अभिनेता जितु नेपाल दुई कारणले अहिले पुनः चर्चामा छन् । पहिलो : उनले अढाइ वर्षदेखि संचालन गरेको टिभी सो ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि बन्द भएको छ ।

    दोस्रो: निर्माण सुरु हुन लागेको फिल्म ‘छक्कापञ्जा-४’ को टीजरमा उनी अटाउन नसक्दा यो फिल्ममा उनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी भैरहेको छ ।’

    सो बन्द भएपछि जितु र अध्यक्ष बनेकी करिश्मा मानन्धरले पत्रकार सम्मेलन आयोजना गरेका थिए । जितुले फुलन्देकी आमा (उमेश राई), कि एड्भर्टाइजिङसहितलाई विभिन्न कारण देखाउँदै सो बन्द गर्नुपरेको बताएका थिए । करिश्माले पनि सोमा अध्यक्ष हुँदाका अनुभव बाँडिन् ।

    अघिल्ला अध्यक्ष दीपाश्री निरौलाको तुलनामा कमजोर अध्यक्ष भएकी भनेर आलोचित करिश्माले उक्त पत्रकार सम्मेलनमा आफ्नो बचाउ प्रयास गरिन् ।

    ‘कमेडीलाई मैले दर्शकको रुपमा हेरेकी थिएँ । यसको प्रक्रियाको बारेमा केही थाहा थिएँन । यो सोको हिस्सा बन्दा मैले यसको पूरा प्रक्रिया बारे थाहा पाएँ । तर मैले नक्कली हाँसो हाँस्न जानिँन । किनकी त्यो सक्दै सक्दिन, आउँदै आउँदैन’ उनले भनिन् ।

    जितुले जिद्दि गरेकाले आफू अध्यक्ष भएको करिश्मा कथन थियो । ‘जितुले पहिलोचोटी भन्दा त मैले हुँदैन भनेर टार्न खोजेकी थिएँ । जितुले जिद्दि गर्न छाडेन । जिन्दगीमा यति धेरै त प्रयोग गर्नुभएको छ, यो एउटा प्रयोग गर्दा के हुन्छ भनेर सम्झायो । उसलाई सहयोगको पनि खाँचो छ भनेर मैले सोको हिस्सा बन्ने निर्णय गरेँ’ उनले भनिन् ।

    करिश्माले मुन्द्रेको कमेडी क्लबमा बिताएको एकवर्ष आफ्ना लागि पाठशाला भएको बताएकी थिइन् ।

  • ‘मूभी हब’को यात्रामा चितवन

    ‘मूभी हब’को यात्रामा चितवन

    चितवन । भरतपुर–१२ का निगम श्रेष्ठ चलचित्र निर्देशक हुन् । उनले छड्के, लालपुर्जा जस्ता चलचित्र निर्देशन गरेका छन् । ‘लुट’मा उनी मुख्य सहायक निर्देशक थिए ।

    उनले फरक शैलीका चलचित्रमा मिहेनत गरे । सन् २००८ मा फिल्मसम्बन्धी पढ्न भारत जाने तयारीमा थिए । पछि काठमाडौंमै अस्कार कलेजमा फिल्म स्क्रिप्ट राइटिङमा ब्याचलर गरे । अनि उनीसहितका तीनजनाले भरतपुरमा निर्भाना फिल्म स्कुल चलाएका छन् । अहिले यहाँ १५ जनाले प्रशिक्षण लिइरहेका छन् ।

    ‘घर नजिकै बसेर फिल्मसम्बन्धी कोर्स पढ्न सहज होस् भनेरै स्कुलमा लगानी ग¥यौं’, निगम भन्छन्, ‘पढ्न अब कोही विदेशीन नपरोस् ।’
    यहाँ एक वर्षे कोर्स ९६ हजारमा पढ्न पाउनेछन् । अभिनय र निर्देशनको कक्षा निगम स्वयमले लिन्छन३ । छायाँकन, सम्पादन, अभिनय र निर्देशनका कक्षाबाट दक्ष कलाकार बनाउन उनी सक्रिय छन् ।

    ‘फिचर फिल्म बनाउन चाहिने सबै उपकरणहरु छन्’, उनी भन्छन्, ‘राष्ट्रियस्तरका कलाकार र फिल्म मेकर बनाउने चितवन भनेर चिनाउने रहर छ ।’

    नेपालमा निर्माण हुने धेरैजसो फिल्मका आंंशिक तथा पूर्ण दृश्यहरु चितवनमै सुटिङ हुँदै आएका छन् । सफल निर्देशक स्वर्गीय शिव रेग्मी, नायकहरु सरोज खनाल, गणेश उप्रेती, नायिकाहरु मौसमी मल्ल, वेनिशा हमाल, विनिता बराल चितवनकै हुन् । पुष्प आचार्य, ऋद्धिचरण श्रेष्ठलगायतका कलाकार फिल्महरुमा चरित्र पात्रका रुपमा देखिँदै आएका छन् । तर, चितवनले पछिल्लो पुस्तालाई फिल्म क्षेत्रमा स्थापित भएको देख्न पाएको छैन ।

    चितवनलाई पहिले ७६ औँ जिल्ला मानिन्थ्यो । अहिले ७८ औँ जिल्ला भनेर चिनिन्छ । देशकै मध्यभागमा पर्ने भएकाले चितवन अन्यत्रबाट बसाई सरेर आउनेहरुको प्रमुख थलो पनि हो । सबै रहनसहन, संस्कृति चितवनमै पाइन्छ ।

    टलल्क टल्किने हिमाल होस् या सूर्यास्तको मधुरो प्रकाश चितवनले दिनसक्छ । अतिविकट बस्ती हुन् या अतिसुगम बजार सबै चितवनमै छन् । मेडिकल सिटीको चर्चा पाएको चितवन अब फिल्म सिटी बन्ने दौडमा होमिँदैछ । तर, त्यसका लागि आवश्यक स्टुडियो, पूर्वाधार, बजेट, जनशक्ति उत्पादन कसरी बढाउने भन्ने प्रश्न अनुत्तरित छन् । कलाकार जन्माउने पुरानो थलो नारायणी कला मन्दिर बाहेकका अन्य उल्लेख्य पूर्वाधारको अभाव छ ।

    ‘हरेक वर्ष कम्तिमा ३ फिल्म चितवनमै बनुन्’, निगम भन्छन्, ‘अधिकांश कलाकार यहीँका परुन््, कलाकार पाइने जिल्ला बनोस् ।’ करिब ८ वर्षपछि निगमले ‘छड्के–२’ फिल्म बनाउँदैछन् ।

    ‘माघदेखि सुटिङ सुरु गर्नेछौैं’, उनले भने, ‘‘धेरै कलाकार चितवनकै हुनेछन् ।’ छड्के चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, दयाहाङ राई, विपिन कार्कीलगायतको मुख्य अभिनय थियो । ‘छड्के २ सिक्वयल मुभी होइन, कथा र पात्रहरु फरक हुनेछन्’, उनी भन्छन्, ‘केही पुराना कलाकारहरु दोहोरिनेछन्, अरु चरित्रअनुसार छनोट गर्नेछौँ ।’

    रामपुर क्याम्पस खैरहनीमा पशु प्रजनन् तथा अनुवंश विज्ञान प्राध्यापन गर्ने सूर्यप्रसाद शर्मा भट्ट पनि नवप्रवेशी कलाकार हुन् । उनी यसअघि ‘ग्रीन बर्ड’ फिल्ममा प्रोफेसरको भूमिकामा थिए । ‘चितवनमै छायांकन हुने केही चलचित्रमा अवसर पाउँदा खुशी छु ।’

    भरतपुरकै रेशा आले मगर पनि नवप्रवेशी कलाकार हुन३ । बालकुमारी कलेजमा बिबिएस पढ्दै गरेकी उनी काठमाडौंमै एक महिना अभिनयसम्बन्धी वर्कसपमा सहभागी भइन् । कला देखाउने अवसर पाएकीमा उनी पनि खुसी छिन् ।

    धनगढीका राजेन्द्र सापकोटाले नोभेम्बर रेन, मेरो लभ स्टोरीलगायतका फिल्ममा छायांकनको काम गरे । कैयन म्यूजिक भिडियो पनि खिचे । मोसन पिक्चर फोटोग्राफि (सिनेमाटोग्राफी) मा व्याचलर गरेका उनी चितवनको सौन्दर्यता देखेर दंग पर्छन् । ‘मेची–महाकाली घुमेँ, कैयन ट्राभल डकुमेण्ट्री पनि बनाएँ’, उनी भन्छन्, ‘चितवन सौन्दर्यमा धनी छ, यो मूभिको हब बन्न सक्छ ।’

    कुनै समय भगवानदास श्रेष्ठ, रामप्रसाद श्रेष्ठले चितवनबाटै सफल चलचित्र बनाए। केही समयअघि सुविन भट्टराईको उपन्यास समर लभमा आधारित चलचित्र समर लभ र साली कसको भेनाको चितवनबाटै निर्माण तथा छायाँकन भएको चलचित्र हो।

  • कोप-२६ सम्मेलनमा नेपाली फिल्म विश्व प्रिमियर (फिल्मसहित)

    कोप-२६ सम्मेलनमा नेपाली फिल्म विश्व प्रिमियर (फिल्मसहित)

    ग्लास्गो । स्कटल्यान्डमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) कार्यक्रममा आज नेपाली हिमालय पर्वतमा जलवायु संकटले पारेको असरबारे चित्रण गर्ने फिल्म प्रिमियर गरिएको छ ।

    ‘दिगो पर्वत : संसारकै अग्लो ठाउँबाट जलवायु समाधान’ नामक १ घण्टा लामो फिल्मलाई स्मृति बस्नेत र सशांक श्रेष्ठले निर्देशन गरेका हुन् । लिसा छोगल र दावा स्टिभन शेर्पा यसका निर्माता हुन् ।

    दावा नेपाली फिल्म अभिनेत्री नम्रता श्रेष्ठका प्रेमी समेत हुन् । यो जोडी केही समयदेखि रिलेसनसिपमा छ । दावाले फिल्म निर्माणमा नम्रतालाई सघाउँदै पनि आएका छन् र उनी पर्यटन व्यवसायी समेत हुन् ।

    हेर्नूस फिल्म :

  • शाकाहारी अनमोल बने मांशाहारी, २० किलो तौल बढाउन ननभेज आहार !

    शाकाहारी अनमोल बने मांशाहारी, २० किलो तौल बढाउन ननभेज आहार !

    काठमाडौं । चरित्रमा डुब्न एउटा कलाकारले के-के मात्र गर्न सक्छ ? सबथोक । हुनसक्छ यही कारण अनमोल केसीले आफूलाई चरित्रअनुसार ढाल्ने प्रयास गरिरहेका छन् ।

    आगामी प्रोजेक्ट ‘एक्स-नाइन’को लागि शाकाहारी अनमोल मांशाहारी बनेका छन् । ‘गाजलु’ फिल्म गरेपछि शाकाहारी बनेका अनमोल एक्स-९ लागि मांशाहारी बनेका छन् ।

    यो फिल्मका लागि उनले आफ्नो तौल २० किलो बढाउनुपर्नेछ । तौल बढाउनको लागि उनले मासु खान थालेका हुन् । चरित्र अनुसार शरिरलाई सुगठित तुल्याउन उनले जिम पनि ज्वाइन गरेका छन् । जिम थालेसँगै प्रोटिनसहितका आहार खानुपर्ने भएपनि उनले मासु खान थालेका हुन् ।

    उनले भने, ‘अहिले मैले चिकेन खाइरहेको छु । हुन त शाकाहारी भोजनबाट पनि तौल बढाउन नसकिने होइन । तर, मसँग निर्माण टीमले दिएको ४ महिनामात्र भएकाले मासु खाने निर्णय गरेको हुँ ।’

    उनी भन्छन, ‘कर्म नै सबैभन्दा ठूलो धर्म रहेछ । कामकै कारण ६ वर्ष अगाडि छाडेको मासु मैले खाइरहेको छु ।’

    तर, उनले फिल्मको छायांकन सकिएलगत्तै मासु खान सुरु गर्ने भएका छन् । आगामी फेब्रुअरीदेखि यो एक्सन-ड्रामाको छायांकन सुरु गर्ने निर्देशक मुुकुन्द भट्टको तयारी छ ।

     

  • भ्वाइस अफ किड्सका कोच प्रमोद खरेल भन्छन् : यस सोका बच्चाले नै भोलिको नेपाली संगीतलाई अघि बढाउनेछन्

    भ्वाइस अफ किड्सका कोच प्रमोद खरेल भन्छन् : यस सोका बच्चाले नै भोलिको नेपाली संगीतलाई अघि बढाउनेछन्

    काठमाडौं । कार्तिक २६ गतेदेखि द भ्वाइस अफ नेपालको किड्स संस्करण प्रसारण हुँदैछ । ६ देखि १४ बर्षका बच्चाहरुले सहभागिता जनाएको रियालिटी शो हमालय टीभी एचडीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि प्रशारण हुने जनाइएको छ । शोको ‘ब्लाइन्ड अडिसनको सुटिङ सकिएको छ ।

    कोच (प्रशिक्षक)को रुपमा यो संस्करणमा गायकद्धय प्रमोद खरेल र राजु लामा, गायिकाद्धय मिलन अमात्य र प्रविशा अधिकारी छन् । ती चार कोचमध्येका एक हुन् प्रमोद खरेल । यसपटक दर्शकले यो रियालिशी शोमा बच्चाहरुको गायन कलाको साथमा उनीहरुको रमाइलो प्रस्तुति हेर्न पाउने उनी बताउँछन् । प्रमोदले भने-‘हामीले यो शोमा बच्चाहरुको प्रस्तुति, उनीहरुको प्रतिभा र मनोरञ्जनलाई पनि ध्यान दिएका छौं । बच्चाहरुले आफू नजन्मदै सार्वजनिक भएका गीतहरु समेत गाएका छन् ।’

    आफूहरुले बच्चाको मनोविज्ञानलाई समेत ध्यानमा राखेको प्रमोदको भनाई छ । उनले भने- ‘बच्चाहरुको दिमाग कमलो हुन्छ । यसैले, यो शोमा हामीले रिसाउने, सोझो तरिकाले प्रतिक्रिया दिन मिल्दैन ।’

    प्रमोदका अनुसार, शोको सबैभन्दा रोचक राउन्ड नै ‘ब्लाइन्ड राउन्ड’ हो । आफूले बच्चाहरुको स्वर सुनेरै कुर्ची घुमाएको उनी बताउँछन् । भने-‘ठूलो मान्छेको जस्तै बच्चाको पनि स्वर नै सुन्ने हो । तर, कहिलेकाही छोराको स्वर होला भन्ने सोच्यो, छोरीको हुन्छ । छोरीको होला भनेर सोच्दा छोराको हुन्छ । केही बच्चाहरुको त स्वर सुनेर पनि छोरा वा छोरी छुट्याउन नसकिने रहेछ ।’

    प्रमोदका अनुसार, बच्चाहरुले संगीतलाई गहिरो रुपमा सिकेर आएका हुँदैनन् । तर, पहिले-पहिलेको भन्दा अहिलेका बच्चाहरुमा संगीतको ज्ञान भने धेरै भएको उनको भनाई छ । आमा-बुबाले पनि बच्चाहरुलाई तयार पारेर ल्याएको प्रमोदले बताए ।

    अरु गायन रियालिटी शो भन्दा ‘द भ्वाइस किड्स’को शैली नै फरक भएको उनको भनाई छ । उनी भन्छन्-‘शोको रोचक राउन्ड नै ब्लाइन्ड हो । बच्चाहरुले कोच रोज्ने क्रममा निक्कै रमाइलो गरेका छन् । हामीले पनि उनीहरुलाई बच्चाकै रुपमा व्यवहार गरेका छौं ।’

    तर, शोबाट बाहिरिदा बच्चाहरुले देखाउने व्यवहारले भने कोच प्रमोदको पनि मन रोएको छ । उनी भन्छन्-‘ठूलो मान्छे बाहिरिदा त दुःख लाग्छ । झन्, बच्चाहरु बाहिरिदा नरमाइलो लाग्नु त स्वभाविक नै हो । बाहिरिनुपरेपछि बच्चाहरु स्टेजमै रोएका पनि छन् । दर्शकलाई पनि टीभीमा हेर्दा नरमाइलो लाग्न सक्छ ।’

    एउटा उत्कृष्ट शो दर्शकमाझ आउन लागेकाले सबैले हेरेर प्रतिक्रिया दिनेमा प्रमोद विश्वस्त छन् । उनी भन्छन्-‘यो शोका ट्यालेन्टले नै हो नेपाली सांगीतिक क्षेत्रलाई भोलीका दिनमा अगाडि बढाउने । यसैले, एउटा पारिवारिक शो दर्शकमाझ आउन लागेको छ । सबैले ‘द भ्वाइस अफ नेपाल’लाई जस्तै माया दिनेमा विश्वस्त छु ।’

    प्रमोदले आफूले ह्याट्रिकको बिषयमा भने नसोचेको बताए । राम्रो प्रतिभा जसले जितेपनि आफू खुशी हुने उनले बताए ।

  • ‘कमेडी क्लब’ बन्द भएपछि जितु नेपालको प्रेसमिट: यी हुन् उनले औंल्याएका पाँच कारण

    ‘कमेडी क्लब’ बन्द भएपछि जितु नेपालको प्रेसमिट: यी हुन् उनले औंल्याएका पाँच कारण

    काठमाडौं । अन्ततः जितु नेपालले संचालन गर्ने टेलिभिजन सो ‘मुन्द्रेको कमेडी क्लब’ दुईवर्षपछि बन्द भएको छ । यसबारे जानकारी दिन जितु र करिश्मा मानन्धरले राजधानीको शंखमूलस्थित बार्दली रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

    आफू मीठो अनुभवसहित कार्यक्रमबाट बिदा हुन लागेको उनले बताए । उनले यसो भनिरहँदा जितु र उनको छेवैमा रहेकी नायिका करिश्मा मानन्धरको अनुहार मलिन देखिन्थ्यो । सोमबार मुन्द्रेको कमेडी क्लबको अन्तिम सो प्रसारण भएको थियो ।

    पत्रकार सम्मेलनमा बोल्दै जितुले सो बन्द हुनुका केही कारणबारे प्रकाश पार्ने प्रयास गरे । सो बन्द हुनुको मुख्य कारणमा उनले फुलन्देकी आमाको भूमिकामा देखिएका उमेश राईलाई दोषरोपण गरे ।

    उनले भने, ‘फुलन्देको आमाले उही चरित्रमा डान्स प्रतियोगिताको होस्ट गर्न लागेको समाचार आएपछि पहिला त पत्याइँन । तर, फोन गरेर के हो भाइ यस्तो समाचार छ त भन्दा हो दाइ भन्यो । अनि यस्तो गर्न कहाँ भयो त भाइ, एउटै चरित्रमा दुईतिर कार्यक्रम गर्न त भएन नि । अनि मलाई चाहिँ धोका दिन मिल्थ्यो त ?’

    जितुले कार्यक्रम बन्द हुनुको पछाडि विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङको दोहोरो चलखेल पनि कारण रहेको बताए । आफूलाई जानकारी नदिइ आफ्नो टीमका सदस्यलाई होस्ट गराएको भन्दै उनले दुःख व्यक्त गरे ।

    सुरुदेखि नै कार्यक्रमलाई लक्षित गर्दै नकारात्मक कमेन्ट गरेको आरोप समेत उनले लगाए । सुरुआतमा भारतीय कमेडियन कपिल शर्माको नक्कल गरेको र पछिल्लोपटक दीपाश्री निरौला महानायक विवादमा मुछिएपछि धेरै नेगेटिभ कमेन्ट आएको उनले बताए ।

    अर्कोतर्फ, कार्यक्रममा सहभागी हुने अतिथिको कमीलाई पनि जितुले कारणको रुपमा देखाए । एउटै सेलेव्रिटी धेरैपटक दोहोरिएको बताउँदै उनले अर्कोतर्फ स्थायी सुटिङ सेटको अभाव पनि एउटा प्रमुख कारण रहेको बताएका थिए ।

    उमेश राईले भने : यसबारे टिप्पणी गर्न चाहन्न

    उक्त सोमा फुलन्देकी आमाको भूमिकामा देखिएका उमेश राईले यो विवादमा आफू बोल्न नचाहेको नेपाल प्रेससँग बताए । ‘समय आएपछि बोलौंला तर, अहिलेलाई म केही बोल्न चाहन्न’ उनले भने, ‘म पूर्णरुपमा गलत भनेर पनि भन्दिँन तर, यसबारे पछि मात्र बोल्छु ।’

    आफूले होस्ट गर्ने डान्स प्रतियोगिता बिहीबारदेखि कान्तिपुर टिभीमा प्रसारण हुन लागेको जानकारी पनि उनले दिए ।

     

  • ‘कबड्डी-४’ फिल्म छायांकन आधा सकियो, मुस्ताङमा यसरी हुँदैछ सुटिङ

    ‘कबड्डी-४’ फिल्म छायांकन आधा सकियो, मुस्ताङमा यसरी हुँदैछ सुटिङ

    काठमाडौं । रामबाबु गुरुङले निर्देशन गरिरहेको फिल्म ‘कबड्डी-४’ छायांकन आधा सकिएको छ । आगामी दुई सातामा फिल्मको सबै छायांकन पुरा हुने मुस्ताङबाट निर्माता मणिराम पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    ‘कोवाङ र लार्जुङमा फिल्म छायांकन हुँदैछ । टुकुचेसहित तीनचार लोकेसनमा खिच्न बाँकी छ’ उनले भने, ‘मौसमले साथ दिएको छ । १५ दिनमा सुटिङ सकेर काठमाडौं फर्कनेछौं ।’

    फिल्मको सुटिङ सेटबाट नेपाल प्रेसलाई एक्सक्लुसिभ तस्बिर समेत प्राप्त भएको छ । जहाँ दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलाई अभिनय गरिरहेको देख्न सकिन्छ । तस्बिरमा कबड्डी फिल्मको सिनेम्याटिक सेटिङ पनि देख्न सकिन्छ ।

    काठमाडौं फर्किएपछि मात्र प्रदर्शन मिति घोषणा हुने निर्माता पोखरेलले जनाए । कबड्डीका अघिल्ला तीनैवटा सिक्वेलले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेका थिए ।

  • अन्तर्राष्ट्रिय जलरंग प्रदर्शनीमा दुई नेपाली कलाकारको कलाकृति छनोट

    अन्तर्राष्ट्रिय जलरंग प्रदर्शनीमा दुई नेपाली कलाकारको कलाकृति छनोट

    चितवन । ट्रुली वाटरकलर अन्तर्राष्ट्रिय अनलाइन जलरंग प्रर्दशनीमा नेपालका २ जना कलाकारको कलाकृति उत्कृष्टमा परेका छन् ।

    डी बरालले २५० डलर र विश्वराज पराजुलीले ५० अमेरिकी डलर पुरस्कारसमेत जितेका छन् । नगद पुरस्कारका अलवा केही उत्कृष्ट कलाकारले कला सामाग्री पुरस्कार स्वरुप प्राप्त गरेका छन्।

    भर्चुअलविधिबाट हुने प्रर्दशनी यहि डिसेम्बर १० देखि २५ सम्म हुनेछ । आर्टसमेट ईन्टरनेशनल र एनवी गुरुङ आर्ट स्टुडियोको सहकार्यमा हुन लागेको प्रदर्शनीका लागि ५१ देशका ४ सय ८३ कलाकृतीको आवेदन संकलन भएको थियो । जसमध्ये ४६ देशका ३ सय २ कलाकृती प्रदर्शनीका लागि छनोट भएका छन्।

    प्रर्दशनीलाई लक्षित गरेर गरिएको प्रतियोगितामा विभिन्न शीर्षकमा १३ जना कलाकारले पुरस्कार जितेका छन् । १ लाख ५० हजार नगद र ६० हजारभन्दा बढी मूंल्यको कलासामाग्री पुरस्कार जितेका हुन् ।

    प्रथम पुरस्कार म्यानमारका थिन स्वीकीले ४ सय डलर प्राप्त गरेका छन् । चीनका रोङ जु कावोले ३ सय डलर जितेका छन् । थाइल्याण्डका टोसापोरन चान्टरासुकले २ सय डलर, रसियाका याकुवा भिक्टोरियाले १ सय डलर, म्यानमारका मियान्त नाइङले ५० डलर जितेका छन् ।

    पुरस्कार छनोटका लागि ८ जना स्वदेशी तथा विदेशी कलाकार सम्मिलित समिति निर्माण गरिएको थियो। प्रर्दशनी युट्युव, अन्य सामाजिक सञ्जाल र आर्ट एनबी गुरुङ डटकममार्फत लाइभ हुनेछ । विश्व जलरंगमा कला क्षेत्रका स्थापित र नवप्रवेशीहरुले बनाएका कलाकृती एकैठाउँमा हेर्न पाइनेछ।

  • उपन्यासकार क्षेत्रीलाई भारतको सर्वोच्च सम्मान ‘पद्मश्री पुरस्कार’ प्रदान

    उपन्यासकार क्षेत्रीलाई भारतको सर्वोच्च सम्मान ‘पद्मश्री पुरस्कार’ प्रदान

    दिल्ली । नेपाली साहित्यका प्रख्यात आख्यानकार लीलबहादुर क्षेत्रीले भारतको सर्वोच्च सम्मान ‘पद्मश्री पुरस्कार ’ प्राप्त गरेका छन् । आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कार प्रदान गरे ।

    उपन्यासकार क्षेत्री साहित्य र शिक्षामा योगदान दिएवापत् भारतको सर्वोच्च नागरिक सम्मान प्राप्त गर्ने पूर्वोत्तर भारतका पहिलो नेपाली भाषी हुन् ।

    क्षेत्रीद्धारा लिखित ‘बसाइँ’ उपन्यास महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो भने संसारको विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा समावेश छ ।

    अभिनेत्री कङ्गना रनौत र फिल्म निर्देशक करन जोहरले पनि आज पद्मश्री सम्मान प्राप्त गरेका छन ।

  • ‘छक्कापञ्जा-४’ मा जितुको भविष्यबारे दीपकले भने : उहाँ खेल्ने वा नखेल्ने अहिलेसम्म निश्चित छैन !

    ‘छक्कापञ्जा-४’ मा जितुको भविष्यबारे दीपकले भने : उहाँ खेल्ने वा नखेल्ने अहिलेसम्म निश्चित छैन !

    काठमाडौं । टिभी सो मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री निरौला बाहिरिएसँगै छक्का पञ्जा सिरिजबाट जितु नेपाल बाहिरिने गाइँगुइँ चल्यो । यसैसाता हलमा रिलिज भएको ‘छक्कापञ्जा-४’ टीजरमा समेत जितु नदेखिएपछि उक्त आशंकामा बल मिलेको छ ।

    व्यक्तिगतरुपमा सम्बन्ध नबिग्रिएको बताउने गरेपनि व्यवसायिकरुपमा भने दीपकराज गिरीको टीम र जितु नेपालबीच व्यवसायिक सम्बन्ध अहिले छैन । जितु छक्कापञ्जा टीमबाट बाहिरिएपछि निर्मल शर्माको रि-इन्ट्री भएको अनुमान गरिएको छ ।

    टीजरमा जितु नदेखिएपछि दर्शकले समेत उनी सिरिजमा नआउने हुन् कि भनेर अड्कलबाजी गरिरहेका छन् । यो अनुमान किन पनि सहि छ भने स्वयम स्क्रिप्ट लेखक, निर्माता एवं अभिनेता गिरीले समेत छक्कापञ्जा-४ मा जितुको संलग्नता हुने कुरा निश्चित नभएको बताए ।

    ‘अहिलेलाई उहाँको निरन्तरबारे निश्चित छैन । उहाँ हुन पनि सक्नुहुन्छ र नहुन पनि । पुुरानै कथाले निरन्तरता पायो भने उहाँ हुनुहुनेछ र नयाँ कथामा आएमा उहाँको भूमिका हुँदैन । हामी स्क्रिप्टमा बसिरहेका छौं’ दीपकले नेपाल प्रेसलाई भने । जितुले भने यसबारे कुनै प्रतिक्रिया दिन मानेनन् । अभिनेता एवं निर्माताको रुपमा पुनः छक्कापञ्जा सिरिज ज्वाइन गरेका शर्माले पनि जितुको बारेमा आफूलाई थाहा नभएको बताए । 

  • बक्सअफिस : ‘सूर्यवंशी’ले पहिलो सप्ताहन्त नेपालमा कति कमायो ?

    बक्सअफिस : ‘सूर्यवंशी’ले पहिलो सप्ताहन्त नेपालमा कति कमायो ?

    काठमाडौं । अक्षय कुमार-कट्रिना क्याफ स्टारर ‘सूर्यवंशी’ले पहिलो सप्ताहन्त नेपाली बक्सअफिसमा २ करोड ३३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

    मुलुकका सय हलबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन शुक्रबार ७८ लाख, दोस्रो दिन शनिबार ८३ लाख र तेस्रो दिन आइतबार ७२ लाख ग्रस कमाइ गरेको विवरण नेपाल प्रेसलाई प्राप्त भएको छ ।

    सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल खुलाउन अनुमति दिएपनि रिलिज भएका हलहरु शतप्रतिशत अकुपेन्सीमै चलिरहेका छन् । चौंथो दिन सोमबार समेत फिल्मको अकुपेन्सी ६० देखि ७० प्रतिशतसहित स्थिर देखिएको छ ।

    सूर्यवंशीको उक्त नेपाल कमाइमा झन्डै ९० प्रतिशत हिस्सा सहरी मल्टिप्लेक्सको छ । जसको आधा रिभेन्यू मात्र क्यूएफएक्सबाट प्राप्त भएको छ । कतिपय हल बन्द भएको र कतिपय ठाउँमा सामाजिक दूरीको नियमले गर्दा रिभेन्यू केही घटेको आंकलन गरिएको छ ।

    पहिलो साताभित्रै फिल्मको कूल नेपाल ग्रस ३ करोड पुग्ने अनुमान छ । लामो समयपछि हल खुलेको र पारिवारिक दर्शकको घुइँचोको कारण व्यापारमा बढोत्तरी भएको हो ।

    रोहित सेठ्ठी निर्देशित फिल्मले पहिलो सप्ताहन्त भारतीय बक्सअफिसमा ७७ करोड नेट कलेक्सन गरेको छ ।

  • ‘सूर्यवंशी’ले भारतमा तीन दिनमा कमायो ७७ करोड भारु

    ‘सूर्यवंशी’ले भारतमा तीन दिनमा कमायो ७७ करोड भारु

    काठमाडौं । अक्षयकुमार-कट्रिना क्याफ स्टारर ‘सूर्यवंशी’ले पहिलो सप्ताहन्त भारतीय बक्सअफिसमा ७७.६४ करोड भारु नेट कमाइ गरेको छ ।

    शुक्रबार २६.२९ करोड, शनिबार २३.८५ करोड र आइतबार २७.५० करोड नेट कलेक्सन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । केही दिनमै फिल्म सय करोड क्लबमा प्रवेश गर्ने भनिएको छ ।

    रोहित सेठ्ठी निर्देशित फिल्मले भारतीय बक्सअफिसजस्तै नेपाली बक्सअफिसमा समेत उछाल कमाइ गरेको छ । अक्षय, कट्रिना, जावेद जाफरी, ज्याकी श्रोफ, गुल्सन ग्रोवरको मुख्य भूमिका छ ।

    कोरोना महामारीपछि हल खुलेलगत्तै रिलिज भएको सूर्यवंशी बलिउडको ठूलो फिल्म हो । भारतबाहेक ओभरसिजमा पनि यसले आक्रामक कमाइ गरेको जनाइएको छ ।

    सोमबार फुटफलमा केही गिरावट देखिएपनि पहिलो सप्ताहन्तकै ट्रेन्डलाई बक्सअफिसले पछ्याइरहेको देखिएको छ । आज पनि क्यूएफएक्स, वान सिनेमाजसहितका मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ७० देखि ८० प्रतिशतसम्म छ ।

  • प्रदीप खड्काको ‘प्रकाश’ बैशाखमा, स्वस्तिमाको ‘चपली हाइट’ पुस २ गते

    प्रदीप खड्काको ‘प्रकाश’ बैशाखमा, स्वस्तिमाको ‘चपली हाइट’ पुस २ गते

    काठमाडौं । दुई प्रतीक्षित नेपाली फिल्मले प्रदर्शन मिति तय गरेका छन् । प्रदीप खड्का स्टारर ‘प्रकाश’ २०७९ सालको बैशाखमा रिलिज हुने भएको छ भने स्वस्तिमा खड्काको ‘चपली हाइट ३’ पुस २ गते ।

    प्रकाश निर्देशक दिनेश राउतले सम्भवतः बैशाख २५ गते फिल्म रिलिज हुनसक्ने बताए । ‘ठ्याक्कै मिति यकिन छैन तर, बैशाखभित्रै फिल्म प्रदर्शन हुनेछ’ नेपाल प्रेससँग उनले भने ।

    अर्जुन कुमारले निर्माण गरेको स्वस्तिमा खड्का र अर्पण थापा स्टारर थ्रीलर ड्रामा ‘चपली हाइट ३’ पुस २ गते प्रदर्शन हुने भएको हो । आगामी चैत २८ गते प्रदर्शन हुने भनिएको फिल्म तीन महिनाअघि प्रि–पोन्ड भएको हो ।

  • ‘चिसो वर्ष’ फिल्मका लागि निर्देशक भामले ताइवानबाट जिते १ करोड ६५ लाखको फन्ड

    ‘चिसो वर्ष’ फिल्मका लागि निर्देशक भामले ताइवानबाट जिते १ करोड ६५ लाखको फन्ड

    काठमाडौं । फिल्म निर्माता मीनबहादुर भामले आगामी फिल्म ‘चिसो वर्ष’को लागि ताइपेइ फिल्म कमिसनबाट १ करोड ६५ लाख (२.५ ताइपेइ डलर)राशीको प्रोडक्सन-फन्ड प्राप्त गरेका छन् ।

    ताइवानी फिल्मको सर्वोच्च निकायले गत अक्टोबर २५ मा भामले निर्देशन गर्नेसहितका पाँच फिल्मलाई सन् २०२१ को ताइपेइ फिल्म फन्ड प्रदान गर्ने घोषणा गरेको हो ।

    ‘कालो पोथी’ फेम्ड निर्देशक भामले यो प्रोजेक्टका लागि यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय फन्ड जितेका छन् । भामले निर्देशन गर्ने चिसो वर्षमा नेपालसहित फ्रान्स, टर्की र नर्वेको संयुक्त लगानी हुनेछ ।

    नेपालबाहेक अमेरिका, फ्रान्स, मलेसिया, बंगलादेशका फिल्मले पनि ताइपेइ फन्ड प्राप्त गर्ने भएका छन् । चिसो वर्ष फिल्मले पेरिसमा भएको कान्स फिल्म फेस्टिभलमा यसअघि ६६ लाख ८४ हजार रुपैयाँ राशीको नर्वेजियन अवार्ड पनि जितिसकेको छ ।

    चिसो वर्षको कथामा आफ्ना हराएका श्रीमान खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा निस्कन्छन् । अन्ततः यात्राकै क्रममा उनीहरुको जीवन बदलिन्छ ।

    यसअघि पनि उक्त फिल्मको स्क्रिप्टका लागि निर्देशक भामले १ सय १४ वटा आवेदनलाई पछि पार्दै एसियन सिनेमा फन्ड जितेका थिए । उक्त फन्डको राशी १० हजार अमेरिकी डलर थियो । यस्तै स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार यूरो करिब ८ लाख रुपैयाँ जितेको थियो ।